`

संविधान उल्लङ्घन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त

बीबीसी । संविधान उल्लङ्घन गरेको भन्दै थाइल्याण्डका प्रधामन्त्री सेटा टवीसिनलाई अदालतले पदमुक्त गरिदिएको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ‘अवज्ञापूर्ण व्यवहार देखाएको’ र ‘नैतिकताको नियम’ उल्लङ्घन गरेको ठहर थाइल्याण्डको संवैधानिक अदालतको छ ।

६७ वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन। उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ । अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन् । ‘म आफ्नो इमानप्रति विश्वस्त छु…। मलाई दुःख लागेको छ तर म आफू यो आदेशप्रति असहमत छु भन्दिनँ,’ अदालतले फैसला सुनाएपछि टवीसिनले पत्रकार सम्मेलनमा भने ।

अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन। थाइल्याण्डको संवैधानिक अदालतसँग असीमित शक्ति छ । थाइल्याण्डको राजनीति सदाचारका लागि नभई भ्रष्टाचारका लागि चिनिन्छ । पहिला पनि गम्भीर मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूले सार्वजनिक पदमा बस्ने अवसर पाएका थिए ।

थाइल्याण्डमा धेरै मानिसहरूले यो निर्णयलाई राजनीतिक मान्ने छन् । पिजित चिन्बानलाई मन्त्री बनाएपछि गत मे महिनामा ४० जनाजति सांसदले प्रधानमन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित मुद्दा हालेका थिए।

घुस लेनदेनको प्रयासमा दोषी ठहर भएपछि चुन्बानलाई छ महिनाको जेल सजाय सुनाइएको थियो । विवाद भएपछि चुन्बानले आफू मन्त्री नियुक्त भएको १९ दिनपछि राजीनामा दिएका थिए ।

बुधबार संवैधानिक अदालतका नौमध्ये पाँच न्यायाधीशहरू उक्त नियुक्ति गर्दा प्रधानमन्त्रीले आफ्नो पदीय आचरण उल्लङ्घन गरेको निष्कर्षमा पुगेका थिए ।

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।

सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

पल्सर स्पोर्टस अवार्ड भदौ अन्तिम साता प्रदान गरिने

काठमाडौँ । नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एवम् प्रशिक्षकलाई प्रदान गरिने ‘पल्सर स्पोटर्स अवार्ड’ आगामी भदौमा प्रदान गरिने भएको छ । 

आगामी भदौ २८ गते आयोजना हुने २१औँ संस्करणको उक्त अवार्ड विभिन्न दश विधामा उत्कृष्ट घोषित हुने खेलाडीलाई सम्मान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला, वर्षको उत्कृष्ट युवा, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विधा रहनेछ । 

उक्त अवार्डका लागि आयोजक मञ्च र गोल्छा ग्रुुपबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको छ । आयोजक मञ्चका अध्यक्ष सुवेदी र गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले उक्त अवार्डमा मुख्य प्रायोजकका रुपमा रहने विषयमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, युवा, पिपल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । 

त्यसैगरी, अन्य विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल र पारा एथलिट विधाका विजेताले जनही एक लाख पुरस्कार पाउने छन् ।

अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरिएको मञ्चका अध्यक्ष सुवेदीले बताए । उनका अनुसार यसअघि उक्त विधाका विजेता खेलाडीलाई जनही ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।  

यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङघ (एआइपिएस, एसिया) को कङ्ग्रेस पनि नेपालमै आयोजना गर्ने भएको छ । उक्त कङ्ग्रेस आगामी भदौ २५ देखि २८ गतेसम्म हुनेछ । कङ्गे्रसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहने मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिए ।

अघिल्लो वर्ष पुरुषतर्फ एथ्लेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथ्लेटिक्सकी राजपुरा पछाई, प्रशिक्षकमा एथ्लेटिक्सका चन्द्रबहादुर गुरुङ, युवामा क्रिकेटका देवकुमार खनाल र पिपल्स च्वाइस अवार्डमा टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पल्सर स्पोर्टस अवार्ड जितेकी थिइन् ।

त्यसैगरी, स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जित, पारा एथलिट सम्मान एथ्लेटिक्सकी पारा खेलाडी मैया विशुङ्खे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड हङ्कङका खेलपत्रकार चु चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।

टिआरसी कार्यान्वयन प्रक्रिया र पीडितलाई न्याय दिने विषयमा निगरानी हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टिआरसी) लाई संसद्बाट चाँडो पारित गरेर पीडितलाई चाँडो न्यायको अनुभूति गराउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै  अध्यक्ष लिङ्देनले चाँडो कानुन बनाएर पीडितलाई न्याय प्रत्याभूति र पीडकलाई सजाय प्रक्रिया प्रभावकारी रुपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

“हामी ऐन कार्यान्वयन प्रक्रियालाई होसियारीपूर्वक हेर्नेछौँ र न्यायका लागि आवाज उठाउनेछौँ । यो प्रक्रियामा कसैलाई उपेक्षामा परेको अनुभूति राज्य पक्षले नगराओस्”, उनले भने । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई नजिकबाट निगरानी गरिरहेको पनि उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका नेपाली सेनाका परिवार अहिले पनि न्यायका लागि भाँैतारिरहेको विषय अध्यक्ष लिङ्देनले संसदमा उठाए  ।

“सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले जागिर छोड्न बाध्य पारेका झन्डै दुई हजार पूर्वसेनाका परिवार न्याय पर्खिरहेका छन् । उनीहरुका कुरालाई सरकारले सम्बोधन गर्नुपर्छ,” उनले भने । सशस्त्र द्वन्द्वलाई सफल अवतरण गराउन र मुलुकलाई शान्तिप्रक्रियामा लैजानका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिका बिर्सन नहुने पनि लिङ्देनको भनाइ छ ।

आफू पनि सशस्त्र द्वन्द्वको बेला विस्थापित हुनुपरेको स्मरण गर्दै अध्यक्ष लिङ्देनले अब मुलुकमा द्वन्द्व फेरि नदोहोरियोस् भन्ने कामना पनि गरे। “त्यो बेला द्वन्द्वरत पक्ष र सरकार पक्षमात्र नभई अन्य सर्वसाधारण पनि पीडित भए । उनीहरुलन्याय पाउने विषयमा कसैले आवाज उठाएका छैनन्”, उनले भने ।

नेपालको शान्ति प्रक्रियाले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उनले अन्तिम विन्दुमा आइपुगेको शान्ति प्रक्रियालाई सम्पन्न गर्न विलम्ब गर्न नहुने बताए ।

        “शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको छ, अब धेरै ढिला नगरौँ । दुई/दुई पटक दुवै आयोगमा पदाधिकारी नियुक्ति गर्यौँ, राज्यको लगानी खेर गयो”, उनले भने,“पीडित परिवार न्यायको प्रतीक्षामा छन्, जघन्य अपराध गर्नेले दण्ड पाउनुपर्छ, पुराना कुरालाई थन्क्याई राखेर बदलाको भावनाबाट राख्ने गर्नु हुँदैन ।”

        पीडितका समस्यालाई ध्यान दिँदै सिङ्गो शान्ति प्रक्रियालाई सम्पन्न गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले यसलाई पूर्णता दिन सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताए ।

“शान्ति प्रक्रियालाई पूर्णता दिन केही राजनीतिक दलमात्र मिलेर हुँदैन, सबै राजनीतिक दलको साझा विषय बनाउनुपर्छ”, उनले भने, “आज महत्वपूर्ण विधेयक पारित हुँदैछ । यसले नयाँ इतिहास कायम गर्नेछ ।”

सङ्क्रमणकालीन न्यायसँग जोडिएका कामलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसका लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे ।

विसं २०५४ देखि तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटकपटक भेटघाट र छलफल हुँदै आएको स्मरण गर्दै उनले त्यसअवस्थामा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले भूमिका खेल्दै आइरहेको जानकारी दिए । 

टीआरसी विधेयकलाई टुङ्गोमा पुर्याउँदा अन्तर्राष्ट्रिय चासोलाई ख्याल गर्नुपर्छः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउँदै गर्दा अन्तर्राष्ट्रिय चिन्ता र चासोलाई समेत ख्याल गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन , सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उनले शान्ति प्रक्रियालाई छिटो टङ्गो लगाएर न्यायको पर्खाइमा रहेका पीडितलाई राहत दिन सरकार, राजनीतिक नेतृत्व र तीसँग सम्बन्धित संरचना सफल हुनेमा शुभेच्छा व्यक्त गरे ।

‘यो अन्तराष्ट्रिय चासोको विषय हो । हामीले टुंग्याएको मुद्दामा अन्तर्राष्ट्रिय रुमपा प्रश्न नउठने परिस्थिति बनाउन र उनीहरुको स्वभाविक चिन्ता र चासोबारे पनि ख्याल गरिनुपर्छ’,उनले भने, ‘हामीले यसका लागि अभिलम्बन गर्ने प्रक्रिया पारर्दशी र पीडितमैत्री भएन भने अन्र्राष्ट्रिय जगतले निरन्तर प्रश्न गरिरहने छ ।’

लामिछानेले सङ्क्रमणकालीन न्याय निरुपरणको गाँठो फुकाउने गरी कानुन बन्नेमा विश्वास व्यक्त गरे । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउन सभामार्फत सभापति लामिछानेले अपीलसमेत गरे ।

‘कानुन आफैले न्याय दिने चाहिँ होइन । संरचना यसका लागि चाहिन्छ । र ती संरचनामा रहेन व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ’, उनले भने, ‘फेरि पनि राजनीतिक स्वार्थका आधारमा दलीय भागबन्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन ।’

विगतमा सत्य निरुपरण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले सरकारबाटै सहयोग नपाउँदा पर्याप्त काम गर्न नसकेको गुनासोबारे स्मरण गराए ।

उनले भने, ‘अब बन्ने आयोगले पनि त्यही नियति भोग्ने हो कि ?’ सभापति लामिछानेले आयोगमा पीडित पक्षको प्रतिनिधित्व हुन सके राम्रो हुने धारणा राखे ।

‘मेलमिलापका लागि पीडक पक्षले दबाब र प्रभाबमा पार्ने खतरा जहिल्यै हुन्छ । राजनीतिक नियुक्तिका भएर आउने महान्याधिवक्ताले आयोगमार्फत रायका लागि आउने घटनामा दलीय स्वार्थ रहने सम्भावना पनि त्यतिकै रहन्छ’, उनले भने ।

कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताएका छन् ।

बुधबार महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गरे ।

उनले भने, “यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरुन । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्दपि तपाईहरूको अझैँ धेरै सक्रियता राज्य र जनताले खोजेको छ ।”

आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताए ।

“अस्पतालमा भीड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नु जरुरी छ । यसका लागि हामीले डिजिटल रुपमा सेवा सुरू गरेका छौँ, यसको प्रयोग सुरुआती दिनमा कम देखिए पनि विस्तारै बढ्छ । कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ”, उनले भने ।

मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले वीर अस्पताल झैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए ।

सो अवसरमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले गत वर्षको तुलनामा यसवर्ष अस्पतालमा १० प्रतिशत बढी बजेट विनियोजन भएको बताए । उनले भने, “यो अस्पतालप्रति आम मानिसको विश्वास र यहाँको क्षमताकै कारण हामीले यसलाई अझैँ वृहत बनाउने नै छौँ । यसका लागि हामी तत्पर छौँ ।”

अस्पतालका निर्देशक डा पङ्कज रायले एक हजार शय्याको अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

उनले भने, “हामीकहाँ भएको जनशक्ति पर्याप्त नभए पनि हामीले सेवालाई थप सहज र प्रभावकारी बनाउन मेहनत गरिरहेका छौँ । हाम्रो वार्षिक र बहुवर्षीय योजनालाई मन्त्रालयले अगाडि बढाउन मद्दत गरिरहेको छ, यसले आगामी दिनमा थप सुविधा दिन सहयोग पुग्छ ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष बाबुराम गौतमले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य मन्त्री बन्नुभएकाले अस्पतालको स्तर बढ्नेमा कुनै दुविधा नरहेको बताए । सो अवसरमा मन्त्री पौडेलले १६ शय्याको ‘बालबालिका मनोचिकित्सा अन्तरङ्ग वार्ड’को उद्घाटन गरे ।

उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमति लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन् ।

आज मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै उनले बागमती, विष्णुमतिलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाका बारेमा राय लिएका हुन् ।

उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै उपप्रधान मन्त्री सिंहले समाधानका उपायबारे छलफल गरेका हुन् ।

“नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोचिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भने, “यसमा विज्ञहरुको राम्रा सुझाव आएका छन् । आगामी दिनमा पनि विज्ञहरुसँग बसेर अरु के–के गर्न सकिन्छ छलफल गरौँला ।”

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको प्रवाह वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शङ्खमूलदेखि कुपन्डोलसम्म पानी जमाएर ‘बोटिङ’ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको बताए ।

सो क्रममा विज्ञहरुले सुख्खा याममा काठमार्डौंका नदीमा जलप्रवाह बढाउन प्राविधिक सम्भाव्यताका बारेमा राय दिएको थियो । विज्ञहरुले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राखे । केही विज्ञले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।

पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरुसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए । उनले काम गर्ने तौरतरिका बदलेर नदी सफाइ, फोहरमैला व्यवस्थापनलगायतका विषयमा सर्वसाधारणलाई सहभागी गराउनुपर्नेमा जोड दिए । 

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् ।

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए ।

‘नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो’, उनले भने, ‘अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ।’

बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा–४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताए ।

‘जिल्लामा यति बेला स्याउ टिप्ने सिजन सुरु भएकाले सबै किसान निकै व्यस्त छन्’, उनले भने, ‘अहिले ठेकेदार बगैँचामा आएर स्याउ लिने गरेका छन्।’

स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रास्कोट नगरपालिका–८ फुकोटका पुष्पराज बरालले बताए । ‘स्याउ उत्पादन प्रशस्त हुन्छ । यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पुर्‍याउन ढुवानी खर्च महँगो पर्छ’, उनले भने, ‘ठेकेदारले बारीमा आएर स्याउ लैजाने गरेका मूल्य कम भए पनि ढुवानीको समस्या भने अहिले छैन।’

किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : सभापति खतिवडा

काठमाडौँ ।  संसदको राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो औंल्याएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभइ नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए ।

‘समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन । जान पनि हुन्न । राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ’, सभापति खतिवडाले भने–’राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ ।’

संविधानले परिकल्पना गरेअनुरुप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति खतिवडाले पहुँच र प्रभावका आधारमा एउटै व्यक्तिलाई धेरै पटक समानुपातिक प्रणालीमा ल्याइँदा त्यही समुदायको अर्काे व्यक्ति मारमा पर्ने पक्षलाई हेक्का राख्न जरुरी छ भने ।

निर्वाचनसम्बन्धी प्रस्तावित विधेयक समितिमा आएपछि सरोकारवालासँग गहन र व्यापक छलफल हुने उल्लेख गर्दै सभापति खतिवडाले समानुपातिक प्रणाली वास्तवमै राज्यको पहुँच र मूलधारबाट छुटेकालाई समेटने प्रणाली भएको धारणा राखे । नेपालमा हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली बारेमा विभिन्न पक्षबाट उठाइएका आवाजलाई राजनीतिक दल, जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण भइरहेको उनको भनाइ थियो ।

त्यस अवसरमा मञ्चलगायत २३ संघ संस्थाका प्रतिनिधिले नेपालमा निर्वाचन सुधार पहलका लागि ‘जसको जति सङ्ख्या भार उसको त्यति उम्मेदवार’ मूल नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनीहरुले महिलाभित्रको अन्तर–सामुदायिक समावेशीतालाई सम्बोधन गर्ने, दलित महिलालाई अल्पसङ्ख्यक महिलाद्वारा प्रतिस्थापन गर्ने प्रस्ताव अस्विकार्य हुने, निर्वाचन क्षेत्र असुरक्षित र संरक्षित गर्ने, समानुपातिक सूचीमा सुधार ल्याउनुपर्नेलगायतका विषयमा सभापति खतिवडाको ध्यानाकर्षण गराए । 

शेयर बजारमा ३४ अंकको बृद्धि, २३ अर्बको कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।


बुधबार तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ ।


जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ । 


बैंकिङ  शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ ।


आज नौवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

पर्वतमा कृषि र पशुपालनतर्फ १७ करोड भन्दाबढी बजेट

पर्वत। चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा  १७ करोड भन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालु आवमा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत्रमा  १७ करोड १९ लाख ८५ हजार बजेट खर्च हुने भएको हो ।

खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए ।

पशुपालनतर्फ पनि दूध, घ्यू, माछा मासु, अण्डामा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात बढाउने उद्देश्यले बजेट छुट्याएर कार्यक्रम बनाइएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत रहेका कृषि ज्ञान केन्द्रमार्फत पाँच करोड ८२ लाख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत चार करोड १५ लाख र सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइमार्फत सात करोड २२ लाख ८५ हजार बजेट प्राप्त भएको छ ।

परियोजनाका केही कार्यक्रम छिमेकी जिल्ला बागलुङ र गुल्मीमासमेत सञ्चालन हुने भएका छन् । ज्ञान केन्द्रले गत वर्षदेखि सञ्चालनमा ल्याएको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सफल भएपछि चालु आवमा पनि निरन्तरता दिइएको केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए ।

आलुखेती प्रवर्द्धन गर्न एक करोड ४७ लाख विनियोजन गरिएको छ । कार्यालयका अनुसार तरकारी बाली प्रवर्द्धन आयोजनाका लागि १२ लाख ५० हजार, पोषण सुरक्षा कार्यक्रमका लागि २० लाख विनियोजन गरिएको छ ।

जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रमका लागि रु १० लाख, बीउ उत्पादन प्रवर्द्धनतर्फ १२ लाख ५० हजार, मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धनतर्फ १० लाख र रैथाने बाली प्रवर्द्धन आयोजनाका लागि रु नौ लाख ५० हजार विनियोजन गरिएको छ ।

खाद्यान्नबाली प्रवर्द्धन आयोजनातर्फ रु २६ लाख, ६० हजार, सुन्तला जात फलफूल विकास आयोजनाका लागि एक करोड १८ लाख विनियोजन गरिएको छ । पर्वतबाट सबैभन्दा बढी निर्यात हुने फलफूलमा सुन्तला रहेकाले यसको खेती विस्तारलाई जोड दिइएको केन्द्रले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपालन किसासलाई लक्षित गरेर चालु आवमा विविध कार्यक्रम निर्धारण गरिएको कार्यालय प्रमुख पुष्पराज बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पर्वत दूध र माछा, मासुमा आत्मनिर्भर बनिसकेको छ भने अण्डा पनि केही मात्रामा आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षमा पशुमा पूर्ण खोप कार्यक्रमतार्फ रु ९८ लाख छुट्ट्याइएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि २० लाख, पशु विकास प्रवर्द्धनतर्फ ५० लाख, पशु तथा मत्स्य व्यवसाय प्रवर्द्धनतर्फ एक करोड १३ लाख ५० हजार, पशु स्वास्थ्य कार्यक्रमतर्फ ३५ लाख ३० हजार, किसानको क्षमता अभिवृद्धितर्फ सात लाख, पशु आहारा प्रवर्द्धनका लागि छ लाख र स्थानीय पशुपक्षी संरक्षण कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको कार्यालय प्रमुख बाँस्तोलाले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाइमार्फत पर्वतमा मकै, धान, तरकारी र सुन्तलाखेतीको प्रवर्द्धन गर्न विभिन्न योजनमा बजेट खर्च गरिने भएको छ । विगत आठ वर्षदेखि जिल्लामा सञ्चालित योजना तथा परियोजनाले सुरुमा मकैबालीको प्रवर्द्धनमा लगानी गरेको थियो । अहिले मकैको बीउको स्रोत केन्द्रनै पर्वत बनेको छ । जिल्लाको फलेवास, महाशिला र विहादी गाउँपालिकामा मकैको मूल बीउ उत्पादन गरी निर्यात हुन थालेको छ ।

त्यसैगरी पोखरेली जेठोबुढो धान उत्पादन र यसको स्रोत बीउ उत्पादनमा अहिले सक्रिय बनेको छ । गत आर्थिक वर्षमा पर्वतबाट पोखरेली जेठो बुढो धानको १२ मेट्रिक टन बीउ निर्यात भएको थियो भने पोखरेली जेठो बढो धान ३० मेट्रिकटन निर्यात भएको थियो ।

चालु आवमा विनियोजित बजेट वितरणमुखी भन्दा पनि दीर्घकालीन योजनालाई जोड दिइएको छ । यस वर्ष दुईवटा चिस्यान केन्द्र (कोल्ड रुम) स्थापनाका लागि ३५ लाख ५० हजार विनियोजन गरिएको छ भने सिँचाइ पूर्वाधार निर्माण तथा मर्मततर्फ ३० लाख विनियोजना गरिएको छ । त्यसैगरी चक्लाबन्दीमा आधारित फलफूल बगैँचा व्यवस्थापन, बीउ उत्पादन, मसिना धान प्रवर्द्धन, प्याकेजिङ लेभलिङ तथा क्षति न्यूनीकरण कार्यक्रमका लागि बजेटलाई प्राथमिकता दिइएको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए ।

सिँचाइ पूर्वाधार निर्माण गर्न यसवर्ष ७५ लाख, प्लास्टिक घर निर्माण गर्न ३५ लाख, तरकारी जोनका लागि १० लाख ३० हजार, उद्यमशील कार्यक्रमतर्फ अनुदान ४० लाख, व्यावसायिक प्याज प्रवर्द्धन गर्न आठ लाख ५० हजार विनियोजन भएको पौडेलले बताए ।

तीनवटै कार्यालयले वार्षिक बजेट तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गर्दै विनियोजित बजेटबारे जानकारी दिएका थिए । पर्वतमा गत आर्थिक वर्षमा स्थानीय तहसमेत गरी २० करोड ८१ लख ५५ हजार खर्च भएको थियो । गत आवमा नगरपालिका र स्थानीय तहबाट नौ करोड ४६ लाख ६४ हजार बजेट विनियोजन भएको थियो । रासस

नेपाल र चीनबीचको सम्बन्धको आधार

–महेन्द्रप्रकाश सिवाकोटी
नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । नेपाल र चीन, दुई पुराना सभ्यताका प्रमुख मित्रराष्ट्रहरू, अनादिकालदेखि नै आपसमा गहिरो सम्बन्ध राख्दै आएका छन् । हिमालय पर्वतको शृङ्खला र विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक पक्षहरूले जोडिएका यी दुई देशबीचको सम्बन्ध औपचारिक र अनौपचारिक तहमा विकसित हुँदै आएको छ । पहाड, पर्वत, नदीनाला र हिमालयले मात्र नभई, सांस्कृतिक, धार्मिक, सामाजिक र सामरिक रूपमा पनि नेपाल र चीनबीचको सम्बन्ध दृढ र व्यापक भएको छ । नेपाल–चीन सम्बन्धलाई अझै सुदृढ बनाउनका लागि समय–समयमा विभिन्न सन्धि–सम्झौताहरू भएका छन्, जसले यी दुई राष्ट्रलाई पारस्परिक सुरक्षा, व्यापारिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा एक–अर्काको महत्वपूर्ण साझेदार बनाएको छ । नेपाल र चीनबीचको यो सम्बन्धले क्षेत्रीय स्थायित्व र शान्तिमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । 

नेपाल र गणतन्त्र चीनको बीच दौत्य–सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपाल सरकार र गणतन्त्र चीन सरकारका बीच २०१२ श्रावण १२ गते (२७ जुलाई १९५५) मा हस्ताक्षर भएको थियो । दुवै सरकारले पाँच सिद्धान्तलाई आपसको सम्बन्ध सञ्चालन गर्ने मूल सिद्धान्त हुनुपर्छ भन्ने स्वीकार पनि गरेका छन् । यसमा एकले अर्कोको सार्वभौमिकता र राज्य क्षेत्रको अक्षुष्णताको सम्मान गर्ने, अनाक्रमण, आर्थिक, राजनैतिक र सैद्धान्तिकरूपका कुनै कारणबाट पनि एकले अर्कोको आन्तरिक मामलामा हस्ताक्षेप नगर्ने, समानता र पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्वलाई स्वीकार गरिएको थियो ।  

नेपालको परराष्ट्रनीतिको प्रमुख लक्ष्य सुरक्षा हो । नेपालको चीनप्रतिको सम्बन्धको मुख्य आधार भनेको नेपाल दुई ठूला राष्ट्रबीचको राष्ट्र भएकाले सुरक्षा र स्वाधीनता नै यसको मुख्य विषय भएको छ । चीनसँगको सम्बन्धको प्राथमिक आधार पनि यही नै हो । सुरक्षाको स्वार्थलाई नै नेपालले चीनसँगको सन्धि–सम्झौता गर्दा प्रमुख आधार बनाएको हुन्छ । नेपाल विकासशील र पिछडिएको मुलुक भएकाले विदेशी सहयोग र सद्भावनाद्वारा आर्थिक विकास गर्ने लक्ष्य रहेको छ र चीनसँगको सम्बन्ध र सन्धि–सम्झौताको दोस्रो आधार पनि यसैलाई मानिएको छ । त्यस्तै चीनको पनि नेपालसँगको सम्बन्धका लागि सुरक्षा स्थायित्व र अन्तर्राष्ट्रिय क्रियाकलापमा समर्थन नै प्रमुख रूपमा रहेको पाइन्छ । चीनको दक्षिणमा रहेको नेपाल हुँदा नेपालले सधैंँ चीनको सुरक्षाको लागि महत्वपूर्ण स्थान लिएको छ । चीन सधैंँ हिमालय क्षेत्रमा शान्ति र स्थायित्व चाहन्छ । यसो हुँदा नै हिमालय क्षेत्रमा शान्ति भएमा चीनको समेत सुरक्षा हुने हुँदा नेपालसँगको सम्बन्धलाई यही सुरक्षात्मक अवधारणालाई प्रमुखता दिएको पाइन्छ । 

यस्तै चीनको नेपालसँगको दोस्रो स्वार्थ भनेको तिब्बतमा स्थायित्व कायम गर्नु हो । तिब्बतमा बारम्बार हुन सक्ने अस्थिरताबाट सुरक्षित हुनका लागि चीनले नेपालबाट चीनविरूद्ध हुने कुनै पनि कदमलाई प्रोत्साहित नगरियोस् भन्ने कुरामा ध्यान दिई यसैका लागि सन्धि–सम्झौताहरूमार्फत यो स्थिति प्राप्त गर्न खोजेको पाइन्छ । चीनको तेस्रो स्वार्थ भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको नीतिको राजनीतिक समर्थन चाहेको देखिन्छ । एक चीनको नीतिको रूपमा तिब्बत तथा ताइवानलाई अलग राज्य नमानी एउटै राज्यको रूपमा मान्यता नेपालले कायम राखोस् भन्ने चीनको स्वार्थ देखिन्छ । छिमेकी नेपाल हुँदा यसलाई यो समर्थनको विशेष अर्थ पनि रहन्छ । यस्तै चीनको अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको नीतिलाई नेपालले समर्थन गरोस् वा समर्थन नगरेपनि यसको विरोधमा नजाओस् भन्ने चीनको चाहना रहेको पाइन्छ । यसैले नेपालको सुरक्षा स्थायित्व तथा नेपालको विकासमा सहयोग गर्नका लागि चीनले सहयोग गर्ने नीतिअन्तर्गत नै वैध सम्बन्ध स्थापित गर्ने उद्देश्यले सन्धि–सम्झौताहरू भएको देखिन्छ । 

नेपालले चीनबाट वर्तमान परिवर्तित सन्दर्भमा पूर्वाधार विकास, व्यापार र बजार पहुँच, पर्यटन, सांस्कृतिक र शैक्षिक आदान–प्रदान, जलवायु परिवर्तन र वातावरणीय सहकार्य, आर्थिक सहयोगमा वृद्धिजस्ता क्षेत्रहरुमा लाभ लिन सक्छ । पूर्वाधार विकासका लागि नेपालले चीनबाट सडक, रेल्वे र ऊर्जा परियोजनामा लगानी वृद्धि गर्न पहल गर्नुपर्छ । चीनसँगको सहकार्यले नेपालको भौगोलिक सम्पर्कमा सुधार ल्याई व्यापार, पर्यटन, र क्षेत्रीय विकासलाई तिब्र बनाउन सक्छ । यो प्रयासले देशभित्रको यातायात प्रणालीलाई पनि आधुनिकीकरण गर्न मद्दत पु¥याउनेछ । यसले नेपालको आर्थिक वृद्धि र समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ ।

नेपालले चीनसँगको सम्बन्धबाट पर्यटन, कृषि, र उत्पादन क्षेत्रमा चिनियाँ लगानी आकर्षित गरेर अझै धेरै लाभ लिनसक्छ । व्यापारिक मार्गहरू, जस्तै ट्रान्स–हिमालय बहुआयामिक सम्पर्क नेटवर्क विकास गर्नाले व्यापार र लगानीमा वृद्धि हुन सक्छ । चीनसँगको व्यापार सम्बन्ध विशेषगरी कृषि उत्पादन र हस्तकला सामग्रीको लागि चिनियाँ बजारमा पहुँच विस्तार गरेर अझै बलियो बनाउन सकिन्छ । यसले नेपालको निर्यातको विविधिकरणमा मद्दत पु¥याउनेछ र व्यापार घाटा घटाउनेछ । साथै, स्थानीय उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र आर्थिक अवसरहरू सिर्जना गर्न पनि मद्दत पुग्दछ । यसले नेपालको व्यापारिक सम्बन्धलाई दीर्घकालीन र सुदृढ बनाउन सक्छ । चीनसँग पर्यटन सम्बन्धलाई प्रोत्साहन गरेर नेपाललाई चिनियाँ पर्यटकहरूको प्रमुख गन्तव्यको रूपमा प्रचार गर्न सकिन्छ । यसबाट चिनियाँ पर्यटकहरूको संख्या वृद्धि हुने र नेपालको आतिथ्य, सेवा क्षेत्र, र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । साथै, पर्यटनले दुई देशबीचको सांस्कृतिक आदान–प्रदानलाई पनि बढावा दिनेछ ।

यसैगरी दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई प्रगाढ बनाउनका लागि छात्रवृत्ति, भाषा कार्यक्रम, र संयुक्त अनुसन्धान पहलहरू सञ्चालन गर्न सकिन्छ । यसले दुवै देशका नागरिकहरूबीच आपसी समझदारी बढाउनेछ र शैक्षिक सहकार्यले नेपालको मानव संसाधनलाई सुधार गर्नेछ । यस प्रकारको आदान–प्रदानले दुवै देशका युवाहरूमा मित्रता र सहकार्यको भावना बलियो बनाउनेछ । जलवायु परिवर्तन र वातावरण संरक्षणमा नेपालले चीनसँग सहकार्य गरेर साझा चुनौतीहरूको समाधान गर्न सक्छ । हिमालयको संरक्षण, दिगो विकास, र वातावरणीय व्यवस्थापनका क्षेत्रमा संयुक्त प्रयास गर्न सकिन्छ । यसबाट दुवै देशले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूको सामना गर्न सक्नेछन् र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न मद्दत मिल्नेछ । यस्तो सहकार्यले दुवै राष्ट्रको वातावरणीय समृद्धिमा योगदान दिनेछ । विश्वव्यापी गतिशीलतामा परिर्वतनको रूपमा नेपालले चीन र भारत दुवैसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सक्दछ । दुवै छिमेकीहरूसँगको सहकार्यबाट लाभ उठाउँदै आफ्नो सार्वभौमिकता र स्वतन्त्रतालाई कायम राख्न सक्छ ।

नेपाल र चीनबीचमा विभिन्न किसिमका सन्धि–सम्झौताहरू भएका छन् । नेपाल र चीनबीचको सम्बन्ध प्राग ऐतिहासिक कालदेखि नै भएको थाहा पाइन्छ । नेपाल उपत्यकामा पानीको सतह रहेकै अवस्थामा नेपालमा महामञ्जुश्रीको आगमन भएको थियो । उनले त्यसबेलाका यहाँका कविला राज्यलाई पराजित गरी नयाँ राज्यको स्थापना गरेका भिए । यो युद्ध हिमाल पारको व्यापार खुलाउन र दक्षिणतर्फबाट आफूलाई सुरक्षित गराउनका लागि महामञ्जुश्रीले आधिपत्य कायम गरी नयाँ राज्यसँग सम्झौता गरेको भन्ने देखिन्छ । त्यसयता दुई देशबीच विभिन्न समयमा दर्जनौं भएका सन्धि–सम्झौताहरू भएका छन् । हुम्ला राज्यसँग सन्धि, स्रोङचङ गोम्पोसँगको सन्धि, खश चीन सन्धि, नेपाल तिब्बत मुद्रा सन्धि, भीममल्लको भोटसँगको सन्धि, रामशाहको सन्धि, मुद्रा विवाद र गोरखासँगको सन्धि, नेपाल भोट युद्ध र केरूङ् सन्धिहरु भएका थिए ।  

त्यस्तै नेपाल तिब्बत चीनबीचकोे बेत्रावती सन्धि, १७९३, नेपाल तिब्बतबीचको थापाथली, १८५६ को सन्धि, नेपाल भोटबीचको केरूङ सन्धि १८८४, नेपाल–चीन सम्झौता १९५६, नेपाल–चीनबीचको पञ्चशीलको सन्धि, आर्थिक सहयोग सम्झौता, सन् १९५६, शान्ति तथा मैत्री सन्धि, अप्रिल २८, १९६०, नेपाल–चीन सीमा सम्झौता १९६०,  राजमार्ग निर्माणसम्बन्धी सम्झौता, व्यापार सम्झौता १९६४, नेपाल र चीनबीच स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको सम्झौता १९६६, नेपाल र चीनबीच व्यापार सम्झौता १९६८, व्यापार तथा भुक्तानी सम्झौता १९७४, नेपाल र तिब्बतबीच व्यापारलगायतसम्बन्धी सम्झौता १९८६ गरिएका थिए । यसैगरी सन् १९९९ पछि सांस्कृतिक सम्झौता, सैनिक सम्झौता, आर्थिक व्यापारिक समिति गठनको सम्झौता र आर्थिक सहयोग सम्झौता पनि भएका छन् । 

समग्रमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर, गहिरो र भरपर्दो हुनुपर्छ । चीनको सुरक्षाका लागि नेपाल र नेपालको सुरक्षाका लागि चीन एक–आपसमा कटिबद्ध, मजबुत र एकताबद्ध हुन सकेको खण्डमा दुवै देश एशियाका चम्किला तारा झैं स्थापित हुनेछन् । चीनले पनि नेपालको सुरक्षाका लागि योगदान दिएको छ र नेपालले पनि चीनको सुरक्षाका लागि योगदान दिएको छ । हामीले यो इतिहासलाई कहिल्यै भुल्नु हुँदैन । नेपाल र चीनबीचमा बेलाबखत हुने गरेका मतभेदहरूलाई सौहार्दतापूर्वक छलफल–बहस गरेर समाधान गर्नुपर्दछ । 

व्यापार असन्तुलनको व्यवस्थापन र पूर्वाधार परियोजनाहरूले स्थानीय समुदायलाई फाइदा पु¥याउन सुनिश्चित गर्न नसक्नु आज दुई देशबीचका प्रमुख चुनौतीहरू हुन् । दुई देशबीचको यति लामो सम्बन्धलाई कुनै पनि हालतमा बिग्रन दिनु हुँदैन । दुवै देशबीच सन्धि–सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने हो भने एक–आपसमा चिसोपना आउन सक्छ । तसर्थ, नेपाल र चीनबीचमा भएका सन्धि–सम्झौताहरूलाई सम्बन्धित पक्षले कार्यान्वयनमा विशेष जोड दिनुपर्छ । चीनको प्रविधि र समृद्धिलाई नेपालमा के कसरी जोड्न सकिन्छ, त्यस विषयमा पनि दुवै देशले ध्यान दिएर एक–आपसमा साथ सहयोगको भावना अगाडि बढाउनु जरूरी देखिन्छ । संक्षेपमा, नेपाल–चीन सम्बन्धले भविष्यको विकासको लागि ठूलो सम्भावना बोकेको छ । यस सम्बन्धलाई सावधानीपूर्वक व्यवस्थापन गरेर, नेपालले आफ्नो रणनीतिक स्थानलाई आर्थिक समृद्धि र दिगो विकास प्राप्त गर्न उपयोग गर्न सक्नुपर्छ ।
(लेखक नेपाल सरोकार मञ्चका अध्यक्ष हुनुहुन्छ)

देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना भएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका हुन् ।

शान्ति प्रक्रिया नमुना भएपनि जोखिम उठाएर हतियार व्यवस्थापनको काम गरेको बताए । उनले युद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि आफ्नो पार्टी फुटाइएको बताए ।

आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको बताए । उनले भने, ‘मैले सेना समायोजन गरेवापत मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापत मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो । देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छ ।’

उनले आफ्नो विशेष पहलमा नै सेना समायोजन र हतियार व्यवस्थापनको काम सकिएको बताए । उनले राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढंगले स्थापित गरेको बताए ।

उनले अन्य राजनीतिक दलका नेताहरूले ‘माओवादी जनयुद्ध’ भन्दा जातै जाला जस्तो गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने,’माओवादी जनयुद्ध भन्दा जातै जाला जस्तो गर्नुहुन्छ । जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ । सभाको ध्यानाकर्षण गर्न चाहान्छु कि त्यही प्रस्तावनाको अनुच्छेद तीनमा छलफल हुँदा तत्कालीन समितिको सभापति कांग्रेसका पूर्णबहादुर खड्का नेतृत्वको समितिले गरेको निर्णय हो र संविधानसभाद्वारा पनि पारित भएको छ ।’

उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदै गर्दा भएका सहमतिलाई विस्मृतिमा लैजाने काम गर्न नहुने बताए । प्रचण्डले आफूलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सक्ने जिम्मेवारी दिएर गएको पनि बताए ।

प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्दै ओलीले हुन्छ भन्दा हुन्न बुझ्नु पर्ने र हुन्न भन्दा हुन्छ भनेर बुझ्नु पर्ने स्थिति रहेको टिप्पणी गरे ।

उनले भने, ‘बहुदलीय प्रतिस्पर्धाको नाममा दुईदलीय व्यवस्थामा लैजान खोजिएको त होइन भन्ने आशंका छ । हुन त प्रधानमन्त्रीजीले होइन भन्नुभयो, त्यही साबित होस् भन्ने अपेक्षा गर्दछु । केदेखि तर्सेको के देखेपछि झस्किन्छ भनेझैँ । उहाँले हुन्छ भनेपछि हुन्न बुझ्नुपर्ने स्थिति र हुन्न भनेपछि हुन्छ भन्ने स्थिति भएकाले बढो आशंकाको स्थिति कायम छ ।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिअनुरुप बनेकाले पीडितहरूले न्याय पाउनेछन्ः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालीरहेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै बनेकाले पीडितहरूले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

उनले विधेयकले सत्यको अन्वेषण गर्ने र पीडितलाई न्यायको अनुभूति गर्ने व्यवस्था गरेको बताए । उनले भने, ‘संक्रमणकालीन न्याय टुंगोमा पुगेकोमा अन्तर्राष्ट्रियहरूले समुदायले नजिकबाट नियालीरहेका छन् । सबै पीडितहरूले न्यायको अनुभूति गर्नेछन्।’

उनले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताए । विधयेक पारित नहुँदा पीडित स्वयम् र परिवारजनले थप पीडा भोक्दै आएको बताउँदै सभापति देउवाले विधेयक कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरे ।

उनले विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनहरूलाई ध्यानमा राख्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू न्यायोचित ढंगले टुंगोमा पुग्ने बताए। सहमतिमै विधेयक आएकाले अन्तर्राष्ट्रिय समुदाय र सरोकारहरूले स्वागत गर्ने विश्वास व्यक्त गरे।

देउवाको सम्बोधनको पूर्णपाठः

सम्माननीय सभामुख महोदय,

सर्वप्रथम यस वर्षात्को समयमा बाढी, पहिरो र डुबानजस्तो प्राकृतिक प्रकोप र विभिन्न सडक एवं हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यी विभिन्न घटना र दुर्घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरुको उपचारमा कुनै कमी हुन नदिन पनि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै यस विपत्तिको घडीमा ज्यान गुमाउने, घरबार गुमाउने एवं विस्थापित हुनेहरुलाई उचित व्यवस्थापनको लागि सरकारसमक्ष आग्रह समेत गर्दछु ।

सम्माननीय सभामुख महोदय,

२०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको सबैलाई अवगत नै छ । बृहत् शान्ति सम्झौता अनुसार द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने, परिपुरणको व्यवस्था गर्ने एवं सम्मानित अदालतको आदेश समेतलाई मध्येनजर राखी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आवश्यक थियो । शान्ति सम्झौता पछिका १८ वर्षको अवधिमा नेपालले सशस्त्र द्वन्दको अन्त्य, हतियारको व्यवस्थापन, सेना समायोजन, संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान जारी, संविधानको कार्यान्वय गर्दै नेपालले मौलिक शैलीमा मुलुकलाई शान्तिको बाटोमा डोर्याउन सफल भयो । तर शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पुरा गर्न नसक्दा अन्यौलता एवं पीडितको न्याय पाउने अधिकार कुण्ठित भईरहेको थियो ।

उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरु आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान सङ्क्रमणकालीन न्याय सम्बन्धि विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ । नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेका नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय हुन सक्नेछ ।

संसदमा प्रस्तुत विधेयकले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको छ । यो विधेयक सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित हाम्रो प्रचलित कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेको छ ।

सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पिडा दिएको छ । लामो समय देखि द्वन्द्व पीडितहरू न्यायको खोजीमा बसेका छन् । उचित परिपूरण हुन नसकेका कारण पिडित स्वयं र परिवारजनले थप पिडा व्यहोर्नु परेको छ । यो विधेयक कानुन बने पश्चात् द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने छन् भन्ने मैले विश्वास लिएको छु ।

सम्माननीय सभामुख महोदय,

सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने बिन्दुमा पुग्दै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ । यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनहरुलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाको बाँकी रहेको सङ्क्रमणकालीन न्याय टुंङ्गोमा पुर्याउने विषय निष्कर्षमा पुगेको छ । यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ ।

हामीले समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेका छौँ । त्यसमा आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएका छौँ । यो आफैमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो ।

सभामुख महोदय,

शान्ति प्रक्रियाको बाँकी रहेको काम सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानूनका साथै सक्षम आयोगहरु गठन गर्न नि उत्तिकै आवश्यकता छ । अब हामीले एकअर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रर्णाली प्रति सजग हुन आवश्यक छ । यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारीतामा निर्भर रहने कुरा पनि म यहाँहरुमा निवेदन गर्न चाहन्छु । आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ । मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्टि शैली अपनाउने गरेको छ । सङ्क्रमणकालीन न्याय निरूपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न पनि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएका छौ ।

म सबै द्वन्द्वपिडितहरु, सबै राजनीतिक दल, नागरिक समाज, संचार जगत, सरोकारवाला र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा शान्ति प्रक्रियाको बाँकी रहेको काम सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पु¥याउन सहयोगका लागि अपिल गर्दछु । साथै अन्तर्राष्ट्रिय मित्रहरुलाई पनि सहयोगका लागि आग्रह गर्दछु ।

हामीले राम्रो संविधान बनाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अबलम्बन गरेका छौं । यो संविधानले समावेशितामा विषेश जोड दिएको छ । यो संविधान र व्यवस्था लाखौं नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको हो । हामी सबै दलहरु मिलेर यो व्यवस्था ल्याएको हो । यसको सही कार्यान्वयन, संरक्षण र सुदृढिकरण गर्नु पनि हामी सबैको दायीत्व हो ।

धन्यवाद ! जय नेपाल !

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषयः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । 


प्रतिनिधिसभाको बुधबारको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।


‘हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्तिप्रक्रिया अगाडि बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक (होम ग्रोन) हो । कहिले धिमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ । हामीले दुनियाँका लागि एक नमूनाका रुपमा शान्तिप्रक्रिया अगाडि बढाएका छौँ । द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगअलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ,’  प्रधानमन्त्री ओलीले भने ।


प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी कानुनलाई लिएका छौँ । राजनीतिक कार्यदल र संसद्को सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुनेगरी सर्वसम्मत पारित भइसकेको छ । यस अर्थमा म खुसी व्यक्त गर्दछु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’

मनलाग्दीरुपमा संविधान संशोधन हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संशोधनीय दस्तावेज भएकाले समयानुकल संशोधन हुने बताएका हुन् ।

उनले मनलाग्दी रुपमा संविधान संशोधन नहुने पनि स्पष्ट पारे । प्रधानमन्त्रीले संविधान देश र जनताका लागि, सुशासन र विकासका लागि आवश्यक भएको भन्दै सबैको जनता र दलहरुबीच छलफल गरेपश्चात सहमतिमा संविधान संशोधन गरिने बताए । उनले भने,‘संविधान असंशोधनीय दस्तावेज होइन, संशोधनीय दस्तावेज हो । संशोधन लोकतान्त्रिक मूल्य मान्यतालाई अझ बढी सुढृढ बढाउन, अझ बढी व्यवस्थित बनाउन हो ।’

उनले देश र जनताका हितमा समर्पित भएर सरकार अगाडि बढ्ने बताए।

उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकार निरन्तर अगाडि बढ्ने बताए । प्रधानमन्त्री ओलीले संविधानको रक्षा र परिपालनका कुनै कमी नरहने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ विश्वविद्यलाय र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौं विश्वविद्यालयको ९७औं सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिएका हुन्।

धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो।

‘विश्वविद्यालयले तत्काल नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,’त्यस अवधिभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ। साथै नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्काे बैठक गरेर निर्णय गर्नेछौं। सोही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुबारे पनि छलफल गर्नेछौं।’

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए।

पूर्वउपकुलपति डा.सुरेशराज शर्मासहितको राय लिएर कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानिएकाले सहकार्यलाई निरन्तरता दिन निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले सिट क्षमताअनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिए। नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत रु चार अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ।

त्यस्तै, सभाले आगामी २९औं दीक्षान्त समारोहकाका लागि विभिन्न संकयबाट दीक्षित हुने दुई हजार तीन सय १४ विद्यार्थीको ‘ग्रेसलिष्ट’ पारित गरेको छ।

पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने श्रम मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध हुनेछ ।

भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालय मार्फतअनुरोध गर्ने निर्णय समेत श्रम मन्त्रालयले गरेको छ । ऐन, नियम कार्यविधिमा संशोधन वा निर्णय गर्नुपर्ने भए मन्त्रालयले अध्ययन गरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन राष्ट्रसङ्घ प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरेका हुन् ।

“महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बङ्गलादेशमा शान्ति पुनस्र्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ,” महासचिवका उप–प्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् ।

बढ्दो विरोधका बीच आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बङ्गलादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ ।

मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।

देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बङ्गलादेशी सेनाबीच मङ्गलबार झडप भएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मङ्गलबार ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसङ्ख्यकहरूलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिएका छन् ।

आइएमई र जिएमई रेमिट गाभिएर एकीकृत कारोबार सुरु

काठमाडौँ । आइएमई र जिएमई रेमिट गाभिएर बुधबारदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । बुधबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताए ।

“हामीले आइएमईलाई चाँडै नै नागरिकमाझ लैजाँदैछौँ । जनतालाई नै मालिक बनाउने हाम्रो यो अर्को पहल हो,” उनले भने, “राज्यको प्राथमिकतामा रहेको, आमजनतालाई सेवा दिन सकिने र आर्थिक रुपले सम्भाव्य क्षेत्रमा लगानी गर्नु व्यवसाय गर्ने मुख्य तीन सूत्र हुन् ।” 

दुई कम्पनीको एकीकृत कारोबार सुरु भएसँगै अध्यक्ष ढकालले आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको ‘रेमिट्यान्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क रहेको ढकालले बताए ।

नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैङ्क तथा वित्तीय संस्थाको रहेको पनि उनले बताए । सरकार तथा नियामक नेपाल राष्ट्र बैङ्कले ल्याउने नीतिनियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको अध्यक्ष ढकालको दाबी छ । 

“राष्ट्र बैङ्कले बैङ्कको पुँजी बढाउन एकापसमा गाभ्ने नीति ल्याउँदा त्यसको कार्यान्वयनमा हामी सदैव पहिलो पङ्क्तिमै उभिने गरेका छौँ । विभिन्न २१ बैङ्क तथा वित्तीय संस्था गाभिएर ग्लोबल आइएमई बैङ्क नेपालको सबैभन्दा ठूलो वाणिज्य बैङ्क बनेको छ,” अध्यक्ष ढकालले भने, “अहिले राष्ट्र बैङ्कले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । सो नीतिको हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ ।”

पछिल्लो समय रेमिट्यान्सको आकार बढेको र डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैङ्क खातामा पठाउन सकिने भइसकेको अध्यक्ष ढकालले बताए । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्राउन आवश्यक रहेको बताए ।

विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उनले सजिलो तरिकाले रेमिट्यान्स आप्रवाहका लागि राष्ट्र बैङ्कले नीतिगत सहजता गर्ने बताए ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषण करिब २४ प्रतिशत हाराहारी रहेको छ । अवैध हुन्डी नियन्त्रण र वैधानिक बाटोबाट विप्रेषण भित्रिन सके त्यसबाट अर्थतन्त्रमा थप योगदान पुग्ने देखिन्छ ।

जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

किशिदा सन् २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । उनको तीन वर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ ।

उनी चुनावी दौडबाट बाहिरिएसँगै पार्टीको नेताका लागि सेप्टेम्बरमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्ने नयाँ नेता प्रधानमन्त्रीको उत्तराधिकारी हुने अवसर मिल्नेछ किनभने संसदको दुवै सदनमा एलडीपीको बहुमत छ ।

पार्टीको भ्रष्टाचार काण्डबाट आक्रान्त हुनुभएका किशिदाप्रतिको समर्थन दर २० प्रतिशतभन्दा तल झरेको छ ।

उनले सेप्टेम्बरमा हुने मतदानमा भाग नलिने घोषणा गर्दै आफ्नो पार्टी देश हितका लागि परिवर्तन भइरहेको देखाउनका लागि नयाँ नेताको लागि अनुमति दिएका हुन् । किशिदाले नयाँ निर्वाचित नेतालाई समर्थन गर्ने बताए ।

यस वर्षको सुरुमा भएको स्थानीय चुनावमा हारले उनको प्रभाव कमजोर बनेकोे र एलडीपीका सांसदहरूले आगामी आम निर्वाचनअघि नयाँ अनुहारको आवश्यकतामा आवाज उठाएका समय प्रधानमन्त्री किशिदाको यो निर्णय आएको हो ।

भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि, किशिदाले धेरै मन्त्री र अन्यलाई पार्टी कार्यकारी पदबाट हटाएर पार्टीमा देखिएका गुट उपगुटहरू विघटन गरेका छन् । यसलाई राजनीतिक वृत्तमा पैसाको लागि अनुकूल राजनीतिको स्रोतको रूपमा आलोचना गरिएको थियो । उनको नेतृत्वमा राजनीतिक कोष नियन्त्रण कानूनलाई कडा बनाउने कानून पारित भएको छ ।

सुधारका कैयौँ प्रयासबीच पनि उनको नेतृत्वको सरकारप्रतिको समर्थन भने कम हुँदै गएको छ ।

सुडानमा सरकारी सेनाको अनुपस्थितिमा नै युद्धविराम वार्ता सुरु हुने

सुडानी सरकार नरहने तयारी गरे पनि अमेरिकी मध्यस्थतामा रहेको सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा बुधबारदेखि शुरु हुने भएको छ ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताएका छन् ।

सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध चलिरहेको छ ।

आरएसएफको प्रतिनिधिमण्डल अज्ञात स्थानमा बन्द कोठामा हुने वार्ताका लागि स्विट्जरल्याण्डमा छ तर सरकार निकट सुडानी सशस्त्र बल (एसएएफ) ले निमन्त्रणा स्वीकार गरेको छैन ।

१० दिनसम्म चल्ने उक्त वार्ताका लागि साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसङ्घ पर्यवेक्षकका रूपमा उपस्थित छन् ।

सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय सङ्कट निम्त्याएको छ ।

यस द्वन्द्वका कारण हरेक पाँच सुडानीमध्ये एक जना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दशौं हजारको मृत्यु भइसकेको छ । देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसङ्ख्या भोकमरीको चपेटामा परेको छ ।

“ अहिले शान्ति स्थापनाका लागि उपयुक्त समय हो,” पेरिएलोले भने ।

उनले भने, “अहिलेसम्म एसएएफले भाग लिन मानेको छैन । यद्यपि हामी हाम्रा अन्तर्राष्ट्रिय र प्राविधिक साझेदारहरूसँग सुडानका जनतालाई समर्थन गर्न सबै विकल्पहरू खोजी गर्न अघि बढ्नेछौं”, उहाँले भन्नुभयो, “सरकारलाई ‘अवसरको फाइदा उठाउन’ आग्रह गर्दछौँ ।”

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

मुगु । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् ।

जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी – तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो ।

गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौति गरी सडकको अवरोध हटाइएको थियो । यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ । गमगढी–तारापानी २३ किलोमिटर सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो ।

पहिरोले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

दमौली । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो । 

बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरा गएका भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिराले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए । “एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ”, उनले भने, “पहिराको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ ।”

स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी केही राजमार्गका केही पहिरा सफा गरेका छन् । आज बिहान स्थानीयले पहिरोले खसेको ढुङ्गा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्दछन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त खण्डलाई लिने गरिएको छ । उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्न पश्चात् बाटो छोटिन्छ । 

पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय मगरले जानकारी दिए

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

काँक्रेविहार (सुर्खेत) । नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ ।

प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए ।

जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेशनबाट आएको विद्युत्बाट चार्जिङ गर्ने लक्ष्य छ ।

जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेशनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेशनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सबस्टेशन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत् उत्पादनगृहको छेउमा यो सबस्टेशन निर्माण भएको हो ।

यही सबस्टेशनबाट जगदुल्ला जलविद्युत् एक सय छ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेशनमा विद्युत् जडान गरिनेछ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ ।

भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युत्का ठूला आयोजना निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिकामा मात्र पाँचवटा ठूला पुल निर्माण गर्न बाँकी छ ।

सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो । विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो । वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ । यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ ।

कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि सङ्घीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन । चौखाको सबस्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो ।

समाइला र वडावनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ ।

प्रसारण लाइन र सबस्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेशन निर्माणस्थलमा ढुङ्गा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

कुदुबाट चौखासम्म प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवाले काम नगर्दा चौखा सबस्टेशनमा विद्युत् जडानको काम हुनसकेको छैन । छ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्या समाधान हुन नसकेको हो ।

दब्ल्याङमा पहिरो खसेर कालीगण्डकी करिडोर अवरुद्ध

 बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोकै कारण मुख्य करिडोर एक सातादेखि बन्द थियो ।

सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मंगलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए ।

पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए । करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएका उनले भने ।

करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिकासहित बागलुङ नगरपालिकाबासी प्रभावित भएका छन् ।

शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा प्रचण्डलाई अष्ट्रेलियाका राजदूतको बधाई

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेकी छन् ।

बुधबार खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताइन् । प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट करिव चार हजार नेपाली लाभान्वित, सात करोड राजस्व सङ्कलन

लिस्बन (पोर्चुगल) । विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ ।

विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।

मङ्कीपक्सका कारण अफ्रिकामा स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी

बीबीसी । मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको एमपक्सका कारण त्यहाँको जनस्वास्थ्यसम्बन्धी निकायले महादेशभरि स्वास्थ्य आपतकाल घोषणा गर्नेबारे छलफल गरिरहेको छ । अहिले फैलिइरहेको एमपक्स नयाँ भेरिअन्टको भएका कारण यसअघिका भन्दा थप चिन्ताजनक देखिएको छ ।

विज्ञहरूले आफूहरूले अहिलेसम्म देखेको मध्येकै यो सबैभन्दा खतरनाक अवस्था भएको बताएका छन् । मङ्कीपक्स भाइरसको सङ्क्रमणका कारण एमपक्स हुने पर्छ। यो मानिसहरूलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो। तर यो कम घातक भएको बताइन्छ ।

यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ । यो रोग प्रायः उष्णतटीय वर्षावन नजिक रहेका डीआर कङ्गोजस्ता अफ्रिकी देशहरूमा पाइन्छ ।

यो क्षेत्रमा वर्षेनी हजारौँ व्यक्तिमा यसको सङ्क्रमण हुने गरेको छ भने सयौँको मृत्यु हुने गरेको छ । पन्ध्र वर्ष मुनिका बालबालिका यसबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् ।

यो भाइरसका प्रमुख दुई वटा प्रकार धेरै फैलिएका छन् । ‘क्लेड १’ मध्य अफ्रिकामा समुदायस्तरमा फैलिएको छ। ‘क्लेड १बी’ चाहिँ नयाँ प्रजाति हो र यो थप सङ्क्रामक छ।

पछिल्लो प्रकोप यही प्रजातिका कारण फैलिएको बताइएको छ । अफ्रिकाको द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार सन् २०२४ को आरम्भदेखि जुलाईको अन्त्यसम्ममा मात्रै १४ हजार ५०० जनाभन्दा धेरै यसबाट सङ्क्रमित भएका छन् ।

यो अवधिमा एमपक्सबाट ४५० जनाको मृत्यु भएको तथ्याङ्क छ। सन् २०२३ को यही अवधिसँग तुलना गरेर हेर्दा सङ्क्रमणमा १६० प्रतिशत र मृत्युदरमा १९ प्रतिशत वृद्धि भएको देखिएको छ ।

एमपक्सका ९६ प्रतिशत सङ्क्रमण डीआर कङ्गोमा भए पनि यसको सङ्क्रमण छिमेकी राष्ट्रहरू बुरुन्डी, केन्या, रवान्डा र युगान्डामा पनि फैलिइसकेको छ। तर ती देशहरूमा समुदाय स्तरमा यसको सङ्क्रमण देखिएको छैन ।

यसको कम गम्भीर र कम सङ्क्रामक रहेको भेरियन्ट ‘क्लेड ११’ ले सन् २०२२ मा पश्चिम अफ्रिकामा देखिएको थियो र विश्वव्यापीरूपमा फैलिएको थियो । सन् २०२३ को जुनमा नेपालमा पनि पहिलो पटक एक जना विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै पारित गर्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी थिइन् ।

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।

अरुणमा जलसतह बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह

खाँदबारी । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।

साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न
आग्रह गरेको छ ।

यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण नारायणगढ–बुटवल सडक अवरुद्ध

मध्यविन्दु । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो । सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

साउन १८ मा मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० साउनमा कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।

रोल्पाको थबाङ गाउँ

रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक थबाङ गाउँ । मगर र दलित समुदायको बसोबास रहेको यस गाउँ नेपालको राजनीतिमा चर्चित रहेको छ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस

‘रावायण’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘रावायण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार गीत सार्वजनिक गरेको हो ।

गीतमा बलिउड गायक नकाश अजिजको स्वर छ। गीतका शब्द कृष्णहरी बरालले लेखेका हुन् भने संगीत रेवान आरती सिंहको छ । गीतमा फिल्मका शीर्ष कलाकार पुजा शर्मा, पल शाह फिचर्ड छन् ।

गीतलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यसमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, शर्मीला मल्ल, प्रदीप ढकाल, निकिता चण्डकको पनि अभिनय छ ।

सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन र मिलन श्रेष्ठको सम्पादन छ । फिल्म तीजको अवसर पारेर भदौ २१ गते रिलिज हुनेछ।

संसदीय समितिद्वारा सूर्यदर्शन सहकारीका संचालकहरुसँग सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहकारीका संचालक र पूर्वसंचालकहरुसँग सोधपुछ गरेको छ ।

कास्की कारागारमा थुनामा रहेका उनीहरुलाई समितिले मंगलबार काठमाडौं झिकाएर सोधपुछ गरेको हो । समितिले सहकारीका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग सोधपुछ गरेको छ ।

त्यस्तै, सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक तथा वेभ डेभलपर भविश्वर अर्याल र शिवकुमार गुरूङ(महेन्द्र भोटे)सँग पनि सोधपुछ गरेको छ । उनीहरु तीनैजना अदालतको आदेशमा कास्की कारागारमा छन् । समितिले यसअघि थुनामा रहेका अन्य सहकारीका संचालकहरुसँग पनि सोधपुछ गरेको थियो ।

सर्वसाधारणको बचत रकम हिनामिना भएका अन्य सहकारीका संचालकहरुसँग पनि सोधपुछ गर्न बाँकी रहेको र यो क्रम जारी रहेको समितिले जनाएको छ ।

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज भुटानको पारोसँग पराजित

काठमाडौं । चर्च ब्वाईज युनाईटेड विरुद्ध पुनरागमन जित निकाल्दै भुटानी क्लब पारो एफसी एएफसी च्यालेन्ज कप प्लेअफमा विजयी हुँदै समूह चरणमा प्रवेश गरेको छ ।
दशरथ रंगशालमा मंगलबार भएको खेलमा लकेन लिम्बुको गोलमा ३८ औं मिनेटमा चर्च ब्वाईजले सुरुवाती अग्रता लिएको थियो ।
तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन जित निकालेको हो । किङ्गाले ४०औं मिनेटमा बराबरि गोल गरृका थिए । विलियम ओपोकुले ६६ औं मिनेटमा विजयी गोल गरे ।

जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ । चर्च ब्वाईज बाहिरिएको छ । भुटानी क्ललले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

फूलपातीमा ‘ज्वाई साब’ आउने

काठमाडौँ । यसवर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिए ।

निरौलाले भने, “चलचित्रमा दसैँको प्रसङ्ग भएकाले हामीले यसलाई फूलपातीदेखि प्रदर्शनमा ल्याउन लागेका हौँ । विशुद्ध पारिवारिक कथामा तयार भएकाले स–परिवारसँगै बसेर हेर्ने चलचित्र बनेको छ । यसमा अहिलेको पुस्ता र पुरानो पुस्ताको विवाह प्रतिको धारणालाई प्रस्तुत गरिएको छ ।”

निर्देशक निरौलाकानुसार चलचित्रमा विवाहका लागि बेहुला खोजिरहेको परिवारको कथालाई प्रस्तुत गरिएको छ । यसमा जीतु नेपाल, नीति शाह, वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।

लामो समयदेखि पोस्टर डिजाइनरको रूपमा कार्यरत विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीले कथा लेखन, शङ्कर धितालले पटकथा तथा संवाद लेखन, श्याम तामाङले छायाङ्कन, अर्जुन पोखरेल र महेश ताम्राकारले सङ्गीत सिर्जना गरेका छन् ।