स्वास्थ्यस्वयंसेवीकाको माग सम्बोधनका लागि पहल गर्छुः मन्त्री न्यौपाने


दाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले स्वास्थ्यस्वयंसेवीको सेवा सुविधाका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाल टेलिकमको साझेदारी तथा नेपाल वान एचडी र ग्लोबल एटु जेड कन्सल्टेन्टको आयोजनामा शनिबार दाङको घोराहीमा आयोजित कार्यक्रममा मन्त्री न्यौपानेले स्वास्थ्यस्वयंसेवीकाले अस्पतालसम्म पुग्न नसक्ने महिलाको स्वास्थ्यका लागि धर्मको कर्म गरिरहेको भन्दै यस विषयलाई सरकारसम्म आवाज पुुर्याउनुपर्ने बताए ।
उनले स्थानीय सरकारहरुले विकास भनेको पूर्वाधार निर्माणको काम मात्र बुझेकाले यसमा ध्यान दिन नसकेको बताए । स्वास्थ्यस्वयंसेवीकाको भूमिकालाई सरकारले नबुझेकाले अब प्रदेश सरकारमा यो कुरा उठाउने बताए । उनले स्वास्थ्यस्वयंसेवीकाको हौसला बढाउन आफूले पहल गर्ने बताए ।
उनले भने,‘अब पनि तपाईंहरुका माग सम्बोधन गर्न सकिएन भने कसले गर्छ ? प्रमुख दुई ठूला दलको सरकार छ । प्रदेशले कानुन बनाउने काम गर्छ । केन्द्रमा स्वास्थ्यमन्त्रीसँग पनि यो कुरा सुनाउँछु । सबै मिलेर सरकारलाई झक्झक्याउने काम गरौं ।’
उनले स्वास्थ्यस्वयंसेवीकालाई रुवाएर सरकार नबस्ने भन्दै माग सम्बोधनका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।उनले स्वास्थ्यस्वयंसेवीकाले पाइरहेको सुविधा कटौती नगरी बरु थप गर्नका लागि पहल गर्ने बताए ।