`

टीआरसी विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ ।  प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी हुन् ।

     प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

     बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्नुभएको थियो । सभापति सिंहले कतिपय विकासका आयोजनाहरु राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए ।
उनले मन्त्री फेरिएपिच्छे कर्मचारीहरुको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजीनितक हस्तक्षेप हुनुलगायत यावत समस्या रहेका जानकारी गराए ।

आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बार्षिक प्रतिवेदन, २०८१ पेस गरे ।
     बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराएका थिए ।

सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि सहुलियत ऋण र अनुदान स्वीकार छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ – सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि सहुलियत ऋण र अनुदान स्वीकार गर्ने भएको छ ।

साउन २८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । त्यस्तै भूउपयोग ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ञ) बमोजिम भूउपयोग परिषद् सदस्यमा डा. रेवतीरमण पौडेल, डा. यमुना घले, डा. रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले नेपालको नागरिक उड्ययन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनसम्बनधी कार्ययोजना स्वीकृत गरेको छ भने निजामती सेवाको प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिनुभएको राजीनामा स्वीकृत समेत गरेको छ ।

मन्त्रिपरिषद बैठकद्वारा नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

काठमाडौँ । सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा धादिङका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्ले सङ्घीय भूउपयोग परिषद् सदस्यमा डा रेवतीरमण पौडेल, डा यमुना घले, डा रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारका नाममा दर्ता रहेको सिरहाको नवराजपुर गाउँपालिका–४ को ०–१९–० विघा जग्गा इलाका प्रहरी कार्यालय, झाँझपट्टीलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले यही साउन २९ देखि ३२ सम्म भुटानमा आयोजना हुने दक्षिण एसियाली निर्वाचन व्यवस्थापनसम्बन्धी निकायको बाह्रौं सम्मेलन सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले एसियाली विकास बैङ्कबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (अनुमानित १४ अर्ब ६३ करोड) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (अनुमानित एक अर्व ९९ करोड) अनुदान स्वीकारका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरेको छ ।

बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिको राजीनामा स्वीकृत गरेको छ ।

युवालाई २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्रीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए ।

देशमा रोजगारीका अवसर  नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे ।

उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताए ।

सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताए ।

दुई महिनाको अवधिमा विपद्का घटनामा परी १७० जनाको मृत्यु

काठमाडौँ – मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन् ।

मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।

गतवर्ष सोही अवधिको तुलनामा यसवर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गतवर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र एक सय जना घाइते भएका थिए ।

यसवर्षको मनसुनजन्य विपद्बाट दुई हजार नौ सय ९८ घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक सय ९७ निजी घर पूर्ण र एक सय ७० घरमा आंशिक क्षति पुगेको छ । यस्तै तीन सरकारी कार्यालय र पाँच पक्की पुल, १५ झोलुङ्गे पुल तथा एक जलविद्युत् आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

दुई महिनाको अवधिमा बाढीका एक सय ६९, पहिराका तीन सय ३६, भारी वर्षाका दुई सय २८ र चट्याङका ८८ गरी आठ सय ४८ विपद्का घटना भएका छन् । बाढीबाट ३६ को मृत्यु, पाँच बेपत्ता र २४ घाइते भएका छन् । पहिरामा परी एक सय नौ जनाको मृत्यु, ३९ बेपत्ता र ९६ घाइते, भारी वर्षाबाट एकको मृत्यु र २० घाइते तथा चट्याङबाट २४ को मृत्यु र ५५ जना घाइते भएका छन् ।

सो अवधिमा आगलागी, हावाहुरी, जनावर आक्रमण, वन डढेलो, लोक लाग्नु र सर्पदंशलगायत अन्य विपद्का चार सय ७१ घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा परी १९ जनाको मृत्यु भएको छ ।

यस अवधिमा देशभर एक सय ७१।७ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी पानी पर्ने अनुमान गरेको थियो । गत जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश भएको थियो । यसवर्ष कञ्चनपुरको चाँदनी दोधारामा अहिलेसम्मकै बढी वर्षा भएको थियो । जलमापनको ७७ वर्षको इतिहासमा कञ्चनपुरमा सबैभन्दा धेरै छ सय २४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

बाढी पहिरामा परी घाइते भएका २३ जनालाई हवाई उद्धार तथा उच्च जोखिममा रहेका एक हजार दुई सय २७ जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाल प्रहरीका आठ हजार दुई सय ५२, सशस्त्र प्रहरी बलबाट पाँच हजार आठ सय १७ र नेपाली सेनाबाट चार हजार सात सय आठ गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी खोज, राहत तथा उद्धारमा संलग्न भएका छन् ।

प्रचण्ड सरकारले डेडिकेटेड र ट्रंकलाइनको १६ अर्ब छुट दिएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद एवं संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइन विषयमा बिना तथ्य प्रमाण सार्वजनिक लेखा समितिमा कुनै निर्णय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पोखरेलले कानुन, तथ्य र प्रमाण नजुटाइकन समितिबाट कुनै निर्णय नहुने बताएका हुन् । व्यापारीहरूसँग छलफल गरेको स्वीकार गर्दै पोखरेलले १६ अर्ब रूपैयाँ सेटिङ भएपछि आफैंले बोलाएर ती व्यापारीलाई भेटेको बताए ।

उनले संसदीय इतिहासमा पहिलोपटक उज्यालोमै भ्रष्टाचार गर्ने आँट गरिएको देखेर आफूले यसमा चासो राखेको बताए । उनले विद्युत प्राधिकरण, प्रचण्ड सरकार र उद्योगी व्यवसायीको सेटिङमा लाल आयोग बनाएर १६ अर्ब छुट दिएको आरोप लगाए ।

उनले महालेखाको प्रतिवेदनले २१ अर्ब उठाउन सुझाव दिएको भन्दै १६ अर्ब खोई भन्दै प्रश्न गरे । पोखरेलले समितिका कुनै सांसदले समितिमा भएका टिपोटहरू व्यापारी र प्राधिकरणकहाँ पुर्याएको आरोपसमेत लगाए ।

सांसदहरू पनि व्यापारी र प्राधिकरणको दलाल रहेको भन्दै उनी सदनमै आक्रामक बनेका थिए ।

उनले भने, ‘समितिको टिपोट माननीय राजेन्द्र लिङ्देनलाई म आफैंले दिए। उहाँ पूर्व मन्त्री भएर पनि मैले दिएको थिएँ। यी मध्ये कसले ती टिपोट व्यापारी र प्राधिकरणमा पुरयाएछन्, मलाई थाहा भएन। तर, व्यापारी र प्राधिकरणको पनि दलाल माननीय हुँदोरहेछ नि ।’

उनले आफूले बोलेको कुरा कसैले असत्य प्रमाणित गरे टुँडीखेलमा झुण्डिन तयार रहेको बताए । उनले भने, ‘मैले बोलेका कुरा कसैले असत्य प्रमाणित गर्नुस्। मलाई टुँडीखेलमा झुन्ड्याउनुस्। म तयार छु। इमानको चरित्र हत्या गर्ने र भ्रष्टहरूको पक्षपोषण गर्नेहरूविरुद्ध मुर्दावाद छ ।’

बेलायतले भन्यो-संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राजनीतिक सहमति जुट्नु खुसीको विषय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग  संयुक्त अधिराज्यका राजदूत रब फेनले  शिष्टाचार भेट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको प्राप्तिलाई प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेकोे बताए । उनले दुई ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो  लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताए । उनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातमा सघाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।

विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए ।

‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्,’ उनले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’

भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए ।

सीमित जनशक्ति,पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए ।

बङ्गलादेशमा १३ वर्षयताकै उच्च मुल्यवृद्धि

बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले जनाएको छ।

मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ ।

गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।

बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । 

यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो । गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मुल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।

इरानद्वारा इजरायलविरुद्ध सैन्य आक्रमणको धम्की रोक्ने पश्चिमी आह्वान अस्वीकार

इरानले गत महिनाको अन्त्यमा तेहरानमा भएको हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यामा संलग्न इजरायलविरुद्ध सैन्य आक्रमणको आफ्नो धम्की फिर्ता लिन भनिएको पश्चिमी आह्वानलाई अस्वीकार गरेको छ ।

“फ्रान्स, जर्मनी र बेलायत जसले यहुदी शासनले गरेको अन्तर्राष्ट्रिय अपराधमा कुनै आपत्ति जनाएको छैन, उनीहरुले निर्लज्ज रूपमा इरानलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने शासनविरुद्ध कुनै प्रतिरोधात्मक कारबाही नगर्न आग्रह गरिरहेका छन्”, विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले विज्ञप्तिमा भनेका छन् ।

“यस्तो अनुरोधमा राजनीतिक तर्कको अभाव छ, अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त र नियमको उल्लङ्घनका बावजुद इजरायललाई सार्वजनिक र व्यावहारिक समर्थन गर्छ”, उनले भने ।

इरान र यसका सहयोगीहरूले जुलाई ३१ मा राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहणका लागि तेहरानको भ्रमण गर्दा नेता हनियाको हत्याका लागि इजरायललाई दोषी ठहराएका छन् । इजरायलले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
इजरायल–हमास युद्धका कारण पहिले नै तनावमा रहेको मध्यपूर्वमा ठूलो द्वन्द्व रोक्न पश्चिमी कूटनीतिज्ञहरूले एकता जनाएका छन् ।

संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीले विज्ञप्तिमार्फत इरानलाई आफ्नो धम्की फिर्ता लिन अनुरोध गरेका हुन् ।

बेलायत, फ्रान्स, जर्मनी, इटाली र संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामीले इरानलाई इजरायलविरुद्ध सैन्य आक्रमणको धम्कीलाई रोक्न आह्वान गरेका छौं र यस्तो आक्रमण भएमा क्षेत्रीय सुरक्षामा हुनसक्ने गम्भीर परिणामबारे जानकारी गराएका छौँ ।”

अमेरिकाद्वारा सत्तापलटमा सहयोग गरेको हसिनाको आरोप अस्वीकार

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।

हसिनाको बहिर्गमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेकी हुन् ।

बङ्गलादेशको राजनैतिक परिवर्तन बङ्गलादेशी जनताको छनोट रहेको भन्दै उनले बङ्गलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघठनको गर्नु पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताइन् ।

हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बङ्गलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्दपी उनले कुनै प्रमाण भने पेस गरेका थिएनन् ।

मे महिनामा हसिनाले विदेशी शक्तिलाई बङ्गलादेश सरकारलाई सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन् ।

संयुक्त राज्य अमेरिकाको सामान्यतया बङ्लादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्देपी हालको अवस्थामा बङ्गलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रङ्खला चलिरेको देखिन्छ ।

बङ्गलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा छन् ।

देशको हवाईयात्रा सुरक्षित बनाउन कडा कानुन आवश्यकः सांसद गौतम

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।

मंगलबारको बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानुन आवश्यक भए त्यो पनि शीघ्र तर्जुमा गर्नुपर्नेमा जोड दिइन् ।

“देशको उड्डयन क्षेत्रमा गम्भीर समस्या देखिएको छ, यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित सबै निकायलाई आग्रह छ । यो क्षेत्रलाई व्यवस्थित बनाउने कानुन शीघ्र तर्जुमा गरौँ”, सांसद गौतमले भनिन् ।

सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । “सडक पनि सुरक्षित छैन, सुरक्षित मानिएको हवाई क्षेत्र पनि असुरक्षित भयो ।”

नेप्सेमा आठ अंकको बृद्धि, २१ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा झरेको छ । सोमबार नेप्से ७० भन्दाबढी अंकले बढेको थियो । मंगलबार दिनभर उतारचढाव भएको शेयर बजार खुलेको दुई मिनेटमै दुई हजार नौ सय ७१ विन्दुमा पुगेको थियो ।

आज बैंकिङ, फाइनान्स, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लाग्यो । आज नेपाल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्स कम्पनीका शेयरमा भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड २७ लाख कित्ता शेयर २१ अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ । हिजो २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको थियो ।

गृहमन्त्रीलाई गगन थापाको प्रश्नः कहाँ पुग्यो रवि लामिछानेमाथिको अनुसन्धान ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु र सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथिको अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री थापाले यी विषयमा अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताएका हुन् ।

उनले दोषी उम्कदैन भन्नेकुरा सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले भने, ‘अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन ।’

महामन्त्री थापाले गिरिबन्धु टि स्टेटका विषयमा अदालतले दिएको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले गिरिबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्यो ।’

महामन्त्री थापाले यसअघि गृहमन्त्री रमेश लेखकले रास्वपाका सभापति रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न गरे ।

उनले भने, ‘माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो । उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन ।’

उनले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूर्ण समानूपातिक बनाउने हल्ला सत्य नभएको बताए ।

प्रयोग गर्नेको बक्यौता कसैले नउठाऊ भन्न पाइँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेडिकेटेड र ट्रंक लाइनको महसुलमा कसैलाई छुट दिन नसकिने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले कसैले निर्देशन दिएर कसैलाई एक रुपैयाँ छुट दिन नहुने बताएका हुन् ।

उनले भने, ‘प्रयोग गर्नेको बक्यौता कसैले नउठाऊ भन्न पाइँदैन । एक रुपैयाँ पनि उठाउनुपर्छ । राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ । विधिको शासन भनेको त्यही हो ।’

महामन्त्री थापाले कांग्रेसको सत्तापक्ष र प्रतिपक्षमा रहँदा एउटै बोली हुनुपर्ने बताए । डेडिकेटेड लाइनका विषयमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिएकाले सरकारले निरन्तरता दिनुपर्ने उनले बताए ।

कसैमाथि अन्याय हुन नदिने र जतिसुकै पहुँचवालालाई एक रुपैयाँ तलमाथि हुन नदिने विषय संसदमा प्रस्ट पार्नुपर्ने उनले बताए ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्छः सांसद ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विद्युत महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले भ्रष्टाचारसम्बन्धी विषय सदनमा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको भन्दै विद्युत महसुल उठाउन निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जसरी निर्देशन दिनुभएको थियो, उठाउन पनि उसैगरी निर्देशन दिनुपर्यो । मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यस्तो हालत छ। मिटर नभएका भन्सारको हालत के होला ? ‘

बैठकको आकस्मिक समयमा सांसद ढकालले डेडिकेटेड र ट्रंक लाइनको विवादको विषय उठाउँदा सुरुमा सभामुख देवराज घिमिरेले माइकको लाइन काटेका थिए ।

त्यसपछि रास्वपा र राप्रपाका सांसदले केहीबेर अवरुद्ध पारेका थिए । तर आकस्मिक समयमा डेडिकेटेड र ट्रंक लाइनको विषय उठाउनु अनुचित भएको सभामुखले बताएका थिए ।

तर पछि सांसद ढकाललार्ई बोल्न समय दिएपछि सदन संचालन भएको थियो । त्यसपछि ढकालले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको र संसदमा आकस्मिक विषय बन्न नसकेको भन्दै आकस्मिक विषय बन्ने दाबी गरे । उनले प्रतिपक्ष कमजोर नरहेको बताए ।

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान गर्ने निर्णय

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रप्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरी दिन आह्वान गर्ने निर्णयस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई सिफारिस गरेको छ ।

नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

वाल्मीकि आश्रम जोड्ने ‘लवकुश’ झोलुङ्गे पुल संचालनमा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो ।

माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा सम्पन्न भएको थियो । चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन ।

करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल रुबिना – मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । रु छ करोड लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यसअघि चितवन तर्फ बाटो नभएको र नवलपुर तर्फबाटसमेत वाल्मीकि आश्रम पुग्ने बाटो थिएन ।

जसले गर्दा त्रिवेणीस्थित गण्डक बाँध पार गरी भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता थियो । नेपालको धार्मिकस्थल भारतीय बाटो हुँदै जानुपर्दा दुरी र समय धेरै लाग्ने गरेको थियो ।

अबदेखि वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको नवलपुरका पूर्व सांसद तिलक महतले बताए । नेपाली धार्मिक पर्यटक देशकै बाटो हुँदै पुग्न सकिने उनले बताए । महत्वपूर्ण धार्मिकस्थल वाल्मीकि आश्रम झोलुङ्गे पुलले जोडिँदा यसको विकास, संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

पुल सञ्चालन भएपछि विनयी त्रिवेणीस्थित त्रिवेणी धाममा चहलपहल बढ्ने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

‘पुल निर्माण भएर सञ्चालन नहुँदा हामी चिन्तित थियौँ, पुल सञ्चालन गर्न पटक–पटक पहल गर्‍यौं, अब हामी हाम्रो भूमिबाट वाल्मीकि आश्रम जान पाउने भएका छौँ , हाम्रो पहलले सार्थकता पाएको छ’, अध्यक्ष गिरीले भने ।

वाल्मीकि आश्रम धार्मिक तथा पौराणिक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय बिताएको, सीता पाताल प्रवेश गरेको, लव–कुशको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, वाल्मीकि आश्रम आफैमा ऐतिहासिक धार्मिकस्थल भएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसाल बताउँछन् ।

वाल्मीकि आश्रम र त्रिवेणीलाई झोलुङ्गे पुलले जोडेपछि धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

रास्वपा भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्न नहुने पक्षमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्न नहुने पक्षमा उभिएको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

उनले भने, ‘विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ ।’

बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय पनि गरेको छ ।

विषाक्त खाना खाँदा बाराको सिम्रौनगढका एकै घरका तीन बालबालिकाको मृत्यु

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विषाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ । 

बारा प्रहरीका अनुसार फुड पोइजनिङका कारणले तीनको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु हुनेमा सात वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय रामनन्दन राम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार बेलुका माछा र भात खाएर सुतेका तीन बालबालिकाको फुड पोइजनिङका कारणले मृत्यु भएको बताए । 

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले परिवारका सबै सदस्यले एउटै चुलोमा पकाएको खाना खाए पनि बालबालिकामा मात्रै फुड पोइजनिङको समस्या देखिएको जानकारी दिए ।

“प्रारम्भिक अनुसन्धानका क्रममा गाउँकै माछा पोखरीबाट निकालेको माछा र भात खाएको भन्ने कुरा आइरहेको छ”, उनले भने, “एउटै भान्सामा रहेको एउटै कराइमा पकाएको खाना मृतकका आमा, हजुरबुबा, हजुरआमाले खाएको देखिन्छ तर परिवारका अन्य सदस्यलाई केही भएको छैन, तीन बालबालिकालाई मात्रै फुड पोइजनिङको समस्या देखिएको हो ।” 

प्रहरी निरीक्षक राईले तीन बालबालिकाले दिउँसोको समयमा अन्य केही खानेकुरा खाए कि सोही माछासहितको खानाको कारणले मृत्यु भयो भन्ने कुरा अहिलेसम्म नखुलेको बताए । उनले मृतक बालबालिकाको घरमा कुनै पनि प्रकारको विषाधिजन्य औषधी नभेटिएको पनि जानकारी दिए । 

प्रहरी निरीक्षक राईले बालबालिकाको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारका सदस्यहरुले सिम्रौनगढस्थित रामबाबुको पोलिक्लिनिकमा उपचारका लागि पुर्याएको बताए । पोलिक्लिनिकले आफ्नोमा उपचार सम्भव नभएको बताएसँगै बाराको प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो ।

“तीन बालबालिकामध्ये एकजना सिकिस्त भएकाले प्रादेशिक अस्पताल कलैया पुर्याउने क्रममा नै मृत्यु भएको बताइएको छ”, प्रहरी निरीक्षक राईले भने, “प्रादेशिक अस्पतालले अन्य दुई बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर देखिए पनि नेसनल मेडिकल कलेज वीरगञ्जमा रेफर गरेको थियो, अन्य दुई बालबालिकाको पनि नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।”

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक तीनै बालबालिकाको शवपरीक्षण गरेर शव परिवारलाई हस्तान्तरण भइसकेको छ । नरेश राम रोजगारीका लागि भारतको पञ्जाव राज्यमा रहेको जनाइएको छ ।

डेङ्गी र हैजा फैलन नदिन मन्त्रालयको द्रुत प्रतिकार्य टोली परिचालित

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ । 


मन्त्री प्रदीप पौडेलले डेङ्गी तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो ।


मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । 


टोलीहरूले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र सङ्क्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।


पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।


आगामी दिनमा थप समस्या आउन नदिन केन्द्रीय, प्रदेश तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।


डेङ्गी फैल्न नदिन लामखुट्टे नियन्त्रणमा जोड


देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेङ्गी प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेङ्गी परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ । 


डेङ्गी नियन्त्रणका लागि विनियोजित १० करोडबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको बासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ ।


प्रशिक्षण दिएका एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियन्त्रण एवं निदानमा परिचालन गरेको मन्त्रालयले सङ्घीय अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा डेङ्गी नियन्त्रणका लागि सम्पर्क व्यक्ति तोकेर समस्या देखिएमा तत्काल रोकथामको कदम चाल्ने प्रबन्ध गरेको जनाएको छ ।


हालसम्म, मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक ७३ जिल्लामा तीन हजार तीन सयभन्दा बढी मानिसमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । त्यसमा एकजनाको मृत्यु भएको छ । डेङ्गी नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई सुदृढ गर्न मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ तयार गरी सबै प्रदेश र स्थानीय तहमा पठाइसकेको छ । 


मन्त्रालयले बढी जोखिम देखिएका १३ जिल्लाका एक सय २६ स्थानीय तहमा डेङ्गी नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर अल्पकालीन र दीर्घकालीन योजनासमेत तयार पार्न प्रक्रिया थालेको छ । हाल डेङ्गी नियन्त्रणमा मन्त्रालयले डेङ्गीबारे जनचेतना फैलाउन नेपाली भाषासहित १३ अन्य भाषामा रेडियो सन्देश प्रसारण गरिरहेको छ ।


साथै बिरामीका समस्या र जिज्ञासा समाधान गर्न टोल फ्री हटलाइन १११५ सञ्चालन गरिएको छ । मन्त्रालयले डेङ्गी परीक्षणका लागि पर्याप्त निःशुल्क किट उपलब्ध गराउँदै जोखिममा रहेका जिल्लामा डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ समेत कार्यान्वयनमा ल्याएको छ ।

सप्तरीमा ट्रकमा च्यापिएर चालकको मृत्यु

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शम्भुनाथ–५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी  दिए । शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको प्रनाउ नेउपानेले  ।

भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता

भारत र अष्ट्रेलियाबीच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गरेका थिए भने अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसिया तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गरेका थिए ।

दुवै पक्षबीच समावेशी विकास र विश्वव्यापी कल्याणका लागि अनुकूल सुरक्षित समुद्री वातावरण कायम राख्ने तरिकाहरूबारे छलफल भएको छ ।

उनीहरुले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा वातावरण, मानवीय सहायता र विपद् राहत (एचएडीआर) समन्वय, क्षेत्रीय र बहुपक्षीय संलग्नता र समुद्री स्रोतहरूको दिगो प्रयोगलगायत आपसी चासोका विभिन्न विषयहरूमा विचार आदानप्रदान गरेका छन् ।

दुवै पक्षले यी क्षेत्रहरूमा आफ्नो द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिका र साधनबारे पनि छलफल गरेका छन् ।

वार्ताको अर्को चरण पारस्परिक रूपमा सुविधाजनक मितिमा नयाँ दिल्लीमा आयोजना गर्न दुई देश सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चौतर्फी विरोधपछि मधेस प्रदेशका आठ राज्यमन्त्री बर्खास्त

जनकपुरधाम । चौतर्फी आलोचना भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री बर्खास्त गरेका छन् । मंगलबार बिहान मुख्यमन्त्री सिंहले आठ जना राज्यमन्त्री बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जैद आलम, स्वास्थ्य राज्यमन्त्री केशव राय, गृह, सञ्चार तथा कानुन राज्यमन्त्री शारदा देवी थापा, वन तथा वातावरण राज्यमन्त्री रञ्जुकुमारी मण्डल, शिक्षा राज्यमन्त्री रामबाबु यादव, उद्योग राज्यमन्त्री शम्भुकुमार साह, कृषि राज्यमन्त्री रेखा ठाकुर र ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री निलमकुमारी रजकलाई बर्खास्त गरेका हुन् ।

आठ राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २० सदस्यीय बनाएपछि मुख्यमन्त्री सिंहको चर्को आलोचना भएको थियो । यसै विषयलाई लिएर पार्टीसमेत उनलाई स्पष्टीकरण सोधेको थियो । मन्त्रिपरिषद जम्बो बनाइएको भन्दै जसपा नेपालनिकट युवा र विद्यार्थी संगठनले मधेसमा विरोध प्रदर्शनसमेत सुरु गरेका थिए ।

जीवनभर राप्ती नदीको डर, बस्ती जोगाइदिन माग

भेषराज बस्नेत, बाँके ।  बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेको उमेर अहिले ६० वर्ष कटिसकेको छ । उनी जान्ने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन । 


“मैले जान्ने भएदेखि राप्ती नदीको बाढी, डुबान र कटानको समस्या झेल्दै आएको छु, यो समस्या कम भएको छैन झन् बढ्दै गएको छ”, पाण्डेले भने, “पहिला नदी टाढा थियो, चिन्ता अलि कम थियो अहिले नदी नजिकै आएर कटान गरिरहेको छ, चिन्ता झन् बढ्दै गएको छ ।”


नदीको कटान नियन्त्रणका लागि बनाइएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएर बगाएपछि अहिले नदीले खेतीयोग्य जमिन कटान गर्दै गाउँतिर सोझिएको उनले बताए । दुई वर्षअघि बाढीले भत्काएको तटबन्ध पुनःनिर्माण हुन नसक्दा नदीमा ठूलो बाढी आउँदा गाउँमा पस्ने खतरा बढ्दै गएको उनको भनाइ छ । 


राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्तीका शङ्कर यादवले बताए।


“विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ”, यादवले भने, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।”


दिउँसो नदीमा बाढी आएको थाहा हुने भए पनि रातिको समयमा भने धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ ।  


राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको यादवले बताए । 


राप्ती नदीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि त्रासमा राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डे दीपुले बताए ।


“राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ”, पाण्डेले भने, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।”


राप्ती नदीमा तटबन्ध नबन्दा तल्लो तटीय क्षेत्रका नागरिकको जीवन राप्तीमा आउने बाढीको डरसँगै बित्दै आएको छ । दीर्घकालीन रुपमा समस्या समाधानका लागि नदीको दुवै किनारामा पक्की तटबन्ध नबन्दासम्म नदी छेउका नागरिकको दुःख जीवनभर रहने पाण्डेको बुझाइ छ ।


“दिउँसोको समयमा बाढी आए भागदौड गर्न सकिएला तर रातको समयमा आए हाम्रो ठूलो धनजनको क्षति हुने भएकाले राज्यले ध्यान दिन जरुरी छ”, उनले भने, “तटबन्ध भत्किएको दुई वर्ष भइसक्दा पनि राज्यले हाम्रो समस्यालाई गम्भीर रूपले नलिएको हुँदा थप चिन्तित छौं ।” 


राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको छ ।


“नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ”, स्थानीय अगुवा रामदास थारूले भने, “नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आए पनि चासो नदिँदा कृषियोग्य जमिन तीव्र रुपले नदीको कटानमा परिरहेको छ ।”


राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भँगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेकाले राप्ती नदीको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने उनले बताए ।


“नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ”, उनले भने, “खेतीयोग्य जमिन कटान गरेर नदी गाउँनजिक आइसकेको छ, हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।”


बस्ती जोगाइदिन माग


राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्धन निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । उक्त क्षेत्रको अवलोकन तथा जनताको गुनासो सुन्न पुग्ने जनप्रतिनिधि र प्रहरी प्रशासनका अधिकारीसँग डुबान प्रभावित क्षेत्रका नागरिकले यो वर्ष तटबन्धन निर्माण नभए ठूलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गर्दै आएका छन् । 


बाँके–१ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकामा स्थानीयवासी दुःखी छन् ।


“सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ”, नरैनापुर–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले भने, “डुबानबाट बस्ती जोगाइदिन हामीले सबैसँग हारगुहार ग¥यौँ तर हाम्रो दुःख राज्यले सुनेन ।”


राप्ती नदीको कटान नियन्त्रण गर्न निर्माण भएको तटबन्ध भत्काएर नदीले सडक कटान गरे पनि यसको रोकथामका लागि राज्यले अहिलेसम्म कुनै चासो नदिएको यादवले बताए । राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्ती सोनारी गाउँपालिका–६ र ७ र नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेको उनको भनाइ छ । 


तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् ।


बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको वडा नं ७ का अध्यक्ष रामलखन थारूले बताए ।


यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्बार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको वडाध्यक्ष थारूको गुनासो छ । 


बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयले हरेक वर्षको बर्खायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको राप्ती सोनारी गाउँपालिका–६, जरैयाका स्थानीय भक्तिराम पाण्डेले बताए ।


गत सालको बाढीले आफ्नो एक बिगाहा जमिन नदीले कटान गरेर लगेको पाण्डेले बताए । उनले बाँकी रहेको एक बिगाहा जमिनतिर नदी सोझिएकाले कतिबेला त्यो पनि लैजान्छ भनेर हेर्नुको विकल्प नभएको गुनासो गरे । 


राप्तीसोनारी गाउँपालिका–६ स्थित नटीको किनारमा पर्ने खल्लाटेपरी, जरिया र ढलेया बाढीबाट अत्यन्तै जोखिममा रहेको वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । खल्लाटेपरीमा जनता तटबन्धको ड्याम भए पनि बाढीले तारजालीसमेत भत्काउँदा अत्यन्तै जोखिममा रहेको उनको भनाइ छ । 


बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणका लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरु नहुँदा कटान तथा डुबानको समस्या यथावत् रहेको छ । आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रणका लागि करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचनाहरु प्रस्ताव गरिएको छ । 


भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौताअनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो ।


आर्थिक वर्ष ०८४/८५ मा सम्पन्न गर्ने गरी दश अर्ब ४४ करोड ८१ लाखको लागतमा आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५ दशमलव चार सय ६२ किलोमिटर र दायाँतर्फ १९ दशमलव तीन सय ७१ किलोमिटर गरेर जम्मा ३४ दशमलव आठ सय ३३ किलोमिटर तटबन्ध गरिने तयारी रहेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए । 


पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुनेगरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट दक्षिण बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिँदा नेपाली भूमि डुबानमा पर्दै आएको छ ।


नेपाल सरकारका तर्फबाट पटक–पटकको प्रयासपछि डुबान, कटान र पटानले सङ्कट निम्त्याउँदै आएको बाँके जिल्लास्थित राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न भारत सरकार गत वर्ष सहमत भएको थियो । सोही सहमतिअनुसार नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने प्रारम्भिक कार्य सुरु गरेको प्रतिनिधिसभा सदस्य ढकाल बताउँछन् ।


खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि अस्थायी तटबन्ध निर्माणका लागि राज्यको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

खोटो सङ्कलन वन समूहको मुख्य आम्दानीको स्रोत

दाङ। दाङमा खोटो सङ्कलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गरेका छन् ।

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गरिएको छ । गाउँमा आवश्यक खानेपानी, विद्यालय भवन निर्माण, चौतारा निर्माणलगायतमा खर्च गरिएको बङ्लाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए ।

आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक कार्यमा पैसा उठाउन नसक्ने भएपछि वन समूहबाट सङ्कलन भएको पैसा खर्च गर्ने गरिएको उनले जानकारी दिए । उनले भने, “खोटो सङ्कलनबाट भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गर्ने गरेका छौँ ।”सल्लाको खोटो प्रतिकेजी एक हजार दुईका दरले बिक्रि हुने गरेको छ ।

एउटा सल्लाको रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन् । वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन हुने गरेको छ । चिसो मौसममा भने खोटो जमेर कम सङ्कलन हुने गरेकाले बन्द हुने गर्दछ ।

जिल्लामा सल्लाको खोटो सङ्कलनबाट ३२ लाख बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार दुई सय ६९ रुपैया राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए ।

उनका अनुसार सल्लाको खोटो बिक्रीबाट सङ्कलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय वन समूह र चार लाख ७२ हजार तीन सय ३९ रुपैँया प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।

गतवर्ष जिल्लामा ७८ हजार किलो सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपैँया राजस्व सङ्कलन भएको थियो । खोटोबाट गत वर्षको तुलनामा यसवर्ष तेब्बर राजस्व सङ्कलन भएको छ । गतवर्ष सल्लाको खोटो सङ्कलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्व वृद्धि भएको हो ।

अघिल्लो वर्ष दश वटा वन समूहबाट खोटो सङ्कलन भए पनि गत आवमा १९ वटा वन समूहबाट खोटो सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । 

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’

ओखलढुङ्गा। गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो ।

कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट ‘फ्रिज’ भएको हो ।

“समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न । गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो”, जोशीले भने, “प्रक्रिया पुगेर आएकालाई मात्रै भुक्तानी दिने गरेका छौँ । अन्य रकम नियमानुसार फिर्ता हुन्छ ।” बजेट फिर्ता हुँदा विकास निर्माण प्रभावित हुने भएकाले समयमै काम गरेर भुक्तानी लिनुपर्ने उनको सुझाव छ ।

सङ्घ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कुल आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सङ्घतर्फ चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार तीन सय १६ चालु र एक अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१ पुँजीगत रहेको थियो ।

गत आवमा प्रदेशतर्फ चालु बजेट ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्च बर्सेनि घटेको छ ।

तथ्याङ्कमा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौँ आयोजना बजेट अभावका कारण रुग्ण बनेका छन् । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौँ सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरा छन् ।

‘मौलशोभा राई आमा सम्मान’ विमला राईलाई

काठमाडौँ । साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय समाचार समितिका  महाप्रबन्धक सिद्धराज राई, कवयत्री विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान गर्ने निर्णय गरेको हो । साहित्यकार तथा लेखक डा पुरण राईले आफ्नी आमाको नाममा स्थापना गरेको उक्त पुरस्कार अनलाइन अभिलेख प्रालिमार्फत वितरण गरिने भएको छ । 

साहित्कार दीपा राई पुनको जन्मदिनको अवसर पारेर कात्तिक २९ गते उनकी आमा विमला राईलाई नगद ५० हजार र ताम्रपत्रसहित ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने पुरस्कार संस्थापक डा पुरण राईले जानकारी दिए ।

भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने डा राईले बताए  ।

नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पुर्याएको योगदानस्वरूप उनकी आमा विमला राईलाई सो सम्मान दिने निर्णय गरिएको हो ।

सम्मानित हुने विमला राई झापा घर भइ हाल काठमाडौ बस्दै आएकी छन् । उनलाई प्रदान गरिने पुरस्कार घोषणा कार्यक्रममा कानुन व्यवसायी एवं साहित्यकार किवाहाङ्ग राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राईलगायतको उपस्थिति रहेको थियो ।

साहित्यकार डा पुरण राईको ‘वसन्त ऋतु’ उपन्यास, ‘लाशमाथिको मानव’ नाटक, ‘अस्तु’ कथासङ्ग्रह, ‘कोभिड डायरी डरका बिम्बहरू’, ‘सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता’ अलङ्कारविधाजस्ता कृति प्रकाशित छन् ।

यातायात कार्यालय मलङ्गवाद्वारा रु. छ करोड बढी राजस्व सङ्कलन

बरहथवा (सर्लाही) – यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०- ८१ मा रु. छ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले रु. छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु. १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट रु. दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत रु. एक करोड ४६ लाख ३८ हजार तीन सय १५ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट रु चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा रु. ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु. ७० लाख बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

“हामीले चैत मसान्तमा एकै दिन रु. ७० लाखसम्म राजस्व सङ्कलन गरेका थियौँ”, उनले भने, “राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल) समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छ भने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ ।” विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।

‘छक्कापञ्जा ५’ को ‘बिहे भाको छैन’

काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश गीत ‘बिहे भाको छैन’सार्वजनिक गरिएको हो ।

दीपकराज गिरीसहित दीपक शर्माको शब्द रहेको गीतमा बेनिशा पौडेल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । शर्माकै संगीत रहेको गीत डान्सिङ प्याटनमा तयार पारिएको छ।

गीतको भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ । आमा सरस्वती मुभिज र आईएमइको ब्यानरको बनेको फिल्मको कथा,पटकथा र संवाद दीपकले नै लेखेका हुन् । फिल्मको कार्यकारी निर्माता केदारसहित निर्मल शर्मा हुन् । दीपाश्री निरौला निर्देशित यो फिल्म दसैँ फूलपातीको अवसरमा असोज २४ गते रिलिज हुँदै छ।

रुसको एकहजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको युक्रेनको दाबी

बीबीसी । युक्रेनका एक जना उच्च कमान्डरले आफ्नो फौजले रुसको एकहजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको बताएका छन् । कमान्डर ओलेक्जान्डर सीर्स्कीले युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो कारबाही जारी रहेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरू देशमा युद्ध निम्त्याएको रुसभित्रै युद्ध पुगेको बताएका छन् । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको इलाकाभित्र प्रवेश गरेको बदलामा युक्रेनलाई ‘समुचित जवाफ दिने’ चेतावनी दिएका छन् ।

युद्ध सुरु भएयता युक्रेनी फौज पहिलो पटक रुसी भूभागको ३० किलोमिटरभित्र पसेको विवरणपछि राष्ट्रपति पुटिनले त्यस्तो बताएका हुन् । युक्रेनको आक्रामक कदमपछि राष्ट्रपति पुटिनले क्षेत्रीय गभर्नर र सुरक्षा अधिकारीहरूसँग महत्त्वपूर्ण बैठकहरू गरेका छन् ।

पुटिनले एउटा बैठकमा रुसी फौजले ‘दुस्मनलाई लखेट्ने’ बताएको समाचारहरूमा जनाइएको छ । युक्रेनी फौज गत मङ्गलवार प्रवेश गरेको रुसको कुर्स्क क्षेत्रका गभर्नरले युक्रेनी फौजले २८ वटा गाउँ नियन्त्रणमा लिएको बैठकमा बताएका छन् ।

गभर्नर एलेक्सी स्मिरनोफले बैठकमा युक्रेनी फौज आफ्नो क्षेत्रको १२ किलोमिटरभित्र रहेको जानकारी दिए । गभर्नर स्मिरनोफका अनुसार एक लाख २१ हजार मानिसलाई उनीहरूको घरबाहिर पठाइएको छ। र, थप ५९ हजारलाई पठाउनुपर्नेछ ।

आफ्ना १२ जना सर्वसाधारण मारिनुका साथै १२० भन्दा बढी घाइते भएका उनले जनाएका छन् । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो । रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ।

भ्रष्टाचारको मुद्दामा हदम्याद किन नराख्ने ?

काठमाडौं । केही दिनदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ । खासगरी भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि हदम्याद राख्ने कि नराख्ने विषयमा सांसदहरुले आफ्ना धारणा राख्दै आएका छन् । विधेयकमाथि समितिमा भएको छलफलको पहिलो दिन साउन २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको थियो । समितिको बैठकमा प्रधानमन्त्रीले कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि नहेर्ने बताए । उनले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता गर्दैन। कसैले कसुर गर्यो भने अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन। कठघरामा उभ्याइन्छ ।’ प्रधानमन्त्री ओली भ्रष्टाचारको विषयमा यस्तो अभिव्यक्ति दिएपनि हदम्यादका विषयमा भने मौन रहे ।

यो विधेयक केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ माघ ६ मा नै राष्ट्रिय सभामा दर्ता गरेको थियो । राष्ट्रिय सभाले त्यसलाई २०७९ चैत २७ मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । विधेयकमा ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ ’ भन्ने प्रावधान राखिएको छ ।

यसरी हदम्याद राखेपछि कतिपय सांसदले यसमा संशोधन प्रस्ताव हालेका छन् । संशोधन प्रस्तावकर्ता कांग्रेस महामन्त्री गगन थापा हदम्याद कुनै हालतमा राख्न नहुने बताउँछन् । देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

सांसद ज्ञानु बस्नेत सुवेदी भ्रष्टाचारमा संलग्नलाई दिइने दण्ड सजायलाई कडा बनाइनुपर्नेमा जोड दिँदै भ्रष्टाचारका ठूला घटनामा संलग्नलाई जन्मकैदको व्यवस्था हुनुपर्ने बताउँछिन् ।त्यस्तै सांसद रञ्जुकुमारी झाले एकपटक भ्रष्टाचारी प्रमाणित भएको व्यक्ति सधैँको भ्रष्टाचारी हुने भन्दै त्यस्तो घटनामा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने माग गरिन् । सांसद अर्जुननरसिंह केसी पनि पाँच वर्षपछि भ्रष्टाचारको मुद्दा नचल्ने प्रावधान हटाउनुपर्ने पक्षम छन् ।

तर केही सांसद विधेयकको पक्षमा देखिएका छन् । कांग्रेस सांसद श्यामकुमार घिमिरे कठोर सजाय दिएर मात्रै भ्रष्टाचार निवारण नहुने भन्दै यसबाट लोकतन्त्र झन् कमजोर हुने तर्क गर्छन् ।
केही सांसदले हदम्याद राख्नुपर्ने वकालत गरेपनि अधिकांश सांसद हदम्याद राख्न नहुने पक्षमा देखिएका छन् । संसदीय समितिमा हदम्यादबारे बहस सुरु भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने समिति सचिवालयमा ५ वर्षको सट्टा १० वर्ष हदम्याद राख्नुपर्नेलगायतका नयाँ प्रस्ताव आइतबार बुझाएको छ ।

तर विधेयक जस्ताकोतस्तै पारित भए भ्रष्टाचार थप मौलाउने भन्दै नागरिक समाजका अगुवाहरुले पनि यसमा खबरदारी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि हदम्याद राख्न नहुने पक्षमा छन् । अध्यक्ष राजेन्द्र लिङ्देन भ्रष्टाचार मुद्दामा हदम्याद राख्दा झन् भ्रष्टाचार बढ्ने बताउँछन् । उनी भन्छन्, ‘भ्रष्टाचार मुद्दामा हद म्याद कायम गर्ने होइन, भ्रष्टाचार जसले जहिले गरेको भएपनि एकदिन दण्डित हुन्छ भन्ने व्यवस्था कायम हुनुपर्छ।’

पूर्वसभामुख एवं नागरिक अगुवा दमननाथ ढुंगाना हदम्याद राख्नुपर्छ भन्नेहरुलाई व्यंग्य गर्दै प्रधानमन्त्री, मन्त्रीहरुलाई विशेष व्यवस्था गरी छुट दिने व्यवस्था गर्नुपर्ने बताउँछन् । उनको भनाई छ, ‘भ्रष्टाचार मुद्दाको हदम्याद पाँचवर्ष गर्नुभन्दा प्रधानमन्त्री, मन्त्री तथा पार्टी अध्यक्ष जस्ता केही उच्च वर्गलाइ अवस्था हेरी विशेष व्यवस्था गरी छुट दिनु बढी व्यवहारिक होला कि ?’

त्यस्तै अर्का नागरिक अुगवा देवेन्द्रराज पाण्डे हदम्याद राखेर विधेयक पारित भए पूरै संसद भ्रष्टाचारीको सहयात्री ठहरिने टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘एक महत्वपूर्ण विषयमा आफ्नो भनाई नराखी मन मानेन, भ्रष्टाचारको मुद्दामा हदम्याद हुँदैन । हदम्याद राख्नै पर्ने भए ५० वर्ष राख्नु । नत्र पुरै संसद भ्रष्टाचारीहरूको सहयात्री ठहरिनेछ।’

२५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

कास्की । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।

“आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने ।

‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताए ।

उनले भने, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”

सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए ।

सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए ।

प्रस्तावित राजदूतहरुको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने

काठमाडौं । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ । प्रक्रियाका प्रारम्भका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

जसमा शंकर प्रसाद शर्मा– भारत, नरेशविक्रम ढकाल– साउदी अरब, प्रा. डा. कपिलमान श्रेष्ठ– दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित– इजरायल, रामकृष्ण भट्टराई– श्रीलङ्का, सनिल नेपाल– स्पेन, शैल रूपाखेती– जर्मनी, लोकदर्शन रेग्मी– संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे– बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया, जङ्गबहादुर चौहान– रुस, रमेशचन्द्र पौडेल– कतार, प्राडा कृष्णप्रसाद ओली– चीन, सुम्निमा तुलाधर– डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना– मलेसिया, प्रकाशमणि पौडेल– पोर्चुगल, रीता धिताल– पाकिस्तान र कान्ता रिजाल– अष्ट्रेलिया छन् ।

एएफसी च्यालेन्ज लिग प्लेअफ : पारोलाई हराउँदै समूह चरणमा पुग्ने लक्ष्यमा चर्च ब्वाइज

काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा नेपालको चर्च ब्वाइज युनाइटेडले आज भुटानी क्लब पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । प्लेअफ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

पहिलो पटक महादेशिय स्तरको क्लब प्रतियोगिता खेल्न लागेको चर्च ब्वाइज घरेलु मैदानमा जित हात पार्दै च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।

त्यसका लागि आफ्नो टोली तयार रहेको मुख्य प्रशिक्षक बालगोपालम हर्जन र कप्तान अनन्त तामाङले बताएका छन् ।

अनन्त तामाङको कप्ताद्दीमा रहेको चर्च ब्वाइजमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु धेरै छन् भने विदेशी खेलाडी ३ जना मात्र छन् ।

तर भुटानी लिग च्याम्पियन पारोमा भने जापानबाट विश्वकप खेलिसकेका स्टार केसुके होन्डासहित ११ विदेशी खेलाडी छन् ।

यस पटक एएफसीले च्यालेन्ज लिगका लागि विदेशी खेलाडी जति पनि राख्न पाउने नियम बनाएपछि चर्च ब्वाइजले धेरै विदेशी खेलाडी टिममा राखेको हो ।

यद्यपी घरेलु मैदान र घरेलु दर्शकको साथ योजना अनुसार खेल्न सके चर्च ब्वाइजले राम्रो नतिजा ल्याउने प्रशिक्षक महर्जनको विश्वास छ । ‘हामीले ३ साता भन्दा बढी प्रशिक्षण गर्‍यौँ । दशरथ रंगशालमा ६-७ महिनापछि खेल हुँदैछ । छोटो समय भएपनि अनन्तको कप्तानीमा टोली सन्तुलित छ ।’

महर्जनले घरेलु मैदानमा राम्रो नतिजा ल्याउने दावी गरे । ‘घरेलु मैदानमा घरेलु दर्शकलाई राम्रै नतिजाको आशा छ । योजनाअनुसार खेलेमा नतिजा आउन सक्छ ।’

यस्तै कप्तान अनन्त तामाङले पनि टिम तयार रहेको बताए । ‘टिम शारीरिक र मानसिक रुपमा रुपमा तयार छ, तामाङले भने । तामाङले छोटो समयमको तयारी भएपनि प्रशिणपछि टिममा सुधार आएको र राम्रो प्रदर्शन गर्ने बताए ।

किन्ले वाङचुकको कप्तानीमा रहेको पारो एफसीको टोलीमा जापान, घाना, सर्विया र मोन्टेनेग्रोबाट गरी ११ खेलाडी विदेशका छन् । विपक्षी टिममा धेरै विदेशी हुँदा केही गाह्रो भएपनि आफ्नो टोली त्यसमा नडराउने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । यस्तै कप्तान अनन्तले पनि विपक्षी टोलीमा को नाम छ भनेर नहर्ने र आफ्नो योजना र रणनीति अनुसार खेल्ने बताएका छन् ।

उता पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले पनि टिममा वर्ल्ड क्लास प्लेअर रहेपनि टिम बन्डिङ र टिम कोअर्डिनेसन महत्वपूर्ण हुने भन्दै चर्च ब्वाइज विरुद्धको खेल गाह्रो हुने बताएका थिए । होन्डासहित नेपालमा लिग र नेपाल सुपर लिग खेलिसकेका विलियम ओपोकु पारोको अनुभवी खेलाडीको रुपमा छन् ।

प्रशिक्षक शर्माले नेपालको मौसम र मैदानको कन्डिसनका कारण आफूहरुलाई केही चुनौती हुने भएपनि त्यसलाई सकरात्मक चुनौतीका रुपमा लिएर खेल्ने बताए ।

च्यालेन्ज कप प्लेअफको विजेताले १ लाख डलर प्राप्त गर्नेछ ।

रौतहटको परोहालाई धुवाँमुक्त बनाउन नगरवासीलाई निःशुल्क ग्यास सिलिण्डर वितरण अभियान

संजय सहनी, रौतहट । रौतहटको परोहा नगरपालिकाको स्थानीलाई निःशुल्क एल.पि.जी ग्यास सिलिण्ड र चुल्हो सेट वितरण गरेको छ ।

विकास र पूर्वाधारमा द्रुत गतिमा अगाडी बढिरहेको परोहाले धुवाँमुक्त नगर अभियानअन्तर्गत ग्यास चुल्हो सहित ग्यास सलिन्डिर वितरण अभियान सुरुवात गरेको हो । परोहा नगरपालिका– ४ मा रहेको विद्यालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्होसहति सिलिन्डिर वितरण कार्यको सुरुवात गरेका हुन् ।

आठौँ नगरसभाबाट पारित नीति कार्यक्रम अनुसार नगरका प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ७ हजार ५ सय ग्यास चुल्हो सेट वितरण गर्ने योजना र कार्यक्रमअन्तर्गत चुल्होसहितको सिलिन्डिर वितरण गर्न लागिएको मेयर शेख वकिलले बताएका छन् । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर वकिलले बताए ।

ग्यास सिलिन्डिर वितरणबाट आर्थिक रुपमा बिपन्न परिवार लाभान्बित हुने विश्वास व्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदी–बहिनीहरुको स्वास्थ्मा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने उनले बताए । पहलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाई ग्यास सिलिन्डिर वितरण गरिएको छ ।

वडा नम्बर ३ का एक हजार २ सय घर मध्ये सोमबार ७ सय घरपरिवारलाई ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिए ।

आलमले यस अभियानबाट आगलागी न्यूनीकरण , वनविनाश रोक्न सक्ने विश्वास रहेको बताए । नगर उपप्रमुख सुगान्धी देवीले पालिकाका स्थानीयलाई ग्यास चुल्हो वितरण गर्न पाउँदा आफू निकै हर्षित भएको बताइन् ।

हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनः उडान गर्ने

काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नोे सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो ।
       
यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो ।

काठमाडौँ–कुवेत–काठमाडौँमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छ ।

सुरुआतमा, एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौँ–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ ।

सारङ्गी रेटेर जीवीका चलाउँदै डम्बर

 राँझा (बाँके) । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायक नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन् ।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुर्ख्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताए ।

काँधमा कालो झोला, गलामा सारङ्गी भिरेर नेपालगञ्जका विभिन्न गाउँ घुम्ने डम्बरले सारङ्गी रेटेर गीत गाउँदै दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

नेपालगञ्जमा मात्र नभई कोहलपुर, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत पुग्ने गरेको उनले बताए ।

१२ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै आएका डम्बर परिवारको हातमुख जोड्नका लागि सारङ्गी रेट्दै नेपालगञ्ज छिरेका हुन् । उनले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि आग्रह गर्छन् ।

‘सहरमा हाम्रो गीत कसैले सुन्छन्, कसैले वास्तै गर्दैनन् । जसोतसो घरखर्च सङ्कलन हुँदै हाएको छ’, डम्बरले भने, ‘मागेर खान नभई आफ्नो संस्कृति र पेसालाई जोगाउन सारङ्गी रेट्दै विरहका गीत गाउने गरेको छु । यो पेसाबाट मलाई गर्व महसुस हुने गर्दछ ।’

बीचमा केही वर्ष रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेको बताउँदै उनले पछिल्लो सात वर्षदेखि निरन्तर सहर बजारमा एक्लै सारङ्गी रेटेर जीविकोपार्जन गर्दै आएको जानकारी दिए । सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा पाश्चात्य गीतसङ्गीतको प्रभाव बढ्दै गइरहेका उनको बुझाइ छ ।

सहरमा सारङ्गी रेटेर विरहका भाकासँगै डम्बरले विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउँदै आएका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसा अङ्गाल्दै गएका बताए ।

समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुख्र्यौली पेसा अहिले विस्थापित हुँदै गएकामा डम्बरले चिन्ता व्यक्त गरे ।

कुनै दिन बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका उनको भनाइ छ ।

रेडियो, पत्रपत्रिका, टेलिभिजन, मोबाइलफोनलगायत अत्याधुनिक सूचना प्रविधिको विकासले आफूहरुले पुर्ख्यौली पेसा परिवर्तन गर्न बाध्य भएको डम्बरले गुनासो गरे । नेपाली मौलिक लोक संस्कृति र पुर्ख्यौली पेसा संरक्षण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

  त्रिविको रुपान्तरण सम्भव छ

सुमना श्रेष्ठ ।
त्रिविद्वारा तीन महिनामै ३ लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन भएको खबरले मलाई मात्र हैन हरेक विद्यार्थीलाई राहत पुगेको हुनुपर्छ । त्रिविको मुख्य समस्या समयमा परीक्षा र नतिजा प्रकाशन नहुने थियो । उत्तरपुस्तिका काठमाडौं नै ल्याउन पर्ने बाध्यताबाट मुक्त बनाउने उपकुलपतिज्यू लगायत प्राज्ञिक नेतृत्वको कार्ययोजना छ । यति मात्र गर्न सके पनि समयमा भर्ना खुल्छ, समयमा परीक्षा हुन्छ र समयमा नतिजा निस्किन्छ । यसका लागि उहाँहरुले गरेको गृहकार्यले परिणाम दिन थालेको पनि हामीले देख्न र अनुभव गर्न थालेका छौँ । त्रिविको पदाधिकारी टिमलाई धन्यवाद र थप सफलताको लागि शुभकामना पनि व्यक्त गर्दछु।

यो सबै सम्भव हुनुका पछाडिको मैले देखेको मूल कारणः उपयुक्तता र योग्यताका आधारमा निष्पक्ष र कुनै राजनैतिक दबाब बिना छनोट भएको नेतृत्व हो । वर्षौँदेखि दलीय राजनीतिको आखडा बनेको नियुक्ति प्रक्रियालाई रुपान्तरण गर्न मापदण्ड बनाएर पारदर्शी र न्यायोचित ढंगमा गरेमा समेत यति सम्भव हुने रहेछ । अब कल्पना गर्नुहोस् त–हरेक डिन, क्याम्पस प्रमुख यसैगरी नियुक्त हुने हो भने नेपालको शिक्षा क्षेत्र कसो नसुध्रिएला त ? यदि सबैले विद्यार्थीको भविष्य र देशको शैक्षिक गुणस्तर उकास्ने उद्देश्य राखेर निर्णय लिने प्रतिबद्धता गर्ने हो भने आजैदेखि शिक्षालयलाई राजनीतिक दलको भर्तिकेन्द्र, परिचालन केन्द्र र रोजगार केन्द्र नबनाऔँ ।

विश्वविद्यालयको नेतृत्व पूर्णतः प्राज्ञिक वर्गले गरोस् । प्राज्ञिक नेतृत्व स्वतन्त्र र जिम्मेवार होस् । राजनीतिक नेतृत्वले प्राज्ञिक नेतृत्वलाई स्रोत व्यवस्थापन र हौसला प्रदान गर्ने हदसम्म मात्र सकारात्मक योगदान गरोस् । अब छिट्टै नै क्याम्पस प्रमुख र डिनहरुको नियुक्ति प्रक्रिया सुरु हुँदैछ । यसमा पनि मापदण्ड बमोजिम नै नियुक्ति हुनेछ भन्ने मेरो विश्वास छ ।
अहिलेको सरकारले समेत त्रिविमा दलीय राजनीतिको हस्तक्षेप गर्नुहुन्न र गर्न दिनु हुन्न भन्ने कुरालाई मनन गर्नुहुनेछ भन्ने विश्वास सारा नेपाली जनताले लिएका छन् । देशको शैक्षिक भविष्यलाई उकास्ने आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्नुहुनेछ भन्ने बारे गहिरिएर नियाल्दै छौँ । शिक्षामा सुधार सम्भव छ। त्रिवि सुधार सम्भव छ।

अध्यक्ष नेपालसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहेका मिस्रीले कोटेश्वरस्थित अध्यक्ष नेपाल निजी निवास पुगेर सोमबार भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच द्विपक्षीय हित, सांस्कृतिक सम्बन्ध र विकासलगायत क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

यसअघि सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायतसँग शिष्टाचार भेट गरेका थिए ।