`

धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना

मलेखु(धादिङ) । चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

समलिङ्गी विवाह दर्ता गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध युवराज सफलले गरे रिट दर्ता

काठमाडौं । समलिंगी विवाह दर्ता गर्न यसअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्धमा रिट दर्ता भएको छ । युवराज सफलको रिट यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि सफल दरपीठविरुद्ध इजलास पुगेका थिए । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । इजलासको आदेशपछि सफलले आइतबार रिट दर्ता गरेका छन् । रिटको पेसी मंसिर २५ गतेलाई तोकिएको सफलले जानकारी दिएका छन् ।

गतवर्ष सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको थियो ।

समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उनीहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिएका थिए ।

कलको ह्याण्डिल र फरुवाले हानेर झापामा ८३ वर्षीया वृद्धिको हत्या, दुईजना पक्राउ

झापा । प्रहरीले झापामा ८३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका–६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया वृद्धा फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

मंसिर २२ गते मुर्मु मृत भेटिएकी थिइन् । त्यसपछि अनुसन्धानका क्रममा वृद्धालाई टाउको र चिउडोमा प्रहार गरी हत्या गरेको खुलेको थियो । प्रहरीले आरोपीले हत्यामा प्रयोग भएको कलको ह्याण्डिल र फरुवा समेत बरामद गरेको छ । हत्यापछि लुटिएको मोबाइल र एउटा साइकल समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

सिरियाली विद्रोहीद्वारा राजधानी दमास्क कब्जा

बीबीसी । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल–असदबाट सिरिया “मुक्त“ भएको घोषणा गरेका छन् । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन् ।

असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन । सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ ।

सोसल मिडियामा देखापरेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपबाट स्वतन्त्र पारेको’ बताएको केही समयमा उनीहरू राजधानी प्रवेश गरेका हुन् । विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो । सिरियाका विपक्षी नेता हदि अल–बहराले अरबीक समाचार संस्था अल–अरबीयालाई असदको शासन ढलेको र ‘सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको’ बताएका छन् ।

सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन् । राष्ट्रलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले आफू पदमा रहिरहे देशमा सरकारको निरन्तरता कायम राख्ने काम ‘गर्न सघाउन तयार’ रहेको बताएका छन् ।

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन् । मोहम्मद अल जोलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्।

विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि सिरियाका राष्ट्रपति असद भागेको आशंका

बीबीसी । विद्रोहीहरु सिरियाको राजधानी दमास्क नजिक पुग्दा त्यहाँ अन्योल र त्रास बढेको छ । राष्ट्रपति बशर अल–असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन् ।

त्यहाँको आन्तरिक मामिला मन्त्रालयले राजधानी वरिपरि बलियो रक्षात्मक घेरा निर्माण गरिरहेको जनाएको छ । तर देशभरका विद्रोही समूहहरूले कब्जामा लिएका सहर,नगर र गाउँहरूमा सरकारी सेनाले त्यस्तो कुनै पनि सुरक्षा प्रदान गर्न असफल भएको प्रस्टसँग देखिन्छ ।

यतिबेला राष्ट्रपति बशर अल–असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको निगरानी गरिरहेका छन् ।

सबैजना अशद देशमै छन् वा छैनन् भन्ने जान्न खोजिरहेका छन् । राष्ट्रपति अशदको कार्यालयले त्यस्ता सबै खबरको खण्डन गर्दै उनी अझै दमास्कसमै रहेको र नियमित रूपमा आफ्नो काम गरिरहेको जनाएको छ।

तर त्यसको सङ्केत भने देखिएको छैन । सिरिया यतिखेर एक विभाजित देशका रूपमा छ, जहाँ वर्षौँ लामो गृहयुद्धको गहिरो घाउ अझै निको हुन सकेको छैन ।

त्यहाँ करिब डेढ साता अघिसम्म झण्डै चार वर्षदेखि कायम गरिएको एकखाले गतिरोध र यथास्थिति थियो । देशमा चलिरहेको गृहयुद्धबीच राष्ट्रपति असदको आफ्ना अरब नेताहरूसँगको सम्बन्ध क्रमशः सुधार भए तापनि सिरियाभित्र युद्धपछिको अवस्थामा जनताको सुखद भविष्य निर्माण गर्ने दिशामा कुनै प्रगति भएको देखिएको छैन ।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडा

तेह्रथुम । तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।

समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि प्रख्यात छ ।

सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ ।

स्थानीय सरकारको पहल एवं सङ्घीय र प्रदेश सरकारको सहकार्यमा सिधुवा बजारबाट केही माथि पैदलयात्राका लागि रेलिङसहितको सिँढी निर्माण गरिएको छ । डाडाँमा शौचालय र वनभोजस्थल बनाइएका छन् । त्यहाँ पूर्वाधार निर्माण भएसँगै पर्यटकको चहलपहल बढेको स्थानीय छिरिङ शेर्पाले बताउछन् ।

सरकारले सय गन्तव्य सूचीभित्र पटेकडाँडालाई राखेपछि यो स्थानमा आन्तरिक पर्यटक जान थालेका हुन् । पर्यटकको चहलपहल बढेसँगै सिधुवा बजारको व्यापार–व्यवसायमा वद्धि भएको स्थानीय व्यवसायी मेघराज घिमिरेले बताए । उनले पटेकडाडाँको प्रचारप्रसार र थप पर्यटनमैत्री पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताए।

लालीगुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको भ्रमण गर्ने धेरै पर्यटकको रोजाइमा पटेकडाँडा परेको छ । विशेषतः हिउँदमा वनभोज खाने र गुराँस फुल्ने याममा त्यहाँ धेरै पर्यटक पुग्ने गरेका छन् । पर्याप्त प्रचारप्रसार र थप प्रकृतिमैत्री पर्यटन पूर्वाधारको विकास गरेर पटेकडाँडामा बाह्रैमास पर्यटक भित्र्याउन सकिने व्यवसायी घिमिरेले बताए ।

कैलालीबाट एक करोड भन्दाबढीको सुन, चाँदी र नगदसहित तीनजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले कैलालीको भजनीबाट एक करोड रुपैयाँ भन्दा बढी मूल्यका सुन, चाँदी, नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन् । भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको हो। 

उनीहरुको साथमा रहेको सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए ।

गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारी प्रधानमन्त्रीको भनाइ

दोहा । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले बताएका छन् ।

राजनीतिक संवादका लागि दोहा फोरममा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले भने, “अमेरिकी निर्वाचनपछि हामीले युद्धविराम वार्ताको आवश्यकता महसुस गरेका छौँ र यो समय फेरि आउँदैछ।”

कतारी प्रधानमन्त्रीले भने, ‘कार्यकाल सकिँदै गरेको र नयाँ आउन लागेको अमेरिकी प्रशासनको सम्झौताप्रतिको दृष्टिकोणमा ‘केही भिन्नता’ भए पनि ‘युद्ध अन्त्य गर्ने लक्ष्यमा कुनै असहमति देखेका छैनौँ ।”

संयुक्त राज्य अमेरिका र इजिप्टसँग मिलेर कतारले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौंदेखिको असफल वार्ताका लागि मध्यस्थता गरेको थियो । वार्ताको उद्देश्य र युद्धरत पक्षबीचको बुझाइमा एकरूपता आउन नसक्दा कतारले तत्कालका लागि मध्यस्थताको औचित्यता सकिएको निष्कर्ष निकाल्दै जिम्मेवारीबाट पछि हटेको थियो ।

गत नोभेम्बरमा दोहाले हमास र इजरायलले ‘इच्छा र गम्भीरता’ देखाएपछि मध्यस्थता पुनः सुरु गर्ने घोषणा गरेको थियो ।

शेख मोहम्मदले भने, “राष्ट्रपति कार्यालय आउनुभन्दा पहिले नै सम्झौता हासिल गर्नका लागि आगामी प्रशासनबाट धेरै प्रोत्साहन प्राप्त भएको छ, यसले विगत दुई हप्तामा वार्तालाई ‘ट्रयाकमा फर्काउने’ कतारी निर्णयलाई बल मिलेको छ । “हामी जतिसक्दो चाँडो काम सम्पन्न गर्ने आशा राख्छौं हाम्रो सबै पक्षहरूको सद्भावमा संलग्न हुने इच्छा जारी रहनेछ।”

संयुक्त राज्य अमेरिकाको समर्थनमा सन् २०१२ देखि कतारले हमासका लागि उसको राजनीतिक ब्युरोलाई राख्न दिएको बिषयलाई लिएर कतारले थप दबाब को सामना गर्नुपर्ने सम्भावना रहेको भन्ने भनाइलाई पनि प्रधानमन्त्रीले खण्डन गरेका छन् ।

कार्यालयलाई ‘विभिन्न पक्षबीच भेला हुने मञ्च’ को संज्ञा दिँदै कतारले प्यालेस्टिनी लडाकूविरुद्ध अन्य समाधान खोज्ने अपेक्षा नगरिएको’ उनले बताए ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा लडाकूहरूले २५१ जनालाई अपहरण गरेका थिए, जसमध्ये ९६ जना गाजामै छन् । गाजामा रहेका भनिएकामध्ये पनि ३४ जनाको मृत्यु भएको पुष्टि इजरायली सेनाले गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताको सुरुमा सामाजिक सञ्जालमार्फत आफूले कार्यभार सम्हाल्ने बेलासम्म बन्धक बनाइएकाहरूलाई रिहा नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । ट्रम्पले इजरायललाई कडा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिरियामा लेबनानी हिजबुल्लाह समूहले दुई हजार लडाकू पठाएको दावी

बेरुत । लेबनानको हिजबुल्लाह समूहले सिरियामा दुई हजार लडाकू पठाएको उक्त समूहनिकट एक स्रोतले बताएको छ ।

सन् २०११ देखि सिरियाली युद्धमा राष्ट्रपति बसर अल असदको सेनासँग मिलेर लडेको इरान समर्थित समूहले लेबनानी सीमा नजिकैको कुसेर क्षेत्रमा दुई हजार लडाकू पठाएको समूह सम्बद्ध स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार गत हप्ता इस्लामवादी नेतृत्वको विद्रोहीआक्रमण सुरु भएयता हिजबुल्लाहले युद्धमा सक्रिय सहभागिता जनाएको छैन ।

सिरिया–लेबनान सीमामा पर्ने पहाडमा समूहका लडाकुलाई ‘आफ्नो स्थानको र ा ागर्न’ पठाइएको र हिजबुल्लाहले अहिलेसम्म कुनै पनि लडाइँमा भाग नलिएको स्रोतले जनाएको छ ।

सिरियामा विद्रोही गठबन्धनले सिरियाका दुई मुख्य शहर (उत्तरको अलेप्पो र मध्यभागको हामा) मा कब्जा जमाइसकेको छ ।

हिजबुल्लाह र इजरायलबीचको युद्धमा युद्धविराम लागू भएको दिन नोभेम्बर २७ मा उनीहरूले आफ्नो आक्रमण सुरु गरेका थिए, युद्धविरामले लेबनानी समूहलाई कमजोर बनाएको छ ।

रिरियाली युद्ध अनुगमनकारी संस्था –सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) का अनुसार शनिबार विद्रोही सेना सिरियाली मध्य शहर होम्सको प्रवेशद्वारमा थिए र राजधानी दमास्कसतर्फ अघि बढिरहेका थिए ।

स्रोतका अनुसार हिजबुल्लाहले सिरियाली सेनालाई शहरको र ा ागर्ने निर्णय गरेमा सहयोग गर्न होम्सलाई १५० सैन्य सल्लाहकार पठाएका थिए ।

हिजबुल्लाहले सन् २०१३ देखि नै असदको सेनालाई खुलेर समर्थन गर्दै आएको छ ।

हिजबुल्लाहका लडाकुहरूले सन् २०११ मा सरकार विरोधी प्रदर्शनको दमनपछि सुरु भएको गृहयुद्धमा गुमेको क्षेत्र फिर्ता लिन असदलाई सहयोग गरेका थिए ।

लेबनानी समूहले सन् २०१३ मा सिरियाली सरकारी फौजलाई विद्रोहीको कब्जाबाट कुशायर शहरबाट फिर्ता लिएको थियो भने हिजबुल्लाहले पछि त्यहाँ सैन्य आधार र प्रशिक्षण शिविर स्थापना गरेको थियो ।

तर गत हप्तासम्म सिरियामा जारी युद्ध सुषुप्त अवस्थामा रहेकाले हिजबुल्लाहले ‘विगत दुई वर्षमा आफ्ना अधिकांश लडाकूलाई फिर्ता बोलाएको छ,” स्रोतले भनेको छ ।

स्रोतले भन्यो, “हिजबुल्लाहले अलेप्पो र हामामा सैन्य सल्लाहकारहरू राखेको थियो, हालैका दिनहरूमा विद्रोही सेनाले यी दुई शहरहरू कब्जा गर्नुअघि उनीहरू त्यहाँबाट भागेका थिए वा थिएनन् भन्ने कुरा निर्दिष्ट गरिएको छैन ।”

रुस र इरानले पनि असदको शासनलाई समर्थन गर्न युद्धमा हवाई हस्तक्षेप गरेका छन् ।

तेहरानले नोभेम्बर २८ मा अलेप्पोमा भएको झडपमा रिभोलुसनरी गार्डका एक जनरलको मृत्यु भएको घोषणा गरेको थियो ।

सिरियाली विद्रोहीद्वारा ‘दमास्कस वरपर’ आक्रमण

बेरुत । सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको बताएका छन् ।

सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सुरु भएको सिरियाको गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति बशर अल असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ ।

विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दावी गर्दै भने, “हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।”

यसअघि उनले दमास्कसको ग्रामीण इलाकामा रहेको सासा (सुरक्षा) शाखालाई सेनाले नियन्त्रणमा लिएको बताएका थिए ।

एचटीएसका नेता अबु मोहम्मद अल–जोलानीको सट्टा आफ्नो वास्तविक नाम अहमद अल–शरा प्रयोग गरी शनिबार टेलिग्राममा विद्रोही लडाकुहरूलाई सम्बोधन गर्दै भने, “दमास्कस तपाईंहरूलाई पर्खिरहेको छ ।”

– सेनाद्वारा खण्डन –

असदप्रति वफादार रहेको सिरियाली रक्षा मन्त्रालयले सेना आफ्नो स्थानबाट भागेको अस्वीकार गरेको छ ।

“दमास्कस ग्रामीण क्षेत्रमा रहेका हाम्रा सशस्त्र सेना फिर्ता भएको भन्ने समाचारमा कुनै सत्यता छैन,” विज्ञप्तिमा भनिएको छ ।

सिरियाली युद्ध अनुगमनकारी संस्था –सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले दमास्कसबाट करिब १० किलोमिटरको दूरीमा रहेको सहरबाट सरकारी सेना फिर्ता हुन लागेको जनाएको छ ।

आँखा शिविरले देखायो ११ वर्षपछि दिदी-भाइलाई संसार

धुलिखेल । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले वर्षौँपछि आँखा देख्न पाएको बताए ।

नजिकको मात्रै अलिअलि देख्ने उनको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । यसरी नै ११ वर्ष बिताएका उनी गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले दङ्ग भएका छन् ।

‘जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु’, उनले भने, ‘आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुसी छुँ ।’

प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उनले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताईन् । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेकामा शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको उनले बताईन् । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो ।

‘देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएर्नौ’, सुस्मिताले भनिन्, ‘गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।’

दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।

तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताए । यस क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए ।

सर्लाहीका तीन विद्यार्थीले बनाए इभी ट्याक्टर

बरहथवा (सर्लाही) । कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्याक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिए ।

उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ । उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ । ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ ।

“रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।” विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताए ।

“सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उनले भने, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”

छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्याक्टर प्रदर्शन गरेका थिए । आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् ।

कवाडीमा फालिएका मोटरसाइकलका पार्टस्, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय बनाए निर्माणमा एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् ।

“हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौं ।”

यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताए । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

निर्माण गरेको विद्युतीय ट्याक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गरेका थिए । इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ । यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।

बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङका किसान उत्साहित

बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।

सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट  १२ लाख किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए ।

“सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर  दुई–चार लाख कमाइन्छ”, तामाङले भने, “किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।”

तामाङले एउटै बगैँचालाई तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए ।

खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए । खड्काले सुन्तला बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् । 

खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ । यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीले बताइन् ।

धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको रु एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए । अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महँगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् ।

पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी संरक्षण गरिँदै

काठमाडौं । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ ।

पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप भइसकेका थिए । ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो ।

उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहनुभएका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतलेलाई जानकारी दिए।

पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो । यी दुवै इनार पुरिएको अवस्थामा फेला परेका हुन् । अरु सात इनारलाई पनि खोजेर संरक्षण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई

बाँके । दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् ।

खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जितेका हुन् । उनी गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि हुन् ।  

पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए  भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा सो दूरी पूरा गरेका थिए । विजेताले क्रमशः दुई लाख,  एक लाख र  ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खड्का र रोकायाले नेपालगञ्ज म्याराथनको कोर्षको कीर्तिमान पनि तोडेका छन् । म्याराथनमा चौथो हुनेमा सन्तोषविक्रम शाही, पाँचौँमा रुद्र बुढाथोकी, छैटौँमा मानकर्ण केसी, सातौँमा निर्मल कुँवर, आठौँमा खेमबहादुर शाही, नवौँमा भरतकुमार श्रेष्ठ र १०औँमा मङ्गले तामाङ छन् । उनीहरुले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार, रु ६ हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी नेपालगञ्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् । सो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भए । उनीहरूले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गरेका छन् । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्ष पूरा गरेकी थिइन् भने दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेण्डमा पूरा गरेकी थिइन् । तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेण्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेण्डमा पूरा गरेकी थिइन् ।

पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी विद्यालयस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथनलगायत विधा समावेश गरिएको थियो । विद्यालय बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो भए । विद्यालय बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो भए ।

यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारू, नारायण साउद र अरुण खटिक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद, पुजन विराट र अञ्जली सेजुवाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो भए । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो भए ।

सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस वर्ष मङ्सिर २२ गते आयोजना गरिएको आयोजक संस्था ‘क्रियटीभ ह्याण्ड्स’का संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

नेपालगञ्ज म्याराथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई ‘दशक रत्न’ सम्मानले सम्मानित गरिएको छ । म्याराथन दश वर्षमा पुगेको अवसरमा उक्त सम्मान दिइएको अध्यक्ष ठकुरीले बताए । 

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १२ रूपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा र भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आइतबारदेखि मौसममा बदली हुने, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ ।  विभागले शनिबार हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ । 

सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । 

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ । 

जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । 

आइतबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

आइटिएफ टेनिसमा हाइनुओ र माहिकालाई उपाधि

कास्की ।  पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे–३० टेनिस प्रतियोगिताअन्तर्गत शनिबरा सम्पन्न सर्किट–१ को खेलमा एकलमा पुरुषतर्फ चीनका हाइनुओ गुओ र महिलातर्फ भारतकी माहिका खन्नाले उपाधि जितेकी छन् । 

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । हाइनुओले आश्रव्यलाई खेलमा ६–३ र  ६–४ मा पराजित गरेका हुन् ।

महिलातर्फ भारतकी माहिका खन्नाविरुद्ध नेपाली खेलाडी सुनिरा थापा ‘टाइब्रेकर’ खेलमा पराजित भइन् । पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६ र ७–४ ले गुमाउन पुगिन् ।
‘पुरुष डबल्स’ फाइनलमा भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतकै आदित्य मोर र प्रकाश सरनलाई ६–२ र ६–१ ले पराजित गरे  । 

‘महिला डबल्स’ फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल (भारत) लाई ६–३, २–६ र १०–५ ले पराजित गरेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।

विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल वितरण गरे । 

प्रतियोगिताअन्तर्गत आजदेखि नै सर्किट–२ अन्तर्गतका ‘क्वालिफाइङ राउन्ड’का खेलहरू सुरु भएका छन् । सर्किट–२ मा विभिन्न देशका पुरुष २७ र महिला आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिस्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।

त्यस्तै, डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमिफाइनालिष्टले छ र क्वाटर फाइनालिस्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरूको वरियता निर्धाण हुनेछ ।

धनगढीका मेयरलाई थप उपचारका लागि लगियो नयाँदिल्ली

सुदूरपश्चिम । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई थप उपचारका लागि शनिबार नयाँदिल्ली लगिएको छ ।

मेयर हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार नयाँदिल्ली लगिएको जानकारी दिए ।

श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी मेयरमा निर्वाचित भएका थिए ।

सोमबारदेखि ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नहुने

काठमाडौं । नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ । निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार विज्ञप्ति जारी गरी सोमबारदेखि देशैभरिका हलहरूबाट फिल्म उतार्ने जानकारी दिएको हो ।

आफ्नो चलचित्रलाई केही हलले नजरअन्दाज गरेकाले यस्तो निर्णय लिनुपरेको निर्माताले जनाएका छन् । विजय बराल अभिनित फिल्मले नेपालमा ४७ करोड भन्दा बढी व्यापार गरिसकेको छ।

आठ महिनामा ६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको अफगानिस्तानको दावी

अफगानिस्तान । अफगानिस्तानको तालिवान सरकारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले विगत आठ महिनामा ६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको मन्त्रालयका प्रवक्ता समिउल्लाह इब्राहिमीले बताएका छन् ।

शनिबार स्थानीय सञ्चारमाध्यम टोलोन्युजसँगको कुराकानीमा श्रम तथा सामाजिक मामिला मन्त्रालयले मार्चपछि महिला र केही विदेशी नागरिकसहित ६५ हजारभन्दा बढी व्यक्तिलाई ‘वर्क परमिट’ जारी गरेको ती अधिकारीले जानकारी दिए ।

अधिकारीले थप विवरणहरू प्रदान नगरी उल्लेख गरेका छन्, ‘अफगानिस्तानको तालिवान प्रशासनले थप रोजगारीको अवसर सिर्जना गर्न सक्दो प्रयास गर्नेछ ।’

थप विवरण उपलब्ध नगराइकन ती अधिकारीले भनेका छन्, ‘अफगान प्रशासनले गरिबीको चपेटामा परेको देशमा गरिबी निवारणका लागि रोजगारीका अवसर सिर्जना गर्न सक्दो प्रयास गर्नेछ ।’

स्थानीय आर्थिक पर्यवेक्षकहरूले ठूला विकास परियोजना सुरू गर्न र अफगान र विदेशी कम्पनीहरूलाई अफगानिस्तानमा लगानी गर्न प्रोत्साहित गर्दा राष्ट्रको गरीबी कम गर्न सकिने बताएका छन् ।

सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मेका घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबार जारी गरेको कारण सूची अनुसार न्यायाधीश अमिनुद्दीन खानको नेतृत्वमा रहेको सात सदस्यीय संवैधानिक इजलासले मुद्दाको अध्यक्षता गर्नेछ ।

याचिका दुई महत्त्वपूर्ण घटनाहरूको छानबिन गर्न न्यायिक आयोगहरूको लागि इमरान खानको मागसँग जोडिएको छ ।

बिहीबार पूर्वप्रधानमन्त्रीले आफ्नो आयोगको स्थापनाबारे पोष्ट गरेका थिए ।

सरकारसँग संलग्न हुन गठित वार्ता टोलीमा ओमर अयुब खान, अली अमीन गण्डापुर, साहिबजादा हमिद रजा, सलमान अक्रम राजा र असद कैसर रहेका छन् ।

शुक्रबार इमरानले यस विषयमा आफ्ना मागहरू दोहोर्याउँदै भने,“हाम्रा दुईवटा मागहरू छन् । घटनाहरूको स्वतन्त्र अनुसन्धान गर्न सर्वोच्च अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीशहरूको नेतृत्वमा आयोग गठन गर्नुपर्छ । अन्यायपूर्वक थुनिएका राजनीतिक बन्दीहरूलाई रिहा गरिनुपर्छ ।”

इमरानले यी मागहरू पूरा नभएमा पीटीआईद्वारा ‘नागरिक अवज्ञा, रेमिट्यान्समा कमी र बहिष्कार आन्दोलन’ सुरु गर्ने चेतावनी दिए।

यस मुद्दाको अतिरिक्त, फेब्रुअरीको आम चुनावमा धाँधली भएको आरोप लगाउँदै पीटीआईका संस्थापकले दायर गरेको छुट्टै याचिकामा डिसेम्बर ११ मा अर्को सुनुवाइ हुनेछ ।

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

बीबीसी । सत्ताधारी दलका सांसदहरूको बहिस्कारपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव विफल भएको छ ।

उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो। तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेका थिए ।

नेशनल एसेम्बलीका सभामुखले उक्त विधेयक अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा गरेका थिए ।

‘मार्शल कानुन’ लगाएकोमा माफी मागेका राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए । तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगेपनि उनीहरूले यूनलाई हटाउने प्रयास जारी रहने बताएका छन् ।

उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन्। त्यसअघि यूनले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गरेका थिए । मंगलबार राति उनले घोषणा गरेको सैनिक शासन ६ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि उनले महाभियोगको सामना गरिरहेका छन् ।

मतदानमा विफल रहेपछि प्रतिक्रिया दिदैँ दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ । तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टीले उसले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि ’सुव्यवस्थित र जिम्मेवार’ उपाय खोज्ने प्रतिक्रिया दिएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ललितपुर ।  ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम भएको छ। मुस्ताङ पुगेका ललितपुरका मेयर चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले हालै आयोजित कार्यक्रममा समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन्।

पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको हो। समझदारी-पत्रमा हस्ताक्षरपछि मेयर महर्जनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए।

उनले भने, ‘प्रकृतिले यो पालिकालाई प्रशस्तै वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिनेछौँ ।’ विनाटेन्डर महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने उनले औँल्याए।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए। निमन्त्रणालाई स्वीकार गरेर मेयरसहितको प्रतिनिधिमण्डल पालिकामा आएकोमा खुसी व्यक्त गरे।

हिमालपारिको जिल्लामा गर्नुपर्ने काम प्रशस्तै भएको बताउँदै वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको बताए। उनले स्वास्थ्य शिक्षा, पूर्वाधार निर्माणमा गाउँपालिकाले गरेको कामको चर्चा गरे।

कार्यक्रममा घरपझोडकी उपाध्यक्ष जमुना थापामगरले घरपझोङ गाउँपालिका हिमालपारिको जिल्लाको पालिका भएकाले धेरै कुरामा पछि परेको र अब ललितपुर महानगरबाट धेरै कुरा सिक्न सक्ने बताइन्। उनले भनिन्, ‘हाम्रोमा गर्नुपर्ने काम धेरै छन्, देशभर नै नाम कहिलिए र अग्रणीे ललितपुर महानगरपालिकासँग सिकेर धेरै गर्नुछ।’

ललितपुर महानगरका प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबिच एकरूपता रहेको बताए। घरपझोङसहित पाँचवटा पालिकासँग महानगरले भगिनी सम्बन्ध कायम गरेको र भगिनी सम्बन्धले पालिकाबिच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राखे।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि धेरै ढोका खुलेको बताइन्। उनले भनिन्, ‘एक अर्काको विकासमा साझेदार हुन, एक अर्काको असल अभ्यासहरूको अनुकरण र अनुसरण गर्न अब धेरै सहज हुन्छ।’

लोकतन्त्रमा देखिने गरी काम भएको छः महासचिव पोखरेल

दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१९ को प्रशासनिक भवनको शनिबार उद्घाटन गर्दै उनले विगत भन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताए ।

महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताए । उनले नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गरे ।

तुलसीपुर उपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राखे ।

तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताए । उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्र गर्ने काम छिट्टै सुरु आत गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डे, वडा नं १९ का अध्यक्ष प्रेमनाथ योगीलगायतले धारणा राखेका थिए ।

महानगरभित्र संचालित ८५ वटा मः म पसलको अनुगमन गर्दा ७५ वटाको सरसफाईमा कमजोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मः म पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ ।

गत कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ ।

यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् ।

सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीलगायतका स्थानका मःम पसलहरुको अनुगमन गर्दा उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर भेटिएको छ ।

भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन् । मसला राख्ने भाँडा फोहर भेटिएका छन् । भान्छाको भुइँमा पानी जमेर फोहर छ । डस्टविनको उचित प्रयोग भएको छैन । पकाएका खानेकुरा खुला राख्ने गरिएको छ ।

मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ । किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।

त्यस्तै, फ्रिज सफाइ नगरिएको, फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको तथा अचार र मसलामा लेवल नराखेको पाइएको छ । यी र यस्ता कमजोरी अधिकांश मःम पसलमा पाइएको छ ।

यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रुपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् ।

सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको छ ।

न्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ, साथ दिनुस् : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताएका छन् । शनिबार काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा प्रधानन्यायाधीश राउतले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिए।

प्रधानन्यायाधीश भने, ‘न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ, हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ कि छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ ।’

उनले आफू भने न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध पनि गरे ।
उनले भने, ‘तपाईंहरूको साथ सहयोग र सहकार्य गर्न पाए न्यायालय गरिमामय नहुने कुरै छैन, एकपटक प्रयास त गरौँ, म नम्रतापूर्व सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूमा नमन गर्न चाहन्छु ।’

उनले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड दिए । उनले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताए ।

प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उनले भने,  ‘कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ ।’

महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताको गरिमा जोगाउन कानुन व्यवसायीहरूलाई अनुरोध गरे । अर्धन्यायिक निकायमा वरिष्ठ अधिवक्ताहरू जान नहुने, कुनै पनि मुद्दाका बहसमा जाँदा एकजना अधिवक्ता सहयोगी भएर जानुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यो अभ्यास नभएको उल्लेख गर्दै उनले यसतर्फ वरिष्ठ अधिवक्ताहरूले ख्याल गर्नुपर्नेमा जोड दिए ।

समारोहमा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले अब न्याय निरूपणमा प्रविधिको विकासले चुनौती खडा गरेकाले त्यसतर्फ ध्यान दिन नसकिए गरिमामाथि आँच आउने बताए । उनले अधिवक्ताहरूले पनि विधागत विशेषज्ञ भएर अघि बढ्न जरूरी रहेको औँल्याए ।

समारोहमा सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता कविता बस्नेतलगायतले धारणा राखेका थिए । आज कार्यक्रममा प्रधानन्यायाधीश राउतले एक सय ५९ जना वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सरकारले राम्रो काम गरिरहेको भन्दै देउवाले गरे प्रधानमन्त्रीको प्रशंसा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । शनिबार कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले सुझबुझरुपमा काम गरिरहेको बताएका हुन् ।

उनले चीनसँग सुझबुझ ढंगबाट बीआरआई सम्झौता गरेको समेत बताए । उनले भने, ‘बीआरआई सम्झौता सुझबुझपूर्ण रुपमा छ । ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो। ओलीजीले त्यही ढंगले सम्झौता गर्नुभयो । ओलीजीले राम्रो काम गर्नुभएको छ ।’

सभापति देउवाले नेपालले विकासका निम्ति एडिबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएको भन्दै अब धेरै ऋण लिने अवस्था नरहेको बताए । उनले कांग्रेस र एमाले मिल्दा स्थायित्व हुने विश्वास व्यक्त गरे ।

बीआरआई सम्झौताकाबारेमा गहिरो अध्ययन नगरी हलुकारूपमा टिप्पणी गरियोः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआइ) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट गरेकी छन् ।

नेपाल सरकार र चीनबीच हालै भएको सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारूपमा टिकाटिप्पणी भइरहेको उनको भनाइ थियो ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, “हामीले बिआरआइअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन ।”

सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी गरिएको उनको भनाइ थियो । बिआरआइ सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सो सम्झौता अघि बढ्ने पनि उनले स्पष्ट गरिन् ।

उनले भनिन्,“ऋण लिने भन्ने कुरा त लिने पक्षको मञ्जुरी र आग्रहमा हुने हो नि । हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबर्जस्ती गर्छ त ? त्यसैले सरकारले ऋण लिनेगरी सम्झौतामा हस्ताक्षर गर्यो भन्नु बचपना मात्र हो ।”

नेपालले चीनसँग बीआरआई सम्झौताअन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्नेगरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा या अन्य कुनै विषयमा नभएर ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ अन्तर्गत सहमति गरेको उनले जानकारी दिइन् ।

नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा छैन भन्ने कुरा आफूले चिनियाँ विदेशमन्त्रीसँग पनि राखेको र उनीहरू यस विषयमा सहमत भएपछि निकै मेहनत गरेर नेपालले बीआरआइअन्तर्गत नै कोअपरेसन फ्रेमवर्क निर्माण गरी दुवै पक्षको सहमतिअनुसार हस्ताक्षर भएको मन्त्री डा राणाले बताइन्।

उनले बीआरआईअन्तर्गत नेपालले चीनसँगको व्यापार, हवाई एवं स्थलगत कनेक्टिभिटी, पूर्वाधार निर्माण तथा आर्थिक सहायताजस्ता विषयलाई प्राथमिकतामा राखेको बताइन् ।

मन्त्री राणा अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिबारे कुरा उठाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक नेपालमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था र धारणा राख्न लागेको हो ।

विश्वका धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा मन्त्री डा राणाले यही मङ्सिर २४ गते सो अदालतमा कुरा उठाउँदैछिन् ।

उनको प्रतिनिधिमण्डलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् ।

दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य लिएको छ । गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालु आवमा करिब ४० हजार भन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।

आज आयोजित अस्पतालको २०औँ वार्षिक साधारण सभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिइयो । गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ ।

त्यस अवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा. अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए ।

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

साधारणसभाले अस्पतालका सचिव युद्ध ध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ । स्थापनाको ५१औँ वर्षमा रहेको अस्पताले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले निजी क्षेत्रबाट चस्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चस्मा पसल सञ्चालन गर्दै आएको छ ।