`

आईपीयूको एसिया-प्रशान्त सम्मेलन नेपालमा गर्न सभामुख अर्यालको पहल

Nepal One HD १८ कार्तिक २०८३ १५:२८
राजनीति

काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने तयारी अघि बढेको छ । सम्मेलन काठमाडौंमा गर्ने प्रस्तावबारे सभामुख डोलप्रसाद अर्यालको पहलमा उच्चस्तरीय छलफल भएको हो ।

मंगलबार भएको छलफलमा सङ्घीय संसद् र आईपीयूको संयुक्त आयोजनामा सम्मेलन गर्ने प्रस्तावमाथि विस्तृत विचारविमर्श गरिएको थियो । प्रस्तावित सम्मेलनमा दिगो विकास लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका चुनौती र मिथेन ग्यास उत्सर्जन न्यूनीकरणजस्ता विषयलाई प्रमुख एजेन्डा बनाउने तयारी छ ।

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी, परराष्ट्रमन्त्री शिशिर खनाल तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलगायत विभिन्न निकायका प्रतिनिधि सहभागी थिए ।

प्रस्तावित सम्मेलनलाई एसिया–प्रशान्त क्षेत्रका संसद्हरूबीच सम्बन्ध विस्तार र संसदीय सहकार्य बलियो बनाउने अवसरका रूपमा हेरिएको छ । जलवायु परिवर्तन, दिगो विकास र वातावरणीय चुनौतीका विषयमा साझा धारणा तथा रणनीति निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको छ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको संसदीय सम्मेलन आयोजना हुँदा देशको कूटनीतिक उपस्थिति विस्तार हुनुका साथै पर्यटन, होटल र हवाई सेवाजस्ता क्षेत्रमा आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ । सम्मेलनलाई प्रभावकारी र व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन तथा आवश्यक पूर्वतयारीबारे पनि छलफल भएको छ ।

बैठकमा गत असोज १९ देखि २३ गतेसम्म तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालको सहभागिताबारे समेत जानकारी गराइएको थियो । सभामुख अर्यालको नेतृत्वमा सहभागी नेपाली प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ‘हिमाली तथा जलवायु संवेदनशील क्षेत्रमा विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ सम्बन्धी प्रस्ताव महासभाबाट दुईतिहाइ बहुमतले पारित भएको थियो ।

महासभापछि नेपाली प्रतिनिधिमण्डलले केन्या पुगेर त्यहाँको संसदीय बजेट कार्यालय तथा संसदीय निगरानीसम्बन्धी अभ्यासको अध्ययन र अवलोकनसमेत गरेको थियो ।

नेपालमा सम्मेलन आयोजना गर्ने प्रस्तावले मूर्त रूप लिएमा अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालको भूमिका थप विस्तार हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *