`

उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा पुर्याउनुपर्छः प्रचण्ड

Nepal One HD २ पुष २०८१ १२:१०
प्रमुख खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखिएको निष्कर्ष निकालेको छ ।

पार्टीका मातहतका कमिटीमा सर्कुलर पठाउँदै माओवादीले उपनिर्वाचनको नतिजा पार्टीका लागि उत्साहजनक रहेको बताएको हो ।

सर्कुलरमा भनिएको छ, ‘कयौँ स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासोन्मुख अवस्थामा देखिएको छ ।’

उपनिर्वाचनमा पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहका नेताहरू समेतको क्रियाशीलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिएको सर्कुलरमा उल्लेख गरिएको छ ।

मंसिर २८ गते बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले उपनिर्वाचनको परिणामले माओवादीको पक्षमा जनमत बढेको पुष्टि भएको बिफ्रिङ गरेका थिए ।

४४ स्थानका लागि भएको उपनिर्वाचनमा माओवादीले ११ स्थान जितेको थियो। उपनिर्वाचन भएका ४४ स्थानमध्ये ८ स्थान पहिले माओवादीले जितेका ठाउँ थिए।


प्रतिक्रिया