`

वित्तीय साक्षरता र गरिबीको सम्बन्ध

-अचुतकुमार ओझा
वित्तीय साक्षता कार्यक्रमहरुमा आजकल केही चल्तिका प्रश्नहरुमा छलफल हुने गरेको पाइन्छ । के कुनै पनि व्यक्तिसँग वित्तीय शिक्षा प्रर्याप्त छ भने ऊ धनी हुन्छ ?  वित्तीय रुपमा साक्षर हुनु सम्पत्तिको मालिकका लागि हकदार हुनु हो ? वित्तीय साक्षरता भएर पनि मान्छे किन गरिब हुन्छ ? वित्तीय साक्षरताले भरिएकाहरु किन सीमित साधन स्रोतले आफ्नो जीविका धान्न बाध्य छन् ? स्वयम् साक्षरता सिकाउने व्यक्ति स्वतन्त्र छैन भने सिक्ने व्यक्ति स्वतन्त्र हुन सम्भव छ ?  त्यसो हो भने केका लागि वित्तीय साक्षरता सिक्न आवश्यक छ ? यस्ता प्रश्नहरुलाई एक ठाउँमा राखेर हेर्दा आर्थिक स्वतन्त्रताको पहिलो पाइला वित्तीय साक्षरता हो तर यो पूर्ण र अन्तिम होइन भन्न सकिन्छ । यसैले भनिन्छ धनको नियम नै सपना, साक्षरता, सङ्कल्प र सङ्घर्ष हो ।

मानिसले वित्तीय साक्षरताको माध्यमबाट सम्पन्नतासम्म पुग्ने बाटो पहिचान गर्न सक्छ तर बाटोको यात्रा यतिले मात्रै पूरा हुन सक्दैन । यसको लागि मार्गमा हिड्नु पर्छ, हिड्ने तयारी गरेर मात्रै गन्तव्यमा पुग्न सकिंदैन । केवल ज्ञानले मात्रै पुग्दैन, सँगसँगै अभ्यासमा जान नसक्ने हो भने मानिस वित्तीय ज्ञानी हुन सक्छ तर स्वतन्त्र हुन सक्दैन । हरेक ज्ञानलाई जबसम्म कार्यमा बदल्ने हिक्मत रहँदैन त्यो ज्ञानको कुनै अर्थ रहँदैन, त्यसले कुनै लक्ष्य भेट्न सक्दैन, त्यसले जीवनमा कुनै उपलब्धि ल्याउन सक्दैन । हामीले बुभm्नु पर्ने कुरा के हो भने कयौ शिक्षकले ज्ञान दिन्छन् त्यसलाई उ आफै कार्यमा रुपान्तरण गर्न लागि पर्दैन तर एउटा विद्यार्थी त्यही शिक्षकबाट प्राप्त ज्ञानलाई बजारको समस्या समधान गर्नको लागि कार्यमा रुपान्तरण गर्ने आँट गर्छ तब उ सफल भएर निस्कन सक्छ । तपाई आर्थिक सम्बृद्धि नभएका ज्ञान भएका व्यक्तिबाट नै शिक्षा लिएर त्यसलाई आयमा बदल्न थाल्नु भयो भने हो शिक्षा दिने व्यक्तिले स्वतन्त्रता नपाए पनि तपाईको आर्थिक स्वतन्त्रता कसैले रोक्न सक्दैन ।

वित्तीय ज्ञान हुने बित्तिकै आर्थिक स्वतन्त्रता सम्भव छैन तर स्वतन्त्रताको लागि बन्द रहेका ढोका ढकढकाउने एउटै उपाय हो वित्तीय साक्षरता । तसर्थ वित्तीय साक्षरता भएर पनि मान्छे गरिब हुने गर्छ । मानिसभित्र रहने निम्न केही पक्षहरुले नै मानिस धनी वा गरिब हुने गर्दछ ।

अभ्यास : आर्थिक स्वतन्त्रताको दृष्टिकोणले हेर्ने हो भने जबसम्म ज्ञानको चक्र तोडेर कर्ममा रुपान्तरण गरिदैन तबसम्म त्यो ज्ञान लाखौंपटक सिके पनि मानिस त्यही स्थानमा हुने छ, जुन स्थानमा उ ज्ञान लिनुभन्दा अगाडि थियो । त्यसैले तपाईंको सफलता कति पटक पढ्नु भयो, ज्ञान लिनु भयो वा सिक्नु भयोमा मात्रै निर्भर नभई त्यो ज्ञानलाई आफ्नो व्यवहारमा कति खरो ढङ्गले उतार्नुभयो कि भएन त्यसमा भर गर्छ । जब वित्तीय ज्ञान व्यक्तिले पाउँछ उ ज्ञानी त होला तर उसले त्यसलाई अभ्यासमा ल्याएन वा ल्याउन सकेन भने उ धनी हुन सक्दैन । यसैले मानिस वित्तीय ज्ञान भएर पनि गरिब हुने गर्छ । उदाहरणको रुपमा, एउटा व्यक्तिले पौडी खेल्ने सम्पूर्ण सैद्धान्तिक ज्ञान पटकपटक लिन्छ तर उ कहिले पौडी खेल्न अभ्यास गर्दैन भने के उसलाई कुनै खोलामा लगेर छोडिदिने हो भने पारि किनारामा पुग्न सम्भव छैन । हो वित्तीय साक्षरताले पनि मानिसलाई धनी हुनको लागि सिद्धान्त सिकाउँछ । यदि त्यसलाई अभ्यासमा ल्याउन नसक्ने हो भने मान्छे धनी हुन सक्दैन, त्यही पौडीबाज जस्तै हुनेछ । जबसम्म वित्तीय ज्ञानलाई अभ्यासमा रुपान्तरण गरिंदैन तबसम्म मान्छे गरिब नै रहन्छ ।

डर : रोर्बटी कियोसाकीले ‘धनी बुबा गरिब बुबा’ पुस्तकमा भने जस्तै हरेक व्यक्तिको मनभित्र डररुपी चल्ला हुने गर्छ । आर्थिक निर्णय गर्दैगर्दा मान्छेले परिवार, आफ्नो भविष्य, समाजको दबाब, प्रतिस्पर्धा, आफन्तको सुझाव, आफ्ना मूल्य, मान्यता र जिम्मेवारीका कारण जोखिम भएभन्दा बढी असुरक्षित महसुस गर्छ । यही डरका कारण मानिससँग वित्तीय ज्ञान भएर पनि प्रतिफलको लागि जोखिम बहन गर्न डराउँछ र उसले त्यो कारोबार नै गर्दैन, जसले उसलाई भविष्यमा आर्थिक स्वतन्त्रता दिन सक्ने थियो । उसले हरेक क्रियाकलापमा नकारात्मकता पाउँछ, घाटा देख्छ, प्रतिस्पर्धी आफूभन्दा बलियो रहेको ठान्छ, आफू प्रतिस्पर्धा गर्न असक्षम भएको महशुस गर्छ, बजारमा टिक्नै नसक्ने कमजोर ठान्छ । यसले गर्दा कतै आफ्नो मूल धन नै गुम्ने त होइन, फलानो बिग्रेको, ढिस्कानो ओरालो लागेको जस्ता उदाहरण लिदै आफ्नो हुँदाखाँदाको सहज जीवन कतै नबिग्रियोस् बरु यति नै ठीक छ भन्ने डरका कारण जब वित्तीय ज्ञान भएर पनि मानिस आफ्ना सीमित कर्ममा खुम्चन चाहन्छ । त्यस्तो डरका कारण वित्तीय ज्ञान भएर पनि मान्छे गरिब हुन सक्छ ।

लोभ : हरेक व्यक्तिमा आशा र लोभ हुने गर्छ । भलै कसैमा बढी होला, कसैमा कम हुने गर्छ तर प्रत्येक व्यक्तिभित्र लोभ छ भन्दा अन्यथा नरहला । जब मानिसहरुमा अत्यधिक लोभको मात्रा देखिन थाल्छ, तब उसले आफूले गरेका कारोबारहरुमा अझै मुनाफा हुने उच्च विश्वास राख्छ । यस्तो विश्वास तबसम्म भइरहन्छ, उसँग अझै धेरै कमाउने लोभ भइरहन्छ । यसले गर्दा उ आफूले खरिद गरेका वस्तुहरु बिक्री गर्न चाहँदैन । जब वस्तुको मूल्यले एउटा स्तर छुन्छ र फेरि ओरालो लाग्छ, त्यस समयमा यस्ता व्यक्तिहरु त्यसरी झरेको मूल्यबाट फर्किएर पहिला पुगेको उच्च विन्दुमा पुग्यो भने बिक्री गर्ने सोचमा पुग्छन् । त्यसपछि यथार्थमा बजारमा कारोबारको मूल्य बढ्न खोजेको जस्तो देखिन्छ तर पहिलाको उच्चविन्दुलाई भेट्न सक्दैन र त्यसैबाट तलतिर झर्न थाल्छ, तब वित्तीय साक्षरता भएर पनि आफूभित्रको लोभलाई नियन्त्रण गर्न नसक्दा यस्ता लगानीकर्ताहरु फेरि घाटामा बिक्री गर्न बाध्य हुन्छन् । यिनीहरुमा जब बजारमा मूल्य घट्न थाल्छ र पिंधमा आइपुग्छ अब कहिले बजार सुधार हुन सक्दैन भन्ने अत्यास देखापर्छ । तब आफ्नो सम्पत्ति कम मूल्यमा बेचबिखन गर्न तयार हुन्छन् । अब कहिले बजारमा नजाने भित्रभित्रै बाचा गर्छन् र घाटालाई स्वीकार्दै आफैँलाई धिकार्ने गरेको देखिन्छ । यसैले वित्तीय साक्षरता भएर पनि यस्ता मानिसहरु बढी लोभी हुँदा गरिब नै हुने गर्छन् ।

अनुशासन : कुनै व्यक्तिलाई हरेक दिन आफ्नो खातामा रु ५० राखेर वर्षमा रु १८ हजार दुई सय ५० प्रिमियमको इन्सोरेन्स गर्नु भन्यो भने कति जना तयार होलान् रु वा वार्षिक रु २२ हजार प्रिमियम पर्ने तिरेर त्यही किन्न सक्नु हुनेछ भनियो भने मानिसले कुन स्किम छनोट गर्छ होला रु केही घाटा नै भए पनि सजिलै अनुमान लगाउन सकिन्छ दोस्रो योजना छान्नेछ । पहिलो योजनाको लागि दोस्रोमा भन्दा बढी अनुशासनको जरुरी छ तर रु। तीन हजार सात सय ५० को फाइदा छ । मानिसले त्यो फाइदा थाहा पाएर पनि किन त्यसो गर्न चाहँदैन रु कारण एउटै छ मानिसले नाफाघाटा थाहा पाएर पनि उ आफू अनुशासनमा रहन नसक्दा महङ्गो खरिद गर्न तयार हुन्छ । मानौं कुनै खुत्रुकेमा दैनिक रु एकका दरले तीन सय ६५ दिन रु तीन सय ६५ जम्मा गर्नुहोस् भन्यो भने कति तयार हुन्छौँ । हो अनुशासन भनेको यही हो । हरेक व्यक्ति एकैपटक रु तीन सय ६५ हालेर खुत्रुके भर्न सक्छ तर प्रत्येक दिन रु एक हालेर रु तीन सय ६५ जम्मा गर्न सक्दैन । वित्तीय ज्ञान भएका व्यक्तिहरुसँग पनि लामो समयसम्मका लागि अनुशासन हुन नसक्दा लगानी गुम्ने गरेका छन् ।

अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

पर्वत । विश्वको दश उत्कृष्ट पदमार्गमा सूचिकृत अन्नपुर्ण चक्रिय पदमार्गमा सडक विस्तार भएपछि सञ्चालनमा आएको वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढ्दै गएको छ । 

कास्की जिल्लाको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्न थालेको हो ।

नयाँपुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

विशेषगरी युरोपियन, कोरियन, अस्टे«लियन, जर्मन तथा रसियन पर्यटकहरूले यो रुट प्रयोग गर्न थालेका छन्भने आन्तरिक पर्यटकको आगमन पनि बढेको होटल खड्का भिलेजका सञ्चालक रनबहादुर खड्काले जानकारी दिए । 

करिब १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्दै गएको पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले बताए । आधारभूतस्तरको पूर्वाधार तयार भएपछि उक्त वैकल्पिक पदमार्ग यस वर्षदेखि सञ्चालनमा आएको उनले जानकारी दिए । 

“पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो”, समितिका अध्यक्ष खड्काले  भने, “संस्कृति र प्रकृतिले भरिपूर्ण यो पदमार्ग साहसिक गन्तव्य हो ।” मनोरम हिमश्रृङ्खला, सुन्दर वनजङ्गल, हावापानी, सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको उनको भनाइ छ । 

विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म  एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले जानकारी दिए । “ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएका छन्, उनले भने ।

हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा  ३० लाख बजेट विनियोजन गरेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । उक्त पदमार्गलाई व्यवस्थित बनाउन आगामी बजेटमा पनि प्राथमिकता दिने उनले उल्लेख गरे ।  

पदमार्गले पर्वतको मोदी गाउँपालिका–१, २, ३ र ५, जलजला गाउँपालिका–५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, ७ र ८ वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौँसीबोट, भूक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएका छन् ।

साथै मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।

दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।

पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाई डाँडा र जलजलामा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ । 

पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग विस्तार, खोज तथा अनुसन्धान गर्दै आएको छ । उक्त कार्यमा पर्वतको मोदी र जलजला, कास्की र म्याग्दीका सम्बन्धित गाउँपालिकाले सहकार्य गरेका छन् । 

प्रदेशका उद्योग तथा पर्यटनमन्त्री बस्यालले अन्नपुर्ण चक्रिय पदमार्गमा सडकका कारण पर्यटकको पदयात्रा छोटिँदै गएका बेला नयाँ पहिचान भएको पदमार्गलाई प्रवर्द्धन गरी यसतर्फ पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिए । पदमार्गमा ठाउँठाउँमा खानेपानीको व्यवस्थापन चिया तथा चेमना गृहहरू, होटल तथा रेष्टुरेण्ट थप गर्नुपर्ने भन्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । 

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण चक्रीय पदमार्गको महत्वपूर्ण स्थल नयाँ पुल र घोडेपानीलाई जोड्ने उक्त पदमार्गमा पर्यटक भित्र्याउन चार दिने पदयात्रा आयोजना गरेरे प्रचारप्रसार, प्रवर्द्धन र विस्तारमा लागेको बताए । उनका अनुसार आपसी समन्वयका लागि मन्त्रालय, टान गण्डकीसहित सरोकार भएका निकायसहित ५० जनाको टोली अहिले पदयात्रामा छन् । 

सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रर्वर्द्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताए । पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना प्रचुर रहेको उनको भनाइ छ । 

अध्यक्ष आचार्यका अनुसार प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ । सडकले छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता आवश्यक पर्नेमा उनले जोड दिए ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । जापान मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध बिहीबार सर्वोच्चमा रिट दर्ता भएको छ ।

अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।

त्रिपाठीले त्यसविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएको थियो । उक्त रिटमाथिको सुनुवाइ आगामी आइतबारलाई तोकिएको छ ।

रिटमा पूर्वमन्त्री अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्नुपर्ने निवेदकको माग छ । उनविरुद्ध मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानूनी र विधिको शासनविपरीत रहेको दाबी रिटमा गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई समेत प्रतिवादी बनाउन राय दिएको भए पनि सरकारी वकिल कार्यालयले उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।

त्यसपछि अधिकारी रिहा भएका थिए। उनीसँग पक्राउ परेका अन्य ११ जनाविरूद्ध भने मुद्दा चलाइएको छ। मुद्दा चलाइएका मध्ये तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् तीन जना धरौटीमा र दुई जना साधारण तारेखमा रिहा भएका छन्।

दूध बेचेर वार्षिक २० लाख कमाइ

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुगेका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए ।

विदेशको दुःख देखेपछि स्वदेश फर्किएका उनले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गरे । होटल व्यवसाय राम्रो भए पनि उहाँलाई गाउँघरको यादले सताइ रह्यो । आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्किए ।

उनी गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आएका थिए । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो ।

अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । उनले थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गरे । अहिले उनी जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित छन् । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ ।अहिले उनलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उनले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् ।

कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गर्नुभएका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आएका छन् । दुई लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु २५ लाख बढी लगानी उनले गरिसकेका छन् । उनको फार्ममा हाल सात उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दूध बिक्री गर्दै आएका छन्।

विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताए । विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उनको भनाइ छ ।

“विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ”, कँडेलले भने, “अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दूध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।”

कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताए । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश) गर्ने दुःख आफ्नै पाखा पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उनको भनाइ छ । भैँसी पालेर दूध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउँछन् ।

एनपीएलमा सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको हो । 

सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो ।

काठमाडौँका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन् । सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०/१० र प्रतिक श्रेष्ठले आठ रन बनाए । 

काठमाडौँका लागि माइकल लेविटले पाँच, शङ्कर राणाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान एक/एक रन जोडे । यो खेलमा काठमाडौँले अतिरिक्त दुई रन पायो । 

सुदूरपश्चिम रोयल्सका लागि नरन साउदले सर्वाधिक पाँच विकेट लिए । अभिनास बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक/एक विकेट लिए । योसँगै सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि विराटनगर किङ्गसलाई ९० रनले पराजित गरेको थियो । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे ।

उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका छन् । 

यस्तै,  विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । यो खेलमा सुदूरपश्चिमले अतिरिक्त दश रन पायो । 

काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीले एक/एक विकेट लिएका थिए । एनपिएलमा काठमाडौँ गुर्खाजको यो दोस्रो हार हो । तीन खेल खेलेको काठमाडौँले यसअघि एक खेलमा विजयी भएको थियो ।  

अब भारत भ्रमणमा जान्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भएपनि छिट्टै भारत भ्रमणमा जाने बताएका छन् ।

बिहीबार चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अब भारत भ्रमणमा जाने बताएका हुन् ।

उनले नेपाल उत्तरतिर ढल्केको भनाईको खण्डन गरे । उनले भने, ‘अब एरेन्ज गर्नुपर्छ। फर्केकै दिन कसरी भन्ने ? दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन। भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन।’

उनले चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको बताए । उनले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाए । उनले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।

चीनसँग भएका सम्झौतामा ऋण सम्बन्धी कुरा चलेको छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताएका छन् । बिहीबार चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको जानकारी दिएका हुन् ।

उनले हरेक परियोजना कसरी कार्यान्वयन हुनेपछि छलफल हुने बताए । उनले भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटकपटक भनेका छौं ।’

उनले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल र सहमति गर्ने बताए । उनले भने, ‘ बीआरआई कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा हरेक परियोजना अन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौं ।’

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।

यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।

यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्राउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार २४.९७ अंकले घटेको नेप्से बिहीबार १५.९३ अंकले घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। आज ३०७ स्क्रिप्सको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाख ८६ हजार ४०२ रुपैयाँमा कारोबार भएको छ ।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट कारोबार भएन । खानीखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोपावरको ९.९५,मानुषी लघुवित्त वित्तीय संस्थाको ९.८१ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९९ प्रतिशतले मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स समूह शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २९ करोड,लाइफ इन्स्योरेन्स र रसुवागढी हाइड्रोपावरको २०/२० करोडको सेयर कारोबार भयो ।

गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै

गण्डकी । स्थानीय तहअन्तर्गत रहेको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ । दुवै अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न लागिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अस्पतालको नाम संशोधन गरेको मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले जानकारी दिए । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपिपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो ।

त्यस्तै कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्न लागिएको मन्त्रालय सचिव डा शर्माले जानकारी दिए । “चारवटै अस्पतालका कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम)को काम यसै साताभित्र टुङ्गिन्छ”, उनले भने, “गुणस्तरीय व्यवस्थापन र स्तरीय सेवासहित यी अस्पताल सञ्चालन हुनेछन्, आगामी पुसभित्र उद्घाटनको तयारी भइरहेको छ ।”

स्थानीय तहले बुर्तिबाङ र आँपपिपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिइदिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत सञ्चालनको प्रक्रिया सुरु गरेको हो । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई सङ्घीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गत कात्तिक १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षभित्र गण्डकी र धवलागिरि आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।

“एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ”, उनले भने, “आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्छौँ ।” मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशभित्र रहेका आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्न लागिएको हो ।

प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको स्वास्थ्यमन्त्री पाठकले बताए । कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायत भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उनले उल्लेख गरे ।

“आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, सरोकार भएका निकायको पनि यसअघि खासै ध्यान पुग्न सकिरहेको थिएन”, मन्त्री पाठकले भने, “व्यवस्थित पूर्वाधार, स्रोतसाधनको प्रबन्ध गर्दै गुणस्तीय स्वास्थ्य सेवा दिने थलोका रूपमा आयुर्वेद अस्पताललाई विकास गर्दै लैजाने योजनामा मन्त्रालय छ ।”

एनपीएलमा सुदूरपश्चिम रोयल्सले दियो काठमाडौँलाई १६८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाए । ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका हुन् । 

यस्तै विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहदैँ स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त दश रन पायो । 

काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेर्हार्ड इरास्मस, शाहब आलम र कप्तान करण केसीले एक÷एक विकेट हात पारे । अहिले काठमाडौँ गुर्खाजले जवाफी ब्याटिङ गरिरहेको छ ।

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली गत आइतबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकाँग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

बीआरआई सम्झौतामा दश वटा परियोजना समेटिएका छन् । त्यस्तै चिनियाँ राष्ट्रपति सीले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग घोषणा गरेका थिए ।

बोक्से–सिगाना खण्ड स्तरोन्नति

गलकोट। एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।

विसं २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रेको चरणमा पुगेको हो ।

समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रका लागि ग्राभेल गरिएको छ । भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो तीन महिनायता उक्त सडकको बागलुङ नगरपालिका–८ वडा कार्यालयसम्म कालोपत्रेको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

सम्झौता अघि काम सक्नेगरि निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रेको काम गर्ने तयारीका लागि छ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए। उनले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गरे।

प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किमीमध्ये छ किमी कालोपत्रका लागि तयारी भएको र अन्य चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो’, उनले भने, ‘अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबवेस र ग्राभेल बिछ्याएर कालोपत्रे गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्रे सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।’

चैतसम्म छ किमी सकड कालोपत्रे सक्ने तयारीका साथ निर्माणले अन्तिम रूप लिएको निर्माण व्यवसायी कर्ण विल्र्डस प्रमुख नवीन गुरुङले बताए। उनले सम्झौता अनुसार निर्धारित समयभित्र काम सक्नेगरि काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गरे।

सम्झौता अवधिभित्र छ किमी सडक कालोपत्रे गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए।

सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताए। दश किमी कालोपत्रे गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो ।

सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण, सबवेस तथा छ किमी सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् ।

महिलाविरुद्धको हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए।

‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन्’, गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढङ्गबाट गर्नुपर्छ ।’

उनले डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए।

संविधानको भावना अनुरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधयेक सङ्घीय संसद्को आगामी अधिवेशनमा पेस हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो ।

जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्यलगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासङ्घ लगायतका २६ वटा संस्थाका प्रतिनिधि आएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपतिमाथि प्रहरीको अनुसन्धान सुरु

बीबीसी । दक्षिण कोरियामा अप्रत्याशित रूपमा ‘मार्शल ल’ घोषणा गरेपछि सबैतिरबाट आलोचित राष्ट्रपति यून सुक यउललाई उनकै पार्टीले पदबाट राजीनामा दिन आग्रह गरेको छ ।

मङ्गलबार राति सैन्य शासन लगाउने घोषणा गरेर ‘विद्रोह’ गरेको आरोपबारे प्रहरीले राष्ट्रपतिमाथि छानबिन थालिएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीवार बताएका छन् । सांसदहरूले सैन्य अधिकारीहरूलाई बोलाएर मङ्गलबार रातिको अप्रत्याशित घोषणा र त्यसको कार्यान्वयनसँग सम्बन्धित विषयमा सोधपुछ गर्न थालेका छन् ।

विपक्षी दलले राष्ट्रपति यून र अन्य केही व्यक्तिविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले छानबिन सुरु भएको बताइएको छ । दक्षिण कोरियाको कानुनअनुसार विद्रोहको अपराधमा राष्ट्रपतिलाई पनि उन्मुक्ति हुँदैन ।

उक्त अभियोगमा दोषी ठहर हुँदा मृत्युदण्डसम्म हुन सक्छ । विपक्षी दलका सांसदहरूले उनीविरुद्ध महाभियोग लगाउने प्रक्रिया थालेका छन्। त्यसका लागि एउटा प्रस्ताव संसद्मा पेस भइसकेको छ । महाभियोगको प्रस्तावमा शनिवार मतदान हुने ठानिएको छ । पूरै प्रकरणबारे राष्ट्रपति यूनले अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।

पूरै विश्वलाई चकित पार्ने गरी दक्षिण कोरियाली राष्ट्रपतिले मङ्गलवार राति घोषणा गरेको सङ्कटकालीन ‘सैन्य शासन’ एक रात पनि टिकेन। सैन्य कानुन लागु गराउने काममा आफ्नो भूमिकाका लागि क्षमायाचना गर्दै रक्षा मन्त्री किम योङ–ह्युनले राजीनामा दिइसकेका छन् ।

संसद्मा भएको सोधपुछका क्रममा सैन्य कानुन लागु गर्ने योजनाबारे धेरै कम व्यक्तिलाई जानकारी भएको थाहा भएको छ। उपरक्षामन्त्रीका अनुसार सैन्य कानुन लागु भएको कुरा उनले समाचारबाट मात्र थाहा पाएका थिए ।

विपक्षी दल डेमोक्र्याटिक पार्टीका एक सांसदले कार्यवाहक रक्षामन्त्री किम सिअन–होलाई ’मार्शल ल’ कार्यान्वयन गर्ने नेतृत्व गरेका सैन्य कमान्डरलाई राज्यविप्लवको आरोपमा पक्राउ गर्न आह्वान गरेका छन् ।

‘ओपेक प्लस’ले तेल आपूर्ति कटौती गर्नसक्ने अनुमान

भियना ओपेक तेल कार्टेल र यसका सहयोगीहरूले बिहीबार कच्चा तेलको विश्वव्यापी बजारमा मूल्यमा तीव्र गिरावट नआओस् भनेर आपूर्ति कटौतीको अवधि बढाउने अपेक्षा गरिएको छ ।

आइतबारका लागि तय गरिएको बैठकमा सदस्यहको उपस्थितिमा देखिएको ढिलाइले मूल्य वृद्धिको कटौतीलाई निरन्तरता दिन सकिनेमा केही शङ्का उत्पन्न भएको छ ।

“ओपेक प्लसले पहिलो त्रैमासिकको अन्त्यसम्म थप तीन महिनाका लागि उत्पादन वृद्धि स्थगित गर्ने बिहीबार निर्णय गर्ने अपेक्षा गरिएको छ,” कमर्स बैङ्कका विश्लेषक कार्स्टन फ्रिट्सले भने । “केही देशहरू उत्पादन बढाउन चाहन्छन् त्यसैले अझै पनि अनिश्चितताहरू छन्,”उनले भने ।

भियनास्थित ओपेक सङ्गठननिकट स्रोतका अनुसार भर्चुअल बैठक स्थानीय समयअनुसार बिहीबार ११ः३० बजे सुरु हुनेछ ।

“प्रति दिन २.२ मिलियन ब्यारेलको स्वैच्छिक अतिरिक्त उत्पादन कटौती गर्दै आएका आठ देशहरूले हाल जनवरीबाट उत्पादन बढाउन सुरु गर्ने तयारीमा छन् । उनीहरू नयाँ सम्झौता बिना नै उत्पादनलाई क्रमशः बढाउँदै सन् २०२२ को स्तरमा फर्काउन चाहेका छन् ।

अल्जेरिया, इराक, कजाकिस्तान, कुवेत, ओमान, रुस, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) ले अक्टोबर र त्यसपछि डिसेम्बरमा सुरु भएको उत्पादन वृद्धिलाई दुई पटक पछाडि धकेलिसकेका छन् ।

आपूर्ति कटौतीले बजारमा मौन प्रभाव मात्र पारेको छ, अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी तेल उत्पादनलाई बढावा दिने नीतिहरू अपनाउने अपेक्षा गरिएको छ अर्थव्यवस्था कमजोर रहेको सन्दर्भले गर्दा चीनको माग दर कमजोर छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना आफ्नो हालको सन्तुलनले ओपेक प्लस कटौती कायम रहे पनि विश्वव्यापी आपूर्ति अर्को वर्ष प्रति दिन १० लाख ब्यारेलभन्दा बढी अर्थात् मागभन्दा बढी हुने देखिन्छ।”

ओपेक प्लस राष्ट्रहरूले हाल दैनिक ६० लाख ब्यारेल तेल रोकेका छन्, जसमा दैनिक २२ लाख ब्यारेल तेल उत्पादन पनि समावेश छ जुन उनीहरूले बजारमा फिर्ता ल्याउने बारे छलफल गरिरहेका छन् ।

डीएनबी बैंकका विश्लेषकहरूले बजारमा ‘सन् २०२५ मा ओपेक + तेलको लागि अतिरिक्त कुनै ठाउँ छैन’ र उत्पादनमा वृद्धिले कच्चा तेलको मूल्यलाई तल धकेल्ने बताएका छन्।

यसले साउदी अरबलाई अप्रसन्न बनाएमा यसले उसको अर्थव्यवस्थालाई विविधीकरण गर्ने प्रयासहरूको लागि तेलको उच्च मूल्यमा निर्भर बनाउँछ ।

“भिजन २०३० का लागि साउदी अरब बलियो मूल्यमा अत्यधिक निर्भर छ र उत्पादन कटौतीका साथ संयुक्त ओपेकको आवश्यकता छ,” इनर्जी इन्टेलिजेन्सका विश्लेषक अमेना बकरले भने ।

साउदी अरब र रूसले ओपेक प्लसमा प्रभुत्व जमाएसँगै धेरै विश्लेषकहरूले आशा गरेका छन् कि उनीहरूले अन्ततः अन्य देशहरूलाई आपूर्ति वृद्धिको थप स्थगनमा सहमत हुन राजी गराउनेछन्।

रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भने, “अन्य देशहरू उत्पादन बढाउन चाहन्छन् र यसका लागि विशेष गरी कजाखस्तान र संयुक्त अरब इमिरेट्समा ‘अतिरिक्त क्षमता’ छ ।”

उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछुः प्रहरी महानिरीक्षक कुँवर

कास्की । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन् ।

अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका विकृतिको विरुद्ध प्रहरी सक्रिय भएर आफ्नो सेवामा जुट्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको बताउँदै उनले पर्यटकीय राजधानी कास्कीमा स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा थप जिम्मेवारपूर्ण बनेको उल्लेख गरे । उनले पर्यटकको सुरक्षामा पनि त्यतिकै ध्यान दिन कास्की प्रहरीलाई आग्रह गरे ।

रात्रिकालीन व्यवसायको सुरक्षाका साथै पर्यटकमैत्री वातावरण बनाउने काममा पनि सुरक्षाकर्मी लाग्नु पर्ने उनको भनाइ छ । विपद्का घटनाप्रति चनाखो हुँदै जतिसक्दो छिटो उद्धारमा सुरक्षाकर्मी पुग्नुुका साथै अपराध अनुसन्धान कार्यमा निष्पक्षता अपनाउन महानिरीक्षक कुँवरले आग्रह गरे ।

देशभर अपराधका घटना वार्षिक रुपमा २० देखि २३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएकाले त्यसतर्फ प्रहरी संगठनको ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको रु १० करोड ६० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । चार वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण गरिएको जानकारी उक्त अवसरमा दिइएको छ ।

पाँच रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार ९०५ वर्गफिट क्षेत्रफलमा उक्त भवन बनेका हो । उक्त कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले गरेका थिए ।

इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षमा निधन

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । राणाको बिहीबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

सन् २०२५ का लागि नौ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य

संयुक्त राष्ट्रसङ्घ। राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले विश्वका युद्ध तथा अन्य संकटबाट प्रभावित लाखौं युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलर को आर्थिक सहायता आह्वान गरेको छ ।

’बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरुरी रहेको युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले बताए ।

उनले भने, ‘हरेक दिन धेरै बालबालिका प्रभावित भएका छन् । यसका कारण बालबालिकाको मानवीय आवश्यकताको मात्रा ऐतिहासिक उच्च स्तरमा छ र यसका लागि सहयोगका लागि थप रकम जुटाउने लक्ष्य हाम्रो संस्थाले लिनु जरुरी छ।’

उक्त रकमले १० करोड ९० लाख बालबालिकालाई लक्षित गरी प्राथमिक स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य सेवा, खानेपानी तथा शिक्षा, कुपोषण जाँच र लैंगिक हिंसा न्यूनीकरणमा पहुँचका लागि सहयोग गर्नेछ ।

‘हामीले सन् २०२५ मा १४६ देश र क्षेत्रका २१ करोड ३० लाख बालबालिकालाई मानवीय सहायताको आवश्यकता पर्नेछ । सहयोगका लागियो निकै ठूलो सङ्ख्या हो,’ रसेलले भने ।

सहयोगका लागि युनिसेफको यो अपिल विश्वले मानवीय गतिविधिका कारण दीर्घकालीन आर्थिक सङ्कटको सामना गरिरहेको समय आएको छ ।

गत वर्ष युनिसेफले ९।३ अर्ब अमेरिकी डलरका लागि अपील गरेको थियो ।

यो बर्ष सबैभन्दा बढी एक अर्ब अमेरिकी डलर बराबरको रकम अफगानिस्तानका लागि, त्यसपछि सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, प्यालेस्टिनी क्षेत्र र लेबनानका लागि गरिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले ५७ देशका चार करोड ५० लाख महिला तथा बालिकालाई सहयोग गर्न एक अर्ब ४० करोड अमेरिकी डलरको आह्वान गरेको छ ।

राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य निकायले आफ्नो गतिविधिको एक हिस्साको रूपमा अनुमानित ११ मिलियन गर्भवती महिलाहरूलाई सहयोगका लागि ‘मिडवाइफ’हरू तैनाथ गर्दछ । यसका लागि सन् २०२५ मा ‘तत्काल’ सहयोगको आवश्यकता पर्ने बताएको छ।

युएनएफपीएकी कार्यकारी निर्देशक डा. नतालिया कनेमले भने, ‘हरेक द्वन्द्वग्रस्त क्षेत्र र विपतमा महिला तथा बालिकाले गम्भीर जोखिमको सामना गर्छन् । द्वन्द्वले उनीहरूको जीवन र कल्याणका लागि अत्यावश्यक सेवाहरूमा पहुँचलाई खतरामा पार्छ ।’

कनेमले भने, ‘कुनै पनि महिला बच्चा जन्माउने क्रममा ज्यान गुमाउन नपरोस् भनी हामी सबै मिलेर यो सहयोग रकमको जोहो गर्नु आवश्यक छ किनकि हरेक महिला, किशोरी वा बालबालिका सबैभन्दा विकट परिस्थितिमा पनि हानिबाट सुरक्षित रहन सकून् ।’

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

बेइजिङ ।  चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

बाओआन जिल्ला विपत व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन–जियाङमेन रेलमार्ग निर्माणस्थलकोे एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।”

बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटनासम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । विपत व्यवस्थापन विभागका अनुसार अधिकारीहरूले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

उद्धारकार्यका लागि बिहीबार बिहान घटनास्थल नजिकका प्रमुख द्रूत रेलमार्ग बन्द गरिएको शहरका अधिकारीहरूले बताएका छन् । दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो ।

कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्यरूपमा लिने गरिएको छ । गत अगस्टमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो ।

उत्तरी चीनको हेबेई प्रान्तमा गत मार्चमा भएको ग्यास विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । पूर्वी शहर नानजिङमा गत फेब्रुअरीमा एक आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।

नारायण गोपालको ३४ औं स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।

स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहेका र सङ्गीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार नगद र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए ।

अध्यक्ष केसीले बुधबार देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए । उनले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए । 

सम्मानित भएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताए । उनले भने,“नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।” 

‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उनलाई गीतमार्फत सम्झिएका छन् । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ…’, गायक साजन लामाले ‘यति चोखो यति मिठो…’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन…..’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन…’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ…’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा…’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया…’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गरे ।

विसं १९९६ असोज १८ गते जन्मिएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्या मङ्सिर १९ गते उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ ।

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

जमुना वर्षा शर्मा, पोखरा। फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्यौली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो। तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्यौली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ। जलारी पोखराको फेवाताल आसपास बसोबास गर्दै आएको परम्परागत माछा मार्ने समुदाय हो।

उनीहरूले आफ्नो मुख्य पुर्ख्यौली पेसा माछा मारेर र बेचेर जीविकोपार्जन गर्दै आइरहे पनि माछा उत्पादनमा आएको कमी, बजार व्यवस्थापनमा चुनौती र आधुनिक जीवनशैलीप्रतिको आकर्षणले यो समुदायको युवाले पुर्ख्यौली पेसाप्रति कम रुचि देखाउन थालेका हुन्।

जलारी मत्स्य सहकारी संघका अध्यक्ष ज्ञानबहादुर जलारीले परिवर्तित समयसँगै जलारी युवा पनि अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको बताए। ‘अहिलेका युवाहरु पढेलेखेको र यो बाहेकका पेसामा पनि आफ्नो भविष्य देख्न थालेपछि उनीहरुको पुर्ख्यौली पेसामा सीमित हुन चाहेका छैनन्, अर्कोतर्फ तालमा माछा उत्पादन घट्दै जान थालेपछि जीविकोपार्जनमा पनि समस्या हुन थाल्यो’, उनले भने।

आफ्नो परम्परा र पुर्ख्यौली पेसामा नै आफ्नो समुदायका लागे हुन्थ्यो भन्ने लागे पनि पुस्ता हस्तान्तरण गरेर यसमा टिकाउन त्यति सहज नभएको उनको भनाइ छ। ‘आजका युवाहरूमा पुर्ख्यौली पेसाप्रति एक प्रकारको उदासिनता छ। तालको वातावरणीय संकट र पेसाबाट आउने आर्थिक समस्याका कारण उनीहरूले पुर्ख्यौली पेसामा रुचि देखाउन छाडेका छन्’, ज्ञानबहादुरले भने।

जलारी समुदायलाई पेसामा टिकाइराख्नको लागि राज्यस्तरबाटै व्यावसायिक प्रविधिको प्रयोग, ताल संरक्षण र सहकारीले माछा उत्पादनमा लगानी गर्नसक्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ। ‘युवा पुस्तालाई ताल र समुदायसँग जोड्न तालको दिगो व्यवस्थापन र आर्थिक रूपमा लाभप्रद बनाउनेतर्फ ध्यान दिन सकिएमा मात्र यो पेसा दिगो रूपमा बचाउन सकिन्छ’, उनले भने।

फेवाताल किनारमै जन्मेहुर्केर बाबुबाजेसँगै माछा मार्ने पेसालाई नजिकबाट नियालिरहनु भएका २० वर्षीय राजीव जलारी अहिले वैदेशिक रोजगारीको तयारीमा छन्। ‘मेरै बुबा-हजुरबुबाको पुर्ख्यौली पेसा भए पनि म यसमा राम्रो भविष्य देख्दिनँ, यो हाम्रो पुर्ख्यौली पेसा हो, माछा मारेर हाम्रो परिवारले पुस्तौँदेखि जीविकोपार्जन गर्‍यो तर अहिले म यसमा भविष्य नदेखेर विदेश जाने तयारीमा छु’, राजीव भन्छन्, ‘माछा घट्दै गएको छ, ताल प्रदूषित छ, अनि तालमै निर्भर हाम्रो समुदाय आर्थिक रुपमा सक्षम हुन सकेको छैन, पेसालाई निरन्तरता मात्र दिने कि सुरक्षित भविष्य पनि हेर्ने?’ उनी प्रश्न गर्छन्।

उनी थप्छन्, ‘हामी जस्तै धेरै जलारी युवा वैकल्पिक पेसा खोज्दैछौँ, यदि तालको संरक्षण, माछा उत्पादनमा वृद्धि र आधुनिक प्रविधिसँग युवालाई जोड्ने हो भने सायद हामीले पनि यो पेसा गर्वका साथ अगाल्न सक्थ्यौँ तर अहिलेलाई यो पेसा जारी राख्न सक्ने आधार गुम्दै छन्। गुजारा टार्ने काम मात्र भएको छ। यही परिस्थितिले गर्दा मैले विकल्प खोज्न थालेको हुँ।’

हर्पन फेवा मत्स्य सहकारी संस्थाका पूर्वअध्यक्ष एवं साइनो किचनका सञ्चालक शैलेन्द्र जलारीले आफ्नो समुदायको परम्परागत पेसालाई निरन्तरता दिन खोजे पनि आउने पुस्ताले रुचि देखाउन छाडेको बताए।

उनले भने, ‘पुर्ख्यौली पेसाप्रति हाम्रो अगाध प्रेम र लगाव छ तर तालको संरक्षण र माछा उत्पादन बढाउन ठोस् कदम नहुँदा वैकल्पिक पेसातर्फ युवाको आकर्षण बढ्न थालेको छ।’ उनले समुदायको पेसालाई जोगाउन सरकारी तथा गैरसरकारी निकायबाट ताल संरक्षण र माछा उत्पादनको दीर्घकालीन योजना बनाइनुपर्नेमा जोड दिए।

माछा उत्पादन बढाउन पोखरा महानगरपालिका र अन्य केही संस्थाले प्रयास गरे पनि ती प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ। ‘तालमा माछाका भुरा छोड्न केही प्रयास भए पनि समुदायले व्यावसायिक रूपमा माछा उत्पादनको विकास गर्न पर्याप्त स्रोत र सीप पाएका छैनन्। यो पेसा दिगो रहनका लागि व्यावसायिक उत्पादन, तालको उचित संरक्षण, र प्रविधिगत सुधार आवश्यक हुन्छ।’

उनले जलारी समुदायको परम्परागत पेसा जोगाउन जैविक विविधता, आर्थिक स्थायित्व र ताल संरक्षणका लागि दीर्घकालीन समाधान रणनीति आवश्यक रहेको बताए। फेवातालमा परम्परागत माछा मार्ने पेसा कठिनाइसँग जुधिरहेको बताउँछन् स्थानीय राजु जलारी। ‘मैले छ/सात वर्षदेखि माछा मार्न छोडेको छु। अहिले माछा खरिद गरेर बिक्रीवितरण गर्दैछु तर तालमा माछा उत्पादन घट्दा यो व्यवसाय गर्न पनि अझै गाहे हुँदै गएको छ।’

उनका अनुसार कुनै समय दिनमै एकसय ५० किलो माछा मारेको अनुभव छ तर अहिले मुस्किलले एक/दुई किलो मार्न पनि समस्या छ। ‘माछा उत्पादन घट्न थालेको छ, माछाका भुरा बगाउने समस्या पनि उस्तै छ। तालछेउमा बसेर तराईबाट माछा ल्याएर बेच्नुपर्ने अवस्था आउनु भनेको दुःखद् हो, हाम्रो समुदायको भविष्य नै अन्योल छ।’

उनले आफ्नो बीस वर्षीय छोराले पनि पुर्ख्यौली पेसामा भविष्य नदेखेपछि विदेश जान तयारीमा रहेको बताए। ‘आर्थिक रूपमा सुरक्षित भविष्य नदेखेपछि नयाँ पुस्ताले वैकल्पिक पेसा रोज्न थालेका छन्, योसँगै जलारी समुदायको परम्परागत पहिचान हराउने खतरा पनि बढेको छ’, उनले भने।

आफ्नो पुर्ख्यौली पेसालाई आत्मसम्मानका साथ निरन्तरता दिन चाहे पनि पछिल्लो समय धेरै चुनौती थपिएको उनको भनाइ छ। नयाँ प्रविधि र व्यावसायिक दृष्टिकोणबाट माछापालनलाई मजबुत बनाउन सकेमा जलारी समुदायको परम्परागत पेसा बच्ने र आत्मसम्मानका साथ नयाँ पुस्ताले अँगाल्ने बताए। प्राकृतिक रूपमा माछा उत्पादन गर्ने क्षमतामा आएको कमी, वातावरणीय असन्तुलन, प्रदूषण यसका प्रमुख कारण हुन्। यसले गर्दा माछा मार्ने पेसाबाट निरन्तरता नपाइने भएकाले नयाँ पुस्ताका लागि यो पेसा आकर्षक नरहेको उनको बुझाइ छ।

मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा मोहम्मद अकबाल हुसेनले जलारी समुदायका युवाको अन्य पेसा व्यवसायप्रति रुचि बढ्नु स्वभाविक भए पनि परम्परागत माछापालनलाई आधुनिक र व्यावसायिक बनाउन सकेमा युवाहरू पुनःयस पेसातर्फ आकर्षित गराउन सकिने बताउँछन्। उनले भने, ‘जलारी समुदायको हितका लागि आधुनिक सीप र प्रविधि आवश्यक छ, परम्परा र आधुनिकतालाई समन्वय गरेर आर्थिक सशक्तीकरणसँगै दिगोपना खोज्न नयाँ पुस्तालाई परम्परागत पेसाप्रति सकारात्मक दृष्टिकोण बनाउनुपर्छ।’

उनले पोखरा तालैतालको सहर भएकाले माछापालनबाटै आर्थिक निर्भर हुनसक्ने प्रशस्त आधार रहेको जनाउँदै जलारी समुदायको पुर्ख्यौली ज्ञान र सीपलाई नयाँ पुस्तामा जोड्न सके सम्भावना रहेको बताए। उनका अनुसार अहिले पोखराका फेवाताल, बेगनाताल र रुपातालबाट वार्षिक एक सय २० मेट्रिकटन माछा उत्पादन हुन्छ तर बजारको माग तीन सय मेट्रिक टनभन्दा बढी छ। जलारी समुदायको संरक्षणका लागि केन्द्रले माछाका भुरा छोड्ने र माछा पालनसम्बन्धी आवश्यक सरसल्लाहहरु साथै तालिम पनि प्रदान गर्दै आएको छ।

उनले पछिल्लो समय स्वास्थ्यका दृष्टिले पनि माछा राम्रो मानिएकाले स्थानीय तालको माछाप्रति ग्राहकको रुचि बढेसँगै माग पनि बढेको बताए। फेवातालको सौन्दर्य र जैविक विविधतासँगै जलारी समुदायको माछा मार्ने पेसा तालको सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिए पनि यो पेसामा नयाँ युवाको रुचि कम देखिएको बताउँछन् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पर्यटन व्यवसायी हरि भुजेल। उनी जलारी समुदायको दीर्घकालीन सुदृढीकरणका लागि ताल संरक्षण, माछा उत्पादनमा वृद्धि, र युवा पुस्तालाई आकर्षित गर्ने नयाँ रणनीति आवश्यक रहेको बताउँछन्।

पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जलारी समुदायको पुर्ख्यौली पेसा संरक्षण र उनीहरुको जीवनस्तर उकास्न महानगर तयार रहेको बताए। उनी भन्छन्, ‘जलारी समुदायका युवा पुस्ताको रुचि बढाउन र आवश्यक सीपका लागि तालिमको आवश्यकता समुदायले गरेमा महानगर साझेदारी गर्न तयार छ।’

युवा पुस्तालाई तालसँग जोड्न माछा उत्पादन बढाउन, ताल संरक्षणमा ध्यान दिन र आधुनिक तरिकाबाट आर्थिक रूपमा लाभप्रद बनाउने उपायहरूको खोजी नै उत्तम विकल्प हुनसक्ने उनको भनाइ छ।

अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब एकसय घरधुरी जलारी छन्। पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ। तोकिएको स्थानमा जलारी समुदायले माछा मार्दै आएका छन्। 

पोखरालाई सात विकेटले पराजित गर्दै एनपीएलमा जनकपुरको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । 

पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । 

जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै, आशिफ सेखले ३२, अनिल शाहले एक रन बनाउँदा अविजित रहँदै जम्स निशमले ४० र हर्ष ठाकरले १३ रन जोडे ।  बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, माइकल लिस्क र विपीन खत्रीले समान एक/एक विकेट लिए । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए ।

माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले छ रन जोडे भने अविजित रहँदै नारायण जोशीले पाँच र विपिन खत्रीले एक रन बनाए । 

जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक/एक विकेट लिए । 

जारी एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।  आज हुने दोस्रो खेलमा काठमाडौंँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । 

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।

सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने उनले विश्वास व्यक्त गरे ।

“अरुण डाँडा र यहाँ पुग्ने संरचनाको विकासका लागि आवश्यक काम भइरहेको छ”, अध्यक्ष राईले भने, “यहाँको बृहत्तर विकास गर्न करिब ८० रोपनी क्षेत्रमा विविध संरचना विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आर्थिक विकास र आम्दानीको स्रोतका रूपमा स्थापित गराउने लक्ष्यसहित काम भइरहेको छ ।”

यहाँ आइपुग्ने सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न पर्यटकहरू आउने गरेका उनको भनाइ छ ।

“पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्त्व छ”, वडाध्यक्ष तामाङले भने, “यो स्थान घुम्न आउने मानिसका लागि प्राकृतिक सुन्दरका साथै मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि पूजाआजा तथा दर्शन गर्न पनि आउने गरेका छन् ।” यहाँ आउने पर्यटकको यकिन तथ्यांक नभए पनि यसअघि दैनिक १०–१५ जना आउने गरेकामा पूर्वाधार विकास भएसँगै दैनिक २५–३० जना आउने गरेका उनले जानकारी दिए ।

यस क्षेत्रको विकास गरी स्थानीयको जीवनस्तर उकास्ने गरी योजनाबद्ध रूपमा पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । यहाँको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको उनले उल्लेख गरे । पर्यटकलाई लक्षित गरेर यहाँ चिया खेतीको सम्भावनाको अध्ययन गरी विस्तारको कामसमेत भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

पर्यटक प्राकृतिक आनन्दसँगै स्थानीय परिकारको स्वाद लिन यहाँ आउने गरेका स्थानीय लालबहादुर तामाङले बताए । सदरमुकामबाट नजिकको दूरीमा पर्ने अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता भएको उनले उल्लेख गरे ।

“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेसँगै पर्यटकको सङ्ख्या बढेको छ”, स्थानीय तामाङले भने, “बिदाको समयमा आन्तरिक पर्यटक बढी आउँछन् । पछिल्लो समय यो स्थान धेरैको रोजाइमा पर्न थालेको छ ।”

समुन्द्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ ।

बिटकोइनको मूल्य १ लाख डलर नाघ्यो

बीबीसी । बिटकोइनको मूल्य बढेर एक लाख डलरभन्दा माथि पुगेको छ । संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले क्रिप्टोकरेन्सीलाई अनुकूल हुने खालका नीति अवलम्बन गर्ने आशामा बिटकोइनको मूल्य बढ्न थालेको बताइन्छ ।

ट्रम्पले भूतपूर्व सेक्युरिटी एन्ड एक्सचेन्ज कमिशन (एसईसी) का पूर्वआयुक्त पोल एट्किन्सलाई वाल स्ट्रीट नियमन गर्ने निकायमा नियुक्त गर्ने घोषणा गरेपछि सर्वाधिक प्रचलित यो क्रिप्टोकरेन्सीको मूल्य अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो । एट्किन्सले क्रिप्टोकरेन्सीलाई अनुकूल हुने गरी काम गर्ने ठानिएको छ ।

एक बिटकोइनको मूल्य एकलाख डलर अर्थात् १.३५ करोड रुपैयाँभन्दा बढी भएपछि विश्वभरि क्रिप्टोकरेन्सीका प्रशंसकहरू उत्साहित देखिएका छन् ।

बिटकोइनको मूल्य एक लाख डलर पुग्ने अनुमान पहिला नै गरिएको थियो । मूल्य एक लाख डलरनजिकै पुग्दा संसारभरिबाट लाखौँ मानिसहरूले अनलाइन माध्यमबाट क्रिप्टोकरेन्सीप्रेमीहरूले उत्सव मनाएको हेरेका थिए ।

सन् २०२१ मा ट्रम्पले बिटकोइनलाई छल भनेका थिए। तर पछि उनले उक्त क्रिप्टोकरेन्सीका बारे आफ्नो धारणा फेरे। यो वर्ष निर्वाचनको प्रचारप्रसारका बेला उनले बिटकोइनका समर्थकहरूसमक्ष अमेरिकालाई ‘पृथ्वीको क्रिप्टो राजधानी’ बनाउने उद्घोष पनि गरे ।

बिटकोइनको मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले ह्वात्तै घट्ने गरेको छ। तर यसको चर्चा मूल्यका कारण मात्र हुने गरेको छैन। सन् २००८ मा पहिलो पटक इन्टरनेटमा देखा परेदेखि नै बिटकोइनबारे निरन्तर समाचार बन्दै आएको छ ।

उपनिर्वाचनको नतिजाले ८४ को निर्वाचनको आधार तयार गरेको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाएको छ ।

बिहीबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले मन्त्रीले प्राधिकरणमा कार्यकक्ष खोल्नुले सरकार विचौलिया र भ्रष्टाचारीलाई बचाउनतिर लागेको स्पष्ट भएको निष्कर्ष निकालेको हो ।

माओवादी उपाध्यक्ष अग्नि सापकोटाले सरकार प्राधिकरणको काममा अवरोध सृजना गर्ने काम गरेको बताए । उनले भने, ‘सरकारले विद्युत प्राधिकरणले गरिरहेको काममा अवरोध सृजना गर्ने काम गरेको छ। सरकारले विचौलिया जोगाउने, भ्रष्टाचारीहरूलाई बचाउने काम गरिरहेको छ ।सरकारले कामकारवाहीमाथि निगरानी तथा खबरदारी गर्छौं।’

उनले  यसका लागि आगामी बस्ने स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा छलफल गरी एजेण्डा बनाएर अघि बढ्ने बताए ।

त्यस्तै बैठकले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पक्षमा आएको नतिजाले राम्रो सन्देश प्रवाह गरेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको बताए ।

उनले भने,’विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै ८४ का लागि तयार गर्छौं । त्यसका लागि उपनिर्वाचनले निकै राम्रो आधार प्रदान गरेको छ।’

उनले बैठकमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा, पालिका सम्मेलन र खबरदारी सभालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए।

प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान हराएपछि दोषीमाथि कारबाहीका लागि छानबिन समितिको सिफारिस

हेटौंडा ।  हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोड बराबरका सामान हराएका छन् । सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।

विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले सात करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो ।

‘खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्’, महाशाखा प्रमुख झाले भने, ‘अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर सात करोड बराबरका सामान अझै गायब छन् ।’ तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए । 

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग –एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।

पोखराका लागि दीनेश खरेल र आन्द्रेस गोउस ओपनिङका लागि आएका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे । पाँचौं ओभरको अन्तिम बलमा टिमको स्कोर ३२ रन हुँदा आन्द्रेस १६ बलमा २० रन बनाएर पभेलियन फर्किए ।

उनलाई ललित राजवंशीको बलिङमा आशिफ शेखले क्याच गरेका थिए । स्कोरबोर्डमा २ रन थपिएका बेला दिनेश खरेल पनि पभेलियन फर्किए ।

जेम्स निसमको बलमा तुल थापाबाट क्याच आउट भए । दिनेशले १७ बलमा १० रन बनाए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका कप्तान कुशल भुर्तेल आज पनि धेरै बेर टिकेनन् ।

उनले ६ बलमा ६ रन बनाएर आउट भए । अन्तिम ओभरमा लगातार तीन बल डट खेलेपछि चौथो बलमा माइकल लिस्क क्याच आउट भए । उनले १३ बलमा २५ रन बनाउँदा ३ छक्का प्रहार गरेका थिए ।

नेपाल– चीन पर्यटन प्रवर्द्धनको प्रयास

काठमाडौँ । नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसी)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो ।

चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यहाँस्थित सिसिसी कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाचट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताइन् । उनले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गरिन् ।

चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रवर्द्धनका कार्यक्रम उपयोगी हुने कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।

जाजरकोटमा जिप दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदूरको मृत्यु

कर्णाली । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गइरहेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जिप गएराति सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २२ वर्षीय मिथुन हमालको मृत्यृु भएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनकाअनुसार भेरी नगरपालिका–१० नुवागाउँ नजिकै जिप दुर्घटना भएको हो । दुर्घटनामा लोकमार्गकै मजदुर २२ वर्षका कमल चौधरी घाइते भएको र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

प्राज्ञिक भेलाद्वारा ७ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा गरिएको ‘प्राज्ञिक भेला –२०८१’ ले सात बुँदे घोषणापत्र जारी गरेको छ ।
यस्ता छन् सात बुँदे घोषणापत्र
१. हाल गठन भएका र भविष्यमा गठन हुने प्रदेश र पालिका स्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूको उद्देश्य, नामाकरण, गठन, कार्यविधि आदिका बिचमा एकरूपता कायम गर्ने र यसको समन्वय एवम् नीति निर्माणका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने ।

२. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठान÷प्राज्ञिक संस्थाहरूका बिचको सम्बन्ध र समन्वयको नीति निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारसमक्ष अनुरोध गर्ने ।

३.सङ्घीय स्तरमा वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रका लागि तीनओटा प्रज्ञा–प्रतिष्ठान र विज्ञान प्रविधि क्षेत्रमा अलग्गै प्रज्ञा–प्रतिष्ठान रहेका तर प्रदेश र पालिका स्तरमा यी चारओटै विषय क्षेत्र समेटेर एउटै प्राज्ञिक संस्था निर्माण गर्नुपर्नेमा हाल गठन भएका प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूमा यी चारओटै विषय क्षेत्र समेटिएको पाइँदैन । यसर्थ विज्ञान प्रविधि क्षेत्रसमेत संस्कृतिका सबै क्षेत्र समेटेर प्राज्ञिक संस्थाको क्षेत्र विस्तार गर्ने ।

४. संस्कृतिकर्मी, स्रष्टा, कलाकारका साथै प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई सरकारी अस्पतालबाट स्वास्थ्योपचार सुविधा उपलब्ध गराउनका लागि पहल गर्ने ।

५. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूका कार्यक्रम, अनुसन्धान तथा प्रकाशनहरूको जानकारीको आदानप्रदान गर्ने, तिनको अभिलेखन गर्ने र उही कामको पुनरावृत्ति नगर्ने ।

६. वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रको अध्ययनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र प्रतिष्ठान गठन गर्न बाँकी रहेका प्रदेश तथा पालिकाहरूमा प्रतिष्ठान/प्राज्ञिक संरचना निर्माणका लागि आवश्यक पहल गर्ने ।

७. यसअघि २०८० साउन १३ गते पोखरामा भएको प्रज्ञा पोखरा घोषणा–पत्र २०८०, मिति २०८० पौष १३ गते भएको प्राज्ञिक भेला–काठमाडौँ घोषणापत्र –२०८०, मिति २०८१ साउन १२ गतेको प्राज्ञिक सम्मिलनका घोषणाको कार्यान्यवनका लागि आवश्यक पहल गर्ने ।

भेलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको सफ्टपावर निर्माण गर्ने बताएका थिए । भेलाले प्रज्ञा–प्रतिष्ठानबिच विचार, संस्कृति र ज्ञानमा आधारित भइ छलफल भएको उनको भनाइ थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै गण्डकी प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, आँबुखैरनी वाङ्मय परिषद्, भरतपुर प्रज्ञा–प्रतिष्ठान, सुनापति प्रज्ञा–प्रतिष्ठान, रत्ननगर वाङ्मय परिषद्, नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान, माडी नगरपालिका, गल्याङ प्रज्ञा–प्रतिष्ठान, वालिङ प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, महाङ्काल प्रज्ञा–प्रतिष्ठान, बिर्तामोड भाषा साहित्य कला प्रतिष्ठान, लालबन्दी नगर वाङ्मय परिषद्, कोहलपुर वाङ्मय प्रतिष्ठान, बेलवारी प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, ठाकुरबाबा प्रज्ञा–प्रतिष्ठान, व्यास नगर प्रज्ञा–प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान, ललितपुर, मैथिली विकास कोषका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?

राम थापा, गण्डकी । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन् । बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरे पनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।

नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । उनले भनिन्, “मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।”

बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।

“यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ”, उनले भनिन्, “मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।” कठिन परिस्थितिमा पनि विचलित नभइ पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उनले खुसी व्यक्त गरिन् ।

“यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पुर्याउनेछ”, आचार्यले भनिन्, “वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।”

चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोजेकी थिइन् । काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढेकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गरेकी थिइन् । स्नातकोत्तर अध्ययनका लागि उनले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाएकी थिइन्।

स्नातकोत्तर सकेर नेपाल फर्केपछि उनले फोहरमैला व्यवस्थापनमा काम सुरू गरेकी हुन् । प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद ! म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गरेकी थिइन् । पर्यावरण अभियन्ताका रूपमा उनले नेपालका धेरै ठाउँमा काम गरिसकेकी छन्।

आचार्यले केही वर्षअघि स्थापना गरेकी ‘अभनी भेन्चर्स’ ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ । फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाइन् ।

“फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ”, उनले भनिन्, “पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।”

उनले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गरिन् । हरेक घरबाटै फोहर व्यवस्थापनको काम सुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उनी ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक हुन् । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आएकी छन् ।

आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उनको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोडेकी थिइन् । सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमासमेत आचार्य नेतृत्वदायी भूमिकामा छिन् ।

प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उनले भने, ‘नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन् । थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ ।’

द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको भन्दै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए ।

चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए । 

सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने प्रतिबद्धताउनले  व्यक्त गरे ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने उल्लेख गरे । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनको भनाइ छ ।

सम्मेलनमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो एक नेपालले व्यावसायिक वातावरण बनाउन गरेको पहलबारे जानकारी गराए । सरकारले लगानी सहजीकरणसम्बन्धी आठ वटा कानुन एकसाथ संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको उनको भनाइ छ ।

यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि ढकालले गराए । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनको भनाइ छ ।

साथै उनले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए ।

महासङ्घ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगंजको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न जिल्ला अदालत पर्साले बुधबार लामिछाने र गोरखा मिडियाका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमतिका लागि अदालत गएको थियो । उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडियामा गएको बताइएको छ ।

लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनबाट पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी छ । केही दिनअघि बयानका लागि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको थियो । काठमाडौंमा तीन दिनमा बयान सकिएको थियो । त्यसपछि अहिले चितवनमा उनको बयान चलिरहेको छ ।

दसौँ राष्ट्रिय खेलकुद फागुन अन्तिममा हुन्छः खेलकुदमन्त्री चौधरी

गण्डकी ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन्।

पोखरा रंगशालामा बुधबार खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मंसिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताए। उनले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिए।

‘खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मंसिरमा राष्ट्रिय खेलकुद हुन सकेन। अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ,’ मन्त्री चौधरीले भने। पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उनको भनाइ थियो।

नेपालमा सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले उल्लेख गरे।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको थियो। आइसिसीले खेल पूर्वाधार निर्माण भएको खण्डमा यहाँ खेलाउन सम्भव हुने जनाएको थियो।

पोखरामा खेलकुदको धेरै सम्भावना रहेको र खेल पूर्वाधारसमेत अन्यत्रभन्दा राम्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव हुने मन्त्री चौधरीको भनाइ थियो।

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।

‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ’, मन्त्री पौडेलले भने ।

गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटइटिस बी तथा हैजाबिरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए।

‘हामी यसबारे बिमर्श गरिरहेका छौँ’, मन्त्री पौडेलले भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।’

नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ सङ्घीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलको भनाइ थियो ।

‘हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईंहरुबाट सहयोगको अपेक्षा गरेका छौ’, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, ‘यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरुका लागि खोपहरुको पहुँच र सुलभता महत्वपूर्ण हुनेछ ।’

कोही पनि पूर्ण खोप अभियानबाट बञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्वपूर्ण हुने उनको भनाइ थियो ।

एनपीएलमा विराटनगर किङ्ग्सको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हराएको हो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । 

लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले नौ रनको योगदान दिए । 

बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र सादबिन जफरले दुई दुई तथा विवेक यादवले एक विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए ।

उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरे । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र सादबिन जफरले समान १५÷१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको थियो ।  

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक  विकेट लिए ।

चार महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन

काठमाडौँ। पछिल्लो नौ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताएका छन्।

उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए।

राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुनसकेको छैन। अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बिमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बिमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो।

चितवन जिल्लामा डेङ्गी सङ्क्रमण घट्दो क्रममा

चितवन । चितवन जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो । उनले भने, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ । यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ ।” 

गत वर्ष कात्तिकसम्म मात्रै देखिएको डेङ्गी अहिले मङ्सिरमा पनि देखिएकाले सतर्कता अपनाउन प्रमुख रुपखेतीले सबैलाई आग्रह गरे । उनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ११ हजार नौ सय १९ जनाको डेङ्गी परीक्षण गर्दा तीन हजार छ सय ८७ सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमितमध्ये दुई हजार आठ सय ४६ जना चितवनका र बाँकी जिल्ला बाहिरका रहेका छन् । रुपाखेतीका अनुसार सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्लामा सङ्क्रमित भएकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपािलकाका एक हजार एक सय ५३ बिरामी रहेका छन् । सबैभन्दा कम माडी नगरपालिकाका ३६ जना छन् । 

यो रोग घर वरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले सो समयमा विशेष सावधानी अपनाउनुपर्ने प्रमुख रुपाखेतीले बताए ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको सङ्क्रमण बढ्ने जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले बताए ।

डेङ्गी हुँदा ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्दछन् । त्यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्नेलगायत लक्षण देखापर्ने जनस्वास्थ्य अधिकृत पट्टेलले जानकारी दिए ।

डेङ्गीको ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको उनले बताए ।

रास्वपा कार्याकर्ता र प्रहरीबीच चितवनमा झडप , आठजना घाइते

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्नथालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

“प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्”, प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक  अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए ।

रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मङ्गलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।

अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नभएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध हुनेछः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।

गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौंमा आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक रहेको बताएका हुन् ।

उनले आफूले त्यतिबेलै अर्को संघर्ष आवश्यक पर्ने बताएको र त्यो समय आएको बताए । उनले भने, ‘हामीले उतिबेला हामीले अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्नेछन्,  हामीले चाहेजस्तो बनाउन खोज्नेछौँ, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौँ, त्यो बिन्दु अब नजिक आएको छ ।’

उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए ।

नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो ।

देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे युद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुगाउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।

त्यसैगरी कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।