`

दक्षिण कोरिया सरकारले हवाई भाडा घटाउन ध्यान देओस्ः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री यु ंजिन रोंङबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोंङ सहितको प्रतिनिधि मण्डलले सोमबार पर्यटनमन्त्रीसँग भेटवार्ता गरेको हो । भेटमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औं वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

त्यसैगरी मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाई भाडा केही महंगो भएको विषयमा आम जनगुनासो रहेको ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘५० हजार भन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ । उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महंगो हुने गरेको गुनासो गर्नुहन्छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।’

नेपालमा कोरियाबाट वर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको भन्दै कोरियाका पूर्वमन्त्री यु जिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए । उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो समेत दिएका छन् ।

साथै उक्त भ्रमणले नेपालमा कोरियाली पर्यटक भित्रिनेमा विश्वास समेत व्यक्त गरेका थिए मन्त्री पाण्डेले आफू पनि कोरियाको भ्रमणमा आउनका लागि उच्च प्राथमिकता राख्ने बताएका थिए ।

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिबारे सम्बद्ध निकायबीच नीतिगत र भौतिक काममा समन्वय गर्ने सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन् ।

रङ्गशालाको स्तरोन्नतिको काम अघि बढाउन आइतबार सम्बद्ध मन्त्रालयहरु, त्रिवि र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिबीच छलफल भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्क घिसिङले जानकारी दिए । छलफलमा आवश्यक नीतिगत र भौतिक काममा समन्वय गर्ने सहमति भएको छ । 

नवगठित सरकारको पहिलो निर्णयका रुपमा मन्त्रिपरिषद्ले गत असार १३ गते आगामी तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने निर्णय गरेको थियो ।

क्रिकेट मैदानमा प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णयमा उल्लेख छ । “सो निर्णयअनुसारका संरचना निर्माण गर्न त्रिवि, राखेप र शिक्षा, अर्थ तथा सहरी विकास मन्त्रालयबीच समन्वय गर्नुपर्ने भएकाले संयुक्त बैठक गरेर अघि बढेका हौँ”, सदस्यसचिव घिसिङले भने ।

उनका अनुसार रङ्गशालामा फ्डलाइट निर्माण गर्न यस अघि ‘टेन्डर’ गर्ने निर्णय भएको थियो ।  टेन्डरबारे सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन परेका कारण प्रक्रिया स्थगित भएको हो ।

उक्त समितिबाट निर्णय आएपछि काम अघि बढ्ने उनले बताए । यसैगरी, प्यारापिट निर्माण गर्न गुरुयोजना तयार भए पनि ठूलै बजेट आवश्यक भएकाले सहरी विकासमार्फत योजना सञ्चालन गर्ने तयारी छ । 

रङ्गशालाको स्तरीकरणका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट एसोसिएसन क्यानबीचको जग्गा भाडा सम्झौतासमेत नवीकरण गर्नुपर्ने अवस्थामा रहेको सदस्यसचिव घिसिङको भनाइ छ ।

त्रिविको आन्तरिक रङ्गशालाका रुपमा रहेको उक्त मैदान २०५२ सालमा २५ वर्षका लागि क्यानले भाडामा लिएको थियो । त्यसको नवीकरण र अब बन्ने संरचनाका लागि त्रिविको सहमति आवश्यक हुने उनले बताए ।

बैठकमा सहभागी त्रिवि रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले संरचना निर्माणका लागि त्रिविले गनुपर्ने नीतिगत एवं व्यावहारिक निर्णयहरु शिक्षा मन्त्रालयबाट भएको पत्राचारका आधारमा गर्ने जानकारी दिए ।

  त्रिविको जग्गा भाडासम्बन्धी विषय त्रिवि सभाले निर्णय गर्नुपर्ने बताउँदै उनले हाल त्रिविको जग्गाको उपयोग सम्बन्धमा प्रश्न उठिरहेकाले जग्गासम्बन्धी विषय संवेदनशील भएको उल्लेख गरे ।   

क्यानका सचिव एवं पूर्वराष्ट्रिय कप्तान पारस खड्काले प्रधानमन्त्रीको निर्देशनसहित राज्यकै उच्च प्राथमिकतामा परेका कारण यसपटक क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको बन्नेमा आफू आशावादी रहेको बताए ।

“देशमा एउटा ठूलो क्षमताको र स्तरीय रङ्गशालाको आवश्यकता धेरै अघि देखि महसुस भएको हो । त्यसका लागि अहिले सरकारले प्राथमिकता राखेको छ यो सकारात्मक छ”, उनले भने ।

मंगलबारदेखि सुरु हुने एएफसी च्यालेञ्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुने

काठमाडौँ ।  एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने  खेल भोलि(मंगलबार) साँझ ६ बजेदेखि सुरु हुनेछ । 

खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन् । यस खेलको विजेता टोली च्यलेञ्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कप्तान अनन्त तामाङले आफ्नो टोली शारीरिक र मानसिक रुपमा तयार रहेको बताए ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको उल्लेख गर्दै खेल रोचक बन्ने उल्लेख गरे । गतवर्ष पनि पारो एफसी कप छनोट खेला खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पारजित भएको थियो ।

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयमा साेमबार आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा मन्त्री गुरुङले विषयगत मन्त्रालयको पुँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताए । ‘जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना कम हुन्छ’, उनले भने, ‘यो वर्ष हामीले खर्च गर्ने सामथ्र्य बढाउँछौँ ।’

उनले विकासका अवरोधका रूपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गरे । आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नुले पनि कार्यप्रगतिमा अवरोध भएको उनको भनाइ थियो । सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालयअन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग मन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए । राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्रलगायत संस्थानका आफ्नै चलअचल सम्पत्तिको संरक्षण र परिचालन गर्न उनले निर्देशन दिए ।

उनले राष्ट्र गौरवका योजनाहरूमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटेलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ पनि हुनुपर्ने जिकिर गरे । मन्त्रालयले यिनै मुख्य तीन विषयलाई समेटेर ‘हिरो मिसन’ का रूपमा लिएको जानकारी दिए । मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र (प्रिन्टिङ प्रेस) आफ्नै बनाउने उनले बताए ।

क्रसर उद्योग महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, उद्योग नविकरणको नयाँ मापदण्ड ल्याउन माग

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घले जनाएको छ ।

महासङ्घले उद्योगहरुको नवीकरण नहुँदा करिब  चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान

संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० एजेन्डाको प्रेरक शक्ति युवा रहेको बताउँदै युवालाई विकासका लागि अझ बढी सहयोग गर्न आह्वान गरेकी छन् ।

सोमबार बेइजिङमा आयोजित सन् २०२४ को विश्व युवा विकास मञ्चलाई भिडियोमार्फत् दिएको सन्देशमा मोहम्मदले यस्तो भनाइ राखेकी हुन् ।

“टुगेदर फर अ बेटर फ्युचर“ शीर्षकको यस मञ्चमा १३० भन्दा बढी देशका दुई हजार भन्दा बढी युवाहरू र अनलाइन र अन–साइट दुवैमाध्यमबाट २० अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी छन् ।

सदस्य राष्ट्रको सरकार, बहुपक्षीय सङ्गठन, निजी क्षेत्र र नागरिक समाजले युवाहरूलाई आवाज उठाउन आवश्यक स्रोत र मञ्चहरू उपलब्ध गराउनुपर्ने मोहम्मदले बताइन् ।

उनले युवाहरूको आवाज बढाउनका लागि संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले संयुक्त राष्ट्रसङघीय प्रणाली र विश्वभरका सान्दर्भिक टोलीहरूसँग सहकार्य गर्ने वाचा गरिन् ।

उनले युवाको अधिकार र स्वतन्त्रताको संरक्षण गरी उनीहरूलाई सशक्त बनाउन गुणस्तरीय शिक्षा र सीपको महत्त्वलाई पनि जोड दिइन् ।

अमेरिकी राष्ट्रपति बाइडेनको ‘गाजा युद्धविराम योजना’ हमासको नयाँ अडान

हमासले गाजाको तर्फबाट वार्तामा सहभागी मध्यस्थकर्तालाई अरू थप वार्ता गर्नुको सट्टा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको युद्धविराम योजना कार्यान्वयनमा अडान राख्न माग गरेको छ ।

इजरायली सैन्य कारबाहीका कारण असुरक्षित प्यालेस्टिनीहरू सुरक्षाका लागि एक पछि अर्को स्थानमा भागिरहनुपरेको पीडाबीच हमासको यो भनाइ आएको हो ।

गाजामा इजरायली आक्रमण जारी रहँदा र इरानसम्बद्ध नेताको हत्याले द्वन्द्वको डर उत्पन्न गरेपछि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले इजरायल र हमासलाई युद्धविराम र बन्धक मुक्ति सम्झौताको लागि वार्ता पुनः सुरु गर्न आह्वान गरेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राजनीतिक लाभका लागि युद्ध लामो बनाएको आरोप लागिरहेका समय इजरायली वार्ता टोलीले अमेरिका, कतार र इजिप्टले बिहीबारको लागि दिइएको वार्ताको निमन्त्रणा स्वीकार गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले गत मे ३१ मा तयार गरेको र पछि राष्ट्रसङघीय सुरक्षा परिषद्बाट अनुमोदित युद्धविराम योजनाको कार्यान्वयनको पक्षमा आफ्नो समूह रहेको दाबी हमासले आइतबार गरेको छ ।

बाइडेनले तीन चरणको ‘स्थायी युद्धविराम तथा सबै बन्धकको रिहाइको रोडम्याप’ लाई इजरायली प्रस्तावको युद्धविराम योजनाका रूपमा प्रस्तुत गर यद्यपि, त्यसपछि मध्यस्थताका लागि भएका प्रयासहरू सफल हुन सकेका थिएनन् ।

दक्षिणी गाजाको मुख्य सहर खान युनिसलाई निरन्तरको बमबारी र लडाइँले ध्वस्त पारेको छ भने इजरायलको गाजाको अल जलाला क्षेत्र छोड्न आदेश जारी गरेपछि सयौं गाजाबासी प्यालेस्टिनीहरू उत्तरी छिमेकबाट भागेका छन् ।

हमासले गत मङ्गलबार आफ्ना गाजा प्रमुख याह्या सिनवारलाई जुलाई ३१ मा इरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हानियाको जिम्मेवारी तोकेको छ ।

हानियाको हत्यापूर्व बेरूतमा भएको हवाई आक्रमणमा हेजबुल्लाहका सैन्य प्रमुख फाउद सुकरको मृत्यु भएको थियो । यसले मध्यपूर्वमा इजरायलविरोधी भावनालाई थप मलजल दिएको र मध्यपूर्वमा थप तनाव बढ्ने अड्कलबाजीहरू गरिएका थिए ।

वस्ती खाली गर्न दिइएका यस्ता आदेशपछि बढ्ने सैन्य आक्रमणको भयले प्यालेस्टिनीलाई धेरै पटक विस्थापित हुन बाध्य पारेको छ ।

बाइडेनको युद्धविराम योजनाको पहिलो चरणमा छ हप्तासम्म पूर्ण युद्धविराम गर्ने योजना समावेश छ, यस चरणमामा इजरायली सेना गाजाको आवासिय क्षेत्रबाट फिर्ता गर्ने र इजरायलले प्यालेस्टिनी कैदीको बदलामा केही बन्धकहरूलाई रिहा गर्ने उल्लेख छ ।

दोस्रो चरणमा युद्धरत पक्षहरूबीच युद्धको स्थायी अन्त्य गर्दै जीवित बन्धकलाई रिहा गर्ने रहेको छ भने तेस्रोमा गाजा क्षेत्रको प्रमुख पुनर्निर्माण योजना र मृत बन्धकहरूको अवशेष फिर्ता गर्ने उल्लेख छ ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद जोखिममा

फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ ।

यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दललाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आउन लागेको हो ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको आरोप लागेको हो ।

पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

पिचितको नियुक्ति विवादित बनेपछि यसबाट प्रधानमन्त्री श्रेथालाई कुनै असर नपरोस् भनी उनले आफ्नो भूमिकाबाट राजीनामा दिइसकेका छन् । तर संवैधानिक अदालतले अझै पनि सेनाद्वारा नियुक्त सिनेटरहरूको उजुरीको आधारमा सुरु भएको मुद्दाको सुनुवाई गर्न सहमत भएको छ ।

बहुदलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीका श्रेताले पिचितको मुद्दामा थप अनुसन्धान भइसकेको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री श्रेथा आफू पदमै रहेमा मन्त्रिमण्डल पुनर्गठनको सम्भावना रहेको बताएका छन् ।

यदि उनलाई पदबाट हटाइयो भने फेउ थाईले प्रधानमन्त्रीका लागि नयाँ उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।

संवैधानिक अदालतले यसअघि पनि प्रधानमन्त्रीहरूलाई बर्खास्त गरिसकेको छ तर विश्लेषक थितिनान पोङसुधिराकले प्रधानमन्त्रीलाई पदच्युत गर्ने अपेक्षा आफूले नगरेको बताएका छन् ।

“मलाई लाग्छ उहाँ कारबाहीबाट जोगिनुहुनेछ किनभने उनको विकल्प सहज छैन,” पोङसुधिराकले भने ।
गत वर्ष राजनीतिमा प्रवेश गरेका रियल इस्टेट डेभलपर श्रेथाले आफू सत्तामा आएदेखि नै उनले नीतिको महत्वपूर्ण विरोधको सामना गर्नुपरेको छ । जुनमा भएको सर्वेक्षणले अधिकांश थाईहरूले उनको एजेन्डालाई अस्वीकार गरेको देखाएको छ ।

उनले लेस्बियन, समलिङ्गी, उभयङ्गी वा ट्रान्सजेन्डर भएका व्यक्ति (एलजीबीटीक्यू) समुदायको वर्षौंको वकालत पछि जूनमा लागू गरिएको विवाह समानताको लागि पक्षमा समर्थन गर्ने प्रतिज्ञा गरेका थिए ।

भाङलाई पुनः अपराधीकरण गर्ने र चार करोडभन्दा बढी थाईहरूलाई १० हजार भाट (२८० अमेरिकी डलर) वितरण गर्ने उहाँको प्रस्तावले राष्ट्रियस्तर र उनको गठबन्धन दुवैमा विवाद निम्त्याएको छ ।

पितालगायत आलोचकहरूले ‘राजनीतिक दललाई ध्वस्त पार्ने हतियारको रूपमा गरिएको राजनीतिकरणमा अदालत’ को प्रयोग नगर्न चेतावनी दिइरहेका बेला यो मुद्दा आएको हो ।

युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहहरूले पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) विघटन गर्ने अदालतको निर्णयको निन्दा गरेका छन् ।

एमएफपीका बाँकी सदस्यहरूले सन् २०२७ मा हुने अर्को राष्ट्रिय निर्वाचनमा परिवर्तन ल्याउने महत्वाकाङ्क्षाका साथ शुक्रबार ‘द पिपुल्स पार्टी’ नामक नयाँ अभियान सुरु गरेका छन् ।

सन् १९३२ मा निरङ्कुश राजतन्त्रको अन्त्य भएयता थाइल्यान्डले दशकौँदेखि राजनीतिक अस्थिरताको सामना गर्दै आएको छ ।

सुमेरू सहकारीका शेयरसदस्य राजबहादुर सिंहसँग संसदीय समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्थाका शेयरसदस्य राजबहादुर सिंहसँग सोधपुछ गरेको छ ।

समितिले सोमबार सिंहलाई बोलाएर सोधपुछ गरेको हो । समितिसँगको छलफलमा सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः संचालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको बताएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन् ।

नेप्से ७० अंकले बढ्दा २७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । सोमबार नेप्से ७० अङ्कभन्दा धेरैले बढेर २९ विन्दुभन्दा माथि पुग्दा २७ अर्बभन्दा धेरै रुपैयाँको ऐतिहासिक कारोबार भएको छ ।

आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै नौ वटा कम्पनीका शेयर नौ प्रतिशतले भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेली बुखारी कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्ने बताएका छन् ।

कम्पनीको सोमबार आयोजित पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताए ।

सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँदै उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए ।

“खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ”, मन्त्री भण्डारीले प्रश्न गरे, “कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन ? किन कार्य क्षेत्र विस्तार गर्न सकिएन ?” उनले परम्परागत रुपबाट कम्पनी चल्न नसक्ने जनाउँदै व्यावसायिक कार्ययोजना बनाउन सचेत गराए ।

देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पुँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ्न नसक्नुमा कमजोरी भएको औँल्याउँदै मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिए ।

“अब जग्गा बिक्री गरेर तलब सुविधा खाने प्रवृत्ति त्याग्नुपर्छ”, उनले भने, “देशका प्रमुख सरहमा ठूला बिक्री कक्ष राखेर व्यापार अभिवृद्धि गर्नुपर्छ ।”

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीले व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै संस्था समृद्ध हुने भएकाले एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले गत आर्थिक वर्षमा दुर्गम तथा सुगम जिल्लामा २९ हजार छ सय २३ मेट्रिक टन खाद्यन्न ढुवानी गरी वितरण गरिएको जानकारी दिए ।

रैथाने बाली संरक्षण र संवद्र्धनका लागि हालसम्म नौ स्थानीय तहसँग उत्पादन खरिदबिक्री सम्झौता गरिएको जानकारी दिँदै उनले कर्णाली प्रदेश सरकारको सहयोगमा रैथाने बाली प्रशोधन, प्याकिङ र मार्किङ गर्न मिलको स्थापना गरिएको बताए।

कम्पनीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न देशभरका ४३ जिल्लाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरी तीन हजार तीन सय ४५ मेट्रिक टन खाद्यान्न बिक्री गरेको उनको भनाइ छ । समारोहमा उत्कृष्ट घोषित कर्मचारीलाई सम्मान गरिएको थियो । 

भारतीय विदेश सचिवलाई परराष्ट्रमन्त्रीको आग्रहः ‘एयर कनेक्टिभिटी’ बढाउन भारतीय पक्षबाट सहयोग होस्

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले  शिष्टाचार भेट गरेका छन् ।


मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।


भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन् ।


मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन् ।


भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।


त्यसैगरी मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटनको प्रसङ्ग पनि उठाएकी थिइन् ।


मन्त्री राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन् । उनले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।

पृथ्वी राजमार्गमा निर्माणधीन १३ मध्ये पाँच पुलको निर्माण कार्य सम्पन्न

मुग्लिन । पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणधीन १३ पुलमध्ये पाँच पुलको निर्माण कार्य सम्पन्न भएको छ । यस पश्चिम खण्डमा रहेको ३८ दशमलव ८८ किमी सडक अन्तर्गत उक्त पुल निर्माण गरिएका हुन् । पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलका गाडी गुड्ने संरचनाको निर्माण भइसकेको छ ।

उनका अनुसार गत वर्ष नौ प्रतिशत भौतिक प्रगतिमा सीमित रहेको यस खण्डमा अहिले २८ प्रतिशत प्रगति पुगेको छ । यस खण्डमा चार र छ लेनको सडक निर्माण गरिनेछ । सडकको बीच भागबाट दायाँबायाँ २५/२५ मिटर दूरी कायम गरी सडक विस्तार कार्य गरिएको छ । त्यसअनुरुप दुई लेनमा २० किमी सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ ।

पश्चिम खण्ड विस्तारका लागि २०७८ भदौमा सम्झौता गरिएको थियो । यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । सम्झौता अवधि सकिन अब एक महिना मात्रै बाँकी रहेको छ ।

निर्माण कार्य ढिलो गरी सुरु गरिएको र कोरोनाका कारण निर्माण कार्य प्रभावित हुँदा सोचेअनुरुप प्रगति हासिल गर्न नसकिएको इन्जिनियर पौडेलले बताए ।

उनका अनुसार यस खण्डमा निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । सडक निर्माणमा एसियाली विकास बैङ्कको ऋण सहयोग रहेको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख रकम रहेको छ ।

वर्षायामको अवधिभर कालोपत्र कार्य रोकी नाला, पर्खाल निर्माणलगायत कार्यलाई प्राथमिकता दिइएको छ ।

नहर भत्किँदा धानखेतीमा क्षति

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ । गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् ।

असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छ भने चार घर जोखिममा परेका छन् । नहर नजिकै रहेको एक परिवार विस्थापित बनेको छ । धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

‘असार अन्तिम साता आएको बाढीले नहर भत्काएपछि हाम्रो धानखेती कटान हुन थालेको छ’, भीमदत्त–९ का स्थानीय अर्जुन नाथले भने, ‘हामीले कटान रोक्नका लागि अस्थायी तटबन्धको माग गरे पनि कतैबाट सुनुवाइ भएन ।’ उहाँले महिना दिन पुग्न लाग्दासमेत कुनै निकायबाट सहयोग नभएको गुनासो गरे ।

‘अहिले प्लाष्टिकले छोपेर खेत बचाउने प्रयास गरिरहेका छौँ’, नाथले भने, ‘महाकाली सिँचाइ र नगरपालिकामा धाउँदा पनि कतैबाट सहयोग प्राप्त भएन ।’ उक्त क्षेत्रमा पालिका प्रमुख तथा उपप्रमुख र यहाँका प्रदेशसभा सदस्यहरुले स्थलगत अवलोकन गरे पनि जमिनको कटान रोक्न कुनै प्रयास नगरेको स्थानीयको गुनासो छ ।

‘हेर्नलाई मन्त्री सांसद सबै आउनुभयो, हामीलाई आश्वासन मात्रै दिएर जानुभयो’, स्थानीय किरण नाथले भने, ‘हाम्रो करिब दुई कट्ठा धानखेती कटान भइसक्यो ।’

स्थानीयका अनुसार सामान्य वर्षामा समेत जमिन कटान हुन थालेको छ । तीन परिवारको पाँच कट्ठा बढी धानखेती कटान भएको छ । ‘खेत कटान भएर हाम्रो घरसम्म पुग्न २० मिटर मात्रै बाँकी छ’, उनले भने, ‘राति वर्षा भयो भने डरले घरमा सुत्दैनौँ ।’

भीमदत्त–९ का वडा सदस्य पशुपति सार्कीले नहर भत्किएपछि स्थानीयको घरखेत जोखिममा परेको बताए । ‘सुरुआतमा नहर भत्कियो, त्यसपछि स्थानीयको धानखेती कटान हुन थालेको छ’, वडा सदस्य सार्कीले भने, ‘कटानले गर्दा ब्रह्मदेव सडकसमेत जोखिममा परेको छ ।’ उनका अनुसार मटेनामा कटान हुँदा ठूलो क्षति गरेको छ । स्थानीयको खेतसँगै सडक भत्किएर आवतजाव बन्द भएको छ । 

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

गण्डकी । पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् ।

यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त देखिन्छ । घुमफिर, किनेमेल आदिका लागि पोखरा आएका सर्वसाधारण पनि साँझ गाडीमा कोचाकोच गरेर घर फर्कनुपर्ने अवस्था छ । बागलुङ बसपार्कदेखि दमौलीका लागि छुट्ने बस पृथ्वीचोकसम्म पुग्दा यात्रु खचाखच भइसकेका हुन्छन् ।

बसका चालकले भने यात्रु चढाउन छोड्दैनन् । बसमा सिट नभए पनि ठाउँठाउँमा रोक्दै यात्रु डाकिरहेका हुन्छन् । ट्राफिक प्रहरी भेटिँदा बसको ढोका बन्द गर्छन् । उभिएका यात्रुलाई भुइँतिर निहुरिएर बस्न अराउँछन्न्।

अर्को विकल्प नभए पनि यात्रु पनि घर जाने हतारले गाडीमा उभिन तयार हुन्छन् । यात्रु चढ्न र झर्न पनि मुस्किल हुनेगरी बसले यात्रु ओसारिरहन्छन् । कोचाकोच हुनेगरी यात्रु नचढाउन गरेको आग्रहलाई चालक र सहचालकले टेर्दैनन् । उल्टै नमीठो जवाफ फर्काउँछन् ।

दिउँसोको समयमा कम यात्रु लिएर हिँड्नु परेकाले साँझ–बिहान सिट सङ्ख्याभन्दा बढी यात्रु चढाउनुपर्ने बाध्यता रहेको उनीहरु सुनाउँछन् । ट्राफिक प्रहरीले बेवास्ता गर्ने भएकाले चालकलाई नियम मिच्न पनि सजिलो छ । दमौलीका लागि छुट्ने बसले अधिकांश स्थानीय यात्रुलाई सेवा दिँदै आएको पोखरा–दमौली चल्ने बसका सहचालक दीपक परियारले बताए ।

दमौली जाने बसमा पोखराकै चलाउँथे, विजयपुर, अर्घौं, तालचोक, भण्डारढिक, गगनगौँडालगायत ठाउँमा पुग्ने यात्रुलाई सेवा दिँदै आएको उनको भनाइ छ । पोखरा–मुग्लिन राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलाइले पनि सो क्षेत्रको आवातजावात कठिनाइपूर्ण रहेको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ हबल्दार आशिष क्षेत्रीले कुनै पनि सवारी साधनले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न नपाइने बताए । पोखरा–दमौली, पोखरा–बेगनासलगायतका रुटमा चल्ने सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आइरहेकाले ट्राफिक अनुगमनलाई कडाइ गरिने उनको भनाइ छ ।

“लामो दूरीका गाडीमा त यो समस्या छैन”, उनले भने, “पोखरा महानगर र बाहिरका नजिकका गन्तव्यसम्मको सार्वजनिक यातायातमा देखिएको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” स्थानीय रुटमा चल्ने सवारी साधनले विशेष समय र परिस्थितिमा एक/दुई यात्रुलाई उभ्याएर यात्रा गराउँदा ट्राफिक प्रहरीले व्यवहारिता हेर्ने गरेको वरिष्ठ हबल्दार क्षेत्रीले बताए ।

“खचाखच यात्रु उभिएरै यात्रा गरेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्छ”, उनले भने, “ट्राफिक व्यवस्थापन र अनुगमनलाई अझ चुस्त पार्छौँ ।” उनले ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम उल्लङ्घन नगर्न यातायात व्यवसायी र सवारी चालकहरुलाई आग्रह गरे ।

तोकिएको सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्दा गाडी दुर्घटनाको जोखिम बढी हुने उनको भनाइ छ । पोखरा–मुग्लिन सडक निर्माणको चरणमा रहेकाले उक्त सडकमा बढी यात्रु बोकेर सवारी साधन गुडाउँदा यात्रा कष्टकर हुने र दुर्घटनाको खतरा रहने ट्राफिक प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यान्त्रिक धेरै पुराना र प्रदूषणयुक्त सवारी साधन सञ्चालनमा कडाइ गरिएको बताए । यान्त्रिक हिसाबले सही अवस्थामा नरहेका धेरै पुराना सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने उनले उल्लेख गरे ।

“पुराना सवारी साधनबाट वायु र ध्वनी प्रदूषण पनि बढी हुन्छ, सवारी व्यवस्थापनमा पनि असहजता ल्याउँछ”, प्रहरी निरीक्षक शर्माले भने ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा दर्ता भई २० वर्ष नाघेका झण्डै चार सय सवारी साधन छन् । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ ले समेत २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाए पनि कतिपय सवारी धनीले अटेर गरी त्यस्ता सवारी साधन सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

बीस वर्ष पुराना सवारी साधन सञ्चालन गरेमा प्रदेशको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । मन्त्रालयले २० वर्ष नाघेका सवारी साधनको लगतकट्टा गरी दर्ता खारेजीको प्रक्रियामा आउन सवारी धनीलाई अनुरोध गर्दै आएको छ । 

बाबु र छोरा पुस्तालाई नजिक बनाउने ‘वर एण्ड वधु’

काठमाडौँ । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।

“पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्मभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ”, निर्देशक चाम्सले भने ।

नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्रमा नेपाल र प्रवासी नेपालीको विवाह सन्दर्भलाई देखाइएको छ । अभिनेत्री आँचल शर्माले यस चलचित्रमा आफूले चुलबुले तर आत्मविश्वासी युवतीको भूमिकामा अभिनय गरेको जानकारी दिइन् ।

चलचित्रमा आँचलको जोडीका रुपमा विवेक कर्मचार्यलाई देख्न सकिन्छ । अभिनेता कर्माचार्यले पात्रलाई जीवन्त बनाउन सक्दो मेहनत गरेको प्रतिक्रिया दिए ।

“पहिलो चलचित्रमा सबैको साथ लिएर काम गरेको छु । मैले हरेक दृश्यमा शत प्रतिशत मेहनत गरेको छु । यो मेरा लागि सिकाई पनि बनेको छ, अवसरका लागि कृतज्ञ छु”, उनले भने ।

चलचित्रमा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, यमन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा सुस्मिता वाईवाले नृत्य निर्देशन गरेकी छन् ।

एक लाख बढीले गरे पशुपतिनाथको दर्शन

 काठमाडौँ। आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएको छ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताए ।

भगवान शिवजीको महिना र बार भएकाले पनि साउनको सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गरेको विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । थापाका अनुसार आज साउनको अन्तिम सोमबार भएकोले अघिल्ला सोमबारको तुलनामा बढी भक्तजन आएका हुन् ।

‘साउनमा पशुपतिनाथमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ,’ उनले भने, ‘आज अन्तिम सोमबार भएकोले बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने र भारतबाट आएका भक्तजनका कारण घुइँचो बढेको हो।’

आज काठमाडौँ उपत्यकाका पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायतका मन्दिरहरुमा महादेवको पूजा आराधना गर्न भक्तजनहरुको भीड लागको छ।

स्वास्थ्यमन्त्री पौडेलद्वारा १७ वटा अस्पतालको ‘रिपोर्ट’ कार्ड सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन्।

अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा संघीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएपछि मन्त्री पौडेलले रिपोर्ट कार्ड सार्वजनिक गरेका हुन। बाँकी संघीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग (थापाथली अस्पताल), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), भक्तपुर क्यान्सर अस्पताल (दूधपाटी भक्तपुर), भरतपुर अस्पताल (चितवन), राष्ट्रिय ट्रमा सेन्टर (महाङ्काल काठमाडौँ), भेरी अस्पताल (नेपालगञ्ज, बाँके), नारायणी अस्पताल (वीरगञ्ज), मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (काठमाडौँ) र कान्ति बाल अस्पताल (महाराजगञ्ज, काठमाडौँ)को प्रगति विवरणमा सार्वजनिक गरिएको छ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) जिपी कोइराला रााष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र (दुलेगौँडा तनहुँ), डडेलधुरा अस्पताल (डडेलधुरा), वीर अस्पताल, आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल, काठमाडौँ) को विवरण सार्वजनिक गरिएको हो।

सङ्घीय अस्पतालको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि मन्त्री पौडेलको उपस्थितिमा यही साउन ३ गते सङ्घीय अस्पताल र प्रतिष्ठानका प्रमुखहरुसँग संयुक्त बैठक बसेर नौ बुँदे निर्णय भएको थियो। निर्णय गरेको भोलिपल्ट उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले अस्पतालहरुलाई पत्राचार गरेको थियो।

अस्पतालहरुले भीड नियन्त्रण र व्यवस्थापन गर्ज अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको (इएचएस), बहिरङ्ग (ओपीडी) सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना÷डिस्चार्जबीचमा समन्वय, चिकित्सकहरुको राउन्डको तालिका तय, डिजिटल प्रणालीको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीलगायत कार्यलाई प्राथमिकता दिएका अस्पतालहरुको विवरणमा उल्लेख छ।

साथै अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निःशुल्क व्यवस्थालगायत विभिन्न योजनाहरू समावेश छन्।

गुनासो व्यवस्थापनका लागि सहायता कक्ष र गुनासो बक्सको व्यवस्थापन गरिएका छन् । यी प्रयासले भीड व्यवस्थापनमा सहजता थपेको अस्पतालको विवरणमा उल्लेख गरिएको छ।

औषधिको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएका बिरामीका लागि फार्मेसी सेवालाई व्यवस्थित गरिएको छ। सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको रिपोर्ट कार्डमा समावेश छ। बिरामी र आगन्तुकका लागि जाँच र सहायता कक्षको व्यवस्था गरिएकाले अस्पतालका सेवालाई थप प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउँदै लगिएको रिपोर्ट कार्डमा उल्लेख छ।

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो भन्ने आमनागरिकको गुनासो मन्त्रालय सम्हाल्नुअघि नै देखेको हो । लामो समयदेखिको यो समस्यालाई समाधान गर्न सम्बन्धित निकायले पनि प्रयास गरिरहेका थिए । स्वास्थ्य सेवालाई नागरिकमैत्री र सहज बनाउन हामीले प्रयास थालेका छौँ।’

आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा सरकार सदैव अस्पताल तथा सरोकार भएकासँग सहकार्य र समन्वय गर्न तयार रहेको उनले बताए। 

नेपालका सुरक्षा निकाय र अध्यागमनलाई सुदृढ बनाउन सक्दो सहयोग गर्छौंः भारतीय विदेश सचिव

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार भएकोभेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए । 

भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पुर्याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिए । सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिएको उनको सचिवालयले जनाएको छ । 

भेटमा भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने स्पष्ट पारे ।

साथै उनले नेपालका सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

सचिव मिस्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच सांस्कृतिकलगायत धेरै समानता रहेको उल्लेख गर्दै उनले आगामी दिनहरुमा पनि यो सम्बन्ध अझै प्रगाढ हुने उल्लेख गरे । 

भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आएका हुन् । विदेश सचिव मिस्री दुईदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किने कार्यक्रम छ ।

भारतको पुनेमा दलालले बेच्न लगेकी एक नेपाली चेलीको उद्दार

भारत, पुने, बिष्णु गौतम । भारतको पुनेमा बेचबिखन गर्न लगिएकी एक नेपाली चेलीको उद्दार गरिएको छ । नेपाली दलालले ललाइफकाइ नेपालगन्ज हुँदै मुम्बई पुनासम्म पुर्याइएकी शर्मिला कुम्बाईको उद्दार गरिएको हो ।

दलालको पञ्जाबाट आइतबार राति भाग्न सफल भएकी शर्मिला पुनेस्थित चिन्चड पुलिस स्टेसन पुगेकी थिइन् । उनलाई दलालले नककली परिचय पत्र बनाइ लखनउबाट हवाई मार्ग हुँदै पुने पुर्याएको खुलेको छ ।

उनलाई पुने नजिक चिन्चड पुलिस स्टेसनमा राखिएकोमा पछि अखिल भारत स्वतन्त्र समाज पुनेका समाजसेवीहरु सबै मिलेर माइती नेपालमा सम्पर्क गरि आजनै नेपाल पठाएको राजु विश्वकर्माले जानकारी दिए ।

शर्मिला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का रबिलाला कुम्बाईकी छोरी भएको खुलेको छ । दलालहरु ३ मध्ये एक महिला र २ पुरुष रहेका शर्मिलाले बताएकी छन् । तिनीहरुमध्ये एक जनाको नाम विवेक बस्नेत रहेको पनि उनले बताएकी छन् ।

बङ्गलादेशमा अवामी लिगमाथि प्रतिबन्ध नलगाइने गृहमन्त्रीको भनाइ

बङ्गलादेशको अन्तिरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन् ।

“आवामी लिग पार्टीले बङ्गलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौं,” सखावत हुसेनले भने, “निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।”

गृहमन्त्रीको यो भनाइ बङ्गलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो ।

आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारततर्फ गएकी थिइन् । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दावी गरेका थिए ।

“हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उनले एएफपीसँगको अन्तर्वार्तामा भने, “अवामी लिगबिना बङ्गलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।”

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु, नौ घाइते

भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त घटना भएको हो ।

घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताएका छन् । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।

जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताएका छन् ।

यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गरेका छन् । उनका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

राज्यले युवाहरुको भावनालाई बुझेर नयाँ नीति बनाउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन् ।

उनले भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

उनले युवाको सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । उनले युवाहरुको आवश्यकता र भावनालाई बुझेर नयाँ नीतिको आवश्यकता भएको बताए ।

मधेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि संघीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ । विश्व बैंकको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो ।

मधेस प्रदेशको चारवटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो । हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका अनुसार महोत्तरीको सम्सी, सोनमा र धनुषाको वटेश्वर तथा जनकन्दनी गाउँपालिकामा कार्यक्रम विस्तार गरिएको छ ।

दोस्रो चरणमा छनौट भएका उक्त पालिकामा यही साउनदेखि कार्यक्रम कार्यान्वयनमा आइसकेको छ । यसअघि पहिलो चरणमा धनुषाका मुखियापटी मुसरनिया, धनौजी तथा महोत्तरीको पिपरा एकडारा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि अधिकृत तिवारीले बताए । सप्तरी तथा सिरहामा पनि कार्यक्रम सञ्चालन भइरहको छ ।

कार्यक्रम विश्व बैंकको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रिकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा सङ्घीय सरकारले ल्याएको उनले जानकारी दिए।

पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्णसहित शीर्ष स्थानमा

पेरिस । आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, जापान, अष्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कास्यसहित ५३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको नेदरल्याण्ड्सले १५ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३४ पदक जितेको छ भने बेलायतले १४ स्वर्ण, २२ रजत र २९ कास्यसहित ६५ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० कास्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ४० पदक जित्दै इटाली नवौँ स्थानमा छ । जर्मनी १२ स्वर्ण, १३ रजत र ८ कास्यसहित कुल ३३ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच आर्थिक तथा विकास सहायताका विषयमा छलफल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् ।

चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।

घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

भत्कियो गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा न १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ । सोमवार बिहान करिव ७ः५५ बजे पर्खाल भत्केको हो ।

प्रधानमन्त्रीलाई मुकुल ढकालका १५ सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसक्षम १५ बुँदे सुझाव पेस  गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर ढकालले १५ बुँदे सुझाव पेस गरेका हुन् ।

उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितको समस्या समाधान, संविधान संशोधनलगायत विषयमा सुझाव पेस गरेका छन् ।

त्यस्तै ढकालले जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद खारेज गर्न सुझाव दिएका छन् । त्यस्तै थ्रेस होल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न पनि सुझाव दिएका छन् ।

उनले अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन् ।

त्यस्तै उनले लुम्बिनीमा मायादेवी प्रसूति गृह एवं गौतम बुद्ध शिशु स्याहार अस्पताल निर्माण, वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरूका लागि उद्धार, न्यायालयमा सुधार, कानुन निर्माणमा चुस्तता, संविधान संशोधनका लागि सुझाव प्रस्तुत गरेका छ्न ।
उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । पार्टीमा नबुझाई प्रतिवेदन बाहिर ल्याएको भन्दै पार्टीले उनलार्ई महामन्त्री, प्रवक्ता पदबाट निलम्बन गरेको छ ।

बैतडीमा पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

बैतडी । वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताए।

पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताए।

यसैबीच वर्षातका समयमा विपद्का घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ।

पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

बैतडी – वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताउनुभयो । पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताउनुभयो । यसैबीच वर्षात्का समयमा विपद्का घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमः ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’

चितवन । मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए।

उनले भने, ‘स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ।’ अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग परे। लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उनको भनाइ छ।

माडी नगरपालिका–७ बाट उपचारका लागि भरततपुर अस्पताल आएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाइदा गरेको बताए। उनले भने, ‘ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बीमा फलदायी छ।’

पहिला आफूलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बीमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उनले जानकारी दिए। उनले भने, ‘हामीजस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ। उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ।’

यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बीमामार्फत उपचार गराउँदै आएको बताए। अस्पतालको टिकट काउन्टर अगाडि भेटिएका उनी पेटमा समस्या भएर अस्पताल आएका हुन्।

उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रममले धाने जति उपचार गर्न पाइएको छ।’ थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उनले खुसी व्यक्त गरे। आफूले सहुलियतामा उपचार गर्न पाएको जनाउँदै उहाँले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताए।

यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमामा जोडिएका हुन्छन्। गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बीमाका बिरामीको उपचार गरिएको अस्पतालको बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिए। उउनले भने, ‘बीमा गरेका कमजोर आर्थिक अवस्था भएकाहरूलाई उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन।’

आव २०७९/८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिए। एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन्।

पौडेलका अनुसार सो वर्ष ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो। बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनको भनाइ छ।

चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बीमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बीमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताउँछन्। अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बीमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उनले बताए।

उनले भने, ‘बीमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बीमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ।’ स्वास्थ्य बीमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ। उनले भने, ‘स्वास्थ्य बीमा विशेषगरी विपन्नका लागि बरदान सावित भएको छ।’ बीमा कार्यक्रम लागू भएसँगै बिरामीको सङ्ख्या पनि ह्वात्तै बढेको उनको भनाइ छ।

निर्वाध सत्ता चाहनाको यात्रा जब ‘कू देताँ’ मा परिणत हुन्छ, त्यसको भोगाई पनि कम कठिन हुँदैन

जेपी गुप्ता ।
कहिलेकाहीँ ‘क्रान्ति’ र ‘कू’ एउटै जस्तो हुन्छ । तलको पोष्ट पढेर आज नेपालमा धेरैलाई न मिठो लाग्दो हो। स्वभाविक नै हो ।
हामी कहाँ हिन्दूत्वको नाममा राजाको पुरानो हुकुमी शासन ल्याउन चाहनेहरू नेपाल उपर लगाइएको भारतीय नाकाबन्दीलाई बिर्सेर भारतमा मोदी महोदयको अविच्छिन्न बहुमतीय राजको प्रसस्ति गरिन्छ।

तिनैलाई आज बंगलादेश दुःखीरहेको छ। अहिले बंगलादेशमा हिन्दूहरूकाबिरूद्ध भैरहेको दुर्व्यवहारलाई कदापी पनि ठिक भन्न सकिन्न । तर, धेरैले याद गर्दैनन् कि सन् २०२४ मै भारतमा मोदी सरकारले आप्रवासी घुसपैठी बंगलादेशीको नाममा त्यहाँ दशकौं देखि बसिरहेका मुसलमानहरूलाई राज्य बिहीन पार्न नयाँ नागरिकता कानुन (CAA) ल्याउँदा बंगलादेशका मुसलमानहरू तथा त्यहाँका राजनीतिक दलहरूले कडा प्रतिकृया जनाएका थिए। भारतको असम राज्यमा के भैरहेको छ ? त्यहाँका मुख्यमन्त्री हेमन्ताविश्व शर्माका निरन्तर आइरहेका वक्तव्यहरूलाई त्यता र यताका समेत पाखण्डीहरूले नजरअन्दाज गरिरहेका हुन्छन्। यी सबको प्रताडना गलत रूपमै भएपनि आज बंगलादेशी हिन्दूहरू भोग्न बाध्य छन् । जुन एकदमै गलत हो। शेख हसिनाले कसरी शासन चलाएकी थिइन् ? हामी त्यता जान चाहँदैनौं ।

जबकी, त्यहाँका कट्टरपन्थी धर्मान्ध मुसलमानहरूले हिन्दूहरू उपर मौका छोपेर आक्रमण थाल्दा आज शेख हसिना प्रति सहानुभूतिशील हुदैछन् नेपालीहरू । बंगलादेशमा मोहम्मद युनुस आज अन्तरिम सरकारका मुखिया भएका छन् । यिनी उपर केही अघि श्रम कानूनको उल्लंघन गरेको आरोपमा जेल सजाय सुनाइएको थियो । यिनी बंगलादेशबाट शेख हसिनाको पलायन पछि मात्र पेरिसबाट ढाका फर्किएका हन् । भारतमा मोदी सरकारका सबैले नेबेल पुरस्कार प्राप्त अमर्त्य सेनको किन आलोचना गर्छन् ? बंगलादेशमा ति नोबेल पुरस्कार पाउने मोहम्मद युनुस किन सजाय पाए ? किन पेरिस तिर लाग्न बाध्य भए ?

त्यहीँको अदालतले भ्रष्टाचारमा दोषी ठहर्याएर अर्का पूर्वप्रधानमन्त्री बेगम खालिदालाई किन लगातार १३ वर्षसम्म जेलमा कोचे ? त्यहाँको अदालतले किन र कसरी शेख हसिनाको आरक्षण कानूनको प्रतिरक्षा गरेका थिए ? हिजो मात्रै १ घण्टा भित्र राजीनामा नदिए बंगलादेशका सर्वोच्च अदालतका प्रधानन्यायाधीशको निवास भित्र छिर्ने लाखौं छात्रहरूको चेतावनी पछि राजीनामा दिनुपर्यो । अदालत किन तारो भएका छन् ? यसबारे न त भारतमा, न त नेपालमा कुनै चर्चा छ ।

नेपाली बहुसंख्यकहरूले नाक मुनीको जुंगालाई लुकाउन चाहेर जातीय पाखण्डपना देखाइरहेका छन् । बंगलादेशमा हसिनाले सन् ७१ को ‘वार भेटरान’ भनेर तिनका चौथो वा पाचौं पुस्ताकाहरूलाई सरकारी जागिरमा आरक्षण निश्चित गरेको थियो । नेपालमा बहुसंख्यक शासक वर्गले हाल प्रचलित कथित आरक्षणको नाममा सरकारी जागिरहरूमा कसको हितको चिरस्थायी सम्बर्द्धन तथा प्रबर्द्धन गरिरहेका छन् ? नेपालमा बि.स. २०६३ पछि सशस्त्र जनयुद्धको नाममा, यसमा पीडितको नाममा कसले राज्यको दोहन गरिरहेको छ ? नेपालमा यहाँका बुद्धिमठाधिशहरूले यसको खोजी गर्दैनन् ! किन कि यिनीहरू नेपालमा बंगलादेशका हसिना की बैचारिक उत्तराधिकारीहरू हुन् ।

हसिना की ब्रा, पेन्टी, अन्तरबस्त्रहरू, परिधानका बस्तुहरू, साजसज्जा, बिलासिताका साधनहरू, कुकुर–बिरालोहरू लुटियो । बंगबन्धु शेख मुजीबका सर्वत्र शालिकहरू तोडियो । यो राम्रो भएन, तर भयो यही नै। यस्तै हुदै आएको हो। भारतको बंगाल राज्यको कलकत्तामा ज्योतिबसुका माक्सवादीहरूले अमेरिकन कन्सुलेट अफिसमा आक्रमण गरि लुटपाट गर्दा यही नै गरे । तेहरानमा शाह रेजा पहल्बी दरबार छोडेर भागेपछि यस्तै भयो । इमेल्डा मार्कोसका साथ के भएको थियो ? तिनका पेन्टी र जुता चप्पलहरू महिनौसम्म चर्चामा थियो । भारतमा जयललिता उपर भ्रष्टाचारको मुद्दा लगाई जेल पठाइँदा के भयो ? नेपाली पाखण्डीहरू आज बंगलादेशका चर्चा गरिरहेका छन् । गर्नु पनि पर्छ। त्यहाँ गलत नै भएको हो । तर, यस कुरालाई किन बिर्सिने कि राजा त्रिभुवनले निजी ऋण तथा सापटी लिने गरेका नेपाली काँग्रेसका नेता सूवर्ण शम्सेर, ०१७ सालमा राजा महेन्द्रले कू गर्नु पूर्व भारत निर्वासनमा गएपछि त्यसबेला उनका श्रीमतीका साथ ललिता निवासमा के भयो ?

सूवर्णजीका परिवारका महिला सदस्यहरूका समेत अन्तरवस्तुहरू राजा महेन्द्रले लिलाम गराएर, प्रदर्शनमा राखे, बेइज्जत पार्न कुनै कसर बाँकी राखेनन् । चाहनेले त्यसबेलाका समाज दैनिकहरू हेरे हुन्छ । गृष्म बहादुर देवकोटाका पुस्तक पढे पनि हुन्छ। यस अर्थमा राजा ज्ञानेन्द्र भाग्यशाली रहे, किनकी उनले संसारमा तानाशाहहरू जनरोषको जातोमा पिसिनबाट जोगिन भाग्नु पर्दा हुने हबिगतको हेक्का राखे र पो आज भन्दै छन्–’मैले सुम्पेको जनताको नासो अब लिने बेला भएको छ!’ क्रान्तिको दुष्परिणाम कठिन हुन्छ मित्रहरू, जुन आज बंगलादेशमा भैरहेको छ । यद्यपि, निर्वाध सत्ता चाहनाको यात्रा जब ‘कू देताँ’ मा परिणत हुन्छ, त्यसको भोगाई पनि कम कठिन हुदैन !

पर्यटकको रोजाइमा इलाम

इलाम। अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०र८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् ।

गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए । सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

पर्यटन सूचना केन्द्रको तथ्याङ्कानुसार अघिल्लो आव २०७९र८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८र७९ मा एक लाख २९ हजार पाँच सय ८१ पर्यटक इलाम घुम्न आएका थिए ।

कोरोना सङ्क्रमण बेला आव २०७८र७९ मा २९ हजार आठ सय ११ जनामात्र इलाम घुम्न आएका थिए ।

“जोरकलश प्रवेशद्वारबाट भित्रिएका पर्यटकको तथ्याङ्कमात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट हजारौँ पर्यटक भित्रिने गरेका छन्”, सूचना अधिकारी घिमिरेले भने, “कोरोनाकालपछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ ।”

कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको पाइएको हो ।

इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

पर्वतमा सुरक्षित गर्भपतन सेवा लिने बढे

पर्वत । पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार सरकारी स्वास्थ्य संस्थाबाट मात्र नौ सय सात जनाले गर्भपतन सेवा लिएका थिए । यसैगरी जिल्ला सदरमुकाम कुश्मामा रहेको मेरी स्वास्थ्य सेवा क्लिनिका प्रमुख फूलमाया सापकोटाका अनुसार गत आव मा तीन सय ९० जनाले गर्भपतन सेवा लिएका थिए ।

जनस्वास्थ्य अधिकृत पिसीका अनुसार सोही आवमा सरकारी स्वास्थ्य संस्थामा छ सय २२ सुत्केरी भएका थिए । ती मध्ये दक्ष प्रसूतिकर्मीबाट तीन सय ९१, दक्ष स्वास्थ्यकर्मीबाट एक सय ३२, अन्य स्वास्थ्यकर्मीबाट ९१ र घरमा तथा स्वास्थ्यचौकी जाँदै गर्दा बाटोमा गरी आठ जना सुत्केरी भएका थिए ।

सोही अवधिमा औषधि सेवन गरेर सात सय छ जनाले र सामान्य शल्यक्रियामार्फत दुई सय एक जनाले सरकारी स्वास्थ्य संस्था र दुवै विधिबाट गरी मेरी स्वास्थ्य सेवा क्लिनिकबाट तीन सय ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

असूचिकृत स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन कति जनाले गराए भन्ने एकीन जानकारी जिल्ला स्वास्थ्य कार्यालय मा छैन । पर्वत अस्पतालको तथ्याङ्कानुसार गर्भवती भएपछि पहिलो पटक परीक्षण गर्न स्वास्थ्य संस्थामा पुगेका महिलाको सङ्ख्या गत आवमा एक हजार एक सय १८ छ ।

असुरक्षित यौन सम्पर्कबाट गर्भ रहनुजस्ता कारणले गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए । उनले भने, “अनिच्छित गर्भ बस्न नदिन नै गर्भपतन सेवा आवश्यक पर्छ । कम उमेरमा हुने विवाह, दुई–तीन बच्चा भइसक्दा पनि अस्थायी साधनको प्रयोग नगर्दा अनिच्छित गर्भ रहने जोखिम हुन्छ । ”

औषधि पसलबाट आफ्नै तरिकाले असूचिकृत औषधि सेवन गर्ने, असूचिकृत स्वास्थ्य संस्थामा आफ्नै तरिकाले गोप्य रूपमा ‘सर्जिकल एबोर्सन’ गराउने, यसबाट केही समस्या आएका मात्र सरकारी स्वास्थ्य संस्थामा आउने, पहिचान लुकाउनका लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गर्भपतन गराउने प्रवृत्तिले असुरक्षित गर्भपतन जोखिम बढाएको कार्यालय प्रमुख शर्माले बताए ।

यसैगरी सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको सङ्ख्या गण्डकी प्रदेशमा वृद्धि हुँदै गएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशअन्तर्गतका ११ जिल्लाको दुई सय ५३ स्वास्थ्य संस्था गर्भपतन सेवाका लागि सूचीकृत भएका थिए ।

निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अञ्जु पौडेलका अनुसार गत आवमा १२ हजार एक सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिए थिए । यसरी सेवा लिनेमध्ये २० वर्षभन्दा कम उमेरका पाँच सय ७३ थिए । पोखरा महानगरपालिकाभित्र गत आवमा एक हजार पाँच सय १७ ले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिइएको थियो भने २०७३ देखि सबै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गरिएको थियो ।

सरकारले आधारभूत स्वास्थ्य सेवाका रूपमा सुरक्षित गर्भपतन सेवालाई लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ४३ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने गरेका छन् । अर्थात् असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ५७ प्रतिशत छ । असुरक्षित गर्भपतनले महिलाको समग्र स्वास्थ्यमा गम्भीर असर पुग्ने बताइएको छ ।

अर्कोतर्फ सुरक्षित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने सेवाग्राहीलाई जानकारी नै छैन । सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक डा केपी उपाध्याय सेवाग्राहीलाई सुरक्षित गर्भपतन सेवा निःशुल्क छ भन्ने जानकारी नहुँदा असुरक्षित गर्भपतनको सङ्ख्या वृद्धि भएको हुनसक्ने बताउँछन् ।

उनी भन्छन्, “ अझै अनधिकृत औषधिबाट गर्भपतन गराउने क्रम रोकिएको छैन । अनधिकृत औषधिले महिलाको ज्यान नै खतरामा पर्छ, यसतर्फ सरकार थप गम्भीर बन्नुपर्छ । ”

सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ अनुसार गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ ।

गर्भपतन नगराएमा गर्भवतीको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलाई गर्भवतीको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ ।

यसैगरी, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले अशक्तता हुने अवस्था रहे उपचारमा संलग्न स्वास्थ्यकर्मीको रायबमोजिम गर्भवतीले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ ।

गर्भवतीको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाइफकाइ, झुक्याइ वा प्रलोभन देखाई, लिङ्ग पहिचान गरी लिङ्गका आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था ऐनमा छ ।

खाली कन्टेनर नहटाइँदा सिर्सियास्थित सुक्खाबन्दगाह भन्सारको ‘यार्ड’  भरिभराउ

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिए ।

‘विशेष गरेर कोभिड महामारीको समयमा थुप्रिएको खाली कन्टेनर अहिलेसम्म पनि यथावत रुपमा नै रहेका छन्’, उनले भने, ‘अहिले मालवाहक कन्टेनर सामान बोकेर आउने गर्छन् । जति सामान बोकेर आउँछन् । त्यत्ति नै खाली कन्टेनर बोकेर जाँदा पहिलाको खाली कन्टेनर यथास्थितिमा रहिरहने प्रवृत्ति देखिएको हो ।’

कार्यालयका अनुसार दुई सय कन्टेनरमा भने लिलामी गर्नुपर्ने विभिन्न सामान तथा उपकरण रहेका छन् ।

प्रमुख भन्सार अधिकृत बरुवालले खाली रहेका कन्टेनर लैजानका लागि र्‍याक खाली भएको कार्गो रेल आउनुपर्ने बताए । ‘कार्गो रेलले एकपटकमा कम्तीमा पनि ६० कन्टेनर ओसार्न सक्ने क्षमता रहन्छ’, उनले भने, ‘यहाँ रहेका खाली कन्टेनर हटाउनका लागि कम्तीमा पनि २० देखि ३० पटक खाली र्‍याक भएको कार्गो रेल ल्याउनुपर्ने हुन्छ ।’

प्रमुख भन्सार अधिकृत बरुवालले नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टलाई खाली भएका कन्टेनर हटाउनका लागि छलफल गर्दै आइरहेको बताए ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनर भरिभराउ देखिए पनि अधिकांश खाली रहेको उनको भनाइ छ ।

यहाँ विशेषगरी विशाखापट्टनम र कोलकाताबाट धेरै मालवाहक कन्टेनर आउने गर्छन् । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ ।

यो यस्तो खालको बन्दरगाह हो, जहाँ कार्गो रेलबाट मात्र मालसामान ल्याउने गरिन्छ । यो सन् २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोड लागतमा निर्माण गरिएको हो ।

भारत सरकारको २० करोड लागतमा रक्सौलबाट बन्दरगाहसम्म रेल लिक निर्माण गरिएको हो । अहिले सुक्खा बन्दरगाह व्यवस्थापनको काम भने इन्टरमोडल यातायात विकास समितिमार्फत हुँदै आइरहेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि तीन अर्ब ३३ करोडमा ठेक्का सम्झौता भएको छ ।

प्रिष्टिनले सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापन गरेबापत औसतमा वार्षिक ६६ करोड समितिलाई उपलब्ध गराउने गर्छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बोल्न बाँकी केही केन्द्रीय सदस्यहरु र पछि पदाधिकारीले धारणा राखेर कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिने छ ।

काभ्रेमा विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ

काभ्रे। काभ्रेका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी गरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ ।

सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातजनालाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो ।

चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ ।

प्रनाउ श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा भक्तपुरको जगातिस्थित प्रहरी वृत्तसँगको संयुक्त टोलीले गिरोहका थप तीनलाई पक्राउ गरी भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तारलगायत सामान बरामद गरिएको हो ।

उनीहरूले कवाडी सामान सङ्कलन गर्ने बहानामा काभ्रेको विभिन्न स्थानमा राखिएका ट्रान्सफर्मरको अवस्था पत्ता लगाई रातको समयमा ट्रान्सफर्मर निकाली फोडेर तामाका तार चोरी गर्ने योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनका अनुसार उक्त गिरोहले बस्ती, खानेपानी तथा सिँचाइका लागि व्यवस्थित गरिएका ट्रान्सफर्मर चोरी गरेका हुन् ।

गिरोहले करिब डेढ महिनाको अवधिमा भुम्लु गाउँपालिका–९ मेलडाँडास्थित एनसेल टावर, तेमाल गाउँपालिका–५ मनकुलबेँसीस्थित खानेपानी, नमोबुद्ध नगरपालिकाको ६ नम्बर वडास्थित बृहत् खानेपानी तथा ५ नम्बर वडाको कानपुर खानेपानी, मण्डनदेउपुर नपा–९ रानीटारस्थित खानेपानी र मण्डदनदेउपुर–७ को खानेपानीका लागि राखिएका ट्रान्सफर्मर चोरेका थिए ।

पक्राउ पर्नेमा काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३० वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत र २४ वर्षीय जगन्नाथ बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२ वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक र २४ वर्षीय प्रेम मिजार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान नियन्त्रणमा लिएको छ ।

विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थपी अनुसन्धान भइरहेको जनाइएको छ ।

राजस्थानको करौलीमा वर्षाका कारण घर भत्किँदा दुईको मृत्यु, तीन घाइते

करौली जिल्लाको नदीदरवाजा क्षेत्रमा आइतबार बिहानको भीषण वर्षाका कारण घर भत्किँदा एक बालकसहित दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । घटनामा मृत्यु हुनेमा ३५ वर्षीया जाकिर खान र १२ वर्षीया जिया खान रहेका छन् ।

सरकारी अस्पताल करौलीका प्रिन्सिपल मेडिकल अफिसर (पीएमओ) रामकेशले घटनाबारे जानकारी दिँदै भने,“बिहान ७ः१५ बजेतिर अस्पतालमा नदीदरवाजा क्षेत्रमा रहेको घर भत्किएको र भग्नावशेषमा धेरैको ज्यान गएको सुचना आएको थियो । सुरुमा दुईवटा शव जिया खान र उनका बुबा जाकिर खानलाई अस्पताल ल्याइएको हो । घटनामा अन्य तीन जना सामान्य घाइते भएका थिए ।”

उक्त घर भत्किँदा कम्तीमा पाँचजना भग्नावशेषमा पुरिएको र उद्धार कार्यपछि दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले घर जीर्ण भएको अधिकारीहरुले बताएका छन् । राजस्थानका केही भागहरूमा तीव्र वर्षा भइरहेको छ । वर्षाका कारण गङ्गापुर शहरलगायत क्षेत्रहरु गत तीन दिनमा जलमग्न भएको थियो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी साता केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बङ्गलादेशमा अल्पसङ्ख्यक विरुद्धको हिंसाको विरोधमा लण्डनको संसद बाहिर प्रदर्शन

यस साताको सुरुमा पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समुह विरुद्ध भएको हिंसाको विरोधमा लण्डनको संसद भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् ।

बङ्गलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए।
प्रदर्शनमा विभिन्न मानव अधिकार सङ्गठनका कार्यकर्ता, बङ्गलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागिता रहेको थियो ।

बङ्गलादेशका एकजना प्रदर्शनकारी उनादीले बङ्गलादेशी अल्पसङ्ख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताए ।

“हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकुन्। तर अहिले हामी बहुसङ्ख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भने ।

“जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ । अहिलेको आधुनिक समयमा सबै समुदायहरू शान्तिपूर्वक बाच्नुपर्छ । हामी सबै समान छौँ”, उनले भने ।

बेलायतको बङ्गाली क्रिश्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिए ।

बहुसङ्ख्यक समुदायको अत्याचारका कारण बङ्गलादेशी अल्पसङ्ख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन् ।

“विगत पाँचदेखि छ दिनदेखि बङ्गलादेशमा अल्पसङ्ख्यकहरुले भोग्नुपरेको हिंसाको विरुद्धमा हामी यहाँ भेला भएका छौँ । उनीहरूले हामीबाट हाम्रो देश खोस्न सक्दैनन्, हामीलाई निर्वासित गर्न सक्दैनन्। हामी हाम्रो देशमा सुरक्षित र शान्तिपूर्वक बाँच्न चाहन्छौँ। अल्पसङ्ख्यकहरू विरुद्धको हिंसा रोक्नुपर्छ ”, उनले भने ।