`

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको छ ।

गत बिहीबार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सोमबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एव् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियाका ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
सरकारले निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । यस्तै एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जनाइएको छ । 

बैठकले सरकारका नाममा दर्ता रहेको सर्लाही जिल्ला साविक  लक्ष्मीपुर गाविसको ०–५–२–८ बिघा सरकारी प्रकृतिको जग्गा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि हरिपुर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय भएको हो ।

बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा राजेन्द्रप्रसाद बराल, कास्की र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ । 

साथै बिहीबारको बैठकले यहि पुस २ र ३ गते थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ । 

बैठकले महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमका लागि आर्थिक वर्ष २०८१÷८२ मा  सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ  । 
काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो)का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान एवं जापान फण्ड फर प्रसपोरस एण्ड रेजिलेन्ट एसिया एण्ड द प्यासिफिकबाट प्राप्त हुने तीन  मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब११ अर्ब ५५ करोड ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने बैठकले निर्णय गरेको छ । 

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ । 

महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमका लागि आव २०८१÷८२ मा  सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल न्याय सेवा, न्याय समूहका सात जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार बसेको बैठकले संयुक्त राष्ट्र सङ्घीय सन्धिजनित निकायमा पेस गरिने प्रतिवेदनहरूको अभिन्न अङ्गका रूपमा रहने आधारभूत साझा दस्तावेज स्वीकृत गर्ने भएको छ । बैठकले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अभिसन्धिको समितिसमक्ष नेपालले पेस गर्नुपर्ने चौथो आवधिक प्रतिवेदन स्वीकृत गर्ने गरेको छ ।  नेपाल सरकार र गणतन्त्र भारत सरकारबिच हस्ताक्षर हुने ‘पनी, सरसफाई र स्वच्छता’ क्षेत्रको विकाससम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । 

सरकारले विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) (पहिलो संशोधन) आदेश, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका,  लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन नीति र औद्योगिक तथा लगानी प्रवद्र्र्धन कोष सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय शहरी नीति, २०८१ समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

सोमबार उच्च अदालतका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झा र थापालाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

झाले जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानुनी रूपमा थुनामा पठाएको भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । यसअघि २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले झा र थापालाई थुनामा पठाउन आदेश दिएको थियो ।

वैदेशिक लगानीको सुरक्षामा सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री भण्डारी

काठमाडौ‌ं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहेका मन्त्री भण्डारीले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास कोरिया र कोरिया नेपाल इन्टरनेसनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गदै यस्तो बताएका हुन् ।

‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ । ढुक्कका साथ लगानी गर्न कोरियन लगानीकर्तालाई म आग्रह गर्दछु’, मन्त्री भण्डारीले भने। उनी कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गरेका थिए ।

कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको र आगामी दिनमा नेपाल र कोरियाबीचको आपसी सम्बन्ध थप उचाइमा पुर्‍याउनुपर्ने बताउँदै मन्त्री भण्डारीले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरेका उनका प्रमुख स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए।

उनका अनुसार मन्त्री भण्डारीले महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सीप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको समेत मन्त्री भण्डारीले बताएका थिए ।

नेपालमा युवा जनशक्ति, कच्चापदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको प्रतिफल प्राप्त हुने भएकाले यहाँ लगानी गर्न उनले आग्रह गरे।

‘भारत, चीन, बङ्गलादेशलगायत छिमेकी मुलुकको बजारका कारणले समेत नेपाल लगानीको उपयुक्त सम्भावना छ । नेपालमा लगानी गरी व्यवसाय प्रवर्द्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरूलाई सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, मन्त्री भण्डारीको भनाइ थियो ।

यसैगरी उनले नेपाली युवालाई रोजगारी प्रदान गरेकामा इपियस कोरिया र कोरिया सरकारलाई धन्यवादसमेत व्यक्त गरेका थिए । भ्रमणका क्रममा कोरिया सरकारका मन्त्रीसँग आफूले व्यापार तथा लगानी सम्झौता गर्न लागेको मन्त्री भण्डारीले बताएको उनका प्रमुख स्वकीय सचिव भट्टले बताए।

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन् ।

मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई हुलाक टिकटमा टाँचा प्रदानपछि उनले हुलाकलाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए।

हुलाक सेवा बलियो नहुँदा सूचना प्रविधिको विकाससँगै निजी क्षेत्रले फाइदा उठाइरहेको मन्त्री गुरुङको भनाइ थियो ।

उनले परम्परागत कार्यशैलीमा थप रूपान्तरण गरेर विभागले ‘डिजिटल’ शैलीमा सेवा प्रदान गर्न जरुरी रहेको बताए। जसका लागि सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै मन्त्रालय कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया करिब अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिए।

‘सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौँ । अब आफ्नै देशको छापाखानाबाट कागजात छाप्न सक्षम हुन्छौँ’, उनले भने, ‘सुरक्षण मुद्रण परिचालन हुन थालेपछि धेरै राजस्व बचाउन सकिन्छ ।’

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले गरे श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता

नयाँदिल्ली । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।

श्रीलंकाका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । श्रीलंकाका राष्ट्रपति श्रीलंकाका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा रहेका छन्।

गत सेप्टेम्बरमा पदभार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो । भ्रमणका क्रममा दुई देशका नेताबीच दुई पक्षीय कूटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

एमालेलाई जग्गा दिने मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज

काठमाडौं । भाटभटेनीका संचालक मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।

गुरुङबाट एमालेले जग्गा दानमा लिनु गैरकानूनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिट सोमबार खारेज भएको छ । न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज गरेको हो ।

रिट खारेज भएसँगै एमालेलाई कार्यालय बनाउने बाटो खुलेको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत तीन जनाले गुरुङबाट दिएको जग्गामा पार्टी कार्यालय बनाउनु गैरकानुनी भन्दै रिट दायर गरेका थिए ।

शेयर बजारमा पाँच अर्ब ९३ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार उच्च अङ्कले घटेको छ । सोमबार नेप्से आज ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ९१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय चार वटा कम्पनीका एक करोड २७ लाख कित्ता शेयर पाँच अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छन् । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सिरियाका नयाँ नेतासँग वार्ता गर्न इयूका कुटनीतिज्ञलाई पठाइयो

ब्रसेल्स । सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताएकी छन्।

लामो समय सिरियामा शासन गरेका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेपछि पश्चिमा शक्तिहरूले सक्रियता बढाएको र यो पहल पनि तदनरूप भएको बताइएको छ।

संयुक्त राज्य अमेरिका र बेलायतले विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)को नेतृत्वमा रहेको दमास्कसमा नयाँ अधिकारीहरूसँग सम्पर्क गरेको बताएपछि ब्रसेल्सको यो पहल शुरू भएको हो।

सिरियामा असदको परिवारको पाँच दशक लामो शासनको अन्त्य गर्दै विद्रोहीले सत्ता कब्जा गरेपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू सिरियामा प्रभाव जमाउन होडबाजी गरिरहेका छन्।

‘सिरियाका लागि हाम्रा उच्च कूटनीतिज्ञ आजै दमास्कस जानुहुनेछ र नयाँ नेतृत्वसँग सम्पर्क गर्नुहुनेछ,’ इयूका विदेशमन्त्रीहरूको बैठकअघि कल्लासले पत्रकारसँग भनिन्।

एचटीएसको जड अल–कायदामा रहेको र धेरै सरकारहरूले यसलाई आतङ्कवादी समूहको रूपमा सूचीकृत गरेकाले पश्चिमा मुलुकहरूजस्तै युरोपेली सङ्घका राष्ट्रहरू पनि दमास्कसको नयाँ नेतृत्वप्रति सचेत छन्।

इयूले देशको गृहयुद्धको समयमा दमास्कसमा असद शासनसँग सम्बन्ध विच्छेद गरेको थियो तर द्वन्द्व पिडित सिरियालीलाई मद्दत गर्न मानवीय सहायताको एक प्रमुख दाताको रूपमा रहेको छ।

कल्लासले ब्रसेल्समा इयूका विदेशमन्त्रीहरूले सिरियाको नयाँ नेतृत्वसँग कसरी संलग्न हुने र कुन स्तरमा संलग्न हुने भन्ने विषयमा छलफल गर्ने बताइन्।

यसै महिना इयूको शीर्ष कूटनीतिज्ञको जिम्मेवारी सम्हालेका कल्लासले भनिन्, ‘हामी सिरियामा युद्धपछिको शून्यतालाई वेवास्ता गर्न सक्दैनौँ।’

दमास्कसका नवप्रवर्तक अधिकारीहरूले अल्पसङ्ख्यकहरूको संरक्षण गर्ने र समावेशी सरकार गठन गर्ने प्रतिबद्धता जनाएपछि अन्तर्राष्ट्रिय खेलाडीहरूले सतर्क आशा व्यक्त गरेका छन्।

कूटनीतिज्ञहरूका अनुसार असदलाई सत्ताच्युत गरेपछि युरोपेली सङ्घका केही सदस्य राष्ट्रहरूले सिरियासँग सम्बन्ध विस्तार गर्न दबाब दिइरहेका छन् भने अन्य देशहरू बढी सतर्क छन्। 

रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु

किएभ । युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ ।

युक्रेनको सैन्य गुप्तचर निकायले भनेको छ, ”डिसेम्बर १४ र १५ मा कस्र्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँनजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको छ ।”

युक्रेनी गुप्तचर अधिकारीले भनेका छन्, ”रूसले कब्जा गरेको युक्रेनी भूभाग र वरपरका क्षेत्रमा तैनाथ गरिएका सैनिकलाई लक्षित गरि गरिएका आक्रमणमा कम्तीमा ३० जना उत्तर कोरियाली सैन्य लडाकूको हताहत (मृत्यु भएको वा सख्त घाइते भएका) छन्।”

उत्तर कोरियाबाट हजारौँ सैनिकहरू कुस्र्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रूसी सेनालाई सहयोग गर्न आएका छन्, यसै बर्षको गृष्म याममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रूसले आफ्नो भूमि फिर्ता लिइरहेको छ ।

मस्कोलाई सघाउन उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ । सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाईहरूमा ‘नयाँ सैनिक’हरू भरिएका छन् र यसमा उत्तर कोरियाली सेना पनि रहेका बताइएको छ ।

मस्कोको आक्रमणपछि रूस र उत्तर कोरियाबीच सैन्य सम्बन्ध प्रगाढ बनेको छ ।

रूसले युक्रेनी सेनालाई कुस्र्क क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई ‘उल्लेखनीय संख्यामा’ तैनाथ गर्न थालेको जेलेन्स्कीले शनिबार बताएका थिए ।

जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई ‘अन्य भागमा पनि अग्र पङ्तीमा प्रयोग गरेको सुनिएको बताएका छन् । 

ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

नयाँदिल्ली ।  ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। हुसेनको उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

एक शिक्षकको रूपमा हुसैनको कामले अनगिन्ती संगीतकारहरूमा अमिट छाप छोडेको छ। उनी भारतीय सांस्कृतिक विरासत बोकेका महान संगीतकार थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीलगायतका नेताले हुसैनको निधनप्रति दुःख व्यक्त गरेका छन्।। उनीप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको पोस्टमा भनिएको छ, ‘उहाँ एक सच्चा प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो। उस्ताद जाकिर हुसैनले भारतीय शास्त्रीय संगीतको दुनियाँमा क्रान्ति ल्याउनुभएको थियो। देशले उहाँ र उहाँको सङ्गीतप्रतिको योगदानलाई सधैँ सम्झिरहनेछ।’

सङ्गितज्ञ हुसैनले भारत सरकारबाट पद्मश्री (१९८८) र पद्म भूषण (२००२), विश्व सङ्गीतमा योगदानको लागि चार पटक ग्रामी पुरस्कार, भारतीय शास्त्रीय सङ्गीतमा उत्कृष्टतालाई मान्यता दिने सङ्गीत नाटक एकेडेमी पुरस्कार, अमेरिकामा परम्परागत कलाकारहरूको लागि सर्वोच्च पुरस्कार ‘नेशनल हेरिटेज फेलोशिप’सहित धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेका छन्।

पाकिस्तानलाई पराजित गर्दै एसिया कपमा नेपालको जित

काठमाडौं । एसीसी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानमाथि जित निकालेको छ । मलेसियाको बायोमास क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले कुनै पनि स्तरमा पहिलोपटक पाकिस्तानलाई हराएको हो । पकस्तिानले दिएको १०५ रनको लक्ष्य नेपालले ९.१ ओभरमा चार विकेट युमाएर पूरा गर्यो । नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्।

यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाइन् । पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौँ । नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिनसक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहनेगरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उनले यस सेवाबाट देशभरका नागरिक लाभान्वित हुने गरी सेवा विस्तार गर्न मन्त्रालयले आवश्यक काम गरिरहेको बताए । ‘देशमा मिर्गौला प्रत्यारोपण गरेका ९८ प्रतिशत तथा फोक्सो प्रत्यारोपणपछि ९० प्रतिशत नागरिक सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौँ । त्यसका लागि हाल भक्तपुरस्थित केन्द्रका अलावा सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अङ्ग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बागमतीको भरतपुर अस्पतालमा समेत मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य छ’, मन्त्री पौडेलले भने ।

अनलाइनमार्फत अङ्गदान गर्नेले दर्ता गराउन सक्ने र लिन चाहनेले त्यसबारे जानकारीसमेत पाउने व्यवस्था गरिएको छ । मस्तिष्क मृत्युपश्चात् तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपणका लागि बिरामी उपचाररत अस्पतालले समेत तत्काल जानकारी प्राप्त गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले बताए ।

नेपालमा १२ वर्षमा सहिद धर्मभक्त केन्द्रमार्फत एक हजार ३३५ मा मिर्गौला तथा ३० जनामा फोक्सो प्रत्यारोपण भइसकेको छ । देशको सरकारी प्रत्यारोपणसम्बन्धी एक मात्र विशिष्टीकृत यस केन्द्रले बर्सेनि तीन हजार अपेक्षितमध्ये दुई सयलाई मात्र मिर्गौला प्रत्यारोपण सुविधा दिन सकेको छ ।

दाता अभावमा अन्य अस्पतालले एक सय जनालाई मात्र अङ्ग प्रत्यारोपण गर्न सकेका छन् । जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने तर मस्तिष्क मृत्यु भएपछि दान गर्ने दाता कम भएका कारण कैयौँले दाता अभावमा ज्यान गुमाउनु परिरहेको त्यस अवसरमा जानकारी दिइयो ।

दाता, लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठले बताए ।

‘एकीकृत अनलाइन प्रणालीले अस्पताल र बिरामी दुवैलाई धेरै सजिलो बनाउँछ । यसबाट धेरैजना लाभान्वित हुने हाम्रो विश्वास छ’, उनले भने । 

पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकले मंगलबार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ । सिंहको सामबार बिहान निधन भएको थियो ।

माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण गरिँदै

काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युतगृहबाट माथिल्लो तटीय क्षेत्रमापर्ने सोही गाउँपालिका– २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरूण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण गरिरहेको छ ।

भोटखोला गाउँपालिका–४ नामासे र सोही गाउँपालिका–२ रूकुमा जोड्ने २ किलोमिटर सुरूङ मार्ग निर्माणका लागि आवश्यक बुमर, जेसिबी, लोडर, रोबोटिक सटक्रिट, सटक्रिट मेसिन, कङक्रिट पम्प, जेनेरेटरलगायतका हेभी उपकरणहरू एवं निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ । दुवै स्थानसम्म पुग्न सडक नभएकाले कोशी राजमार्ग हुँदै गोलाबजार पु¥याइएका उपकरणलाई खोलेर एमआई–१७ तथा अन्य साना हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । हालसम्म तीन सय खेपभन्दा बढी ढुवानी भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर अरूण हाइड्रो–इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीलगायतको टोलीले शनिबार र आइतबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीय बासिन्दासँग छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले पहुँच मार्ग निर्माणमा हालसम्म भएको प्रगतिबाट उत्साहित भएको र यसबाट अपर अरूण आयोजना अगाडि बढेको सन्देश गएको बताए । सुरूमा पहुँच मार्गको ट्रयाक खोल्न सकिएमा त्यसपछि निर्माण सामग्री ढुवानी गर्न सजिलो हुनेभएकाले एक आपसमा समन्वय गरी सोही बमोजिम काम अगाडि बढाउन आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

कम्पनीका प्रबन्ध–सञ्चालक जोशीले निजी जग्गा अधिग्रहण भइसकेको र वन क्षेत्रको जग्गा उपभोग तथा रूख कटान स्वीकृति पाइसकेकाले पहुँच मार्ग निर्माण तीव्र गतिमा अगाडि बढाउन समस्या नरहेको बताए ।

पहुँच मार्ग निर्माणका लागि भारतीय कम्पनी गायत्री प्रोजेक्ट लिमिटेड र नेपालको कन्काई इन्टरनेशनल बिल्डर्सको संयुक्त उपक्रम (जेभी)बीच २०७९ फागुन ११ गते सात अर्ब ९१ करोडमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०८० वैशाख २८ गतेदेखि कार्यान्वयनमा आएको थियो । पहुँचमार्ग २०८२ को माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

‘विश्व बैंकपछि हटे स्वदेशी लगानीमै आयोजना निर्माण’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो आयोजनामा लगानीका लागि विश्व बैंक तयार नभएमा माथिल्लो तामाकोशीकै लगानी ढाँचामा निर्माण गरिने बताए ।

उनले गाउँपालिका र अपर अरूण जलविद्युत् आयोजना अदिवासी जनजाति सल्लाहकार परिषद्का पदाधिकारीसँगको छलफलका क्रममा आकर्षक र मुलुकको ऊर्जा क्षेत्र एवं समग्र अर्थतन्त्रलाई नै रूपान्तरण गर्न सक्ने आयोजना नेपालले निर्माण गर्नुपर्नेमा जोड दिए । विश्व बैंकले लगानी नगर्ने अवस्था आएमा देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा अपर अरूणलाई अगाडि बढाइने उनले प्रष्ट पारे ।

“विश्व बैंकले आफ्नो नेतृत्वमा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लगायतकालाई सहभागी गराएर करिब दुई अर्ब अमेरिकी डलर लगानी जुटाउन उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको छ । अन्तिम चरणमा आएर वित्तीय व्यवस्थापनमा केही ढिलाइ भएको हो ।

विश्व बैंकको लगानीका लागि प्रशासनिक तथा कूटनीतिक रूपमा छलफल भइरहेको छ”, घिसिङले भने, “यदि यी विकास साझेदार लगानी नगर्ने अवस्था आएमा देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शेयर निष्कासनमार्फत रकम जुटाएर आयोजना अगाडि बढाउँछौँ ।”

प्राधिकरणले नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, देशभरिका सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बंैक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी समिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ)को नमूना परियोजनाको रूपमा अगाडि बढाउन लागिएको छ ।

निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको अपर अरूणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।

यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल)को नेतृत्वमा ५३ अर्ब स्वदेशी बैंक तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ । इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धक अपर अरूण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयरबाट र ४९ प्रतिशत सर्वसाधारण शेयरबाट सङ्कलन गरिने छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश माथिल्लो अरूणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला सङ्खुवासभाका स्थानीय तह, नेपाल विद्युत प्राधिकरणलगायतका संस्थापक शेयर रहने छ । आयोजना प्रभावित बासिन्दा, देशभरका सर्वसाधारण लगायतको ४९ प्रतिशत साधारण शेयर रहने छ ।

प्राधिकरणका अनुसार आयोजनाको निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्त भई डिजाइन पुनरावलोकन तथा बोलपत्रसम्बन्धी कागजात तयारीका काम भइरहेका छन् । सन् २०२६ देखि निर्माण सुरू गर्ने लक्ष्यका साथ निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनालाई आवश्यक पर्ने दुई सय ३२ हेक्टर निजी जग्गा प्राप्ति सम्पन्न भएको छ । अधिग्रहण गरिने जग्गाको करिब ९९ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको छ ।

आयोजनाबाट विस्थापितको पुनःस्थापना कार्य जारी छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रूपमा विस्थापित हुने छन् । आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभाव तुलनात्मक रूपमा न्यून रहने अध्ययनले देखाएको छ ।

आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ ।

उत्पादित विद्युतलाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारण लाइनमार्फत सङ्खुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । प्राधिकरणले माथिल्लो अरूणकै अङ्ग रहने गरी ४० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमितिको बैठक स्थगित

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित आठ जनाको मात्रै उपस्थिति थियो । सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो । तर अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन् ।

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन प्रहरीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए ।

प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरेको थियो । सुरुमा सहकारी ठगीमा पक्राउ परेका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरेको छ ।

अब जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन गरी मुद्दा अदालतमा पेश गर्नेछ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।

लामछिानेमाथि पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम, वीरगंजको सानोपाइला, काठमाडौंको हाम्रो कृषि सहकारी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे अनुसन्धान गरेको थियो । उनलाई सबै ठाउँमा लगेर प्रहरीले बयान लिएको थियो ।

संसदीय अभ्यासलाई समृद्ध बनाउन पत्रकारको भूमिका महत्वपूर्णः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले सोमबार आयोजना गरेको कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्दै सभामुख घिमिरेले संसदीय गतिविधिलाई जनतामाँझ पुर्याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गरे ।

‘हामीले सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावलीमा प्रबन्ध गरिसकेका छौँ, त्यही आधारमा कार्यविधिसमेत बनाइ’, सभामुख घिमिरेले भने ।

शासन प्रणालीका केही कमजोरीलाई देखाएर व्यवस्थामाथि नै प्रश्न उठाइएका बेला यसबारे जनतालाई स्पष्ट पार्ने जिम्मेवारी सञ्चार क्षेत्रको पनि भएको उनको भनाइ थियो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताए ।

उनले भने, ‘पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो ।’

अध्यक्ष दाहालले आलोचना जहिले पनि रचनात्मक हुनुपर्ने र त्यसले दिने सन्देश पनि सकारात्मक हुनुपर्ने बताए ।

उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने र जनतालाई दिने सूचना दुरुस्त हुनुपर्ने उल्लेख गरिन् ।

सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले नेपालको संसदीय इतिहासलाई समृद्ध बनाउन सचिवालयले अनुसन्धानका कार्य सुरु गरेको जानकारी गराए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपाल, राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुँयाल, समाजका अध्यक्ष मनोज सत्याल, समाजका पूर्वअध्यक्ष नारायण काफ्ले र संसद् सहयोग परियोजनाका राष्ट्रिय परियोजना व्यवस्थापक दिलादत्त पन्तले नेपालको संसदीय अभ्यास, इतिहास, पुस्तक समीक्षा, संसदीय गतिविधि र सञ्चार क्षेत्रको भूमिकालगायत विषयमा आफ्ना धारणा राखेका थिए ।

बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन हुने

ढाका । बङ्गलादेशमा आगामी एक बर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताएका हुन् ।

गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बङ्गलादेशको सरकारको नेतृत्व सुम्पिएको थियो ।

उनले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनस्र्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र निर्वाचन गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।

“सन् २०२५ को अन्त्य वा सन् २०२६ को पूर्वाद्र्धसम्ममा निर्वाचनको मिति तय गर्न सकिन्छ,” उनले सरकारी टेलिभिजनमा भएको एक कुराकानीमा भने ।

गत अगस्टमा ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् । हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा केही हप्ता मासयाँै मानिसहरूको मृत्यु भएको र अधिकांशको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

हसिनाको अवामी लिग पार्टीका प्रमुख समर्थकहरूविरुद्ध प्रतिशोधपूर्ण हत्यामा उनको पलायन पछिको केही घण्टामा कैयौँ अवामी लिग समर्थक कार्यकर्ताको पनि मृत्यु भएको थियो ।

उनको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गर्नुका साथै आफ्नो शक्तिमाथिको लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पार्न एकतर्फी निर्वाचन गराएको आरोप पनि लागेको थियो।

हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको थियो, जसमा उनका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्नु र गैरन्यायिक हत्याहरू पनि समावेश थिए।

दलहरूको सहमतिमा मिति तय गरिने

युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गरेका छन् । निर्वाचनको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर गर्नेछ । युनुसले भने “निर्वाचनको व्यवस्था गर्नुअघि नै मैले सुधार गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएको छु ।”

तर निर्वाचन सुधारको पूर्ण सूची समावेश गर्दा केही महिना ढिला हुने उनको भनाइ छ ।

प्रधानमन्त्री युनुसले भने, “आवश्यक सुधारमध्ये एक अद्यावधिक मतदाता सूची हो, जुन वर्षौँको अस्थिर लोकतान्त्रिक प्रक्रियापछि ‘जटिल’ चुनौती हो । यसले सूचीबाट गैर–मतदाताको नामहरू हटाउनुका साथै द्रूत गतिमा बढ्दो युवा जनसङ्ख्याले पहिलो पटक मतदाता नामावली दर्ता गर्नु आवश्यक छ ।’

युनुसले चुनावमा शतप्रतिशत मतदान सुनिश्चित गर्ने सपना देखेको बताए । बङ्गलादेशमा पछिल्लो पटक गत जनवरीमा आम निर्वाचन भएको थियो । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने कुरामा आशङ्का व्यक्त गर्दै विपक्षी दलहरूले उक्त निर्वाचनलाई बहिस्कार गरेका थिए भने निर्वाचनमा हसिनाको दल अवामी लिगलाई दुर्य तिहाई सीट प्राप्त भएको थियो ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्व विपक्षी समूहहरू हसिनाको नेतृत्वमा वर्षौंको दमनपछि अहिले सङ्गठनको पुनर्निर्माण गरिरहेका छन्।

हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर ।  ललितपुरको सानेपास्थित बागमती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ। सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ।’

काठमाडौं उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरुलाई वाग्मती करिडोरले ठूलो राहत त दिएको छ। तर कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि वाग्मती नदीको देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।

पुलमुनिको एकतर्फी सडकमा हिँउद–बर्खे पानी जमेपछि सवारी चालक र पैदलयात्रीले सास्ती व्यहोर्दै आइरहेका छन्। बर्खाका बेला जमेको पानी अझै हटेको छैन। दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ। उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारी सधान एकै लेनबाट ‘पास’ हुने गरेका छन्।

पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन्। उनले भने, ‘बागमती कारिडोरको स्तरोन्नति र वाग्मती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको हो, तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन।’

कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नु परेको मोटरसाइकल चालक रत्नकुमार श्रेष्ठ सुनाउँछन्। उनले भने, ‘वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवार निकायले ध्यान नदिँदा सवारी चालक र पैदलयात्रीले झन्झट व्यहोर्नु परिरहेको छ।’

सुदूरपश्चिमसँग पराजित भएर पनि कर्णाली प्लेअफमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई सुदूरपश्चिम रोयल्सले ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाएर आउट भए। उनले चौथो विकेटका लागि इशानसँग ६७ रनको साझेदारी गरे। इशान पाण्डेले ३८ रन अविजित रहे ।

ओपनर सेफ जईब ११, बिनोद भण्डारीले चार, ब्रान्डम म्याक मुलेनले तीन रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।

योसँगै जारी प्रतियोगितामा प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ। जनकपुर बोल्टससँगै, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा प्रवेश गरेका छन् ।

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुवाती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात्  ४० अर्ब ८० करोड छ लाख मात्रै खर्च भएको छ ।

चालुगत शीर्षकमा मङ्सिर मसान्तसम्मको खर्च ३१ दशमलव ८७ प्रतिशत छ । यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा हालसम्म तीन खर्ब ६३ अर्ब ५५ करोड १४ लाख बराबर खर्च भएको हो ।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४१ दशमलव ३२ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त शीर्षकमा हालसम्म एक खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख बराबर खर्च भएको हो ।

मङ्सिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत अर्थात् रू चार खर्ब पाँच अर्ब ७७ करोड ३० लाख राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।

त्यस्तै, यसवर्ष ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म कुनै पनि अनुदान लिएको देखिँदैन ।

भ्वाइस रेकर्ड सार्वजनिक गर्न प्रधानमन्त्रीलाई वामदेवको चुनौती

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती दिएका छन् ।

सोमबार विज्ञप्ति जारी गरी गौतमले आफूले बोल्दै नबोलेको कुरा प्रधानमन्त्रीले बोलेको बताएका हुन् । उनले भनेका छन्, ‘क.केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’

उनले प्रधानमन्त्रीको स्वर भएको लिंक आफ्नो मोबाइलमा आएको र त्यो राजेश बज्राचार्यलाई पठाएको बताएका छन् । उनले भनेका छन्, ‘तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।’

शुक्रबार प्रधानमन्त्री ओलीले वामदेव गौतमले फोन गरी आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन आग्रह गरेको बताएका थिए । प्रधानमन्त्रीकाअनुसार संवादका क्रममा वामदेवले मदन भण्डारी कांग्रेसले मारेर र त्यो कुरा आफूलाई त्यतिबेलै थाहा भएको बताएका थिए । वामदेवले आफूलाई आफ्ना स्वकीय सचिव राजेश बज्राचार्य सम्झिएर त्यो कुरा बताएका थिए । तर वामदेवले प्रधानमन्त्रीसँग कुरा गरिरहेका थिए ।

प्रधानमन्त्रीले वामदेवका कुरा सुनाउँदै भनेका थिए,‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ । वामदेवजीले फोन गर्नुभयो । मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिला नै थाहा थियो । तर म चुप लागेँ । अब म बुढो पनि भइसकें जेसुकै भएपनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु । मेरै स्वरमा छ । अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठूलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर । तर वामदेवजीको फोन आएको देखेपछि राजेशबाट फोन लिएर मैले उठाएँ । कमरेड के छ हालखबर भनेँ ठिक छ भन्नुभयो । कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठूला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ राखिदिए।’

प्रधानमन्त्री ओलीले गौतमलाई समेत भ्रम पर्नेगरी आवाज बनाएर युट्यबमा राखिएको बताए । उनले भने, ‘एआइको जमाना छ बनाए होला कसैले ।’

यस्तो छ वामदेवको जवाफ

प्रिय क. केपी ओली !

अभिवादन !!

तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

क। केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।

वामदेव गौतम

१ पुस २०८१

सुदूरपश्चिमलाई कर्णालीले दियो १०२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । सोमबार बिहान त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनायो ।

कर्णालीका लागि जिसन मक्सुदेले सर्वाधिक ३० रन बनाए। यस्तै, विलियम बोस्सिटो १६, ओपनर बाबर हायत १३, चार्डविक वाल्टनले ११ रनमा आउट भए ।

यता, सुदूरपश्चिमका लागि बलिङतर्फ हर्मित सिंहले तीन, कप्तान दिपेन्द्र सिंह ऐरीले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर दुई विकेट लिए। स्कट कुगेलिन र सेफ जइबले समान एक एक विकेट हात पारे । यो खेलमा जितेमा कर्णाली प्लेअफमा पुग्ने छ ।

लमहीमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै सोमबार बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा दियो सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर पीएल सिंहको निधन भएको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

महानगरपालिकाले सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुहुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’

सिंहको सोमबार बिहान ८५ वर्षको उमेरमा निधन भएको हो । २०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौँ महानगरपालिकाका मेयर बनेका थिए।

श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकै पटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठे पुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठे पुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए।

प्रत्येक वर्ष मङ्सिर महिनामा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ । हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ । यसपछि वर्षा याम सुरु भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ ।

विगतमा यस क्षेत्रमा चारदेखि पाँच अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन् । केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिए । उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै रु चार लाखदेखि पाँच लाख खर्च लाग्ने गर्थ्यो तर, यसपटक श्रमदानमार्फत जनशक्ति जुटाएर निर्माण सामग्री खरिद गर्न मात्र रु ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो । गाउँपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको छ भने पुल निर्माणका लागि श्रमदानमार्फत जनशक्ति जुटाइएको छ । गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ ।

पुल निर्माणसँगै स्थानीय बासिन्दाको जीवन सरल भएको छ । दैनिक आवतजावत र आवश्यक सामग्री ढुवानीमा सहजता आएको छ । ग्रामीण क्षेत्रका बासिन्दाले यस्तो पहलले आफूहरूको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । तमोर नदीले गाउँपालिकाको भूगोललाई दुई भागमा विभाजित गरेको छ । यसले शिक्षा, स्वास्थ्य, व्यापार, तथा अन्य आवश्यक कार्यका लागि एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा स्थानीयलाई कठिनाइ झेल्नुपर्ने अवस्था सिर्जना गरेको थियो । अस्थायी काठे पुलले यी चुनौतीलाई केही हदसम्म समाधान गरेको छ ।

गाउँपालिकाले स्थायी पुलहरू निर्माण गर्न दीर्घकालीन योजना बनाएको भए पनि सीमित बजेटका कारण यो प्रक्रिया ढिलो भइरहेको छ । हाल गाउँपालिकाले स्थायी पक्की पुल निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्दै केही स्थानमा काम अघि बढाइरहेको छ । तर, बाँकी स्थानमा भने हालका लागि अस्थायी पुल नै विकल्प बनेको छ ।

श्रमदानले बजेट बचत गर्न सहयोग पुर्‍याएको छ, यसले सामुदायिक एकताको भावना पनि बलियो बनाएको छ । स्थानीय बासिन्दाले स्वेच्छाले दिएको श्रमदानको माध्यमबाट पुल निर्माण हुनु ग्रामीण विकासमा जनसहभागिता कस्तो प्रभावकारी हुनसक्छ भन्ने उदाहरण बनेको छ ।

तमोर नदीजस्ता ठूला नदीमा स्थायी पुल निर्माण गर्न ठूलो बजेट र प्राविधिक जनशक्तिको आवश्यकता पर्छ । यस्तो अवस्थामा अस्थायी पुलले तत्कालका लागि आवतजावतको समस्यालाई समाधान गरे पनि दीर्घकालीन रूपमा यस्ता अस्थायी पुलहरूले टिकाउ समाधान दिन सक्दैनन् । गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा थप स्थायी पुलहरू निर्माणको योजना बनाउँदैछ ।

श्रमदानमार्फत स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्दै सीमित बजेटमा पनि विकास निर्माण सम्भव छ भन्ने देखाएको छ । अस्थायी काठे पुलले ग्रामीण बासिन्दालाई यातायातको सहजता दिनुका साथै आर्थिक गतिविधि प्रवर्द्धनमा पनि योगदान पुर्‍याएको छ ।

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बिहान निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए ।

गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर पछिल्लो समय राजनीतिबाट उनी निष्कृय बनेका थिए ।

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४ हजार २८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरेका छन् ।

विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायत संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लडेका थिए । त्यस्तै महासंघको महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् ।

उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासंघको महासचिवमा निर्वाचित भएका हुन् । दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरको निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले जानकारी दिए ।

यसैगरी जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा ४ हजार २ सय ३० मत ल्याएर दीपक आचार्य विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छन् । उनले ४ हजार ७०५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

समावेशी उपाध्यक्ष उमेद बागचन, उपाध्यक्ष नितु पण्डित, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाती सचिव सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट बैकुण्ठराज पराजुली, कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

पद्म ज्योतिद्वारा अलग्गै समूह घोषणा

काठमाडौं । एक सय ४ वर्ष पुरानो ज्योति गु्रप औपचारिकरुपमा अलग भएको छ । भाइ रुप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले आइतबार अलग्गै समूह सुरु गरेको घोषणा गर्का हुन् ।

उनले आफ्नै नाममा पद्म ज्योति समूह घोषणा गरेका छन् । समूहको लोगो पनि सार्वननिक गरिएको छ । पद्म ज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन् । यसअघि ज्योति समूहका प्रमुख सदस्यहरूमा पद्म ज्योति र रूप ज्योति रहेका थिए ।

समूहका अध्यक्ष पद्म ज्योतिले ज्योति परिवारको नयाँ पुस्ताको नेतृत्वमा संचालन हुने पद्यम ज्योति गु्रप रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने बताए ।

अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको पनि खुलाएका छन् । उनले भने, ‘हाम्रो पद्यम ज्योति परिवारमा हामीले पाँच वर्ष अगाडी नै पारिवारिक विधान बनाएका थियौं । जसले हामीलाई उचित मार्गदर्शन दिन महत्वपूर्ण भूमिका खेल्छ ।’

समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।

बर्दियामा स्कुटर दुर्घटनामा बाबु छोरीको मृत्यु, आमाछोरा घाइते

बर्दिया । बर्दियामा स्कुटर दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ । आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिएको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटर ठोक्किएर २ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

साहका पत्नी र छोरा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटरमा चार जना सवार रहेका थिए ।