के रास्वपाभित्र कमजोर हुँदैछन् बालेन ?(भिडियाे)
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ। तर, देशको सत्ता सञ्चालन गरिरहेको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी नहुने चर्चा भइरहेको छ। यसले रास्वपाभित्रको आन्तरिक शक्ति सन्तुलनमा बालेन पक्ष कमजोर हुँदै गएको संकेत पनि गर्दछ।
रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा पाएको राजकीय सम्मानले भारतले बालेनभन्दा रविलाई बढी प्राथमिकता दिएको देखाउँछ। त्यही क्रमको निरन्तरता र त्यही हिसाबमा रास्वपाको वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन पनि सम्पन्न भइरहेका छन्, जहाँ रवि पक्ष बालेन पक्षमाथि वडा तहबाटै हाबी भएको देखिन्छ।
राजनीतिक वृत्तमा चल्ने गरेको चर्चाअनुसार लामिछाने रास्वपाभित्र अहिले महाशक्तिशाली पात्र हुन्। यही कारण पनि बालेन पार्टीको संसदीय दलको बैठक, पार्टी कार्यालय र पार्टीसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी हुँदैनन्। अझ भनौँ, विशेषतः लामिछानेको भारत भ्रमणपछि बालेन पार्टीको आन्तरिक शक्ति समीकरणमा निरन्तर कमजोर हुँदै गएका छन्।
हालै सम्पन्न रास्वपाका प्रदेश अधिवेशन र त्यहाँबाट निर्वाचित नेतृत्वलाई हेर्ने हो भने पनि त्यही कुराको पुष्टि हुन्छ। रास्वपाले देशैभर दुई तहमा सम्पन्न गरेको महाधिवेशनमा बालेन पक्षले न्यून स्थानमा मात्रै नेतृत्व पाएको छ। यही कारणले पनि बालेन आगामी रास्वपाको महाधिवेशनमा सहभागी हुन नचाहेका हुन सक्छन्।
तर, संसदीय व्यवस्थामा एउटा दलको टेको समातेर प्रधानमन्त्री बनेका उनलाई पार्टीका कार्यक्रम बहिष्कार गर्ने क्रमले कालान्तरमा गएर उनकै लागि घातक हुन सक्छ।
