हिरासतभित्रै थुनुवाको मृत्यु
सुर्खेत। चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार, मोबाइल चोरीको मुद्दामा उनी जेठ २७ गतेदेखि प्रहरी हिरासतमा थिए। शुक्रबार हिरासतमा रहेका बेला उनको स्वास्थ्यमा अचानक समस्या आएपछि शनिबार बिहान साढे ४ बजे कर्णाली प्रादेशिक अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बक्समाथि प्रहरीले बुधबार म्याद थप गरी अनुसन्धान गरिरहेको थियो। मृतकको शव परीक्षणका लागि बाँकेबाट फोरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ्ने प्रवक्ता बोहराले जानकारी दिए। पोस्टमार्टमपछि मात्र बक्सको मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले बताएको छ।
