`

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको उल्लेख गरे । उनले हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरे ।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिको संरक्षण गर्न आग्रह गरे ।

एनपीएलमा चितवनलाई हराउँदै विराटनगरको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो ।

चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन् । यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए ।

चितवनका लागि हसन इसाखिलले पाँच, दीपक बोहराले दुई, बासिल हमिद र सोहेल तनवीरले एक/एक रन जोडे । चितवनले अतिरिक्त छ रन प्राप्त ग-यो । विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए । यस्तै, क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । विराटनगरको लागि बसिर अहमदले अविजित रहँदै अर्धशतक बनाए । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए ।

त्यसैगरी मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दीपक बोहराले चार रन जोडे । विराटनगरले अतिरिक्त २३ रन प्राप्त ग-यो । बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिएका थिए ।

डा. ओम फाउन्डेसनद्वारा महोत्तरीको बलवाका तीन सय ५० घरपरिवारलाई कम्बल वितरण

काठमाडौं । डा. ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सीमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट) वितरण गरेको छ ।

जाडो बढ्दै गएकाले पहिलो चरणमा त्यस क्षेत्रमा बसोबास गर्दै आएका मुसहर, चमार र दुसाद समुदायका साथै अन्य विपन्न परिवारलाई चिसोबाट जोगाउन ब्लाङ्केट वितरण गरिएको हो ।

डा. ओम फाउन्डेसनका संस्थापक डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट सङ्कलित रकमबाट ब्लाङ्केट खरिद गरिएको हो । डा. ओममूर्तिले भने, ‘मैले बुबासँगको सम्बन्धलाई आधार बनाएर ‘जीवन्त सम्बन्ध नामक पुस्तक लेखेको थिएँ । पुस्तकको बिक्रीबाट आर्जित सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने क्रममा ब्लाङ्केट वितरण गरिएको हो ।’ ‘जीवन्त सम्बन्ध’ पुस्तक खरिद गर्ने पाठकहरूकै योगदानबाट जाडोमा कठ्याङ्ग्रिएर बसेको परिवारलाई केही न्यानो प्रदान गर्न खोजिएको उनको भनाइ छ ।

पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गरिने फाउन्डेसनको योजना रहेको छ ।

फाउन्डेसनले गत कात्तिकमा धमौरामा पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी छ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो भने छिट्टै देशभरिबाट प्रतिनिधित्व हुने गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यकः सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् ।

अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित समारोहमा उनले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तीव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता औँल्याए ।

‘समयसापेक्ष ऐन निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग जुटाएर पहलकदमी लिन जरुरी छ’, सभामुख घिमिरेले भने । सीमित साधन, स्रोतकाबीच पनि संसद् सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रशंसा गर्दै उनले संसद्को महत्त्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ’, सभामुखले भने, ‘संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरूका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।’

संसद्को गरिमालाई उँचो बनाउन गरिएका प्रयत्न र प्रयास अपुग भएका उल्लेख गर्दै सभामुख घिमिरेले जनताको सर्वोच्च संस्था संसद्को गरिमा जति बढ्न सक्यो, यसको कामकारबाही त्यति प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘संसद्को कामकारबाही जति प्रभावकारी हुन्छ, सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुन्छ । संसद्लाई प्रभावकारी बनाउने, राज्यलाई निर्देशित गर्ने, कानुन निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ’, उनले भने ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए । एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद् सेवा आज सङ्घीय शासन प्रणालीअनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्यारा देखिएका उल्लेख गर्दै उनले समयानुकूल संसद् सेवाको पुनः संरचना गर्न आवश्यक भइसकेको उल्लेख गरे ।

‘यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ’, अध्यक्ष दाहालले भने, ‘संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।’

संसद्का हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ विशेष ध्यान दिइनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संसद्का गतिविधिमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइनबाट जनताको राय सङ्कलन र प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुने बताए ।

विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाइ गुणस्तरीय कानुन निर्माणमा धेरै मेहनत गर्न जरुरी रहेको बताउँदै अध्यक्ष दाहालले संसद्को प्रभावकारिताका लागि संसद्भित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद् सेवाका कर्मचारीको भएको उल्लेख गर्दै निजामती सेवा ऐन संशोधनका क्रममा संसद् सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने बताए ।

संविधान कार्यान्वयनमा आवश्यक ऐन कानुनलाई अद्यावधिक गर्न सरकार केन्द्रित भएको जानकारी दिँदै मन्त्री चौरसियाले कानुन निर्माणमा संसद् र सचिवालयको कर्मचारीको भूमिका थप बढेर गएको उल्लेख गरे ।

उपसभामुख इन्दिरा रानाले जनप्रतिनिधि र संसद् सचिवालयका कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै दुई पक्षको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताइन् । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिइन् ।

मुख्यसचिव एकनारायण अर्यालले संसद् सेवाका कर्मचारीको मनोबल उच्च राख्न, संसदीय गतिविधिमा बढी जिम्मेवार बनाउन र क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको जनाउँदै निजामती सेवा विधेयकमा संसद्का कर्मचारीको वृत्ति विकासलाई उचित ढङ्गबाट सम्बोधन गरिने विश्वास दिलाए ।

मुख्यसचिव अर्यालले कानुन निर्माण, सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै असल शासन कायम गर्न र सरकारलाई खबरदारी गर्न संसद्को महत्त्वपूर्ण भूमिका रहेको बताए ।

संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेलवासेले कर्मचारी मैत्री र संसद् सेवालाई प्रभावकारी बनाउने योजना ल्याउन आग्रह गर्दै डेढ दशकदेखि संशोधन हुन नसकेका कानुन र छरिएर रहेका ऐनलाई एकीकृत गरी सेवामैत्री कानुन बनाउन सुझाव दिए ।

संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले संसद् सेवा दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

यस वर्ष संसद् सेवा दिवसको मुख्य नारा ‘लगनशीलता र कर्तव्यनिष्ठता: संसद् सेवाको प्रतिष्ठा’ तय गरिएको थियो । कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संयुक्त रूपमा सचिवालयले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए ।

कार्यक्रममा उपसचिव ओमबहादुर कार्कीलाई सर्वोत्कृष्ट, कम्प्युटर प्रोगामर करणबहादुर भाट उत्कृष्ट तथा सवारी चालक शङ्कर भण्डारी र माली बिन्दा भट्टराईलाई संसद् सेवा पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा संसद् सेवामा २५ वर्ष निरन्तर सेवा गरेका उपसचिवद्वय उदयकुमार भण्डारी र दशरथ धमला, प्राविधिक अधिकृत केशवराज भट्टराई, शाखा अधिकृत नारायणबहादुर कार्की, ओभरसियर निलम शाह र हलुका सवारी चालक (पाँचौँ) सानुकाजी महर्जनलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सेवा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको थियो ।

गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको पुनःसरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयका कामुसचिव अमृतबहादुर राईलाई पत्र बुझाउँदै गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि कार्यान्वयनमा भइरहेको ढिलाइले संविधानले प्रदान गरेको आर्थिक सामाजिक तथा सांस्कतिक अधिकारको उपभोग गर्नबाट वञ्चित भएको उल्लेख गरेका हुन् ।

भेटमा अध्यक्ष केसीले भने, ‘गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि यस मन्त्रालयबाट समेत सहजीकरण गरिदिनु पर्यो ।’

जवाफमा कामुसचिव राईले गैरआवासीय नेपाली नागरिकता जारी हुनुअघि नै त्यसको कार्यान्वयनको लागि आवश्यक कानून निर्माण नभएकोले समस्या भएको बताए। उनले भने, ‘वास्तवमा संविधानले आर्थिक सामाजिक तथा सांस्कतिक अधिकार दिने भनेको छ तर त्यसको लागि आवश्यक कानून निर्माण नहुँदै नागरिकता जारी भएको छ । त्यसमा पक्कैपनि त्रुटि भएकै हो । अब अहिले बल्ल एनआरएन एक्टको मस्यौदा भएको छ त्यो कानून बनेपछि के कसो गर्ने थप स्पष्ट होला ।’

भेटमा अध्यक्ष केसीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) लाई पनि सम्बोधन गर्न अनुरोध गरेका छन् । अध्यक्ष केसीले हाल जारी इराकमाथिको प्रतिबन्ध हटाउन पुनरावलोकन गर्न पनि आग्रह गरे ।

केसीले गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाई हुने थाइल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्नको लागि पहल गरिदिन आग्रह गरे ।

यस्तै, विदेशमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन तथा नियोग वा दूतावास नभएका तथा नोपलीहरुको बढी घनत्व भएका देशमा गैरआवासीय नेपाली संघको सुझावमा मानार्थ प्रतिनिधि नियुक्त गर्न,गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न पनि उनले अनुरोध गरे ।

 मर्यादित महिनावारीमैत्री देश चिनाउने अवसर

गोविन्द खड्का ।
महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन महत्वपूर्ण भूमिका निभाउँछ । महिनावारी विभेदका कारण र प्रभावका विषयमा दर्जनौँ प्रश्नहरु छन् । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइरहँदा यो पवित्र प्रक्रिया, जसले सृष्टि चलाउँछ, उसैलाई किन अपवित्र बनाइयो ? शुद्धता र अशुद्धताको ट्याग कसले लगायो ? कल्पना गरौंँ, महिनावारी नै भएन भने के होला ? सृष्टि कसरी चल्ला ? सृष्टि चलाउने यो प्राकृतिक प्रक्रियालाई सम्मान गर्नुको सट्टा समाजले किन अपमान गरिरहेको छ ? महिनावारी हुने व्यक्तिलाई दोस्रो दर्जाको नागरिक किन बनाइएको होला ? के महिनावारी नभएको भए संसारमा जीवनको अस्तित्वमा रहन्थ्यो त ? महिनावारी र प्रजनन् प्रक्रियासँगै, जीवनको उत्पत्ति र भविष्यलाई निर्धारण गर्ने यस प्राकृतिक चक्रलाई ध्यानमा राख्ने हो भने महिनावारी हुनेहरुमाथिको विभेद्ले सृष्टिको अस्तित्वसँग मेल खाँदैन ।

महिनावारी विभेद्को अन्त्य र मर्यादित महिनावारीमा पुरुषको पनि उत्तिकै भूमिका रहेको हुन्छ । हाम्रो समाजमा महिनावारी हुने व्यक्तिलाई गर्ने विभेद, अपमानले महिला शरीरको स्वामित्व र स्वतन्त्रतालाई सम्मान गदैन । महिनावारीलाई अपवित्र ठान्नु भनेको महिलाको शरीर र जीवनलाई सामाजिक रूपमा त्याग्नु हो । हामीले महिनावारीलाई अपवित्र र अशुद्ध ठान्दा हामीले प्राकृतिक प्रक्रियासँग अन्याय गरिरहेको हुनेछ । आफ्नै अस्तित्व र प्रजनन्को आधारलाई नष्ट पार्ने काम पुरुषबाट पनि हुनु हुँदैन । महिनावारीको कारण शिक्षा, स्वास्थ्य र रोजगारका अवसरहरूमा असर गरिरहेको छ भने समावेशी र समतामूलक समाज निर्माणको यात्रामा अगाडि बढ्न सकिंदैन ।

समाज र मौनता

महिनावारी विभेद हाम्रो समाजको सामान्य लाग्ने गम्भीर समस्या हो । यसले महिनावारी हुने व्यक्तिको सम्मान, स्वतन्त्रता र मौलिक अधिकारलाई असर गर्छ । जात, धर्म, भाषा, धनी–गरिब, पढेको–नपढेको, शहर–गाउँ, सबै परिस्थतिमा महिनावारी हुँदा महिनावारी हुने व्यक्तिहरूले केही न केही देखिने र नदेखिने खालका बार्ने चलनहरू छन् । विशेषगरी खान हुने कि नहुने, छुन हुने कि नहुने अथवा सहभागी हुने कि नहुने, हिँडडुल गर्न हुने कि नहुने भत्रे कुराहरूसँग सम्बन्धित छन् । गोठमा बस्ने कि नबस्ने भत्रे कुरालाई मात्रै महिनावारी विभेद मान्न सकिन्न । महिनावारीमा नभएको २५ दिन र महिनावारी भएको पाँच दिने क्रियाकलापमा छुट्टिने (भान्सामा नजाने, पूजा नगर्ने, खाना छुट्टै खाने) व्यवहार सुदूरपश्चिम र कर्णालीमा मात्रै नभएर अन्यत्र पनि रहेको देखिन्छ ।

महिनावारीका नाममा हुने विभेद्ले किशोरी र महिलाको शिक्षामा असर, स्वास्थ्य जोखिम र मनोवैज्ञानिक तनाब निम्त्याउँछ । तर, समाज महिनावारीका विषयमा खुलेर कुरा गर्न किन तयार छैन ? यो मौनताका पछाडि अज्ञानता, लाज, र परम्परागत धारणाको खास के हो ? यो मौनता अज्ञानताको उपज हो कि परम्पराको नाममा लाज छोप्ने प्रयास ? सबै प्रकारका विभेद र हिंसाविरुद्ध मौनता तोड्नुपर्छ भन्ने सचेत समाज किन महिनावारी विभेद्को सवालमा मौन छ ? शिक्षित मानिने मानिसहरूले पनि महिनावारीबारे खुलेर कुरा गर्न नचाहनु र यसलाई सामाजिक विषयको रूपमा नउठाउनुको कारण के होला ? त्यसो भए के उनीहरूले महिनावारीलाई समाजको कलङ्क बनाउने जिम्मा लिएका हुन् ? यस्ता थुप्रै प्रश्नहरुले नेपाली समाजलाई विश्वसामु शिर निहुराउने बनाएको छ ।

संविधान, कानुन र महिनावारी विभेद

हाम्रो संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको छ । तर महिनावारीको कारण कसैलाई भान्सामा जान नदिँदा, घरभित्र बस्न नदिँदा मौलिक हकको उल्लङ्घन भएको छ । यो विषय बलियोसँग संसददेखि सडकको बहसमा आउन सकेको छैन । यस्तो संवेदनशील विषयलाई किन संवाद र सहकार्यको माध्यमबाट समाधान गर्न खोजिदैन ? अहिले समाजमा महिनावारीलाई स्वास्थ्य र सरसफाइसँग जोडेर बहस गरिएको छ । धेरै व्यक्ति, सङ्घ–संस्था, सरकारले पनि त्यसै अनुसार काम गरिरहेका छन् । त्यसैसँग जोडेर नेपालमा अहिले महिनावारी प्याड बाँड्ने कार्यक्रम चलेको छ । तर, यसले मात्रै किन महिनावारी विभेद अन्त्य भएको छैन ?

महिनावारी विभेदले महिलाहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा प्रताडित गरेर लैङ्गिक हिंसाका विभिन्न रूपलाई जन्म दिन्छ । यो मानवअधिकारको गम्भीर उल्लङ्घन हो, जसले समानताका अधिकार, शिक्षा, स्वास्थ्य, र सम्मानजनक जीवनयापन गर्ने अधिकारलाई प्रत्यक्ष असर पुर्याउँछ । नेपालको संविधान २०७२ को धारा ३८ मा महिलालाई समानता र भेद्भावरहित जीवन जिउने अधिकार सुनिश्चित गरिएको छ । साथै, लैङ्गिक हिंसाविरुद्ध ऐन २०६७ र मानव अधिकार संरक्षण ऐन २०५३ अनुसार यस्ता कार्यहरू कानुनी अपराधमा पर्छन् । महिनावारी विभेद्लाई छाउपडीको नामसँग जोडेर २०७४ सालमा गैरकानुनी घोषित गरिएको थियो । महिला अधिकारसँग जोडिएका यी महिनावारी विभेद्का दर्जनौ अभ्यासहरुले कानुनलाई चुनौती दिँदै समाजलाई अझै पनि पुरातन सोचको जालमा फसाइरहेको छ । भान्सामा जान नपाउने एउटा मात्रै विभेदले संविधानका कति मौलिक हक, धारा र त्यसअन्र्तगत बनेका कानुनको उल्लङ्घन भइरहेको छ ।

संविधानले समानुपातिक समावेशी र सहभागिताको सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणका लागि वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य लिएको छ । संविधानमा उल्लेख भएका मौलिक अधिकारका धाराहरूः सम्मानपूर्वक जिउन पाउने अधिकार, स्वतन्त्रताको अधिकार, समानताको अधिकार, खानाको अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, बासको अधिकार, छुवाछुत विरूद्धको अधिकार, महिला हकको अधिकारहरू लेखिएका छन् । यी सबै अधिकारहरू महिनावारी भएको बेलामा बार्ने चलनले एकसाथ हनन् भएको अवस्था देखिएको छ । त्यसो भए महिनावारीको विभेद्लाई महिला हिंसा किन नभन्ने ? भन्ने प्रश्नको उत्तर समाजले दिन सकेको छैन ।

महिनावारी विभेद नेपालमा सबै ठाउँमा छन् । यसका अभियानता डा. राधा पौडेलको अध्ययन र अनुसन्धानमा आधारित कितावको अध्ययन गर्दा महिनावारी विभेद रुपमा फरक भए पनि सारमा संसारभरि छ । सुदूरपश्चिम र कर्णालीका कयौ गाउँमा अझै महिनावारी भएका बेला गोठमा पठाइन्छ । त्यहाँ विभेद् बाहिर आँखाले प्रष्ट देखिन्छ, अन्त देखिन्न । तर, गर्न हुने र नहुनेको अध्ययनको सूची हेर्ने हो भने मेरो जिल्ला अछाम भन्दा काठमाडौँमा धेरै महिनावारी विभेद् छ ।

तर, किन छाउपडीको ट्यागमा महिनावारी विभेद सुदूरपश्चिम र कर्णालीका जिल्लामा मात्रै छ जस्तो भाष्य बनाएको छ ? के अभाव, गरिवी अशिक्षाका कारणले ती ठाउँलाई हपेको ? संघ–संस्थाहरूले मर्यादित महिनावारीमैत्री समाज निर्माण गर्नुको सट्टा किन विभेदलाई मात्र प्रचार गरिरहेका छन् ? पहिलो ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस’ नेपाल सरकारको नेतृत्वमा मनाइएको थियो । अहिले छैठौं मर्यादित महिनावारी दिवस मनाइएको छ । डिग्नीफाइट मेन्सुरेसन ग्लोबल साथ कोलिसनका अनुसार नेपालसहित विश्वका ७३ देशमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको छ । नेपालले मर्यादित महिनावारी अभियानमा नेतृत्व गर्दै पहिलो पटक सरकारी तहमा र तेस्रो पटक राष्ट्रिय मानवअधिकार आयोगको स्वामित्वमा यो दिवस मनाएर विश्वमा सकारात्मक सन्देश दिएको थियो । त्यसपछि राज्य र राज्यका निकायले अग्रसरता देखाएका छैनन । महिनावारी विभेद्को अन्त्यका लागि सरकारी नीति, योजना, र क्रियाकलापको प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ । समाजको पुरातन सोच र विभेदकारी व्यवहारलाई तोड्ने जिम्मेवारी सरकारको मात्रै नभएर आम समुदायको पनि हो । मर्यादित महिनावारीको अभियानलाई निरन्तरता दिने र विभेदको अन्त्य केवल नारा र औपचारिकताबाट मात्र हुँदैन । पहिलो पहलकर्ता भएको नाताले सयुक्त राष्ट्रसङ्घलाई दिवसको मान्यताका लागि आग्रह गर्दै नेपाललाई मर्यादित महिनावारीमैत्री देशका रूपमा चिनाउने सुनौलो अवसर रहेको छ ।

(लेखक नेपाल एफएमका कार्यकारी निर्देशक हुनुहुन्छ)

विराटनगरद्वारा चितवन सामु एक सय ८२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको हो । 

विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ । 

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ । 

झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

 भद्रपुर। झापामा यसवर्ष नौ सय ३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो ।

यसवर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।

भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसवर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा रु एक हजारका दरले प्रोत्साहनस्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताए ।

कोदो जस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो ।

रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र नभइ स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याउने उनको भनाइ छ।

नगरपालिकाले आगामी वर्षमा कोदो खेतीको क्षेत्रफल विस्तार गर्दै प्रविधि हस्तान्तरण र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ।

नयाँ बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न

काठमाडौं। देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न र नेपाल-भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका- ५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका- ११ आँपटारीस्थित नयाँ भरतपुर सवस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो ।

नयाँ बुटवल-बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौँडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी करिडोर र नयाँ बुटवल-नयाँ भरतपुर-हैटौँडासम्मको २२० केभी प्रसारण लाइन लिङ्क बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्व-पश्चिम विद्युत् प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताए ।

‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारततर्फ निर्यात गर्न र हिउँदयाममा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुनेछ, नयाँ बुटवल-गोरखपुर दोस्रो सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत् आयात/निर्यातको थप ढोका खेल्ने छ,’घिसिङले भने,’मुख्य रुपमा कालीगण्डकी तथा मस्र्याङ्दी र ती नदीहरुका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुनेछ ।’

मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुने छ । नयाँ भरतपुरबाट विद्युत्लाई हेडौंडा र नयाँ बुटवलतर्फ पठाउन सकिने छ । भारतसँगको नयाँ बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको नयाँ बुटवल-बर्दघाट प्रसारण लाइनको अनुमानित लागत करिब रू एक अर्ब छ । सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको साढे चार किलोमिटर चार सर्किट (मल्टी सर्किट) लाइन निर्माण गरिएको छ । सोही मल्टिसर्किट टावरमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन जोडिएको छ ।

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत र द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण तथा वितरण प्रणालीको विस्तार एवम् सदृढीकरण गर्न आयोजना सुरु गरिएको हो ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिमा पूरा गर्नुपर्ने लामो प्रक्रिया, कोभिड- १९को महामारी, चुरे क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्नेलगायत कारण प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले उल्लेख गरे ।

प्रसारण लाइन निर्माणका लागि पावर चाइना सेप्को- १ सँग २०७६ पुसमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७७ असारमा कार्यान्वयनमा आएको थियो ।

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल गरिने

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्न पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सो सरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थी मारमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन उक्त पहल थालेको हो ।

गत महिना इन्डोनेसियामा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई त्यहाँका स्वास्थ्यमन्त्रीले स्नातकोत्तर शिक्षा प्रदान गर्नका लागि आग्रह गरेका थिए । त्यसपश्चात मन्त्रालयले काम अघि बढाएको हो ।

माल्दिभ्सलगायत सार्क देशका विद्यार्थीलाई चिकित्सा शिक्षाको आपसी मान्यता प्रक्रिया सहज बनाउन सहजीकरण र कोटा व्यवस्थापनका उपाय खोज्न मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन बुझाउन आग्रह गरेको छ ।

उक्त प्रतिवेदनमा आवश्यक उपाय सुझाउन मन्त्रालयअन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले काउन्सिललाई पत्राचार गरेको प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

हाल भारतलगायतका मुलुकमा स्नातकोत्तर अध्ययन गरेकाले नेपालमा सहजै अभ्यास गर्न पाए पनि नेपालमा अध्ययन गरेकाले आपसी मान्यता प्राप्त नहुँदा कठिनाइ भइरहेको छ ।

आपसी मान्यता पाउने गरी सार्कस्तरमा पहल गर्न सकिएमा नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढाउन सकिने विश्वास लिइएको छ ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

 लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरुको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई–पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताए । ६ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई–पासपोर्ट वितरण गरिने तयारी छ ।

‘हामीले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा राहदानी वितरणका लागि टोली पठाउने तयारी गरिरहेका थियौँ । युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्रीले पोर्चुगलमा तत्कालै राहदानी वितरणको व्यवस्था मिलाउन भन्नुभयो’, उनले भने, ‘मन्त्रीको निर्देशन बमोजिम हिजोदेखि लिस्बनमा राहदानी वितरण गर्न सुरु गरेका छौँ ।’

टोलीले आज र भोली दुई दिन राहदानी वितरणसहित अधिकृत वारेसनामा प्रमाणीकरणको सेवा प्रदान गर्ने उने जानकारी दिए ।

राहदानी विभाग काठमाडौँबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिकाअनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् ।

राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत अगष्टमा राजधानी लिस्बनमा सञ्चालन गरेको ‘घुम्ती सेवा शिविर’ बाट ३ हजार आठ सय २९ नेपालीको ई–पासपोर्टका लागि जैविक तथ्यांक संकलन गरेको थियो ।

जसमा करिब नौ सय ४० वटा राहदानी पेरिसबाटै वितरण भइसकेको दूतावासले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे संकटबारे चिन्ता व्यक्त

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गरेका छन् ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’का लागि दुई दिने भ्रमण सम्पन्न गरेका हुन् ।

“दुवै पक्ष सिरियाको वर्तमान् अवस्थाप्रति चिन्तित छन् र सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान गर्दछन्,” वाङले पत्रकारसँग भने, “आतङ्कवादी र अतिवादी शक्तिहरूलाई अराजकताको फाइदा लिनबाट रोक्न चीनले आग्रह गर्दछ ।”

अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदले इस्लामवादी हयात तहरीर अल–शाम (एचटीएस) समूह र यसका सहयोगीहरूको नेतृत्वमा आक्रामक आक्रमणपछि देश छोडेर भागेको सञ्चारमाध्यम तथा विभिन्न मानवअधिकारवादी समूहले बताएका छन् ।

असद प्रशासनको पतनले एक युगको अन्त्य गरेको छ जसमा संदिग्ध विद्रोहीहरूलाई जेलमा राखिएको थियो वा निर्मम यातना दिई हत्या गरिएको थियो ।

करिब १४ वर्षको युद्धको अन्तरालमा पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान गएको छ र लाखौं विस्थापित भएका छन् ।

“मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्न हामीले शान्ति र वार्तालाई बढावा दिनुपर्छ भन्नेमा हामी सहमत भयौं,” वाङले अब्देलाटीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने ।

भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद भवनमा भएको आक्रमणमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर योद्धाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुको बलिदानले राष्ट्रलाई सदैव प्रेरणा दिने बताएका छन् ।

सन् २००१ को डिसेम्बर १३ मा लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले संसद्मा आक्रमण गर्दा दिल्ली प्रहरीका पाँच, संसद् सुरक्षा सेवाका दुई जवान, सीआरपीएफका एक जवान र एक मालीको मृत्यु भएको थियो । उक्त घटनाले भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।

यसैगरी भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनामा शाहदत प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सिङ्गो देश आतङ्कवादविरुद्ध उभिएको बताएका छन् ।

उनले भने, “सन् २००१ को संसद आक्रमणमा मारिएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु । उनीहरूको बलिदानले हाम्रो राष्ट्रलाई सधैं प्रेरणा दिनेछ।”

आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले संसद आक्रमणका क्रममा आफ्नो ज्यानको आहुति दिने सैनिकहरूलाई श्रद्धाञ्जली वइक्त गर्दै भने, “कृतज्ञ राष्ट्रको तर्फबाट अमर शहीदहरूप्रति सम्मानपूर्ण श्रद्धाञ्जलि । आज हामीले संसद भवनमा भएको आतङ्कवादी हमलामा शहीद भएका भारत माताका वीर सैनिकहरुलाई श्रद्धाञ्जलि अर्पण गर्दै स्मरण गरेका छौँ ।”

आप प्रमुखले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आजको दिनले हामीलाई ती वीर सैनिकहरूको सम्झना गराउँछ, जसले संसद भवनमा भएको आतङ्कवादी हमलामा देश र हाम्रो लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन बलिदान गरे । ती सबै बहादुर सैनिकहरूको अमर शहादतलाई लाखौं सलाम छ ।”

श्रद्धाञ्जलिले सन् २००१ को डिसेम्बर १३ मा भारतीय संसद्मा भएको भयानक आतङ्ककारी हमलाको स्मरण गराएको छ ।

सन् २००१ को डिसेम्बर १३ मा गृह मन्त्रालय र संसदको लेबल भएको कारमा संसद्मा प्रवेश गरेका पाँच जना आतङ्ककारी मारिएका थिए । त्यतिबेला संसद् भवनभित्र प्रमुख राजनीतिज्ञसहित १०० भन्दा बढी व्यक्ति थिए । बन्दुकधारीहरूले आफूले चलाएको कारमा परिचयपत्रको नक्कली स्टिकर प्रयोग गरी संसदीय परिसर वरपर तैनाथ सुरक्षाकर्मीलाई सजिलै झुक्याउन सफल भएका थिए ।

आतङ्कवादीहरूले एके ४७ राइफल, ग्रेनेड लन्चर र पेस्तोलद्वारा आक्रमण गरेका थिए । 

म्याक्रोन र टस्कबीच युक्रेनमा विदेशी शान्ति सैनिकहरूको विचारबारे छलफल

वार्सा  । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धविराम भएको अवस्थामा युक्रेनमा विदेशी सैनिकहरू राख्ने सम्भावनाबारे छलफल गरेको तर वार्साले हाल त्यस्ता कुनै कार्यको योजना नबनाएको बताएका छन् ।

म्याक्रोनले आफ्नो पक्षबाट करिब तीन वर्षदेखि जारी रूसको युक्रेन युद्धबाट बाहिर निस्कने बाटो खोज्न आह्वान गरे । उनले किएभको सार्वभौमिकता र पछिल्लो सुरक्षामा जोखिममा रहेको भन्दै यसले किएभ र युरोपीय सङ्घ (इयु) को हितलाई ध्यानमा राख्ने बताए ।

म्याक्रोनको वार्सा भ्रमण केही दिनअघि उनले पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग भेट गरेपछि भएको हो । ट्रम्पले सङ्कटलाई समाधान गर्नु नै आफ्नो अर्को महिनामा सत्तामा आउँदा शीर्ष प्राथमिकता हुने बताएका छन्।

ट्रम्पले किएभलाई युद्धविरामका लागि दबाव दिन सक्ने डरका बीच वासिङ्टन किएभलाई बलियो बनाउन खोजिरहेको छ । वासिङ्टनले बिहीबार युक्रेनलाई ५० करोड डलरको नयाँ सैन्य सहायता पैकेज घोषणा गरेको छ ।

शान्ति सैनिकहरूको अटकलबारे बोल्दै टस्कले म्याक्रोनसँग यो विषयमा छलफल गरेको बताए । “पोल्यान्डको कारबाहीमा कुनै पनि निर्णय वार्सामा र वार्सामा मात्र हुनेछ । अहिलेको लागि हामीले त्यस्तो कुनै कार्यको योजना गरिरहेका छैनौँ”, उनले भने ।

वार्सामा म्याक्रोनले सार्वजनिक रूपमा विदेशी शान्ति सैनिकहरूको सम्भावनाको उल्लेख गरेनन् तर फेब्रुअरीमा उनले युक्रेनमा पश्चिमी सेनाको विचार प्रस्तुत गरेका थिए ।

“साँचो भन्नुपर्दा हामी इमानुएलको (म्याक्रोन) स्थिति बारेमा सोच्न र काम गर्न सक्छौँ”, सोमबार उक्त प्रस्तावबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “उहाँले युक्रेन नाटोमा नभएको बेला हाम्रो सुरक्षाको ग्यारेन्टीका लागि युक्रेनको भूभागमा केही राज्यका सेनाहरू उपस्थित रहनुपर्ने प्रस्ताव राख्नुभयो ।”

– युद्धविरामपछि शान्ति सैनिकहरू सम्भव –

“युक्रेनमा शान्तिका लागि हामीलाई शान्ति सैनिक मिशनहरू चाहिन्छ”, इयुका विदेश नीति प्रमुख काजा कालासले बिहीबार बर्लिनमा विदेश मन्त्रीहरूको बैठकअघि भने, “त्यसका लागि रूसले गोली चलाउन बन्द गर्नुपर्छ, जुन उनीहरू गरिरहेका छैनन् । त्यो भन्दा पहिले हामीसँग कुरा गर्न केही छैन र निस्सन्देह उनीहरूले कुन प्रक्रियामा आफ्नो सेना प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने निर्णय गर्नु प्रत्येक युरोपेली देशको दायित्व हो ।”

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि विदेशी शान्ति सैनिकहरूको विचारलाई सम्बोधन गरेका छन् । “हामी तयारी गर्दैछौँ, हामी परिदृश्यहरू विचार गर्दैछौँ तर हामी त्यो पूर्ण गोपनीयतामा गर्दैछौँ”, उहाँले सार्वजनिक रेडियोलाई बिहीबार भने ।

– ट्रम्पको अमेरिकी नीतिको आलोचना –

म्याक्रोनले शनिबार पेरिसमा जेलेन्स्की र ट्रम्पसँग भेट गरे । यो ट्रम्पको विजयपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।

ट्रम्पले अमेरिकाद्वारा आपूर्ति गरिएका हतियारहरू रूसको गहिराइसम्म प्रयोग गर्नु ‘मूर्खतापूर्ण निर्णय’ भएको आरोप लगाए । युक्रेनको उक्त आक्रमणले मस्को क्रुद्ध बनेको छ ।

“म रूसमा सयौँ माइल टाढासम्म मिसाइलहरू पठाउने कुरामा घोर असहमत छु । किन हामी त्यस्तो गर्दैछौँ ?” ट्रम्पले बिहीबार प्रकाशित र पेरिस भेटभन्दा अघि लिइएको टाइम पत्रिकाको अन्तर्वार्तामा भने ।

जेलेन्स्कीले मङगलबार युद्ध अन्त्य गर्ने ट्रम्पको ‘दृढ सङ्कल्प’ का लागि आभारी रहेको बताए ।

किएभका लागि वासिङ्टनले भर्खरै घोषणा गरेको सैन्य सहायताले ९८ करोड ८० लाख डलरको सुरक्षा सहायता प्याकेज र ७२ करोड ५० लाख डलरको छुट्टै प्याकेज पछ्याएको छ ।

वार्सामा म्याक्रोन र टस्कले युद्ध अन्त्य गर्ने कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्ने महत्त्वलाई जोड दिए ।

“कसैले पनि युक्रेनीहरूका लागि उनीहरूको नाममा छुटहरू दिने सम्बन्धमा बोल्न सक्दैनन्… त्यसो गर्नु युक्रेनीहरूमा निर्भर छ तर युरोपेलीहरूबिना युरोपमा सुरक्षाको कुरा गर्न सकिँदैन”, म्याक्रोनले पत्रकारहरूलाई भने ।

उनले ‘युक्रेनको हित, यसको सार्वभौमिकता र युरोपेलीहरूको हित र उनीहरूको सुरक्षालाई ध्यानमा राख्ने सम्भावित मार्ग खोज्न’ महत्त्वपूर्ण रहेको कुरामा जोड दिए ।

नाटो सदस्य पोल्यान्ड छिमेकी युक्रेनको दृढ समर्थक हो र किएभलाई पश्चिमी सैन्य सहायताको महत्त्वपूर्ण लजिस्टिक केन्द्र हो ।

अर्को महिना इयुको घुमाउरो अध्यक्षता लिन तयार वार्साले युक्रेनसँग विभिन्न विदेशी अधिकारीहरूसँग छलफल गरिरहेको छ ।

यस हप्ताको सुरुमा टस्कले युक्रेन शान्ति वार्ता ‘यस वर्षको शरदमा’ सुरु हुनसक्ने बताएका थिए । “हाम्रो (इयु) अध्यक्षता विशेष गरी राजनीतिक परिदृश्य कस्तो देखिन्छ र सम्भवतः (शान्ति) वार्ताको क्रममा अवस्था कस्तो देखिन्छ भनेर सह–जिम्मेवार हुनेछ”, उनले भने । 

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

नयाँदिल्ली । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो ।

दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो र यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल शहरको अस्पतालमा लिफ्टभित्र सबै ६ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए ।

प्रहरी अधिक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको, तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए ।

टाइम्स अफ इन्डियाका अनुसार आगो भुईं तलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रुत गतिमा अन्य तलाहरूमा फैलियो ।

उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो । यसै वर्षको सुरुमा नयाँदिल्लीको एउटा बाल अस्पतालमा यस्तै आगलागीमा ६ जना शिशुको मृत्यु भएको थियो ।

मे महिनामा गुजरात राज्यको एउटा भरिएको मनोरञ्जन पार्क आर्केडमा आगलागी हुँदा केही बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो । 

निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा सार्वजनिक प्रतिबद्धता भएबमोजिम मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा कम्तिमा सरकारी सरह हुने गरी लागू गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

साथै, अब सबै मेडिकल कलेज तथा स्वास्थ्य संस्थाले तोकिएको समयभन्दा बढी काम गर्दा अतिरिक्त भत्ताको व्यवस्थासमेत लागू गर्नुपर्ने भएको छ ।

मन्त्रालयले बिहीबारको सचिवस्तरीय निर्णय गर्दै देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न आग्रह गरेको हो । नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन पनि पत्रमा भनिएको छ ।

लुम्बिनीलाई हराउँदै एनपीएलमा कर्णालीको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

जितसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जोडेर प्रतियोगिता सकाएको छ ।

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौँ  चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रुपान्तरण गरी ‘अर्काइभ’ गरिने बताए ।

‘हामीले दर्शकले रुचाउनुका साथै विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रुपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न चाहेका छौँ । यसको काम केही समयमा सुरू हुनेछ । यी चलचित्रलाई बोर्डको विशेष समारोहमासमेत देखाइने छ’, अध्यक्ष डिसीले भने ।

यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’लाई ‘डिजिटाइजेसन’ गरिसकेको जनाएको छ । साथै ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सबटाइटल’ पनि गरिएको छ ।

‘रिस्टोरेसन’ गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ‘ड्यामेज’लाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइने र त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिने बोर्डले जनाएको छ ।

पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई ‘डिजिटाइजेसन’ गरिएको छ । ‘डिजिटाइजेसन’ पश्चात १६ एमएम र ३५ एमएमका ती चलचित्रलाई ‘टु के’ र ‘फोर के’ ढाँचामा हेर्न सकिने बताइएको छ ।

‘डिजिटाइजेसनसँगै ती चलचित्रको प्रिन्ट रिस्टोरेसन गरेर राखिएको छ । यसले ‘एट के’ वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिन्छ’, अध्यक्ष डिसीले भने ।

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

दाङ । दाङका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् । घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् ।

सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताइन् ।

सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताइन् । उनले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताइन् । उनी मात्र होइन उनको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।

सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गराँै भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताए । महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

चौध करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै

पर्वत । कुश्मा नगरपालिकाले १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ। नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरेका छन्। आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो। भवन लिफ्टसहित साढे छ तलाको हुनेछ। साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ। महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन्।

राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि डा. शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरेका छन् । यसअघि पाँचै जना संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका हुन् ।

सहकारी ठगीमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर । मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ

। जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर भएको हो । उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो ।

सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ । अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन् । सहकारीमा समस्या देखिएपछि उनले २०७८ माघ ५ गते राजीनामा दिएको जनाइएको छ ।

उनीसहित सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहपिवरुद्ध मुद्दा दर्ता भएको छ ।

त्यस्तै, सरकारी वकिल कार्यालयले सहकारीका सञ्चालक समिति सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर र लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वास लगायतलाई प्रतिवादी बनाएको छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ मा कारोबार भएकामा आज एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।

एनपीएलमा लुम्बिनीले कर्णालीलाई दियो १२९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रनको योगफल बनाएको हो । 

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।

ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे । 

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलक राज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए । अहिले लुम्बिनी जवाफी ब्याटिङमा उत्रेको छ । 

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् ।

शुक्रबार नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताएका हुन् ।

‘नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिङ्गन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रहिआएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

एसियाको ज्योति मानिने गौतम बुद्धको पवित्र जन्मस्थान नेपालमा हुनु र उहाँका पाइलाहरूले धन्य बनेको यो भूमिले नेपाल र चीनको बौद्ध सम्पदाबीचको पुलको प्रतीक काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ भिक्षुहरू फा जियान र जुआन जाङको नेपालको यात्राबाट नेपाली विद्वान बुद्धभाद्रको चीन भ्रमणसम्म, हाम्रो साझा इतिहास ज्ञान र सिकाइको आदानप्रदानले भरिएको उल्लेख गरे ।

चीनमा नेपाली शैलीका बौद्ध मन्दिरहरूका वास्तुशिल्प चमत्कारहरू र लुम्बिनीमा झोङ हुआ चिनियाँ बौद्ध मठको भव्यताले यो दिगो सम्बन्धका लागि शाश्वत स्मारकहरूको रूपमा खडा रहेको पनि उनले बताए ।

नेपालमा बौद्ध अध्ययनका लागि समर्पित ज्ञानको एक प्रकाशस्तम्भ, लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमीबीचको सहयोगात्मक संलग्नताले साझेदारी र साझा आकाङ्क्षाको भावनालाई उदाहरण दिएको प्रधानमन्त्री ओलीले बताए ।

एनपीएल हेर्न चर्चित क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं । वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न क्रिकेटर लारा शुक्रबार बिहान काठमाडौँ अवतरण गरेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । वेस्ट इन्डिजका क्रिकेट खेलाडफ लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने उनको कीर्तिमान छ ।

लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् । यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।

नेपाल प्रहरीका १० डीआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका दश जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा दुर्गा सिंह, कुबेर कडायत, रवीन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् ।

यस्तै सरुवा हुने बाँकी डीआईजीमा अर्जुन चन्द ठकुरी, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी छन् ।

भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन

सिंगापुर । भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् ।

अन्तर्राष्ट्रिय चेस महासङ्घले सोसल मिडिया प्लेटफर्म एक्समा ‘इतिहासमा सबैभन्दा कम उमेरको विश्व च्याम्पियन’ भन्दै पोष्ट गरेको थियो । डिङले आफ्नो रोमाञ्चक अन्तिम खेलमा राजीनामा दिएपछि गुकेश विजयी भए ।

आफू नयाँ विश्व च्याम्पियन भएको थाहा पाएपछि गुकेस दुवै हातले अनुहार छोपेर रोए ।  अन्तिम खेलमा गल्ती गरेपछि ३२ वर्षीय डिङ टेबलमा लडे । यसले उनको प्रतिद्वन्द्वीलाई अवसर प्राप्त भयो । 

खेल हेर्न आएका धेरै भारतीय र भारतीय मूलका स्थानीय सिङ्गापुरवासीसहित उत्साही प्रशंसकहरूले खेल हेर्ने कोठामा जोडले हर्षोल्लास व्यक्त गरे ।

आफ्नो उमेरमा गुकेशले २२ वर्षको उमेरमा विश्व चैम्पियनको उपाधि जितेका रुसी गेरी कास्परोभको कीर्तिमानलाई पछाडि पारे ।  उनी पाँच पटकका विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दपछि उपाधि जित्ने दोस्रो भारतीय पनि बनेका छन् । 

गुकेशको १४ औँ खेलमा भएको विजयले उनलाई ७.५ अङ्क र डिङलाई ६.५ अङ्क दिलायो । यसले उनको विश्व च्याम्पियनशिप चुनौतीका लागि सबैभन्दा कम उमेरमा पुग्ने असाधारण उत्थानलाई पक्का गर्यो । 

विजयमा उदार भएर गुकेशले डिङको प्रशंसा गर्दै साँचो च्याम्पियन जस्तो युद्ध गरेको बताए ।

राजदूत ओलीद्वारा राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबीच राजदूत ओलीले आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपति समक्ष पेस गरेका हुन् ।

राजदूत ओलीसँगै विभिन्न २९ मुलुकका राजदूतहरूले सामूहिक रूपमा चिनियाँ राष्ट्रपति सी समक्ष ओहदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

समारोहमा राष्ट्रपति सीले राजदूतहरूलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए । समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पोलिट्बयुरो सदस्य वाङ यीलगायतका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

ऋषि लामिछानेको निर्देशनमा ‘माग्ने राजा’ निर्माण हुने

काठमाडौं । निर्देशक ऋषि लामिछानेको निर्देशनमा फिल्म ‘माग्ने राजा’ निर्माण हुने भएको छ । फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख भूमिकामा देखिनेछन् ।

मुनाल घिमिरे निर्माता रहने फिल्मको थिम पोस्टर बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको छ । निर्देशक लामिछानेका अनुसार फिल्मको कथा प्रमुख पात्र केदार वरपर घुम्नेछ ।

फिल्ममा सामिप्यराज तिमल्सिनाको लेखन छ । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदारबाहेक अन्य कलाकार निश्चित भइसकेका छैनन् । निर्देशक लामिछानेले आठ वर्षपछि निर्देशकनमा कमब्याक गर्दैछन् । उनले पछिल्लो पटक सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए । फिल्म ‘माग्ने राजा’ फागुन १ गतेबाट छायाँकनमा जानेछ ।