`

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सातवर्ष कैद सजायको माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो ।

उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै प्रसाईंले अफवाह फैलाएका थिए ।

त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रसाईंको थुनछेक बहस बिहीबार हुनेछ । प्रसाईंविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ ।

अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दैछौँः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनका लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताएका छन् ।


अर्थ समितिको बुधबारको बैठकमा उनले आयोजनाको वर्गीकरणसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कुन तहका सरकारले कस्तो आयोजना कार्यान्वयन गर्ने भनेर स्पष्ट पारिनुपर्ने बताए ।

‘हामीसँग हजारौँको सङ्ख्यामा खल्तीका आयोजना छन् । विस्तृत अध्ययन र सम्भाव्यताबिना नै त्यस्ता आयोजनामा बजेट परेका छ । सङ्घ सरकारको बजेटमा ७५ हजार लागतको योजना पनि परेको देखियो । यसरी हजार र लाखका योजना केन्द्र सरकारले राख्यो भने प्रदेश, स्थानीय तह, वडाले कस्ता योजना बनाउलान् र कार्यान्वयन गर्लान् ?’, उनले भने, ‘विनियोजन कौशल भएन भने स्रोतको सही सदुपयोग हुन सक्दैन । यसकारण योजनाको वर्गीकरण चाहियो ।’

निर्माण व्यवसायीको दायित्व सरकारले नरोकेको पनि उनको भनाइ छ । विधि र प्रक्रिया पुर्‍याएर आए सरकारले कुनै पनि निर्माण व्यवसायीको भुक्तानी नरोक्ने उनले स्पष्ट पारे ।

मुलुकको अर्थतन्त्रको अवस्था बिस्तारै सुधारोन्मुख देखिए पनि त्यसको गतिबाट आफू सन्तुष्ट नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ थियो ।

‘अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दैछौँ । लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैन’, अर्थमन्त्री पौडेलले भने, ‘विदेशी मुद्रा सञ्चिति राम्रो छ । पर्याप्त तरलता र ब्याजदर घेटेको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । तर यो प्रगतिसँग हामी सन्तुष्ट छैनौं । यसमा थप सुधार आवश्यक छ । अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन ।’

गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोहि अवधिमा सरकारी राजस्व बढेको देखिए पनि लक्ष्यअनुसार भने अझै सङ्कलन हुन नसकेको अर्थमन्त्री पौडेलले बताए ।

राजस्व प्रशसनमा रहेका समस्यालाई गम्भीर भएर निगरानी बढाइए पनि सरकारका प्रयास सम्पूर्ण रुपमा सफल हुन नसकेको उनको भनाइ छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले राखेको राजस्व लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको भन्दा करिब ३० प्रतिशत बढी राजस्व उठाउने पर्नेगरी महत्वाकाङ्क्षी भएर अर्थमन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।

अहिले बजारमा तरलता पर्याप्त हुँदा र ब्याजदर घट्दा पनि लगानी बढ्न नसक्नुको कारणबारे आफूले नेपाल राष्ट्र बैङ्कसँग कुरा गरेको पनि अर्थमन्त्री पौडलले समितिलाई जानकारी दिए ।

त्यस्तै, सेयर भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र कर्नरिङ जस्ता समस्या देखिएकाले त्यसलाई नियन्त्रण गर्नका लागि पहल भइरहेको उनले बताए । नेपालले इतिहासमै पहिलोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरेको र यसको नतिजा सन्तोषजनक अवस्था देखिएकाले अब विस्तारै लगानी बढ्दै जाने आशा व्यक्त गरे । सरकारले आफ्नो आवश्यकता र क्षमता हेरेर सार्वजनिक ऋण लिने पनि उनले स्पष्ट पारे ।

बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले घटेको बजार माग र निजी क्षेत्रको मनोबल उकास्नु अहिलेको मुख्य चुनौती रहेको बताएका थिए ।

‘हाम्रो अर्थतन्त्रका समस्या बिस्तारै कम हुँदै गए पनि अझै कायम छन् । निजी क्षेत्रको आत्मविश्वास बढाउने चुनौती हाम्रासामु छ । बजारमा माग पनि घेटेको छ’, डा महतले भने, ‘सेयर बजारमा सुधार भए पनि स्वस्थकर रुपमा विकास हुन सकेको छैन । निकायम निकायहरुले समस्या हल गर्नेभन्दा पनि समस्या बढाउने काम गरेका छन् ।’

नेपालको बीमा क्षेत्र निकै अपारदर्शी रहेको र त्यहाँ मिलेमतो गरेर बीमाको दररेर आफूखुसी तय गर्ने प्रवृत्तिले कारोबार लागत बढी हुन गई आयोजनालाई समस्या भइरहेको उनको भनाइ छ ।

त्यस्तै, वैदेशिक सहयोगका आयोजनालाई दिइएको भन्सार छुट दिएको दुरुपयोग भइरहेको पनि पूर्वअर्थमन्त्री डा महतको भनाइ छ । उनले भने, ‘नेपालको सार्वजनिक ऋणको दायित्व निकै बढी भइसकेकाले अब विचार पुर्‍याएर मात्र ऋण लिनुपर्छ, द्विपक्षीय ऋण रोक्नै पर्ने बेला भएको छ । बहुपक्षीयबाट भने लिन सकिन्छ । किनकि त्यसका सेवा सर्त सहज छन् ।’

समिति बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताए । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि प्रक्रिया थाल्ने उल्लेख गरेको र त्यसका लागि सरकारले उच्चस्तरीय सुझाव कार्यदल पनि गठन गरिसकेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता पूर्वअर्थमन्त्री डा महतले तयार पारेको, बजेट आफूले तयार पारेको र कार्यान्वयन गर्ने बेलामा वर्तमान अर्थमन्त्री पौडेलले जिम्मेवारी सम्हालेकाले अहिलेको बजेट पूर्वाग्रहरहित भएर कार्यान्वयन गर्न पनि उनल आग्रह गरे । लक्षित राजस्व पुर्‍याउन सरकारका अहिलेका प्रयास पर्याप्त नरहेको पनि पुनको भनाइ छ ।

सहकारी क्षेत्र नियमनका लागि जतिसक्दो चाँडो छुट्टै निकाय गठन गर्न पनि उनले सरकारसँग आग्रह गरेका थिए । बैठकमा सांसद उपेन्द्र यादवले कोभिड–१९ महामारीपछि बन्द रहेका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा ल्याउनुपर्ने तथा सीमा क्षेत्रमा हुने चोरी–पैठारी रोकिनुपर्ने विषय उठाए ।

बैठकमा सांसद विराजभक्त श्रेष्ठले मुलुकमा अनौपचारिक अर्थतन्त्रको आकार बढ्दै गएको र अवैध हुण्डी मौलाएको बताउनुभयो । अहिले धराशयी अवस्थामा रहेको सहकारी क्षेत्र नियमनका लागि तत्काल पहल थाल्न सरकार असफल भएको पनि उनले आरोप लगाउए । उनले भने, ‘विकास खर्च प्रतिफल ठाउँमा मात्रै लगानी गर्नुपर्छ ।’

कुमोन शिक्षा कार्यक्रम नेपालमा कार्यान्वयनमा

काठमाडौँ । विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ ।

बुधबार आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो ।

सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, ‘आइक्यु’को स्तर वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुग्ने बताइएको छ ।

विभिन्न ४० भन्दा बढी विद्यालयका प्रधानअध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपिओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्वमा जोड दिए ।

जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थीहरू (करिब ४० लाख)ले कुमोन विधि प्रयोग गरिरहेको बताइन् । यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रहरूमा सञ्चालित छन् ।

यस विधिले लाखौँ बालबालिकाको मनोवैज्ञानिक विकासमा योगदान पुर्याउँदै उनीहरूलाई स्वतन्त्ररूपमा सिक्न र आलोचनात्मक सोच विकास गर्न प्रेरित गर्दै आएको छ ।

कुमोन आइजिसी नेपालका अध्यक्ष गणेशमान लामाले यस विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित कार्यक्रमको रूपमा बुझ्न आग्रह गरे । यसले परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्ने बताए ।

कार्यक्रममा एलआरआई स्कुलकी संस्थापक ट्रस्टी डा यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज विश्वकर्माले कुमोन कार्यक्रम अपनाएपछि आफ्ना विद्यार्थीहरूको व्यवहार र शैक्षिक क्षमतामा सकारात्मक परिवर्तन देखापरेको बताए ।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कुमोनजस्ता कार्यक्रमहरूको आवश्यकता रहेको उल्लेख गरे ।

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालन

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३-११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान गर्नुका साथै ११ केभी लाइन निर्माण गरिएको हो ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायत ६३ वटा परियोजना सम्पन्न भएका छन् भने १० परियोजना सञ्चालित रहेका जलविद्युत् आयोजनाका सञ्चार विज्ञ सचिन गौतमले जानकारी दिए।

आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेका छन् । कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा एक सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको उनले बताए।

निर्माण कम्पनीले चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो मुख्य बाँध निर्माण, चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण, मुख्य सुरुङ निर्माण भइरहेका छन् । मुख्य संरचनालाई तीन चरणमा विभाजन गरी निर्माण भइरहेको बताउँदै निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको आयोजनाका सञ्चार विज्ञ गौतमले जानकारी दिए। उनका अनुसार समग्र निर्माण विसं २०८३ असारभित्र ९सन् २०२६ मे० सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा  दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ ।

त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि  एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका छन् ।

मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । जसमा किसानले ‘प्रिपेड कार्ड’को माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ ।

यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ । परियोजनाको मुख्य उद्देश्य कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता र खाद्य सुरक्षा प्रवर्द्धन गर्नु हो ।

त्यसैगरी जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरहरुप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ ।

यसले खानेपानीको समस्या समाधान गर्न, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन, कृषि वन र वन व्यवस्थापनका माध्यमबाट सशक्त बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताए ।

एडिबीका देशीय निर्देशक कोश्वाले यी परियोजनाका विशेषता र यसले नेपालको आर्थिक क्षेत्रमा ल्याउने योगदानको चर्चा गर्दै जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडिबीले नेपाललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए । यी सम्झौता नेपाललाई दिगो विकास हासिल गर्न र जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे 

कोलम्बो बन्दरगाहका लागि अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता

नयाँदिल्ली । भारतको अडानी समूहले श्रीलङ्कामा बन्दरगाह निर्माणका लागि अमेरिकी सरकारको समर्थनमा ऋण मागेको आफ्नो अनुरोध फिर्ता लिएको छ ।

न्युयोर्कमा महत्त्वपूर्ण अभियोग दर्ता भएको केही हप्तापछि यो कदम आएको हो । अभियोगमा समूहका अर्बपति संस्थापक गौतम अडानीमाथि घुसखोरी योजनाको एक हिस्साको रूपमा जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई गुमराह बनाएको आरोप लगाइएको छ ।

अडानी पोर्ट्स एन्ड स्पेशल इकोनोमिक जोन लिमिटेडले मङ्गलबारको एक विवरणमा उसले कोलम्बो वेस्ट इन्टरनेशनल टर्मिनल निर्माणका लागि युनाइटेड स्टेट्स इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी) बाट ५५ करोड ३० लाख डलरको ऋण अनुरोध फिर्ता लिएको विज्ञप्तिमा बताएको छ ।

“यस परियोजनाले राम्रोसँग प्रगति गरिरहेको छ र अर्को वर्षको सुरुमा सम्पन्न हुने बाटोमा छ”, विज्ञप्तिमा भनिएको छ, “यस परियोजनालाई कम्पनीको आन्तरिक स्रोत र पूँजी व्यवस्थापन योजनामार्फत वित्त पोषण गरिनेछ ।”

बन्दरगाहको अनुमानित लागत ७० करोड डलर छ र यो चीनद्वारा सञ्चालित यस्तै सुविधाको नजिक रहेको छ । डिएफसीसँगको ऋण सम्झौतालाई गत वर्ष अन्तिम रूप दिइएको थियो । यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको प्रतिरोध गर्ने माध्यमका रूपमा हेरिएको थियो ।

श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त जलमार्गको बीचमा अवस्थित छ, जसले मध्यपूर्व र पूर्वी एसियालाई जोड्छ र यसको समुद्री सम्पत्तिहरूलाई रणनीतिक महत्त्व दिन्छ ।
यसअघि भारत र अमेरिकाले पनि बेइजिङले श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आफ्नो पकड जमाएर सैन्य फाइदा लिन सक्ने चिन्ता व्यक्त गरेका थिए ।

नोभेम्बरमा अडानीविरुद्ध अभियोग लगाइएपछि श्रीलङ्काले बन्दरगाह र ४४ करोड २० लाख डलरको पवन ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनाहरूको अनुसन्धान सुरु गरेको थियो ।

अमेरिकी अभियोजकहरूले यसका संस्थापक र अन्य वरिष्ठ अधिकारीहरूमाथि भारतीय सरकारी अधिकारीहरूलाई घुस दिएको आरोप लगाएको अभियोगपछि अडानी समूहले शेयर बजारमा लगभग ५५ अर्ब डलर गुमाएको बताएको छ ।

कोइला, विमानस्थल, सिमेन्ट र मिडियामा फैलिएको व्यापारिक साम्राज्यका साथ अडानी समूहले पहिले पनि कर्पोरेट धोखाधडी आरोपहरूको सामना गरेको छ र गत वर्ष यस्तै शेयर बजार पतनको सामना गरेको थियो । हिन्डेनबर्ग रिसर्चको एक प्रतिवेदनले यसलाई ‘निर्लज्ज’ कर्पोरेट जालसाजीको आरोप लगाएपछि समूहको बजार मूल्यबाट एक खर्ब ५० अर्ब डलर घाटा भएको थियो ।

रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

बेइजिङ । रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

‘रूसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रूसबीचको महत्वपूर्ण उच्चस्तरीय विचारहरूको आदानप्रदान हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने।

माओले रूसी सुरक्षा परिषद्को उपप्रमुखका रूपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिएनन् ।

सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उनी बेइजिङका लागि छुट्नु अगाडी रूसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

चीन रूको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रूपमा चित्रण गरेका छन् । बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन । सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ ।

नेपाली कांग्रेसद्वारा भातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्

काठमाडौंद्वारा लुम्बिनी लायन्स १८ रनले पराजित

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे । 

त्यसैगरी, उन्मुक्त चन्दले १९ बलमा १३ रन बनाउँदा सूर्य तामाङ ११ रन जोड्दै अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल आठ, टम मुर्स छ तथा ओपनर आशुतोष घिरैया चार रनमा आउट भए । 

काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिए भने दीपेश कँडेलले तीन विकेट लिए । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा एक सय तीन रनको योगफल बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेस गौतम र रेमन सिमण्डसले समान दुई– दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए । 

पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो ।

चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बुधबार दुई खेल हुनेछ । जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् ।

बुधबार ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीले काठमाडौँमा आयोजना गरेको रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘सरकारले रोजगारी दिने होइन सुविधा दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र हुने भएकाले रोजगारीको प्रमुख स्रोत पनि निजी क्षेत्र हो ।’

सोही कार्यक्रममा बोल्दै मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको उनले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि महाशाखा, बोर्ड र विभाग भए पनि आन्तरिक रोजगारीका लागि केही व्यवस्थापन भएकाले आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागिएको मन्त्री भण्डारीको भनाइ छ ।

‘मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापनाले मुलुकभित्रका रोजगारीको सम्भावनाहरूलाई प्रवर्द्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्नेछ’, उनले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ ।

आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ ।

‘यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक तथा कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ’, रजिस्ट्रार महतले भने, ‘यो निर्णय संस्थागत हितका लागि महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ, प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं योगदानलाई कदर गर्दै, वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ ।’

लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । तत्कालीन समयमा २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो ।

तीन वर्षको प्रयास र विभिन्न कठिनाइ पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको रजिस्ट्रार महतको भनाइ छ ।

‘प्रतिष्ठानको दीर्घकालीन हितका लागि लोकसेवा आयोगजस्तो विश्वसनीय संस्थामार्फत पदपूर्ति गर्नुपर्ने आवश्यकता थियो, यो निर्णयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति भित्र्याउन ठूलो सहयोग पुर्‍याउने छ’, प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने।

रत्नेचौर-भकुन्डे-भकिम्ली सडकको ७० प्रतिशत प्रगति

म्याग्दी । सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ०७९ भदौ ६ गते गजेन्द्र-नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबिच भ्याटबाहेक रु. २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ ।

०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका- १, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो ।

अहिले सडक फराकिलाे पार्ने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भइरहेको र दैनिक ४० जनाले काम गरिरहेका सडक कार्यालयका इन्जिनियर अरुण सेढाईंले जानकारी दिए । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किलाेमिटर आरसिसी ढलान गर्ने उनको भनाइ छ ।

‘अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ, ठेक्का अवधि सकिन चार महिना मात्र बाँकी छ, समयमा नै बजेट प्राप्त भए पुसमा ग्राभेल गर्ने, माघमा बेस बिछ्याउने र फागुनदेखि कालोपत्रको काम गर्ने योजना हो,’ सेढाईंले भने ।

घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भइरहेको सेढाईंले बताए । संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्त्वको सडक आयोजना सञ्चालन गर्न रु. ४०–४० करोड विनियोजन गरेको थियो । भकुन्डे तथा उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ । पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी– ३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।

संघीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलाेमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।

नेप्सेमा पाँच अर्ब पाँच करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । बुधबार नेप्से ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन खानी खोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय आठ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३६ करोड रुपैयाँको शेयर खरिद÷बिक्री भयो ।

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

विन्जाओ (चीन) । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो । 

फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक प्राकृतिक सम्पदा, पर्यटन क्षेत्र, कलासंस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ । 

प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको छ । सान्तोङ प्रान्तका पूर्वउप–प्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (नेपाल) र विन्जाओ फोटोग्राफर एसोसिएसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफीसम्बन्धी सामग्र्री आदानप्रदानमा सहकार्य गर्ने सम्झौता भएको एनएफपिजेका केन्द्रीय अध्यक्ष वन्तले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्र मामिला निर्देशक पाइमिईले फोटोग्राफीमार्फत नेपाल–चीनको मैत्रीसम्बन्ध बलियो बनाउनाका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताए ।

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

४७ लाख ४९ हजार रुपैयाँसहित मोरङबाट एक महिला पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित मोरङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको रंगेली नगरपालिका–८ दर्वेशाकी ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई ४७ लाख ४९ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुम्बिनीलाई १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर २ बलमा १०३ रनमा अलआउट भयो । काठमाडौंका भीम सार्कीले ३१ रन बनाए ।

लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए । एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

रविलाई पोखरा लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो ।

बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो । लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।

त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।

युक्रेन सङ्कट समाधान आफ्नो पहिलो प्राथमिकता भएको ट्रम्पको भनाइ

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

“मलाई लाग्छ हामीले रूससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ, अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार रेकर्ड गरिएको एक अन्तर्वार्तामा भने ।

“ती दुवै देशले ठूलो सङ्ख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौं सैनिक मारिएका छन्,” ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भने ।

“मध्यपूर्व निश्चित रूपमा एक ठूलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रूससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो,” ट्रम्पले भने।

उनले भने, “तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू मरिरहेका छन्।”

ट्रम्प सन् २०१९ मा भएको भीषण आगलागीपछि ‘नोट्रे डम क्याथेड्रल’ पुनः सञ्चालनका लागि शनिबार पेरिस आएका थिए । फ्रान्स भ्रमणका क्रममा उहाँले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

“राष्ट्रपति जेलेन्स्कीसँग हाम्रो भेट भयो र भेटमा सकारात्मक कुराकानी भएको छ,” ट्रम्पले भने । जेलेन्स्कीले मङ्गलबार युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्पको दृढ सङ्कल्पप्रति आफू कृतज्ञ रहेको बताएका थिए ।

ट्रम्पले २४ घण्टाभित्र युक्रेनको द्वन्द्व अन्त्य गर्न सकिने बताएका थिए । आइतबार उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका थिए, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ ।”

सिरियामा लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई विद्रोहीले सत्ताच्यूत गरेको सिरियामा हस्तक्षेप नगर्न पनि उनले वासिङ्टनलाई आग्रह गरेका छन् ।

“सिरियाले आफ्नो सुरक्षा गर्नुपर्छ,” ट्रम्पले अन्तर्वार्तामा भनेका छन् । हामी सिरियामा संलग्न छैनौँ र हुने सम्भावना पनि छैन ।”

चिनियाँ ह्याकर खोज्नेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले मंगलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह-षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ ।

विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन् । गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मंगलबार मुद्दा खोलिएको थियो ।

अर्थ मन्त्रालयले गुआनले सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडका लागि काम गरेको कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । अभियोगअनुसार गुआन र सिचुआन साइलेन्सका सह-षड्यन्त्रकारीहरूले कथित रूपमा बेलायतमा आधारित साइबर सुरक्षा कम्पनी सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएका थिए ।

“प्रतिवादी र उनका सह-षड्यन्त्रकारीहरूले विश्वभरका दशौँ हजार नेटवर्क सुरक्षा उपकरणमा क्षति पुर्‍याउने गरी आक्रमण गरे, जसका कारण उनीहरू विश्वभरका प्रयोगकर्ताहरूको डाटा चोर्न सफल भए”, उप महान्यायाधिवक्ता लिसा मोनाकोले विज्ञप्तिमा भने ।

सन् २०२० को अप्रिलमा विश्वभरका ८१ हजार फायरवाल उपकरणमा एकै समयमा आक्रमण गरिएको थियो, जसको उद्देश्य प्रयोगकर्ता नाम र पासवर्ड लगायत डाटा चोर्नु र रानसमवेयरद्वारा कम्प्युटरहरूलाई सङ्क्रमित गर्नु थियो ।

अमेरिकाका करिब २३ हजार फायरवाल उपकरण थिए, तीमध्ये ३६ वटा ‘महत्त्वपूर्ण पूर्वाधार कम्पनीका प्रणालीहरू’ सुरक्षित गरिरहेका थिए । “गुआन तियानफेङ र उनका सह-षड्यन्त्रकारीहरूले फेला पारेको र दोहन गरेको जिरो-डे कमजोरीले अमेरिकाका व्यावसायिक संस्थाहरूलाई असर पार्‍यो”, एफबीआई एजेन्ट हर्बर्ट स्टापलेटनले भने, “यदि सोफोसले द्रुत रूपमा कमजोरीको पहिचान र व्यापक प्रतिक्रिया तैनाथ नगरेको भए क्षति अझ गम्भीर हुन सक्थ्यो ।”

अभियोगअनुसार सिचुआन साइलेन्सले आफ्ना सेवाहरू र ह्याकिङबाट प्राप्त डाटालाई चिनियाँ व्यवसाय र सार्वजनिक सुरक्षा मन्त्रालय लगायत सरकारी संस्थाहरूलाई बेचेको थियो ।

सिचुआन साइलेन्समा दर्ता गरिएको फोन नम्बरमा कलको जवाफ दिने एक व्यक्तिले कम्पनीले ‘अन्तर्वार्ता स्वीकार नगरेको’ र प्रतिबन्धहरूमा टिप्पणी गर्न अस्वीकार गरेको बताए । आफ्नो परिचय नदिने ती व्यक्तिले गुआनसँग ‘सम्पर्क गर्न असम्भव छ’ भने ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

सोल ।  दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान भइरहेका बेला प्रहरीले बुधबार उनको कार्यालयमा छापा मारेको छ।

जेल प्रशासनका अनुसार देशका पूर्व रक्षामन्त्रीले डिसेम्बर ३ को रातिको घटनालाई लिएर औपचारिक रूपमा पक्राउ पर्नुभन्दा केही समयअघि आत्महत्याको प्रयास गरेका थिए ।

सैन्य शासन लागु भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई यूनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नको लागि प्रयास गरिए पनि विपक्षी गठबन्धनले सेनाको घेरालाई तोड्दै संसद्मा राष्ट्रपतिविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो ।

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रिय सभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ ।

विज्ञप्तिमा छापापछिको विकासक्रमको बारेमा थप विवरण दिइएको छैन । यसैबीच, पूर्व रक्षामन्त्री किम योङ ह्युनले हिरासतमा रहँदा मंगलबार मध्यरातमा आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

किमलाई पहिलो पटक आइतबार पक्राउ गरिएको थियो । उनलाई औपचारिक रूपमा पक्राउ गर्नुभन्दा केही समयअघि नै उनले आत्महत्याको प्रयास गरेको न्याय मन्त्रालय र जेलका एक अधिकारीले बताएका छन् ।

बुधबार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । किमलाई ‘सैनिक कानून घोषणा गर्न महत्वपूर्ण भूमिकामा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पुर्‍याउन पदीय मर्यादाको दुरुपयोग गरेको’ आरोपमा पक्राउ गरिएको थियो ।

आलु र भाङको बजारीकरण गर्दै निसी गाउँपालिका

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि आलु र भाङको प्रवर्द्धन गरेर किसानलाई तत्कालै आम्दानीसँग जोड्ने योजनासहित गाउँपालिकाले बजारीकरण गर्न थालेको हो ।

निसीखोला गाउँपालिकाका अधिकांश ठाउँमा आलु फल्छ । स्थानीय जातको आलु स्वादिलो हुने भएकाले काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा यहाँको आलु पुग्ने गरेको स्थानीय बताउँछन् । परम्परागत रूपमा गाउँपालिकाको उपल्लो क्षेत्रमा बर्खे र तल्लो क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ ।

ताराखोला र ढोरपाटनमा फल्ने आलु चर्चामा बढी छ घने निसीको भाङ चर्चित रहेको निसीखोला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पूर्वमा ताराखोला र पश्चिमका सहरमा ढोरपाटनको आलुको बढी चर्चा हुने गरेको छ ।

निसीखोलाका किसानले पनि हरेक वर्ष सयौँ किलो आलु बजार पुग्नेगरी उत्पादन गरे पनि प्रचारप्रसार र प्रवर्द्धनको अभावले अन्य गाउँको जस्तो चर्चा नपाएकाले यहाँ उत्पादित आलु र भाङको बजारीकरणमा जोड दिइएको कृषि शाखाका प्रमुख भक्तिप्रसाद रेग्मीले बताए।

रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउ लगाउने भएकाले निसीको आलुले बजार पाउनेमा गाउँपालिका विश्वस्त रहेको उनको भनाइ छ । चालु आवदेखि आलु र भाङको प्रवर्द्धन गर्दै किसानलाई प्रत्यक्ष रूपमा आम्दानीसँग जोड्ने पालिकाले योजना बनाएको शाखाका प्रमुख रेग्मीले बताए ।

‘यहाँ प्रशस्त भाङ उत्पादन हुन्छ, एक पटक स्वाद पाएकाले खोजेर लैजानुहुन्छ’, रेग्मीले भने, ‘यहाँको भाङ र आलु निसी बाहिरका मानिसलाई पनि चखाउने र बिक्री गर्ने योजना बनाएका छौँ ।’ पालिकाले किसानलाई ज्ञान, सीप, प्रविधि र बजारीकरणमा सहयोग गर्दै कृषि उपजबाट आम्दानीसँग जोड्ने योजना अघि सारेको उनले जानकारी दिए।

बागलुङमा बढी उत्पादन हुने भाङको केही हिस्सा निसीका किसानले ओगटेका छन् । आर्थिक आम्दानी पनि हुने र स्वाद पनि हुने भएकाले यहाँका किसानले पाखोबारी बाँझो नराख्न भाङ खेती गर्दै आएका रेग्मीले बताए। बारीमा लगाएको आलुले जेठ, असारमा फसल लिइन्छ । आलु उकेरेपछि खाली बारीमा सिमी र भाङ लगाइने भन्दै पुनः अर्को पटक आलु लगाउने समयसम्म फसल लिन सकिने उनको भनाइ छ ।

जिल्लाको ताराखोला, निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका अधिकांश बारीमा भाङ उत्पादन हुने गरेको छ । सरकारले प्रतिबन्ध लगाएको लागूऔषधजन्य उत्पादन हुने गाँजा प्रजातिको रूखमा भाङ फल्छ । बागलुङका उच्च पहाडी भू–भागमा भाङको उत्पादन बढी हुने भए पनि यसको व्यावसायिक बजार नहुँदा किसान मर्कामा पर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

पाँचथर ।  प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन्। तेह्रथुमको आठराई गाउँपालिका- ४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन्।

यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयलगायतसँग अन्तर्क्रियासमेत गरेका छन्। प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा तीनसम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउन्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो। भवन निर्माणमा उक्त फाउन्डेसनले चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु. २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउन्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए। कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउन्डेसनका पार्क यु सुनलगायतको उपस्थिति रहेको थियो।

चिमखोलामा स्वास्थ्य संस्थामा  पूर्वाधार थपियो,   थपिएन सेवा

म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ । सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन । 

स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताइन् ।

उनले भनिन्, “स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा कतिपय  महिला घरमै असुरक्षित तवरले नवजात शिशु जन्माउन बाध्य हुने गरका छन्, स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टरका लागि कोठा पनि बनाइएको छ, तर सेवा सञ्चालन भएको छैन, आवश्यक औजार उपकरण र औषधिको व्यवस्थापन गरेर तत्काल बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्छ ।”

 चिमखोलासँगै रघुगङ्गाको वडा नं १ बेग, ४ दग्नाम, ८ कुइनेमङ्गलेमा रहेका स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा सुरु हुन सकेको छैन ।  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले चिमखोलामा आवश्यक मापदण्डको पालना गरेर बर्थिङ सेन्टर सञ्चालन गराउने तयारी भइरहेको बताए । 

उनले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने तालिम प्राप्त जनशक्ति उपलब्ध भएको र गाउँपालिकाले आवश्यक औजार उपकरणहरु खरिद गरेर सेवा सञ्चालन गर्ने जमर्को गरेको बताए । बर्थिङ सेन्टरको सेवा प्रवाह हुने स्वास्थ्य चौकीहरुमा चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा उपलब्ध हुने गर्छ । 

स्वास्थ्य चौकीमा पूर्वाधार, औजार उपकरण तथा जनशक्तिको व्यवस्था गरेर निश्चित मापदण्ड पूरा गरे पनि स्वास्थ्य कार्यालयले बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने र गाउँपालिकाले उक्त सेवा सञ्चालन गर्ने जनाएको छ । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुर्गम गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जुटेको बताए ।
उनले गाउँपालिकाले छरिएर रहेका दुर्गम गाउँका बस्तीमा स्वास्थ्य चौकीका साथै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर गाउँपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको जानकारी दिए । उनका अनुसार गाउँपालिकामा अहिले आठ स्वास्थ्य चौकी र सात सामुदायिक स्वास्थ्य इकाइबाट सेवा प्रवाह भइरहेको छ । गाउँपालिका–३ कलेजाबाङको पातिहाल्ना र वडा नं ७ चिमखोलाको नामिलामा समेत सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने तयारी गरेको छ ।

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प

काठमाडौँ । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।

जनकपुरलाई पराजित गर्दै एनपीएलमा सुदूरपश्चिमको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयो । जनकपुरका जोशआ ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए ।

जनकपुरका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ३३ रन बनाए । जनकपुर बोल्ट्सका किशोर महतोले ४ विकेट लिए । एनपीएलमा आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास

सोल । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।

राष्ट्रपति युन सुक येओलले डिसेम्बर ३ मा मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टरहरू संसदमा पठाएका थिए । तर संसद् सदस्यहरूले यसलाई अस्वीकार गरेपछि केही घन्टामा नै त्यो आदेश फिर्ता लिन बाध्य भए ।

रक्षामन्त्री किम योङ–ह्युनले गत बिहीबार राजीनामा दिएका थिए र मङ्गलबार ‘विद्रोहको समयमा महत्त्वपूर्ण कार्यमा संलग्न’ र ‘अधिकारको प्रयोगमा बाधा पुर्याउने दुरुपयोग’ लगायतका अभियोगमा औपचारिक रूपमा पक्राउ परेका थिए ।

संसदीय सुनुवाइका क्रममा कोरिया करेक्शनल सर्भिसका आयुक्त जनरलले पूर्वमन्त्रीले आफ्नो गिरफ्तारीको घोषणा हुनुभन्दा केही मिनेटअघि आत्महत्या गर्ने प्रयास गरेको बताए ।

“मध्यरातको केही समयअघि (मङ्गलबार १५ः००) पूर्व रक्षामन्त्री किम योङ–ह्युनले सोल डोङबु हिरासत केन्द्रमा आत्महत्याको प्रयास गर्नुभयो”, सिन योङ–हेले भने ।

बुधबार बिहान आफूले रिपोर्ट प्राप्त गरेको उल्लेख गर्दै सिनले किमले आफ्नो कपडाको डोरी प्रयोग गरेर शौचालयमा आत्महत्या गर्ने प्रयास गरेको बताए।

“कन्ट्रोल रुमका एक कर्मचारी सदस्यले हस्तक्षेप गरे र जब उनीहरूले ढोका खोले, उहाँले तुरुन्तै आत्महत्यको प्रयास त्याग्नुभयो”, सिनले भने । सिनका अनुसार किम अहिले सुरक्षित सेलमा र राम्रो स्वास्थ्यमा रहेको बताए ।

“चिकित्सा परीक्षणका नतिजाहरूले कैदीको स्वास्थ्य स्थिति कुनै असामान्यता बिना राम्रो रहेको सङ्केत गर्दछ र उहाँले हाल सुविधामा सामान्य जीवन बिताइरहनुभएको छ”, न्याय मन्त्रालयले एएफपीलाई पठाएको विवरणमा उल्लेख छ ।

किमले मङ्गलबार आफ्ना वकिलमार्फत ‘यस अवस्थाको सम्पूर्ण जिम्मेवारी मसँग मात्र छ’ भन्दै माफी मागेका थिए ।

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा बुधबार प्रतितोला सुनमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

जनकपुरलाई एक सय २४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

पर्वतको लुङ्खु–हुवास सडक धमाधम कालोपत्र हुँदै

पर्वत । दोविल्ला-फलेवास-लुङ्खु-हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक निर्माण थालेको हो ।

निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छ, भने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ । हुवास-भोर्ले कालोपत्र पूरा भएको छभने मङ्गलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ ।

महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म रु ३६ करोड ९६ लाख ९३ हजार छ सय ८५ लागतमा सडक कालोपत्र हुने भएको हो । उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो ।

कुश्मा-फलेवास १६ दशमलव सात किमी सडक पाँच वर्षअघि नै कालोपत्र गरिएको होभने लमायखोला-लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो । यो सडक खण्डको शेराबेँसी-गेडीखोलामा पक्की पुल निर्माण भएको छ ।

मोटरसाइकल दुर्घटनामा कैलालीमा तीन जनाको मृत्यु

सुदूरपश्चिम । कैलाली जिल्लाका छुट्टाछुट्टै तीन स्थानमा भएका सवारी दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

गएराति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षाीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा सुपप्र०१००११प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।