`

हिमपातले सुदूरपश्चिमका पहाडी क्षेत्रको जनजीवन प्रभावित

बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

वीरगञ्ज (पर्सा) । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन्। यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ ।

“केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”, दर्शनार्थी यादवले भने, “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।”


बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताए । “विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ”, उनले भने, “सम्भवत् महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरु उपस्थिति हुने अपेक्षा राखेका छौं ।” जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ ।

कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरु ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताए । “दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरुको उपस्थित भइरहनुभएको छ”, उनले भने, “पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।”

दश हजारभन्दा बढी राँगाबलि

आइतबार बिहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।

बाजुरामा वर्षासँगै हिमपात

बाजुरा । बाजुरामा गएरातिबाट वर्षासँगै हिमपात सुरु भएको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा मौसम बदली भएर वर्षा आएपछि हिमताप पनि लेकाली भेगमा सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लाभर चिसो बढेको छ ।

यहाँका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात भएको छ । यसैगरी गौमुलको दहकोट, मानाकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयवागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागहरुमा हिमपातले डाँडाहरु सेताम्मे भएका छन् ।

यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । वर्षासँगै हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानहरुलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

हिमपातका कारण लेकमा बसेका घोरल, मृग र विभिन्न प्रजातीका जनावरहरु चिसोबाट बच्न न्यानो खोज्दै गाउँ पस्ने भएपछि चोरी सिकारीको सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

वन्यजन्तु चोरी सिकारी नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको वन कार्यालयले जनाएको छ ।

पुरैनीमा आइपुगे कलहाँस

कञ्चनपुर । बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कल हाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् । विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् ।

चालिसभन्दा बढीको संख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो । तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् ।

घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ । यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुन्दर पन्छीका रूपमा रहेको छ ।

सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो-खैरो हुन्छन् । माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ । “कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनकता छाएको छ”, चरा संरक्षणकर्मी सुवन चौधरीले भने “यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुने गरेको छ ।”

उनका अनुसार कलहाँसले आहारका रूपमा सिमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन् । प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ । शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ । साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरु हुन अगावै पुरानै ठाउँमा फर्कने गर्दछन् ।

चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पन्छी यहाँ आउने गरेका छन् । प्रजननको समय सुरु हुन अगावै फर्कने गरेका छन् । जल पन्छीका लागि आश्रयस्थलका रूपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौरा बताउछन् ।

“सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पन्छी आउने क्रममा केही वर्षदेखि कमी देखिएको छ”, उनले भने, “जल पन्छीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, सिमसार क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनुपर्छ ।”

सिरियाका पूर्वराष्ट्रपति असद भागेर मस्कोमा

बीबीसी । सिरियाका पूर्वराष्ट्रपति बसर अल–असद दमास्कसबाट भागेपछि मस्कोमा पुगेका रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो ।

सिरियाका पूर्वराष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन् । विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो । यसअघि उक्त समूहका नेता अबु मोहम्मद अल–जुलानीले दमास्कसको मस्जिदमा खुसीयाली मनाइरहेको एउटा भीडलाई समर्थन गरेका थिए ।

त्यसअघि सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल–असदबाट सिरिया ‘मुक्त’ भएको घोषणा गरेका थिए । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको थियो र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका थिए ।

रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका थिए। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको थिएन ।

सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको बताएको थियो। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरिरहेका छन् ।

सामाजिक सञ्जालमा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपबाट स्वतन्त्र पारेको’ बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका थिए । विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।

त्रिविमा मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गरौंः महासचिव पोखरेल

शंकर पोखरेल ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरियो । जबकी त्यतिवेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफू निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रकृया अघि बढायो । सोही अनुसार माओवादी निकटका चित्रबहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजना अनुरुप २ नम्बरमा रहेका बराल भीसी बनाइए । सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइयो । त्यहाँ पनि सोही अनुसारको प्रकृयाबाट सत्ता निकट व्यक्ति भीसी चुनिए । अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी ।

यतिवेला त्रिभुवन विश्वविद्यालयका भीसी केशरजंग बराल मेरिटोक्रेसीका नाममा सोही समयको सत्ता गठबन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लिन छन् । त्यसलाई उनले मेरिट्रोकेसीको जामा लगाइदिएका छन् । अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरु धुवाँधार रुपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन् ।

के साच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिँड्न चाहेको भए उनले छनौट कमिटीमा कसलाई राख्ने भन्ने कुरामा कुनै चासो वा हस्तक्षेप गर्ने थिएनन् । प्राज्ञिक नेतृत्वको जिम्मेवारीमा रहेका रेक्टरलाई छनौटको नेतृत्व दिन सक्थे । वा प्राज्ञहरुको रोष्टर तयार गरेर लट्रिका आधारमा छनौट समितिका सदस्य चयन गर्न सक्दथे । तर उनले त्यो दुबै काम गरेनन् । आफूले चाहेको व्यक्ति छनौट हुनेगरी छनौट समिति गठन गरे । सोही अनुसार छनौटका मापदण्ड तयार गर्न लगाए ।
विश्वविद्यालयमा एउटा निश्चित बैचारिक समुहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मंचन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन धरासायी हुनेछ ।
त्यसैले मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गरौं ! सम्पूर्ण कामलाई खुला र पारदर्शी ढंगले विश्वविद्यालयको दिर्घकालिन हितलाई ध्यानमा राखेर अघि ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा स्थानीय तह उपनिर्वाचनको परिणाम र साङ्गठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने बताइएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारको काम कारबाहीसहित समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने पौडेलले जानकारी दिए ।

सहकारी ठगेजस्तो सजिलो छैन देश चलाउनः प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो नभएको बताएका छन् । आइतबार झापाको दमकमा निर्मित १८ तले भ्यु टावरको उद्घाटनपछि प्रधानमन्त्री देश चलाउन सिद्धान्त र नीति चाहिने बताए ।

उनले भने, ‘सहकारी ठगेजस्तो सजिलो कहाँ छ र देश चलाउन ? देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ ।’

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने बताए । प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको जिकिर गरे । उनले केही समयपछि भारत जाने बताए ।

सर्वोच्चद्वारा पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले जापानमा मानव तस्करी प्रकरणमा मुछिएका कोसी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको निर्णय सदर गरेको छ ।

आइतबार न्यायाधीश डा. कुमार चुडालको इजलासले उन्मुक्ति दिने सरकारी वकिलको निर्णयविरुद्धको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णय सदर गरिदिएको हो ।

जापान मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेपछि उनी मंसिर १० मा थुनामुक्त भएका थिए ।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चका रजिस्ट्रारले दरपिठ गरिदिएका थिए । आइतबार दरपिठविरुद्धको निवेदन न्यायाधीश चुडालको इजलासले सदर गरिदिएसँगै अधिकारीविरुद्ध मुद्दा चल्ने कानुनी बाटो बन्द भएको छ ।

नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिकासाथ टुंग्याउँछौंः प्रचण्ड

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

आइतबार नेपाल आएका लुले दिउँसो खुमलटारस्थित प्रचण्ड निवास पुगेर भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै प्रचण्डले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं । सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्वपूर्ण हुन्छ ।’

नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए ।

उनले भने, ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौँ, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो । टीआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताए । अमेरिकी सहायक मन्त्री लुले नेपालको प्रगति आफूहरूका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए ।

उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए ।

कांग्रेस सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आजै नेपाल आएका विदेशमन्त्री लुले नेपाल भ्रमणका क्रममा शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीले गरे १८ तले ‘दमक व्यापारिक कम्प्लेक्स’को उद्घाटन(फोटोफिचर)

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताएका छन् । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गरे । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।  प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्दै चितवनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा सुदूरपश्चिम रोयल्स पराजित भएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो ।

एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दमलव ३ ओभरमा अलआउट हुँदै १३१ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन, सैफ जैबले १८ रन जोडे । चितवनका लागि कुशल मल्ल, जान लोफ्टी इटन, अमर रौतेलाले २–२ तथा रिजन ढकालले १ विकेट लिए । टस जितेर ब्याटिङ थालेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

दुर्गा प्रसाईंलाई थप तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई आइतबार थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भन्दै अफवाह फैलाएपछि उनी पक्राउ परेका हुन् ।

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

तनहुँ । तनहुँमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।

विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिइन् । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ ।

अझै ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आबद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताइन् । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठुलो जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उनको भनाइ छ ।

सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बीमामा आबद्ध भएकालाई प्रथम सेवा विन्दु ६ वटा रहेका छन् ।

पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका उनले जानकारी दिइन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दा बढी सदस्य भएमा प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिइन् । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।

सरकारले बीमामा आबद्ध पाँच सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२/७३ देखि यो कार्यक्रम लागू गरिएको हो ।

बाजुरामा जिप दुर्घटनामा दुईजनाको मृत्यु, तीन जना घाइते

बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।


बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 


घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।


दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उनले बताए ।  


उनले दिएको जानकारीअनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भन्दै प्रनाउ गिरीले उनीहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको जानकारी दिए ।

जिप दुर्घटना हुँदा सात जना घाइते 

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो । 


धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
   
घाइते सबैको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पठाइएको छ । गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी

पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो ।

ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफु राष्ट्रपति निर्वाचित भएमा जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गरेका थिए ।

ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।”

उनले अगाडि भनेका छन्, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्यक रूपमा बर्बाद भइरहेको छ । धेरै परिवारहरू गुमेका छन् । यदि यो जारी रह्यो भने यो धेरै ठूलो क्षति र अझ खराब अवस्थामा परिणत हुन सक्छ ।”

त्रिपक्षीय भेटको केही घण्टामा नै अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनका लागि ९८ करोड ८० लाख अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

पेन्टागनका अनुसार उक्त प्याकेजमा ड्रोन, हिमार्स रकेट लञ्चरका लागि गोलाबारुद, लामो दूरी मार हान्न सक्ने हतियार, ट्याङ्क र बख्तरबन्द गाडीका लागि उपकरण र त्यसका सामान समावेश गरिएको छ ।

ट्रम्पले युक्रेनमा आन्तरिक रूपमा अलोकप्रिय सहुलियतसहित शान्तिको लागि दवाब दिनसक्ने चिन्ता छ । जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

“हामी सबै शान्ति चाहन्छौं । तर यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ शान्ति हामी सबैका हसनुपर्छ र रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा अन्य कुनै आक्रमणकारी अव कहिल्यै युक्रेनमा नफर्कने सम्भावनालाई सुनिश्चित गर्नुपर्छ,” जेलेन्स्कीले भने ।

उनले भने, “सबैभन्दा महत्वपूर्ण कुरा न्यायपूर्ण शान्ति र सुरक्षाको प्रत्याभूतिको हो । युद्धविराम वा शान्ति सम्झौताले युक्रेनका लागि बलियो सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।”

जेलेन्स्कीले वार्तालाई ‘राम्रो र फलदायी’ भन्दै ट्रम्पको दृढ सङ्कल्पका लागि धन्यवाद पनि दिएको बताइएको छ ।

नोट्रे डेम क्याथेड्रलको पुनः उद्घाटन समारोहमा भाग लिनुभन्दा ठीक अघि ट्रम्पसँगको जेलेन्स्कीको भेट, अमेरिकी चुनावमा विजय हासिल गरेपछि विश्वका धनाढ्यबाट राजनीतिज्ञ बनेका ट्रम्पसँगको पहिलो प्रत्यक्ष भेट थियो ।

छलफलप्रति आफ्नो प्रतिक्रियामा म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन्, “शान्ति र सुरक्षाका लागि संयुक्त प्रयास जारी राखौँ ।”

मध्यपूर्वको सङ्कटमा युरोपेली मित्रराष्ट्रहरूले बाइडेनसँग घनिष्ठ सम्बन्ध कायम गरेका छन्, तर ट्रम्पले सहयोगी पश्चिमा राष्ट्र र संयुक्त राज्य अमेरिकालाई अझ टाढा र इजरायललाई नजिकबाट राख्ने सम्भावना छ । 

स्याङ्जाका एउटै व्यवसायीले गर्छन् वार्षिक पाँच करोडको सुन्तलाको कारोबार

स्याङ्जा । स्याङ्जा सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन्।

अर्यालले आफ्नै बगैँचामा उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु पाँच करोडसम्मको करोबार हुने उनले जानकारी दिए।

“आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु”, अर्यालले भने, “सुन्तला खरिद बिक्रीबाट यसवर्ष रु पाँच करोडको कारोबार हुने अनुमान छ ।” गतवर्ष रु चार करोड बराबारको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गरे ।

सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित हुनुहुन्छ । उहाँले ८० रोपनी क्षेत्रफलमा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका छन् ।

व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छन् । “प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु”, उनले भने“आँफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ ।”

सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उनले बताए । गत वर्ष कामदारलाई रु १७ लाख पारिश्रमिक भुक्तान गरेको उनले जानकारी दिए ।

यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गरेका छन् । नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उनको भनाइ छ । उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उनले जानकारी दिए ।

शेयर बजारमा सात अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ विन्दुमा झरेको हो ।

आइतबार सबै समूहको शेयर घटेको छ । मानुषी लघुवित्त, लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ७३ लाख ९२ हजार कित्ता शेयर सात अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत कास्कीले उनलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । योसँगै उनलाई ६ पटक म्याद थप भइसकेको छ । उनीमाथि अनुसन्धान गर्न प्रहरीले थप १३ दिनको समय मागेको थियो । तर, अदालतले चार दिन मात्र म्याद थप गरेको हो ।

सुरुमा सहकारी ठगीमा पक्राउ परेका लामिछानेविरुद्ध अहिले कीर्ते, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । उनी कात्तिक २ पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

कास्कीबाट उनलाई अनुसन्धानका लागि बुटवल, काठमाडौं र चितवन लगिएको छ । उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । उनलाई अब पर्सा लैजाने प्रहरीको तयारी छ ।

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

राम थापा, गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास ९होमस्टे० व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् ।

हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन् । त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन् । कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन् । कतिपय घरबास एकल रुपमा पनि चलिरहेका छन् ।

दैनिक झण्डै दुई हजारभन्दा बढी पाहुना राख्न सक्ने क्षमता ती घरबासमा रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । उनका अनुसार ‘एक्याप’को इलाका संरक्षण कार्यालय ल्वाङ (कास्की)अन्तर्गत ल्वाङ गाउँका १२ घर, घलेलका सात घर, टुसेका २७ घर, मिर्साका १६ घर, काभ्रेका १२ घर र कोलेली गाउँका छ घरमा घरबास सेवा सञ्चालित छन् ।

इलाका संरक्षण कार्यालय, सिक्लेसअन्तर्गत सिक्लेस गाउँका २४, ताङतिङमा १४, याङ्जाकोटमा १० र वार्चोकका ११ घरले उक्त सेवा दिइरहेका छन् । इलाका संरक्षण कार्यालय, घान्द्रुकअन्तर्गत साबेतमा १०, नारच्याङमा १५, खिवाङमा छ, इलाका संरक्षण कार्यालय, भुजुङअन्तर्गत घलेगाउँका ४३, घनपोखराका नौ, भुजुङका २८, सिउरुङका १९, पसगाउँका २२ र छापामिप्रामा १२ घरबास छन् ।

यस्तै इलाका संरक्षण कार्यालय, मनाङअन्तर्गत ओडारमा १५, थानचोकमा १४, ताचैमा २६, इलाका संरक्षण कार्यालय, जोमसोमभित्र ठिनीमा ११ र लुब्रा गाउँका आठ घरबासले पर्यटकलाई सेवा दिँदै आएका छन् । इलाको संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने मराङका पाँच, छोसेरका पाँच र जुङजुङका छ घरमा उक्त सेवा सञ्चालनमा छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका घरबासलाई व्यवस्थापन तालिमलगायत विभिन्न सहयोगहरु प्रदान गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “ग्रामीण पर्यटन विकासमा घरबासको ठूलो योगदान छ, गाउँलाई आर्थिक गतिविधिसँग यसले जोडेको छ”, उनले भने, “घरबास सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवर्द्धनदेखि रोजगारी सिर्जनामा पनि मद्दत पुगेको छ ।” पर्यटकीय राजधानी पोखरादेखि छोटो र लामो दुरीमा गन्तव्यमा अवस्थित घरबास गाउँ विशेष गरी आन्तरिक पर्यटकको बढी रोजाइमा पर्ने गरेका छन् । पछिल्लो समयमा नेपालमा बढीरहेको घुम्ने संस्कृतिले पनि घरबास पर्यटनलाई टेवा पु¥याइरहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता ल्वाङ गाउँका घरबासमा रहेको जानकारी दिए। “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिड–१९ महामारीपछि विदेशी पाहुनको सङ्ख्या केही घटेको छ”, उनले भनिन्, “पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”

गुजुमुज्ज परेको गुरुङ बस्तीले ल्वाङको आकर्षण थपेको छ । ल्वाङमा सेतो र गेरु रङ पोतिएका एकनासे घर छन् । घरको छाना, आँगन र बाटोमा पनि ढुङ्गा बिछ्याइएको छ । परम्परागत घरले पहाडी वास्तुकलाको झल्को दिन्छन् । प्रकृति र संस्कृतिको अनुपमस्थल ल्वाङ गाउँ ग्रामीण पर्यटन आकर्षक गन्तव्यका रुपमा परिचित छ । विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि ल्वाङ ग्रामीण पर्यटनमा फड्को मारेको घरबास व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताइन् ।

समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् । स्थानीयले पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउने गरेका छन् ।

रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ ।

घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदयात्रामा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो ।

गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ ।

ल्वाङ जस्तै यहाँका अन्य घरबास गाउँ पनि आफ्नै विशेषतासहित आन्तरिक तथा बाह्य पर्यटकमाझ चिनिएका छन् । घरबास सँगसँगै ती क्षेत्रमा होटल व्यवसाय पनि फस्टाएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वमाझ चिनिएको गन्तव्य हो । यस क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

प्रदेश सरकार र स्थानीय तहले पनि अन्नपूर्ण क्षेत्रभित्र सञ्चालित सामुदायिक घरबास प्रवर्द्धनमा सघाउँदै आएका छन् । गण्डकी प्रदेश सरकारले सामुदायिक घरबास प्रवर्द्धनलाई गौरवको आयोजनाका समेटी घरबास व्यवसायीहरुलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आवमा पनि गण्डकी प्रदेश घरबास व्यवसाय फस्टाएको क्षेत्र हो । अन्न्पूर्ण संरक्षण क्षेत्रबाहिर पनि चल्तीका घरबास छन् । नेपालकै पहिलो स्याङ्जाको सिरुबारी घरबास पनि यसै प्रदेशमा पर्छ ।

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी कक्ष थप गर्न लागेको हो ।

हाल तीन वटा ऐतिहासिक भवनमा प्रदर्शनी कक्ष रहेका भन्दै ती भवनमा परम्परागत कला झल्कने नयाँ प्रदर्शनी कक्ष थप्न लागिएको दरबार सङ्ग्रहालयका प्रमख सुरेशमान लाखेले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस अघि (आगमी जेठ) भित्र उद्घाटन गर्नेगरी प्रदर्शनी कक्ष विस्तारको काम अघि बढेको छ ।

नयाँ थपिएको प्रदर्शनी कक्षमा कलात्मक मूर्ति निर्माण गर्ने चरण प्रक्रियालाई प्रदर्शनीमा राखिने लाखेले जानकारी दिए । ढुंगा, काठ र धातुबाट मूर्ति बनाउन सकिने भन्दै उनले मूर्ति निर्माणको चरणबद्ध प्रक्रिया प्रदर्शनमा राखिने उल्लेख गरे ।

नयाँ थपिएको कक्षमा राख्न ललितपुरका लोक चित्रकारले पौवा, भक्तपुरका इन्द्रकाजी सिल्पकारले काष्टकला र ललितपुर भैँसेपाटीका चन्द्रस्याम डुङ्गोलले ढुङ्गाको मूर्ति निर्माण गरी उपहारस्वरूप सङ्ग्रहालयलाई हस्तान्त्ररण गर्ने जनाइसकेको उनले बताए ।

सङ्ग्रहालयका प्रमुख लाखेका अनुुसार नयाँ थपिने कक्षमा उपहारस्वरूप कला हस्तान्त्ररण गर्ने सबैलाई उद्घाटन समारोहमा सम्मान गरिनेछ । सङ्ग्रहालयमा कलात्मक मूर्तिसहित अन्य ऐतिहासिक सामग्री राखिएका भन्दै सिङ्गो ढुङ्गा र काठबाट कसरी मूर्तिकोस्वरूप दिइन्छ भन्ने प्रक्रिया प्रदर्शनीमा नरहेकाले थप कक्ष विस्तार गर्न लागिएको उनले जानकारी दिए ।

नयाँ कक्षमा थपिने कालात्मक प्रदर्शनीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई परम्परागत सीपको अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रमुख लाखेले बताए ।

“पर्यटकलाई सङ्ग्रहालयमा सधैँ एकैप्रकारका ऐतिहासिक सामग्री देखेर दिक्क लाग्नु स्वभाविक हो”, उनले भने, त्यसैले हामीले नयाँ कलात्मक सामाग्री थपेमा सङ्ग्रहालयको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका हौँ ।” 

प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच असदको सत्ताको २५ वर्ष

पेरिस । सन् २००० मा आफ्ना पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असद सत्तामा आएदेखि नै उनको सत्ताविरूद्धको आन्दोलन गर्न सिरियाली विपक्षीहरूले गठबन्धन गर्न थालेको पाइन्छ ।

सन् २००० जुलाई १७ मा, असद आफ्ना ६९ वर्षका पिताको मृत्युपछि सिरियाको नयाँ राष्ट्रप्रमुख बनेका थिए । असदका पिता हफेजले ३० वर्षसम्म सिरियामा शासन गरेका थिए ।

सन् २००० जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरी असदलाई राष्ट्रपति बन्ने मार्ग प्रशस्त गरेको थियो ।

पिताको मृत्युलगत्तै उनलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो ।

सोही वर्ष सेप्टेम्बरमा १०० जना सिरियाली बुद्धिजीवीहरूले सन् १९६३ देखि लागू भएको सैनिक शासनको अन्त्य, थप स्वतन्त्रता र राजनीतिक बहुलवादको माग गरेका थिए । यसलाई ‘दमास्कस वसन्त’ भनिन्छ ।

असदको सरकारले सन् २००१ को जुलाईमा १० जना विरोधीलाई गिरफ्तार गरेको थियो ।

सन् २००५ को फेब्रुअरीमा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको बेरुतमा भएको बम विस्फोटमा मृत्यु भएको थियो ।

प्रमुख पश्चिमा शक्ति र लेबनानी विपक्षीहरूले लेबनानमा बलियो सैन्य उपस्थिति रहेको सिरियालाई हरिरीको मृत्युका लागि दोष दिन्छन् र आफ्ना सेना फिर्ता गर्न आह्वान गर्छन् । दमास्कसले यसको जिम्मेवारी अस्वीकार गरेको छ ।

सोही बर्षको अप्रिलमा सिरियाली सेनाको २९ वर्षको सैन्य र राजनीतिक प्रभुत्वको अन्त्य गर्दै दशौं हजार सिरियाली सेना लेबनानबाट बाहिरिएका थिए ।

सन् २००५ अक्टोबरमा विपक्षी पार्टीहरूले संयुक्त ‘दमास्कस घोषणापत्र’ जारी गर्न एकजुट भए र आमूल र लोकतान्त्रिक परिवर्तनको आह्वान गरे र ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’ को आलोचना गरे।

तत्कालिन प्रशासनले विपक्षी कार्यकर्ता र बुद्धिजीवीहरूमाथि व्यापक दमन गरेको थियो । दमनले प्रजातन्त्रका लागि गरिएको आन्दोलनलाई थप उर्जा मिलेको थियो । सन् २००५ को दमनपछि देशव्यापीरूपमा थप व्यक्तिहरूले असदको विरोधमा सङ्ठित बनेका थिए ।

सन् २००७ को डिसेम्बरमा प्रजातन्त्र पक्षधर विपक्षीहरूको गिरफ्तारीको नयाँ लहर सुरु भएको थियो ।

उनीहरूले थप सङ्गठित बन्दै सन् २०११ मार्चमा अरब वसन्त नाम दिइएको सशक्त आन्दोलनको घोषणा गरियो । यसले सिरियामा नागरिक स्वतन्त्रता र राजनीतिक कैदीहरूको रिहाईको माग गर्दै विरोध प्रदर्शनहरू सुरु गरेको थियो भने प्रशासनले आन्दोलनलाई व्यापक बल प्रयोग गरी दबायो ।

सन् २०११ मार्च महिनामा नै असद प्रशासनले ‘आतङ्ककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु गर्यो जुन तत्कालिन सरकारका लागि अभिसाफ नै सावित हुन पुग्यो ।

आन्दोलनले सरकारविरोधी प्रदर्शनबाट सशस्त्र विद्रोहको स्वरूप लिन पुग्यो र सिरियामा गृहयुद्धको सुरुवात भयो । यस युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू पनि सामेल भए, साथै जिहादीहरू पनि सामेल भए ।

सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमणलगायत भारी हतियार प्रयोग गरेको थियो । यसलाई धेरै पटक रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ, तर असद प्रशासनले यो आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

रूस, इरान तथा तेहरान समर्थित लेबनानी शिया लडाकू समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका साथ नेता असदलाई सत्तामा टिकाइयो ।

लामो समयसम्म चलेको युद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाएपछि र झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएपछि सन् २०२० को मार्चमा रूस र टर्कीएबीच भएको सम्झौतापछि युद्धविरामको घोषणा गरिएको थियो तर यसद्धविरामको वाबजुद त्यसपछिको समयमा पनि सिरियामा बमबारी र छिटपुट जिहादी आक्रमणहरूले भने निरन्तरता पाएका थिए ।

यस युद्धमा पाँच लाख भन्दा बढी मानिसको मृत्यु भएको छ, देशको युद्धपूर्वको आधा जनसङ्ख्या विस्थापित भएको छ । यसले असदलाई विश्वव्यापी पराया बनाएको छ ।

विपक्षीहरूको तीव्र विरोध र शक्तिशाली विपक्षी दलहरूको निर्वाचन बहिस्कारका बीच सन् २०२१ मे २६ मा गरिएको निर्वाचनमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि पुनः निर्वाचित भए ।

सन् २०११ मा जनविद्रोहविरुद्ध गरेको कारबाहीको प्रतिक्रियास्वरुप सिरियालाई अरब लिगबाट बर्खास्त गरिएको थियो तर सन् २०२३ को मे महिनामा रूस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो ।

सन् २०१३ मा सिरियामा भएको रासायनिक आक्रमणका लागि मानवताविरुद्धको अपराधमा संलग्न रहेको आशङ्कामा फ्रान्सले सन् २०२३ को नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसको अर्को दिन संयुक्त राष्ट्रसङ्घको सर्वोच्च कानुनी निकाय अन्तर्राष्ट्रिय अदालतले सिरियालाई यातना र क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो ।

– एचटीएस नेतृत्वको निर्णायक आक्रमण–

नोभेम्बर २७ मा इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले विद्रोही आक्रमणको नेतृत्व गरेको थियो र युद्धमा पहिलो पटक असदको सेनाबाट दोस्रो शहर अलेप्पोको नियन्त्रण खोसेको थियो ।

विद्रोहीहरूले आइतबार राजधानी दमास्कस आइपुगेको घोषणा गर्नुअघि हामा र होम्सजस्ता अन्य प्रमुख शहरहरू माथि कब्जा जमाएका छन्।

शनिबार असदको कार्यालयले उहाँ राजधानीबाट भागेको अस्वीकार गरेको केही घण्टापछि एचटीएसले ‘तानाशाह’लाई सत्ताच्यूत गरेको बताएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सनामक बेलायतस्थित युद्ध अनुगमनकर्ताले आइतबार सेनाले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल छोड्नुअघि नै राष्ट्रपति असदले देश छोडेको जनाएको छ ।

हेगमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

द हेग । डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।

थप मृतकहरूको खोजी कार्य जारी छ र नेदरल्याण्डका आपतकालीन सेवाहरूले मृत्यु हुनेहरूको सङ्ख्या २० को हाराहारीमा पुग्न सक्ने बताएका छन् । “अहिलेसम्म कम्तीमा पाँच जनाको मृत शरिर भग्नावशेषबाट निकालिएको छ,” द हेगका नगर प्रमुख जान भान जेनेनले भने ।

उनले थपे, “विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीब्र पारेको छ । दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ तर पनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौँ ।”

उद्धार गरिएका दुई जनाको अवस्था गम्भीर रहेको नगरप्रमुखले जानकारी दिए ।

नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कूफले क्षतिग्रस्त अपार्टमेन्ट भवनको तस्बिर देख्दा आफू स्तब्ध भएको बताएका छन् । राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै र मृतक तथा पीडितका आपन्तजनप्रति सहानुभूति व्यक्त गर्दै भने, “व्यक्तिगत रूपमा प्रभावित भएका वा आफ्ना प्रियजनहरू गुमाएकासबैप्रति हामी सहानुभूति व्यक्त गर्दछौँ ।

यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो । विस्फोटबाट क्षति भएको तीन तले भवनको भुइँतलामा पसल र माथि दुई आवासीय तल्ला थिए ।

विष्फोटको कारण बारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार विष्फोट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो । अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन् । 

दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

त्रिशूली (नुवाकोट) । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो।

यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए। उनका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ।

मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताए।

दुप्चेश्वर महादेवको महिमा

पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताए। गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उनको भनाइ छ।

यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो। उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ।

मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन्। धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन्।

दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ। महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ। काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ।

काठमाडौँको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ। काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ। नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ।

मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ। रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ। मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ।

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका  ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे ।

उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।

नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको शिलान्यास र दिउँसो १ः३० बजे दमक–३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उनको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।

त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताए ।

प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती

 डा बच्चुकैलाश कैनी।

जहाँ स्वास्थ्यकर्मी हुन्छन्, त्यहाँ स्वास्थ्य संस्था हुन्छ र बिरामी वा सेवाग्राही उपचारका लागि जान्छन् । रोगको परीक्षण, पहिचान, निदान र स्वास्थ्य उपचारका लागि एक अनिवार्य शर्त स्वास्थ्यकर्मीको उपस्थिति हुनु हो । त्यसैले स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थाको मरुदण्ड मात्रै हैनन्, मुख्य पात्र र अभिन्न अङ्ग नै हुन् । स्वास्थ्यकर्मीहरू हाम्रो समाज, सेवाग्राही, बिरामी, उनीहरुका परिवार र स्वास्थ्य संस्थाहरुका लागि धेरै अर्थमा नायकहरू हुन् । 


हाम्रो समाजका यिनै नायक स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा अनवरत रुपमा चौबिसै घण्टा खटी हरेक सेवाग्राहीका लागि जस्तोसुकै अवस्थामा पनि सेवा उपलब्ध गराउँदा बिरामी वा बिरामीका आफन्तहरुबाट हिंसाको सिकार हुनु परेको कुरा तथ्यांकले देखाएको छ । यो हाम्रो आजको समाजको तीतो यथार्थ हो ।  


विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसाको दर पेसा, समूह र मुलुकअनुसार कम्तीमा समग्रमा आठ प्रतिशतदेखि बढीमा ३८ प्रतिशतसम्म छ । यसमध्येमा स्वास्थ्यकर्मी माथिको अधिकांश हिंसा बिरामी र बिरामीको आफन्त वा कुरुवाबाट नै हुने गरेको छ । विश्वव्यापी रुपमा गरिएको अर्को एक अध्ययनअनुसार कुनै देशमा ६२ प्रतिशतसम्म स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा हिंसाको अनुभव गरेको कुरा उल्लेख गरिएको छ । यसमध्ये सबैभन्दा बढी गैरशारीरिक हिंसाको रुपमा ५८ प्रतिशतले मौखिक दुव्र्यवहार, ३३ प्रतिशतले धम्की र १२ प्रतिशतले यौन उत्पीडनसम्बन्धी हिंसा भोगेको कुरा प्रतिवेदनमा उल्लेख छ ।  


नेपालमा पनि कार्यस्थलमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसा एक गम्भीर समस्या बनेको छ । यो समस्या विशेषगरी चिकित्सक र नर्सहरूमा बढी देखिएको छ । सन् २०२३ मा प्रकाशित एक अनुसन्धानका अनुसार काठमाडौँमा ३६९ स्वास्थ्यकर्मीहरूमा गरिएको एक सर्वेक्षण अध्ययनमा ५४ प्रतिशत नर्स र ४५.५ प्रतिशत चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेको कुरा उल्लेख गरेका छन् । 


स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाका धेरै कारणहरू छन् । यसमध्ये प्रमुख कारण भनेको सेवाग्राही, बिरामी वा उनीहरुका आफन्तहरु  स्वास्थ्य सेवाप्रति असन्तुष्ट हुनु हो । बिरामी वा उनीहरुका आफन्तहरूलाई कहिलेकाहीँ स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ भएको हुन सक्छ । त्यस्तै कुनै कारणबस स्वास्थ्यकर्मीबाट उपचारमा त्रुटि हुनसक्छ । यसैको कारण वा अन्य कुनै कारणले बिरामीको अप्रत्याशित मृत्युपछि बिरामी वा उनीहरुका आफन्तबीच आक्रोश उत्पन्न हुन्छ । फलस्वरूप यी घटनाहरुले वा प्रतिक्रियाहरुले हिंसाको रूप लिन सक्छ । 


यसैगरी, स्वास्थ्यकर्मीहरूमा उच्च कार्यभार, स्वास्थ्य संस्थाहरुमा अपर्याप्त स्रोतसाधन र बिरामीको चापका कारण पनि स्वास्थ्य संस्थाहरुमा तनाबको अवस्था सिर्जना हुन सक्छ । यसले हिंसात्मक घटनालाई बढावा दिन सक्छ ।


स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा भोग्ने हिंसाले उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । हिंसाका कारण उनीहरूको कामप्रतिको लगाव घट्न सक्छ ।  यसको प्रत्यक्ष प्रभाव सेवाग्राही वा बिरामीको सेवाको गुणस्तरमा पुग्छ । साथै, स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा भोग्ने हिंसाकै कारण स्वास्थ्यकर्मीहरूमा उच्च तनाब, डिप्रेशन र बर्नआउटको समस्या पनि देखिन सक्छ । यस्ता समस्याले स्वास्थ्यकर्मीहरुलाई नकारात्मक प्रभाव पार्ने नै भयो, त्यसको असरले हाम्रो समाज, स्वास्थ्य प्रणाली र बिरामीहरूमा समेत प्रतिकूल प्रभाव पर्न सक्छ । 


धेरैजसो स्वास्थ्यकर्मीहरूले हिंसाका घटनाहरूलाई सम्बन्धित निकाय र आफ्नै स्वास्थ्य संस्थामा समेत जानकारी गराउँदैनन् । यसका मुख्य कारणहरुमा आफूले हिंसा भोगेको अवस्थामा स्वास्थ्यकर्मीहरुमा आफ्नै स्वास्थ्य संस्थाको व्यवस्थापनले आवश्यक सहयोग गर्छ भन्ने आभास नमिलेको हुन सक्छ । त्यसैगरी, प्रहरी प्रशासन वा न्याय प्रणालीप्रति अविश्वास हुनु र उनीहरुलाई आफ्नै पेशागत प्रतिष्ठामा असर पर्न सक्ने डर हुनु अरु कारणहरु हुन् । यसका साथै कतिपय स्वास्थ्य संस्थाहरूले आफ्नो आन्तारिक सुरक्षा प्रणालीलाई भौतिक वा प्राविधिक रुपमा मजबुत बनाउन सकेका छैनन् । यिनै कारणहरुले गर्दा नेपालमा स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती थपिएको छ ।


नेपालमा स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसासम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिएको छ । तरपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन । स्वास्थ्य संस्थाहरुमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीउपर हुनुसक्ने आक्रमण रोक्न, स्वास्थ्य संस्थाको भौतिक सम्पत्तिको तोडफोड वा अन्य कुनै कार्य गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई हानिनोक्सानी पुर्याउने व्यक्तितलाई सजाय दिलाउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको सुरक्षासम्बन्धी ऐन, २०६६  ल्याइएको छ ।  तरपनि व्यवहारमा यो ऐन पर्याप्त रूपमा लागू भएको देखिँदैन । 


स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसालाई कम गर्न सम्बन्धित सबै सरकारी, स्वास्थ्य संस्था, नियमन निकाय र अन्य सबै पक्षहरु मिलेर बहुआयमिक रुपमा काम गर्नु आवश्यक देखिन्छ । यस मध्ये पहिलो र तत्काल गर्न सकिने काम भनेको हाल बिध्यमान नियम र कानूनको तत्काल अक्षरश कार्यान्वयन गर्ने हो । स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनेको कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षले उचित ध्यान दिने हो भने यसलाई तत्काल कम गर्न सकिन्छ ।  यसका लागि स्थानीय प्रशासन, प्रहरी र स्वास्थ्य संस्थाबीच हातेमालो, समन्वय र सहयोगको आवश्यकता छ ।


स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रशिक्षण दिएर तथा उनीहरुमा जनचेतना अभिवृद्धि गरेर पनि स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका  हिंसालाई कम गर्न सकिन्छ । यसका लागि स्वास्थ्यकर्मीहरूलाई तना व्यवस्थापन, सञ्चार सीप र आत्मरक्षासम्बन्धी प्रशिक्षण प्रदान गर्न सकिन्छ । साथै, बिरामी र उनीहरूको आफन्तहरूमा पनि स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा र सुविधा, त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सेवाको प्रक्रियाबारे उचित जानकारी दिन सक्ने हो भने यो समस्या कम गर्न केही हदसम्म सहयोग पुग्छ । 


बिरामी र उनीहरुका आफन्तहरु आफैँ तनावमा हुन्छन् । आफैँ आर्थिक, मानसिक र स्वास्थ्य समस्याहरुसँग जुधेका हुन्छन् । कतिपय अवस्थामा स्वास्थ्यकर्मीहरुले बिरामीसँग नम्र बोल्ने, साहनुभूतिपूर्वक शालीन व्यवहार देखाउने र बिरामीलाई पर्याप्त समय दिएर रोग, औषधि, उपचार, यसको प्रभाव आदिबारेमा सबै आवश्यक जानकारी दिने हो भने पनि बिरामी र स्वास्थ्यकर्मीहरुबीचको सम्बन्ध सुमधुर बनाउन सकिन्छ ।  यसले अवश्य पनि हिंसा रोक्न सहयोग गर्छ ।  


नेपालका स्वास्थ्य संस्थाहरुमा सुरक्षा व्यवस्थाको सुदृढीकरण गर्नु जरुरी देखिन्छ ।  कतिपय केन्द्रीय र विशिष्ट प्रकारका सेवा उपलब्ध गराउने निजी एवं अन्य सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल प्रहरीले सुरक्षाकर्मी उपलब्ध गराए पनि स्वास्थ्यकर्मीहरु माथि कार्यस्थलमा हुने हिंसा रोक्न पर्याप्त छैन ।  त्यसैले हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूमा आफैँले पर्याप्त सुरक्षा कर्मचारीको व्यवस्था गर्नुपर्छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरू आधुनिक प्रविधिहरू जस्तै सिसिटिभी क्यामेरा र आपत्कालीन उद्धार प्रणाली वा आपत्कालीन प्रतिक्रिया प्रणालीको स्थापना गर्नु, त्यसको प्रभावकारी निरीक्षण, अनुगमन र कार्यान्वयन गराउनु पनि आवश्यक छ ।


स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसाको भौतिक, शारीरिक र मनोवैज्ञानिक पक्ष पनि छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूले हिंसाका घटनामा परेको स्वास्थ्यकर्मीलाई परामर्श र मनोवैज्ञानिक सहयोग उपलब्ध गराउनुपर्छ ताकि उनीहरूले मानसिक रूपमा पुनःसक्रियता हासिल गर्नसक्ने बनुन् र पूर्णरुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ बनून् ।  
यी सबै कुराहरुको साथसाथै नेपालमा स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका  हिंसा कम गर्न नीतिगत सुधार पनि गर्नु जरुरी छ । 


स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि अहिले भएका नीति नियम र कानूनहरु परिमार्जन गर्दै थप कडा नियमहरु बनाउनु आवश्यक छ । यस्तो नयाँ नियममा हिंसामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्ने प्रावधान राख्नु जरुरी छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ मा आवश्यक संशोधन गरी स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदआउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाई लागू गर्नुपर्छ ।  


नेपालमा कार्यस्थलमा स्वास्थ्यकर्मीहरू माथि हुने हिंसा एक गम्भीर समस्या हो, जसले स्वास्थ्य सेवाको उपलब्धता, पहुँच र गुणस्तरमा प्रतिकूल प्रभाव पार्न सक्छ । यस समस्याको समाधानका लागि कानुनी, संस्थागत र मनोवैज्ञानिक पक्षमा तत्काल सुधार गर्नु आवश्यक छ । त्यसैगरी नेपालमा स्वास्थ्यकर्मीहरूविरुद्ध कार्यस्थलमा हुने हिंसा रोक्नका लागि सबै सरोकारवालाहरूले मिलेर काम गर्नु पर्ने देखिन्छ । स्वास्थ्यकर्मीहरूको सुरक्षामा ध्यान नदिए स्वास्थ्य सेवा प्रणालीलाई स्थायित्व दिन, स्वास्थ्यकर्मीहरुको मनोबल उठाउन र समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न कठिन हुनेछ ।


(बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनमा परामर्शदाता रहनुभएका लेखक स्वास्थ्य सेवा व्यवस्थापनको प्राध्यापक पनि हुनुहुन्छ)

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका छन् । सहायक विदेशमन्त्री लु आइतबार काठमाडौं आएका हुन् ।

आफ्नो दक्षिण एशिया भ्रमणको क्रममा उनले नेपाल भ्रमणका क्रममा सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउन मद्दद पुग्ने दूतावासले उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगत्तै अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रहरीले रविलाई मानसिक यातना दिएको भन्दै मानव अधिकार आयोगमा रास्वपाको उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

रास्वपाले सभापति लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन आयोगमा उजुरी दिएको हो । उजुरीमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गरिएको छ ।

राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षार्थ सम्मानित आयोगबाट सक्रिय कदम चाल्न रास्वपाले आग्रह गरेको छ ।

उजुरीमा भनिएको छ, ‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’

एनपीएलमा जनकपुरको जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी पूरै ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन जोड्दा टम मोरिसले ३१ रनको योगदान गरे ।

ओपनर अजुर्न साउदले २० र सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जनकपुरका लागि हर्ष थाकेरले ५ विकेट लिए । यसअघि जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।