`

खेलौनामा लुकाएर २१ करोड मूल्यको कोकिन तस्करीमासंलग्न लाटभियन नागरिक पक्राउ

काठमाडौँ । ६ किलो बढी अवैध लागुऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर दुई सय ९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको थियो । 


ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गरी ६ किलो २४ ग्राम कोकिनसहित उनलाई सार्वजनिक गरेको छ । उनी लाटभियाबाट फ्रान्स हुँदै कतारको दोहाबाट कतार एयरको उडानमार्फत काठमाडौँ आएको अनुसन्धानका क्रममा पाइएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 


विमानस्थलस्थलमा खटिएको ब्यूरोको टोलीले साधरण जाँचका क्रममा शङ्का लागेपछि उनको सुटकेट तलासी लिएको थियो । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब  २१ करोड आठ लाख पर्ने प्रहरीको अनुमान छ । उनीमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


पछिल्लो समय लागुऔषध अपराधमा सङ्गठित गिरोह लागेको प्रहरी वरिठ उपरीक्षक आचार्य बताउँछन् । नेपाल हुँदै भारत लैजाने उद्देश्यका साथ उक्त कोकिन काठमाडौँ ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘यसअघि ब्राजिल र अफ्रिकी मुलुकबाट कोकिन ल्याएको भेटिन्थ्यो, त्यतिबेला बढी मात्रामा कोकिनको क्याप्सुल खाएर आउथे’, उनले भने, ‘तर अहिले युरोपेली मुलुक लाटभिया, फ्रान्स र कतारको दोहा हुँदै नेपाल ल्याएको अवस्था हो ।’


प्रारम्भिक अनुसन्धानबाट दोहा विमानस्थलबाट कोकिन बोकेर आएको हुनसक्ने देखिएको छ । लागुऔषध कारोबारीले पछिल्ला समय नेपाललाई अवैध लागुऔषध ओसारपसारको ‘ट्रान्जिट’ बनाउन खोजेको विभिन्न घटनाले देखाउँछ । यसअघि प्रहरीले गत असार ३० गते ठमेलस्थित एक होटलबाट पाँच किलो ८२० ग्राम कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको थियो ।

हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको समग्र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न विज्ञहरु सम्मिलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।


समितिको बिहीबार बसेको बैठकले हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको अवस्थाबारे १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको स्वतन्त्र छानबिन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।


पछिल्लो समय निरन्तर भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे छानबिन समिति बन्ने गरे पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयनसम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यासअनुरुप कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न निर्देशन दिइएको समितिका सभापति राजकिशोर यादवले बताए । उनका अनुसार बैठकमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा पर्यटनमन्त्री, सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरी समितिले उक्त निर्णय गरेको हो ।


समितिले उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र सङ्घीय संसदमा पेस गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 


यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेस भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरु के र कुन अवस्थामा छन्, सोको जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।


यस्तै, नेपालमा हवाई नीति, २०६३ सालदेखि कार्यान्वयनमा आए पनि मुलुकको हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पर्यटन मन्त्रालयलाई निर्देशन दिइएको हो ।


बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पर्यटन मन्त्रालयलाई दिएका निर्देशनहरु हालसम्म पनि कार्यान्वयन भएको नदेखिएकाले ती निर्देशनहरु कार्यान्वयनका लागि पुनः स्मरण गराएको छ ।


समितिका सभापति यादवले दुईसातामा दुई हवाई दुर्घटनाले हवाई सुरक्षामात्रै नभई मुलुकको छविमा समेत आँच आउने खतरा बढेको भन्दै आगामी दिनमा यस किसिमको दुर्घटना न्यूनीकरणको उपाय खोज्न र जिम्मेवार निकायका पदाधिकारीलाई कानुनी दायरामा ल्याउन माग गरे ।


बैठकमा बोल्ने अधिकांश सांसदहरुले पटक–पटक हवाई दुर्घटनापछि छानबिन समिति बन्ने र प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले पछिल्ला दिनमा भइरहेको निरन्तर हवाई दुर्घटनामा नियमनकारी निकायको लापर्बाही रहेको भन्दै जिम्मेवार पदाधिकारीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति,सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको छ  ।

साउन २२ गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति,सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गरेको जानकारी दिएका हुन् ।

बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २० मिलियन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै बेलायत सरकारबाट प्राप्त हुने करिब ६ अर्ब ५८ करोड रुपैयाँ अनुदान सहायतासम्बन्धी समझदारी स्वीकृत गरिएको उनले बताए ।

प्रवक्ता गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिव र कानुन मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै नेपाली  सेनाका एकजना सहायक रथीलाई उपरथी पदमा, चारजना महासेनानीलाई सहायक रथी पदमा, एकजना प्रमुख सेनानीलाई महासेनानी पदमा र एकजना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

–एसियाली विकास बैंकबाट क्लाइमेट रेसिलेन्स ल्याण्ड्स्क्याप एण्ड लाइम्लीहोल्ड्स परियोजनाको लागि प्रश्ताव गरिएको २० मिलियन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने ।

–बेलायत सरकारबाट इन्हयान्सिङ जेण्डर एण्ड ह्युमन डेभलपमेण्ट आउटकम थ्रु सिस्टम्स स्ट्रेन्थिङ्ग्स कार्यक्रमका लागि प्राप्त हुने ३८.८ मिलियन पाउण्ड स्टर्लिङ (करिब ६ अर्ब ५८ करोड) अनुदान सहायतासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने ।

–बेलायत सरकारवाट रेसिलेन्स एडप्टेसन एन्ड इन्क्लुसन इन नेपाल कार्यक्रमका लागि प्राप्त हुने ३८.५ मिलियन पाउण्ड स्टर्लिङ (करिब ६ अर्ब ५० करोड) अनुदान सहायतासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने ।

–राजश्व न्यायाधिकरण, नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर,नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई तोक्ने ।

–सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने ।

–रक्षा मन्त्रालयको सहसचिव पदमा कार्यरत आलोकचन्द्र श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा, नेपाल कानून आयोगको सहसचिव पदमा कार्यरत पारावर डुङ्गानालाई नेपाल कानुन आयोगको सचिव पदमा ।

–श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश जनक पाण्डेलाई तोक्ने । प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।

–नेपाली सेनाका १ जना सहायक रथीलाई उपरथी पदमा, ४ जना महासेनानीलाई सहायक रथी पदमा १ जना प्रमुख सेनानीलाई महासेनानी पदमा र १ जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने ।

–राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने ।

–नगर विकास कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाका लागि काम गर्ने गरी कोषका वरिष्ठ कर्मचारी उपप्रबन्धक राजेश कुमार भोछिभोयालाई तोक्ने ।

–नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा देहायका पदाधिकारीहरूलाई मनोनीत गर्नेः

१. कोशी: रहेली नगरपालिका प्रमुख दिलिप कुमार अग्रवाल
२. मधेश – बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवाल
३. बागमती : गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल
४. गण्डकी: पोखरा महानगरपालिका उपप्रमुख मन्जु गुरुङ
५. लुम्बिनी: तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँड
६. कर्णालीः पन्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारी
७. सुदूरपश्चिमः लम्कीचुहा नगरपालिका प्रमुख सुशीला शाही’

नोबेल पुरस्कार विजेता युनूस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किएका छन् ।

आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उनी स्वदेश फर्किएका हुन् ।

उनले बङ्गलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको बलिदानले देशलाई ‘दोस्रो स्वतन्त्रता’ दिलाएको बताए ।

कामचलाउ सरकारको नेतृत्व गर्न स्वदेश फर्केलगत्तै ढाकास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, “आजको दिन हाम्रा लागि गौरवपूर्ण दिन हो ।”

उनले भने, “बङ्गलादेशले नयाँ विजय दिवस सिर्जना गरेको छ । देशले दोस्रो पटक स्वतन्त्रता पाएको छ ।”

हप्तौंदेखि चलेको हिंसामा कम्तीमा ४५५ जनाको ज्यान जाने गरी भएको हिंसापछि सुव्यवस्था बहालीका लागि आह्वान गर्दै उनले आक्रमणमा परेका अल्पसङ्ख्यकसहित एक अर्काको रक्षा गर्न नागरिकहरूलाई आह्वान गरेका छन् ।

“कानून र व्यवस्था हाम्रो पहिलो काम हो । जबसम्म हामी कानून र व्यवस्थाको स्थिति ठीक गर्दैनौं, तबसम्म एक कदम पनि अगाडि बढ्न सक्दैनौं”, उनले भने, “मेरो सबैजनासँग आह्वान छ; यदि तपाइहरूलाई ममाथि भरोसा छ भने यो सुनिश्चित गर्नुस् कि देशको कुनै पनि कुनामा कसैमाथि आक्रमण नहोस् ।”

चौरासी वर्षीय युनुसले बिहीबार साँझसम्म देशको नयाँ नेताका रूपमा सपथ लिने सम्भावना छ ।

सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजिनामा दिन बाध्य हुनुपरेको थियो ।

यसअघि, युनसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफु घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए ।

युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्वासनमा बस्दै आएका थिए ।

दक्षिण जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।

जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

“सुनामीको छाल पटक पटक आउनसक्छ, त्यसैले कृपया अर्को जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समूद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक हुनेछ,” जापानको मौसम विज्ञान निकायले सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ ।

भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गरेका छन् ।

सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिको बारेमा स्थितिको आँकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले स्थानीय तहसँग घनिष्ट समन्वय कायम गर्न र जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी तथा अन्य उद्धारमा खटिने सङ्घसंस्थालाई निर्देशन दिएका छन् ।

‘ढल्किदो उमेरले विद्यालय जान छेकेन नवीनलाई’

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका ५१ वर्षीय नवीन भट्टको दैनिकी अचेल केही फेरिएको छ । दुई छोरा र एक छोरीलाई हुर्काइसकेका उनी स्कुल जान थालेका छन् ।

पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसकेका भट्टलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि स्कुल भर्ना भएका हुन् । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना भएका छन् ।

भट्ट स्कुलमै बसेर पढ्ने व्यवस्था मिलाएका छन् । ‘अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,’ उनले भने, ‘शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।’ बुढेसकालमा पढ्न थालेको भन्दै कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताए ।

‘जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ’, नवीन भन्छन्, ‘अनुशासित भएर पढ्छु र राम्रोसँग एसइई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबीबीएस पढ्छु भन्ने लागेको छ ।’

०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोड्नु भएका नवीनले करिब २९ वर्षपछि फेरि विद्यालयमा पढ्न थालेका हुन् । कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ ।

कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै संगत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उनी बताउँछन् । ‘नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबीबीएस पूरा गर्छु’, उनले भने, ‘त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ ।’

भट्टलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ । ‘इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ’, उनले भने ।

विद्यालय र कक्षाकोठामा सहपाठीले अङ्कल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउँछन् । घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेकी छन् ।

विद्यालयमा नवीनमा आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीहरुसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताए । ‘विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,’ प्रधानाध्यापक आर्चायले भने, ‘उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौँ ।’

सुनको कथामा बन्यो ‘नम्बरी सुन’

काठमाडौँ । सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको काम कसरी अगाडि बढ्यो ?, कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइने बताए ।

उनले भने, ‘सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास छ । यस्तै एउटा कथालाई चलचित्रमा ल्याउँदैछौँ । यसले मनोरञ्जनसँगै सुनसँग जोडिएको तथ्यलाई दर्शकसम्म पुर्याउनेछ ।’

सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ ।

अभिनेता पहारीले आर्थिक रुपमा कमजोर भएका युवाको भूमिका निर्वाह गरेको जानकारी दिए । ‘मैले निम्न वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । यसमा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । यसले प्रेमसँगै चलचित्रमा एउटा पुस्ताको कालिगढ़ीलाई जोडेको छ’, उनले भने । आफूले अभिनय गरिरहेको भन्दा फरक पात्र भएकाले अभिनय गर्न तयार भएको उनको भनाइ छ ।

चलचित्रमा यसमा अभिनेत्री सापकोटाले ग्रामीण युवतीसँगै अभिनेता पहारीको प्रेमिकाको भूमिका निर्वाह गरेका छन् । ‘चलचित्रमा मुखियाकी छोरी भएर पनि साधारण शैली रहेकी युवतीको भूमिकामा छु । मेरो पात्रले क्रान्तिको चित्रण समेत गरेको छ’, अभिनेत्री सापकोटाले भनिन् । चलचित्र यही साउन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।

नेप्सेमा २० अर्ब भन्दाबढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर चार सय ८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

नेप्सेका अनुसार, पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता शेयर २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।

यस्तै, एनआरएन इन्फास्ट्रक्चर आठ दशमलव शुन्य चार,सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९,आरम्भ चौतारी लघुवित्त चार दशमलव ९३,रुरु जलविद्युत् परियोजना चार दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

जुम्लामा तीन वर्षमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु

जुम्ला । जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३१, आव २०७९/८० मा २५ तथा आव २०८०/८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए ।

तीन वर्षमा ६ ट्रक, चार बस, १६ जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए ।

ती सवारीसाधन दुर्घटना हुँदा ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक धामीले बताए ।

तीव्र गतिका कारणले सवारीसाधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन, चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ ।

जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ ।

हेलिकप्टर दुर्घटनाका मृतकको शव त्रिवि शिक्षण अस्पतालमा परीक्षण सुरु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागरिकको शव परीक्षणका लागि काठमाडौंस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए ।

बङ्गलादेशमा रहेका सयौँ हिन्दू सुरक्षाको कारण देखाउँदै भारतीय सीमामा

विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका केहीले उहाँसँगको निकट सम्बन्धको आशङ्कामा हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए ।

“सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दूहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,” भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमित कुमार त्यागीले भने ।

पश्चिमबङ्गाल राज्यको भारतीय सिमाक्षेत्रको अन्तिम विन्दुमा २०० जना र पश्चिमबङ्गाल राज्यको जलपाईगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताए ।

“दुई देशबीचको सिमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सिमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए,” उनले भने ।

सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएकी थिइन् । त्यसपछि बङ्गलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ ।

बङ्गलादेश हिन्दू, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तिमा १० वटा हिन्दु मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो ।

बडिगाड पहिरोमा थप एकको शव फेला, दुई अझै बेपत्ता

बागलुङ । गत मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो ।

१० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ ।

पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंँ लगिएको छ ।

काभा महिला भलिबल उपविजेता टोलीलाई नगदसहित काठमाडौँ महानगरपालिकाको सम्मान

काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ ।

खेल सकिएको भोलिपल्ट बिहीबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको हो ।

सम्मान प्रदान गर्दै महानगरका मेयर बालेन साहले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही एक लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् ।

खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट छन् ।

मेयर साहले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न कम ध्यान गएको भन्दै यसतर्फ ध्यानाकर्षण भएको बताए । सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे ।

‘सन् २०१७ मा स्थापना भएको मध्य एशियाली भलिवल एशोसिएसनको पहिलो वर्षमा नेपालले स्वर्ण पदक हासिल गरेको थियो । महानगरपालिकाको सहयोगबाट हामी त्यो स्थानका लागि प्रयत्न गर्नेछौँ ।’ भट्टको भनाइ थियो । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएको थियो ।

संसदको कानुन समितिबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी) पारित भएको छ ।

बिहीबार बसेको समितिको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो । विधेयकमा सन्दर्भमा देखिएका विवादहरुलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेका थिए । कार्यदलले बुधबार शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । 

विवादीय विषयमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो । समिति बैठकमा सभापति विमला सुवेदीले विधेयक समितिको मस्यौदा प्रस्तुत भएकै रुपमा सर्वसम्मत पारित भएको जानकारी गराइन् । उनले यो विधेयक आगामी संसद बैठकमा पेश गर्ने व्यवस्था मिलाउन सभामुखसमक्ष आग्रह गरिने बताइन् ।

बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले मानवअधिकारको उल्लंघनमा पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरूबीचको सहमति महत्वपूर्ण रहेको बताए ।

समिति सदस्यहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नु निकै महत्वपूर्ण विषय भएकाले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएका सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ ।

यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुनअनुरुपको दण्डमा सजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ ।

विस्तृत शान्ति सम्झौता भएको झण्डै १८ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा भएको समझदारीलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि ‘ब्रेक थ्रु’ का रूपमा हेरिएको छ ।

नेपालको समग्र हवाई उड्डयन क्षेत्रको सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियोः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरुले बुझाएका प्रतिवेदन कार्यान्वयनमा नआएका कारण नेपाली उड्डयन क्षेत्र असुरक्षित बनेको बताएका छन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध एवम् पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले दुर्घटना हुनेबित्तिकै छानबिन समिति बनाएर मात्र दुर्घटनामा न्यूनीकरण गर्न नसकिने उल्लेख गर्दै नेपालको समग्र हवाई प्रक्रियाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्नुपर्ने बताए ।

उनले बैठकमा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे पनि जानकारी गराए । अब पनि सधैं जाँचबुझ आयोग बनाइरहने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै जाने बताए ।

उनले भने, ‘अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ । सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो । समग्र अध्ययनका लागि मन्त्रालयले प्रस्ताव गर्नुपर्छ, मन्त्रिपरिषद्को बैठकमा छलफल हुनुपर्छ ।’

उनले नेपाली आकाश असुरक्षित बन्दै जानुको कारण कानुनी, नीतिगत, संरचनागत के समस्या हो त्यसको अध्ययनका लागि प्राविधिक र जनशक्ति लगायतका विषयमा अध्ययन गर्न समिति गठन गर्नका लागि समेत प्रधानमन्त्रीले निर्देशन दिएको उल्लेख गरे । उनले अब प्रधानमन्त्रीको निर्देशन अनुसार अघि बढ्ने बताए ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन उनले आग्रह समेत गरे ।

प्यालेस्टिनी कैदीमाथिको दुव्र्यवहारप्रति ह्वाइट हाउस चिन्तित

इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीविरुद्ध बलात्कार, यातनालगायतका दुव्र्यवहारको रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले गहिरो चिन्ता व्यक्त गरेकी छन् ।

संक्षिप्त पत्रकार भेटका क्रममा जीन–पियरेले अमेरिका सधैँ स्पष्ट इजरायलको पक्षमा रहेको भन्दै बन्दीहरूलाई मानवीय व्यवहार अन्तर्राष्ट्रिय कानून अनुसार गर्नुपर्ने बताइन् ।

बन्दीहरूलाई मानवीय मर्यादाका साथ व्यवहार गरी बन्दीहरूको मानव अधिकारको सम्मान गर्नुपर्ने तथा दुव्र्यवहारका लागि जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।

इजरायली रक्षा बलसंवद्ध सैनिकद्वारा प्यालेस्टिनी बन्दीहरूमाथि गम्भीर प्रकृतिका दुव्र्यवहार गरेको अनुसन्धानपछिको दावीलाई समर्थन गर्दै पियरेले कानुनको पालना गरी विधिको शासन र उचित प्रक्रिया कायम हुनु आवश्यक रहेको बताइन् ।

उनले नेताहरूको पहलले मात्र यस क्षेत्रको तनावबारे कूटनीतिक सम्झौता गरी युद्धविराम र बन्धक मुक्तिको सम्झौतालाई निष्कर्षमा ल्याइने जानकारी गराइन् ।

यसबारेमा अमेरिकी राष्ट्रपति बाइडेनसमेतले केही समयदेखि चासो राख्दै आएको उल्लेख गर्दै उनले सम्झौताका लागि निरन्तर काम गरी कैदीको मानव अधिकार संरक्षण र मध्यपूर्वको तनाव व्यबस्थापन गर्न प्रयासरत रहेको बताइन् ।

आयुर्वेद प्रतिष्ठानको आवश्यकता

प्रा.डा. चन्द्रराज सापकोटा
आयुर्वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ । आयुर्वेद क्षेत्रको उन्नयनका लागि गरिनुपर्ने कामहरु लामो समयदेखि रोकिएको छ । स्वास्थ्यको क्षेत्रमा सबैभन्दा पुरानो विधा आयुर्वेद हो । आयुर्वेदपछि अन्य विधाहरु पनि यसमा संलग्न हुन आए । नेपालको सन्दर्भमा पनि जेठो स्वास्थ्य संस्थाका रुपमा सिंहदरबार वैद्यखानालाई लिन सकिन्छ । राजा प्रताप मल्लको पालामा स्थापना भएको यो संस्था दक्षिण पूर्व एसियाकै पुरानो संस्था हो । 


नेपालमा शिक्षा दिने संस्थाका रुपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा छ । आयुर्वेदका विधाहरुलाई ७७ वटा जिल्लामा सञ्चालन गर्न आयुर्वेद विभाग छ । चिकित्साका लागि केन्द्रीय चिकित्सालयका रुपमा आयुर्वेद चिकित्सालय नरदेवीमा छ । यी सबै संस्थाहरु जुन रुपमा चल्नुपर्ने हो, त्यो चलेको अनुभूति गर्न पाइएको छैन । यसो हुनुको मुख्य कारण आयुर्वेद क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै हुनु हो । दुई/चार महिनामै मन्त्री फेरिने र यसले योग्यभन्दा पनि आफ्नो कार्यकर्तालाई ती निकायहरुको जिम्मेवारी दिने प्रवृत्तिले संस्थाहरु दिन प्रतिदिन धराशयी बन्दै गएका छन् । 


आयुर्वेद शिक्षा २०२९ सालभन्दा अगाडि नेपाल सरकारबाट सञ्चालित हुँदाखेरि पूर्वमध्यमा, शास्त्री र आयुर्वेदाचार्यसम्मको पठनपाठन नरदेवीमा नै भएको थियो । विसं २०२९ मा नयाँ शिक्षा ऐन लागू भएपछि इन्स्टिच्युट अफ मेडिसिनअन्तर्गत आयुर्वेदलाई पनि लिएर जाने भनेर नीति ल्याइयो । जुन इन्स्टिच्युट अफ मेडिसिन २०२९ सालमा बनेपछि आचार्यसम्म भएको पठनपाठनलाई तल झारियो । आयुर्वेदको एउटा मात्रै विधा नरदेवीमा कायम राखियो भने एलोपेथीको विधा महाराजगञ्जमा सारियो । त्यो बेला आयुर्वेदतर्फ आयुर्वेद तथा जनरल मेडिसिन, एलोपेथीको जनरल मेडिसिन, फार्मेसी, रेडियोग्राफी, नर्सिङसहितका पाँचवटा विधा थियो । 


एलोपेथीतिर अहिले एमबिबिएस गरेपछि पिजी, एमडी, एमएस, डिएमसम्म २९ वटा विधा छन् । आयुर्वेदमा बिएएमएस गरिसकेपछि २२ वटा विधामा एमडी गर्न सकिने व्यवस्था छ तर अहिले काया चिकित्सा भन्ने विषयमा मात्रै एमडी छ । अरू त्यहाँ पठनपाठन छैन । आयुर्वेदमा अन्य विधाहरु सञ्चालन गर्न हामीले निकै प्रयत्न गरियो । नेपालमा आयुर्वेदको जनशक्ति आवश्यकता भए पनि नीतिगत रुपमा नै त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारले यसका अन्य विधाहरु ल्याउन सकेन । 


नेपाल यति धनी देश हो, जसको समायोजन र व्यवस्थापन राजनीतिक रुपमा हुन सकेन । नेपालमा हिमाल, पहाड तराईमा हुने जडीबुटीहरु प्रशस्त छन् । वनसँग समन्वय गरेर ती जडीबुटीबाट हामीले नेपालभित्रै उद्योगहरु बनाएर आयुर्वेदिक औषधि उत्पादन गर्न सक्छौँ । यसका लागि सबैभन्दा पहिला शिक्षा आवश्यक पर्छ । 


राष्ट्रिय शिक्षा आयोग २०४९ को प्रतिवेदनमा पठनपाठन, आयुर्वेद अनुसन्धान, जडीबुटी उत्पादन तथा औषधि निर्माण, शिक्षण चिकित्सालयको पठनपाठन, व्यवस्थापन गर्ने एउटा अध्ययन संस्थानको स्थापना गर्नुपर्छ भन्ने उल्लेख छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ मा प्राडा बल्लवमणि दाहालको संयोजकत्वमा गठन गरिएको समितिले बुझाएको प्रतिवेदनमा शिक्षा कस्तो हुने भन्ने विषयमा उल्लेख गर्दै आयुर्वेद चिकित्सालयका लागि आवश्यकमध्ये दक्ष र कर्तव्यनिष्ठ विभिन्न स्तरको जनशक्ति उत्पादन गर्न त्रिभुवन विश्वविद्यालयमा तत्कालै र जडीबुटीलाई व्यवस्थित, मर्यादित र आयआर्जन गर्नका लागि अरू क्षेत्रबाट पनि गर्न सकिने प्रावधान राखिएको थियो । त्यसैको आधारमा स्वास्थ्य मन्त्रालयले वीर अस्पताल प्रतिष्ठान र आयुर्वेद प्रतिष्ठान पनि चाहिन्छ भनेर सुरु गरेको कुरा हो । 


सो प्रतिवेदनले आयुर्वेद शिक्षालाई नेपालको जडीबुटीलाई व्यवस्थापन गर्नका लागि इन्स्टिच्युट अफ आयुर्वेदको अवधारणा ल्याएर जाने, इन्स्टिच्युट अफ मेडिसिनले यसलाई समेट्न सकेन भनेर प्रतिवेदनमा उल्लेख गरेको थियो । हामी आयुर्वेद चिकित्सक सङ्घमा रहँदा पनि त्यो विषयलाई जोडतोडका साथ उठायौँ  विसं २०५० मा प्राध्यापक डा एलएम (लोकेन्द्रमान) सिंहको संयोजकत्वमा कमिटी बन्यो र त्यो कमिटीले दिएको प्रतिवेदनमा राष्ट्रिय आयुर्वेद चिकित्सा पद्धति भनेर नीति दिएको थियो । त्यो नीति एक/डेढ वर्ष त्यतिकै थन्कियो । पछि २०५१ सालमा फेरि सरकार परिवर्तन भएर आएपछि पास भयो । 


तत्कालीन स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीको कार्यकालमा आएको नीतिमा सर्वप्रथम शिक्षाको उन्नयनका लागि इन्स्टिच्युट अफ आयुर्वेद बनाउने भनेर लेखिएको छ । पहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत बनाउने अनि त्यो सम्पन्न भएपछि दोस्रोमा नेपाल संस्कृत विश्वविद्यालयमा पनि इन्स्टिच्युट अफ आयुर्वेद बनाउने भनेर त्यो नीतिमा स्पष्टरुपमा लेखिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको इन्स्टिच्युट अफ आयुर्वेद भयो तर त्यहाँ जनशक्तिको अभाव देखियो । अनि त्यो पारित भएको नीतिमा काउन्सिलको कुराहरु छन् । चिकित्सक सङ्घले परिषद् गठन गर्न र नीतिहरु पूरा गर्न दबाब दिएपछि परिषद् गठन भयो । परिषद् आएपछि अहिले पनि परिषद् मौजुदा छ । हामी आयुर्वेदको चिकित्सकहरुको दर्ता पनि त्यही परिषद्मा हुन्छ । त्यो समयमा अति मेहनत गरेपछि परिषद् आयो र अहिले आयुर्वेद चिकित्सकहरुको दर्ता प्रक्रिया चलिरहेको छ । 


त्यस्तै, इन्स्टिच्युट अफ आयुर्वेद नबनेसम्म जनशक्ति पूरा हुँदैन भन्ने हिसाबले लागिरह्यौँ तर आयुर्वेद क्याम्पस प्रशासन जसरी लाग्नुपर्ने हो, त्यसरी लाग्न सकेन । त्रिभुवन विश्वविद्यालयमा प्रा तीर्थ खनियाँ उपकुलपति भएर आएपछि उहाँलाई इन्स्टिच्युट अफ आयुर्वेद गठन गर्न दबाब दियौँ । त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल हुनुहुन्थ्यो । उहाँहरुले मेरो आफ्नै संयोजकत्वमा कमिटी गठन गर्नुभयो । कमिटीले बुझाएको प्रतिवेदनमा आयुर्वेदमा पनि २२ वटा विषयमा विशेषज्ञता हासिल गर्न सकिन्छ भन्ने विषय उल्लेख थियो । काया चिकित्सा (जनरल मेडिसिन आयुर्वेद), पञ्चकर्म (स्वधन चिकित्सा आयुर्वेद), सल्य चिकित्सा (सर्जरी आयुर्वेद), सालक्य मुख तथा दन्त रोग, कौमारभृत्य (बाल रोग आयुर्वेद), स्त्री प्रसूति, मनोविज्ञान एवम् मानसरोग (साइक्याट्रिक आयुर्वेद), रोग निदान एवम् विकृति विज्ञान (ल्याब आयुर्वेद), अगततन्त्र एवम् व्यवहार आयुर्वेद, द्रव्यगुण विज्ञान, रसशास्त्र, भैसज्य कल्पना (फार्मेसी), स्वस्थवृत (प्रिभेन्टिभ मेडिसिन आयुर्वेद), शरीर रचना (एनाटोमी आयुर्वेद) आदि गरी २२ वटा विषयको विशेषज्ञता हासिल गर्न सकिने भनेर प्रतिवेदनमा उल्लेख गरेको छ । 


त्यो प्रतिवेदन पारित भएर त्रिभुवन विश्वविद्यालयको सिनेटमा गएपछि त्यसबेलाको शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटेर कुरा राख्यौँ । त्यतिबेला उहाँले योगमाया आयुर्वेद विश्वविद्यालय बनाउने क्रममा रहेको बताउनुभयो । योगमाया आयुर्वेद विश्वविद्यालयका लागि पनि जनशक्ति पनि चाहिन्छ र त्यो जनशक्ति एकदिनमै तयार नहुने हुँदा आयुर्वेद क्याम्पसले यता तयार गर्दै जान सकिने हाम्रो सुझाव थियो । आयुर्वेदभन्दा बाहिरका आफ्ना गोजीका व्यक्तिलाई समिति र संयोजक बनाएका कारण अहिलेसम्म आयुर्वेद विश्वविद्यालय बन्ने योजना त्यतिकै थन्किन पुग्यो । 


आयुर्वेदको शिक्षाको नियोजन गरेर कसैलाई पनि फाइदा भएको छैन । अहिले आयुर्वेदमा पनि २२ वटा विषयमा विशेषज्ञता छ र आयुर्वेद परिषद्मा पनि विभिन्न १५ वटा विषयका आयुर्वेद चिकित्सहरु दर्ता भएर कार्यरत छन् । ती सबै विषयको अध्ययन यहाँ नेपालमा छैन । नेपालमा बिएएमएस र काया चिकित्सामा एमडी आयुर्वेदको पढाइ भएको छ । बाँकी विषयमा बाहिर गएर पढेर आएर यहाँ दर्ता भएका छन् । म आयुर्वेद परिषद्को पनि अध्यक्ष र आयुर्वेद क्याम्पसको विभागीय प्रमुखको साथै आयुर्वेद क्याम्पस सञ्चालक समितिको अध्यक्ष रहेको बेला भारतलाई पत्र लेखेर हाम्रो कोर्षलाई आधिकारिता प्रदान गरिदेऊ, हाम्रा विद्यार्थीले पढ्न पाएनन् भन्यौँ । काउन्सिलले पत्र लेखेपछि डिन कार्यालयले भारत सरकार र काउन्सिललाई पत्र पठायो । आयुर्वेदप्रति भारत पनि सकारात्मक भएको कारणले अहिले आयुर्वेदको १५ विषयमा पिजी गर्ने व्यवस्था भारतमा छ र त्यहाँ पढेर आएपछि यहाँ दर्ता पनि छन् तर त्यो चीज हामीले यहाँ किन गर्न नसक्ने ? त्यसो भएको हुँदा यो विषयलाई उठान गर्नुप¥यो भन्ने लागेको हो । 


अहिले विशेष गरेर क्याम्पसले यस विषयलाई उठान गरेर लिएर जानसक्ने अवस्था र वातावरण देखिँदैन । यतिबेला आयुर्वेद क्याम्पस प्राध्यापकविहीन छ । यहाँ भएका प्राध्यापकहरु सेवानिवृत्त भए । अब अहिले त्यहाँ भएका जनशक्ति राजनीतिक दलका कार्यकर्ता जस्ता भएका छन् । सबैले आफू अमुक दलका हो भनेर जाने गरेका छन् । शैक्षिक क्षेत्रमा त्यसरी राजनीतिक कार्यकर्ता भएर चल्दैन । शैक्षिक रुपमा तटस्थ भएर काम गर्नुपर्ने हुन्छ । २०५९/६० सालतिर इन्स्टिच्युट अफ आयुर्वेद हुन नसक्ने अवस्थामा हामीले यता वीर अस्पताल प्रतिष्ठान बन्न सक्छ भने आयुर्वेद प्रतिष्ठान किन नबन्ने भन्ने अवस्थामा मन्त्रालयमा कुरा उठिसकेपछि मन्त्रालयले एउटा प्रस्तावना राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको अवधारणाको लेख्नका लागि तयारी ग¥यो । 


प्रस्तावना लेखियो, तयार पनि भयो, त्यसलाई पास पनि गरियो । आयुर्वेद प्रतिष्ठान खोल्ने भनी आधिकारिक निर्णय पनि भयो तर त्यो थन्किएर बस्यो । नरदेवी आयुर्वेदिक चिकित्सालयमा राख्ने गरी निर्णय पनि भएको थियो । किनभने प्रतिष्ठान बनाउनका लागि अस्पताल आवश्यक पर्छ, त्यसैले नरदेवीमा राख्ने निर्णय पनि भयो । त्यसको समन्वय आयुर्वेद क्याम्पस, आयुर्वेद रिसर्च सेन्टर, सिंहदरबार वैद्यखानासँग गर्ने भन्ने अवधारणामा त्यसलाई पास गरियो तर कार्यान्वनमा आएको छैन । जनशक्ति पनि नेपालका लागि आवश्यक छ । यसका लागि धेरै ठूलो भौतिक पूर्वाधारको निर्माणतर्फ पनि जानु पर्दैन । 


वीर अस्पतालको पूर्वाधारलाई लिएर प्रतिष्ठान बनेको छ । जुम्ला, पोखरा, धरानलगायत धेरै ठाउँमा यस्ता प्रतिष्ठानहरु बनेका छन् । त्यही अभ्यासका आधारमा आयुर्वेदको दक्ष जनशक्ति तयार गर्नका लागि आयुर्वेदका सबै क्षेत्रलाई लिएर आयुर्वेद प्रतिष्ठान स्थापना गरेर अगाडि बढ्न आवश्यक छ । अहिले कुनै दाग नलागेको र धेरैले आशा गरेको व्यक्ति प्रदीप पौडेल स्वास्थ्यमन्त्री बन्नुभएको छ । उहाँले यसतर्फ ध्यान दिएर मुलुकलाई फाइदा पुग्ने निर्णय गर्नुहुनेछ भन्ने विश्वास धेरैको छ । त्यसका लागि जस्तोसुकै सहयोग गर्न तयार छौँ । अहिलेको मौजुदा जनशक्तिबाट पनि यो काम गर्न सम्भव छ । 


आयुर्वेद शिक्षाकै कुरा गर्दा योगमाया आयुर्वेद विश्वविद्यालय बनाउने कुरा पनि त्यतिकै सेलाएर गरेको छ । भारतमा स्वास्थ्यलाई चाहिने जनशक्ति स्वास्थ्यले नै तयार गरेको छ । आयुर्वेद विभागले पनि आयुर्वेदतर्फको जनशक्ति सबै जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छन्, प्रत्येक पालिकामा आयुर्वेद औषधालयहरु राख्ने कार्यक्रम थियो । ती ठाउँमा पनि जनशक्ति राख्नुपर्ने हुन्छ । प्रतिष्ठान सञ्चालनका लागि आयुर्वेद विभागले पनि यसलाई पहल गर्नुपर्ने आवश्यकता छ । आयुर्वेदमा दक्ष जनशक्ति नभई सेवा हुँदैन । 


अर्को पाटो सिंहदरबार वैद्यखानाको छ । नेपालको जडीबुटीहरु नेपालमै उद्योग स्थापना गरेर जानुपर्ने हुन्थ्यो । वैद्यखानामा समिति भएर काम हुँदा त्यसले जति राम्रो काम ग¥यो त्यहाँ बाहिरबाट मान्छे खोजेर लिएर जाँदाखेरि त्यो काम गर्न सकेन । यस्ता ठाउँहरुमा विज्ञ व्यक्ति पठाउनुपर्छ, मन्त्रीको गोजीबाट पठाउने होइन । विषय विज्ञलाई उसको कार्यकालसम्म राजनीतिक हस्तक्षेप नगरी उसको कार्यकुशलता देखाउने अवस्था सिर्जना गर्नुपर्छ । त्यहाँ भएका उपकरण खिया लागेर गइसके, अहिले औषधि बन्दैन । सिंहदरबार वैद्यखाना हाम्रो इतिहास हो, दक्षिण पूर्वी एसियाको जेठो संस्था हो । झन्डै तीन सय ७५ वर्षभन्दा पुरानो संस्था हो । यो संस्थाको साख राख्न त्यहाँ विषयविज्ञ लगेर सञ्चालन गराउनुपर्छ । 


नेपालमा भएका जडीबुटीहरु सरकारले सङ्कलन गरेर औषधिका रुपमा उपयोगमा ल्याउनुपर्छ । अहिले नेपालको वनबाट पूर्वमा सङ्कलन भएका जडीबुटी भारतको पटनामा जाने गरेको छ । त्यहाँ ठूलो सङ्ग्रहालय छ । त्यहाँ हिमालबाट बनेको जडीबुटी भनेर राखिएको छ । 


त्यस्तै, नेपालको पश्चिमतिर सङ्कलन भएका जडीबुटीहरु दिल्लीको लालकिल्लाको पश्चिमपट्टि खारीबोली भन्ने ठाउँमा राखिएका छन् । नेपालमा भएका जडीबुटीहरु उखेलेर भारततर्फ पुर्याइएको छ । जङ्गलमा कुरिलो खोज्दा अहिले नपाउने अवस्था छ । कुरिलोबाट साह्रै तागतिलो औषधि बन्छ, विशेषगरी बूढाबूढीले खाने औषधि बन्छ । अहिले यहाँ हामीकहाँ तरकारी खाने कुरिलो छ तर औषधीय गुणले भरिएको जमिनमुनिको जरा खाने कुरिलो लोप हुने अवस्थामा पुगिसकेको छ । अझै पनि नेपालका हिमाली, पहाडी र तराई क्षेत्रमा धेरै जडीबुटीहरु छन् । अहिलेको बजेटमा कस्तुरीपालनको कुरा आएको छ, यो भने निकै राम्रो कुरा हो । म वैद्यखानामा छँदा हिमाली क्षेत्रमा कस्तुरीपालन गर्नुपर्छ भनेर जग्गा खोजिएको थियो ।


नेपालको जडीबुटीलाई प्रशोधन गर्न भारतसँग गुहार माग्नु पर्दैन । अहिले रामदेवसँग गुहार मागिएको छ । उनले यहाँ कस्तो अवस्था बनाएका छन् त्यो सरकाले बुझ्दैन । एउटा विदेशी आयो भने त्यसलाई काँध चढाएर हिँड्ने नेताहरुले हामी नेपालीहरुमा कसको खुबी के छ, कसले के गर्न सक्छ भनेर खोज्न नसक्ने भएका छन् । स्वाभिमान मान्छे मलाई यो चाहियो भनेर हिँड्दैन । ज्ञान र सीप भएका व्यक्तिलाई सरकारले खोजेर काम लिन सक्नुपर्छ, तब मात्रै आयुर्वेदको क्षेत्रमा परिवर्तन आउन सक्छ ।


(आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्राडा सापकोटासँगको कुराकानीको आधारित) 

‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित

बागलुङ । बागलुङमा बोलिने ‘मगर खाम भाषा’ सङ्कटमा परेसँगै लोप हुने जोखिम बढेको छ । बढ्दो सहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा सङ्कटमा पर्न थालेपछि लोप हुने जोखिम बढेको भन्दै बूढापाका चिन्तित भएका हुन् ।


आठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थालेपछि ‘मगर खाम भाषा’ कम बोल्न थालिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । 


पछिल्लो समय गाउँमा बूढापाका मात्रै बस्ने र यो भाषा बोल्ने गरेका छन् । एकदशक अगाडिसम्म ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पनि खाम भाषा बोल्ने गरिएकामा अहिले प्रयोग हुन छोडेको निसीखोला–६ का भक्तबहादुर बुढा मगरले बताए । बिस्तारै निसीखोलामा पनि भाषा हराउँदै जाने जोखिम बढेकामा उनले चिन्ता व्यक्त गरे ।


भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बूढापाका बताउँछन् । यसलाई संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारले गर्नुपर्नेमा उनीहरुले जोड दिए । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् ।


“पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो । अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ”, भक्तबहादुरले भने । यो भाषा आफ्नो समुदायको पहिचान, संस्कृति र आस्था भएको उनले बताए ।


एक दशक अगाडिसम्म गाउँका सबैले मगर खाम भाषामा कुराकानी गर्नेमा अहिले बोलचाल पनि कम हुँदै गएको भक्तबहादुरले बताए । कहिलेदेखि बोल्दै आएको यकिन दस्तावेज नभए पनि सयौँ वर्ष पुरानो रहेको उनले दाबी गरे ।


गाउँमा विकास आएपछि धेरैले यो भाषा बोल्न छोड्दै गएका बताउँदै ७१ वर्षीय भक्तबहादुरले आफ्ना छोराछोरीले मातृ भाषा राम्रोसँग बोल्न सके पनि नाति पुस्ताले बोल्न छोडेका उल्लेख गरे ।


“हाम्रा बाउबाजेले नेपालीभन्दा पनि सबै खाम भाषामा बोल्दथे । हामीहरुले उहाँहरुबाट सबै कुरा सिकेर त्यस्तै अनुसरण गर्यौँ । बिस्तारै नेपाली भाषा पनि बोल्न थालियो, अहिले युवा पुस्ताले खाम भाषा बोल्न मान्दैनन्”, उनले भने, “हामी गाउँ छोडेर कतै गएनौँ, मातृ भाषामा गीत गाउँदै, नाच्दै खेतीपातीको काम गथ्र्यौं । अहिलेका युवा पुस्ता उच्च शिक्षा, रोजगारीलगायत बहानामा सहर बजार झर्छन् । उति बस्ने, पढ्ने र उतैको भाषा बोल्छन्, हाम्रो भाषा हराउँदै गयो ।”


निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाट लाग्नुपर्ने बताउँदै यसका लागि पालिकाले पाठ्यपुस्तकमा समावेश गर्ने योजना बनाइरहेको जानकारी दिए ।


पालिकाले मगर खाम भाषामा पाठ्यपुस्तक तयार गरिसकेको भन्दै आगामी भदौदेखि पठनपाठन थाल्ने योजनामा रहेको उनले बताए ।


यो भाषा संरक्षणका लागि राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष घर्ती मगरले जोड दिए । पालिकाले नयाँ पुस्तालाई खाम भाषा बोल्न प्रेरित गरिरहेको बताउँदै समुदायस्तरबाट यसको पहल हुनुपर्नेमा उनले जोड दिए ।


पहिलो जम्मेवारी परिवारको भएकाले परिवारले आफ्ना सन्तानलाई मातृ भाषा सिकाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने अध्यक्ष मगरको भनाइ छ । भाषाको संरक्षण र प्रवर्द्धन गर्न परिवारले पनि सहयोग गर्नुपर्ने भन्दै भाषा संरक्षण भए हाम्रो कला, संस्कृति र रहनसहन लोप नहुने उनले विश्वास व्यक्त गरे । 


“अघिल्लो वर्षदेखि विद्यालयमा मगर खाम भाषाको पाठ्यपुस्त लागू गर्ने योजना थियो, प्रविधिक कारणले गर्न सकिएन”, अध्यक्ष मगर भन्छन्, “यस वर्ष जसरी पनि गर्छौं, बालबालिकालाई खाम भाषामा सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने, बोल्न सिकाउने गर्न सकिन्छ । नियमित पठनपाठनका लागि शिक्षकको समस्या छ, निजी स्रोतबाट भए पनि शिक्षक व्यवस्थापन गरेर पठनपाठन गराउने छौँ ।”

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

बेनी । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन्। विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरू ओझेलमा परेका हुन्।

पदमार्गका प्रमुख आकर्षणको रूपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताए।

‘हिमालको फेदीदेखि पहाडका टाकुराहरुमा मनमोहक ताल छन्, तर आधार शिविर हुँदै यी तालमा पुग्न व्यवस्थित पदमार्ग निर्माणले पूर्णता पाएको छैन,’ पुनले भने।

धौलागिरि आइसफल आधार शिविरमा मनमोहक निली बराह ताल छ। धौलागिरिको फेदीमा रहेको यो तालले पर्यटक लोभ्याउने गरेको छ। यस तालको पानीको रङ्ग निलो छ। जमिनमाथि रहेको यो तालमा पानीको स्रोत नदेखिए पनि ताल कहिल्यै नसुक्ने विशेषता रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले जानकारी दिए।

धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ। वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित छ। अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ।

आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ। कालीबराहमा जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्छ। यहाँ भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यहाँ ताल परिसरमा बराह थानसमेत छ।

कालीबराह नजिकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल समुद्री सतहदेखि चार हजार सात मिटर उचाइमा छ। हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रूपमा परिचित छ। यस पदमार्गमा निली बराह, कालीबराह, पहेंलीबराह तालसँगै लाटीबराह, सेतीबराह र मनिबराह तालसमेत पदमार्गमा पर्ने स्थानीय कृष्ण पाईजाले जानकारी दिए।

यहाँका ताल तलैयामा हुने पानीको रङ र बराहको नामबाट तालहरुको नामाकरण गरिएको छ। स्थानीयले ताल तलैयामा भारा पूजा गर्ने चलन छ। धौलागिरि आइसफल पदमार्गअन्तर्गत अहिले रघुगंगा गाउँपालिका–७ चिमखोलाको ससलधारादेखि धौलागिरि हिल भ्यू प्वाइन्ट सम्मको बाटोमा व्यवस्थित पदमार्ग निर्माण भएको छ। यसबीचमा रहेकोे कोखेभिर र धौलागिरि भ्यू प्वाइन्टबाट आधार शिविर जाने अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ।

आधार शिविरबाट पहेंलीबराह, कालीबराह हुँदै लेते जाने परम्परागत गोरटो बाटोमा व्यवस्थित पदमार्ग बन्न नसकेको पाईजाले बताए।

भिरमा पदमार्ग नहुँदा रघुगंगा नदीलाई दुई ठाउँ वारपार गर्नुपर्ने र भिरमा डोरीको सहायता लिनुपर्ने बाध्यता छ। यस पदमार्गमा कालीबराह खोला र धौलागिरि भ्यू प्वाइन्ट हिललगायतका ठाउँमा झोलुंगे पुलको अभाव छ। रघुगंगा गाउँपालिकाले एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको छ।

डिपिआर अनुसार पदमार्ग, आश्रयस्थल, झोलुङ्गे पुललगायतका पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। ‘आइसफल पदमार्गमा गत वर्षसम्म सङ्घीय सरकारबाट पदमार्ग बनाउने योजना सञ्चालन भएको थियो, तर त्यसलाई पूर्णता दिन हामीले गुरुयोजना बनाएर स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा पहल थालेका छौं,’ अध्यक्ष भण्डारीले भने।

धौलागिरि हिमालको आधार शिविर, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक हिमशृङ्खला, हिम चुचुराबाट हिउँ खसेको दृष्यसँगै ग्लेसियर, रघुगंगा नदीको मुहान, सुन छहरा, गुफा, ओढार र अग्ला डाँडाकाँडाको मनोरम दृष्यले यस पदमार्गमा आउने पर्यटकलाई लोभ्याउने गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो कर सङ्कलन सम्बन्धी अध्यादेश

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले कर सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पास गरेको छ।

मन्त्रिपरिषद्ले अध्यादेश पास गरेपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरिएको छ।

प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानून बन्नेछ भने आजैबाट प्रदेशभरी रोकिएको कर सङ्कलनको कार्य सुचारु हुनेछ ।

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन सकेको छैन। सुदूरपश्चिम नयाँ आर्थिक वर्ष सुरु भएदेखि बजेट शून्यताको अवस्थामा छ ।

प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पास सम्बन्धी कर, स्थानीय तहहरूले लिने मनोरञ्जन कर लगायतको कर सङ्कलन कार्य रोकिएको हो।

बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् बाँकेको नरैनापुर र सोनारीवासी

बाँके । तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती सोनारी–७ खल्लाझगडियाका शङ्कर यादवले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।’


दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ ।  


राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला शङ्कर मात्र नभई राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेले बताए ।


‘दिउँसोको समयमा बाढी आए भागदौड गर्न सकिएला तर रातको समयमा आए हाम्रो ठूलो धनजनको क्षति हुने भएकाले राज्यले ध्यान दिन जरुरी छ,’ उनले भने, ‘तटबन्ध भत्किएको दुई वर्ष भइसक्दा पनि राज्यले हाम्रो समस्यालाई गम्भीर रूपले नलिएको हुँदा थप चिन्तित छौं ।’


सांसद सूर्य ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकामा स्थानीयवासी चिन्तित छन् ।


‘सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ,’ नरैनापुर–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले भने, ‘डुबानबाट बस्ती जोगाई दिन हामीले सबैसँग हारगुहार गर्यौँ तर हाम्रो दुःख राज्यले सुनेन ।’


राप्ती नदीको कटान नियन्त्रण गर्न निर्माण भएको तटबन्ध भत्काएर नदीले सडक कटान गरे पनि यसको रोकथामका लागि राज्यले अहिलेसम्म कुनै चासो नदिएको यादवले बताए ।


राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्ती सोनारी गाउँपालिका–६ र ७ र नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेको उनको भनाइ छ ।


डुडुवा गाउँपालिकाको होलिया बेतहनी क्षेत्रमा डुबान कटान गर्दै आएको राप्ती नदीले दुई वर्षअघि धार परिवर्तन गरी खल्लाझगडियामा निर्माण गरिएको अस्थायी तटबन्ध भत्काएपछि राप्ती सोनारी र नरैनापुरका गाउँबस्ती डुबानको जोखिममा परेको सांसद ढकालले बताए ।


खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई तत्कालका लागि अस्थायी तटबन्ध निर्माणका लागि राज्यको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अभाव

चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले सेवा दिँदै आएका छन् ।


नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष प्राडा मिनु चौधरीले नेपालमा चार सय ८२  मात्रै नेत्र चिकित्सक रहेको जानकारी दिइन् । उनका अनुसार नेपालको पछिल्लो जनसङ्ख्याको हिसाबले तीन हजारभन्दा बढी नेत्र चिकित्सक आवश्यक पर्दछ । 


अर्काेतर्फ भएका चिकित्सकहरु पनि सहर केन्द्रित छन् । प्राडा चौधरीका अनुसार काठमाडौँमा मात्रै ६० प्रतिशत चिकित्सकले सेवा दिन्छन् । बाँकी ४० प्रतिशत पनि देशका प्रमुख सहरका अस्पतालहरुमा सेवा प्रदान गर्दछन् ।


सोसाइटीमा दर्ता भएका चिकित्सकमध्ये एक सय हाराहारी नियमित काममा छैनन् । बीस प्रतिशत हाराहारी विदेश भएको अनुमान छ । उनी भन्छिन्, “सहज आँखा उपचारका लागि चिकित्सकको सङ्ख्या बढाउनुपर्नेमा पर्छ ।” 


सन् १९८७  देखि नेपालमा आँखा उपचारका लागि विशेषज्ञ चिकित्सक (अप्थाल्मिक साइन्सक) को अध्ययन–अध्यापन सुरु भएको हो । आँखाका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण संस्थामा सिट सङ्ख्या बढाएर थप जनशक्ति उत्पादनमा लाग्नुपर्ने उनको भनाइ छ ।


उनले भनिन्, ‘अहिलेको जनशक्ति निकै कम छ, यसलाई बढाउन लाग्नुपर्छ ।’ ग्रामीण क्षेत्रका बासिन्दाले सेवा पाउन अझै कठिन छ । विभिन्न अस्पताल र सामाजिक सङ्घसंस्थाले गाउँगाउँमा लैजाने शिविरको भरमा ग्रामीण क्षेत्रको आँखा उपचार धानिँदै आएको छ ।


देशभर आँखा उपचारको सञ्जाल फैलाएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्त सेवा विस्तार गर्दै गर्दा आँखा उपचार सेवाका लागि दक्ष जनशक्ति पाउन कठिन हुने गरेको बताउँछन् । देशभर २८  अस्पताल र एक सय ६०  आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको सङ्घका अस्पतालहरुमा एक सय हाराहारी चिकित्सक कार्यरत छन् ।


उनका अनुसार स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।


गत वर्ष सङ्घको नेटवर्कमार्फत ३३ लाख दुई सय ३१ जनाको आँखाको परीक्षण गरिएको छभने दुई लाख ६७ हजार एक सय ३५ जनाको आँखाको शल्यक्रिया भएको छ ।


अध्यक्ष पन्तले सकेसम्म ग्रामीण क्षेत्रसम्म सेवा दिएको जानकारी दिँदै आर्थिक, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीका अभावमा चाहे जति आँखा सेवा  गर्न नसकेको बताए ।


उनले भने, ‘सेवा द्रुत गतिमा विस्तार गर्दैछौँ, दक्ष जनशक्तिको अभाव छ ।’  कतिपयलाई अस्पतालहरुले ‘फेलोसिप’ दिएर पढ्न पठाउने गरेको उनको भनाइ छ ।  अध्यक्ष डा पन्त पढाइरहेको सिट सङ्ख्या वृद्धि गरेर चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव दिन्छन् । 


अझै पनि सङ्घीय राजधानीबाहिर चिकित्सकको अभावमा आम नागरिकले सहज उपचार पाउन सकेका छैनन् । आँखा रोगको उपचार समयमा हुन सकेमा अन्धोपन हुनबाट बचाउन सकिन्छ । नेत्र सहायकको भरमा ग्रामीण क्षेत्रका उपचार केन्द्रहरुले सेवा दिँदै आएका छन् । 


नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सबै क्षेत्रमा चिकित्सक पर्याप्तता नरहेको बताए । सरकारले सेवा मात्रै खोज्ने र गुणस्तरीय सेवामा ध्यान नदिने गरेको उनको भनाइ छ ।


आँखा क्षेत्रमा नेत्र विशेषज्ञहरुको जनसङ्ख्याका आधारमा निकै कम रहेको जनाउँदै उनले यस क्षेत्रमा पनि दरबन्दी बढाएर सेवा दिनुपर्ने बताए । उनले  भने, ‘जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्छ ।’

मेक्सिको भ्रमणका बेला पुटिनलाई पक्राउ गर्न युक्रेनको आग्रह

मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।

पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।

युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ ।’

मार्च २०२३ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२२ को सुरुमा मस्कोको आक्रमणपछि युक्रेनी बालबालिकालाई जबर्जस्ती रूसमा निर्वासित गरेको विषयमा युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

शेनबामका विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध भएका हरेक देशका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गर्नु ‘मानक प्रोटोकल’ भएको बताएका छन् ।

मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न लागेकी शेनबामले गत जुन २ मा भएको आम निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकी थिइन् । उनलाई बधाई दिने विश्वका नेताहरूको पंक्तिमा पुटिन र जेलेन्स्की पनि रहेका छन् ।

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

सिरहा । पानीको निकास नहुँदा सिरहाको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए ।

उनले भने, “वर्षा सुरु भएसँगै अस्पताल क्षेत्र पूरै डुबान हुन्छ । थोरै वर्षामा पनि अस्पताल आउजाउ गर्न समस्या हुन्छ । लामो समय वर्षा हुँदा त अस्पताल भित्रै पानी पस्छ ।” पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उनको भनाइ छ ।

पानी निकासबारे पटकपटक सम्बन्धित निकायमा पहल गरिए पनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताए ।

“वरिपरी अन्य संरचना बनेपछि अस्पताल क्षेत्र होचो हुँदा सामान्य वर्षामै पोखरीमा परिणत हुन्छ । यसले अस्पतालमा बिरामीको सेवा प्रभावित हुँदै आएको छ,” सिंहले भने, “पानीको निकासका लागि सम्बन्धित निकायमा पटक–पटक अनुरोध गर्दै आएका छौँ । नगरपालिकाबाट केही ट्याक्टर  माटो हाल्ने काम गरिए पनि पानी निकासको काम अगाडि नबढ्दा समस्यामा छौँ ।”

साथै उनले अस्पताल जस्तो संवेदलशील क्षेत्रमा पानी जम्ने समस्या हुँदा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना उत्तिकै रहेको बताए ।

अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष्य किशोरीप्रसाद चौधरीले जानकारी दिए ।

आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा काम बाँकी रहेकाले नगरपालिकासामु पटक–पटक पहल गरिए पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ । “नगरसामु अनुरोध गर्यो, वडाले बनाउनु भन्नुहुन्छ । हाम्रो स्रोत र साधनले भ्याउँदैन”, उनले भने ।

नगरप्रमुख रामऔतार यादवले पानी निकासमा आएको समस्याका बारेमा बुझेर चाँडै निराकरण गर्ने बताए ।

नवलपरासी दूध उत्पादनमा आत्मनिर्भर

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ ।

उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताए ।

“विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि एक सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ”, उनले भने, “आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई एक सय ४६ लिटर दूध पुग्ने देखिन्छ ।”

गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा खपत भएर बाँकी दूध काठमाडौँ, पोखरा र चितवन बिक्रिका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिए । दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।

“आव २०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७९/८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको छ”, प्रमुख गुरागाइँले भने, “आव २०८०/८१ मा विगतको तुलनामा उत्पादन घटेर ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको छ ।”

गत वर्ष पशुमा फैलिएको लम्पी स्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ ।

आव २०७९/८० को तुलनामा गत आवमा गाईभैँसी फार्म र गाईभैँसीको संख्यासमेत जिल्लामा मात्रामा घटेको छ । आव २०७९/८० मा गाई फार्म पाँच सय ९८ र भैँसी फार्म ७५ गरी कुल छ सय ७३ वटा फार्म रहेकामा गत आव २०८०/८१ मा गाई फार्म चार सय ७३ र भैँसी फार्म ४७ गरी कूल पाँच सय २० वटा फार्म सञ्चालनमा छन् । अघिल्लो वर्षको तुलनामा जिल्लामा एक सय ५३ वटा फार्मको सङ्ख्या घटेको छ ।

निता आचार्यको ‘नाच्ने हो हिल भाँच्ने गरी’

काठमाडौं । गायिका निता आचार्यको ‘नाच्ने हो हिल भाँच्ने गरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्लसहित मोडलद्वय अन्जली अधिकारी र एलिशा शर्मा फिचर्ड छन् ।

गीतकार डीपी खनालको शब्दरचना रहेको गीतमा शंकर थापाको निर्देशन छ । केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

पेरिस ओलम्पिकमा अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस । बुधबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० कास्यसहित कुल ४९ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, छ रजत र १३ कास्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र आठ कास्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्ड्स नौ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित कुल १८ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

थारु परम्परासँग जोडिएको मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो

बर्दिया । थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ ।

थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत द्रोणराज शर्माले बताए ।

मौवा संरक्षण अभियानअन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित थारू सामुदायिक वनको एक दशमलव तीन हेक्टर खाली जग्गामा दुई हजार ७४ वटा बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयले एकवर्षे र बहुवर्षे गरी एक लाख ४५ हजार विभिन्न बिरुवा उत्पादन गरी करिब एक लाख बिरुवा वितरण गरेको छ । साउन अन्तिम सातासम्म बर्दियाका सामुदायिक वन तथा खाली ठाउँ गरी ४४ दशमलव ९२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण भएको बताइएको छ ।

प्रदेश सरकारको स्थानीय परम्परागत बिरुवा तथा बाली जोगाउने नीतिअनुरुप बर्दियामा मौवाको संरक्षण सुरु गरेको लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले बताए ।

मौवा थारू समुदायसँग जोडिएको बिरुवा भएकाले यसलाई संरक्षण गर्दैै मदिरा उत्पादन गरी बजारीकरण गर्ने र विदेशी मदिरा निर्यातलाई रोक्ने प्रदेश सरकारको लक्ष्य छ । थारू समुदायमा मौवाको मदिरा पूजाआजा एवं सांस्कृति कार्यमा अधिक प्रयोग हुने गरेको छ ।

गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तार गर्ने

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा विस्तारको तयारी गरेको हो ।

अस्पतालले सुदूरपश्चिममै पहिलो पटक ‘मेमोग्राफी’ सेवा सुरु गर्न लागेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

“मेमोग्राफी सेवाका लागि आइसकेको छ । जडान पनि भइसकेको छ । भदौको पहिलो साताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य छ”, उनले भने । स्तन क्यान्सर निक्र्यौल गर्न यो यन्त्र प्रयोग गरिन्छ । यो सेवा सुदूरपश्चिममा अन्त कुनै ठाउँमा छैन । ”

आगामी महिनादेखि अस्पतालले बिरामीलाई अस्पतामा नै राखेर उपचार गर्ने उनले जानकारी दिए । उनले भने,,–“अब इन्डोर सेवा पनि सञ्चालन गर्नेछौँ ५० शय्याको स्वीकृति पाएका छौँ।”

भदौ पहिलो सातादेखि २४ सैँ घण्टा आकस्मिक तथा सामान्य शल्यक्रिया सेवा पनि प्रवाह गरिने अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए । कार्डियोग्राफी सेवा पनि सञ्चालन हुने उनले बताए । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ६५ जना सेवारत छन् ।

बडिगाड पहिरोमा बेपत्ता तीन बालबालिका अझै भेटिएनन्

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताए ।

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

६ सय ११ किलो गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो । मिनी ट्रकबाट प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

सयौंको सङ्ख्यामा मन्त्री कतिन्जेल पालिरहने ?

नारायण गाउँले ।
छिमेकी बिहारमा एउटा निर्वाचन क्षेत्रजत्रो मधेस प्रदेशमा यतिबेला २० जना त मन्त्री मात्रै छन् । तिनका पिए, सल्लाहकार, सुरक्षाकर्मी, ड्राइभर, भान्सेलगायतको जम्बो टोली छ । प्रदेश प्रमुख, त्यसको जम्बो कार्यालय, अदालतदेखि लोकसेवासम्म सयौं प्रदेश कार्यालय, हजारौँ कर्मचारी, सांसद र तिनका पिए अनि तिनलाई चाहिने हजारौं गाड़ी र ड्राइभरको खर्च त्यहाँ छ । पूर्व प्रदेशप्रमुख, मुख्य र मन्त्रीहरूको लाइन लागेको छ । त्यसमाथि जिल्लाको सुरक्षा र प्रशासन हेर्ने भन्दै केन्द्रको नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय पनि छन् ।

वाग्मती प्रदेशमा दुई कार्यकाल पनि नहुँदै ५ जना मुख्यमन्त्री र ७२ जना मन्त्री बनिसके । बिहारको एउटा जिल्लाजत्रो त्यो प्रदेशमा ११० जना त सांसद नै छन् । अझ केन्द्रका सांसद र मन्त्री पनि त्यहीँ छन् ! एउटा देश चल्न पुग्ने र खर्च हुने सबै संरचना सातै प्रदेशमा छ, त्यहाँ नहुने कुरो भएन । कर्णाली र सुदूरपश्चिममा अझै गाडी नदेखेको जनसङ्ख्या छ । गरिबी भनेको कस्तो हुन्छ भन्ने हामी धेरैले कल्पना गर्नसम्म नसक्ने अवस्था त्यहाँका मान्छे बाँचिरहेका छन् । जहाजले दोब्बर भाडा लिएर पर्यटक बोक्छ, नेता र कार्यकर्ता बोक्छ, बिरामी बोक्दैन । हैजा, हार्ट अट्याक या आकस्मिक प्रकोप त पर जाओस्, अपेन्डिक्स भयो भने हस्पिटल नपुगी मान्छे मर्छ । बजेट छैन भन्दै गतिलो झोलुङ्गे पुल पनि छैन । यातायात भनेकै खच्चर मात्रै भएका कति धेरै गाउँ छन् । ती जीर्ण पुलमा झुन्डिएका दृश्य हेर्नुभयो होला ।

त्यहाँ एउटै मान्छेले दुई वर्षमा चार पल्ट मन्त्रीको शपथ खाइसक्यो । बीसौं जना मन्त्री, राज्यमन्त्री, पिए, प्रदेशप्रमुख र सचिव भइसके । प्रदेश हेर्नुभयो भने हरेक महिना जसो विश्वासको मत लिने भन्दै त्यहाँ बैठक बस्छन्, भत्ता बुझ्छन् । आज एउटा दलसँग मिलियो भन्छन्, भोलि काठमाडौंबाट अर्को कल आउँछ, फेरि अर्कैसँग भन्छन् ।

हाम्रो सानो देशको सम्पूर्ण साधनस्रोत, समय र ऊर्जा यस्तो निकम्मा र अनुत्पादक विषयमा खर्च भइरहेको छ ! देशको साधनस्रोत मात्रै खर्च भए पनि हुन्थ्यो, विदेशी राष्ट्र र संस्थासँग ऋण मागेर यस्तो नाटकलाई निरन्तरता दिन पर्ने अवस्था छ । हुँदा हुँदा आज ऋणको ब्याज तिर्न पनि ऋण लिनपर्ने अवस्थामा देश पुगेको छ । दश वर्षयता देशको कुनै पनि बजेट उठाएर हेर्नुभयो भने थाहा हुन्छ, हाम्रो विकास बजेट र ऋणको किस्ता बराबर जस्तै छ र दुबैको लागि हामीसँग सुको बजेट छैन । माग्ने या ऋण लिने भनेर हाम्रो बजेटमा शानपूर्वक लेखिएको हुन्छ ! विश्वमा गाड़ी किन्दा २००% जस्तो कर कहाँ होला ? सिङ्गापुरजस्ता जमिन नभएका र गाडी नै नचाहिने केही देशबाहेक नेपाल नै त्यस्तो अमानवीय र अकल्पनीय कर उठाउने देश हो । तर त्यस्तो चर्को करले केन्द्र र प्रदेशको नाममा नेता र कार्यकर्ताको व्यवस्थापन गर्न पनि पुग्दैन !
खेलकुदका सयौं विधा छन् । त्यसमध्येको एउटा क्रिकेटका लागि खेल्ने रङ्गशाला बनाउनु पर्यो भने पनि प्रधानमन्त्रीले बैठक राख्छन् । बैठक भत्ता, खाजा खर्च, अकडम बकडम् त कुरै नगरम् । स्थानीय कर उठाउन र विकास निर्माणका काम गर्न भनेर स्थानीय निकाय पनि छन् । प्रदेशको उपस्थिति कहाँनिर होला ?

२४ करोड़ जनसङ्ख्या भएको छिमेकी देशको उत्तरप्रदेश राज्य भन्दा पाँच गुना बढी प्रशासनिक र राजनैतिक संरचना छ हाम्रो । र ती संरचनामा तिनै मान्छे आलोपालो गर्छन् । देशको आम्दानीभन्दा खर्च झण्डै डबल छ । तत्काल देशको अर्थतन्त्र दोब्बर बनाउन सकिन्न । रातारात औद्योगिक क्रान्ति हुँदैन । संरचना, पूर्वाधार र मिहिनेत चाहिन्छ । पूँजी चाहिन्छ । जुन हामीसँग छैन । जुटाउन र परिणाम आउन वर्षौँ लाग्छ । यस्तोमा देशलाई बचाउने भनेको खर्च कम गर्नु हो । भएको साधनस्रोतको बुद्धिमानीपूर्वक उपयोग गर्नु हो !

एउटा देश चल्न त नपुग्ने हाम्रो आम्दानीले सात वटा देशजत्रै संरचना कसरी धान्थ्यो र ? ऋण पनि त सधैँ कसले पत्याउला र ? एउटा आन्दोलन, एउटा क्रान्ति र एउटा बङ्गाली खाड़ीको मनसुन त यो राजनैतिक फोहर सफा गर्न पनि चल्नै पर्छ । ढिलो चाँडोको कुरो मात्रै हो । सय जना सांसद र १० जना मन्त्री भए पुग्ने देशमा पसिनाको पनि कर तिरेर ८–९ सय सांसद र सयौंको सङ्ख्यामा मन्त्री कतिन्जेल पालिरहने ? किन पालिरहने ?

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्छुः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति विज्ञप्ति जारी गर्दै अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गरेका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ । यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेलमा पठाउन अनुरोध गरिएको छ ।

पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

बंगलादेश शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने नेपालको विश्वास

काठमाडौँ । नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञिप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बङ्गलादेश सबै तनावबाट शान्त र संयमताका साथै लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बङ्गलादेशी नागरिक सङ्क्रमणको सुनिश्चित गरी सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ ।

सेवानिवृत्तपछि जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

म्याग्दी । नुवाकोटमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।

पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए ।

‘रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो’, अरुणका भतिज रिम मल्लले भने, ‘काका (अरुण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ ।’

मल्लको भगवतीमा रहेको पुख्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो । पुख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवा निवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रहेको छ ।

अरुणका एक जना दाजु र तीन जना दिदीबहिनी छन् । बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरुणका दुई छोरी छन् । उनीहरूको पनि विबाह भइसकेको छ । अरुणको परिवार हाल ललितपुरमा बस्ने गरेका उनका साथी कर्णबहादुर भण्डारी (के.बी) ले बताए ।

‘म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पुर्याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति नै अरुण मल्ल हुनुहुन्थ्यो’, भण्डारीले भने, ‘रघुगङ्गा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एक जना अनुभवी, साहसी पाइलट गुमाएको महसुस भएको छ ।’

करिब ३० वर्षदेखि हेलिकप्टर उडाउँदै आएका अरुणले म्याग्दीबाट विसं २०५६ मा निर्वाचित सांसद रहेका स्वर्गीय नारायणसिंहको कर्णाली एयरको हेलिकप्टर उडाएका  थिए । द्वन्द्वकालमा हेलिकप्टर उडाएका मल्लले हेली उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गरे ।

गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकप्टर चढेर गएका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायब सुब्बा ज्ञानदीप विश्वकर्मा (कुशल) ले उनी अनुभवी र साहसी पाइलट भएको स्मरण गरे ।

मृदुभाषी र आँटिला स्वभावका अरुणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेसी उडेको एयर डाइनेष्टिको उक्त हेलिकप्टर मल्लले उडाएका थिए । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको छ ।

काभा महिला भलिबलको उपाधि भारतलाई

काठमाडौँ । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो ।

खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्यो ।

नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।

फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।

बंगलादेशमा चाँडै शान्ति स्थापना हुने कांग्रेसको विश्वास

काठमाडौं । नेपाली कांग्रेसले बंगलादेशमा त्यहाँका नागरिकको भावना अनुसार चाँडै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेको छ । बुधबारको केन्द्रीय समिति बैठकले बंगलादेशमा लोकतान्त्रिक प्रक्रिया सुचारु हुने विश्वास गरेको हो ।

कांग्रेसले भनेको छ, ‘बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ । यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ ।’

अब पार्टी एक नम्बरको भएमात्र प्रधानमन्त्री बन्छुः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा हुम्ला जिल्लाको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताएका हुन् । उनले माओवादी नेतृत्वको सरकारको कामबाट आँत्तिएर रातारात अर्को गठबन्धन बनेको आरोप लगाए ।

उनले भने, ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराए र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर, ढाँटेर सरकार गठन गरे ।’

उनले नेपाली जनताको लागि आफूले संसद बैठकमा बोलेको सबै कुरा सत्य भएको बताए । उनले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य बनेका समेत बताए।

उनले भने, ‘अहिले हामी पार्टीको नेतृत्वको सरकारबाट विश्वासको मत लिने क्रममा मैले प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ, त्यो प्रतिनिधिसभालाई मात्र होइन हाम्रो पार्टीका तमाम नेता कार्यक्रता र नेपाली जनतालाई यो देशका सबै उत्पीडित वर्गलाइ, जाती, क्षेत्र, लिंग र समूदायलाई एउटा नयाँ क्रान्तीको लागि गरिएको अपील हो ।’

उनले अब आफूले माओवादीबाट फुटेर गएकाहरुलाई एकठाउँमा ल्याउने बताए । उनले भने, ‘यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ ।’

अध्यक्ष प्रचण्डले ०८४ सम्म जनतामा गएर माओवादीलाई ठूलो पार्टी बनाउने बताए । उनले अब पार्टी एक नम्बरको भएमात्र प्रधानमन्त्री बन्ने बताए ।

उनले भने, ‘पार्टी बनाउने संकल्प मैले लिएको छु । अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न । भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौंला ।’

हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ ।

बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ पर्यटकको निधन भएको थियो ।

अन्तरिम सरकारको नेतृत्व गर्न युनुस बिहीबार स्वदेश फर्किने

बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बिहीबार स्वदेश फर्किने भएका छन् । बङ्गलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावपछि उनी बिहीबार ढाका फर्कने कार्यक्रम रहेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयले जानकारी गराएको हो ।

बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलार्य अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् ।

बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।