`

प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माण अघि बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वर वसन्तनगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको बताए ।

उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धी हासिल भएको बताए ।

‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो’ उनले भने ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो।

स्कर्पिओ रुखमा ठोक्किँदा रौतहटमा ८ जनाको मृत्यु

रौतहट । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा १६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिए । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।

दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

पूजा महतोको कप्तानीमा यू–१९ एसिया कप क्रिकेट खेल्ने टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले एसीसी महिला यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोली घोषणा गरेको छ । सोमबार साँझ क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । यू–१९ एसियाकप क्रिकेट मलेसियामा यहि डिसेम्बर १५ देखि २२ तारिखसम्म सञ्चालन हुँदैछ ।

नागरिकका गुनासो सुन्न स्वास्थ्य मन्त्रालयमा ‘हेल्लो स्वास्थ्य’ सेवा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाटसमेत पठाउन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

टेलिफोन नम्बर ‘१११५’ मा फोन गरेर, भाइबर र ह्वाट्सएप ‘९८५१३३०५९२’ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ ।

यसैगरी इमेलमार्फत ‘हेल्लो हेल्थ एट एमओएचपी डट जिओभी डट एनपी’ मा पनि गुनासा पठाउन सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न इकाइ स्थापना गर्ने मन्त्रीस्तरिय निर्णयपछि हेल्लो स्वास्थ्य स्थापना गरिएको जनाइएको छ ।

गुनासो सम्बोधन गर्न मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा अनुप बाँस्तोलाको संयोजकत्वमा गत मङ्सिर १४ गते इकाइ गठन गर्ने निर्णय गरिएको थियो । इकाईमा सूचना अधिकारी डा भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् ।

यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरु माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

काठमाडौंसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौँको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् ।


बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।


उनले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुनेक्रम बढेको बताए ।प्रवक्ता डा भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा  आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 


चिसो बढिरहेकाले मानिसहरुले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

तोरीले पहेँलपुर नवलपरासीका फाँट

नवलपुर ।  यतिवेला नवलपरासी बर्दघाट–सुस्तापूर्वका अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठुला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् ।

जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ । गैँडाकोट– ४ का रामप्रसाद खनियाँले यसपालि गैँडाकोटका प्लटिङदेखि ठुला फाँटमा समेत तोरीखेती गरिएको बताए । ‘अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ,’ उनले भने । खनियाँले आफूले पनि यस वर्ष करिब २० कट्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताए ।

कावासोती– १७ का नन्दराम गुरौले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताए । ‘तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो ,’ उनले भने, ‘अरू बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ, तर तोरीमा थोरै मिहिनेत गर्दासमेत राम्रो उत्पादन हुन्छ।’ उनले एक बिघामा तोरी लगाएका छन् ।

कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ । कार्यालयका कृषिप्रसार अधिकृत एवं सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष ०७९/८० मा एक हजार १८५ हेक्टर र आव ०८०/८१ मा एक हजार १७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताए । यस्तै, चालू आव ०८१/८२ मा एक हजार १८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ ।

आव ०७९/८० मा जिल्लामा एक हजार २८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर १.०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिए । आव ०८०/८१ मा एक हजार २८३ मेट्रिक टन तोरी र उत्पादकत्व प्रतिहेक्टर १.०९ मेट्रिकटन पुगेको छ । अघिल्ला वर्षमा भन्दा यस वर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ ।

एनपिएलमा अपराजित रहँदै जनकपुर वोल्ट्स शीर्ष स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मंसिर २० गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जितको यात्रालाई कायमै राखेको छ ।

यसैगरी जारी एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।

यस्तै चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो ।

विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।

लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । मङ्गलबार एनपिएलमा दुई खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

आयोगद्वारा रविमाथि दुर्व्यवहारबारे एआईजी तामाङसँग सोधपुछ, आइजिपीसँग थप बुझ्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चितवनबाट पोखरा लैजाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोपबारे प्रहरीसँग सोधपुछ गरेको छ ।

आयोगले सोमबार एआईजी टेकबहादुर तामाङसहित प्रहरी उच्च अधिकारीहरूसँग सोधपुछ गरेको हो । आयोगले घटनाबारे जानकारी दिन पत्र पठाएपछि एआईजी तामाङसहित प्रहरी उच्च अधिकारीहरु पुलचोकस्थित आयोगको कार्यालयमा पुगेका थिए । उनीहरूसँग यस घटनाबारे जानकारी लिइएको आयोग प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् ।

लामिछानेमाथि दुर्व्यवहार भएको भन्दै आयोगमा उजुरी परेको थियो । आयोगको विज्ञप्तिमा भनिएको छ, ‘जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो ।’

यसबारे निष्कर्षमा पुग्नका लागि आइजिपी बसन्तबहादुर कुँवरसँगै थप बुझ्नुपर्ने पनि आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बयानका लागि चितवनबाट पोखरा लैजानेक्रममा प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको लामिछानेले आइतबार अदालतको इजलासमा बताएका थिए ।

प्रहरीले मादक पदार्थ सेवन गरेको, स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दासमेत अस्वीकार गरेको लामिछानेले बताएका छन् । तर चितवन प्रहरीले कानुनअनुसार नै रविलाई चितवनबाट पोखरा लगेको बताउँदै लामिछानेको आरोप अस्वीकार गरेको छ ।

खाद्य कम्पनीबाट धनुषामा किसानबाट धान खरिद गर्न सुरु

जनकपुरधाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय, जनकपुरधामले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

धनुषाको किसानबाट यस वर्ष ३२ हजार क्विन्टल साेना मन्सुली धान खरिद गर्ने गरी आजदेखि सुरु भएको कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिए। यस वर्ष सरकारले सानो मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राईले बताए।

यसअघि सो कार्यालयको धान खरिदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए।

बास्मती धानको मूल्य निर्धारण नभएकाले तत्काल त्यसको खरिद नहुने पनि जनाइएको छ । धनुषामा यस वर्ष ४१ हजार पाँच सय ६६ हेक्टर क्षेत्रफल जमिनमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्याजमा आत्मनिर्भर हुन विदुरमा ‘प्याज पकेट’ कार्यक्रम

त्रिशूली। नुवाकोटको विदुर नगरपालिकाले प्याजमा आत्मनिर्भर बनाउन ‘प्याज पकेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विगतका वर्षमा परीक्षणको सुरु गरेको यस कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि वडा नं ७ मा व्यावसायिक उत्पादन गरी नगरलाई प्याजमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

उनले पालिकालाई आत्मनिर्भर बनाउँदै किसानको आर्थिक उपार्जन वृद्धिमा समेत सहयोग पुर्‍याउन ‘प्याज पकेट’ कार्यक्रमलाई गौरवको योजनाका रूपमा सञ्चालन गरिएको बताए।

‘प्याज पकेट क्षेत्रका किसानलाई आवश्यक पर्ने उन्नत जातका बिरुवाका लागि नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘दुईवटा कृषि सहकारीलाई उन्नत जात (रेड क्रियोल)को बीउबाट बिरुवा उत्पादन गरेर पकेट क्षेत्रका किसानलाई सहुलियत शुल्कमा वितरणको प्रबन्ध मिलाएका छौँ ।’

विगतका परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्नुका साथै स्थानीय किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन थालेपछि प्याजको व्यावसायिक उत्पादनलाई जोड दिइएको पालिकाको कृषि शाखाले जनाएको छ ।

बीउ उपलब्ध गराएका किसानले बिरुवा रोप्न सुरु गरेदेखि उनीहरूलाई बजारिकरणसम्म सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम समावेश गरिएको छ । कार्यक्रम सफल बनाउन कृषि औजार, सिँचाइ पाइप, प्राविधिक परामर्श दिइने जनाइएको छ ।

‘जल-ऊर्जा-खाद्य समस्यालाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ) को आयोजनामा थाइल्याण्डको बैँककमा आजदेखि सुरु भएको सम्मेलनमा उनी सहभागी भएका हुन् ।

सम्मेलनमा सोमबार सम्बोधन गर्दै मन्त्री खड्काले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै ऊर्जामन्त्री खड्काले नेपालको अर्थतन्त्रको आधार कृषि भएकाले दिगो र लचिलो कृषि खाद्य प्रणाली सिर्जना गर्न विज्ञान, नवप्रवर्तन र नीतिलाई एकीकृत गर्न गरिने बताए।

नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको तर जलवायु परिवर्तनका असरले हिमाली क्षेत्र परेको असरले यो क्षेत्र नराम्ररी प्रभावित भइरहेको उनको भनाइ थियो ।

मन्त्री खड्काले जल–ऊर्जा–खाद्य समस्यालाई दिगो रूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्यका लागि आग्रहसमेत गरे । उनले जलवायु संकट र सामाजिक–आर्थिक चुनौतीको सामना गर्दै जलस्रोत व्यवस्थापनमा उत्कृष्ट अभ्यास र प्राविधिक प्रगति प्रवर्द्धन गर्न थप सहकार्य, ज्ञान र साझेदारी आवश्यक रहेको बताए।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका दुई दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको छ ।

सरकारले रवि लामिछानेमाथि अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

सोमबार सामाजिक संजालमार्फत प्रचण्डले अदालतबाट दोषी ठहर नभएका लामिछानेमाथि त्यस प्रकारको व्यहार नगर्न चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’

नेप्से १२ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १२.८४ अंकले घटेको हो । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।

सोमबार एक करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबार ७ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । इनर्जी नेपालको सेयर ८.७६ प्रतिशतले बढ्दा महिला लघुवित्त वित्तीय संस्थाको ७.१४,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ६.०३ र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले बढ्यो । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए।

सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । हिमालयन डिस्टिलरीको २७ करोड,जोशी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड,जानकी फाइनान्सको ११ करोड र लाइफ इन्स्योरेन्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।नेप्से १२ अंकले घट्यो

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार सिलवालविरद्ध नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा केरमेट र जालझेल गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

पछिल्लो नौ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून बमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ ।

यु–१६ महिला फुटबल टिमको गोलकिपिङ प्रशिक्षकमा कल्पना कार्की नियुक्त

काठमाडौं । नेपाल फुटबल संघ(एन्फा) आगामी पुस ५ गते दशरथ रङ्गशालामा भुटानको राष्ट्रिय यु–१६ महिला टोलीसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपाली टिमको गोलकिपिङ प्रशिक्षकमा कल्पना कार्कीलाई नियुक्त गरेको छ ।

कार्कीलाई सोमबार एन्फा महासचिव किरण राईले एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : खानेपानीमन्त्री यादव

दमक। सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् ।

सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उनले ‘एक घर, एक धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पुर्‍याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताए ।

दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्त्व हुने हुँदा स्वच्छ तथा सुलभ ढङ्गले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पारे ।

जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उनले भने, ‘अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नुपर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।’

खानेपानी आयोजनामा उपभोक्तासहित सङ्घीय सरकारको करिब ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ । नवनिर्मित खानेपानी आयोजनाबाट दमक–२, ३ र ४ वडाका ६ हजार पाँच सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिए।

सो आयोजना आर्थिक वर्ष २०७६-७७ मा निर्माण थालिएको हो । योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उनको भनाइ थियो ।

यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौँदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोखरेलले बताए ।

‘किवीभन्दा अलैँचीबाट दशौँ गुणा फाइदा’

मंगलबारे । ‘अब यो किवी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किवी लगाएका किसान विनोद खतिवडाले भने । करिब सातदेखि १० वटा किवीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उनले किवीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताए । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोपेका छन् । किवी र अलैँची तुलना गर्दै उनी भन्छन्, ‘ऊ बेला किवी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि दुई लाख माथि नै हुन्थ्यो ।’

करिब २० बोट किबीबाट पाँच हजारको पनि आम्दानी नभएको उनको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किवी लगाएका छन् ।

अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किवी प्रतिकिलो एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो दुई हजार आठ सय माथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ ।

कुनै बेला प्रतिकिलो छ सय माथिले कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ । बिक्री भएको किवी समेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किवीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरू बताउँछन् । किवीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ ।

किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य समेत आलु बराबर मात्र पाइने गरेको उनले बताए। सुरुमा किवी गर्ने किसानहरूले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ । सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए।

किवीलाई फलफूलको राजा समेत उपनाम दिइएको छ । एउटै किवीबाट धेरै वटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ । तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरूको आरोप छ ।

धेरै पौष्टिक तत्त्वले भरिपूर्ण मानिएको किवी फल इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ । पश्चिमी जिल्लाहरूमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किवी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ ।

यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ ।

पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि एक हजार दुई सय मिटरदेखि माथि दुई हजार चार सय मिटरसम्मको उचाइमा किवी फलको खेती गर्न सकिने बताइएको छ ।

यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि एक हजार दुई सय मिटरदेखि माथि दुई हजार चार सय मिटरसम्मको उचाइमा किवी फलको खेती गर्न सकिने बताइएको छ ।

इलाममा करिब कुल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए। अघिल्लो वर्ष दुई हजार आठ सय ५२ मेट्रिकटन किवी उत्पादन भएको उनले जानकारी दिए। किवीलाई प्रशोधन गरेर जुस, जाम समेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउन समेत पहल गर्ने हो भने किवीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरूको भनाइ छ ।

अमेरिकामा जन्मिनेलाई स्वतः नागरिकता दिने व्यवस्था हटाउने ट्रम्पको घोषणा

बीबीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिनेलाई स्वतः नागरिकता दिने व्यवस्था हटाउने घोषणा गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि एनबीसी न्युज च्यालनसँगको पहिलो टेलिभिजन अन्तर्वार्तामा उनले आप्रवासीलाई फिर्ता गर्ने विषयमा डेमोक्र्याट्ससँग मिलेर काम गर्ने बताए ।

उनले क्यापिटल हिलमा भएको आक्रमणमा संलग्नलाई माफी दिनेसमेत बताएका छन् । अघिल्लोपटक ट्रम्प राष्ट्रपति चुनावमा पराजित भएपछि उनका समर्थकले क्याटिल हिलमा आक्रमण गरेका थिए ।

उनीहरूमाथि बाइडेन प्रशासनले मुद्दा चलाए पनि ट्रम्पले भने आफूले पद सम्हालेपछि पहिलो निर्णयमै उनीहरूलाई माफी दिने बताएका छन् ।

प्यालिस्टिनीमाथि इजरायली संहारविरुद्ध हस्ताक्षर अभियानमा शीर्ष नेताहरुको पनि समर्थन

काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारकाविरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ । अभियानालाई साथ दिन सोमबार राजनीतिक दलका शीर्ष नेताहरु समेत रत्नपार्क पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु रत्नपार्क पुगेर अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । पछिल्ला दिन इजरायलले प्यालेष्टाइनमाथि आक्रमण गर्दा हजारौं प्यालेष्टाइनीले ज्यान गुमाइसकेका छन् ।

हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैनः प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरो कामलाई गति दिने बताएका छन् ।

झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा एक हुनुपर्ने बताएका हुन् । उनले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए ।

उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिने बताए । उनले भने, ‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैन । हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’

कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा नम्बर २,३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसंख्या लाभान्वित हुनेछन् ।

सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्नेछन्ः महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ, २४ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएक छन् । उनले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आफ्नो आह्वान दोहोर्याए ।

कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानुनअनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, “कुनै पनि राजनीतिक सङ्क्रमण समावेशी र व्यापक छ र यसले सिरियाका जनताको सबै विविधतामा वैध आकाङ्क्षाहरू पूरा गर्दछ भन्ने सुनिश्चित गर्न हामीलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन को आवश्यकता हुनेछ।”

“सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता लाई पुनस्थापित गर्नु आजको पहिलो आवश्यकतामा पर्छ,” गुटेर्रेसले भने ।

संयुक्त राष्ट्रसङ्घले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उनले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफुहरू प्रतिबद्ध रहेको बताए । यो सिरियामा दिगो शान्तिको मार्ग हो ।

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

सियोल । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।

संसदीय सुनुवाइमा एक सांसदले मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ–अपले भने, ‘हो, यो सही हो ।’

‘उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न नागरिक शासन निलम्बन गरिएको हो,’ युनले घोषणाका क्रममा भनेका थिए । उनको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टा पछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए ।

राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो ।

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजिनामा दिएका थिए भने उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।

नोबेल पुरस्कार समितिका सदस्य र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीबीच संवाद

ओस्लो। नोबेल समितिले सन् २०२३ को शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीसँग उनी पुरस्कृत भएपछि पहिलो पटक प्रत्यक्ष कुराकानी गरेको छ ।

समितिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो कलको क्लिपअनुसार मोहम्मदीले आफु पुरस्कृत भएको जानकारी प्राप्त गरेपछि इभिन जेलको महिला वार्डमा रहेका कैदीले ‘वुमन लाइफ फ्रिडम’ को नारा लगाएर पुरस्कार समितिप्रति कृतज्ञता व्यक्त गरेको स्मरण गरेको बताएका छन् ।

“मेरो एक जना सँगी कैदीले जेलको पुरुष वार्डमा रहेका आफ्ना पतिलाई फोन गर्न सफल भएको र उहाँबाट आफुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको अविश्वसनीय समाचारलाई पुष्टि गर्ने मौका मिलेको थियो,” पुरस्कृत भएको थाहा पाउँदाको क्षणबार उनले स्मरण गरे ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डविरुद्ध वकालत गरेको आरोपमा ५२ वर्षीया मोहम्मदी सन् २०२१ को नोभेम्बरदेखि जेल जीवन बिताउँदै आएको छ । उनलाई उपचारका लागि अस्थायी रूपमा जेलबाट बाहिर निस्कन दिइएको हो । उनले जेल प्रशासनको शर्त अनुसार उपचारपछि उनी पुनः जेल फिर्ता हुनुपर्छ ।

इरानमा मानव अधिकारका लागि अभियान चलाएबापत गत वर्षको नोबेल शान्ति पुरस्कार जितेपछि मोहम्मदीका दुई सन्तानले उनको तर्फबाट यो पुरस्कार प्राप्त गरेको थियो ।

हाडको शल्यक्रिया पछि स्वास्थ्यको कारण देखाउँदै उनलाई बुधबार तीन हप्ताका लागि जेलबाट रिहा गरिएको थियो ।

मोहम्मदीका समर्थकहरूले यसलाई अपर्याप्त भन्दै उनको बिनाशर्त स्थायी रिहाइका लागि दबाब दिएका छन् ।

देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार दृढ छ : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली काँग्रेस सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताए ।

देशमा स्थायी सरकार आवश्यक परेका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको उल्लेख गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु रहेको बताए ।

“देशमा विशेष किसिमका समस्या देखा पर्छन् त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ”, गृहमन्त्री लेखकले भने “मूलकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुई/दुई महिनामा संसद्मा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो,” उनले भने “सरकार अत्यन्त अस्थिर हुँदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन । विकासका काम सही ढंगले अगाडि बढ्न सकेनन् । शान्ति सुरक्षा तथा विधिको शासनमा प्रतिकुल असर पर्न थाल्यो ।”

समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो । सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरिरहेको उनले उल्लेख गरे ।

आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उनको भनाइ छ । गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताए ।

कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, “सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।”

कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उनले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाए ।

भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्छः उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रवद्र्धन अनिवार्य शर्त रहेको बताएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुशासन र सभ्य समाज निर्माण गर्न भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताए ।

यसका लागि राज्यका जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीहरुले आफ्नो दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्नुपर्नेमा सिंहले जोड दिए ।

भ्रष्टाचारले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भन्दै उनले भ्रष्टाचारका सबै स्वरुप र आयामहरुलाई परिभाषित गरी दण्डनीय बनाउनुपर्नेमा जोड दिए ।

उनले यसका लागि सुपुर्दगी पारस्परिक कानूनी सहायता र भ्रष्टाचारजन्य कसूरबाट आर्जित सम्पत्ति फिर्ता गर्ने सम्बन्धि कानून तथा संस्थागत व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

‘भ्रष्टाचार एउटा संगठित अपराध हो । भ्रष्टाचारले घुसखोरी र आर्थिक अनियमिततालाई बढावा दिएर आर्थिक विकासलाई सुस्त बनाउँछ । यसले निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउँछ । यसप्रति राज्य बढि सक्रिय हुनु जरुरी छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रवद्र्धन अनिवार्य शर्त हो । प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको । राज्य अझ बढि सक्रिय हुन जरुरी छ । सभ्य समाज निर्माण गर्न राज्यका सबै अंगका पदाधिकारीहरु गम्भीरतापूर्वकलाग्नु जरुरी छ।’

भोलिको सदाचार निर्माणः युवाहरुसँग भ्रष्टाचार बिरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा यस वर्ष भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।

बीआरआईमा हाम्रो अडान यथावत छः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले चीनसँग बीआरआईअन्तर्गत ऋण नभई अनुदान लिनुपर्नेे निर्णय अहिलेपनि कायमै राखेको बताएको छ ।

सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको बताए ।

उनले भने,‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो । त्यही निर्णयमा आज पनि कायम छौँ । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ ।’

उनले कार्यान्वयन समझदारी फ्रेमवर्कमा नेपालको राष्ट्रिय आवश्यकता, हित र अनुकूलताका विषयवस्तुलाई मात्रै समावेश गर्ने गरेर कुरा अघि बढेको पनि बताए ।

उनले भने, ‘त्यसमा ग्रान्ट फाइनाइन्सिङ नभएर एड फाइनाइन्सिङ आयो भन्ने सार्वजनिक चर्चा छ । एड फाइनाइन्सिङमा ग्रान्ट फाइनाइन्सिङ स्वाभाविक रुपमा पर्ने भाइहाल्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । जसमा दश वटा परियोजना समेटिएका छन् ।

कांग्रेसद्वारा गण्डकी प्रदेशसभा सदस्यमा सुनिता थापा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा समानुपातिकतर्फको रिक्तसदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा थापालाई सिफारिस गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई अर्को नाम सिफारिस गर्न भनेको थियो । कांग्रेसले उक्त स्थानमा थापाको नाम निर्वाचनमा आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

थापाको नाम आदिवासी जनजाती महिलातर्फ बन्दसूचीमा पाँचौँ नम्बरमा थियो। उनीभन्दा अगाडीका चार जना प्रदेश सभासदस्य बनिसकेका छन्।

अमेरिकाले नेपाललाई थप आर्थिक सहयोग गर्ने

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरुबीच आर्थिक सहयोग, एमसीसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए ।

साथै विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपले समस्यामा परेपनि नेपाल भने आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको बताए । अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको पनि बताए ।

सरकारले रविमाथि प्रतिशोध साँध्योः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अपमानजनक ढंगले प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सामाजिक संजालमार्फत श्रेष्ठले यस्ता प्रतिशोधपूर्ण व्यवहार नगर्न पनि सरकारलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यसबीचमा हाल म देश बाहिर रहेकै अवस्थामा रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’

उनले दोषी भए जुनसुकै दलका नेतालाई पनि कारबाही गर्नुपर्ने भन्दै उनले कांग्रेस र एमालेका नेताहरुमाथि अनुसन्धान नभएकोमा भने आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘यस सन्दर्भमा हाम्रो स्पष्ट दृष्टिकोण र मत छ कि जुनसुकै पदीय वा अन्य जुनसुकै हैसियतको भएपनि भष्टाचारको अनुसन्धान हुन सक्छ वा हुनुपर्छ र स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जोसुकै भएपनि कारवाही गरिनु पर्दछ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं । तर सरकारले लामिछाने बाहेक नेपाली कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।’

उनले सबै प्रकारको अनियमितता एवं भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त रुपमा अघिबढाएर सुशाशन कायम गर्नु आजको कार्यभार भएको उल्लेख गरेका छन् ।

उनले भने, ‘नेपालको आजको मुख्य कार्यभार सामाजिक आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तिब्र पार्नु र त्यसको प्रतिफल आम जनताले आफ्नो जीवनमा प्रत्यक्ष भोग गर्न पाउने अवसर प्रदान गर्नु हो । त्यसको लागि सबै प्रकारको अनियमितता एवं भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त रुपमा अघिबढाएर सुशाशन कायम गर्नु आवश्यक छ । विकासलाई फड्कोको बिन्दुमा पुर्याउन सुशासन एक मुख्य पूर्वशर्त हो ।’‘