`

श्रीलङ्कालाई हराउँदै भारत काभा भलिबलको फाइनलमा

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो ।

त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आजै हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनल खेल आज सवा ५ बजेदेखि सुरु हुनेछ । यसअघि समूह चरणको खेलमा इरानसँग नेपाल ३–२ ले पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

चोभार गल्छीमा उर्लिएको बागमती(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेका छन् । मंगलबार दिउँसो काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको थियो ।

जसका कारण नदीको पानी सडक किनार र बस्तीसम्म आएको थियो । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँको चोभार गल्छीमा उर्लिएको बागमती नदी ।

तस्बिरः प्रदीपराज वन्त/रासस

मधेश प्रदेशको समुन्नतिका मुख्यमन्त्री सिंहले प्रधानमन्त्रीलाई बुझाए २२ बुँदे मागपत्र

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीलाई २२ बुँदामा समेटिएको पत्रमार्फत मुख्यमन्त्री सिंहले प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने ती योजना प्रस्तुत गरेका हुन् ।

पत्रमा जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गण सौन्दर्यीकरण, हुलाकी राजमार्गअन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पुरा गरी हुलाकी राजमार्गको कार्यको शीघ्र सम्पन्नता, निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रदेशका प्रमुख सहरसँग सम्पर्कको व्यवस्था, जनकपुर जयनगर रेल्वे यातायात मामालवाहक सेवाका लागि मालवाहक रेलको व्यवस्था हुनुपर्ने, जनकपुरधामस्थित १२ बिघा (रङ्गभूमि)लाई सुव्यवस्थित गर्न आवश्यक पहल, मधेश प्रदेशका आठवटै जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्राउन पर्यटकीय कोरिडोर निर्माण हुनुपर्ने र कमला नदीको बगरमा बगरखेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोतसाधनमा सहयोग गर्न आग्रह गरिएको छ ।

यसैगरी पत्रमा भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध, कृषि अनुदान कृषकको खातामा सीधै जानुपर्ने व्यवस्था, प्रदेशस्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन, बारा तथा पर्सामा औद्योगिक करिडोर कार्यान्वयन, हरेक जिल्लामा औद्योगिक क्षेत्र निर्मार्ण, मधेश प्रदेशमा आइटी पार्क निर्माण, वीरगञ्ज ड्राइ पोर्टको क्षमता अभिवृद्धि, लजिस्टिक कस्ट कम गर्न सिपिङ कम्पनी तथा पोर्ट अपरेटर दर्ता प्रक्रिया अघि बढाउनुपर्ने, कस्टम प्वाइन्ट डिएफ मनी एक्सचेन्ज काउन्टर, रेट डिस्प्ले, टुरिज्म इन्फरमेसन, भ्याट रिफन्ड सेन्टर, टिफ इजी रेस्टुरेन्ट आदिको व्यवस्था, भारतीय पर्यटकहरूलाई २५ हजार नगद ल्याउने सुविधा बढाएर दुईलाख भारतीय रुपैयाँ ल्याउन अनुमति प्रदानलगायतका विषय समाविष्ट छन् ।

त्यस्तै भारतीय पर्यटकहरूले प्रयोग गर्ने भारतीय नम्बरको सवारीसाधनलाई दिइने इजाजतको सुविधा अनलाइनमार्फत गर्न आवश्यक व्यवस्था, ट्रेड एन्ड एक्सपोर्ट काउन्सिलका एकाइलाई प्रदेशस्तरमा कार्य गर्न आवश्यक व्यवस्था, श्रम अदालतको सेवा विस्तार, राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट १० मिनेट लाग्ने हुँदा माउन्टेन फ्लाइट सञ्चालन र जीटुजीमार्फत सिमेन्ट कम्पनीले भारतको मार्केटमा पहुँच पुर्याउन संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाएको पत्रमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधनका निम्ति सक्दो सहयोग गर्ने गृहमन्त्रीको प्रतिबद्धता 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन गराउन निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् ।

आयोग पदाधिकारीसँग मंगलबार भएको छलफलमा गृहमन्त्री लेखकले आयोगको भवनलगायत पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को संशोधनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको कार्यालय भवन पुनःनिर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र त्यसका नयाँ व्यवस्था, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ परिमार्जन आवश्यक भएको बताए । 

राष्ट्रपति उम्मेदवारका रुपमा ह्यारिसलाई पार्टीबाट औपचारिक अनुमोदन

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबार डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रुपमा औपचारिक अनुमोदन प्राप्त गरेकी छन् ।

ह्यारिस पार्टीको तर्फबाट नेतृत्व गर्ने पहिलो महिला र पूर्वराष्ट्रपति ओबामा पछिको दास्रो अश्वयत उम्मेदवार हुन् ।

राष्ट्रपति जो बाइडेनले अचानक आफ्नो उम्मेदवारी फिर्ता गरी ह्यारिसलाई समर्थन जनाएका थिए । ह्यारिसले पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारको रुपमा औपचारिक अनुमोदन प्राप्त गर्न आवश्यक प्रक्रिया अगाडी बढाएकी थिइन् ।

डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न एक हजार ९७६ प्रतिनिधिको समर्थन चाहिन्छ । जसमध्ये दुई हजार ५७९ ले उनलाई समर्थन गरेको एपीले जनाएको छ ।

‘डेमोक्र्याटिक नेसनल कन्भेन्सन’का प्रतिनिधिहरुको पाँच दिने अनलाइन मतदान सोमबार समाप्त भएपछि ह्यारिसले आधिकारिक मनोनयन प्राप्त गरेका छन् । डेमोक्र्याटिक पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार ९९ प्रतिशत प्रतिनिधिले ह्यारिसको पक्षमा मतदान गरेका थिए ।

बाइडेनले राष्ट्रपतीय उम्मेदवारी फिर्ता लिएपछि ‘एपी–एनओरसी सेन्टर फर पब्लिक अफेयर्स’ ले गरेको रिसर्च पोलमा ४६ प्रतिशत अमेरिकीको ह्यारिसप्रति अनुकूल दृष्टिकोण रहेको पाइएको छ भने समान सङ्ख्याको उनको उम्मेदवारीप्रति प्रतिकुल धारणा रहेको छ ।

यद्यपी धेरै डेमोक्र्याटहरुले बाईडेनको तुलनामा ह्यारिसको उम्मेदवारीबाट सन्तुष्ट रहेको धारण व्यक्त गरेका छन् ।

ह्यारिसले लोकतन्त्र, हिंसा रोकथाम र गर्भपतनको अधिकार जस्ता विषयवस्तु आफ्नो प्रमुख लक्ष्य रहेको बताएकी छन् ।

बङ्गलादेशका सबै पक्षलाई संयमता अपनाउन राष्ट्रसङ्घका महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिए ।

उनले प्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसका प्रवक्ताले विज्ञप्ती जारी गर्दै बङ्लादेशका जनताको पक्षमा रही उनीहरूको मानव अधिकारको संरक्षणका लागि आह्वान गरेका छन् ।

उनले विज्ञप्तिमार्फत बङ्गलादेशमा भएका हिंसाजन्य क्रियाकलापको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिएका छन् ।

बाङ्ग्लादेशको संसद विघटन

बीबीसी । बाङ्ग्लादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद विघटन गरेका छन् । पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए ।

गत जनवरीमा भएको निर्वाचनपछि गठित संसदबाट हसिना पुनः प्रधानमन्त्री बनेकी थिइन् । आन्दोलनकारी विद्यार्थी नेताहरूले सेनाले बनाएको सरकार अमान्य हुने भन्दै तत्काल संसद विघटन गर्न माग गर्दै आएका थिए ।

विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन् । सोमबार साँझ राष्ट्रपति शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गरेका थिए ।

राष्ट्रपतिले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका थिए । उनी मङ्गलवार अपराह्ण जेलमुक्त भइन् । बाङ्ग्लादेशको अन्तरिम सरकारका लागि हुने वार्तामा सेना, विद्यार्थी आन्दोलनका संयोजक र नागरिक समाज समूहसहितका मुख्य पक्षहरू छन् ।

हसिनाको पार्टी अबामी लीगको प्रतिद्वन्द्वी तथा बेगम खालिदा जियाको दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले अहिलेसम्म प्रधानमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेको छैन । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उक्त दलले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ । बीएनपीका अनुसार बेगम खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गरेकी छन् ।

भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम नगर्ने बताएका छन् ।

मंगलबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएकोले भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि नहेर्ने बताए । उनले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता गर्दैन। कसैले कसुर गर्यो भने अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन। कठघरामा उभ्याइन्छ ।’

उनले सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने पनि बताए । उनले भने,’यो सरकार प्रतिशोधका लागि बनेको होइन। अर्थतन्त्र सुधार, समाज सुधारका लागि बनेको हो। यो सरकारले कसैप्रति पूर्वाग्रह राख्दैन। कसैलाई दुःख दिने काम गर्दैन ।’

उनले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन आवश्यक भएको बताए। भ्रष्टाचार न्यूनीकरण र अन्त्यका लागि उक्त ऐनमा संशोधन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

फास्ट ट्रयाकअन्तर्गत बकैया नदीमा आठ वटा पुल निर्माण गरिँदै

मकवानपुर । काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदैछ ।

दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठ वटै पुल निर्माण भइरहेका छन् । निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमवल नौ सय ७७ किलोमिटर लामो छ । सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् ।

द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।

शेयर बजार १४५ अंकले घट्यो

 काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।


ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ ।


कुल पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर रु २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार घटेकोे बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।


कुर्थली बुखरी स्मल हाइड्रोपावर नौ दशमलव ९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ९४, मेघा म्युचुअल फण्ड पहिलो तीन दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।


नेपाल फाइनान्स,गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु, चारजनाको जीवितै उद्धार

बलेवा (बागलुङ) । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । 

मंगलबार बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर  पुरिँदा पाँच जनाको मृत्यु भएको हो । मंगलबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पहिरोमा पुरिएका  चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । 

मुस्ताङका बगैँचामा लटरम्म स्याउ

म्याग्दी – गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् ।

अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताए । “क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,” उनले भने “क्रप कटिङको प्रतिवेदन तयार भएपछि उत्पादनको यकिन विवरण आउँछ ।”

जेठमा दानामा दाग लाग्ने रोगलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका कृषि शाखाका प्राविधिक टोलीले उपचार गरेपछि उत्पादनमा असर नभएको कृषि प्रसार अधिकृत मगरले बताए । फलेका स्याउका दानाले बगैँचा आकर्षक देखिन्छन् । घरपझोङ गाउँपालिका–३ स्याङका कृषक कर्म गुरुङले गत वर्षको तुलनामा यसपटक स्याउका बोटमा २० देखि २५ प्रतिशत बढी फल लागेको बताए ।

“मौसमले पनि साथ दियो, रोग पनि लागेन,” उनले भने “गत वर्ष रु। चार करोडको स्याउ बेचेको हुँ, यो वर्ष रु। छ करोड आम्दानी हुने अनुमान छ ।” स्याउ खरिद गर्न देशका विभिन्न स्थानबाट व्यापारी मुस्ताङ पुगेर बगैँचा अवलोकन र किसानसँग भाउ मिलाउन थालेका छन् ।

मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती हुने गरेको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाख बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिचाई, चिस्यानगृह निर्माण लगायतका काममा कृषकलाई सहयोग गरेका छन् । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँ लगायत सहरका व्यापारी बगैचामा नपाग्दै अग्रिम रकम दिएर ठेक्कामा स्याउ खरिद गर्दै आएका छन् । मुस्ताङ आउने पर्यटकले पनि कोशेलीको रुपमा स्याउ किन्ने गरेका छन् । किसानले बिक्री नभएका स्याउ मदिरा र सुकुटीमा उपयोग गर्दै आएका छन् ।

शीत भण्डार निर्माणपछि बेनीका किसानलाई राहत

म्याग्दी । फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।

बेनी नगरपालिका–४, सिङ्गा राजिकुलोमा तयार भएको कोल्डस्टोर ९शीत भण्डार० सञ्चालनमा आएपछि किसानलाई सुविधा भएको हो । कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले किसानले आलु भण्डारण गरेका छन् । गत वर्ष सुन्तला फल्ने याममा करिब एक हजार पाँच सय केजी सुन्तला भण्डारण गरेका किसानले परीक्षणबाट सन्तुष्ट भएका थिए ।

यसपटक आलुको सिजनमा सस्तो मूल्यमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनी नगरपालिका–४ का वडाअध्यक्ष अणबहादुर खड्काले बताए ।

“कोल्डस्टोर बनेपछि किसानमा खुसी छाएको छ, उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपजलाई शीत भण्डारमा भण्डारण गरी उचित समयमा बजार पुर्याउन पाउनुभएको छ,” अध्यक्ष खड्काले भने ।

कोल्ड स्टोरमा राखेपछि निकाल्ने समयमा प्रतिकेजी १० शुल्क तिर्नुपर्छ । हाल कोल्डस्टोरमा सात हजार पाँच सय ५० केजी आलु भण्डारण गरिएको छ र थप तीन सय केजी आलु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

कोल्डस्टोरमा विद्युत् आपूर्तिसहित अन्य संरचनाहरू आधुनिक भएकाले परीक्षण सफल भएसँगै यसपटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, किसानका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ ।

कोल्डस्टोर एक करोड ६० लाखमा निर्माण गरिएको हो । त्यसमा अन्य आवश्यक संरचनाहरु थपिने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

“कृषकलाई कोल्डस्टोर बरदान साबित हुन्छ, कृषकलाई प्रतिफल हुने गरी नगदे बालीलाई प्राथमिकता दिएका छौँ,” प्रमुख केसीले भने ।

जिल्लामा सुन्तला र आलु अत्यधिक उत्पादन हुने भएकाले यामबाहेक बेमौसममा बिक्री वितरणका लागि सहज हुने स्थानीय बताउँछन् । कोल्ड स्टोरमा मौसमअनुसार आलु, तथा किवीका साथै अन्य नगदे बाली भण्डारण गर्न सकिन्छ ।

बेनी नगरपालिकाले कोल्ड स्टोरलाई वर्षैभरि प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचनासहित बनाएको छ । किसानले व्यापारीलाई बारीबाटै सस्तो मूल्यमा तरकारी, फलफूल बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ । 

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० व्यापार शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान ग्रेका हुन् । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ ।

सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य श्रृंखलामा आबद्धता अभिवृद्धि हुनसक्ने, व्यापार सहजीकरण भन्सार सहयोग र व्यापार तथा ‘लजिष्टिक्स’ लागत न्यूनीकरण हुनसक्ने, क्षेत्रीय लगानी आप्रवाह बढ्नसक्ने, पर्यटन आप्रवाहमा वृद्धि हुनसक्ने, सूचना प्रविधि सेवा लगायतका सेवा निर्यात अभिवृद्धि हुनसक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ ।

ऋषिङको दुबुङमा थालियो चियाखेती

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ । गाउँपालिकाले पहिलो पटक परीक्षणका रुपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ ।

तीन दिनदेखि बिरुवा रोप्नका लागि खाडल खन्ने कार्य तीव्ररुपमा भइरहेको गाउँपालिकाले जनाएको छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटर उचाइमा यस स्थानमा चियाखेती गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

उक्त स्थानमा चिया बगान बनाएर पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको प्रवक्ता दरैले बताए । उनका अनुसार एक हजार खाडल खन्नुपर्नेमध्ये तीन दिनको अवधिमा ५० प्रतिशत बढी खाडल खन्ने कार्य सम्पन्न भएको छ ।

उनले भने, “चियाखेती राम्रो भएमा अन्यत्र स्थानमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ ।” उनका अनुसार अहिले परीक्षणका रुपमा लगाउन लागिएको हो ।

“इलामबाट चियाका बिरुवा मगाइएको छ । प्रति बिरुवा दश पर्ने भए पनि लामो दूरीबाट ल्याउनुपर्ने भएकाले ढुवानीमा कठिनाइ भएको छ”, उनले भने, “बिरुवा ल्याएको तीन दिनभित्र लगाइसक्नुपर्ने भएकाले त्यसका लागि अग्रिम खाडल खन्ने कार्य भरहेको छ ” ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार चियाको बिरुवा, मल, खाडल खन्ने र ढुवानीसमेत गरी करिब दुई लाख खर्च हुने अनुमान गरिएको छ । “इलामबाट एक/दुई दिनमा बिरुवा आइपुग्छ होला अनि धमाधम बिरुवा रोप्ने काम सुरु गरिनेछ”, उनले भने ।

एउटा बिरुवाका लागि झण्डै आठ किलोग्राम मल आवश्यक पर्ने उनले बताए । उनले भने, “गाउँपालिकाले थालेको यस अभियानमा कतिपय स्थानीय मानिस स्वतस्र्फूत श्रमदानमा खटिएका छन् ।” स्थानीयको सक्रियताले गाउँपालिकालाई थप ऊर्जा मिलेको छ ।

पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले यस स्थानमा घरबास, पोखरी निर्माण, चिल्ड्रेन पार्क, सिँढी निर्माण लगायतका संरचना निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । 

पाँच करोड ५० लाखमा गाउँपालिका भवन निर्माण

पर्वत – दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ ।

पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ ।

प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन रु पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० लागतमा निर्माण भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले केही ढिलाइ भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए ।

निर्माण सम्पन्न भएको उक्त भवन यही साउन २५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ । पैयूँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ । गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । स्थापनाकालदेखि हालसम्म पैयूँ गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक रु एक लाख भाडा खर्च हुँदै आएकामा अबदेखि उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताए ।

पालिकाको मुख्य प्रशासनिक भवनसँगै वडा कार्यालयहरु धमाधम निर्माण भइरहेको छ । सातवटा वडा कार्यालय रहेको पैयूँमा अधिकांशका सुविधासम्पन्न कार्यालय भवन बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले जानकारी दिए ।

छाला उद्योगको दुर्गन्धले बिरामी हुन थालेपछि स्थानीय आन्दोलित

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।

यहाँ सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरु उद्योगविरुद्ध आन्दोलित बनेका हुन् ।

छाला प्रशोधन तथा भण्डारण उपयुक्त नभएकाले ती उद्योगबाट वरिपरिका बस्तीमा दुर्गन्ध फैलिने गरेको स्थानीय कुन्दन पासवानले बताए । उनले भने, “उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल नजिकै रहेको बूढी खोलामा मिसाउने गरेको छ भने राँगा तथा भैँसीको छाला उद्योग कम्पाउन्डमै खुल्ला सुकाउँदा दुर्गन्ध फैलिने गरेको छ ।”

उद्योगबाट निस्कने दुर्गन्धले घरमा पाहुना आउन नमान्ने अर्का स्थानीय मोहम्मद सलमानले बताए । प्रदूषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले सम्बन्धित निकायहरुमा उजुरी दिएका छन् ।

दुहबी नगरपालिकाको न्यायिक समितिमा स्थानीयले दिएको उजुरीपछि उपप्रमुख सहितको टोलीले उद्योगको अनुगमन गरेको नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताइन् । अनुगमनका क्रममा दुर्गन्धित रूपमा सञ्चालित उद्योग मापदण्ड विपरीत पाइएको उनले जानकारी दिइन् ।

उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्ने उनको भनाइ छ । अनुगमनका क्रममा उद्योग सञ्चालकलाई भेट्न नसकिएको र अहिलेसम्म सम्पर्कमा नआएको उनले बताइन् ।

उद्योगको कागजपत्र समेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेकाले सञ्चालकलाई कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले बताए । २० वर्षदेखि सञ्चालनमा रहेका ती उद्योग बीचमा बन्द हुँदै फेरि सञ्चालनमा ल्याउने गरेको सुनसरी दुहबी–६ का वडाअध्यक्ष घनश्याम हलुवाईले बताए । विगतमा पनि मापदण्डविपरीत सञ्चालन गरेकाले ती उद्योगलाई जरिवाना गरिएको थियो ।

बागलुङ पहिरोः तीनजना बेपत्ता

गलकोट – बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीनजना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताए । केही क्षण्मा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए ।

स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता

सिर्जना बस्नेत
प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् । विश्वका एक सय २० भन्दा बढी देशहरुमा स्तनपान सप्ताहलाई उत्सवका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ अगस्त देखि ७ अगस्त २०२४) सम्म विश्व स्तनपान सप्ताह मनाइँदैछ ।


वल्र्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले एकसाथ जीवनको पहिलो छ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापी रूपमा मनाउने गरिएको छ । यो उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूबीच जागरुकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । यस वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ रहेबाट पनि स्तनपानमा सबैको सहयोग र सहभागिता आवश्यकतालाई प्रस्ट हुन्छ ।


सरकारी कार्यालयको मुख्य प्रवेशद्वारमा नै ‘विश्व स्तनपान सप्ताह’ लेखिएको ब्यानर झुन्डिएका छन् । त्यही सरकारी कार्यालयमा सेवा लिन पुगेकी महिलाले काखमा बोकेको दूधे बालकलाई दूध चुसाउन कति सहज वातावरणको व्यवस्थापन गरेका छाँै भन्ने चाहिँ कहिल्यै बहसको विषय बनेको पाइँदैन । म स्वयम् स्तनपान गराउने आमा भएका कारण पनि आमाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउन भोग्नु परेको सास्तीहरुको नमीठो घटनाहरुको स्वाद चाखेको छु । म जस्ता धेरै आमाहरुले आफ्ना सन्तानलाई चाहेर पनि स्तनपान गराउन पाइरहेका छैनन् ।


केही दिनअघि काखमा नौमहिने छोरी च्यापेर राष्ट्रिय वाणिज्य बैङ्कको काउन्टरमा लाइनमा उभिएकी एक महिलाको दुवै स्तनबाट दूध बगेर कुर्ता भिजेको प्रस्ट देखिएको थियो । लाइनमा महिलाहरुको भन्दा पुरुषहरुको सङ्ख्या धेरै थियो । उनले बच्चालाई दूध चुसाउन अप्ठ्यारो महसुस गरिरहेकी थिइन् । नजिकै कतै पनि बच्चालाई दूध चुसाउन मिल्ने गोप्य कोठाको व्यवस्था थिएन ।


एकातिर आमाको दूध गानिएर कुर्ता भिजेको थियो भने अर्काेतिर दूधे बालकको घाँटी सुकेर रोइरहेको थियो । लाइनमा उभिएकी महिलाको बच्चा हेरचाह गर्न साथी आएकी अर्की बहिनीले बट्टाको दूध बच्चालाई खुवाउँदै गर्दा आफूले ओढेको सलको फेरले उनले भिजेका स्तन छोपेर उनी लाइनबाटै काखे बच्चाले बोतलमा दूध पिएको हेरिरहिन् ।


यस्तै, अर्को घटनाले पनि मलाई निकै असजिलो बनायो । अठार महिने छोरालाई साथमा लिएर नगरपालिकामा जग्गाको तिरे तिर्न आएकी एक महिलालाई उसको छोराले कुर्ताको फेर तानेर लाइनबाट बाहिर निस्कन कर गर्दै थियो । १८ महिने बालकलाई सायद आमाले सिकाइएको थियो होला मान्छेहरुको अगाडि दूध खान हुँदैन भनेर । बारम्बार छोरालाई सम्झाउँदा सम्झाउँदै पनि बालक मानिरहेको थिएन ।


बालकको जिद्दी र रुवाइको अगाडि ती महिलाको केही लागेन । उनी लाइनबाट बाहिर निस्किएर धेरैबेर यताउता आँखा डुलाइन । जति आँखा डुलाए पनि उनले बालकलाई दूध चुसाउने गोप्य कोठा वा ठाउँ फेला पार्न सकिनन् । गर्मीको समय अनि बालकको रुवाइले झर्किएर उनले गेटमा टाँगिएको ‘विश्व स्तनपान सप्ताह’ ब्यानरको पछाडिपट्टि छेकिएर बालकलाई दूध चुसाइन् ।


यस्ता प्रतिनिधि घटनाहरु दैनिक आँखाकै अगाडि ठोक्किन आउने पात्रहरुका बाध्यताहरु हुन् । सरकारी कार्यालय, सार्वजनिक जमघट हुने स्थान, पार्क, विद्यालय, होटल रेस्टुरेन्ट तथा पाटी प्यालेसहरुमा समेत स्तनपान कक्षको छुट्टै व्यवस्था नहुँदा दूधे बालकमा आमाहरु बच्चालाई दूध चुसाउन असहज महसुस गर्दछन् । ग्राहकको रुचि र मागलाई ध्यानमा राखेर होटलहरुमा धुम्रपान कक्षको व्यवस्था गर्न ध्यान पुग्ने होटल सञ्चालकहरुले पनि बच्चाका आमा पनि ग्राहक हुन्छन् अनि बच्चालाई दूध चुसाउने गोप्य कोठाको व्यवस्थामा पनि गर्नु पर्दछन् भन्नेमा ध्यान पुगेको छैन ।


कानुनमा स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छभने आवश्यक परेमा चिकित्सकको रायसल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ । ऐनमा सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ ।


त्यस्तै, हरेक कार्यालय, स्कुल, बसपार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ । किशोर अवस्थामा छातीमा स्तनको आकार आएदेखि नै सल वा पछ्यौराले छापेर हिँड्न सिकेका हुन्छौँ । विवाहपछि बच्चालाई खुला रुपमा धेरै जनाको अगाडि नै स्तनपान गराउन लाज र सङ्कोचले गर्दा असहज मान्नु स्वाभाविक नै हो । स्तन भनेको महिलाको गोप्य अङ्ग नै मानिएको छ । गोप्य अङ्ग सार्वजनिक ठाउमा देखाउनु लाजको विषय हो । गर्भवतीले गर्भधारण गरेदेखि नै बच्चालाई स्तनपान गराउने सपना देख्न थालिसकेकी हुन्छिन् ।  स्तनपान नवजात शिशुको लागि अमृत जत्तिकै हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्र नै प्रारम्भिक स्तनपान गराइन्छ । प्रारम्भिक स्तनपानमा सुत्केरी भएको एक घण्टाभित्रको बाक्लो बिगौती दूध खुवाउँदा बच्चाको शरीरमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुन ठूलो योगदान पुग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।


त्यसैगरी, बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पूर्ण स्तनपानको सूचकका रुपमा लिन सकिन्छ । छ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा आठदेखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् । शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास चाँडो हुने र स्वस्थ रहन्छन् ।


विशेषगरी कामकाजी महिलाहरुले बच्चालाई पूर्ण स्तनपान गराउन नसक्नु अहिलेको मुख्य समस्या हुन पुगेको छ । सुत्केरी बिदा सकिएर कार्यालय फर्किंदा उनको अगाडि कामको थुप्रो थुपारिएको हुन्छ । दिनको एक घण्टा बच्चालाई भेट्ने समय निकाल्न महिला कर्मचारीका लागि निकै मुस्किलको विषय बनेको छ । कार्यालयमा पुरुष कर्मचारीको सङ्ख्याभन्दा महिला कर्मचारीको सङ्ख्या धेरै भए पनि महिनावारी हुँदा, गर्भवती हुँदा वा सुत्केरी भइसकेर बच्चालाई दूध चुसाउने छुट्टै कोठाको व्यवस्था नहुँदा कामकाजी महिलाले बच्चालाई पूर्ण स्तनपान गराउन सकेका छैनन् ।


सुत्केरी बिदा सकेर कार्यालय फर्किएदेखि नै बट्टाको तयारी दूध खुवाएर बच्चाको पेट भर्नुपर्ने कामकाजी महिलाको बाध्यता रहेको छ । सुत्केरी बिदा बस्दा घरमा सहजरुपमा स्तनपान गराए पनि कामकाजी महिलाले कार्यालयमा स्तनपान कक्षा वा बच्चा स्याहार कोठाको छुट्टै व्यवस्था भएको पाइँदैन । दूध चुसाउने आमाहरु बच्चा लिएर यात्रामा होस् वा अन्य कुनै कामको सिलसिलामा घर बाहिर निस्कन प¥यो भने स्तनपान गराउने गोप्य कोठाको अभावमा बच्चालाई बोतलको दूध चुसाउन बाध्य हुन्छिन् ।


कार्यालयमा स्तपान कक्ष तथा शिशु स्वाहार कक्षको व्यवस्था हुने भए हेरालु राखेर भए पनि  कामकाजी महिलाले समयसमयमा बच्चालाई स्तपान गराउन सक्नेछन् । सार्वजनिक स्थान, सरकारी कार्यालय, विद्यालय, होटल तथा रेस्टुरेन्टहरुमा पनि स्तनपान कक्षको व्यवस्था हुने हो भने दूधे बालककी आमाले निर्धक्क दूध चुसाउन सक्ने थिइन् । अहिलेका नाबालक शिशुहरुले आमाको पूर्ण स्तनपान गर्न नपाए शारीरिक तथा मानसिक रोगको सिकार हुन सक्ने जोखिम हुन्छ ।


विश्व स्वास्थ्य सङ्गठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाहरुले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ । पछिल्लो समय शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको चाँडो विकास हुने भ्रमले कतिपय महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढ्न गएको चिकित्सकहरुको भनाइ छ । यस्ता गलत विचारहरुको अन्त्यका लागि पनि दिवस, सप्ताहहरुको सान्दर्भिकता देखाउँछ । प्रत्येक वर्ष उत्सवका रुपमा विश्व स्तनपान सप्ताह’ मनाउनुको मर्म त्यति बेला पूरा हुनेछ, जतिबेला एउटी आमाले बिना सङ्कोच आफ्ना सन्तानहरुलाई सार्वजनिक ठाउँहरुमा छुट्टै कोठामा बसेर स्तनपान गराउन सक्नेछिन् । सरकारी वा निजी कार्यालयको ढोकामा टाँगिएको ब्यानरले मात्रै कुनै अर्थ राख्दैन ।


(लेखक बालस्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील हुनुहुन्छ)

हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पुरा

जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताएका छन् ।

काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिएका हुन् ।

“युक्रेनमा रुसको आक्रमण र इजरायल र प्यालेस्टाइनबिचको बिग्रँदै गएको अवस्थाले अनगिन्ती निर्दोष मानिसहरूको ज्यान लिइरहेको छ र सामान्य मानिसको जीवनलाई ध्वस्त पारेको छ”, उनले भने ।

“यी विश्वव्यापी त्रासदीले राष्ट्रहरूबिच अविश्वास र डरलाई गहिरो बनाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय समस्या समाधान गर्न हामी सैन्य शक्तिमा भर पर्नुपर्छ भन्ने धारणालाई बलियो बनाउँछ ।”

सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकीले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसहरुको ज्यान गएको थियो । यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना हो ।

मङ्गलबार आयोजित समारोहमा प्रधानमन्त्री फुमियो किशिदासहित अन्य व्यक्तिहरुले पीडितको सम्झनामा हिरोसिमा स्मारकमा रहेको शिलालेखमा माल्यार्पण गरे ।

युक्रेन सङ्कटका कारण लगातार तेस्रो वर्ष रुस र बेलारुसलाई समारोहमा आमन्त्रित गरिएको थिएन ।
प्यालेस्टिनी लडाकु समूह हमासले देशमा गरेको आक्रमणपछि गत वर्ष इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि यो जापानी सहरमा आयोजित पहिलो शान्ति स्मारक हो ।

समारोहमा सधैँजसो इजरायली राजदूतको उपस्थिति थियो तर हिरोशिमाले प्यालेस्टिनी प्रतिनिधिलाई आमन्त्रित नगरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

सहरका एक अधिकारीले बताएअनुसार हिरोशिमाले इजरायललाई दिएको निमन्त्रणा पत्रमा “सकेसम्म चाँडो युद्धविराम र वार्ताको माध्यमबाट समाधान” को आह्वान गरेको थियो ।

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् ।

ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो ।

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका हुन् ।

यसैबीच, बङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गरेका छन् ।

महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उनले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गरे ।

मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाई समेत तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जनाएका छन् ।

हनुमन्ते नदी पस्यो बस्तीमा

भक्तपुर – भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ । जिल्लाको हनुमानघाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थान लगायतका क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराहीस्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो ।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।

भक्तपुरका विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सर्तकता तहमा पुगेको र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्क रहन सन्देश एवं सूचना जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न प्रशासनले सुरक्षा निकाय, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखेको जानकारी दिँदै प्राकृतिक विपत्ति परेको स्थानमा आधा घन्टामै सुरक्षा निकायको टोली पुगेर उद्धार गर्ने, जोखिम रोकथाम र राहत सामग्री वितरण गर्दै आएको बताइन् ।

गडेधारा बस्तीका नागरिक पानी परेसँगै त्रासमा

सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घरका बासिन्दा राति पानी पर्न थालेदेखि नै त्रासमा छन् । यही साउन १६ गते परेको वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोला र महादेव खोलामा आएको माटो मिसिएको बाढीसँगै माटोसहितको लेदो ३० घरभित्र पसेर पाँच फिटभन्दा बढी उचाइमा भुइँ तलाका सबै कोठा, आँगन र सडकमा माटो पुरिएपछि स्थानीय सोही घटना पुनः दोहरिएला भनेर रातिदेखि नै त्रासमा छन् ।

बस्तीमा घरभित्र १० फिट माथिसम्म पानी पस्दा एक तला घरको मानिस र भुइँ तलामा भाडामा बस्दै आएका करिब ३० परिवारको राति नै उद्धार गर्नुपर्दाको पीडा र करोडौँको भौतिक क्षति भएको एक साता नबित्दै पुनःपर्न थालेको भीषण वर्षाका कारण यहाँका बासिन्दा त्रसित अवस्थामा रहनुपरेको स्थानीय समाजसेवी एवं गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष अनिता पाण्डेले जानकारी दिइन् ।

उक्त दिनको हिलोसहितको बाढीले ३० घरको भुइँ तलाको चारदेखि छ फिटसम्मको उचाइमा भरिएको माटोले करोडौँको भौतिक सम्पत्ति नष्ट हुनुका साथै केही घरको पर्खालसमेत ढलेर क्षति पुर्याएको थियो ।

स्थानीयको भुइँ तलाका सम्पूर्ण सामान नष्ट भएका छन् भने गाडी र मोटरसाइकल तथा स्कुटर पूर्णरुपमा डुबेर क्षति पुर्याएको भन्दै उनले भनिन् , “राति १ बजे अगाडि नै हामी भुइँ तलाका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा लग्यौँ, प्रमुख जिल्ला अधिकारीको पहलमा सुरक्षाकर्मीलगायतको टोलीले उद्धार गरेका थियौँ ।”

आज पुनःखोलामा आएको बाढीले खोलामा दुई दिन अगाडि लगाइएको ढुङ्गाको पर्खालसमेत भत्काइरहेको जनाउँदै उनले पुनः बाढी बस्तीमा पसेर नोक्सान गर्ला भन्ने त्रासमा यहाँका करिब ३५ घरका बासिन्दा त्रासमा रहेको बताइन् ।

यहाँका ३० घरमा १६ गते राति पसेको माटोमा सबै स्थानीय र राष्ट्रिय युवा सङ्घका ३५ जनाको टोलीले दिनभर सफा गरे पनि भुइँमा अझै माटो तथा पानी आएकाले अझै निरन्तर सफाइ गरिरहेको अवस्थामा पुनः हिलो र पानी पस्ने त्रास रहेको उनले बताइन् ।

राष्ट्रिय युवा सङ्घ भक्तपुरका अध्यक्ष रविन थापाले गडेधारा बस्तीमा १६ गते रातीको वर्षाले करोडौँको क्षति पुगेको जनाउँदै युवा सङ्घले दिनभर यहाँका बासिन्दाको घरघरमा डुबेका सामान निकाल्ने र कोठाबाट माटो निकालेर सफा गरेको बताइन् ।

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनास्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा चार जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम बिक, उनका छोरा वर्ष ४६ का गोरे बिक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन् ।

त्यस्तै पहिरोले पुरेर ३१ वर्षका विष्णु विक र उनकी श्रीमती २३ वर्षकी मुना विक घाइते भएकी छन् । घाइतेलाई उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको छ ।

पहिरोले पुरिएर गुल्मीमा ४ जनाको मृत्यु ,२ घाइते

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २३ वर्षकी मुना विक र ३२ वर्षकी विष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए।

डेंगु संक्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।


गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् ।


काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७,  झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् ।


त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।

वर्षाले हवाई उडान प्रभावित

काठमाडौँ – गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताउनुभयो । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

काठमाडौँ – देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् ।

त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।

अहिलको सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गछौँ : प्रकाशमान सिंह

काठमाडौँ – उपप्रधान एवं सहरी बिकास मन्त्री प्रकाशमान सिंहले अहिलकोे सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलमा सिंहले पटक पटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुइ दल मिलेर सरकार बनाएको र वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका हुन् ।

वर्तमान सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्ने उहाले बताए । सिंहले राजनीतिक स्थायित्व र स्थीरताको जगमा मुलुकको परिवर्तन गर्न ध्यान केन्द्रीत गर्ने धारणा राखे ।

यस्तै उपप्रधानमन्त्री सिंहले देशभरका सहरी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न नीतिगत सुधारका साथ अघि बढ्ने उल्लेख गरे ।

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

काठमाडौँ – सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु. दुई हजार तीन सयले घटेको छ ।

सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु. ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु. एक हजार सात सय २५ निर्धारण भएको छ ।

बाढी पहिरोले १५ जिल्लाका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

काठमाडौं । अबिरल वर्षाले देशका विभिन्न सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान बुलेटिन जारी गरी अबिरल वर्षाका कारण बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो ।

प्रहरीले संखुवासभा, सुनसरी, महोत्तरी, दोलखा, मकवानपुर, सिन्धुपाल्चोक, म्याग्दी, बागलुङ, प्यूठान, दाङ र रुकुम पश्चिममा पहिरो गई विभिन्न सडक अवरुद्ध भएका जानकारी दिएको छ ।

बागलुङको बडिगाडमा पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् ।

विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नम्बर ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए ।

अबिरल वर्षाले काठमाडौँ उपत्यकाका नदी तथा खोलामा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी आएको छ ।  बाग्मती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

जसका कारण पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरुलाई बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । 

विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  मुसलधारे वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी र पहिरोको  क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।

उद्योगपति अग्रवालको निधन

काठमाडौँ । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । पशुपति आर्यघाटमा आजै उनको अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ ।

हनुमन्ते खोलाले जलसतहको तह पार गर्यो, सतर्कता अपनाउन आग्रह

भक्तपुर । भक्तपुरमा हनुमन्ते खोलामा जलसतहको तह पार गरेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार आज बिहान १०ः३० बजे गरिएको मापनमा भक्तपुर जिल्लाको हनुमन्ते खोला जगाती बाढी मापन केन्द्रमा हाल जलसतहले सतर्कता तह पार गरेको र बढदो क्रममा रहेको छ ।

विभागले पानीको सहत बढदो क्रममा रहेको जनाउँदै हनुमन्ते खोला नदी तटीय क्षेत्रमा रहेका सबैलाई आज बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन सूचित समेत गरेको छ । हरेकवर्ष हनुमन्तेले भक्तपुरका विभिन्न क्षेत्र डुवानमा पार्दै आएको छ ।

पेरिस ओलम्पिकमा अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा

सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र आठ कास्यसहित ३३ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कास्यसहित कुल ४२ पदक जितेको छ ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले १० स्वर्ण, पाँच रजत र ११ कास्यसहित २६ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र छ कास्यसहित कुल २५ पदक जितेको छ भने नेदरल्यान्डसले सात स्वर्ण, पाँच रजत र पाँच कास्यसहित कुल १७ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले सात स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १६ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया रिहा हुने

बीबीसी । बाङ्ग्लादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ ।

७६ वर्षकी हसिना देश छोडेर भारत पुगेकी छन् । सेनाप्रमुखले अन्तरिम सरकार गठन घोषणा गरेको केही घण्टापछि सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन् । राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।

शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन् । बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए । तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ ।

हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ। यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ । बाङ्ग्लादेशमा कैयौँ पटक सैन्य कू भएको थियो। सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो ।

पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ । युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ गर्न आग्रह गरेको छ ।

यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन । हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन् ।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन् । हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन् ।

बांग्लादेशलाई हेरेर नेपालका राजनीति दलहरूले आँखा खोल्ने कि ?

डा. युवराज संग्रौला ।
बाङ्लादेशको राजनीति परिदृश्य स्वाभाविक होइन । यसका दुई पाटा छन् । शेख हसिनाको सरकार डुबेको थियो, भ्रष्टाचारमा । आर्थिक विकास राम्रो भयो, तर त्यसले अकल्पनीय ‘आम्दानी आसमानता’ जन्मायो । गजबको कुरा त ‘यो असमानताको सम्बोधन गर्ने होइन, सहिदका नाममा आरक्षणको गलत बाटो यो सरकारले लियो र जमाइते स्लाम जस्तो घोर दक्षिण पन्थी शक्तिले खेल्ने मौका पायो । एकवर्ष अगाडि म बाङ्लादेश ‘चिटगंङ्ग इन्डिपेन्डेन्ट युनिभर्सिटी’ हुँदा, त्यहाँका विद्यार्थीमा भुसको आगो जस्तो बढिरहेको आक्रोश र निरासा देख्न सक्थें । जतिबेला जहाँपनि बोलिन्थ्यो ‘बङ्गबन्धु।’ यो कुरा शेख हसिना सरकारको लोकतन्त्र बिरोधी चरित्र थियो, जो आजको दिन निर्माण गर्न जिम्मेवार छ । तर उनले यो बुझिनन्, उनी आफ्नो ताकत अपराजयी ठान्थिन् । चाटुकारहरुले घेरेका थिए ।

दोस्रो कारण ‘विदेशी’ को दादागिरीमाथि शेख हसिनाले सम्झौताहीन लडाइँ लडेकै हो । विदेशी एनजिओ माथिको शक्ति र विदेशी गतिविधि माथिको नियन्त्रण उनको सही निर्णय थियो । तर पछिल्लो पटक उनी जनताको समर्थन लिन असफल रहिन् । उनलाई समर्थन र सहयोग गर्ने विज्ञहरुलाई चाटुकार पदखोरले हटाए, परिणाम उनी जे रोक्न चाहन्थिन् त्यही बलियो भयो । सैनिक र प्रहरी जनता विरोधी थिए र भ्रष्ट थिए । उनीहरुले मुख बन्द गरे, जनताको । यस्तो लाग्थ्यो, बांङ्लादेश सैनिक शासन अन्तर्गत छ । मेरो एकजना ‘बिएनपी’ समर्थक साथी थियो । मैले उनलाई भेटें । मेरो आवामी लिगको साथलीले मन पराएन । बिएनपीलाई समाप्त पार्ने काम हसिनाले गरिन् र भारतको यसमा समर्थन रह्यो । यस बीचबाट जन्मियो कट्टरपन्थी ‘जमाइते इस्लाम।’

१. भारतले साना छिमेकी साना देशलाई नागरिकतन्त्र र स्वतन्त्र विदेश नीति विकास गर्न मद्दत गर्नुपर्छ । यो आन्दोलन बाहिर हसिना विरुद्ध र भित्र भारतको हसिनालाई निरंकुश हुन सहयोग गर्ने नीतिकाविरुद्ध पनि छ, जसको फाइदा पश्चिमी शक्तिहरुले लिए । भारतले आफू बलियो हुन आफना साना छिमेकीलाई स्वतन्त्र शासन गर्न सहयोग गर्नुपर्छ । बांङ्लादेशको जनजाति समूहलाई क्रिश्चियन बनाउन पश्चिमीहरु लागेका छन्, र वे अफ बंगालमा विदेशी सैनिक अखडा बनाउन अब उनीहरुलाई सजिलो हुनेछ ।

२. नेपालका राजनीति दलहरूले आँखा खोल्ने बेला आयो । राजनीतिक गिमिक बन्द गर्नुहोस् । विज्ञहरुलाई देशका लागि काम गर्ने अवसर प्रदान गर्नुहोस् । तपाईंहरुसँग जनता निरास छन् । शेख हसिना विगत ५÷७ वर्षदेखि चाटुकारहरुबाट घेरिएकी थिइन् । शुरु शुरुका दिनमा उनले त्यस्ता मानिस रोजिन्, जो अब्बल बौद्धिक थिए। तर बिस्तारै चाटुकारहरुले घेरे। तपाईंहरुका वरिपरि यस्तै मानिस छन् । यिनीहरु मुस्किलका दिन पहिलानै भागिसकेका हुन्छन् । तपाईंहरुका मानिसलाई राजनीतिका नाममा दुष्ट खेल थाहा छ । राज्य खेलले चल्दैन ।

४. यो अचम्म हुनेछैन यो क्रम रहिरह्यो भने मान्छे तपाईंहरुका दरवारमा पनि छिर्नेछन् ।

५. तत्काल भ्रष्टाचारिहरुमाथि कार्बाही गर्ने काम थाल्नुहोस् । गर्न सक्नेलाई काम दिनुहोस्, तपाईंको दलको होस् वा नहोस् । शिक्षाको नयाँ मोडेल शुरु गर्नुहोस् र गर्न सक्नेलाई जिम्मा दिनुहोस् । केही व्यापारीका कब्जामा परेको अर्थतन्त्रलाई जोगाएर गरीबलाई गरिखाने बाटो दिनुहोस् । जनता औषधि नपाएर मरिरहेका छन् । गरीबलाई बाँच्न दिनुहोस् । नेपाली किसान मरिरहेका छन् । उनीहरुको उत्पादनको दाम पनि छैन बजार पनि छैन । शासन गर्नेहरु बिचौलियालाई अनुदान दिएरहेका छन् । खोज्नुहोस् पाउनुहुनेछ उदाहरणहरु ।

६. आयात बढाएर भान्सार लिने, यसरी बस्तुको मुल्य मंहङ्गो पार्ने, अनि त्यही बस्तु महंगोमा बेचेर गरीबसँग कर लिने ! जनतालाइ करको भारी बोकाएर मार्ने ! कस्तो छ शासन ? यही हो समाजवादउन्मुख व्यवस्था ? तपाईंहरुका वरिपरि गतिला मान्छे छैनन् । देशको तलको ४०% मानिससँग् ३/४ % मात्र धन छ । तर मथिल्लो १० प्रतिशतसँग ६०% भन्दा ज्यादा धन छ । यही १० प्रतिशतले राज्यमा मोज गरिरहेको छ । यही १० प्रतिशतले काठमाडौंमा गरीबलाई सहेन । यो असमानता किन देख्नु हुन्न ? अनि जनता आजित भएर मदारीहरुको पछाडि कुदिरहेका छन् ।

७. नेपाली जनताले रगत पसिनाले कमाएको थोरै आम्दानी शिक्षा र स्वास्थमा सकिन्छ । तर राज्य विद्यार्थी फेल हुँदा खुसी मान्छ, किन ? शिक्षा र स्वास्थलाई राज्यको दायित्व बनाउ र खर्च तपाईंहरुले काम बिना लिएको पैसाबाट मिलाउ ।
हामी तातो हावाको आक्रमणको चुनौतीमा छौं । इरान र इजरायलको द्वन्द्वले लाखौं मानिस संकटमा पर्न सक्छन् । भारतमा हुने कृषि नीतिको फेरबदलले हामी खाद्यान्नको संकटमा पर्न सक्छौं । तर संकटको समाधान गर्ने मानिसको अभाव छ । बौद्धिकहरु निराश छन् । कता जान्छ देश ? बाङ्लादेशको प्रभाव पर्ने नै छ । त्यो भन्दा पहिला शासन व्यवस्थालाई नागरिकतन्त्रीय बनाउने कुरा सोच्नुहोस् ताकी चाकरी गर्ने कर्मचारी र चाटुकार सल्लाहकारले ‘मानिसलाई तपाईंहरुका कोठामा आमन्त्रण नगरुन् ।’ तपाईंहरुको अवस्था बलियो छैन । सुराज्य निर्माणको बाटो कोर्न सक्षमलाई बाटो खोल्नुहोस् । सधैं प्रतीक्षा हुन सक्तैन ।

किन देशै छाड्न बाध्य भइन् हसिना ?

बाङ्ग्लादेशमा गत जनवरीमा  भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन्। सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नु पर्यो। यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन। उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन्। विपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा उनको र उनको दल अवामी लीगको विजय निश्चितप्रायः थियो।

विपक्षी बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) र त्यसका साझेदारहरूले हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउँछिन् भन्नेमा विश्वास नभएको बताएका थिए।  उनीहरूले प्रधानमन्त्रीले पद छाड्नुपर्ने र तटस्थ अन्तरिम सरकार गठन गरेर त्यसमार्फत् निर्वाचन गराइनुपर्ने माग राखेका थिए। उनले ती माग अस्वीकार गरेकी थिइन्। उनी देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो।

त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए। सन् १९८१ मा उनीहरू स्वदेश फर्किए। अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बन्यो। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भइन्। सन् २००९ यता उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

चुनावमा धाँधली गरेको आरोप उनी र उनको पार्टीमाथि लागेको थियो। अवामी लीगले ती आरोपहरू अस्वीकार गर्दै आएको छ। हसिना विदेश पलायन भएपछि राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरे। देशका विभिन्न स्थानमा आन्दोलन गर्न सडकमा भेला भएका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा प्रवेश गरेर हर्षोल्लास गरेका छन्। केही आन्दोलनकारीले देशका संस्थापक नेता शेख मुजिबुर रहमानको प्रतिमा तोडफोड गरेका छन्।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो। शेख हसिनाका समर्थकहरू उनले बाङ्ग्लादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।  ‘यो देशमा प्रजातन्त्र कायम रहनुपर्छ भन्ने प्रत्याभूत गराउन मैले यथाशक्य प्रयास गर्दै आएकी छु,’ आफूले गत जनवरीमा मतदान गरेपछि हसिनाले सञ्चारकर्मीहरूसँग भनेकी थिइन्।

भारत पलायन
हसिना ढाकाबाट हेलिकप्टर चढेर भारतको त्रिपुरा राजधानी अगरतलातिर गएको विवरण आएको थियो। पदत्याग गर्नुअघि उनको भारतसँग कस्तो सल्लाह भयो भन्ने स्पष्ट भइसकेको छैन। तर उनको भारतसँग राम्रो सम्बन्ध भएको मानिन्छ। झन्डै १७ करोड जनसङ्ख्या रहेको मुस्लिमबहुल बाङ्ग्लादेशलाई तीनतिर भारतले घेरेको छ। बाङ्ग्लादेशको दक्षिणपूर्वमा २७१ किलोमिटर सीमा मात्र म्यान्मारसँग जोडिएको छ। भारतका लागि बाङ्ग्लादेश छिमेकी मुलुक मात्रै होइन, रणनीतिक साझेदार र निकटको सहयोगी पनि हो। पूर्वोत्तरका भारतीय राज्यहरूको सुरक्षाका लागि बाङ्ग्लादेशसँगको सम्बन्धले महत्त्व राख्छ। त्यसैले भारतीय नीतिनिर्माताहरू बाङ्ग्लादेशमा भारतअनुकूल सरकार हुनुपर्ने मान्यता राख्छन्।

सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेकी थिइन्। दिल्ली फेरि उनलाई शक्तिमा आएको देख्न चाहन्छ भन्ने कुरा लुकेको छैन। हसिनाले सधैँ दिल्लीसँग ढाकाको निकट सम्बन्धको महत्त्वमा जोड दिँदै आएकी थिइन्। सन् २०२२ मा दिल्ली भ्रमणका क्रममा उनले बाङ्ग्लादेशको स्वतन्त्रतामा भारत सरकार, भारतीय जनता र सुरक्षा फौजले सहयोग गरेको स्मरण गर्दै बाङ्ग्लादेशले कहिल्यै पनि भारतलाई भुल्नु नहुने बताएकी थिइन्।

विपक्षी बीएनपीले भने हसिनाको दल अवामी लीगलाई भारतले दिएको समर्थनका लागि कडा आलोचना गर्ने गरेको छ। ‘भारतले बाङ्ग्लादेशको एउटा दललाई होइन, यहाँका जनतालाई समर्थन गर्नुपर्छ। दुर्भाग्यवश भारतका नीतिनिर्माताहरू बाङ्ग्लादेशमा प्रजातन्त्र चाहन्नन्,’ बीएनपीका वरिष्ठ नेता रुहुल कबिर रिज्वीले निर्वाचनअघि बीबीसीका अनबरसन इतिराजनलाई बताएका थिए। रिज्वी दिल्लीले खुला रूपमा हसिना र ‘नक्कली चुनाव’को समर्थन गरेर ‘बाङ्ग्लादेशका जनतालाई एक्ल्याएको’ आरोप लगाएका थिए।

अतिवादी इस्लामिस्ट समूहको डर
बाङ्ग्लादेशमा शेख हसिना निर्वाचित नभए अतिवादी इस्लामिस्ट समूह सत्तामा फर्किने त्रासमा दिल्ली भएको ठानिएको थियो।  बीएनपी र जमात-ए-इस्लामी दलले बाङ्ग्लादेशमा इस्लामिस्ट समूहहरूलाई प्रभावशाली बनाउन सजिलो बनाइदिन्छन् कि भन्नेमा भारतको गम्भीर चासो थियो। सन् २००१ देखि २००६ सम्म उक्त गठबन्धन सत्तामा रहँदा त्यस्तो अवस्था बनेको थियो।  ‘उनीहरूले त्यस बेला विभिन्न उद्देश्यका लागि कैयौँ जिहादी समूहलाई अगाडि बढ्ने मौका दिएका थिए। सन् २००४ मा हसिनाको हत्या प्रयास भएको थियो भने पाकिस्तानबाट आएका १० ट्रकभन्दा बढी हतियार बरामद गरिएको थियो,’ निर्वाचनअघि ढाकाका लागि भारतका पूर्वराजदूत पिनाकरञ्जन चक्रवर्तीले भनेका थिए। सन् २००९ मा सत्तामा आएपछि हसिनाले बाङ्ग्लादेशभित्रबाट भारतको उत्तरपूर्वी राज्यहरूमा विद्रोह गरिरहेका विद्रोही समूहमाथि कारबाही गरेर दिल्लीको विश्वास जितिन्।

भारत र बाङ्लादेशबीच निकट सांस्कृतिक, जातीय र भाषिक सम्बन्ध छ। दिल्लीले सन् १९७१ मा पाकिस्तानबाट बाङ्ग्लादेशलाई स्वतन्त्र हुन प्रमुख भूमिका खेलेको थियो। त्यस बेला उसले बङ्गाली फौजलाई सहयोग गर्न आफ्नो सेना पनि पठाएको थियो। भारतले बाङ्ग्लादेशलाई पूर्वाधारहरू निर्माण गर्न सन् २०१० यता सात अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराएको छ। तर दशकौँदेखि पानीको प्रयोगबारे दुई देशबीच द्वन्द्व चलिरहेको छ र एकअर्काको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको भन्ने पनि आरोप लाग्ने गरेको छ।

ढाकास्थित सेन्टर फोर पोलसी डाइअलगकी वरिष्ठ फेलो देवप्रिया भट्टाचार्यका अनुसार ‘बाङ्ग्लादेशमा भारतको छवि त्यति राम्रो छैन’। ‘बाङ्ग्लादेशले भारतबाट असल छिमेकीको जस्तो व्यवहार नपाएको भन्ने धारणा छ र त्यो चाहिँ पूर्ण रूपमा प्रजातान्त्रिक वैधताप्राप्त सरकार नभएकाले हामीले पाउनुपर्ने समान अधिकार प्राप्त हुन नसकेको हो कि भन्ने पनि छ,’ निर्वाचनअघि उनले भनेकी थिइन्। भारतले बाङ्ग्लादेश हुँदै उसका पूर्वोत्तर राज्यहरूमा सडक, जल र रेल मार्गमार्फत् ढुवानीको सुविधा पाउँदै आएको छ। तर बाङ्ग्लादेशले अझै पनि भूपरिवेष्टित मुलुकहरू नेपाल र भुटानसँग त्यस्तै खाले यातायातको पहुँच नपाएको आलोचकहरू बताउँछन्।

ढाकामा आफूअनुकूल सरकार हुनुमा भारतका अन्य रणनीतिक कारणहरू पनि छन्। दिल्लीले बाङ्ग्लादेश हुँदै आफ्ना सातवटा पूर्वोत्तर राज्यका लागि सडक र जल यातायातमा पहुँच चाहन्छ। अहिले भारतको मुख्य भूमिबाट उसको पूर्वोत्तरमा सडक र रेल सञ्जाल ‘चिकेन नेक’ पनि भनिने नेपाल, बाङ्ग्लादेश र भुटानबीचको २० किलोमिटर भूमिबाट जोडिएको छ। दिल्लीका अधिकारीहरूलाई भारतको प्रतिद्वन्द्वी चीनसँगको सम्भावित द्वन्द्वमा यो क्षेत्र रणनीतिक रूपमा कमजोर हुन सक्ने डर छ। कैयौँ पश्चिमा देशहरूले बाङ्ग्लादेशी अधिकारीहरूमाथि मानवाधिकार हनन र गैरन्यायिक हत्याको आरोपमा थप प्रतिबन्ध लगाउन चाहेका भए पनि भारतले त्यसलाई प्रत्युत्पादक हुन सक्ने भन्दै रोक्दै आएको छ। बेइजिङ पनि उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न बाङ्ग्लादेशमा आफ्नो उपस्थिति बढाउन चाहन्छ। दिल्लीसँग सम्भावित द्वन्द्व भए बाङ्ग्लादेशले चीनसँग सम्बन्ध सुधार गर्न सक्ने दिल्लीका अधिकारीहरूलाई डर छ। दुई सरकारबीच घनिष्ठ सम्बन्ध भए पनि भारतको कुरा आउँदा केही बाङ्लादेशीहरू शङ्का गर्ने गर्छन्।

बीबीसीबाट

बङ्गलादेश अन्दोलनको प्रभाव : काँकरभिट्टा नाकामै रोकिए कन्टेनर

भद्रपुर (झापा) । बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरि सोमबारदेखि तीन दिनका लागि बन्द भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशिय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् ।

त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन् । ‘बङ्गलादेशमा फेरी आन्दोलनले उग्र रुप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन’, उनले भने ।

पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ११ दिनमा रु एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ मूल्य बराबरको सामग्री निर्यात र रु २० करोड ६५ लाख ६२ हजार ७३को आयात भएको छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाको तथ्याङ्क अनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्लादेश निर्यात हुन्छ ।

यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।

आन्दोलन चर्किँदै गएपछि बङ्गलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

परराष्ट्र मन्त्रालयले भन्यो-लेबनानमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सचेत छौं

काठमाडौँ । नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेका तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यकपरेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरूका आफन्तले कायरोस्थित नेपाली राजदूताबास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सम्पर्क ठेगाना सार्वजनिक गरेको छ ।

मन्त्रालयले दीपक घिमिरे, द्वितीय सचिव, नेपाली राजदूतावास, कायरोः २०१०९७७७२३४८, श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालयः ९७७९८४९१७९५२० लाई सम्पर्क गर्न अनुरोध गरेको छ  ।

साथै लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क https://eg.nepalembassy.gov.np/registration. of-nepali-nationals-in–lebahon/ मार्फत आवश्यक विवरण उपलब्ध गराउनुहुन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।