`

क्यानडा आउने विद्यार्थीलाई दूतावासका सात सुझाव

काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अविभावकलाई सुझाव दिएको छ । दूतवासले सूचना जारी गरी अरुको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको भन्दै अविभावकलाई जानकारी लिएर मात्र छोराछोरी पठाउन सुझाव दिएको हो ।

आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन दूतावासले सुझाव दिएको छ ।

दूतावासले भनेको छ,’रोजगारीका सम्भावनाबारे पर्याप्त मात्रामा जानकारी लिएर तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ । अविभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ ।’

यस्तै, दूतावासले जारी गरेका सूचना (वेबसाइट, फेसबुक पेजमा उपलब्ध छन्) लाई ध्यान दिने, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिइएको छ । केही कलेजहरूले अतरंजित प्रचारप्रसार गर्ने भएकोले त्यसमा भरपर्दा समस्यामा पर्ने भएकोले पर्याप्त जानकारी लिन दूतावासले सुझाएको हो ।

सत्ता परिवर्तनले मात्र सम्भव छैन शान्ति र समृद्धि

-डा. युवराज संगौला । 
दस दिन सुदूरपश्चिमका विभिन्न स्थान र कलेजहरुको भ्रमण गरियो । जहाँ जहाँ मौका मिल्यो, त्यहाँको जीवन जान्ने प्रयास पनि गरियो । बाटोमा जताततै भव्य होटलहरु बनेका छन्, तर सडकमा झुप्रामा चिया बेचेर जीवन चलाउने मानिस पनि छन् । गरीब र धनीका बीचमा ‘कमाइको खाडल’ झन् झन् फराकिलो र गहिरो भएको छ । नगरपालिकाहरुमा धनी मात्र बस्नुपर्छ, शहरहरु गरीबले कमाइ खाने ठाउँ होइनन भन्ने ‘संकथन’ स्थापित भएको छ । अतः सडक सफा र सुन्दर बनाउने नाममा गरीबहरु लखेटिएका छन् । खेतहरु प्लटिङ्ग भएका छन् । अस्पतालहरु ‘पैसा कमाउने ठाउँ बनेका छन् ।’ हरेक गाउँपालिका नगरपालिकामा भ्रष्टाचार व्यापक छ । भ्रष्टाचारका उपाय जानी नसक्नु छन् । स्थानीय निकायहरु सेमिनार र सडक बनाउन व्यस्त छन् । यस्ता कामबाट राम्रो कमिसन आउँछ। शिक्षा लथालिङ्ग छ । शिक्षाको मालिक कहिल्यै स्कुल नगएको राजनीतिक कार्यकर्ता बनेको छ । कोही जनताप्रति उत्तरदायी छैनन् । उद्योग कतै छैनन् ।

उद्यमका नाममा स्थानीय निकाय एक घर एक कागतीको बिरुवा बाँडिरहेका छन् । कृषकले पाउने अनुदान माफियाले पाउँछन् । किसानका तरकारी ‘भारतीय तरकारीले विस्थापित गरेका छन् ।’ पाल्पाको तरकारी बुटवल जान्छ, अनि भारतको तरकारी पाल्पा आउँछ, उदाहरणका लागि। अपराध जताततै छ । हत्याका, बलात्कार र सम्बन्ध बिच्छेदका घटना बढेका छन् । साना व्यापारी करको भार बोक्न नसकी विस्थापित भएका छन् । गाउँपालिका र नगरपालिका सिहंदरवार जस्तै बनेका छन् । हरेकमा स्कोर्पियो छन् । मानिस राजनीतिलाई राम्रो जागिर ठान्छ। किन यो हालत भएको होला ? कोही यो बिहंगम समस्याको कारण खोज्दैनन् । हरेक विद्यार्थी विदेश जान चाहन्छ । उसलाई पैसा चाहिएको छ। उसलाई सुख चाहिएको छ । उसलाई निर्वाध ‘सुखभोग’ चाहिएको छ, उसलाई समाज, नातागोता र बाबुआमा चाहिएको छैन । स्कुलका विद्यार्थी कक्षामा होइन ‘रील’ बनाउन कर्णालीका पुलमा छन् । प्रत्येक दशवटा ‘रील’ मा एउटा दुर्गा प्रसाईंको गाली गलौजको टुक्रा, एउटा ‘स्कुल पढ्ने बालिकाको अश्लिल नृत्य, एउटा अश्लिल व्यंग्य, एउटा अङ्ग प्रदर्शन, एउटा उत्पादनको बजार नभएको गुनासो, आदि इत्यादि । समाज अश्लिल बनेको छ । सामाजिक संजाल शिक्षा होइन यौन अश्लिलता सिकाउने माध्यम बेनेको छ । समाजमा ‘राजनीतिक भ्रष्टाचारको समस्या मात्र होइन’ समग्र समाज भ्रष्टाचारको शिकार बनेको छ। यो अवस्थाको सिर्जना गर्नमा ‘पार्टी मौसुफ“हरुको भूमिका त छ नै, तर ‘पुँजीवादी उपभोक्तावाद’को भूमिका र ‘हाम्रो समाजमा जरा गाडेर बसेको भोगवादी’ प्रवृत्तिको भूमिका पनि सानो छैन । मेरा केही अनुभूति छन्, जो हाम्रा चुनौती हुन र यी चुनौतीको समाधान नखोजी, केवल सत्ताको परिवर्तनले मात्र नेपालमा शान्ति र समृद्धि सम्भव छैन, र लोकतन्त्रको संस्थापन हुन सक्दैन ।

१. हाम्रो समाजमा ज्यान र जीवनको मूल्य कमजोर छ। अपराध हुन्छ, हरेक दिन दुर्घटनामा मानिस मर्छन्, आत्महत्या हुन्छ तर हामीलाई कुनै पीडा हुँदैन। हामी मानिसका मृत्युलाई दर्जनमा गन्छौं । हामीलाई मानिसको प्रतिभा र गुणको कुनै मतलब छैन । जहाज दुर्घटना हुन्छ र पाइलट र क्र्यू तथा महत्त्वपुर्ण मानिसको मृत्यु हुन्छ, हामीलाई लाग्दैन देशलाई कत्रो नोक्सानी भयो । सरकारलाई त कुनै मतलब नै हुन्न । मृत्युप्रतिको संवेदना नासिदैछ ।

२. देशमा राम्रा विज्ञहरु बस्तैनन् । सरकारका अधिकृतहरु राजनीतिक दलका ठेट्नाको चाकरी गर्न बाध्य हुन्छन् । नेताका नजिकका विनाज्ञानका मानिस ठूलठूला पदमा नियुक्त हुन्छन्, विज्ञहरु अपमानित हुन्छन् । गाडी चढ्ने गुन्डाको सम्मान हुन्छ तर वैज्ञानिक र साहित्यकारको हुन्न । हाम्रो सांस्कृतिक प्रवृत्तिमा ‘भड्किला लुगा लगाउने, महंगो गाडी चढ्ने, महंगो रक्सी खाने, घरबाहिर खाने, महंगा लुगा लगाउने, पदवाला हाकिमलाई सम्मान गर्ने गहिरो आदत निर्माण भएको छ । तर हामीलाई छ ‘सडकमा चर्का नारा लगाउने मानिस सत्तामा पुगे सबै ठिकठाक हुन्छ । त्यसो भए त मोदी आएपछि भारत अमेरिका भैसक्नु पर्ने ।

३. पुँजीवादी उपभोक्तावादको ‘हवास हाम्रो संस्कृतिको जगमा गाडिएको छ।’ भ्रष्टाचार यही उपभोक्तावादको हवासले जन्माएको प्रवृत्ति हो। अमेरिका र चीन जस्ता देशमा पनि उपभोक्तावाद छ, तर उनीहरुको समाजमा यसलाई नियन्त्रण गर्ने न्यूनतम संयन्त्रहरु छन् । तर नेपालमा यस हवासलाइ रोक्ने कुनै व्यवस्था छैन । हाम्रो समाजमा त अधिक भोगलाई नै भाग्य मानिन्छ । त्यसैले प्रधानमन्त्रीलाई तीन करोडको, सेनापतिलाई तीन करोडको, आइजिपीलाई तीन करोडको गाडी चाहिन्छ । यस्ता हाकिम कति छन् कति, जो गरीब जनताका करबाट विलासको जीवनयापन गर्दछन् । उनीहरुलाई लाग्छ, भोगविलासनै सान र सौकत हो । हिजो राजाले जे भोग्थे, उनीहरु आज त्यही भोग्छन् । डेनमार्कका हुनेवाला राजा कार्पेन्टरी गर्छन्, तर हाम्रा मन्त्रीलाई सलौट हान्ने गार्ड चाहिन्छ । जिल्ला जाँदा सबैलाई पिर्के सलामी चाहिन्छ । के हाम्रो यो सांस्कृतिक प्रवृत्ति हाम्रो राजनीतिलाई भ्रष्ट पार्ने तत्व होइन ? यो परिवर्तन नगरी नागरिकतन्त्र निर्माण गर्न सम्भव छैन।
४. कानुन र नीतिले यस्ता प्रवृत्तिलाई केही घटाउलान्, तर मुख्य समस्या त ‘हाम्रो भोगवादी हवस नै हो’ जसले हामीलाई भ्रष्ट, मफिया, चोर, लुटेरा, र ठग बनाउँछ, र त्यो मानिसलाई नै नेता बनाउँछ किनकी ऊ सङ्ग पैसा हुन्छ ।

५. हामीले ‘हाम्रो जीवनको अन्तरनिहीत दर्शनलाई नबदलि नत लोकतन्त्रको संस्थापन हुन्छ नत सभ्य समाजको निर्माण । यो अन्तरनिहीत बैगुणयुक्त प्रवृत्तिलाई बदल्ने सोच र क्षमताविना ‘इन्द्रका बाबू चन्द्रलाई प्रधानमन्त्री बनाउनुहोस् त्यो भ्रष्ट नै हुन्छ ।’

६. जीवनको तात्पर्य असीमित भोग होइन । बुद्धले भनेका छन् ‘न त अतिभोग न त अतिपीडा, हामीले हिँड्ने बाटो बीचको हो।’ असल चरित्रले मात्र जननेता बनाउँछ । जीवनको लक्ष त रचना हो । अतःनेपालको पहिलो आवश्यकता हाम्रो शिक्षाको सुधार हो । त्यस्तो शिक्षा जसले असल नागरिक निर्माण गर्छ । शिक्षाको सुधार बिना राम्रो पेटी, फराकिलो पेटी र चौडा सडकले मात्र राष्ट्रको विकास हुँदैन । तर भोगवादीहरुलाई समाजको रूपान्तरण होइन, महंगो गाडी र बिलासी रेष्टुरेन्ट चाहिएको छ । तर हाम्रो आवश्यकता ‘विद्यार्थीलाई भोगी मानिस होइन जागृत वैज्ञानिक मानिस बनाउनु हो।’ उत्पादनको सिर्जना गर्ने मानिस बनाउनु हो । तर हामी हाम्रो सन्तानलाई मानिस बन्न होइन ‘कमाउन र बिलासी बनाउन चाहन्छौं । हामी असल मानिस होइन ठूलो मानिस विद्यार्थीका दिमागमा भर्छौं । जब उसले यो सपना देशमा सम्भव देख्दैन तब ऊ भोगको खोजीमा पलायन हुन्छ।’

समाजको यो सांस्कृतिक अन्तरनिहीत गलत प्रवृत्तिलाई बदल्ने क्षमताको खोजी नै नेपालको भविष्यको राजनीति हो । राजनीति ‘सत्ता प्राप्तिको खेल राजनीति होइन।’ आज राजनीति सडकमा ‘भोगका हवसबाट नअघाएका र भोग्न नपाएर भुँडी कराइरहेकाहरुका बीचमा गाली गलौजको प्रतिस्पर्धामा परिणत भएको छ।’ राजनीतिमा कसैको एकलौटी समाप्त गर्नुनै परिवर्तन हो । जब परिवर्तन चिन्ता, चिन्तन र विचारबाट निर्देशितत हुन्छ, तब नागरिकतन्त्रको निर्माण हुन्छ । यो नै हामीले खोजेको राज्य व्यवस्था हो ।

सोलुखुम्बुको थामे क्षेत्रमा साना ठूला गरी छन् ६ वटा हिमताल

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ ।

बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी ६ वटा हिमताल/हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ ।

‘उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो’, महाशाखाले भनेको छ, ‘निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।’

विभागको खोटाङस्थित दूधकोशी रवुवाबजार बाढी मापन केन्द्रमा जलसतह आज साँझ ५ः१० बजे चार दशमलव २९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब एक दशमलव २० मिटर बढेर साँझ ५ः४० बजे पाँच दशमलव ५३ मिटर पुगेकामा सोपछि विस्तार घट्न थालेको महाशाखाको भनाइ छ ।

धनुषामा डुबेर दुई बालिकाको मृत्यु

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो नुहाउन गएकी दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयले निकालेका थिए । दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एभरेष्ट वुमन्स भलिबल लिगको खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

काठमाडौं । भलिबल एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) को खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले शुक्रबार नेपाली खेलाडीको सूची र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।

पहिलो पटक हुन लागेको महिला फ्रेन्चाइज भलिबल लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक इन्फिनिटी ड्रिम्सले ६ फ्रेन्चाइजका मुख्य प्रशिक्षकहरूको बैठकमा भएको ड्राफ्ट र समझदारीका आधारमा नेपाली खेलाडीको सूची सार्वजनिक गरेको जनाएको छ ।

ड्राफ्टमार्फत सार्वजनिक सूचीमा क्याटेगोरी एका १ खेलाडी छन् भने क्याटेगोरी बी बाट ४ तथा क्याटेगोरी सी बाट ३-३ खेलाडी छन् ।

आयोजकले यसअघि नै ६ टोलीको मार्की खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।

पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, मधेश र कर्णालीको फ्रेन्चाइज टोली सहभागि छन् ।

राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही चितवन शक्तिको मार्की प्लेअर छिन् भने सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीको मार्की प्लेअर छन् ।

यस्तो छ खेलाडी र प्रशिक्षकको सूची

कुन टिममा कुन खेलाडी?

टिम गण्डकी : सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बी’, लक्ष्मी चन्द ‘बी’, रिमा कुँवर ‘बी’, कविता भट्ट ‘बी’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’

टिम काठमाडौं :उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बी’, कोपिला राना ‘बी’, कमला पुन ‘बी’, उषा विष्ट ‘बी’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक : जगदीश प्रसाद भट्ट

प्रशिक्षक : रुपेश कुमार विष्ट

टिम मधेश: निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बी’, संगम महतो ‘बी’, शान्ति तामाङ ‘बी’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’

प्रशिक्षक : भरत यादव

टिम ललितपुर : सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बी’, कामना विष्ट ‘बी’, सफिया पुन ‘बी’, निशा चौधरी ‘बी’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’

प्रशिक्षक: उत्सव खड्का

टिम कर्णाली : सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बी’, मनिषा चौधरी ‘बी’, यमुना रसाइली ‘बी’, सुनिता राई ‘बी’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’

प्रशिक्षक : कुमार राई

चितवन शक्ति: अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बी’, जेनिशा विश्वकर्मा ‘बी’, एन्जिला प्रधान ‘बी’, सुनिता खड्का ‘बी’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’

प्रशिक्षक : अर्जुन घिमिरे

गठ्ठाघर दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

भक्तपुर ।  भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार  छानबिन समिति गठन गरेको छ । 


बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । 


प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।


समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला छन् । 


यसअघि शुक्रबार गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न प्रहरीले पनि छानबिन समिति गठन गरिसकेको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनाएर आजदेखि काम सुरु गरेको प्रहरीले जानकारी दिएको छ । 


युवा सङ्घले बुझायो ज्ञापनपत्र

सोही दुर्घटनाका सम्बन्धमा राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी भक्तपुरले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।


सङ्घका अध्यक्ष रबिन थापाको नेतृत्वको युवा सङ्घको टोलीले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै हिजो गठ्ठाघरमा भएको दुर्घटनामा चालकलाई कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यबस्था गरिदिन माग गरेको छ । 


साथै सङ्घका अध्यक्ष थापाले ज्ञापनपत्रमार्फत प्रजिअ श्रेष्ठलाई दुर्घटना न्यूनीकरणका दीर्घकालीन उपाय अवलम्बन गर्न, सडक मर्मत गर्न, सडक बत्ती नियमित बल्ने व्यबस्था गर्न, ट्राफिक लाइटको नियमित बल्ने व्यवस्था गर्न लगायतको माग गरेको छ । 


त्यस अवसरमा प्रजिअ श्रेष्ठले घटनाबारे युवाहरुले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले भीडलाई थप आक्रोशित बनाएको भन्दै युवाले यस्ता घटनालाई रोक्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । उनले दुर्घटनामा गल्ती गर्ने जोसुकै भए पनि कारबाहीको दायरमा ल्याइने बताइन् । 

संसदीय समितिले लियो दीपेश पुनसँग बयान

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव दीपेशकुमार पुनसँग सोधपुछ गरेको छ ।

शुक्रबार समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेशसँग सोधपुछ गरेको हो । पछिल्ला दिनमा समितिले सहकारीको वचत दुरुपयोग गरेको अभियोगमा थुनामा रहेका र अन्य आरोपीसँग सोधपुछ गरिरहेको छ ।

समितिले बिहीबार ओरियन्टल,प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य संचालक सुधिर बस्नेतसँग सोधपुछ गरेको थियो । त्यस्तै, सुप्रिम वचत तथा ऋण सहकारी बुटवलका अध्यक्ष ओमप्रकाश गुरूङलाई भैरहवा कारागारबाट झिकाएर सोधपुछ गरेको थियो ।

त्यस्तै सुप्रिपमकै क्यासियर पदमा कार्यरत रोशनी गुरूङलाई पनि समितिले सोधपुछ गरेको थियो । समितिले केहीदिनअघि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा थुनामा रहेका भविश्वर अर्याल, शिवकुमार गुरूङ(महेन्द्र भोटे), कुमार रम्तेललगायत अन्य सहकारीका संचालकहरुसँग पनि सोधपुछ गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सिंह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करार गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करारपत्रमा हस्ताक्षर गरेका हुन् ।

मुख्यमन्त्री सिंहले कार्यसम्पादन सम्झौताका लागि भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादनसिँह क्षेत्री, शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह, अर्थमन्त्री सुनिलकुमार यादव, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियासँग करार सम्झौता गरेका छन् ।

प्रादेशिक राजधानी जनकपुरधाम बाहिर रहेकाले श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायसँग भने पछि कार्यसम्पादन सम्झौता गरिने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

करारमा मन्त्रालयका नीतिगत विषयहरूलाई वार्षिक कार्यक्रमसंग आबद्ध गरेर कार्यसम्पादन सूचक र मूख्य नतिजा क्षेत्र सूचक खुल्नेगरी मन्त्रालयका संयन्त्रमार्फत भदौ १५ भित्र कार्यसम्पादनसहितको विवरण तयार गर्ने तथा स्वीकृत गर्नुपर्ने उल्लेख छ ।

कार्यसम्पादन विवरणमा मन्त्रालयका कार्यक्रम, क्रियाकलापको सूची र कार्यान्वयनको समयसिमा समेत उल्लेख गरिएको छ ।

कार्यसम्पादन सम्झौतासम्बन्धी करारपछि मुख्यमन्त्री सिंहले कार्यसम्पादन सम्झौताका कारण मन्त्रालयका काममा प्रगति, पारदर्शिता र समयवद्धता कायम हुने बताए ।

उनले सम्झौता कार्यान्वयनबाट मासिक, चौमासिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन हुने भन्दै त्यसबाट मन्त्रालयमा काम भएका वा नभएका र नभएका कारण तथा जिम्मेवार व्यक्तिको पहिचान गर्न सकिने उल्लेख गरे ।

‘कार्यसम्पादन सम्झौताबाट कर्मचारीले दायित्वबोध गर्नेछ’, उनले भने, ‘यसबाट अधिकारीहरूको जिम्मेवारीसँगै पुस्कृत तथा कारबाही हुने आधार तय हुनेछ ।’

प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्यालले भदौ १५ भित्र कार्यसम्पादनका मुख्य सूचक तथा मुख्य नतिजा क्षेत्र निर्धारणसहितको विवरण तयार तथा स्वीकृत भएपछि सम्झौताको प्रक्रिया पुरा भएको मानिने बताए ।

उनले मन्त्रालयले गर्ने कामको स्पष्ट जानकारी जनतालाई हुने, मन्त्रालयलाई दिशाबोध हुने तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई कुन मन्त्रालयले कुन क्षेत्र केन्द्रित काम गरिरहेको र व्यवस्थित किसिमले काम भइरहेको वा नभइरहेको बारे अनुगमन गर्न सजिलो हुने जानकारी दिए ।

प्रमुख सचिव पौड्यालले कार्यसम्पादन सम्झौताबाट समानुपातिक हिसाबले वितरण गरेर कुनै महिना काम नहुने र कुनै महिनामा धेरै काम हुने प्रवृत्ति निरुत्साहित हुने तथा भदौदेखि असारसम्म काम व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

 झापा । ३० वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सिएका छैनन् । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन ।

‘भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,’ तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष समेत रहेका भएको तिवारीले सुनाए, ‘हामी चाहिँ बाँसको भाटामा पाटा बेरेर बनाइएको पुल्ठो मट्टितेलमा चोबेर राँको बनाउँथ्यौं र सिठी फुकेर हात्तीको हुललाई पछाडिबाट धपाउँथ्यौं ।’

गाउँका मानिस रातभर अनिदो बसेर हात्ती धपाउन खटिन्थे । एउटा बस्तीमा हात्ती पसेको हल्ला फैलिएपछि अर्को गाउँका मानिसले हात्ती छेक्न घर र सडक छेउमा परालको आगो बाल्थे ।

गाउँका महिला हात्ती धपाउन घण्टी बजाउँदै अगरबत्ती बालेर पूजापाठ गर्न थाल्थे भने भने पुरुषहरु शङ्खध्वनी गुञ्जाउँथे । थोत्रे टिन, घण्टी सिठीको चर्को आवाज सुनेर हात्ती गाउँबाट भाग्थे । आगोको छेउछाउ नआउने हात्ती पुल्ठो बालेपछि तर्किएर जान्थे ।

हात्ती कतातिर जाँदैछन् भनेर चियो गर्न स्थानीयबासीले विभिन्न गौडाहरुमा अग्ला अग्ला मचान (टुङ) बनाउन थाले । सरकारले नै पक्की मचान बनाउन सहयोग दिन थाल्यो । पुराना मचानहरु बाहुनडाँगीको मेची किनारमा अहिले पनि छन् ।

समय क्रममा हात्ती धपाउने शैलीहरु बदलिए । तिवारीकै अनुभवमा टिनको आवाज र पुल्ठोको आगोसँग हात्ती डराउन छाड्यो । त्यसपछि हात्तीलाई धपाउन पटाका पड्काउन थालियो । बन्दुक पड्काउँदा महँगो र सरकारी अनुमति नपाइने हुँदा गाउँलेहरुले हात्ती धपाउन भारतबाट पटाका किनेर ल्याउन थाले ।

‘बन्दुक पड्काउँदा हात्ती भाग्ने भएकाले हामीले तर्साउनका लागि ठूला आवाज दिने पटाकाको सहारा लियौं,’ तिवारीले भने, ‘मान्छेहरुले जे उपाय लगाए पनि विस्तारै हात्तीहरु त्यसैमा अभ्यस्त हुन थाले । पटाका पड्काउँदा पनि भाग्न छाडेपछि अर्कै उपाय खोज्न बाध्य हुनुपर्यो।’

बुद्धिमान प्राणी भएकाले हात्तीले अस्तित्व रक्षाका लागि परिस्थितिको सामना गर्ने उपाय निकाल्दोरहेछ रहेछ भन्ने मानिसहरुले बुझे । मेचीनगर नगरपालिका–४ का निरज घिमिरे भन्छन्, ‘झापामा वर्षौदेखि मानव र हात्तीबीचको लखेट्याई खेल चलिरहेको छ । मानिसले हात्ती धपाउन निकालेका हरेक जुक्तिहरु केही वर्षको अन्तरालपछि निष्तेज हुने गरेको छ।’

भारतको पश्चिम बंगालस्थित विभिन्न आरक्षित जङ्गलबाट नेपाल प्रवेश गर्ने हात्तीको मुख्य गौडा नै बाहुनडाँगी हो । बाहुनडाँगीबाट प्रवेश गरेका हात्तीहरु झापाको सबैजसो क्षेत्रमा डुल्ने र क्षति पुर्‍याउने गर्छन् । कयौं पुस्तादेखि जंगली हात्तीहरु भारतको आसाम, पश्चिम बंगाल र नेपालको कोशी प्रदेशमा विचरण गर्दै आएका छन् ।

तीस वर्षमा हात्ती र मानवबीचको द्वन्द्वको अवस्था झन् बढेर गएको छ । उसबेला झापाको बाहुनडाँगी मात्र हात्तीको निशानामा थियो । अहिले जिल्लाका १५ वटै पालिकामा हात्तीले जनधनको क्षति पुर्‍याउने गरेको छ । मोरङ र सुनसरी जिल्लामा केही वर्षयता हात्तीले पुर्याएको क्षति कहालिलाग्दो छ ।

डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार हात्तीको आक्रमणमा परी २०६७ देखि हालसम्म १५ वर्षको अवधिमा ६७ जनाको मृत्यु भएको छ । सोही अवधिमा २१ वटा हात्ती समेत मारिएका छन् । जनधनको क्षति रोक्नका लागि अनेकन उपाय अवलम्बन गरिएका छन् ।

भारतबाट हात्ती पस्ने मुख्य गौंडाको रुपमा चिनिएको साविक बाहुनडाँगी अर्थात अहिलेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की अब मानव र हात्तीबीच द्वन्द्वलाई सहअस्तित्वको माध्यमबाट समाधान गर्नुपर्ने बेला आएको बताउँछन्।

‘जङ्गली बासस्थान र आहारको प्राकृतिक स्रोत मासिदै गएपछि हात्तीहरु मान्छेको बस्ती र खेतबालीमा पस्न थालेका हुन् भने आफ्नो आवास र उत्पादनमाथि धावा बोल्न थालेपछि मान्छेले पनि हात्तीलाई मार्नेसम्मको गतिविधि गरेका हुन्,’ वडाध्यक्ष कार्की भन्छन्, ‘अब पुरानो सोचबाट यो अस्तित्वको लडाई समाप्त हुँदैन । हात्ती त जनावर भयो । कसरी सहअस्तित्व कायम गर्ने भन्ने उपाय खोज्ने काम चेतनशील मानिसको जिम्मेवारी हो।’

मानिसले हात्तीसँग झडपमा उत्रिने स्थितिको अन्त्य गर्दै हात्तीमैत्री नीति र कार्यक्रम अघि सार्नुपर्ने उनको धारणा छ । केही वर्षदेखि बाहुनडाँगीमा उहाँकै नेतृत्वमा प्रकृति संरक्षण, हात्ती धपाउन आधुनिक प्रविधिको प्रयोग र बिमामार्फत बाली क्षतिपूर्तिको व्यवस्थाका विभिन्न आशलाग्दा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

हात्तीलाई पर्यटनसँग जोड्नका लागि मेची नदीको मुख्य गौडाहरुमा हात्तीको आहार हुने बोटविरुवा हुर्काउने प्रकृति पार्क निर्माण गरिएको छ । बाहुनडाँगीमा जीपीएस प्रविधिमार्फत हात्ती प्रवेश गरेको सूचना दिने अत्याधुनिक प्रणाली जडान गरिनुका साथै साइरन बज्ने व्यवस्था मिलाइएको उनले बताए ।

हात्तीको प्रवेश रोक्न बाहुनडाँगीको १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएको छ । हात्तीको निगरानी गर्ने र स्थानीयबासीलाई सुरक्षा दिनका लागि आरआरटी नामक युवा दस्ता परिचालन गरिएको छ ।

‘किसानहरुले लगाएको खेतीबालीमा हात्तीले नोक्सानी गरेमा त्यसको क्षतिपूर्ति दिलाउन हामीले बिमाको व्यवस्था मिलाउँदैछौं,’ वडाध्यक्ष कार्की भन्छन्, ‘धान, मकै, तरकारी लगायतका बाली हात्तीले खाँदा क्षतिपूर्ति पाउने भएपछि किसानहरु हात्तीसँग झडपमा उत्रिदैनन् । यो नै मानवीय क्षति रोक्ने अचुक उपाय हो।’

विगत तीन वर्ष यता मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणमा मानवीय क्षति भएको छैन । गाउँले धुइरिएर हात्ती लखेट्ने चलन हटेपछि क्षति रोकिएको बाहुनडाँगीबासीको अनुभव छ । स्थानीय नगरपालिकाले पनि हात्तीमैत्री कृषि उद्यमका लागि अनुदान उपलब्ध गराउन थालेको छ ।

‘बिगतमा हात्तीलाई आतङ्कको रुपमा व्याख्या गर्दै मानिसहरुले नियन्त्रणका लागि पुल्ठो बाल्ने, पटाका पड्काउने, सुरुङ खन्ने, हात्तीबार लगाउने, दलबलका साथ गस्ती गर्ने लगायतका सबै उपाय गरेकै हो,’ उनी भन्छन्, ‘हामीले अपनाएका उपायहरुमध्ये विद्युतीय तारबार र सहअस्तित्वका लागि हात्तीमैत्री नीति सबैभन्दा प्रभावकारी सावित भएका छन्।’

प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमका अनुसार झापाको बाहुनडाँगीमा एक दशकअघि नै १८ किलोमिटर विद्युतीय घेराबेरा गरिएको छ । जसका कारण भारतबाट हात्ती आउन अधिकतम् मात्रामा रोकिएको दाबी छ ।

हाल बाहुनडाँगी, जलथल र चारआली जङ्गलको वरिपरि ७६ किलोमिटर लामो विद्युतीय तारबार सम्पन्न भइसकेको छ । यसमा राज्यले रु. १२ करोडभन्दा बढी नै लगानी गरिसकेको छ ।

जङ्गली हात्तीको आक्रमणबाट मानव वस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रुपमा विद्युतीय घेराबेरा मानिएको उल्लेख गर्दै उनले झापामा जङ्गल क्षेत्र धेरै भएको कारण घेराबेरालाई क्रमिक रुपमा विस्तार गर्दै लैजान आवश्यक रहेको बताए ।

हात्तीसँगको तीन दशक लामो द्वन्द्वमा मानिसले हात्तीलाई मारेर होइन, मैत्रीपूर्ण व्यवहार गरेर क्षति रोक्न सकिन्छ भन्ने पाठ सिकेको छ । पहिले मानिसहरु हात्तीलाई मारेर समस्याको समाधान हुन्छ भन्ने सोच राख्दथे । तर, अहिले जंगलमै रहनका लागि आहारको व्यवस्था गर्न हात्तीलाई मनपर्ने बोटविरुवा लगाउन समुदाय नै जुट्न थालेका छन् ।

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ‘जसको जंगल उसकै मङ्गल’ भन्ने नारासहित सात महिनाअघि झापाको बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीमैत्री पैदलयात्रा गरेका थिए । उनले हात्ती हिंड्ने क्षेत्रलाई करिडोरको रुपमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने नयाँ अवधारणा अघि सारेका थिए ।

हात्तीलाई जङ्गलमा आहार जुटाउन अर्जुनधाराको खुदुनाबारीस्थित जुकेखाँडी समुदायिक वनले २० हजार फलफूलका विरुवा हालै जंगलमा रोपेको छ । स्थानीय समुदायसमेत हात्ती मैत्री उपायहरु अवलम्बन गर्दै मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा सहमत हुन थालेका छन् ।

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेल हात्तीमैत्री कार्यक्रमका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्छन् । हात्तीको नजिक गएर नजिस्काएसम्म उसले कहिल्यै आक्रमण नगर्ने जनाउँदै उनले आहारको खोजीमा बाध्य भएर जंगली जनावरहरु मानववस्तीमा पस्ने गरेको बताए ।

नेपालको सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रुपमा बाहुनडाँगीको चर्चा हुन थालेको चार दशक भइसक्यो । सडकदेखि सदनसम्म बाहुनडाँगीबासीलाई कसरी हात्तीको आक्रमणबाट जोगाउने भनेर उपाय खोजिन्छ ।

मानव–हात्ती द्वन्द्वका कारण सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको बाहुनडाँगीले अब हात्तीलाई माया गर्न थालेको छ । जसका कारण मानव र हात्ती दुबै सहअस्तित्वमा रम्ने वातावरण बनेको छ ।

सप्तरीमा तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

महेशको घटनास्थलमा नै मृत्यु भएको छभने  दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस्तै, ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन् । उहाँको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भीषण बाढीले थामे गाउँका एक होटल र एक दर्जन घरमा क्षति

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथीबाट शुक्रबार दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र एक दर्जन घरमा क्षति पुर्याएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन् । थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । बाढीमा परी एक जना बेपत्ता भएका छन् ।

बाढीका कारण थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित भएका छन् । क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।

सरकार जनताको अवस्था परिवर्तनको निम्ति गठन भएको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिवर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताएका छन्। कान्तिपुर सिटी कलेजले शुक्रबार आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गरे।

उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर संयुक्त सरकार गठन गरिएको बताए ।

उनले देशको बारेमा नकारात्मक टिप्पणी मात्रै गर्नेभन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपालको निम्ति लाग्न सबैमा अनुरोध गरे।

“देशमा केही पनि भएन वा सम्भावना केही पनि छैन भन्ने होइन, मुख्य कुरा व्यवस्था नै परिवर्तन भएको छ, संविधानमा सबैको हक अधिकार सुनिश्चित भएको छ, अब देशको आर्थिक विकासलाई अगाडि बढाउँदै जनताको अवस्था परिवर्तन गर्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भने ।

देशभित्रै रहेको स्रोत/साधन प्रयोग गरेर रोजगारी सिर्जना गरी विदेश पलायन भएका युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।

नेपाली शैक्षिक प्रणालीलाई रोजगार तथा सिपमूलक र उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले समग्र शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनका लागि ऐन/कानुन तथा नीति परिवर्तन गर्नु परेको खण्डमा सरकार तयार रहेको बताए।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले नेपालको शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि पुरानै शैली वा परम्पराभन्दा पनि अध्यापन शैली नै परिवर्तन गर्नु पर्नेमा जोड दिए।

सरकारले जनतामा उत्पन्न निराशालाई आशामा बदल्नुपर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन् ।

च्यालसस्थित एमाले पार्टी कार्यालयमा शुक्रबार एमाले सामाजिक सेवा विभागको १०औँ बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको बताए ।

उनले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणा (मोडेल)मा पनि ध्यान दिनुपर्ने बताए ।

महासचिव पोखरेलले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने र समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने बताए ।

‘बङ्गलादेश दक्षिण एसियामै नमुना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावनाबमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ’, उनले भने ।

उनले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिए । एमालेका उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यले समाजमा देखिएका समस्या समाधान गर्न एमाले अग्रसर हुनुपर्ने धारणा राखे ।

सो अवसरमा निवर्तमान विभाग प्रमुख झपट बोहोराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हालेका कल्पना चापागाईंलाई स्वागत गरिएको थियो ।

सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्यायोः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् ।

आज सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा उनले ऐनमा नै त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याए ।

उनले भने, “एकजना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्योे व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको छ ।”

उनले सहकारी मात्रै नभइ यस्तै अवस्था रहने हो र उनीहरुले छुट पाइरहने हो भने कुनै पनि बैंक समस्यामा पर्न सक्नेतर्फ समितिको ध्यानाकर्षण गराए । सोसल मिडियाको दुरुपयोगका कारण यो क्रियाकलाप बढ्दो रहेको उल्लेख गर्दै उनले भने, “यसैले कोही व्यक्तिले त्यसरी बैंकप्रति दुस्प्रचार गर्छ । बैंकको मान्यताभन्दा बाहिर गएर उसले काम गर्छ भने त्यो कसुरजन्य काम स्थापित गरिनुपर्छ ।”

उनले उदाहरण दिँदै अहिले नेपालको बैकिङ प्रणालीमा त्यस्तै समस्या परिरहेको पनि बताए । उनले भने, “केही व्यक्तिले यस्तै काम गरिदिँदा गत एक/डेढ वर्षदेखि एक त रिकभरी समस्या भइरहेको छ, कसैले २० लाखसम्म नतिरे हुन्छ भनिरहेका छन्, कसैले पाँच लाख नतिरे हुन्छ भनेर नेतृत्व गरेर हिँडिरहेका छन् । उनीहरुलाई हामीले केही गर्न सक्दैनौँ किनकी हाम्रो वातावरण यस्तै छ । अर्कोतर्फ तिरेनौँ भने हामीले थप लोन किन दिने फेरि फस्ला भनेर बैंकक डराइरहेका छन् । यसबारे गम्भिर रुपमा समितिमा छलफल हुन जरुरी छ ।”

उनले बैंकिङ प्रणाली फेल भयो भने एउटा बैंक मात्रै नभइ समग्र प्रणालीमा असर गर्ने हुँदा त्यस्ता प्रचारप्रसार माथि कसुर तोकिनुपर्ने सुझाव दिए ।

उनले चेक अनादरले पब्लिकको डिपोजिटलाई दुरुपयोग हुने वित्तीय दायित्वलाई खलल पार्ने र समग्र आर्थिक प्रणालीलाई नै असर पार्ने हुँदा यसलाई कसुर मानिनुपर्छ भनेर यो ऐन २०६४ सालमा सुरु भएको जानकारी दिँदै अब चेक अनादर आफैँमा लेनदेन र देवानीको विषय हो वा सरकारबादी फौजदारी विषय हो भनेर समितिमा गीम्भर छलफल गर्न जरुरी रहेको सुझाव दिए ।

महान्यायाधिवक्ता रमेश बडालले प्रस्तावित विधेयकको दफा ४ मा अनाधिकृत रुपमा कर्जा लिन दिन हुँदैन भन्ने कुरामा सावाँ, ब्याज हर्जना सबै तिर्छ भने यो विषयमा मुद्दा चलाउने कि नचालाउने भन्ने प्रश्न रहेको बताए ।

उनले नक्कली कागजात राखेर प्रणालीमा आक्रमण गर्न खोज्यो वा नक्कली कार्ड बनाएर, ह्याक गरेर सिष्टममाथि प्रहार गर्नेको हकमा कसुरमा कुनै छुट नहुने उल्लेख गर्दै लेनदेनलगायतका बैंकिङ कसुरका घटनामा मिलापत्र गर्दा पनि राज्यलाई फाइदा नै पुग्ने बताए ।

उनले भने, “ठगी, ढुकुटीको कारोबारलाई अपराध घोषणा गरेका छौँ । ठगीमा मिलापत्र हुने अवस्था रहेको छ भने यसमा पनि व्यक्तिबीचमा भएको लेनदेन घटनामा मिलापत्रको व्यवस्था राख्दा समस्या हुँदैन । ”

उनले दफा ८ मा कर्जाको दुरुपयोग गर्न नहुने विषयमा सुझाव राख्दै उसले सबै राफसाफ गरेको खण्डमा अपराधिकरण घोषणको आवश्यकता नहुनसक्नेतर्फ ध्यानाकर्षण गराए ।

दफा ११ मा बैंकले कर्जा प्रवाह गर्नै सन्दर्भमा समयमा कर्जा प्रवाह गरेन र ऋणिलाई समस्या परेको खण्डमा पक्षका बीचमा समस्या समाधान गरेको खण्डमा पनि मिलापत्र गर्न सकिने गरी कानुनी व्यवस्था जरुरी रहेको उनले बताए ।

सजायको व्यवस्थाका विषयमा उनले चेक अनादरलगायतका विषयमा थोरै सजायकै व्यवस्था उपयुक्त हुने र विधेयकमा आएको व्यवस्था ठिकै रहेको सुझाव दिए । सरकारी बैंकले राष्ट्र बैंकबाट स्वीकृति प्राप्त नगरी बैंकिग कारोकार गर्न गराउन हुँदैन भन्ने व्यवस्था राखिएकोतर्फ उनले राष्ट्र बैंक ऐनमै नराखेको खण्डमा समस्या उत्पन्न हुनेतर्फ पनि ध्यानाकर्षण गराएका थिए । 

काभा महिला भलिबलमा उपविजेता नेपाली खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काभा भलिबलमा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीलाई जनही तीन लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो । काभा भलिबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा महिला राष्ट्रिय भलिबल लिगमा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको छ ।

परराष्ट्रमन्त्री राणा भदौ २ गतेदेखि भारत भ्रमणमा जाने

काठमाडौँ । पराष्ट्रमन्त्री डा आरजु राणाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने भएकी छन् । नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो । 


परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणसम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को यही साउन ३१ गतको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए । 


यस्तै, सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एक सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।


उक्त ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न स्वीकृती प्रदान गरिएको छ ।


सञ्चार मन्त्रालयमा शुत्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ललितपुर महानगरपालिकालाई रुसी महासङ्घको उलान उदेनगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गरिएको छ ।


यस्तै, आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजत चालु आर्थिक वर्षका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत माहुत प्रेमलाल बछार चौधरी पक्षघात भई कामकाज गर्न असमर्थ भएकाले सेवा अवधि थप गरी अवकाश दिइएको छ । निजामति सेवा ऐन, २०४९ अनुसार, चौधरीको ६ वर्ष चार महिना सात दिन समयावधि थप गरी अवकाश दिइएको छ । अवकाश मिति भने  २०८० पुस ५ गतेदेखि लागू हुने गरी निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।


भ्रमण स्वीकृत


मन्त्रिपरिषद्ले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको ९औँ वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।  बैठक आगामी असोज ९ र १० गते आयोजना गरिएको छ ।


लोक सेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोक सेवा आयोगका पदाधिकारीलाई स्वीकृति प्रदान गरिएको छ ।


सो कार्यक्रम आगामी असोज ५ देखि १५ गतेसम्म बेलायतमा आयोजना गरिएको छ । यस्तै आगामी भदौ ५ देखि ९ गतेसम्म भारतमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय ‘धर्मा धर्मा कन्फरेन्स’मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिइएको छ ।


‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा नेपालका तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही तीन लाखका दरले पुरस्कार वितरण गर्ने बैठकले निर्णय गरेको छ ।


मन्त्री गुरुङका अनुसार, भलिबलका मुख्य प्रशिक्षकलाई दुई लाख, व्यवस्थापकलाई  एक लाख तथा सहायक प्रशिक्षक र फिजियोलाई जनही  एक लाख २० हजारका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिइएको छ ।


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न ५९ कर्मचारीलाई विभिन्न निकायमा सरुवा तथा कामकाजका लागि खटाइएको छ ।


राजश्व न्यायाधिकरण पोखराका कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोकिएको छ । यस्तै, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषद्को सचिवमा खटाइएको छ ।

खुम्बु क्षेत्रमा भीषण बाढी(भिडियोसहित)

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथीबाट शुत्रबार दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले  थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले  जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन् । थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत गराइएको बताइन् ।

प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।

यता राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोलुखुम्वु जिल्ला खुम्वु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे आसपास ठूलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

भिडियोः खुम्बु पासाङल्हामु गाउँपालिका

मिथिलामा गुञ्जदै झुला गीत

महोत्तरी  । मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् ।

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एवं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली वा झोलुङ्गा, कोक्रोे) मा राखेर झुलाइन्छ । झुला पर्वमा गाइने झुला, मलार र कजरी लयका गीत भक्तिरसले भरिएका हुन्छन् । कुनैमा राधाकृष्णको र कुनैमा रामसीताका प्रसङ्ग हुन्छन् । सबै गीतमा झुलाकै वर्णन हुन्छ ।

‘झुला झुले जनकदुलारी,
झुले सुकुमारी ना….!’ यी पङ्तिमा सीताजी झुला झुलेको वर्णन छ ।
यसैगरी यस पर्वमा कैयन गीत र भजन गाइन्छन् ।
‘झुला झुले अवधविहारी लाल,
सँगमे सुकुमारी झुले ना…!’ (श्रीराम झुला झुल्दैछन् , साथमा जानकी पनि झुल्दैछन् ) ।

रामसीता, राधाकृष्णका प्रसङ्ग जोडिएका हुँदा यो पर्व भगवान विष्णु र देवी लक्ष्मीसँग सम्बन्धित रहेको मैथिली लोकसंस्कृतिका ज्ञाता बताउँछन् । राम कृष्ण दुबै विष्णुका र सीता, राधा लक्ष्मी स्वरुपा (अवतार) मानिने हिन्दू जनविश्वास छ । यसैले झुला पर्व विष्णुलक्ष्मी आराधना र सेवासँग सम्बन्धित रहेको मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

झुला पर्वमा गाइने गीतमा अवध (अयोध्या), जनकपुरधाम र वृन्दावनका प्रसङ्ग पाइन्छन् । कृष्ण र वृन्दावन वर्णनका यी पङ्क्ति पर्वविशेषमा खुबै सुनिन्छन् ।

‘झुला लागल वृन्दावन ना…,
आयल सावन सयविसु सुहावन
झुला लागल वृन्दावन ना…!
झुला झुले कृष्णमुरारी,
झुला लागे कदमके डाली,
झुले कृष्णमुरारी ना….!’

(वृन्दावनमा झुला लागेको छ । अत्यन्त रमणीय (सुशोभित) साउन महिनामा वृन्दावनमा झुला लागेको हो । झुलामा कृष्णमुरारी झुल्दैछन् । कदम (कदम्ब, राम्रो पूmलको वृक्ष) का हाँगामा झुला (पिङ) लागेको छ । जसमा कृष्णमुरारी झुल्दैछन् ) ।

राम सीताको होस् वा राधा कृष्णको होस्, झुला पर्वको वर्णनमा उपवन (वन, बगैंचा) का आँप, कदम्ब वा यस्तै सुवासयुक्त वृक्षका हाँगामा झुला (पिङ्) भुण्ड्याइएको र त्यसमा आफ्ना प्रियतमा साथ राम, कृष्ण झुलेका गीतमा भाव समेटिएका छन् ।

साउनको बर्खाले जताततै हरियाली हुने बेला धान रोपाइँ सकेर बगैँचाका आँप, कदम्बलगायतका वृक्षका हाँगामा लच्कदै पिङ खेलिने मिथिला संस्कृतिसँग जोडिएको पक्ष रहेको प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । झुला गीतमा साउनको वर्णन भने बाक्लै पाइन्छ ।

‘सावनमे उपवन खिले,
झुला झुले नन्दकिशोर !
आमक डाइरमे लागल
हिरोला झहरय नभ घनघोर !!

(साउनमा वनभरि पूmल खिल्छन्, उपवन हराभरा हुन्छ । यसैबेला श्रीकृष्ण झुला झुल्छन् । आँपको हाँगामा मच्चिदा त्यहीबेला आकाशबाट जल वर्षा हुन्छ) आँपको हाँगा समातेर मच्चिदा पातमा जम्मा भएका बर्सात्को पानी झरेको प्रसङ्ग यहाँ कोट्याइएको छ ।)

साउनको पनि पछिल्लो शुक्लपक्ष मिथिलामा मुख्य बाली धान रोपेर सकिएपछिको समय हुन्छ । यतिखेर किसान मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन् । यसैबेला धानको रोपो हरियो फेरिएर लहलहाएको दृश्यले किसान आफ्नो मेहनतप्रति मख्ख पर्छन् ।

प्रकृतिले जताततै सुन्दरता बिखेरेको यो बेला रमाउन नै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना इष्टदेवदेवी राम, कृष्ण एवं सीता, राधासँग खेलेको अनुभूति सँगाल्न झुला पर्वमा रमाउने गरेका जलेश्वरकै बखरीटोलका बासिन्दा तथा मिथिला लोकसंस्कृतिका ज्ञाता ८५ वर्षीय महेश्वर राय बताउँछन् ।

मिथिलाको यो लोकसंस्कृतिसँग जोडिएको खास पर्व बनेको छ । घरघरमै यो पर्व मनाइन्न । आफ्ना बस्ती नजिकका मठमन्दिरमा सामूहिक रुपमा भगवानलाई झुला झुलाउँदै मैथिल यो अवधिभरि गीत, भजनकीर्तन र नृत्यमा रमाउँछन् ।

पर्वमा नेपाल र भारतका मठमन्दिरमा सराबरी ओहोरदोहोर देखिन्छ । नेपालका भारतीय सीमा क्षेत्रका मठमा भारतीय र भारतकै सीमाक्षेत्र नजिकका बस्तीस्थित मठमन्दिरमा नेपाली भरिभराउ हुन्छन् ।

सीमाक्षेत्रका दुबैतर्फका भाषा, संस्कृति र समान रहनसहनसँगै बिहाबारीको बाक्लो सम्बन्धले अन्य मुलुकमा छु भन्ने कसैको सोचमै देखिदैन । अहिले पर्वका बेला मुलुककै मठहरुको नायक मानिने मटिहानीस्थित लक्ष्मीनारायण मठमा भारतका कैयौं मठमन्दिरका देवीदेवताका प्रतिमा झुला झुलाउनै ल्याइएका छन् ।

झुला उत्सवका लागि छुट्टै घर निर्मित गरिएको हुन्छ, जसलाई झुलाघर भनिन्छ । अहिले प्रत्येक साँझ सीता र राम, लक्ष्मी र नारायण एवं राधा र कृष्णका प्रतिमा मन्दिरबाट झुलाघरमा ल्याई विशेष रुपले सजाइएका कोक्रामा राखेर श्रद्धालुले भक्तिगीत गाउँदै हल्लाउने (झुलाउने) गर्छन् । साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने यो उत्सवका लागि वरपरका कैयन मठमन्दिरका प्रतिमा अहिले मटिहानी ल्याइएका छन् । प्रत्येक साँझ आयोजन हुने यो उत्सवमा सर्वसाधारण सरिक हुँदै आएका छन् ।

“हाम्रा परम्पराका अधिकांश पर्व आफ्नै घरमा मीठोमसिनो खाएर मनाइने छन् , तर झुला मठमन्दिरमै जम्मा भएर मनाइन्छ , यो हाम्रो विशेष पर्व हो” मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन्, “हामीले पर्वका लागि बर्सेनि झुलाघर रङ्गरोगन, सरसजावट र अभ्यागत (पाहुना, अतिथि) बसोबासको प्रबन्ध गर्दै आएका छौंँ ।” पर्व अवधिभरि झुलाघरमा भगवान र भगवतीलाई झुलाइएपछि दैनिक आरती र भोग लगाइएको विशेष प्रसाद सबैलाई बाँड्ने गरिएको छ ।

यो पर्वमा देवीदेवतालाई विशेष डोली आकारको सिंहासनमा राखेर झुलाउने मुख्य विधि हो । खासमा बालरुप कृष्ण र रामको सम्झनामा यो पर्व परम्परा चलेको मिथिला लोकसंस्कृति तथा परम्पराका जानकार बताउँछन् । माता कौशल्या र यशोदाले राम र कृष्णलाई बालख छँदा झोलुङ्गोमा राखेर हल्लाएको प्रतीकका रुपमा यो पर्व परम्परा चलेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । भगवानका बालरुप आनन्ददायक मानिने हुँदा श्रद्धालुले यो चलन बसालेका झाको भनाइ छ ।

झुलामा प्रतिमा राखेर झुलाइने क्रममा गीत, कथा र लीलासन्दर्भका गाथा सुनाइन्छन् । प्रतिमा झुलाउने क्रममा भक्तिमा डुबेका श्रद्धालु कीर्तन गाउँदै नाच्छन् । पर्वभरि झुलाघरमा उत्सवमा सहभागी हुनेको भीड लाग्छ । यो पर्व मटिहानीका अतिरिक्त जनकपुरस्थित मठमन्दिरमा आयोजन हुँदै आएका छन् । झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ ।

मिथिलामा झुला उत्सव जानकी मन्दिरका आदिसन्त सुरकिशोर दासले सुरु गराएको मानिन्छ । यो १७८७ सालतिर सुरु भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन् । सन्त सुरकिशोर दास र वैदेही (जानकी, सीता) बीच सिधा सम्पर्क हुन्थ्यो भन्ने जनविश्वास छ । सन्त सुरकिशोरलाई वैदेहीले साउन शुक्लपक्षमा यो पर्व मनाउन भनेपछि जनकपुरमा झुला सुरु भएको बताइन्छ । यो चलन रामजन्मभूमि अयोध्या र कृष्णको बाललीला स्थान मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको डा. विमलको भनाइ छ ।

मिथिलामा धानको रोपाइँ सकिनासाथ सर्वसाधारण झुला उत्सवमा रमाउने गर्छन् । यसैबेला मैथिल किशोरकिशोरी र युवायुवती बगैंचाबगैंचा डुल्दै आँप र कदम्ब (कदम) का हाँगामा मच्चिएर झुलाको आनन्द लिन्छन् । यसरी बगैंचामा वृक्षका हाँगामा मच्चिएर झुल्दै युवायुवती आआफ्ना प्रेमीप्रेमिकाको सम्झना गर्छन् ।

‘छल मनोरथ आओत मास सावन यो,
हमर बालम किछु नई जानथी तेजी गेला विदेश यो !
साओन हे सखी सर्व सोहाओन फुलय बेलीचमेली यो,
ताही सौरभ भ्रम लुबधल करय मधुर रस केली यो !!
(मनमा थियो, साउन महिना आउनेछ । तर छलछाम केही नजान्ने मेरा प्रेमी अहिले मलाई

छाडेर विदेश गएका छन् । साउनको बेला हे सखी बेलीचमेली पूmल फुलेर सुशोभित देखिन्छ । यी पूmलको सुगन्ध युक्त बास्नाले भमरा लोभिएर पूmलको मिठासयुक्त रसमा लठ्ठिदा छन् )साउन शुक्लपक्षमा विदेसिएका प्रेमीको सम्झना गर्दै मैथिल युवतीले यसरी बिरह पोख्छन् । मिथिलाको १३ दिने झुला उत्सव साउन पूर्णिमाको मध्यरातमा भगवानलाई झुलाइने कोक्राको डोरी छिनाएर समापन गरिने चलन छ ।

मिथिला लोकसंस्कृतिको केन्द्र रहँदै आएको जनकपुरधाममा सीताजीको विवाहमा राजा जनकले दिएका दाइजोका सामानको थुप्रो लागेर पहाडजस्तै बनेको जनश्रुति छ । जसलाई अहिले मणिपर्वत भनिन्छ । साउन शुक्लपक्षको त्रितीयाका दिन यसै मणिपर्वतको पूजा गरेर झुला उत्सव सुरु गर्ने मैथिल परम्परा छ । भगवत सेवा र सामिप्यता यस पर्वका खास आकर्षण रहेका मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णव बताउँछन् ।

उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको संकठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका छन् ।

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको बोर्ड बैठकमा उनले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यकपर्ने नियमावली र संस्थाको संगठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका हुन् ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०८१ हाल संघीय संसद्मा प्रस्तुत भइसकेको छ । मन्त्री खड्काले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्र लाग्नुपर्ने बताए ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतिको समीक्षा, आव २०८१/ ८२ को वार्षिक कार्यक्रम तथा बजेट विस्तृतीकरण, केन्द्रलाई आवश्यकपर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिए ।

गाजाबाट अष्ट्रेलिया आएका आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’

अष्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धको लागि सरकारले गरेको आह्वान अपमानजनाक रहेको बताएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले विपक्षी नेता पिटर डटनको गाजाबाट आएका आप्रवासीलाई भिसा प्रतिबन्धको दबाबले अस्ट्रेलियामा तनाव बढाउन सक्ने शुक्रबार बताएका हुन् ।

डटनले राष्ट्रिय सुरक्षाको खतरालाई मध्यनजर गर्दै गाजाबाट भागेका प्यालेस्टिनीका लागि भिसा अस्वीकार गर्न सरकारलाई आह्वान गरेका थिए ।

उनको टिप्पणीलाई लेबर पार्टी, ग्रिन र इस्लामिक समूहहरूले भेदभावपूर्ण र जातिवादीको रूपमा निन्दा गरेका छन् ।

उनले संसदमा भएको एक घटनाको प्रसङ्गलाई जोड्दै घटनाले विपक्षी नेताको अपमान भएको मार्लेसले अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोसँगको कुराकानीमा बताए ।

यसअघि नै बर्गेसले अस्ट्रेलियामा प्यालेस्टिनीलाई प्रवेश गर्नबाट रोक्न आवश्यक नभएको उल्लेख गरेका थिए ।

गृह मन्त्रालयले बुधवार जारी गरेको तथ्याङ्कले गत अक्टोबरको आक्रमणपछि प्यालेस्टिनीलाई दुई हजार ९२२ भिसा प्रदान गरेको सात हजार १११ आवेदन अस्वीकार गरेको जनाएको छ । सोही अवधिमा आठ हजार ७४६ इजरायली नागरिकलाई भिसा प्रदान गरिएको तथा २३५ आवेदन अस्वीकार गरेको देखाइएको छ ।

युक्रेनद्वारा रूसी सहर सुड्झासहित दर्जनौँ वस्ती कब्जा

युक्रेनले रूसको पश्चिमी कुर्स्कमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको दाबी गरेको छ ।

युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीले यस सैन्य सिविरबाट रूसमाथि आक्रमण जारी रहेको बताएका छन् ।

सिर्स्कीका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा खोलिएको यो कार्यालयले कानून र व्यवस्था कायम राख्नेछ र जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्नेछ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा कार्यालय निर्माण गरिएको उल्लेख गरेका छन् ।

यसैबीच, रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको कदमप्रति प्रतिक्रिया व्यक्त गर्दै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

युक्रेनले पनि बिहीबार रूसी क्षेत्रमा लाभ हासिल गरेको दाबी गरेको थियो । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुस्र्क क्षेत्रमा ३५ किलोमिटरसम्म प्रवेश गरेको छ । उनीहरूले ८२ बस्तीसहित १,१५० वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् ।

युक्रेनको रुसमाथि भएको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो । तर युक्रेनले भने रूसी भूमि कब्जा गर्न इच्छुक नरहेको बताएको छ । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ह्योरही टाइकीले बुधबार एक वक्तव्य जारी गर्दै रूसलाई शान्ति स्थापनाका लागि दबाब दिने प्रयासअन्तर्गत उक्त आक्रमण भएको बताएका थिए ।

३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री निर्वाचित

थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो ।

फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो ।

पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यसपहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छो नेता हुन् ।

राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाईपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो ।
पेटोङ्टार्न थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री बनेकी छन् ।

सेना, राजावादी दलहरू र टेलिकम टाइकून तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो ।

संसदको तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ ।

सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि पाएटोङ्टार्नले होटेल क्षेत्रको व्यावसाय हेर्दै आएकी थिइन् र गत वर्षको आम चुनावको दौडान उनी चुनावी अभियानमा लगभग निरन्तर उपस्थित थिइन् ।

अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान काठमाडौँ आइपुगेका उपविदेशमन्त्री रिचार्डले प्रधानमन्त्री ओलीसँग दिउँसो भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरूबीच नेपाल र अमेरिकाबीचको पारस्परिक सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यस्तो छ गट्ठाघरमा भएको दुर्घटनाको सिसीटिभी फुटेज

काठमाडौं । ट्रकले ठक्कर दिँदा बिहीबार भक्तपुरको गट्ठाघरमा दुर्घटना भएको सीसीटीभी फुटेजमा देखिएको छ । सीसीटीभी फुटेजमा ट्रकले अघि जाँदै गरेको स्कुटरलाई लछार्दै लगेको देखिएको छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले जाँच गरिरहेको स्थानमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशामा आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो । ट्रकले ओखलढुंगाका उत्तम कोइरालाले चलाइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

सुरुमा प्रहरीले दुर्घटनामा महिलाको मृत्यु भएको जनाएको थियो । तर, पछि दुर्घटनामा मृत्यु भएका महिला नभएर पुरुष रहेको प्रहरीले पुष्टि गरेको थियो ।

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौंमा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्मा शुक्रबार नेपाल भ्रमणमा आएका छन् ।

आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अर्थ मन्त्रालयले पार्‍यो एक सय दिनको कार्ययोजना तयार

काठमाडौँ । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कामको योजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने छन् ।

यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावाली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधि सम्मत रूपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्ने छन् ।

कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्ने उल्लेख छ ।

सार्वजनिक खर्चमा मितव्ययता कायम गर्ने कार्यविधि, २०८१ तयार पारी लागू गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय र निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण यकिन गर्ने छन् ।

वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने थप २०० करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आवद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने लगायत छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्ययोजनाको कार्यान्वयनले नीतिगत, कानुनी र सेवा प्रवाहमा सुधार हुनुका साथै स्रोत तथा खर्च व्यवस्थापन, वैदेशिक सहायता परिचालन लगायतमा थप उपलब्धी हासिल गर्न सहयोग पुग्ने बताए ।

सुनको मूल्य तोलामा नौ सयले घट्यो

काठमाडौँ । सुनको मूल्य शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४९ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रुपैयाँ निर्धारण भएको छ ।

सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हड्तालमा

सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हड्ताल बढाउने बताएका छन् ।  क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रित गरेको छ ।


पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया व्यक्तिको रगतले लतपतिएको र क्रुर शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।


नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले भने, “हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।”


धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् । 


हत्याको निन्दा गर्नका लागि हजारौँले बुधबार रातभर कोलकाताको सडकहरूमा जुलुस निकाले र मध्यरातमा भारतको स्वतन्त्रता दिवसको सुरुआतका साथ मैनबत्तीको उज्यालोमा जुलुस निकाले ।


इन्डियन मेडिकल एसोसिएसनले निजी अस्पतालहरूमा सबै आवश्यक र चिकित्सा प्रक्रियाहरू निलम्बन गर्दै शनिबार २४ घन्टाका लागि ‘देशव्यापी सेवाहरू बन्द गर्न’ आह्वान गरेको छ । 


शिक्षण अस्पतालको सेमिनार हलमा हत्या गरिएकी चिकित्सक फेला परेको र उनी लामो सिफ्टका क्रममा केही समयका लागि आराम गर्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।


भारतीय प्रसारक एनडिटिभीका अनुसार शव परीक्षणले यौन दुर्व्यवहार भएको पुष्टि गरेको छ । अदालतमा निवेदनमा पीडितका बुबाआमाले आफ्नी छोरीमाथि सामूहिक बलात्कार भएको आशङ्का गरेका छन् । 

प्रहरीले अस्पतालमा व्यस्त लाइनमा सहयोगीको काम गर्ने एक व्यक्तिलाई हिरासतमा लिएको छ । राज्य सरकारका अधिकारीहरूमाथि यो विषयलाई दुरुपयोग गरेको आरोप लगाइएको छ । 


भारतमा महिलाविरुद्ध यौन हिंसा व्यापक समस्या हो । एक अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकमा सन् २०२२ मा प्रतिदिन औसत करिब ९० बलात्कारको घटना रिपोर्ट गरिएको छ । 


धेरैका लागि आक्रमणको विभत्स प्रकृतिले सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको भयानक सामूहिक बलात्कार र हत्यासँग तुलना गरेको छ । 


ती महिला महिलाविरुद्ध यौन हिंसाको सामना गर्न सामाजिक रूपमा रूढिवादी मुलुकको असफलताको प्रतीक बनिन् । उनको मृत्युपछि दिल्ली र अन्य स्थानमा ठूलो मात्रामा कहिलेकाहीँ हिंसात्मक प्रदर्शनहरू भए । 


दबाबमा सरकारले बलात्कारीहरूका लागि कठोर सजाय र बारम्बार अपराध गर्नेहरूका लागि मृत्युदण्डको व्यवस्था गर्यो । 


धेरै नयाँ यौन अपराध पनि सुरु भए । यसमा पछ्याउने पनि सामेल छ । साथै बलात्कारको उजुरी दर्ता गर्न अस्वीकार गर्ने अधिकारीहरूलाई अब जेल सजाय हुनसक्छ ।  


प्रधानमन्त्री नरेन्द्र मोदीले महिलाविरुद्ध ‘राक्षसी’ कृत्य गर्नेहरूलाई तत्काल सजाय दिन माग गरे । “हाम्रा आमा र दिदीबहिनीमाथि भएको अत्याचारप्रति आक्रोश छ”, उनले भने, “महिलाविरुद्धका अपराधको शीघ्र छानबिन हुनुपर्छ, महिलाविरुद्धको राक्षसी व्यवहारलाई कडा र तत्काल सजाय दिनुपर्छ ।”


चिकित्सकहरूले स्वास्थ्यकर्मीहरूलाई हिंसाबाट बचाउन केन्द्रीय संरक्षण ऐन, विधेयक लागु गर्न माग गरेका छन् । 

टीआरसी विधेयक पीडितमैत्री छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् ।

ललितपुरको खुमलटारस्थित निवासमा शुक्रबार भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास व्यक्त गरे । 

दाहालले आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको उल्लेख गर्दै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका निम्तिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

उनले  आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्यायलगायत क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताए । अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।

त्यसक्रममा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पुरयाउन लागेकामा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले अध्यक्ष दाहालको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकामा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै तत्पर रहेको उल्लेख गरेको दाहालको सचिवालयले जनाएको छ । 

राजदूत रोबले बेलायती नागरिकमा नेपाली उत्पादनप्रति रूचि बढेको जनाउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताए ।

उनले तत्कालीन प्रधानमन्त्री दाहालको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताए ।

हेटौंडाका व्यवसायीले व्यवसाय बन्द गरेर उपमहानगरलाई बुझाए साँचो

मकवानपुर । कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायीले व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो बुझाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा साँचो बुझाएका हुन् ।

नाराबाजी गर्दै उपमहानगरपालिकाको कार्यालय पुगेका व्यवसायीले मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाएका थिए ।

उपमहानगरपालिकाले व्यवसायिक करको दर ३३ देखि १५० प्रतिशतसम्म बढाएको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी व्यापारी पाँच दिनदेखि आन्दोलनमा छन् । गत असार ७ गते भएको उपमहानगरको १५ औँ नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको छ । त्यसको विरोधमा व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।

आर्थिक मन्दीको जटिल अवस्थामा स्थानीय सरकारले व्यवसायीलाई राहतको प्याकेज ल्याउनुको सट्टा करको दर बढाएको भन्दै संघको अगुवाईमा आन्दोलन भइरहेको हो ।

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

बागलुङ । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन्।

एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ ।

फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको पाँच वर्ष भयो । सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका छन् ।

“कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, छ महिनासम्म हुर्काएका कुखुराले फूल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्र गर्ने हो, बजार अस्थिर छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु”, उद्यमी शर्माले भने ।

उनको फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन् । अहिले दैनिक तीन हजार अण्डा बागलुङमा खपत भइरहेको छ ।

तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन २५ लाख लाग्ने बताउँदै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना सुनाए । 

वेस्ट ब्याङ्कका इजरायली बस्तीमा आगजनी

बीबीसी । गाजामा इजरायलले बस्ती बसाएका ठाउँका दर्जनौँ मानिसहरूले इजरायली नियन्त्रणमा रहेको वेस्ट ब्याङ्कमा स्थानीयका घर र कारहरूमा आगजनी गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घटनामा एक जना मारिएको प्यालेस्टाइनले बताएको छ। इजरायलले बस्ती बसाएका ठाउँका मानिसहरूले नब्लुस सहर नजिकैको जिट गाउँमा ढुङ्गा र पेट्रोल बम प्रहार गरेको इजरायलीली डिफेन्स फोर्सले जनाएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले २० वर्ष आसपासका एक जना स्थानीयको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जनाएको छ । इजरायली सेनाले क्षतिको विवरण अध्ययन भइरहेको बताएको छ।

इजरायली राजनीतिक नेतृत्वले घटनाको निन्दा गरेका छन् र दोषीमाथि कारबाही गर्ने वाचा गरेका छन्। इजरायली सेनाका अनुसार जिटबाट एक जना इजरायली नागरिक पक्राउ परेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले आपराधिक घटनामा संलग्न जो सुकैलाई पक्राउ गरिने र कारबाही गरिने बताएका छन्।

इजरायलका राष्ट्रपतिले पनि कठिन परिस्थितिमा इजरेलको बदनाम गरिएको भन्दै प्रशासनलाई तत्काल कदम चाल्न भनेका छन् ।

नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा

मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् ।

सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेकोे हो ।

लाखेनाच, धिमेबाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्वसँग जोडिएको तर नयाँ पुस्ताले आधुनिकतासँगै यो बिर्सने थालेकाले संरक्षण अभियान थालिएको हो ।

सीका नेवाः गुठीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि गत वर्ष पनि ४५ दिनको धिमे बाजा प्रशिक्षण सञ्चालन गरेको थियो । गत वर्षको प्रशिक्षणले सकारात्मक प्रभाव पारेपछि यस वर्ष पनि लाखे नाचसहितको प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

“गाईजात्रामा बजाउनुपर्ने धिमेबाजा, मादल, झ्याली र ढलकीको व्यावहारिक तािलम नयाँ पुस्तालाई दिइरहेका छौँ, पुरानो पुस्ताको सीप पनि क्रमशः हस्तन्तरण गर्दैछौँ”, उनले भने।

बालबालिकालाई वाद्यवादन सीप र परम्परागत नाच सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्तामार्फत परम्परा संरक्षण अभियान थालिएको गुठीका सल्लाहकार झकनारायण श्रेष्ठले बताए ।

नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको जानकारी उनले दिए । 

सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

नवलपुर  । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो ।

‘निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,’उनले भने ।

बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन ।

निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताए । अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

प्रमिला बस्नेतको मौलिक तीज गीत ‘माया बस्यो संगीनी’

काठमाडौं । तीजलाई लक्षित गरी गायिका टीका प्रसाईंको स्वरमा ‘माया बस्यो संगीनी’ गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ ।

आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टीका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायाँकन अजय रेग्मी र सम्पादन दिनशन शाहले गरेका छन् ।

गठ्ठाघरमा भएको दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दु:ख व्यक्त गर्दै उनले भने, ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।

अब प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरू बन्दैनन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरू नबनाउने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यसपाली प्रधानमन्त्री/मन्त्री/मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरू नबन्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले हिजो गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल गर्यौं । यसपाली प्रधानमन्त्री/मन्त्री/मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन् । काम गर्दै जाँदा हामीमा केही अनुभव थपिएको छ – अब कानुन मात्र दिएर हुँदैन, काम हुनु पर्छ।’

त्यस्तै प्रधानमन्त्रीले तलब खाएर दिन कटाउन नभई जिम्मेवारी लिएर परिणाम दिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ। एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनु पर्छ । हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझौं।’

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर  पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको जनाएको छ । 

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर  एक सय ६७ रहेकामा  एक सय ६२ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर  एक सय ६९ रहेकामा  एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर   एक सय ७० रहेकामा एक सय ६५ रुपैयाँ कायम गरिएको छ । 

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि  एक सय ५५ रहेकामा  एक सय ५२ रुपैयँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि  एक सय ५७ रहेकामा  एक सय ५४ र तेस्रो वर्गका लागि  एक सय ५८ रहेकामा  एक सय ५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । 

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ । 

नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयकातर्फबाट प्रस्तुती दिँदै उनले क्यान विभाजनसम्बन्धी विधेयक आर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिए । 


“मन्त्रालयले क्यानलाई अलग बनाउने कानुनका मस्यौदा अगाडि बढाएको हो । क्यान विभाजनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो,” सचिव पाण्डेले भने  । 


क्यानलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विसं २०७६ फागुन ११ गते राष्ट्रियसभामा दर्ता गराएका थिए ।

विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक विसं २०७९ असोज १ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो ।


मन्त्रालयले संस्कृति नीति तयार गरेको जानकारी दिँदै सचिव पाण्डेयले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य अनुरुप प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएको बताए ।

अघिल्लो आर्थिक वर्ष १० लाख १४ हजार आठ सय ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटकको औसत बसाई १३ दिन रहेकामा १३ दशमलव ५ पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

बाढीपहिरोलगायतका विपदमा परी  १७५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपदमा परी बिहीबार दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ७५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २४ जना घाइते भएका छन् ।

बाढीपहिराबाट काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीनजना, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १३ जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुईजना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपििश्चम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन् ।”

बाढीका कारण दुई सय ८६ वटा घर, एक सय पाँच वटा गोठ, ४९ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिरोमा परी आजसम्म आठ सय २० वटा पशु चौपायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार सय ७२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।