अल नासर साउदी सुपर कपको फाइनलमा


काठमाडौं । । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।
प्रो–लिग प्रतिद्वन्द्वी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे ।
प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा बिहीबार राति भएको खेलको सातौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
उनले रोनाल्डोको पासलाई सदुपयोग गरे । पहिलो गोलका लागि सहायता प्रदान गरेका रोनाल्डोले ५७ औं मिनेटमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्न सफल भएका थिए । खेलको अन्त्यतिर अल नासर १० खेलाडीमा समेटिन पुग्यो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच सिधंै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, त्यसको असर अल नासरलाई यस खेलमा परेन । अब अल नासरले उपाधिका लागि अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ ।