`

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।

कांग्रेस–एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । कँडेलका पक्षमा कांग्रेस, एमाले र स्वतन्त्रसहित २३ जना सांसदले मत दिए ।

४० सदस्यीय प्रदेशसभामा मतदानमा ३७ जना सांसद सहभागी थिए । मुख्यमन्त्री कँडेलको विपक्षमा १४ मत परेको छ । कर्णाली प्रदेशसभामा कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक–एक सांसद छन् ।

सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी

काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले सोमबार बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए  ।

सशस्त्रमा नयाँ प्रवेश गरेका असईहरूका लागि साहसिक खेलअन्तर्गत बञ्जी गराइएको हो ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबका रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभिन्न तालिमअन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।

काभा महिला भलिबलमा  नेपालले मल्दिभ्सलाई हरायो

काठमाडौ । काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्यो । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।

नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे । नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए  ।

अर्को सेमिफाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलङ्काले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको हो । भोलि दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ भने साँझा ५ः१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँबाट गाईघाट जादैँ गरेको गुगल डिलक्स बस दुर्घटना

काठमाडौँ – मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार गाईघाट सडक खण्ड अन्तर्गत चिसापानी भन्ने ठाउँमा काठमाडौँबाट गाईघाट जादैँ गरेको गुगल डिलक्स बस दुर्घटना भयको छ यात्रु सामान्य घाइते थप बिबरण आउन बाँकी….

प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनका लागि अविश्राम र अथक सङ्घर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्रका लागि सङ्घर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले त्याग र सङ्घर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याँइ हुने छैन भन्ने मैले विश्वास लिएको छु’, उनले भने । राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

‘नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा तपाईहरूको सङ्घर्ष, त्याग र योगदान महत्वपूर्ण छ, अहिले तपाईंहरूका लागि राज्यले जे जति काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु’, उनले भने ।

सहिद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र सङ्घर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

‘राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पूरा हुन सके मात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्य–मान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र सङ्घर्षले सार्थकता पाउनेछ । यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्छ’, राष्ट्रपति पौडेलले भने ।

त्यस अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।

बाढी–पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औँ बैठकमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् ।

महोत्तरी, बाँके, कास्की, सङ्खुवासभा, कञ्चनपुर, भोजपुर चितवनलगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न उनले जोड दिए ।

गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने सहायता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने बताए ।

“विपद्मा सहायता लिने कुरामा विदेशी संस्थाको ‘वान डोर इन्ट्री’ होस् । उहाँहरुबाट चाँडोभन्दा चाँडो सहयोग लिन सकियोस् । कुनै पनि विदेशी संस्थाले हामी कहाँ काम गर्छ भने त्यो सङ्घको जानकारीमा हुनुपर्यो”, उनले भने,“कार्यविधि बनाउँदा यतातिर गम्भीरतापूर्वक हेर्नु होला । साथै यसमा राष्ट्रिय सुरक्षाको विषय पनि संवेदनशील ढङ्गले जोडिने गर्छ । त्यसलाई ध्यान दिनुहोला ।”

उनले आगामी दिनमा कार्यसमिति बैठकमा दैनिक प्रशासनिक विषयभन्दा नीतिगत विषयलाई एजेण्डा बनाउन निर्देशन दिए ।

“दैनिक प्रशासकीय कुरा प्राधिकरणले गरोस् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा नीतिगत कुरामा छलफल गरी निर्णयमा पुग्दा उचित हुन्छ । सहमति दिने, अनुमोदन गर्ने जस्ता विषयको अधिकार प्राधिकरणको कार्यकारीणीलाई प्रत्योजन गर्न सकिन्छ । यतिले पुग्दैन भने मन्त्रिपरिषद्बाट नियम संशोधन गर्न सकिन्छ”, उनले भने ।

बैठकमा उठेका विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न गृहमन्त्री लेखकको निर्देशन थियो । प्राधिकरणले बैठकमा यसवर्ष मनसुनले पारेको प्रभावबारे जानकारी गराइएको थियो ।

हेमबहादुर मल्ल सम्मान भेषबहादुर थापालाई प्रदान गरिने

काठमाडौं ।  नेपाल जनप्रशासन संघले २०७९ को ‘हेमबहादुर मल्ल सम्मान’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ।

 संघ र साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा संयुक्तरूपमा सोमबार आयोजित पत्रकार सम्मेलनमा थापालाई सम्मानपत्रसहित दुई लाख रूपैयाँ राशिको सम्मान प्रदान गरिने जानकारी दिइएको हो। उक्त सम्मान यही साउन २३ गते विशेष समारोहका बीच प्रदान गरिनेछ।

संघले साल्ट ट्रेडिङको सौजन्यमा सो संस्थाका अध्यक्ष एवं कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कदरस्वरूप डा थापालाई सो सम्मान प्रदान गर्न लागिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए।

सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुंगाना सदस्य थिए।

यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन्।

मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, निर्देशक इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरवलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा संघको स्थापना भएको थियो ।

नयाँ सरकार गठनपछि अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका छन्ः सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सुधार गरेर जाने भनेर प्रमुख दुई दलबीच भएको सहमतिलाई पूर्णता दिन सकिए थप आशाको सञ्चार हुने बताए ।

संविधान संशोधन कुनै पनि अर्थमा प्रतिगमन हुन नसक्ने तर्क गर्दै सांसद गैरेले यथास्थितिमा रहनुपर्छ, कुनै सुधार गर्नुहुन्न भन्ने मतलाई भने गलत मान्नुपर्ने उल्लेख गरे ।

उनले देशव्यापी रुपमा मनसुनका कारण सडक सञ्जालमा क्षति पुगेकाले त्यसको मर्मत सम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सार्वजनिक सवारी साधनको सहज प्रबन्ध गर्न सकिए नजिकिँदो चाडपर्वमा नागरिकले सहजरुपमा यात्रा गर्न सक्ने वातावरण बन्ने उनको भनाइ थियो । 

दुग्ध किसानले मूल्य नपाएको, रासायनिक मल नपाएको अवस्था अन्त्य गरेर कृषि क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्नेमा सांसद गैरेले जोड दिए । खाद्यान्न आयात गुर्नपर्ने अवस्था अन्त्य गर्न सबैको सार्थक पहल हुनुपर्ने र कृषि क्षेत्रको औद्योगिकरण गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद गैरेले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै असुरक्षित रहेका देशमा पुनः कामदार पठाउन लागिएको  भनेर सार्वजनिक भएका विषयको सत्य तथ्य के हो भन्दै प्रश्न गरे । 

मुलुकभित्र समस्याका रुपमा रहेको आर्थिक अनियमितता, भ्रष्टाचारको नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए । प्रमुख प्रतिपक्षी दलले कोही कसैमाथि छानबनि नै गर्न पाइँदैन भनेर गरेको तर्क यर्थाथसँग मिल्दो नभएको सांसद गैरेको धारणा थियो ।

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन छोडेर सरकार अनावश्यक तर्क गर्न लाग्योः सांसद बस्नेत

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गरेका छन् ।


प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा पछिल्ला दिनमा भइरहेको बहस तर्कसङ्गत नभएको बताए ।


महशुल उठाउन पाइँदैन भनेर नेपाल विद्युत् प्राधिकरणलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो ? भन्ने प्रश्न गर्दै सांसद बस्नेतले पटक पटक अदालतले आदेश दिएको र विभिन्न निकायले निर्णय गरेका आधारमा थप छुट महशुल उठाउन खोजिएको बताए ।


उनले लोडसेडिङको समयमा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगले थप महशुल तिर्नुपर्छ भन्ने सामान्य विषयलाई नजरअन्दाज नगर्न र छुट नदिन आग्रह गरे । सांसद बस्नेतले सरकारमा बसेर प्रश्न मात्रै गर्ने तर कुनै निष्कर्ष नदिने छुट कसैलाई नभएको स्पष्ट पारे ।   


प्राधिकरणको सञ्चालक समितिको बैठकमा फरक मत राखेका आधारमा सञ्चालक समितिका सदस्यहरुलाई कारवाही गरिएकामा सांसद बस्नेतले आपत्ति जनाए ।


‘सरकारले कुन आदेश गर्यो र कुन आदेश सञ्चालक समिति सदस्यले उल्लङ्घन गरे ? फरक मत राखेको आधारमा कारवाही गर्दैजाने हो भने लोकतन्त्रको योभन्दा मजाक अरु हुनै सक्दैन’, उनले भने । संविधान संशोधनको विषय गलत मनसायका साथ आएको सांसद बस्नेतको आरोप थियो ।

काभा महिला नेसन्स लिगमा नेपालको जित

काठमाडौँ – काठमाडौंमा जारी काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्समाथि २५–८, २५–१९ र २५–१८ को जित हासिल गर्यो ।

नेपाल यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको छ भने माल्दिभ्स प्रतियोगीताबाट बाहिरिसकेको छ । अब नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग मंगलबार खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिवल संघले जनाएको छ ।

नेपाली कांग्रेसका ३७ विभाग गठन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिएका छन् ।

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले खाए शपथ

सुदूरपश्चिम । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले शपथ लिएका छन् ।

सोमबार दिउँसो नवनियुक्त मुख्यमन्त्री शाह र मन्त्रीहरुलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका हुन् । तीन जना राज्यमन्त्रीलाई पनि मुख्यमन्त्री शाहले शपथ खुवाएका छन् ।

नेपाली काग्रेंसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले शपथ खाएका छन् ।

त्यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा सुरेन्द्रबहादुर पाल, भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा शार्की नियुक्त भएर शपथ खाएका हुन् । भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदले शपथ खाएकी छन् ।

त्यस्तै नागरिक उन्मुक्तिबाट लक्ष्मण किशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रुपमा शपथ खाएका छन् । एमालेका पाल, थापा र सार्की यसअघि थोरै समयका लागि मन्त्री बनेका थिए ।

चीनमा बाढीका कारण आठ जनाको मृत्यु, १९ बेपत्ता

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् ।

बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको उचाइमा अवस्थित उपत्यकामा रहेको एउटा पुलका साथै घरहरू क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार प्रभावित क्षेत्र नजिकैका पहाड र समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा समेत बाढी र पहिरोबाट छ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएका छन् ।

यसैगरी बाढीले पुल भत्काउँदा यातायात आवागमनसमेत प्रभावित भएको छ ।

चिनियाँ समाचार संस्था, सिन्ह्वाले उद्धारमा संलग्न एक कार्यालयलाई उद्धृत गरी एक व्यक्तिलाई उद्धार गरी अस्पताल लगिएको र अन्य दुई जनाको मृत्यु भएको जनाएको छ ।

स्थानीय अधिकारीले प्रकोपको बारेमा जानकारी दिँदै उद्धार अभियानमा अहिलेसम्म एक हजार ५५४ जना उद्धारकर्तालाई प्रभावित क्षेत्रमा पठाइएको र उद्धार कार्य जारी राखेको जनाएका छन् ।

इजरायली आक्रमणमा दुई लेबनानीको मृत्यु

लेबनानको दक्षिणमा इजरायली आक्रमणमा सोमबार दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस क्षेत्रमा गाजा युद्ध सुरु भएदेखि हेजबुल्लाह समूहले इजरायलसँग दैनिक आक्रमण गरिरहेको छ ।

गत हप्तादेखि, तेहरानमा हमासका नेता र बेरुतमा हेजबुल्लाहका सैन्य प्रमुखको हत्याको बदला लिने वाचा गरेका हेजबुल्लाहसहित इरान र तेहरान समर्थित समूहका क्रियाकलापले मध्यपूर्वमा तनाव बढिरहेको छ ।

आक्रमणमा दुई जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आक्रमणमा मारिएकामध्ये एकजना ‘रिसाला स्काउट्स प्यारामेडिक’ रहेको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सीमाबाट दुई किलोमिटरभन्दा कम दुरीमा रहेको गाउँ मैस अल–जबलले सीमापार झडप सुरु भएदेखि भारी आक्रमणको सामना गरेको छ भने अधिकांश बासिन्दा प्रभावित क्षेत्र छोड्न बाध्य छन् ।

सोमबार हेजबुल्लाह समूहले लेबनानमा इजरायली ‘आक्रमण र हत्या’को प्रतिक्रियामा इजरायलका सैन्य स्थलमा विस्फोटक पदार्थसहितको ड्रोन आक्रमण गरेको जनाएको छ ।

एएफपीका अनुसार अक्टोबरदेखि सुरु भएको सीमापार आक्रमणमा लेबनानमा कम्तीमा ५४९ जनाको मृत्यु भएको छ र उनीहरूमध्ये अधिकांश लडाकु र सर्वसाधारण छन् ।

इजरायली सेनाका तथ्याङ्कअनुसार इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्ससहितका क्षेत्रमा २२ जना सैनिक र २५ जना सर्वसाधारण मारिएका छन् ।

बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा

बीबीसी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि सेनाले अन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ । सेना प्रमुख जनरल उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । हसिना भागेर भारत पुगेको बताइएको छ ।

 प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयमा लुटपाट गरेका छन् ।

सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक रहेको देखिन्दैन : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए ।

महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रीक नीति र कांग्रेस–एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

उनले बढि भन्दा बढि जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने र त्यही अनुसार बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिए । बितिय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिवद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताए ।
उनले जथाभावी ऋण लिने प्रवृतिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिए ।

बङ्गलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको कार्यालयमा लुटपाट

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरेका छन् ।

ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर राख्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी छन् ।

ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बङ्गलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

उनी कहाँ गएकी हुन् भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनी ढाकाबाट हेलिकप्टर चढेर ‘अन्यत्र’ गएकी छन् ।

बङ्गलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्बिर प्रसारण गरेको छ ।

“म गणभवन दरबारभित्र छु,” बङ्गलादेशी पत्रकार येसिर अराफातले एएफपीसँग भने । उनले भने, “दरबारभित्र एक हजार ५०० भन्दा बढी मानिस छन् । उनीहरूले फर्निचर भाँचिरहेका छन् भने शिशाहरू तोडफोड गरिरहेका छन् ।

हसिनानिकट एक स्रोतले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “छहत्तर वसन्त पार गरेकी हसिना आफ्नी बहिनीसँग ढाकाबाट ‘सुरक्षित स्थान’का लागि निस्कनुभएको छ । उहाँले ‘भाषण रेकर्ड गर्न चाहनुहुन्थ्यो तर त्यसो गर्ने अवसरसमेत पाउनुभएन ।”

स्रोतले भन्यो, “उहाँको सुरक्षा टोलीले उनलाई तत्काल कार्यालय छोड्न भन्यो, तयारीका लागि समय मिलेन । “उहाँ पहिले आफ्नो गन्तव्य नबताइकन मोटरबाट प्रधानमन्त्री कार्यालयबाहिर निस्कनुभएको थियो तर पछि उहाँलाई हेलिकप्टरबाट ‘अन्यत्र’ जाने व्यवस्था गरिएको थियो ।”

शेयर बजार ४० अङ्कले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै छ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने रातो देखिएको छ ।

आठवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

बीबीसी । बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् ।

हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् । उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए । सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमबार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो । सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए ।

स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट विमान चढेर देशबाट बाहिर गएका हुन् । हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ । ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो ।

ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको छ । जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ । ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ ।

ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन् । प्रदर्शनकारी र प्रहरीबीच आइतबार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमबार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ ।

नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए। त्यसलाई “ढाकासम्मको लामो मार्च“ भनिएको छ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन् । गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको छ।

बंगलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं । बंगलादेशमा सरकार विरुद्धको आन्दोलन चर्किएपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

सोमबार सूचना गरी गरी दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु आदेश भएकाले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले भनेको छ, ‘बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र वहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ।’

साथै दूतावासले नेपाल फर्किन चाहने विद्यार्थीहरु तथा सम्पूर्ण नेपालीहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भईसकेपछि मात्र यात्रा गर्न आग्रह गरेको छ ।

संसदीय समितिले अब समस्याग्रस्त सहकारीका संचालकहरुसँग सोधपुछ गर्ने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ ।

सोमबार बसेको समितिको २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको र प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाउने सभापति सूर्य थापाले जानकारी दिए । उनले अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्ने बताए ।

उनले सचिवालयबाट प्रतिवेदनको विषयवस्तुसहितको आउटलाइन बैठककमा प्रस्तुत भएको र त्यसमा सांसदहरुले आफ्नो धारणा राखेको पनि जानकारी दिए ।

उनका अनुसार बैठकले सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै अघि बढाउने र त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने, सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने भन्नेबारे पनि छलफल भएको छ ।

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सांसद सोविता गौतममाथि कागेश्वरी मनोहरामा अभद्र व्यवहार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतममाथि अभद्र व्यवहार भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले आफूमाथि आइतबार काठमाडौँ–२ को कागेश्वरी मनोहरा नगरपालिकामा केही युवाले अभद्र व्यवहार भएको भन्दै शान्ति सुरक्षाको माग गरेकी हुन् ।

सांसद गौतमले आइतबार बाढीपहिरो प्रभावित क्षेत्र कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा मादक पदार्थ सेवन गरेका १०–१५ जना युवाले आफूलाई घेरेर अभद्र व्यवहार गरेको बताइन् ।

उनले भनिन्, ‘म पहिरो हेरेर फर्किरहेको थिएँ । फर्किने क्रममा केही युवा साथीहरु सडकमा चिया पिएर बसिरहेका थिए । कोही गाजा र कोही रक्सीको नशामा लठ्ठ थिए । बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर ममाथि दुर्व्यवहार भयो । एकैस्वरमा फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’

उनले आफूलाई त्यसरी गाली नगर्न भनेर अनुरोध गर्दा धम्क्यााएको बताइन् । उनले भनिन्, ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले । चक्रव्यूहजस्तो गरेर जथाभावी बोलेर मलाई घेर्न काम भयो । ती युवा ममाथि दुर्व्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए । बाटो ढुकेर चौतारीमा कुरेर छोरी मान्छेलाई तर्साउने अभ्यास के अमर्यादित भएन र ? के यो जंगली प्रकारको व्यवहार भएन र ? अब म के आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने ? शान्ति सुरक्षाको व्यवस्था गरियोस् ।’

उनले आफूमाथि दुव्र्यवहार गर्ने मध्येका एक युवा राष्ट्रिय पार्टीको सगठनको जिम्मेवार व्यक्ति भएको बताइन् । उनले घटनामा संलग्नलाई कारबाही गर्न मागसमेत गरेकी छन् ।

सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दललाई दिन माओवादीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दललाई दिन माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्ने माग गरेका हुन् ।

उनले लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढंगले होटलमा भेट गरेको भन्दै यसबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सांसद सापकोटाले सभापति पोखरेल अघिल्लो संसदको सार्वजनिक लेखा समितिले बक्यौता रकम असुली गर्न दिएको निर्देशनविपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने माग गरे ।

उनले भने, ‘संसदीय मूल्यमान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ । नैतिकता छ भने यो सरकारले पारदर्शी काम गर्छ भने सभापति तत्काल प्रतिपक्षलाई देओस् । अहिलेको सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय घटना घटाइरहनुभएको छ, यसका लागि सभामुखबाट रुलिङ चाहन्छु ।’

त्यस्तै उनले नेपाल विद्युत् प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।

आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार

तनहुँ । तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ। विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज शल्यक्रियाकक्षको आज शुभारम्भ गरेका छन्। त्यसक्रममा उनले अस्पतालको थप स्तरोन्नति र विकासका लागि सङ्घीय सरकारको सहयोग रहने बताए।

उनले गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर यस भेगका जनतालाई दिएको सेवा सकारात्मक रहेकोमा जोड दिए।

अस्पतालका प्रमुख डा डीबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको जानकारी दिए।

लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। अस्पतालले प्रसूीत, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ।

अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ। अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन्।

आँबुखैरेनी–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन भएको थियो। यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाली कांग्रेस ऑबुखैरेनी गाउँ कार्यसमितिले आज यहॉ आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उहाँले स्वास्थ्य संस्था सुधारका लागि आफू कार्ययोजनासहित अगाडि बढेको जानकारी दिए। उनले भने, ‘तनहुँको सन्दर्भमा जिपी कोइराला अस्पताल, दमौली अस्पताल तथा पालिकास्तरीय अस्पतालको विकासका लागि म जानकार छु।’

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

गलकोट (बागलुङ)  । उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।

जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ ।

एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले ुगाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनीु दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिए ।

‘गाउँ तथा जङ्गलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पुर्याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिमाणमा बजार पठाइरहेका छौँ, यहाँको आलुसमेत निकै स्वादिष्ट छ, आलुलाई चिप्स बनाएर बजार पठाउँदा यहाँका महिलाको आय आर्जन सघाउ पुग्नेछ,’ छन्त्यालले भने, ‘अर्गानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ, यस पटक आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्न रु सात लाखको उपकरण प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ ।’

एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुईलाखको बिक्री भएको छन्त्यालले जानकारी दिए । अहिलेआलु चिप्सलाई मुख्य उत्पादनका रुपमा विकास गर्न आधुनिक उपकरणले सहयोग पु¥याउने छन्त्यालको भनाइ छ । विसं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर विक्री गर्न थालेको हो ।

जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरणसमेत सहयोग गरेको छ । विसं २०७१ मा रु १० लाख शेयरपूँजीबाट शुरु भएको सहकारीको अहिले वार्षिक कारोबार  दुई करोड ५० लाख नाघेको छ । अहिले बाँको र सिस्नो संकलन, आलु खरिद तथा ब्रान्डीङका लागि २१ महिला सक्रिय रहेका छन् ।

महिला सदस्यलाईमात्रै सहकारीमा आबद्ध गराएको सहकारीले नियमित २१ जनालाई रोजगारी दिएको छ । ‘हेफर इन्टरनेशनल’लेसमेत सहकारी स्थापनाका बेला बाख्राका पाठा वितरण गरी सहयोग गरेको थियो ।

अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाँकोको गुन्द्रुक बागलुङ बजारसहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । नगरपालिकाले महिला उद्यमशिलताका लागि हालसम्म  १० लाखभन्दा बढीको आर्थिक सहायता प्रदान गरिसकेको उनले जानकारी दिए ।

‘किसानले आलु मात्रै विक्री गरेर भएन, जैमिनीको सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको दमेकको आलुलाई चिप्स बनाउँदा टिकाउ हुने र बजारीकरणसमेत गर्न सहज हुने भएकाले उद्यमशीलताको कार्यक्रमलाई त्यही सहकारीसँग जोडिएको छ’, उपप्रमुख शर्माले भने, ‘औषधीय गुणसमेत भएको बाँकोको गुन्द्रुक र सिस्नोको धुलो विदेशसमेत पु(याउन सकिने सम्भावना ।’

पेरिस ओलम्पिकमा अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।

दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित ३१ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३७ पदक जितेको छ ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात कास्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० कास्यसहित २४ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले सात स्वर्ण १० रजत र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १५ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुुई कास्यसहित कुल १२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ ।

सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।

विदेश मन्त्रालयको विज्ञप्ति अनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्नेछन् भने केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ ।

मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।

कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासललगायतमा केन्द्रित रहने छ ।

जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडाध्यक्ष २०७९ जनताले हो’

गण्डकी ।  जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी क्षेत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ ।


जनप्रतिनिधिका रुपमा देखेभोगेका अनुुभवलाई अधिकारीले तीज गीतमा समेट्नुभएको छ । तुलसी क्षेत्रीको युट्युबबाट सार्वजनिक भएको गीतमा सामाजिक विकास र जनप्रतिनिधिका भोगाइका विषयलाई जीवन्त रुपमा चित्रण गरिएको हो ।


वडाध्यक्ष र उनको परिवारबीचको संवादलाई जीवन्त अभिनयका साथ प्रस्तुत गरिएको गीतमा घाम नझुल्कँदै घरबाट निस्कने वडाध्यक्ष साँझ परेपछि तनाब लिँदै घर फर्किएको प्रसङ्गलाई परिवारले आफ्नो कर्मसँग जोड्दै भनेका छन्, 
“घर छोडेर हिँड्छौँ तिमी घाम नि नझुल्किँदै,
करिमैले हो मेरो करिमैले हो ।
साँझ परेपछि घर टेक्छौँ सारा तनाव लिँदै,
करिमैले हो मेरो करिमैले हो ।।”


जनताले यस ठाउँबाट आफूलाई निर्वाचित गराएको भन्दै त्यसको जवाफमा भनिएको छ,
“२०७९ मा अघि सारे यो ठाउँबाट मलाई,
जनताले हो मलाई जनताले हो ।
मेरा मनका भावना यी सुनाउँ मैले कस्लाई
जनताले हो मलाई जनताले हो ।।”


घरमा समय दिन नपाउँदाका विवशता, परिवारले गर्ने अनुुभूति, गरिबी र बेरोजगारी हटाउनका लागि जनताले दिएको जम्मेवारी, भोट माग्दा सुशासन ल्याउन गरिएका प्रतिबद्धतालगायत विषयवस्तुलाई गीतमा समेटिएको छ । वडाध्यक्षको व्यस्तताले घर, खेतबारी, लालाबाला सबै सम्हाल्नुपरेको परिवारको गुनासोका बीच वडाध्यक्षले सपनामा आफूले विकास मात्रै देखेको, दिन दुुःखीका घरमा उनीहरूले छाक टार्न पाएकोलगायत प्रसङ्ग उल्लेख गरिएको छ ।


भरतपोखरीको पुडिटार, कुलिङ हुँदै सिङ्गारेवास बाटोलगायत विकासलाई पनि गीतमा समेटिएको छभने संस्कृति, परम्परा जोगाउनुपर्ने, जनताका समस्या समाधान गर्न घरघरमा पुुगेर गुनासो सुन्ने गरेको विषय प्रस्तुत गरिएको गीतमा रचनाकारसमेत रहेका पोखरा–३३ का वडाध्यक्ष अधिकारीले बताए । गीतको छायाङ्कनमा पुडिटारको धार्मिक पर्यटकीयस्थल भुलभुलादेवी मन्दिर, हुडिकोटका साथै वडा कार्यालय देखाइएको उनले जानकारी दिए ।

शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती होः अर्थमन्त्री पौडेल(अन्तरवार्ता)

काठमाडौं । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । बजेटका सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले र वार्षिक बजेट अर्कै अर्थमन्त्रीले ल्याए । बजेट कार्यान्वयन गर्ने समयमा पुनः सरकार परिवर्तन भयो र मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मा अहिलेको अर्थमन्त्रीको काँधमा आएको छ ।

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितका दलहरुको गठबन्धनमा नयाँ सरकार बनेपछि भने राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको छ । कोभिड महामारीपछि सुस्ताएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको छ । यसै सन्दर्भमा मुलुकको विद्यमान अर्थराजनीतिक अवस्था, चुनौती, समाधानका लागि सरकारले गरिरहेका प्रयास र आगामी योजनाबारे उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश ।


मुलुकको समग्र अर्थतन्त्रलाई यहाँले कसरी हेर्नुभएको छ ? अहिलेको अवस्था के हो ? समस्या कहाँ छ ? 


– नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । कतिपय आर्थिक सूचकहरु नकारात्मक छन् । समग्र मागमा न्यूनता आएको छ । राष्ट्रिय उत्पादन घटिरहेको छ । त्यसको प्रभाव रोजगारीमा परेको छ । राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले गर्न सकिरहेका छैनौँ । समग्रतामा भन्दा नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकालेर अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती प्रत्येक समस्यामा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै संवाहक क्षेत्रलाई त्यहाँ रहेको समस्यामा प्रवेश गरेर समाधान खोज्न हामी केन्द्रित हुनुपर्छ । 


निजी क्षेत्र अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो । सरकारले निजी क्षेत्रसँग कसरी सहकार्य र समन्वय गर्न खोजिरहेको छ ? आर्थिक मन्दिको यो समयमा आम नागरिकको मनोबल कसरी उकास्ने ? सरकारका योजना के छन् ? 


–निजी क्षेत्र हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो । निजी क्षेत्रको मनोबल बढाउनु, उत्पादनका निम्ति उत्प्रेरित गर्नु र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु यतिबेला महत्वपूर्ण प्राथमिकताको विषय हो । मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि लगातार निजी क्षेत्रसँग नियमित संवादमा छु । उहाँहरुले भोगिरहेका समस्या के हुन्, समस्या समाधानका लागि निजी क्षेत्रका अपेक्षा के छन् र ती अपेक्षाहरु पूरा गर्न सम्भव छन् वा छैनन् भन्ने कोणबाट हामी नियमित संवाद गरिरहेका छौँ । क्रमशः समाधानका प्रयासहरु अगाडि बढेका छन् । 


नेपाल राष्ट्र बैङ्कले केही दिनअघि चालु आवको मौैद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले अर्थतन्त्रसँग सम्बन्धित मौद्रिक क्षेत्रका समस्या समाधानका निम्ती धेरै हदसम्म भूमिका निर्वाह गरेको छ । समग्रतामा निजी क्षेत्रलाई भरोसायोग्य अभिभावकका रुपमा सरकार छ भन्ने सन्देश दिन चाहन्छु । अहिलेको प्रतिनिधिसभाबाट बन्नसक्ने बलियो र स्थिर सरकार यही हो । लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनाएका छन् । राणाशासन, पञ्चायत र राजतन्त्र अन्त्य गर्नका लागि सङ्घर्ष गरेको दुई पुराना दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले सरकारमा छन् । यो सरकारले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था अब हामी आउँन दिँदैनौँ भन्ने सन्देश दिइरहेको छ । निजी क्षेत्रलाई उत्साहित भएर उत्पादनमा, लगानीमा केन्द्रित हुनका निम्ती सरकारले प्रोत्साहित गर्छ । यो सरकार निजी क्षेत्रलाई अभिभावकीय भूमिका निर्वाह गर्दैछ भन्ने अनुभूति दिलाउन चाहन्छौँ ।


चालु आवको बजेट संसद्मा पेस भएसँगै विनियोजन कुशलताको विषय संसद् र बाहिरसमेत निकै पेचिलोसँग उठाइयो । सङ्घीयतालाई नै कमजोर पार्नेगरी स–साना आयोजनाका लागि पनि केन्द्र सरकारबाट बजेट छुट्याइयो, पहुँचका आधारमा बजेट बाँडियो भन्नेजस्ता गम्भीर प्रश्न संसद्मा उठाइएका छन् । विनियोजनमा कुशलता नदेखिएको बजेट कार्यान्वयन कतिको चुनौतीपूर्ण छ ? 


–बजेट निर्माणमा भिन्न प्रकारको अभ्यास यसपटक हुन गयो । एउटा सरकारको अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो, अर्को सरकारको अर्थमन्त्रीले बजेट प्रस्तुत भयो र तेस्रो भिन्नै सरकारको अर्थमन्त्रीका रुपमा बजेट कार्यान्वयन गर्ने बेला म आएको छु । यो राजनीतिक अस्थिरताको परिणाम थियो । यति छोटो अवधिमा फरकफरक सरकार, फरकफरक अर्थमन्त्री र तिनका फरकफरक भूमिका जुन ढङ्गले प्रकट भए, त्यो सबै राजनीतिक अस्थिरताका कारण सिर्जना भएको परिस्थिति थियो । अहिले हामीले मुलुकलाई राजनीतिक स्थिरतातर्फ डो¥याउन सकेका छौँ । अहिले सरकारमा रहेका राजनीतिक दलहरुबीच जुन समीकरण बनेको छ र सहयात्रा अघि बढेको छ, यो सहयात्रा आउने निर्वाचनसम्म निरन्तर अगाडि बढ्छ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच बनेको सहमतिअनुसार हामी आउँदो निर्वाचनसम्म सँगै अघि बढ्छौँ । यसकारण राजनीतिक स्थिरता कायम भएको छ भन्ने सन्देश अहिले गएको छ । 


यस स्थितिमा बजेटमा विनियोजन कुशलता कति देखियो वा देखिएन भन्नेबारे म टिप्पणी गर्न चाहन्न । किनभने हाम्रो विनियोजन कुशलताबारे आममानिस, संसद्, अर्थविद् विकासविद् सबैतिर चर्चा भइरहेकै छ । विनियोजन कुशलताका दृष्टिकोणले हामीहरु उत्कृष्ट साबित हुन सकेका छैनौँ भन्ने स्पष्ट छ । चालु आवको बजेटमा पनि विनियोजन कुशलता राम्रोसँग प्रदर्शित हुन सकेको छैन । स्थानीय तह र प्रदेशबाट कार्यान्वयन हुने प्रकृतिका योजना तथा कार्यक्रममा सङ्घ सरकारबाटै बजेटले समेट्ने स्थिति देखिएका छन् । आवश्यक पूर्वतयारी र अध्ययन नभएका योजनामा बजेट हालिएको छ । हामीले तीन तहको सरकारको अभ्यास गरिरहेको छौँ र सङ्घीय सरकारका निश्चित अधिकार, दायित्व, कर्तव्यसँगै सीमाहरु पनि छन् । 


त्यस्तै, प्रदेश र स्थानीय सरकारका पनि निश्चित सीमाहरु छन् । ती सीमाहरुभित्र रहेर कार्यसम्पादन गर्नुपर्छ भन्ने मलाई लाग्दछ । बजेट बनाउँदा पनि त्यसप्रकारको विनियोजन कौशल हामीले प्रदर्शन गर्न सक्नुपर्छ । विनियोजन कौशलका दृष्टिकोणले हामीहरु चुकिरहेका छौँ । अहिले हामी बजेट कार्यान्वयनको चरणमा आइसकेका छाँै । बजेट कार्यान्वयन गर्दा हाम्रो ध्यान सीमित स्रोतसाधनलाई परिचालन गरेर अधिकतम नतिजामुखी कसरी बन्न सकिन्छ भन्नेतर्फ जानुपर्छ । बजेटले समेटेको राष्ट्रिय प्राथमिकताका, राष्ट्रिय गौरव र महत्वका र राम्रो प्रतिफल दिने आयोजनालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नेमा कुरामा सरकारको ध्यान केन्द्रित गर्नुपर्नेछ । निर्माण थालनी भइसकेका आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने कुरा यो सरकारको पहिलो प्राथमिकतामा पर्छ । नयाँ योजना/कार्यक्रम सुरु गर्ने भन्ने आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा पनि अहिले सुरु भइसकेका योजना सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुन्छ । 


आयोजना सुरु हुने तर तोकिएको लागत र समयमा सम्पन्न हुँदैनन् भन्ने आम गुनासो छ र यो यथार्थ पनि हो । त्यसकारण अब हामी सुरु भइसकेका आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्छाँै । त्यसमा पनि राष्ट्रिय गौरव, प्राथमिकता तथा महत्वका र राम्रो प्रतिफल दिने आयोजनालाई निर्माण सम्पन्न गर्ने विषय प्राथमिकतामा रहन्छ । हाम्रो स्रोतलाई पनि हामी त्यही ढङ्गले परिचालन गर्छौं । विनियोजन कुशलतामा देखिएका कमजोरीहरु हामी यो तरिका र माध्यामबाट दुरुस्त गर्ने कोसिस गर्छौं ।


बजेट विनियोजन यथार्थपरक हुन नसकेको, विकास परियोजनाहरु समयमा सम्पन्न नहुँदा लागत बढ्दै गएको, स्रोत सुनिश्चित गरिएका आयोजनाका लागि न्यून बजेट प्रस्ताव गर्ने र नयाँ आयोजना थप बजेट प्रस्ताव गर्ने प्रवृत्ति छ । यी समस्या समाधानका लागि सरकारले कसरी काम गर्छ ?


– कस्ता आयोजना तथा कार्यक्रममा स्रोत सुनिश्चित गर्ने वा नगर्ने, किन गर्ने वा नगर्ने भन्ने बीचमा एउटा स्पष्ट दृष्टिकोण लिएर अगाडि जानुपर्दछ । एक आवमा सम्पन्न गर्न नसकिने तर आयोजना निर्माण गर्नैपर्ने अवस्थामा हामी बहुवर्षिक आयोजनाका रुपमा अगाडि बढाउँछौं । त्यस्ता बहुवर्षीय प्रकृतिका आयोजनामा स्रोत छुट्याउँदै गर्दा हामीले के कुरामा ध्यान दिनुपर्छ भने त्यो योजना वा कार्यक्रम हाम्रा लागि आवश्यक हुनसक्छ तर त्यो हाम्रो सामथ्र्यले भ्याउँछ वा भ्याउँदैन भनेर हेर्नुपर्छ । हामी असीमित सङ्ख्यामा बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चित गर्दै ठूलो सूची तयार गर्ने तर स्रोतको प्रबन्ध गर्न नसकेर कार्यान्वयनमा जान नसक्ने अवस्थामा छौं । विगतमा देखापर्ने गरेको यो दुःखद स्थितिलाई अब अन्त्य गर्नुपर्छ । त्यसकारण हामी आँखा चिम्लेर स्रोत सुनिश्चित गर्द हिँड्ने अभ्यासमा हामी जानु हुँदैन । पर्याप्त अध्ययन भएका, राम्रो प्रतिफल दिने, राष्ट्रिय महत्व र प्राथमिकताका आयोजनाहरुमा राज्यको सामथ्र्यभित्र रहेर स्रोत विनियोजन हुने विधितर्फ जानुपर्छ । स्रोतको ख्याल नगरी र आयोजनाको महत्व तथा प्राथमिकतालाई विश्लेषण नगरी स्रोत सुनिश्चितता गर्दै जाने कुराले हाम्रो सीमित स्रोतको सही सदुपयोग हुन सक्दैन । हाम्रो स्रोतको सीमालाई ख्याल गर्दै सीमित स्रोतलाई अधिकतम प्रतिफल दिनेगरी परिचालन गर्नुपर्छ । त्यो प्रकारको विनियोजन कौशलता हामीले प्रदर्शन गर्नुपर्छ । 


अर्थतन्त्र सुधारका लागि बजेटमा राम्रा योजना र कार्यक्रमका बाबजुद पनि कार्यान्वयनमा चुनौती  छन् । चालु आवको बजेट कार्यान्वयनमा कस्ता चुनौती देख्नुभएको छ ? 


– चालु आवको बजेट कार्यान्वयनका लागि गरिएको स्रोतको प्रबन्ध र व्यवस्थापन हाम्रालाई चुनौती हो । गत आवमा हामीले गरेको राजस्वको सुरु अनुमान, संशोधित अनुमान र वास्तविक प्राप्तिका बीचमा ठूलो खाडल छ । गत आवमा प्राप्त भएको यथार्थ राजस्वको तुलनामा चालु आवका लागि राखिएको राजस्व वृद्धिदरको लक्ष्य करिब ३० प्रतिशत हाराहारी छ । राजस्वको यो लक्ष्य पूरा गर्न त्यति सजिलो छैन । त्यसका लागि धेरै ठूलो मेहनत गर्नुपर्नेछ । राजस्व सङ्कलनको लक्ष्य निकै महत्वकाङ्क्षी र ठूलो छ । यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिस्थितिहरुलाई पनि हेर्नुपर्ने हुन्छ । हामीले विगतमा गरेका करका दरहरुको परिमार्जनको विश्लेषण पनि गर्नुपर्ने आवश्यकता देखेको छु । सँगसँगै राजस्व प्रशासनको प्रभावकारी परिचालन पनि आवश्यक छ । लक्ष्यअनुसार राजस्व उठाउन हामी कहाँनेर चुक्यौँ भनेर हेर्नुपर्नेछ । कहाँ चुहावट भएको छ भनेर खोज्नुपर्नेछ । त्यसलाई नियन्त्रण गर्ने कुरामा ध्यान पुर्याउनुपर्नेछ । आन्तरिक उत्पादनलाई बढावा दिएर राजस्वको लक्ष्य हासिल गर्नतर्फ लाग्नुपर्नेछ । 


पछिल्लो समय विश्वभर नै अन्तर्राष्ट्रिय सहयोग परिचालनमा सङ्कुचन आएको छ । अन्तर्राष्ट्रिय सहयोगलाई हामीले आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा स्वीकार गर्नुपर्ने हुन्छ र त्यसका लागि हाम्रो सामथ्र्य विकास गर्दै जानुपर्ने हुन्छ । यस अर्थमा हामीले आफ्नो सामथ्र्य बढाउँदै जाने र अन्तर्राष्ट्रिय सहयोगको दायरा विस्तार गर्दै जानुपर्ने चुनौती हाम्रासामु छ । अर्को कुरा भनेको हाम्रो साधारण खर्च र अनिवार्य दायित्वमा ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था छ । आन्तरिक राजस्वले साधारण खर्च धान्न हम्मे पर्ने स्थितिमा हामी आइपुगेका छौँ । सार्वजनिक ऋण र वित्तीय व्यवस्थातर्फको दायित्व निरन्तर बढ्दो छ । पुँजीगत खर्चतर्फ भौतिक पूर्वाधार र विकास निर्माणका योजना तथा कार्यक्रममा पर्याप्त बजेट व्यवस्था गर्न सकसपूर्ण हुँदै गएको छ । 


हाम्रा योजना तथा कार्यक्रमहरुका निम्ति पर्याप्त स्रोतको प्रबन्ध गर्नुपर्ने अर्को चुनौती छ । स्रोतको प्रबन्ध गरिसकेपछि पनि ती योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने वातावारण निर्माण गर्नुपर्नेछ । अध्ययन नै नभएका र पूर्वतयारी नसकिएका कतिपय आयोजना पनि बजेटमा परेका छन् । तिनीहरुको कार्यान्वयन कसरी हुन्छ भनेर पनि विश्लेषण गर्नुपर्ने अवस्था छ । समग्रमा स्रोत व्यवस्थापनका दृष्टिकोणले, अन्तर्राष्ट्रिय सहयोगलाई परिचालन गर्ने हिसाबले र निर्धारित योजना तथा कार्यक्रम कार्यान्वयनका हिसाबले चुनौतीहरु छन् । तोकिएको राजस्व सङ्कलन लक्ष्य भेटाउनका लागि राजस्व प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । राजस्वका स्रोतलाई ठीक ढङ्गले पहिचान गर्ने र करको दायराको विस्तार गर्नुपर्नेछ । विकास साझेदार र दातृ निकायले दिल खोलेर सहयोग गरून् भन्नका लागि पहिले आफ्नै क्षमता विकास गर्नुपर्नेछ ।


एकातर्फ पुँजीगत शीर्षकमा बजेट विनियोजनको अनुपात घट्दै जाने र अर्कोतर्फ यो शीर्षकमा छुट्याइएको बजेट खर्च गर्न नसक्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ । यो समस्या समाधानका लागि कानुनी, विधिगत र संरचनागत सुधारका लागि सरकारले पहल गर्छ । हाम्रो कार्यसम्पादनमा कहाँ कहाँ प्रश्न रहे भनेर पहिचान गरेर समाधान गर्दै जानुपर्नेछ । चालु आवको बजेट कार्यान्वयनका क्रममा हाम्रो स्रोतको सामथ्र्यलाई विश्लेषण गरी प्राथमिकताका आयोजनामा परिचालन गर्नेतर्फ हामी केन्द्रित हुनुपर्नेछ । उत्पादन बढाउन, रोजगारी सिर्जना गर्नसक्ने, राम्रो र प्रतिफल दिने आयोजनामा खर्च केन्द्रित गर्नुपर्छ भनेर हामी अघि बढिरहेका छौँ । 


चालु आवको बजेटमा दोस्रो चरणको आर्थिक सुधार सुरु गरिने भनिएको छ, त्यसका लागि सरकारका तर्फबाट के कस्ता प्रयास होलान् ?


– समग्रतामा हाम्रो अर्थतन्त्रलाई देखिनेगरी सुधारको आवश्यकता छ । परम्परागत ढङ्गले जाने होइन कि सुधारका पहललाई थप प्रभावकारी बनाएर जानुपर्नेछ । बजेटमा उल्लेख गर्नुभएको सुधारको विषयलाई धेरै टिप्पणी गर्न चाहन्न । हामीले भने अर्थतन्त्रमा जे जस्ता समस्या देखिएका छन् त्यसलाई सुधार गरेर जाने कोणबाट हाम्रा प्रयास हुनेछन् । यसलाई पहिलो र दोस्रो सुधार भनेर अल्झनुभन्दा पनि प्रभावकारी सुधार नै अहिलेको आवश्यकता हो । हामी त्यसतर्फ केन्द्रित हुन्छौँ । मुख्यगरी निजी, सहकारी र सार्वजनिक क्षेत्रका अलगअलग भूमिका छन् । त्यसलाई उत्कृष्ट बनाउने गरी आर्थिक सुधारमा लैजाने हो ।


कार्यसम्पादन करार सम्झौता गरी जवाफदेही तथा उत्तरदायी रुपमा कार्यसम्पादन गर्ने भन्ने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन भएको जस्तो लाग्छ यहाँलाई ?


–कार्यसम्पादन करार सम्झौताको एउटा अभ्यास रहँदै आएको छ । कार्यसम्पादनमा आधारित रहेर व्यक्तिको मूल्याङ्कन गर्ने र निश्चित परिभाषित जिम्मेवारीप्रति जिम्मेवार बनाउने प्रणालीलाई जोड दिएर जानु जरुरी छ । त्यसमा हामी ध्यान दिन्छौँ ।


राजस्व सङ्कलनमा देखिएका समस्याको खास कारण के हो जस्तो लाग्छ ? 


–कर प्रणालीमा सुधारका लागि कस्ता कदम आवश्यक छन् ? सरकारले के कस्ता योजना बनाएको छ ? राजस्व सङ्कलनमा जस्ता समस्या देखिएका छन् । यसका पछाडि एउटा मात्रै कारण छैनन्, धेरै कारण छन् । अर्थतन्त्रमा आएको शिथिलता, आर्थिक क्रियाकलापमा आएको सुस्तता, उत्पादन आयात, निर्यात, उपभोग आदि क्षेत्रमा आएको शिथिलताको एउटा प्रभाव छ । त्यसलाई अन्त्य गर्न उत्पादन बढाउनुपर्ने, माग बढाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । हामीले अवलम्बन गरिरहेको राजस्व परिचालनसँग स्म्बन्धित ऐन, नियम कानुन छन् त्यसमा केही कमी कमजोरी छन् कि, ध्यान दिनुपर्ने विषयमा ध्यान पुग्न सकेको छैन कि भनेर हेर्नुपर्ने आवश्यकता छ । यद्यपि, हामीले करका दर तथा कर निर्धारणका सन्दर्भमा स्पष्ट कानुनी विषयमा निश्चित व्यवस्था छ । आर्थिक ऐनमार्फत बजेट सार्वजनिक क्रममा यो काम गर्छौं । हामीले प्राप्त गरेको अनुभवका आधारमा सूत्रीकरण गर्ने, विश्लेषण गर्ने र थप के गर्ने भनेर पूर्वतयारी गर्नु आवश्यक छ । त्यसका लागि करको दायरा विस्तार गर्ने, कर प्रशासनलाई प्रभावकारी बनाउने कर सङ्कलनका क्षेत्रमा जे जस्ता समस्या देखिएका छन्, त्यसलाई नियन्त्रण गर्ने, कर प्रशासनलाई प्रभावकारी बनाउनुपर्छ भन्ने हाम्रो सोच हो । त्यही अनुसार हामी अगाडि बढ्छौँ ।


सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम छ । ऋण र अनुदान पनि लक्ष्यअनुसार उठ्न सकेको छैन । सरकारले आन्तरिक ऋण धेरै उठाउँदा निजी क्षेत्रका लागि कर्जा परिचालन गर्नसक्ने धेरै ठाउँ बाँकी रहँदैन । यी समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?


– सार्वजनिक ऋणको हकमा सकेसम्म हामीले होसियारी अपनाउनुपर्ने नै हुन्छ । सार्वजनिक ऋणमा पनि मुख्यगरी आन्तरिक ऋणको आकार असीमित रुपमा बढ्न नपाओस् भनेर हामीले होसियारी अपनाउनुपर्नेछ । सरकारले आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलताको अभाव वा निजी क्षेत्रमा प्रवाह हुने कर्जाको दायरामा सङ्कुचन आउन सक्ने पक्षमा पनि ध्यान दिन जरुरी छ । हामी के कुरामा बढ्दा जोड दिन्छौँ भने नी बजेटले निर्धारण गरेको सीमाभित्र आवश्यकता र अत्यावश्यक अवस्थामा सार्वजनिक ऋण परिचालन गर्ने हो । स्थिति हेरी सीमा निर्धारण गरिएको छ, सोही आधारमा परिस्थिति आवश्यकतामा ध्यान दिने हो । हाम्रो ध्यान आन्तरिक ऋणमा भन्दा पनि अन्तर्राष्ट्रिय एवम् वैदेशिक सहयोग, सहुलियतपूर्ण कर्जामा ध्यान दिनुपर्छ भन्ने हाम्रो मान्यता छ । 


मुलुकको समग्र अर्थतन्त्र सरकारको वित्तीय नीतिबाट निर्देशित हुन्छ र त्यसलाई सहयोग गर्नेगरी मौद्रिक नीति आउने गर्दछ तर अहिले अर्थतन्त्रका सबै समस्या समाधान मौद्रिक नीतिले गर्छ भन्ने स्थापित हुँदै गएको देखियो । अघिल्ला अर्थमन्त्रीहरुले सार्वजनिक रुपमै राष्ट्र बैङ्कले असहयोग गरेका कारण सुधारमा ढिलाइ भयो भनेर अभिव्यक्ति दिइरहनु भएको त्यसलाई तपाईं कसरी लिनुहुन्छ ?


– वित्तीय नीति र मौद्रिक नीति एक अर्कामा अन्तरसम्बन्धित हुन्छ । यसमा द्विविधाको कुरा भएन । खासगरी सरकारको बजेट आयो । सरकारको वित्त नीति सार्वजनिक भयो । सँगसँगै मौद्रिक नीति कस्तो हुन्छ ? त्यसले हाम्रो समस्या समाधान गर्ला त भन्ने जिज्ञासासँगसँगै थियो । मलाई लाग्छ यसपटकको मौद्रिक नीति बढी चर्चामा रहन गयो । यो चर्चामा किन रह्यो त भन्दा वित्त नीतिले सम्बोधन गर्न बाँकी रहेका विषयहरु पनि मौद्रिक नीतिले सम्बोधन गरिदिन्छ कि भन्ने अपेक्षा पनि कतिपयमा थियो । मौद्रिक नीति वास्तविक रुपमा आउँछ कि आउँदैन भन्ने पनि मानिसको अपेक्षा थियो । मेरो विचारमा वित्त नीति र मौद्रिक नीति एकअर्कामा अन्तरसम्बन्धित छन् । वित्त नीति अनुकूल नै मौद्रिक नीति आएको छ । यसबीचमा नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालयबीचको सम्बन्ध, वित्त नीति र मौद्रिक नीतिबीचको सम्बन्धहरु निःसन्देह विश्वासको जगमा खडा भएको हुनुपर्छ भन्ने मलाइ लाग्छ । 


लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले के कस्ता पहल चाल्छ ?


–लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रयासहरु भइरहेको नै छ । खासगरी त्यसको कर्जा प्रवाह कर्जा असुलीमा क्षेत्रमा जे जस्ता समस्या देखिएका छन् । मलाई लाग्छ धेरै हदसम्म लघुवित्त क्षेत्रका देखिएका समस्या समाधान हुने दिशामा गएको छ । सहकारी क्षेत्रमा अलिकति विकराल, जटिल देखिएको र कठिन भएको सत्य हो । कतिपयले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सहकारी आन्दोलनको औचित्यमाथि प्रश्न उठाएको पाउछाँै । त्यो ठीक तरिका होइन । सहकारी क्षेत्रमा देखिएको समस्याले सहकारी आन्दोलनको औचित्यलाई खण्डित गर्न सक्दैन । समस्या जहाँ छन् त्यहाँ प्रवेश गरेर समाधान गर्नुपर्छ । सहकारीमा देखिएका विकृतिलाई समाधान गर्दै सहकारी आन्दोलनलाई सबल, सशक्त र प्रभावकारी बनाएर जानुपर्छ । हाम्रो अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा अगाडि बढाउनुपर्छ । सहकारीहरु सहकार्यमा आधारित छन्, सहलगानीमा आधारित छन् । त्यसकारण उनीहरु स्वनियमनमा पनि छन् । यही आधारमा सञ्चालित हुन्छन् । पछिल्ला दिनमा स्वनियमनले मात्रै काम गरेन । त्यसमा विकृति, विसङ्गति देखा नपरोस्, बचतकर्ता पीडित नहुन् भनेर स्वनियमनका अतिरिक्त एउटा नियमनकारी प्रबन्ध, कानुनी, संरचनागत प्रबन्ध पनि आवश्यक छ भन्ने अनुभूति भएको छ । सहकारीमा देखिएका समस्या समाधान गर्ने कोणबाट विचार गर्दा नियमनका लागि कानुनी प्रबन्ध नै अहिलेको समाधान हो । सहकारी आन्दोलनको समस्याको समाधान यो हो भन्ने कोणबाट छलफल केन्द्रित भएको छ । हामीले सहकारी आन्दोलनभित्र देखिएका विकृतिलाई नियन्त्रण र नियमन गर्न नियमनकारी प्रबन्ध गर्नुपर्छ । कानुनी व्यवस्था गर्नुपर्छ ।


सागपात बिक्री गरेर ज्याला मजदुरी गरेर सहकारीमा बचत गरेका बचतकर्ता यतिबेला सबैभन्दा बढी पीडा र मर्कामा छन् । उनीहरुको माग कहिलेसम्म सम्बोधन होला ?


सहकारी क्षेत्रमा देखिएको यो समस्या सम्बोधन गर्नका लागि सरकारले शीघ्र प्रभावकारी र परिणाममुखी  प्रयास अगाडि बढाउँछ । हामी यसलाई विलम्ब गर्ने, कुनै ढिलाढाला गर्ने पक्षमा छैनौं । शीघ्र प्रभावकारी प्रयास गर्छौं । नियमनको व्यवस्था गरेर साँचो अर्थको सहकारीको प्रवद्र्धन गर्ने काममा सरकार अगाडि बढ्छ ।  


नयाँ सरकार आएपछिका दिनमा शेयर बजारमा केही आशाको सञ्चार देखिएको छ । के यो स्वाभाविक हो ?


– प्रधानमन्त्रीले संसद्बाट नै शेयर बजारका सम्बन्धमा महत्वपूर्ण अभिव्यक्ति दिनुभएको छ । शेयर बजारमा अहिले जुन प्रकारको उत्साहको अवस्था देखिएको छ, त्यसको पछाडि सबैभन्दा पहिला सरकारको नीति, दृष्टिकोण, प्रधानमन्त्रीको महत्वपूर्ण सम्बोधन र अभिव्यक्ति नै जिम्मेवार छन् भन्ने म ठान्दछु । उत्साहको पछाडिको मुख्य कारण यो हो । अर्थमन्त्रालय सम्हालेको नाताले मेरो नाम पनि जोडिनुलाई मैले अन्यथा भन्न मिलेन तर मुख्य रुपमा सरकारको नीति र प्रधानमन्त्रीको अपिल, सम्बोधन नै मुख्य जिम्मेवार हो । आम लगानीकर्ताले यो सरकारलाई भरोसा गरेको छ, पत्याएको छ । यसले कुनै पनि अपरिपक्व निर्णय लिँदैन भन्ने बुझाइ छ । हामीले शेयर बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरेका छौं । यो सरकारले नीतिगत स्थायित्व, राजनीतिक स्थायित्वको सुनिश्चित गरेर अगाडि जान सक्छ भनेर विश्वास पैदा भएको हो । सरकार पुँजी बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढङ्गले अगाडि बढाउन चाहन्छ । कुनै पनि अदृश्य व्यापार नहोस्, कुनै पनि अनियमितता नहोस् भनेर परिपक्व ढङ्गले अगाडि बढाउनुपर्छ भन्ने सरकारको मान्यता छ । कुनै पनि लगानीकर्ता पीडित नहुनुस् लगानी नडुबोस् भन्नेमा होसियार छ ।

प्रधानमन्त्री ओलीद्वारा काठमाडौँ–तराई द्रूतमार्गको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।  

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा सोमबार एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ ब्रेक थ्रु गरेका हुन् ।

निजगढ–कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ  छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिए ।

लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौँ–निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ ।

तीन दशमलव तीन सय २२ किमीको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव तीन सय ८६ किमीको काठमाडौँ–निजगढतर्फको दुई दशमलव दुई सय ८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।

प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल नौ ७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमवल तीन सय ९ किमी लम्बाइको छ वटा सुरुङ बन्ने छन् ।

आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव तीन सय ५५ किमी, धेद्रेमा एक दशमलव छ सय ९१ र लेनडाँडामा एक दशमलव छ सय २३ किमी लामो सुरुङ निर्माण हुनेछ ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । 

सो अवरसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपालका लागि चीन र कोरियाका राजदूत उपस्थिति थिए ।

प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदद्वारा हवाई सुरक्षाबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको कांग्रेस सांसद राजेन्द्र बजगाईले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री र कांग्रेस नेताबीच हवाई सुरक्षा प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँदै पर्यटन विकास र प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो ।

सांसद बजगाईले भने, ‘हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले सेवा प्रदायक र नियामक दुवै काम गर्दा स्वार्थ बाझिन्छ । त्यसैले एउटै निकायले विमानस्थल बनाउने, विमान सञ्चालनका लागि अनुमति पनि दिनु अन्तर्राष्ट्रिय हवाई अभ्याससम्मत देखिँदैन, त्यसैले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा विभाजन गरी हवाई सुरक्षालाई थप सुदृढ र भरपर्दो बनाउन जरुरी छ ।’

युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई सुरक्षाप्रति चासो जनाउदै नियमनकारी निकायलाई विभाजन गर्न सुझावसमेत दिएको छ । छलफलमा कांग्रेस सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, सांसद ईश्वरी न्यौपाने, सञ्जय गौतम, उदयशमशेर राणा, राजन केसी, प्रतिमा गौतम, राजेन्द्र बजगाई, सरिता प्रसाई, रामकृष्ण यादव, पुष्पबहादुर शाही, शान्ति परियार, सीता मिजारलगायत सहभागी थिए ।

सांसद बजगाईका अनुसार प्राधिकरणलाई दुई वटा निकाय बनाउने विधेयक यसअघि राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश नभई निष्क्रिय भएको थियो । उक्त विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको थियो ।

सुनको मूल्य तोलाको एक लाख ५० हजार

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार र बुधबार ३६ जिल्लामा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह


काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले साउन २२ र २३ गते केही स्थामा अतिभारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोमबार दिउँसो विशेष बुलेटिन जारी गरी महाशाखाले साउन २२ २३ गते कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएको छ ।

जसपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ  । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । 

बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

उनले भने, “बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने छ ।” 

यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ ।

गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताए । 

धादिङमा गुडिरहेको माइक्रोबसमाथि रुख ढलेर लाग्दा…

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

‘घाइते सबै खतरामुक्त रहेका छन्’, प्रहरी नायव उपरीक्षक मिश्रले भने  । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी  अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ । 

बाङ्ग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन, झडपमा ९० जनाको मृत्यु

बीबीसी । बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार कम्तीमा ९० जनाको मृत्यु भएको छ । मारिनेमा १३ जना प्रहरी रहेका बीबीसी बाङ्ग्लाले जनाएको छ।

सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएका बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन । स्थिति नियन्त्रणमा लिन सरकारले साँझ ६ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ । यसअघि लगाइएको कर्फ्यू आइतबार बिहान ६ बजेबाट राति नौ बजेसम्म खुकुलो बनाइएको थियो । 

आइतबारको प्रदर्शन हिंसात्मक बनेपछि पुनः कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ । सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन् ।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन् ।

यसअघिको प्रदर्शनका क्रममा २०० जना भन्दा धेरैको ज्यान गएको थियो । आइतबारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान समेत गरेका छन् ।

चितवनमा मान्छेलाई आक्रमण गर्ने  बाघ नियन्त्रणमा

चितवन । नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि आइतबार साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए । निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो ।

सोमबार दिउँसो दुईवटा हात्ती त्रसियर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उनले जानकारी दिए ।

नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिईएको हो ।

उक्त बाघले आइतबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिए ।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे । पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो ।

‘पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ । ठूला भन्सार पनि खोलौँ । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ’, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी/इञ्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, ‘पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुुपर्छ हाल सञ्चालित कुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ । त्यहाँको मार्गलाई बर्दिवाससम्म ल्याउनुपर्छ । पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ । काठमाडौँमा जमिनमुनी रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुुपर्छ ।’

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरु पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए ।

उनले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनास्तरीय ढङ्गले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको मागअनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढीभन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिए ।

उनले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटिलाई सरकारले क्षमा दिन सक्ने तर भ्रष्टाचार सैह्य नहुने स्पष्ट गर्दै इमानदार भएर काम गर्नेहरुले ढुक्कका साथ अघि बढ्न सक्ने बताए ।

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने प्रहरी खोरमा…

कास्की । गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको सूचना प्रहरीकोमा पुग्यो ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा तत्कालै प्रहरी घटनास्थलमा तैनाथ भयो । लगत्तै सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि पुग्यो ।

सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रुपमा निभाए । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर पोखरा–१७ निवासी ३६ वर्षीय सुजन गहतराले सपिङ सेन्टर चलाएका थिए ।

प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए । उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो ।

प्रहरीले इन्र्भटर सप्लाई गर्ने व्यक्ति र विद्युत् प्राधिकरणसँग बुझ्दा इन्भर्टरमा आगो लाग्दैन बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफपछि प्रहरीले पसलका सञ्चालक सुजनमाथि थप अनुसन्धान गर्दा उनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको थियो ।

पसलका सञ्चालक सुजनले साथी पोखरा–१७ निवासी ४३ वर्षीय पवन नेपालको सहयोगमा बीमा कम्पनीबाट रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

उनका अनुसार दुवै जना रातको समयमा ग ३ च ६२६६ नम्बरको गाडी चढेर पसल पुगेको र सञ्चालक गहतराज गाडीमा बसेको तथा पवनले सलाई बाली एक्कासी आगो लगाएपछि दुवै जना गाडी चढेर भागेका थिए ।

प्रनाउ शर्माले भने, “पसल खासै नचलेको र सामान ठूलो मात्रामा स्टक भएपछि आगजनी गर्ने योजना देखिन्छ । पानी परेको दिन सबै सुत्छन् मानिसको चहलपहल हुँदैन त्यही बेला पसलमा आगो लगाउने सर सल्लाहअनुसार दुई जना मिलेर आगो लगाएको स्वीकार गरेका छन् ।”

प्रारम्भिक सोधपुछका क्रममा गत वर्ष पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा आगलागीपछि बीमाबाट उनले ३१ लाख पाएका थिए । सोही कुराले सुजन प्रभावित भई आगलागीको योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान गरिरहेको बताएको छ ।