`

सप्तरीको बोदेबरसाइनमा पन्ध्र शय्याको अस्पताल भवन शिलान्यास

बोदेबरसाइन। सप्तरीको बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण गर्न बिहीबार भवनको शिलान्यास गरिएको छ। शत्रुध्न हस्पिटल नजिकै रहेको सार्वजनिक जग्गामा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गर्न भवन शिलान्यास गरिएको हो।

तेह्र कठ्ठा क्षेत्रफलमा  १९ करोड ६२ लाख ४५ हजार २७ लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरले जानकारी दिए। उनका अनुसार नगर प्रमुख आतेशकुमार सिंहको प्रमुख अतिथिमा भवन शिलान्यास गरिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मको अस्पताल नभएका स्थानीय तहमा भवन बनाउने योजना बनाए अनुसार बोदेबरसाइनमा निर्माण प्रक्रिया अघि बढेको संयोजक ठाकुरले बताए। अस्पताल सञ्चालनमा आएपछि सामान्य बिरामी हुँदा पनि पालिकाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।

विसं २०८४ मङ्सिरसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणको जिम्मा काभ्रेको न्यू ड्राइगन निर्माण सेवा प्रालिलाई दिइएको नगर कार्यालयले जनाएको छ। भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रेणुकुमारी साह, वडाध्यक्ष मोमोजिबुर रहमान, राजकुमार यादव, तपसी यादव, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ संयोजक ठाकुरलगायत स्थानीयको उपस्थिति थियो।

तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखाले सहमति दिएपछि सोही अनुसार कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दिनेश ठाकुरले जानकारी दिए।

‘क्रप कटिङ’ विधिद्वारा धान उत्पादनको अध्ययन

म्याग्दी । म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलव शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ ।

अनुकूल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिए।

‘रोप्ने समयमा बर्षात भएको र भित्र्याउँदा पानी नपरेका कारण यसपाली धानका लागि मौसम अनुकूल रह्यो,’ उनले भने ‘केही ठाउँमा भित्र्याउने समयमा परेको असिनाका कारण क्षति भएपनि समग्र जिल्लाको उत्पादन वृद्धि भएको हो ।’

म्याग्दीमा गत वर्ष तीन हजार आठ सय छ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा १२ हजार नौ सय ७८ दशमलव पाँच मेट्रिक्टन उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर तीन दशमलव ४१ मेट्रिक्टन उत्पादकत्व रहेकोमा यसवर्ष प्रति हेक्टर तीन दशमलव ५९ हेक्टर पुगेको छ ।

जिल्लाका विभिन्न ठाउँमा गरिएको धान बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरिएको कृषि प्रसार अधिकृत लामिछानेले बताए। म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ ।

लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ ।

यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ ।

खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये एक हजार छ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिंचाइ हुने गरेको छ ।

एक करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा बिक्री

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से ३३ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६ सय ८२ दशमलव २९ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे आठ प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । आज तीन सय चार वटा कम्पनीका एक करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको २६ करोड रुपैयाँको शेयर खरिद÷बिक्री भयो ।

मेरिटोक्रेसीका आधारमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताए ।

बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय सचिवालयले जनाएको छ ।

उनले भने, ‘सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्यो । शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्नुपर्छ । त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमार्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु ।’
उनले भने, ‘उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ?’

प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरूमा भएका समस्या र मागहरू छन्, ती मागहरूको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गरे ।

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्था गर्ने लगायत १२ बुँदे नीति पारित भएका छन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गरेका थिए ।

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले भने उनलाई नौ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले अदालत उपस्थित गराइएको थियो ।

राष्ट्रसङघद्वारा अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट आइएस समूहले गरेको आक्रमणको निन्दा गरेको छ।

राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराह्न भएको आत्मघाती बम विस्फोटमा परी शरणार्थी तथा स्वदेश फिर्तीमन्त्री खलील योर रहमान हक्कानीको मृत्यु भएको थियो।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन युएनएएमएले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै भनेको छ, “स्थिरताको खोजीमा आतङ्कवादका लागि कुनै स्थान हुन सक्दैन।”

कतार, साउदी अरब, पाकिस्तान र इरानसहित युरोपेली सङ्घ र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनले पनि आक्रमणको निन्दा गरेको छ।

संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको सूचीमा रहेका हक्कानी तालिबानको दुई दशक लामो विद्रोहका क्रममा भएका केही हिंसात्मक आक्रमणका लागि जिम्मेवार हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए।

उनी वर्तमान गृहमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि हुन्। खलील योर रहमान हक्कानीको अन्त्येष्टि बिहीबार दिउँसो २:०० बजे काबुलको दक्षिणमा पर्ने पक्तिया प्रान्तमा गरिने भएको छ।

इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ र एक आक्रमणकारीले मन्त्रालयभित्र आत्मघाती आक्रमण गराएको बताएको छ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कुनै मन्त्रीलाई लक्षित गरी गरिएको यो पहिलो आक्रमण हो।

अफगानिस्तानमा सन् २०२१ मा तालिवान सेनाले कब्जा जमाएपछि अमेरिकी नेतृत्वको नेटो गठबन्धन सेनाविरुद्धको युद्ध अन्त्य भएपछि हिंसात्मक घटनामा कमी आएको छ।

यद्यपि, इस्लामिक स्टेट खोरासानको नामले चिनिने आइएसको क्षेत्रीय शाखा अफगानिस्तानमा सक्रिय छ र यसले नियमित रूपमा सर्वसाधारण, विदेशी र तालिवान अधिकारीहरूलाई बन्दुक र बम आक्रमणबाट निशाना बनाउँदै आएको छ।

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

लस एन्जेल्स । क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

‘ती प्रतिवादीले अमेरिकी कानुनविपरीत सैन्य अखडामाथि ड्रोन उडाएका र शिवरको आधारको फोटो खिचेका थिए,’ अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भने, ‘हाम्रो राष्ट्रको सुरक्षा सर्वोपरि महत्वको छ र मेरो कार्यालयले हाम्रो देशको सैन्य कर्मचारी र सुविधाहरूको सुरक्षामा वृद्धि गर्नेछ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार नियमित पत्रकार भेटमा यस सम्बन्धमा ‘सोधिएको प्रश्नमा आफूलाई जानकारी नभएको’ बताएका छन्। चार्जिङ डकुमेन्टका अनुसार भ्यान्डेनबर्गमा रहेको डिटेक्सन सिस्टमले नोभेम्बरको अन्त्यमा १.६ किलोमिटरमाथि उडेको ड्रोनलाई ‘ट्र्याक’ गरेको थियो।

एलोन मस्कको स्पेसएक्स फाल्कन–९ रकेटका साथै क्षेप्यास्त्र परीक्षणसहित अन्तरिक्ष मिसनको प्रक्षेपणस्थलमा रहेका सुरक्षाकर्मीले झोउलाई उनको ज्याकेटमा लुकेको उपकरण (ड्रोन)सहित नजिकैको सार्वजनिक पार्कमा फेला पारेका थिए। अमेरिकी अधिकारीहरूले ड्रोनको जाँच गर्दा त्यसमा हवाई अड्डाका तस्वीरहरू थिए।

न्याय मन्त्रालयका अनुसार झोउ चिनियाँ नागरिक हुन्। उनी फेब्रुअरीसम्म चीनमा थिए। सान फ्रान्सिस्कोको एक अदालतमा मङ्गलबार (स्थानीय समय) उपस्थित हुँदा झोउले यातायात सेवा प्रदान नगर्ने विमान दर्ता गर्न असफल भएको र राष्ट्रिय प्रतिरक्षा हवाई क्षेत्रको उल्लङ्घन भएको स्वीकारेका थिए।

उनलाई आगामी केही हप्तामा लस एन्जलसस्थित अमेरिकी जिल्ला अदालतमा उपस्थित गराइने बताइएको छ। झोउलाई जमानतमा रिहा गर्ने अदालतको निर्णयविरुद्ध अभियोजकहरूले अपिल नगरेसम्म उनी हिरासतमा रहनेछन्।

वासिङ्टन र बेइजिङबीच नाटकीय रूपमा तनाव बढाउने राष्ट्रिय सुरक्षा घटनाको दुई वर्ष नबित्दै यो घटना भएको हो। यसअघि सन् २०२३ को सुरुमा संयुक्त राज्य अमेरिकाले संवेदनशील अमेरिकी सैन्य प्रतिष्ठानहरूभन्दा माथि उडेको जासुसी बेलुन पत्ता लगाएको थियो र यसलाई गोली हानी खसालेको थियो।

यस घटनाले चीनले महत्वपूर्ण गुप्तचरहरूलाई अमेरिकाविरूद्ध प्रयोग गरिरहेको छ भन्ने चिन्ता उत्पन्न गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। बेइजिङले भने यो एक निजी हवाई उपकरण (जहाज) भएको बताएको छ।

‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक शासन घोषणा गर्ने र देशको संसद्मा सेना तैनाथ गर्ने आफ्नो निर्णयको बचाउ गर्दै ‘अन्तिम क्षणसम्म’ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाली नेतालाई डिसेम्बरको पहिलो सातामा भएको शैनिक कानुनको घोषणा गर्ने ‘नाटकीय राजनीतिक भूमिका’ का सम्बन्धमा अनुसन्धानको एक भागको रूपमा विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ ।

युनको यस कदमले सियोलका सहयोगीहरूलाई स्तब्ध पारेको थियो र दक्षिण कोरियालाई वर्षौंपछि गहिरो राजनीतिक उथलपुथलमा फ्याँकेको थियो ।

शनिबारका लागि पुनः मतदानको तयारी गरिएको राष्ट्रपति युनविरूद्ध संसदमा महाभियोगको प्रस्तावबारे प्रतिक्रिया दिँदै युनले भने, “म अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने’ प्रतिवद्धता प्रकट गरेको छु ।”

उहाँले टेलिभिजनमार्फत् ‘राष्ट्रका नाममा’ सम्बोधन गर्दै भने, “म ती मानिसहरूसँग फेरि माफी माग्छु, जो सैनिक कानुनका कारण आश्चर्यचकित र चिन्तित भएका हुनुपर्छ । कृपया, मलाई विश्वास गर्नुहोस्।”

महाभियोगको मतदान स्थानीय समयअनुसार आगामी शनिबार (डिसेम्बर १४) साँझ ५स्०० बजे हुनेछ ।

राष्ट्रपतिविरूद्ध विपक्षी गठबन्धनले दर्ता गरेको र एक पटक मतदान हुने तयारी भइरहँदा सत्तारूढ पार्टीका करिब सबै सांसद्ले मतदान बहिस्कार गरेपछि प्रस्ताव विफल भएको थियो । महाभियोगको आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न सत्तारुढ पिपुल्स पावर पार्टी (पीपीपी) का आठ सदस्यको समर्थन प्राप्त गर्न आवश्यक छ ।

बिहीबार पीपीपीका नेता हान दोङ–हुनले पार्टीका सदस्यहरूलाई बैठकमा उपस्थित हुन र ‘उनीहरूको विश्वास र अन्तस्करणअनुसार’ मतदान गर्न आग्रह गरेका छन् ।

प्रहरीले युनको राष्ट्रपति कार्यालयमा बुधबार छापा मार्ने प्रयास गरेको थियो तर राष्ट्रपतिको कार्यालयका सैनिक सुरक्षा गार्डले कार्यालय परिसरमा प्रहरी प्रवेशलाई अनुमति नदिएपछि प्रहरी फिर्ता हुनुपरेको थियो ।

प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका कर्मचारी र सुरक्षा निकायले कानून कार्यान्वयनमा अवरोध पु¥याए थप कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमाा गत हप्तादेखि दैनिक प्रदर्शन भइरहेको छ र हजारौं मानिस युनको राजीनामा मागिरहेका छन् ।

गत हप्ताको ‘सैनिक कानुन (मार्शल ल)’ घोषणा मा उनको कथित भूमिका को लागि युनका निकट सहयोगी गहन अनुसन्धानको भागिदार बनेका छन् ।

बिहीबार प्रहरीले सेनाको राजधानी रक्षा कमाण्डको मुख्यालयमा छापा मारेको बताएको थियो।

युनलाई सैनिक शासन लागू गर्न आग्रह गरेको आरोप लागेका पूर्व रक्षामन्त्री किम योङ ह्युनले मङ्गलबार जेलमै आत्महत्याको प्रयास गरेको बताइएको छ ।

किमलाई पहिलो पटक आइतबार हिरासतमा लिइएको थियो र पछि ‘विद्रोहको समयमा महत्वपूर्ण कर्तव्यहरूमा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पु¥याउन पदीइ अधिकारको दुरुपयोग गरेको’ आरोपमा औपचारिक रूपमा गिरफ्तार गरिएको थियो।

पूर्व गृहमन्त्री र ‘मार्शल ल’ भूमिकाको जिम्मेवारी सम्हालेका जनरललाई पनि विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ ।

दुई जना वरिष्ठ प्रहरी अधिकारीलाई पनि बुधबार बिहान पक्राउ गरिएको छ ।

पीपीपीले युनको राजीनामा तत्काललाईलाई थाँती राख्दै उहाँले प्रधानमन्त्री हान डक सो र पार्टी प्रमुख हानलाई सत्ता हस्तान्तरण गर्न सहमत भएको जनाएको छ ।

तर, युनले विपक्षीले देशलाई ‘राष्ट्रिय सङ्कट’मा धकेलेको आरोप लगाउँदै बिहीबार त्यसको विरोध गरेको थियो ।

‘विपक्षी दलको प्रभुत्व रहेको नेशनल एसेम्ली उदार लोकतन्त्रको संवैधानिक व्यवस्थालाई ध्वस्त पार्ने कडी बनेको छ,” युनले टेलिभिजन सम्बोधनमा भने ।

उनले भने, “‘मार्शल ल’को घोषणासम्बन्धी कानुनी र राजनीतिक जिम्मेवारीबाट म पन्छिने छैन ।”

दक्षिण कोरियाली नेताले दक्षिण कोरियालाई उत्तर कोरियाली कम्युनिस्ट शक्तिबाट उत्पन्न हुने खतराबाट जोगाउन र राष्ट्रविरोधी तत्वलाई नियन्त्रण गर्न मार्शल लको घोषणा गरेको बताएका थिए ।

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशकोे अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्ने बताए ।

उनले भने, ‘दिनप्रतिदिन हाम्रो अर्थतन्त्र पर निर्भर हुँदै गएको छ । केही समय पहिले खाद्यान्नमा आत्मनिर्भर मात्रै नभएर निर्यात गर्ने देश अहिले खाद्यान्नलगायत धेरै कुरा आयात गर्ने देशमा परिणत भएको छ । यस्तो स्थितिमा आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ ।’

प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्देगर्दा सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण उद्देश्य र मेहनत रहेको दाबीसमेत गरे । उनले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘पर्वतीय क्षेत्रलाई जलवायु संकटबाट जोगाउन सहकार्य आवश्यक’

काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको संकट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुई दिने राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिनको सत्रमा सहभागी विभिन्न सरोकार भएका निकायका प्रतिनिधिले हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले सबै सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए।

‘जलवायु परिवर्तनको बढी जोखिम पर्वतीय क्षेत्रमा परिरहेको छ, यसले हिमालको हिउँ पग्लिरहेको छ, हिमताल फुट्ने तथा हिम पहिरोको जोखिम छ’, उनले भने, ‘यी र यस्ता समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालय एक्लैले सम्भव छैन । अन्य सरकारी निकाय, दातृ निकाय, प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकार भएका निकायहरूको पनि सहयोग जरुरी छ ।’

ढुङ्गानाका अनुसार सङ्घीय व्यवस्थापन कार्यान्वयन भएपछि केन्द्रबाट जलवायु वित्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउन र ती निकायबाट समयमा बजेट खर्च गर्न चुनौती रहेको छ ।

‘हामीले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्न लगानी बढाउनुपर्ने छ । जलवायु परिवर्तनले पारेका नकारात्मक असर समाधान गर्न प्रभावकारी अनुसन्धान हुन आवश्यक छ’, उनले भने, ‘तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) अझै महत्काङ्क्षी बन्ने छ, आवश्यक पर्ने लगानीका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच बढाउन आवश्यक छ ।

जलवायुविद् राजु पण्डित क्षेत्रीले जलवायुजन्य संकट समाधानका लागि आवश्यकता अनुसारको जलवायु वित्त आभाव रहेको भन्दै केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले जलवायुमैत्री बजेट तर्जुमा गर्न आवश्यक रहेकामा जोड दिए।

‘अन्तर्राष्ट्रिय जलवायु वित्तका कोषहरूमा पनि रकम कम छ, तर पहुँच विस्तार गर्न आवश्यक तयारी गर्नुपर्छ’, उनले भने, ‘सन् २०२६ पछि अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) बाट नेपाल बाहिरियो भने हामीले त्यसपछि जलवायु वित्तदेखि कतिपय अन्तर्राष्ट्रिय सुविधा नपाउन सक्छौँ, यसका लागि आन्तरिक क्षमता अभिवृद्धि गर्नुपर्ने भएकाले सोहीअनुसार तयारी हुनुपर्छ ।’

जलवायुविद् डा विमल रेग्मीले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गइरहेको भन्दै जलवायुजन्य संकट समाधान गर्न पूर्वतयारी तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए।

‘जलवायु अनुकूलनसम्बन्धी अन्य देशमा भएका राम्रा अभ्यासको सिकाइबाट नेपालमा अनुकूलनसम्बन्धी कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘स्थानीय आवश्यकता अनुसार प्रविधि विकासमा लगानी बढाउन जरुरी छ, लगानी नगरेसम्म प्रतिफल आउन सक्दैन ।’

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

डडेल्धुरा ।  डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो । उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ ।

शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थालेका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए। किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिए ।

मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताए । उनले भने, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ ।”

किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिए। विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गरे ।

सुरुका वर्ष प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताए । “किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनु पर्दैन । बगानभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ”, उनले भने, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु ।”

पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिए । हाल बिरुवा र फलबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहेका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन् ।

छ देखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगर बताउँछन्। लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन् ।

‘सुपर ओभर’मा विराटनगरलाई पराजित गर्दै पोखरा विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले जितका लागि दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर खेल हो ।


सुपर ओभरमा पोखराले पहिले ब्याटिङ गरेको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौं र अन्तिम बलमा सन्दीपले एक/एक रन खर्चिए । समग्रमा विराटनगरले १९ रनको लक्ष्य पाएको थियो । 


विराटनगरका मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिए । पोखराले बलिङमा पुन रेमन राइफरलाई ल्याएको थियो । पहिलो बलमा मार्टिन गप्टिलले एक रन बनाए । दोस्रो र तेस्रो बलमा किर्तनले एक/एक रन लिए । चौथो बलमा किर्तनले डट बल खेले भने पाँचौं बलमा एक रन लिए । पाँचौं बल रेमनले वाइड दिए र अन्तिम बल डट राख्दै पोखराले विराटनगरमाथि सुपर ओभरमा १३ रनको जित निकालेको हो ।


त्यसअघि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । त्यस्तै रेमन राइफरले ३४ रन जोडे । कप्तान कुशल भुर्तेलले ३१ रन जोड्दा दिनेश खरेल र मिचेल लिस्कले समान ११/११ रन बनाए । 


विराटनगरका लागि प्रतिस जिशीले चार विकेट लिए भने क्रिस सोलले दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो ।


विराटनगरका लागि स्कट एड्वार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउदाँ बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले सात र मार्टिन गप्टिलले पाँच रन बनाए । 


पोखराका लागि सागर ढकाल र रेमन रिफरले समान दुई/दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक÷एक विकेट झारे । आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

किएभ । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृङ्खलामा भएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको २२ जना घाइते भएका हो ।

भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए ।

गभर्नरका अनुसार आक्रमणबाट मध्य जापोरिझियामा रहेको एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले बताए ।

रूसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन् ।

गत शुक्रबार पनि जापोरिझियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

मस्कोले बुधबार युक्रेनको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको सैन्य हवाई क्षेत्रमा पश्चिमा मुलुकले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै युक्रेनविरुद्ध प्रतिशोध लिने रूसले चेतावनी दिएको थियो ।

एक अमेरिकी अधिकारीले रूसले चाँडै नै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निशाना बनाउन सक्ने बताएका छन् ।

टुकुचा कोरिडोर खुलाउन महानगरका जनप्रतिनिधिको माग

काठमाडौँ । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको सवारी ‘जाम’ कम हुने जनाइएको छ । काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताउँछन् ।

काठमाडौँ महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्दै उनले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार÷चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताए । काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार÷चार मिटरको मापदण्ड तोकेको छ ।

काठमाडौँ महानगरपालिका–२लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब एक सय ५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उनले जानकारी दिए । ६२० मिटर क्षेत्रमा छ देखि सात वटा घर भने नदी किनारको चार मिटर मापदण्ड मिचेर निर्माण भएकाले त्यसलाई भत्काउनुपर्ने वडा अध्यक्ष श्रेष्ठ बताउँछन् । यस क्षेत्रमा नदीको मापदण्ड कसले कति मिचेका छन् भन्ने तथ्य पनि बेला बेलामा सार्वजनिक हुने गरेको छ ।

काठमाडौँ महानगरपालिका–२८ ले शङ्करदेव क्याम्पसअघिको करिब १०० मिटर क्षेत्रमा पनि कोरिडोर खुला गरेको छ । वडा नं २८ मा रहेको समाज कल्याण परिषद्को जग्गामा भने अहिलेसम्म कोरिडोर निर्माण हुन सकेको छैन । वडा नं २८ को सबै भागमा कोरिडोर निर्माण हुनुपर्छ भन्ने स्थानीयवासीको माग रेहको वडा अध्यक्ष भाइराम खड्गी बताउँछन् ।

वडा नं ११ को भद्रकाली प्लाजामा पनि करिब १०० मिटर इच्छुमती कोरिडोर खुला छ । बाँकी भागमा धेरै जग्गा सरकारी कार्यालयको पर्ने वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार बताउँछन् । सरकारी कार्यालयलाई ठाउँ छोडाएर राजधानीकोबीच भाग पारेर कोरिडोर बनाउनुपर्छ भन्ने विचार आफूले तत्कालीन महानगरपालिका सभामा विसं २०४९ देखि नै राख्दै आएको उनको भनाइ छ ।

नदी सभ्यता बचाउने सन्दर्भमा स्पष्ट नीति नभएकैले राजधानीको मध्यभाग भएर बग्ने इच्छुमती धेरै फोहर भएको वडाध्यक्ष तण्डुकार बताउँछन् । राजधानीका नदीमा तीनै तहका सरकार मिलेर कोरिडोर निर्माण गर्न सके नदी सफाइका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

बागमती, रुद्रमती (धोबीखोला), विष्णुमती, मनोहरालगायत नदी किनारमा बनेको कोरिडोरले सहज यातायात सुविधा दिएको छ । कोरिडोर निर्माण भएकै कारण नदीमा फोहर फाल्नेहरु समातिएर कानुनी कारबाहीको दायरामा परेको बागमती सफाइ अभियानकर्मी गोविन्द काफ्ले बताउँछन् । इच्छुमतीको सफाइका लागि पनि कोरिडोर खोल्नुपर्ने माग राजधानीमा बढ्न थालेको छ ।

इच्छुमती महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, २८ र ११ क्षेत्र भएर बग्ने गरेको छ । इच्छुमती कोरिडोर खोल्न महानगरपालिका नै लाग्नुपर्ने वडा नं ११ का अध्यक्ष तण्डुकारको माग रहेको छ । कोरिडोरमा दुई पाङ्ग्रे र साना सवारीलाई प्रवेश गराउँदा ठूला सडकमा सवारी जाममा कमी आउने महानगरपालिकाका जनप्रतिनिधिको भनाइ छ ।

पार्टी अध्यक्षमा केपी ओलीविरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैनः उपाध्यक्ष पौडेल(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधान एवं अर्थमन्त्री हुन् । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अहिले नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतका खबरहरु आइरहेका बेला उनले सम्हालेको अर्थ मन्त्रालयका चार महिनाका कामकारबाही, हाल अर्थतन्त्रमा देखिएको भनिएको सुधार र एमालेको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर राससले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यहाँले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको चार महिना वितिसकेको छ । यस अवधिमा अर्थतन्त्रका समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन के पहल गर्नुभयो ?

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हामी मुलुकको समग्र आर्थिक अवस्थाको बारेमा सुक्ष्म रुपमा जानकारी लिन, समस्या पहिचान गर्न र समाधान गर्नमा केन्द्रित भएका छौँ । परिणामतः अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखापर्दै गएका छन् । निजी क्षेत्रको आत्मविश्वास बढेको छ र लगानीको वातावरण बन्दै गएको छ । मन्त्रलयमा बहाल भएलगत्तै हामीले सय दिने कार्ययोजना बनायौँ र तीमध्ये ९० प्रतिशत भन्दा बढी कार्यान्वनय गरेका छौँ ।

मुलुकको अर्थतन्त्र सुधारका लागि हामीले अर्थ जगतका अनुभवी, विज्ञ र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिहरु सम्मिलित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेका छौँ । यसबीचमा हामीले नीतिगत क्षेत्रमा केही महत्वपूर्ण काम पनि सम्पन्न गरेका छौँ । बीमा नियमावली, साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निस्कासन तथा कारोबारसम्बन्धी नियमावली, भन्सार महसुल नियमावली, आन्तरिक राजस्व परिचालन रणनीति, भन्सार मूल्यलाई कारोबार मूल्यमा आधारित बनाउने रणनीति, सार्वजनिक संस्थानमा ऋण तथा लगानीसम्बन्धी नीति, आन्तरिक ऋण निस्कासन तथा व्यवस्थापन कार्यविधि पारित भई कार्यान्वयनमा आएका छन्् । उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम सम्बन्धित खरिदकर्ताको बैंक खातामा फिर्तादिने कार्य प्रारम्भ भएको छ । तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेइकल स्क्यानर मेशिन प्रयोगमा ल्याइएको छ ।

भन्सार प्रज्ञापन पत्रको मूख्य मूख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई एसएमएस वा इमेल मार्फत गराउने प्रणाली सञ्चालनमा आएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकिकरण (डिम्याट) को कार्य आरम्भ भएको छ ।

यहाँले धेरै काम भयो भन्नुभयो तर निर्माण व्ययवसायीको भुक्तानी, राजश्व सङ्कलन, पूँजीगत खर्च लगायतका समस्या समाधान हुन त बाँकी नै देखिन्छ नि ?

हामीले जिम्मेवारी लिँदा अघिल्लो वर्ष भुक्तानी हुनुपर्ने दायित्व समेत बाँकी रहेको चिन्ताजनक अवस्था थियो । यस बीचमा बाँकी भुक्तानी दायित्व पूरा गर्नका लागि अर्थ मन्त्रालयले सहजीकरण गरेको छ र क्रमशः भुक्तानी हुँदै पनि गएको छ । कानुन सम्मत ढंगले सिर्जित भुक्तानी दायित्व यथाशीघ्र पुरागर्ने क्रम जारी छ । आयोजनाहरुको वर्गीकरण र बहुवर्षीय स्रोत सुनिश्चितताका बारेमा विद्यमान द्विविधा हटाउने र स्पष्ट मापदण्डका आधारमा अघि बढ्ने प्रयास भइरहेको छ । विदेशी मुद्राको सञ्चिती, भुक्तानी सन्तुलन, विप्रेषण आप्रवाह, बैंकहरुमा तरलताको अवस्था, ब्याजदर जस्ता विषयहरुमा उल्लेखनीय सुधार भएको छ । पुँजीबजार चलायमान र सुधारोन्मुख अवस्थामा आएको छ । लामो सयमदेखि अनिर्णित अवस्थामा रहेको धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ३.२ प्रतिशत राजस्व बृद्धिदर रहेकोमा यसवर्षको सोही अवधिमा १७ प्रतिशतले वृद्धि भएको छ । राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीय दु्रत गस्ती टोली परिचालन लगायतका विभिन्न उपायहरु अवलम्बन गरिएको छ । वैदेशिक सहयोग (अनुदान तथा ऋण) परिचालनको अवस्था तुलनात्मक रुपमा सकारात्मक बन्दै गएको छ ।

त्यसैगरी महङ्गी र मुद्रास्फिती नियन्त्रित अवस्थामा छ । पुँजीगत खर्च गतवर्षको पहिलो चार महिनाको तुलनामा यसवर्ष चार अर्बले बढी भएको छ । गैरआवासीय नेपालीले लगानी गर्ने गरी स्थापना गरिएको एनआरएनए डेभलपमेण्ट फण्ड कार्यान्वयनको चरणमा आइपुगेको छ । सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योग तथा प्रतिष्ठानहरुको अवस्था यकिन गरी पुनः सञ्चालन गर्न र सञ्चालनमा रहेकाहरुको क्षमता विस्तार गर्न तयारी कार्य अघि बढाइएको छ । निजीक्षेत्र लगायत उत्पादनका हरेक क्षेत्रको मनोबल उठाउन सहयोग र सहजीकरण गरिएको छ । विश्व बैंकका अनुसार गत वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यो वर्ष ५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपाल सन् २०२६ मा अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुने आधार तयार भइरहेको छ । केही हप्ता अघि हामीले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय क्षेत्रको प्रतिष्ठित संस्था फिच रेटिङबाट सोभरेन कन्ट्री रेटिङको काम सम्पन्न गरेका छौँ र ‘डबल बि माइनस्’ नतिजा सार्वजनिक भएको छ । यसबाट नेपालको अवस्था दक्षिण एशियामा भारतपछिको दोस्रो स्थानमा छ भन्ने पुष्टि भएको छ । नेपाल लगानीका लागि अनुकूल गन्तव्य हो भन्ने सन्देश विश्वव्यापी रुपमा नै प्रवाह भएको छ ।

यहाँ त आफुले गरेका कामहरुप्रति सन्तुष्ट जस्तो देखिनुहुन्छ । तर आमनागरिक विशेषतः निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका छन् । यस सम्बन्धमा के भन्नुहुन्छ ?

हामीले सबै समस्याको समाधान भयो भनेका छैनौँ । हाम्रो अर्थतन्त्रका समस्याको बारेमा हामी जानकार नै छौँ । समस्या समाधान गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी हाम्रो हो, सरकारको हो भन्ने कुरामा स्पष्ट छौँ । भन्न के खोजिएको हो भने हामीले जिम्मेवारी सम्हाल्दा विरासतले छाडेका समस्याको चाङमा उभिनुपर्ने अवस्था थियो । स्रोत ब्यवस्थापन, विनियोजन कौशल र बजेट अनुशासनका प्रश्नमा अनेकन समस्याहरु थिए । एकै पटक हजारौँ हजार आयोजना थप गरिएको, ३१ प्रतिशत वृद्धिको लक्ष्य राखेर विश्वास गर्न नसकिने स्रोत अनुमान गरिएको जस्ता गम्भीर समस्याहरु हाम्रा सामु उपिस्थित थिए । समग्र मागमा भारी गिरावट, उद्योगहरुको उत्पादनमा ६० प्रतिशतसम्मको गिरावट, निर्यातमा मात्र होइन, आयातमा पनि भारी मात्रामा गिरावट, रोजगारीमा कटौती, राजश्व परिचालन र पुँजीगत खर्चको चिन्ताजनक अवस्था, सरकार अनिवार्य दायित्व भुक्तानीबाट समेत पन्छिन खोजको अवस्थाका साथै बजेट निर्माणसँगै जोडिएर आएका अनेकन समस्याको चाङ थियो । दुईचार महिनामा अर्थतन्त्रका यी सबै सङ्ग्रहीत समस्याको समाधान सम्भव थिएन ।

तर पनि यो छोटो अवधिमा उल्लेखनीय काम सम्पन्न भएका छन् । मूल कुरा मुलुक कता जाँदैछ र मुलुकको अर्थतन्त्र कता जाँदै छ भन्ने हो । हामीले मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेका छौँ र सकारात्मक दिशातर्फ फर्काएकाछौँ । निजी क्षेत्र लगायत उत्पादनका हरेकजसो क्षेत्रमा आत्मविश्वास बढ्दै गएको छ । अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखापरेका छन् र तिनीहरुलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।

बैंकमा सस्तो ब्याज र पर्याप्त तरलता छ तर त्यसलाई उत्पादन र उत्पादकत्व वृद्धिमा, रोजगारी सिर्जनामा परिचालन गर्नुपर्ने छ । निजी क्षेत्रका जायज सरोकारहरुलाई सम्बोधन गर्नुपर्ने छ । आम नागरिकलाई रोजगारी वा स्वरोजगारीसँग जोड्नु छ, उनीहरुको आयआर्जन बढाउनु छ र समग्र मागमा वृद्धि गर्नुछ । हो, हामी यही काममा लाग्दैछौँ । हामी अर्थतन्त्रलाई चलायमान बनाउने र राजस्व परिचालन तथा पुँजीगत खर्च वृद्धिगर्ने कुरामा अझ बढी केन्द्रीत भैरहेका छौँ ।

अब अलिकति फरक प्रसङ्गमा जाऔँ । कांग्रेस र एमालेको बीचमा देखापरेको दरारले गठबन्धन पूरा अवधि चल्दैन भन्ने चर्चा हुन थालेको छ । मतभिन्नताका बीचमा यस गठबन्धनलाई कसरी गन्तब्यसम्म पुर्याउनु हुन्छ ?

संविधान निर्माण भएपछि नेपाली जनताको चाहना सामाजिक न्याय सहितको समृद्धि हो । तर राजनीतिक अस्थिरताले हामीलाई त्यसतर्फ अघि बढ्न दिइरहेको थिएन । लामो इतिहास, योगदान र हैसियत भएका कांग्रेस, एमाले जस्ता पार्टीसँग बहुमत नहुने, साना दलहरुलाई जोडेर निर्माण गरिएको बहुमत लामो समय टिक्न र जनताको पक्षमा राम्रो डेलिभरी दिन नसक्ने समस्या हाम्रा सामु थियो । २०७९ सालमा निर्वाचित भएको प्रतिनिधिसभा भित्रबाट राजनीतिक स्थायित्वसहितको विकासको यात्रा तय गर्न कांग्रेस एमालेको सहयात्रा बाहेक अर्को कुनै विकल्प थिएन । निर्वाचनपछिका थरी–थरीका गठबन्धनका अभ्यास र तीनका परिणामले पनि यही शिक्षा दिएको थियो । यही पृष्ठभूमीमा यो सरकार बनेको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को बीचमा कायम भएको यो राजनीतिक सहयात्रा कुनै काँचो धागोमा अडिएको छैन । यो निश्चित ध्येय र उद्देश्यमा आधारित छ । राजनीतिक स्थायित्वको बलमा संविधानको रक्षा र विकास, सबै प्रकारका अतिवाद र अस्थिरताका प्रवृत्तिहरुको अन्त्य, सामाजिक न्यायसहितको विकास र समृद्धि यो सहयात्राको मूख्य उद्देश्य हो । मुलुकलाई सकारात्मक दिशामा लैजान वर्तमान प्रतिनिधिसभा भित्र खोज्न सकिने यो अन्तिम विकल्प पनि हो । कांग्रेस र एमालेको बीचमा यो सहयात्रा नहोस् भन्नेहरु निकै सक्रिय थिए । तिनको प्रयासलाई असफल पारेर यो सहयात्रा सुरु भएको हो । अब पनि कांग्रेस र एमालेको बीचमा दरार सिर्जना गर्न र यी दुई प्रमुख पार्टीलाई अलग गर्नका लागि अनेक प्रकारका कोसिस भएका छन् र भइरहने पनि छन् । तर हामीले त्यस्ता प्रयासहरुलाई परास्त गर्छौैं राजनीतिक स्थायित्व सुनिश्चित गर्छौं । विकास, समृद्धि र सामाजिक न्यायको अभियानलाई तिब्र पार्छौं । जनतामा विशेषगरी युवा–युवतीमा, निजी लगायत उत्पादनका हरेक क्षेत्रमा आशा भर्छौं । यो सहयात्रा २०८४ को आम निर्वाचनसम्मका लागि हो । त्यतिबेलासम्म नै कायम रहन्छ, कसैले प्वालपार्ने वा भत्काउने चेष्टा नगरे हुन्छ ।

त्यसो भए यहाँले भन्नुभएजस्तै कांग्रेस र एमालेका बीचमा कुनै समस्या नै छैन त ?

तपाईलाई आश्चर्य लाग्ला हाम्रा बीचमा आजसम्म त्यस्तो कुनै गम्भीर समस्या सिर्जना भएकै छैन । हामीले सरकार सञ्चालनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसका सभापतिज्यू र दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित साझा संयन्त्र निर्माण गरेका छौँ । संयन्त्र अन्तर्गत दुई पार्टीका चार–चार जना नेता सम्मिलित कार्यदल छ । महत्वपूर्ण विषयमा निर्णयमा पुग्नुअघि कार्यदल र संयन्त्रमा छलफल गर्ने प्रणालीको पनि विकास गरका छौँ । जसले गर्दा समस्या सिर्जना हुनै पाउँदैन । संयन्त्र, कार्यदल र मन्त्रिपरिषदमा अत्यन्त जीवन्त र हार्दिक वातावरणमा छलफल हुने गरेको छ । हामीले यही प्रणालीलाई निरन्तरता दिन्छौँ र सरकारमा सहभागी पार्टी, विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको आपसी सम्बन्धलाई यसरी नै २०८४ को आम निर्वाचनसम्म लैजान्छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्र मित्र राष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । यो भ्रमणलाई यहाँले कसरी हेर्नुभएको छ ?

स्वतन्त्र एवम् सार्वभौम राष्ट्रको जननिर्वाचित सरकार प्रमुखको हैसियतमा सम्पन्न भएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चीन भ्रमण अत्यन्त सफल र ऐतिहासिक रह्यो । यस भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाएको छ । भ्रमणका क्रममा विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिनुका साथै नयाँ ऐतिहासिक महत्वका सम्झौताहरु पनि सम्पन्न भएका छन् । नेपालको आर्थिक विकास, विशेषगरी पूर्वाधार विकासमा यी सम्झौताहरुको विशेष र दूरगामी महत्व छ ।

तर पनि भ्रमणको प्रभाव त मिश्रित जस्तो देखियो नि । काँग्रेसकै कतिपय नेताले चीन भ्रमणका क्रममा भएका सम्झौता, विशेषगरी फ्रेमवर्क फर बिआरआई कोअपरेशन एग्रिमेण्टप्रति नकारात्मक टिप्पणी गरिरहेको देखिएको छ । भ्रमणको सफलतामथि प्रश्न खडा भएन र ?

होइन, विषयलाई त्यसरी बुझ्न हुँदैन । नेपाली कांग्रेसको आधिकारिक धारणालाई पार्टी सभापतिले प्रतिनिधित्व गर्नुहुन्छ भन्ने मैले बुझेको छु । कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको चीन भ्रमणलाई अत्यन्त सफल भन्नुभएको छ । त्यति मात्र होइन उहाँले सम्माननीय प्रधानमन्त्री र उहाँको नेतृत्वको सरकारले राम्रो काम गरेको पनि बताउनुभएको छ । फ्रेमवर्क फर बेल्ट एण्ड रोड कोअपरेशन एग्रिमेण्टका बारेमा सम्झौता गर्नुपूर्व दुवै पार्टीको शीर्ष नेतृत्व तहमा गम्भीरतापूर्वक छलफल भएको छ, के गर्ने के नगर्ने भन्ने विषयमा सहमति भएको छ । बिआरआई सम्झौतमा भएको हस्ताक्षर नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति अनुरुप नै छ । कसैले यस विषयलाई उछालेर दुई प्रमुख पार्टीका बीचमा अन्तरविरोध सिर्जना गर्न सकिन्छ कि भन्ने ठानेको छ भने त्यो भ्रम मात्र हो ।

एमालेभित्रको अन्तरविरोधलाई भुसको आगोजस्तो अवस्थामा छ भन्छन् नि मानिसहरु । यस विषयमा यहाँको भनाई के छ ?

नेकपा (एमाले) एउटा यस्तो पार्टी हो, जहाँ नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रियाशील छौँ । जनताको बहुदलीय जनवाद र दशौँ राष्ट्रिय महाधिवेशनका निष्कर्षहरुप्रति सिङ्गो पार्टी पङ्क्तिमा गहिरो विश्वास छ । त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति समस्त पार्टी पङ्क्तिको उच्च सम्मान र भरोसा छ । उहाँ वैधानिक ब्यवस्था अनुरुपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाकोे अध्यक्ष हुनुहुन्छ । पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे–जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाँउसम्म आइपुगेको छ । उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन । हो, पार्टीभित्र परिस्थिति वा घटना विशेषमा आधारित भएर असहमति वा अन्तरविरोधहरु देखा पर्न सक्तछन् तर हामीले तीनलाई तत्क्षण त्यही ठाउँमा समाधान गर्दै पार्टीको आन्तरिक एकतालाई अक्षुण्ण राख्छौँ र पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउँछौं । अब हुने नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ । अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै संभावना छैन । नेकपा (एमाले)लाई मात्र होइन, सिङगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन ।

त्यसो भए के एघारौँ महाधिवेशनपछि पनि केपी ओली नै अध्यक्ष रहि रहनुहुन्छ ? तपाईहरुसँग नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास नभएको त होइन ?

प्रश्न आत्मविश्वासको होइन, प्रश्न सक्षम नेतृत्वको हो । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले नेकपा (एमाले)लाई मात्र होइन सिङगो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहनु भएको छ । उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा (एमाले)मा छैन । अनि किन खोज्नु प¥यो नेतृत्वको विकल्प ? नेतृत्व भनेको रहरको बिषय पनि होइन । यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको बिषय पनि हो । म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस बिषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन ।

तपाईले एघरौँ महाधिवेशनमा केपी ओलीको विकल्प छैन भन्ने निष्कर्ष प्रस्तुत गर्नुभयो । लामो समयदेखि उहाँसँग समिपमा रहेर काम पनि गर्नुभएको छ । यहाँले केपी ओलीलाई कसरी बुझ्नुहुन्छ ?

उहाँ समकालीन नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय, सबैभन्दा भिजनरी, आफ्नो आस्था र उद्देश्यप्रति अविचलित, जनता र राष्ट्रको हितका विरुद्ध कहिल्यै र कसैसँग सम्झौता नगर्ने, आफूमा निहित योग्यता, उर्जा र सिङ्गो जीवनलाई जनता र राष्ट्रको हितमा समर्पण गर्नुभएका नेता हुनुहुन्छ । उहाँ हावाको तालमा बग्ने होइन कि आवश्यक पर्दा ‘एण्टी करेण्ट’ पनि उभिन सक्ने र जनताको मनमा बास बनाउन सक्ने नेता हो । तर जनताका बैरीका लागि भने उहाँ अत्यन्त कठोर हुनुहुन्छ ।

त्यस्तै मानिसको जीवनको मूल्य बुझेको, सबै उमेर समूह, सबै जाति, भाषा, संस्कृति र लिङ्गका नेपालीले उत्तिकै प्रिय ठान्ने तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत र मर्यादाको प्रतिनिधित्वका साथै नेपालको पक्षमा पैरवी गरी दुनियामा नेपाललाई चिनाउन र नेपालको प्रतिष्ठा बढाउन सक्ने नेताका रुपमा मैले चिनेको छु । उहाँ एकपटक देखेको, सुनेको र भोगेको प्रसङग कहिल्यै नविर्सने असाधारण स्मरण शक्ति भएको ‘इन्साक्लोपेडिया’ जस्तो विलक्षण प्रतिभाको पनि धनी हुनुहुन्छ । यसका साथै समस्त नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो भनेर शुत्रवद्ध गर्ने नेपाली विशेषताको समाजवादका स्वप्नद्रष्टा एवं नेपालले विरलै प्राप्त गर्न सक्ने एक राजनेताका रुपमा मैले उहाँलाई बुझेको छु ।

मलाई लाग्छ सरलता र दृढता उहाँको जीवनका अभिन्न विशेषता हुन् । उहाँसँग सङ्गत गर्ने र सम्वाद गर्नेहरु असहमत हुन त सक्लान तर उहाँबाट प्रभावित नहुने व्यक्ति भने विरलै छन् । अध्यक्ष ओलीमा अप्ठ्यारोलाई सजिलोसँग भोग्न सक्ने र सजिलोलाई सामान्य रुपमा लिन सक्ने असाधारण खुबी छ । त्यस्तै उहाँसँग परिस्थिति बुझ्ने र समाधान खोज्ने विलक्षण क्षमता पनि छ । ब्यक्तिगत रुपमा उहाँ मेरो अभिभावक, प्रेरक ब्यक्तित्व र मार्गदर्शक हो । राजनीतिक रुपमा आज म जुन ठाउँमा र जुन भूमिकामा छु त्यसका निम्ति उहाँको प्रेरणा, प्रोत्साहन र प्रशिक्षणको निर्णायक भूमिका छ ।

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।

आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने छ ।

पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ । बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउँदा बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले ७ तथा मार्टिन गप्टिल ५ रन बनाए ।

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान दुई दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक एक विकेट झारे । पोखरा अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

काठमाडौँ । जापान सरकारको अनुदान एक करोड ३५ लाखको लागतमा हुम्लाको सरदमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ ।

बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे ।

उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले जारी विज्ञप्तिमा जनाइएको छ ।

फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को स्केच पोस्टर सार्वजनिक

काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को औपचारिक घोषणा गरिएको छ ।

छायाँकन पुरा भएर हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्मको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

फिल्मको निर्माण टिमले सार्वजनिक गरेको स्केच पोस्टरमा आशीर्वादसहितका कलाकारहरु चित्रित छन् भने एउटा घर र मन्दिर पनि देख्न सकिन्छ ।

ग्रामीण परिवेशको कथामा फिल्म बनेको पोस्टरले बुझाउँछ । बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ । यो फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका हुन् ।

यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । उनले निर्देशन गरेका दुवै फिल्मले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहलाई छ ।

निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ ।

जनवरी १ देखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

काठमाडौं । सरकारले आगामी पुस १७ गतेदेखि लागू हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उडानमा रोक लगाएको जानकारी दिएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी संघ/संस्थाहरुको मंगलबार बसेको बैठकले हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।

अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन । हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो ।

हेलिकप्टर उडानबाट खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको कार्यालयले जनाएको छ।

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सातवर्ष कैद सजायको माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो ।

उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै प्रसाईंले अफवाह फैलाएका थिए ।

त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रसाईंको थुनछेक बहस बिहीबार हुनेछ । प्रसाईंविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ ।

अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दैछौँः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनका लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताएका छन् ।


अर्थ समितिको बुधबारको बैठकमा उनले आयोजनाको वर्गीकरणसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कुन तहका सरकारले कस्तो आयोजना कार्यान्वयन गर्ने भनेर स्पष्ट पारिनुपर्ने बताए ।

‘हामीसँग हजारौँको सङ्ख्यामा खल्तीका आयोजना छन् । विस्तृत अध्ययन र सम्भाव्यताबिना नै त्यस्ता आयोजनामा बजेट परेका छ । सङ्घ सरकारको बजेटमा ७५ हजार लागतको योजना पनि परेको देखियो । यसरी हजार र लाखका योजना केन्द्र सरकारले राख्यो भने प्रदेश, स्थानीय तह, वडाले कस्ता योजना बनाउलान् र कार्यान्वयन गर्लान् ?’, उनले भने, ‘विनियोजन कौशल भएन भने स्रोतको सही सदुपयोग हुन सक्दैन । यसकारण योजनाको वर्गीकरण चाहियो ।’

निर्माण व्यवसायीको दायित्व सरकारले नरोकेको पनि उनको भनाइ छ । विधि र प्रक्रिया पुर्‍याएर आए सरकारले कुनै पनि निर्माण व्यवसायीको भुक्तानी नरोक्ने उनले स्पष्ट पारे ।

मुलुकको अर्थतन्त्रको अवस्था बिस्तारै सुधारोन्मुख देखिए पनि त्यसको गतिबाट आफू सन्तुष्ट नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ थियो ।

‘अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दैछौँ । लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैन’, अर्थमन्त्री पौडेलले भने, ‘विदेशी मुद्रा सञ्चिति राम्रो छ । पर्याप्त तरलता र ब्याजदर घेटेको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । तर यो प्रगतिसँग हामी सन्तुष्ट छैनौं । यसमा थप सुधार आवश्यक छ । अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन ।’

गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोहि अवधिमा सरकारी राजस्व बढेको देखिए पनि लक्ष्यअनुसार भने अझै सङ्कलन हुन नसकेको अर्थमन्त्री पौडेलले बताए ।

राजस्व प्रशसनमा रहेका समस्यालाई गम्भीर भएर निगरानी बढाइए पनि सरकारका प्रयास सम्पूर्ण रुपमा सफल हुन नसकेको उनको भनाइ छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले राखेको राजस्व लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको भन्दा करिब ३० प्रतिशत बढी राजस्व उठाउने पर्नेगरी महत्वाकाङ्क्षी भएर अर्थमन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।

अहिले बजारमा तरलता पर्याप्त हुँदा र ब्याजदर घट्दा पनि लगानी बढ्न नसक्नुको कारणबारे आफूले नेपाल राष्ट्र बैङ्कसँग कुरा गरेको पनि अर्थमन्त्री पौडलले समितिलाई जानकारी दिए ।

त्यस्तै, सेयर भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र कर्नरिङ जस्ता समस्या देखिएकाले त्यसलाई नियन्त्रण गर्नका लागि पहल भइरहेको उनले बताए । नेपालले इतिहासमै पहिलोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरेको र यसको नतिजा सन्तोषजनक अवस्था देखिएकाले अब विस्तारै लगानी बढ्दै जाने आशा व्यक्त गरे । सरकारले आफ्नो आवश्यकता र क्षमता हेरेर सार्वजनिक ऋण लिने पनि उनले स्पष्ट पारे ।

बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले घटेको बजार माग र निजी क्षेत्रको मनोबल उकास्नु अहिलेको मुख्य चुनौती रहेको बताएका थिए ।

‘हाम्रो अर्थतन्त्रका समस्या बिस्तारै कम हुँदै गए पनि अझै कायम छन् । निजी क्षेत्रको आत्मविश्वास बढाउने चुनौती हाम्रासामु छ । बजारमा माग पनि घेटेको छ’, डा महतले भने, ‘सेयर बजारमा सुधार भए पनि स्वस्थकर रुपमा विकास हुन सकेको छैन । निकायम निकायहरुले समस्या हल गर्नेभन्दा पनि समस्या बढाउने काम गरेका छन् ।’

नेपालको बीमा क्षेत्र निकै अपारदर्शी रहेको र त्यहाँ मिलेमतो गरेर बीमाको दररेर आफूखुसी तय गर्ने प्रवृत्तिले कारोबार लागत बढी हुन गई आयोजनालाई समस्या भइरहेको उनको भनाइ छ ।

त्यस्तै, वैदेशिक सहयोगका आयोजनालाई दिइएको भन्सार छुट दिएको दुरुपयोग भइरहेको पनि पूर्वअर्थमन्त्री डा महतको भनाइ छ । उनले भने, ‘नेपालको सार्वजनिक ऋणको दायित्व निकै बढी भइसकेकाले अब विचार पुर्‍याएर मात्र ऋण लिनुपर्छ, द्विपक्षीय ऋण रोक्नै पर्ने बेला भएको छ । बहुपक्षीयबाट भने लिन सकिन्छ । किनकि त्यसका सेवा सर्त सहज छन् ।’

समिति बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताए । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि प्रक्रिया थाल्ने उल्लेख गरेको र त्यसका लागि सरकारले उच्चस्तरीय सुझाव कार्यदल पनि गठन गरिसकेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता पूर्वअर्थमन्त्री डा महतले तयार पारेको, बजेट आफूले तयार पारेको र कार्यान्वयन गर्ने बेलामा वर्तमान अर्थमन्त्री पौडेलले जिम्मेवारी सम्हालेकाले अहिलेको बजेट पूर्वाग्रहरहित भएर कार्यान्वयन गर्न पनि उनल आग्रह गरे । लक्षित राजस्व पुर्‍याउन सरकारका अहिलेका प्रयास पर्याप्त नरहेको पनि पुनको भनाइ छ ।

सहकारी क्षेत्र नियमनका लागि जतिसक्दो चाँडो छुट्टै निकाय गठन गर्न पनि उनले सरकारसँग आग्रह गरेका थिए । बैठकमा सांसद उपेन्द्र यादवले कोभिड–१९ महामारीपछि बन्द रहेका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा ल्याउनुपर्ने तथा सीमा क्षेत्रमा हुने चोरी–पैठारी रोकिनुपर्ने विषय उठाए ।

बैठकमा सांसद विराजभक्त श्रेष्ठले मुलुकमा अनौपचारिक अर्थतन्त्रको आकार बढ्दै गएको र अवैध हुण्डी मौलाएको बताउनुभयो । अहिले धराशयी अवस्थामा रहेको सहकारी क्षेत्र नियमनका लागि तत्काल पहल थाल्न सरकार असफल भएको पनि उनले आरोप लगाउए । उनले भने, ‘विकास खर्च प्रतिफल ठाउँमा मात्रै लगानी गर्नुपर्छ ।’

कुमोन शिक्षा कार्यक्रम नेपालमा कार्यान्वयनमा

काठमाडौँ । विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ ।

बुधबार आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो ।

सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, ‘आइक्यु’को स्तर वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुग्ने बताइएको छ ।

विभिन्न ४० भन्दा बढी विद्यालयका प्रधानअध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपिओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्वमा जोड दिए ।

जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थीहरू (करिब ४० लाख)ले कुमोन विधि प्रयोग गरिरहेको बताइन् । यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रहरूमा सञ्चालित छन् ।

यस विधिले लाखौँ बालबालिकाको मनोवैज्ञानिक विकासमा योगदान पुर्याउँदै उनीहरूलाई स्वतन्त्ररूपमा सिक्न र आलोचनात्मक सोच विकास गर्न प्रेरित गर्दै आएको छ ।

कुमोन आइजिसी नेपालका अध्यक्ष गणेशमान लामाले यस विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित कार्यक्रमको रूपमा बुझ्न आग्रह गरे । यसले परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्ने बताए ।

कार्यक्रममा एलआरआई स्कुलकी संस्थापक ट्रस्टी डा यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज विश्वकर्माले कुमोन कार्यक्रम अपनाएपछि आफ्ना विद्यार्थीहरूको व्यवहार र शैक्षिक क्षमतामा सकारात्मक परिवर्तन देखापरेको बताए ।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कुमोनजस्ता कार्यक्रमहरूको आवश्यकता रहेको उल्लेख गरे ।

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालन

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३-११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान गर्नुका साथै ११ केभी लाइन निर्माण गरिएको हो ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायत ६३ वटा परियोजना सम्पन्न भएका छन् भने १० परियोजना सञ्चालित रहेका जलविद्युत् आयोजनाका सञ्चार विज्ञ सचिन गौतमले जानकारी दिए।

आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेका छन् । कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा एक सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको उनले बताए।

निर्माण कम्पनीले चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो मुख्य बाँध निर्माण, चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण, मुख्य सुरुङ निर्माण भइरहेका छन् । मुख्य संरचनालाई तीन चरणमा विभाजन गरी निर्माण भइरहेको बताउँदै निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको आयोजनाका सञ्चार विज्ञ गौतमले जानकारी दिए। उनका अनुसार समग्र निर्माण विसं २०८३ असारभित्र ९सन् २०२६ मे० सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा  दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ ।

त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि  एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका छन् ।

मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । जसमा किसानले ‘प्रिपेड कार्ड’को माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ ।

यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ । परियोजनाको मुख्य उद्देश्य कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता र खाद्य सुरक्षा प्रवर्द्धन गर्नु हो ।

त्यसैगरी जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरहरुप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ ।

यसले खानेपानीको समस्या समाधान गर्न, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन, कृषि वन र वन व्यवस्थापनका माध्यमबाट सशक्त बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताए ।

एडिबीका देशीय निर्देशक कोश्वाले यी परियोजनाका विशेषता र यसले नेपालको आर्थिक क्षेत्रमा ल्याउने योगदानको चर्चा गर्दै जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडिबीले नेपाललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए । यी सम्झौता नेपाललाई दिगो विकास हासिल गर्न र जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे 

कोलम्बो बन्दरगाहका लागि अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता

नयाँदिल्ली । भारतको अडानी समूहले श्रीलङ्कामा बन्दरगाह निर्माणका लागि अमेरिकी सरकारको समर्थनमा ऋण मागेको आफ्नो अनुरोध फिर्ता लिएको छ ।

न्युयोर्कमा महत्त्वपूर्ण अभियोग दर्ता भएको केही हप्तापछि यो कदम आएको हो । अभियोगमा समूहका अर्बपति संस्थापक गौतम अडानीमाथि घुसखोरी योजनाको एक हिस्साको रूपमा जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई गुमराह बनाएको आरोप लगाइएको छ ।

अडानी पोर्ट्स एन्ड स्पेशल इकोनोमिक जोन लिमिटेडले मङ्गलबारको एक विवरणमा उसले कोलम्बो वेस्ट इन्टरनेशनल टर्मिनल निर्माणका लागि युनाइटेड स्टेट्स इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी) बाट ५५ करोड ३० लाख डलरको ऋण अनुरोध फिर्ता लिएको विज्ञप्तिमा बताएको छ ।

“यस परियोजनाले राम्रोसँग प्रगति गरिरहेको छ र अर्को वर्षको सुरुमा सम्पन्न हुने बाटोमा छ”, विज्ञप्तिमा भनिएको छ, “यस परियोजनालाई कम्पनीको आन्तरिक स्रोत र पूँजी व्यवस्थापन योजनामार्फत वित्त पोषण गरिनेछ ।”

बन्दरगाहको अनुमानित लागत ७० करोड डलर छ र यो चीनद्वारा सञ्चालित यस्तै सुविधाको नजिक रहेको छ । डिएफसीसँगको ऋण सम्झौतालाई गत वर्ष अन्तिम रूप दिइएको थियो । यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको प्रतिरोध गर्ने माध्यमका रूपमा हेरिएको थियो ।

श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त जलमार्गको बीचमा अवस्थित छ, जसले मध्यपूर्व र पूर्वी एसियालाई जोड्छ र यसको समुद्री सम्पत्तिहरूलाई रणनीतिक महत्त्व दिन्छ ।
यसअघि भारत र अमेरिकाले पनि बेइजिङले श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आफ्नो पकड जमाएर सैन्य फाइदा लिन सक्ने चिन्ता व्यक्त गरेका थिए ।

नोभेम्बरमा अडानीविरुद्ध अभियोग लगाइएपछि श्रीलङ्काले बन्दरगाह र ४४ करोड २० लाख डलरको पवन ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनाहरूको अनुसन्धान सुरु गरेको थियो ।

अमेरिकी अभियोजकहरूले यसका संस्थापक र अन्य वरिष्ठ अधिकारीहरूमाथि भारतीय सरकारी अधिकारीहरूलाई घुस दिएको आरोप लगाएको अभियोगपछि अडानी समूहले शेयर बजारमा लगभग ५५ अर्ब डलर गुमाएको बताएको छ ।

कोइला, विमानस्थल, सिमेन्ट र मिडियामा फैलिएको व्यापारिक साम्राज्यका साथ अडानी समूहले पहिले पनि कर्पोरेट धोखाधडी आरोपहरूको सामना गरेको छ र गत वर्ष यस्तै शेयर बजार पतनको सामना गरेको थियो । हिन्डेनबर्ग रिसर्चको एक प्रतिवेदनले यसलाई ‘निर्लज्ज’ कर्पोरेट जालसाजीको आरोप लगाएपछि समूहको बजार मूल्यबाट एक खर्ब ५० अर्ब डलर घाटा भएको थियो ।

रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

बेइजिङ । रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

‘रूसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रूसबीचको महत्वपूर्ण उच्चस्तरीय विचारहरूको आदानप्रदान हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने।

माओले रूसी सुरक्षा परिषद्को उपप्रमुखका रूपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिएनन् ।

सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उनी बेइजिङका लागि छुट्नु अगाडी रूसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

चीन रूको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रूपमा चित्रण गरेका छन् । बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन । सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ ।

नेपाली कांग्रेसद्वारा भातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्

काठमाडौंद्वारा लुम्बिनी लायन्स १८ रनले पराजित

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे । 

त्यसैगरी, उन्मुक्त चन्दले १९ बलमा १३ रन बनाउँदा सूर्य तामाङ ११ रन जोड्दै अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल आठ, टम मुर्स छ तथा ओपनर आशुतोष घिरैया चार रनमा आउट भए । 

काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिए भने दीपेश कँडेलले तीन विकेट लिए । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा एक सय तीन रनको योगफल बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेस गौतम र रेमन सिमण्डसले समान दुई– दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए । 

पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो ।

चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बुधबार दुई खेल हुनेछ । जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् ।

बुधबार ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीले काठमाडौँमा आयोजना गरेको रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘सरकारले रोजगारी दिने होइन सुविधा दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र हुने भएकाले रोजगारीको प्रमुख स्रोत पनि निजी क्षेत्र हो ।’

सोही कार्यक्रममा बोल्दै मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको उनले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि महाशाखा, बोर्ड र विभाग भए पनि आन्तरिक रोजगारीका लागि केही व्यवस्थापन भएकाले आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागिएको मन्त्री भण्डारीको भनाइ छ ।

‘मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापनाले मुलुकभित्रका रोजगारीको सम्भावनाहरूलाई प्रवर्द्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्नेछ’, उनले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ ।

आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ ।

‘यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक तथा कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ’, रजिस्ट्रार महतले भने, ‘यो निर्णय संस्थागत हितका लागि महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ, प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं योगदानलाई कदर गर्दै, वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ ।’

लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । तत्कालीन समयमा २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो ।

तीन वर्षको प्रयास र विभिन्न कठिनाइ पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको रजिस्ट्रार महतको भनाइ छ ।

‘प्रतिष्ठानको दीर्घकालीन हितका लागि लोकसेवा आयोगजस्तो विश्वसनीय संस्थामार्फत पदपूर्ति गर्नुपर्ने आवश्यकता थियो, यो निर्णयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति भित्र्याउन ठूलो सहयोग पुर्‍याउने छ’, प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने।

रत्नेचौर-भकुन्डे-भकिम्ली सडकको ७० प्रतिशत प्रगति

म्याग्दी । सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ०७९ भदौ ६ गते गजेन्द्र-नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबिच भ्याटबाहेक रु. २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ ।

०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका- १, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो ।

अहिले सडक फराकिलाे पार्ने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भइरहेको र दैनिक ४० जनाले काम गरिरहेका सडक कार्यालयका इन्जिनियर अरुण सेढाईंले जानकारी दिए । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किलाेमिटर आरसिसी ढलान गर्ने उनको भनाइ छ ।

‘अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ, ठेक्का अवधि सकिन चार महिना मात्र बाँकी छ, समयमा नै बजेट प्राप्त भए पुसमा ग्राभेल गर्ने, माघमा बेस बिछ्याउने र फागुनदेखि कालोपत्रको काम गर्ने योजना हो,’ सेढाईंले भने ।

घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भइरहेको सेढाईंले बताए । संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्त्वको सडक आयोजना सञ्चालन गर्न रु. ४०–४० करोड विनियोजन गरेको थियो । भकुन्डे तथा उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ । पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी– ३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।

संघीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलाेमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।

नेप्सेमा पाँच अर्ब पाँच करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । बुधबार नेप्से ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन खानी खोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय आठ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३६ करोड रुपैयाँको शेयर खरिद÷बिक्री भयो ।

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

विन्जाओ (चीन) । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो । 

फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक प्राकृतिक सम्पदा, पर्यटन क्षेत्र, कलासंस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ । 

प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको छ । सान्तोङ प्रान्तका पूर्वउप–प्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (नेपाल) र विन्जाओ फोटोग्राफर एसोसिएसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफीसम्बन्धी सामग्र्री आदानप्रदानमा सहकार्य गर्ने सम्झौता भएको एनएफपिजेका केन्द्रीय अध्यक्ष वन्तले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्र मामिला निर्देशक पाइमिईले फोटोग्राफीमार्फत नेपाल–चीनको मैत्रीसम्बन्ध बलियो बनाउनाका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताए ।

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

४७ लाख ४९ हजार रुपैयाँसहित मोरङबाट एक महिला पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित मोरङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको रंगेली नगरपालिका–८ दर्वेशाकी ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई ४७ लाख ४९ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुम्बिनीलाई १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर २ बलमा १०३ रनमा अलआउट भयो । काठमाडौंका भीम सार्कीले ३१ रन बनाए ।

लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए । एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

रविलाई पोखरा लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो ।

बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो । लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।

त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।

युक्रेन सङ्कट समाधान आफ्नो पहिलो प्राथमिकता भएको ट्रम्पको भनाइ

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

“मलाई लाग्छ हामीले रूससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ, अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार रेकर्ड गरिएको एक अन्तर्वार्तामा भने ।

“ती दुवै देशले ठूलो सङ्ख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौं सैनिक मारिएका छन्,” ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भने ।

“मध्यपूर्व निश्चित रूपमा एक ठूलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रूससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो,” ट्रम्पले भने।

उनले भने, “तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू मरिरहेका छन्।”

ट्रम्प सन् २०१९ मा भएको भीषण आगलागीपछि ‘नोट्रे डम क्याथेड्रल’ पुनः सञ्चालनका लागि शनिबार पेरिस आएका थिए । फ्रान्स भ्रमणका क्रममा उहाँले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

“राष्ट्रपति जेलेन्स्कीसँग हाम्रो भेट भयो र भेटमा सकारात्मक कुराकानी भएको छ,” ट्रम्पले भने । जेलेन्स्कीले मङ्गलबार युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्पको दृढ सङ्कल्पप्रति आफू कृतज्ञ रहेको बताएका थिए ।

ट्रम्पले २४ घण्टाभित्र युक्रेनको द्वन्द्व अन्त्य गर्न सकिने बताएका थिए । आइतबार उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका थिए, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ ।”

सिरियामा लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई विद्रोहीले सत्ताच्यूत गरेको सिरियामा हस्तक्षेप नगर्न पनि उनले वासिङ्टनलाई आग्रह गरेका छन् ।

“सिरियाले आफ्नो सुरक्षा गर्नुपर्छ,” ट्रम्पले अन्तर्वार्तामा भनेका छन् । हामी सिरियामा संलग्न छैनौँ र हुने सम्भावना पनि छैन ।”

चिनियाँ ह्याकर खोज्नेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले मंगलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह-षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ ।

विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन् । गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मंगलबार मुद्दा खोलिएको थियो ।

अर्थ मन्त्रालयले गुआनले सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडका लागि काम गरेको कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । अभियोगअनुसार गुआन र सिचुआन साइलेन्सका सह-षड्यन्त्रकारीहरूले कथित रूपमा बेलायतमा आधारित साइबर सुरक्षा कम्पनी सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएका थिए ।

“प्रतिवादी र उनका सह-षड्यन्त्रकारीहरूले विश्वभरका दशौँ हजार नेटवर्क सुरक्षा उपकरणमा क्षति पुर्‍याउने गरी आक्रमण गरे, जसका कारण उनीहरू विश्वभरका प्रयोगकर्ताहरूको डाटा चोर्न सफल भए”, उप महान्यायाधिवक्ता लिसा मोनाकोले विज्ञप्तिमा भने ।

सन् २०२० को अप्रिलमा विश्वभरका ८१ हजार फायरवाल उपकरणमा एकै समयमा आक्रमण गरिएको थियो, जसको उद्देश्य प्रयोगकर्ता नाम र पासवर्ड लगायत डाटा चोर्नु र रानसमवेयरद्वारा कम्प्युटरहरूलाई सङ्क्रमित गर्नु थियो ।

अमेरिकाका करिब २३ हजार फायरवाल उपकरण थिए, तीमध्ये ३६ वटा ‘महत्त्वपूर्ण पूर्वाधार कम्पनीका प्रणालीहरू’ सुरक्षित गरिरहेका थिए । “गुआन तियानफेङ र उनका सह-षड्यन्त्रकारीहरूले फेला पारेको र दोहन गरेको जिरो-डे कमजोरीले अमेरिकाका व्यावसायिक संस्थाहरूलाई असर पार्‍यो”, एफबीआई एजेन्ट हर्बर्ट स्टापलेटनले भने, “यदि सोफोसले द्रुत रूपमा कमजोरीको पहिचान र व्यापक प्रतिक्रिया तैनाथ नगरेको भए क्षति अझ गम्भीर हुन सक्थ्यो ।”

अभियोगअनुसार सिचुआन साइलेन्सले आफ्ना सेवाहरू र ह्याकिङबाट प्राप्त डाटालाई चिनियाँ व्यवसाय र सार्वजनिक सुरक्षा मन्त्रालय लगायत सरकारी संस्थाहरूलाई बेचेको थियो ।

सिचुआन साइलेन्समा दर्ता गरिएको फोन नम्बरमा कलको जवाफ दिने एक व्यक्तिले कम्पनीले ‘अन्तर्वार्ता स्वीकार नगरेको’ र प्रतिबन्धहरूमा टिप्पणी गर्न अस्वीकार गरेको बताए । आफ्नो परिचय नदिने ती व्यक्तिले गुआनसँग ‘सम्पर्क गर्न असम्भव छ’ भने ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

सोल ।  दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान भइरहेका बेला प्रहरीले बुधबार उनको कार्यालयमा छापा मारेको छ।

जेल प्रशासनका अनुसार देशका पूर्व रक्षामन्त्रीले डिसेम्बर ३ को रातिको घटनालाई लिएर औपचारिक रूपमा पक्राउ पर्नुभन्दा केही समयअघि आत्महत्याको प्रयास गरेका थिए ।

सैन्य शासन लागु भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई यूनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नको लागि प्रयास गरिए पनि विपक्षी गठबन्धनले सेनाको घेरालाई तोड्दै संसद्मा राष्ट्रपतिविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो ।

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रिय सभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ ।

विज्ञप्तिमा छापापछिको विकासक्रमको बारेमा थप विवरण दिइएको छैन । यसैबीच, पूर्व रक्षामन्त्री किम योङ ह्युनले हिरासतमा रहँदा मंगलबार मध्यरातमा आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

किमलाई पहिलो पटक आइतबार पक्राउ गरिएको थियो । उनलाई औपचारिक रूपमा पक्राउ गर्नुभन्दा केही समयअघि नै उनले आत्महत्याको प्रयास गरेको न्याय मन्त्रालय र जेलका एक अधिकारीले बताएका छन् ।

बुधबार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । किमलाई ‘सैनिक कानून घोषणा गर्न महत्वपूर्ण भूमिकामा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पुर्‍याउन पदीय मर्यादाको दुरुपयोग गरेको’ आरोपमा पक्राउ गरिएको थियो ।