`

अपाङ्ग महासंघ अध्यक्ष आचार्यको राजीनामा माग्दै आन्दोलन, देशभर तालाबन्दी

Nepal One HD ७ चैत २०८२ २२:०४
बिशेष

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको राजीनामा माग भएको छ ।

वरिष्ठ उपाध्यक्ष राम कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सगुम भट्टराईले आचार्यविरुद्ध मोर्चाबन्दी कस्दै शनिबार राजीनामा मागेका हुन् ।

आन्दोलनरत पदाधिकारीहरूले अध्यक्ष आचार्यले १५ लाख बढी आर्थिक अनियमितता गरेको, कुशासन र स्वेच्छाचारी शैलीमा चलाएको आरोप लगाउँदै नैतिक आधारमा पद छाड्नुपर्ने बताएका छन्।

उनीहरूका अनुसार विगत साढे तीन वर्षदेखि महाधिवेशन नगर्नु, साधारण सभा नबोलाउनु र विधानविपरीत निर्णयहरू गर्दै जानु आचार्य नेतृत्वको मुख्य समस्या हो।

उनीहरूले केन्द्रीय कार्यालयसहित देशभरका सातै प्रदेश कार्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका छन् ।

विज्ञप्तिमा उनीहरूले स्पष्ट रूपमा भनेका छन्, ‘वर्तमान नेतृत्वको अधिनायकवादी प्रवृत्तिले संस्था संकटमा परेको छ, त्यसैले अध्यक्षले तत्काल राजीनामा दिनुपर्छ।’

आन्दोलनकारीका अनुसार आचार्यकै नेतृत्वमा निष्पक्ष महाधिवेशन सम्भव नभएकाले नयाँ नेतृत्व चयनका लागि स्वतन्त्र वातावरण आवश्यक छ

अध्यक्ष आचार्यले संस्थाको स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गरेको, कागजात लुकाएको र माइन्युट किर्ते गरेको आरोप पनि लगाइएको छ।

आन्दोलनकारीहरूले निर्वाचन प्रक्रियामा समेत धाँधली गरिएको आरोप लगाएका छन्।

विधानअनुसार सदस्य संस्थाहरूलाई नवीकरणबाट वञ्चित गरिएको, निर्वाचन समिति समयमै गठन नगरी चुनाव घोषणा गरिएको र बहुमत नपुगेको बैठकबाट निर्णय गरिएको जस्ता गतिविधि आचार्य नेतृत्वको नियतप्रति प्रश्न उठाउने आधार भएको उनीहरूको भनाइ छ।

यसैबीच, अध्यक्ष पक्षले सहमति उल्लंघन गरेको आरोपले विवाद थप चर्किएको छ।

चैत्र ५ गते प्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भएको सहमतिअनुसार दुवै पक्षले कार्यालयमा प्रवेश नगर्ने र प्रशासनमा वार्ता गर्ने सहमति भए पनि अध्यक्ष पक्षले काठमाडौं बाहिरबाट मानिस ल्याएर कार्यालयको ताला फोड्ने प्रयास गरेको आरोप लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले पनि निष्पक्ष भूमिका नखेलेको भन्दै आन्दोलनकारी असन्तुष्ट छन्। उनीहरूका अनुसार प्रशासनले एकपक्षीय रूपमा प्रहरी प्रयोग गरेर ताला खोल्न मौखिक निर्देशन दिएको छ, जसले आन्दोलनलाई झन् उग्र बनाएको छ।

आन्दोलनकारीहरूले स्पष्ट माग अघि सारेका छन् -अध्यक्ष आचार्यको तत्काल राजीनामा, जिल्ला प्रशासन कार्यालय काठमाडौंको पहलमा सबै पक्ष समेटिने स्वतन्त्र तदर्थ समिति गठन, र सोही समितिमार्फत निष्पक्ष महाधिवेशन सम्पन्न गरिनु।

साथै आर्थिक अनियमितताको निष्पक्ष छानबिन पनि उनीहरूको प्राथमिक मागमा परेको छ।

उनीहरूले वार्ताबाट समाधान खोज्न तयार रहेको जनाउँदै बल प्रयोग गरिए देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएका छन्।

महासंघ देशभरका ५०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरूको छाता संगठन भएकाले नेतृत्व संकटले समग्र अपाङ्गता अधिकार आन्दोलनमै गम्भीर असर पार्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *