`

मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गरेका छन् । उनले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग अन्तरक्रियासमेत गरेका मन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपाल आयात हुने वस्तु तथा सेवा र निर्यातका पक्षबारे छलफल गरेका थिए । उनलाई आयात तथा निर्यातकर्ताले नेपाल सरकारले गर्नुपर्ने आवश्यक सहायताका विषयमा ध्यानाकर्षण गराए ।

मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने बताए ।

मन्त्री भण्डारीले सो क्रममा नेपालको आयात तथा निर्यातमा सघाउन स्थानीय आयात तथा निर्यातकर्तासँग आग्रह गरे। उनलाई पोर्टका कर्मचारीले नेपालको आयात निर्यातबारे जानकारी गराएका थिए । सो क्रममा मन्त्री भण्डारीलाई त्यहाँका प्रतिनिधिले व्यापारिक समस्याबारे जानकारी गराएको थियो ।

‘आन्छनका कथा’ र ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक

काठमाडौं । कथाकार चन्द्र मादेन आन्छनको ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुक्रबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा ती कृतिको लोकार्पण गरे ।

आन्छनको कृतिमा ‘आमा अलप भइन्’, ‘नेता जी र माइली आमा’, ‘जनमुक्ति योद्धाको बिलौना’, ‘खलनायक मामा र महानायक भान्जा’, ‘भङ्गेरीको पीडा’ र ‘एकै रातमा नयाँ जिन्दगी’लगायत शीर्षकमा नेपाली समाज र समसामयिक विषयवस्तु समेटिएका १० वटा कथा छन् ।

त्यस्तै स्रष्टा अमरदीपको कृतिमा ‘नदीको शपथ’, ‘आस्थाका आयामहरू’, ‘मेरु लिखु नदी’, ‘साइक्याट्रिक महामारी’, ‘आधुनिक चराहरू’, ‘जेब्राक्रसको मूल्य’ र ‘सगरमाथालाई ज्ञापनपत्र’ लगायतका विभिन्न विषयवस्तु र घटना र परिस्थिति समेटिएका कविता छन् ।

समारोहमा कुलपति राईले पहिलेका कृतिमा अरूका विषयवस्तु र घटनामा आधारित भएर कथा, कविता लेखिने गरेकामा पछिल्ला समय स्रष्टाहरूले आफ्नै बारेमा लेख्दा वास्तविक विषयवस्तु सबैले बुझ्ने गरी बाहिर आउने बताए । अहिले समाजमा आफ्नो अस्तित्वको बोध र उपस्थिति जनाउनका लागि लेखनकला अघि बढाउन लागिएको पाइएको उनको टिप्पणी थियो ।


बाल प्रतिभा कार्की र पाण्डेलाई पुरस्कृत

साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधि दाहालको छैटौँ स्मृति दिवसका अवसरमा बाल प्रतिभा दिनेश कार्की र आस्ना पाण्डेलाई पुरस्कृत गरिएको छ ।

दाहाल यज्ञनिधि सुधा सदनद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति राईले दरबार हाइस्कुलबाट कक्षा आठको परीक्षामा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रतर्फ कार्की र छात्रातर्फ पाण्डेलाई जनही१० हजार रुपैयाँसहित सम्मान गरे ।

त्यसअवसरमा कुलपति राईले साहित्यकार ज्ञानमणि नेपाललाई मरणोप्रान्त एक लाख ५० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मान प्रदान गरे । नेपाली साहित्य र इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएबापत उनलाई सम्मान गरिएको हो । सो सम्मान नेपालका छोरा सन्तोषले ग्रहण गरे ।

विसं २०१० साउन ५ गते जन्मिएका दाहालको २०७५ साउन २५ गते निधन भएको थियो । लामो समयसम्म दरबार हाइस्कुलमा अध्यापन गराउने उत्कृष्ट उद्घोषक दाहालले आमनेपाली र साहित्यप्रेमीको मन जित्न सफल भएका थिए । उनका ‘जदौँ निबन्ध’ र ‘दाहाल यज्ञनिधिका कविता’ प्रकाशित छन् । कथित तल्लो जातिले कथित माथिल्लो जातिलाई अभिवादनमा प्रयोग गरिने जदौँ शब्दलाई रेडियो नेपालमार्फत व्यापक जनमानसमा फैलाएको श्रेय उनलाई नै जान्छ ।

इजरायल जाने कामदार छनोट प्रक्रियालाई पारदर्शी बनाउन छानबिन समिति गठन

काठमाडौं । सरकारले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया प्रक्रियालाई थप विश्वसनीय र पारदर्शी बनाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार छनोट प्रक्रियामा प्रश्न उठेपछि मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

मन्त्रालय छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन छानबिन समिति गठन गरिएको स्पष्ट पारेको छ।

पुलापछैका मल्लकालीन सम्पदा नासिँदै

गलेश्वर (म्याग्दी) – जिल्लाको बेनी नगरपालिका–५ पुलापछैमा रहेका पाँच सय वर्ष पुराना मल्लकालीन सम्पदा संरक्षणको अभावमा नासिँदै जान थालेका छन् ।

तत्कालीन पर्वतका राजा डिम्वम मल्ल र उहाँका सन्तानले पानी पिउन प्रयोग गरेको पाँच सय वर्ष पुरानो कुवा र पुलाडाँडामा तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल संरक्षणको अभावमा अलपत्र परेका हुन् ।

करिब पाँच सय वर्ष पहिले पर्वत राज्यको विरासतसँग जोडिएको ढोलठान क्षेत्रमा ऐतिहासिक महत्वका सामग्रीहरू रहेका भन्दै पहिचान र संरक्षणको अभावमा अलपत्र परेका स्थानीय बुद्धिजीवि शिव बानियाँले बताए । अलपत्र परेका ती ऐतिहासिक सामग्रीमध्ये कालो पत्थर (ढुङ्गा) लाई छिनाले कुँदेर बनाइएको ओखल अहिले पुलाडाँडाको खुला ठाउँमा अलपत्र परेका उहाँले जानकारी दिनुभयो । पुलापछैमा रहेको ऐतिहासिक कुवा माथिबाट खनिएको मोटरबाटोका कारण कुवा सुकेर खण्डहरमा परिणत भएको बानियाँले बताए ।

तत्कालीन समयमा पर्वते प्रतापि राजा डिम्वम मल्ल ( दिलिपबम मल्ल पनि भनिन्थ्यो ) ले ढोलठानलाई गृष्मकालीन राजधानी बनाएकाले यस ठाउँमा रहुञ्जेलसम्म यही कुवाको पानी र ओखलमा धान कुटेर दरबारका सदस्यले भात खाने गरेका प्रमाणहरू भेटिएका स्थानीय यामबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको इतिहासमा उल्लेख छ ।

‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय प्रकाश पौडेलले बताउनुभयो । राजनीतिक, कुटनीतिक र सामरिक दर्शन तथा त्याग र बलिदानको इतिहासका साथसाथै पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी रहेकामा उनले जोड दिए ।

१४औँ शताब्दीमा तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं राजा डिम्वम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत प्रसिद्ध रहेको पैडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो मन्दिर ढोलठानबाट माथि र डढेकोट दरबारबाट तल केबहिलको नजिकैमा रहेको उहाँले बताए ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नियाल्न पाइनु यस क्षेत्रको आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने बेनी नगरपालिका–५ का वडाअध्यक्ष गोविन्द बानियाँले जानकारी दिनुभयो ।

यो क्षेत्र ऐतिहासिक रुपमा मात्रै होइन जैविक, धार्मिक र प्राकृतिक रुपमा पनि महत्वपूर्ण क्षेत्र रहेकाले यसको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारबाट पहल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते दिउँसो २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेक छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम अगाडि बढेको छ । बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगाएतको काम ठप्प भएको थियो ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।

सरकारले अध्यादेश जारीगरी कर सङ्कलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द)्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात,नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

विपद्मा परी हालसम्म एक सय ७० को मृत्यु

काठमाडौँ – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको हो ।

विपद्मा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।

बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आगामी साता बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा सम्बोधन गर्ने

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय निर्वाचनबाट बाहिरिने घोषणापछि पहिलोपटक उनी र उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले आगामी साता आफ्नो दलको चुनावी अभियानको संयुक्त नेतृत्व गर्ने भएका छन् ।

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट रिपब्लिकन नेता ट्रम्पविरूद्धको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णयपछि बाइडेनको यो पहिलो चुनावी सम्बोधन हुनेछ ।

आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा आफ्नो विरासतलाई जोगाउन र नयाँ डेमोक्र्याटिक उम्मेदवारलाई जिताउने अभियानमा राष्ट्रपति बाइडेनले अगस्ट १५ मा वासिङ्टन नजिकै मेरिल्याण्ड राज्यमा आयोजना हुने कार्यक्रममा उपराष्ट्रपतिको साथमा उपस्थित भएर समर्थकलाई हौसला प्रदान गर्ने घोषणा गरेका हुन् ।

ह्वाइट हाउसले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेता द्वयले अमेरिकी जनताका लागि लागत घटाउन गरिरहेको कार्यक्रमलाई अभियानका क्रममा समर्थकमाझ सार्वजनिक गर्नुहुनेछ ।”

अमेरिकाको मुद्रास्फीति कमजोर भएको अवस्थामा नोभेम्बरमा हुने चुनावमा आफ्नो एजेन्डालाई कसरी अघि प्रस्तुत गर्नुहुनेछ यो अमेरिकी मतदाताले हेरिरहेको गम्भीर बिषय हो ।

बाइडेनले आफ्नो उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता व्यक्त गरिएको ट्रम्पविरुद्धको कमजोर बहसपछि उम्मेदवारबाट पछि हट्ने घोषणा गरेका थिए ।

अमेरिकी इतिहासमा पहिलो महिला, अश्वेत र दक्षिण एसियाली मुलकी उपराष्ट्रपतिले भव्य जुलुशहरूको एकपछि अर्को शृङ्खला प्रदर्शन गर्न सफल भएकी छन् ।

अभियानमा बढ्दो सहभागिता, अत्यधिक चन्दा सङ्कलनसँगै ह्यारिसले रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकालाई एक पटक राजनीतिक नेतृत्व दिइसकेका पूर्वराष्ट्रपति ट्रम्पको चुनावी अग्रतामा चुनौती खडा गरिसकेकी छन् ।

डेलावेयरस्थित आफ्नो घरमा लामो विदा बिताइरहेका राष्ट्रपति बाइडेनले अगस्ट १९ देखि सिकागोमा सुरु हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनसम्म ह्यारिसको समर्थनमा कुनै ठूलो राजनीतिक उपस्थिति जनाउने अपेक्षा गरिएको थिएन ।

तर, अमेरिकी राजनीतिमा झण्डै पाँच दशक लामो करियरबाट बाहिरिने तयारीमा रहेका डेमोक्र्याट बाइडेन आफ्नो विरासतलाई अगाडि बढाउन इच्छुक रहेको सङ्केत अभियानमा सहभागी हुने पछिल्लो घोषणाबाट पनि देखिएको छ ।

यसको एउटा हिस्सा उनको प्रतिद्वन्द्वी र सन् २०२० को चुनावमा उनले पराजित गरेका व्यक्ति ट्रम्पविरुद्ध ह्यारिसको विजय सुनिश्चित गर्न हरसम्भव प्रयास गर्नु हो ।

गत हप्ता बाइडेनले अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अन्य बन्दीहरूलाई स्वागत गर्दा बाइडेनको पक्षमा ह्यारिसको उपस्थिति निकै स्पष्ट देखिएको थियो ।

समाचार संस्था पोलिटिकोका अनुसार ह्यारिस अब पेन्सिलभेनिया र मिशिगनजस्ता निर्वाचनमा अति प्रतिस्पर्धा हुने राज्यहरूमा बाइडेनलाई मिलेको समर्थनलाई सुरक्षित गर्न चाहन्छन् । ती क्षेत्रमा अहिले पनि विशेष गरी पाका श्वेत मतदाताहरूसँग बाइडेनको लोकप्रियता बढी रहेको छ ।

बाइडेनले आफूप्रतिको लोकप्रिय मत प्रभावित हुनबाट रोक्नुहुनेछ र नोभेम्बरले यस पहिलेको उनीप्रतिको मोहलाई सर्लक्कै ह्यारिसमा सार्ने प्रयास गर्नेछन् ।

चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला

भक्तपुर – नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।

साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य हुने धार्मिक विश्वास छ । स्थानीयले चाँगुनारायण मन्दिरबाट फर्किएर आआफ्नो घरको मूल ढोकामा गाईको गोबरले नागको तस्बीर टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।

भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौतीलगायतका स्थानबाट दर्शनार्थीहरु आएका छन् ।

नागपञ्चमीका दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजागरी दर्शन गरेमा पूण्य प्राप्त हुने, मनोकाङ्क्षा पूरा हुने एवं घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ । यहाँका मन्दिरमा दिनभरि दर्शनार्थीको घुइँचो लागेको छ ।

भक्तपुरको नाग पोखरीमा नागको पूजागरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेकगरी भव्य रुपमा पूजा गरेर स्थानीयले मेला भरेका छन् । स्थानीयले दूध, दही, अक्षता, फूल, दुबो अर्पणगरी पूजा गरेर मेला भरेका छन् ।

हिन्दु धर्मावलम्बीहरुले आज घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नागको पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छीलगायतका जीवको दुःख नहुने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहेको छ ।

राष्ट्रसङ्घबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित

वर्तमान् समयमा सम्भावित खतराको निगरानी चेतावनी दिएका मानव अधिकारकर्मीहरूको कडा विरोधको बाबजुद राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले बिहीबार साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन् ।

न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्यहरूद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेस गरिनेछ ।

अभिसन्धिको मस्यौदा समितिको अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया बौमाइजा मेबार्कीले प्रस्ताव स्वीकृत भएपछि सहभागी सदस्य राष्ट्रलाई धन्यवाद दिए ।

रूसले सन् २०१७ मा गरेको प्रारम्भिक कदमपछि अमेरिका र युरोपेली विरोधको बाबजुद यो समिति गठन गरिएको थियो ।

यो अभिसन्धि ४० सदस्य राष्ट्रद्वारा अनुमोदन भएपछि लागु हुनेछ भने यसले बाल यौन दुव्र्यवहार, सम्पत्ती शुद्धिकरणलगायतका ‘साइबर अपराध’लाई प्रभावकारी रूपमा रोक्न प्रयास गर्नेछ ।

सम्मेलनको प्रशंसा गर्दै दक्षिण अफ्रिकाका प्रतिनिधिले प्राविधिक सहयोग र क्षमता निर्माणको प्रावधानले कम विकसित साइबर पूर्वाधार भएका देशहरूलाई सहयोग गर्ने जनाएका छन् ।

यस अभिसन्धिले राज्यले आफ्नो घरेलु कानून अन्तर्गत न्यूनतम चार वर्षको जेल सजायमा पनि अपराधको अनुसन्धान गरी राष्ट्रका अधिकारीहरूलाई अपराधसँग सम्बन्धित कुनै पनि इलेक्ट्रोनिक प्रमाणका लागि सोधी इन्टरनेट सेवा प्रदायकहरूबाट डाटा प्राप्तिको लागि अनुरोध गर्नसक्छ ।

पार्टीसँग समन्वय नगरी राज्यमन्त्री थपेको भन्दै मधेसका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

जनकपुरधाम । जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकिरण सोधेको छ । २० सदस्यीय मन्त्रिपरिषद बनाएको भन्दै जनमतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।

जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टीसँग समन्वय नगरी राज्यमन्त्री थपेकाले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।

मधेस प्रदेशमा १२ मन्त्रालय छन् । सुरुमा मुख्यमन्त्री सिंहसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। तर पछि पाँच राज्यमन्त्री थपेर २० सदस्यीय मन्त्रिपरिषद बनाइएको थियो । यसको सर्वत्र आलोचना भएको थियो ।

तर पार्टी अध्यक्ष डा. सीके राउतले आफूहरुको कारण नभई कांग्रेस एमालेका कारण मन्त्रिपरिषद जम्बो भएको बताएका थिए ।

उनले भनेका थिए, ‘बुझ्नुपर्छः यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन । गठबन्धन र खासगरी दुई ठूला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुन कुन मन्त्रालय कसले राख्ने यसमा हाम्रो केही चल्दैन किनकि जनमत पार्टीको सीट संख्या मधेश प्रदेशमा पनि निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ्र त्यसैले हामीले चाहेर मात्र हुँदैन ।’

अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन पेचिलो छः अध्यक्ष कार्की

चितवन । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताएका छन् ।

‘अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक छ, कार्यान्वयनमा कसरी गरिन्छ , त्यो हेर्न बाँकी छ । कार्यान्वयन पेचिलो हुन्छ ।’

अध्यक्ष डा कार्कीले मन्त्रालयले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, उकरण ,भौतिक पूर्वाधार सहित वजेट वृद्धि गर्नुपर्छ भने । उनले भने, ‘अस्पताल विकास समितिले जनशक्तिमा लगानी गर्नुपर्यो । सरकारले पनि दरबन्दी थप्नुपर्यो ।’

सरकारमा राजनीतिक नेतृत्व परिवर्तन भइरहँदा नयाँ कार्यक्रम आउने गरेको जनाउँदै उनले यस्ता कार्यक्रमको गहिराइ अध्ययन गर्नुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले दुई सिफ्टको बहिरङ्ग सेवा सञ्चालनको के उद्देश्यले ल्याएको हो ? भन्ने आफूहरु स्पष्ट नभएको जनाउँदै उनले भने, ‘दुई सिफ्टमा जनतालाई सेवा दिएर पहुँच बढाउँछु भन्ने त राम्रो हो । तर यसको प्राविधिक पाटो र जनशक्तिको पाटो मुख्य कुरा हुन् ।’

स्वास्थ्य मन्त्रालयलाई हेर्दा अहिले जनशक्तिको व्यवस्थापनमा ध्यान नदिएको जस्तो देखिएको भन्दै अध्यक्ष डा कार्कीले भने, ‘किनकी त्यही जनशक्तिले धेरै समय काम गर्नु, समय बढाएर काम गर्नु, गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कल्पना नै गर्न नसकिने विषय हो ।’ सेवाको समय बढेपछि बिरामीको चाप पनि थपिने र सेवाको चाप पनि थपिने उनको भनाइ छ ।

विकसित मुलुकहरुको उदाहरण दिँदै अध्यक्ष डा कार्कीले भने, ‘संसारका विकसित मुलुकमा पनि वेटिङ (पालो कुर्ने) प्रणाली छ । बेलायतमा हेर्ने हो भने बीमा (इन्स्योरेन्स) ले गर्दा छ महिनादेखि एक वर्षको वेटिङ लिस्ट हुन्छ । अमेरिकामा पनि त्यस्तै छ ।’

एटिएमले पैसा दिए जस्तै तुरुन्त सेवा दिनुपर्छ भन्ने गलत धारणा बोकेर हामी हिँडिरहेको जनाउँदै उनले भने, ‘उपचार कुनै इमर्जेन्सी (आकस्मिक) हुन्छ, त्यसलाई तुरुन्त दिनुपर्छ, कुनै ढिलो उपचार गर्दा पनि घाटा नहुने हुन्छ ।’

बहिरङ्ग सेवालाई मात्रै हेरेर अस्पतालको कुरा गरेर नहुने भन्दै उनले बहिरङ्गबाहेक चिकित्सकले दिने सेवा धेरै भएको बताए । अन्तरङ्गमा भएका बिरामी, शल्यक्रिया, औषधि व्यवस्थापन, अन्य परीक्षणलगायत धेरै काम अस्पतालमा चिकित्सकले गर्नुपर्ने उनले जानकारी दिए । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटी सच्याउन सरकारलाई निगरानी समितिको आग्रह

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ ।

समितिका संयोजक राजुप्रसाद चापागाईँले शुक्रबार विज्ञप्ति जारी गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधयकका केही त्रुटी सच्च्याउनुपर्ने बताएका हुन्।

कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लङ्घनको परिभाषा र वर्गीकरण तथा सजाय घटाई अभियोजनलगायत विषय संशोधन गर्नुपर्ने समितिको माग छ ।

अपराधको गाम्भीर्य बढाउने र घटाउने अवस्थाको स्वतन्त्र न्यायिक मूल्याङ्कन गरी सजाय निर्धारण गर्न सक्ने अधिकार अदालतलाई दिने गरी विधेयकमा भएको व्यवस्थालाई समितिले तोडमोड गरेको समितिले जनाएको छ ।

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सहज रुपमा टुङ्ग्याउन यसप्रति चासो राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूहलाई सघाउन निगरानी समितिले आग्रह गरेको छ ।

प्रमुख तीन दलले विवादित विषयमा सहमति जुटाउन कार्यदल गठन गरेको थियो । कार्यदलले सहमति जुटाई प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाइसकेको छ भने संसदको कानुन समितिबाट बिहीबार सर्वसम्मतरुपमा पारित भएको छ । अब मंगलबार बस्ने संसद बैठकमा विधेयक पेश गर्ने तयारी गरिएको छ ।

कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएका सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ ।

यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुनअनुरुपको दण्डमा सजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ ।

विस्तृत शान्ति सम्झौता भएको झण्डै १८ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा भएको समझदारीलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि ‘ब्रेक थ्रु’ का रूपमा हेरिएको छ ।

भोजपुरमा युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

भोजपुर । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।

नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताए । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखे नाच जिल्लामा पनि आजदेखि विधिवत् रुपमा सुरु भएको उनले जानकारी दिए ।

यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितालाई जोड दिन थालिएको बुढाथोकीले बताए ।

प्रत्येक वर्ष निकालिने लाखे नाच यस वर्ष आजदेखि सुरु भएको स्थानीय विकल श्रेष्ठले बताए । उनले भने, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धन समेत हुन्छ ।”

केही ठाउँमा गठे मङ्गलदेखि नाच सुरु हुने गरेको भन्दै भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन रहेको अभियन्ता विनम श्रेष्ठले बताए । स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लागिएको उनले उल्लेख गरे । जिल्लाका स्थानीय मठमन्दिरको पूजाअर्चना गरी लाखे नाच सुरु गरिएको श्रेष्ठले जानकारी दिए ।

लाखे नाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्गयात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।

परम्परादेखि चल्दै आएको संस्कृतिको जर्गेना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताल लगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, पराम्पराको संरक्षण गर्दै लाखे नाच प्रव्रद्धनमा सबै जुटनु पर्ने स्थानीयको माग छ ।

जिल्लाको भोजपुर नगरपालिकाभित्र, बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वीअरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामा समेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ ।

नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन प्रधानले बताए । परम्परा बोकेको लाखे नाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् ।

प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण टाट पल्टिन लाग्यो भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरण नाफामा रहेकाले त्यो हल्लाको पछि नलाग्न आग्रह गरे । उनले प्राधिकरणको नाफा कागजी नभएको बताए । उनले प्राधिकरणसँग एक खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको बताए ।

घिसिङले विगत ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको समेत जानकारी दिए ।

उनले प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको जानकारी दिए । उनेल तीन वर्षमा महसुल दर २५ प्रतिशत घटाइएको तर नाफामा बढोत्तरी भएको बताए । घिसिङले महालेखापरीक्षक र प्राधिकरणकै तीन जना आन्तरिक लेखापरीक्षकले बनाएको हिसाब कसरी खोट हुनसक्छ भन्दै प्रश्न गरे ।

उनले यो नेपालको जलविद्युत् विकासका लागि कोसेढुंगा र महत्त्वपूर्ण प्रस्थानविन्दु भएको उनले बताए । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको उनले जनाए ।

उनले भने,’विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिकरूपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट सुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ ।’

देशभरि रहेको जग्गाहरूको यकिन गरी प्राधिकरणको करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको पनि घिसिङले जानकारी दिए । गतवर्ष मात्र काठमाडौं उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको घिसिङले बताए ।

उनले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण हुने दाबी गरे । उनले यसका लागि विकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अघि बढिसकेको बताए । उनले तीन वर्षको अवधिमा विद्युतीकरणमा उल्लेख्य उपलब्धी हाँसिल गर्न सफल भएको बताए ।

उनले भने, ‘तीन वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको छ।’ आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहकको संख्या हाल बढेर सामुदायिकसहित ६० लाख ३५ हजार पुगेको उनले बताए।

घिसिङले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नो स्रोतबाट ठूलो लगानी भएको बताउँदै सुकुमबासी बस्ती, चेपाङ, मुसहरलगायत विपन्न वर्गका घरपरिवारमा बिजुली पुर्याउन निःशुल्क मिटर वितरण गरिएको जानकारी गराए। उनले प्राधिकरणले अब पुँजीको १० प्रतिशत सर्वसाधारणका लागि शेयर निष्कासनको कार्य अघि बढाएको जानकारी दिए ।

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गीको सङ्क्रमण पुष्टि

सोलुखुखुम्बु ।  सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छ्रैनन् ।  उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन ।  तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उनी चिन्तित छन् ।  उनले भने,“म  गाउँ छोडेर अन्यत्र गएको छैन ।  पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।” 


विशेष गरी गर्मीका समयमा  भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।


सुरु सुरुमा यातायातका साधन  मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र  हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताए । 


उनले भने, “यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको बेला निक्कै गर्मीको महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि ।”


सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताए । उनका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२÷२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ । 


वर्षेनी यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उनको भनाइ छ । यसका कारण लामखुट्टेको संख्या समेत बृद्धि भएको बताइएको छ ।


लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग सुरु भएको छ । लुक्ला भन्दा केही तलको गाउँ खरिखोलासम्म लामखुट्टे फैलिएको स्थानीयवासी रामबहादुर मगरले बताए । 


स्थानीयवासी पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउँछन् । तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर  पारिरहेको जलवायुका जानकार राजन थापाले बताए ।


तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेका छन् । यसबाट  डेङ्गीको सङ्क्रमणको जोखिम बढेको जनाइएको छ । पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् । 


सोलुमा बढ्दै डेङ्गीको सङ्क्रमण


सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुगे  ।  नमुना जाँच गर्दा उनलाई डेङ्गीको सङ्क्रमण  पुष्टिभएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।  


यहाँ डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।


कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 


एक सय ५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताए ।  यसमा पुरुष १९  र महिला ८ छन् ।


उनले भने, “ सोतामाङमा सङ्क्रमित भएका सबै जसोको ‘ट्राभल हिष्ट्रि’ देखिएन, उनीहरु गाउँमै बस्दै आएका थिए तर ती व्यक्तिहरुलाई समेत सङ्क्रमण पुष्टि भएपछि सोलुमा पनि डेङ्गी फैलिएको पुष्टि भयो ।” 


विशेष गरी डेङ्गी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताए । 


उक्त अभियान अन्र्तगत स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको थियो । ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा समेत डेङ्गीको सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि कार्यालयले घर वरिपरिका खाल्डाखुल्डीमा जमेका पानीलाई विस्थापित गर्ने र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको हो ।


यसले सर्वसाधरणलाई जनचेचना फैलिन सहयोग  गर्ने भएकाले कार्यालयले सुरुआतमा अभियान चलाएको फोकल पर्सन शिवाकोटीले बताए । डेङ्गीको सङ्क्रमण फैलिएको धेरै लामो समय नभएकाले लामखुट्टेको टोकाइबाट बच्ने बारे जनचेतना फैलाउन र बुझाउन समेत केही समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

इजरायल युद्धविराम वार्ता पुनः सुरु गर्न सहमत

विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।

गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा निकायले दुई वटा विद्यालयमा गरिएको इजरायली आक्रमणमा बिहीबार पनि १८ जनाभन्दा बढीको मृत्यु भएको जनाएकोे छ ।

नोभेम्बरमा एक हप्ता लामो युद्ध विरामपछि मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि दोस्रो युद्धविरामको प्रयास गरेका छन् ।

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।

मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन् ।

नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ ।

गाजामा बन्दी बनाइएकाहरूको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्धरूपमा छलफल गर्ने बिषयमा युद्धविराम सम्झौता केन्द्रित हुनेछ ।

यो युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा केन्द्रित रहेको जनाइएको छ जुन ढाँचा इजरायली प्रस्तावमा तयार भएको हो ।

अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नेतान्याहूले सम्झौतामा रोक लगाएको सुझावलाई अस्वीकार गर्दै पत्रकारहरूलाई इजरायल यद्धविराम वार्ताप्रति पुर्वाग्रही रहेको जानकारी दिएका छन् ।

वार्ताको घोषणा हनियाको मृत्युपछि हमासले इजरायल आक्रमणका प्रमुख योजनाकार याह्या सिनवारलाई नयाँ नेताको रूपमा नियुक्त गरेपछि आएको हो ।

आम आदमी पार्टीका नेता मनिष सिसोदियालाई जमानत

भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप) का एक शीर्ष विपक्षी नेता मनिष सिसोदियालाई शुक्रबार जमानत दिएको छ । उनी भ्रष्टाचारको आरोपमा चलेको अनुसन्धानका क्रममा गत वर्षदेखि हिरासतमा छन् ।

केजरीवालको नेतृत्वमा रहेको दिल्ली सरकारले सन् २०२१ मा मदिरा बिक्रीलाई उदारीकरण गर्दा भ्रष्टाचारको आरोप लागेको थियो ।

उक्त उदारीकरणको नीतिले निजी फर्महरू र उद्यम कम्पनीहरूलाई खुद्रा मदिरा कारोबारका लागि अनुमति दिएको थियो तर धेरै विवादित बनेपछि अर्को वर्ष राज्य सरकारले यसलाई फिर्ता लिएको थियो । तर, मोदी सरकारले लाइसेन्सको भ्रष्ट बाँडफाँटको विषयमा गरेको बहु–पक्षीय अनुसन्धानले केजरीवाल र उहाँका सहयोगीहरूलाई सताइरहेको छ ।

दिल्लीका उपमुख्यमन्त्रीसमेत रहनुभएका ५२ वर्षीय सिसोदिया मदीराको बिक्रीका लागि स्वीकृति दिँदा घूस लिएको आरोप लागेका विपक्षी आम आदमी पार्टी (आप) का कैयौँ नेतामध्ये एक हुन् ।

पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गत मार्चदेखि यही अभियोगमा जेलमा छन् । उनलाई निर्वाचनका समय प्रचारप्रसारका लागि भनी केही समयका लागि मात्र रिहा गरिएको थियो ।

दुवै नेताले उनीहरूमाथि लगाइएको अभियोग राजनीतिक पूर्वाग्रहका कारण प्रतिशोधस्वरूप गरिएको ‘राजनीतिक षडयन्त्र’ भएको भन्दै आरोपको खण्डन गर्दै आएका छन् ।

जमानतको घोषणा गर्दै न्यायाधीश भूषण रामकृष्ण गवईले भने, “सिसोदियाको समाजमा गहिरो प्रभाव छ र उहाँ भाग्न सक्नुहुन्न ।” गवईले सिसोदियालाई ‘शीघ्र सुनुवाइको पवित्र अधिकार’ बाट ‘बञ्चित’ गरिएको बताए ।

आम आदमी पार्टीका नेताहरूले यो आदेश पार्टीका लागि ‘ठूलो विजय’ भएको र उनीहरूले उनी शुक्रबार जेलबाट रिहा हुने अपेक्षा गरेका छन् ।

“योे सरकारी एकाधिकारमाथिको कडा थप्पड हो,’ आम आदमी पार्टीका सांसद सञ्जय सिंहले जमानत दिने अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै भने । उनले जमानत पाउनुअघि सोही मुद्दामा यसपहिले ६ महिना जेल सजाय भोगेका थिए ।

सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे । ‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’, प्रधानमन्त्रीले भने ।

बिरामीलाई अस्पतालमा भर्ना नगरेसम्म उपचार नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरे ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कायमुकायम मुख्यसचिव, स्वास्थ्य मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी थिए ।

नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सरकारलाई सुमना श्रेष्ठका पाँच सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सरकारलाई सुझाव दिएकी छन् ।

बिहीबारको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटनमन्त्रीले हवाई क्षेत्रको सुधारका लागि सुझाव मागेका थिए । त्यसपछि सांसद श्रेष्ठले सरकारलाई सुझाव दिएकी हुन् ।

सरकारलाई सुझाव दिँदै उनले भनेकी छन्, ‘पर्यटन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नु भएको जानकारी समाचारमार्फत प्राप्त भयो । दिइएको आधिकारिक ईमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ । यथाशीघ्र कार्यान्वयनमा लैजानुहुनेछ भन्ने अपेक्षा राखेकी छु। तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ। आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन।’

स्याउखेतीले मनाङका किसानको आम्दानी बढाउँदै

मनाङ । मनाङका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएसँगै अधिकांशको घरमा स्याउखेती फैलिएको छ । पछिल्लो समय परम्परागत स्याउखेतीलाई छोडेर व्यावसायिक खेतीलाई अङ्गाल्ने किसान जिल्लामा बढ्दै गएका हुन् ।

नासोँ गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवार व्यावसायिक स्याउखेतीमा आवद्ध छन् । यसअघि परम्परागत खेती गर्दै आएको बताउँदै सोलबहादुर अहिले विकासे (हाइब्रिड) स्याउखेती गर्न थालेको उल्लेख गरे ।

सोलबहादुरले भने, “परम्परागत शैली र स्थानीय प्रजातिबाट हुने उत्पादनको तुलनामा विकासे प्रजातिबाट बढी उत्पादन हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ । अहिले बारीमा स्थानीय स्याउ कम छन् । आम्दानी वृद्धि हुँदै गएपछि विकासे स्याउखेती गरिरहेका छौँ ।”

उत्पादन बढी हुने र बजार माग पनि बढी भएकाले विकासे स्याउखेतीतर्फ लागेको किसान सोलबहादुरले बताए । पछिल्लो समय विकासे स्याउबाट प्रशस्त उत्पादन हुन थालेको उनले जानकारी दिए ।

उत्पादन वृद्धि र स्याउको बजार माग राम्रो हुँदा अहिले यहाँका अधिकांश किसानले विकासे स्याउखेती गरिरहेका एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले बताए ।

विदेशबाट बिरुवा ल्याएर जिल्लामा विकासे स्याउखेती सुरु गरिएको जनाउँदै अहिले जिल्लाभर विस्तार भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

एग्रोका संस्थापक गुरुङले चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी’ प्रविधिबाट विकासे स्याउखेती सुरु गरेको जानकारी दिए ।

“फार्मले सुरुमा इटाली र सर्बियाबाट धेरै फल तथा उत्पादन दिने प्रजातिका विकासे स्याउका बिरुवा ल्याएर खेती थालेको थियो । यहाँबाट फुजी, गाला, गोल्डेन र रेड डिलिसिस प्रजातिका स्याउखेती विस्तार भएका छन्”, उनले भने । उनका अनुसार छ वर्षअघि विस्तार गरिएको विकासे स्याउखेती अहिले जिल्लाभर विस्तार भइरहेको छ ।

यस प्रजातिको स्याउखेतीले करिब दुई वर्षमा उत्पादन दिने भएपछि यसतर्फ किसान आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले बताए । उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुँदै गएको उनले उल्ले गरे ।

उनका अनुसार बर्सेनि उत्पादन बढ्दै जाने भएकाले हाइब्रिड स्याउखेतीलाई किसानले पछ्याउन थालेका हुन् । यसले स्थानीय स्याउखेतीलाई केही असर गरेको उनको भनाइ छ ।

मनाङको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रसम्म विकासे स्याउखेती विस्तार भइरहेको प्रमुख रेग्मीले बताए । स्थानीय प्रजातिका स्याउखेतीलाई परिस्कृत गर्दै आम्दानी बढाउन विकासे स्याउखेतीमा आकर्षण बढ्दै गएको छ ।

स्थानीय प्रजातिको स्याउखेतीबाट मेहनतअनुसारको आम्दानी नहुने भएकाले अहिले यहाँका किसान विकासे स्याउखेती गर्न थालेका छन् । प्रमुख रेग्मीका अनुसार १३ हजारभन्दा बढी क्षेत्रफलमा विकासे स्याउखेती विस्तार गरिएको छ ।

मनाङमा उत्पादित स्याउको बजार पोखरा, काठमाडौँ, चितवनलगायत जिल्ला हुन् । यहाँ उत्पादित स्याउ स्वदेशमा मात्रै नभई विदेशमासमेत निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँको स्याउ लमजुङको बेँसीसहर हुँदै पोखरा, नारायणगढ, काठमाडौँसम्म पुग्दछ ।

लमजुङमा श्रमदानबाट रोपाइँ

लमजुङ । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् ।

दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताए ।

गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका २७ जना वटुक आश्रममा अध्ययन गरिरहेका छन् ।

आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा करिब एक लाख बराबरको श्रमदान गरेर रोपाइँ सम्पन्न भएको गुरुकुलका अध्यक्ष पुष्पराज अधिकारीले बताए । खेतबाट उत्पादन हुने धानले वटुकहरूलाई छ महिना भोजनको व्यवस्था गर्न सहज हुने विश्वास उनले व्यक्त गरे ।

सुन्दरबजार नगरपालिकाले रोपाइँ गर्न आश्रमलाई पाँच लाख प्रदान गरेको थियो । उक्त रकममध्ये ३० हजार मलखाद र बीउ खरिदमा खर्च भएको जानकारी उनले दिए । 

पेरिस ओलम्पिकमा अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा

पेरिस । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५१ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कुल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।

जापानका प्रधानमन्त्री किशिदाद्वारा विदेश भ्रमण रद्द

जापानमा सम्भावित ‘महाभुकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्वविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गरेका छन् ।

जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्पका कारण बिहीबार आठ जना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए) ले बिहीबार परामर्श जारी गरेको हो ।

किशिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्बेकिस्तान र मङ्गोलियाको भ्रमण गर्ने कार्यक्रम थियो । उहाँले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो ।

“प्रधानमन्त्रीको हैसियतमा सङ्कट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकोले मैले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय गरेँ,” उनले भने ।

किशिदाले सन् २०११ मा गएको ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पुर्वानुमान निकायले तयार पारेको नयाँ प्रणालीअन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुनसक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निश्कर्षमा पुगेको बताए ।

जापानको मौसम पुर्वानुमान निकायल भनेको छ, “नयाँ ठूलो भूकम्पको सम्भावना सामान्यभन्दा बढी छ, तर यो कुनै ठूलो भूकम्प पक्का आउने सङ्केत होइन ।”

दक्षिणी टापु क्युशूमा बिहीबार गएको भूकम्पका कारण ट्राफिक बत्ती र कारहरू हल्लिएका थिए र भाँडाकुँडाहरू अलमारीबाट खसेका थिए, तर कुनै गम्भीर क्षति भने भएको छैन ।

आगलागी तथा विपद् व्यवस्थापन निकायले भूकम्पका कारण ठूलो क्षति नपुगेको तर केही व्यक्ति घाइते भएको जनाएको छ ।

चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानी द्वीपसमूहमा साना ठूला गरी हरेक वर्ष करिब एक हजार ५०० वटा भूकम्प आउने गरेका छन् ।

उन्नत भवन प्रविधि र राम्रो आपतकालीन उद्धार अभ्यासका कारण ठूला कम्पनमा पनि प्रभाव सामान्य रहनु जापानी विशेषता हो ।

सरकारले आगामी ३० वर्षमा महाभूकम्प जाने सम्भावना ७० प्रतिशत रहेको बताएको छ ।

यसले जापानको प्रशान्त महासागरीय तटको ठूलो भूभागलाई प्रभावित गर्न सक्ने र सबैभन्दा खराब अवस्थामा अनुमानित तीन लाख मानिसहरूको ज्यान जोखिममा पार्न सक्ने विज्ञहरूले बताएका छन् ।

खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छः मेयर साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दरबारमार्ग र कमलादी जोड्ने सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन् ।

सडकमा ठूलो भ्वाङका कारण सवारी आवतजावत हुन नसिरहेको अवस्थामा सामाजिक संजालमार्फत मेयर साहले यो टुकुचामाथिको बाटो भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचामाथि रहेका छन् । काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केही रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।’

मेयर साहले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

टुकुचा छोपेर बनाइएको दरबारमार्ग–काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको छ । भ्वाङमा खसेर प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकी घाइते भएका छन् भने सडकमा आवतजावत बन्द भएको छ ।

यी शासकहरूको हविगत श्रीलंका र बंगलादेशमा भए जस्तै हुने निश्चित छ: अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजे आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत राउतले आन्दोलनबाट संस्थागत भएका मुद्दाहरू उल्ट्याउन खोजे चुप लागेर नबस्ने बताएका छन् ।

उनले भनेका छन्, ‘प्रतिगामी शक्तिहरू एक भयो भन्दैमा र उनीहरूले चाहँदैमा जनआन्दोलन, माओवादी जनक्रान्ति, मधेश आन्दोलन, थरूहट आन्दोलन, स्वराज आन्दोलन र किसान आन्दोलनबाट संस्थागत भएका मुद्दाहरू त्यसै उल्टिदैँनन् । मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारू सहितका सीमान्तकृत वर्गहरू त्यसै चुप लागेर बस्दैनन् । बरू यी शासकहरूको हविगत श्रीलंका र बंगलादेशमा भए जस्तै हुने निश्चित छ । शासकीय बल प्रयोग गरेर जनतालाई दमन गर्न खोजेमा भाग्ने ठाउँ पनि पाउने छैनन् ।’

तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।

काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो ।

उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उनले बताए । यसअघि गाउँपालिकाले आगामी भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो ।

स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिए ।

तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ सङ्कलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको रारालिही प्रहरी चौकीका इन्चार्ज टिबी घर्तीमगरले बताए ।

कृषि विकास कार्यालय जुम्लाले पनि सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ ।

पर्यटकलाई लोभ्याउँदै नानापुर

राँझा (बाँके) । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास ९होमस्टे०ले पर्यटकलाई लोभ्याउने गरेको छ ।

नानापुर क्षेत्रमा शनिबार वा सार्वजनिक बिदाका दिन नेपालगञ्ज, कोहलपुरलगायत क्षेत्रबाट घुम्न आन्तरिक पर्यटक पुग्ने गरेका स्थानीय अगुवा मीनबहादुर थापाले बताए ।

“नेपालगञ्ज सहरबाट नजिकै पर्ने हराभरा र रमणीयस्थलले सबैलाई लोभ्याइरहेको छ”, उनले भने, “पर्यटनको प्रचुर सम्भावना रहेकाले नानापुर घरबास र उद्यानलाई अझ रमणीय बनाउन स्थानीय सरकारको अग्रसरताको खाँचो छ ।”

बाबुकुवा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिने गरेका छन् ।

सिद्दीविनायक लायन्स उद्यानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोलघर, कार्यक्रम कक्षलगायत संरचना निर्माण गरिएको छ । बाबुकुवा सामुदायिक वनमा सिद्दिविनायक लायन्स उद्यान सञ्चालनमा आएपछि त्यसले आन्तरिक पर्यटकको चहलपहल बढाएको नानापुर होमस्टेका अध्यक्ष डम्बर बुढाथोकीले जानकारी दिए ।

नानापुर क्षेत्र पुग्ने आन्तरिक पर्यटक स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने गरेका उनी बताउँछन् ।

“होमस्टेको प्रचारप्रसार गर्न नसक्दा बाह्य पर्यटक कम आउने गरेका छन् । होमस्टेको शिष्टाचार, स्थानीय परिकारका स्वाद, पारिवारिक रहनसहनमा घुम्न आउने आन्तरिक पर्यटक रमाउने गरेका छन्,, सुरुको वर्ष होमस्टे सुनसानजस्तै थियोे, विस्तारै पर्यटक आउने क्रम बढेको छ”, उनले भने ।

नेपालगञ्जबाट करिब आठ किलोमिटरको दूरीमा नानापुर क्षेत्र रहेको छ । पछिल्लो पटक सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी बग्न थालेपछि गर्मीयाममा त्यहाँ पुग्ने पर्यटक रमाउने गरेका छन् । डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले वडास्तरबाट पूर्वाधार विकास गर्न बजेट नभएकाले गाउँपालिका र प्रदेश सरकारसँँग नानापुर क्षेत्रको थप विकास गर्न पहल गरिएको बताए ।

सुर्खेत उडान भर्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।

आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् ।

‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनिन् । सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताइन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए ।

‘प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्’, उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।’

अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए ।

चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि टीकापुरवासीमा त्रास

टीकापुर । एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ । चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए । ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे । ‘स्थानीयले तीन चितुवा देखेको बताएका छन् । हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ’, उनले भने ।

चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ । दैनिक बाख्रा मार्न थालेपछी टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, प्रहरी, नगर प्रहरीलगायत टोलीले आफ्नो काम थालेको छ । चितुवा खोज्न विभिन्न स्थानमा टोली परिचालन गरिएको छ ।

बिहीबार राति पनि चितुवाले स्थानीयका बाख्रा र कुखुरा मारेको टीकापुर–१ का वडाध्यक्ष मोहन लुहारले जानकारी दिए । चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा स्थानीयका करिब २२ बाख्रा मारेको छ । केही बाख्रा घाइते भएका छन् ।

त्यत्तिकै सङ्ख्यामा कुकुर र कुखुरा समेत मारेको स्थानीयले बताएका छन् । चितुवाले बिहीबार रातिमात्रै ब्लक नं १७ मा २६ कुखुरा मारेको छ । होहल्ला गरेपछि दुई बच्चासहितको चितुवा भागेको स्थानीय रमेश खड्काले बताए ।

सहरमै चितुवा देखिन थालेपछी कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन् । चितुवाले दैनिक जनावर मार्न थालेपछी साँझबिहान हिँडडुल गर्नेहरू त्रासमा छन् । यस्तै नियमित योगाभ्यास गर्नेहरू पनि घरबाट निस्कन डराउने गरेका स्थानीय रूपा विकले बताइन् ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट नदीवारि आएका चितुवा वडा नं २ मा रहेको सामुदायिक वन हुँदै सहर पसेको आशंका गरिएको छ । बजार क्षेत्रमा मात्र होइन, टीकापुरको वडा नं ७ र ८ मा पनि जंगली जनावरले आतंक मच्चाएको छ ।

त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चितुवाले दैनिकजसो कुकुर र बाख्रा मार्न थालेको छ ।

दमौली अस्पताल ज्वरो र झाडापखालाका बिरामीले भरिभराउ

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ ।

असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, ‘उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन् ।’

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उनले भने, ‘सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ ।’

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ । दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन् ।

नागपोखरीमा नागको पूजा गर्दै भक्तजन(फोटोफिचर)

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको प्रतिमामा पूजा तथा दूध चढाउँदै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

थाई विपक्षी दलको प्रतिबन्धबाट  राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घले बिहीबार थाइल्यान्डको प्रमुख विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) को विघटन ‘गहिरो चिन्ताजनक’ भएको र यसले मौलिक स्वतन्त्रतालाई गम्भीररूपमा असर पुर्याएको बताएको छ ।

थाइल्यान्डको संवैधानिक अदालतले मुलुकको युवा लोकतन्त्र समर्थक आन्दोलनको अग्रणी एमएफपीलाई भङ्ग गर्न र यसका कार्यकारी बोर्डका सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउन बुधबार सर्वसम्मतिले मतदान गरेको थियो ।

“यो निर्णयले अभिव्यक्ति तथा सङ्घको मौलिक स्वतन्त्रता र थाइल्यान्डमा सार्वजनिक मामिला तथा राजनीतिक जीवनमा भाग लिने जनताको अधिकारलाई गम्भीररूपमा असर गर्दछ”, राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भनेका छन्, “कुनै पनि दल वा राजनीतिज्ञले कानूनी सुधारको वकालत गरेकामा विशेषगरी मानवाधिकारको समर्थनमा कहिले पनि यस्तो सजाय भोग्नु हुँदैन ।”

थाइल्यान्डको कडा शाही मानहानि कानूनमा सुधार गर्ने वाचा गरेपछि एमएफपीले गत वर्षको आम निर्वाचनमा पहिलो स्थान हासिल गरेको थियो ।

अदालतको कदमलाई ‘गहिरो चिन्ताजनक’ भन्दै टर्कले राष्ट्रसङ्घीय मानवाधिकार संयन्त्रहरूले लामो समयदेखि थाइल्यान्डको लेज–मेजेस्टे कानूनका बारेमा चिन्ता व्यक्त गरेको र ती कानून नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धसँग असङ्गत रहेको बताएको उल्लेख गरे ।

“म सरकारलाई जीवन्त, बलियो र समावेशी लोकतन्त्र सुनिश्चित गर्ने मार्ग खोज्न आह्वान गर्दछु जसले अभिव्यक्ति र सङ्घको स्वतन्त्रताका अधिकारहरूलाई प्रवर्द्धन र सम्मान गर्दछ तथा आलोचनात्मक आवाजहरूलाई दबाउन लेज–मेजेस्टे कानूनहरूको प्रयोग बन्द गर्दछ”, टर्कले भने, “मानवाधिकारको सम्मान र संरक्षण सुनिश्चित गर्न तथा शान्तिपूर्ण सामाजिक र आर्थिक विकास प्राप्त गर्न आवाज र विचारहरूको विविधता आधारभूत हो ।”

क्याटलोनियाका पूर्व पृथकतावादी नेता पुज्डेमोन सात वर्षपछि स्वदेश फिर्ता

सन् २०१७ मा स्पेनको स्वतन्त्रताका लागि असफल भएको आरोपमा स्पेनबाट भागेका क्याटोलोनियाका पूर्वप्रमुख कार्लेस पुज्डेमोन सात वर्षपछि बिहीबार स्पेन फर्किएका छन् । उनीविरूद्ध देशको विखण्डनका लागि नागरिकलाई उक्साएको आरोपलगायत मुद्दामा पक्राउपर्जी जारी गरिएको छ ।

क्याटालोनियाको क्षेत्रीय संसद नजिकै भेला भएका हजारौंलाई सम्बोधन गर्न बार्सिलोनाको एक मञ्चबाट पुज्डेमोनले ‘स्वतन्त्र क्याटालोनिया जिन्दावाद’ भन्दै चिच्याएका थिए ।

“हामी अझै पनि यहाँ छौं भनेर सम्झाउन म यहाँ आएको हुँ,” उनले भने, “भीडमा धेरैले रातो, पहेंलो र निलो क्याटलन स्वतन्त्रताको झण्डा फहराइरहेका थिए।

आफ्नो संक्षिप्त सम्बोधनपछि पुज्डेमोन नजिकैको क्याटलन संसदतर्फ लागेका थिए तर विधानसभाले उनको उपस्थिति नभइकन यस क्षेत्रका लागि नयाँ नेता छान्नका लागि मतदान सुरु गरेको थियो ।

उनी कहाँ बसेका छन् भन्नेबारे तत्काल केही खुल्न सकेको छैन । अल्ट पेनेडेस क्षेत्रबाट पुज्डेमोनलाई भेट्न बार्सिलोना आएकी ५० वर्षीया नुरिया पुजोलले उनलाई ‘निकै महान व्यक्ति’ भनेकी थिइन् र

“स्वतन्त्रतामा विश्वास गर्न छोडेको छैन,” उनले थपिन् ।

अति दक्षिणपन्थी पार्टी भोक्सले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारीहरूको एउटा सानो समूहले स्पेनी झण्डा फहराएको र ’क्याटालोनिया स्पेन हो’ लेखिएको साइनबोर्ड बोकेका थिए।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको सोसलिस्टले उदारवादी क्याटलन पृथकतावादी पार्टी ईआरसीसँग समाजवादी उम्मेदवार साल्भाडोर इलालाई क्याटलन क्षेत्रीय सरकारको अर्को प्रमुख बनाउन सम्झौता गरेको केही दिनपछि पुज्डेमोनको नाटकीय पुनरागमन भएको हो । ईआरसीले पुज्डेमोनको अधिक कट्टरपन्थी जेएक्सक्याटको प्रतिस्पर्धी दल हो ।

समाजवादीहरूले मे महिनामा भएको क्षेत्रीय चुनावमा सबैभन्दा बढी सिट जितेका थिए तर बहुमत प्राप्त गर्न असफल भएपछि ईआरसीको समर्थन महत्त्वपूर्ण छ ।

यदि अगष्ट २६ सम्ममा क्याटलोनियाको नयाँ क्षेत्रीय सरकार गठन भएन भने अक्टोबरमा नयाँ निर्वाचन हुनेछ ।

सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते

बर्दिया । बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ ।  गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएको जनाइएको छ ।

घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पुर्याएका थिए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

आजै सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो ।

थप उपचारका लागि बर्दिया अस्पताल पुर्याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति

काठमाडौं । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरे सँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो ।

यसअघि विभिन्न प्रश्न उठाउँदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए सँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाईटेडबीच खेल हुने भएको छ ।

प्राधिकरण सञ्चालक समितिका सदस्य आचार्य र पुनलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साउन १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आचार्य र पुनलाई पदबाट हटाएर सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त गरेका थिए ।

आचार्य र पुनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता असुल गर्नुपर्ने कुरा उठाएका कारण सरकारले पदबाट हटाएको भन्दै पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रधानसेनापति शर्माद्वारा सिग्देललाई कार्यभार बुझबुझारथ

काठमाडौं । नेपाली सेनाको कामु प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । बिहीबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति महारथी प्रभुराम शर्माले सिग्देललाई कार्यभार बुझबुझारथ गरेका हुन् ।

प्रधानसेनापति शर्मा २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । त्यसअघि शर्मा भोलिदेखि बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कठिन समयमा आमालाई सहयोग गर्न नसकेकामा हसिनाकी छोरीद्वारा दुःख व्यक्त

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले देशको कठिन समयमा आफ्नी आमाको दुःखमा साथ दिन नसकेकामा निराशा व्यक्त गरेकी छन् ।

उनले बङ्गलादेशमा द्वन्द्वका कारण ज्यान गुमाएकाप्रति दुःख प्रकट गर्दै र देशमा जारी अशान्ति छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षेत्रीय निर्देशक शेख हसिनाकी छोरी साइमाले सामाजिक सञ्जाल एक्समा भनिन्, ‘मेरो देशमा भएको मानवीय क्षति हृदयविदारक छ । म यो कठिन समयमा मेरी आमाको साथमा हुन सकिनँ । म डब्ल्यूएचओले प्रदान गरेको भूमिकाका लागि प्रतिबद्ध छु ।’

साइमाले यस वर्षको फेब्रुअरीमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि डब्ल्यूएचओको क्षेत्रीय निर्देशकको रूपमा कार्यभार सम्हालेकी थिइन् । साइमा यो पद सम्हाल्ने पहिलो बङ्गलादेशी र दोस्रो महिला हुन् ।

विद्यार्थी नेतृत्वको विद्रोहका कारण शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएपछि बङ्गलादेशले अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ ।

शेख हसिनाले बङ्गलादेशको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर देश छोडेको एक दिनपछि राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले अन्तरिम प्रशासन गठनका लागि देशको संसद् विघटन गरेका छन् ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ ।

मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले बिहीबार राति शपथग्रहण गर्ने डेली स्टारले जनाएको छ ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकारमा अहिले १५ जना सदस्य हुनसक्ने सङ्केत गरेका छन् । अन्तरिम सरकारका सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन ।

बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा ३४ जनाको मृत्यु

बंगलादेश । युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको छ ।

बङ्गलादेशको नदीमा मङ्गलबार भएको दुर्घटनामा साना सहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ ।

उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

बङ्गलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुङ्गामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेका बताए ।

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बङ्गलादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए ।

रखाइनको सहर माउङ्गदाबाट भागेर बुधबार फरक डुङ्गाबाट बङ्गलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताए ।

हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बङ्गलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाई भएको चौधरीले बताए ।