सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध नेकपा माओवादीद्वारा माइतिघरमा विरोध प्रदर्शन (तस्बिरहरु)
काठमाडौं । सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को हस्तक्षेप र नेपाली भूमिमा भइरहेको भनिएको अतिक्रमणको विरोध गर्दै नेकपा माओवादीले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ’ तथा ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो’ लगायतका नारासहित माओवादी कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले सुस्तालगायत सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट भइरहेको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले नेपालको भूमि, राष्ट्रिय स्वाधीनता र सीमाको सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने भन्दै सीमा समस्याबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
माइतीघरमा आयोजित प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए।
माओवादीले सीमा अतिक्रमण र विदेशी हस्तक्षेपका विषयमा सरकार मौन बसेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनताको पक्षमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।













