`

काठमाडौंको सतुंगलमा युवती हत्या गरी फरार भएको आरोपमा एक युवक पक्राउ

Nepal One HD ४ पुष २०८१ १३:२२
अपराध

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटमा डेरा गरी बस्ने १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत मंसिर २९ गते रातिदेखि सम्पर्कविहीन धादिङको गजुरीकी सरिता खोजतलासका क्रममा पुस ३ गते सतुंगल खरिबोटस्थित आफ्नै डेराकोठाभित्र मृत फेला परेकी थिइन् ।

सरिताका दाइ नवीन रुम्बा तामाङले पुस १ गते दिउँसो सरिताको हुलियासहित प्रहरी वृत्त थानकोटमा निवेदन दिएपछि प्रहीले खोजी थालेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी घटनामा संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १४ खड्कागाउँस्थित डेरा कोठाबाट पुस ३ गते २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनको घर भने धादिङको गजुरी गाउँपालिकाकै वडा नं. ३ मा रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार विश्वासको साथमा सरिताले बोक्ने गरेको रियलमी मोबाइल बरामद भएको छ । के कति कारण हत्या गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया