`

टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा दिने प्रस्ताव

टोकियो । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह सुरु गर्ने प्रस्ताव गरेका छन् ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त सङ्कटकालीन अवस्था’ को संज्ञा दिँदै लचिलो कार्य समयजस्ता नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जापानमा पनि कामकाजी आमाहरूले अझै पनि घरायसी बोझ बोक्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ र आफन्तहरूको हेरचाह गर्नुपर्छ भन्ने अपेक्षा नै बच्चाको अभावको मुख्य कारक मानिन्छ ।

आमाबाबुका लागि काम र जीवनको सन्तुलन लाई सजिलो बनाउन, गभर्नर युरिको कोइकेले टोकियो महानगरले सरकारी जागिरमा कार्यरत निजामती कर्मचारीहरूलाई अप्रिलबाट सुरु हुने नयाँ आर्थिक बर्षमा एक हप्तामा चार दिन काम गर्ने विकल्प प्रस्तुत गर्न चाहन्छन् ।

उनको प्रशासनले अर्को वर्ष टोकियो विधानसभामा लचिलो कार्य घण्टाको मस्यौदा प्रस्ताव पेश गर्ने योजना बनाएको छ ।

“महिला सशक्तीकरणमा पछि पर्नु जापानको लामो समयदेखिको मुद्दा हो, र यथास्थितिमाथि विजय प्राप्त गर्नु र समाजलाई थप विविधतापूर्ण र समृद्ध बनाउनु हाम्रो उज्ज्वल भविष्यका लागि महत्वपूर्ण छ,” उनले भने ।

उनले भने, “जापानी सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई हप्तामा तीन दिन छुट्टी दिने अधिक लचिलो कार्यप्रणालीले हामीलाई काम र जीवनको सन्तुलनका लागि जनताको पूर्ण समर्थनको सुरूवात गर्न लागेका छौँ।”

टोकियो महानगर प्रशासन अन्तर्गत सरकारी कर्मचारी मामिलाहेर्ने अधिकारी सची इकेगामीले बुधबार एएफपीसँगको कुराकानीमा उनले भने, “यो योजनाअन्तर्गत सिफ्टमा काम गर्ने कर्मचारीबाहेक सरकारी कर्मचारीले हप्तामा तीन दिनबिदा लिन सक्नेछन् । साथै, उनीहरूले प्रति महिना थप १५५ घण्टा बिदा लिनुपर्नेछ ।

साना बच्चाहुर्काउने कर्मचारीहरूलाई पनि थप लचिलो घण्टाको प्रस्ताव गरिनेछ, कामको दिन दुई घण्टासम्म छोट्याइनेछ, इकेगामीले  भने ।

जापानमा चार दिनको कार्यसप्ताहको प्रस्ताव जापानका लागि अनौठो लाग्न सक्छ किनकि उनीहरू अधिक श्रम वा काममा व्यस्त रहने गर्छन् । तर, स्थानीय सरकारले आमाबाबुको सहयोगका लागि यस्तो प्रस्ताव ल्याउन लागेको हो ।

पछिल्लो समय, धेरै विकसित देशहरू कम जन्म दरको समस्या सँग सङ्घर्ष गरिरहेका छन्, यो समस्या विशेष गरी जापानमा गम्भीर छ । जापानको जनसङ्ख्या लगातार १५ वर्षदेखि घटिरहेको छ ।

यसको अपेक्षाकृत कडा आप्रवासन नियमको अर्थ यो बढ्दो श्रम अभावको सामना गरिरहेको छ भन्ने बुझिन्छ ।

सन् २०१६ देखि विश्वको सबैभन्दा ठूलो शहरमध्ये एक टोकियोमा शासन गर्दै आएका पूर्वमन्त्री तथा टेलिभिजन प्रस्तोता कोइकेले गत जुलाईमा तेस्रो कार्यकालका लागि टोकियोको सामाजिक कल्याणको लाभ बढाउने प्रतिबद्धता व्यक्त गर्दै मुद्रास्फीति र घट्दो जन्मदरजस्ता चुनौतीलाई स्वीकारेका थिए।

दक्षिण कोरियाका राष्ट्रपति युन सुकविरुद्ध महाभियोग प्रस्ताव पेस

बीबीसी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको छ । विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव संसदमा बुधबार पेस गरेका हुन् ।

मंगलबार राति सैनिक कानुन लगाउने युनको प्रयास असफल भएको थियो । त्यसपछि विपक्षी सांसदहरूले उनलाई महाभियोग प्रस्ताव पेस गरेका हुन् ।

दक्षिण कोरियाका सामाजिक अभियन्ताले राष्ट्रपति युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी पनि गरिरहेका छन् ।

यसैबीच, दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हड्ताल सुरु गरेको छ । मंगलबार साँझ युनले देशमा मार्सल लको घोषणा गरेका थिए । राष्ट्रविरोधी तत्त्वलाई हटाउन यो कदम चालिएको उनले बताएका थिए । तर, बुधबार बिहान उनले सैनिक कानु लगाउने आदेश फिर्ता लिएका थिए ।

२४ अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से २४ दशमलव ९७ अङ्कले घटेको छ ।

बुधबार जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार आठ अर्ब ५२ करोडको कारोबार भएकोमा बुधबार तीन सय २० वटा कम्पनीका दुई करोड तीन लाख कित्ता शेयर नौ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।

सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा

भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध विकासमा जोड दिएको हो । 

सामुदायिक विद्यालयको समस्या पहिचान तथा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुका विषयमा जानकारी लिन सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालेको छ ।

गाउँपालिकाले हालसम्मको शिक्षाको समसामयिक अवस्थाको विषयमा जानकारी गराउँदै शैक्षिक सुधारका लागि आगामी दिनमा सम्बद्ध पक्षले खेल्नुपर्ने भूमिकाका विषयमा योजनाबद्ध रुपमा काम अघि बढाएको छ । 

गाउँपालिकाले खस्किँदो शैक्षिक क्षेत्रको सुधारका लागि यहाँका ३२ वटा विद्यालयका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रनिधिसँग अन्तरक्रिया तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत समूह निर्माण गरेर शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा रणनीति तयार गरिएको हो । 

हालको नतिजालाई थप सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाले गर्नुपर्ने कामको विषयमा सहभागीले आफ्नो लिखित सुझाव दिएका छन् ।

सहभागीहरुले आवश्यक कार्यविधि तयार गरेर गाउँपालिकाले अनुगमनमा जोड दिनुपर्ने साथै स्थानीय सरकारले पुरस्कार र दण्डको नीतिलाई अवलम्बन गरेर कडाइका साथ अघि बढ्नुपर्ने बताएका छन् । विद्यालयहरुको आवश्यकताका आधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीको भनाइ छ । 

सामुदायिक विद्यालयहरुबाट राज्यको लगानी अनुसारको प्रतिफल आउन नसकेकाले शैक्षिक सुधारका लागि गर्नुपर्ने कामको विषयमा सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाको शिक्षाको क्षेत्रमा रहेका समस्याको पहिचान गरेर त्यसको समाधानमा जुट्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध रुपमा जुटेको उनको भनाइ छ ।

“गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “तथापि पनि सोचे अनुसारको परिणाम आउन सकेको अवस्था छैन, कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नका लागि सबै विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिसँग छलफल गरेर आवश्यक योजना निर्माण गरिरहेका छौँ ।”

विगतका दिनहरुबाट विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाका तर्फबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । 

सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो क्षमतालाई सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । प्रविधिमूलक शिक्षणमा विद्यालयहरुले जोड दिन आवश्यक रहेको उनले बताए ।

पौवादुङमा एक विद्यार्थी बराबर राज्यका तर्फबाट वार्षिक रुपमा  ४४ हजार नौ सय ९२ लगानी भइरहेकाले यो लगानीको सदुयोगमा सबैले ध्यान दिनुपर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

गत वर्ष गाउँपालिकाको एसइई उत्तीर्ण प्रतिशत छ दशमलव पाँच रहेको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कनको तथ्याङ्क राम्रो देखिए पनि बाह्य मूल्याङ्कनमा भने कमजोर देखिएको शाखाको भनाइ छ । 

कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल आउनेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन आवश्यक रहेको बताए । नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री र जीवन उपयोगी बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

गाउँपालिकाको कक्षा १ देखि ५ सम्म आन्तरिक मूल्याङ्कन मापदण्ड कार्यान्वयनको अन्तिम चरणमा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कट्वालले जानकारी दिइन् ।

अबका दिनमा शैक्षिक सुधारका लागि यसको आधारमा विद्यालयको आन्तरिक मूल्याङ्कन तथा अनुगमन गरिने उनको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयमा दुई हजार तीन सय हाराहारी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

चलचित्र विकास बोर्डद्वारा चलचित्र भवनको सूची सार्वजनिक

काठमाडौँ । चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । 


सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदुरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा  छन् । 


बोर्डले चलचित्र भवन र सिट सङ्ख्या समेत उल्लेख गरिएको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको सङ्ख्या थपघट हुनसक्ने समेत जनाएको छ ।  


सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण गर्न आग्रह समेत गरेको छ ।

धरानबाट तस्करलाई गोली हानेर ६ सय किलो गाँजा बरामद

धरान । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 


गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । धनकुटाबाट धरानतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मङ्गलबार राति नियन्त्रणमा लिएको थियो ।


दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।


धनकुटाबाट गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।


गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रसङ्घद्वारा सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘चिन्ता’ का साथ हेरिरहेको स्वीकार गरेका छन् ।

गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठूलो क्षति पुर्याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपतकालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।

फ्लेचरले भने, ‘हामी अहिले विश्वव्यापी रूपमा कैयौँ–सङ्कटको सामना गरिरहेका छौँ र यो सहयोग विश्वमा बढी सङ्कट झेलिरहेका सबैभन्दा कमजोर मानिसहरूका लागि हो । जलवायु परिवर्तन र द्वन्द्वका कारण सिर्जित असमानताले आवश्यकताको ‘व्यापक माग’लाई निम्त्याएको छ।’

ग्लोबल ह्युमेनिटेरियन ओभरभ्यु’को शुभारम्भ गर्दै फ्लेचरले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले खाँचोमा परेका सबै व्यक्तिसम्म पुग्न नसक्ने बताए ।

संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य मानवीय संस्थाहरूले सन् २०२५ का लागि ४७ अर्ब ४० करोड अमेरिकी डलर माग गरेका छन्, जुन यस वर्षको अपीलभन्दा केही कम हो। यो योजनापछि पनि अझै ११ करोड ५० लाख अमेरिकी अपुग हुने फ्लेचरले स्वीकार गरे ।

विश्वभरका मानवीय कार्यमा ‘दातृ निकायको थकान’ले सहायता कार्यक्रमलाई असर गरिरहेको तर्फ इङ्गित गर्दै उनले ‘यथार्थपरक’ योजना तयार पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसका लागि प्राथमिकता र ‘वास्तवमै कठिन, कठिन छनौट’ को आवश्यकता पर्छ।’

गत महिनासम्ममा यस वर्षका लागि ५० अर्ब अमेरिकी डलर को अपीलमध्ये ४३ प्रतिशत मात्र पूरा भएको थियो ।

यस वर्ष सिरियामा खाद्य सहायतामा ८० प्रतिशतले कमी आएको, म्यान्मारमा सुरक्षा सेवामा कटौती गरिएको र हैजाप्रभावित यमनमा पानी तथा सरसफाइ सहायतामा कमी आएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

तथापि, सशस्त्र द्वन्द्वमा मानिसहरूलाई सहयोग र संरक्षण गर्न सबैभन्दा ठूलो अवरोध भनेको अन्तर्राष्ट्रिय कानूनको व्यापक उल्लङ्घन हो ।

सन् २०२४ मानवीय सहायताकर्मीका लागि सबैभन्दा घातक वर्ष भइसकेको छ । गत वर्ष २८० सहायताकर्मीको मृत्यु भएको थियो ।

फ्लेचरले भने,’विश्वव्यापी मानवीय प्रणाली ‘अत्यधिक बढ्दो गति’मा छ तर आवश्यकताको तुलनामा कम वित्तपोषित छ र यो शाब्दिक रूपमा भन्दा चिन्ताजनक अवस्थामा छ । हामीलाई विश्वव्यापी ऐक्यबद्धतामा वृद्धिको आवश्यकता छ।’

यसैबीच विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा पुनरागमनले आगामी वर्ष सहायता रकममा वृद्धिको साटो सहायता एजेन्सीको बजेट कटौती हुनसक्ने आशङ्का बढेको छ ।

फ्लेचरले आगामी महिनामा नयाँ प्रशासनसँग जोडिनका लागि वासिङ्टनमा धेरै समय बिताउने योजना रहेको बताए ।

‘धेरै कठिन वैश्विक जलवायु परिवर्तनको चिन्ता केवल अमेरिकाको कारण मात्र नभई अन्य दातृ मुलुकका कारण पनि निम्तिएको र यसलाई सम्बोधन गर्न थप कदम चाल्नु पर्ने आवश्यकता छ,’ फ्लेचरले भने ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को मध्यसम्ममा द्वन्द्वका कारण १२ करोड ३० लाख मानिस आफ्नो घरबाट विस्थापित भएर बाँचिरहेका छन् भने विश्वमा हरेक पाँच बालबालिकामध्ये एक जना द्वन्द्वग्रस्त क्षेत्रमा बसिरहेका छन् ।

अझ चिन्ताजनक कुरा के छ भने समुदाय, खाद्य प्रणालीलाई तहसनहस पार्ने र सामूहिक विस्थापन गर्ने जलवायुजन्य विपत्तिहरूले समस्या सिर्जना गरेका छन् ।

उनले भने, ‘मलाई चिन्ता के छ भने आवश्यकताका ती दुई ठूला चालकहरूले अहिले एक साथ समस्याको सिर्जना गरिरहेका छन् ।’

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ। स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए। याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ ।

विसं २०७९ मङ्सिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण रु दुई अर्ब ६३ करोड २९ लाख लागतमा छोटो अवधिमै सम्पन्न भएको हो । सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको सङ्ख्या आठ पुगेको छ ।

ताप्लेजुङमा हालसम्मका सबैभन्दा ठूला आयोजनामध्ये ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना प्रमुख हो । त्यसलाई सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन् ।

इँवाखोला जलविद्युत् आयोजनामा नौ दशमलव नौ मेगावाट र माथिल्लो इँवाखोला आयोजनामा नौ दशमलव सात मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यी आयोजना ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलाबाट सञ्चालित छन् ।

पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा युनिटेक हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच दशमलव आठ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ ।

ताप्लेजुङमा हाल डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल आज बिहान भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

काठमाडौं । नेपाल र चीन सरकार बीच बेल्ट एवं रोड इनिसिएटिभ(बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा चीन भ्रमणमा रहेका बेला बुधबार दुई देशका अधिकारीबीच फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

फ्रेमवर्कमा नेपालले ऋणको साटो अनुदानको प्रस्ताव गरेको थियो । तर चीनले अनुदानको नेपालको प्रस्तावलाई अस्वीकार गरेको बताइएको थियो । अहिले हस्ताक्षर भएको विषयको विस्तृत विवरण भने खुलाइएको छैन ।

यसअघि दुई देशबीच मंगलबार विभिन्न नौ विषयमा सम्झौता भएको थियो । तर बीआरआईमा सम्झौता भएको थिएन । बीआरआईमा सम्झौता नभएपछि विपक्षी दलले प्रधानमन्त्रीको चीन भ्रमण असफल भएको भन्दै आलोचना गरेका थिए ।

मंगलबार दुई देशबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

त्यस्तै विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै चीनले नेपाललाई नौ अर्ब बराबरको अनुदान सहायताको घोषणासमेत गरेको छ ।

काठमाण्डौ गुर्खाजको पहिलो जित, कर्णाली याक्सलाई ३ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाज विजयी भएको छ । बुधबार भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौं विजयी भएको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौं गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । काठमाडौंका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए ।

कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले १/१ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए ।

प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाण्डौका गेरहार्ड इरस्मसले २ विकेट लिए । काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

ट्रम्पका सहयोगी कार्लसनले लिए रूसी विदेशमन्त्री लाभरोभसँग अन्तर्वार्ता

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको बताएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ताका लागि मस्को गएका थिए ।

कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्कोबीच बढेको तनावबारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभसँग छलफल भएको बताए ।

कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सार्वजनिक नगरिकन भनेका छन्, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ । अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ छ। यो धेरै चाँडै आउँदैछ।”

कार्लसनले आफूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अन्तर्वार्ता लिन खोजेको तर अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाए ।

दक्षिण कोरियामा किन तत्कालै भयो ‘मार्शल ल’ फिर्ता ?

बीबीसी । विश्वलाई चकित पार्ने गरी दक्षिण कोरियाली राष्ट्रपतिले मङ्गलबार राति घोषणा गरेको सङ्कटकालीन ‘मार्शल ल’ केही घण्टामै फिर्ता गरेका छन् । राष्ट्रपति यून सुक यउलले देशमा ५० वर्षपछि किन सैन्य कानुन घोषणा गरे त ? राति अबेर टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपतिले देशलाई उत्तर कोरियाका कम्युनिस्ट शक्ति र राज्यविरोधी तत्त्वहरूबाट उत्पन्न खतराबाट जोगाउन उक्त कानुन लागु गर्न लागिएको बताएका थिए ।

तर उनको कदम बाह्य चुनौतीका कारणभन्दा पनि आन्तरिक राजनीतिक समस्याका कारण हतारोमा चालिएको कुरा केही बेरमै स्पष्ट भयो । उनको कदमको विरोधमा प्रदर्शन गर्न हजारौँ मानिसहरू संसद्मा भेला भए। सांसदहरू उक्त घोषणालाई निष्क्रिय बनाउन आपतकालीन मतदानका लागि संसद्तर्फ दौडिए । अन्त्यमा यूनको कदम पराजित भयो ।

जानकारहरू यूनले घेराबन्दीमा परेको राष्ट्रपतिले जसरी काम गरिरहेको ठान्छन् । मङ्गलबार राति ‘मार्शल ल’ लागु हुने घोषणा गर्नुअघि पनि यूनले आफ्नो सरकारलाई कमजोर बनाउन विपक्षीहरूले गरिरहेका प्रयासबारे चर्चा गरेका थिए । उनको आदेशपछि केही समय देशमा सेना परिचालन भयो । हेल्मेट लगाएका सैनिक र प्रहरीहरू ‘नेशनल असेम्ब्ली’मा तैनाथ भए ।

हेलिकप्टरहरूले संसद् भवनको छतमा ओर्लिए । स्थानीय सञ्चारमाध्यमले मास्क लगाएका सशस्त्र सैनिकहरू भवनभित्र प्रवेश गर्दै गरेको र अग्निनियन्त्रणका लागि राखिएका उपकरण प्रयोग गरेर त्यहाँका कर्मचारीहरूले उनीहरूलाई प्रवेश गर्नबाट रोकेको दृश्य देखाएका थिए । स्थानीय समयानुसार राति ११ बजे सेनाले एउटा आदेश जारी गर्दै संसद्को गतिविधि र राजनीतिक समूहबाट हुने प्रदर्शनमा प्रतिबन्ध लगायो ।

सेनाले सञ्चारमाध्यमलाई पनि सरकारी नियन्त्रणमा राख्ने आदेश जारी गर्यो । तर दक्षिण कोरियाका राजनीतिज्ञहरूले यूनको घोषणालाई तत्कालै गैरकानुनी र असंवैधानिक भएको बताए। उनकै दल पीपल्स् पावर पार्टी (पीपीपी)का नेताले यूनको कदमलाई ‘गलत’ भने ।

देशको सबैभन्दा ठूलो विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङले राष्ट्रपतिको घोषणाको विपक्षमा मतदानका लागि सांसदहरूलाई संसद्मा भेला हुन आह्वान गरे । उनले दक्षिण कोरियाली सर्वसाधारणहरूलाई पनि विरोधप्रदर्शनमा सहभागी हुन संसद् परिसरमा बोलाए ।

‘ट्याङ्क, बन्दुक र चक्कु बोकेका सशस्त्र सैनिकहरूले देशमा शासन गर्ने छन् । देशवासी साथीहरू हो, न्याश्नल असेम्ब्लीमा आउनुहोस्,’ उनले भने । उनको आह्वानपछि हजारौँ मानिसहरू त्यहाँ भेला भए। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति भएको संसद्मा उनीहरूले ‘मार्शल ल’ र निरंकुशताविरुद्ध नाराबाजी गरे ।

त्यहाँबाट प्रसारण गरिरहेका स्थानीय सञ्चारमाध्यमले प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएका दृश्यहरू देखाएका थिए। सेनाको बाक्लो उपस्थिति भए पनि त्यहाँ उत्पन्न तनावका कारण हिंसा भएन ।

अनि सांसदहरू पनि बाटो बन्द गर्न राखिएका अवरोधहरू नाघेर भवनभित्र प्रवेश गर्न सफल भए। केही सांसदहरू त पर्खाल चढेर मतदान गर्न गएका थिए । मध्यरातपछि १ बजे दक्षिण कोरियाको संसद्ले राष्ट्रपतिको कदम मतदानबाट अस्वीकार गर्यो । मतदानमा सहभागी सबै १९० जना उक्त कदमको विपक्षमा उभिए । संसद्को कुल सदस्या सङ्ख्या ३०० छ । त्यसपछि राष्ट्रपति यूनको घोषणा अमान्य ठहर भयो ।

जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा

जुम्ला । पातारासी गाउँपालिका-२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । जिल्लाको विकट गाउँ सो वडामा गत सोमबारदेखि उक्त टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताए ।

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको यहाँस्थित नेपाल टेलिकम कार्यालयका प्रमुख सुवास शाहले बताए । यहाँका आठ वटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उनले जानकारी दिए ।

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् ।

सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताइन् ।

‘यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँं होटल र होमस्टे छन् । ती सबै धार्मिक पर्यटकले भरिभराउ छ,’ उनले भनिन्, ‘यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।’ धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उनले बताइन् ।

अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताए । ‘यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ,’ उनले भने, ‘होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।’

त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए। ‘यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ,’ अध्यक्ष राईले भने ।

जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ । माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।

धर्मगुरुको जन्मोत्सव समारोहका अवसरमा विभिन्न धार्मिक कार्यक्रम हुने गर्दछ । मङ्गलबार रक्षामन्त्री मानवीर राईले उद्घाटन गर्नुभएको जन्मोत्सव समारोह बिहीबारसम्म सञ्चालन हुने मुख्य आयोजक किराँत अङ्सी माङ्गेन्नन सेवा समिति अध्यक्ष केहरसिंह योङहाङले बताए ।

बुधबार धर्मगुरु आत्मानन्द लिङ्देनबाट धार्मिक प्रवचनसँगै आर्शीवाचन, उपहार वितरण, धन्यवादपत्र वितरण, पुस्तकपुस्तिका विमोचनलगायत कार्यक्रम तय गरिएको अध्यक्ष योङहाङले बताए । त्यस्तै बिहीबार माङगेन्ना चामल वितरणसँगै बिदाइ कार्यक्रम रहेको उनले बताए ।

माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा विसं २०११ मङ्सिर १८ गते जन्मिएका आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणको अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किराँत धर्मावलम्बीले मान्ने गरेका छन् ।

किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ । माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो । बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ ।

लिम्बू भाषामा माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर)ले छानेको ठाउँ हो । त्यस क्षेत्रलाई धर्मगुरु आत्मानन्द लिङ्देनले कर्मथलो बनाएका छन् । झापाको दमकबाट करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर माङ्सेबुङ पुग्न सकिन्छ ।

तर धार्मिकस्थल माङ्सेबुङ पुगिसकेपछि साँच्चै आनन्द महसुस हुने त्यहाँ पुग्नेहरू बताउँछन् । माङसेवुङ झापाको विर्तामोड–खुदुनाबारी–दानाबारी हुँदै ३५ किलोमिटर यात्रा गरेपछि पनि पुग्न सकिन्छ ।

कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।

कर्णालीका लागि ओपनर शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गरे । अर्जुन घर्तीले ४, गुल्शन झाले १२, बाबर हायतले १३, च्याडविक वाल्टनले २१ र देव खनाल शून्यमा आउट भए ।

र, जिशन मक्सुद १४ रनमा अविजित रहे । काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १–१ विकेट लिए ।

बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुन्छः प्रधानमन्त्री ओली

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिने बताएका छन् ।

बुधबार पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे ।

प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

धान काट्न मजदुरको सट्टा रिपर मेसिन

जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ ।

धान भित्र्याउन आफैंले सञ्चालन गर्न सकिने हाते ट्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका–९ का किसान जितेन्द्र सिंहले बताए । चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उनले बताए ।

उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका–८ का अर्का किसान अरुण पाण्डेले बताए । रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई–तीन लाग्ने गरेको बताए ।

रिपर मेसिन प्रयोग हुनुअघि धान भित्राउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गर्नुभएका जलेश्वर नगरपालिका–६ का किसान दिनेश मण्डलले बताए ।

रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव हुने समस्या समाधान भएकाले किसानले आफ्नो बिघौँबिघामा लगाएका धान भित्र्याउन रिपर मेसिन वरदान सावित भएको जलेश्वर नगरपालिका–२ का किसान अनिल साहले बताए । रिपर मेसिनको मूल्य स्थानीय बजारमा दुई लाख १५ हजार पर्ने उनले जानकारी दिए ।

पर्सामा खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्ने

वीरगञ्ज । पर्सास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।

कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको उनले बताए ।

गत सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथामिक खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो । समितिले जिरामसिनोको समर्थन मूल्य प्रतिक्विन्टल चार हजार तोकेको छ ।

सङ्घीय सरकारले सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ५८ दशमलव ६२ पैसा निर्धारण गरेको छ ।

‘‘किसान बाहेक कुनैपनि व्यापारी वा विचौलियाको धान खरिद गरिने छैन,’’सूचना अधिकारी दाहालले भने । ‘‘कम्पनीको गुणस्तर मापदण्ड अनुसारको राम्रो,सफा एवं सुकेको धान मात्र ल्याउनुपर्नेछ । सो प्रकृतिको धान नल्याएको खण्डमा खरिद गरिने छैन ।’’

यसैबीच, गत आर्थिक वर्षमा धान, चामल आयातमा कमी आएको पाइएको छ ।

भारतले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेकाले आयातमा कमी आएको हो । गत आवमा आठ अर्ब २८ करोड ५५ लाख ४२ हजारको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

देशमा सैनिक शासन लगाउने निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति

बीबीसी । मंगलबार देशमा सैनिक शासनको घोषणा गरेका दक्षिण कोरिएका राष्ट्रपति योन सुल यी ओल आफ्नो निर्णयबाट पछि हटेका छन् ।

बुधबार बिहान राष्ट्रपति सुलले सैनिक शासन लगाउने निर्णय फिर्ता लिएका हुन् । दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा रहेका १९० सांसदले सर्वसम्मतिले राष्ट्रपतिको उक्त निर्णयको विरोध गरेका थिए । त्यसपछि राष्ट्रपतिले मार्सल ल हटाएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपतिले भनेका छन्, ‘नेशनल एसेम्ब्लीको मागका कारण मार्सल ल हटाइएको छ । र, सेनालाई फिर्ता बोलाइएको छ । म नेशनल एसेम्ब्लीको माग स्वीकार गर्छु ।’

मार्सल ल हटाइएको केही घण्टापछि नै दक्षिण कोरियामा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरेका छन् ।

उपचुनावको परिणाम र शिक्षा

शंकर पोखरेल ।
उपचुनावको परिणाममा नेकपा एमाले तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ ।

उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख÷अध्यक्ष र ३ पालिका उपप्रमुख÷उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा नेकपा(माओवादी केन्द्र) ले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए । नेकपा(एमाले)ले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नु पर्दछ ।

चुनावी परिणामका हिसावले समग्रतामा नेपाली कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसावले उसले २ अध्यक्ष र ३ उपप्रमुख÷उपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ । नेकपा(माओवादी केन्द्रले १ अध्यक्ष र १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपी माओवादीको जितमा विगतको चुनावमा नेपाली कांग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यद्यपी कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।

जहाँसम्म नेकपा(एमाले)को परिणामको विषय छ विगतमा जितेका ७ वडाध्यक्षका ठाउमा उसले एक अध्यक्ष, दुई उपाध्यक्ष सहित ५ वडाध्यक्ष जितेको छ । गुमेको २ वडाध्यक्षका ठाउमा १ अध्यक्ष र २ उपाध्यक्ष सहित ३ पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले नेकपा(एमाले)का लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ ।

तर नेकपा (एमाले)का स्थानीय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाडौंमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन । अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।

यस पटकको निर्वाचनमा आमरुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्यजनक छ । नेकपा(एमाले) विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो । नेकपा (माओवादी केन्द्र) ले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो । यसवाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ । यसवाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।

विवाहपञ्चमीको तेस्रोदिन धनुषयज्ञ मनाइयो

धनुषा । जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन मंगलबार धनुषयज्ञ सम्पन्न भएको छ । विधिवत्रुपमा आइतबार सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मङ्गलबार बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।

त्रेतायुगमा झै प्रतीकात्मक रुपमा रामलक्ष्मणको पहिरनमा सजिएको बालकहरुबाट रङ्गभूमि मैदानमा बनाइएको मञ्चमा राखेको धनुष तोड्न लगाएर धनुषयज्ञ मनाइएको हो । प्रतीकात्मक भगवान् रामको रूपमा सजिएको बालकले धनुष तोडेका थिए ।

जानकी मन्दिरका छोटे महन्थ रामरोसन दास वैष्णवका अनुसार सो अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि धनुषयज्ञमा सहभागी भएको थियो ।

जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी भव्यताका साथ मनाए पनि अयोध्याबाट पाँच वर्षको अन्तरालमा जन्ती आउने गरेको छ । यस पटक चौथोपटक अयोध्याबाट जनकपुर जन्ती आएको हो ।

प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा भारत–नेपालको विभिन्न ठाउँबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । धनुषयज्ञको लागि बनाइएको मञ्च अगाडि पण्डालमा हजारौँ सङ्ख्यामा श्रद्धालको उपस्थिति रहेको थियो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा राजा जनकले सीता स्वयंवरका लागि राखिएको धनुष अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् रामले तोडेपछि रामसँग सीताको विवाह भएको थियो ।

सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो । दोस्रो दिन विवाह मण्डपको बगैँचामा फूलबारी लीला दर्शन गराइएको थियो ।

चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । छैटौँ दिनअर्थात् मङ्सिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्याउने छ ।

त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ । रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।

झ्याउरे छन्दलय सम्वद्र्धन गर्नु नेपाली मौलिकता बचाउनु होः कुलपति राई

काठमाडौँ । नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा‘झ्याउरे छन्दलय कविता लेखन’विषयक विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द हो । जुन मानव सभ्यता सुरु भएदेखि नै झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको हो ।

हाम्रा वेद ,ऋचा र मुन्धुम लगायतका कैयौँ ग्रन्थहरू लयबद्ध भएकाले नै सहज रूपमा पुस्तान्तरण हुन सकेको चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचेको मुनामदनले झ्याउरे छन्द स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । झ्याउरे छन्दलयमा लेखिएको ‘मञ्जरी’ गीतिकविताको लोर्कापण गर्दै उनले नेपाली मौलिक झ्याउरे छन्दलयकी अभियन्ता कवियत्री रेणुका भट्टराईले झ्याउरे छन्द पुनर्जागृत गर्न खेलेको भूमिका स्तुति रहेको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतले मौलिक नेपाली झ्याउरे छन्दलयको जगेर्ना गर्न प्रज्ञा–प्रतिष्ठान प्रतिबद्ध रहेको भन्दै आफूले पनि झ्याउरे छन्दलयमा लोकगीत र झ्याउरे गीतगाएको बताएकी थिइन् ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा स्रष्टा हरि मञ्जुश्रीले पौराणिक ग्रन्थ यजुर्वेद र सामवेद लगायतमा झ्याउरे छन्दलय रहेको चर्चा गर्दै झ्याउरे विधासँग सम्बन्धित सङ्गिनी, ख्याली, खैँजडी ,भजन र मारुनी भाकाको सम्वद्र्धन गर्ने बारे जोड दिएका थिए ।

प्रा.डा. राजाराम सुवेदीले नेपाली इतिहासका कतिपय कुराको खोजी गर्ने हो भने झ्याउरे भाकामा गाएको पाइने बताए । मूलतः गाउँघरका मौखिक गीतहरू पुस्तान्तरण हुँदै आएका छन् र तिनमा पनि झ्याउरे छन्दलय रहेको उनको भनाई थियो । यसैगरी जनगायक जीवन शर्माले अब देशको झ्याउरे लेखेर यसलाई विश्वमा लैजानुपर्ने बताए ।

उनले शब्द, स्वर र सङ्गीतका माध्यमबाट सफल हुन सकिने बताउ । यसैगरी संस्कृतविद् प्रा डा वीणा पौड्यालले हाम्रो धर्म संस्कृति र परम्परामा पनि झ्याउरे प्रचलनमा रहेका तर झ्याउरे नै हो भनि इतिहासमा समेत प्रष्ट नभएकाले अब यस विषयमा बहस जरुरी रहेको बताइन् ।

त्यस्तै अर्का वक्ता लोकसाहित्यविद् प्रा.डा ध्रुव भट्टराईले भने, ‘हामीले लोक साहित्यमा पढ्दै आयौँ र पढाउँदै आयौँ तर कुन लोकसाहित्यको कुन लोकगीत कुन झ्याउरे के हो ? भनेर नछुटिएको अवस्थामा बास्तवमा झ्याउरे जनबोली लोकसाहित्य हो । यसको मूल जरो भनेको झ्याउरे नै हो भन्दै अब झ्यााउरेका विषयमा खोजी अनुसन्धान गर्न जरुरी छ ।’

भाषाविद् चूणामणि गौतमलगायतले मौलिक नेपाली झ्याउरे छन्दलयका बारेमा आआफ्नो धारणा राखेका थिए ।
काव्य घर नेपाल मिडिया प्रालिका अध्यक्ष, झ्याउरे छन्दलय अभियन्ता तथा कवियत्री रेणुका भट्टराई मञ्जरीुले स्वागत मन्तव्यसँगै कार्यक्रमको ओैचित्यबारे प्रकाश पारेकी थिइन् । उनले नेपाली शब्दकोशमा झ्याउरे शब्दलाई हेपेर लेखेको भन्दै त्यसलाई सच्याउनु पर्ने धारणा राखिन् । यसैबीच भट्टराईको शब्द,सङ्गीत र स्वरमा मञ्जरी झ्याउरे गीति कविताको अडियो समेत सार्वजनिक भएको थियो ।

कवियत्री भैरवी भूगोलको उद्घोषण रहेको उक्त कार्यक्रममा इन्दिरा ढकाल, पवित्रा दाहालको झ्याउरे कविता शान्ति पौडेलले, ढुण्डीराज पोखेल, नरहरि प्रेमी र डाक्टर जनपाली लगायतले ‘झ्याउरे छन्दलयका कविता वाचन गरेका थिए ।

नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग दिने चीनका राष्ट्रपति सीको घोषणा

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी (करिब नौ अर्ब)अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए ।

सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताए । उनले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पारे ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिए ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।

भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गरे । साथै ‘वर्तमान सरकार, समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै उनले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराए ।

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि भएको छ । नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो । नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनमा २ रुपैयाँ मूल्य बढाएपछि मूल्य हवाई भाडा बढेको हो ।

हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् । यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यू–१९ एसिया कप क्रिकेटमा नेपालद्वारा अफगानिस्तान एक विकेटले पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी उन्नाइस वर्षमुनि(यु -१९)को एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ । 

मंगलबार दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५ दशमलव चार ओभरमा सवै विकेट गुमाएर एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान नौ/नौ तथा सन्तोष यादवले सात रन बनाए । नेपालले १२ अतिरिक्त रन प्राप्त गर्यो । 

बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले तीन/तीन तथा अब्दुल अजिज र महबूब खानले एक/एक विकेट लिए । 

यसअघि अफगानिस्तानका लागि एक सय २३ रन बनाउने क्रममा फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।  खातीर खानले २६ बलमा १५ रन जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले तीन तीन तथा हेमन्त धामी र अभिषेक तिवारीले दुई/दुई विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान यसअघि पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो । दुवै टोली एसिया कपबाट बाहिरिएका छन् ।

कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन कतारका राजदूतलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा मंगलबार आफूसँग भेट गर्न आएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।

‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्’, भेटमा उपराष्ट्रपतिले भने, ‘म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।’

उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गरे । उनले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए ।

भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवर्द्धन तथा संरक्षणको पक्षमा रहेको बताए । कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उनले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताए ।

जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी

एजेन्सी । जापान मौसम एजेन्सीले १२६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो बर्षको भएको जनाएको छ ।

जापानी मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।

सेप्टेम्बर र नोभेम्बरको बीचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य शहर नागोयामा २.९ र उत्तरी साप्पोरो सहरमा १.२ डिग्री बढी तापक्रम थियो ।

जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् ।

लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु

बेरुत । दक्षिणी लेबनानका गाउँहरूमा  भएको इजरायली आक्रमणमा नौजनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतंकवादी समूहले दाबी गरेको आक्रमणको बदलामा दर्जनौँ हिजबुल्लाहलक्षित आक्रमण गरिरहेको बताएको छ ।

इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौँ मानिसको नरसंहार र सीमामा ठुलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबारदेखि लागु भएको युद्धविराम उल्लंघनको आरोपको सामना गर्नुपरेको छ ।

इजरायली सेनाले विज्ञप्तिमार्फत लेबनानमा दर्जनौँ पूर्वाधारलक्षित आक्रमण गरेको जनाएको छ । यसैगरी, इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा भएको आक्रमणमा पाँचजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएको तथा तल्लुस गाउँमा चारजनाको मृत्यु भएको र एकजना घाइते भएको जनाएको छ ।

यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको ‘कफर साैबाको पहाडमा इजरायललक्षित आक्रमण गरेको जनाएको थियो । इजरायली सेनाले हिजबुल्लाहले विवादित सेबा क्षेत्रमा रहेको आफ्नो चौकीतिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहलाई युद्धविराम उल्लंघनको आरोप लगाउँदै जवाफ दिने वाचा गरे भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गरेका छन् ।

त्यसको केही समयपछि इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ ।

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच छलफल

काठमाडौँ । छिमेकी राष्ट्र भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच द्विपक्षीय हितका विषयमा आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणका लागि आग्रह गरे ।

नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवाहन सन्धी संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहेका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिए ।

यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने सम्बन्धमा पहलकदमीका लागि मन्त्री गोयलसँग आग्रह गरे।

दुर्गा प्रसाईंलाई थप चार दिन थुनामा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

मंगलबार अदालतले उनलाई थप चार दिन थुनामा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिएका छन् । प्रसाईंमाथि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ ।

उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले करोडौं लगानी गरेको भन्दै अफवाह फैलाएका थिए । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लेभक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो ।

चितवन राइनोजसँग पोखरा एभेन्जर्स ८७ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पोखरा एभेन्जर्सको ब्याटिङ भने कमजोर रह्यो । पोखराले खेलको ३.२ ओभरमै ६ विकेट गुमाउँदै ७ रन मात्र बनाउन सक्यो । पहिलो ओभरमै कप्तान कुशल भुर्तेल शून्य रनमा आउट भए।

त्यसपछि पाँचौं बलमा दिलिप नाथ ४ रनमा, र अन्तिम बलमा बास डी लिडे गोल्डन डकमा आउट भए। पहिलो ओभरका तीनै विकेट चितवनका सोहेल तानबिरले लिएका थिए ।

तेस्रो ओभरमा रिजन ढकालले पोखराका तीन विकेट झारे । पोखराले केही सम्हाल्ने प्रयास गरे पनि १३.२ ओभरमा ७४ रनमै अलआउट भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । जितसँगै चितवन राइनोजले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर साहले गराए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगर मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ गराएका छन् । मंगलबार मेयर साहले श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको २०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको स्थानमा मंसिर १६ गते उपनिर्वाचन भएको थियो । रिक्त स्थानमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका थिए ।


त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थित थिए । शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पद वहाली गरेकी छन् ।

प्रधानमन्त्री ओली र सिपिसी अध्यक्ष झावबीच भेटवार्ता

बेइजिङ (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो । 


साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सिपिसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्य पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । 

नेप्से १७ दशमलव ८० अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ । मंगलबार विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ दशमलव ६७ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

  आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ पाँच दशमलव ९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।

दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ । 

त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको नौ दशमलव ५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको छ दशमलव १८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य तीन दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट उपनिर्वाचनलाई माओवादीले उत्साहजनकरुपमा लिएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही मंसिर १६ गते भएको उपनिर्वाचनको परिणाम आफूहरूका लागि उत्साहजनक भएको बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले उपनिर्वाचनको परिणाम माओवादीका लागि उत्साहजनक भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’

उनले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिने उल्लेख रेका छन् उनले भने, ‘यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता गर्ने, विजेतालाई एक लाख

गण्डकी । गण्डकी विश्वविद्यालयको आयोजनामा यही मङ्सिर २९ देखि आगामी पुस ३ गतेसम्म दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने भएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसूधन सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले रु. एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्भने ‘प्लेयर अफ दी टुर्नामेन्ट’लाई ट्रफी तथा रु. १५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा विश्वविद्यालयमा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए । प्रतियोगिताका लागि सोमबारदेखि ‘टिम’ दर्ता खुला गरिएको र दर्ता शुल्क रु. दुई हजार पाँच सय तोकिएको आयोजकले जनाएको छ ।

नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापित यस विश्वविद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा. सुवेदीले बताए ।

विसं २०७९ मा भएको प्रथम कुलपति रनिङ शिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालय विजयी भएको थियो । विसं २०७७ मा स्थापित यस विश्वविद्यालयमा अहिले पाँच संकायका विषयमा पठनपाठन हुँदै आएको छ । विश्वविद्यालयमा नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलगायत खेलाडी अध्ययनरत छन् ।

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु  २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् । 

उनले भने, ‘सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।’

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङ्पिङबीच भेटवार्ता

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो बेइजिङमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत थिए ।

प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा सोमबार अपराह्न यहाँ आएका हुन् ।

भारतको तमिलनाडुमा पहिरोमा फसेका चार जनाको शव फेला

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् ।

तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि आएको पहिरोले एउटा आवासीय भवनमा ढुङ्गा खसेको थियो, जसमा सात जना फसेका थिए ।

अधिकारीहरूले सोमबार ठूला चट्टानहरूले स्क्यानिङ मेसिनहरूलाई फसेका मानिसहरूलाई पत्ता लगाउन गाह्रो बनाइरहेका बताएका छन् ।


तिरुवन्नमलाईमा सोमबार दोस्रो पहिरो गएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति भए नभएको तत्काल थाहा नभएको अधिकारीहरुले उल्लेख गरेका छन् ।