`

नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

काठमाडौं। नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी भएकी छन्। शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो।

शुक्रबारदेखि सुरु संघको निर्वाचनमा अध्यक्षमा शर्मासहित तीनजना प्रतिस्पर्धी रहेका थिए। निर्वाचित शर्माले दुई हजार एक सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गंगाकुमारी थापाले एक हजार तीन सय ७० र वसन्ती थापाले दुई सय ८२ मत प्राप्त गरिन्। वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार पाँच सय ९७ मत प्राप्त गरे।

यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे दुई हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले एक हजार पाँच सय ७० मत प्राप्त गरिन्।

महासचिवमा डा देवकाकुमारी आचार्य एक हजार सात सय ३३ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार तीन सय ४७ र जानकी धामीले ६ सय २२ मत प्राप्त गरिन्।

सचिवमा दुई हजार ९० मत प्राप्त गरी बेली पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी जया मिश्राले एक हजार पाँच सय ७३ मत प्राप्त गरिन्। कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार एक सय ८८ मत ल्याएर विजयी भइन् भने प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले एक हजार चार सय ८२ मत ल्याइन्।

यसैगरी, खुल्ला सदस्यमा मेनुका पोखरेल विजयी भइन्। आदिवासी÷जनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशी/मुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी भएका छन्। नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी भएका छन्।

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

पथरी । आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हुँदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका हुन् । सरकारी पक्षबाट पनि यस्ता संस्कार र सांस्कृतिक नृत्यहरूको संरक्षणमा चासो नराख्नुले यिनको पुस्तान्तरणसमेत हुन सकेको छैन ।

पछिल्लो समय पथरी शनिश्चरे–३ शान्ति टोलका महिलाहरू यी नाचको संरक्षण र पुस्तान्तरणमा लागिपरेका छन् । यहाँ रहेको ‘महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूह’ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणमा लागेका छन् । समूहले नयाँ पुस्तामा जानकारी दिन प्रत्येक हप्ताको मङ्गलबार साँझ सँगिनी प्रशिक्षण कार्यक्रम नै सुरु गरेको जनाएको छ ।  

समूहले विगत ४ वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ । समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन् । यी समूहले स्थानीयस्तरमा मात्रै होइन हाल मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन् ।

मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागिपरेको महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका वेदनाहरु गीतका माध्यमबाट पोख्ने ठाउँ नै हो सँगिनी ।

सँगिनी परापूर्वकालदेखि महिलाका सुखदुःखका साथै ढिकी, जाँतो पिस्दादेखि घरमा श्रीमान्, सासू, नन्द, देवर, जेठाजु र समाजमा भएका थिचोमिचोका बेदना बुहारी आमाहरूले गीतका माध्यमबाट पोख्ने गरेको बताउँछिन्, समूहकी अध्यक्ष देवीमाया पोखरेल । ब्राह्मण र क्षेत्री समुदायमा नाचिने सँगिनीसँगै बालन पश्चिमा संस्कृतिको प्रभाव समाजबाट हराउँदै गएको उनको भनाइ छ ।

झन्डै डेढ दशकअघिसम्म गाउँघरमा सँगिनी र बालन नाच्ने गरे पनि पछिल्लो समय भने गाउँघरमा नाच्न छोडेको स्थानीय भुवनेश्वर पोखरेलले बताए । अचेल भने गाउँका थोरै महिलाहरू भेला भएर खेल्दै आएको सँगिनी नृत्यले संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्याएको उनी बताउँछन् ।

कुनै समय नेपालमा निकै चर्चित मानिएको सँगिनी नाच पछिल्लो समय एकादेशको कथा जस्तै बन्न लागेको अवस्थामा स्थानीय समूह संरक्षणमा जुट्नु प्रशंसनीय रहेको पथरी शनिश्चरे–३ का शिक्षक  खगेन्द्र लुइँटेलको भनाइ छ ।

“पहिले मान्छेहरू टाढाटाढाबाट बालन र सँगिनी नाच हेर्न पुग्थे । विशेषगरी बिहे, पूजा, पुराण समारोह, उत्सव आदिमा सँगिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए”,उनले स्मरण गरे,“पछिल्लो समय भने यसको संरक्षण र पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा थियो । विगत पाँच वर्षदेखि स्थानीय महिला दिदीबहिनीहरू संरक्षणमा जुटेपछि अचेल भने महत्वपूर्ण उत्सवमा नाच्न थालिएको छ । यो निकै सराहनीय काम हो ।”

चौध वर्षअगाडि भजनकीर्तन गर्न बनेको समूहले त्यसका साथै लोप हुँदै गरेको सँगिनीको पनी संरक्षण गर्नुपर्छ भनेर पाँच वर्षदेखि सँगिनी प्रशिक्षणका साथै ठाउँठाउँमा नृत्य देखाउँदै आएको सञ्चारकर्मी अर्जुन काफ्लेले बताए । “यहाँ सँगिनी प्रशिक्षण र नाच देखेर अघिल्लोपटक स्थानीय तहले समेत आर्थिक सहयोग गरेको थियो । यसको महत्व विस्तारै बुझ्न थालिएको छ । पथरी शनिश्चरे–४ र ८ मा पनि सिको गर्न थालिएको छ, यो राम्रो कुरा हो”, उनले भने ।  

सामूहिक रूपमा सुरुवात गरेको सँगिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव पारिरहेको आमा र हजुरआमासँगै सँगिनी प्रशिक्षण लिइरहेकी बालिका अपेक्षा खतिवडाको बुझाइ छ । उनी भन्छिन्, “यसले हामीलाई हाम्रो संस्कारबारे थप जान्ने मौकासमेत मिलेको छ । पश्चिमा संस्कृतिको प्रभावका बीच सँगिनी नाच के हो भनेर हाम्रो पुस्तालाई चिनाउन ठूलो मद्दत मिलेको छ ।”

पथरी शनिश्चरे–३ शान्तिटोलका ३५ परिवार यो कार्यमा सहभागी छन् । समूहलाई झापा, मोरङ र सुनसरीका क्षेत्रमा हुने धार्मिक समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ । समूहकी सचिव यशोदा पोख्रेलले समूहले सँगिनी संरक्षणमा देखाएको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको  बताइन् ।

प्रशिक्षक ६८ वर्षीया नर्वदा खतिवडा मौलिक तथा परम्परागत नाचका रूपमा नाच्दै आएको सँगिनी विस्तारै हराउँदै गएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको बताउँछिन् । समूहले नाच संरक्षणका लागि आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तामा सिकाउने भनेपछि आफू पनि सिकेको सीप सिकाउन नियमित रूपमा समूहमा आउने गरेको उनले बताइन् ।

“हराउँदै गएको मौलिक संस्कारसहितको परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तातरण हुन जरूरी छ । यदि यसो नगर्ने हो भने यस्ता संस्कार र संस्कृति एकादेशको कथा हुनसक्छन् । त्यसैले मौलिक संस्कार बोकेका सँगिनी र बालनलाई महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहले जस्तै राज्यबाट आवश्यक सहयोग हुन आवश्यक छ”, खतिवडाको कथन छ ।

स्थानीय तहको उपनिर्वाचनले को सिकिँदै छ र को रिभाइभ हुँदैछ भन्ने स्पष्ट भयोः प्रचण्ड

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय माओवादीप्रति जनलहर बढ्दै गएको बताएका छन् ।

शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचनको त्यसको पुष्टि गरेको बताएका हुन् ।

उनले अब नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न नदिने बताए । उनले भने, ‘पछिल्लो समय जहाँ गयो, त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन । हामी समाजवादी नयाँ आन्दोलनमार्फत त्यसको प्रतिवाद गर्नेछौँ । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिकिँदै छ र को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढङ्गले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए ।

आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्दै दूरगामी रूपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए ।

प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देल शनिबार देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलले कवाज निरीक्षण गरेका छन् ।

त्यसक्रममा उनले नवनियुक्त अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नाका साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले विसं २०१० देखि सो एकेडेमीमा आफ्ना अधिकृत क्याडेटलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् । बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेट तालिमरत रहेका सेनाले जनाएको छ ।

संविधान संशोधनको बेला भएको छैनः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जनताको लामो सङ्घर्षबाट बनेको वर्तमान संविधान जारी भएको भरखर नौ वर्ष पुगेकाले राम्रो प्रयोग र उपयोग नभई संशोधनको औचित्यको पुष्ट्याई गर्न कठिन हुने बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले असल नियत र नैतिकता नभए संविधान फेर्दैमा समस्या नहट्ने बताएकी हुन् ।

 उनले भनिन्, ‘भाषा मिलेको नभए पनि संविधानमा राख्न पर्ने विषयवस्तु पुुुगेको छ । संविधान आफैँमा पूर्ण कहिल्यै हुन्न । कुनै पनि राजनीतिज्ञलाई असल काम गर्न संविधानले रोक्दैन, असल नियत र नैतिकता भएन भने संविधान फेर्दैमा समस्या हट्दैन ।’

उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताइन् । 

अब सरकार रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढ्छः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताए ।

‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्का छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्’ उनले भने ।

उनले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए । उनले भने, ‘सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।’

प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताए । ‘विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ’ उनले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भने, ‘विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ,  सफलताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।’

विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो भन्दै उनले व्यवहारत असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले धर्तिको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा दुःखेसो पोख्दै अन्य भूभागसमेत मरभूमि बन्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरे ।

‘अरूका गल्तीले धर्तीका भूभाग मरूभूमि बन्दैछ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौँ, कालापत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरूपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ’ उनले भने ।

उनले पुर्खाले वरपिपल र तुलसी धेरैभन्दा धेरै रोपेर अक्सिजनका लागि ‘ब्यालेन्स’ मिलाएको उल्लेख गर्दै पारिस्थितिकि चक्रलाई नबिगार्न त्यसो गरिएकाले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्दछ भन्ने विषयमा आफूले जोड दिँदै आएको बताए ।

कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताए ।

उनले भने, ‘दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ ।’

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो । आज विश्वविद्यालयका विभिन्न सङ्कायका एक् हजार दुई सय ६५ जना विद्यार्थी दीक्षित भएका छन् ।

स्वास्थ्य स्वयंसेवीकाहरुको सेवा सुविधाको व्यवस्थाका लागि सरकारसँग पहल गर्छौंः मजगैया

दाङ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका कार्यकारी निर्देशक प्रदीप मजगैयाले स्वास्थ्यस्वयंसेवीकाहरुलाई प्रविधिको प्रयोगमा जोड दिन आग्रह गरेका छन् ।

नेपाल टेलिकमको साझेदारी तथा नेपाल वान एचडी र ग्लोबल एटु जेड कन्सल्टेन्टको आयोजनामा शनिबार दाङको घोराहीमा आयोजित कार्यक्रममा मजगैयाले हरेकको घरघरमा पुग्न सम्भव नभएकाले स्वास्थ्यस्वयंसेवीकाहरुलाई भाइबर, फेसबुक, गुगलमिट जस्ता प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले यसका लागि राज्यसँग समन्वय गरी उपलब्ध गराउन पनि पहल गर्ने बताए । उनले प्रविधिको प्रयोग गर्न सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

मजगैयाले स्वास्थ्यस्वयंसेवीकाहरुको सेवा सुविधाका लागि नीतिगत व्यवस्था गर्न आफूहरुले प्रधानमन्त्री र अर्थमन्त्रीसँग पहल गर्ने बताए ।

चितवनद्वारा जनकपुर ३२ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । 


सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा  १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अङ्क छ ।


आइतबार हुने काठमाडौँ गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । उक्त खेलमा काठमाडौँ गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ । यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुङ्गो रनरेटका आधारमा हुनेछ । 


जारी प्रतियोगिताबाट लुम्बिनी लायन्स यसअघि नै बाहिरिएको छ भने आजको खेलपछि बिराटनगर किङ्ग्स र पोखरा एभेञ्जर्स पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।


आजको खेलमा एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । उसका लागि जिमी निशमले २७० दशमलव ८३ को स्ट्राइक रेटमा ६५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उनले २४ बल खेल्ने क्रममा पाँच चौका र छ छक्का प्रहार गरे । साथै आसिफ शेखले २३, शुभ कङ्साकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।


चितवनको जितमा रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले समान दुई/दुई विकेट लिए भने अमर रौतेलाले एक विकेट लिए । 


त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो । 


उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रबि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।


जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक/एक विकेट लिए । 

पूर्वराजाद्वारा दाङको पाण्डवेश्वर महादेव मन्दिरमा पूजापाठ

दाङ । मध्यपश्चिम र सुदूरपश्चिका जिल्लाको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला आफ्ना समर्थक र मठमन्दिरको पूजापाठमा व्यस्त भएका छन् ।

गतसाता भ्रमणका लागि नेपालगंज पुगेका पूर्वराजा शाह शनिबार दाङ पुगेका छन् । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा पूर्वराजाले पूजापाठ तथा स्थानीयसँग भेटघाटमा गरेका थिए ।

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

काठमाडौँ । राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो ।

एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप तालिकामा एचपिभी खोप समावेश गर्न राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरिसकेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यस वर्षदेखि एचपिभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताए । नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान २०८१÷८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गरेको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यसाथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यही माघ २२ गतेदेखि एचपिभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने भएको छ ।

डा गौतमले भने, “हरेक वर्ष नियमित खोप सेवामार्फत कक्षा ६ तथा विद्यालय बाहिर रहेका १० वर्षे किशोरीलाई खोप दिने लक्ष्य छ । विश्व क्यान्सर दिवसका अवसर पारेर १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिन लागिएको छ । आगाम वर्षदेखि फागुन महिनालाई नियमित एचपिभी खोप सेवा सञ्चालन गर्ने महिना निर्धारण गर्ने सोचेका छौँ । आव २०८२÷८३ देखि नियमित एचपिभी खोप सेवा सञ्चालन गरिनेछ ।”

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलाहरुलाई यस्तो क्यान्सर हुन्छ भन्ने अनुमान छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाहरुको पाठेघरको मुखबाट मृत्यु हुने अनुमान गरिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिविरूद्धको महाअभियोग प्रस्ताव पारित

बीबीसी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ । शनिबार राष्ट्रपति युनविरूद्ध नेशनल एसेम्ब्लीमा महाअभियोगको प्रस्ताव पेश गरिएको थियो ।

जसमा २०४ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा ८५ जनाले मत हालेका थिए । महाअभियोग प्रस्ताव पारित भएको सूचना संवैधानिक अदालतमा पुर्याइएपछि युनको राष्ट्रपतीय अधिकारबाट निलम्बनमा पर्नेछन् ।

महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ। ३०० सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पिपिपी) का १०८ सांसद छन् भने विपक्षीका १९० सांसद छन्। दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पिपिपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो ।

सैनिक शासन लगाउने आफ्नो निर्णय न्यायोचित भएको र राष्ट्रपति पदबाट राजीनामा नदिने भन्दै यूनले बताउँदै आएका थिए । पहिलो महाभियोग प्रस्तावमा ८ मत नपुग्दा प्रस्तावमा मतदान हुन सकेको थिएन । त्यसपछि आज फेरि संसदमा महाअभियोगको पक्ष–विपक्षबाट मतदान भएको थियो ।

राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।

कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।

उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक/एक विकेट लिए ।

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक

नवलपरासी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दैै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा शनिबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।


‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो’, उनले भने ।


फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण सफल भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताए । 

थाइल्याण्डको ताक प्रान्तमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु, ३९ घाइते

बैङ्कक । थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् ।

प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेहरूको परिवारप्रति सामाजिक सञ्जाल पोष्टमार्फत गहिरो समवेदना व्यक्त गरे ।

पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न आगामी सबै चाडपर्वहरूमा सुरक्षा उपायहरू बढाउन निर्देशन दिए ।

‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) बीच विचाराधीन वित्तीय दायित्वहरू समाधान गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । पाकिस्तान नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नादिर शफी दारका अनुसार एफएएलाई भुक्तान छिट्टै हुने अपेक्षा गरिएको छ । एफएए प्रतिनिधिमण्डललाई फेब्रुअरी वा मार्चमा पाकिस्तान भ्रमण गर्ने मार्ग प्रशस्त हुनेछ ।

एआरवाई न्यूजका अनुसार यसले पाकिस्तानलाई एफएएसँग ‘श्रेणी एक’ स्थितिमा पुनः वर्गीकृत गर्ने सम्भावना बढाउँछ, जसले अमेरिकाको लागि सीधा उडानहरू पुनः सुरु गर्न अनुमति दिन्छ ।

पीआईएको संयुक्त राज्यका उडानहरू सन् २०१७ मा निलम्बन गरिएको थियो । सरकारले तीनवटा विद्युत वितरण कम्पनीसहित पीआईएको निजीकरण वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने योजना रहेको बताए ।

प्रारम्भमा अक्टोबर १ सम्ममा टुङ्ग्याउने गरी निजीकरण प्रक्रिया चलिरहेको नागरिक उड्डयनले जनाएको छ ।

अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा

नैरोबी । अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ।

बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन शीर्षक’को प्रतिवेदनमा डब्ल्यूएचओले उक्त तथ्याड़क उल्लेख गरेको छ।

अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने,“आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ। यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ।”

सन् २००० र सन् २०१९ बीचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको सङ्ख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ।

प्रतिवेदनका अनुसार उच्च स्वास्थ्य खर्चमा विश्वभरका गरिबमध्ये आधा अफ्रिकामा बसोबास गर्छन्।

अत्यधिक खर्चले अफ्रिकी नागरिकहरूलाई खाद्यान्न, कपडा र आश्रय जस्ता आधारभूत आवश्यकताहरूमा खर्च घटाउन बाध्य तुल्याउन सक्ने प्रतिवेदनले जनाएको छ।

यसले धेरै अफ्रिकी देशहरूले अत्यधिक स्वास्थ्य खर्चको बोझलाई सम्बोधन गर्न बलियो नीति र विधायी ढाँचाहरू अपनाएका छन्

राष्ट्रपतिविरुद्ध दोस्रो महाभियोगमा मतदानअघि दक्षिण कोरियामा दुवै पक्षको प्रदर्शन

बीबीसी । राष्ट्रपति यून सुक यउलविरुद्ध दोस्रो पटक दर्ता भएको महाभियोगमा मतदान सुरु हुनुअघि दक्षिण कोरियाको संसद् बाहिर सयौँ प्रदर्शनकारीहरू भेला भएका छन् ।

आफ्नो सत्ता टिकाउन प्रयास गरिरहेका राष्ट्रपति यूनको समर्थनमा पनि राजधानी सोलको एउटा क्षेत्रमा प्रदर्शन भएको छ । ११ दिनअघि दक्षिण कोरियामा सैनिक शासन लगाउने निर्णयपछि राष्ट्रपति यूनलाई पदबाट हटाउनुपर्ने माग बढेको छ।

विपक्षी दलबाट महाभियोगको प्रक्रियासँगै उनको राजीनामा माग गर्दै प्रदर्शनहरू पनि भइरहेका छन्। उनले घोषणा गरेको ‘मार्शल ल’ अर्थात् सैनिक शासन संसद्ले मतदानबाट अस्वीकृत गरेपछि छ घण्टामै फिर्ता भएको थियो ।

यसअघि यूनविरूद्ध दर्ता भएको महाभियोगको पक्षमा न्याश्नल असेम्ब्लीमा भएको मतदानमा दुई तिहाइ बहुमत पुगेको थिएन । महाभियोग प्रस्तावमा दोस्रो पटक मतदान सुरु हुनुअघि सत्ताधारी पीपल्स पावर पार्टीका एक जना सांसद आफ्नो दलका अन्य सांसदहरूलाई पनि महाभियोगको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।

एक जना सांसद यस्तो आग्रह गरिएको साइन बोर्ड बोकेर संसद् भवन अगाडी बसेका थिए । गतसाता भएको मतदान सत्ताधारी दलका सांसदहरूले बहिस्कार गरेका थिए।

विपक्षी डेमोक्र्याटिक पार्टीले अघि सारेको महाभियोग प्रस्ताव पारित हुन २०० मत आवश्यक थियो। तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका तीन जना सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेको विवरण आएका थिए ।

विपक्षी सांसदहरूले यून पदबाट नहटेसम्म हरेक शनिवार महाभियोगमा मतदान हुने गरि प्रक्रिया अघि बढाइने बताएका छन् । दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन संसद् ’न्याश्नल असेम्ब्ली’ को दुईतिहाइ मत आवश्यक पर्छ। अहिलेको समीकरणका हेर्दा सत्ताधारी दलका कम्तीमा आठ सांसदले विपक्षीलाई साथ दिनुपर्छ।

स्वास्थ्यस्वयंसेवीकाको माग सम्बोधनका लागि पहल गर्छुः मन्त्री न्यौपाने

दाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले स्वास्थ्यस्वयंसेवीको सेवा सुविधाका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल टेलिकमको साझेदारी तथा नेपाल वान एचडी र ग्लोबल एटु जेड कन्सल्टेन्टको आयोजनामा शनिबार दाङको घोराहीमा आयोजित कार्यक्रममा मन्त्री न्यौपानेले स्वास्थ्यस्वयंसेवीकाले अस्पतालसम्म पुग्न नसक्ने महिलाको स्वास्थ्यका लागि धर्मको कर्म गरिरहेको भन्दै यस विषयलाई सरकारसम्म आवाज पुुर्याउनुपर्ने बताए ।

उनले स्थानीय सरकारहरुले विकास भनेको पूर्वाधार निर्माणको काम मात्र बुझेकाले यसमा ध्यान दिन नसकेको बताए । स्वास्थ्यस्वयंसेवीकाको भूमिकालाई सरकारले नबुझेकाले अब प्रदेश सरकारमा यो कुरा उठाउने बताए । उनले स्वास्थ्यस्वयंसेवीकाको हौसला बढाउन आफूले पहल गर्ने बताए ।

उनले भने,‘अब पनि तपाईंहरुका माग सम्बोधन गर्न सकिएन भने कसले गर्छ ? प्रमुख दुई ठूला दलको सरकार छ । प्रदेशले कानुन बनाउने काम गर्छ । केन्द्रमा स्वास्थ्यमन्त्रीसँग पनि यो कुरा सुनाउँछु । सबै मिलेर सरकारलाई झक्झक्याउने काम गरौं ।’

उनले स्वास्थ्यस्वयंसेवीकालाई रुवाएर सरकार नबस्ने भन्दै माग सम्बोधनका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।उनले स्वास्थ्यस्वयंसेवीकाले पाइरहेको सुविधा कटौती नगरी बरु थप गर्नका लागि पहल गर्ने बताए ।

मुस्ताङमा आलु ‘जोन’ कार्यक्रम संचालन

म्याग्दी । मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङ कार्यक्षेत्र भएको परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख भरतराज गौतमले आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सरकारी सूचीकृत भएका जानकारी दिए ।

कार्यक्रममार्फत आलुखेती गर्ने कृषकलाई मल, बीउ खरिद, साना सिँचाइ निर्माण, भण्डारण, बजारीकरणलगायत कामका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइने उनले बताए । आलु जोन कार्यक्रमका लागि चालु आवमा रु एक करोड १७ लाख बजेट प्राप्त भएको गौतमले जानकारी ए।

पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेती गरेका कृषकहरूलाई जोन कार्यक्रममा समेटिएको छ । छनोट भएका कृषक समूह, सहकारी र फार्महरूसँग अनुदानका लागि सम्झौता गर्न थालिएको परियोजनाका प्रमुख गौतमले उल्लेख गरे ।

चार सय ५९ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको मुस्ताङमा यस वर्ष सात हजार ३१ मेट्रिक्टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ ।

मुस्ताङमा उत्पादन भएको आलु म्याग्दी, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, रुपन्देहीलगायत देशका विभिन्न सहरमा बिक्री हुने गर्दछ । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिना प्राङ्गारिक विधिबाट उत्पादन भएको मुस्ताङको आलु स्वादिलो र पोषिलो मानिन्छ ।

प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्ः उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गरे । उनले भने, ‘योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पुर्‍याउने गरी निर्माण अघि बढाउने छौँ ।’

कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए । पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए ।

उपप्रधानमन्त्री सिंहसँगै चितवन पुगेका गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनताकेन्द्रित कामका लागि सरकार र सरोकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

मुलुकमा कानुनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै उनले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आयो, सरकार समाधान खोज्दैछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५ औँ वार्षिक साधारण सभामा सञ्चारमन्त्री गुरुङले गुरुङले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको र दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताए ।

उनले अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न नसकेको बताए । उनले भने, ‘हामीले अहिले गरेको प्रयत्न भनेको सरकार रेस्पोन्सिभ हुनपर्यो । दूध किसानहरूको वर्षैँदेखिको भुक्तानीको समस्या छ, त्यसमा सरकार रेस्पोन्सिभ हुनपर्यो भनेर अघिल्लो पटक हामीले ६० करोड दशैँअघि सरकार रेसपोन्सिभ छ है भनेर छुट्टयायौँ । त्यो पर्याप्त थिएन । उखु किसानहरूको जहिलेको समस्या छ । सबै काम सरकारले गर्दैछ ।’

उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

नेपाल टेलिकमद्वारा दाङमा स्वास्थ्यस्वयंसेवीका डिजिटल सञ्चार सम्बन्धी अभिमुखिकरण कार्यक्रम, सुविधा दिन माग

दाङ । नेपाल टेलिकमले स्वास्थ्य स्वयंसेवीकाहरुलाई लक्षित गर्दै दाङमा डिजिटल संचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल टेलिकमको साझेदारी तथा नेपाल वान एचडी र ग्लोबल एटु जेड कन्सल्टेन्टको आयोजनामा शनिबार दाङको घोराहीमा डिजिटल सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । प्राधिकरणले महिला समुदायिक स्वास्थ्यस्वयंसेवीकासँग नेपाल टेलिकम नामक आयोजना गरेको हो ।

दुर्गम क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ९० जना बढी स्वास्थ्यस्वयंसेवीका तथा जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममले अहिलेको डिजिटल युगको आगमनसँगै सूचना तथा प्रविधिको उपयोग गरेर स्थानीय स्वास्थ्य सेवालाई सुदृढ गर्न सक्ने अवसरका रुपमा प्रस्तुत गरेको छ ।

कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रविधिको प्रयोग र डिजिटल सक्षमता सम्बन्धी आधारभूत ज्ञान प्रदान गरी उनीहरुलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ यस अभिमुखीकरण कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई मोबाइल प्रविधि, सामाजिक सञ्जाल, स्वास्थ्य एपसम्बन्धी जानकारी दिनुका साथै व्यावस्थापन लगायतका कुराहरुमा दक्ष बनाउने उद्देश्य लिएको छ ।

कार्यक्रममा स्वास्थ्यसेवीकाहरुले आफ्ना समस्या राखेका थिए । २०५२ सालदेखि स्वास्थ्यसेवीकाको रुपमा कार्यरत शान्ता केसीले आफूहरुलाई सेवा सुविधामा सरकारे वेवास्ता गरेको बताइन् । घरको काम छाडेर स्वास्थ्यलाई बढावा दिँदा पनि वेवास्ता गरिएको गुनासो गरिन् ।

उनले मृत्यु भएमा पनि स्वास्थ्यसेवीकाले मृत्यु हुँदा समवेदना समेत नपाएको बताइन् । उनले भनिन्, ‘मैले काम सुरु गर्दा १५ रुपैयाँ नास्ता र ५० रुपैयाँ भत्ता थियो । टाढाटाढा गएर गर्भ जाँच गर्नुपथ्र्यो । ९९ वटा सूचकको तथ्यांक संकलन गर्नुपथ्र्यो । आफ्नो मानो खाएर आफ्नो खर्च गरेर गर्दै आएका छौं । तर ६० वर्ष पुगेपछि अवकासमा जानुपर्छ, तर खाली हात जानुपर्ने अवस्था छ । अहिले ५० रुपैयाँ भत्ताबाट ४ सय पुगेको छ । तर समय अनुसार त्यो भएन । हामीलाई भाडा पनि नपुग्ने अवस्था छ ।’

२०४६ सालदेखि स्वास्थ्यसेवीकको रुपमा कार्यरत माया चौधरीले राज्यले आफूहरुको श्रमको मूल्य दिनुपर्ने बताइन् ।
त्यस्तै, स्वास्थ्यसेवीका वीमाकुमारी शर्माले पनि सरकारले सेवा सुविधा नपाएको गुनासो गरिन् । नगरपालिकाले बजेट सकिएको भन्दै श्रमको मूल्य नदिएको बताइन् । तालिम भत्ता चारसय रुपैयाँ मात्र दिने गरेको र त्यसबाट आफूहरुलाई समस्या भएको बताइन् ।

कार्यक्रममा स्वास्थ्यसेवीकाहरुले दुर्गम क्षेत्रमा जाँदा मोबाइल नेटवर्कले काम नगर्ने भएकाले समस्या भएको गुनासो गरेका थिए । उनीहरुले आफूहरुलाई प्रविधिको प्रयोग गर्नसमेत समस्या भएको बताएका थिए । एक त आफ्नै खर्चमा गर्नुपर्ने, डाटासमेत नचल्ने समस्या भएकाले राज्यले स्वास्थ्यसेवीको लागि यो सुविधा उपलब्ध गराउन माग गरेका थिए ।
दाङबाट सुरु भएको कार्यक्रम लुम्बिनी प्रदेशभर गर्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।

एनपीएलमा काठमान्डुद्वारा पोखरा ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा काठमान्डुले पोखरालाई ६ विकेटले पराजित गरेको हो । यससँगै काठमान्डुले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमान्डुले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराले काठमाडौँलाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विकेट ८ गुमाएर १३८ रन बनाएको हो । ब्यटिङतर्फ पोखराको लागि ओपनर दिनेश खरेलले ३८ रन बनाए ।

उनले २५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै रासिद खानको बलिङमा एलबी डब्लु आउट भए । यस्तै, दिलिप नाथले २७ रन बनाउँदा राइमन रेफरले ४१ रनको सानदार पारी खेले।

कप्तान कुशल भर्तेल सात रनमा आउट हुँदा विपिन खत्रीले चार रन बनाए । प्रतियोगितामा समान पाँच पाँच खेल खेलेका दुवै टोलीले समान दुई खेलमा जित तथा तीन खेलमा पराजय व्यहोरेका छन्। काठमाडौं अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पोखरा सातौँ स्थानमा रहेको छ।

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम २ डिग्री

काठमाडौँ । काठमाडौँमा शनिबार यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।

तराईमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ ।

तिनाउमा जिप दुर्घटना, तीन जनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । उक्त जिप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।

दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए ।

शुक्रबार सम्पन्न १५औँ दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए ।

उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्रअन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औंल्याए ।

विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताए ।

ढकालले साफ्टाले दक्षिण एशियाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । उनले नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म ईन्धनमा निर्भरता कम गर्न सहयोग गर्नसक्ने बताए ।

अध्यक्ष ढकालले दक्षिण एशियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनिकरणका लागि स्रोत सीमित रहेको बताए । जलवायु योजना कार्यान्वयनका लागि २०३० सम्म वार्षिक २०० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको उनले जानकारी गराए ।

स्रोत परिचालनमा रहेको ठूलो अन्तरको चर्चा गर्दै ढकालले क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसले न्यायसंगत हरित परिवर्तनलाई प्राप्त गर्न सहयोग पुर्याउने उनले बताए ।

संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तरविरोधलाई अझ बढाउँछः महासचिव भूसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तरविरोधलाई अझ बढाउने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन पेस गर्दै महासचिव भूसालले अराजकता र दमन बढ्दै जाने र मुलुक अझै डरलाग्दो अराजकताको खाडलतर्फ जान सक्ने बताएका हुन् ।

प्रतिवेदनमा उनले भनेका छन्, ‘सत्ता गठबन्धनले विरोधको जवाफ दमन र षड्यन्त्रबाट दिने प्रयत्न गर्छ । त्यसले पपुलिष्ट अराजकतालाई अझ बढाउने छ । अराजकता र दमन बढ्दै जानेछ र मुलुक अझै डरलाग्दो अराजकताको खाडलतर्फ जान सक्छ । संक्षेपमा, सत्ता फासिष्ट बन्दै जाने र सडक अराजक बन्दै जान सक्छ । दोस्रो, यिनीहरु (कांग्रेस एमाले) का स्वार्थ र भूराजनीतिक कारणले यो गठबन्धन तोडियो भने यसको ठाउँमा अनेकौं पार्टीका स्वार्थहरुको नयाँ गठबन्धन सरकार बन्न सक्छ । त्यस्तो गठबन्धन राजनीतिकरुपमा वर्तमान गठबन्धनभन्दा निसन्देहरुपले कमजोर हुनेछ । किनकि वर्तमान संसदभित्र बन्न सक्ने गठबन्धनमध्ये अहिलेको गठबन्धन सबैभन्दा बलियो गठबन्धन हो । यसका ठाउँमा बन्न सक्ने कमजोर गठबन्धनले पनि मुलुकलाई अझ डरलाग्दो अस्थिरता र अराजकतातर्फ लैजान नै मद्दत गर्ने छ ।’

सरकारको अकर्मण्यता र त्यसको विरोध सँगसँगै ०८४ सम्म यो गठबन्धन टिक्न पनि सक्ने तर, त्यसले अर्थराजनीतिक तनावलाई बढाइरहने र ०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रुपले बिग्रिँदै जानसक्ने उल्लेख गरेका छन् ।

भूसालले अर्थराजनीतिक संकटले विचार/सिद्धान्त केही पनि नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिष्टहरु जन्माएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘केपी ओलीले पपुलिष्ट राजनीतिलाई संस्थागत गरेका थिए, त्यसले अरु पार्टीका नेताहरुलाई पनि पपुलिष्ट बनाउँदै थियो । तिनीहरुको पपुलिज्ममा विचार/सिद्धान्तको जलप थियो । आजको अर्थराजनीतिक संकटले विचार/सिद्धान्त केही पनि नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिष्टहरु जन्माएको छ । जुनसुकै मुलुकको पपुलिज्म पुरानो राजनीति अर्थात् पुराना पार्टीका नालायकीको घोडा चढेर आउँछ । अहिले त्यही भैरहेको छ । प्रधानमन्त्रीका विरुद्ध नाराबाजीका घटना त्यसकै निरन्तरता हुन् । गएका केही दशक नेपाली कांग्रेस, नेकपा एमालेलगायत राजनीतिको मूलधारमा रहेका भनिने पार्टीहरुको नेतृत्व पंक्तिले दलाल पुँजीवादसँग सम्झौता गरेको थियो र उनीहरुको वर्गउत्थान भएको थियो । आम नागरिकले गणतन्त्रका नायकका रुपमा हेरेका नेताहरुले त्यो भूमिका पूरा नगरेको छलाछुल्ल भएपछि अहिले पुराना पार्टी र पुराना नेता, राज्य (खासगरी सरकार), राजनीति, विचार/सिद्धान्तको विरोध सामाजिक सम्बादको मुख्य विषय बन्दै गएको छ ।’

उपनिर्वाचनले दुईदलीय व्यवस्थातिर लैजाने कांग्रेस र एमालेका नेताहरूको सोच खण्डित गरेको माओवादीको निष्कर्ष

काठमाडौं । माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निष्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै बैठकले उपनिर्वाचनले दुईदलीय व्यवस्थातिर लैजाने कांग्रेस र एमालेका नेताहरूको सोच खण्डित गरेको निष्कर्ष निकालेको छ ।

सापकोटाले भने, ‘कांग्रेस–एमालेले दुईदलीय व्यवस्थातिर लैजाने सोच, तयारी गरेका थिए । चुनावी नतिजाले त्यसलाई खण्डित गरेको छ ।’

त्यस्तै, बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरी मिति तय गरेको छ । यसअघि पुस २ गतेदेखि सुरू हुने भनिएको बैठक खबरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरी तय भएको प्रवक्ता सापकोटाले बताए । केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक पुष १८, १९ र २० गते बस्ने उनले बताए ।

काठमाडौँ-टीकापुर-काठमाडौँ हवाई उडान यही मंसिर ३० गतेदेखि

काठमाडौ । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो ।

पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् ।

विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक/एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ ।

तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एक तर्फी भाडा रु नौ हजार निर्धारण गरिएको छ ।

टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ ।

टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिए । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताए । “टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ”, उनले भने ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

उनका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ । काठमाडौँबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ ।

त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ । अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।