`

निर्वाध सत्ता चाहनाको यात्रा जब ‘कू देताँ’ मा परिणत हुन्छ, त्यसको भोगाई पनि कम कठिन हुँदैन

Nepal One HD २८ साउन २०८१ १०:१६
अन्तर्वार्ता/बिचार

जेपी गुप्ता ।
कहिलेकाहीँ ‘क्रान्ति’ र ‘कू’ एउटै जस्तो हुन्छ । तलको पोष्ट पढेर आज नेपालमा धेरैलाई न मिठो लाग्दो हो। स्वभाविक नै हो ।
हामी कहाँ हिन्दूत्वको नाममा राजाको पुरानो हुकुमी शासन ल्याउन चाहनेहरू नेपाल उपर लगाइएको भारतीय नाकाबन्दीलाई बिर्सेर भारतमा मोदी महोदयको अविच्छिन्न बहुमतीय राजको प्रसस्ति गरिन्छ।

तिनैलाई आज बंगलादेश दुःखीरहेको छ। अहिले बंगलादेशमा हिन्दूहरूकाबिरूद्ध भैरहेको दुर्व्यवहारलाई कदापी पनि ठिक भन्न सकिन्न । तर, धेरैले याद गर्दैनन् कि सन् २०२४ मै भारतमा मोदी सरकारले आप्रवासी घुसपैठी बंगलादेशीको नाममा त्यहाँ दशकौं देखि बसिरहेका मुसलमानहरूलाई राज्य बिहीन पार्न नयाँ नागरिकता कानुन (CAA) ल्याउँदा बंगलादेशका मुसलमानहरू तथा त्यहाँका राजनीतिक दलहरूले कडा प्रतिकृया जनाएका थिए। भारतको असम राज्यमा के भैरहेको छ ? त्यहाँका मुख्यमन्त्री हेमन्ताविश्व शर्माका निरन्तर आइरहेका वक्तव्यहरूलाई त्यता र यताका समेत पाखण्डीहरूले नजरअन्दाज गरिरहेका हुन्छन्। यी सबको प्रताडना गलत रूपमै भएपनि आज बंगलादेशी हिन्दूहरू भोग्न बाध्य छन् । जुन एकदमै गलत हो। शेख हसिनाले कसरी शासन चलाएकी थिइन् ? हामी त्यता जान चाहँदैनौं ।

जबकी, त्यहाँका कट्टरपन्थी धर्मान्ध मुसलमानहरूले हिन्दूहरू उपर मौका छोपेर आक्रमण थाल्दा आज शेख हसिना प्रति सहानुभूतिशील हुदैछन् नेपालीहरू । बंगलादेशमा मोहम्मद युनुस आज अन्तरिम सरकारका मुखिया भएका छन् । यिनी उपर केही अघि श्रम कानूनको उल्लंघन गरेको आरोपमा जेल सजाय सुनाइएको थियो । यिनी बंगलादेशबाट शेख हसिनाको पलायन पछि मात्र पेरिसबाट ढाका फर्किएका हन् । भारतमा मोदी सरकारका सबैले नेबेल पुरस्कार प्राप्त अमर्त्य सेनको किन आलोचना गर्छन् ? बंगलादेशमा ति नोबेल पुरस्कार पाउने मोहम्मद युनुस किन सजाय पाए ? किन पेरिस तिर लाग्न बाध्य भए ?

त्यहीँको अदालतले भ्रष्टाचारमा दोषी ठहर्याएर अर्का पूर्वप्रधानमन्त्री बेगम खालिदालाई किन लगातार १३ वर्षसम्म जेलमा कोचे ? त्यहाँको अदालतले किन र कसरी शेख हसिनाको आरक्षण कानूनको प्रतिरक्षा गरेका थिए ? हिजो मात्रै १ घण्टा भित्र राजीनामा नदिए बंगलादेशका सर्वोच्च अदालतका प्रधानन्यायाधीशको निवास भित्र छिर्ने लाखौं छात्रहरूको चेतावनी पछि राजीनामा दिनुपर्यो । अदालत किन तारो भएका छन् ? यसबारे न त भारतमा, न त नेपालमा कुनै चर्चा छ ।

नेपाली बहुसंख्यकहरूले नाक मुनीको जुंगालाई लुकाउन चाहेर जातीय पाखण्डपना देखाइरहेका छन् । बंगलादेशमा हसिनाले सन् ७१ को ‘वार भेटरान’ भनेर तिनका चौथो वा पाचौं पुस्ताकाहरूलाई सरकारी जागिरमा आरक्षण निश्चित गरेको थियो । नेपालमा बहुसंख्यक शासक वर्गले हाल प्रचलित कथित आरक्षणको नाममा सरकारी जागिरहरूमा कसको हितको चिरस्थायी सम्बर्द्धन तथा प्रबर्द्धन गरिरहेका छन् ? नेपालमा बि.स. २०६३ पछि सशस्त्र जनयुद्धको नाममा, यसमा पीडितको नाममा कसले राज्यको दोहन गरिरहेको छ ? नेपालमा यहाँका बुद्धिमठाधिशहरूले यसको खोजी गर्दैनन् ! किन कि यिनीहरू नेपालमा बंगलादेशका हसिना की बैचारिक उत्तराधिकारीहरू हुन् ।

हसिना की ब्रा, पेन्टी, अन्तरबस्त्रहरू, परिधानका बस्तुहरू, साजसज्जा, बिलासिताका साधनहरू, कुकुर–बिरालोहरू लुटियो । बंगबन्धु शेख मुजीबका सर्वत्र शालिकहरू तोडियो । यो राम्रो भएन, तर भयो यही नै। यस्तै हुदै आएको हो। भारतको बंगाल राज्यको कलकत्तामा ज्योतिबसुका माक्सवादीहरूले अमेरिकन कन्सुलेट अफिसमा आक्रमण गरि लुटपाट गर्दा यही नै गरे । तेहरानमा शाह रेजा पहल्बी दरबार छोडेर भागेपछि यस्तै भयो । इमेल्डा मार्कोसका साथ के भएको थियो ? तिनका पेन्टी र जुता चप्पलहरू महिनौसम्म चर्चामा थियो । भारतमा जयललिता उपर भ्रष्टाचारको मुद्दा लगाई जेल पठाइँदा के भयो ? नेपाली पाखण्डीहरू आज बंगलादेशका चर्चा गरिरहेका छन् । गर्नु पनि पर्छ। त्यहाँ गलत नै भएको हो । तर, यस कुरालाई किन बिर्सिने कि राजा त्रिभुवनले निजी ऋण तथा सापटी लिने गरेका नेपाली काँग्रेसका नेता सूवर्ण शम्सेर, ०१७ सालमा राजा महेन्द्रले कू गर्नु पूर्व भारत निर्वासनमा गएपछि त्यसबेला उनका श्रीमतीका साथ ललिता निवासमा के भयो ?

सूवर्णजीका परिवारका महिला सदस्यहरूका समेत अन्तरवस्तुहरू राजा महेन्द्रले लिलाम गराएर, प्रदर्शनमा राखे, बेइज्जत पार्न कुनै कसर बाँकी राखेनन् । चाहनेले त्यसबेलाका समाज दैनिकहरू हेरे हुन्छ । गृष्म बहादुर देवकोटाका पुस्तक पढे पनि हुन्छ। यस अर्थमा राजा ज्ञानेन्द्र भाग्यशाली रहे, किनकी उनले संसारमा तानाशाहहरू जनरोषको जातोमा पिसिनबाट जोगिन भाग्नु पर्दा हुने हबिगतको हेक्का राखे र पो आज भन्दै छन्–’मैले सुम्पेको जनताको नासो अब लिने बेला भएको छ!’ क्रान्तिको दुष्परिणाम कठिन हुन्छ मित्रहरू, जुन आज बंगलादेशमा भैरहेको छ । यद्यपि, निर्वाध सत्ता चाहनाको यात्रा जब ‘कू देताँ’ मा परिणत हुन्छ, त्यसको भोगाई पनि कम कठिन हुदैन !


प्रतिक्रिया