`

आठ महिनामा ६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको अफगानिस्तानको दावी

अफगानिस्तान । अफगानिस्तानको तालिवान सरकारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले विगत आठ महिनामा ६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको मन्त्रालयका प्रवक्ता समिउल्लाह इब्राहिमीले बताएका छन् ।

शनिबार स्थानीय सञ्चारमाध्यम टोलोन्युजसँगको कुराकानीमा श्रम तथा सामाजिक मामिला मन्त्रालयले मार्चपछि महिला र केही विदेशी नागरिकसहित ६५ हजारभन्दा बढी व्यक्तिलाई ‘वर्क परमिट’ जारी गरेको ती अधिकारीले जानकारी दिए ।

अधिकारीले थप विवरणहरू प्रदान नगरी उल्लेख गरेका छन्, ‘अफगानिस्तानको तालिवान प्रशासनले थप रोजगारीको अवसर सिर्जना गर्न सक्दो प्रयास गर्नेछ ।’

थप विवरण उपलब्ध नगराइकन ती अधिकारीले भनेका छन्, ‘अफगान प्रशासनले गरिबीको चपेटामा परेको देशमा गरिबी निवारणका लागि रोजगारीका अवसर सिर्जना गर्न सक्दो प्रयास गर्नेछ ।’

स्थानीय आर्थिक पर्यवेक्षकहरूले ठूला विकास परियोजना सुरू गर्न र अफगान र विदेशी कम्पनीहरूलाई अफगानिस्तानमा लगानी गर्न प्रोत्साहित गर्दा राष्ट्रको गरीबी कम गर्न सकिने बताएका छन् ।

सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मेका घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबार जारी गरेको कारण सूची अनुसार न्यायाधीश अमिनुद्दीन खानको नेतृत्वमा रहेको सात सदस्यीय संवैधानिक इजलासले मुद्दाको अध्यक्षता गर्नेछ ।

याचिका दुई महत्त्वपूर्ण घटनाहरूको छानबिन गर्न न्यायिक आयोगहरूको लागि इमरान खानको मागसँग जोडिएको छ ।

बिहीबार पूर्वप्रधानमन्त्रीले आफ्नो आयोगको स्थापनाबारे पोष्ट गरेका थिए ।

सरकारसँग संलग्न हुन गठित वार्ता टोलीमा ओमर अयुब खान, अली अमीन गण्डापुर, साहिबजादा हमिद रजा, सलमान अक्रम राजा र असद कैसर रहेका छन् ।

शुक्रबार इमरानले यस विषयमा आफ्ना मागहरू दोहोर्याउँदै भने,“हाम्रा दुईवटा मागहरू छन् । घटनाहरूको स्वतन्त्र अनुसन्धान गर्न सर्वोच्च अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीशहरूको नेतृत्वमा आयोग गठन गर्नुपर्छ । अन्यायपूर्वक थुनिएका राजनीतिक बन्दीहरूलाई रिहा गरिनुपर्छ ।”

इमरानले यी मागहरू पूरा नभएमा पीटीआईद्वारा ‘नागरिक अवज्ञा, रेमिट्यान्समा कमी र बहिष्कार आन्दोलन’ सुरु गर्ने चेतावनी दिए।

यस मुद्दाको अतिरिक्त, फेब्रुअरीको आम चुनावमा धाँधली भएको आरोप लगाउँदै पीटीआईका संस्थापकले दायर गरेको छुट्टै याचिकामा डिसेम्बर ११ मा अर्को सुनुवाइ हुनेछ ।

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

बीबीसी । सत्ताधारी दलका सांसदहरूको बहिस्कारपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव विफल भएको छ ।

उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो। तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेका थिए ।

नेशनल एसेम्बलीका सभामुखले उक्त विधेयक अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा गरेका थिए ।

‘मार्शल कानुन’ लगाएकोमा माफी मागेका राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए । तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगेपनि उनीहरूले यूनलाई हटाउने प्रयास जारी रहने बताएका छन् ।

उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन्। त्यसअघि यूनले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गरेका थिए । मंगलबार राति उनले घोषणा गरेको सैनिक शासन ६ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि उनले महाभियोगको सामना गरिरहेका छन् ।

मतदानमा विफल रहेपछि प्रतिक्रिया दिदैँ दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ । तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टीले उसले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि ’सुव्यवस्थित र जिम्मेवार’ उपाय खोज्ने प्रतिक्रिया दिएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ललितपुर ।  ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम भएको छ। मुस्ताङ पुगेका ललितपुरका मेयर चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले हालै आयोजित कार्यक्रममा समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन्।

पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको हो। समझदारी-पत्रमा हस्ताक्षरपछि मेयर महर्जनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए।

उनले भने, ‘प्रकृतिले यो पालिकालाई प्रशस्तै वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिनेछौँ ।’ विनाटेन्डर महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने उनले औँल्याए।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए। निमन्त्रणालाई स्वीकार गरेर मेयरसहितको प्रतिनिधिमण्डल पालिकामा आएकोमा खुसी व्यक्त गरे।

हिमालपारिको जिल्लामा गर्नुपर्ने काम प्रशस्तै भएको बताउँदै वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको बताए। उनले स्वास्थ्य शिक्षा, पूर्वाधार निर्माणमा गाउँपालिकाले गरेको कामको चर्चा गरे।

कार्यक्रममा घरपझोडकी उपाध्यक्ष जमुना थापामगरले घरपझोङ गाउँपालिका हिमालपारिको जिल्लाको पालिका भएकाले धेरै कुरामा पछि परेको र अब ललितपुर महानगरबाट धेरै कुरा सिक्न सक्ने बताइन्। उनले भनिन्, ‘हाम्रोमा गर्नुपर्ने काम धेरै छन्, देशभर नै नाम कहिलिए र अग्रणीे ललितपुर महानगरपालिकासँग सिकेर धेरै गर्नुछ।’

ललितपुर महानगरका प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबिच एकरूपता रहेको बताए। घरपझोङसहित पाँचवटा पालिकासँग महानगरले भगिनी सम्बन्ध कायम गरेको र भगिनी सम्बन्धले पालिकाबिच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राखे।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि धेरै ढोका खुलेको बताइन्। उनले भनिन्, ‘एक अर्काको विकासमा साझेदार हुन, एक अर्काको असल अभ्यासहरूको अनुकरण र अनुसरण गर्न अब धेरै सहज हुन्छ।’

लोकतन्त्रमा देखिने गरी काम भएको छः महासचिव पोखरेल

दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१९ को प्रशासनिक भवनको शनिबार उद्घाटन गर्दै उनले विगत भन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताए ।

महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताए । उनले नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गरे ।

तुलसीपुर उपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राखे ।

तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताए । उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्र गर्ने काम छिट्टै सुरु आत गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डे, वडा नं १९ का अध्यक्ष प्रेमनाथ योगीलगायतले धारणा राखेका थिए ।

महानगरभित्र संचालित ८५ वटा मः म पसलको अनुगमन गर्दा ७५ वटाको सरसफाईमा कमजोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मः म पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ ।

गत कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ ।

यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् ।

सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीलगायतका स्थानका मःम पसलहरुको अनुगमन गर्दा उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर भेटिएको छ ।

भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन् । मसला राख्ने भाँडा फोहर भेटिएका छन् । भान्छाको भुइँमा पानी जमेर फोहर छ । डस्टविनको उचित प्रयोग भएको छैन । पकाएका खानेकुरा खुला राख्ने गरिएको छ ।

मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ । किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।

त्यस्तै, फ्रिज सफाइ नगरिएको, फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको तथा अचार र मसलामा लेवल नराखेको पाइएको छ । यी र यस्ता कमजोरी अधिकांश मःम पसलमा पाइएको छ ।

यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रुपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् ।

सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको छ ।

न्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ, साथ दिनुस् : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताएका छन् । शनिबार काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा प्रधानन्यायाधीश राउतले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिए।

प्रधानन्यायाधीश भने, ‘न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ, हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ कि छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ ।’

उनले आफू भने न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध पनि गरे ।
उनले भने, ‘तपाईंहरूको साथ सहयोग र सहकार्य गर्न पाए न्यायालय गरिमामय नहुने कुरै छैन, एकपटक प्रयास त गरौँ, म नम्रतापूर्व सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूमा नमन गर्न चाहन्छु ।’

उनले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड दिए । उनले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताए ।

प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उनले भने,  ‘कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ ।’

महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताको गरिमा जोगाउन कानुन व्यवसायीहरूलाई अनुरोध गरे । अर्धन्यायिक निकायमा वरिष्ठ अधिवक्ताहरू जान नहुने, कुनै पनि मुद्दाका बहसमा जाँदा एकजना अधिवक्ता सहयोगी भएर जानुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यो अभ्यास नभएको उल्लेख गर्दै उनले यसतर्फ वरिष्ठ अधिवक्ताहरूले ख्याल गर्नुपर्नेमा जोड दिए ।

समारोहमा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले अब न्याय निरूपणमा प्रविधिको विकासले चुनौती खडा गरेकाले त्यसतर्फ ध्यान दिन नसकिए गरिमामाथि आँच आउने बताए । उनले अधिवक्ताहरूले पनि विधागत विशेषज्ञ भएर अघि बढ्न जरूरी रहेको औँल्याए ।

समारोहमा सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता कविता बस्नेतलगायतले धारणा राखेका थिए । आज कार्यक्रममा प्रधानन्यायाधीश राउतले एक सय ५९ जना वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सरकारले राम्रो काम गरिरहेको भन्दै देउवाले गरे प्रधानमन्त्रीको प्रशंसा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । शनिबार कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले सुझबुझरुपमा काम गरिरहेको बताएका हुन् ।

उनले चीनसँग सुझबुझ ढंगबाट बीआरआई सम्झौता गरेको समेत बताए । उनले भने, ‘बीआरआई सम्झौता सुझबुझपूर्ण रुपमा छ । ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो। ओलीजीले त्यही ढंगले सम्झौता गर्नुभयो । ओलीजीले राम्रो काम गर्नुभएको छ ।’

सभापति देउवाले नेपालले विकासका निम्ति एडिबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएको भन्दै अब धेरै ऋण लिने अवस्था नरहेको बताए । उनले कांग्रेस र एमाले मिल्दा स्थायित्व हुने विश्वास व्यक्त गरे ।

बीआरआई सम्झौताकाबारेमा गहिरो अध्ययन नगरी हलुकारूपमा टिप्पणी गरियोः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआइ) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट गरेकी छन् ।

नेपाल सरकार र चीनबीच हालै भएको सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारूपमा टिकाटिप्पणी भइरहेको उनको भनाइ थियो ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, “हामीले बिआरआइअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन ।”

सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी गरिएको उनको भनाइ थियो । बिआरआइ सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सो सम्झौता अघि बढ्ने पनि उनले स्पष्ट गरिन् ।

उनले भनिन्,“ऋण लिने भन्ने कुरा त लिने पक्षको मञ्जुरी र आग्रहमा हुने हो नि । हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबर्जस्ती गर्छ त ? त्यसैले सरकारले ऋण लिनेगरी सम्झौतामा हस्ताक्षर गर्यो भन्नु बचपना मात्र हो ।”

नेपालले चीनसँग बीआरआई सम्झौताअन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्नेगरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा या अन्य कुनै विषयमा नभएर ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ अन्तर्गत सहमति गरेको उनले जानकारी दिइन् ।

नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा छैन भन्ने कुरा आफूले चिनियाँ विदेशमन्त्रीसँग पनि राखेको र उनीहरू यस विषयमा सहमत भएपछि निकै मेहनत गरेर नेपालले बीआरआइअन्तर्गत नै कोअपरेसन फ्रेमवर्क निर्माण गरी दुवै पक्षको सहमतिअनुसार हस्ताक्षर भएको मन्त्री डा राणाले बताइन्।

उनले बीआरआईअन्तर्गत नेपालले चीनसँगको व्यापार, हवाई एवं स्थलगत कनेक्टिभिटी, पूर्वाधार निर्माण तथा आर्थिक सहायताजस्ता विषयलाई प्राथमिकतामा राखेको बताइन् ।

मन्त्री राणा अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिबारे कुरा उठाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक नेपालमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था र धारणा राख्न लागेको हो ।

विश्वका धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा मन्त्री डा राणाले यही मङ्सिर २४ गते सो अदालतमा कुरा उठाउँदैछिन् ।

उनको प्रतिनिधिमण्डलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् ।

दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य लिएको छ । गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालु आवमा करिब ४० हजार भन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।

आज आयोजित अस्पतालको २०औँ वार्षिक साधारण सभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिइयो । गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ ।

त्यस अवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा. अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए ।

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

साधारणसभाले अस्पतालका सचिव युद्ध ध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ । स्थापनाको ५१औँ वर्षमा रहेको अस्पताले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले निजी क्षेत्रबाट चस्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चस्मा पसल सञ्चालन गर्दै आएको छ ।

एनपिएलमा कर्णाली याक्स सात रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो । 

कर्णालीको जितमा नन्दन यादवले चार ओभर बलिङ गर्ने क्रममा १९ रन खर्चेर तीन विकेट लिए । साथै विपीन यादवले दुई तथा सोमपाल कामी, विलियम वोसिस्टोले र उनिश ठकुरीले एक/एक विकेट लिए ।

बिराटनगरका लागि निकोलस कीर्तनले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन् । उसका लागि ओपनर लोकेश बमले १९ र दीपक बोहोराले १८ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाएको थियो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए । 

कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले व्यक्तिगत पाँच रन छँदा आउट भए । 

कर्णाली याक्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा बिराटनगरका लागि प्रतीश जिशीले चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए । चार खेलमा दुईमा जित हासिल गरेको कर्णालीसँग चार अङ्क छ भने समान खेल खेलेको विराटनगरसँग एक जितका साथ दुई अङ्क छ ।

दमक टावरको प्रधानमन्त्री ओलीले आइतबार उद्घाटन गर्ने

झापा । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।

सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनग–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ ।

वैकल्पिक आम्दानीको स्रोत बन्दै अम्रिसो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले अम्रिसो खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । गैँडाकोट–३ र १८ का किसानले लगाएको अम्रिसोले भू–क्षय तथा पहिरो रोकथाम हुनुका साथै वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको हो ।

गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरीमगरले भिरालो जमिनमा अम्रिसोखेती गर्ने किसानहरू बढ्दै गएका भन्दै यसले पहिरो रोकथाममा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

वडाका दमार, बसेनीलगायत स्थानका किसानले सिँचाइ अभाव भएका क्षेत्रमा वैकल्पिक रूपमा अम्रिसोखेती गरिरहेका छन् ।

‘सिँचाइ अभाव भएका ठाउँमा अन्य खेती हुँदैन’, उनले भने, ‘अम्रिसो लगाएपछि खेती पनि हुने बर्खामा परेको पानीले जमिन कटान हुनबाट रोक्ने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको हो ।’

अम्रिसोखेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको वडाध्यक्ष चितौरीमगरले जानकारी दिए। अम्रिसोमा मेहनत बढी नपर्ने र आम्दानी पनि हुने भएकाले पछिल्लो समय किसानको जीविकोपार्जनमा वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको उनले बताए।

‘अम्रिसोबाट घर सफा गर्ने कुचो बनाएर बिक्री गरिने हुँदा बजारको अभाव छैन’, वडाध्यक्ष चितौरीमगरले भने, ‘नवलपुर बजार क्षेत्र, नारायणगढ, बुटवलका व्यापारीको सहयोगमा भारत र बङ्गलादेशसम्म यहाँको अम्रिसोको कुचो पुग्ने गरेको छ ।’

कृषक लेखबहादुर आलेले अम्रिसो खेतीबाट आएको आम्दानीले जीविकोपार्जनमा सहजता भएको बताए। सिँचाइ अभावले बारीमा खेतीबाली कम हुने भन्दै उहाँले अम्रिसो गाई बाख्रालाई घाँसका रूपमा प्रयोग हुनुका साथै फुलेपछि कुचो बिक्री गरेर आम्दानी लिन सकिने बताए।

यहाँका पहाडी क्षेत्रमा अधिकांश किसानले अम्रिसोलाई आम्दानीको वैकल्पिक माध्यम बनाउने गरेका आलेले उल्लेख गरे।

‘अम्रिसो खेतीमा हामीलाई दोहोरो फाइदा छ, पशु चौपायाका लागि घाँस खुवाउन पाइन्छ, कुचो बनाएर बेच्न पाइन्छ साथै पानी पर्दा माटो कटानसमेत रोकिन्छ’, उनले भने, ‘कुचो बिक्री गर्न पनि समस्या छैन, कसैले चामलसँग र कसैले पैसामा कुचो बिक्री गर्ने गरेका छौँ ।’

गैँडाकोट–१८ मा धानखेती नहुने भएकाले किसानले धानसँग कुचोसमेत साट्ने आलेको भनाइ छ । ‘पहाडी क्षेत्रमा धानखेती कम हुन्छ । भएको खेतमा लगाएको धानले केही महिना मात्रै खान पुग्छ’, उनले भने, ‘यहाँका कतिपय किसानले सामूहिक रूपमा पनि अम्रिसोखेती गर्दै आएका छन् ।’

गैँडाकोट–३ भुजेल बस्तीका युगबहादुर सारुले वार्षिक ५० हजार बढीको अम्रिसो बिक्री हुँदै आएको बताए। ‘घरमा आउनेलाई पैसामा बिक्री गर्छौं, गाउँतिर लिएर गयौँ भने धानसँग साटेर आउँछौँ’, उनले भने, ‘धान उब्जनी नभए पनि अम्रिसोसँग साटेर धान ल्याउन पाइन्छ ।’

गाउँको भिरालो जमिन अम्रिसो खेतीले भरिएको भन्दै सारुले अहिले अम्रिसो फुल्न सुरु भइसकेको जानकारी दिए। केही वर्ष अघिसम्म झाडीले भरिएका डाँडोमा अम्रिसोखेती सुरु भएपछि डाँडा पनि हरियाली भएका उनले उल्लेख गरे।

गैँडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको पहाडी क्षेत्रमा केही समुदायले कबुलियत वनमा अम्रिसोखेती गरिरहेका बताए ।

‘कतिले हामीमार्फत खेती गर्नुभएको छ, कति कृषकले सिधै सबडिभिजन वन कार्यालयमार्फत खेती गर्नुभएको छ’, उनले भने, ‘अन्नबाली नफल्ने भिरालो जमिनमा लगाइएको अम्रिसोबाट स्थानीयले आम्दानी गर्नुका साथै पहिरोको जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ ।’

अम्रिसोखेती गर्ने किसानलाई पालिकाले आर्थिक अनुदानका साथै प्राविधिक सहयोग गर्दै आएको शर्माले बताए। प्रत्येक वर्ष मनसुन सुरु हुने बेलामा अम्रिसोको बिरुवा लगाउने, मङ्सिरमा फूल्ने र चैतसम्म काटेर बजार पठाउने गरिएको उनले जानकारी दिए।

नगरपालिकासँगै सबडिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको कृषि शाखा प्रमुख शर्माले बताए। प्रत्येक वर्ष पहाडी क्षेत्रमा अम्रिसोखेती गर्ने कृषक र क्षेत्रफल बढ्दै गएको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार डिस्चार्ज भएका छन् । उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी शनिबार अपराह्न डिस्चार्ज भएका जानकारी दिएका हुन् ।

यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् ।

उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छः पर्यटनमन्त्री पाण्डे

काठमाडौ‌ं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए।

उनले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताए।

यस वर्ष ‘दिगो भविष्य: आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै छ ।

राष्ट्रिय सहमतिमा शान्ति प्रक्रियाका बाँकी काम टुंगिन्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहमा अध्यक्ष प्रचण्डले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आएपनि आफूले सहमतिमै जोड दिएका कारण यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए ।

प्रचण्डले आज मात्रै तीन बामपन्थी दलसित एकता वार्ता भएको जानकारी दिँदै धेरैको साझा निष्कर्ष बन्न थालेको बताए ।

बीआरआई देशको हितमा छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईमा हस्ताक्षर गर्नुअघि सरकारले ध्यान पुर्याउन नसकेको टिप्पणी गरेका छन् ।

शनिबार चीन भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्नु खुसीको कुरा भएपनि त्यसअघि सरकारले नाटक मञ्चन गरेको टिप्पणी गरेका हुन् ।

उनले बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले हस्ताक्षर गरेको बताए । उनले बीआरआई नेपालको हितमा रहेकोसमेत बताए । खनालले पारवहनका विषयमा सरकारलाई चीनसँग आवश्यक छलफलअघि बढाउन सुझाव दिए ।

एनपीएलमा कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई १३४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले १३३ रन बनायो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सबैभन्दा धेरै ६६ रन बनाए । यस्तै देव खनालले ५३ रन बनाए । विराटनगरका प्रतिश जिसीले चार विकेट लिए । यस्तै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए ।

भारतद्वारा युरोपेली उपग्रह बोक्ने रकेट सफलतापूर्वक प्रक्षेपण

नयाँदिल्ली । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पिएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो । यो अन्तरिक्ष विभाग (डिओएस) को प्रमुख अनुसन्धान र विकास शाखाको रूपमा काम गर्दछ । एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणालीहरू सञ्चालन गर्दछ । हालसम्म यसले चन्द्रमामा तीनवटा र मंगल ग्रहमा एउटा मिशन पठाएको छ ।

प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो । पिएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रहहरू प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका इसरोले सामाजिक सञ्जमालमा उल्लेख गरेको छ ।

सिरियामा दुई लाख ८० हजार भन्दाबढी मानिस विस्थापित

जेनेभा । सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले भनेको छ, ‘हालैको हिंसामा केही दिनमै उत्तरपश्चिम सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय प्रयासहरू बढाउँदैछ ।’

यसैबीच, हजारौं बासिन्दाहरू होम्स शहरबाट भागेका छन् । दमास्कसतर्फ विद्रोहीहरूको अग्रसरतामा त्रास फैलिएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले शुक्रबार हजारौं होम्सका बासिन्दाहरू पश्चिमी किनारतर्फ रातभरि भाग्न थालेका जनाएका छन् । यहाँ सिरियाली राष्ट्रपति बसर अल–असदले अझै पनि नियन्त्रण कायम राखेका छन् ।

बिहीबार उत्तरको हामा सहर कब्जा गरेपछि विद्रोहीहरूले होम्सको चौराहे शहरमा आफ्नो नजर राखेका छन्, जुन कब्जा गरेमा राष्ट्रपति बसर अल–असदको नियन्त्रणमा रहेको क्षेत्र विभाजित हुनेछ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार एक दशक भन्दा बढीको युद्धमा तीन लाख भन्दा बढी नागरिक मारिएका छन्, जबकि लाखौं क्षेत्रभरि विस्थापित भएका छन् ।

दक्षिण भारतमा कार तालमा खस्दा पाँच जनाको मृत्यु

नयाँ दिल्ली ।भारतको दक्षिणी राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको पुष्टि भएको छ।

दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो। कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिन्छ।
राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ।

प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छः शेखर कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।’ फरक प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए ।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए । बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए ।

च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

अमरगढी  ।  डडेल्धुराको अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गरेका थिए । उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेका हुन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए।

जोशी अहिले ३३ वर्षका भए। कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाए। काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताए। अहिले परिवारको सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए।

दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताए। छ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनी अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन्।

च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए। ‘पहिले च्याउको बीउ लिन काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु’, उनले भने, ‘अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।’

उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए। एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए। कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे।

‘डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु’, जोशीले भने, ‘वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।’ च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक सात लाखसम्म बचत भइरहेको उनले जानकारी दिए।

‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ । अहिले प्रतिकिलो दुई सयका दरले च्याउ बिक्री गरिरहेको छु’, जोशीले भने। फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउ खेती विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।

स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए। स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउन सके युवाको विदेश पलायनदरमा कमी आउने उनको बुझाइ छ ।

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौँ । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । 

त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

     बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आईपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ ।

होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले  तीन अर्ब ३१ करोड १० लाख बराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन् । साथै ४० वटा जलविद्युत् आयोजनाले कूल रु १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर आइपिओ जारी गर्नका लागि बोर्डको प्रक्रियामा रहेका छन् ।

लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आइपिओ जारी गर्नका लागि पाइपलाइनमा छन् । उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले रु २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता आईपिओ निष्कासनको प्रक्रियामा छन् । 

धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । सानिमा हाइड्रोपावर लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायत कम्पनीको आइपिओ निष्कासन पाइपलाइनमा छ । 

त्यस्तै, यमलिङ्ग हाइड्रोपावर लिमिटेड, मबिलुङ्ग हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायत कम्पनीहरु आइपिओ पाइपलाइनमा रहेका छन् ।

होटल तथा पर्यटन समूहअन्तर्गत सात कम्पनीको आइपिओ पाइपलाइनमा छन् । यो समूहमा एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, अर्केड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एण्ड स्वीट्स लिमिटेड आइपिओ निष्काशनका लागि पाइपलाइनमा छन् ।

लगानी समूहतर्फ वरुण इन्भेष्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आइपिओ ल्याउँदैछन् । उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आइपिओ पाइपलाइनमा छ ।

एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलगायत कम्पनीको आइपिओ आइँदैछ । त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टील्स लिमिटेडले आइपिओ ल्याउने तयारी गरिहेका छन् ।  

लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ निष्कासनका लागि बोर्डमा विचाराधिन छ । त्यस्तै, लघुबीमा (माइक्रो इन्स्योरेन्स) तर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ जारी गर्न बोर्ड समक्ष निवेदन दिएका छन् ।

केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

पर्वत । पर्वतको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ ।

यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन् ।

विसं २०५२ मा चितवनको राप्ती किनारबाट बिरुवा ल्याएर लगाइएको केराका बोट अहिले कृषकको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो । सोही बीउलाई आर्थिक वर्ष २०७६/७७ देखि ‘केरा ब्लक’मा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ज्ञादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिए ।

रोग प्रतिरोधात्मक क्षमता बढी रहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक रु एक करोड ५० लाखसम्म भित्र्याउने गरेका उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ब्लकका रूपमा यस क्षेत्रलाई विस्तार गरेपछि यहाँका कृषक केराखेतीतर्फ आकर्षित भएका संयोजक शर्माले उल्लेख गरे । जिल्लास्थित परियोजना कार्यान्वयन इकाईमार्फत कृषकहरूलाई केराका बिरुवा, यान्त्रीकरण, विषादी, प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदानलगायतमा रु ८१ लाख सहयोग गरिएको उनले जानकारी दिए ।

अनुदानमा बिरुवा पाएपछि कृषकहरू धान, कोदो छाडेर केराखेतीमा आकर्षित भएका केरा ब्लकका संयोजक शर्माले बताए । उनका अनुसार यहाँ उत्पादित केरा सदरमुकाम कुश्मा, बागलुङ, साइकलचोक, फलेबास, मालढुङ्गा, पातीचौरलगायत बजारमा खपत हुने गरेको छ ।

गाउँमा पक्की सडक विस्तार भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने अवस्था नरहेको कृषक दीपक सुवेदीले बताए । केरा व्यापारी गाडी लिएर केराको बगैँचासम्म आउने र सिधै लोड गरेर लैजाने भएकाले बजारीकरणको समस्या नरहेको उनले उल्लेख गरे ।

युवापुस्ताको विदेश पलायनसँगै बाँझिदै गरेको जमिनमा केराखेती गरेपछि नियमित आम्दानी हुनुका साथै जमिन उर्वर बनेको कृषक शोभनाथ लामिछानेले बताए । उनका अनुसार एउटै बोटमा चार सय कोसासम्म केरा फल्ने गरेका छन् । हरेक कृषकले न्यूनतम रु ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी गर्दै आएको उनले जानकारी दिए ।

कम जनशक्ति, न्यून लागत र एकपटक लगाएपछि वर्षौंसम्म फाइदा लिन सकिने भएकाले गाउँका अधिकांश कृषक केराखेतीमा लागेका कृषक लामिछानेले बताए । प्रत्येक कृषकले न्यूनतम पाँचदेखि १० रोपनीसम्म क्षेत्रमा खेती गरिरहेका छन् ।

केरा बिक्री गरेर मात्रै धेरै आम्दानी नसकिएको भन्दै कृषकले वैकल्पिक योजना बनाएका छन् । केराको रेसाबाट धागो, पात र बुङ्गोबाट टपरी बनाएर स्थानीय महिलालाई पनि स्वरोजगार बनाउने तयारी भइरहेको कुश्मा–१० पीपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए।

कृषकलाई गत वर्ष केराको अचार उत्पादनसम्बन्धी तालिम पनि दिइसकिएको भन्दै कतिपयले अचार बनाएर बिक्री गर्न थालेका उनले बताए।

कृषकहरू केराखेतीबाट पूर्ण रूपमा आत्मनिर्भर भई नसकेका बताउँदै वडाध्यक्ष सुवेदीले केराको फलका साथै थाम, पात र बुङ्गो प्रशोधन गर्न आवश्यक तालिम र यन्त्र उपकरणको माग संघीय सरकारसँग गरिएको जानकारी दिए । केराखेती विस्तार गरिएपछि गाउँमा जग्गा बाँझो हुने क्रम हट्दै गएको बताउँदै कृषकहरूलाई प्रोत्साहन नगरपालिकाले विभिन्न योजनाहरू बनाइरहेको उनले उल्लेख गरे ।

मधेस प्रदेशमा धान उत्पादन बढ्यो

जनकपुरधाम । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धान खेती गरिएको थियो ।

गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो भने चालू आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ । सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको छ ।

यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिराहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए ।

यसैबीच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ ।

कोइराला निवासबाट देउवा र शशांकले दिन खोजेको सन्देश

काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेशको प्रथम सम्मेलन आजदेखि विराटनगरमा सुरु भएको छ । सम्मेलन सुरु भइरहँदा कांग्रेस नेता डा. शेखर कोइराला भने सम्मेलन बहिष्कार गर्दै चितवन लागेका छन् । तर कोइराला परिवारका अर्का नेता डा. शशांक कोइराला भने विराटनगर पुगेका छन् ।

शेखर कोइरालाको सचिवालयले शनिबार चितवन कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीको बुवा स्व. टेकबहादुर लोहनीको शोकसभा र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभाभा सहभागी हुने जानकारी गराएको थियो । शेखर चितवन लागेपछि शशांक र पार्टी सभापति शेरबहादुर देउवा शनिबार कोइराला निवासमा चिया पिइरहेको तस्बिर सार्वजनिक भएको छ ।

केन्द्रले कुनै भेला नराख्न केन्द्रले आग्रह गर्दा पनि त्यसलाई वेवास्ता गर्दै शेखर कोइरालाले मंसिर १८ र १९ गते कोशी प्रदेश स्तरीइ पालिका सभापतिहरुको भेला गरेका थिए । भोलमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजिव कोइराला, चन्द्रमोहन यादव र रुक्मिणी कोइराला सहभागी भएका थिए । त्यस्तै कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्वकेन्द्रीय सदस्यहरु गुरु घिमिरे, रामकृष्ण भट्टराई र हसन अन्सारी, जिल्ला सभापतिहरु डिगबहादुर लिम्बू–मोरङ, केदार भण्डारी–सुनसरी, विनोद बान्तवा–भोजपुर, रुपनारायण जबेगु–पाँचथर, संघीय सांसद सुनिल शर्मा, कोशी प्रदेश पूर्वमुख्यमन्त्री केदार कार्की, पुर्व जिल्ला सभापतिहरु–नरेन्द्र केरुङ्–पाँचथर, गोविन्द ढुङ्गाना–तेह्रथुम, बालकृष्ण थापा–भोजपुर, गोमा केसी–ओखलढुंगा, महानगरपालिका सभापतिहरु निलकाजी शाक्य–काठमाडौ, सुरेन्द्रमान बिजुक्छे–पोखरा, सुवानन्द धाख्वा–ललितपुर, मणिन्द्रराज नेपाली–बिरगंज र दीपक चापागाईं–विराटनगर थिए ।

तर कोइराला पक्षको भेलमा महामन्त्री गगन थापा थिएनन् । तर आजको सम्मेलनमा सहभागी हुन उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगर पुगेका छन् । एउटै समूहमा रहेका गगन र शेखर एकैठाउँमा देखिन छाडेपछि आगामी महाधिवेशनमा समेत दुई उनीहरुबीचनै प्रतिस्पर्धा गर्ने त होइनन् भन्ने अनुमान गर्न थालिएको छ ।

त्यस्तै शशांकले पनि शेखरको साथ छाडेको अनुमानसमेत गर्न थालिएको छ । बेलाबेला सुजाता, शशांक र शेखर सँगै बसेको फोटो सार्वजनिक गरेर कोइराला परिवारको साथ आफूलाई रहेको सन्देश दिने शेखर परिवारबाट समेत एक्लिएका त होइनन् ? सबैको चासोको विषय बनेको छ ।

लुम्बिनीलाई पराजित गर्दै एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । आज अर्को खेलमा विराटनगर किंङ्स र कर्णाली याक्स भिड्नेछन् ।

जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार

जुम्ला । जुम्ला  जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इन्टरनेट सेवा दिएको छ ।

जुम्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धेरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए ।

चन्दननाथ नगरपालिका भित्र मात्रै एक हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । कार्यालय प्रमुख शाहले भने,“जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ ।

यस कारण ग्राहक आकर्षित छन् । ” इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालय प्रमुख शाहको भनाइ छ । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

यहाँका आठ वटै स्थानीय तहका २० स्थानबाट फोरजी सेवा र सात वटा ठाउँमा टुजी सेवा सहितका टावरबाट सञ्चार सेवा प्रवाह भएको टेलिकमले जनाएको छ ।

टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ भएको थियो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

कास्की । पोखरा-१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ ।

उनले भने, ‘तेह्र वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्, उनीहरु पनि भिन्दै बस्छन्, छोराहरुले जाल थापेर मारेका माछा बिक्रीकोर जान्छु । पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला र नैनी माछा देख्न पाइएको छैन, फेवातालमा माछा घट्दा हाम्रापेसा सङ्कटमा परेको छ ।’

पोखराको फेवाताल किनार खपौंदी, वैदाम, गाईघाट जलारी समुदायको एक सय परिवार रहेको मध्ये एक दुई परिवार तीमध्ये एक दुई परिवारबाहेर अन्य सबै यही पेसामा आबद्ध छन् । हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फिरन्त जीवन स्थापित त भयो तर यो समुदायमा गरिबी भने हट्न नसकेको जनाउँदै पछिल्ला वर्ष फेवाताल वरपरका खेतमा विषदीको प्रयोग हुँदा माछा लोप भएका कारण जलारीका पेसा थप सङ्कटमा परेकोमा चिन्ता व्यक्त गरे ।

आयातित माछाकै कारण रैथाने माछा सङ्कटमा पारेको र पछिल्ला वर्ष जालमा माछा पर्न कम भएपछि जलारीका पेसालाई बचाउन स्थानीय सरकारले फेवातालका माछा संरक्षणमा जोड दिन आवश्यक भएको उनले बताए । फेवाताल संरक्षण गर्दे परम्परागत रुपमा माछा मार्ने पेसामा सम्लग्न जलारी समुदायको जीविको पार्जनका लागि पनि तालमा बढीभन्दा बढी माछाका भुरा छाडेर सहयोग गर्न उनले सरकारसँग आग्रह गरे ।

पछिल्ला वर्षमा स्वास्थ्य प्रति मानिसहरु सचेत हुँदा स्थानीय जातको माछा प्रयोगमा आकर्षण बढेकाले सरकारले पनि यस्ता माछाको सङ्ख्या वृद्धि र संरक्षणमा जुट्नुपर्ने भनाइ उनको छ । फेवाताल किनारमा बसोबास गर्ने जलारी समुदायका आधिकांश युवा माछा मार्ने व्यवसायमा छन् भने केही रोजगारीका लागि खाडीमुलुकमा भएका छन् भने पुरानो पुस्ता भने यही पेसामा छ । फेवातालबाहेक बेगनास तालमा पनि केही मात्रमा जलारी समुदाय माछा मार्ने व्यवसायमा नै लागेका छन् ।

जलारी दिदीबहिनी समूहकी अध्यक्ष मीना जलारीले जालमा परेका माछाले जीविको धान्न कठिन हुन थालेको जनाउँदै अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने गरेको बताइन् । माछाको मूल्य जातअनुसार प्रतिकेजी चार सयदेखि एक हजार पाँच सय रुपैयाँ सम्मका छन् तर अधिकांश माछा तिलिपिया भएकाले मूल्य निकै कम हुने बताइन् ।

जलारी समुदायका महिलाको जीवनस्तर सुधार गर्न राज्यले अन्य बाटाहरु खोज्नुपर्नेमा उनले जोड दिइन् । फेवातालमा जलारी समुदायबाहेक अन्य व्यक्तिले लुकिछिपी बल्छी थापेर माछा मार्ने गर्दै आएकाले त्यस्तो कार्यलाई रोक्न समेत उनले आग्रह गरिन् ।

ममत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मोहमत इक्वाल हुसेनले पोखराको फेवातालमा २४ प्रजातिका माछा रहेको जानकारी दिंदै फवातार वरपरको खेतबारीमा प्रयोग भएको विषादीका कारण माछाहरु मात्र सङ्कटमा परेका छैनन् त्यसबाट आश्रित जलारी समुदायका पेसा समेत सङ्कटमा पर्दै गएको भनाइ उनको छ ।

उनले पोखराको फेवातालमा मत्स्य अनुसन्धान केन्द्र तथा विभिन्न सङ्घ संस्थाले वार्षिक १० देखि १२ हजारको सङ्ख्यामा विभिन्न जातका माछा छाड्ने गरेको बताए ।

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायो ।

सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाए । लुम्बिनीका रमोन सिमोन्ड्सले २ विकेट लिए ।

लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । एनपीएलमा आजै दिउँसो दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् ।

यसरी हुँदैछ भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ड्याम निर्माण

सुर्खेतको भेरीगङ्गा नगरपालिका-११ चिप्लेमा रहेको राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल ।

तस्बिरः सुरेश आचार्य / रासस

टुरिजम सिस्टहुड नेपालको अध्यक्षमा मलेखु चयन

काठमाडौँ । पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड नेपाल एसोसिएसन’को अध्यक्ष पदमा जुनु मलेखु निर्वाचित भएकी छन् ।

एसोसिएनको शुक्रबार साँझ सम्पन्न छैटौँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट मलेखुको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख मलेखु डेढ दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन् ।

यस्तै, उपाध्यक्षमा रोजीना रञ्जित, महासचिवमा पावना श्रेष्ठ, सचिवमा वेञ्जु मुखिया र सदस्यहरुमा केविना पाल अधिकारी, प्रज्ञा शर्मा, युविका भण्डारी, हेमा श्रीपाली र सुचिता जोशी निर्वाचित भएका छन् ।

सन् २०१८ मा नौ जनाबाट सुरु भएको एसोसिएसनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष मलेखुले बताइन् । एसोसिएसनमा हाल ५० भन्दा बढी महिला आबद्ध छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको नयाँ गन्तव्य खोज्नका लागि टुरिजम सिस्टहुड नेपाल एसोसिएसनले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपाल पर्यटन बोर्ड एसोसिएसनसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनमा लाग्नेसमेत उल्लेख गरे ।

नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले पछिल्लो समय पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको भन्दै अब नेतृत्वदायी भूमिकामा समेत महिला पुग्नुपर्ने बताए । हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले आन्तरिक पर्यटन बलियो भएमात्र देशको अर्थतन्त्र बलियो हुने भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्न एसोसिएसनले काम गर्दै आएको बताइन् ।

कालीगण्डकी करिडोरअन्तर्गतको काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ ।

साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउदाँ पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए ।

उनका अनुसार सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्कि पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलीङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ ।

रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलब पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सात देखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।

बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना ब्यवस्थापक नरेन्द्र न्यौपानेले मजदुरहरु रसिमा झुण्डीएर रड राख्ने प्वाल बनाएका बताए । रक एंकरिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको उनले बताए ।

म्याग्दी र मुस्ताङको सिमानामा रहेको दुई किलोमिटर दुरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चिन र भारत जोड्ने सबैभन्दा छोटो दुरिको, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्र्तगत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसा सम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।

वि.स. २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारी साधन खस्ने, गुडीरहेको सवारी साधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् । यो क्षेत्रमा विस्फोट पदार्थको प्रयोग गरी एक हजार छ सय मिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ ।

धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठुला ढुङ्गाले क्षति पुर्याएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिले सैन्य शासन घोषणा गरेकोमा मागे माफी, पुनः यस्तो कदम नचाल्ने वाचा

बीबीसी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुन: यस्तो कदम नचाल्ने वाचा गरेका छन् ।

मङ्गलबार राति उनले घोषणा गरेको सैनिक शासन ६ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन् ।

राष्ट्रपतिको सम्बोधनपछि प्रतिक्रिया दिँदै सत्तारूढ पीपल्स पावर पार्टीका नेताले यूनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताए । मार्शल ल लागु गरेपछिको पहिलो राष्ट्रका नाममा गरिएको सम्बोधनमार्फत् उनले राजीनामा घोषणा गर्ने आकलन गरिएको थियो। तर उनले त्यसो गरेनन् ।

बरु उनले अवस्था सामान्य बनाउने जिम्मेवारी सत्तामा रहेको आफ्नो दललाई सुम्पिने बताए । उनले महाअभियोगको प्रसङ्गबारे केही उल्लेख गरेनन् । विपक्षी दलले अघि बढाएको महाअभियोगमा शनिबार मतदान हुँदै छ।

कुल ३०० सदस्य रहेको संसद्बाट राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न विपक्षी दलहरूलाई सत्ताधारी पार्टीका आठ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङले राष्ट्रपतिको प्रतिक्रियाले मानिसहरूमा थप आक्रोश बढाएको बताएका छन् । उनले राष्ट्रपति यूनलाई पदबाट हटाउन आफूहरूले सक्दो प्रयास गर्ने बताएका छन् । यूनले मङ्गलबार राति घोषणा गरेको सैनिक शासनपछि दक्षिण कोरियामा राजनीतिक उतारचढाव जारी छ।

म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

बेनी । रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी छन्। गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने पुनको भनाइ छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसियाली मनाएका छन् । गाउँपालिका र संघीय सरकारको रु एक करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुई तले सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको हो ।

भवन निर्माण भएर सेवा सञ्चालनको उपलक्ष्यमा स्थानीयले नौमती बाजासहित नाचगान गरेर खुसियाली मनाएका हुन् । नयाँ भवनबाट सरल र सहजरुपमा स्वास्थ्योपचार सेवा लिन सुविधा पुगेको स्थानीय ६४ वर्षीय मनिराम पुनले बताए ।

चिमखोलाको मलाङमा स्थानीयको रु १० लाख र रघुगङ्गा गाउँपालिकाको रु १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गर्ने र सम्माएर व्यवस्थापन गर्ने काम गरिएको थियो । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आवश्यक सामग्रीको बन्दोबस्त गरी नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको बताए।

उनले भवनमा थप औजार उपकरण र औषधिको उपलब्धता गराएर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिए ।

भवन बनाउन रघुगङ्गा गाउँपालिकाले रु एक करोड पाँच लाख ४० हजार चार सय ४२ र संघीय सरकारको विशेष अनुदानबाट रु ७३ लाख ९८ हजार पाँच सय ९० लगानी भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि निर्माण सुरु भएको स्वास्थ्यचौकी भवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो । भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवती/मालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायी प्रदीप पाइजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गरेका हुन्। उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनाले स्वास्थ्यचौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

भवनमा बिरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधि भण्डारण, कर्मचारी आवासलगायतको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगनसँगै विद्युत्, खानेपानी जडान गरिएको छ । खुला ठाउँ र फराकिलो कोठाहरू रहेकाले बिरामीको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहजरुपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्यचौकीका प्रमुख हिस्टुरी पाइजाले जानकारी दिए ।

नवनिर्मित स्वास्थ्यचौकी भवनमा बर्थिङ सेन्टरसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आवश्यक सामग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ । विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यसअघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न लागिएको वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए ।

रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगबाहेकका सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । भौगोलिक विकटता रहेको र स्वास्थ्यचौकीमा पुगेर सेवा लिन घन्टौँ हिँड्नुपर्ने ठाउँका नागरिक लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !

  सुर्खेत । लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो ।

मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गरेको मन्त्रीका सूचना प्राविद्यि सहायक टेकबहादुर शाहीले जानकारी दिए । कर्णालीमा ३३ वटा ठूला आयोजनाहरू अलपत्र पर्दै आएका छन् ।

अधिकांश अलपत्र पारिएका ठेक्काको चारपटकसम्म म्याद थप गरिएको पाइएको छ । अति जरूरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेको जिल्लास्थित कार्यालय प्रमुखले गुनासो गर्दै आएका छन् । सोही गुनासो आधारमा निर्माण व्यवसायीलाई मन्त्रालयमा बोलाएर अन्तिम पटक समय दिएर काम गर्न आग्रह गरिएको मन्त्री बुढाले बताए । उनले भनेका छन् – काम नगर्ने हो भने बाटो खुल्ला गर्नुपर्‍यो, हैन भने तत्काल कम सुरू गर्नुपर्‍यो ।

कहाँ कहाँ छन् अलपत्र आयोजना ?

तीस प्रतिशतमात्र भौतिक प्रगति भएको डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिब्लागाउँ थरगाउँ काँडातलीसम्मको दोस्रो ठेक्को काम अलपत्र पर्दै आएको छ । श्रेया जुगल जेभीले उक्त ठेक्का लिएको छ । विसं २०७९ असार १६ गते उक्त ठेक्काको सम्झौता भएको थियो । विसं २०८१ मङ्सिर २३ गते यो ठेक्काको अन्तिम भाका रहेको छ ।

जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक निर्माण गर्ने भनी २०७८ माघ २५ गते सम्झौता भए पनि हालसम्म निर्माण व्यवसायी अमर सिस्ने जेभीले १० प्रतिशतमात्र काम गरेको छ । विसं २०८२ पुस ४ गतेसम्म म्याद रहेको यो आयोजनाको कामको गति निकै ढिला भएको छ ।

नेपाल मेघा सिस्ने जेभीले २०७८ साउन ४ गते पूर्वाधार विकास कार्यालय, जाजरकोटमा छेडागाड नगरपालिकाको साल्मखोलामा पुल निर्माण गर्ने भन्दै ठेक्का लिएको पुलको हालसम्म ३० प्रतिशतमात्र काम गरेको छ । म्याद थपसहित २०८२ जेठ २ सम्म पुर्‍याएको छ । निर्माण व्यवसायीले पुल निर्माणमा चासो नै नदेखाएकाले काम ढिला भएको भनी जिल्लास्थित पूर्वाधार विकास कार्यालयले प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पत्राचार गरेको छ ।

जाजरकोटकै बारेकोट गाउँपालिका–८ साँघुतरा र नलगाड नगरपालिका–५ सिर्केस्थित मोटरेबल पुलसमेत अलपत्र पर्दै आएको छ । नेपाल मेगा सिस्ने जेभीले नै २०७८ साउन २९ गते पुल निर्माणको ठेक्का लिएको थियो । हालसम्म उक्त पुलको भौतिक प्रगति जिरो रहेको छ । निर्माण व्यवसायीले काम गर्नका लागि अहिलेसम्म फिल्डमै नपुगेको भनी पूर्वाधार विकास कार्यालय, जाजरकोटले मन्त्रालयमा पत्राचार गरेको छ । यसको म्याद थपसहित २०८२ असार २० गतेसम्म म्याद थप गरिएको छ ।

नारायनम निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले बारेकोट गाउँपालिकाको भैसेडीमा पक्की पुल निर्माणका लागि २०७९ जेठ २३ गते लिएको ठेक्काको भौतिक प्रगति ५० प्रतिशत रहेको छ । विसं २०८१ जेठ २९ गतेसम्म म्याद सकिएको छ । कल्यानमा पक्की पुल निर्माण गर्ने भन्दै पिएस निर्माण सेवा नौवास्था–८ बाँकेले २०७९ जेठ ३० गते लिएको पुलको ठेक्का हालसम्म निर्माण हुन सकेको छैन । उक्त ठेक्काको म्याद थपसहितको मिति २०८१ जेठ २९ गते समाप्त भइसकेको छ । यसको भौतिक प्रगति ४५ प्रतिशतमात्र रहेको छ ।


मंगलगढी-कांक्रेविहार सडक स्तरोन्नतिको काममा ढिलासुस्ति भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीहरू ।
कालीकोटको सेरी पान्तडी पद्मघाट जुम्ला सडक (बहुवर्षीय योजनासमेत) निर्माणको ठेक्का खड्काकृष्ण सुपरस्टार जेभीले २०७७ जेठ २ गते लिएको थियो ।

उक्त ठेक्काको काम हालसम्म ४० प्रतिशतमात्र भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । विसं २०८० जेठ ३० गते यस ठेक्काको म्याद सकिएको थियो । वारातु सियाला रेगिंल रोड निर्माण गर्नका लागि पूर्वाधार विकास कार्यालय कालीकोटले निकालेको ठेक्कामा मार्गादेवी निर्माण सेवाले २०७८ वैशाख २६ गते सम्झौता गरेर हालसम्म २८ प्रतिशतमात्र काम गरेर बीचमै छोडेको पाइएको छ ।

कडा चट्टान लागेको भन्दै उक्त काम बीचमै छाडिएको मन्त्रालयमा परिपत्र गरिएको छ । यसको म्याद थपसहितको अन्तिम मिति २०८२ वैशाख ३० गते रहेको छ । कालीकोटको पताला–९ को दाम्रीगाड पक्की पुल निर्माण गर्नका लागि गलवा/जगदम्बा/सुपरस्टार जेभीले २०७७ असार ३० गते सम्झौता भएको थियो । सम्झौताको मिति सकिएर म्याद थप गरेर २०८१ साल असार २० गते म्याद सकिएपनि उक्त पुलको भौतिक प्रगति हालसम्म ३५ प्रतिशतमात्र रहेको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिए ।

जारकोटमा पक्की पुल निर्माण गर्ने भनी २०७७ असोज १३ गते हिराचन/कारभान/सुपरस्टार जेभीले ठेक्का लिएकामा हालसम्म उक्त ठेक्काको २५ प्रतिशतमात्र रहेको छ । म्याद थपसहितको अन्तिम मिति २०८१ जेठ ३० गते समाप्त भएको थियो । त्यस्तै दैलेखमा समेत हालत उही रहेको छ ।

दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जुनी जाजरकोट जिल्ला जोड्ने सडकसमेत अलपत्र पर्दै आएको छ । यसको ठेक्का बिरूवा सिद्धान्त श्रृङ्गेश्वर जेवीले लिएको थियो । यसको पनि भौतिक प्रगति निरासाजनक रहेको छ । यो सडक पटकपटक निर्माण गर्दा पनि निर्माण व्यवसायीले काम अगाडि बढाउन नचाहेको मन्त्रालयमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साङ्गेतडा–ब्रिन्दासैनी–चामुण्डा बाटो निर्माण गर्ने भनी मोतिदान–लाल सुभ–मेन्द्रो जेभीले काम अलपत्र पार्दै आएको छ । कोप्ची कट्टी बेस्तडा रूम चौराठा देउली दैलेख सडकको काम वाइबा र लामा/लोपूर्ण जेभीले अलपत्र पार्दै आएको पाइएको छ । सान्ताडा मेहलतोली पातिहाल्ना जाजरकोट सडकको समेत अवस्थामा खराब छ । यसको प्रगति पनि निरासाजनक नै रहेको छ । यसको ठेक्का नाना निर्माणले लिएको छ ।

रबट छामघाट खोला पक्की पुल निर्माणको काम जलजला जय मा स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ । पटकपटक म्याद थप गर्दा पनि १० जिल्लामा निम्न आयोजना निर्माण हुन नसकेर थन्किएका छन् । निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले फोन अफ गरेर बसिरहेको पाइएको छ । सुर्खेतमा बड्डीचौर बिम्रेनी बाबियाचौर विद्यापुर सडक अनक/जयदेवी जेभीले अलपत्र परेको छ । रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुङ्ग/जागृती जेभीले निर्माणमा समस्या बनाउँदै आएको मन्त्रालयले बताएको छ ।

मङ्गलगढी काँक्रेविहार सडक योजना अमर/सिस्ने/मेघा जेभीले बीचमै अलपत्र पारेको छ । कुइने जामु बाबियाचौर भक्तरी जगलघाट सडक अनक/जयदेवी/सनलाइट जेभीले, प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक कान्छाराम कन्स्ट्रक्सने, तल्लो करेली पक्की पुल निर्माण भेरीगंगा–१३ को पुलगाल्वा निर्माण सेवा काठमाडौँले, घाटगाउँ गटु सालम कोरालाबास कुल्लीमोर सडक श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी काठमाडौँले ठेक्का लिएर बीचमै छाडेको अवस्थामा रहेको मन्त्रालयका सूचना अधिकारी कार्कीले जानकारी दिए ।

हुम्लाको लालीबगर औलाथली मोटरेबल पुल सूर्य–एचएम–श्रेया जेभीले लिएर अलपत्र पारेको छ । याँचु बजार (पालिका केन्द्र) देखि तुमलिक मोटरेबल पुल, खार्पुनाथ गाउँपालिका हुम्ला सडक पुल पुनः सूर्य-एचएम–श्रेया जेभीले नै लिएर अलपत्र परेको छ । जुम्लाको झारज्युला निधार पक्की पुल गल्वा अमित जेभीले लिएर बीचमै छाडेको पूर्वाधार विकास कार्यालय जुम्लाले मन्त्रालयमा पत्र पठाएर जानकारी दिएको छ ।

मुगुको दोमुख तारापानी गमगढी नाक्चे लाग्ने सडक निर्माणको जिम्मेवारी लिएको खानी जगदम्बा मिसन जेभी, झुगला बेलिब्रिज वा मोटरेबल पुलको काम कन्काई–कुशेश्वर निसान जेभी, दोमुख पक्की पुलको काम मृत सञ्जीवनी निर्माण सेवाले हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुखबाट गमगढी नाक्चेलाग्न सडक अदालतमा मुद्दा परेका कारण ढिला भइरहेको छ ।

रूकुम पश्चिममा चिसापानी–राडी–नदुवा–मुसीकोट सडक (बहुवर्षीय)को काम पिएस जिएसएचसीले, छेरावगर पक्की पुलको काम सपना सिस्ने खड्का जेभीले लिएको छ । सबै काम सन्तोषजनक नभएको पाइएको छ । पूर्वाधार विकास कार्यालय सल्यानका अनुसार बालुवा सङ्ग्रही कुपिण्डे खलङ्गा सडकको काम गलवा/धुलिखेल जेभीले र बागचौर–पातीहाल्न बगरखोला पुलको ठेक्का प्राकृतिक निशानभूमि जेभीले लिएर अलपत्र पारेको छ । यी सबै ठेक्काका काम ३० देखि ५० प्रतिशत भई बीचमै अलपत्र पारिएको छ ।

चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ ।

पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुभारम्भ गर्दै यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नजिकै रहेको उपर्दाङ्गगढीमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, धेरै पर्यटक आउँदा गढीका होमस्टेमा बास नै पाइँदैन ती पर्यटक यहाँ बास बस्न आउँछन् जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवद्र्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको बताए । उनले घुर्केश गाउँमा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए ।

होमस्टे प्रवर्द्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, वेशभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पुर्याउने बताइएको छ । घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ ।

पूर्व–वडाध्यक्षसमेत रहेका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेका थिए । त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि बैंक घर भनेर चिनिन्छ । सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ ।

यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उनी बताउँछन्। तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका छन् ।

इच्छाकामनाको पर्यटकीयस्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला र मायाटार नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवामगन बृद्धि हुने जनाइएको छ ।

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

गोरखा । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ ।

विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिए ।

“यस वर्ष परीक्षणका रुपमा अहिले एक रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको छ”, उनले भने, “उक्त जमिनमा करिब छ सय बिरुवा लगाइएको छ, यसबाट राम्रो उत्पादन भए थप जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ ।”

विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि धारका विद्यार्थी स्ट्रबेरीखेती गर्ने काममा जोडिएको उहाँको भनाइ छ । “उत्पादनपछि बिक्री भएको आम्दानीको ६० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने विद्यालयले निर्णय गरेको छ”, प्रधानाध्यापक सेडाईले भने, “परीक्षण सफल भए आगामी वर्ष १० रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरीखेती गर्ने योजना विद्यालयको छ ।”

स्थानीयस्तरमा अहिलेसम्म अन्यत्र स्ट्रबेरी खेती पनि नभएको र बजार मूल्य पनि राम्रो भएकाले विद्यालयले स्ट्रबेरीखेतीलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

विद्यालयले कृषि धारमा अध्ययनरत विद्यार्थीलाई उत्पादनमा जोड्न करिब १० रोपनी खेत र आठ रोपनी पाखाबारी भाडामा लिएर धान, मकैलगायत बेमौसमी तरकारीखेती समेत गर्दै आएको छ ।

विद्यालयले गर्दै आएको कृषिखेतीबाट विद्यार्थीलाई किताबकापी खर्च, खानाखाजा तथा पोसाक किन्न सहज हुँदै आएको छ ।

असदलाई सत्ताच्युत गर्ने लक्ष्य रहेको सिरियाली विद्रोही नेताको भनाइ

बेरुत । विद्रोही सेनाहरूले सिरियामा जबर्जस्त आक्रमण गर्दै राष्ट्रपति बशर अल–असदको शासनलाई उल्ट्याउने लक्ष्य राखेको उनीहरूका इस्लामिक नेताले बताएका छन् ।


सरकारले नियन्त्रण गरेको अन्य प्रमुख शहरहरूलाई कब्जामा लिएपछि इस्लामिक नेतृत्वमा रहेका विद्रोहीहरू होम्सको ढोकामा पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।


सन् २०११ मा गृहयुद्ध सुरु भएपछिको पहिलो पटक सिरियाको दोस्रो सहर अलेप्पो र रणनीतिक रूपमा अवस्थित हामा असदको नियन्त्रणबाट बाहिरिएको छ ।


यदि विद्रोहीहरूले होम्स कब्जा गरे भने यसले विगत पाँच दशकदेखि सिरियामा शासन गरिरहेको असद परिवारको प्रमुख गढ भूमध्यसागरीय तटबाट राजधानी दमास्कसको शक्ति केन्द्रलाई काट्नेछ ।


सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मोनिटरका अनुसार शुक्रबार बिहानसम्म विद्रोहीहरू होम्सको किनारबाट पाँच किलोमिटर मात्र टाढा थिए ।


हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनका नेता अबु मोहम्मद अल–जोलानीले आक्रमणको लक्ष्य असदको शासन अन्त्य गर्नु रहेको बताए ।


“जब हामी उद्देश्यको बारेमा कुरा गर्छौं, क्रान्तिको लक्ष्य यो शासनलाई उखेल्नु हो । त्यो लक्ष्य हासिल गर्नका लागि हामीलाई उपलब्ध सबै साधनहरू प्रयोग गर्ने अधिकार छ”, जोलेनीले सिएनएनलाई दिएको अन्तर्वार्तामा भने ।

नोभेम्बर २७ मा सुरु भएको आक्रमणलाई सञ्चालन गर्ने विद्रोही गठबन्धनको नेतृत्व एचटिएसले गरिरहेको छ । यो अल–कायदाको सिरियाली शाखामा आधारित छ तर हालका वर्षहरूमा आफ्नो छवि सुधार्न प्रयास गर्दै आएको छ ।


अब्जर्भेटरीका अनुसार सिरियाली सेना र इरान समर्थित बलहरू ‘अचानक’ पूर्वी सिरियाको देइर एजोरबाट पछि हटेर मध्य सिरियातर्फ गएका छन् । त्यहाँ होम्स अवस्थित छ ।


इजरायल र लेबनानी समूह हिजबुल्लाह बीचको युद्धमा युद्धविराम लागू भएकै दिन विद्रोहीहरूले उत्तरी सिरियामा आफ्नो आक्रमण सुरु गरे । हिजबुल्लाह रूस र इरानसँगै असद सरकारको महत्त्वपूर्ण समर्थक रहेको छ।


विपक्षीलाई समर्थन गर्ने टर्कीले शुक्रबार सिरियाको अवस्थाबारे छलफल गर्न कतारमा रुस र इरानसँग यस सप्ताहन्तमा वार्ता गर्ने बताएको छ ।


टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले शुक्रबार विद्रोहीहरूको प्रगति ‘कुनै घटना बिना’ हुने आशा गरेको बताए ।


सिरियाको कुर्दिश नेतृत्वको सेनाले शुक्रबार टर्की र विद्रोहीहरूसँग वार्ताका लागि खुला रहेको भन्दै आक्रमणले देशका लागि ‘नयाँ’ राजनीतिक वास्तविकताको घोषणा गरेको बताएको छ ।

– डर –

विद्रोहीहरूको अग्रगमनको डरले असदको अलावी अल्पसङ्ख्यकका दशौँ हजार सदस्य बिहीबार होम्सबाट भाग्न थालेको बासिन्दाहरू र अब्जर्भेटरीले बताएका छन् ।


गृहयुद्धको प्रारम्भिक वर्षहरूमा होम्स विपक्षी क्षेत्रहरूको वर्षौं लामो सरकारी घेराबन्दी र घातक साम्प्रदायिक आक्रमणहरूको दृश्य थियो ।


लोकतन्त्र विरोधी प्रदर्शन असदको क्रूर दमनबाट युद्ध सुरु भयो र कार्यकर्ताहरूले सहरलाई सरकारविरुद्ध ‘क्रान्तिको राजधानी’ भनेर उल्लेख गरे ।


विद्रोहको दमनबाट देशबाट निकालिएका सिरियालीहरू घटनाक्रम हेरिरहेका बेला उनीहरूको फोनमा टाँसिएका थिए ।


शुक्रबार विद्रोही गठबन्धनले हामा र होम्सबीचको मुख्य सडकमा रस्तान र तालबिसेहका शहरहरूमा प्रवेश गरेको अब्जर्भेटरीले बतायो । अब्जर्भेटरीका अनुसार गुटहरूले सरकारी बलको ‘पूर्ण अनुपस्थिति’ को सामना गर्नुपरेको थियो ।


सोशल मिडियामा पोस्ट गरिएको र एएफपीले प्रमाणित गरेको फुटेजमा विद्रोहीहरूले तालबिसेहमा गाडी चलाइरहेका बेला आकाशमा गोली चलाइरहेका देखिन्छन् ।


सिरियाको रक्षा मन्त्रालयले सेनाले हामा प्रान्तमा ‘आतङ्कवादी’ लडाकुहरू विरुद्ध आक्रमण गरेको बताएको छ ।


– विशाल धक्का –


सिरियाका स्रोतहरूको नेटवर्कमा भर पर्ने अब्जर्भेटरीले गत हप्ता हिंसा भड्किएपछि सिरियामा ८२६ जना मानिस मारिएको बताएको छ । यसमा अधिकांश लडाकू तर १११ जना सर्वसाधारण पनि छन् । 


संयुक्त राष्ट्रसङ्घले हिंसाबाट दुई लाख ८० हजार व्यक्ति विस्थापित भएको र यो सङ्ख्या १५ लाखसम्म पुग्नसक्ने चेतावनी दिएको छ ।


अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले भने, “होम्मसका केही भागबाट सिरियाली अलावीहरूको ठूलो पलायन भएको छ, विद्रोहीहरूको अग्रगमनको डरले दशौँ हजार सिरियाली तटतर्फ गइरहेका छन् ।”


हालैका दिनहरूमा देखिएका धेरै दृश्यहरू युद्धको प्रारम्भमा अकल्पनीय थिए ।


विद्रोहीहरूले टेलिग्राममा सरकारी सेनासँगको सडक युद्धपछि हामालाई कब्जा गरेको घोषणा गरे र यसलाई ‘सहरको पूर्ण मुक्ति’ भनेर वर्णन गरे ।