`

तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । 

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि सोमबार प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरे । 

यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  

  बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्ने कार्यतालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन् ।

  प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

बाइडनद्वारा फौजदारी मुद्दा खेपिरहेका आफ्ना छोरालाई क्षमादान

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक क्षमादान दिएका छन् ।

एक विज्ञप्तिमा राष्ट्रपतिले आफ्ना छोरालाई ‘एक्ल्याइएको’ भन्दै बाइडनले उनका मुद्दालाई ‘न्यायको एक गर्भपात’ भन्ने संज्ञा दिएका छन् । उनले भने,’मैले कार्यालय सम्हालेको दिनदेखि मैले न्याय मन्त्रालयको निर्णय प्रक्रियामा दखल पुर्याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदासमेत मैले आफ्नो वचन कायम राखेँ ।’

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यस क्षमादानलाई न्यायको दुरूपयोग र गर्भपात बताए । हन्टर बाइडन सेप्टेम्बरको सुरुमा कर मामिलामा दोषी ठहरिएका थिए। त्यसैगरी जून महिनामा उनी गैरकानुनी रूपमा बन्दुक किनेको र आफ्नो लागूऔषध प्रयोगबारे झुटो बोलेकोमा दोषी ठहरिएका थिए ।

त्यससँगै उनी अपराधमा दोषी ठहरिने पहिलो बहालवाला राष्ट्रपतिका सन्तान बनेका थिए । राष्ट्रपतिले यसअघि आफ्नो छोरालाई क्षमादान नदिने बताए पनि अहिले पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन् ।

गत सेप्टेम्बरमा मात्र ह्वाइटहाउसका प्रेस सेक्रेटरीले बाइडनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए । तर आइतबार साँझ बाइडनले आफूले न्याय प्रणालीमा विश्वास गर्दा गर्दै पनि ‘राजनीतिले यस प्रक्रियालाई सङ्क्रमित पारिदिएको र त्यसले न्यायको गर्भपात गराएको’ बताए ।

त्यसको प्रतिक्रियामा जारी गरिएको विज्ञप्तिमा हन्टर बाइडनले दुर्व्यसनीका आफ्ना अँध्यारा दिनमा आफूले गरेको गल्तीलाई राजनीतिक खेलमा आफ्नो परिवारलाई ‘सार्वजनिक रूपमा शोषण र अपमानित’ गर्न प्रयोग गरिएको जनाएका छन् ।

उनले भने, ‘मलाई आजको दिन दिइएको क्षमादानलाई मैले कहिल्यै हलुका रूपमा लिनेछैन र अझै बिरामी र पीडामा रहेकालाई सहयोग गर्नमा मैले पुनर्स्थापित गरेको जीवन समर्पित गर्नेछु ।’

सेप्टेम्बरमा हन्टर सङ्घीय कर अपचलनमा दोषी ठहर भएका थिए, त्यसको सजाय तोक्न बाँकी छ त्यसमा उनलाई १७ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइन्छ । जून महिनामा बन्दुक खरिदसम्बन्धी अर्को अभियोगमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको थियो । ती मुद्दामा सजाय तोक्ने दिन १२ र १६ डिसेम्बरमा तय गरिएको थियो ।

नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार विजयी भएकी छन् । माओवादीकी देवका लामिछाने ४ हजार दुई सय ७२ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

उनले कांग्रेसकी इन्द्रा चन्द सिंहलाई हराएकी हुन् । कांग्रेसकी सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् । २०७९ मा भएको निर्वाचनमा नलगाडको उपमेयर नेपाली कांग्रेसले जितेको थियो । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता सिंहको १७ कात्तिक २०७९ को भूकम्पमा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार विजयी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन् ।

आइतबार भएको मतदानमा उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत ल्याएका छन् भने नेकपा (एमाले) का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याएका छन् । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।

काठमाडौं –१६ को वडाध्यक्षमा रास्वपा उम्मेदवार विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर– १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विजयी भएकी छन् । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

रास्वपाकी उम्मेदवार श्रेष्ठले २९ सय २ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए । यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो ।

कन्काई–६ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार विजयी

झापा । झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का तुलाराम बस्नेतलाई १३७ मतले हराउँदै उनी निर्वाचित भएका हुन् ।

निर्वाचित भएका ओलीले ४९३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले ३५६ मत पाए । यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का गणेशबहादुर थापाले २७७ मत पाए ।

ताप्लेजुङको सिरिजङ्घा–३ मा एमालेकी सावादेन निर्वाचित

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे । साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरे । 

कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो । जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो । 

 कुशे–७ मा कांग्रेसका सिंह विजयी

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ मा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विष्णुबहादुर राना विजयी भएका छन् । माओवादीका मगर ४८६ मत ल्याएर विजयी भ एभने नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेकी दुर्गामाया थापाले ३४५ ल्याइन् ।

यसअघि यो वडा नेकपा एमालेले जितेको थियो । बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले भने जम्मा १० मत पाएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा हुँदैछन् यस्ता सम्झौता

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले संलग्न प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताए । उक्त प्रस्तावमा हस्ताक्षर गर्ने अख्तियारी पनि अर्थ सचिवलाई नै दिइएको

संलग्न विकास योजना सन् २०२५ देखि सन् २०२९ सम्मको समझदारी पत्र पनि आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यसको हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिइएको छ ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए । यससम्बन्धी समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा गरिने बताइएको छ ।

नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि तयार भएको समझदारी पत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव रामप्रसाद घिमिरेलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीन भ्रमण सफलताका लागि शुभकामना दिने निर्णय पनि गरेको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्दैछन् ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएका आयोजनामा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत रहेका छन् ।

यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् । एक सय विद्युतीय गाडी, एक सय  प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेकाले यस विषयमा पनि ठोस उपलब्धि हुनसक्ने मन्त्री गुरुङले जानकारी दिए ।

ओखलढुंगामा एमालेले खोल्यो खाता, मोलुङ ५ मा तामाङ निर्वाचित

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको मतदानमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् ।

कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याए भने रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत मात्र प्राप्त गर्न गरे ।

रोल्पाको रून्टीगढी–४ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

रोल्पा । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर–४ को अध्यक्षमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन् । मगर ६४३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बेगम पुन मगरले ५३५ मत पाए । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले ७ मत पाएका छन् । यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही निर्वाचित भएका छन् । १४३ मतसहित शाही अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन् ।

नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन् । खसेको मतमध्ये ४ मत बदर भएका छन् । यसअघि माओवादीका परबहादुर शाही अध्यक्ष थिए । उनको २०७९ मा मृत्यु भएको थियो।

एडीबीको ३२ मिलियन डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले एशियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिँचाइ आयोजना कार्यान्वयनका लागि प्राप्त हुने १६ अर्ब ८८ करोड ५० लाख ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

आइतवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकले १४ अर्ब ८५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र २ अर्ब २ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले चालू आर्थिक वर्ष २०८१।८२ का लागि उखुको उत्पादन लागत ढुवानी भाडा र मुनाफासहित गरी कृषकले उत्पादन गरेको उखु न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ निर्धारण गर्ने निर्णय भएको बताए ।

उनले पोखरा महानगरका प्रमुख धनराज आचार्यको पुस ३ देखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागी हुन स्वीकृति दिएको बताए ।

एसिया कपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।

नेपालले जितका लागि दिएको एक सय ४२ रनको लक्ष्य पच्छ्याएको बङ्गलादेशले २८ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । बङ्गलादेशका लागि ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए ।

उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन् । यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन जोडे ।

नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने हेमन्त धामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनको योगफल बनाएको थियो ।

यस्तै ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन जोडे । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बङ्गलादेशका लागि अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई÷दुई विकेट लिए । यसैगरी, साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक–एक विकेट लिए । यस जितसँगै बङ्गालादेशको भने यो लगातार दोस्रो जित हो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

उपनिर्वाचनमा करिव ६२ प्रतिशत मतदान

काठमाडौंं । स्थानीय तहको उपनिर्वाचनमा करिव ६२ प्रतिशत मतदान भएको छ । आइतबार साँझ विज्ञप्ति जारी गरी आयोगले ६२ प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता थिए । मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

ढुक्क हुनुहोस्, सरकार दायाँबायाँ हुँदैनः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताएका छन् ।

काठमाडौँमा आइतबार आयोजित बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनले विगतमा देखिएका समस्या र चुनौतीहरूको व्यवस्थापन, राजीतिक परिस्थितिलाई सम्हाल्दै सरकार अगाडि बढिरहेको बताएका हुन् ।

मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भए लागिरहेको बताए ।

‘यो स्थायी सरकार हो । धेरैले यसको दीर्घायुको बारेमा विभिन्न कुरा गरिरहेको सुन्छु तर ढुक्क हुनुहोस्, यो सरकार दायाँबाँया हुँदैन । देशलाई नयाँ दिशा दिएरै छोड्छ’, उनले भने,’राज्यको पुराना नीति परिमार्जन, डिजिटल माध्यमबाट तीन वर्षमा करिब तीन लाख युवालाई रोजगारी, सङ्घीयतालाई मसिनो ढङ्गले विस्तार, वन, प्रहरी, निजामती सेवालगायत ऐनलाई आवश्यक परिमार्जन गर्ने काममा सरकार लागिरहेको छ ।’

मन्त्री गुरुङले विकासका लागि तीन खर्ब मात्रै बजेट छुटयाइएको अवस्थामा पनि पुँजीगत खर्च गर्न नसक्नु विडम्बना भन्दै अब सरकारले खर्चमा जोड दिने र त्यसका लागि नीतिगत र कानुनी सुधार गरिनेसमेत बताए ।

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।


नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।

प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।


  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।


भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन् ।


त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते काठमाडौँ फर्कने तालिका छ ।

रङरोगन र मङ्गलगानले सजिँदै मटिहानी

महोत्तरी । महोत्तरीको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ। रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) का जन्तीलाई स्वागत गर्न मटिहानीका नागरिक तयारीमा जुटेका छन्। भोलि सोमबार जन्ती अयोध्याबाट जनकपुरधामको मटिहानी आएर रात्रि विश्राम गर्ने तालिका भएसँगै स्थानीय तयारीमा जुटेका हुन्।

अहिले मटिहानी नगरका पुरातात्विक महत्वका मठ, देवालय, तलाउ परिसर रङरोगन गरिएर झकिझकाउ बनाइएका छन्। मुलुकभरिका मठहरूको नायक मानिने लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर परिसर र रामजानकीको विवाहमा वेदी बनाउन माटो खनिएको विश्वास गरिने लक्ष्मीसागर तलाउ वरपर रङरोगन र सजावटले झकिझकाउ बनेको हो। नगरका चोकचोकमा रामजानकी विवाहको तयारीमा मङ्गलगान गुञ्जीरहेका छन्।

‘आजु मिथिला सुमङ्गल हे,
मङ्गल आजु मिथिला,
अति मन भावन हे !
आहे, मङ्गल दुलहा–दुलही ना।।
परम सुहागन हे।।!’

(आज मिथिला खुसी र उत्सवमय छ। आज मिथिला सबैको मनमा बस्ने सुन्दर र सुमधुर बनेको छ। हाम्रा दुलहा–दुलही ) श्रीराम र जानकी कहिल्यै नटुट्ने, नछुट्ने अति सुन्दर जोडी बन्दै छन्।

यसैगरी यहाँ गुञ्जिएका मङ्गलगानले अघि त्रेतायुगमा भएको रामसीता विवाहको झलक दिने गरेको छ।

‘मङ्गल मिथिला नगरियामें ,
चहुदिस मङ्गल हे,
आहे, झुमे न भूसकल जगत,
आहे, मगन धरातल हे !’

(जताततै हर्षबढाइँ छ मिथिलामा। चारैतिर खुशीयाली छ। यो खुसीमा सारा भू–मण्डल आज मस्त छ, पूरै धरातल खुसीले मग्न छ)

यहाँ अहिले गुञ्जिरहेका गीतले रामजानकीको विवाहको झल्को दिने गरेका मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल) का प्रधानाध्यापक ईश्वरी पौडेलले बताउनुभयो। सोमबार मटिहानी आइपुग्ने जन्तीको स्वागतका लागि नगरवासी तयारीमा व्यस्त देखिन्छन्।

“मिथिलामा सबै शुभकार्यमा गीतको महत्वपूर्ण स्थान छ। त्यसमा पनि विवाहका प्रत्येक विधिसँग गीत जोडिएका हुन्छन्। अतिथि र जन्ती स्वागतमा पनि मिथिलानी ९मिथिलाका नारी० गीतबाट अहोभाव व्यक्त गर्दछन्”, उनले भने।

‘करु स्वागत सब हिलीमिली हे,
पाहुन ऐला आँगन ।
धन्य भेलै मोरा गामके,
आजु नैन जुरागेलै हे !!’

(सबै जना मिलेर स्वागत गरौँ आज आँगनमा पाहुना आएका छन्। आज धन्य भयो हाम्रो नगर, तपाईंहरूलाई यो आँखाले देख्न पाएको छ)

मटिहानीमा भोलि आउने जन्तीको स्वागत, खानपान र आवासलगायत सुविधाको उचित व्यवस्थापन गर्न नगरवासी सक्रियताका साथ थयारमिा व्यस्त छन्। “हाम्रो संस्कार र संस्कृतिमा अतिथिलाई अहोभावबाट स्वागत गर्ने परम्परा छ, त्यसमा पनि मर्यादा पुरूस्वत्तम श्रीरामको जन्ती आउने शुभ अवसरमा स्वागत गर्न पाएका छौँ, हामी जन्तीको स्वागतका लागि आतुर छौँ”, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले भने, “अतिथिलाई स्वागत गर्नु हाम्रो विशिष्ट र स्थापित संस्कृति हो।”

मटिहानीमा अहिले जन्ती प्रवेश गर्ने नेपालतर्फको प्रवेशद्वारदेखि स्वागत तोरण सजाइएका छन्। श्रीराम र जानकीको विवाहका जन्ती मिथिला क्षेत्रका अतिविशिष्ट अतिथि हुने भएकाले उनीहरूको स्वागत, खानपान र आवासमा कुनै त्रुटि नदेखियोस् भनेर तयारीलाई तीव्र र व्यवस्थित पारिएको नगरप्रमुख मण्डलले बताए।

रामजानकी विवाह महोत्सवका लागि प्रत्येक पाँच/पाँच वर्षमा साजसज्जाका साथ अयोध्याबाट जन्ती आउने परम्परा रहेको लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णले बताए। यस वर्ष उक्त अवसर परेकाले यहाँ उत्सव र छाएको उनको भनाइ छ।

मटिहानीमा एक दिनको विश्रामपछि जन्ती जलेश्वर र पिपरा हुँदै जनकपुर प्रस्थान गर्ने चलन रहेको मठका सन्त डा वैष्णले जानकारी दिए। यसअनुसार महोत्तरीका जलेश्वर र पिपरामा पनि जन्तीको स्वागत गर्न स्थानीय तयारी अवस्थमा बसेका छन्।

मङ्गलबार बिहान मटिहानीबाट जलेश्वर पुग्ने जन्तीलाई जलेश्वरनाथ महादेवको दर्शन गराएर खाजा ख्वाउने तयारी छ। जन्तीले दिवा भोजन पिपरामा गर्ने जनाउँदै उनले ती दुवै स्थानमा सम्बन्धित क्षेत्रमा विशेष तयारी भइरहेको उनले बताए।

पिपरापछि जन्ती जनकपुर प्रस्थान गर्नेछन्। त्यहाँ जन्ती जानकी मन्दिरका अतिथि बनेर विवाह महोत्सवमा सरिक हुनेछन्। यस वर्षका लागि मङ्सिर २१ गते शुक्रबार रामजानकी विवाहको दिन परेको मठका सन्त डा वैष्णले जानकारी दिए। मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन रामजानकीको विवाह भएको सम्झनामा बर्सेनि यो महोत्सव मनाइँदै आइएको उनको भनाइ छ।

सप्ताहव्यापी मनाइने यो महोत्सव जनकपुरधाममा आजदेखि सुरु भएको छ। अयोध्याका राजकुमार श्रीराम, भाई लक्ष्मण र गुरू विश्वामित्रका साथ जनकपुर आइपुगेकाे सम्झनामा महोत्सवको पहिलो दिन ‘जनकपुर नगर दर्शन’ को परम्परा रहेको संस्कृतिका जानकार बताउँछन्। आज मिथिलाञ्चलसहित जनकपुरमा यही उत्सव मनाइँदै छ।

यसैगरी क्रमशः भोलि फूलबारी लीला, मङ्गलबार धनुषयज्ञ, बुधबार तीलकोत्सव, बिहीबार मटकोर, शुक्रबार विवाह र शनिबार रामकलेवा उत्सव मनाउने गरिन्छ। सप्ताहव्यापी यस महोत्सवमा पूलबारी लीला जनकपुरमा अचानक बगैँचामा डुल्दै पुगेका रामलक्ष्मणसँग सीताको आमनेसामने भएको कथा वर्णित छ।

यसैगरी तीलकोत्सवमा राजा जनकबाट वरपूजन र वस्त्रआभुषण भेट, मटकोरमा विवाहको यज्ञवेदी बनाइने र कुलदेवता पूजन तथा रामकलेवामा जन्ती बिदाइका कार्यक्रम गरिने लक्ष्मीनारायण मठका सन्त डा वैष्णले जानकारी दिए।

‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गरिँदै

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो । परिषद्ले फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र पोशाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आगामी पुस ४ गतेदेखि लागू हुँदैछ । 

यस निर्णयले औषधि बिक्रीवितरणमा आधिकारिक व्यक्तिमात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्टार सञ्जिवकुमार पाण्डेले बताए ।

मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधि बिक्रीवितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराएका छन् । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधि बिक्रीवितरणमा बेथिति देखिए नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उनले बताए ।

औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्नेगरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।

नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । नेत्रहीन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । 

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । 

नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो ।

आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।

११ महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । 

तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ ।

नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए ।

सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्याङ्कमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उनले जानकारी दिए ।

बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ  । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । 

‘हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ’, उनले भने, ‘पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।’

करिब छ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ ।

बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार नौ सय १५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार नौ सय ८१ र चीनबाट नौ हजार चार सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

संयुक्त अधिराज्य बेलायतबाट छ हजार पाँच सय ११, बङ्गलादेशबाट पाँच हजार एक सय ४८, अष्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार दुई सय ६२, श्रीलङ्काबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

कुन महिनामा कति पर्यटक

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्याङ्कमा उल्लेख छ । नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

इयूका नयाँ पदाधिकारी किएभ भ्रमणमा

किएभ । युरोपेली सङ्घका नयाँ उच्च कूटनीतिज्ञ काजा कल्लास र युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले जिम्मेवारी सम्हालेको पहिलो दिन इयूको नयाँ नेतृत्वको युक्रेनप्रतिको सद्धभाव प्रकट गर्न आइतबार किएभ आइपुगेका छन् ।

“हामी युक्रेनको साथमा छौं भन्ने स्पष्ट सन्देश दिन आएका हौं र हामीले आफ्नो पूर्ण समर्थन जारी राख्नेछौँ,” कोस्टाले पत्रकारसँगको कुराकानीमा भने ।

युरोपेली सङ्घको नयाँ नेतृत्व टोलीले युक्रेनका लागि खतरनाक क्षणमा किएभलाई समर्थन गर्न दृढ रहेको देखाउन चाहेको छ।

जनवरीमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकी समर्थनको भविष्यलाई लिएर प्रश्नहरू उठिरहेका छन् र उनले छिटो शान्ति सम्झौताको खोजीमा किएभलाई दवाव दिनसक्ने चिन्ता यूरोपेली अधिकारीहरूको रहेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना युक्रेनी राजधानीमा रहेका सरकारी भवनमा आफ्नो नयाँ ओरेश्निक क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएपछि अमेरिकालगायतका युक्रेनका सहयोगी यूरोपेली राष्ट्रहरूले युक्रेनप्रतिको समर्थन जारी रहने आश्वासन दिएका छन् ।

किएभले अमेरिकी र बेलायती क्षेप्यास्त्रले रूसभित्र आक्रमण गर्ने अनुमति पाएको प्रतिक्रियास्वरुप यो कदम चालेको र हतियार आपूर्ति गर्ने देशहरूविरुद्ध जवाफी हमला गर्ने चेतावनी दिएको रूसी नेता पुटिनले बताएको थियो ।

जाडो याम सुरु भएसँगै रूसले युक्रेनको विद्युत ग्रिडमाथि व्यापक आक्रमण पनि गरेको छ र अग्रपङ्क्तिमा रहेको किएभको थकित सेनाले मस्कोको निरन्तरको आक्रमणका कारण आधार गुमाइरहेका छन् ।

इस्टोनियाका पूर्व प्रधानमन्त्रीसमेत रहेका इयूका उच्च कूटनीतिज्ञ कल्लासले भने, “युक्रेनको अवस्था अत्यन्त गम्भीर छ । तर यसो गर्नु रूसको लागि पनि धेरै उच्च लागत पर्नेछ ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयेनसहित युरोपेली सङ्घका शीर्ष अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

जेलेन्स्कीले शुक्रबार सम्भावित शान्ति वार्ताअघि आफ्नो अडान सार्वजनिक गर्न थालेको देखिन्छ ।

उनले नेटोलाई ‘युद्धको आक्रामक चरण रोक्न’ किएभद्वारा नियन्त्रित युक्रेनका केही भागहरूमा सुनिश्चित गरिएको सुरक्षा प्रदान गर्न र त्यसपछि मात्र रूसद्वारा कब्जा गरिएको अन्य क्षेत्रहरू फिर्ता लिने अभियानलाई बढाइने व्यवस्था मिलाउन आह्वान गरे ।

जेलेन्स्कीले बेलायतको स्काई न्यूजसँगको अन्तवार्तामा भनेको थियो, “यदि हामी युद्धविरामको कुरा गर्छौं भने पुटिन पुनः युक्रेन आक्रमणमा फर्कने छैनन् भन्ने ग्यारेन्टी चाहिन्छ।”

कल्लासले भने, “सबैभन्दा बलियो सुरक्षा ग्यारेन्टी नेटोको सदस्यता हो।

उनले भने, “हामीले निश्चित रूपमा यस विषयमा छलफल गर्न आवश्यक छ । यदि युक्रेनले सीमा रेखा कोर्ने निर्णय गर्छ भने पुटिन अघि नआउने गरी हामी कसरी शान्ति कायम गर्न सक्छौं छलफल गर्नु आवश्यक छ।”

रूससँग युद्धमा तानिन सक्ने चेतावनी दिएका सदस्यहरूको एक समूहले विरोध जनाएका कारण नेटोका कूटनीतिज्ञहरूले युक्रेनलाई गठबन्धनको सदस्यता प्रदान गर्ने सम्भावना कमै रहेको बताएका छन ।

कल्लासले कुनै पनि युद्धविराम लागू गर्न मद्दत गर्न युरोपेली सेना पठाउने प्रश्नको सन्दर्भमा ईयूले कुनै पनि कुरालाई इन्कार गर्न नहुने बताए ।

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु

नयाँदिल्ली । छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।

तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकूहरूको खोजी गरिरहेका समय ‘ग्रेहाउन्ड’का जवान र भारतीय माओवादी समूह (नक्सलवादी) बीच मुठभेड भएको हो ।

घटनास्थलबाट दुई थान एके–४७ राइफल, एक इन्सास राइफलका साथै अन्य हातहतियार, विष्फोटक पदार्थ र दैनिक उपभोग्य सामग्रीबरामद भएको प्रहरीले जनाएको छ ।

मुलुगु जिल्लाको चालापाका वन क्षेत्रमा बिहान ५ः३० बजे सन्दिग्ध माओवादी लडाकूसँग मुठभेड भएको थियो । एक घण्टाभन्दा बढी चलेको मुठभेडमा सात जना मारिएका थिए ।

उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य केही माओवादी घाइते भएको हुन सक्ने अनुमान गरिएको छ ।

एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका छन्।

ट्रम्पले ब्यूरोका वर्तमान् गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’ को बारेमा आलोचक आफ्ना पूर्व सल्लाहकारसमेत रहेका पेन्टागनका अधिकारीलाई एफबिआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् ।

एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो ।

ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छनु, “काश एक प्रतिभाशाली वकिल, अन्वेषक र ‘अमेरिका फस्र्ट’ अभियानका अभियान्ता हुनुहुन्छ । उहाँले आफ्नो सेवालाई भ्रष्टाचारको पर्दाफास गर्न, न्यायका लागि र अमेरिकी जनताको रक्षा गने कार्यमा लगानी गर्नुभएको छ ।”

आगामी राष्ट्रपतिका कट्टर समर्थक पटेलले ट्रम्पलाई पर्दा पछाडिबाट दबाउने काम गर्ने कथित पक्षपाती सरकारी नोकरशाहहरूको ट्रम्प विरोधी ‘डिप स्टेट’ को रिपब्लिकन कट्टरपन्थी धारणालाई समर्थन गर्छन् र यस बिषयमा एउटा पुस्तक समेत लेखेका छन् ।

भारतीय मुलका एक परिवारका सन्तान पटेलले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रुपमा काम गरेका थिए।

“काशले मेरो पहिलो कार्यकालमा अविश्वसनीय काम गर्नुभएको छ”, ट्रम्पले भने, “उहाँले अमेरिकामा बढ्दो अपराध महामारीको अन्त्य गर्न, आप्रवासी आपराधिक गिरोहलाई ध्वस्त पार्न र सीमापार मानव र लागूपदार्थ तस्करीको दुष्ट अभिशाप रोक्नका लागि काम गर्नुहुनेछ ।”

ट्रम्पले एफबीआईका पूर्व निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि कार्यवाहक निर्देशकको स्थानमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रेलाई नियुक्त गरेका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पको रूससँगको विस्तृत सम्बन्धबारे कोमीको नेतृत्वमा एफबीआईले गरेको अनुसन्धानबाट ट्रम्पलाई कोमीविरूद्ध आक्रोशित बनाएको थियो ।

रेको नेतृत्वमा एफबीआईले ट्रम्पस्वयंले सन् २०२२ मा उनको ‘मार–ए–लागो एस्टेट’मा गैरकानुनी रूपमा गोप्य कागजात राखेको आरोपमा अनुसन्धान गरेको थियो ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा हिंसात्मक आक्रमण गर्ने आफ्ना सयौं समर्थकको अनुसन्धानसहित ब्युरोको अनुसन्धानको लामो समयदेखि विरोध गर्दै आएका छन् ।

सीएनएनलाई दिएको बयानमा एफबीआईले भनेको छ, “रेको ध्यान एफबीआईका पुरुष र महिला, हामीसँग काम गर्ने व्यक्ति र हामीले काम गर्ने व्यक्तिहरूमा केन्द्रित भएको छ ।”

ट्रम्पले फ्लोरिडाका शेरिफ चाड क्रोनिस्टरलाई ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) को प्रशासकमा मनोनीत गरेका छन् ।

उनले ट्रुथ सोसलमा लेखेका छन्, “चाडले हाम्रा महान् महान्यायाधिवक्ता पाम बोन्डीसँग सीमा सुरक्षित गर्न, फेन्टानिल र अन्य अवैध लागूपदार्थको प्रवाह रोक्न र अमेरिकी नागरिकको जीवनको सुरक्षाका लागि काम गर्नुहुनेछ ।”

ट्रम्पका कट्टर सहयोगी तथा फ्लोरिडाका पूर्व महान्यायाधिवक्ता बोन्डी न्याय विभागको नेतृत्वका लागि अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको छनौट छन् ।

एफबीआई न्याय विभागको अनुसन्धान शाखा हो भने डीईए पनि यसको क्षेत्राधिकारभित्र पर्छ ।

बोन्डी र पटेलको नियुक्तिले ट्रम्पले आफ्नो दृष्टिकोण र नीतिगत झुकाव पूरा गर्न इच्छुक निकटस्थहरूलाई नियुक्ति गर्ने व्यक्तिहरूको सूचीमा राख्न इच्छुक रहेको सङ्केत गर्दछ । 

नेप्से नौ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ बराबरको कारोबार भएको छ ।

व्यापार समूह नौ दशमलव शून्य सात, विकास बैंक समूह चार दशमलव ५२ र होटल तथा पर्यटन समूह शून्य दशमलव ३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह दुई दशमलव ९६ प्रतिशतले घटेको छ । 

बैंकिङ एक दशमलव ४७, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव १५, जीवन बिमा एक दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फण्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव शून्य एक र अन्य समूह एक दशमलव ३५ प्रतिशतले घटेको छ ।

पाँचवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको रू ३४ करोड ३१ लाख ४९ हजार सात सय १७ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको पाँच लाख आठ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।

एसिया कप क्रिकेटमा नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनमा समेटिएको हो । 

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९÷२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई÷दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक÷एक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

काठमाडौं । लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेल आएको छ । हिल्टन काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो।

उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए। यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सीले एनसेलसँगको सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास ब्यक्त गरेको छ ।

नेपाल प्रिमियर लिगको सह प्रायोजक पनि रहेको एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिंदै आएको छ। लुम्बिनी लायन्स क्लवको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली क्रिकेटको विकास र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान गर्ने विश्वास लिइएको छ । लुम्बिनी लायन्स क्लब र एनसेलबीचको यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

८ टिम सहभागी रहेको नेपाल प्रिमियर लिगको प्रथम संस्करण हिजोदेखि पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी. यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ।

कृषि विश्वविद्यालयले प्रदर्शनी तथा किसान मेला गर्ने

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुने भएको छ । विसं २०७६ मा पहिलो पटक मेला आयोजना गरेको विश्वविद्यालयले पाँच वर्षपछि दोस्रो संस्करण सुरु गर्न लागेको हो ।

मेला आयोजक समारोह समतिका संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार यही मङ्सिर २९ गतेदेखि आगामी पुस ३ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाका बारेमा जानकारी गराएको हो । किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा १३५ कक्ष रहने छन् ।

कट्टेलका अनुसार विश्वविद्यालयको कृषि सङ्कायको परिसरमा हुने मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ । यहाँ किसानलाई आवश्यक पर्ने नयाँ प्रविधिको प्रदर्शनी किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमासमेत छलफल हुने उनले बताए ।

कार्यक्रम अवधिभर कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्वव्यवस्थापन लगायतका विषयमा समूहगत छलफल हुने कट्टेलले जानकारी दिए ।

मेलाबाट १० हजारभन्दा बढी किसानले लाभ लिने अपेक्षा गरिएको उनले बताए । मेला किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कोशेढुङ्गा बन्ने उनको विश्वास छ । विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा अर्जुनकुमार श्रेष्ठले मेला अवधिमा विश्वविद्यालयबाट अध्ययन गरी गएका र रामपुर क्याम्पस हुँदा उत्तीर्ण उद्यमशीलतामा लागेका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।

उनले भने, “सबै विद्यार्थी हाम्रा लागि समान हुन्, सबैलाई सम्मान गर्ने छौँ ।” उद्यममा लागेकाबीच मूल्याङ्कन गरी तीन जनालाई पुरस्कृतसमेत गर्ने कार्यक्रम रहेको छ । विगतमा सुरुवात गरिएको मेला कोरोना लगायतका कारणले स्थगित भएको जनाउँदै उनले यस कार्यक्रमलाई अब हरेक दुई/दुई वर्षमा गरिने बताए ।

सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन् ।

यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित अध्ययन गरी सुधारका योजनासहितको प्रतिवेदन तयार गरिएको निलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले बताए । पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेपछि प्रवर्द्धनका लागि पहल गरिएको उनले बताए । यहाँको प्रचारप्रसार तथा पर्यटकीय सम्भावनालाई उजागर गरी धार्मिक गन्तव्यस्थल बनाउने उद्देश्यले स्थानीयवासी जुटेका हुन् ।

धेरै वर्ष पहिलादेखि यहाँ रहेको यो गुफाको आवश्यक संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको बताउँदै आचार्यले यसको संरक्षण गरेर पर्यटकीय गतिविधि विस्तारमा जोड दिइएको उल्लेख गरे ।

“यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत हामीले प्रचारप्रसारमा जोड दिएका छौँ । स्थानीय सरकारलाई पनि यहाँ सम्भावना उजागरमा सहयोगसहित पूर्वाधार विकासका लागि अनुरोध गरेका छौँ । सोअनुरुप पहिलो चरणको अध्ययन सकिएको छ । अब पूर्वाधार निर्माणमा जोड दिनेछौँ ।”

आचार्यसहित स्थानीयवासीले केही समयअघि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत भगवान्का आकृतिसहितका संरचना फेला पारेका हुन् । उनले भने, “गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गमा आफैँ जल चुहिने गरेको छ ।” शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा झर्ने गरेको उनको भनाइ छ ।

आचार्यले भने, “परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गरेको विश्वास स्थानीयमा छ । यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन । यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ ।”

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ । यस ठाउँलाई म्याग्दे गाउँपालिकाको पर्यटकीयस्थलका रूपमा लिँदै आगामी दिनमा यसको व्यवस्थापनमा पालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भने, “गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । यहाँको विकासका लागि पालिकाले निरन्तर सहयोग गर्नेछ ।” 

हेटौँडाका एक सय दुई वर्षीय गोविन्द लामिछानेद्वारा मतदान

मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आइतबार वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ । कूल आठ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा चार हजार दुई सय २३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् । 

विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक हजार आठ सय ४३ मत खसेको छभने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिए । 

भारत र चीनबाट पर्यटक भित्र्याउन पोखरामा ‘नाईस–२०२५’ गरिँदै

काठमाडौँ । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्राउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ ।

आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो (मेला) आयोजना गर्न लागिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहने जनाइएको छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी एकहजार बढीको सहभागिता रहनेछ ।

उनले एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको बताए ।

‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभइ माईस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने पाटाले विज्ञप्तिमार्फत जनाएको छ ।

एक्स्पोका संयोजक सुनिल भट्टराईले छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एव् सङ्घ संस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले दुई ठूला पर्यटन स्रोतबजारका क्रेता र विक्रेतालाई जोडेर पर्यटकीय गतिविधि र अनुभव आदानप्रदान गर्ने सो कार्यक्रम पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नाईस कार्यक्रमलाई विशेष र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताए।

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार रोल्पाको सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार छन् ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले टेवा पर्खाल भत्किएर दुर्घटना भएको जानकारी दिए । पुल निर्माणमा सात जना मजदूर खटिएकामा दुई जना भने भाग्न सफल भएका थिए ।

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष लिए शपथ

काठमाडौँ । चार देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासका आयोजित कार्यक्रममा अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राजदूतका रूपमा शपथ लिएका हुन् ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरुलाई केही दिन अघि राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।

ओपनएआईलाई नाफामुलक उद्यममा परिणत हुनबाट रोक्न मस्कको आग्रह

वासिङ्टन । एलन मस्कले च्याटजिपिटी निर्माता कम्पनी ओपन एआईलाई नाफामूलक उद्यममा परिणत हुनबाट रोक्न अमेरिकी अदालतसमक्ष पुनः आग्रह गरेका छन्।

उनी र उनको एआई स्टार्टअप एक्सएआईको प्रतिनिधित्व गर्ने वकिलहरूले उक्त निवेदन अदालतसमक्ष शुक्रबार दायर गरेको वित्तीय समाचार साइटले जनाएको छ।

निवेदनले ओपन एआईलाई यसका लगानीकर्ताहरूलाई प्रतिस्पर्धी कम्पनीमा लगानी गर्न रोक्न पनि अनुरोध गरेको छ। सन् २०१५ मा समूहको सहस्थापना गरेका ओपन एआई र मस्कबिचको व्यापार विवादका रूपमा यो पछिल्लो घटनाक्रमको विकास भएको हो।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो क्षेत्रमा लोकप्रियता कमाएको ओपन एआईले हालैका वर्षहरूमा यसको भूमिका आकासिएको देखेको छ।

मस्कले ओपन एआईले आफ्ना लगानीकर्ताहरूलाई प्रतिद्वन्द्वीहरूबिच लगानी गर्नबाट रोक्छ, जसले अर्बौँ डलर जोखिममा रहेको क्षेत्रमा आफ्नो सुरूवातलाई हानि पुर्‍याउने आरोप लगाएका छन्।

ओपन एआई एक गैरलाभकारीको रूपमा स्थापित भएको थियो र त्यसपछि ‘क्याप्ड’ लाभकारी उद्यममा स्विच गरिएको छ। यो हाल एक ‘सार्वजनिक–लाभ निगम’ बन्न खोज्दै छ, जसले अधिक लगानी आकर्षित गर्न सक्छ।

सन् २०१८ मा क्लब छोडेपछि मस्कले सिइओ साम अल्टम्यानको नेतृत्वमा कम्पनीले लिइरहेको नाफामुखी दिशाबाट आफू असहज भएको बताएका थिए।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुसन्धानलाई सबैका लागि उपलब्ध गराउने आफ्नो मूल गैरनाफामूलक मिसनलाई तोडेको आरोप लगाउँदै उनले मार्चमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए।

मस्कको मुद्दा, साथै एआईका लागि ओपन सोर्स विकासको उनको दाबी कम्पनी छोडेपछि ओपन एआईको खोट देख्नुमा मात्र सीमित रहेको ओपन एआईको तर्क छ।

फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु

बैङ्लोर। भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

फेङ्गल नाम दिइएको चक्रवात शनिबार अबेर राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा) को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो ।

तमिलनाडुराज्यका विपद् व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीन जनाको मृत्यु भएको र उनीहरूको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

तर आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उनले बताए ।

‘द टाइम्स अफ इन्डिया’ले मृतकको सङ्ख्या चार रहेको उल्लेख गर्दै आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको तर अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ ।

उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपत यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो ।

यो आँधी आइतबारपछि बिस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ भने भारतको मौसम विज्ञान विभागले भारतको दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

विभागले आँधीको जोखिम रहँदासम्म समूद्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ भने केही क्षेत्रमा “मध्यमदेखि उच्च बाढीको जोखिमको’ रहेको बताएको छ।

फेङ्गलले यसै साताको सुरुमा श्रीलङ्काको समुद्री तटमा अवतरण हुँदा छ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

जीवाश्म ईन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपत् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ ।

राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको सङ्ख्यामा कमी ल्याएको छ ।

बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।

व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ ।

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताए ।

हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधान आवतजावत हुँदै आएको थियो । वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।

आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । कम्पनीले गत वैशाखदेखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उहाँको भनाइ छ ।

“सम्झौता अवधि भन्दा अगावै सम्पन्न गर्ने अपेक्षा गरिएको छ”, शाखा अधिकृत तिवारीले भने, “निर्माण कम्पनीले फागुनभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।” सम्झौता अगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृत गर्ने योजना बनाएको उनले बताए ।

अयूमीले ल्याइन् ‘आफैंलाई’

काठमाडौं । गायिका अयूमी तामाङको ‘आफैंलाई’ बोलको आधुनिक पप गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
रचना, संगीत र स्वर अयूमीकै रहेको म्युजिक भिडियोमा उनी स्वयम् र उदयमान अभिनेता कुङसाङ बमजनले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा काठमाडौ र ललितपुर वरपर तामाङ बस्ती र संस्कृति सम्बन्धी दृश्यका अतिरिक्त आधुनिकतातर्फ लम्किरहेको जीवन परिवेशलाई समेत समावेश गरिएको छ । म्युजिक भिडियोमा युवा युवती गहिरो माया प्रेममा डुब्नु अघि पहिले आफूलाई अनि एक–अर्कालाई बुझ्न पर्छ भन्ने गहिरो सन्देश दिन खोजिएको छ ।

साथीभाइ र पारिवारिक जमघटमा भएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अयूमी पिता गीतकार डा आशबहादुर तामाङले नेपाली लोक संस्कृति सबै गीत संगीतको आधार भएकाले कुनै श्रष्टाले आफनो देश, वेशभूषा, भाषा र संस्कृति भूल्न नहुने सुझाव दिए ।

यसअघि ‘जाने भए’ बोलको पप आधुनिक गीतमा पनि उनकै रचना, संगीत र स्वर थियो । अयूमीका बाजे/बजु चन्द्रबहादुर र धनमाया प्रख्यात लोक गायक/ गायिका थिए भने पिता डा आशबहादुर तामाङ र माता हेमा पनि लोक श्रष्टाको परिचय बनाउन सफल व्यक्तित्व हुन् । नेपालको लोक गीत/संगीतको संरक्षण र सम्बद्र्धनमा उहाँहरु तीन पुस्ताकै योगदान रहेको छ ।
गीत/संगीतको पारिवारिक वातावरण र प्रेरणामा अयूमीले सिर्जनामार्फत आफनो क्षमताको निखार र परिचय अघि बढाइरहेकी छन् ।

विदेशमा कार्यरत भएपनि नेपाली गीत/संगीतप्रतिको लगाव र तत्परतालाई जीवन्त तुल्याउन परिवारका अतिरिक्त साथीसङ्गीले समेत प्रेरणा दिइरहेका छन् । उनको पछिल्लो श्रृजनाले त्यस विषयलाई उजागर गरेको छ ।

अयूमीका हजुरआमा धनमायाले ७२ वर्षको उमेरमा गण्डकी प्रदेशमा प्रचलित ठेट, ठाडो तथा ढिला भाकाका दाइँ गीतजस्ता लोपोन्मुुख गीत रेकर्ड गरी एल्वम मार्फत् सार्वजनिक भएकी थिइन् । त्यसैगरी पिता डा आशबहादुरको रचना र संगीतमा तामाङ सेलो ‘ओई सोल्टीनी’ गतवर्ष सार्वजनिक भएको थियो ।

कञ्चनपुरमा प्रहरीका पूर्व असईद्वारा श्रीमतीको हत्या

सुदूरपश्चिम । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका– ८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेका प्रहरीले जनाएको छ ।

शनिबार साँझ घरसायी विवादको विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।

उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । विष्टले हत्या गरेका ज्योती उनकी कान्छी श्रीमती हुन् ।