`

बङ्गलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

Nepal One HD २६ साउन २०८१ १५:५७
विश्व

पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृंखला हो।

आक्रोसित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार ६ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरुको मृत्यु भएको फताहले बताए ।
“कैदीहरुको अराजक गतिबिधिले हामी गोली चलाउन बाध्य भएका हौँ “, उनले भने ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्गलबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए । झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे ।

हसिना सरकार विरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् ।

पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए ।


प्रतिक्रिया