`

सूर्यविनायकमा विकास निर्माणमा स्थानीयलाई जागरुक बनाउने अभियानले पायो तीव्रता

भक्तपुर । ‘आफ्नो गाउँ, आफै बनाऔं’ अभियान जस्तै सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा विकास संरक्षण तथा प्रवर्द्धन अभियानले तीव्रता पाएको छ ।
सामान्यतया तीन तहको सरकार तथा दातृनिकायबाट प्राप्त बजेटबाट विकास निर्माण हुने तर त्यसको संरक्षण तथा प्रवर्द्धन नहुँदा भएका विकासहरु कुरुप हुने गरेका छन् । आफ्नो घर छेउछाउ आफैंले विकासको संरक्षण र प्रवर्द्धन गरी दिगो र प्रभावकारी बनाउने उद्देश्यका साथ साउन १७ गते एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमनन्त्री महेश बस्नेत र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका थिए ।

घोषित रुपमा शुरु गरिएको उक्त अभियान एक नमुना र अनुकरणीय रहेको स्थानीयवासीले बताएका छन् । विकासमा जनताको प्रत्यक्ष सहभागिता रहेमा मात्र भएका विकासको संरक्षण तथा प्रवर्द्धन हुने विश्वासको साथ उक्त अभियान चलाइएको बताइएको छ ।
अभियानले प्रत्येक शनिबार दुई घण्टा विकासको संरक्षण तथा प्रवर्द्धनमा सामाजिक सहयोग गर्न थालेको छ । विहान ७ बजेदेखि ९ बजेसम्म प्रत्येक शनिबार उक्त अभियान सञ्चालन गरिरहेको छ । शुरुवातको दिन गुण्डु चोकको सडक र दोस्रो हप्ता गुण्डुको पुरानो बसपार्क नजिक रानी खोला दोभानदेखि तार्केश्वर मन्दिरसम्मको बर्षातको भेलले पुरिएको कल्भर्ट तथा कुलो खोल्ने कार्य र उक्त क्षेत्रको सरसफाइ गरिएको थियो ।

सडकको खाल्डाखुल्डी पुर्ने, खोला, कुलो तथा ढलको सरसफाई गरी भएका विकासलाई आफ्नो अपनत्व लिने गरी स्थानीयवासी जागरुक बनाउन थालिएको हो । भदौ ३ गते रक्षाबन्धनलाई लक्षित गर्दै आगामी शनिबार अभियानको तेस्रो हप्ता वडा नं. ७ र ४ को सीमानामा पर्ने अनन्तकुण्ड, अनन्तझुला तथा अनन्तलिङ्गेश्वरमा सरसफाई कार्यक्रम आयोजना गरिने भएको छ ।

उक्त स्थानमा पूर्वमन्त्री बस्नेतले विकासका धेरै कार्यहरुको शुरुवात समेत गरेका थिए । उनले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अनन्तकुण्ड, अनन्तझुला, अनत्तलिङ्गेश्वर मन्दिरको प्रवर्द्धन, खुल्ला स्वीमिङ पुल, पार्क लगायतका विकासका ड्रिम प्रोजेक्टहरुको निर्माण प्रारम्भ गरेका थिए । उक्त स्थान विशेष त हिन्दूधर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा समेत परिचित रहेको छ । पर्यटकीय क्षेत्रको उच्च सम्भावना बोकेको उक्त स्थानमा तीज, रक्षावन्धन तथा विभिन्न धार्मिक विश्वासका खास दिनहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

जसले जनतालाई सचेत र जागरुक बनाइरहेको अभियान्ता दिनेश थापाले बताए । ‘हप्तामा दुई घण्टा आफ्नो गाउँ आफैं बनाऔं भन्ने लक्ष्यका साथ वडा नं. ७ का सम्पूर्ण विकास आयोजनाका संरक्षण तथा प्रवर्द्धन गर्ने महान् सामाजिक कार्यको शुरु गरेका छौं,’ उनले भने, ‘यो अभियान वडाभरि नै सञ्चालन हुनेछ र आगामी दिनमा नगरपालिकाभर लैजानुपर्छ । विकास हामीले तिरेको करेले सरकारले गर्छ तर त्यसको संरक्षण र सम्वद्र्धन भने हामी स्थानीयवासीले नै गर्नुपर्छ । सरकारलाई सहयोगीको भूमिका खेल्नुपर्छ ।’

राजनीतिक आस्थाका कारण विकासलाई समेत विगार्ने, भत्काउने तथा संरक्षण नगर्ने परम्परालाई तोड्दै सचेतनामूलक उक्त अभियानले सामाजिक चेतनाको व्यापक विकास गर्ने बताइएको छ । ‘विकासमा इगो हैन, दिगो बनाउने जिम्मेवारी हामी जनताको पनि हो । राजनीतिमा प्रतिष्पर्धा होला तर विकासमा सवैको ऐक्यवद्धता हुनुपर्छ । तसर्थः हामीले राजनीतिभन्दा माथि उठेर यो अभियान शुरु गरेका हौं ।’, अभियान्ता थापाले भने ।

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै छन् । दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिश्री नेपाल आउन लागेका हुन् ।

दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विदेश सचिव मिश्री सोमबार स्वेश फर्कनेछन् ।

स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौंः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको बताएका छन् । सातै प्रदेशमा भएको ‘क्लोज क्याम्प’ उत्साहपूर्ण रुपमा सकिएको जानकारी गराउँदै सभापति लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा ‘क्लोज क्याम्प’ सकिएको छ। प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ । पार्टी परिपक्व हुने चरणमा छ । हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं। स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौं ।’

उनले अबको यात्रा संयम र धैर्यसहित परिस्कृत हुने बताएका छन् । उनले भनेका छन्, ‘अबको यात्रा संयम र धैर्य सहित परिस्कृत बैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको । संसारभरका रास्वपा परिवारका साथीहरू लाई धेरै–धेरै माया र सम्झना ।’

विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर निर्वाचित

काठमाडौँ । विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए ।

तेह्र सदस्यीय कार्यसमितिका सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गङ्गाराम खनाल छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्कामा एक युवती पक्राउ

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृत फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बताए ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ । घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छः अध्यक्ष ढकाल

कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा शनिबार आयोजित कैलाली उद्योग वाणिज्य सङ्घको ५०औँ स्वर्णिम वर्ष तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरताका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताए ।

सेयर बजारले गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सृजना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले सङ्घसँगै प्रदेश सरकार स्थायी हुने सम्भावना देखिएकाले प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताए ।

कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरूमध्ये छैटौँ स्थानमा रहेको सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी रहे पनि सम्भावना भने उच्च रहेको बताउँदै अध्यक्ष ढकालले सुदूरपश्चिममा जलस्रोत, पर्यटन मात्र नभएर यहाँको जनशक्ति निकै मेहनती रहेकाले युवाहरूलाई उद्यमशील र विकास निर्माणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन उद्योग वाणिज्य सङ्घले प्रभावकारी भूमिका खेलिरहेको बताए ।

साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । एन्फाले अगष्ट १८ देखि २८ तारिखसम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको लागि २३ सदस्य टोली घोषणा गरेका हो ।

टोलीमा जियारथ शेख, कृषल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष मिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लाचु थापा, निरज कार्की, हरिष राज भट्ट छन् ।

धरबेन्द्र कुँवर, अनिल बमजन। समीर तामाङ, नीराजन धामी र रोहन खड्गी पनि टोलीमा रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्नेछन् ।

बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

बीबीसी । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आन्दोलनकारी विद्यार्थीले प्रदर्शन गर्दै सर्वोच्च अदालत परिसर घेर्न थालेपछि उनले राजीनामा दिएका हुन् ।

विद्यार्थीले सर्वोच्चका प्रधानन्यायाधीश र पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गर्दै प्रदर्शन थालेका थिए । विद्यार्थीको प्रदर्शन बढ्दै गएपछि प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका अन्य ५ न्यायाधीशले पनि राजीनामा दिएका छन् ।

त्यसअघि प्रधानन्यायाधीश ओबेदुलले अदालको फुलकोर्ट बैठक बोलाएका थिए। त्यसलाई न्यायापालिकामा सत्तापलटका रुपमा हेर्दै विद्यार्थीले प्रदर्शन थालेका थिए।

आरक्षणको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री देश छोडेर भागेकी थिइन् । हसिनाको सत्ता ढलेसँगै नोबेल पुरस्कार बिजेता मुहम्मद युनुस अन्तरिम सरकारका प्रमुख बनेका छन् ।

मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा

जनकपुरधाम  । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दूधजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उद्योगमाथि कारबाही गर्ने भएको छ ।

मापदण्ड विपरीत सञ्चालित जनकपुर–१४ स्थित जानकी र छिरेश्वरनाथ नगरपालिका–५ स्थित विशाल डेरी उद्योगमाथि जिल्ला अदालत जनकपुरमा मुद्दा दायर गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।

कार्यालयले अनुगमनका क्रममा दुवै उद्योगबाट उत्पादित सामग्रीको नमूना सङ्कलन गरी जाँच गर्दा कैफियत पाएपछि कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रवीण तिवारीले जानकारी दिए।

‘माँ जानकी डेरी उद्योगबाट उत्पादित खुवा, घ्यू तथा प्रशोधित दूधको नमूना संकलन गर्दा मापदण्डअनुसार नभएको पाइएको छ । विशाल डेरी उद्योगको पूजामा प्रयोग गरिने घ्यूको जाँच गर्दा कैफियत पाइएको हो’, उनले भने। बजारमा विशाल डेरीबाट उत्पादित घ्यू नष्ट गरिएको छ ।

कार्यालयले गत आवमा यहाँ ४६ वटा औद्यौगिक तथा व्यावसायिक फार्मबाट उत्पादित सामग्रीको अनुगमन, छड्के निगरानी गरी मिसावट भएका, गुणस्तरहीन तथा म्याद नाघेका वस्तु नष्ट गरेको थियो । संकलित नमूनामध्ये प्रयोगशालामा जाँच गर्दा दुई डेरी उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको कार्यालयका सूचना अधिकारी तिवारीले जानकारी दिए।

कार्यालयबाट जनकपुरसहित धनुषाको विभिन्न बजार तथा चोकमा अनुगमन भएको थियो । व्यावसायिक होटल, रेष्टुरेण्ट, मासु पसल, किराना पसल, मिष्ठान भण्डार, बोर्डिङ स्कुलका क्यान्टिन, अस्पतालका क्यान्टिनको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ती व्यावसायिक फार्मबाट रु दुई लाख मूल्य बराबरको अखाद्य वस्तु नष्ट गरिएको तिवारीले बताए ।

गत आवमा मधेस प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा नमूना प्रतिकूल पाइएको थियो । तीमध्ये ३१ मुद्दा दायर, १६ को बयान सकिएको र अन्यको बयान लिन बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले जनाएको छ ।

फूलबारी-बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्घु नाका खुलेको छ। नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात–निर्यात सहज भएको छ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।

उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ।’

कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो।

गोसाइकुण्डमा तीर्थयात्रीको आगमन सुरु

रसुवा  । गोसाइकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन् ।

यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको दिन भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपनीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए।

रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाइकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताए । गोसाइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उनले जनाए ।

भगवान् शंकरले बास लिएको पवित्र कुण्डस्थलका रुपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरिएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे।

गोसाइकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पर्याप्त सुरक्षा व्यवस्था मिलाइसकिएकाले निर्धक्क भएर यात्रा गर्न आग्रह गरे ।

यात्राका क्रममा कुनै समस्या आए सुरक्षाकर्मी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, गोसाइकुण्ड क्षेत्र विकास समितिलगायत निकायमा जानकारी गराई सहयोग लिन उनले सबैमा अनुरोध गरे ।

गोसाइकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी सास्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । गुल्कोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ ।

घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गंगा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टंकप्रसाद ढकालले बताए।

कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, निलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकांक्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहिआएको उनले उल्लेख गरे।

काठमाडौँबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा सुरू हुन्छ । बाटोमा ठाउँठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष निसान गजुरेलले बताए । हिमाली क्षेत्रको वातावरण शरीरमा मिलाई हिड्नका लागि काठमाडौँबाट आएको एक रात धुञ्चेमा बसेर भोलिपल्ट उकालो लाग्दा सहज हुने उनको सुझाव छ ।

फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, लठ्ठीको नाममा रूख बिरुवा नकाट्न, पैदल मार्गमा भेटिने जनावरलाई संरक्षण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले सम्पुर्ण यात्रीमा अनुरोध गरेको छ । यात्रीले प्रयोग गरेका निजी सवारिसाधन सुरक्षाका लागि गोसाइकुण्ड गाउँपालिका–६ को कार्यालय धुञ्चेले सःशुल्क पार्किङको व्यवस्था गरिसकेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

गोसाइकुण्ड जाने पैदल मार्ग स्वच्छ पार्न सरसफाइ कार्यक्रम सुरू भएको छ । पहिलो चरणअन्तर्गत जिल्ला प्रशासन कार्यालयको पहलमा धुञ्चेबाट मिनी गोसाइकुण्डसम्म सरसफाइ सम्पन्न गरिएको बताउँदै प्रजिअ खनालले क्रमशः सरसफाइलाई निरन्तरता दिने जनाए ।

यातायात व्यवस्था कार्यालय नवलपरासीद्वारा तीस करोड राजस्व सङ्कलन

मध्यविन्दु (नवलपरासी)  । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले गत आर्थिक वर्षमा  ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताए ।

“गत आवमा सवारीसाधन करवापत  २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत  पाँच करोड छ लाख ५२ हजार नौ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत रु आठ लाख दुई हजार छ सय ९० राजस्व सङ्कलन भएको छ”, उनले भने ।

प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सात सय २७ सवारीसाधन दर्ता भएका छन् । आव २०७९/८० मा कूल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव छ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएका उनले जानकारी दिए ।

“गत आवमा दुई पाङ्ग्रे सवारीसाधन एक हजार चार ८९, निजी कार भ्यान २८, सरकारी मोटरसाइकल तीन, निजी बस तथा ट्रक १३, सरकारी बस पाँच, सरकारी गाडी छ, पिकअप भ्यान दुई, सार्वजनिक बस तथा ट्रक २४, ट्याक्टर चार, भाडाका ट्याम्पो ७४ र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्”, प्रमुख केसीले भने ।

उनका अनुसार आव २०७९/८० मा छ हजार छ सय ८३ दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएकामा गत आवमा एक हजार चार सय ८९ वटा दर्ता भएका छन् ।

जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेका कार्यालय प्रमुख केसीले जानकारी दिए ।

चालक अनुमति पत्र नयाँ एवं नवीकरण गरेकामध्ये गत पुस १५ गतेसम्मका सबै छापिएर आएका उनले बताए ।

छापिएर आएका चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अहिले सेवाग्राहीलाई वितरण गर्न थालिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम धार्मिक पर्यटनको केन्द्र बन्दै

तनहुँ । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’ को रुपमा विकास हुन थालेको छ। मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो।

च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्ने गरेको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए। साथै मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एकसय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिंग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएको छ।

बौद्ध धर्मावलम्बीलाई लक्षित गरी बौद्ध गुम्बा पनि यहाँ निर्माण गरिएको लम्सालले बताए। बौद्ध धर्मावलम्बी आगमन बढाउने, धार्मिक सहिष्णुता कायम गराउने उद्देश्यले गुम्बा बनाइएको भन्दै गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उनले उल्लेख गरे।

च्यवनधामका अध्यक्ष लम्सालले भने, ‘यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित स्थानीयवासी लागिपरेका छन्। यसलाई धेरैले मिनी मुक्तिनाथको रुपमा चित्रण गर्ने गरेका छन्।’ यहाँ नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माअष्टमी, बालाचतुदर्शी र शिवरात्रीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

प्रत्येक वर्षको साउनमा यहाँ शिवपुराण लगाउने गरिन्छ। च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ।

च्यवनधामका उपाध्यक्ष अस्मिता खनालले यस ठाउँ साझा धार्मिक आस्थाको केन्द्रका रुपमा परिचित रहेको बताइन्। उनले भनिन्, ‘सुन्दर धार्मिक सांस्कृतिक संरचना, पर्यटकीय आकर्षकका विम्बहरु, ज्येष्ठ नागरिक आश्रम, बेसहारा छाडिएको गाईहरुको संरक्षण गर्न स्थापित गौ संरक्षण केन्द्रको व्यवस्थापकीय जिम्मेवारी यसै धामले ग्रहण गरिरहेको छ।’

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको यस ठाउँमा पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ भनेर स्थानीय जागरुक बन्नुभएको छ, आज यसले एउटा स्वरुप पाएको छ। यसको प्रवर्द्धनका लागि नगरपालिका सहकार्य गर्न सदैव तयार छ।’

पूर्वमन्त्री आशा कोइरालाले विगतमा एक्लै मान्छे हिँड्न डराउने यस ठाउँ आज धार्मिक गन्तव्यस्थल बन्न सकेकाले यसको सम्पूर्ण श्रेय स्थानीयवासीलाई जाने उल्लेख गरिन्।

च्यवनधाम र गौ संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि गत सोमबारदेखि धार्मिक महोत्सव आयोजना गरिएको छ। यही साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा पण्डित बालकृष्ण अर्यालले कथावाचन गरिरहेका छन्।

यसरी फेरियो स्वरुप

पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार। जताततै ढुंगैढुंगा। दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था थियो। नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने। उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुंगाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ। दिउँसै डरलाग्दो नदी छेउको थुम्को पवित्रधाम बनेसँगै सुन्दर मन्रि निर्माण गरिएको छ।

शुक्लागण्डकी-२ गाछेपानीका स्थानीयले एक दशकमा च्यवनधामलाई परिवर्तन गरी सुन्दर, रमणीय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन्। एक्लै हिँड्न पनि डरलाग्ने साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन्। अहिले यही किनारको स्वरूप फेरिएको छ।

गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएको हो। नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले चिनिएको छ। यो ठाउँ भगवान् शिवजीप्रति आस्थावान् हुने भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको च्यवनधामका अध्यक्ष लम्सालले बताए। उनकामा अनुसार हिन्दू धर्मको मात्र नभइ च्यवनधाम बौद्ध धर्मावलम्बीको पनि आस्थाको थलो हो।

विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कब्जामा लिन खोजेपछि यस स्थान परिवर्तन भएको च्यवनधामका अध्यक्ष लम्सालले बताए। ‘यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो। गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौँ’, उनले भने, ‘जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण गर्‍यो। यहीको पुनमगर समाजले तारबार लगायो। पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरुको अन्तिम घर अर्थात् चिहान त्यही आडैमा थियो।’

जग्गा संरक्षणको दुई वर्षपछि विसं २०६७ मा काठमाडौँ बस्दै आएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भएपछि उनले सेतीको किनारमा तपोभूमि भएको सुनाएका थिए। उनले शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिका रुपमा रहेको पनि सुनाएपछि स्थानीयको पहलमा पूर्वाधार निमार्ण थालिएको अध्यक्ष लम्सालले जानकारी दिए।

विसं २०६७ कात्तिकमा मन्दिरसहितका पूर्वाधार निर्माण गर्न लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो।

माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरिएको अध्यक्ष लम्सालले उल्लेख गरे। समितिले यहाँ मन्दिरसहित पूर्वाधार निर्माण गर्न आर्थिक संकलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० गतेदेखि १७ गतेसम्म सञ्चालन गरेको महायज्ञमा एक करोड ५० लाख रूपैयाँ रकम संकलन भएको थियो। त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको थियो।

महायज्ञ लगाएको ६ महिनापछि मन्दिर शिलान्यास गरिएपछि पूर्वाधार निर्माणको चरण सुरु भएको थियो। मन्दिर क्षेत्रमा एक दशकको अवधिमा तीन करोड रूपैयाँभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको अध्यक्ष लम्सालले जानकारी दिए।

गण्डकी प्रदेश सरकारको लगानीमा २५ लाख रूपैयाँ खर्च गरी यहाँ रहेको एकसय आठ धाराको माथिपट्टी कृत्रिम हिमाल निर्माण गरिएको छ। कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको उनले उल्लेख गरे।

यही बाटो भएर तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ। ढोरबाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेका छन्। मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुवाती बिन्दु हो।

सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दुरीको मिलेनियम ट्रेक यहीबाट सुरु हुने भएकाले पनि यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेमा रोजगारीका अवसर सिर्जना हुनाका साथै आयआर्जन वृद्धि हुँदै जाने विश्वास लिइएको छ।

वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझबढी शान्ति आवश्यक भएको बताएका छन् ।

शनिबार धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकारभाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताए ।

दम्भको मार्ग त्यागेर मानवनीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताए ।

उनले भने,“आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ । आफ्नो जिद्धीका लागि निर्दाेष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र आक्रमण गर्नेहो भन्ने भयको वातावरणमा बस्नुपरेको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’’ उनले परस्पर बेमेल र अशान्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा व्यक्त गरे ।

विहारका प्रमुख धम्मवतीले प्रधानमन्त्रीको आरोग्यको कामना गर्दै उनको नेतृत्वमा देश समृद्धिको पथमा अग्रसर हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए ।

इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापित

संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रबार पछिल्लो इजरायली निकासी आदेशपछि कम्तिमा ६० हजार गाजवासी विस्थापित भई पश्चिमी खान युनूसतर्फ सरेको अनुमान गरेको छ ।

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले उत्तरी र दक्षिणी गाजाको लगभग ४३ वर्ग किलोमिटर क्षेत्रमा यस हप्ता इजरायलले निकासी आदेश जारी गरेको जानकारी दिएको छ ।

ओसिएएचएले गाजामा आफ्ना साझेदारद्वारा करिब २३० विस्थापनस्थल, तीन दर्जन भन्दा बढी पानी, सरसफाई , अस्पतालसहित स्वास्थ्य सुविधाको व्यवस्था गरेको जनाएको छ ।

गाजापट्टीको ८० प्रतिशतभन्दा बढी भूभागमा गत अक्टोबरदेखि निकासी आदेश जारी गरिएको अनुमान ओसिएएचएले गरेको छ । विपक्षीहरु बीच बढ्दो शत्रुता, सहायता अवरोध, असुरक्षालगायतका कारण गाजामा सहायता आपूर्ति चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ ।

मे महिनाको सुरुदेखि रफाह क्रसिङ्ग बन्द भएपछि गाजामा सहायताको मात्रा आधाभन्दा बढी घटेको ओसिएचएले जानकारी दिएको छ । यसै गरी विगत तीन महिनामा केरेम शालोम क्रसिङबाट भित्रिने सहायतामा ८० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।

पछिल्लो समयमा मानवीय सहायताका लागि आवश्यक समन्वयको अनुरोधलाई इजरायली अधिकारीहरुले बारम्बार अस्वीकार र अवरोध गरेको ओसिएइचएले जनाएको छ ।

कार्यालयको अनुसार चालु महिनामा उत्तरी गाजामा जारी ६७ सहायता मिसनमध्ये २४ वटालाई मात्र इजरायली अधिकारीहरूले सहयोग गरेका थिए ।

बाँकीलाई सुरक्षा परिचालनलगायतका कारण देखाई रद्द गरेको कार्यालयले जनाएको छ ।

शेख हसिनाले शरणका लागि आवेदन नदिएको छोरा सजीवको भनाई

बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गरेका छन् ।

एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीव वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिए ।

‘यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बङ्गलादेशमा बिताउनुभएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभएपनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ ‘, उनले भने ।

शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उनले भने,’यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ छैन । मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएका छन्। म लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु । तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ ।’

सजीवले बङ्गलादेशमा लोकतन्त्र र कानून व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गरे । ‘हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानूनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ’, उनले भने ।

उनले बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको दुर्दशा र कानून प्रवर्तनको अभावलाई पनि प्रकाश पारेका छन् ।

बङ्गलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृंखला हो।

आक्रोसित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार ६ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरुको मृत्यु भएको फताहले बताए ।
“कैदीहरुको अराजक गतिबिधिले हामी गोली चलाउन बाध्य भएका हौँ “, उनले भने ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्गलबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए । झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे ।

हसिना सरकार विरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् ।

पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए ।

‘स्वदेश मै केही गर्न सकिन्छ’ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ : महामन्त्री थापा

भक्तपुर ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा  केही  हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

उनले भने,’स्वदेश मै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ । यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ ।  समाजमा गौरव गर्ने कुरा धेरै छन् ।  केही छैन, भन्ने सोच्नु हुँदैन । आर्थिक समृद्धि र विकासमा केहि पनि भएन भन्ने होइन ।’ 

  नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँं स्मृति दिवसका अवसरमा बालकोटमा शनिबार आयोजित  कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्याउनुपर्ने बताए ।

उनले भने,’देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिदैको छ , यसलाई चिर्नुपर्छ ।  विकास भइरहेको छ,  अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ ।’

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र  दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए ।

उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततीको शिक्षा र स्वास्थ्यमा उपयोग गरिने तयारी बताए । कार्यक्रममा  कांग्रेसका जिल्ला सभापति सांसद दुर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेता रामप्रसाद दवाडी, प्रदीप कार्कीलगायतले श्यामबहादुर कार्कीले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।

‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताए । उनले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताए ।

“अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भने, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चासो हो । मानव जाति नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामा जोखिम पर्नसक्छ । अशान्ति हुनसक्छ । त्यसैले मानवको रक्षा पहिलो दायित्व हो भन्ने भावनाका साथ सबैले काम गर्नुपर्छ ।’’

आफूले सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सका साथमा वर्तमान सरकार रहने बताए ।

“म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’’, प्रधानमन्त्री ओलीले निष्ठाका साथ राष्ट्रको विकासमा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता दोहोर्याउँदै भने ।

प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुरालाई आधार मानेर गाली गलौज र बदनाम गर्नेको प्रवृत्ति सही नहुने बताए ।

बाजुराको गोरु खर्कमा पहिरोमा परी चारजना घाइते

बाजुरा ।  अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार बिहान पहिरो गएको थियो ।

पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले जानकारी दिए ।

तीस परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उनले बताए । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

पहिरोमा परी चारजना घाइते भएका र केही पशुचौपाया पुरिएको जानकारी आएको भन्दै प्रहरीको उद्धार टोली घटनास्थल पुगेपछि यकिन विवरण सङ्कलन गरिने उनले  बताए ।

चार दिनमै थपिए सात सय २२ डेङ्गी सङ्क्रमित

काठमाडौँ ।  पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ ।  चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् ।


यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो ।  यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए । 


उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । सबभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेङ्गी सङ्क्रमित देखिएका छन् । 


स्वास्थ्य मन्त्रालयले डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । ‘सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका सङ्ख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए ।  उनका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई  र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।

संसदीय समितिद्वारा जेलमा रहेका तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको बचत दुरुपयोगको अभियोगमा थुनामा रहेका सहकारी संचालकसँग सोधपुछ सुरु गरेको छ ।

त्यसैक्रममा समितिले शनिबार नख्खु जेलमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई समितिमा बोलाएर सोधपुछ गरेको हो । यसअघि शुक्रबार समितिले रकम हिनामिनामा जोडिएका दुई सहकारीका संचालकसँग सोधपुछ गरेको थियो ।

समितिको शुक्रबारको बैठकमा गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको थियो ।

समितिले समस्याग्रस्त २९ वटा सहकारीका संचालकसँग सोधपुछ गर्नेछ । तीन महिनाको समय पाएको समितिले प्रमाणहरू जुटाउने र अन्य निकायबाट प्रमाण लिने काम गरिसकेको छ ।

समितिले जेलमा भएका व्यक्तिहरूसँग सोधपुछका लागि सहजीकरण गरिदिन गृहमन्त्रीलाई आग्रह यसअघि नै पत्राचार गरेको थियो भने फरार १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । समितिले सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ ।

काभ्रेका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा

काभ्रे । काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।

काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । हालसम्म तीन नगर र दुई गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब चार सय बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिए।

यस्तै पनौती नगरलाई साउन पहिलो साता पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । नगरलाई १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप दिलाएको सुनिश्चितता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेको पनौती नगरलाई जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरेको हो ।

काभ्रेको पनौतीसहित पाँच स्थानीय तहले आफ्नो पालिका पूर्णखोप सुनिश्चित घोषणा गरेका हुन् । यसअघि धुलिखेल नगर, नमोबुद्ध नगर र रोशी गाउँपालिकाले पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरेका हुन् । जिल्लाका अन्य बाँकी आठ स्थानीय तह घोषणाको तयारीमा जुटिरहेको जनाइएको छ ।

गत असार दोस्रो साता धुलिखेल नगरलाई जिल्लामा पहिलो ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको थियो । बर्सेनी पूर्णखोप सुनिश्चितता नगर घोषणा गर्दै आएको धुलिखेल पहिलो स्वस्थ नगर घोषणा तयारीमा रहेको जनाइएको छ ।

‘धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौँ’, नगरप्रमुख अशोक ब्याञ्जुले भने । उनले स्थानीय नागरिकको घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी लिँदै स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने गरी अशक्त, अपांगता भएका, गरिब, दलित, सीमान्तकृत तथा जेष्ठ नागरिकहरूका हकमा विशेष ब्यवस्था गरिएको बताए ।

धुलिखेलले पहिलोपटक विसं २०६४ मै पूर्णखोप सुनिश्चित भएको नगर घोषणा गरेको थियो । हाल १५ महिना देखि २ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता भएको हो ।

सात प्रदेशमध्ये पूर्णखोप सुनिश्चित घोषणा गर्न बाँकी बाग्मती प्रदेशभित्रको जिल्लास्थित स्थानीय तहहरूमा घोषणाको तयारी भइरहेको जनाइएको छ । नेपालमा सन् २०१२ बाट पूर्णखोप सुनिश्चितताको सुरु भएको थियो ।

टीआरसी विधेयक पीडितमैत्री छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अहिलेको टीआरसी विधेयक पीडितमैत्री भएको बताएका छन् । शनिबार काठमाडौंमा ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा गृहमन्त्री लेखकले सबै पीडितलाई एक ठाउँमा लिएर समाधान गर्नुपर्ने बताए ।

उनले पीडकको पीडा पीडितले मात्र बुझ्ने बताए । गृहमन्त्रीले कानुन जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए ।

उनले बलात्कारका घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने भएकाले त्यसमा सरकार दृढ रहेको बताए ।

उनले भने,‘देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय घट्यो भने समाजमा के सन्देश जाला ? त्यसैले जहिले जसरी भए पनि बलात्कार बलात्कार नै हो, त्यसमा कुनै अवस्थाले सजाय फरक हुँदैन ।’

बिपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।


अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए ।


यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उनले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए ।


उनले भने, ‘यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।’


अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताए ।


उनले भने, ‘एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनःशल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ ।’ मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ । 


अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले आधुनिक उपकरणहरु भित्राएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरु लागि परेको बताए ।  अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ ।

गाजाको विद्यालयमा इजरायली हमला, कम्तिमा एकसयको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सय सम्म पुगेको अनुमान गरेको छ ।

‘मृतकको सङ्ख्या हालसम्म ९० देखि एक सयको बीचमा भएको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो’, विभागका प्रवक्ता महमुद बासलले बताउनुभयो ।

गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सय भन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले अल–ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’ मा आक्रमण गरेको बताएको छ ।

इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ ।

गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय भन्दा बढीको मत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।“

गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् ।

आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता होः उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त भएकोमा उनीहरूलाई सम्मान गर्न शनिबार आयोजित कार्यक्रममा उनले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताए ।

राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य रहेको बताए। राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गरे।

भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा

राँझा (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् ।

बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए ।

‘यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्‍यो’,उनले भने,’भोलीपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्‍यो ।’ अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि सिफारिस भएका बिरामी आउने गर्दछन् ।

सिटिस्क्यान मेसिन बिग्रिएको करिव एक महिना भइसकेको छ । अस्पतालका प्रमुख डा प्रकाश थापाले सिटिस्क्यान मेसिन नियमित रूपमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिए ।

उनले शुक्रवार भेरी अस्पताल नेपालगञ्जमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलसँग सिटिस्क्यानको समस्या देखाउँदै नयाँ सिटिस्क्यानको माग समेत गरेका थिए ।

उनले पोखरेलले तत्काल नयाँ मेसिन खरिदको सम्भावना नभएकोले पुरानै मेसिन मर्मत गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै दोस्रो त्रैमासिकसम्म नयाँ मेसिन खरिदको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण सेवा सुविधामा थप्दै गएको छ ।

नेपाल–चीनबीच छिट्टै बीआरआई सम्झौतामा हस्ताक्षर हुन्छः राजदूत सङ

काठमाडौँ । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् ।
 मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँग बिहीबार साँझ आफ्नो निवासमा आयोजना गरेको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए ।

“नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो”, चीन सरकारले सधैँ नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको बताउँदै उनले भने ।

नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकहरुको टोली हाल नेपालमा रहेको जानकारी दिँदै उनले पेट्रोलियम पदार्थको आयात घटाएर नेपालको वैदेशिक मुद्रा सञ्चितिमा योगदान गर्ने चिनियाँ चाहना राजदूत छनले व्यक्त गरे । जलविद्युत्को विकासबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अन्तर्देशीय विद्युत् व्यापार फलदायी हुने उनले बताए ।

अल्पविकसित राष्ट्रहरुको सूचीबाट स्तरोन्नति हुने नेपालको राष्ट्रिय लक्ष्यमा सघाउन चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राजदूतले हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो बैठकले नेपालसहित विश्वका अन्य मुलुकलाई रोजगारीका निम्ति आफ्नो श्रमबजार खुला गरेको जानकारी दिए ।

चीनमा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीलाई त्यहीँ अन्तरङ्ग प्रशिक्षणको व्यवस्थाका साथ रोजगारीका अवसर पनि उपलब्ध हुने उनले बताए । सिपिसीको तेस्रो बैठकपछि चीनमा लगानीका अवसरहरू पहिल्याउन उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल चीन भ्रमणमा रहेको उनले बताए ।

राष्ट्रपति सी चीनफिङको अध्यक्षतामा सम्पन्न बैठकले तीनसयभन्दा बढी कानुनी सुधारका घोषणा गरेको जानकारी दिँदै राजदूत छनले चीनले नेपालको विकासका निम्ति द्विपक्षीय सहायता बढाउने बताए ।

“हामी नेपालको आर्थिक वृद्धिमा योगदान गर्न चाहन्छौँ, पर्यटन प्रवद्र्धन तथा जलविद्युत्को उत्पादनबाट त्यो सम्भव छ”, नेपालमा उत्पादित बिजुली चिनियाँ बजारमा खपत गर्न सकिने उल्लेख गर्दै उनले भने ।

चीनले घोषणा गरेका सुधारबाट चीन र नेपालबीचको साझेदारी अझ घनिभूत हुने तथा चीनले हासिल गरेको विकासको प्रतिफल नेपालले पनि उपभोग गर्न पाउने विचार राजदूत छन्ले व्यक्त गरे ।

देशको चौतर्फी विकासलाई नेपालका राजनीतिक दलका नेता तथा कर्मचारीले केन्द्रमा राखेर काम गर्न जरुरी भएको आफ्नो विश्लेषण सुनाउँदै अबको पाँच वर्षमा नेपालले विकासको गति लिनेमा आफू ढुक्क रहेको बताए । परिश्रमी नेपाली जनताको विकासप्रतिको चाहना पूरा गर्न नेपालको नेतृत्व सफल हुने उनले बताए ।

चिनियाँ पर्यटकको प्रमुख गन्तव्य नेपालमा पर्यटनका पूर्वाधार अपर्याप्त भएकाले अधिकभन्दा अधिक पर्यटकीय संरचना निर्माणमा चिनियाँ राजदूतले जोड दिए । उनले प्रविधि हस्तान्तरणका साथै अन्य प्राविधि सहायता विस्तार गर्न चीन तयार रहेको बताए ।

एक फरक प्रसङ्गमा उनले विकासका पूर्वाधार तयार गर्ने उदेश्यले राष्ट्रपति सीले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा आबद्ध सबै राष्ट्रको हित हुने र त्यसप्रति विमति जनाउनुपर्ने कारण नरहेको बताउदै केही प्राविधिक काम पूरा नहुँदा नेपालसँग बीआरआई कार्यान्वयनसम्बन्धी दस्तावेजमा हस्ताक्षर हुननसकेको स्पष्ट गरे ।

उनले केही समयभित्रै नेपाल–चीनबीच बीआरआई साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताए ।  बीआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रुपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी प्रोत्साहन गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको तर्क छ । 

‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत बिआरआईले समेटेका क्षेत्र नेपालमात्र होइन सबैका निम्ति लाभदायक रहेका उनको कथन छ ।

“हामीले चीन–नेपाल सम्बन्धको विकासलाई महत्व दिएका छौँ, हामी दुई देशका जनताको हितका लागि अनन्तकालसम्म रहिरहने मैत्री सम्बन्धसहितको चीन–नेपाल विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर छौँ”, चिनियाँ राजदूतले भने ।

यसरी हुँदैछ खुल्लामञ्चको स्तरोन्नती

काठमाडौँको खुल्लामञ्चको स्तरोन्नतीक्रममा माटो सम्याउँदै काठमाडौँ महानगरको डोजर ।

तस्बिर: प्रदीपराज वन्त /रासस

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

स्याङ्जा । स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जाबाट नौ हजार चार सय ८७ जनाले नागरिकता लिएका थिए । सोही अवधिमा चौध हजार आठ सय २२ जनाले राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल १५ हजार एक सय ९३ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो ।

गत आवमा राहदानी बनाएकामध्ये तीन सय ७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनले बताए । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आर्थिक वर्ष २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता चार हजार नौ सय चार वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए ।

सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट चार हजार पाँच सय ८३ नागरिकता वितरण भएका थिए । दुवै कार्यालयबाट गत आवमा कूल नौ हजार चार सय ८७ नागरिकता वितरण भएका थिए । 

स्याङ्जाबाट वैवाहिक अङ्गीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए । स्याङ्जाबाट १९ र वालिङबाट पाँच  वैवाहिक अङ्गीकृत नागरिकता वितरण भएका थिए । कूल चौध हजार आठ सय २२ राहदानीमध्ये स्याङ्जाबाट सात हजार चार सय ४३ र वालिङबाट सात हजार तीन सय ७९ वितरण भएका थिए ।

‘जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्’”, उनले भने, ‘अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो ।’

सङ्घीयता बास्तवमै औचित्यहीन छ

नारायण गाउँले ।
सङ्घीयता किन चाहिएको थियो ? पहिचानका लागि ? प्रतिनिधित्वका लागि ? विकासका लागि ? सङ्घीयताबाट के हासिल भयो ? न ऐतिहासिकता, न औचित्य, न पहिचान, न सामर्थ्य, न जातीय क्लस्टर, न शक्तिविकेन्द्रीकरण, न प्रतिनिधित्व । अब पनि सङ्घीयता आवश्यक छैन भन्नेहरूलाई प्रतिगामी या लोकतन्त्र विरोधीको आरोप लगाउनु या त मूर्खता हो, या राजनैतिक बेइमानी ! –जसले जात र समुदायको पहिचान भनेर आम नागरिकलाई बन्दुक बोकाए, हजारौं नागरिकको बलि चढ़ाए, तिनैले दुई तिहाई मत प्राप्त गरेपछि ह्वीप जारी गरेर प्रदेशको नाम लुम्बिनी राखे, गण्डकी राखे ! के यी नाम सङ्घीयता अगाडि थिएनन् र ?

–प्रतिनिधित्वको कुरो त मजाकमात्रै थियो । सत्ता र शक्तिमा तिनै छन् जसले हिजो पनि सत्ताको स्वाद चाखेका थिए । सातै प्रदेशमा पुरुष मुख्यमन्त्री छन् । यतिसम्म कि महिला मन्त्रालयमा पनि निर्लज्ज रूपमा पुरुष मन्त्री छन् । 

–विकेन्द्रीकरण त झन् मजाकजस्तो छ । सुदूरपश्चिममा मन्त्री बन्न तीन महिनादेखि बुढानीलकण्ठ या बालकोट धाएको देख्नुभएकै होला । प्रदेश सरकार भनेको काठमाडौंमा भाग लगाएर कसलाई कुन बाँड्ने भन्ने निर्णय हुँदै आएको छ । झन्डै एक खर्ब त तिनको कार्यालय र गाड़ी किन्न खर्च भएको छ ।

दलदास नबनी हेर्ने हो भने के यति सानो देशमा नौ वटा संसद र नौ जना सभामुख चाहिन्छ ? ८ सय सांसद र डेढ सय बढ़ी मन्त्री चाहिन्छ ? देशको राजश्वले नधानेर भारत–चीन र अमेरिकासँग हात फैलाउनुपर्ने संरचना चाहिन्छ ? हाम्रा वडाध्यक्षका कार्यकक्ष समेत बेलायती मन्त्रीका कार्यालयभन्दा खर्चिला छन् । तामझाम र उन्माद त छ तर सेवाको भाव शून्य छ । एउटा दलितले दलित भएको सिफारिश लिनसमेत पैसा तिर्नुपर्छ । प्रदेश सांसददेखि मन्त्रीसम्मका सल्लाहकार, गाड़ी, निवास, भत्ता र शानमानको खर्च हाम्रो पसिनाको करले पुग्नेभन्दा धेरै महँगो छ । तिनले चढ्ने गाड़ी र पेट्रोलका लागि हामीले कर तिरेर मात्रै पुग्दैन, विदेशी ऋण समेत थाप्लोमा बोक्नुपर्छ ! महामारीमा हेलिकप्टर चढ्ने नेताको निःशुल्क उपचार हुने तर दैनिक छाक जुटाउन नसक्नेले धरौटी राख्नुपर्ने अवस्था छ ।

तिनै अकर्मण्य, तिनै अक्षम, तिनै अशिक्षित र तिनै विवेकहीन दस्तालाई भागशान्ति मिलाएर आजीवन जागिर खुवाउनेबाहेक सङ्घीयताले केही दिएको छैन । अलिकति विभाजन, अलिकति कर र अलिकति गरिबीबाहेक यसले केही दिँदैन पनि । समृद्धि त बालुवाटार किन्न सक्ने सुकुम्बासी र देशलाई नै शरणार्थी बनाएर बेच्न सक्नेहरूको मात्रै आउने हो । गाउँको एउटा नहर बनाउन चाहिने पचास लाख केन्द्रको योजना आयोग, प्रदेशको योजना आयोग, सङ्घीय सरकारका बैठक भत्ता, प्रदेश सरकारका सांसद र मन्त्री अनि स्थानीय सरकारका कमिशन हुँदै पचास हजारमा आइपुग्छ र त्यतिले कागजमा मात्रै नहर बन्छ । तर नहरमा पानी नआए पनि हाम्रो काँधमा ऋणचाहिँ ब्याज र कमिशन गरेर ८० लाखको आइपुग्छ । फेरि त्यो कागजी नहरको लेखापरीक्षण भन्दै स्थानीय, प्रदेश र केन्द्र गर्दै अर्को १० लाख खर्च हुन्छ ।

१० खर्ब राजश्व नउठ्ने देशमा ११ खर्व खर्च गरेर मन्त्री र कर्मचारी पाल्ने हो भने विकास गर्ने पैसा कहाँबाट ल्याउने ? विदेशीको ऋण खाएको छ, त्यसको साँवाब्याज तिर्ने तीनचार खर्व कहाँबाट ल्याउने ? तपाईंले ढाड सेक्ने गरी तिरिरहेको करबाट एक सुका पनि विकासका लागि बच्दैन भने कस्तो समृद्धिको भाषणमा ताली बजाउने ? भारतको सङ्घीयता हेर्ने, तर उसको एउटा राज्य उत्तरप्रदेशको जनसङ्ख्यामात्रै हाम्रो देशको भन्दा आठ गुना बढ़ी भएको तथ्य नहेर्ने ? कहाँ २४ करोडको एउटा राज्य, कहाँ तीन करोड़मा सात वटा राज्य ।

हो हामीलाई समानता, समता, समावेशिता र एकता चाहिएको छ ! सधैँभरि विदेशीलाई श्रम बेच्न नपर्ने खालको अर्थतन्त्र चाहिएको छ । देशको नक्सा काटेर हासिल हुने विषय होइनन् यी । हाम्रो बाटै गलत छ । टुक्रा काटेर, कित्ता काटेर पहिचान खोज्ने होइन, सिङ्गो देश नै तपाईंको पहिचान हो ! एउटा बित्ताजत्तिको कित्ता मात्रै तपाईंको होइन, चारवटै भित्ताभित्रको सिङ्गो देश तपाईंको हो ! हामीसँग स्थानीय तह छन् । त्यसैलाई परिमार्जन गर्ने हो भने पहिचान, विकेन्द्रीकरण र स्थानीय प्रतिनिधित्व त्यसले सुनिश्चित गर्न सक्छ । समावेशिताका लागि अन्य थुप्रै प्रभावकारी र परीक्षित उपकरण छन्, उपाय छन् । सङ्घीयता बास्तवमैं औचित्यहीन छ । हो, सङ्घीयताको समर्थन या बचाउ गर्न सकिन्छ तर अझै पनि दलदास बन्दै विवेक बन्दकी राखेर सङ्घीयताको विरोध गर्ने जति मण्डले हुन् भन्ने सुगा रटाइ रट्नु जरूरी छैन ! लुम्बिनी अञ्चल भन्दा प्रतिगामी हुने तर लुम्बिनी प्रदेश भन्दा अग्रगामी हुने कसरी हुन्छ र ?

युट्युबमा छाए तीज गीत

काठमाडौं । गायिका शान्ति श्री परियारद्वारा स्वरबद्ध तीज गीत ‘काली पसम् कि..’ केही दिनयता युट्युब ‘ट्रेन्डिङ’को पहिलो स्थानमा छ। यही साउन चार गते ‘प्रेम सापकोटा सोनु’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियोलाई हालसम्म ३७ लाख बढीपटक हेरिएको छ।

प्रेम सापकोटा ‘सोनु’को शब्द र सङ्गीत रहेको उक्त गीतको भिडियोमा कलाकार स्मारिका ढकाल र जोन बम ढकुरीले नृत्य तथा अभिनय गरेका छन्। पराइ घरमा हेला र प्रताडाना सहन नसकी माइतीघर र आमा पुकारीरहेकी चेलीको वेदनामा आधारित उक्त गीतलाई दर्शक/स्रोताले अत्यधिक रुचाएका हुन्।

यस्तो छ गीत

‘जसलाई सुनाएनि दुःखै बढ्ने रैछ
छोरी रुने ठाउँ त आमाकै काख हैछ
सबै आमा हौ मेरो जुन घाम हौ
छोरीको आँशु रोक्ने दबाइ आमा हौ…’
तीज पर्व आउन २७ दिन बाँकी छ । दैनिकजसो युट्यबुमा नयाँनयाँ तीजका भाका गुञ्जिन थालेका छन् । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । छोरीचेलीका दुःख, वेदनादेखि प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी–प्रेमीकाबीचको मायावी सम्वाद पनि गीतमा सुन्न पाइन्छ । गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको ‘पिर कल्लाई छैन र…’ युट्युब ट्रेन्डिङको दास्रो नम्बरमा छ । गत शनिबार गायिका डल्लाकोटीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको भिडियोले यो समाचार तयार पार्दासम्म नौ लाख १७ हजारभन्दा बढी ‘भ्यूज’ पाएको छ।

अघिपछि दिनचर्या जेजस्तो भएपनि तीजका दिन सैँसाथी भएर रमाउनुपर्छ भन्ने भाव र सन्देश गीतमा छ । प्रकाश पराजुलीको सङ्गीत र गायिका डल्लाकोटीको आफ्नै शब्द रहेको उक्त गीतले यसो भन्छ –

‘फुर्सदै थिएन हिजको दिन त
के मरी मेट्नु तीजको दिन त
हैन र ए सङ्गिनी हैन र
अरुको अघि रमाउनै पर्छ
रुम त भने पीर कल्लाई छैन र…’
गायिका एलिना चौहानको तीज गीतलाई पनि युट्युबमा रुचाइएको छ । दुई साताअघि सार्वजनिक उक्त गीतको भिडियोलाई अहिलेसम्म २० लाभन्दा बढीपटक हेरिएको छ। नेत्र अर्यालको शब्द र दीपक शर्माको सङ्गीत रहेको उक्त गीत अहिले युट्युब ट्रेन्डिङको आठौँ स्थानमा छ । गत असारदेखि नै तीज गीत युट्युबमा छाउन थालेका हुन् । सङ्गीत बजार अहिले युट्युबमा केन्द्रित छ । अडियो क्यासेट इतिहास भइसक्यो । तीजलगायत पर्व गीतकामार्फत पनि कलाकारले व्यावसायिक लाभ उठाउँछन् । युट्यबमा धेरै ‘भ्यूज’ बटुल्ने ध्येयले अचेल तीज गीत छिट्टै सार्वजनिक गर्ने गरिएको छ।

गत असार १३ गते ‘भावना म्यूजिक सोलुसन’ युट्युब च्यनलबाट सार्वजनिक तीज गीत ‘बरिलै’लाई हालसम्म ४० लाख बढीपटक हेरिएको छ । बिमल अधिकारीको लेखन तथा सङ्गीत रहेको उक्त गीतमा समीक्षा अधिकारी र मोहन खड्काले स्वर दिएका छन। गीतको भिडियोमा बिमल अधिकारी र आश्मा विश्वकर्माको नृत्य तथा अभिनय रहेको छ ।

‘हेर्छौँ लुकीलुकी’, ‘आफ्नै पारामा’, ‘रहरैमा’, ‘सहरिया छोराबुहारी’, ‘सैनाले दिएको एैना’, ‘बालेनको सहर’, ‘माछी’लगायत तीज गीत युट्युबमा छाएका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सँधै चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत सार्वजनिक गर्ने लहरै चल्छ । क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्यूज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक/कलाकारलाई युट्युबाट पैसा आउँछ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ। पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे। खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीर, वेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो।

अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ। तीज गीतका नाममा सो गीतको मौलिकता माथि खलल पुग्ने गरी गाइएका कतिपय गीत विवादमासमेत पर्दै आएका छन्।

केही साताअघि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गरेको थियो । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले माफी नै माग्नुपरेको थियो।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक गायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएका थियो ।

यस वर्षपनि दर्जन बढी त्यस प्रकृतिका गीत विवादित बनेका छन्। तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्याएकामा लोकसङ्गीतप्रेमी चिन्तित छन् । पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरुको बुझाइ छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरुले तीज गीतलाई पनि विकृत पारेको बताइन्। ‘नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ”, उनले भने, ‘सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरु लागिपरेका छन्।’

https://youtube.com/watch?v=l90nXSvbIT0%3Fsi%3D5bPwMgNy6palfNBD

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

बीबीसी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो ।

एटीआर ७२–५०० मा चालक दलका चार सदस्य र ५७ यात्रु सवार थिए । टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होसमा उडिरहेका ला भिन्हेडो शहरमा विमान खसेको भोपस एयरलाइन्सले जनाएको छ ।

सामाजिक सञ्जालमा प्रसारित भिडियोमा विमान ठाडो रूपमा घुम्दै तल झरेको देखाइएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति दुःख व्यक्त गरेका छन्।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोक घोषणा गरेका छन् । फ्रान्सेली–इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

शान्तिश्रीको तीज गीत ‘गोर्खा पल्टन’

काठमाडौँ । शान्तिश्री परियारको तीज गीत ‘गोर्खा पल्टन’ सार्वजनिक भएको छ। गीतमा नित्याशिवाको पनि स्वर रहेको छ । आयान अधिकारीको प्रस्तुतिमा बनेको गीतमा सुपक अधिकारीको शब्द र कन्सेप्ट, रिमेशकुमार थापाको संगीत रहेको छ।

स्मारिका ढकाल र दीपा शाहीको अभिनय रहेको म्युजिक भिडियोमा चक्रबहादुर बरालको छायाँकन, सियोन श्रेष्ठको कोरियोग्राफी छ। भिडियोलाई शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् ।

उद्योग आदानप्रदानलाई प्रवर्द्धन गर्न चीनमा अन्तर्राष्ट्रिय वाइन एक्स्पो सुरु

चीनको उत्तरपश्चिम निङ्सिया हुई स्वायत्त क्षेत्रमा शुक्रबार मदिरा उद्योगभित्र आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । निङ्जिया हुई मुलुकको प्रमुख वाइन उत्पादन क्षेत्र हो ।

क्षेत्रीय सरकारले आयोजना गरेको चौथो चाइना (निङ्जिया) अन्तर्राष्ट्रिय वाइन कल्चर एन्ड टुरिजम एक्स्पोमा फ्रान्स, इटाली, स्पेन र चिलीलगायत आठ देश र क्षेत्रका एक सय ३८ वाइनरी र प्रदर्शकहरू सहभागी छन् ।

‘चाइनिज वाइन, ए मार्वल टु द वर्ल्ड–गुड वाइन ओरिजिनेट्स फ्रम युनिक टेरोइर’ भन्ने नाराका साथ तीन दिने एक्स्पोमा वाइन कार्निभल  प्रतियोगिता र अन्य गतिविधिहरू समावेश छन् ।

“निङ्जियामा हेलन पर्वतको फेदमा पछिल्लो ४० वर्षमा विकास र आधुनिकीकरणको महत्त्वपूर्ण प्रक्रिया भएको छ”, अन्तर्राष्ट्रिय सङ्गठनका महानिर्देशक जोन बार्करले कार्यक्रमको उद्घाटन समारोहमा भने ।

उनले अन्तर्राष्ट्रिय वाइन प्रतियोगिता र प्रदर्शनीहरूमा निङ्जियाको प्रभावशाली प्रदर्शनलाई प्रकाश पार्दै विश्वस्तरीय वाइन क्षेत्रका रूपमा यसको उदीयमान प्रतिष्ठालाई जोड दिए ।

पर्याप्त घाम र चिसो, सुक्खा हावापानी भएको निङ्जियाको अद्वितीय टेरोइर उच्च गुणस्तरको मदिरा उत्पादनको लागि उपयुक्त छ ।

चीनको सबैभन्दा ठूलो वाइन उत्पादन गर्ने क्षेत्रका रूपमा निङ्जियामा अहिले छ लाख दुई हजार अङ्गूरको बगैँचा र दुई सय ६१ वाइनरी तथा अङ्गूर उत्पादन गर्ने उद्यमहरू छन् । यिनीहरूले सन् २०२३ मा १४ करोड बोतल वाइन उत्पादन गरेका थिए ।

३५ जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडौं । न्यायपरिषदले ३५ जिल्ला न्यायाधीशको नाम सिफरिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम सिफरिस गरेको हो । त्यस्तै बैठकले उच्च अदालत वीरगञ्जमा कार्यरत न्यायाधीश रत्नबहादुर बागचन्द उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।

भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आइतबार नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।

एएफसी च्यालेन्ज लिग प्लेअफ : पारो एफसीसँग खेल्न चर्च ब्वाइज तयार

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलका लागि टोली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड तयार रहेको क्लबले जनाएको छ ।

चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिग प्लेअफको लागि टोलीको तयारी अतिम चरणमा पुगेको जानकारी दिएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अन्तर्गत एएफसी च्यालेन्ज लिग प्लेअफमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग यही साउन २९ गते दशरथ रंगशालमा प्रतिस्पर्धा गर्दैछ ।

क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्लेअफ खेलका लागि टोली तयार रहेको बताए ।

छोटो समयमको तयारी भएपनि लामो समय सँगै खेलेका खेलाडीहरु चर्च ब्वाइजमा रहेकोले राम्रो नतिजा ल्याउने प्रशिक्षक महर्जनले बताए ।

उनले पारो एफसीमा विदेशी खेलाडीहरु धेरै रहेको र उनीहरु हाल भइरहेको लिगमा पनि शीर्ष स्थानमा रहेकोले दुई क्लबीच यो विषय फरक रहेको बताए ।

चर्च ब्वाइजमा पनि राम्रो खेलाडीहरु रहेकोले टिमप्रति आफू सन्तुष्ट रहेको उनले बताए ।

चर्च ब्वाइजले च्यालेन्ज लिग प्लेअफ खेलको तयारी स्वरुप त्रिभुवन आर्मी एफसी र यू२० टोलीसँग अभ्यास खेल खेलेको थियो ।

यस्तै क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको भन्दै यस खेलमा धेरै दर्शकहरुको उपस्थिति हने अपेक्षा राखेका छन् । साथै नेपाली टिमले राम्रो प्रदर्शन गर्ने पनि उनले बताए ।

चर्च ब्वाइजले राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

टोलीमा राष्ट्रिय टिमा फरवार्ड अन्जन विष्ट, आयुष घलान, लकेन लिम्बु, सन्जिव विष्ट, सनिश श्रेष्ठ, छिरिङ लामा, सौभाग्य राई लगायत खेलाडीहरु छन् । यस्तै तीन विदेशी खेलाडी समेत टोलीमा समावेश छन् ।

चर्च ब्वाइजको टोली :

१. अनन्त तामाङ (कप्तान)

२. एरिक विष्ट (उप कप्तान)

३. अञ्जन विष्ट

४. आयुष घलान

५. लाकेन लिम्बू

६. दीप कार्की

७. टेकेन्द्र सिंह थापा

८. रेम्बो कुमार चौधरी

९. सञ्जीव बिष्ट

१०. छिरिङ्ग लामा

११. सनिश श्रेष्ठ

१२. सौभाग्य राई

१३. सन्तोष खत्री

१४. रोहन कार्की

१५. विवेक पौडेल

१६. निरज चौधरी

१७. एकराज बुढाथोकी

१८. योगेश गुरुङ

१९. मनिष कुमार जर्गा

२०. आदित्य शाक्य

२१. ओमोलाजा नुरेन करीम (नाइजेरिया)

२२. पिटर बान्दा (जाम्बिया)

२३. मोजेस ग्याबा त्वाम (घाना)

रकम अपचलनमा जोडिएका दुई सहकारीका संचालकसँग संसदीय छानबिन समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिले रकम हिनामिनामा जोडिएका दुई सहकारीका संचालकसँग सोधपुछ गरेको छ ।

समितिको शुक्रबारको बैठकमा गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको हो ।

समिति संयोजक सूर्य थापाले उनीहरुले ऋणीहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिने बताएका जानकारी दिए ।

समितिले समस्याग्रस्त २९ वटा सहकारीका संचालकसँग सोधपुछ गर्नेछ । तीन महिनाको समय पाएको समितिले प्रमाणहरू जुटाउने र अन्य निकायबाट प्रमाण लिने काम गरिसकेको छ ।

तीन महिनाको समय पाएको समितिको म्याद भदौ १५ सम्म रहेको छ । समितिले जेलमा भएका व्यक्तिहरूसँग सोधपुछका लागि सहजीकरण गरिदिन गृहमन्त्रीलाई आग्रह गरिसकेको छ भने फरार १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

समितिले सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ ।