`

रमेश खरेलले चर्चामा आउनका लागि अख्तियारमा मेराविरुद्ध उजुरी गरेः कुलमान घिसिङ

Nepal One HD ३० साउन २०८१ १७:५९
अर्थ समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध सुनियोजित षड्यन्त्रस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको बताएका छन् ।

एन्टी करप्सन नेटवर्कका तर्फबाट रमेश खरेलले मंगलबार घिसिङविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेका थिए । बुधबार विज्ञप्ति जारी गरी घिसिङले आफूमाथि लगाइएको आरोपहरू गलत रहेको जिकिर गरेका छन् ।

घिसिङले निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका बेला हतोत्साहित बनाउन सुनियोजित रूपमा निहीत स्वार्थका साथ खरेल लागेको आरोपसमेत लगाएका छन् ।

उनले भनेका छन्, ‘उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेका थिए र छन् ।’

उनले प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह यसमा लागेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन् । प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरू, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।’

यस्तो छ कुलमानको विज्ञप्ति
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट मिति २०८१ साउन २९ गते मंगलबारका दिन सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रुपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

निज खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहित स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो। पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लंघन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ।

स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहे तापनि निज खरेलबाट मेरा विरुद्धमा आफैँ न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ। सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासोका विषयहरु हुन्छन् र त्यस्ता व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरू जहिले पनि निगरानीमा हुन्छन्। आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनभिज्ञ छैन।

उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ। निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेका थिए र छन्।

अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेका छन्। मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु। यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्।

नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको छु। नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरूको खण्डन गर्दछु। यस्ता आरोपको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु।

प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन्। प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ।

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु।

नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरू पारदर्शी रुपमा भइरहेका छन्। र, अझै पारदर्शी रुपमा अगाडि बढाइने छ। ऊर्जा क्षेत्रका योजनाहरू कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदछु।

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण
दरबारमार्ग, काठमाडौं ।
२०८१-०४-३० बुधबार ।


प्रतिक्रिया