`

सिनवार हमास समूहको प्रमुख नियुक्त

गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ । गत अक्टोबर ७ मा गाजा युद्ध भड्काउने आक्रमणका मुख्य योजनाकारमध्ये एकका रूपमा इजरायलले सिनवारको नाम लिने गरेको छ ।

तेहरानमा हनियाको हत्यापछि इरानले प्रतिशोध लिने चेतावनी आइरहेका समय हमास समूहले यो घोषणा गरेको हो ।

इरानले हनियाको मृत्युको दोष इजरायललाई दिएको छ र घटनाको बदला लिने कसम खाएको छ भने हमासको लेबनानी सहयोगी हेजबुल्लाहले पनि बेरुतमा इजरायली आक्रमणमा हनिया र उहाँका सैन्य कमाण्डर फुआद शुकरको हत्याको बदला लिने प्रतिबद्धता जनाएको छ ।

सन् २०१७ देखि गाजामा हमासको नेतृत्व गर्दै आएका सिनवार र हनिया कतारमा बस्दै आएका थिए ।

हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार सिनवारको चयनले लडाकू समूहले ‘प्रतिरोधको बाटो जारी राखेको’ सन्देश दिएको छ ।

कब्जा गरिएको वेस्ट बैङ्कमा प्यालेस्टिनी प्राधिकरण सञ्चालन गर्ने प्रतिद्वन्द्वी फताह आन्दोलनको केन्द्रीय समितिका सचिव जिब्रिल राजौबले यो निर्णय ‘तार्किक र अपेक्षित’ भएको बताए ।

हेजबुल्लाहले सिनवारलाई बधाई दिँदै भनेको छ, “यो नियुक्तिले ‘हमासका नेता र अधिकारीहरूको हत्या गरेर शत्रु.नास्ने आफ्नो उद्देश्य हासिल गर्न इजरायल असफल भएको पुष्टि गर्छ ।

इजरायलका विदेशमन्त्री इजरायल काट्जले सिनवारको हमास प्रमुखमा भएको नियुक्तिपछि दिएको प्रतिक्रियामा भने, “सिनवारको नियुक्ति कुनै अनौठो नभएको र यो ती नेताको पनि छिट्टै अन्त्य हुने र हमासजस्तो घृणित सङ्गठनलाई ध्वस्त पार्ने अर्को बाध्यकारी कारण हुने बताउनुभएको छ ।”

विश्लेषकहरूका अनुसार सिनवार युद्धविराम सम्झौताका लागि हनियाभन्दा पनि बढी अनिच्छुक नेता हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पत्रकारहरूसँग कुरा गर्दै युद्धविरामका लागि सिनवारले सहयोग गर्ने बताएका छन् ।

यसैबीच, शुकरको मृत्यु भएको एक हप्ता नबित्दै हेजबुल्लाहका नेता हसन नसरल्लाहले टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो समूह र तेहरान हनिया र शुकरको मृत्युप्रति प्रतिक्रिया जनाउन बाध्य भएको बताए ।

हेरोइन तस्करी गरेको अभियोगमा सिंगापुरमा एकजनालाई मृत्युदण्ड

सिङ्गापुरले बुधबार लागुऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहले मृत्युदण्डको कुनै प्रमाणित अपराध निवारक प्रभाव नभएको बताउँदै यसलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

सिङ्गापुरका अधिकारीहरूले भने मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै यसले एसियाको सबैभन्दा सुरक्षित देश बनाउन मद्दत गरेकोमा जोड दिएका छन् ।

“दण्डित ५९ वर्षीय सिङ्गापुरका बासिन्दालाई ७ अगस्ट सन् २०२४ मा मृत्युदण्डको दिइएको हो,” सेन्ट्रल नार्कोटिक्स ब्युरो (सिएनबी) ले विज्ञप्तिमा जनाएको छ ।

उक्त व्यक्तिलाई ३५.८५ ग्रामभन्दा कम हेरोइनको तस्करी गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

सिङ्गापुरको लागुऔषध कानुनमा १५ ग्रामभन्दा बढी हेरोइन तस्करी गर्दा मृत्युदण्डको सजाय हुने प्रावधान रहेको छ । “उहाँलाई पूर्णरूपमा कानूनी उपचारको प्रक्रिया प्रदान गरिएको थियो र सम्पूर्ण प्रक्रियाभरी कानुनी सल्लाहकारद्वारा प्रतिनिधित्व गरिएको थियो,” सिएनबीले भन्यो ।

उनले आफूलाई लागेको आरोप र सजायबिरूद्ध पुनरावेदन गरेका थिए । तर पुनरावेदन अदालतले सन् २०२२ मे ११ मा उनको अपील खारेज गरेको हो । राष्ट्रपतिसमक्ष गरिएको क्षमायाचनाको अनुरोध पनि अस्वीकार गरिएको थियो ।

सिङ्गापुरमा एक हप्ताभन्दा कम समयमा मृत्युदण्ड दिइएको यो दोस्रो र यस वर्षको तेस्रो घटना हो ।

सिङ्गापुरका एक ४५ वर्षीय व्यक्तिलाई शुक्रबार ३६.९३ ग्राम हेरोइन तस्करी गरेको आरोपमा फाँसी दिइएको थियो ।

सिङ्गापुरमा गत फेब्रुअरीमा आफ्नो पूर्व मङ्गेतरको हत्या गरेको आरोपमा ३५ वर्षीय बङ्गलादेशी अहमद सलिमलाई फाँसीको सजाय दिइएको थियो ।

एएफपीको तथ्याङ्कअनुसार सिङ्गापुरले मार्च २०२२ मा मृत्युदण्डको सजाय पुनः कार्यान्वयन गरेदेखि मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १९ पुगेको छ ।

कोभिड–१९ महामारीको समयमा सिङ्गापुरले दुई वर्षका लागि मृत्युदण्डको सजाय स्थगित गरेको थियो ।

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाएका थिए ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाई दुर्घटना हुनु दुःखद् भएको बताए । 

गलेश्वरमा गतवर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मेलापर्वमा १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु ३८ लाख ६१ हजार छ सय ९२ भेटी सङ्कलन भएको जानकारी दिए ।

“गत आर्थिक वर्षसम्म कोषको आम्दानी भेटी, दान र बैङ्कको ब्याजसहित चार करोड ४१ लाख २५ हजार दुई सय २२ पुगेको छ,” उनले भने, “मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको छ ।”

भेटीसहित गत आर्थिक वर्षमा एक करोड ७६ लाख ४० हजार आठ सय ८४ आम्दानी गरेको कोषले विभिन्न शीर्षकमा ८० लाख ३५ हजार नौ सय ११ खर्च र ९६ लाख चार हजार नौ सय ७२ बचत गरेको कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।

भेटीबाहेक यज्ञ दर्ता शुल्क चार लाख १३ हजार छ सय ६७, यात्री निवास शुल्क पाँच लाख ७७ हजार छ सय ६५, ब्याज ८९ लाख ६९ हजार पाँच सय ६६, दान दातव्य ५५ लाख २२ हजार एक सय ४३ र भक्तजनहरुले चढाएको जिन्सी सामान बिक्रीबाट छ लाख २८ हजार आठ सय २५ सङ्कलन भएको छ । यसैगरी, पार्किङ शुल्क ११ हजार सात सय ५० र स्टल भाडा छ लाख ७६ हजार ६ सय ८५ आम्दानी भएको छ ।

यस वर्षको साउन महिनाको तेस्रो सोमबारसम्म १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । पहिलो सोमबार तीन लाख ७२ हजार तीन सय ७१, दोस्रो सोमबार तीन लाख ३६ हजार एक सय ८५ र तेस्रो सोमबार रु तीन लाख ६६ हजार दुई सय भेटी सङ्कलन भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले बताए ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका हुन् ।

गलेश्वर मन्दिरको आम्दानीबाट गत आर्थिक वर्षमा ज्येष्ठ नागरिक सभाहल बनाउन १५ लाख, जडभरत शालग्राम संस्कृत माविलाई पाँच लाख र गलेश्वर बजारमा सिसी टिभी जडान गर्न एक लाख ४३ हजार सहयोग गरेको कोषले जनाएको छ ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुने धार्मिक विश्वास छ । 

बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरेका छन् ।

कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा भारतको नयाँदिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई सम्बोधन गदै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा सहयोग बढाउन आग्रह गरे ।

मन्त्री भण्डारीले भने, ‘यो शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूबीचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र ऐक्यबद्धतामार्फत बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुनःस्थापना हो ।’

यो फोरम क्षेत्रभित्र व्यापार, लगानी, पर्यटन र ‘कनेक्टिभिटी’जस्ता क्षेत्रमा नेटवर्किङ र व्यापार सहयोग सुधार गर्न सहायक हुने मन्त्री भण्डारीले बताए ।

‘हामीले व्यापार, लगानी, दिगो कृषि अभ्यास, कनेक्टिभिटी, ऊर्जा र वातावरणीय सुरक्षा तथा जलवायु परिवर्तनका लागि अनुकूलन र न्यूनीकरण रणनीतिमा सुधारिएको सहयोगलाई प्राथमिकता दिनुपर्छ, बिम्स्टेकभित्रका हाम्रा सामूहिक प्रयासहरूले विविध र जीवन्त क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र साझा वृद्धि तथा विकासका अवसरहरूलाई बढावा दिने शक्ति छ’, उनले भने ।

सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ थियो । उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलन अघि पछिल्ला वर्षहरूमा लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया पनि सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको उल्लेख गरे ।

मन्त्री भण्डारीले भने, ‘प्राविधिक विकास, व्यापार गतिशीलता परिवर्तन र विकसित उपभोक्ता प्राथमिकताहरू सबैले विश्वव्यापी आर्थिक परिदृश्यमा द्रुत परिवर्तनमा योगदान पुर्याएको छ, क्षेत्रीय व्यापार र लगानी सम्झौताहरू यी परिवर्तनको राम्रोसँग सामना गर्न महत्वपूर्ण छन्, यस सन्दर्भमा, बिम्स्टेकले यस क्षेत्रको दिगो आर्थिक वृद्धिका लागि सहकार्य, आविष्कार र अनुकूल वातावरण सिर्जना गर्न हाम्रा लागि महत्वपूर्ण थलोका रूपमा काम गरिरहनेछ ।’

नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानव पुँजीले सम्पन्न रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताए । उनले नेपाल सरकारले आफ्ना छिमेकी र बाहिरका मुलुकसँग व्यापार, लगानी र सम्पर्क प्रवद्र्धन गर्न निरन्तर नीतिगत सुधार गरेको जानकारी गराए ।

यो बिम्स्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य शृङ्खला एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक–निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले उल्लेख गरे ।

भूपरिवेष्टित देशका रूपमा नेपालले विभिन्न समस्याको सामना गरिरहेको उल्लेख गर्दै उनले भने, ‘मूलतः वैदेशिक व्यापारमा नेपालजस्तो भूपरिवेष्टित देशको पारवहन अधिकारका लागि हाम्रा छिमेकी तथा अन्य मित्र राष्ट्रहरूले निरन्तर सहयोग र ऐक्यबद्धता देखाएकामा हामी प्रशंसा गर्छौं, साना र भूपरिवेष्टित अर्थतन्त्रका लागि बिम्स्टेकले विशेष ध्यान दिनेछ भन्नेमा हामी आशावादी छौँ ।’

बङ्गालको खाडी क्षेत्रमा दिगो विकास र समृद्धिका हाम्रा साझा लक्ष्य हासिल गर्न बिम्स्टेकभित्र उत्पादनशील, जनकेन्द्रित र कार्यमुखी सहकार्यका लागि नेपाल सरकारका तर्फबाट मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । उनले भने, ‘हामीले बिम्स्टेक क्षेत्रको परिकल्पना गरेका छौँ, जुन आर्थिक रूपमा उन्नत, भौतिक रूपमा एकीकृत, प्राविधिक रूपमा नवप्रवर्तनशील, पारिस्थितिक रूपमा लचिलो र विविधताका लागि सामाजिक–सांस्कृतिक रूपमा खुला छ ।’ सम्मेलन मङ्गलबारदेखि सुरु भएको हो ।

धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

 मलेखु । धादिङका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन् ।

बिग्रिएर थन्किएका बाहेक अन्य ५२ वटा एम्बुलेन्सले मापदण्ड पूरा नगरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एम्बुलेन्समा साइरन हुनुपर्ने, रातो रङको लामो सङ्केत बत्ती जडान भएको, फोर ह्वील ड्राइभ भएको हुनुपर्ने, एम्बुलेन्सको वर्गीकरण खुल्ने चिह्न हुनुपर्ने, निलो रङको कम्तीमा ३० सेन्टिमिटर दायाँबायाँ र पछाडि तीनतर्फ चिह्न राखिएको हुनुपर्नेलगायत मापदण्ड तोकिएको छ ।

राजस्व छुट प्राप्त गरेको एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रष्ट देखिने गरी लेखिएको हुनुपर्ने, एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अङ्कको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्डमा प्रष्ट लेखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोया छत्कुलीले बताए ।

मापदण्ड पालना नगरेमा कानुनबमोजिम कारबाहीको व्यवस्था गरेको भए पनि धादिङमा निर्वाध रुपमा सञ्चालित एम्बुलेन्सका बारेमा सम्बन्धित निकायको ध्यान नभएको स्थानीय बताउँछन् ।

दुई वर्षअघि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जिल्लामा सञ्चालित ४२ एम्बुलेन्समा जिपिएस राखेको थियो । हरेक वर्ष गर्ने नवीकरण एम्बुलेन्स सञ्चालक आफैँले गर्नुपर्ने प्रावधान रहेको बताउँदै छत्कुलीले विभिन्न प्रतिष्ठानको नाममा सञ्चालन गरिएका र अन्य एम्बुलेन्सले जिपिएस राखेको जानकारी नभएको उनले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सदस्य सचिव रहने व्यवस्था छ । जिल्लामा ‘क’ र ‘ख’ वर्गका मात्र एम्बुलेन्स सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख भए पनि समितिको कार्यालयमा रहेको अभिलेख अनुसार हाल ५२ एम्बुलेन्स सञ्चालनमा आएका छन् । तीमध्ये अधिकांश ‘ग’ वर्गमा पर्दछन् ।

हरेक वर्ष नवीकरण गर्नुपर्ने र समितिबाट सिफारिस लिनुपर्ने व्यवस्था भएको जनाउँदै तीन वर्षसम्म कुनै पनि एम्बुलेन्स नवीकरण गर्न नआएको सचिवालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका सूचना अधिकारी छत्कुलीले बताए ।

तसर्पु स्वास्थ्य चौकी, धुनीबेँसी नगर अस्पताल, गोगनपानी स्वास्थ्यचौकी, थाँक्रे ग्रामीण अस्पताल, रुबभ्यिाली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले सञ्चालन गरेको एम्बुलेन्स मात्र ‘ख’ वर्गका छन् । ख वर्गका एम्बुलेन्सले समेत नवीकरण नगरेका र निवेदन नदिएका उनको भनाइ छ ।

जिल्ला अस्पतालले सञ्चालन गरेको एम्बुलेन्स गत असार ५ गतेदेखि बिग्रिएर थन्किएको छ । चालक फेरबदल गरेपछि बुझबुझारत गर्दा बिग्रिएको अवस्थामा रहेकाले मर्मतका लागि कार्यालय प्रमुखले लेखा शाखालाई तोक लगाएसँगै बजेट व्यवस्थापनपछि सञ्चालन गरिने अस्पतालका सूचना अधिकारी डा राम रिजालले बताए । युनाइटेड सिमेन्ट उद्योगले सञ्चालन गरेको एम्बुलेन्स एक वर्षदेखि, ताल्ती स्वास्थ्य चौकीको चार महिनादेखि बिग्रिएर थन्किएका छन् ।

सरकारी मापदण्ड र मुलुकको कानुन अनुसार मानिसको जीवनसँग सरोकार राख्ने एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनको काम एम्बुलेन्स व्यवस्थापन समितिले गर्ने समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । कानुन विपरीत सञ्चालित एम्बुलेन्सलाई कानुनी दायरामा ल्याएर कारबाही गरिनेमा उनले जोड दिए ।

काभा महिला भलिबलमा इरान तेस्रो

काठमाडौँ ।  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । 

इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्धन्दी भारतको सामान गर्दैछ । उक्त खेल आज साझ पाँच बजेदेखि सुरु हुनेछ ।

नेप्सेमा एक सय आठ अङ्कको वृद्धि

काठमाडौँ । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।

आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ३२, विकास बैंक चार दशमलव ५१, वित्त सात दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी तीन दशमलव ८९ र जीवन बीमा तीन दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यस्तै उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा तीनवटा कम्पनीको मात्रै घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स््योरेन्स लिमिटेडको रु एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।

यस्तो अवस्थामा भेटियो एयर डाइनेष्टीको हेलिकप्टर(फोटोफिचर)

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार चिनियाँ नागरिक र एकजना चालक दलका सदस्य छन् ।

बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको हो । हेलिकप्टरमा चिनियाँ नागरिक जुदाड टाङ, जी लि , यियाद वु र जेमिङ सी रहेका थिए । उनीहरु सबैको शव फेला परेको छ ।

तस्बिरः नेपाल प्रहरी

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचै जनाको मृत्यु भएको छ । प्रहरीले घटनास्थलमा चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रवेशीतर्फ उडेको एयर डाइनेष्टीको हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटनामा परेको हो । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

‘घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्’, उनले भने । हेलिकप्टर बुधबार दिउँसो काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक थिए ।

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार दिउँसो काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको हो ।

हेलिकप्टरमा चार जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी उडेको बताइएको छ । नुवाकोट प्रहरीले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

एमाले प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ । यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता  दिइएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको संरचनाअनुसार एक तहमाथि लैजान नमिल्ने भएकाले यसअघिको भएको निर्णय पुनःविचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्यसरह जिम्मेवारी दिइएको स्पष्ट गरे ।  

एमालेको प्रदेश अध्यक्षसम्बन्धी पछिल्लो निर्णयसँगै कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका चन्द्रेश्वर मण्डल, बागमती प्रदेशका कैलाश ढुङ्गेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजङ्ग शाह र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य भएका छन् ।  

यसैगरी, एमालेले पुरनसिंह दयाल (वैतडी), मैना भण्डारी (गुल्मी) र तारा राई (मोरङ)लाई केन्द्रीय कमिटीबाट हटाएको छ । दयाल भूगोलको काममा नखटेको, भण्डारी बिरामी परेको र राई विदेश भएकाले जिम्मेवारीबाट हटाएको एमाले अध्यक्ष ओलीले जारी गरेको अपानीमा जनाइएको छ ।

अध्यक्ष ओलीले गत असार १८ र २८  तथा साउन १७ गते बसेको सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटी र निकायमा पदाधिकारीसहित सदस्यको मनोनयन, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको नयाँ कार्यविभाजनसम्बन्धी निर्णय जानकारी तथा कार्यान्वयन गर्न अपानी–१० जारी गरेका हुन् ।

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले बुधबार शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वाेच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र युनियनबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसमा विकास साझेदारको सहयोग अपेक्षित भएको बताए । लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिका प्रति नेपाल पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने उनले उल्लेख गरे ।

राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्य सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरिन् ।

शेयर बजारको उत्साह कहिलेसम्म कायम रहला ?

रिसव गौतम
शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङ्क छ । खासगरी शेयर बजारमा जलविद्युत् कम्पनीहरुको उपस्थिति बढिरहँदा बैङ्कहरुको हिस्सा घटेको देखिन्छ । 


पछिल्ला वर्षहरुमा जलविद्युत्सहित अरू उत्पादनमूलक कम्पनीहरुले पनि सर्वसाधारणलाई शेयर जारी गरेर पैसा सङ्कलन गरिरहेका छन् । त्यसकारण पनि पुँजी बजारमा बैङ्क–बीमा क्षेत्रको प्रभुत्व घटिरहेको छ । बैङ्क–बीमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि सङ्ख्या घटाउन काम गरेको छ । खासगरी शेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत् जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभसङ्केत नै हो । किनकि नेपालको अर्थतन्त्रमा सबैभन्दा सम्भावनाको क्षेत्र भनेको पर्यटन र ऊर्जा क्षेत्र नै हो । हामीले यस क्षेत्रको विकास विस्तारबाट अपार लाभ लिन सक्ने सम्भावना छन् । 


पछिल्ला समय नेप्सेमा पर्यटन, सिमेन्ट, कृषिलगायत क्षेत्रको पनि प्रवेश बढिरहेको छ । यद्यपि हाल नेप्सेमा १२ वटा समूहगत परिसूचक मापन गर्ने गरिएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, बीमा कम्पनी, म्युचुअल फन्ड, होटल, उत्पादन तथा प्रशोधन, व्यापार, जलविद्युत् र अन्य समूहका परिसूचकहरुलाई नेप्सेले गणना गर्छ । 


यसरी शेयर बजारमा क्रमशः क्षेत्रगत विविधता बढिरहेको देखिन्छ । यसले शेयर बजारमा लगानीको आकर्षण र उपस्थिति समेत बढाएको छ । विगतमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेनबीच चलेको युद्धको विश्वव्यापी प्रभाव र विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको शेयर बजारमा पनि ठूलो असर परेको हो । आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता सङ्कटको कारण बढेको ब्याजदर र शेयर बजारप्रति नेपाल राष्ट्र बैकको कसिलो नीतिका कारण विगतमा बजार घटेको हो । एक हजार आठ सय अङ्कबाट पनि तल झरिसकेको नेप्से परिसूचकाङ्क अहिले भने हालै आएको आव २०८१÷८२ को मौद्रिक नीतिले बजार दुई हजार आठ सय अङ्कको छेउछाउ आइसकेको छ । अब क्रमशः शेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् ।


सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा पनि शेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरुमा पुनःविचार गर्दै गैरआवासीय नेपालीलाई पनि शेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ । त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ । वर्तमान सरकार गठनसँगै आएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको क्याप हटाएको छ । शेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको अवस्था छ । यसले गर्दा बजार बढिरहेको देखिन्छ । 


केही हप्तायता बजार निरन्तर बढिरहँदा शेयर बजार पुँजीकरण पनि बढेको छ । २०८१ साउन २१ गते सोमबारको कारोबारको आँकडाअनुसार शेयर बजार पुँजीकरण रु ४४ खर्ब ३८ अर्ब नाघेको छ । जुन कुल ग्राहस्थ्य उत्पादनको आकारभन्दा रु १४ खर्ब मात्र कम हो । कुनै बेला अर्थात् तीन हजार तीन सय अङ्कमा मार्केट पुगेको बखत रु ४० खर्बको पुँजीकरण भएको शेयर बजार अहिले नेप्सेमा थपिएका कम्पनीहरुका कारण रु ४४ खर्ब पुगेको छ । खासगरी शेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सूचीकृत नभएको कारण त्यो नभएको देखिन्छ तर पनि पछिल्ला समय नेप्सेमा सूचीकृत हुने कम्पनीहरु बढिरहेका देखिन्छन् । 


नेपालको शेयर बजारको दायरा फराकिलो र पुँजीको पैमान पनि बढिरहेको छ । यसले नै वास्तवमा शेयर बजारको सुदूर भविष्य उज्ज्वल रहेको देखाउँछ । खासगरी पछिल्लो दशक नेपालमा पनि शेयर बजारप्रति आमसर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तवमा कुनै पनि देशको अर्थतन्त्रको अवस्थाको चित्र शेयर बजारले नै दर्साउछ । त्यसकारण पनि शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो । ठूल–ठूला उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालन गर्न पुँजीको सङ्कलन गर्ने महत्वपूर्ण माध्यम हो पुँजीबजार । त्यसकारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्वपूर्ण भूमिका हुने गर्छ । सो तथ्य आमराजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरुरी छ । 


अहिले नेपालमा शेयर किनबेचका लागि डिम्याट खाता खोल्नेहरुको सङ्ख्या २०८० चैतसम्ममा ६२ लाख नाघिसकेका छन् । त्यसमा महिलाको सङ्ख्या नै २६ लाख नजिक पुगेको तथ्याङ्क छ । यद्यपि आर्थिक मन्दी, तरलता सङ्कटलगायत कारण शेयर बजार सुस्ताउँदा अहिले शेयर बजारका सक्रिय लगानीकर्ता २०–२२ लाख रहेका छन् । जेहोस् पछिल्लो वर्षहरुमा नेपालमा शेयर बजारप्रति बढेको आकर्षण उत्साहप्रद हो । यसले सम्भावना भएका उद्योग, व्यवसायले आइपिओ मोडलमा आवश्यक लगानी जुटाउन सक्ने आधार दिएको छ । 


पछिल्लो समय सरकारले बढेको ब्याजदरलाई घटाउन निरन्तर प्रयास गरेको देखिन्छ । त्यसमा बैङ्कको चर्को ब्याजदरविरुद्ध व्यसायीहरुले गरेको आन्दोलनले ठूलो दबाब परेको हो । बैङ्कहरुको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्छ । तरलता सहजताको अवस्था हुँदा र बैङ्कको ब्याजदर घट्दा विगतदेखि नै शेयर बजार बढ्ने गरेको दखिन्छ । त्यसकारण आगामी दिनहरुमा बजार झनै बढ्दै जाने आधार तय भएको छ । खासगरी बजेटलगत्तै आएको मौद्रिक नीतिले पनि शेयर बजारलाई उत्साह दिएको छ । शेयर बजारलाई कता डो¥याउने भन्ने कुरामा मौद्रिक नीतिको धेरै भूमिका हुनेगर्छ । यद्यपि मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सघाउन ल्याउने गरिन्छ । 


विगतका वर्षहरुमा मौद्रिक नीतिमा शेयर बजार र घरजग्गाप्रति कसिलो बनाइएकामा यसपटक धेरै नै खुल्ला गर्ने गरी प्रोत्साहनकारी रुपमा मौद्रिक नीति आयो । मौद्रिक नीति बैङ्क तथा वित्तीय संस्थाहरुका लागि पनि केही खुकुलो गरी आयो । फलस्वरुप शेयर बजारमा हरियाली छाएको देखिन्छ । गत वर्षहरुमा राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोडसम्मको क्याप लगाएको हो । ४–१२ को नीतिले पनि शेयर बजारको गतिशीलतालाई कमजोर बनाएको हो । अहिले ती व्यवस्था हटाइएको छ । फलस्वरुप शेयर कारोबारको ‘भोलुम’ र नेस्से परिसूचक निरन्तर बढिरहेका छन् । विगतमा तीन हजार तीन सय अङ्कको नेप्से परिसूचकाङ्क पुगिरहँदा बजारमा एकै दिन रु २१ अर्ब ६४ करोड ७६ लाखसम्मको कारोबार भएको हो । अहिले त्यो रेकर्डसमेत ‘बे्रक’ भएर नेप्सेमा झन्डै रु २२ अर्ब (रु २१ अर्ब ९१ करोडसम्म) करोबार भएको छ । यसरी बजारमा एउटा खालको आत्मविश्वास देखिएको छ । यसले समग्रमा आशा जगाएको छ । 


वित्तीय बजारमा तरलता सहजताको अवस्था सिर्जना भएको छ । मुलुकको आर्थिक अवस्था तथ्याङ्कीय हिसावले सबल बन्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले नै अर्थतन्त्र तथ्याङ्कीय रुपमा सबल बन्दै गएकाले बजारमा त्यसको सकारात्मक प्रभाव क्रमशः पर्दै जाने बताउनु भएको छ । ब्याजदर घटिरहेको छ । त्यसकारण शेयर बजार उकालो लागिरहने देखिन्छ । शेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आमसर्वसाधारणले बुझिसकेका छन् । कतिपय नेताहरुले विगतमा शेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरुले समेत आफ्ना बुझाइ सच्च्याएका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै शेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजीबजारप्रति सकारात्मक दृष्टिकोण रहेको दर्शाइरहेका छन् । 


सरकारले पनि शेयर बजारप्रति अत्यन्त प्रोत्साहनकारी नीति देखाउन जरुरी छ । शेयर बजारले आमसर्वसाधारणलाई अर्थशास्त्रको बचतको सिद्धान्त सिकाउँछ । अलिअलि भएको पैसाले आइपिओ भर्ने, शेयर किन्ने गर्दा मान्छेले पैसाको महत्व र त्यसको पुँजीकरणको भेउ थाहा पाउँछन् । अहिले शेयर बजारमा धेरै मान्छेहरु आकर्षित भएका, लागेकाले धेरैलाई यस क्षेत्रले रोजगारी र अवसर पनि दिएको छ । खासगरी नेपाली समाजमा विगतमा गृहिणीको उपमा दिएका महिलाहरुको सङ्ख्या नै शेयर बजारमा ४२ प्रतिशत पुग्नुले आर्थिक क्षेत्रमा महिलाहरु कति सशक्त रुपमा आइरहेका छन् भन्ने पनि दर्शाउँछ । अर्को शेयर बजारबाट सरकारले रु १५ अर्बसम्म कर विगतमा पाएको हो । त्यसकारण सरकारले पुँजीबजारको विकास, उन्नयनमा जोड दिनुपर्छ । पुँजी बजारको विकासमा ध्यान दिन नसके सरकारको आर्थिक समृद्धिको नारा गफमा सीमित हुन्छ ।


(लेखक आर्थिक लेखक तथा विश्लेषक हुनुहुन्छ)

५५ वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर

गण्डकी । पाँच वर्षको उमेरदेखि बुवा धनबहादुर गन्धर्वको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादूरका स्मृतिमा अझै ताजै छन् । बुवाकै पाइला पछ्याउँदै उनी ५५ वर्षदेखि सारंगीकै धुन वरिपरि छन् ।

पोखरा महानगरपालिका–३२ छुचीका ६० वर्षीय रामबहादुर लोप हुँदै गइरहेको आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन् । भन्छन्, ‘गन्धर्व जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराइसकेको छ । पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन ।’

परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी र्‍याइँर्‍याइँ सारंगी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्दर्भ जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो । पुर्ख्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो ।

पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन । गन्धर्वहरु सारंगी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे । यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो ।

बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुवाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गरे । गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने कामसमेत गरे ।

आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने बताउँदै उनी भन्छन्, ‘गन्धर्व समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्दर्भ पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्दै आएका छन् ।’

जीवनको सर्वस्व नै सारंगी भएको बताउँदै उहाँले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताउँछन् । ‘यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो’, उनले भने, ‘त्यस समयमा गन्धर्वहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ ।’

नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले भने रामबहादुरलाई पिरोलिरहन्छ ।

कर्णाली प्रदेशद्वारा विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो ।

विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई रु दुई लाखका दरले  तीन करोड रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।

यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी मृत्युभएका २० जनाको परिवारलाई  ४० लाख रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ । कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

“अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ जनामध्ये तीनजनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छ”, उनले भने, “अन्य विपद्मा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ ।”

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भुकम्पमा परि मृत्यु भएको छ ।
अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो ।

प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि  दुई लाख र आवास बिमाअन्तर्गत रु पाँच लाख उपलब्ध गराउने उल्लेख छ ।

गण्डकीमा ९६ प्रतिशत रोपाइँ

गण्डकी ।  गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन् ।

कास्कीमा ९८ दशमलव ५०, म्याग्दीमा ९८ दशमलव ३०, लमजुङमा ९८, स्याङ्जामा ९८, बागलुङमा ९७, तनहुँमा ९६ दशमलव २२ र नवलपुरमा ९४ प्रतिशत रोपाइँ भएको हो ।

यस वर्ष प्रदेशभरिमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने अनुमान निर्देशनालयको छ । गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धानखेती गरिएको थियो । प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धानखेती हुँदै आएको छ । 

यही साताभित्रमा प्रदेशभर रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताइन् । गत असार १५ सम्ममा प्रदेशमा जम्मा १५ प्रतिशत रोपाइँ भएकामा त्यसयता बढेर ९६ प्रतिशत पुगेको हो । पछिल्लो समय मनसुन सक्रिय भएकाले रोपाइँ सहज भएको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् । 

बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने यहाँका फाँटमा मध्यजेठदेखि नै रोपाइँ सुरु हुन्छ । यस वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको उनको भनाइ छ । 

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट र सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार र करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट र कलेस्तीफाँट तथा कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानका पकेट क्षेत्र हुन् । 

पर्वतको फलेवास र जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला र गल्याङ, म्याग्दीको भगवती, पिप्ले र घतान, बागलुङको बडिगाड, गलकोट र जैमिनी तथा नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।  गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ ।

शेख हसिना र रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग बंगलादेश बारको आग्रह

बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन् ।

एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोश जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उहाँहरू जिम्मेवार रहेको र उहाँहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए ।

बङ्लादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरेका छन् भने आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गरेका छन् ।

बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान् सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य भएका थिए ।

यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका छन् ।

प्रशान्त क्षेत्रको सहायतालाई ‘थप पारदर्शी’ बनाउन चीनलाई अष्ट्रेलियाको आग्रह

अस्ट्रेलियाले बेइजिङ र पश्चिमा मुलुकबीच ‘स्थायी प्रतिस्पर्धाको अवस्था’ रहेको स्वीकार गर्दै चीनलाई प्रशान्त महासागरीय टापुमा ‘जबर्जस्ती’ नगर्न र बुधबार प्रदान गरिने सहायतामा थप पारदर्शी हुन आग्रह गरेको छ ।

अस्ट्रेलियाका प्रशान्त क्षेत्रमामिला मन्त्री प्याट कोनरोयले प्रशान्त टापु राष्ट्रहरूका लागि जाने नयाँ आर्थिक अवसरहरू ‘जबर्जस्ती वा हस्तक्षेपकारी’ भूमिकामा प्रवाशित हुन नहुने बताएका छन् ।

“हामी यस्तो क्षेत्र हेर्न चाहन्छौं, जहाँ राज्यहरूले जबर्जस्तीबाट मुक्त र अन्तर्राष्ट्रिय कानुनअनुसार सार्वभौमिकताको प्रयोग गर्न सकून्,” उनले अस्ट्रेलियामा एक थिङ्क ट्याङ्क समूहद्वारा आयोजित सार्वजनिक नीति बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

“हामी प्रशान्त क्षेत्रमा शान्तिपूर्ण र स्थिरता चाहन्छौं,” यसै महिनाको अन्त्यमा टोङ्गामा हुने प्रशान्त टापू क्षेत्रीय शिखर सम्मेलनअघि उनले भने ।

“चीनले दिइरहेको सहायता थप पारदर्शी हुनुपर्दछ र पूर्वाधार परियोजनाहरूलाई प्रशान्त क्षेत्रका लागि स्थानीय रोजगारी, सीप र खरीद बढाउने अवसरको रूपमा लिनुपर्छ ।”

सन् २०२२ मा सोलोमन टापुसँग बेइजिङले गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि दक्षिण प्रशान्त क्षेत्रमा क्यानबेरा र वासिङ्टनले टापु राष्ट्रहरूसँगको सम्बन्धलाई मजबुत बनाउन धक्का दिइरहेका छन् ।

बेइजिङले हालैका महिनाहरूमा सोलोमन टापुको बजेटमा दुई करोड अमेरिकी डलर लगानी गर्नेलगायत प्रभाव–निर्माण प्रयासहरूको आफ्नै झुकाव सुरु गरेको छ ।

सोलोमन टापु र भानुआटु दुवै देशका नेताहरूले यसै महिनाको सुरुमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले गत वर्ष सोलोमन टापुमा लामो समयदेखि बन्द रहेको आफ्नो दूतावास पुनः खोलेको थियो र त्यसपछि टोङ्गामा दूतावास स्थापना गरेको थियो ।

विशाल तर कम जनसङ्ख्या भएको दक्षिण प्रशान्त क्षेत्र हुँदै धेरै महत्त्वपूर्ण सामुद्रिक मार्गहरू जान्छन् । यो ताइवान स्ट्रेट र दक्षिण चीन सागरमा जाने सम्भावित महत्त्वपूर्ण प्रवेशद्वार हो र यस क्षेत्रमा जबर्जस्ती लगानी हुँदा यसले भविष्यमा द्वन्द्वको सिर्जना गर्नसक्छ ।

फिलिपिन्सले दक्षिण चीन सागरमा संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियासँग दुई दिने संयुक्त समुद्री र हवाई अभ्यास सुरु गरेको छ ।

श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी

श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ ।

श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।

एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भने, “सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।”

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने उनको कार्यबाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो ।

उनका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा विजयी भएका थिए भने सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उनलाई  जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो ।

राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो ।

एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो ।

शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ जाने सवारिसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् । गगनेखोलामा ठूलो ढुंगासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ । बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए।

‘सबैभन्दा ठूलो ढुङ्गासहितको पहिरो गगनेखोलामा आएको छ । चार-पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा आएको छ । गगनेखोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ’, उनले भने ।

गगनेखोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेका छन् ।

खसेको ढुंगा ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने जिटीले बताए । गोगनेखोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्गमा कुनै पनि सवारिसाधन सञ्चालन हुन सकेका छैनन् ।

गण्डकीका गाउँबस्ती छिचोल्दै सडक

रामबहादुर थापा र सन्तोष गौतम,  गण्डकी । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको उनी बताउँछन् ।

गाउँमै सडक पुगेपछि आचार्यमात्रै होइन, तरकारी र बीउ उब्जाउने जलजला गाउँपालिका–७ सल्यानका किसानलाई सडकले सहज बनाएको हो । ‘व्यापारीले फोनबाटै तरकारी मगाउँछन्, हामीले गाडीमा पठाउँछौँ, खातामा पैसा आउँछ’, उनले भने, ‘पहिले झैँ दुःख र झन्झट छैन, तरकारी फलाउन सके बजारको पनि समस्या छैन ।’

ताराखोला गाउँपालिका–१ माझखर्कका खर्कबहादुर घर्तीमगरलाई घरायसी सामान किन्न दुई दिन खर्चेर बागलुङबजार आउनुपर्ने बाध्यता अहिले छैन । ‘जेठ महिनामै नुनतेल, दाल, चामल जस्ता दैनिक उपभोग्य सामान किनेर बर्खाको लागि जोहो गर्नुपर्थ्यो’, ६५ वर्षीय खर्क भन्छन्, ‘अहिले गाउँमा पक्की मोटरबाटो आएको छ, बागलुङ बजारबाट दुई घण्टामै घर फर्कन सकिन्छ ।’

सडक सुविधा पुगेपछि आलु, भाँगो, च्याउ, गेडागुडीलगायत ताराखोलाको स्थानीय उत्पादनको बजारीकरणमा पनि सहजता थपिएको स्थानीयको भनाइ छ । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका बासिन्दालाई चार वर्षअघिसम्म सदरमुकाम बेनीबजार आउन दुई घण्टा लाग्थ्यो । बेनी–बाबियाचौर १५ किमि सडक यसै वर्ष कालोपत्र भएपछि दुई घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ ।

सडक कालोपत्र भएपछि हिउँदमा धुलो र बर्खामा हिलोको समस्याबाट सर्वसाधारण यात्रुले मुक्ति पाएको स्थानीय यामबहादुर थापा सुनाउँछन् । संघ, प्रदेश सरकार र स्थानीय तहले पूर्वाधार विकासतर्फ सडक विस्तार तथा स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेपछि गण्डकीका गाउँबस्ती सडक सञ्जालले छिचोलेको हो ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको शालिग्राम कोरिडोरले गाउँको मुहार नै फेरिएको तनहुँको ऋषिङ गाउँपालिका पुनटारका भीमबहादुर श्रेष्ठले बताए । ‘सडक सञ्जालमा जोडिएपछि नयाँ बस्ती विकास हुने क्रम पनि बढ्दो छ, जग्गाको भाउ बढ्न थालेको छ’, उनले भने ।

किसानको उत्पादन बजार पुर्‍याउनदेखि बिरामीलाई बेलैमा अस्पताल लैजानेसम्मका काममा ग्रामीण सडक बरदान सावित भएको श्रेष्ठको भनाइ छ । वैकल्पिक सडकको प्रयोगसँगै ठूला राजमार्गहरुमा सवारी चाप घटाउन सहयोग पुगेको छ ।

सहज आवातजावत, कृषि उपजको बजारीकरण, पर्यटन प्रर्वद्धन आदिका लागि सडक आयोजनाहरु प्रभावकारी बनेका गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए ।

‘राष्ट्रिय राजमार्गका वैकल्पिक, एक निर्वाचन क्षेत्र–एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा छन्’, उनले भने, ‘प्रदेश सरकार स्थापना भएपछि सुरु भएका पूर्वाधार आयोजना सम्पन्न हुन थालेसँगै सर्वसाधारण नागरिकले विकासको अनुभूति गर्न थालेका छन् ।’

१६ सय किमि सडक स्तरोन्नति

प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा गण्डकीमा १६ सय किमि सडक स्तरोन्नति गरिएको छ । गण्डकीमा प्रतिवर्ष दुई सय २८ किमिका दरले सडक स्तरोन्नति र १५ वटाका दरले पक्कीपुल निर्माण भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । सडक पूर्वाधार निर्माणमा प्रदेश सरकारले रु ९० अर्बभन्दा बढी खर्च गरेको मन्त्रालयका सचिव पण्डितले जानकारी दिए ।

९ सय एक किमि सडक कालोपत्र, ६९६ किमि सडक ग्राभेल, १०६ वटा मोटरेबल पुल र ८४ वटा झोलुंगे पुल निर्माण भएको मन्त्रालयको योजना अनुगमन, मूल्यांकन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मन्त्रालयमार्फत आव २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत ११ जिल्लामा दुई सय ३३ किमि सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको छ । सो अवधिमा २१ वटा मोटरेबल पुल, १९ वटा झोलुंगे पुल र २५ वटा भवन निर्माण गरिएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा बागलुङमा ४३, स्याङ्जामा ३९, नवलपुरमा ३७, तनहुँमा ३५.५, पर्वतमा २३, कास्कीमा ३२.७५, गोरखामा १३.८१, लमजुङमा ११, म्याग्दीमा १२.४६, मनाङमा २.२ किमि र मुस्ताङमा ६२० मिटर सडक कालोपत्र र ढलान भएको छ । ५५ किमि कच्ची सडक निर्माण, १४६.६३ किलोमिटर सडक फराकिलो बनाउने, २२७.१३ किलोमिटर नाली, १७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन् ।

सडक सुरक्षाका लागि प्रदेशभर दुई लाख १९ हजार १४९.५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत गरिएको मन्त्रालयले जनाएको छ । कूल रु १२ अर्ब १८ करोड २३ लाख पाँच हजार पुँजीगत बजेट रहेको मन्त्रालयले ७१.७४ प्रतिशत अथवा रु आठ अर्ब ७३ करोड ९५ लाख २९ हजार खर्च गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले सो अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल, १२ वटा झोलुङ्गे र चार वटा भवन निर्माण गरेको थियो । गत आर्थिक वर्षमा ३० लाख रुपैयाँभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिइएको र कार्ययोजना अनुसार अघि बढेकाले बजेट तथा योजना कार्यान्वयनमा सुधार आएको मन्त्रालयका सचिव पण्डितले बताए ।

पण्डितका अनुसार गत आर्थिक वर्षमा एक सय २७ प्रादेशिक सडक, पाँच वटा संघीय समपुरक सडक, ३० पक्की पुल र चार झोलुंगे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ । बहुवर्षीयका लागि छनोट भएका सडक, मोटरेबल र झोलुङ्गे पुल आयोजनाका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’

गण्डकीका ३६ मध्ये ३५ निर्वाचन क्षेत्रमा प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम सञ्चालन गरेको छ । वातावरणीय अध्ययनमा भएको ढिलाइका कारणले मनाङको १ वटा आयोजना सुरु हुन सकेको छैन । आव २०८०/८१ सम्म उक्त कार्यक्रममार्फत १६ वटा सडक आयोजना सम्पन्न भएको मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले जानकारी दिए ।

१८ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । उनका अनुसार लमजुङमा १२, पर्वतमा १३ किमि, म्याग्दीमा ४.५ किमि कालोपत्र, र गोरखामा १.५, बागलुङमा ३४, स्याङ्जामा ८.५, नवलपुरमा २५ र कास्कीमा २० र तनहुँमा १४ किमि सडक स्तरोन्नति भएको छ । लमजुङको करपुटार–डडुवा–साल्मेझञ्ज्याङ–मालिका–कपुरगाउँ जोड्ने ८ किमिबाहेक अन्य सडक कालोपत्र र ढलान गरिएको हो ।

प्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने लक्ष्यसहित सरकारले आव २०७५/७६ को नीति तथा बजेटमा उक्त कार्यक्रमलाई समावेश गरेको थियो । त्यसयता हरेक आवको बजेट र कार्यक्रममा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ले प्राथमिकता पाउँदै आएको छ ।

प्रदेश सरकारले प्रदेशका ८५ वटै स्थानीय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने लक्ष्य लिएको छ । मन्त्रालयले अहिलेसम्म सडक नपुगेको गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिका केन्द्रमा सडक पुर्‍याउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ ।

कोरला–त्रिवेणी सडक

कोरला–त्रिवेणी सडक आयोजनाअन्र्तगत तनहुँको भिमाददेखि नवलपुरको चोरमारा हुँदै त्रिवेणी सडक गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो । यस आयोजनाअन्र्तगत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने ११ किमिमध्ये ८ किमि सडक कालोपत्र भएको छ ।

त्रिवेणी–कोरला सडकअन्तर्गत गत नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ–झ्यालबास खण्डको १४.१ किमि सडक कालोपत्र गर्न स्तरोन्नतिको काम भइरहेको छ । डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किमिमध्ये दोस्रो चरणमा थप ७ किमि सडक कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ । झ्यालबासबाट चोरमारासम्म यसअघि ९ किमि सडक निर्माण भइसकेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख सन्तोष अर्यालले बताए ।

शालिग्राम कोरिडोर

तनहुँको देवघाटदेखि ऋषिङ, घिरिङ गाउँपालिका हुँदै पाल्पा, स्याङ्जा र गुल्मी जोड्ने शालिग्राम कोरिडोर सडक गण्डकी प्रदेश सरकारको अर्को गौरवको आयोजना हो । यस आयोजनाको पहिलो खण्डमा पर्ने बौदीदेखि मनटारसम्म र दोस्रो खण्डमा पर्ने मनटारदेखि मधुवनटार जोड्ने २४ किमि सडक ग्राभेल भएको पूर्वाधार विकास कार्यालय तनहुँका सडक इञ्जिनियर अमरेन्द्र यादवले जानकारी दिए ।

कालीगण्डकी कोरिडोर र पृथ्वी राजमार्गको विकल्पका रुपमा हेरिएको यस सडकको धार्मिक र पर्यटकीय सम्भावना छ । आयोजनाको देवघाटदेखि मधुवनतर्फ सडकले जोड्न मार्ग निर्माण र स्तरोन्नतिको काम भइरहेको छ । दासढुङ्गादेखि ६ किमि डबल लेनको ६ किमि सडकको अक्सफाल्ट प्रविधिको कालोपत्र भएको र थप १७ किमि सडक कालोपत्र गर्ने काम भइरहेको सडक इञ्जिनियर यादवले बताए ।

बुद्धसिंह मार्ग

गण्डकी प्रदेश सरकारको गौरवको आयोजना वुद्धसिंह मार्गअन्र्तगत तनहुँको दमौलीदेखि १० किमि दूरीमा रहेको सुडेसम्म स्तरोन्नति गर्न सञ्चालित आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

दमौलीदेखि पृथ्वी राजमार्ग भएर मुग्लिन हुँदै नारायणघाट जानुभन्दा २५ किमी छोटो पर्ने ३२ किमि दूरीको बुद्धसिँह मार्गको पहिलो खण्डमा बर्खा लगत्तै कालोपत्र गर्ने तयारी भएको पूर्वाधार विकास कार्यालय तनुहँले जनाएको छ । शालीग्राम कोरिडोर, वुद्धसिंह मार्ग र कोरला–त्रिवेणीबाहेक प्रदेश सरकारका अन्य बहुवर्षीय सडक आयोजनाहरु राष्ट्रिय राजमार्गको वैकिल्पक मार्गका रुपमा छन् ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङले प्रतिकूल भूगोल र विपद्को जोखिमलाई सडक यातायात सञ्जाल विस्तार तथा स्तरोन्नतिको क्रममा देखिएको चुनौतीका रुपमा लिइएको बताउनुभयो ।

‘बजेटको सीमितताका बाबजुद पुराना योजनालाई सम्पन्न गराउन, स्तरोन्नति भएका सडकमा सुरक्षित तथा नियमित यातायात सेवा सञ्चालन र थपिएका आयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ’, उनले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्छौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा  कोसेढुङ्गा साबित भएको बताएका छन् । 
     
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार प्रधानमन्त्री ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेतासमक्ष सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री ओलीले सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्विविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे ।


‘हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यहरुलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ । हामी पीडादायी विगतबाट गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठूलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो तर हामीले शान्ति प्रक्रियालाई टुङ्गोमा लैजानुपर्ने थियो । हिंसाका सबै अभ्यासलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सम्मानित सर्वाेच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर यो सहमति भएको छ । शान्ति प्रक्रियामा यो कोसेढुङ्गा साबित भएको छ । फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएका हुन् । विधेयक पारितसँगै हामी आपसी परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्नेछौँ ।’


विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिविहीनताको बाटो आवश्यक नभएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे । उनले लोकतन्त्रलाई जीवन पद्धति मानेर चल्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको उल्लेख गर्दै लोकतन्त्रका लागि लडेकाहरु भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आफू अघि बढ्ने पनि स्पष्ट पारे ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिई विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए । उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भनी कामना गरे ।


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमितको प्रयास गरिएको स्मरण गरे । उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाई नेपालीमाझ शान्ति, स्थायित्व र विकासको सन्देश जाओस् भन्ने आग्रह गरे ।


बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुधबार तीन प्रमुख दलका शीर्ष नेतासमक्ष प्रतिवेदन हस्तान्तरण गरेको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । 


प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो ।


कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा थिए । मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए । 

कार्यदलले शीर्ष नेतालाई बुझायो संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्तरुपमा बुझाएको हो ।

टाीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा थिए ।

विधेयकका विवादित विषयमा छलफल गरी टुंग्याइएको गृहमन्त्री लेखकले जानकारी दिए उनले अब शान्ति प्रक्रियालाई टुंग्याउन सकिने चरणमा पुर्याइएको बताए ।

कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएका सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ ।

यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुनअनुरुपको दण्डमा सजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ ।

विस्तृत शान्ति सम्झौता भएको झण्डै १८ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा भएको समझदारीलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि ‘ब्रेक थ्रु’ का रूपमा हेरिएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन रहेको छ । उक्त विधेयकमा नमिलेका कुरा मिलाउन तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

पेरिस ओलम्पिकमा अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस । मंगलबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक हात पारेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौँथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक जितेको छ ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्डसले आठ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

पानीको निकास थुनिँदा कञ्चनपुरको कलुवापुर बजार जलमग्न

कञ्चनपुर । वर्षातको पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन् ।

दुई वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ । पानीको निकासका लागि राखिएको ह्युमपाइप थुनेर घर निर्माण गरिएपछि बजार क्षेत्र जलमग्न हँुदै आएको स्थानीय बासिन्दा गणेशबहादुर ऐरले बताए ।

“पानीको निकासका लागि सम्बन्धित निकायमा पटकपटक अनुरोध गर्दै आएका छौँ”, उनले भने, “अनुगमन गर्ने कार्यबाहेक पानी निकासको उपाय निकाल्नेबारे कुनै निकायले काम अगाडि नबढाउँदा समस्यामा परेका छौँ ।”

सडक अतिक्रमण गरी बनाएका घरलगायत पक्की संरचना हटाएर पानीको निकास खोल्नका लागि एकले अर्कालाई दोष थोपर्ने कार्यले सास्ती भोग्दै आएको उनको भनाइ छ । वर्षौँ पहिलेदेखि वर्षाको पानी बग्दै आएको निकास थुन्नेलाई कारबाही गरिनुपर्ने स्थानीय बजारवासीको माग छ ।

केही सीमित व्यक्तिहरूको अवरोधका कारण यात्रु, विद्यार्थी, सर्वसाधारणले निकै सास्ती खेप्दै आएका स्थानीय समाजसेवी नवराज पन्तले बताए । “मानव सिर्जित समस्या भएकाले स्थानीय तहले यसको तत्काल निराकरण गर्नुपर्छ”, उनले भने, “दोषीमाथि कारबाही नहुँदा क्षणिक रूपमा समाधान गर्न खोजिन्छ, त्यसैले समस्या बल्झिँदै आएको छ ।”

पानीको निकास नहुँदा नै सार्वजनिक शौचालय प्रयोगविहीन बनेको छ । शौचालयको पानी बगेर डुबान भएको क्षेत्रमा पुग्दा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना पनि उत्तिकै रहेको छ ।

बजार क्षेत्रको सडक मात्र नभएर वर्षात्को पानी स्थानीय व्यवसायीका पसलभित्र पस्न थालेको छ । थोरै पानीमा पनि बजार क्षेत्र जलमग्न हुने गरेको छ । तत्काल पानीको निकास नखोलिए स्थानीय बासिन्दाले पालिकाविरुद्ध सङ्घर्षका कार्यक्रम अगाडि बढाउने बताएका छन् ।

“बजार क्षेत्र डुबानको समस्या समाधान गर्न सम्बन्धित व्यक्तिहरूलाई नगरपालिका कार्यालयमा बोलाएर पानीको निकास खोल्नका लागि भनेका छौँ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “निकास नखोले अटेरी गरी सडक क्षेत्र अतिक्रमण गरी बनाएको संरचना हटाउने वा कानुनी प्रक्रियामा जाने भन्नेबारे आवश्यक छलफल भइरहेको छ, निकास निकाल्न प्रयासरत छौँ । ” आवतजावतलाई सहज बनाउन सडक गहिरो भएको क्षेत्रमा ग्राभेल राख्ने कार्य भइरहेको उनको भनाइ छ ।

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।

प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।

खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो ।

लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

मधेसमा जम्बो मन्त्रिपरिषद बनाउनुमा हाम्रो पार्टीको हात छैनः सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसमा जम्बो मन्त्रिपरिषद बनाउनु आफ्नो पार्टीको बाध्यता भएको बताएका छन् । मुख्यमन्त्री सतिसकुमार सिंहले मंगलबार पाँच राज्यमन्त्री थप गरी २० सदस्यीय मन्त्रिपरिषद पुर्याएकोमा स्पष्टीकरण दिँदै अध्यक्ष राउतले आफूहरुले चाहेर केही नहुने बताएका हुन् ।

उनले मधेश सरकार जनमतको नभई गठबन्धनको भएको बताएका छन् । उनले भनेका छन्, ‘बुझ्नुपर्छः यो मधेस सरकार गठबन्धनको हो, जनमतको होइन । गठबन्धन र खासगरी दुई ठूला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुन कुन मन्त्रालय कसले राख्ने यसमा हाम्रो केही चल्दैन किनकी जनमत पार्टीको सीट संख्या मधेस प्रदेशमा पनि निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ त्यसैले हामीले चाहेर मात्र हुँदैन ।’

मुख्यमन्त्री सिंहले मंगलबार नेपाली कांग्रेसबाट दुई र नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक/एक जना राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएकी छन् । त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

१२ मन्त्रालय रहेको मधेसमा ५ जना थपिँदा मन्त्रीको संख्या २० पुगेको छ । मधेसमा २० सदस्यीय मन्त्रिपरिषद बनाइएकोमा सर्वत्र आलोचना भएको छ ।

अहङ्कारले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन, यही हो बंगलादेशको आन्दोलनबाट लिनुपर्ने शिक्षा

नारायणकाजी श्रेष्ठ ।
बंगलादेशमा करिब एक महिनादेखि चलिरहेको विद्यार्थी आन्दोलन, सरकारद्वारा गरिएको निर्मम दमन र गोली प्रहारको परिणामस्वरूप एकै दिनमा १०० जना सहित ३०० जनाको मृत्यु र अन्ततः आमजनताको सहभागितासहितको व्यापक जनआक्रोशको उत्कर्षको परिणाम स्वरूप १५ वर्ष देखिको प्रधानमन्त्री शेख हसिना राजको अन्त भएको छ । प्रधानमन्त्री हसिना साउन २१ गते( ५ अगष्ट ) पदबाट राजीनामा दिई विदेश पलायन भएपछि सम्पूर्ण विश्वले यतिबेला बंगलादेशको घटनालाई विभिन्न कोणबाट विश्लेषण गर्दै गम्भीरतापूर्वक अध्ययन गरिरहेका छन् ।

हामीले पनि बंगलादेश, छिमेकीहरु, क्षेत्र र विश्वमा यसले पार्ने प्रभावका बारेमा नजिकबाट अध्ययन विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।
यस क्षणमा हामी विश्वसमुदाय सँगै बंगलादेशमा शान्ति, स्थिरता र लोकतन्त्रको पक्षमा रहन्छौ र त्यसको कामना गर्दछौं । सरकारले सीमा नाकाहरुकमा कडा निगरानी र सुरक्षामा ध्यान दिनु आवश्यक छ । हामीले अहिले नै बंगलादेशमा घटेको घटनाको सम्पूर्ण पाटापक्ष र यसले पार्ने प्रभावहरुका बारेमा निष्कर्ष निकाल्नु हतारो हुन सक्छ । तर यसबाट निम्न शिक्षाहरू लिन भने अरु समय लिइरहनु आवश्यक छैन ।

सत्ता, शक्ति, दम्भ, अहङ्कार, बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन । त्यस्तो पात्र, प्रवृत्ति र संयन्त्र स्थायी र टिकाउ हुन सक्दैन । अन्ततः सत्य र जनबलको नै जित हुन्छ र त्यसको अघि सबैले झुक्नै पर्छ । हामीले पनि समयमै यसलाई आत्मसात गरेर तदनुरूप आफूलाई फेर्न र प्रस्तुत गर्न सके मात्र जनताले हामीलाई रक्षा, बल र शक्ति प्रदान गर्नेछन् ।

अन्यथा त्यसको गम्भीर परिणामको सामना हामीले पनि गर्नैपर्ने हुन्छ । हामी नेपालका राजनीतिक पार्टी र तिनका नेताहरुले राष्ट्रिय स्वाधीनता एवम् नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा, राष्ट्रिय एकताको सुदृढीकरण, संविधान एवम् लोकतन्त्रको रक्षा, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा आफूलाई रूपान्तरण सहित प्रस्तुत गर्नु आजको माग हो । यसलाई छिट्टै बुझौं र त्यस अनुसार व्यवहार गरौं । राजनीतिक पार्टीहरु र नेताहरू बदलिए तिब्र गतिमा नेपाल बदल्न सम्भव छ । नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो, नेताहरू र दलहरु आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रुपमा नलिऔं ।

मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले गएराति अन्तरिम सरकार प्रमुखमा नियुक्तिको घोषणा गरेका हुन् ।

राष्ट्रपति, सेना प्रमुख र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

यस अघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गरेका थिए । विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई जोड दिएका थिए ।

८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सत्कार सहकारीका सचिवसहित तीनजना पक्राउ

काठमाडौँ । काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । 

सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन् । पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीले जानकारी दिएको छ । 

उनीहरुले आर्कषक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका तर बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरु ब्यूरोमा पुगेका थिए ।

प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय र सहकारी विभागबाट समेत प्रहरीलाई पत्राचार भएको उनले बताए ।

सोही आधारमा खोजी गरी सोमबार पक्राउ परेका उनीहरुमाथि आज सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको पनि बोगटीले बताए ।

ब्युरोले आजै एक सूचना जारीगरी उक्त सहकारीबाट ठगीमा परेका अन्य बचतकर्ताहरुलाई पनि सम्पर्कमा आएर हिनामिना भएको रकमसहित निवेदन दिन अनुरोध पनि गरेको छ ।

एनआरएनएको नेतृत्वलाई काम गर्न नदिन परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिनेगरी परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन खारेज गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले मंगलबार मन्त्रालयको निर्देशन खारेज गरेको हो । परराष्ट्र मन्त्रालयले नवनिर्वाचित समितिलाई काम गर्न नदिन जारी गरेको पत्र खारेजीको माग गर्दै एनआरएनका कोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले रिट निवेदन दायर गरेका थिए ।

परराष्ट्र मन्त्रालयले एनआरएनएको नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को गठन नभएसम्मका लागि संघको सचिवालयबाट नियमित प्रशासनिक काम कारबाहीबाहेक अन्य काम गर्न रोक लगाएको थियो ।

मन्त्रालयले सङ्घको गरिमा, एकता, उद्देश्य र प्रभावकारितामा प्रभाव पार्ने, अतिरिक्त आर्थिक दायित्व बहन हुने, गैरआवासीय नेपालीको एकता, पारस्परिक सहयोग र सद्भाव अभिवृद्धिमा आघात पुग्ने प्रकारका कुनै पनि गतिविधिहरू नगर्न नगराउन गैरआवासीय नेपालीसम्बन्धी नियमावलीबमोजिम निर्देशन दिएको थियो । अदालतले उक्त निर्देशन खारेज गरेको हो ।

नेपाल प्रहरीका तीन एआईजीको सरुवा

काठमाडौँ । सरकारले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक(डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो । 


सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।’


सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उनले जानकारी दिए ।


प्रवक्ता गुरुङले भने, ‘नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपथ प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।’ उनका अनुसार नेपाल प्रहरी तर्फका एआइजीहरूको सरुवा तथा पदस्थापना गरिएको छ । 


काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा सरुवा गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।


उनका अनुसार अनुसन्धान ब्युरोबाट श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ । 


यसैगरी किरण बज्राचार्यलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार आज एआइजीमा बढुवा भएका रामदत्त जोशी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

अनु अधिकारीको ‘ज्यान भैसक्यो बैना’

काठमाडौँ । अनु अधिकारीको स्वरमा ‘ज्यान भैसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ। पवन कोइरालाको शब्द रहेको गीतमा लोहनी प्रमोदले संगीत भरेका छन् ।

प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा पुरुषेत्तम सुवेदीको संगीत संयोजन छ । भिडियोमा बिना राउत, सरोज अँम्गाईं र बाल कलाकार इभान्सी श्रेष्ठले अभिनय गरेका छन् ।

करण सुनारको निर्देशन गरेको भिडियो पवन सुलिङले छायांकन गरेका हुन्। गीतको कोरियोग्राफरमा निर्देशक सुनारसहित युमी बलामी पनि रहेका छन्। गीत गायिका अनु अधिकारीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा

काठमाडौं । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो ।

योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । अब नेपालले उपाधिका लागि बुधबार भारतसँग खेल्नेछ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो ।

भेलबाढीकै कारण सिमलताल दुर्घटना

काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।


गृहमन्त्री लेखकले पदबहाली गरेपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । 


कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको छ ।


कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकाप्रति चिन्ता व्यक्त गरे ।


गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नाका साथै अरू निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए ।


‘यो गम्भीर र संवेदनशील विषय छ,’मन्त्री लेखकले भने, ‘हवाई दुर्घटना भयो भने आयोग र समिति बनाउने, दुर्घटनाका बारेमा जानकारी लिने, छानबिन हुने गरिन्थ्यो,’ उनले भने, ‘सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।’


सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए । ६२ जना बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझी आफूले अध्ययन कार्यदल बनाएको उनको भनाइ थियो ।


त्यस्तै, सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुईवटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको छ ।


प्रतिवेदन पेस गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग/डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए ।


‘दुर्घटनास्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्रान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर पनि छ,’ संयोजक रिजालले भने, ‘उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा/पर्खाल लगाएको पनि देखिँदैन ।’ दुर्घटनामा परी नदीमा हराएका यात्रुमध्ये २४ जना शव फेला परे पनि ४० जनाको अवस्था अझै अज्ञात छ ।

लघुवित्तहरूलाई ६० दिनभित्र नियतवश नतिर्ने र समस्यामा परेका ऋणी छुट्याउन कार्यदलको सुझाव

काठमाडौँ । लघुवित्तपीडितहरुको समस्या समाधानका लागि गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले मंगलबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ ।

सरकारले गर्नुपर्ने कार्यमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।  

यसैगरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय संस्थाबाट बाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाहरुले लघुवित्तसम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्ने लगायत छन् ।

नेपाल राष्ट्र बैंकहरुले गर्नुपर्ने नीतिगत व्यवस्थाबारे सम्बन्धित लघुवित्त वित्तीय संस्थाहरुलाई हाल कर्जा नियमित नभएका तथा समस्यामा परेका भनिएका आ–आफ्ना ऋणीहरुको तथ्याङ्क सङ्कलन गरी नियतवश कर्जा नतिरेका तथा वास्तविक रुपमै समस्यामा परेका ऋणीहरु यकिन गरी अधिकतम ६० दिनभित्र नेपाल राष्ट्र बैंक समक्ष पेश गर्न निर्देशन दिनेलगायत सुझाव छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले गर्नुपर्ने कार्यमा समयमा कर्जाको साँवा ब्याज तथा नियमित बचत जम्मा नगर्ने सदस्यहरुलाई ताकेता गर्ने नाममा कार्यस्थलको वातावरण बिगार्ने गरी दबाब तथा मानसिक यातना नदिने व्यवस्था मिलाउन प्रतिवेदनले सुझाव दिएको छ । 

त्यसैगरी, लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले पालना गर्नुपर्ने कार्यमा एक संस्थाबाट मात्र कर्जा उपयोग गर्ने, जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने तथा उक्त परियोजनाबाट भएको नगद प्रवाहबाट नियमित रुपमा किस्ता तिर्नेलगायतका सुझाव छन् ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयनका लागि सबैसँग समन्वय गर्ने र सरकारले गर्नुपर्ने सुझावहरुको औचित्य हेरेर कार्ययोजना बनाएर काम गर्ने बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा तिम्सिनाले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक भएको बताए ।

प्रतिवेदनअनुसार २०८० साल चैत्र मसान्तसम्म ५५ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेकोमा तीन वटा थोक कर्जा प्रदायक संस्था र बाँकी ५२ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । यी लघुवित्त वित्तीय संस्थाहरुले  चार खर्ब ५३ अर्ब ११ करोड कुल प्रवाह गरेका छन् । कुल बचत  एक खर्ब ७२ अर्ब ६६ करोड र सापटी रकम  दुई खर्ब २७ अर्ब ६१ करोड छ ।

लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्त तथा वित्तीय संस्था पीडितका प्रतिनिधिबीच २०८० साल चैत्र २ गते अर्थमन्त्रालयमा छ बुँदे सहमति भएको थियो । त्यसैदिन लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा तिम्सिनाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो ।

परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ । 

जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो ।

        विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ ।

विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ ।

        प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ ।

        प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ ।

तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको छ : सूर्य थापा

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापाले तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलमा उनले दुई महिनाको अवधिमा सरोकारवाला निकायसंग छलफल गरि तथ्यमा पुग्ने काम भएको भन्दै तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताएके हुन् ।

उनले समितिमा बिभिन्न दलको प्रतिनिधित्व रहेपनि कुनै राजनीतिक प्रभाव नराखी निष्पक्ष रुपमा अध्ययन अनुसन्धान गरिरहेको जिकिर गरे ।

संसदको शत प्रतिशत मतले छानविन समिति गठन भएको भन्दै उनले समितिले जवाफदेहीताका साथ काम गर्ने धारणा राखे ।

उनले सहकारी समस्याको दीर्घकालीन समाधानको प्रयास स्वरुप समिति सक्रिय रहेकाले त्यही अनुसारको सिफारिस गर्ने स्पष्ट पारे ।

तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको छ सूर्य थापा