`

आईजीपीको कुर्सी ताक्दै एआईजी केसी, कार्की-केसी भिडन्तले मुख्यालयमा खैलाबैला

शुभेच्छा खड्का १८ कार्तिक २०८३ १५:५०
प्रशासन

काठमाडौं। नेपाल प्रहरीको नेतृत्व सम्हालेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बाहिरको भन्दा आफ्नै संगठनभित्रको चुनौती भारी पर्न थालेको छ।

आफ्नै ब्याची अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीसँग सम्बन्ध बिग्रिएपछि प्रहरीको उच्च नेतृत्वमा शक्ति संघर्ष छताछुल्ल भएको छ। कार्कीलाई अप्ठेरोमा साथ नदिएको मात्र होइन, उनकै कुर्सी ताकेर केसीले चलखेल गरिरहेको आरोपसमेत संगठनभित्र उठ्न थालेको छ।

गत बिहीबार बसेको प्रहरी नीति समन्वय समिति (पीसीसी) बैठकमा यो असन्तुष्टि लुक्न सकेन। नेतृत्वलाई संगठनभित्रैबाट बदनाम गराउने प्रयास भइरहेको भन्दै आईजीपी कार्कीले बैठकमै आक्रोश पोखे। त्यसपछि अपराध अनुसन्धान विभागका प्रमुख एआईजी केसीले प्रतिवाद गरे। आफूलाई अनावश्यक रूपमा शंकाको घेरामा राखिएको भन्दै केसीले असन्तुष्टि जनाएपछि बैठकको माहोल नै तातिएको सहभागी एक डीआईजीको भनाइ छ।

बैठकमा केही अधिकारीले व्यक्तिले गरेको गल्तीको भारी संगठनले बोक्न नहुने तर्क गरे। व्यक्तिगत कमजोरीलाई ढाल बनाएर प्रहरी नेतृत्वलाई नै बदनाम गर्ने काम स्वीकार्य नहुने उनीहरूको भनाइ थियो। अधिकांश उच्च अधिकारी भने कार्कीको पक्षमा उभिएको बताइन्छ।

प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग आईजीपी कार्कीले पनि म्यासेजमा कुराकानी गरेको विवरण फेला परेको छ। तर ती संवादमा कुनै मुद्दा मिलाउने वा अनुचित कामको कुरा नभई सामान्य विषय मात्रै रहेको स्रोतको दाबी छ। यही म्यासेजलाई देखाएर आफूलाई विवादमा तान्न खोजिएको भन्दै कार्कीले बैठकमै असन्तुष्टि जनाएका थिए।

उता, एआईजी केसीमाथि आईजीपी कार्की र अर्का एआईजी राजन अधिकारीलाई विवादमा तान्ने उद्देश्यले बिचौलियासँग अडिओ संवाद गरेको आरोप लागेको छ। उक्त अडिओ सार्वजनिक भए पनि त्यसको आधिकारिकता पुष्टि हुन बाँकी छ। केसीले भने आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गरेका छन्।

कार्कीलाई नेतृत्वबाट हटाएर आफू आईजीपी बन्ने दाउमा केसी लागेको आरोप पनि प्रहरीभित्र चर्चामा छ। तर यो आरोप पुष्टि भएको छैन। एउटै ब्याचका अधिकारीबीच नै विश्वासको संकट देखिएपछि प्रहरीको माथिल्लो तहमा कसको गुट बलियो भन्ने प्रतिस्पर्धा चर्किएको छ।

कार्की, केसी, राजन अधिकारी र ईश्वर कार्की एउटै ब्याचका हुन्। पहिलो वरीयतामा रहेका राजन अधिकारी पनि इनम सापकोटासँगको संवादका कारण विवादमा तानिएका छन्। अर्थात्, प्रहरीको नेतृत्व तहमा कुर्सीको प्रतिस्पर्धा मात्रै होइन, बिचौलियासँगको सम्बन्धलाई लिएर पनि एकअर्कालाई घेराबन्दी गर्ने खेल चलिरहेको आरोप छ।

प्रहरीभित्रको यो रस्साकस्सी चलिरहेकै बेला पाँच जना एआईजी भने आगामी पुस ५ गते घर जाने भएका छन्। २०५३ पुस ५ गते प्रहरी सेवामा प्रवेश गरेको टोलीका अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्।

अवकाशमा जानेमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्। शाह प्रदेश समन्वय विभागमा, राठौर उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा, चतुर्वेदी सीआईबीमा, श्रेष्ठ कार्यविभागमा र विक प्रशासन विभागमा कार्यरत छन्।

नेपाल प्रहरीमा प्राविधिकतर्फको एक दरबन्दीबाहेक एआईजीका आठ दरबन्दी छन्। पाँच जनाले अवकाश पाएपछि पुस ५ गतेबाट तीन जना मात्रै एआईजी बाँकी रहनेछन्।

पाँच एआईजीको बहिर्गमनले प्रहरीको माथिल्लो तहमा ठूलो रिक्तता सिर्जना गर्नेछ। यही मौकामा कसले बाजी मार्ने, कसको बढुवा हुने र कसको प्रभाव कायम रहने भन्ने प्रतिस्पर्धा सुरु हुने निश्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *