संसदमा रास्वपाको बहुमत, बैठक चलाउने जिम्मा काँग्रेसका केसीलाई
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीले नवगठित प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गर्ने भएका छन्। समानुपातिक सूचीबाट निर्वाचित ७८ वर्षीय केसी प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य भएकाले यो अवसर पाउन लागेका हुन्।
संविधानको धारा ९० को उपधारा ५ मा सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ। यही संवैधानिक प्रावधानअनुसार केसीले पहिलो बैठकको बागडोर सम्हाल्नेछन्।
पहिलो बैठक बस्नुअघि सांसदहरूले शपथ लिनेछन्। ज्येष्ठ सदस्यकै हैसियतमा केसीले अन्य सांसदहरूलाई शपथ खुवाउनेछन् भने केसी स्वयंले राष्ट्रपतिबाट शपथ ग्रहण गर्नेछन्। पहिलो बैठकमा ज्येष्ठ सदस्यले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्न अध्यक्ष मण्डलका सदस्यहरूको नाम पनि प्रस्ताव गर्नेछन्। राष्ट्रपतिले निर्वाचन आयोगबाट निर्वाचन परिणामको प्रतिवेदन बुझेको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक बाध्यता छ।
यदी केसीले संसद बैठकको अध्यक्षता गर्न नचाहेमा वा उपस्थित हुन नसकेमा यो अवसर सिताराम तामाङले पाउनेछन् । नेकपाका सांसद तामाङ ७३ वर्षका छन् ।
गत फागुन २१मा भएको निर्वाचनबाट रास्वापका झन्डै दुई तिहाइ सांसद निर्वाचित भएका छन् । २७५ जनाको प्रतिनिधि सभामा रास्वपाका मात्रै १८२ सांसद छन् । नेपाली काँग्रेस ३८ सिट सहित दोस्रो पार्टी बनेको छ ।
२०६४ को निर्वाचनपछि गठित पहिलो संविधान सभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले अध्यक्षता गरेका थिए। त्यही बैठकमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक प्रस्ताव पारित भएको थियो। २०७० को निर्वाचनपछि गठित दोस्रो संविधान सभाको पहिलो बैठकमा भने पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता सूर्यबहादुर थापाले ज्येष्ठ सदस्यको आसन सम्हाल्दै ५६५ सांसदलाई शपथ खुवाएका थिए।
संविधान जारी भएपछि भएको पहिलो संघीय निर्वाचन अर्थात् २०७४ को निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठकमा राजपा नेपालका नेता महन्थ ठाकुरले ज्येष्ठ सदस्यकै हैसियतमा अध्यक्षता गरेका थिए। त्यस बैठकमा ठाकुरले सदन सञ्चालनका लागि अन्तरिम कार्यविधि, २०७४ पारित गर्ने प्रस्ताव राखेका थिए। २०७९ को निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठकमा राप्रपाका पशुपतिशमशेर जंगबहादुर राणाले यो दायित्व निभाएका थिए। नागरिकताका आधारमा सन् १९४१ डिसेम्बर ९ मा जन्मिएका राणा सबैभन्दा ज्येष्ठ ठहरिएका थिए।
यसरी हेर्दा २०६४ मा कुलबहादुर गुरुङ, २०७० मा सूर्यबहादुर थापा, २०७४ मा महन्थ ठाकुर, २०७९ मा पशुपतिशमशेर जबरा र अब २०८२ मा अर्जुन नरसिंह केसी- प्रत्येक नयाँ सभाको पहिलो बैठकमा ज्येष्ठ सदस्यले नै अध्यक्षता गर्दै आएको परम्परा कायमै छ।
