`

महिला पत्रकारलाई पछाडि पार्ने काम भएको छ, त्यसलाई तोड्नुपर्छः अध्यक्ष सिंह

Nepal One HD ३ पुष २०८१ १५:२४
राजनीति

दाङ। नेपाल वान एचडीकी अध्यक्ष मोनिका सिंहले पत्रकारिता क्षेत्रमा महिला पत्रकारले राम्रो काम गरेपनि महिला पत्रकारलाई पछाडि पार्ने काम गरिएको बताएकी छन् ।

बुधबार दाङको घोराहीमा ग्लोबल एटु जेड कन्सल्टेन्ट प्रालिको आयोजना तथा नेपाल वान एचडी, र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वय र वल्र्ड लिंको मुख्य प्रायोजनमा भएको लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि महिला अभिमुखीकरण कार्यक्रममा अध्यक्ष सिंहले अनुसन्धान, खोजमा महिलाहरुलाई लगाएपनि नाम बाहिर ल्याउने बेला उनीहरुलाई छायाँमा पार्ने काम भइरहेको बताएकी हुन् ।

पछिल्लो समय पत्रकारिता क्षेत्रमा पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको सकृयता कम देखिएको भन्दै महिला पत्रकारहरुलाई लक्षित गर्दै यो अभिमुखीकरण कार्यक्रम गरिएको बताइन् ।

अभिमुखीकरण कार्यक्रमले महिला पत्रकारहरुको सुरक्षा, पारिश्रमिक तथा तालिमका कुराहरुमा पनि विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष सिंहले महिला पत्रकारहरूको हक हित र सुरक्षाको लागि आफू अग्रसर रहेको भन्दै पत्रकारिता क्षेत्रमा लागिरहेका महिला पत्रकारहरुलाई श्रोतको पनि व्यवस्था मिलाउने बताइन् । उनले भनिन्, ‘महिला पत्रकारका लागि कुनै सहुलियत छैन । राज्यले ऋणसमेत दिँदैन । केन्द्रमा त यस्तो अवस्था छ भने मोफसलमा त झनै समस्या छ । त्यसैले महिलाहरु अब नेतृत्वमा आएर यस किसिममा विभेद हटाउनका लागि पहल गर्नुपर्छ ।’

देशकै चौथो अङ्गका रुपमा पत्रकारहरूलाई मानिने भएपनि राज्यबाट दिइने पारिश्रमिक, सुरक्षा तथा तालिमहरुमा पत्रकारको पहुँच नपुगेको भन्दै दाङ जिल्लाबाट सुरु भएको यस कार्यक्रममा ५० जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया