अमेरिकामा दमकलसँग विमान ठाेक्कियाे, ककपिटमा रहेका दुई पाइलटको मृत्यु
दमकलसँग एयर क्यानडाको विमान ठोक्किँदा दुई पाइलटकाे मृत्यु भएकाे छ । उनीहरु ककपिटमा थिए । अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा उक्त विमान दमकलसँग ठाेक्किएकाे थियाे ।
न्युयोर्क र न्युजर्सीको पोर्ट अथोरिटीकी कार्यकारी निर्देशक क्याथरिन गार्सियाका अनुसार दुर्घटनामा दुवै पाइलटको ज्यान गएको पुष्टि भएकाे छ ।
क्यानडाको मोन्ट्रियलबाट न्यूयोर्क पुगेको एयर क्यानडा एक्सप्रेसको जहाजले धावनमार्गमा गुडिरहेको पोर्ट अथोरिटीको एयरक्राफ्ट रेस्क्यु एन्ड फायरफाइटिङ सवारी साधनलाई ठक्कर दिएको थियो। उक्त दमकल अर्कै एउटा घटनाको उद्धारका लागि जाँदै थियो।
दुर्घटना यति भयावह थियो कि जहाजको अगाडिको भाग चुँडिएर उछिट्टियाे ।
दुर्घटनापछि अमेरिकाको संघीय उड्डयन निकाय एफएएले ला गार्डिया विमानस्थलमा सोमबार (आज) दिउँसो २ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिदिएको छ।
यो विमानस्थल दैनिक करिब ९०० उडान र अवतरण हुने व्यस्त क्षेत्रीय ुहबु मानिन्छ, जसमा एयर क्यानडाका मात्रै दैनिक २३ उडान हुने गर्छन्।
