`

शेखर कोइरालाले भने – पार्टीको आगामी महाधिवशेनमा मेरो स्वतः सभापति दाबी

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताएका छन् । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका बिषयलाई अन्यथा लिन नहुने जिकिर गरे । कोइरालाले मुलुकलाई स्थायीत्व दिनका लागि ठूला दलबीच समिकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए । उनले राजनीतिक स्थायीत्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको धारणा राखे ।

कोशी सरकारका बिषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोशी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको उनले बताए ।

पार्टी फुट्दैछ भन्ने हल्ला निराधारः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाएको हल्ला निराधार भएको बताएका छन् ।

बिहीबार पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले त्यो हल्ला निराधार भएको बताएका हुन् । उनले केही समयदेखि पार्टी फुट्छ भन्ने हल्ला भएपनि यहाँसम्म आइपुग्दा एकताबद्ध भएको बताए ।

उनले जनार्दन शर्मालगायतमाथि जे आशंका गरिएको छ, त्यो गलत भएको बताए । उनले भने,‘पार्टी फुट्छ भन्ने प्रचार धेरै भयो । कमरेड प्रभाकरलगायत अन्यमाथि जे आशंका गरिएको छ त्यो गलत छ ।’

पार्टी स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले केही दिनअघि लिखित प्रस्ताव पेस गर्दै आफूमाथि पार्टी फुटाउँदैछ भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका थिए ।

स्वास्थ्यमन्त्री पौडेलद्वारा डेङ्गी नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिसँग छलफल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेङ्गी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै महामारीको रुप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेङ्गी नियन्त्रण गर्न सकिने बताए । उनले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । “उपत्यकामा डेङ्गी नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौँ”, उनले भने, “आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।”

साउनदेखि फैलिएको डेङ्गी भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरुको भनाइ उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताए ।

उनले सरसफाइको कमीका कारण सङ्क्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । उक्त सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।

हाल मन्त्रालयले डेङ्गी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ । अब उपचारसँगै थप सङ्क्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उनले आग्रह गरे । मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उनले जनाए ।

मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानी मात्र कम गर्न सकिए सङ्क्रमण न्यूनीकरणमा धेरै सहयोग हुने धारणा राखे ।

छलफलमा सहभागी काठमाडौँ, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराएका थिए । उनीहरुले डेङ्गी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिहरुले पनि एक्लाएक्लै काम गर्ने प्रवृत्ति रहेकाले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

“हामीलाई पहिलोपटक मन्त्रालयले महामारी नियन्त्रणको छलफलमा सम्झेको छ,” नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भनिन्, “हामी डेङ्गी नियन्त्रणमा सहकार्य गर्न तयार छौँ ।”

स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले खानेपानीको गुणस्तर कायम नगर्नेहरुलाई कारबाही गर्न तथा निजी अस्पतालहरुबाट तथ्याङ्कमा सहयोग प्राप्त नगरेकाले मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । 

साफ च्याम्पिनयशिप खेल्न माल्दिभ्सको टोली नेपाल आइपुग्यो

काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि बिहीबार माल्दिभ्सको टोली नेपाल आइपुगेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे । साफ च्यामिपयनशिप आगामी भदौ २ गतेदेखि सञ्चालन हुनेछ । विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । 

नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् । त्यसैगरी, समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, भूटान, श्रीलङ्का र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछन् भने बङ्गलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ । 

नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन् ।

दशरथ रंगशाला हिलाम्मे भएपछि साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने

काठमाडौँ । दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबारदेखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।

दशरथ रङ्गशाला खेल्न नमिल्ने गरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो सारिएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रङ्गशालाको अवस्था खेल्न नमिल्ने भएपछि खेल एन्फा मुख्यालयको एस्टो टर्फमा खेलाउन लागिएको जानकारी दिएको छ ।

एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच मङ्गलबार भएको खेलले दशरथ रङ्गशालाको अवस्था बिग्रिएको थियो ।

हिलाम्मे मैदान र खेलाडीको बिजोग अवस्थाबारे सर्वत्र आलोचना भएको थियो दशरथ रङ्गशालाको अवस्था देखेपछि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले एन्फालाई मैदानको विकल्प खोज्न आग्रह समेत गरेको थियो । मैदान अभावका कारण यस च्याम्पियनसिप एन्फाको टर्फमै खेलाउने र फाइनल खेल दशरथ रङ्गशाला हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पनि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले जनाएको छ । च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ ।

अन्य टोली शनिबारसम्म आइपुग्नेछन् । साफ यु–२० च्याम्पियनसिप ६ देशको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि एन्फाले नेपाली खेलाडी टोलीको घोषणा समेत गरिसकेको छ ।

नेपाली टोलीमा जियारथ शेख र कृषल मोक्तान (गोलरक्षक), विशाल केसी, सीमान्त थापा, अश्विन घोरा, सैनीविक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लचु थापा, नीरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी छन् ।

स्याङ्जामा साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो ।

धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुङ्गै ढुङ्गाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो ।

सन्यास सन्यासीहरुको आश्रमस्थलका रुपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए । लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म संस्कार संस्कृतिको केन्द्रका रुपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो ।

तत्कालीन समयमा तीर्थव्रत गर्न जाने श्रद्धालु भक्तजन यही आश्रमको बाटो हुँदै जाने गरेको उनले बताए । गुठी संस्थानमा दर्ता भई सञ्चालनमा रहेको यो नारायणश्वर शिवजी मन्दिर तथा आश्रम पुरानो र जीर्ण हुँदै गएपछि जीर्णोद्धारको काम अगाडि बढेको हो ।

‘धर्म संस्कार संस्कृति तथा ऐतिहासिक दृष्टिले यस ठाउँको छुट्टै पहिचान रहेको छ’, उनले भने, ‘इतिहासको रक्षा र यस ठाउँको पहिचान नामेट हुन नदिन प्रयासरत छौँ।’

ऐतिहासिक महत्वको यो ठाउँमा रहेका आश्रम तथा मन्दिर जीर्ण भई लथालिङ्ग हुँदै गएपछि यसको संरक्षणका लागि चासो दिएर पुनःनिर्माण गरिएको आश्रम निर्माण समितिका सचिव कृष्ण गिरीले बताए ।

जीर्ण अवस्थामा रहेको आश्रम र शिवजी मन्दिरको पुनःनिर्माण तथा जीर्णोद्धार गरिएको छ । सोही ठाउँमा साधुसन्तको आवासगृह, व्यवस्थित गौशाला, हवनकुण्ड, यज्ञकुण्ड, शौचालयलगायत भौतिक संरचनाहरु निर्माण गरिएको उनले बताए ।

‘समितिसँग निर्माण कार्य गर्न रकम नभएकाले सहयोगी सङ्घसंस्थाबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य गर्दै आएका छौँ’, उनले भने, ‘यस ठाउँको प्रचारप्रसारसँगै आर्थिक सङ्कलनका लागि यसअघि महायज्ञसमेत सञ्चालन गरेका थियौँ।’

गाउँपालिकाले यस ठाउँको महत्वका बारेमा जानकारी गराउन स्थानीय पाठ्यक्रममा चम्पा गिरी जन्मआश्रम तथा नारायणश्वर शिवजी मन्दिरको विषयवस्तुलाई समावेश गरेको छ ।

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरे ।

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेकी नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे ।

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ । ट्रकले घिसारेपछि स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

महिलाको पहिचान खुलिसकेको छैन । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । अहिले त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको एक सय दिनभित्र गरिने मुख्य मुख्य कामबारे छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवको सहभागिता रहेको छ ।

प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरुबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा समग्रमा ६३ दशमलव ४७ प्रतिशत पुँजीगत खर्च भएको, तीन हजार चार सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र एक हजार ६ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सम्पन्न भएको तथा बैठकमा त्यसबारे छलफल भएको जानकारी दिए ।

मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाईउद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ ।

बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अपर्याप्तता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजना समयमा सम्पन्न नभएको प्रस्तुतिकरणमा उल्लेख छ ।

समीक्षापश्चात् सम्बन्धित मन्त्रालयका सचिवहरुले चालु आर्थिक वर्ष २०८१/८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको एक सय दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ ।

आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले यही साउन १५ गते सबै मन्त्री र सचिवलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए ।

शेयर बजारमा २९ अर्ब ९५ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा बिहीबार अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । बिहीबार झण्डै ३० अर्ब बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मुल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नौ दशमलव ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव ४२ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव २२, सुभम पावर सात दशमलव १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।

नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

 म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रंगीचंगी फूल । चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान । पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल ।

छिनछिनमा बदलिरहने बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुंगी र जनावरहरुको मनप्रिय आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग र म्याग्दी जिल्लाको १ हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ । ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताए ।

‘असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,’ उनले भने, ‘केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।’

सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए ।

शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरु आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौँका नवीन खत्रीले सिकार पर्यटनका लागि मात्र नभएर प्रकृतिप्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको बताए ।

‘शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,’ समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका खत्रीले भने, ‘थरीथरीका फूलले रङ्गिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो छ ।’

ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । ‘बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,’ उनले भने, ‘यहाँ पाइने फूलहरुको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।’

संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरकफरक फूलको तस्बिर र स्थानीय नाम संकलन गरेका छन् । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर संकलन भएको छ ।

संकलन भएका तस्बिरहरुलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अंग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पंगेनीले बताए । आरक्षले फूलहरुलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईवस्तुको मल उठाउनसमेत रोकेको छ ।

पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन रैथाने गोठ बनाएका छन् । बुकीको पोषिलो घाँस खाएका वस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान धनबहादुर कायत बताउँछन् ।

ढोरपाटन सिकार आरक्ष सदाबहार पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । ऋतुअनुसार यहाँ फरक फरक आकर्षण छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ । ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ ।

ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा ४ करोड ७१ लाख २ हजार ६२८ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ करोड ४८ लाख रुपैयाँ राजश्व उठेको थियो ।

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

 मनाङ । ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङका पालामा सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । तर हिजोआज मनाङमा यस्ता घर देखिँदैनन् ।

जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाउने चलन हराउन थालेको उनी बताउँछन् । ‘जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ । यहाँको स्वरुप पनि फेरिन थालिसक्यो’, उनी भन्छन् ।

मनाङमा हिजोआज बन्ने घरहरु सिमेन्ट, बालुवा प्रयोग गरेर बनाइन्छ, कतिपयले सिमेन्ट ढलानकै छत राख्छन् भने कतिपयले जस्तापाताको छानो हाल्छन् ।

पहिले पानी नै नपर्ने मनाङमा पछिल्ला वर्षहरुमा पानी पर्न थालेको छ । काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन ।

‘पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो । अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ’, गुरुङले भने, ‘हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ । अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो ।’

करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे । तर, अहिले पुराना घर मासिँदै गएको छ । स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौंरीको सिङले बाँधेर कडा बनाइन्थ्यो ।

पुराना घर संरक्षण गर्नुपर्छ भन्ने स्थानीयलाई पनि लागेको छ । तर पछिल्लो समय पानी पर्ने क्रम बढेपछि सुरक्षित घर पनि चाहिएको छ ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ भन्छन्, ‘पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ । तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौँ ।’

गतवर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उनले बताए । पहिले एकै ठाउँमा झुरुप्प परेका घर बनेका हुन्थे । तर विस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरुङ भन्छन्, ‘यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो । अहिले उत्तिकै आकर्षक मानिन्छन् । तर, मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ । पुराना घर अस्तित्वको रुपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौँ ।’

पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे । अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो ।

माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो । मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन् ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउँछन् ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउँछन् ।

उनले भने, ‘माटो र काठको घरको छानामा हिउँ बस्थ्यो । हिउँ फालेर बस्ने गरिन्थ्यो । अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ ।’

मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उनी बताउँछन् । नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरु छन् । तर, पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ ।

मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन् । मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरुप परिवर्तन हुँदै आएको छ ।

नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ गुरुङ भन्छन्, ‘सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन् । काठ र माटो प्रयोग घट्दै गएको छ । पर्यटकीय क्षेत्र भएकाले स्वरुप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ ।’

जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ । यसले गर्दा यहाँ बाढीपहिरो, पानी पर्ने क्रम बढ्दो छ ।

यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन् ।

सुडान युद्धविराम वार्ता सहभागी हुन अमेरिकाद्वारा सरकारी सेना प्रमुखलाई दबाब

जेनेभा । संयुक्त राज्य अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ । स्विट्जरल्याण्डमा सुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक र्यापिड  सपोर्ट फोर्सेज (आरएसएफ) समूह सहभागी भएको छ ।

सन् २०२३ को अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ ।

बुरहान वार्ताको सुरुआतमा उपस्थित नभएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीधै टेलिफोनमार्फत बुरहानलाई वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलका अनुसार ब्लिन्केनले बुरहानसँगको कुराकानीमा सहभागिताको आवश्यकता दोहोर्याएका थिए ।

ब्लिन्केनले दुवै पक्षले युद्ध अन्त्य गर्न र पीडित लाखौं सुडानीका लागि मानवीय पहुँचको प्रत्याभूति गर्न ‘तत्काल आवश्यकता’ रहेको बताएको अमेरिकी प्रवक्ता पटेलले बताए ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले उद्घाटन सत्रपछि भने, “अब बन्दूक बन्द गर्ने उपयुक्त समय आएको छ ।” १० दिनसम्म चल्ने उक्त वार्ता स्विट्जरल्याण्डको अज्ञात स्थानमा बन्द कोठामा भइरहेको छ ।

आरएसएफको प्रतिनिधिमण्डलले वार्तामा भाग लिइरहेका बेला सुडानी सशस्त्र बल (एसएएफ) वासिङ्टनले व्यवस्था गरेको युद्धविराम ढाँचाप्रति असन्तुष्ट छ ।

सुडानी सञ्चार मन्त्री ग्राहम अब्देलकादरले वार्ताअघि वासिङ्टनले संयुक्त अरब इमिरेट्स (युएई) लाई पर्यवेक्षकका रूपमा सहभागी गराउन जोड दिएपछि सरकारले कुनै पनि नयाँ पर्यवेक्षक वा सहभागीलाई अस्वीकार गर्ने बताएका थिए । सुडानी सेनाले संयुक्त अरब इमिरेट्स (युएई) ले आरएसएफलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।

अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र संयुक्त राष्ट्रसङ्घले संयुक्त अरब इमिरेट्स (युएइ) को नेतृत्वमा साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा वार्ताको आयोजना गरेका हुन् ।

पेरिएलोले भने, “हाम्रो ध्यान शत्रुताको अन्त्य हासिल गर्न, मानवीय पहुँच बढाउन र ठोस परिणाम प्रदान गर्ने प्रवर्तन संयन्त्रहरू स्थापना गर्न अगाडि बढ्नु हो । यस क्रूर द्वन्द्वले संसारकै सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ । 

म्यान्माकी प्रजातन्त्रवादी नेतृ सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुनः बोलपत्र आह्वान

एजेन्सी । जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ।

सन् २०२१ को सैन्य ‘कू’ पछि हिरासतमा लिइएका नोबेल पुरस्कार विजेता नोबेल पुरस्कार विजेता र उनका भाइबीच दशकौं लामो विवादपछि दुई तले घर र १.९ एकड जमिन बिक्रीका लागि राखिएको थियो।

लिलामीका लागि न्युनतम ३०० अर्ब क्याट (१४ करोड अमेरिकी डलर) तोकिएकोे थियो। मिन किनबेचको काम गर्ने एक स्थानीय दलालले मार्चमा एएफपीलाई बताएअनुसार याङ्गुन आसपासका क्षेत्रमा पनि यो जमिन र यस्तै आकारका घरको मूल्य १० देखि २० लाख अमेरिकी डलरभित्र पाइन्छ।

लिलामीअघि म्यान्माका लागि अमेरिकी दूताबास नजिकै युनिभर्सिटी एभिन्यूमा रहेको औपनिवेशिक कालको घरबाहिर पत्रकारको सानो भीड जम्मा भएको थियो। गेटमाथि सुकीका पिता, स्वतन्त्रताका नायक आङ सानको चित्र राखिएको छ भने घरलाई सशस्त्र प्रहरीले पहरा दिइरहेको छ।

स्थानीय अदालतले ढोकामा टाँसेको सूचनामा घर, घरभित्र रहेको सम्पत्ती र जग्गा सुकीकी आमा ‘दाउ खिन की’को नाममा रहेको उल्लेख छ। सन् १९८८ मा तत्कालीन जुन्ताविरुद्ध भएको विशाल प्रदर्शनका क्रममा सुकीलाई गोली हानेपछि सेनाले करिब १५ वर्षसम्म घरको भत्किएको पर्खालभित्र थुनेर राखेको थियो।

इङ्गल्याण्डमा आफ्ना पति र छोराछोरीबाट अलग्गिएकी सुकीले एक प्रजातन्त्रवादी नेताको रूपमा आफ्नो हैसियत बढ्दै जाँदा घरमा पियानो बजाउँदै, जासूसी उपन्यासहरू पढ्दै र ध्यान गर्दै उक्त घरमा समय बिताएकी थिइन्।

प्रजातन्त्र र अहिंसाको माध्यमबाट सैन्य शासनविरुद्ध लड्ने उनको भाषण सुन्न सयौँ मानिस नियमित रूपमा घरबाहिरको फुटपाथमा भेला हुने गर्थे। सन् २०१० मा रिहा भएपछि पनि उहाँ त्यही घरमा बसी विदेशी नेता, पत्रकार र कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेकी थिइन्।

सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुकीको घरको अवलोकन गरेका थिए। ओबामाले सुकीलाई ‘लोकतन्त्रको प्रतीक’ को संज्ञा दिएका थिए।

सुकीले सन् २०१२ मा याङ्गुन छोडेकी थिइन् र सेनासँग सत्ता साझेदारी गर्दै राजधानी न्यापित गएकी थिइन्। सन् २०२१ को फेब्रुअरी १ मा सेनाले पुनः सत्ता कब्जा गरेपछि उनलाई हिरासतमा लिइएको थियो र १० वर्ष लामो प्रजातन्त्रको प्रयोग अन्त्य गरेको थियो।

उनको गिरफ्तारीले दक्षिणपूर्वी एसियाली राष्ट्र म्यान्मामा रक्तपातपूर्ण उथलपुथल निम्त्याएको छ भने उनको निर्वाचित सरकारको सट्टा सेनाप्रति बफादार (जुन्टा सरकार) ले सत्ता चलाइरहेको छ।

अस्ट्रेलियामा बेरोजगारीदर २ वर्षयताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ। ‘अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ। गत जुन महिनामा यो दर ४.१ प्रतिशत थियो।

हाल बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो। ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ।

एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अस्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ। सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर ६ लाख ३७ हजार १०० पुगेको छ, जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्छ। यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ।

यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रस्ट पार्छ।

सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

यातायातका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सार्वजनिक यातायात सुरक्षित बनाउन यातायात व्यवसायीलाई गृह मन्त्रालयको १२ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरूलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका १२ बुँदे निर्देशन दिएको हो ।

असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदलको सुझावका आधारमा मन्त्रायलयले निर्देशन जारी गरेको हो ।

त्यस्तै लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन भनेको छ ।

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि अख्तियारका १० सुझाव

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि १० बुँदे सुझाव दिएको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको अख्तियार प्रमुख प्रेमकुमार राईले १० बुँदे लिखित सुझाव दिएका हुन् ।

अख्तियारले राष्ट्र सेवकले विदेशमा घर जग्गा, व्यापार व्यवसाय, धितोपत्रमा लगानी गरेमा बैंक खाता खोलेमा वा अन्य क्षेत्रमा लगानी गरेमा वा हिस्सेदार भएमा सजाय हुनुपर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै मूल ऐनको प्रस्तावित दफा १६ क. मा प्रस्तावित ५ वर्ष कैद भन्ने शब्दको सट्टा ३ वर्ष कैद भनि मिलाउने, वित्तीय संस्थाबाट भएको कारबारलाई मात्रै मान्यता दिनेलगायतको सुझाव अख्तियारले दिएको छ ।

भ्रष्टारका आरोपीलाई निलम्बन गर्ने कि नगर्ने ? यस्तो छ प्रचण्डको जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासन प्रणाली र नियामक संरचनाका बीचमा परिमार्जन गर्नुपर्ने विषय धेरै रहेको बताएका छन् ।

बिहीबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल गर्नुपर्ने बताएका हुन् ।

उनले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने विषयमा पर्याप्त बहस आवश्यक रहेको बताए । उनले निलम्बतपश्चात् बीचको समय र अन्तिम फैसला दिँदासम्म अदालतले निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति के हुने भन्ने विषयमा पर्याप्त छलफल आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘हामीले विगतमा पनि देख्यौं । आयोगले मुद्दा दर्ता गर्यो, अदालतले फैसला गर्दा निर्दोष भन्यो । अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने व्यवस्था गर्ने कि, हुनै परे क्षतिपूर्तिको व्यवस्था गर्ने कि ? पर्याप्त छलफल होस् । यसमा विज्ञहरुसँग पनि छलफल गरी यसलाई विगतमा देखिएका समस्यालाई सम्बोधन गरी बनाइयोस् भन्न मेरो अपील छ ।’

उनले सरकारी निर्णय गर्ने विषयमा कर्मचारीतन्त्र र अख्तियारसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महसुस हुने गरेको बताए ।

उनले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादत्म्य, तालमेल, एक–अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले हदम्यादसँग सम्बन्धित विषयमा पर्याप्त छलफल आवश्यक रहेको बताए ।

उनले भने, ‘हदम्यादको विषय पहिलेको प्रचलनभन्दा घटाउने कि बढाउने भन्ने पनि छलफलबाटै टुंगो लगाउनुपर्छ । तर यसमा पर्याप्त छलफल होस् ।’

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं ।  धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ। ढल्केबर–लोहारपट्टी प्रसारणलाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब एक अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो। डबल सर्किट प्रसारणलाइनको लम्बाइ २३ किलोमिटर छ। प्रसारणलाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन्।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्मर थान र १३२/११ केभी, २२.५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन्। समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभिए छ। सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रूपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन्।

प्राधिकरणका अनुसार स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चारवटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ। ३३ केभीका दुईवटा फिडर जलेश्वर, एउटा गौशाला र एउटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिनेछ। यसमध्ये जनकपुरतर्फको एउटा फिडर निर्माण सम्पन्न गरी चालू गरिएको छ।

लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ। त्यसमध्ये दुईवटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। प्रसारणलाइन आयोजना करिब तीन वर्षअघि सुरु गरिएको थियो।

टीकापुर अस्पतालमै सर्जरी सेवा: बिरामीलाई राहत

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ ।

दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् ।

टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको हो । उनले २०७९ असारदेखि अस्पतालमा आफ्नो सेवा थालेका थिए । उनका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ ।

दुई वर्षका अवधिमा सामान्य शल्यक्रिया छ सय जना गरेको अस्पतालले जनाएको छ । “सामान्य शल्यक्रिया छ सय जति भएका छन् भने एक सय ५० जनाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ”, उनले भने, “पित्तथैलीको पेट काटेर ७५ जनाको शल्यक्रिया गरिएको छ । दुरबिनबाट ३२, ल्याप्रोस्कोपी विधिबाट प्वाल पारेर दुई शल्यक्रिया भएका छन् ।”

जटिल खालका शल्यक्रियामध्ये ‘एपेन्डिक्स’ फुटेका तीन, स्तनको गाँठागुठी र स्तन क्यान्सरको ३२, पेटमा ‘सिस्ट’ पलाएको चार, बच्चाको ‘हर्जिनोटोमी’ ४२ भएको पनि डा भट्टले जानकारी गराए ।

यसैगरी हर्निया दुई सय, फिस्टुला ३६, पाइल्स ४५, दिसा गर्ने ठाउँ पाकेको १५, स्तन पाकेको २६, दिसा गर्ने ठाउँ टाइट भएको १८, हाइड्रोसिल जटिल खालको ८४, विरलै देखिने फिमरो हर्निया चार शल्यक्रिया भएका छन् ।

दिसा गर्ने ठाउँको माथि प्वालबाट पिप र रगत आउने दुई जनाको शल्यक्रिया भएको छ । उसो त अस्पतालमा सामान्य खालका बोसोको डल्ला, मासु पलाएको, पानीको फोका, गाँठागुठी पलाएको, स्तनमा सामान्य गाँठागुठीको छ सय बढी शल्यक्रिया भएका छन् ।

यसरी टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि कैलालीको पश्चिम भेग, बर्दिया, सुर्खेत र अछामका बिरामीले राहत पाएका छन् । “बिरामीको चाप छ तर पर्याप्त श्ययाको अभाव छ, थप सेवाका लागि उपकरण आवश्यक पर्छ”, डा भट्टले भने, “अस्पतालमा सेवा पाएपछि नागरिकले थप सेवा खोज्छन् जुन स्वाभाविककै हो ।”

विसं २०८१ वैशाख शल्यचिकित्सक थपिएपछि सेवामा थप चुस्तता आएको छ । “व्यवस्थापन पक्षबाट राम्रो सहयोग छ । मोडुलर ओटी (सुविधा सम्पन्न) सुविधा मिलाइएको छ । सबैखाले विशेषज्ञ डाक्टर भएकाले शल्यक्रिया गर्न र सहकार्य गर्न सहज भएको छ”, डा भट्टले भने, “सघन उपचार कक्ष भइदिएको भए धेरै सहज हुन्थ्यो । स्वास्थ्यकर्मीलाई बारम्बार थप तालिको व्यवस्था आवश्यक छ ।”

उनले बजेट अपर्याप्त हुँदा शय्या अभाव हुन्छ । कहिलेकाहीँ श्यया अभाव भएर बिरामी फर्काउनुपर्दा नरमाइलो छ भने । दैनिक १० वटासम्म शल्यक्रिया गरेको उनको भनाइ छ ।

डा भट्टले भने, “जानकी गाउँपालिकाका ३५ वर्षका एक पुरुष पेट दुखेर आउनुभएको थियो, परीक्षण गर्दा पुरानो अल्सर अत्यधिक रक्सी सेवनका कारण फुटेर शरीरभरि फैलिएको अवस्था थियो तर बचाउन सफल भयौँ ।” पेटको खानेकुरा र पित्त शरीरभरि फैलिएको फैलिएर ९५ प्रतिशत ज्यान जाने जोखिममा भएको बिरामीको तीन घण्टा शल्यक्रिया गरेर बचाएको पनि सुनाए ।

उनले भने, “ठूला अस्पतालमा पर्याप्त उपकरण हुन्छन् । यहाँ त्यस्तो सुविधा हामी पाउँदैनौँ, सीमित उपकरणबाट काम गर्नुपर्ने बाध्यता छ । अब हामी दुई जना सर्जन छौँ, टिमवर्क भएमा हिम्मत बढ्छ । एनेस्थेसियालोजिस्ट डाक्टर पनि दुई जना हुनुहुन्छ र मोडुलर शल्यक्रिया कक्षबाट काम गर्ने गरेका छौँ ।”

उनले विगतलाई हेर्दा धेरै उपकरण थपिएका भए पनि अर्याप्त उपकरण सधैँ चाहिन्छ, सधैँ अभाव महसुस हुने बताए । उनले भए, “सिटीस्क्यान र सघन उपचार कक्ष अति आवश्यक छ । सघन उपचार कक्षसँगै श्ययालगायतका सुविधा भएको भए धेरै बिरामीलाई सेवा दिन सकिन्थ्यो ।”

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई टीकापुर अस्पतालमा बिरामीको चाप बढी रहेकाले दुई जना जनरल सर्जन भए पनि शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको बताए ।

“बिरामीको चाप बढी, शय्या अभाव भएकाले एक÷दुई दिन कुर्नुपर्छ”, उनले भने, “शल्यक्रिया गर्न ठूलो टिम चाहिन्छ । स्वास्थ्यकर्मी, नर्स सबै तालिम प्राप्त चाहिन्छ । भएकाहरुको क्षमता विकास, सर्जनका लागि आवश्यक अत्याधुनिक उपकरण थप गर्नसमेत आवश्यक छ ।”

अस्पतालका अध्यक्ष झपट सोडारी सर्जरी सेवा थप व्यवस्थित बनाउन प्रयास भइरहेको बताउँछन् । “सुदूरपश्चिममा पहिलो पटक सानो भए पनि मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “शल्यक्रिया कक्ष व्यवस्थित भएकाले बिरामीलाई राहत र सङ्क्रमणको जोखिम कम हुन्छ । अझ सेवा सुधारको प्रयासमै छौँ ।” 

सिन्धुलीको चियाबारीमा बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका २ चियाबारी नजिक भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ का उदय मसाङ्ग्री र गोलञ्जोर गाउँपालिका ६ हैबारका पृथ्वी भुजेल छन् । मृतक मध्ये उदय गोलञ्जोर गाउँपालिका वडा नं. ६ का निर्वाचित वडा सदस्य हुन् ।

उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकोमा ३ जनालाई थप उपचारालागि काठमाडौँ पठाइएको छ ।

दुर्घटनाका गम्भीर घाइते पदम मस्राङ्कीको सिन्धुली अस्पतालमा नै उपचार भइरहेको छ । गोलञ्जोर गाउँपालिकाको हैबारबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।

चितवनको धानबालीमा रोगको समस्या

चितवन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । 

कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए ।

यसलाई रोक्नका लागि सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए ।

उनका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताए ।

यस समस्या वर्षात्सँगै समाधान हुँदै जाने उनले बताए । धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताए । उनले भने, “एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन ।” 

भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उनका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् ।

उनले भने, “पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।” धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ (हाइब्रिड) लगाइएको स्थानमा भएको चौहानले जानकारी दिए ।

जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उनले जानकारी दिए । 

ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ

काठमाडौँ । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । 

ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो । 

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक÷एक थान, नगद  ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ ।

रविलाई मुकुल ढकालको प्रश्नः सहकारी ठगी मुद्दामा तपाईंमाथि अनुसन्धान गर्न पार्टीबाट स्वतन्त्र छानबिन समिति गठन किन नगर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । बुधबार पार्टीले सोधेको स्पष्टीकरणको जवाफ उनले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरी लिखित रूपमा जवाफ पठाएका हुन् ।

उनले आफूमाथि यसअघि गरिएको कारबाहीसम्बन्धी कागजतको प्रमाणित प्रतिलिपी उपलब्ध गराइदिन पठाएको पत्र दर्ता नै नगरी थप कारबाही गरिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईंले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।

न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

उनको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिए । न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।

गर्पाछेडाको भेडी गोठ

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् ।

तस्बिर : सन्तोष गौतम / रासस

पर्वतमा एक सय २२ पूर्वाधार योजना सम्पन्न

पर्वत । पर्वतका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सकिएका हुन् ।

गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट एक सय ५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा एक सय २२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश मातहतका एक सय ३३ योजना र संघीय सरकारअन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ ६ वटा ठूला आयोजना सम्पन्न भएका तथा ७ वटा मर्मत गरिएका हुन् ।

र्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार २० वटा योजना बहुवर्षे ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवाद कारण १० वटा योजना कार्यान्वयन भएका छैनन् ।

ती योजनाको रकम पनि फ्रिज भएको छ । गत आवमा डिमुवा–राम्जा–चित्रे साढे पाँच किलोमिटर र चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकीभञ्याङ–पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ ।

यसैगरी सेराबेँसी–मोहरिया–भुकताङ्, फलेवास नगरपालिका–३ स्थित नुवार–सहिदचोक–चुुचुनदेउराली सडक पाँच सय ६० मिटर र वाँझावारी–राम्चे–चौतारा– शङ्करपोखरी सडक पाँच सय ६० मिटर, मख–ठूलीपोखरी–देउपुर–देउराली–जोगीथुम दुई किलोमिटर, मिलनचोक–धाइरिङ–घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ । पैंयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा हैजा नियन्त्रणका लागि संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्यमन्त्रीको ध्यानाकर्षणको लागि संसद सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन् । बिहीबार सांसद डा.तोसिमा कार्कीले देशभरि हैजाको सङ्क्रमण बढिरहेको कारण संघीय संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरी सभामुख देवराज घिमिरेसमक्ष पेश गरेकी हुन् । कार्कीको प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोविता गौतम, मनिषा झा र डाक्टर चन्दा कार्की रहेका छन् ।


यस्तो छ ध्यानाकर्षण प्रस्ताव

देशभरि हैजाको सङ्क्रमण बढिरहेको कारण संघीय संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरी सम्माननीय सभामुखज्यू समक्ष पेश गरेका छौं। आशा छ तत्काल सम्बन्धित मन्त्रालयलाई संसदमार्फत ध्यानाकर्षण गराई नियन्त्रणका आवश्यक कार्यहरू गरिनेछ।

घ्यानाकर्षण– हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र दूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धमा ।

हैजा एक तीव्र सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो । वर्षाको समयमा देखिने यो रोगका कारण मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुन सक्ने जोखिम हुन्छ। तीव्र सङ्क्रामक भई महामारीका रूप लिन सक्ने हैजाका बिरामी यसवर्ष पहिलोपटक साउन ७ गते ललितपुरको एक रिहाव सेन्टरमा देखिएको थियो , हालसम्ममा ५ जिल्लामा यस रोगको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मिति २०८१/०४/२६ गतेको रिपोर्ट अनुसार देशभरि ४७ जना हैजाबाट संक्रमित भएका थिए। जसमध्ये ललितपुरमा ३४ जना, कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौंमा २ जना र रुपन्देहीमा १ जना रहेका थिए। पछिल्लो जानकारी अनुसार २०८१/०४/२८ सम्ममा पुनः ३ जना सङ्क्रमित थप भई देशभर कुल ५० जना सङ्क्रमित रहेका छन्।

यस सङ्क्रमण दरलाई यथाशीघ्र नियन्त्रण नगरिएमा यसले महामारीको रूप लिइ स्वास्थ्य संकट सृजना गर्नसक्ने आकस्मिकतालाई अवमूल्यन गर्न सकिँदैन। तसर्थ, मिति २०८१/०४/२१ गते ३० जना सङ्क्रमित सङ्ख्या पुगेको जानकारी प्राप्त हुने वित्तिकै हामीले हैजाको सम्भावित महामारी नियन्त्रण र दूत प्रतिकार्यप्रति संवेदनशील बनी यथाशीघ्र आवश्यक कदम चाल्नुहुन अनुरोध गर्दै मिति २०८१/०४/२४ गते हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयलाई समेत पत्राचार गरिएको थियो यद्दपी हैजाको संक्रमण हुनेको संख्या ५० नाघी सकेको अवस्था छ ।

हैजा नियन्त्रण गर्न र महामारीका रुपमा फैलन नदिन सबैमा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने भन्ने बारे जनचेतना फैलाउनु पर्ने हुन्छ । साथसाथै पानी वितरण गर्ने निजी तथा सरकारी संस्थाहरुलाई पानी अनिवार्य क्लोरिनेशन गर्न लगाउने र त्यस बारे समयसमयमा निरीक्षण पनि गरिनुपर्छ। यसका साथै वर्षाको समयमा ढल फुट्ने, वाढीका कारण फोहोर वगेर आउने र पानीका मुहानहरु दुषित हुने हुँदा पानीका स्रोतहरुलाई ढाक्ने सफा राखे, पानी संकलन गरिने ट्याङ्कीहरुमा पानी शुद्धीकरण गर्ने गर्नुपर्छ । हैजाको सङ्कण देखिएका क्षेत्रहरुमा व्यापक जनचेतना कार्यक्रम गर्ने, पोष्टर तथा प्याम्पलेटहरु टास्ने, निःशुल्क पिउस् प्लस वितरण गर्ने, पानी शुद्धिकरणका विधिहरु सिकाउने कार्यक्रम गर्ने जस्ता कार्यहरु तिव्र रुपमा गर्नुपर्छ। नेपाल सरकारका विभिन्न तहमा यस सँग सम्बन्धित निकायहरु सबैमा कार्यविभाजन गरी कुशल कार्यसम्पादन गरिनुपर्ने हुदा, सबै निकाय विचको समन्वयको लागि समेत मन्त्रालयहरुले ध्यान दिनुपर्छ ।

हैजा महामारीका रुपमा फैलिएमा नियन्त्रण गर्न कठिनहुन सक्ने र धेरै व्यक्तिहरुको ज्यान समेत जान सक्ने हुँदा, समयमै व्यापक रुपमा प्रभावकारी कार्यक्रमहरु गरी यसलाई निराकरण गर्नु आवश्यक छ। तसर्थ जनस्वास्थ्यसँग सम्बन्धित यो संवेदनशील विषयमा यस गरिमामय संसदमार्फत सम्वन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराउनु हुन अनुरोध गर्दछु ।

विश्व स्वास्थ्य संगठनद्वारा एमपक्सलाई विश्वव्यापी स्वास्थ्य सङ्कटको घोषणा

बीबीसी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ ।

विगतमा मङ्किपक्स भनिने अति सङ्क्रामक उक्त रोगको प्रारम्भिक प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कम्तीमा ४५० जनाले ज्यान गुमाएका छन् । हाल सो रोग मध्य तथा पूर्वी अफ्रिकामा विस्तार भएको छ र वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ‘ज्यादै चिन्ताको विषय भएको’ बताए ।

एमपक्स यौन संसर्ग, छालासँग सम्पर्कमा आउने वा अर्को व्यक्तिको नजिकै बोल्दा वा सास लिँदा नजिकको सम्पर्क कायम भएको अवस्थामा सर्ने गर्छ ।

यसले रुघा खोकी जस्तो लक्षण देखाउँछ। छालामा चोट देखा पर्छ र यो ज्यादै घातक हुनसक्छ। १०० वटा एमपक्सका घटनामध्ये ४ मा ज्यान गएको बताइन्छ ।

एमपक्सका दुईवटा मुख्य प्रकारहरू छन्। त्यसमा ‘क्लेड १’ र ‘क्लेड २’ पर्छन् । यसअघि सन् २०२२ मा पनि एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो। कम घातक ठानिने ‘क्लेड २’ प्रकारको भेरियन्टका कारण त्यस्तो गर्नुपरेको थियो।

अल नासर साउदी सुपर कपको फाइनलमा

काठमाडौं । । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

प्रो–लिग प्रतिद्वन्द्वी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे ।

प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा बिहीबार राति भएको खेलको सातौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

उनले रोनाल्डोको पासलाई सदुपयोग गरे । पहिलो गोलका लागि सहायता प्रदान गरेका रोनाल्डोले ५७ औं मिनेटमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्न सफल भएका थिए । खेलको अन्त्यतिर अल नासर १० खेलाडीमा समेटिन पुग्यो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच सिधंै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, त्यसको असर अल नासरलाई यस खेलमा परेन । अब अल नासरले उपाधिका लागि अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ ।

माओवादीको स्थायी कमिटी बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नकाबारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा पार्टी नेतृत्वको विकल्प, साङ्गठनिक अवस्था, देशको अवस्था, अन्तर्राष्ट्रिय राजनीति लगायत विषयमा छलफल भएको छ । बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन् ।

अनिता चलाउनेको ‘म राम्रो कि ऊ राम्रो भन्देउ सबैले’

काठमाडौं । गायिका अनिता चलाउनेले आफ्नो तीज गीत ‘म राम्रो कि ऊ राम्रो भन्देउ सबैले’ सार्वजनिक गरेकी छन् । यो गीतको म्युजिक भिडियो बेलायतमा छायाँकन गरिएको छ ।

नेत्र अर्यालले लेखेका शब्दहरुलाई खेम सेञ्चुरीले संगीत भरेका हुन् । अनितालाई गायनमा पनि सेन्चुरीले साथ दिएका छन् ।

अनिताको युट्यूव च्यानलबाट म्युजिक भिडियो रिलिज गरिएको छ । भिडियोमा राजु ढकाल र सुश्मा बस्याल बास्ताकोटीले मोडलिङ गरेका छन् । भिडियोको कोरियोग्राफी आरुसी मगरले र निर्देशन प्रशान्त खड्काले गरेका हुन् । भिडियोमा बेलायतका सुन्दर दृष्यहरु हेर्न सकिन्छ ।

नेपाल टेलिकमका सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु

काठमाडौं  । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ। कम्पनीले आज अर्थात् साउन ३० गतेदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गर्न शुरु गरेको बताएको छ।

टेलिकमले आज एउटा सार्वजनिक सूचना प्रकाशन गरी यस प्रकारको सेवा सुचारु गर्न लागेको भन्दै आफ्नो मोबाइलमा सो सेवा सुचारु भए/नभएको यकिन गर्न 14157# डायल गरेर चेक गर्न पनि सबैलाई आग्रह गरेको छ।

यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि 14157# डायल गर्न या NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ।

१७ वर्षपछि शान्ति प्रक्रिया टुंगिने बाटोमा

काठमाडौँ । संसदबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएसँगै न्यायको लामो प्रतिक्षामा रहेका द्वन्द्वपीडितहरूमा न्याय पाउने आशा पलाएको छ ।


प्रतिनिधिसभा बैठकले बुधबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित भएसँगै सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा पलाएको हो ।
     
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयक पेस गरेकी थिइन् । समितिको यही साउन २४ गतेको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो ।
      
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच यही साउन १७ गते समझदारी भएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा सहमति भएको थियो ।


     राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा निकै महत्त्वका साथ हेरिएको सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउन बनेको कार्यदलले नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएको सुरक्षाकर्मीका परिवार र बहिगर्मित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको थियो ।

यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुन अनुरुपको दण्डमा सजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको थियो ।
     
विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका अवस्थामा आज सदनबाट उक्त विधेयक पारित भएपछि बाँकी काम अघि बढ्ने भएको छ ।


     विसं २०६३ मङ्सिर ५ गते भएको शान्ति सम्झौतामा राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोग, सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत सङ्क्रमणकालीन न्यायका विषयलाई सम्बोधन प्रतिबद्धता व्यक्त गरिएको थियो ।


     सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहजीकरण गर्न बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनगरी काम गरिरहेको छ । आयोगका पदाधिकारी भने सिफारिस गर्न बाँकी छ ।


सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा के छ ?


     बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक(तेस्रो संशोधन), २०८१ मा दुई आयोगका सिफारिस गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको समय नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था गरिएको छ ।
    
     आयोगमा अभ्यास तथा सदस्यको पदमा नियुक्ति भएपछि आयोगले सशस्त्र द्वन्द्वका क्रममा जबर्जस्ती करण वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजकोतर्फबाट उजुरी दिन छुट भएको भए आयोगमा उजुरी दिन एकपटकका लािग तीन महिनाको म्याद दिइ सार्वजनिक सूचना प्रकाशन गरी आयोगले उजुरी माग गर्ने उल्लेख छ ।


     त्यस्तै, ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि मानव अधिकार उल्लङ्घनका घटनाको कारबाही वा मुद्दा जुनसुकै चरणमा रहेको भए पनि पीडितको स्वतन्त्र सहमतिमा मेलमिलाप गराउने सकिने व्यवस्था रहेको छ ।


     आयोगले परिपूरणका लागि गरेको सिफारिसमा चित्त नबुझेमा पीडितले त्यसको आधार र कारण खोली निवेदन दिनुपर्ने र मनासिव देखिएमा विशेष अदालतमा निवेदन दिनसक्ने व्यवस्था रहेको छ ।


     पुनरावलोकन सुन्ने प्रयोजनका लागि सर्वोच्च अदालतमा सङ्क्रमणकालीन न्यायसम्बन्धी संयुक्त इजलास रहने र त्यसका लागि प्रधानन्यायाधीशले आवश्यकताअनुसार सर्वोच्च अदालतका न्यायाधीशको सूची तयारगरी सोमध्येबाट इजलास तोक्ने व्यवस्था विधेयकमा छ ।


     मेलमिलाप हुन नसकेको वा क्षमादानको सिफारिसमा नपरेको मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न व्यक्तिका सम्बन्धमा नेपाल सरकार वादी हुने मुद्दाको हकमा महान्यायाधिवक्तासमक्ष लेखी पठाउनुपर्नेछ । साथै, पीडकलाई कानुनबमोजिम कारबाहीका लागि महान्यायाधिवक्तासमक्ष सिफारिस गर्न बाधा नपर्ने उल्लेख छ ।


     घटना हुँदाको परिस्थिति, कारण तथा सङ्क्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिइ जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटनाबाहेकका मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनामा तत्काल प्रचलित कानुनबमोजिम सजायमा २५ प्रतिशत सजायको माग दाबी लिनसक्ने व्यवस्था छ ।


सार्वजनिक पद धारण गरेका व्यक्तिउपर मुद्दा दायर भई थुना वा न्यायिक हिरासतमा रहेमा त्यस्तो थुना वा न्यायिक हिरासतमा रहुञ्जेल निज पदबाट स्वतः निलम्बन भएको मानिने व्यवस्था छ ।


     आयोगको कार्यविधिमा आयोगबाट शान्ति प्रक्रियाको काम सम्पन्न हुन नसकेमा नेपाल सरकारले कार्य प्रगतिका आधारमा काम सम्पन्न गर्न लाग्ने समयको आँकलन गरी आयोगको कार्यावधि थप्न गर्नसक्ने व्यवस्था समेत गरेको छ । साथै, आयोगले तोकिएको समयभन्दाअगावै शान्ति प्रक्रियाको काम सम्पन्न भएको घोषणा गरेमा सोही मितिदेखि आयोगको कार्याविधि समाप्त भएको मानिने व्यस्था गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३६ मत परेको थियो । त्यस्तै, विपक्षमा ८ मत परेको छ । माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए । यस्तै राप्रपा अनुपस्थित र स्वतन्त्र सांसदको मत तटस्थ रहेको थियो ।

भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयर र उपमेयरले पाए सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै मेयर, उपमेयरसहित १४ जनाविरुद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।

अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

म्यान्माको जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने सूचना गलत

म्यान्माको सेनाले बुधबार शीर्ष जनरलले जुन्टा प्रमुखलाई हिरासतमा लिएको अफवाह चिनियाँ विदेशमन्त्रीको भ्रमणअघि सरकारविरोधी समूहद्वारा फैलाइएको प्रचार मात्र भएको जनाएको छ ।

जुन्टा प्रमुख मिन आङ ह्लाइङले पछिल्लो समय सैन्य समर्थकबाट सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । हाल यस क्षेत्रमा सरकारी सेना जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र अन्य विपक्षीबीच आपसी द्वन्द्व चलिरहेको छ ।

मङ्गलबार सामाजिक सञ्जालका धेरै पोस्टमा शीर्ष जनरलले जुन्टाको शीर्ष नेतृत्व परिवर्तन गर्ने प्रयासमा राजधानी न्यापितमा सेनाप्रति बफादार सरकार प्रमुख मिनलाई हिरासतमा लिएको दाबी गरिएको थियो ।

दावी देशको ‘शान्ति र स्थिरता’मा खलल पार्ने उद्देश्यले गरिएको प्रचार मात्र भएको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग बुधबार म्यान्मामा मिन आङ ह्लाइङसँग वार्ताका लागि आइपुग्ने कार्यक्रम छ ।

भ्रमणको उद्देश्य विभिन्न क्षेत्रमा द्विपक्षीय पारस्परिक फाइदाजनक सहयोगलाई दृढ बनाउनु रहेको जनाइएको छ । चीन जुन्टाको प्रमुख सहयोगी हो ।

पछिल्लो समयमा जातीय सशस्त्र समूहहरूको गठबन्धनले चीनको युन्नान प्रान्तको सिमानामा रहेको उत्तरी शान राज्यको क्षेत्र जुन्टाबाट कब्जा गरेको छ ।

कब्जा गरिएको क्षेत्रमा शान राज्यको लासियो सहरमा सेनाको उत्तरपूर्वी कमान्ड समावेश छ र करिब एक लाख ५० हजार मानिसहरू बसोबास गर्छन ।

मिनले गठबन्धनले ‘विदेशी’ स्रोतबाट ड्रोन र छोटो दूरीका मिसाइललगायत हतियारहरू प्राप्त गरिरहेको बताए ।

लेबनानमा बढ्दो नागरिक मृत्यु र विस्थापन चिन्ताजनक : राष्ट्रसङ्घ

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले लेबनान र इजरायली अस्तित्वलाई छुट्याउने ‘ब्लू लाइन’मा बढ्दो वैमनस्यताको बीचमा नागरिक मृत्यु र बढ्दो विस्थापनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

गत महिनामा नागरिक मृत्युको सङ्ख्या २० प्रतिशतले बढेको तथा सन् २०२३ को अक्टोबरदेखि अधिकांश महिला तथा बालबालिकासहित १२० जनाको मृत्यु भएको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

कार्यलयले राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) लाई उदृत गर्दै १२ वटा भन्दा बढी पानी मुहानहरू क्षतिग्रस्त भएको र हाल चारवटा मुहानबाट सेवा नजोडिँदा दुई लाख भन्दा बढी मानिसहरू सुरक्षित पिउने पानीको पहुँचविहिन भएको जानकारी दिँदै द्वन्द्वरत पक्षले नागरिक पूर्वाधारलाई बारम्बार लक्षित गरेको औँल्याएको छ ।

यसैगरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै ३२ टन आपतकालीन सर्जिकल किटका साथैै औषधिहरू वितरण गरी लेबनानी सरकारको समर्थनमा कार्यालय र साझेदारहरूले राहत प्रयास जारी राखेको कार्यालयले पुष्टि गरेको छ ।

आसिएचलेले ब्लू लाइनको दुबै पक्षमा विस्थापन जारी रहेको बताउँदै लेबनानको विस्थापन सन् २०२४ को जुलाईदेखि लगभग चार प्रतिशतले बढेर अक्टोबर २०२३ देखि विस्थापित हुने मानिसको सङ्ख्या एक लाख दुई हजार पुगेको छ ।

ओसिएएचएले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून दायित्वहरूको सम्मान गर्न आग्रह गर्दै, नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ ।

इजरायली समूहहरूले दक्षिणी लेबनानका सहर र गाउँहरूमा हवाई आक्रमण तथा बमबारी बढाउँदा कैयांँै नागरिकको मृत्यु र घाइते हुन पुगेका छन् भने सयौं परिवारहरू घर छोड्न बाध्य भएका छन् ।

रमेश खरेलले चर्चामा आउनका लागि अख्तियारमा मेराविरुद्ध उजुरी गरेः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध सुनियोजित षड्यन्त्रस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको बताएका छन् ।

एन्टी करप्सन नेटवर्कका तर्फबाट रमेश खरेलले मंगलबार घिसिङविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेका थिए । बुधबार विज्ञप्ति जारी गरी घिसिङले आफूमाथि लगाइएको आरोपहरू गलत रहेको जिकिर गरेका छन् ।

घिसिङले निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका बेला हतोत्साहित बनाउन सुनियोजित रूपमा निहीत स्वार्थका साथ खरेल लागेको आरोपसमेत लगाएका छन् ।

उनले भनेका छन्, ‘उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेका थिए र छन् ।’

उनले प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह यसमा लागेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन् । प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरू, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।’

यस्तो छ कुलमानको विज्ञप्ति
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट मिति २०८१ साउन २९ गते मंगलबारका दिन सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रुपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

निज खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहित स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो। पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लंघन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ।

स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहे तापनि निज खरेलबाट मेरा विरुद्धमा आफैँ न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ। सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासोका विषयहरु हुन्छन् र त्यस्ता व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरू जहिले पनि निगरानीमा हुन्छन्। आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनभिज्ञ छैन।

उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ। निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेका थिए र छन्।

अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेका छन्। मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु। यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्।

नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको छु। नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरूको खण्डन गर्दछु। यस्ता आरोपको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु।

प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन्। प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ।

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु।

नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरू पारदर्शी रुपमा भइरहेका छन्। र, अझै पारदर्शी रुपमा अगाडि बढाइने छ। ऊर्जा क्षेत्रका योजनाहरू कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदछु।

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण
दरबारमार्ग, काठमाडौं ।
२०८१-०४-३० बुधबार ।