`

चितवन राष्ट्रिय निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेकोे छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र बिनाअनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो ।

निकुञ्जभित्र प्रवेश गर्ने तथा नियमविपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले जानकारी दिए । यसबीचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाइ छ ।

पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुईवटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिए ।

गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भङ्गालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको धु्रव पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैँडा कालगतिले मरेको अवस्थामा फेलापरेको उनले बताए । कालगतिले मरेका दुवै गैँडा कालगतिको खाग र खुर सुरक्षित रहेको उनको भनाइ छ ।

त्यस्तै मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा छ वर्षीय बाघ मृतावस्थामा भेटिएको उनले जानकारी दिए । अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यसअवधिमा गैँडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् ।

कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा जारी एलिमिनेटर खेलमा कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो ।

कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । विलियम बोसिस्टोले ३७ बलमा अर्धशतक पूरा गरे ।

उनले ५२ रनको योगदान गरेका छन् । विस्फोटक ब्याटिङ गरेका च्याडविक वाल्टनले २३ बलमा अविजित ४६ रन बनाए । यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान पक्का गर्नेछ । पराजित टोलीको भने एनपीएलको यात्रा समाप्त हुनेछ ।

एलिना चौहानको ‘मनमा फूल्ने माया’

काठमाडौं । गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ । सन्तोषजंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।

गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ । भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर, अनिताको मेकअप, हेमन्त लामिछानेको कोरियोग्राफी तथा जगत रेग्मीको निर्देशन छ । फोर के मिडियामा भिडियोको पोस्ट प्रोडक्सन गरिएको हो । गीतको प्रस्तुतकर्ता हरि शर्मा हुन् ।

अख्तियारमा बेनामी उजुरी दिन पाउने व्यवस्था यथावत

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी दिन पाउने व्यवस्था नहट्ने भएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा अख्तियारमा दर्ता हुन जाने उजुरीकर्ताका नाम र ठेगाना उल्लेख नभएका उजुरी पनि दर्ता हुन पाउने व्यवस्थालाई संशोधन नगर्ने सहमति जुटेको हो ।

समितिले विधेयकका विवादित विषयमा सहमति जुटाउन गठन गरेको कांग्रेस सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बेनामे उजुरीको वर्तमान व्यवस्था हटाउन भनी विधेयकमा दर्ता भएका संशोधन प्रस्तावमाथि निर्णय गर्न नहुने निर्णय लिएको हो ।

अख्तियारमा पर्ने ‘बेनामी’ उजुरीको प्रावधान नै हटाउनुपर्ने ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ, रमा कोइराला र सुनीलकुमार शर्माले अख्तियारमा बेनामी उजुरी दर्ता गर्न नहुने कानुनी व्यवस्था गर्नुपर्ने भन्दै विधेयकमा संशोधन राखेका थिए ।

तामाङ र कोइरालाले अख्तियारमा उजुरी वा निवेदन दर्ता गर्दा उजुरीकर्ताले नागरिकताको प्रति (डिजिटल वा फोटोकपी) पेस गर्नुपर्ने व्यवस्था राख्नका लागि संशोधन प्रस्ताव राखेका थिए ।

उपसमितिका संयोजक थानीले प्रतिनिधिसभा नियमावलीमा सरकारले संशोधनका लागि खुला नगरेको दफामा संशोधन राख्न नपाउने व्यवस्था रहेकाले बेनामी उजुरीका सम्बन्धमा परेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत नगरिएको बताए ।

उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक मंगलबार पारित गरेर प्रतिवेदन बुधबार बस्ने समितिको पूर्ण बैठकमा पेस गर्ने तयारी भएको थानीले जानकारी दिए ।

करिब ३० वर्षपछि मुख्यालय पुनः कब्जा गरेको म्यान्माका विद्रोहीहरूको दाबी

बैंकक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समूहलाई करिब ३० वर्षअघि बलपूर्वक निष्कासित गरिएको थियो ।

करेन नेसनल युनियन (केएनयु) का लडाकूहरूले केही दिनको लडाइँपछि थाई सीमामा रहेको मानेरप्लाव कब्जा गरेको केएनयुका नेता साव थामाइन टुनले बताए ।

“म्यानमाका जुन्ता सैनिकहरू अझै पनि यसलाई फिर्ता लिन चाहन्छन् र उनीहरूले ड्रोन प्रयोग गरे र हाम्रो सेनामाथि बम प्रहार गर्ने प्रयास गरे”, उनले भने, “तर हाम्रा सेनाले आधार कब्जा गरिसकेका छन् ।”

वर्षौँसम्म केएनयुको करेन अल्पसङ्ख्यकको अधिकारका लागि दशकौँ लामो सशस्त्र सङ्घर्षको मुख्यालय थियो र त्यहाँ म्यानमाको तत्कालीन जुन्ताविरुद्ध अन्य विरोधी राजनीतिज्ञहरू पनि थिए ।

इसाई बहुल केएनयुभित्र विभाजन भएपछि जुन्ता र विभाजित बौद्ध गुटले सन् १९९५ मा आधार कब्जा गरे । यसबाट हजारौँ मानिस थाइल्यान्ड पलायन हुन बाध्य भए ।

मानेरप्लावको पतनपछि जुन्ताले कायिन राज्यको नाम परिवर्तन गरी एउटा सहयोगी सशस्त्र समूह, डेमोक्रेटिक कायिन बौद्ध सङ्गठनलाई यसको जिम्मा दियो ।

सन् २०२१ मा पछिल्लो विद्रोहपछि केएनयुले वर्तमान जुन्तासँग बारम्बार झडप गरेको छ र सेनालाई अपदस्थ गर्न खोज्ने अन्य विरोधीहरूलाई आश्रय र प्रशिक्षण प्रदान गरेको छ ।

“मानेरप्लाव करेनहरूका लागि एउटा ऐतिहासिक स्थान थियो”, साव थामाइन टुनले भने । यहाँ करिब एक सय सैनिकलाई गाडिएको छ । “हामीले सबैको सम्मान गर्न यस क्षेत्रलाई पुनर्निर्माण गर्नुपर्छ”, उनले भने ।

सन् २०२१ को सैन्य अध्यादेशपछि म्यानमा अशान्त छ । अध्यादेशले केएनयु जस्ता विद्रोही समूहहरूसँग नयाँ लडाइँ सुरु गर्यो र देशभरि सैन्य शासनविरुद्ध लड्ने धेरै लोकतान्त्रिक ‘जनताको सुरक्षा बल’ लाई जन्म दियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार लडाइँका कारण ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।  द्वन्द्वले नियमित रूपमा थाइल्यान्डसँग म्यानमाको दुई हजार चार सय किलोमिटर सीमा पार गरेर हजारौँलाई पलायन गराउँछ ।

जापान ‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख

टोकियो । कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४० सम्ममा नवीकरणीय ऊर्जालाई आफ्नो ऊर्जाको शीर्ष स्रोत बनाउने योजना बनाएको छ ।

नयाँ योजनाअन्तर्गत सन् २०४० सम्ममा विद्युत उत्पादनमा सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जाको अंश ४० देखि ५० प्रतिशत पुग्ने अपेक्षा गरिएको हो । यो अघिल्लो वर्षको २३ प्रतिशत र सन् २०३० सम्ममा ३८ प्रतिशत कायम गर्ने लक्ष्यभन्दा बढी हो ।

प्राकृतिक श्रोत तथा ऊर्जा निकायले जारी गरेको योजनालाई सरकारी विज्ञहरूले समीक्षा गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने भएका छन् ।

जापानले ऊर्जा आपूर्ति र डेकार्बोनाइजेसन दुबै सुनिश्चित गर्न एउटै ऊर्जा स्रोतमा धेरै निर्भर हुनबाट बच्ने लक्ष्य राखेको मस्यौदामा भनिएको छ ।

यसले युक्रेन युद्धदेखि मध्यपूर्वको अशान्तिसम्मका ऊर्जा रेखाहरूलाई असर गर्ने भूराजनीतिक चिन्ताहरू पनि नवीकरणीय र आणविक ऊर्जामा परिवर्तन भएको बताएको छ ।

सन् २०२३ मा जापानको लगभग ७० प्रतिशत बिजुलीको आवश्यकता कोइला, ग्यास र तेल जलाउने बिजुली प्लान्टहरूले पूरा गरेको थियो ।

यो सङ्ख्या सन् २०४० सम्ममा ३० देखि ४० प्रतिशतमा झार्ने सरकारको चाहना छ । यसअघि घोषणा गरिएको सन् २०३० लक्ष्यमा हाइड्रोजन र अमोनिया समावेश गर्दा ४१ प्रतिशत वा ४२ प्रतिशत थियो ।

नयाँ योजनाहरूले सन् २०२३ मा ९८५ बिलियन किलोवाट घण्टा (केडब्लुएच) बाट सन् २०४० सम्म समग्र बिजुली उत्पादनमा १० देखि २० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । जिल्ला अदालत मोरङले संसदको लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

मोरङको उमा–गौरी सहकारीको रकम अपचलन मुद्दाका कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता भएको छ ।

एकीकृत समाजवादीद्वारा संविधान संशोधन सुझाव कार्यदल गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टी स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरूलाई संविधान संशोधन सुझाव कार्यदलमा राखिएको हो । कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका विषय उल्लेख छ ।

सरकारका सहभागी दलले संविधान संशोधन गर्ने बताएपछि एकीकृत समाजवादीले सुझाव कार्यदल बनाएको हो ।

निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने

काठमाडौँ । सार्वजनिक–निजी साझेदारीमा अब निजी क्षेत्रले पनि प्रसारण लाईन निर्माण गर्न पाउने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल)ले अध्ययन गरेको मध्य तमोर–ढुङ्गेसाँगु २२० केभी प्रसारण लाईन उक्त मोडलमा निर्माण गरिने भएको हो ।

      निर्माणलाई अगाडि बढाउनका लागि आरपिजिसिएललाई आवश्यकपर्ने ऋण लगानी हाईड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसियल)ले गर्ने गरी सम्झौता भएको छ ।

     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा भएको सम्झौतामा मंगलबार ऊर्जा मन्त्रालयमा आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवाली र एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

प्रसारण लाईन निर्माणका लागि आरपिजिसिएलले निजी क्षेत्रको लगानी रहेका रेमिट हाईड्रो लिमिटेड, सिम्बुवा रेमिट हाईड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाईड्रोपावर लिमिटेड र नेपाल हाईड्रो भेन्चर प्रालिसँगसमेत सम्झौता गरेको छ ।

सम्झौता कार्यक्रममा आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत डा ज्ञवालीले सरकारले सन् २०३५ मा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पूरा गर्न सार्वजनिक निजी लगानीमा प्रसारण लाईन निर्माणको कामलाई अगाडि बढाउन लागिएको बताए । उनले विस्तारै अन्य प्रसारण लाईनमासमेत निजी क्षेत्रको सहभागिता बढाउँदै लैजाने उल्लेख गरे ।

कार्यक्रममा एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत गौतमले जलविद्युत क्षेत्रको प्रसारण लाईनमा निजी क्षेत्रको सहभागितासँगै उत्पादित विद्युत् प्रसारण लाईनको अभावमा खेर नजाने बताए ।

उनले अब उत्पादनसँगै प्रसारण लाईन निर्माणमा समेत एचआईडिसियलले लगानी गर्ने उल्लेख गरे ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का सल्लाहकार कृष्णप्रसाद आचार्यले जलविद्युत् क्षेत्रको विकासका लागि चाँडो प्रसारण लाईन सम्पन्न गर्नेगरी काम गर्न जरुरी रहेको बताए ।

ऊर्जामन्त्री खड्काले उक्त समझदारी नेपालको ऊर्जा क्षेत्रको विकासमा कोसेढु्ङ्गा सावित भएको बताए । उनले निजी क्षेत्रलाई प्रसारण लाईनको जिम्मा दिँदा कामसमेत समयमै हुने र सरकारले लिएको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे । 

एनपीएलले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने

राजु सिलवाल ।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ ।

नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठ टोलीमध्ये चार टोली शीर्ष स्थानमा पुगेका छन् । यसमध्ये सर्वाधिक १२ अङ्क हासिल गर्न सफल सुदूरपश्चिम रोयल्स तथा अङ्क तालिकामा १० अङ्क प्राप्त गरेर दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच पुस ३ गते बुधबार दिउँसो प्रतिस्पर्धा हुँदैछ । शीर्ष दुई स्थानमा पुगेका यी दुई टोलीबीच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरुमा उच्च मनोबल रहेको पाइएको छ । दुवै टोलीले प्रतियोगता जित्ने दाबी गर्दै आएका छन् ।

सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरको ढुङ्गा अङ्कित ट्रफी आफ्नो प्रदेशमा लैजान सफल हुने कप्तान ऐरको आत्मविश्वास रहेको छ । एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् । एनपिएल क्रिकेटमा खेल्न विभिन्न कीर्तिपुर रङ्गशालामा दिनहुँ भइरहेको दर्शकहरुको भीडले गर्दा अत्यन्त लोभिएका छन् । सुदूरपश्चिम तथा जनकपुरको म्याच भएको बखत कीर्तिपुर रङ्गशालामा दर्शकको सङ्ख्या अत्यधिक हुने गरेकाले बुधबारको खेलमा पनि दर्शक व्यवस्थापन चुनौती हुन सक्ने आकलन गरिएको छ । सुदूरपश्चिम टोलीका समर्थकहरुले देउडा तथा जनकपुरका समर्थकहरुले स्थानीय भाखामा नाचगान गरेर माहौल रमणीय बनाउँदै आएका छन् ।

खेलमा पूर्वानुमान गर्न कठिन हुन्छ । एनपिएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुर जस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले अङ्कको आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबार बिहान समान ८ अङ्क प्राप्त गरेको चितवन राइनो तथा कर्णाली याक्सबीच खेल हुँदैछ । तर काठमाडौँ गुर्खाजले पनि समान आठ अङ्क हासिल गरे तापनि रनरेटका आधारमा प्लेअफबाट बाहिरिनु प¥यो । लिग चरणमा चितवन टोली कर्णालीसँग सात रनले पराजित भइसकेको भएता अब हुने ‘इलिमिनेटर’ प्रतिस्पर्धा चितवन र कर्णाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । क्वालिफायरमा पराजित हुने टोलीसँग इलिमिनिटरमा जित्ने टोलीले खेल्नेछ । विजयी हुने टोलीका लागि फाइनलको ढोका खुल्ला हुनेछ ।

नेपालीलाई सफलता

एनपिएलमा हालसम्म सबैभन्दा बढी विकेट अतिथि खेलाडी स्कट कुगेलेइनले १३  लिन सफल भएका छन् । त्यसपछि नेपालका ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएर आफ्नो क्षमतालाई प्रदर्शन गरेका छन् । करण केसीले भने १२ विकेट लिएका थिए । यसैगरी सर्वाधिक २७९ रन रोहित पौडेलले लिन सफल भएका छन् । उनी पछि सर्वाधिक रन लिनेमा अतिथि खेलाडीहरु छन् । तर नेपाली खेलाडीहरुले पनि सयौं रन लिन सफल भएका छन् । सर्वाधिक रन लिनेको सूचीमा चौंथो स्थानमा रहेका नेपाली कुशल मल्लले २०२ रन तथा दिपेन्द्रसिंह ऐरीले १९८ रन लिन सफल भएका छन् । न्युजिल्याण्डबाट एनपिएल खेल्न आएका दिनेश खरेलले १६२ रन तथा अष्ट्रेलियाबाट आएका किशोर महतोले १० विकेट लिएर विदेशबाट खेल्न बोलाइएका नेपालीहरुको सशक्त उपस्थिति देखाएका छन् । अवसरको खोजीमा विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटरहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वदेशमा पहिलोपटक आयोजित एनपिएल खेल्न बोलाएर उनिहरुको प्रतिभाको कदर गरेको छ ।

यसरी नेपाली तथा विभिन्न मुलुकका चर्चित क्रिकेट खेलाडीहरुले एकै टोलीमा रहेर खेलिरहेको यो प्रतियोगिता उपलब्धिमूलक बनिरहेको छ । प्रतियोगितामा नेपाली युवा खेलाडीहरुलाई पनि खेल्ने अवसर दिइएबाट उनीहरु प्रोत्साहित हुन पुगेका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका युवा प्रतिभाहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्न पाउनु सानो अवसर होइन । एनपिएल क्रिकेटमा खेल्न विभिन्न मुलुकबाट आएका क्रिकेट स्टारहरु कीर्तिपुर रंगशालामा दिनहुँ भैरहेको दर्शकहरुको भिडले गर्दा लोभिएका छन् ।

कीर्तिपुरमै बास 

कीर्तिपुर रंगशालाको वरिपरि ओछ्यान ओछ्याएका पनि देखिन्छन् । रंगशाला प्रवेशद्वार नजिक खानेकुराका साथै अन्य सामग्री बेच्नका लागि ठाउँ ओगटन व्यापारीहरु खुल्ला आकाशमै सुत्ने गरेका छन् । तापक्रम घटेर जाडो बढिरहेको समयमा पनि कीर्तिपुरमा भने क्रिकेटप्रेमीहरुको बिहान सबेरै देखि घुईंचो लाग्ने गरेको छ । टिकट किनेर चिसो चौरमा बस्दै क्रिकेट हेर्दा पनि दर्शकहरुको उत्साहमा भने कमी देखिएको छैन । काठमाडौं बाहिरका केही टोलीले म्याच हेर्न काठमाडौँ आउनका लागि निःशुल्क बसको व्यवस्था गरेर खेलप्रेमीहरुलाई हौसला दिएका छन् । कीर्तिपुर रङ्गशालामा दर्शकहरुले गरेका फोहर सफा गर्ने काममा पनि क्रिकेटप्रेमी युवाहरुले सक्रियता देखाएका छन् ।

खेलाडी पर्यटक बन्दै

नेपालमा एनपिएलका लागि अनुवन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरुको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरुले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् । भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवनले पहिलो पटक एनपिएलमा खेल्न नेपाल आएर सगरमाथा आधार शिविरको भ्रमण गर्न समेत भ्याएका थिए । कर्णाली याक्सका तर्फबाट  वटा खेलपछि स्वदेश फर्किएका धवनले सगरमाथा क्षेत्रमा बिताएको क्षणका तस्बिर तथा समाचार विभिन्न अन्तर्राष्ट्रिय माध्यमले समेत महत्व दिएर प्रकाशित गरेका थिए)। एनपिएल क्रिकेट हेर्न नेपाल आएका विश्व विख्यात क्रिकेटर ब्रायन लाराको नेपाल भ्रमणले पनि विश्वमा नेपाललाई चिनाउन मदत गरेको छ । उनले पनि सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।

कमेण्टेटरको कमाल   

एनपिएल क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणको माध्यमबाट विश्वमा नेपालको ब्यापक रुपमा प्रचार भैरहेको छ । एक्सन स्पोर्टस अन्तर्राष्ट्रिय टेलिभिजनले क्रिकेट प्रतियोगिताका साथै नेपालको पर्यटन प्रवद्र्धन पनि गरिरहेको छ । क्रिकेटको प्रत्यक्ष प्रशारणमा विश्वमै ख्याती कमाएका कमेण्टेटरहरुले दिनहुँजसो नेपालको हिमाल, कला संस्कृति तथा जनजीवनका बारेमा मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् । उनीहरुले अङ्ग्रेजी भाषामा नेपाली खाजा मःमःदेखि भक्तपुरको जुजु धौ समेतको बारेमा विश्वको विभिन्न देशमा प्रचार गरिरहेका छन् । बेलाबेलामा ड्रोनको माध्यमबाट देखाइने गरिएको काठमाडौंँ उपत्यकाको रमणीय दृश्यले भविष्यमा पर्यटक बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

आगामी दिनको सम्भावनाको ढोका खोल्न पनि योगदान गरिरहेका छन् । तर  नेपालमा सयौं टेलिभिजन भएता पनि एनपिएल हेर्न विदेशी च्यानलको भर पर्नुपर्ने तथा पर्ने तथा अंग्रेजी नबुझ्नेहरुका लागि खेलका गतिविधि बुझ्न कठिनाइ भैरहेको छ ।

(लेखक खेल पत्रकारिताको जानकार हुनुहुन्छ)

एनपीएलको विजेताले एक करोड १० लाख पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो ।

उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउनेछन् । एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्।

बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । फाइनल खेल शनिबार हुनेछ।

गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारबाही गरिने बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागेको र भ्रष्टहरुलाई नछाडने बताएका हुन् ।

उनले देशको अवस्था सुधार गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताए । उनले भने, ‘देशको अवस्था सुधार गर्न भ्रष्टाचार नियन्त्रण गर्नुछ । मैले भनेको छु, भ्रष्टहरूको मुख हेरेर होइन, काम हेरेर, अपराध हेरेर कारबाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।

व्यवस्था बदलियो,अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गरे । उनले भने, ‘हिजो गरिबी ४२ प्रतिशत मुनि थियो। थोरै होटल थिए। तर अहिले आयस्रोत बढेको छ। देशको अवस्था,जनताको अवस्था हिजोको जस्तो छैन।अर्थतन्त्रको आकार बढेको छ । मानिसको सरदर आयु ४२ वर्ष थियो । अहिले ७२ वर्ष पुगेको छ।’

उनले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड वा तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

उनले भने,’नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक सहर ललितपुर भएकाले यहाँका सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवद्र्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताए ।


प्रधानमन्त्रीले भाषासाहित्यको क्षेत्रमा योगदान गरेबापत प्राध्यापक शिवगोपाल रिसाल, २०७२ सालको भूकम्पका बेला उद्धारमा खटिनुभएका नारायण महर्जन, व्यङ्ग्य चित्रकार मोहनश्याम महर्जन र नयाँ पत्रिका दैनिकका संवाददाता शिवहरि घिमिरेलाई सम्मान गरेका थिए ।


त्यस अवसरमासांसद प्रेमबहादुर महर्जनले सरसफाइ अड्डाका रुपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रुपमा समृद्धितर्फको यात्रामा लागेको बताए ।


बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले ‘डिजिटल’ माध्यमबाट सेवा प्रवाह गर्न सुझाव दिए । 


महानगरप्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिए । उनले ठेक्का प्रणालीमार्फत बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको रथ व्यवस्थापन एवं मन्दिर निर्माणसम्बन्धी काम पुनर्निर्माण प्राधिकरणको विघटनसँगै अन्योलमा परेको गुनासो गरे । 

नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । यु-१९ महिला एशिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई २८ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र भारतले १/१ अङ्क बाँडेका छन् । योसँगै भारत समूह ’ए’ को विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ । यसअघि मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालकी कप्तान पूजा महतोले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसोदियाले ४ विकेट लिइन् । यु-१९ महिला विश्वकप आगामी जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

नेप्सेमा चार अर्ब ३४ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । सोमबार ५१.३७ अंकले घटेको नेप्से मंगलबार २.९५ अंकले बढेको छ ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार भने घटेको छ । मंगलबार ३ सय १८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो । जानकी फाइनान्सको ९.८५ प्रतिशतले बढ्दा दोल्टी पावरको ९.०९, गुराँस लघुवित्त वित्तीय संस्थाको ८.४२ र नारायणी डेभलपमेन्ट बैंकको ६.९८ प्रतिशतले बढेको हो । कारोबारमा आएका कम्पनीमध्ये ११७ वटाको मूल्य बढ्दा ११७ वटाकै घट्यो।

सुरक्षित कारोबार विधेयकमा परेका संशोधनमाथि अर्थ समितिमा छलफल

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ माथि परेका संशोधनमाथि छलफल भएको छ ।

राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमा छ जना सांसदको संशोधन प्रस्ताव परेको छ । सांसदहरु रणेन्द्र बराली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोविता गौतम र प्रेम सुवालले संशोधन प्रस्ताव हालेका छन् ।

अर्थ समितिको मंगलबारको बैठकमा सांसद माधव सापकोटा, दामोदर पौडेल बैरागी र सोविता गौतमले दर्ता गरेका प्रस्तावमाथि छलफल भएको हो । सांसद सापकोटाले विधेयकमा राखिएको सुरक्षित भन्ने शब्दले सैद्धान्तिक अवधारणामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कुनै व्यक्ति तथा निकायबाट गरिने सबै किसिमका कारोबार समेटिएको छ वा छैनन् भनेर यकिन गर्नेगरी विधेयक संशोधन गरिनुपर्ने बताए ।

त्यसैगरी मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्राप्त योग्यताको प्रमाणपत्र एवम् सीपको प्रमाणपत्रलाई पनि धितोका रुपमा ऐनले परिभाषित गर्नुपर्ने उनको भनाइ छ ।

अर्का सांसद सोविता गौतमले धितो सम्पत्ति भन्नाले ‘चल, अचल र अमूर्त सम्पत्तिलाई जनाउने’ भन्ने व्यवस्था विधेयकमा राख्नुपर्ने बताइन् । । अमूर्त सम्पत्ति पनि धितोका रुपमा राख्न पाउनुपर्ने गरी कानुन आवश्यक रहेको उनको भनाइ छ ।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले २०८० साल फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल, तथा अमूर्त सम्पत्ति उपरको दायित्व परिपालना गर्ने गराउने व्यवस्था गर्न हाल सुरक्षित कारोबार ऐन, २०६३ कार्यान्वयनमा छ ।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा विचाराधीन यस विधेयकले चल, अचल तथा मूर्त र अमूर्त सम्पत्ति उपरको दायित्वको पनि व्यवस्था गर्न लागेको छ ।

यो विधेयकले घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिनेगरी व्यवस्था गर्न लागेको छ । अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खनन्का लागि अनुमति प्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिने व्यवस्था विधेयकमार्फत् ल्याउन लागिएको हो । यदी यो विधेयक पारित भएमा पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खनन्का लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिनेछ ।

उपभोग्यवस्तु बाहेक अन्य कुनै धितो सम्पत्तिको विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिने विधेयकमा उल्लेख छ । ‘जमानत भन्नाले भुक्तानीको दायित्व वा प्रतितपत्रअन्तर्गत जारी गर्ने व्यक्तिको भुक्तानीको दायित्व जस्ता सहायक दायित्व सम्झनु पर्दछ र सो शब्दले बहिखाता, सुरक्षित बिक्री करार, लिखत, अधिकारपत्र वा अन्य चल सम्पत्तिका सम्बन्धमा भुक्तानी गराउन सहयोग पु¥याउने दायित्व समेतलाई जनाउँछ’, विधेयकमा भनिएको छ ।

नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य हुँदैन : गृहमन्त्री लेखक

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताएका छन् ।

उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताए ।

गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा मंगलबार रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधानमा भएको मौलिक हकको सुरक्षा गर्नु र नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार लोकतन्त्रको पूर्वसर्त शान्ति सुरक्षा हो भने ।

गृहमन्त्री लेखकले लुम्बिनी प्रदेश सांस्कृतिक, धार्मिक विविधता मात्र नभएर विश्वभरिनै शान्तिको ज्योति प्रवाह गर्ने बुद्धधर्मको महत्वपूर्ण केन्द्र रहेकाले यहाँको शान्तिसुरक्षा भरपर्दो र चुस्त हुनुपर्ने बताए ।

उनले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी, सीमापार अपराध, सवारी दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध जस्ता आपराधिक क्रियाकलाप सुरक्षा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्न दिर्नेशन दिए ।

‘कानुनको सीमा भित्र रहेर लोकतन्त्रमा आलोचना गर्न पाइन्छ’, उनले भने । आर्थिक, वित्तीय अपराधका घटना बढेकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढङ्गले काम गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिए ।

‘मुलुकमा कानुनले शासन गर्ने हो, भिडले होइन’, गृहमन्त्री लेखकले भने, ‘आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भिड जम्मा गरेर प्रभावित पार्ने प्रयास भइरहेका छन् तिनलाई नियन्त्रण गर्न आवश्यक छ ।’ उनले संविधानको सुरक्षा, सुदृढीकरण र कार्यान्वयन अहिलेको सरकारको राष्ट्रिय एजेण्डा भएको बताए ।

‘वर्तमान संविधानलाई असफल हुन दिने छुट हामीलाई छैन’, उनले भने, ‘अबको एजेण्डा संविधानको सही कार्यान्वयनसहित दीगो शान्ति, सुशासन, विकास र समृद्धि हो, शान्ति, सुशासन, विकास र समृद्धिका लागि दिगो शान्ति जरूरी छ ।’

पूर्ण प्रेस स्वतन्त्रतामा अवरोध हुन नहुने र प्रेस स्वतन्त्रतामाथि कतैबाट कुनै पनि प्रकारले खण्डित गरिएमा त्यो अवरोध हटाउनुपर्ने गृहमन्त्री लेखकले बताए । “प्रेस स्वतन्त्रता नागरिकको सूचनाको अधिकारसँग सम्बन्धित छ”, उनले भने,ख“निर्वाध रूपमा नागरिकले ससूचित हुन पाउने अधिकार पाउनुपर्छ ।”

वर्तमान दुई दलको समिकरणको सरकार मुलुकमा सुशासन दिन, भ्रष्टाचार नियन्त्रण गर्न र विधिको शासन स्थापित गर्न बनेको गृहमन्त्री लेखकको भनाइ थियो । उनले भने, “कांग्रेस–एमाले लगायतका दल मिलेर सरकार बनाएका छौँ, २०८४ सालको निर्वाचनसम्म यही समिकरण रहन्छ, तलमाथि हुँदैन ।”

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सुचीका अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारले सघाउनुपर्ने बताए ।

प्रदेशमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्नेदेखि प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन समेत प्रदेश सरकारलाई समस्या भएको उनले बताए । उनले तत्काल प्रदेशमा प्रहरी समायोजनदेखि प्रदेश अनुसन्धान ब्यूरो स्थापना गर्नेतर्फ सङ्घीय सरकारको ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सङ्घीय सरकारले साझा र एकल सूचीका अधिकारलाई प्रदेशमा कार्यान्वयन गर्न नपठाउँदा समस्या परेको बताए ।

‘सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेशमा काम गर्न जटिलता छ । हामीले बनाएको ऐनसमेत कार्यान्वयन गर्न खोज्दा समस्या देखियो’, उनले भने, “सङ्घीय शिक्षा ऐनसमेत नआउँदा प्रदेशले काम गर्न पाएन ।’

बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालय अन्तर्गतका तीनवटै सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारी, प्रदेशका गृहमन्त्रालय अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने

काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उनको भनाइ छ ।

माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत माग हुने औद्योगिक क्षेत्रको विद्युत् केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

हिउँदयाममा खोला तथा नदीमा पानी घट्दा नदी प्रवाही (रन अफ रिभर–आरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक आवरमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी मर्मत भइरहेको छ । प्राधिकरणका अनुसार हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर चार सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत छ सय मेगावाट र टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक छ सय ५४ मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति दिएको छ । तर, पिक आवर साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ ।

चैत ३ गते २०८१ देखि असार १६ गते २०८२ (१६ मार्च–३० जुन २०२५) सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिएको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी बन्द रहेको र पिक आवरका चार घण्टा भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

जाकार्ता । इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो ।

दक्षिणपश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुङ्गाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो ।

उद्धारकर्ताहरूका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण डुङ्गा पल्टिएको थियो । 

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप चार थुनामा राख्न अनुमति दिएको हो ।

सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

भैरहवाका व्यवसायी भन्छन्– विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँ

अशोक घिमिरे, भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडानअवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ । विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्थल पूर्णरुपमा सञ्चालन हुन्छ कि हुँदैन भनी चिन्तित तुल्याएको छ । 

निर्माण सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि विमानस्थलबाट दैनिक पाँच वायु सेवा प्रदायकले विभिन्न गन्तव्यमा उडान भरेकामा अहिले उडान स्थगन गरेका छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवाबाट दैनिक एक उडान भरिरहेको छ ।

विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अझै प्रबन्ध हुन नसक्दा यसको निरन्तरताप्रति प्रश्न उब्जिरहेको छ । सिद्धार्थ होटल सङ्घ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै निर्माण नहुँदा विमानस्थल सञ्चालन हुन्छ कि हुँदैन भन्नेमा दुविधा रहेको बताउँछन् । 

‘अहिलेको अवस्था हेर्दा अब अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन हुन्छ भन्नेमा व्यवसायी र यहाँका नागरिकलाई विश्वास छैन’, उनले भने ।

अध्यक्ष श्रेष्ठले गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन श्रम अनुमति, प्रवेशाज्ञा (भिसा) सेन्टर, वैदेशिक रोजगार व्यवसायी कम्पनी, अभिमुखीकरण तालिम केन्द्र, स्वास्थ्य सेवा प्रदायक संस्थालगायत पूर्वाधार भैरहवा क्षेत्रमा तत्काल प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘यी सबै पूर्वाधार भैरहवामा सञ्चालन गर्न सकिएको खण्डमा मात्रै विमान कम्पनीले पूर्णरुपमा यात्रु पाउँछन्’, उनले भने, ‘सुरुवाती दिनमा नयाँ स्थानमा व्यवसाय सञ्चालन गर्न केही छुट दिएर प्रवद्र्धन गर्न सकिन्छ, यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइएको थियो । निर्माण थालेको करिब सात वर्षपछि २०७९ जेठ २ गते सो विमानस्थलको उद्घाटन गरिएको थियो । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि व्यवसायीले थुप्रै लगानी थपेका उनी सम्झन्छन् । 

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तारका क्रममा दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा भैरहवामा दैनिक पाँच वटा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले सेवा सुरु गरेका छन् । यसमध्ये कतार एयरवेजले केहीदिन अघिदेखि भैरहवा उडान स्थगित गरेको छ । 

पर्यटन व्यवसायी पवन हलुवाई भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ भएपछि जोखिम मोलेरै भए पनि आफूले लुम्बिनीमा पाँचतारे होटल सञ्चालनमा ल्याएको बताउँछन् ।

कोरोना महामारी र भैरहवामा अन्तर्राष्ट्रिय जहाज अवतरण नहुँदा आफ्नो लगानी खेर गइरहेको र सञ्चालन खर्च पनि धान्न मुस्किल भइरहेको उनको गुनासो छ । 

‘कोरोनाले तीन वर्ष होटल व्यवसाय ठप्प भयो, पर्यटक आवागमन शून्यप्रायः बन्यो’, व्यवसायी हलुवाईले भने, ‘बैंकको ब्याज तिर्न नसक्दा व्यवसायीको कर्जा बढेको बढ्यै छ, सात वर्षपछि बनेको विमानस्थल पूर्णरुपमा सञ्चालन नहुँदा व्यवसायीमा निराशा छाएको छ ।’

भैरहवाका व्यवसायीको एउटै माग छ– जुनसुकै मूल्यमा पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानअवतरण हुनुपर्छ । त्यहाँका व्यवसायीले जुनसुकै ‘फोरम’मा यही माग दोहोर्याउँदै आएका छन् । व्यवसायीले सङ्गठित रुपमा नै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

‘व्यवसायीले भैरहवा र लुम्बिनी क्षेत्रमा पाँचतारे होटल सञ्चालनमा ल्याए । कसैले लगानी थप गरी होटलको क्षमता बढाए’, होटल एशोसिएशन नेपालका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले विगत सम्झदै भने, ‘अब लुम्बिनीमा लाखौँ पर्यटक आउँछन्, निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने र आम्दानी गर्ने वातावरण बन्छ भन्ने सोचका साथ लगानी बढाएको अवस्था थियो ।’

विमानस्थल उद्घाटन भएको साढे दुई वर्ष भइसक्दा पनि नियमित सञ्चालन हुन नहुनु विडम्बना भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले लगानीको प्रतिफल लिन नसक्ने अवस्था बनेको बताए । ‘करिब  ४० अर्ब खर्च गरेर विमानस्थल निर्माण गरियो । यसैलाई आधार मानेर निजी क्षेत्रले ठूलो लगानी गरे’, उनले भने ।

कोरोनापछि यसवर्ष पर्यटकको चहलपहलबाट खुसी देखिएका व्यवसायी विमानस्थल पूर्णरुपमा नचल्दा निराश हुने अवस्था आएको व्यवसायी हलुवाईको भनाइ छ ।

‘अक्टुबरदेखि अप्रिलसम्म लुम्बिनीमा पर्यटक आउने गरेका छन्, लुम्बिनीमा विभिन्न पूजाआर्चना र ध्यानका कार्यक्रम बढेका छन्’,उनले भने, ‘विमानस्थल राम्रोसँग सञ्चालनमा आए यहाँको पर्यटन व्यवसाय फस्टाउनेछ ।’

इजरायलमा समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो ‘पावर प्लान्ट’को उद्घाटन

जेरुसेलम ।  इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले  जानकारी गराएको छ।

तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा पोर्टमा अवस्थित यस पावर प्लान्टको स्थापित क्षमता १०० किलोवाट रहेको छ।

यो इजरायली ऊर्जा कम्पनी इको वेभ पावर द्वारा विकसित गरिएको थियो। फ्रान्सेली राज्यको स्वामित्वमा रहेको पावर युटिलिटी ईडीएफ र तेल अवीभ–याफो नगरपालिकाको सहयोगमा ऊर्जा र पूर्वाधार मन्त्रालयको कोषमा निर्माण गरिएको हो। यो प्रणालीले ६० सेन्टीमिटर उचाइभन्दा कम छालबाट बिजुली उत्पादन गर्न सक्ने छ।

स्मार्ट कन्ट्रोल सिस्टमले सुसज्जित यो प्रविधिले आँधीबेहरीमा हुने क्षतिलाई रोक्नको लागि समुद्रको सतहभन्दा माथि उठाउँछ।

परियोजनाबाट उत्पादित सबै बिजुली इजरायलको राष्ट्रिय ग्रिडमा आपूर्ति गरिन्छ। राज्यको स्वामित्वमा रहेको इजरायल इलेक्ट्रिक कर्पोरेशनले सुविधाबाट उत्पादित सबै ऊर्जा खरिद गर्दछ।

मन्त्रालयले यो परियोजना नवीकरणीय स्रोतबाट ऊर्जा उत्पादन बढाउने, वायु प्रदूषण घटाउने र इजरायलको ऊर्जा सुरक्षा बढाउने पाइला भएको बताएको छ।

श्रीलङ्कामा नयाँ सभामुखमा चयन

कोलम्बो । श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।

विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन् । साथै, उनको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गरेका थिए।

उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गरे ।

शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि गत नोभेम्बर १३ मा पूर्व अध्यक्ष अशोक सपुमल रानवालाले राजीनामा दिएको थियो । यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झूट बोलेको आरोप लगाएका थिए ।

एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

डोटी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो ।

निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन् । मलासीले दुई सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् । एमाले डोटीको जिल्ला अधिवेशन पटक-पटक सर्दै आएको थियो ।

सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने  तयारी भएको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको मंगलबार उद्घाटन गर्दै उनले ऐन जारी गर्ने तयारी भएको जानकारी  दिएका हुन् ।

सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिए । राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाव दिए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवद्र्धनमा निरन्तर लागिरहेको बताए । 

उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा पुर्याउनुपर्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखिएको निष्कर्ष निकालेको छ ।

पार्टीका मातहतका कमिटीमा सर्कुलर पठाउँदै माओवादीले उपनिर्वाचनको नतिजा पार्टीका लागि उत्साहजनक रहेको बताएको हो ।

सर्कुलरमा भनिएको छ, ‘कयौँ स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासोन्मुख अवस्थामा देखिएको छ ।’

उपनिर्वाचनमा पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहका नेताहरू समेतको क्रियाशीलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिएको सर्कुलरमा उल्लेख गरिएको छ ।

मंसिर २८ गते बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले उपनिर्वाचनको परिणामले माओवादीको पक्षमा जनमत बढेको पुष्टि भएको बिफ्रिङ गरेका थिए ।

४४ स्थानका लागि भएको उपनिर्वाचनमा माओवादीले ११ स्थान जितेको थियो। उपनिर्वाचन भएका ४४ स्थानमध्ये ८ स्थान पहिले माओवादीले जितेका ठाउँ थिए।

टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख आम्दानी

घोराही । दाङको बङ्गलाचुली गाउँपालिका-४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक  दुई लाख बढी आम्दानी गरेको छ ।

टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए ।

परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको उनले बताए।

यसका लागि सात लाख लगातमा जिआइजेडले ‘ग्रीन हाउस’ र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समूहले तीनवटा टनेल निर्माण गरेको थियो ।

वन समूहले सुरुका वर्षहरूमा साविकको राप्तीसँगै बाँके, सुर्खेत, गुल्मीलगायत ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक रु १० लाखसम्म आम्दानी गरेको भए पनि पछिल्लो समय अन्य जिल्लामा बिरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढाले बताए ।

वन समूहले बिरुवा उत्पादन गरेर बिक्रीसँगै टिमुरबाट आम्दानी लिन वन समूहको १९८ दशमलव ३६ हेक्टरमा एक हजार टिमुरका बिरुवा रोपिको अध्यक्ष बुढाले बताए ।

रोपिएका बिरुवा हुर्किएमा वन समूहले बिरुवा बिक्रीसँगै फलबाट पनि आम्दानी लिन सकिने भन्दै अध्यक्ष बुढाले भने, “वन समूहको विभिन्न क्षेत्रमा एक हजार बढी बिरुवा रोपेका छौँ, ती बिरुवा हुर्किएपछि उत्पादनसँगै फलबाट समेत वन समूहले आम्दानी लिने छ ।”

उत्पादन गरेको रकम वन समूहको खातामा राख्ने र बिरुवा उत्पादनलगायत विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ ।

वन समूहले वार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएको अध्यक्ष बुढाले बताए । वनलाई उत्पादनसँग जोड्ने र आम्दानीमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक विरुवा उत्पादन गर्ने र बिक्री गर्दै आएका छौँ । उनका अनुसार लक्ष्यअनुसार बिरुवा उत्पादन गर्न नसक्दा गत वर्ष १० हजार बिरुवा मात्र बिक्री गरिएको बताए ।

नर्सरीका रूपमा विकास भएपछि बङ्गलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिलाई बिरुवा बिक्री गर्दै आम्दानी लिने गरेको उनले बताए ।

उनका अनुसार वन समूहका सदस्यलाई बिरुवा उत्पादनका लागि तालिमसँगै व्यावसायिक रूपमा बिरुवा उत्पादनका लागि ग्रीन हाउस र टनेल निर्माण गरिएपछि वन समूहले व्यावसायिक रूपमा टिमुर उत्पादन थालेको हो ।

महोत्तरीमा दिउँसै एनएमबि बैंक लुटपाटमा संलग्न फरार भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक सिरहामा पक्राउ परेका छन् । प्रहरीले बैंक लुटपाट गरी फरार रहेका भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेनलाई डिएसपी वीरेन्द्रकुमार पासवानको नेतृत्वमा खटिएको टोलीले मंसिर २९ गते पक्राउ गरेको हो ।

उनलाई घाइते अवस्थामा भारतबाट नेपालतर्फ भागेर आइरहेको बेला सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत दसगजा क्षेत्र नजिकबाट पक्राउ गरेको डिएसपी पासवानले जानकारी दिए ।

आरिफलाई हात, खुट्टा लगायत शरीरका बिभिन्न भागमा चोट लागेर घाइते भएको अवस्थामा पक्राउ गरिएको उनले बताए । प्रहरीकाअनुसार आरिफ २०८० जेठ १६ गते दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित एनएमबि बैंकमा ४/५ जनाको हतियारधारी समूहले ३८ लाख रुपैयाँ लुटपाट गरेको घटनामा संलग्न भएको फरार अभियुक्त हुन् ।

त्यस्तै २०७९ फागुनमा सिरहाको कल्याणपुरस्थित ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल वर्ष ४३ का उपेन्द्र साहले मिर्चैया नगरपालिका ६ स्थित रहेको ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिएर ज.६.प.८१८५ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा मिर्चैया नगरपालिका .३ बताहा पुल नजिक ४ जनाको हतियारधारी समूहले लुटपाट गरेर भागेका थिए ।

सो घटनामा पनि आरिफको संलग्नता रहेको प्रहरीको दाबी छ । उनीमाथि भारत विहारको मधुवनी जिल्लामा हातहतियार, लुटपाट लगायत मुद्दा दर्ता रहेको र उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

अमेरिकी विद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु

बीबीसी । अमेरिकाको विस्कन्सिन राज्यस्थित एउटा निजी क्रिश्चन विद्यालयमा एक जना विद्यार्थीले गोली चलाउँदा एक शिक्षक र एक विद्यार्थी मारिएका छन् भने ६ जना घाइते भएका छन् ।

म्याडिसनका प्रहरी प्रमुख सन बार्न्सले हमलाकारी १५ वर्षीया किशोरी रहेको बताए । अधिकारीहरूले ती आक्रमणकारी गोली चलाउनुअघि अबन्डेन्ट लाइफ क्रिश्चन स्कुलमा उपस्थित रहेको र उनको शव घटनास्थलमा नै फेला परेको बताएका छन्। घाइते ६ जना विद्यार्थीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनका अनुसार प्रहरीले गोली प्रहार गर्नुको उद्देश्य पत्ता लगाउन सकेको छैन र हमलामा संलग्न रहेको ठानिएका व्यक्तिका परिवारले प्रहरीलाई अनुसन्धानमा सघाइरहेका छन् ।

हमलाकारी गोलीकान्डअघि उक्त विद्यालयमा नै अध्ययन गर्ने गरेको प्रहरी प्रमुख बार्न्सले बताए । उक्त गोली प्रहारको घटना एक ठाउँमा नै सीमित रहेको थियो तर त्यो कक्षा कोठामा थियो वा ‘हल–वे’मा थियो प्रस्ट भइसकेको छैन ।

विद्यालयकी सम्पर्क निर्देशक बार्बरा विअर्सले विद्यालयले यसै वर्ष सक्रिय बन्दुक हमलाकारीसँग जुझ्नेबारे एउटा तालिम आयोजना गरेको र सोमबारको घटनाहुँदा त्यसलाई शिक्षकहरूले व्यवहारमा लागु गर्न सकेको बताइन् ।

प्रहरी प्रमुख बार्न्सले हमलकारीको नाम नाटाली रुपनाउ भएको र उनी समान्था पनि भनेर चिनिने जनाए। आफैँले प्रहार गरेको गोलीको चोटबाट उनको मृत्यु भएको विश्वास गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले आफूहरू घटनास्थलमा पुग्दा हमलाकारी मृत अवस्थामा फेला पारेको जनाएका छन्। हमलाकारीको साथबाट ‘ह्यन्ड गन’ फेला परेको छ। कुनै पनि सुरक्षा अधिकारीले गोली नचलाएको प्रहरीको भनाइ छ ।

पर्यटकको प्रतीक्षामा टिटिताल

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो ।

समुद्री सतहबाट दुई हजार छ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये पाँच प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताए ।

“वार्षिक चार लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्”, उनले भेन, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो ।”

दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटीबाट पाँच किलोमिटरभित्र रहेको टिटीताल सुनसान छ । लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताए । हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् ।

धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ । तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो । टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो ।

बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताए । “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उनले भने, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा एक सय ८६ प्रजातिका चराको बासस्थान छ । यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए ।

उनका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन । त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताए । मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन् ।

तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताए ।

थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताए ।

गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङसहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । टिटीसहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुफामा पनि पूर्वाधार निर्माण भएको छ ।

यसअघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो । एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ । ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् ।

टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अग्र्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताए । मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुुदाय बसाइँसराइ गरेर गएका गौचनले बताए ।

टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बिचभागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयवासीले माग गरेका छन् । साथै कोखेठाटीमा मोटरेबल पुल निर्माणको पनि माग गरेका छन् ।

शिवरात्रीमा ‘फेरी रेशम फिलिली’

काठमाडौं । रौनक विक्रम कँडेलको लगानीमा निर्माण भएको फिल्म ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघि प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् ।

पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन् । सार्वजनिक पोस्टरबाट उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको छ ।

‘रेशम फिलिली’मा भने विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो । यसपटक फिल्ममा मेनुका दोहोरिएकी छैनन् । निरोज महर्जनको निर्देशन रहेको फिल्ममा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी, सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।

सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मको सह–निर्माताको रुपमा एनी थापा छन् । फिल्म यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।