झ्याउरे छन्दलय सम्वद्र्धन गर्नु नेपाली मौलिकता बचाउनु होः कुलपति राई


काठमाडौँ । नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा‘झ्याउरे छन्दलय कविता लेखन’विषयक विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द हो । जुन मानव सभ्यता सुरु भएदेखि नै झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको हो ।
हाम्रा वेद ,ऋचा र मुन्धुम लगायतका कैयौँ ग्रन्थहरू लयबद्ध भएकाले नै सहज रूपमा पुस्तान्तरण हुन सकेको चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचेको मुनामदनले झ्याउरे छन्द स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । झ्याउरे छन्दलयमा लेखिएको ‘मञ्जरी’ गीतिकविताको लोर्कापण गर्दै उनले नेपाली मौलिक झ्याउरे छन्दलयकी अभियन्ता कवियत्री रेणुका भट्टराईले झ्याउरे छन्द पुनर्जागृत गर्न खेलेको भूमिका स्तुति रहेको बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतले मौलिक नेपाली झ्याउरे छन्दलयको जगेर्ना गर्न प्रज्ञा–प्रतिष्ठान प्रतिबद्ध रहेको भन्दै आफूले पनि झ्याउरे छन्दलयमा लोकगीत र झ्याउरे गीतगाएको बताएकी थिइन् ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा स्रष्टा हरि मञ्जुश्रीले पौराणिक ग्रन्थ यजुर्वेद र सामवेद लगायतमा झ्याउरे छन्दलय रहेको चर्चा गर्दै झ्याउरे विधासँग सम्बन्धित सङ्गिनी, ख्याली, खैँजडी ,भजन र मारुनी भाकाको सम्वद्र्धन गर्ने बारे जोड दिएका थिए ।
प्रा.डा. राजाराम सुवेदीले नेपाली इतिहासका कतिपय कुराको खोजी गर्ने हो भने झ्याउरे भाकामा गाएको पाइने बताए । मूलतः गाउँघरका मौखिक गीतहरू पुस्तान्तरण हुँदै आएका छन् र तिनमा पनि झ्याउरे छन्दलय रहेको उनको भनाई थियो । यसैगरी जनगायक जीवन शर्माले अब देशको झ्याउरे लेखेर यसलाई विश्वमा लैजानुपर्ने बताए ।
उनले शब्द, स्वर र सङ्गीतका माध्यमबाट सफल हुन सकिने बताउ । यसैगरी संस्कृतविद् प्रा डा वीणा पौड्यालले हाम्रो धर्म संस्कृति र परम्परामा पनि झ्याउरे प्रचलनमा रहेका तर झ्याउरे नै हो भनि इतिहासमा समेत प्रष्ट नभएकाले अब यस विषयमा बहस जरुरी रहेको बताइन् ।
त्यस्तै अर्का वक्ता लोकसाहित्यविद् प्रा.डा ध्रुव भट्टराईले भने, ‘हामीले लोक साहित्यमा पढ्दै आयौँ र पढाउँदै आयौँ तर कुन लोकसाहित्यको कुन लोकगीत कुन झ्याउरे के हो ? भनेर नछुटिएको अवस्थामा बास्तवमा झ्याउरे जनबोली लोकसाहित्य हो । यसको मूल जरो भनेको झ्याउरे नै हो भन्दै अब झ्यााउरेका विषयमा खोजी अनुसन्धान गर्न जरुरी छ ।’
भाषाविद् चूणामणि गौतमलगायतले मौलिक नेपाली झ्याउरे छन्दलयका बारेमा आआफ्नो धारणा राखेका थिए ।
काव्य घर नेपाल मिडिया प्रालिका अध्यक्ष, झ्याउरे छन्दलय अभियन्ता तथा कवियत्री रेणुका भट्टराई मञ्जरीुले स्वागत मन्तव्यसँगै कार्यक्रमको ओैचित्यबारे प्रकाश पारेकी थिइन् । उनले नेपाली शब्दकोशमा झ्याउरे शब्दलाई हेपेर लेखेको भन्दै त्यसलाई सच्याउनु पर्ने धारणा राखिन् । यसैबीच भट्टराईको शब्द,सङ्गीत र स्वरमा मञ्जरी झ्याउरे गीति कविताको अडियो समेत सार्वजनिक भएको थियो ।
कवियत्री भैरवी भूगोलको उद्घोषण रहेको उक्त कार्यक्रममा इन्दिरा ढकाल, पवित्रा दाहालको झ्याउरे कविता शान्ति पौडेलले, ढुण्डीराज पोखेल, नरहरि प्रेमी र डाक्टर जनपाली लगायतले ‘झ्याउरे छन्दलयका कविता वाचन गरेका थिए ।

