`

ओपन एआईको कमजोरी बाहिर ल्याउने अनुसन्धानदाता मृत फेला

बीबीसी ।ओपन एआईको कमजोरी बाहिर ल्याउने एक अनुसन्धानदाता अमेरिकाको सान फ्रान्सिस्कोमा मृत फेला परेका छन् । २६ वर्षका सुचिर बालाजीको शव नोभेम्बर २६ मा एउटा अपार्टमेन्टमा फेला परेको अधिकारीहरूले बताएका छन् ।

उनको अवस्थाबारे बुझिदिन फोन आएपछि खोजी गर्ने क्रममा बालाजी मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । सान फ्रान्सिस्कोमा भएको चिकित्सकीय जाँचमा उनको मृत्यु आत्महत्याका कारण भएको पहिचान भएको छ ।

प्रहरीले उनको मृत्यु पछाडी कुनै षड्यन्त्र भएको प्रमाण फेला नपरेको जनाएको छ । पछिल्ला महिनाहरूमा बालाजीले ओपन एआईका केही अभ्यासविरुद्ध सार्वजनिक रूपमा आवाज उठाइरहेका थिए । ओपन एआईले डेटा सङ्कलन गर्ने आफ्नो अभ्यासविरुद्ध कैयौँ कानुनी लडाइँ सामना गरिरहेको छ ।

अक्टोबरमा न्यूयोर्क टाइम्सले प्रकाशित गरेको बालाजीसँगको एक अन्तर्वार्तामा उनले ओपन एआईले उसको लोकप्रिय अनलाइन च्याटबोट च्याट जीपीटी बनाउने क्रममा अमेरिकाको प्रतिलिपि अधिकार उल्लङ्घन गरिरहेको बताएका थिए । चार वर्षसम्म उक्त कम्पनीमा काम गरेका बालाजीले ‘ओपन एआईले च्याट जीपीटी जस्ता प्रविधि बनाउने क्रममा अर्कैको प्रतिलिपि अधिकार भएका विवरणको प्रयोग गरेर कानुनको उल्लङ्घन गरेको’ दाबी गरेका थिए ।

च्याट जीपीटीजस्ता प्रविधिले इन्टरनेटमा क्षति पुर्याइरहेको उनको दाबी थियो । ओपन एआईले भने आफूले तयार गरेका मोड्युलहरूले ‘सार्वजनिक रूपमा उपलब्ध विवरणको प्रयोग गर्ने’ दाबी गर्दै आएको छ ।

बालाजीले गएको अगस्टमा कम्पनी छोडेका थिए। उनले त्यसपछि आफू केही निजी परियोजनाहरूमा काम गरिरहेको न्यूयोर्क टाइम्ससँग बताएका थिए ।

अमेरिकाको क्यालिफोर्निआमा हुर्किएका उनले क्यालिफोर्निआ विश्वविद्यालयमा कम्प्युटर साइन्स पढेका थिए । सीएनबीसीले ओपन एआईका प्रवक्ताले जारी गरेको एक विज्ञप्ति उदृत गर्दै ओपन एआईले सुचिरको मृत्युबाट स्तब्ध भएको जनाएको उल्लेख गरेको छ ।

कागेश्वरी मनोहरामा आगो लगाएर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आइतबार मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।”

मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

सुदूरपश्चिमद्वारा पोखरा पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । 


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएको एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । 


पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए । 


पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक/एक रन जोडे । यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ ।


बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए । हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ । 

कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष प्रस्ताव

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराएका थिए । भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’ को रूपमा विकास गर्न सकिने, पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो । 

दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानलगायत विषय पनि छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे दुई मन्त्रीबीच विचार विमर्श भएको थियो । भेटमा संस्कृति तथा धार्मिक मामिलामन्त्री बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको दाबी गरेका छन्।

ज्यापु संस्कृति विकास कोषद्वारा आइतबार वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्। यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको दाबी थियो।

‘गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो। प्रहार गरियो। भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो। यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्याउने प्रयासका उपज हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौं। यो जातलाई खेद, अर्काे जातलाई खेद भन्दैनौं। बैँकको ऋण नतिर भन्दैनौं। नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौं। नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौं।’

प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दःख भोगेका छौं त्यस्ता दुखः हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए।

सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भात्रृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे।

‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’

नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्दै उनले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गरे।

राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्ने विश्वास दिलाए।

उनले नेवारी संस्कृति र परम्परताले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको बताए। आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गरे। कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत उपस्थित थिए।

कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

 सुर्खेत । पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् ।


आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लागिसमेत सहजै सवारी साधनको प्रयोग हुँदै आएको छ । तीन तहका सरकारको सक्रिया पहलकदमीका कारण गाउँगाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा समेत सुधार आएको छ ।

कर्णालीका १० वटा पालिकामा अझै सडक पुग्न नसकेको सडक विभागको तथ्याङ्कले बताउँछ । यस्तै, कर्णाली प्रदेशका १० स्थानीय तहको केन्द्रमा सडक सञ्जाल पुगेको छैन । त्यसमा डोल्पाको ६ स्थानीय तह से–फोक्सुन्डो, मुड्केचुला, जगदुल्ला, छार्का ताङ्सोङ, अदानचुली र ताजाकोट गाउँपालिकाको केन्द्र पनि सडकको पहुँच छैन । से–फोक्सुन्डोमा ३५ दशमलव ४ किमि, मुड्केचुलामा १० किमि, जगदुल्लामा २६ किमि, छार्का ताङ्सोङ ७५ किमि, अदानचुलीमा २४ र ताजाकोटमा २६ किमि नयाँ सडक निर्माण गर्नुपर्ने विभागको अनुमान छ ।

यसैगरी, कालीकोटका चार स्थानीय तह पचालझरना, नरहरिनाथ, महावै र शुभकालिका गाउँपालिकाको केन्द्रमा पनि सडक पुगेको छैन । पचालझरनामा आठ किमि, नरहरिनाथमा १६ किमि, महावैमा नौ किमि र शुभकालिकामा १२ किमि नयाँ सडक निर्माण गर्नुपर्ने देखिएको छ । प्रदेश सरकारले सडक सञ्जाल नपुगेका स्थानीय तहमा यही आर्थिक वर्षभित्र सडक पुर्‍याउने लक्ष्यका साथ काम गर्ने योजनाका साथ अगाडि बढेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।

कर्णालीमा कति बन्यो त सडक

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा नौ हजार छ सय ८६ दशमलव ६२ किलोमिटर सडक बनेको छ । जुन, नेपालको कूल सडकको १२ दशमलव ०४ प्रतिशत हो । कर्णालीका सडकमा ३० हजार तीन सय ६७ सवारीसाधन गुड्छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीका अनुसार कर्णालीमा सङ्घीयतापछि मात्र पनि सडकमा राम्रो प्रगति भएको छ ।

प्रदेश सरकार गठन भएपछि एक सय ५६ दशमलव ७६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्राभेल सडक ६ सय १ दशमलव ०५ किलोमिटर खनिएको छ । कच्ची सडक दुई हजार आठ सय २२ दशमलव ३३ किलोमिटर निर्माण भएको छ । नालासहितको स्तरोन्नति गरिएको सडक चार सय ६८ दशमलव ४१ किलोमिटर छ ।

यस प्रदेशमा प्रदेश सरकारले ३९ वटा मोटरेबल निर्माण गरेको छ । पालिकासँग जोड्ने अधिकांश सडक स्थानीय सरकारले गर्दै आएका छन् । डोल्पामा जाने मुख्य सडक कुनै पनि कालोपत्रे भएका छैनन् । त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र बगरबाट बाला त्रिपुरासुन्दरी मन्दिरसम्म पुग्नका लागि झण्डै दुई किलोमिटर सडक पिच गरिएको छ ।

कर्णालीमा सबैभन्दा बढी सडक भएको जिल्लामा दैलेख अग्रिणी स्थानमा रहेको छ । यहाँ पक्की सडक चार सय ५२ दशमलव २ किलोमिटर छ । ग्राभेल सडक एक सय ८५ दशमलव ७ किलोमिटर र कच्ची सडक दुई हजार तीन सय १० दशमलव आठ किलोमिटर गरी जम्मा सडक दुई हजार नौ सय ४८ दशमलव ७ किलोमिटर छ ।

यस्तै सुर्खेतमा पक्की दुई सय ७८ दशमलव २१, ग्राभेल पाँच सय ८३ दशमलव ९३ र कच्ची नौ सय ३४ दशमलव ६६ गरी जम्मा एक हजार सात सय ९६ दशमलव ८२ किलोमिटर सडक छ । जाजरकोट जिल्लामा पक्की एक सय ११, ग्राभेल ४० दशमलव ५ र कच्ची नौ सय ७१ गरी एक हजार एक सय २२ दशमलव ५ किलोमिटर सडक छ ।

यस्तै रूकुम–पश्चिममा पक्की एक सय ३३, ग्राभेल ५७ र कच्ची एक हजार दुई सय ५२ गरी जम्मा एक हजार चार सय ४२ किलोमिटर सडक छ । सल्यानमा पक्की एक सय ६२, ग्राभेल नौ र कच्ची तीन सय ९२ गरी जम्मा पाँच सय ६३ किलोमिटर सडक सञ्जाल रहेको छ । हुम्लामा पक्की दुई र कच्ची दुई सय ८३ गरी जम्मा दुई सय ८५ किलोमिटर सडक छ ।

कालीकोटमा पक्की ७४ र कच्ची तीन सय ७५ दशमलव ५ गरी जम्मा चार सय ४९ दशमलव ५ किलोमिटर सडक छ । यस्तै, जुम्लामा पक्की ४९, ग्राभेल ९२ दशमलव ५ र कच्ची तीन सय ८२ दशमलव ६ गरी जम्मा पाँच सय २४ दशमलव १ किलोमिटर सडक छ । मुगुमा पक्की चार, ग्राभेल ५२ र कच्ची तीन सय १५ गरी जम्मा तीन सय ७१ किलोमिटर सडक छ ।

डोल्पामा भने पक्की सडक नै छैन । हालसम्म जम्मा एक सय ८५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । यसरी कर्णाली प्रदेशमा पक्की एक हजार दुई सय ६५ दशमलव ४१, ग्राभेल एक हजार २० दशमलव ६५ र कच्ची सात हजार चार सय १ दशमलव ५६ गरी जम्मा नौ हजार ६ सय ८७ दशमलव ६२ किलोमिटर सडक निर्माण भइसकेको छ । सङ्घीयतापछि मुलुकका तीनवटै तहका सरकारले सडक निर्माणलाई तीव्रता दिइरहेका छन् ।

कर्णालीको ७९ वटै स्थानीय सरकारले पनि हरेक आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै बजेट सडक निर्माणमा खर्चिंदै आएका छन् । सङ्घ सरकारले कर्णालीमा कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा मदनभण्डारी सडकले कर्णालीलाई छोएका छन् ।

भेरी करिडोरले सुर्खेत, सल्यान, जाजरकोट, रूकुम पश्चिम हुँदै डोल्पाबाट चीनको तिब्बत जोड्ने लक्ष्य लिएको छ । यसलाई त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज जमुनाह र भारतको उत्तर प्रदेशको रोपैडियासँग यो सडक जोडिएको छ ।

नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडक कर्णाली राजमार्गको नामले चिनिन्छ । बाँकेको जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत, दैलेख–कालीकोट (खुलालु)–बाजुरा, हुम्लाको सिमकोट–हिल्सा गरी जम्मा पाँच सय ३८ किलोमिटर लामो यो सडक कर्णालीको मुख्य समृद्धिको मार्ग हो । सुर्खेत–तल्लो डुङ्गेश्वर, सातखम्ब–दुल्लु पिपलकोट, खुलालु–मान्म–नाग्म–जुम्ला हुँदै मुगुसम्म सडक तीन सय दुई किलोमिटर सडक छ । यी दुई सडकले साविकका कर्णालीको लागि समृद्धिको मार्गका रूपमा स्थापित हुँदै आएको छ ।

मध्यपहाडी लोकमार्ग रूकुम पूर्वबाट रूकुम पश्चिम हुँदै जाजरकोट दैलेख जोड्ने गर्दछ । त्यस्तै रूकुम पश्चिम र सल्यानलाई जोड्नका लागि राप्ती लोकमार्गको रहेको छ । जसले दाङबाट सल्यान हुँदै रूकुम पश्चिम जोड्ने काम गर्दछ । अर्को लुम्बिनीबाट रूकुम हुँदै जाजरकोट, जुम्ला मुगुको रारासम्म जोड्न लुम्बिनी–रारा राजमार्गको कामसमेत चालु अवस्थामा रहेको छ । यो सडक जाजरकोटको कुशे गाउँपालिकामा चालु अवस्थामा छ । कर्णालीमा निर्माण हुने अधिकांश सडक आयोजनालाई प्रर्याप्त बजेट नहुँदा काममा बाधा पुग्दै आएको यहाँका जनप्रतिनिधि बताउँदै आएका छन् ।

निर्माण भएका सडक समयमै काम गराएर अपेक्षित लक्ष्य हासिल गर्न सके कर्णालीलाई सडक समृद्धि गर्न धेरै समय नलाग्ने देखिन्छ । हाल यिनै निर्माण भएका सडकबाट कर्णालीका स्याउदेखि अन्य भारी मात्रामा जडीबुटी निर्यात हुँदै आएको छ । छिन्चु–जाजरकोट–दुनै–मरिम तीन सय १७ किलोमिटर सडकलाई भेरी करिडोरले चिनिन्छ । यो साविकको भेरी अञ्चलबाट जोडिएर साविकको कर्णालीको डोल्पा हुँदै चीनसँग जोड्ने कर्णालीको अर्को महत्त्वपूर्ण सडक हो ।

कहिले हुन्छ त सुधार

कच्ची कटानले भारी मात्रामा फड्को मारेको कर्णालीका सडक अब पक्की कहिले होलान त ? यो प्रश्नले सबैको ध्यान तान्छ । भेरी करिडोर हुँदै उपल्लो डोल्पाको फोक्सुण्डो ताल हुँदै सात सय वर्ष पुरानो शे गुम्बामा पुग्नेको दैनिक प्रश्न यही हुन्छ ।

पर्यटकीय मार्गको रूपमा रहेको यो मार्गमा दैनिक धुलाम्य भएर तराईबाट हिमालको टुप्पोमा पुग्दा सबैको साझा गुनासो भनेकै पक्की सडकको लागि हो । प्रत्यक वर्ष प्रदेश सरकारले ल्याउने बजेट तथा सङ्घीय सरकारले ल्याउने बजेटमासमेत यही कुरामा भारी बहस हुँदै आएको छ । त्यस्तै अर्को कर्णाली करिडोरका दुई भागमा समेत अझैँ पक्की बन्न नसकेको अवस्था छ । कर्णाली करिडोर हुँदै रारा पुग्नेदेखि अर्को मार्गबाट हुम्लाको सिमकोट हिल्सा, मानसरोबर पुग्नेको कथा उही सडककै रहेको छ ।

धुलाम्य सडकमा मृत्युलाई जित्दै मानसरोबार पुग्ने तथा रारा पुग्नेले सडक नै पहिलो आधारका रूपमा माग राख्दै आएका छन् । प्रदेश सरकारले आफ्नो औकातले सकेसम्म काम गरिरहेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा बताउँछन् । तीन तहका सरकारसँग समन्वय गरेर कर्णालीमा सडक सम्मृद्धि ल्याउने काममा लागिरहेको उनको भनाइ छ ।

व्यापार प्रवर्द्धन र कृषक लाभान्वित

कर्णाली करिडोर साविकको कर्णालीका जुम्ला र मुगुमा पुग्दा त्यहाँ उत्पादन भएको स्याउले हाल बजार पाएको छ । विदेशी भूमिबाट आउने स्याउ विस्थापित भएको उद्योग वाणिज्यसँग सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

उद्योगी तथा व्यवसायीलाई सङ्घले कर्णालीकै उत्पादनलाई जोड दिन पटकपटक पत्राचार गरेको उनी बताउँछन् । उत्ता डोल्पामा उत्पादन हुने स्याउसमेत सडक मार्गबाट देशका ठूला सहरमा पुग्ने गरेको छ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा लगानी गर्दै अर्गानिक उत्पादनलाई जोड दिएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग मिलेर आफ्नै मिल निर्माण गरेर कर्णालीलाई चिनाउने काममा लागेको छ ।

कर्णालीकै मूल्यवान लोगो बनाइ खाद्यान्नलाई विश्वमा चिनाउने काम कर्णालीबाट सुरू भइसकेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बताए । कर्णालीमा उत्पादन भएको जडीबुटीसमेत सडक मार्गहुँदै सजिलै प्रशोधन केन्द्रमा पुग्न थालेको छ ।

जाजरकोटकोमा रहेको प्रशोधन केन्द्रदेखि अन्य ठाउँमा समेत सडक मार्गबाटै आउने गरेको छ । सडक मार्ग अधिकांश ठाउँमा पुगेकै कारण दैनिक खाद्यान्नको ढुवानी हुँदा भान्सासमेत सस्तो भएको छ । खाद्यान्न अभाव भयो भन्दै विगत जस्तो आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य भइसकेको मन्त्री शाहको भनाइ छ ।

त्यस्तै सडक मार्ग हुँदै अधिकांश ठाउँमा आयोडिनयुक्त नून पुग्ने गरेको छ । भनेकै समयमा पालिकास्तरबाट नुन पाउने गरेको छ । सडकले व्यापक रूपमा गतिलिएसँगै विकास निर्माण काममासमेत सहज भएको छ । कर्णालीमा जनयुद्धपछि मात्र विकासले गति लिएको देखिन्छ ।

बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस

ढाका । अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुव्र्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भंग गर्न सिफारिस गरेको छ ।

गत अगष्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण ढाकास्थित प्रधानमन्त्रीको कार्यालयबाट ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेपछि छानविनका लागि बनेको आयोगले उक्त सिफारिस गरेको हो ।

उनको सरकारमाथि सयौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्या र सयौँको गैरकानुनी अपहरण र बेपत्ता पार्नेलगायत व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

कामचलाउ सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले रेपिड एक्सन बटालियन ९आरएबी० ले बेपत्ता पार्ने कार्यमा हसिना र अन्य पूर्ववरिष्ठ अधिकारीहरू संलग्न रहेको प्रारम्भिक प्रमाण फेला पारेको जनाएको छ।

सन् २०२१ मा हसिनाको १५ वर्ष लामो शासनकालमा भएका केही सबैभन्दा खराब मानव अधिकार उल्लङ्घनमा दोषी ठहरिएको रिपोर्टको जवाफमा संयुक्त राज्य अमेरिकाले आरएबी अर्धसैनिक प्रहरी बललाई यसका सात वरिष्ठ अधिकारीहरूसहित प्रतिबन्ध लगाएको थियो।

आयोगका सदस्य नुर खान लिटनले एएफपीसँग भने, “आरएबीले कहिल्यै पनि कानूनको पालना गरेको छैन र बलपूर्वक बेपत्ता पार्नु, गैरन्यायिक हत्या र अपहरणका घटना समावेश यसको ज्यादतीका लागि विरलै जवाफदेही ठहरिएको छ ।

आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन अन्तरिम सरकारका नेता मोहम्मद युनुसलाई बुझाएको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो राजनीतिक दलमध्येको एक बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले पनि आरएबीको खारेजीको माग गरेको छ ।

बीएनपीका वरिष्ठ नेता एम. हफिजुद्दिन अहमदले पत्रकारहरूलाई भने, “आरएबी यति विकृत छ कि छ कि यसलाई सुधार गर्न नै सकिँदैन ।

उनले भने, “मेडिकल अध्ययनअनुसार कुनै बिरामीलाई ग्यागरिन हुन्छ तब त्यसको एक मात्र उपाय भनेको प्रभावित अङ्ग काट्नु हो ।”

सन् २००४ मा न्यायिक प्रणाली निकै सुस्त भएको देशमा द्रुत परिणाम प्रदान गर्ने उपायका रूपमा ‘एलिट पुलिस युनिट’को सुरुवात गरिएको थियो ।

यो एकाइले गैरन्यायिक हत्याका लागि गम्भीर प्रतिष्ठा कमाएको थियो र अपहरण र हत्याको माध्यमबाट असहमतिलाई दबाएर हसिनाको राजनीतिक महत्वाकाङ्क्षालाई समर्थन गरेको आरोप लगाइएको थियो । 

बुर्किना फासोनजिकै नाइजरमा भएको आक्रमणमा ३९ जनाको मृत्यु

 नाइजर । बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

’लिबिरी र कोकोरोउ समुदायमा दुई भयानक आक्रमण भएका छन् । रक्षा र सुरक्षा बलहरूको निरन्तर अपरेसनबाट घेरिएका अपराधीहरूले रक्षाविहीन नागरिकहरूमाथि आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ,” रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“बर्बर आक्रमणमा लिबिरीमा २१ जना र कोकोरोउका बालबालिकासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उक्त सशस्त्र आक्रमणमा डिसेम्बर १२ देखि १४ सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालैका दिनहरूमा विशेष गरी रक्तपातपूर्ण जिहादी आक्रमणहरूको शिकार भएका यी समुदायहरू तेरा सीमा क्षेत्रमा अवस्थित छन् । यस क्षेत्रलाई सशस्त्र जिहादी लडाकू समूहको आश्रयस्थल मानिन्छ ।

नाइजर, माली र बुर्किना फासोबीचको सीमावर्ती भूमि लामो समयदेखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूका लागि लुकेर बस्ने स्थानका रूपमा परिचित छ ।

स्थानीय स्रोतहरूले डिसेम्बर ७ मा एएफपीलाई दिएको जानकारीअनुसार पछिल्लो आक्रमणमा बन्दुकधारीहरूले मालसामान बोकेर गएका गाडीहरूको समूहमाथि आक्रमण गर्दा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो।

बिबिसी र आरएफआई दुवैले बुधबार तेराको चाटौमानेमा जिहादीले ९० सैनिक र ४० भन्दा बढी सर्वसाधारणको हत्या गरेको जनाएका थिए ।

नाइजरको जुन्टा सरकारले आक्रमण र मृत्युका समाचारलाई ‘आधारहीन दाबी’ भन्दै खण्डन गरेको छ । एएफपीले स्वतन्त्र स्थानीय स्रोतबाट ती सङ्ख्यापुष्टि गर्न नसके पनि पश्चिमी सुरक्षा स्रोतले एएफपीलाई मङ्गलबारको आक्रमणमा ९० देखि १०० जनाको मृत्यु भएको जनाएको छ । 

काठमाडौँ–टीकापुर उडान सुरू

टीकापुर । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।

यसअघि  विसं २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र  भुलले जानकारी दिए ।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।

त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए । “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।”

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए ।

विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए । “यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रू नौ हजार निर्धारण गरिएको छ”, उनले भने ।

उनले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गरे ।

उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् ।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ ।

सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गरे ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ ।

त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन्। राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन्। त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन्।

स्थानीय निर्मला थापाका सातवटा, थम्मन विकका पाँचवटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका चारवटा बाख्रा मारिदिएको छ। भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकबहादुर थापाले बताए।

‘हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिने गरेको छ’, उनले भने, ‘अहिले त हामीले खाना बनाउने कोठामा बाख्रा राख्ने गरेका छौँ।’ खुमखानी सोही वडाको विकट क्षेत्र हो। त्यहाँ प्रहरी पोष्ट नहुँदा पनि यसरी असुरक्षित हुनु परेको उनको भनाइ छ।

विगत एक महिनायता भालुले यसरी सताउने गरेको हो। अहिले बाख्रालाई मार्ने गरेको भए पनि मानिसलाई पनि क्षति हुनसक्ने भन्दै यसमा सचेत हुनुपर्ने स्थानीय अगुवा जीतबहादुर थापाले बताए।

सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४२ र दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाए । विनोद भण्डारीले १४ र हर्मित सिंहले १३ रन बनाए ।

तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।

उक्त कार्यका लागि पेनस्टक पाइप जडानकार्य अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । आयोजनाको सुरूङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।

विद्युतगृहका सिभिल संरचना निर्माणकार्य पनि अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । स्वीजयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरण जडानलगायतका कार्य भइरहेका छन् ।

टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ ।

सञ्चारविज्ञ गौतमका अनुसार ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । उक्त प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिइरहेको छ ।

मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ ।

समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको आयोजनाका म्यानेजिङ डाइरेक्टर किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गर्न लागिएको छ ।

प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ”, उनले भने, “क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।”

मुख्य बाँध निर्माण छिट्टै सुरू गर्न लागिएको छ । प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज–१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा डेभिन नुन्स नियुक्त

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन् ।

हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्वपूर्ण भूमिकाको लागि समितिको प्रमुखका लागि योग्य रहेको ट्रम्पले बताए ।

ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट शेयर गर्दै अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले लेखेका छन्, ‘म ट्रुथ सोसलका कार्यकारी प्रमुख नुन्सलाई राष्ट्रपतिको ‘इन्टेलिजेन्स एडभाइजरी बोर्ड’को अध्यक्षमा नियुक्त गर्ने कुरा घोषणा गर्न पाउँदा खुसी छु । यस समितिमा सङ्घीय सरकार बाहिरका प्रतिष्ठित नागरिकहरू समावेश छन् ।’

पोस्टमा भनिएको छ, ‘ट्रम्पको सञ्चार तथा प्रविधि समूहको नेतृत्व जारी राख्दै नुन्सले ‘हाउस इन्टेलिजेन्स कमिटी’का पूर्व अध्यक्षको रूपमा आफ्नो अनुभव र रूसी षड्यन्त्रबारे लागेका आरोपको पर्दाफास गर्न उहाँको महत्वपूर्ण भूमिकाको आधारमा मलाई अमेरिकी गुप्तचर समुदायको गतिविधिको प्रभावकारिता र औचित्यको स्वतन्त्र मूल्याङ्कन प्रदान गर्नुहुनेछ । नुन्सलाई बधाई छ।’

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने

चितवन ।  गाेरखाकाे मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको उनकाे भनाइ छ। आगामी पुस ३ गते बुधबारदेखि भने केबलकार सेवा नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए। सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका-४ चेरेसमा पर्छ।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रियताका साथ एकढिक्का भई अघि बढ्न समग्र पार्टी पङ्तिलाई आग्रह गरेका छन् ।

एमाले पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताका पक्षमा स्थापना भएको पार्टीका नेता तथा कार्यकताका हैसियतले जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा सक्रियताका साथ एकताबद्ध भई लाग्न अनुरोध गरे ।

चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन पार्टी पङ्ति एक हुनुपर्ने बताए ।

पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उनले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनमसुदायमा पुर्याउनुपर्नेमा जोड दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले चीनमा कुनै पनि नेताले पार्टी नेतृत्वको विरोध नगर्ने परिपाटी रहेको स्मरण गराए ।

चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको बताए ।

‘हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रुप दिन सुरुवातदेखि नै लाग्दै आएको छ’, अध्यक्ष ओलीले भने, ‘जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पनउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना भएको हो । राजनीतिक अधिकार प्राप्त भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धितर्फ लाग्नुपर्नेछ ।’

इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै उनले पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखापर्दै आएकाले अब त्यसबाट मुक्त हुनुपर्ने धाराणा व्यक्त गरे ।

प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि संस्थापक नेता पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाएर देश र जनताको हितमा काम गर्न सबैसँग अनुरोध गरे ।

शनिबार सुरु भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष तथा महासचिव र महानगर/उपमहानगर पालिकामा एमालेबाट निर्वाचित प्रमुख/उपप्रमुहरूको सहभागिता रहेको छ ।

संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए ।

उनले भने, ‘संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।’ 

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए ।

उनले भने,’संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नुपर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।’

सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताए ।

यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उनले भने, ‘कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।’ दुई दलबीचमा कुनै समस्या नरहेको उनको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उनले स्पष्ट पारे । राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उनले बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताए । मन्त्री लेखकले भने, ‘प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत छ । चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको भन्दै उनले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले काम गरेको बताए ।

कानुनी रूपमा अनुसन्धान सुरू गरिएको उल्लेख गर्दै उनले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु गलत भएको बताए ।

सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने भन्दै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताए । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उनको भनाइ थियो ।

अमेरिकाको दक्षिण कोरियासँगको गठबन्धन क्षेत्रीय शान्तिका लागि ‘महत्वपूर्ण’: बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

दक्षिण कोरियाली नेता युन सुक योलविरूद्ध महाभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बनेका प्रधानमन्त्री हानसँग समसामयिक बिषयमा भएको कुराकानीका क्रममा उनले दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने बताए ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडनले कार्यवाहक राष्ट्रपति हानको कार्यकालमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि गठबन्धन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।’

राष्ट्रपति बाइडेनले गणतन्त्र कोरियामा लोकतन्त्र र विधिको शासनको लचिलोपनको लागि आफ्नो प्रशंसा व्यक्त गरे र गणतन्त्र कोरियाका जनताप्रति संयुक्त राज्य अमेरिकाको कसिलो सहयोगको प्रतिबद्धतालाई दोहार्याए ।

दक्षिण कोरियाका सांसदहरूले शनिबार युनमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । महाभयोग प्रस्ताव पारित भएपछि पदच्युत भएका पिपुल्स पावर पार्टी (पिपिपी) नेता युनको ‘मार्शल ल’ लागु गर्ने निर्णय (यद्यपि, यो निर्णय केही घण्टामा नै फिर्ता लिइएको थियो) ले दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक उथलपुथलमा फसेको थियो।

एक संवैधानिक अदालतले युनलाई स्थायी रूपमा पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा छलफल गरिरहेका बेला टेक्नोक्रेट हानले अन्तरिम नेताको रूपमा सत्ताको वागडोर सम्हाल्नेछन् ।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् ।

पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने

काठमाडौँ । गत दसैँदेखि मङ्सिरसम्म नेपाली चलचित्र प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ । विदेशी चलचित्रको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली चलचित्र प्रदर्शन हुने गर्दछन् । 

यसपटक पुस ५ गते ‘बम बहादुर’ र २६ गते ‘कार्साङ’ प्रदर्शन हुने घोषणा गरिएको छ । गतवर्ष विसं २०८० को पुसमा एक मात्र नेपाली चलचित्र प्रदर्शन हुँदा यसपटक दुई भएको छ । यसअघि सातामा दुईदेखि तीन चलचित्रसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन् । 

आगामी पुस ५ मा प्रदर्शन तय गरिएको चलचित्र ‘बम बहादुर’ मा भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए ।

उनकाअनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ । 

‘चलचित्रको विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ । चलचित्रको मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनको कथा हो । कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ । सोही कारण हाम्रो चलचित्रको प्रचार दर्शकले गर्नेमा विश्वस्त छौँ’, निर्देशक राईले भने ।

चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री निशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन् । 

यस्तै, माघे सङ्क्रान्तिलाई लक्षित गर्दै पुस २६ मा प्रदर्शन तय गरिएको चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित रहेको निर्देशक यम शेर्पाले जानकारी दिए ।

उनले भने, ‘चलचित्रमा निकै कम स्थान पाएको शेर्पा समुदायको संस्कृति र कथालाई देखाउने कोसिस गरेका छौँ । यसको कथा गाउँले जीवन र परिवेशका भए पनि हामीले देखिरहेका भन्दा भिन्न छ, सोही कारण यसमा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ ।’

निर्देशक शेर्पा दर्शकलाई चलचित्र मन पर्नेमा विश्वस्त हुनुहुन्छ । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । 

पुस जाडोको समय भएकाले विगतदेखि नेपाली चलचित्र प्रदर्शनका लागि रोजाइमा नपर्ने गरेको चलचित्र वितरणमा सक्रिय करण श्रेष्ठले बताए ।

‘पुसमा ठूला विदेशी चलचित्र प्रदर्शन हुने गरेका छन् । नेपालमा जाडोको समयमा चलचित्र भवनसम्म दर्शक कम पुग्छन् भन्ने मान्यता छ, सोही कारण निर्माताले चलचित्र प्रदर्शनका लागि यो महिना रोजेको पाइँदैन’, उनले भने, “विदेशी चलचित्रले भने यो समयमा बढी व्यापार गरिरहेका हुन्छन् ।’

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइने

सियोल । दक्षिण कोरियाली प्रतिपक्षी दलले कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्।

दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे–म्युङले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले देशको कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्ताव लगाउने तत्कालका लागि कुनै सोच नभएको बताए ।

लीले शनिबार फोनमार्फत् दिएको जानकारीमा राज्य मामिलालाई तटस्थ रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपति युन सुक योललाई शनिबार राष्ट्रिय सभाले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बित गरिएको छ ।

राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताए ।

कूल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् ।

काठमाडौंद्वारा विराटनगर किंग्स एक विकेटले पराजित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । 


त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । 


काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३९ रन बनाएका हुन् । शङ्कर रानाले अविजित रहँदै १६, रासिद खानले १४, गेर्हार्ड इरास्मसले १२, दिपेश कँडेलले अविजित ११ र माइकल लेविट १० रनको योगदान दिए । 


यस्तै, काठमाडौँको लागि शाहब आलमले दुई रन जोड्दा स्टीफन एस्किनाजी, भीम सार्की र डेन डउथवेटले समान एक/एक रन बनाए । काठमाडौँले अतिरिक्त १३ रन प्राप्त गर्यो । 


बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, क्रिस सोल, बसिर अहमद र अनिल खरेलले समान दुई/दुई विकेट हात पारे । 


त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । विराटनगरको लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । यस्तै, दिपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे । 


विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले ६, इस्मत आलमले ५ र क्रिस सोलले एक रनको योगदान दिए । विराटनगरले अतिरिक्त १२ रन प्राप्त गर्‍यो । 


बलिङतर्फ काठमाडौँको लागि गेर्हार्ड इरास्मसले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक/एक विकेट लिएका थिए । 

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर । मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा रामेछाप दोरम्वा गाउँंपालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ बस्ने ४४ वर्षीय जीतेन्द्र श्रेष्ठलाई पक्राउ गरी सवारीसाधनसहित प्रहरी वृत जगातीमा थप अनुसन्धान थालिएको उनले बताए ।

आयोजनाको प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिनुपर्छः प्रवक्ता महत

वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।


नेपाल प्रेस युनियन पर्साद्वारा आइतबार वीरगञ्मा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने बताए । उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्ने बताए ।


‘आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसो गर्न नसकिएको खण्डमा मुलुकमा ऋणको व्ययभार बढ्नेतर्फ सचेत रहन जरुरी छ’, प्रवक्ता महतले भने ।


 महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा राखे । ‘विश्व बैंक, एसियन विकास बैंक (एडिबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ’, उनले भने, ‘विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।’


कांग्रेसका प्रवक्ता महतले बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ को समयमा निजी क्षेत्रलाई प्रवाह गरेको ऋण अहिले उठाउन समस्या भइरहेको बताए ।


‘कोभिडको समयमा व्यापार, व्यवसाय सबै स्थिर भएकाले त्यो बेला खर्च गर्ने ठाउँ भएन । अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्रले पहिला लिएको ऋण तिर्न अहिले मुस्किल भइरहेको छ’, उनले भने, ‘अहिले पनि बैंक तथा वित्तीय संस्थामा जम्मा भएको पुँजी ऋणको रूपमा प्रवाह हुन सकिरहेको छैन । यसले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन सकिरहेको छैन ।’


प्रवक्ता महतले सरकार र निजी क्षेत्र दुवैले प्रभावकारी र प्रतिफल दिने आयोजनामा मात्र लगानी गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले आर्थिक अनुशासन र राज्यको प्रथामिकतालाई ध्यानमा दिएर काम गर्नुपर्ने उनले बताए ।


‘सरकारले कुनै पनि आयोजनाका लागि बजेट विनियोजित गर्दा बढीभन्दा बढी नागरिकलाई फाइदा पुग्ने योजनालाई प्रथामिकता दिनुपर्छ । बजेट विनियोजन भएपछि सोको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक अनुगमन र मूल्याङ्कन गर्नु जरुरी छ’, कांग्रेसका प्रवक्ता महतले भने ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका तत्कालीन उप–प्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा उनी दोषी ठहर भएका थिए ।

उनलाई दुई छुट्टाछुट्टै मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ । विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो ।

सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशबाट सदर भएको थियो । तर, श्रेष्ठ त्यसयता फरार थिए । श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

गत शुक्रबारको तुलानामा आइतबार प्रतितोला सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आइतबार बजार खुलेसँगै एक लाख ५० हजार आठ सय रुपैयाँमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँघटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।

विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले ११८ रनको लक्ष्य पाएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनायो ।

विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । ओपनर दीपक बोहोरा २०, स्कट एडर्वास १५, बसिर अहमद १३, निकोलस किर्तन १२ रन बनाए। यस्तै लोकेश बमल आठ र सुवाष भण्डारीले ६ रनमा अविजित रहे ।

यो खेल जितेमा काठमाडौँ प्लेअफको सम्भावना रहने छ भने पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ । काठमाडौँ ६ खेलबाट ६ अंक रहेको छ भने विराटनगरको समान खेलबाट चार अंक छ । आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।

फेशन शोमा चर्चित कलाकार(फोटोफिचर)

काठमाडौं । प्रारम्भ फाउन्डेसनले शनिबार साँझ काठमाडौँमा ग्ल्याम नेपाल इन्टरनेसनल फेशन शो आयोजना गरेको छ । फेशन शोमा कलाकार प्रदीप खड्का र आना शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिस युनिभर्स नेपाल २०२२ को विजेता सोफिया भुजेललगायतले सहभागिता जनाएका थिए ।

तस्बिर : किरणराज विष्ट

त्रिभुवन विश्वविद्यालयमा आठ र तीन निर्देशक नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आठ जना डीन र तीन जना कार्यकारी निर्देशक नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शनिबार आठ जना डीन नियुक्ति गरेको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिएका छन् ।

मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्रा.डा. दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा.सुशिल बहादुर बज्राचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल नियुक्त भएका छन् ।

त्यस्तै योजना निर्देशनालयका निर्देशकमा डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् भने शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा. राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यकारी निर्देशकमा प्रा.डा. मिना राजभण्डारी नियुक्त भएका छन् ।

त्रिविका डीन नियुक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति केशरजंग बरालबीच रस्साकस्सी भएको थियो । लामो विवादपछि डिन र कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो । प्रधानमन्त्री एंव त्रिविका कुलपति ओलीले ७ पुस भित्र नियुक्ति गर्न निर्देशन दिएका थिए ।

राज्यले स्वास्थ्य स्वयंसेवीकाहरुका माग सम्बोधन गर्नुपर्छः अध्यक्ष सिंह

दाङ । नेपाल वान एचडीकी अध्यक्ष मोनिका सिंहले स्वास्थ्य स्वयंसेवीकाहरुका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् ।

नेपाल टेलिकमको साझेदारी तथा नेपाल वान एचडी र ग्लोबल एटु जेड कन्सल्टेन्टको आयोजनामा शनिबार दाङको घोराहीमा आयोजित कार्यक्रममा अध्यक्ष सिंहले राज्यले स्वास्थ्य स्वयंसेवीकाहरुको माग सम्बोधन गर्नुको साटो भाग्न नहुने बताएकी हुन् ।

उनले देशमा ठूलो संख्यामा स्वास्थ्य स्वयंसेवीकाहरु रहेकाले एक भएर आवाज उठाएको खण्डमा राज्य माग सम्बोधन गर्न बाध्य हुने बताइन् । उनले राज्यका निकायले माग सम्बोधनमा बेवास्ता गरे अहिलेको डिजिटल युगमा प्रविधिको प्रयोग गरी माग राख्न सकिने बताइन् ।

उनले भनिन्,‘तपाईंहरुले नेता, मन्त्रीलाई भेट्न खोज्नु होला, तर उनीहरुले समय नदिन सक्छन् । त्यस्तो अवस्थामा सामाजिक संजालका यत्रो प्लेटफर्म छन् । सामाजिक संजालबाट लाइभ गर्नुुस् आफूहरुका समस्याका बारेमा । यसलाई संचारमाध्यमले समाचार बनाउँछन् । सरकारका मन्त्री तथा नेताहरुले पनि हेर्छन् ।’

उनले अब सामाजिक संजालमा समूह बनाएर आफ्ना आवाज बुलन्द पार्ने काम गर्न स्वास्थ्य स्वयंसेवीकाहरुलाई आग्रह गरिन् । उनले अब राजनीतिक नेतृत्व छान्दा पनि आफूहरुको समस्या सम्बोधन गर्न कसले सहयोग गर्यो र कसले असहयोग गर्यो भनेर ध्यान दिन पनि उनीहरुलाई आग्रह गरिन् ।

उनले दाङ जिल्लाबाट प्रदेशदेखि केन्द्रसम्म पटक पटक नेतृत्व पाएको तर त्यसको अभास पाए नपाएको मूल्यांकन गर्नुपर्ने बेला आएको समेत बताइन् । उनले आफूहरुले यो कार्यक्रमको प्रतिवेदन प्रदेशका र केन्द्रका स्वास्थ्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बुझाउने र स्वास्थ्य स्वयंसेवीकाहरुका माग सम्बोधनका लागि पहल गर्ने बताइन् ।

डेढ अर्ब लगानीमा खुल्यो नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’

काठमाडौं ।  ललितपुरको झम्सिखेलमा अन्तर्राष्ट्रियस्तरको मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा ल्याइएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु दाबी गरिएको द प्लाजामा सिजी होल्डिङ्स कम्पनीले  एक अर्ब ५० करोडभन्दा बढी लगानी गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खाना र सेवासहितको मल्टिभेन्यु द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ ।

सिजी होल्डिङ्सका परामर्शदाता अर्जुनराज गिरीले अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार र सुविधायुक्त द प्लाजा नेपालकै ठूलो मल्टिभेन्यु भएको बताए ।

कुल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीनवटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिने जनाइएको छ ।

कुल ४३ हजार वर्ग फिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकताअनुसार सचिवालय र भिआइपी कक्षको पनि सुविधा छ ।

कार्यक्रमको उच्चस्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउन्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रबन्ध गर्ने जनाइएको छ ।

एन्फाले ‘ए डिभिजन लिग फुटबल क्लब’लाई कम्पनी मोडलमा लैजाँदै

वीरगञ्ज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘ए डिभिजन लिग फुटबल क्लब’ लाई कम्पनी मोडलमा अघि सार्ने योजना बनाएको छ ।  

सङ्घ क्लब मोडलमा रहेका क्लबलाई आर्थिक रूपमा सबल र सक्षम बनाउनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर अघि बढाउने तयारीमा जुटेको हो ।

सङ्घका महासचिव किरण राईले ‘ए डिभिजन लिग’ खेल्ने फुटबल क्लबलाई कम्पनी मोडलमा अघि सार्न ढिला गर्न नहुने बताए । वीरगंजमा आयोजित भेट्रान्स सिटी क्लब वीरगञ्जको आठौँ वार्षिक साधारणसभामा उनले नेपालका फुटबल क्लबलाई व्यावसायिक रूपमा अघि बढाउन पनि कम्पनी मोडलमा लैजानुपर्नेमा जोड दिए ।

‘नेपालका डिभिजन लिग खेल्ने फुटबल क्लबहरू अहिलेसम्म व्यावसायिक रूपमा सञ्चालन हुन सकिरहेका छैनन् । अधिकांश क्लब भावनात्मक लगानीका आधारमा चल्दै आइरहेका छन्’, महासचिव राईले भने ‘जबसम्म क्लबहरू व्यावसायिक बन्दैनन्, तबसम्म राम्रा खेलाडी उत्पादन गर्न पनि सकिँदैन ।’

उनले अबदेखि एन्फाले फुटबल एकेडेमी सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने तयारी गरिरहेको जानकारी दिए । ‘अब एन्फा एकेडेमी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । निजी क्षेत्रबाटै एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादन गर्ने र खेलाडीको बिक्री गर्ने प्रचलन पनि ल्याउनेछौँ ।’

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पालिकाले पनि खेलकुदका पूर्वाधार र गतिविधिमा लगानी गर्दै आएको बताए ।

‘खेलकुदको विकास र प्रवद्र्धनका लागि सबैसँग सहकार्य गर्दै आइरहेका छौँ । आगामी दिनमा पनि निरन्तरता दिनेछौँ’, उनले भने । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए । भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले फुटबल खेलको विकासका लागि निरन्तर काम भइरहेको बताए ।

‘विगत ११ वर्षदेखि विभिन्न खेलकुदका गतिविधि गर्दै आइरहेका छौँ,’ उनले भने, ‘राज्यले पनि खेलकुदको विकासका लागि हातेमालो गरेर अघि बढ्न जरूरी भइसकेको छ ।’

क्लबका महासचिव पङ्कज श्रेष्ठले क्लबले गरेका आर्थिक प्रगति विवरण पेस गरेका थिए ।