`

अन्तर्राष्ट्रिय एआई ओलम्पियाड बुल्गेरियामा सुरु

उच्च माध्यमिक तहका विद्यार्थीहरूका लागि ३० भन्दा बढी देशका ४० टोली बुल्गेरियाको बुर्गास सहरमा आयोजित आर्टिफिसियल इन्टेलिजेन्स (आईओएआई) को अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिन शनिबार भेला भएका थिए ।

बुल्गेरियाका अध्यक्ष रुमेन रादेवले ओलम्पियाडको उद्घाटन समारोहमा देशमा ओलम्पियाडको महत्वलाई विश्वभरका युवा प्रतिभाहरूले आफ्नो क्षमता प्रदर्शन गर्न र कल्पनाको दायरालाई बढाउन सक्ने प्लेटफर्मको रूपमा प्रकाश पारेको बताए ।

उनले स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्न र उच्च मूल्यका साथ समाधानहरू सिर्जना गर्ने अवसरहरू प्रदान गर्नमा एआईको परिवर्तनकारी सम्भावनालाई जोड दिए ।

“यसले ज्ञान र विचारको आदानप्रदानको लागि मञ्च मात्र प्रदान गर्दैन तर यसले वैज्ञानिक र व्यावहारिक चुनौतीहरूको संयोजन, आलोचनात्मक सोचलाई प्रोत्साहित गर्ने र जटिल समस्याहरू समाधान गर्न नयाँ दृष्टिकोण प्रदान गर्दछ”,उनले भने ।

बुल्गेरियाका कार्यवाहक शिक्षा र विज्ञान मन्त्री गालिन सोकोभले पनि मानव भविष्यको विकासमा एआईको महत्त्वपूर्ण भूमिकामा जोड दिएका छन् ।

यसका साथै, आईओएआई संस्थापक मध्ये एक अलेक्जेन्डर भेलिनोभले भने, “हामीले वास्तवमै ठूलो र महत्त्वपूर्ण कुराको लागि जग खडा गरेका छौँ । यसले विश्वभर एआई शिक्षालाई परिवर्तन गर्ने मौका दिन्छ ।”

झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०–१२ वटाको सङ्ख्यामा हात्ती रहेकोमा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ ।

उनले भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको बताए । गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको सङ्ख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।

उनले जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको पनि जानकारी दिए । हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ ।

हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताए ।

मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उनको जोड थियो । हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उनको भनाइ छ ।

हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेको पनि जिल्लामा परम्परागत हात्तीको सङ्ख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताए ।

यसैबीच, हात्तीलाई वनजंगलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जङ्गलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ ।

वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । वनमा केराका बिरुवासमेत रोपिएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७–६८ देखि आव २०८०–८१ सम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भएको छ भने २१ हात्ती मरेका छन् । मृत्यु भएका मानिसमध्ये सातजना गैरनेपाली छन् ।

जिल्लामा रहेका परम्परागत हात्तीमध्ये १० वटाको नामकरण गरिएको छ । जिल्लामा रहेका हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको छ ।

साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

पानीमा किरा भेटिएपछि महानगरको कार्यक्रम नै रोकियो, किम्ची फास्ट फुडलाई दुई लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई दुई लाख जरिवाना गर्ने निर्णय गरेको छ ।

गत शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

यसक्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा किरा सल्बलाएको देखिन् । कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो ।

अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी विक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्किइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।

‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य वस्तु देखिनु चरम लापरबाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापर्वाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ ।’

त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले, अनुरोधलाई अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प नरहेको बताइन् ।

तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारवाहीको निर्णय हुन सकेन । यसकारण आइतबार दुषित पानी बिक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो ।

रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नंं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रालिले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो । खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो ।

 भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टसलाई

दमौली । तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित सर्वाधिक राशि पुरस्कार भएको सत्रौ भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टसले जितेको छ । आइतबार भएको फाइनलमा तनहुँको शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सनलाई १–० ले हराउँदै च्याङ्लीले भानु कपको उपाधि जितेको हो ।

शनिबार भएको सेमिफाइनलमा भानुको फ्रेण्डसीप युवा क्लबलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित च्याङ्ली फाइनल प्रवेश गरेको थियो । 

विजेता बनेसँगै च्याङ्ली नगद रु दुई लाख ५० हजार दुई सय ११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता लिभिकले नगद रु एक लाख २५ हजार दुई सय ११ र ट्रफीमा चित्त बुझाउनुपरेको छ । 

प्रतियोगितामा सेमिफाइनलमा पुगेको भानुस्थित फ्रेण्डसीप युवा क्लब र चितवनको सूर्यपुर एफएसी क्लबलाई नगद २५ हजार दुई सय ११ प्रदान गरिएको छ । विजेतालाई प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता थियो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई नगद पाँच हजार दुई सय ११, सर्वाधिक गोलकर्तालाई नगद पाँच हजार दुई सय ११ प्रदान गरिएको प्रचारप्रसार समितिका संयोजक राजेश कार्कीले जानकारी दिए । 

कराँतेमा स्वर्ण पदक दिलाउन सफल दुई खेलाडीलाई नगदसहित सम्मान

मलेखु (धादिङ) । करातेमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल धादिङकी समीक्षा ढुङ्गाना र एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको छ । नीलकण्ठ नगरपालिकाले उनीहरूलाई नगद ५०÷५० हजारसहित सम्मान गरेको हो ।

गत २० जुलाईमा भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली (साफ) कराते प्रतियोगितामा समीक्षाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । नेपालको प्रतिनिधित्व गर्दै समीक्षाले ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी थिइन् । उनले ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

सम्मान ग्रहण गर्दै ढुङ्गानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताए । “परिवार, साथीसङ्गी र गुरूहरूलगायत सबैको साथ सहयोगले मिलेको सफलताको खुसी बाड्न पाउँदा हर्षित छु । सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको छ । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने मेरो सपना छ”, उनले भनिन् ।

देशको शीर उचो बनाएका दुवै खेलाडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले बताए । “दुवै जना खेलाडीले देशविदेशमा नेपालको नाम उच्चो बनाएका छन् । उहाँहरूको हौसला बढाउन प्रोत्साहन स्वरूप यो सम्मान गरेका हौँ’’, उनले भने ।

नगरउपप्रमुख दीपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताए । “धादिङकी यी दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा होइन, त्यसैले उहाँहरूको योगदानको सम्मान गर्नुपर्छ । साथै खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक छ भन्ने ध्येयले विकास निर्माण जस्तै खेल क्षेत्रमा पनि नगरपालिकालाई अब्बल बनाउँछौँ ।”

परियार सेवा समाजको अध्यक्षमा सन्तोष नेपाली चयन

शिवु खनाल, देउखुरी । परियार सेवा समाजको दाङको अध्यक्षमा सन्तोष नेपाली निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको दोस्रो अधिवेशनले सन्तोष नेपालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यमा प्रेम नेपाली, दिलिप परियार, निर्मला परियार, सचिवमा सुशील परियार, सह–सचिवमा प्रदीप परियार, कोषाध्यक्ष दिलिप नेपाली त्यसैगरी बाकीँ सदस्यमा निर्वाचित भएका छन् ।

परियार समाज दाङको अध्यक्ष केशव नेपालीको अध्यक्षता तथा परियार समाज केन्द्रीय अध्यक्ष डिबी पारियारको प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । देशभरका परियार वन्धुहरुको साझा संस्था परियार सेवा समाजले परियारहरुको कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दै आएको छ ।

अध्यक्ष सन्तोष नेपालीले भने,–‘देशभरमा सबै परियार वन्धुहरुलाई आवद्धगरी सक्रिय बनाएर सामाजिक परिवर्तन र न्यायका लागि संगठित हुनेगरी संस्थालाई अगाडि बढाउने छौं ।’

परियार लामो समय जिल्ला बाहिर काठमाडौं लाई कर्मथलो बनाई विगत केहि वर्षदेखि आफु जन्मेको ठाउँ दाङ जिल्लामा रही आफ्नो पेशा गर्दै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय हुँदै आएका छन् । भर्खरै सम्पन्न अम्किकेश्वरी मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा अत्याधिक मतले विजयी भएका थिए ।

ओलम्पिकमा नेपालको सहभागिता, सहभागितामै सीमित

राजु सिलवाल

फ्रान्सको राजधानी पेरिसमा आयोजित ३३ औँ गृष्मकालीन ओलम्पिकमा नेपालको प्रतिस्पर्धाको समाप्तिसँगै नेपाली खेलाडीहरुको खेल प्रदर्शनको यथोचित समीक्षा हुनु आवश्यक भएको महसुस गरिएको छ । गत साउन ११ गते सुरु भएको पेरिस ओलम्पिकका प्रतियोगिता आजसम्म सञ्चालन गरिएको थियो । ओलम्पिकमा नेपालले हासिल गरेको नतिजासँगै मुलुकको प्रतिष्ठा पनि गाँसिएकाले यस्ता विषयलाई नेपाल सरकारले प्राथमिकतामा दिनुपर्ने देखिन्छ । 


ओलम्पिकमा सहभागी खेलाडीहरुका साथै प्रशिक्षक, खेल पदाधिकारीलगायत नेपालको प्रतिनिधित्व गर्ने सबैले आगामी ओलम्पिकमा यसपटकको जस्तो नतिजा नदोहरियोस् भनी तत्काल प्रतिबद्धता व्यक्त व्यक्त गर्नाका साथै यथोचित पहल गर्नु जरुरी मानिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद  मन्त्रालयको बहाली गर्नु भएलगत्तै ओलम्पिकको उद्घाटन समारोहमा सरिक हुनाका साथै केही नेपाली खेलाडीको खेल हेर्ने अवसर पाउनु भएको थियो । उहाँले पेरिसमा देख्नुभएको प्रत्यक्ष अवस्थाका साथै ओलम्पिकमा पदक प्राप्तिका लागि कस्तो पहल आवश्यक हुँदोरहेछ भन्ने अनुभवको आधारमा आगामी ओलम्पिकको लागि पदक लक्षित कार्ययोजना बनाउन जोड दिनुहुने अपेक्षा गरिएको छ ।


राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा नेपालको प्रदर्शनबारे अध्ययन गर्ने कार्यदल गठन गर्ने भएको छ । पेरिस ओलम्पिकमा नेपाली खेल टोलीको सेभ दी मिसन रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले परिषद्को आगामी बोर्ड बैठकमा ओलम्पिकमा नेपाली खेलाडीहरुको प्रदर्शनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु हुने जानकारी दिनुभएको छ । पेरिस ओलम्पिकमा सहभागी भएका सातमध्ये छजना नेपाली खेलाडीको खेल प्रदर्शन प्रत्यक्ष अवलोकन गर्नुभएका सदस्यसचिव घिसिङले दीर्घकालीन प्रशिक्षण योजना बिना नेपालले ओलम्पिकमा पदक प्राप्त गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । कम्तीमा एउटा ओलम्पिक समाप्त भइसकेपछि अर्को ओलम्पिकलाई लक्षित गरेर प्रशिक्षण सञ्चालन गर्नसके मात्र पनि आगामी ओलम्पिकमा सन्तोषजनक प्रदर्शन हुन सक्ने उहाँको अपेक्षा रहेको छ । 


नेपालमा सरकार परिवर्तनपिच्छे नेपालको खेलकुदको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीको परिवर्तन हुने, अघिल्ला पदाधिकारीले सञ्चालन गरेका खेल योजनालाई पछिल्ला पदाधिकारीले निरन्तरता नदिने प्रवृत्तिले पनि नेपालको खेल क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ २०६३ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दोस्रोपटक सदस्यसचिव हुनुहुँदा ओलम्पिकको पदकलाई लक्षित गरी ‘भिजन २०२०’ योजना अघि सारिएको थियो । उक्त योजना अघि बढाउन परिषद्ले छुट्टै कार्यालय स्थापना गरी खेल विज्ञहरु समेत खटाएको थियो । तर त्यसपछि बहाली भएका सदस्य–सचिवहरुले त्यो योजनालाई निरन्तरता नदिंदा ओलम्पिकमा नेपालले औपचारिकताका लागि मात्र भाग लिने क्रमले निरन्तरता पाइरहेको छ । 


ओलम्पिक भनेको विश्वस्तरीय खेलकुद प्रतियोगिता हो । कुल एक हजार ३३ पदकका लागि लागि विश्वका दुई सय ६ राष्ट्रका १० हजारभन्दा बढी खेलाडीले विभिन्न ३२ खेलका तीन सय २९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । यस्तो महत्वपूर्ण प्रतियोगितामा सानो लगानीले उचित प्रतिफल हासिल गर्न त्यति सजिलो छैन । सर्वप्रथम त ओलम्पिक नेपाल सरकारको प्राथमिकतामा छ कि छैन प्रस्ट हुन जरुरी छ । ओलम्पिकका लागि कति बजेट बिनियोजन गरिएको छ, यसबाट पनि नेपालको ओलम्पिकलाई प्राथमिकता प्रस्ट हुन सक्दछ ।
    
राष्ट्रिय खेलकुद परिषद्को बजेटको अधिकांश हिस्सा कर्मचारीको तलवमा खर्च हुने गरेको छ । स्वदेशभित्र प्रतियोगिताको आयोजनाको कमी तथा वैदेशिक सहभागिता घट्दो जस्ता कारणले नेपालको अन्तर्राष्ट्रिय पदक प्राप्तिमा कमी हुन गएको देखिएको छ । राष्ट्रिय खेलकुद परिषद्को मुलुकभरि विभिन्न जिल्लामा भौतिक सम्पत्ति जगेर्ना गर्न नसकिएको अवस्थामा भएता पनि सीमित खेलकुदका लागि समेत आवश्यक भौतिक पूर्वाधार पर्याप्त छैनन् । 


विगत ६० वर्षदेखि गृष्मकालीन ओलम्पिकमा भाग लिइरहेको नेपालले यसपालि पेरिस ओलम्पिकमा पनि उपलब्धिमूलक नतिजा हासिल गर्न सकेन । नेपालले यो ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडी पठाएको थियो ।  नेपालले सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि ओलम्पिक प्रतियोगितामा भाग लिन सुरु गरेको थियो । तर प्रत्येक चार वर्षमा आउने ओलम्पिकमा भाग लिन टोली पठाउन नछुटाउने नेपालले नेपालभन्दा सानो अवस्थामा रहेका मुलुकले पदक हासिल गर्दा समेत पदकका लागि कुनै ठोस पहल नगर्नु चाहिँ निकै गम्भीर विषय हो । 


प्रतियोगिता आउनु केही समयअघि खेलाडीहरु जम्मा गरी गरिएको प्रशिक्षणले ओलम्पिक जस्तो प्रतिष्ठित प्रतियोगितामा पदक जित्न सकिँदैन भन्ने कुरामा नेपालका खेलकुद अधिकारीहरु अनभिज्ञ छैनन् । नेपालका कैयौँ खेलकुद पदाधिकारीहरु लामो समयदेखि खेल क्षेत्रमा संलग्न रहँदै आएका छन् तर सानैदेखि ओलम्पिक लक्षित खेलाडी तयार बनाउने कुरामा नेपाली खेल क्षेत्र पछि परिरहेको छ । यसपटक दक्षिण एसियाली मुलुक पाकिस्तानका ज्याभलिन थ्रोका खेलाडी अर्शद नदिमले आफ्नो मुलुकका लागि ४० वर्षपछि स्वर्ण पदक जिते । तर नेपाली खेल टोलीका लागि स्विमर अलेक्जेण्डर शाहको राष्ट्रिय कीर्तिमानबाहेक अन्य गौरव गर्ने विषय रहेन । नेपाललाई ओलम्पिकमा सहभागिताका लागि निमन्त्रणा प्राप्त हुनासाथ खेलाडी पठाउनुभन्दा विश्व मानचित्रमा नेपालको त्यो खेलको अवस्थाको मूल्याङ्कन गर्नु पनि जरुरी भएको छ ।


पेरिस ओलम्पिकमा नेपालको प्रदर्शन

एथलेटिक्सतर्फ ओलम्पिकको अन्तिम दिन सम्पन्न महिला म्याराथुन दौडमा नेपालकी सन्तोष श्रेष्ठ भएकी ७९औँ भएकी छिन् । सन्तोषी श्रेष्ठले ४२.१९५ किलोमिटर दूरी दुई घण्टा ५५ मिनेट शून्य छ सेकेन्ड अवधिमा सम्पन्न गरेकी थिइन् । नेपालले हालसम्म भाग लिएका ओलम्पिकहरुमा सबैभन्दा धेरैपटक  एथलेटिक्सका खेलाडीले सहभागी हुने अवसर पाएका छन् । सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकमा पहिलोपटक भाग लिँदा दुईजना म्याराथुन धावकलाई सहभागी गराएको थियो । त्यसपछि नेपाली एथलेटिक्स खेलाडीहरुले विभिन्न ओलम्पिकमा सहभागिता जनाएका छन् । नेपाली धावक बैकुण्ठ मानन्धर ओलम्पिकमा चारपटक भाग लिएका पहिलो नेपाली खेलाडी बन्न पुगे । 

एथलेटिक्स 

नेपालमा खेलिने आधुनिक खेलहरुमा एथलेटिक्स सबैभन्दा पुरानो खेल मानिएको छ । २००४ सालमै नेपाल एमेच्योर एथलेटिक्स सङ्घको स्थापना भइसकेको थियो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको पहिलो खेल पनि एथलेटिक्स नै थियो तर यति लामो इतिहास भएको एथलेटिक्समा ओलम्पिकमा हामी कुन अवस्थामा रहेछौँ भन्ने सन्देश पेरिस ओलम्पिकले दिएको छ ।

टेबुल टेनिस

नेपालले यसपालि पहिलोपटक ओलम्पिकमा टेबुल टेनिसमा भाग लिएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेर पेरिस ओलम्पिकमा सहभागी भएका खेलाडी श्यान्टु श्रेष्ठ प्रिलिमिनरी राउन्डको पुरुष सिङ्गल्समा सेनेगलका इब्राहिम डिउसँग ४–० को सोझो सेटमा पराजित भएका थिए । उनी १२–१०, ११–३, ११–४ र ११–५ ले हारेका थिए । 


तत्कालीन राणाशासनकालमै भित्रिएको टेबल टेनिस खेलमा नेपालले हालसम्म कति प्रगति गरेछ भन्ने ओलम्पिकको नतिजाले बताउँछ । २००७ सालमै गठन भएको अखिल नेपाल टेबल टेनिस सङ्घले वर्तमान अवस्थासम्म नेपालको खेलस्तर माथि उडाउन गरेको प्रयासको मूल्याङ्कन हुन जरुरी छ । नेपालले टेबल टेनिसमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएको लामो समय भइसकेको छ । सन् १९५२ मा भारतको मुम्बईमा सम्पन्न विश्व टेनिस प्रतियोगितामा नेपालले भाग लिएको थियो । नेपालले सन् १९७५ मा पहिलोपटक अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता आयोजना गरेको थियो । 

ब्याडमिन्टन 

ओलम्पिकको ब्याडमिन्टनमा पनि पहिलोचोटि भाग लिएको नेपाल लिग चरणबाटै बाहिरिन पुग्यो । नेपाली खेलाडी प्रिन्स दहालले लिगका कारण अन्य नेपाली खेलाडीले भन्दा धेरै खेलाडीसँग खेल्ने मौका पाएका थिए । उनी समूह चरणको तीनवटै खेलमा पराजित भएका थिए । 


विश्व वरियतामा १७२औँ स्थानमा रहेका प्रिन्स समूह चरणको अन्तिम खेलमा विश्व बरियतामा ५८औँ स्थानमा रहेका इजरायलका मिसा जिल्बरम्यानसंँग २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरेका थिए । प्रिन्स पहिलो खेलमा विश्व नम्बर दुई खेलाडी डेनमार्कका भिक्टर एक्सेल्सेनसँंग २१–८ र २१–६ तथा दोस्रोमा विश्व वरियताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७ र २१–५ को सोझो सेटमा पराजित भएका थिए ।


उनको साथमा नेपाली प्रशिक्षकको व्यवस्थापन गर्न नेपाली खेल टोली असफल भएपछि दुई खेलमा एलसाल्भाडोरका मार्टिनेज नवररेट्टे जोस पेड्रोले प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने अन्तिम खेलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर प्रिन्सको प्रशिक्षकको भूमिकामा रहेका थिए । नेपालमा व्याटमिन्टन खेलको पनि इतिहास लामो छ । भारतमा अध्ययन गर्न गएका नेपाली छात्रहरुले राणाशासनकालमै नेपालमा ब्याडमिन्टन खेल भित्र्याएका थिए । २००८ सालमै नेपाल ब्याडमिन्टन सङ्घको स्थापना भइसकेको थियो । 

जुडो

प्रतिस्पर्धाबाट ओलम्पिकमा सहभागी हुन पुगेकी नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान महिला ५७ केजीमुनि तौल समूहमा पराजित भएकी थिइन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा एक मिनेट दुई सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा सर्बियाकी मरिका पेरिसिकसंँग १०–० अङ्कले हारेकी थिइन् । मनीता ओलम्पिक खेल्ने छैटौँ नेपाली जुडो खेलाडी हुन् । नेपाल जुडो सङ्घको स्थापना भएको ४१ वर्ष भइसकेको छ ।

स्विमिङ

ओलम्पिकमा एथलेटिक्सपछि धेरै नेपाली खेलाडीले सहभागिता जनाउने अवसर पाएको खेल स्विमिङ हो । एथलेटिक्स र स्विमिङमा अनिवार्य सहभागिताको कारणले धेरै नेपाली स्विमरले ओलम्पिकमा खेल्न पाएका हुन् । नेपाली स्विमर एलेक्जेन्डर शाहले पुरुष एक सय मिटर फ्रिस्टायलमा कायम गरेको नयाँ राष्ट्रिय कीर्तिमान नेपाली खेल टोलीको गौरवको विषय बन्न पुग्यो । उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरे । एलेक्जेन्डरले २०२१ टोकियो र २०२४ पेरिस ओलम्पिकमा सहभागिता जनाएका थिए । नेपालकी डुवाना लामा पौडीको महिला दुई सय मिटर फ्रिस्टायलमा ३०औँ स्थानमा भएकी थिइन् । सहभागी ३१ खेलाडीमध्ये डुवाना ३०औँ भएकी हुन् । डुुवानाले निर्धारित दूरी दुई मिनेट २०.७४ सेकेन्डमा पूरा गरेकी थिइन् ।

सुटिङ 

सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा ४२ औँ स्थानमा रहिन् । कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२औँ स्थान हासिल गरेकी हुन् । सुस्मिताले कुल ६५४ अङ्कमा ६०७.८ अङ्क जोडेकी थिइन् । नेपालमा २०३७ सालमै  नेपाल सुटिङ सङ्घको गठन भएको तथा सुटिङ खेलका विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सन् १९८२ देखि नै भाग लिँदै आइरहेको भएता पनि नेपालको लज्जाजनक पराजयको जिम्मेवारी सम्बन्धित अधिकारीले लिनुपर्ने देखिएको छ ।


यसपटक ओलम्पिकमा सहभागी नेपाली खेलाडीमध्ये तीनजना विदेशमा अध्ययनरत छन् । स्विमिङका अलेक्जेन्डर शाह अमेरिका तथा डुवाना लामा थाइल्यान्डबाट एवं टेबुल टेनिसका श्यान्टु श्रेष्ठ अष्ट्रेलियाबाट आएका थिए । विदेशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपाली खेलाडीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा नेपालमा उत्कृष्ट खेलाडीको अभाव हुँदै गइरहेको महसुस हुन्छ । यस्तो अवस्थामा नेपालमा खेलाडी भई बाँच्न सक्ने अवस्था सिर्जना गर्न तथा ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको छवि उँचो बनाइराख्न सरकारले विशेष सक्रियता अपेक्षित मानिएको छ ।


यसैबीच, १७ दिनपछि पेरिसमै आयोजना हुने पारा ओलम्पिकमा नेपालले ताइक्वान्डो र स्विमिङमा भाग लिँदैछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव घिसिङ पारा ताइक्वान्डोकी पलेस्वा गोबद्र्धनले सो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्नुहुन्छ ।
(लेखक खेलकुदमा अभिरुचि राख्ने पत्रकार हुनुहुन्छ)

महिला फ्रेन्चाइज लिग भलिबलका लागि ६ मार्की प्लेअर घोषणा

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिगको लागि ६ मार्की खेलाडी घोषणा भएको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगका लागि आइतबार ६ टिमको मार्की खेलाडी घोषणा गरेको हो ।

एभरेष्ट वुमन्स भलिबल लिगका ६ टोलीको सहभागिता रहनेछ । हाल राष्ट्रिय टिममा रहेका र पहिलो रोजाईँका खेलाडीलाई मार्की प्लेअरको रुपमा राखिएको छ ।

जस अनुसार राष्ट्रिय टिमको कप्तान अरुणा शाही चितवनको मार्की प्लेअर छन् । यस्तै सरस्वती चौधरी गण्डकी, उषा भण्डारी काठमाडौं, निरुता ठगुन्ना मधेश, सुमित्रा रेग्मी कर्णाली तथा सलिना श्रेष्ठ ललितपुरको मार्की प्लेअरमा छन् ।
केही दिनअघि सम्पन्न काभा वुमन्स नेसन्स लिगमा गरेको प्रदर्शनका आधारमा ६ खेलाडीलाई मार्की चयन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मिति कही दिनमा घोषणा गरिने आयोजकले जनाएको छ । यस्तै बाँकी टिम निर्माण गर्न केही दिनमा खेलाडीहरुको ड्राप्ट हुनेछ । खेलाडीलाई तीन समूहमा वर्गिकरण गरेर ड्राफ्ट गरिनेछ । हरेक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछन् ।

पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिगका लागि इन्फिनिटी ड्रिम्सले नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ ।

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारा गाउँविकास समितिका सम्बन्धमा देखिएका समस्या एवं समाधानका उपायसहितको कार्ययोजना यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले आइतबार तारा गाउँविकास समिति र तारागाउँ रिजेन्सी होटल लिमिटेडका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र तारागाउँ विकास समितिसँग छलफलपछि उक्त समितिका नाममा रहेको चलअचल सम्पत्तिको विवरण तथा सम्पत्तिको सञ्चालन तथा सदुपयोग हुनेगरी कार्ययोजना बनाई समितिमा पेस गर्न निर्देशन दिइएको हो ।

“तारा गाउँविकास समिति र तारागाउँ रिजेन्सी होटलबीच भएको सम्झौतालाई समयानुकूल संशोधनमार्फत राज्यको हितमा हुनेगरी कार्यान्वयन गर्न कार्ययोजना बनाई समितिमा यथाशीघ्र पेस गर्न निर्देशन दिइएको छ”, समितिको निर्णयमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समितिअन्तर्गत सञ्चालन भएका सम्पूर्ण होटल तथा रिसोर्टको यथास्थितिबारे जानकारी गराउन माग गरे ।

“तारागाउँ विकास समितिका सम्बन्धमा विगतदेखि नै ठूलो विवाद भइआएको छ । सरकारले विवादको दीर्घकालीन समाधानसहित स्पष्ट दृष्टिकोण बनाउन आवश्यक छ”, उनले भने, “समिति र अख्तियारबीच सो सम्बन्धमा फरक धारणा भए पनि सरकारले टुङ्गोमा पुर्याउनेगरी काम गर्नुपर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तारागाउँ रिजेन्सी होटल लिमिटेडले गैरकानुनी ढङ्गले राज्यलाई क्षति पुर्याउने गरी काम गरेको देखिएको बताए । उनले अख्तियार र मन्त्रालयबीचको तादम्यता नमिल्दा विगतका विभिन्न समितिले दिएका निर्देशन कार्यान्वयन गर्न समस्या भएको जानकारी गराए ।

समितिका सदस्य नारायणप्रकाश साउदले समस्या समाधान हुने गरी काम अगाडि बढाउन सुझाव दिँदै समस्या समाधान गर्नेगरी कार्ययोजना ल्याउन आवश्यक रहेको बताए ।

अर्का सदस्य भीमप्रसाद आचार्यले तारागाउँ विकास समितिका नाममा भएको जग्गा हड्प्ने कार्य भएको देखिएको उल्लेख गर्दै कार्ययोजना ल्याउनुपर्नेमा सहमति जनाए ।

तारागाउँ विकास समितिका अध्यक्ष सुरेश जोशीले समस्या समाधान समिति एक्लैले गर्न नसक्ने उल्लेख गर्दै सरकारको साथ आवश्यक भएको बताए ।

सो अवसरमा तारागाउँ रिजेन्सी होटल लिमिटेडमा तारागाउँ विकास समितिको शेयर संरचना, लगानी र प्रतिफल, विभिन्न समयमा गठित समितिका सुझावका विषयमा सांसदहरुले छलफल गरेका थिए ।

श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण

काठमाडौँ । श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्न गठित विज्ञ टोलीले तयार पारेको मस्यौदा सरकारलाई बुझाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विज्ञ टोलीका संयोजक डा गणेश गुरुङले श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरद्सिंह भण्डारीलाई मस्यौदा हस्तान्तरण गरेका हुन् ।

मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति निर्माणका लागि मस्यौदा प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले समग्र श्रम आप्रवासन क्षेत्रको समस्या र चुनौती पहिचान गर्दै तयार पारिएको मस्यौदालाई सरकारी नीतिका रुपमा कार्यान्वयनमा ल्याउने बताए ।

उनले आप्रवासी नीतिले भइरहेको व्यवस्था र प्रणालीलाई व्यवस्थित एवं मर्यादित बनाउने, आप्रवासी श्रमिकलाई स्वदेशमा फिर्ता ल्याउने र विश्व बजारको मागअनुसार श्रम जनशक्ति उत्पादनलाई प्राथमिकता दिने बताए ।

“दिनहुँ हजारौँ मान्छे वैदेशिक रोजगारमा गइरहेका छन्, हामीले भाषण र दोषारोपन गरेर यो रोकिने अवस्था छैन । रोजगारीको विकल्प रोजगारी नै हो”, उनले भने, “नेपाली आप्रवासी श्रमिकको उचित श्रम मूल्य र मूल्याङ्कन हुनुपर्छ त्यसका लागि अब बन्ने आप्रवासी नीति र सरकारको परराष्ट्र नीतिमा हामीले ध्यान केन्द्रित गर्नु आवश्यक छ ।”

डा गुरुङको संयोजकत्वमा गठित टोलीले नौ महिना लगाएर उक्त मस्यौदा तयार गरेको हो । मस्यौदामा ६ वटा नीति, २४ वटा रणनीति र रणनीति सम्बोधनका लागि एक सय १३ वटा कार्यविधि राखिएको संयोजक गुरुङले जानकारी दिए ।

सुरक्षित, व्यवस्थित र मर्यादित श्रम आप्रवासन, आन्तरिक रोजगारी र समृद्धिको दूरदुष्टिसहित राष्ट्रिय नीतिको मस्यौदा तयार गरिएको डा गुरुङको भनाइ छ ।

“अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुरुप सुसूचीत, सीपयुक्त, प्रतिस्पर्धी र व्यावसायिक श्रमशक्तिका विकासद्वारा श्रम आप्रवासनलाई स्वदेशमै स्वरोजगार बनाइ बाध्यकारी श्रमको अन्त्य गर्नु यसको उदेश्य हो”, डा गुरुङले भने ।

उक्त मस्यौदामा श्रम आप्रवासन व्यवस्थापन सुशासन कायम गर्ने र श्रम आप्रवासनसम्बन्धित सूचना र सेवामा सबैको पहुँच विस्तार गर्ने नीति छ । आप्रवासी श्रमिकको मानव अधिकारको संरक्षण गर्ने एवं लैङ्गिकताका कारण हुनसक्ने सबै किसिमका जोखिम न्यूनीकरण गर्ने नीति समावेश गरिएको छ ।

मस्यौदामा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखी गन्तव्य मुलुकको श्रमबजारको माग र प्रवृत्तिअनुसार श्रमिकको सीप, दक्षताको पहिचान गर्ने उल्लेख छ ।

यस्तै श्रम आप्रवासनबाट फर्किएका श्रमिकको दिगो र सम्मानजनक पुनःएकीकरण गर्दै सामाजिक सुरक्षा सुनिश्चित गर्नेदेखि राष्ट्रियहित र आवश्यकताअनुरुप देशमा कार्यरत विदेशी श्रमिकको नियमन तथा व्यवस्थापन गर्ने मस्यौदामा समावेश छ । मन्त्रालयले उक्त समस्यौदामाथि थप सुझावका लागि आफनो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद नराख्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकामा जोड दिएका छन् । 


संसदको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका सांसदहरुले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद राख्न नहुने धारणा राखे ।


सांसद नारायणी शर्माले भ्रष्टाचार, अनियमिततामा संलग्न व्यक्तिलाई अनुसन्धानगरी कारबाही गर्न कुनै हदम्याद राख्न नहुनेमा जोड दिइन् ।


‘जहिले भ्रष्टाचार तथा अनियमितता भएको थाहा हुन्छ, त्यतिबेला पनि कारबाही गर्ने बाटो खुला राख्नुपर्छ’, उनले भनिन्, ‘भ्रष्टचारीलाई कारबाही गर्न हदम्याद राख्न हुँदैन ।’


सांसद अर्जुननरसिंह केसीले पाँच वर्षपछि भ्रष्टाचारको मुद्दा नचल्ने प्रावधान हटाइनुपर्ने बताए । उनले नीतिगत निर्णयका आधारमा गरिने भ्रष्टाचारलाई निर्मूल गर्न विधेयकमा यससम्बन्धी निर्णयको स्पष्ट व्याख्या हुनुपर्नेमा जोड दिए ।


राज्यव्यवस्था समितिमा छलफल भइरहेको  विधेयकमा भ्रष्टाचारजन्य कसुरमा त्यस्ता कार्य भएको थाहा पाएको पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने हदम्यादसहितको व्यवस्था राखिएको छ ।


सांसद ज्ञानु बस्नेत सुवेदीले भ्रष्टाचारमा संलग्नलाई दिइने दण्ड सजायलाई कडा बनाइनुपर्नेमा जोड दिँदै भ्रष्टाचारका ठूला घटनामा संलग्नलाई जन्मकैदको व्यवस्था हुनुपर्ने धारणा राखिन् ।


सांसद रञ्जुकुमारी झाले एकपटक भ्रष्टाचारी प्रमाणित भएको व्यक्ति सधैँको भ्रष्टाचारी हुने भन्दै त्यस्तो घटनामा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । ‘भ्रष्टाचार गम्भीर अपराध हो, त्यस्ता कार्यमा संलग्न व्यक्तिका लागि यो बानी पनि हो । तसर्थ गलत बानी सुधार गर्न र अरुलाई सजग बनाउन कडा साजयको व्यवस्था गर्नुपर्छ’, उनले भनिन् ।


सांसद रोशन कार्कीले भ्रष्टाचार निवारणका लागि राजनीतिक प्रतिबद्धता र कार्यान्वयन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन् । ‘भ्रष्टाचारीप्रति दया, माया नगरौँ, कठोर बनौँ’, उनले भनिन्, ‘भ्रष्टाचारमा संलग्नलाई जुनसुकैबेला पनि कारबाही हुने प्रावधान राख्नुपर्छ ।’


सांसद सोविता गौतमले भ्रष्टाचारजन्य कसुरमा शून्यसहनशीलता कायम गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचार भएको रकमअनुसार जरिवारना र कैद सजायको व्यवस्था गर्नु उपयुक्त हुने बताइन् । उनले  एक अर्बभन्दा बढी भ्रष्टाचार गर्नेलाई २० वर्ष वा निज जीवित रहेसम्म कैद सजायको व्यवस्था राख्न सुझाव दिइन् । 


सांसद श्यामकुमार घिमिरेले निजी क्षेत्रलाई पनि भ्रष्टाचारसम्बन्धी अनुसन्धानका दायरामा ल्याउन नहुने धारणा राख्दै यसबाट निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे । ‘कठोर सजाय दिएर मात्रै भ्रष्टाचार निवारण हुँदैन, यसबाट लोकतन्त्र झन् कमजोर हुन्छ’, उनले भने । 


सांसद मनिष झाले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र सङ्घीय अभिसन्धि अनुकूलका व्यवस्था राखेर विधेयक संशोधन गरिनु उपयुक्त हुने सुझाव दिए ।


सांसद नागिना यादवले भ्रष्टाचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने मान्यतामा रहेर कडा दण्डसजायको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । सांसद प्रेम सुवालले अत्यधिक सम्पत्ति मोहले पनि भ्रष्टाचारका घटना बढेको दाबी गर्दै सरकारी राजस्व दुरुपयोग गरी अनावश्यक संरचना निर्माण गर्ने विषयलाई पनि भ्रष्टाचारको स्वरुप मान्नुपर्ने बताए ।


अख्तियारका पदाधिकारीसँगको छलफलपछि मात्रै दफावार छलफल


बैठकमा सांसद हृदयराम थानीले दफावार छलफल प्रारम्भ हुनुअगावै विधेयकका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गर्नु उचित हुने धारणा राखेका थिए । 


त्यसपछि समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलपछि विधेयकमाथि दफावार छलफल अघि बढाइने जानकारी गराए । समितिको आजको बैठकले विधेयकको प्रस्तावना र नाम पारित गरेको छ । 


बैठकमा गृहमन्त्री रमेश लेखकले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको उल्लेख गर्दै समितिबाट यथाशीघ्र टुङ्ग्याइदिन आग्रह गरे । 

जलवायु परिवर्तनको असर न्यूनीकरणमा मिलेर अघि बढ्न भारतीय विदेश सचिवलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइयतबार भएको भेटमा द्विपक्षीय आपसीहित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए ।

‘हिमाल र पानीको सुरक्षा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले नेपाल–भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आपसीहित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानवसंशाधन विकास नेपालको प्राथमिकता रहेको बताएको उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकारका कैयौँ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए । उनले काम अगाडि बढिरहेका आयोजना यथाशीघ्र सम्पन्न गरेर नयाँ र प्राथमिकताका क्षेत्रमा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।

नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारेको प्रेस सल्लाहकार पोखरेलले बताए ।

आर्थिक, सामाजिक परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन अझ राम्रो गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई लाग्न आग्रह गरे । आरोप प्रत्यारोपले मात्रै देशको अवस्था नसुध्रने पनि उनको भनाई थियो ।

उनले देशमा अहिले युवाहरूलाई बेरोजगारीको समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए ।

अहिलेको सरकार देशलाई आर्थिक समृद्धिमा लैजाने सहमतिको जगमा बनेको भन्दै युवाहरूले भोगिरहेको समस्या समाधानमा सरकार गम्भीर रहेको सिंहले बताए ।

‘अधिकार प्राप्त गर्न पनि आवाज उठाऊँ । तर, आफ्नो जिम्मेवारी र कर्तव्यलाई पनि ध्यान दिऔँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको अवस्थाबाट पार गर्नका लागि संवेदनशील भएर तथ्यलाई केलाएर मात्र हामी राम्रो अवस्थामा जान सक्छौं । आर्थिक,सामाजिक परिवर्तन र पद्धतिमा देशलाई अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण रहन्छ ।’

अहिले केही भएन भन्ने भाष्य बनाएर दुष्प्रचार गरिएकोतर्फ युवाहरूलाई सचेत रहन आग्रह गर्दै उनले ०४६ र ०६२/६३ को परिवर्तनपछि आफ्नो गाउँको अवस्था, बाटोघाटो, स्वास्थ्य र शिक्षाको अवस्थाबारे आफ्नै अभिभावकहरूसँग बुझ्न आग्रह गरे । अहिले भन्दा अझ राम्रो गर्नका लागि नै अहिले सांसदका दुई ठुला दल मिलेर सरकार बनेको पनि उनले बताए ।

उपप्रधानमन्त्री सिंहले अहिले सामाजिक सञ्जालमा आउने खबर सबै सत्य नहुने भन्दै त्यसको तथ्य केलाएर मात्रै धारणा बनाउन पनि युवाहरूलाई आग्रह गरे ।

‘आर्टिसिसियल इन्टेसलिजेन्सको जमाना आइसकेको बेलामा डिजिटलाइजेसनमा जानुहुन्न, खराबै छ भन्ने होइन । तर, राम्रो पक्ष र सोच्नुपर्ने कुराहरूमा समयमै ध्यान दिनु राम्रो हुन्छ ,’ उनले भने ।

उद्योगमन्त्री भण्डारीले गरे कोलकत्ता पोर्टको अवलोकन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका थिए ।

अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ‘ट्रान्ससिपमेन्ट मोडालिटी’, भण्डारण जाचँपासलगायतका विषयमा जानकारी लिए ।

नेपालका तर्फबाट पारवहन लागत कम गर्ने विषयमा राखेको मन्त्री भण्डारीको जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दिया र कोलकत्तामा सिधा कार्गो जहाजको व्यवस्था गरिएकाले सिङ्गापुरमा गरिने ट्रान्ससिपमेन्ट लागत कम भई सम्पूर्ण लागत नै घट्ने जानकारी दिएका छन् ।

पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरूले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए ।

नेपाली महावाणिज्य दूतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको समन्वयमा छलफल भएको थियो ।

अवलोकन भ्रमणमा कलकत्तास्थित महावाणिज्य दूतावासका पदाधिकारी लगायतको उपस्थिति थियो । तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कलकत्तास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिए ।

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

खाँदबारी । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले जानकारी दिए ।

जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताइन् ।

मगरलाई थप उपचारका लागि परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, काठमाडौँ पठाइएको उनले जानकारी दिइन्।

पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा

काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् ।

फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै, दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन् । केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन् । उनले सो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । 

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिसकेका छन् ।

नेप्से ९४ अङ्कले बढ्यो, २५ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आइतबार नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।

आइतबार नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा  २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह चार दशमलव ५५ र लघुवित्त समूह चार दशमलव ४० प्रतिशतले बढेको छ ।

बैंकिङ तीन दशमलव ३५, विकास बैंक दुई दशमलव ५८, वित्त तीन दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् तीन दशमलव ९३, लगानी चार दशमलव १२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ४५, व्यापार दुई दशमलव ९१ र अन्य समूह दुई दशमलव ५१ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ५२ करोड दुई लाख ४७ हजार तीन सय ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २४ लाख ५१ हजार छ सय ८६ कित्ता शेयर किनबेच भएको छ ।

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिएका हुन् ।

‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालयलगायत भौतिक संरचना निर्माणमा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग ऊर्बर धर्ती, पानी र हावापानी छ । मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरु छन्’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ । सबै मिलेर नागरिकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’

उनले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थरतरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ राख्न खाना स्वस्थ हुनुपर्ने भन्दै अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ आयातरनिर्यातमा रोक लगाउने व्यवस्था गर्न सरोकार भएकालाई सुझाव दिए ।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले मुलुकमा विद्यामान समस्या पहिचान गरी समाधान निकाल्ने योजनासहित काम गरिरहेको बताए ।

उनले हाल घाटा बजेटमा सरकार सञ्चालन भइरहेको भन्दै आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउनेगरी काम गर्न सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गरेका थिए। छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए ।

अष्ट्रेलियामा जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह

प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स)मा पूर्ण प्रतिबन्ध लगाउन आइतबार सरकारसँग माग गरेको छ । अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने देशमध्ये एक हो ।

दुई करोड ७० लाख जनसङ्ख्या रहेको अष्ट्रेलियामा जुवाजन्य खेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलर (१६ अर्ब अमेरिकी डलर) नोक्सानी हुने गरेको अनुमान गरिएको छ ।

यहाँ टेलिभिजन, रेडियो र बिलबोर्डमा मानिसहरूलाई आफ्नो पैसाको जोखिम मोल्न लोभ्याउने विज्ञापन व्यापक छन् ।

‘पोकी’ भनेर चिनिने जुवा खेल्ने मेसिन (स्लट मेसिन) हरू पनि भएका धेरै मधुशालाले नागरिकलाई मोजमस्तीमा सहभागी हुन अधिक आकर्षित गर्दछन् ।

अस्ट्रेलियाका ६० भन्दा बढी प्रतिष्ठित नागरिकले प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेतालाई लेखेको पत्रमा भनिएको छ, “अस्ट्रेलियामा जुवाको विज्ञापन नियन्त्रणबाहिर गएको छ र एक वर्षको अवधिमा टेलिभिजन र रेडियोमा १० लाखभन्दा बढी जुवाजन्य विज्ञापन प्रसारण भइरहेका छन् ।”

सप्ताहान्तमा जारी गरिएको पत्रमा हस्ताक्षर गर्नेहरूमा सङ्घसंस्था, खेलकुद क्षेत्रका पूर्व राजनीतिज्ञ र विश्वास गरिएका नेताहरू थिए ।

उनीहरूले जुवाबाट हुने हानिबारे सन् २०२३ को रिपोर्टसहित अल्बानिजको लेबर सरकार र विपक्षी दललाई तीन वर्षभित्र सबै जुवासम्बन्धी विज्ञापनलाई प्रतिबन्धित गर्न सहमत हुन आग्रह गरेका छन् ।

“हाम्रो दैनिक जीवनमा स्क्रिनमा देखिने जुवाजन्य खेलसम्बन्धी विज्ञापन (प्रचार) र जुवाको माध्यमबाट हुने बढ्दो नोक्सानीबाट धेरै नागरिक चिन्तित छन्,” हस्ताक्षरकर्तामध्ये एक पूर्व प्रधानमन्त्री जोन हावर्डले भन्नुभयो ।

“मेरो बुझाइमा जुवाको कारण समुदायमा हानि हाम्रो (अष्ट्रेलियाली) ठूलो क्षतिको लागि जिम्मेवार छ ।

– ‘वित्तीय बर्बादी’ –

सरकारले उद्धृत गरेको अध्ययनले अस्ट्रेलियाली जुवाखेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलरबराबरको नोक्सानी हुने देखाएको छ ।

सन् २०२०–२०२१ को आर्थिक वर्षमा कोभिड–१९ नियन्त्रणका उपायस्वरूप बन्दाबन्दी (लकडाउन) लागु हुँदा धेरै मधुशाला, क्लब र क्यासिनोहरू बन्द गरिएको थियो तर उक्त अवधिमा पनि अस्ट्रेलियाको सरकारी तथ्याङ्कले जुवाजन्य नोक्सानी २४ अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी भएको देखाएको थियो ।

“हाम्रा बच्चाहरूलाई लक्षित जुवा कम्पनीहरू रोक्न सबै जुवा विज्ञापनमा पूर्ण प्रतिबन्ध आवश्यक छ,” ‘एलाइन्स फर ग्याम्लिङ रिफर्म’ का प्रमुख कार्यकारी मार्टिन थोमसले भने ।

थोमसले विज्ञप्ति जारी गर्दै भनेका छन्, “विज्ञापनलाई सीमित गर्ने वा सामाजिक सञ्जालमा मात्र पूर्ण प्रतिबन्ध लगाउने कुनै पनि निर्णय निहित स्वार्थका लागि जीत हुनेछ र यसले अस्ट्रेलियालीहरूलाई ठूलो क्षति पुर्याउनेछ ।”

“आर्थिक नोक्सानीका अतिरिक्त अकर्मण्यताको मूल्य ‘बढ्दो आर्थिक विनाश, मानसिक स्वास्थ्य समस्या, आत्महत्या र जुवाले बढाउन सक्ने पारिवारिक हिंसा’ हुनेछ,” उनले भने ।

अस्ट्रेलियाको ‘नाइन इन्टरटेनमेन्ट’ पत्रिकाका अनुसार सरकारले केही हप्ताभित्रै प्रस्तावित कानुन घोषणा गर्ने अपेक्षा गरिएको छ ।

अल्बानिजले गत हप्ता आफ्नो सरकारले ‘सरोकारवाला’ सँग छलफल गरेको बताउँदै आफू ‘जुवाको हानि कम गर्न’ प्रतिबद्ध रहेको बताएका थिए । तर विज्ञापन उनले प्रतिबन्धको परिकल्पना गरेका थिए कि थिएनन् भन्नेबारे बताउन अस्वीकार गरे ।

लिवियामा भएको झडपमा नौ जनाको मृत्यु, १६ घाइते

लिवियामा प्रतिद्वन्द्वी दुई समूहबीच भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

लिबियाको स्वास्थ्य मन्त्रालयको आपतकालीन विभागका प्रवक्ता ओसामा अलीले शनिबार घटनाको पुष्टि गरेका छन् । उनले सङ्ख्या उल्लेख नगरिकन केही हताहत भएको आफूलाई जानकारी प्राप्त भएको बताए ।

प्रवक्ता अलीले सिन्ह्वालाई दिएको जानकारीअनुसार ट्राजुरा जिल्लामा भएको झडपका कारण दर्जनौं परिवार सुरक्षाका कारण विस्थापित भई आफन्त कहाँ शरण लिनपुगेका छन् ।

सन् २०११ मा मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भएसँगै लिबियामा पनि सरकारविरोधी आन्दोलन चर्केको थियो । सो प्रदर्शनलाई फ्रान्स, अमेरिका र बेलायतसहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन र सहयोग रहेको थियो ।

नेटो गठबन्धनको सेनालाई लिबिया आक्रमणमा खटाइएको थियो । निरन्तर नेटो गठबन्धनले आक्रमण गर्दै गद्दाफीको शासनलाई कमजोर पारेको र गृहनगर सिर्तमा भएकै आक्रमणमा गद्दाफी मारिएका थिए ।

नेता मुअम्मर गद्दाफीको पतनदेखि नै हिंसा र राजनीतिक अस्थिरता रहेको छ । तत्कालिन सरकारका सेना र विद्रोहीसमूहबीचको आन्दोलन गृहयुद्धमा परिणत भएपछि बनेका समूहहरूबीचको सङ्घर्षका कारण दर्जनौँ साना समूहको जन्म भएको र बेलाबेला उनीहरूबीच नै झडपका घटना हुने गरेका छन् ।

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत र २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा सफलता हासिल गरेको बताए । कार्यकारी निर्देशक घिसिङले ‘लोडसेडिङ’ अन्त्य भई नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।

‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रुपमा अर्बौँ रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्र प्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरूभन्दा कम भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ । अब चुहावटलाई एकल अङ्क (सिङ्गल डिजिट)मा झार्ने लक्ष्य राखेर काम अगाडि बढाइएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको हो ।

घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताए ।

प्राधिकरणले गैह्र प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ ।

प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरूलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरू सञ्चालन गरिरहेको जनाएको छ ।

महाधिवेशन सार्ने प्रपञ्च नगर्न नेतृत्वलाई शेखर कोइरालाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव पेस गर्दै कोइरालाले समयबद्ध कार्यतालिका बनाएर यथासमयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ । १४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यतालगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् । यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु । म क्रियाशील सदस्यता वितरण र महाधिवेशनका लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर यथासमयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।’

त्यस्तै उनले अहिले राजनीतिमा लोकरिझ्याइँ हावी भएको भन्दै पार्टीलाई त्यसले क्षति पुर्याउन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘अहिले राजनीतिमा लोकरिझ्याइँ हावी भएको छ । हाम्रो पार्टी पनि लोकरिझ्याइँबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याइँले पार्टीलाई डोर्याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ ।’

उनले गठबन्धन सरकारको नेतृत्व कांग्रेसको प्रतिष्पर्धी राजनीतिक दलले गरिरहेको हुँदा भावी दिनमा के गर्लान् भनेर अड्कल काट्न नचाहने उल्लेख गर्दै सरकारमा गएका मन्त्रीहरुले विश्वास जित्नेगरी काम नगरे ठुलो गिरावट आउन सक्ने बताएका छन् ।

यस्तो छ कोइरालाको लिखित प्रस्ताव

१. आजभन्दा झण्डै पाँच दशकअगाडि नेपाली कांग्रेसका पथप्रदर्शक जननायक बीपी कोइराला दक्षिण एसियामा उत्पन्न राजनीतिक उतारचढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनुभएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पूरक हुन् र यिनलाई भिन्न-भिन्न रूपमा हेर्नु हुन्न भन्ने उहाँको मान्यता थियो ।

आज फेरि एकपटक दक्षिण एसियामा राजनीतिक हलचल छाएको छ । निर्वाचित सरकारहरूमाथि धावा बोलिएको छ । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिँदै छ । अर्थात् दक्षिण एसिया अन्तर्राष्ट्रिय राजनीतिको क्रीडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने सम्भावना बढेको छ ।

२. दक्षिण एसियाको राजनीतिक द्वन्द्वले नेपाल र नेपालीको मनोभावमाथि प्रभाव परेको म बुझ्दछु । यसमा यो केन्द्रीय कार्यसमिति गम्भीर हुनुपर्छ भनी मैले माथि बीपी कोइरालाको स्मरण गर्नुपरेको हो । मुलुक नसोचिएको संकटतर्फ जाने हो कि भन्ने चिन्ता सबै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिक्रियावादी मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि हामीमाथि रजाइँ गर्न पछि पर्दैनन् ।

३. बंगलादेशको घटनाले हामी सबैलाई उद्वेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहोरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष शसक्त हुनुपर्छ भन्ने पाठ बंगलादेश घटनाले हामीलाई सिकाएको छ । नेता र राजनीतिप्रति जनताको वितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा ‘वेभ’ सिर्जना गर्न खोजिँदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो दल भएको नाताले गम्भीरतापूर्वक सोचौँ ।

४. वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको छ । छिटो-छिटो सरकार गठन र विघटन भैरहँदा विकासका गति अगाडि बढेनन् र जनताले सुशासनको अनुभूति गर्न पाएनन् भनेर मैले नै केही समयअगाडिदेखि भन्दै आइरहेको हुँ । तसर्थ दुई ठूला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ ।

वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडि बढाउने हो । नि:सन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजान सक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संंविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूची बनाउँदा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धताहरूलाई बिर्सन मिल्दैन ।

दुई ठूला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन, सोझै जनताप्रति उत्तरदायी हुन सक्दा मात्र अहिले देखिएका अनेकन लोकतन्त्रविरोधी शक्तिलाई परास्त गर्न सकिन्छ ।

५. वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन् । तर, व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनोटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?

६. सरकार छ भन्ने अनुभूति आमनागरिकलाई संकटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरूका बीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरूसँग जुधदै छन् । तिनको उद्धार, राहत, उपचार र पुनर्स्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु– हामी संलग्न भएको सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।

लोकतन्त्रमा मूल कुरा जनता र सरकारबीचको सम्बन्ध हो, सरकारप्रति आमनागरिकको भरोसा र विश्वास हो । यस्तो भरोसा र विश्वास सिर्जना गर्ने निकायहरू सरकारी सेवाप्रदायक संंवैधानिक संस्था र निकायहरू हुन् ।

सरकारी निकायमा राजनीतीकरण भएर तिनको प्रभावकारिता भुत्ते भएका छन् भनी हामीलाई स्वीकार्न कुनै संशय छैन । तर पनि केही सरकारी निकाय र संस्थाहरूले यसबीच नेपाली जनतामाझ आफ्नो औचित्य र उपादेयता प्रमाणित गरेका छन् । यस्ता संस्था र निकायहरूमा भएका कैयन् व्यक्तिले प्रतिकूल परिस्थितिमा पनि राष्ट्रले गौरव गर्ने काम गरेर अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाएका छन् ।

यहाँ म उदाहरण प्रस्तुत गर्न चाहन्नँ, तर खबरदारी भने नगरिरहन सक्दिनँ । फोहोरी राजनीतिक खेलको दुष्चक्रमा राष्ट्र निर्माणमा योगदान गरिरहेका मानिसहरू नपरून् । कसैप्रति राजनीतिक आस्थाविपरीत छ भनी बदलाको भावना राखी कारबाही नहोस, यसमा नेपाली कांग्रेस सतर्क हुन जती जरुरी छ वर्तमान सरकारलाई पनि त्यस दिशातर्फ जान नदिन सचेत गराउन पनि त्यत्तिकै जरुरी छ । लोकतन्त्रको जग तब मात्र बलियो हुन्छ, जब संस्थालाई लोकतन्त्रीकरण र पारदर्शी ढंगले चलाइन्छ ।

७. प्रदेश संरचनाका सम्बन्धमा

क) वर्तमान संविधान जारी भएको यतिका वर्ष भइसक्दा पनि प्रदेशले संविधानअनुरूप पाउनुपर्ने अधिकार पनि पाएका छैनन् । खासगरी वित्तीय संघीयता र प्रशासनिक संघीयतामा देखिएको कमजोरीले संघीयतासम्बन्धी गुनासो छ र यसको औचित्य स्थापित गर्न अप्ठ्यारो भइरहेको छ । तसर्थ दुई ठूला दल मिलेर सरकार बनाउनुको सार्थकता प्रदेशलाई हरेक प्रकारले सशक्त र प्रभावकारी बनाउनेतर्फ पहल गर्नुपर्छ ।

ख) नेपाली कांग्रेसको विधानमा प्रदेश कार्यसमितिलाई अझ बलियो बनाउने गरी विधान संशोधन गरौँ । केन्द्रले नियमन गर्ने र प्रदेशले कार्यक्रम गर्ने गरी संगठनका काम गर्ने व्यवस्था गरौँ ।

सभापतिज्यू,

८. तपाईंको नेतृत्वमा विगत आठ वर्षदेखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा म यहाँ गर्न चाहन्नँ । कांग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठवन्धनको कारण ठूलो दलको रूपमा संसदमा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छोडिदिन्छु ।

मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ । १४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यतालगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् । यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्र्याकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु । म क्रियाशील सदस्यता वितरण र महाधिवेशनका लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।

९. अब पनि पार्टीलाई विधानअनुसार समयबद्ध तरिकाले सञ्चालन गर्ने परिपाटी नचलाई कहिलेबाट यो संस्कार विकसित गर्ने ? समय गुज्रेर गरिने कुनै पनि कार्य प्रभावकारी हुँदैन । अहिले पनि नबुझे कहिले बुझ्ने ? जसरी समय गुज्रेको औषधिले बिरामी निको पार्दैन, त्यसैगरी समयमा सम्पन्न हुनुपर्ने पार्टीका कामहरू नगर्दा त्यसको प्रभावकारिता हुन्न ।

१०. अहिले राजनीतिमा लोकरिझ्याइँ (पपुलिज्म) हावी भएको छ । हाम्रो पार्टी पनि लोकरिझ्याइँबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याइँले पार्टीलाई डोर्‍याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ ।

अन्त्यमा, गठबन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन् । म यहाँ हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन र भावी दिनमा के गर्लान् भनी अड्कल काट्न चाहन्नँ । तर, अहिले सरकारमा गएका हाम्रा साथीहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु ।

सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन, आमनागरिकले अनुभूति गर्ने कुरा हो । कांग्रेस नवनिर्माणको बाटो पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरूको सुशासनप्रतिको निष्ठा र पार्टीमा आबद्ध साथीहरूको एकताबद्ध प्रयासबाट मात्र कांग्रेस रूपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै बाटोबाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौँ । जय नेपाल ।

प्रचण्डमाथि जनार्दन शर्माका प्रश्नै प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

पार्टीको जारी स्थायी कमिटीको बैठकमा आइतबार लिखित प्रस्ताव पेस गर्दै शर्माले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् । उनले पार्टी सञ्चालनको मूल्यमान्यता, विधान र पद्धतिको धज्जी उडाइएको आरोपसमेत लगाएका छन् । उनले २०६४ देखि अहिलेसम्म आउँदा पार्टी किन खुम्चिदै गएको भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शून्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ । र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं । आज पार्टीमा जो जति छन् ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ?’

उनले नेतृत्वकै असक्षमताका कारण एकातिर प्रणाली स्थापित हुन नसकेको र अर्काेतिर संगठन पनि बलियो हुन नसकेको आरोप प्रस्तावमा उल्लेख गरेका छन् । उनले माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि पनि युद्धकालीन सोचले काम गरेको आरोप पनि शर्माले लगाएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय सहमतिमा ओर्लिंदा त्यसमा सहभागी समूह र शक्तिलाई पार्टीमा कसरी संगठित र रुपान्तरित गर्ने भन्ने अहम् प्रश्न थियो । त्यसका लागि सोच, योजनालगायतका युद्धकालीन कमाण्ड प्रणालीलाई लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रुपान्तरण आवश्यक थियो । तर, संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा युद्धकालीन सोचकै निरन्तरता रह्यो ।’

यस्तो छ शर्माको लिखित प्रस्ताव

संगठनमा माथिदेखि तलसम्म परिवारवाद हाबी भयोः उपमहासचिव शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार पार्टी स्थायी समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उपमहासचिव शर्माले पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको बताएका हुन् । उनले संगठनमा माथिदेखि तलसम्म परिवारवाद हाबी भएको बताए ।

उनले प्रस्ताव पेस गर्दै भनेका छन्, ‘माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाति, दलित, सिमान्तकृत, मधेसी, उत्पिडित वर्ग र समुदायहरु बिस्तारै आन्दोलनबाट अलग हुँदै गए । पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन। छरपष्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन।’

शर्माले माओवादी पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्न जाँदा माओवादीका एजेन्डाहरू खोसिँदै गएको उल्लेख गरेका छन् । शर्माले पार्टीलाई शक्तिशाली बनाउन वामपन्थी एवम प्रगतिशील शक्तिबीच अन्तरक्रिया, एकता र धुव्रीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पेरिस ओलम्पिकमा चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस । शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १२२ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित ४३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कास्यसहित कुल ६२ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कास्यसहित कुल ६३ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कास्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित कुल ३१ पदक जित्दै जर्मनी नवौँ स्थानमा छ । इटाली ११ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।

भेनेजुएलाका विपक्षीद्वारा मदुरोसँग ‘उत्पीडन’ अन्त्य गर्न माग

भेनेजुएलाका विपक्षी उम्मेदवारलेराष्ट्रपति निकोलस मदुरोसँग ‘हिंसा र उत्पीडन’ अन्त्य गर्न आह्वान गरेका छन् । मुलुकको उच्च अदालतले जुलाई २८ को विवादित निर्वाचनमा आगामी फैसलाविरुद्ध पुनरावेदन गर्न नसकिने बताएको केही घन्टापछि विपक्षी उम्मेदवारले यस्तो आह्वान गरेका हुन् ।

ठूलो अन्तरले राष्ट्रपति पदमा विजयी भएको दाबी गर्ने एडमन्डो गोन्जालेज उरुटियाले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै मदुरोसँग स्वतन्त्र राजनीतिक अभिव्यक्तिको अनुमति दिन माग गरे ।

“म सबै भेनेजुएलाबासीका तर्फबाट तपाईंसँग हिंसा र उत्पीडन अन्त्य गर्न तथा मनमानी ढङ्गले हिरासतमा राखिएका सबै देशबासीलाई तुरुन्त रिहा गर्न आग्रह गर्दछु”, निर्वाचनपछिको अशान्तिलाई उल्लेख गर्दै ७४ वर्षीय गोन्जालेज उरुटियाले भने, “हाम्रो संविधानप्रतिको सम्मानको माग गर्नु कुनै अपराध होइन, लाखौँ भेनेजुएलाबासीको इच्छालाई समर्थन गर्न शान्तिपूर्ण प्रदर्शन गर्नु कुनै अपराध होइन ।”

निर्वाचनपछिको हिंसामा २४ जनाको मृत्यु भएको थियो भने दुई हजार दुई सय जनालाई पक्राउ गरिएको छ । 

सर्वोच्च अदालतले निर्वाचनमा लडेका उम्मेदवारका लागि आफ्नो आगामी फैसला ‘अन्तिम’ हुने बताएपछि एक साताभन्दा लामो समयदेखि सार्वजनिकरूपमा नदेखिएका गोन्जालेज उरुटियाको उक्त सन्देश आएको हो ।

सर्वोच्च अदालतका अध्यक्ष कारिल्सिया रोड्रिग्वेजले भने, “अन्तिम फैसला गर्ने उद्देश्यले सन् २०२४ अगस्ट ५ मा सुरु भएको मूल्याङ्कनलाई जारी राखिएको छ, यसका फैसला अन्तिम र बाध्यकारी हुनेछन् ।”

निर्वाचनमा सामान्य जीतको दाबी गर्नुभएका राष्ट्रपति मदुरोप्रति उच्च अदालत बफादार रहेको अधिकांश पर्यवेक्षकहरूले बताएका छन् । 

विपक्षी नेताहरूका अनुसार गोन्जालेज उरुटियाले अत्यधिक मतका साथ जित हासिल गर्नुभएको छ । उनीहरूले मतदान स्थलबाट प्राप्त आधिकारिक तथ्याङ्कलाई प्रमाणका रूपमा पेश गरेका छन् । 

मदुरोले आफैँले आफ्नो जितलाई ‘प्रमाणित’ गर्नका लागि अगस्ट १ मा उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

अदालतले यो साता गोन्जालेज उरुटियाबाहेक सबै उम्मेदवारको सुनुवाइ गरेको छ । पक्राउ पर्ने डरले सुनुवाइमा उपस्थित नभएको गोन्जालेज उरुटियाले बताए ।

प्रमुख विपक्षी नेता मारिया कोरिना मचाडोले आफू लुकेर बसेको बताउनुभएको छ । पूर्वराष्ट्रपति उम्मेदवार मचाडोलाई यस पटक निर्वाचनमा उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो । 

‘अवज्ञालाई उक्साएको’ लगायतका अपराधहरूका लागि गोन्जालेज उरुटिया र मचाडो दुवैलाई न्याय विभागले अनुसन्धान गरिरहेको छ । न्याय विभागलाई पनि मदुरोप्रति बफादार अर्को राज्य संस्था मानिन्छ ।

नेसनल इलेक्टोरल काउन्सिल (सिएनई) ले अगस्ट २ मा मदुरोको जीत अनुमोदन गर्दै उनले ५२ प्रतिशत मत हासिल गरेको बताएको थियो। तर उसले डाटा ह्याक भएको भन्दै चुनावी स्थलहरूबाट सटीक तथ्याङ्क जारी गर्न अस्वीकार गर्यो ।

यसको विपरीत विपक्षीहरूले मुद्रित विवरण प्रकाशित गरेका छन् । उनीहरूले गोन्जालेज उरुटियालाई ६७ प्रतिशत मत हासिल भएको बताएका छन् । विपक्षीहरूको वैधतालाई मदुरोले अस्वीकार गरेका छन् । 

विपक्षी र धेरै पर्यवेक्षकले निर्वाचन परिणामको कथित ह्याकिङलाई चुनावी अभिलेख प्रकाशित नगर्ने बहाना बनाउने सरकारको मनगढन्ते कुरा भएको बताएका छन् । 

डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

गण्डकी ।  कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ।

सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन्।

वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिए।

‘डढेलोबाट वन जोगाउन सामूहिक प्रयासको खाँचो छ। वन संरक्षणमा लाग्ने, डढेलो लाग्ने नदिने समूहलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्नेछौँ,’ उनले भने।

‘सामुदायिक वनको प्रभावकारिता, तीन तहको सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ जिल्ला महासङ्घको आयोजना एवं डिभिजन वन कार्यालय कास्की र (यूएसएआडी) जलजङ्गलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा असोका, धुपी, तेजपात, अमलालगायत विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएको थियो।


कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएकी जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालले रोपिएका बिरुवाको संरक्षण गर्दै प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले सामुदायिक वन क्षेत्रमा रहेका पुराना रुख निकाल्न उपभोक्तालाई सुझाव दिँदै त्यसका लागि कार्यालयकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

ठूलो वन समूहका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने लगायतले वन संरक्षण, प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका उपभोक्ताले सहज रुपमा उपयोग गर्ने व्यवस्था हुनुपर्ने खाँचो औँल्याएका थिए।

मौरीपालनबाट मासिक ५० हजार आम्दानी

मन्थली  । रामेछापको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन् ।

सानै उमेरमा सहर पसेका मगर कोरोना कहरका कारण गाउँ फर्किएका थिए । कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे । कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिए र मौरीपालन सुरु गरेका हुन् ।

सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गरेका थिए । उनले भने, ‘त्यसपछि मैले छ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ ।’

उनले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी बेच्छन् । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उनको अनुभव छ । मह र घार बिक्रीबाट उनले वार्षिर्क खर्च कटाएर छ लाख कमाइ गर्ने गरेको बताए ।

आर्थिक वर्ष २०८०/८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उनले रामेछाप नगरपालिकाबाट तीन लाख अनुदान प्राप्त गरे । सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उनी खुसी छन् । उनले एक लाख १५ हजार लगानी गरी मौरीपालन सुरु गरेका थिए । सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उनको भनाइ छ ।

पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले उनको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् । मेलिफेरा जातका मौरीले वर्षमा चार/पाँचपटक मह उत्पादन गर्छ । यसले एक पटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उनले बताए ।

अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन् । उनले उत्पादन र निर्माण गरेको मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन् । सेरेना जातको माहुरीको मह प्रतिकेजी एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री गर्छन् ।

अठार वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसकेका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जाउँ जाउँ लागेको थियो, तर विदेश गएर फर्केको साथीहरुको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमैे काम गर्न थालेका हुँ ।’

मौरीपालन सुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उनको अनुभव छ ।

कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् । सोही अनुसार सुनापति गाउँपालिकाले उनीसँग एक सयवटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उनी बताउँछन् ।

मौरीलाई अरिङ्गाल र मलसाप्रोबाट जोगाउन निकै समस्या हुन्छ । धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लाहरुमा राख्ने गरेकाले त्यहाँ अरिङ्गाल र मलसाप्रोले दुःख दिने गरेको छ । घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ ।

उनले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाएको छ । प्रायः मौरीपालक किसानहरुले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरेपनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उनको भनाइ छ ।

मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उनी बताउँछन् ।

उनले भने, ‘घार फुटाएपछि मौरीहरुले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा माहुरीहरुले तीन/चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन ।’

रानी हराएको अवस्थामा दुई/तीन दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि तीन/चार दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताए । उनले उत्पादन गरेको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारहरुमा बिक्री हुने गरेको छ ।

झापामा चोरीमा संलग्न तीनजना भरुवा बन्दुकसहित पक्राउ

झापा । प्रहरीले झापामा चोरीमा संलग्न तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुले गत शुक्रबार राति १० अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको प्रहरीको आरोप छ ।

चोरी गरी फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुले घरमा लुकाएर रोखेको एकथान भरुवा बन्दुक र खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।

मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन

गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो ।

पुल निर्माणले मालेपाटन क्षेत्रका बालिबालिकालाई ब्रम्हरुपा माध्यमिक विद्यालयसम्म पुुग्न सहज भएको स्थानीय ब्रम्हरुपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले बताए । झोलुङ्गे पुल निर्माणले मालेपाटन र आसपासका सर्वसाधारणलाई पृथ्वीराजमार्गअन्तर्गतको तल्लो गगनगौडा पुग्न सहज भएको उनले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको एक करोड सात लाखको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए । पुल निर्माणसँगै यस क्षेत्रका स्थानीयको आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज भएको उनको भनाइ छ ।

मर्मत नहुँदाको सास्ती

दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

उक्त पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताए । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको उक्त पुल कूल ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको थियो ।

संरक्षणको अभावमा बर्सेनि फुस्रेखोलामा वर्षासँगै आउने बाढी र कटानले पुल भत्किएको स्थानीय महेश्वर पौडेलले उल्लेख गरे । यस क्षेत्रमा आवतजावत गर्न पुल अत्यावश्यक रहेको बताउँदै उनले यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा जोड दिए ।

पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकसँगै भुजिकोटलगायत स्थानका बासिन्दाका लागि यो पुल आवश्यक भएको स्थानीय नारायण पाण्डेले बताए ।

पुलको जग मर्मत गर्न पहल भएको बताउँदै पोखरा–३२ का वडाध्यक्ष कार्कीले यसका लागि प्रदेश सरकारबाट रु ३२ लाख बजेट विनियोजन भएको जानकारी दिए । पुलको मर्मतसँगै यसको केही माथिबाट अर्को पुलको निर्माण गर्ने योजनासहित पहल भइरहेको उनले बताए । 

सोलुखुम्बुमा करेन्ट लागेर विद्युत कम्पनीका वरिष्ठ प्राविधिकको मृत्यु, तीनजना घाइते

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको छ ।  अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो ।

२०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम रहेको खुलेको छ । 

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिइन् । 

शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छभने घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ ।

छ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासी विद्युत् प्रवाह हुँदा एकैसाथ चारजनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताए । आफूहरुलाई करेन्ट प्रवाह भएको जानकारी नहुँदा झर्याङले तारमा छुँदा करेन्ट लागेको उनको भनाइ छ । 

यद्यपि घटनाको विवरण दिन सोलुखुम्बु प्रहरीले आनाकानी गरेको छ । सदरमुकाममा भएको उक्त घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक आफैं खटिए पनि घाइते र मृतकको विवरण उपलब्ध गराउन प्रहरीले इन्कार गरेका छन् ।

उक्त कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा गरी करिब तीन हजार चार सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले जनाएको छ ।

भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

काठमाडौं । भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन भएको छ। सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । सिंह लामो समयदेखि बिरामी थिए ।

पिटिआईका अनुसार पूर्वविदेशमन्त्री सिंहको अन्तिम संस्कार आज दिल्लीमा गरिनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।

उनी सन् २००४–५ मा युपिए सरकारमा भारतका विदेशमन्त्री थिए । नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद भएको थियो।

‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सुनुवार पुरस्कृत

इलाम । ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार १० हजार राशिको पुरस्कारबाट पुरस्कृत भएकी हुन् । 

पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङ्हाङलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे ।

विसं २०६९ मा स्थानीय इलामको रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील भएकी सुनुवार काठमाडौँको उज्यालो रेडियो नेटवर्कमा आबद्ध छिन् ।

फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसकेका छन् ।

फोनिज इलामले तीन वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडागरी पुरस्कार स्थापना गरेको थियो । पुरस्कार कोषबाट आदिवासी जनजातिका क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको फोनिज इलाम उपाध्यक्ष याम माबोहाङले बताए । 

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ ।

महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ ।

निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छभने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ । उनले भने, ‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन् ।’

यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेकी न् ।

साथै उनले कुनै समस्या भएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । निर्माणमा सहजीकरणका गर्न महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गरिने उनले बताइन् ।

महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्नमिल्ने प्यारापिटसहित मैदान तयार गरिने छ । रङ्गशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ छ । विसं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।

सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि दुई सय ८६ वटा पिलर खडा भइसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा रङ्गशालाले चर्चेको छ ।

सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ। अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए।

हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए। क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो।

कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ।

कार्यकारी निर्देशक डा. पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन्। सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ।

कहिलेसम्म धान्ला रुसले पश्चिमाको नाकाबन्दी ?

जीवा लामिछाने ।
नेपाल र भारतका केही उद्यमी-व्यवसायी साथीहरुसंग हालै रुसको राजधानी मस्को र सेन्ट पिटसबर्ग पुगेर म फर्कें । सन् २०१४ मा क्रिमियाको विवादपछि अमेरिका र युरोपेली संघका देशहरुले रुस विरुद्ध आर्थिक नाकाबन्दी लगाउन सुरु गरे । सन् २०२२ मा रुस–यूक्रेन युद्द सुरु भएपछि यो नाकाबन्दी अझ व्यापक बनाइयो । यो नाकाबन्दीको प्रकृति आफैंमा अचम्म पार्ने खालको छ । तेल, ग्यास, अमुल्य खनिज पदार्थ लगायत रुससंग पश्चिमी देशहरु निर्भर रहनु पर्ने सामग्रीको निर्यातमा आंशिक प्रतिबन्ध मात्रै छ । केही अपवाद बाहेक अधिकाशं रुसी बैंकहरुको स्विफ्ट सिस्टम सस्पेंड गरिएको छ । अनेकथरि उपभोग्य सामग्री र ठुला व्यवसायिक घराना, ब्युरोक्र्याट र केही राजनीतिज्ञहरु नाकाबन्दीको लिस्टमा परेका छन् । प्रतिउत्तरमा रुसले पनि तत् तत् देशका निश्चित सामग्री आयातमा प्रतिबन्ध लगाई दिएर त्यस्ता सामग्रीहरु चीन, भारत, दक्षिण अमेरिका लगायतका देशहरूबाट आयात गर्न सुरु गर्यो । सुरुको केही महिना आर्थिक नाकाबन्दीले रुसको अर्थतन्त्रमा निक्कै ठुलो झट्का हानेको थियो । बिदेशी मुद्राको संचितिमा कमी, राष्ट्रिय मुद्रा रुबलमा आएको भारी अबमुल्यन आदि देख्दा यस्तो लाग्थ्यो, लामो समय रुसले यो नाकाबन्दी थेग्न सक्ने छैन ।

यसवर्षको मार्च महिनामा पश्चिमी मुलुकहरुद्वारा रुसबिरुद्ध नाकाबन्दी लगाएको १० वर्ष पुरा भयो । १० वर्ष लामो नाकाबन्दीका बाबजुद रुसी अर्थतन्त्रमा केही सकारात्मक परिवर्तन पनि देखिएका छन् । रुसको वैदेशिक मुद्रा संचिति ३०० बिलियन डलरबाट बढेर अहिले ६ सय बिलियन डलर नाघेको छ (अमेरिका र पश्चिमी देशहरुले फ्रिज गरिदिएको रुसी केन्द्रीय बैंकको ३०० बिलियन डलर समेत) ! विदेशी मुद्रा संचितिका हिसाबले चीन, जापान, स्विटजर्ल्याण्ड र भारतपछि रुस पॉचौं स्थानमा पुगेको छ । केन्द्रीय ब्याङ्कमा सुनको संचिति अल टाइम हाइ अर्थात् २३०० मेट्रिक टन पुगेको छ । अमेरिका, जर्मनी, इटाली र फ्रान्स पछी सुन संचितिमा रुस अहिले पाँचौ स्थानमा छ ।

ग्रामीण इलाकातिर पहिले बिरलै देखिने ग्रीनहाउस अहिले यत्रतत्र देखिन्छन् । कृषकलाई सरकारले विशेष सहुलियत प्रदान गर्ने नीति अबलम्बन गरेको छ । फलस्वरूप यो अवधिमा कयौं कृषि उत्पादनमा रुस आत्मनिर्भर मात्र नभई निर्यात गर्ने हैसियतमा पुगेको छ । गहुँ उत्पादन, पोल्ट्री र बंगुर पालन निक्कै फस्टाएको छ । तेल,ग्यास पछी हात–हतियार निर्यातलाई बिस्थापित गर्दै कृषि उत्पादन निर्यात दोश्रो स्थानमा पुगेको छ । रुसी बजार छोडेर गएका पश्चिमी कम्पनीहरुका ठाउँमा दर्जनौ रुसी कम्पनीहरु उदाएका छन् । चीन, भारत मात्रै नभएर अफ्रिका, दक्षिण अमेरिकालगायत मध्यपूर्वका देशहरूले मस्कोसँग व्यापार जारी राखेका मात्रै छैनन्, अझ बढाएका छन् ।

रुसी नागरिकहरुलाई पश्चिमी देशमा व्यवसाय गर्न र रियल स्टेट खरिदमा प्रतिबन्ध लागेकोले ठूलो मात्रामा क्यापिटल फ्लाइट  रोकिएको छ । कुरैकुरामा एक रुसी मित्रले भन्न भ्याएः नाकाबन्दी त हामीलाई फाप्ला जस्तो पो लाग्न थाल्यो (Кажется, санкция нам ползу принесут)

आर्थिक कारोबारका हिसाबले विश्वका सबै देशहरु अहिले माखे सांग्लो झैँ एकआपसमा जेलिएका छन् । त्यसकारण उनले भने झैँ आर्थिक नाकाबन्दी देशको उन्नतिका लागि फलदायी त पक्कै नहोला । यसले त्यहाँको अर्थतन्त्रमा दीर्घकालिन असर अवस्य पार्नेछ । तर आर्थिक नाकाबन्दी लगाएर रुसलाई घुँडा टेकाउने पश्चिमाहरुको चाहना छिट्टै पुरा हुने छाँट भने अझै देखिएको छैन ।

महभिरको पहिरोले कालीगण्डकी करिडोरमा दुर्घटनाको जोखिम

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ ।

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताए ।

“सात–आठ सय मिटरमाथिको भिरपाखो हँुदै सडकमा पहिरो खस्न थालेको छ”, उनले भने, “पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन । ”

पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ । मुस्ताङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ ।

दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभिरको पहिरोमा पुरिएको थियो । यद्यपि त्यसका चालकले भागर ज्यान जोगाएका थिए ।

यसैबीच, महभिर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको जोखिम भएकाले त्यताबाट यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् ।