`

यो सरकार भ्रष्टाचार नियन्त्रणको लागि बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पार्नुभएको छ ।
एमाले निकट नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार च्यासलमा सम्बोधन गर्दै ओलीले कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पार्नुभएको हो ।

उनले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको र भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्ने बताए । नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताए । उनले संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा जोड दिए ।

लोकतन्त्र जनताको शासन भएको बताउँदै ओलीले कसैको सनकका भरमा शासन सञ्चालन नहुने बताए ।
उनले कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान् बनाउन खोज्ने र योगदान गरेकालाई बदनाम र अपमान गरेर सिध्याउन खोज्ने प्रयास भएकाले सवैले त्यसलाई बुझ्न जरुरी रहेको धारणा राखे । प्रधानमन्त्री ओलीले सरकाले खेल क्षेत्रको महत्त्व बुझेको बताउँदै आफ्नो गच्छे अनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताए ।

गतवर्ष भित्रियो १४ खर्ब ४५ अर्ब विप्रेषण

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । आव २०७९÷८० मा यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई हजार ७७ हजार दुई सय ७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य हुदैन : बेदुराम भुसाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता एवं राष्ट्रियसभा सदस्य बेदुराम भुसालले लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै भुसालले अहिले संविधान संशोधनको चर्चा चलिरहेको भन्दै त्यसका नाममा लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका हुन् ।

संविधान संशोधनको उदेश्य स्पष्ट हुन नसकेको भन्दै भुसालले दुई दलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने स्पष्ट पारे । उनले दुई दलका बीचमा सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको भन्दै दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा राखे ।

भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानूनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए ।

महत्वपूर्ण विधेयकहरु निर्माणको गति निकै सुस्त भएको उनले बताए । उनले साच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने जिकिर गरे ।

एक महिनापछि रायामा टेलिफोन सेवा सञ्चालन

सिमकोट (हुम्ला) – यहाँको खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो ।

उक्त स्थानको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर मर्मत गरेपछि शनिबार दिउँसोदेखि सञ्चालनमा आएको टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाले जानकारी दिए । मर्मतपश्चात् रायालगायत खार्पुनाथ गाउँपालिकाको चारवटा वडा र आसपासका क्षेत्रमा टेलिफोन सञ्चालन भएको निमित्त प्रमुख लामाले बताए।

प्राविधिक शाहीका अनुसार रायाको थानकोटस्थित टावरमा विद्युत् क्षमता अपुग हुँदा सेवा अवरुद्ध भएको थियो । ‘पावर ब्याकअप’ नपुगेका कारण टेलिफोन सेवा अवरुद्ध भएको उनको भनाइ छ । धेरै वर्ष पुराना सोलार भएकाले बेलाबेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ । सेवा अवरुद्ध भएका चारवटा वडामा दुई हजारभन्दा बढी सेवाग्राही छन् ।

अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ

जलेश्वर (महोत्तरी) – जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिट्ठीमा लेखेर रु ९२ हजार माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिएका थिए ।

सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

कुटपिट गरी श्रीमतीको हत्या

जलेश्वर (महोत्तरी)- महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताएका छन्। स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै छिन् । भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

यसकारण भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद हटाउनुपर्छ

सुमना श्रेष्ठ ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभामा दर्ता गराएको हो । भाषणमा जुनसुकै कालखण्डको फाइल खोल्छु भन्ने तर नीतिमा पाँच वर्षको हदम्याद राख्ने यो कस्तो दोहोरो चरित्र हो ? र कुनै पनि संगठित अपराधको अनुसन्धान लामो हुन्छ, प्रमाण जुटाउनै वर्षौं लाग्छ । यसकारण पनि यो पाँच वर्षको हदम्याद जायज छैन । उत्तिकै महत्त्वपूर्ण कुरा भनेको ‘नीतिगत भ्रष्टाचार’ हो । तल्लोस्तरमा वा मन्त्रिस्तरीय नै गर्नुपर्ने निर्णय समेत मन्त्रिपरिषद् पुर्याएर अख्तियार छल्न ‘नीतिगत निर्णय’ गर्ने प्रवृत्ति व्याप्त छ।

नीतिगत निर्णयको परिभाषा यसै ऐनमा छर्लंग हुनुपर्छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले लेखेका छन्, ‘उदाहरणको लागि ललिता निवासको जग्गा सम्बन्धी विभिन्न निर्णयहरुलाई लिन सकिन्छ । कुनै जग्गामा मोही छ कि छैन भनेर निर्णय गर्ने अधिकार कानुनले जिल्ला भूमिसुधार कार्यालयलाई दिएको छ तर ललिता निवासभित्रको जग्गा, जहाँ कहिल्यै मोही थिएन, त्यही ठाउँमा मोही कायम गर्ने कार्य मन्त्रिपरिषदले गर्यो, जुन सिधै भ्रष्टाचार हो । यो कानुन मिचेर गरिएको निर्णय हो तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णय भनेर मन्त्रिपरिषदका पदाधिकारीलाई उन्मुक्ति दियो ।’
यस्ता उदाहरण थुप्रै छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विगतका हरेक प्रतिवेदनमा लेखिएको छ ‘आयोगले विगतका वार्षिक प्रतिवेदनमार्फत मन्त्रिपरिषदमा पेश गरिने नीतिगत निर्णयहरुको स्पष्ट परिभाषा र व्याख्या गरि नीतिगत र प्रशासनिक निर्णयको सीमा निर्धारण गर्नुपर्ने सुझाव दिँदै आएको पनि कार्यान्वयन भएको देखिंदैन।’

पटक पटक यही कुरा कहिलेसम्म लेख्नुपर्ने हो ? न त यो विधेयकले नीतिगत निर्णयको परिभाषा समेटेको छ न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ ले नै समेटेको छ । हो, पाँच वर्षको हदम्याद हटाउन महत्त्वपूर्ण छ तर जबसम्म नीतिगत निर्णयको परिभाषा स्थापित हुँदैन भ्रष्टाचार संस्थागत नै भइरहन्छ । त्यस्तो अवस्थामा यो हदम्याद नहुनुको पनि औचित्य हुँदैन ।

इजरायल र हमासबीच युद्धविराम सम्झौताका लागि प्रयास जारी

 अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारको खाडी क्षेत्रमा भएको वार्तापछि गाजामा युद्ध रोक्न ‘युद्धविराम’ सम्झौता नजिक पुगेको भन्ने खबरलाई हमासका वरिष्ठ नेता सामी अबु जुहरीले खण्डन गर्दै यसका लागि प्रयासहरू जारी रहेको बताएका छन् ।

हमासका राजनीतिक विभागका सदस्य जुहरीले एएफपीसँग भने, “हामी सम्झौताको नजिक पुगेका छौं भन्नु भ्रम हो । हामी कुनै सम्झौता वा वास्तविक वार्ताको सामना गरिरहेका छैनौं, बरु अमेरिकी आदेशको सामना गरिरहेका छौँ।”

बाइडेनद्वारा शुक्रबार सार्वजनिक टिप्पणीको जवाफमा उनले भने, “हामी पहिलेभन्दा धेरै नजिक छौं ।”

इजरायल र प्यालेस्टिनी हमास लडाकूबीचको मतभेद कम गर्न वासिङ्टनले कतारमा दुई दिनसम्म चलेको वार्तापछि बाइडेनले उक्त कुरा बताएका थिए । गाजा पट्टीमा दुई पक्षबीच १० महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

महिनौंसम्म चलेको युद्धविराम वार्ताको क्रममा विगतमा सिर्जना भएका आशाहरू अहिलेसम्म निरर्थक साबित भएका छन् ।

लेबनानको इरान समर्थित हेजबुल्लाह आन्दोलनका प्रमुख फुआद शुकर र हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहको जुलाईको अन्त्यमा भएको हत्यापछि यो खतरा अझै बढेको छ ।

उनीहरूको मृत्युपछि हेजबुल्लाह, इरान र यस क्षेत्रका तेहरान समर्थित अन्य समूहहरूबाट प्रतिशोधको चेतावनी जारी गर्दै यस आक्रमणका लागि इजरायललाई दोषी ठहराइएको छ ।

पश्चिमा र अरब कूटनीतिज्ञहरू गाजा सम्झौताका लागि दबाब दिन र व्यापक द्वन्द्व टार्नका लागि मध्यपूर्वमा छलफल गरिरहेका छन्। छलफलले व्यापक क्षेत्रीय द्वन्द्व टार्न मद्दत गर्ने उनीहरूको भनाइ छ ।

अमेरिकी बाइडेन सरकारका विदेशमन्त्री एन्टोनी ब्लिन्केन सम्झौतालाई अन्तिम रूप दिन शनिबार इजरायल जाने कार्यक्रम छ ।

नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित

पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० जना मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालयले जनाएका छन् ।

क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा बिहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।

‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने,“मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”

नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो ।

बेनु राज्यको प्रहरी जनसम्पर्क अधिकारी क्याथरिन एनेनले पनि अपहरणको पुष्टि गरेका छन् ।

नाइजेरियाले गम्भीर आर्थिक सङ्कटका कारण अपहरणमा उल्लेखनीय वृद्धिको सामना गरिरहेको छ ।

राष्ट्रपति बोला अहमद टिनुबु सत्तामा आएकादेखि नाइजेरियामा चार हजार ७७७ अपहरणजन्य अपराधका मुद्दाहरू दर्ता भएका छन् ।

करातेकी एरिका र टेबलटेनिस स्यान्टु सम्मानित

काठमाडौँ । करातेकी एरिका गुरुङ र टेबलटेनिसकी स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । हाम्रो खेलकुद अनलाइनको नवौँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले खेलाडीलाई सम्मान गरे । उनीहरूलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले सम्मान ग्रहण गरेका थिए । एरिकाले गत वर्ष चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा रजत पदक जितेकी थिइन् । स्यान्टु पेरिस ओलम्पिकका लागि छनोट हुन सफल भएका थिए ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी सङ्गीना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्टपछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् ।

टानमा सापकोटा समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ ।  पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको गरेका  छन् । शनिबार  आयोजित कार्यक्रममा सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो ।

टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट  वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरे ।

साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदावरी घोषणा गरेका हुन् ।

समूहका तर्फबाट कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरे ।

अध्यक्षका प्रत्यासी सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । “पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ”, उनले भने, “पदमार्ग नै नभए व्यवसाय सङ्कटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।”

आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवद्र्धनका लागी आफूले पहल गर्ने उनको भनाइ थियो ।

सापकोटाले टानको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरको ‘एडभेन्चर ट्राभल मार्ट’ आयोजना समेत गर्ने आफ्नो योजना रहेको सुनाए ।

टानको महासचिव पदका प्रत्यासी राजेन्द्रप्रसाद सुवेदीले पदमार्ग संरक्षण र नयाँ गन्तव्य प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्ने पनि बताए ।

कार्यक्रममा टानका अध्यक्ष नीलहरि बास्तोलाले पदयात्रा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको बताए। टानका पूर्वअध्यक्ष चन्द्रप्रसाद रिजालले व्यवसायमैत्री टान र पदयात्राका समस्या समाधानमा नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरे ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

चार हजार ६ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता आयोजना

म्याग्दी । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् ।

लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन् । समुद्री सतहबाट चार हजार छ सय ४५ मिटर उचाइमा अवस्थित लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे ।

गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विजयी विष्टले नौ होलको खेलमा तीन अण्डर हान्दै २१ स्कोर बटले । तीनवटा होलमा पार, एउटामा त्रिपल बुगी र पाँचवटा होलमा बुगी खेलेका थिए ।

पाँचवटा होलमा पार, एउटामा डबल बुगी र बाँकी तीनवटा होलमा बुगी हिर्काउँदै दुई अण्डर २० स्कोर प्राप्त गरेका नेपाल गल्फ एशोसिएसनका उपाध्यक्षसमेत रहेका फुर्साङ लामा द्वितीय भए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले १४ स्कोरसहित पुरुषतर्फको ग्रस उपाधि जितेका प्रतियोगिताका चिफ मार्सल भुवन गुरुङले बताए । यसअघिका दुई वर्ष लगातार उपाधि जितेका काठमाडौँका गल्फर श्याम तामाङको ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन ।

महिलातर्फको उपाधि जितेकी बालकाशी गुरुङले पाँच अण्डर २३ स्कोरको नतिजा निकालेकी थिइन् । चार अण्डर २२ स्कोर प्राप्त गरेकी धरानकी झुना राई दोस्रो भइन् । संयोग शाहीले ‘लङगेष्ट ड्राइभ’ हिर्काउनुभयो भने महिला गल्फर मेदाङ लामाले ‘क्लोजेष्ट टु दी पिन’को ट्रफी पाइन् । याक पुरस्कार राखिएको ‘होल इन वान’ कसैले जितेनन् ।

प्रतियोगितामा सहभागी हुनका लागि काठमाडौँ, पोखरा, धरानलगायत सहरका ३५ जना गल्फ खेलाडी लोमान्थाङ पुगेका थिए । विजयी खेलाडीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले ट्रफी वितरण गरेका थिए ।

सो अवसरमा लेवथाङ गल्फ कोर्सको स्तरोन्नतिका लागि हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाले एक हजार डलर आर्थिक सहयोग गरेका छन् । तीन वर्षअघि निर्माण गरिएको कोर्षलाई गिनिज बुक (विश्व कीर्तिमान)मा रेकर्ड गराउने प्रयासस्वरुप तेस्रोपटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फकोर्ष मान्ने गरिएको थियो । लोवथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारबाट पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहाँसम्म पुग्न सडक विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसेमैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टिबक्स, फेयरवे र ग्रीन, फ्रन्टलाइन र ब्याकलाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडकयात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।

संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा कलाकार ‘सिते बा’ सँग लियो बयान

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले शनिबार सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित विभिन्न व्यक्तिसँग सोधपुछ गरेको छ ।

समितिले शनिबार ज्येष्ठ वचत तथा ऋण सहकारी संस्थाका सचिवलगायत अन्य ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध मधुसूदन पाठक(सिते बा)लाई बैठकमा बोलाई सोधपुछ गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

सिते बा कलाकार समेत हुन् । त्यस्तै समितिले हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौंका पूर्व अध्यक्ष सूर्यबहादुर गुरूङसँग पनि सोधपुछ गरेको छ ।

यो सहकारीमा नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत संस्थापक अध्यक्ष, त्यसपछि गुरूङ अध्यक्ष र रास्वपाका हाल उपाध्यक्ष एवं पूर्वमन्त्री डीपी अर्याल उपाध्यक्ष र कविन्द्र बुर्लाकोटी सदस्य रहेको यो संस्था २०७९ पछि जीबी राईको अध्यक्षतामा देशभरि कार्यक्षेत्रका साथ संचालन हुन पुगेको थियो । र, हाल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिअन्तर्गत रहेको छ ।

त्यस्तै समितिले शनिबारै कृषि विकास बहुउद्देश्यीय, कुमारीपाटी, ललितपुर र कृषि विकास वचत तथा ऋण सहकारी संस्था, गट्ठाघर, भक्तपुरका अध्यक्ष तेजविक्रम थापालाई नख्खु जेलबाट बैठकमा बोलाई सोधपुछ गरिएको जनाएको छ । त्यसैगरी समितिले बराह वचत तथा ऋण सहकारी धरानका अध्यक्ष मानबहादुर विश्वकर्मालाई बैठकमा धरानबाट बोलाएर सोधपुछ गरेको थियो ।

‘प्रचण्डलाई सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा के अन्याय भयो ?’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताएका छन् ।

शनिबार पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा प्रचण्डले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे ।

आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको  बहसले झनै एकताबद्ध बनाएको उनले बताए ।

अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राखेको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए । उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गरे ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताए । पार्टीमा बहस गर्न आफू सधै क्रियाशील रहिरहने  तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उनको भनाइ थियो । उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार राखे । 

पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टि व्यक्त गर्दै उनले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने उल्लेख गरे  । 

नेत्र विक्रम चन्दलाई पार्टी नछोड्न आफूले बारम्बार आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, “अन्य वामपन्थी दलसँग एकताको कुरा चलिरहेको अवस्थामा विप्लवलाई माओवादीमा आउन रोक्यो भनेर अनर्गल प्रचार भयो । ”

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् । आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदा कसरी नेतृत्वविरोधी भएँ ? भनि उनले प्रश्न पनि गरे ।
उनले प्रचण्डलाई ‘तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्वविरोधी कुरा गरेको आरोप लगाउने काम गरेको’ भन्दै आक्रोश व्यक्त गरे ।

उनले प्रचण्डलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए । उनले भने, ‘उहाँहरूलाई हटाएर मलाई चाहिएको छैन । मैले त प्रचण्डलाई अरू २०० वर्ष बचाउने कुरा गर्दैछु, मेरो कुरा त्यो हो । अरू २०० वर्षसम्म प्रचण्ड बाँचून्, त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर ममाथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाईं आफैँ रोज्नुहोस् । सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ?’

सो अवसरमा अध्यक्ष दाहालले सम्पर्क समितिमा रहेर जनताको सेवामा क्रियाशील तथा समितिलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए ।

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले रुकुम सधैं क्रान्ति र नेतृत्वको पक्षमा उभिएदै आएको बताए । उनले अझै जनताका सपना पूरा नभएको एवम् समाजवादी क्रान्तिका लागि पार्टी फेरि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता शर्माले पार्टीलाई सुदृढ बनाउन गम्भीर समीक्षा गर्नुपर्ने, पार्टीभित्र बढ्दै गएको मतभेद कम गर्न आत्मसमीक्षा गर्नुपर्ने एवम् सिङ्गो मुलुक माओवादीको एजेण्डामा अघि बढिरहँदा पनि माओवादी कमजोर हुनुमा सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

उनले भने, “जनताका बीचमा गएर आत्मसमीक्षा गरौँ । गाउँ फर्कौ, आधार इलाका जाऊँ, समाजवादी क्रान्तिका लागि जनताका बीचमा जानैपर्छ ।”

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मकः अध्यक्ष ढकाल

काठमाडौँ । अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “महासङ्घले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो, महासङ्घको प्रस्तावलाई सरकारले प्राथमिकता दिएकामा आभार व्यक्त गर्दछु ।”

अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाई दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासङ्घले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो ।

यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित मन्त्रालयलाई महासङ्घ धन्यवाद ज्ञापन गरेको छ । महासङ्घले मितव्ययी रूपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।

सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवासमा शनिबार अपराह्न भएको भेटमा उनीहरुबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उद्योगीले ‘ट्रङ्क’ र ‘डेडिकेटेड’ लाइनको महसुल तिर्नैपर्छः उर्जामन्त्री खड्का

काठमाडौँ । उज्यालो नेपालको सम्वाहकका रुपमा स्थापित नेपाल विद्युत् प्राधिकरणले शनिबार आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनाएको छ । शनिबार आयोजित वार्षिकोत्सव समारोहमा ऊर्जा क्षेत्रको थप विकासका लागि साझा सहकार्यको आवश्यकता औँल्याउँदै नीति तथा कार्यक्रमलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिइएको छ ।

वार्षिकोत्सव समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकाय एकआपसमा मिलेर काम गर्ने विश्वास दिलाए ।

उनले ‘ट्रङ्क’ र ‘डेडिकेटेड’लाइनमार्फत उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुलीबापतको रकम तिर्नैपर्ने बताए ।

विद्युत् खपत बढाउन आवश्यक पूर्वाधार जरुरी रहेको भन्दै मन्त्री खड्काले त्यसका लागि आवश्यक काम गर्न प्राधिकरणलाई निर्देशन दिए । उत्पादन, प्रसारण र वितरणका बीचमा आवश्यक तालमेल गरेर अगाडि बढेमा उल्लेख्य सफलता हासिल हुने उनले बताए ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत ऊर्जामन्त्री खड्काले प्रसारण लाइनको अभावमा रसुवागढी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको तथा मध्यभोटेकोशीको अवस्था पनि उस्तै रहेको बताउँदै तत्काल प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने आवश्यता रहेकामा जोड दिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत् खपत वृद्धिका लागि देशव्यापी रुपमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताए । ऊर्जा क्षेत्रको विकासमा बाधकका रुपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्तिलगायत समस्या समाधान गर्न मन्त्रालयले आवश्यक पहल गर्ने उनले विश्वास  दिलाए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले प्राधिकरणले देश र नागरिकको पक्षमा गरेको काम र जिम्मेवारीप्रति धन्यवाद दिए । उनले विद्युत उत्पादन बढाउने लक्ष्यलाई प्राप्त गर्न योजनाबद्ध रुपमा कार्यसम्पदान र कार्यान्वयन गर्ने महत्वपूर्ण निकायका रुपमा रहेको प्राधिकरणको हितका पक्षमा आयोगले काम गर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादन, प्रसारण र वितरण संरचना निर्माण गरी आमउपभोक्तालाई नियमित, भरपर्दो र सर्वसुलभ रूपमा विद्युत् सेवा प्रदान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।

उनले प्राधिकरणले पछिल्ला सात वर्षदेखि गर्दै आएको कार्यप्रगतिलाई गत वर्ष पनि निरन्तरता दिँदै विद्युत उत्पादन क्षमतामा वृद्धि गरिएको, प्रसारण तथा वितरण प्रणालीको विस्तार गरी आन्तरिक खपतमा वृद्धि गरिएको उल्लेख गरे।

विद्युत् निर्यात वित्तीय अवस्थामा सुधार र विद्युत् चुहावट नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गर्न प्राधिकरण सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए ।

हरेक वर्ष वृद्धि हुँदै आएको नाफाबाट उक्त अवधिभित्र प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणका विभिन्न आयोजनामा  एक खर्बभन्दा बढी लगानी गर्न सफल भएको उनले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आफ्ना सहायक तथा सम्बद्ध कम्पनीमा थप ५६ अर्बभन्दा बढी लगानी गरेको स्पष्ट पारे । उनका अनुसार प्राधिकरणको कूल सम्पत्ति गुणात्मक रूपले वृद्धि भई दुई खर्ब ११ अर्बबाट बढेर ६ खर्ब ३२ अर्ब पुगेको छ ।

उपभोक्ता सङ्ख्या ५४ लाख ६० हजार पुगेको छ । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका चार लाख ७५ हजार ग्राहक राष्ट्रिय ग्रिडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको सङ्ख्या  ५९ लाख ३५ हजार पुगेको छ । मुलुकभरका करिब ९९ प्रतिशत नागरिकमा विद्युत् सेवा पुगेको उनले जानकारी दिए ।

प्राधिकरणको आधिकारिक टेड युनियनका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणले नाफा कमाउँदा पनि बाँकी बक्यौता बढी रहेकाले तत्काल असुल उपर गर्न माग गरे । प्राधिकरणले सरकारलाई तिर्नुपर्ने ऋण रकममा स्थानीय तहले तिर्नुपर्ने बक्यौता रकम मिलान गरिदिए धेरै राहत हुने उनले उल्लेख गरे ।

अध्यक्ष भट्टराईले डेडिकेटेड र ट्रक लाइन महसुलमा प्राधिकरणले उठाउनुपर्ने सबै रकम उठाउनुपर्ने माग गरे । प्राधिकरणले गत आवमा १३ अर्ब नाफा गरेको र कूल सञ्चित नाफा  ४७ अर्ब बराबर पुगेकाले कर्मचारीलाई ‘बोनस’ उपलब्ध गराउनुपर्नेमा उनले जोडदिए ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुलीबापतको रकम तिर्नुपर्ने बताए । उनले प्राधिकरण सबल भए मात्रै ऊर्जा उत्पादकहरु पनि सक्षम हुने उल्लेख गरे । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राधिकरणका कार्यालय र आयोजनालाई सम्मान गरिएको थियो ।

बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’

काठमाडौँ । गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’ को श्रव्यदृश्य सार्वजनिक भएको छ।

हुक्काभित्र ट्वार्र! ट्वार्र! चेतनामूलक बालगीत हो। यसमा हाम्रा नानीबाबुहरू प्रश्न गर्छन् कि तमाखु, चुरोट, खैनी किन सेवन गर्ने? यी सबै स्वास्थ्यका लागि हानिकारक छन्।

उनीहरू भन्छन्, ‘हामी नानीबाबुहरू अम्मली छैनौँ, हामी स्वस्थ नेपालका स्वस्थ बालबालिका हौँ। नानीबाबुहरूका सत्य भनाइ हाम्रा लागि अचुक वाण हुन्’, भिडियोमा भनिएको छ।

बाल नमूना माध्यमिक विद्यालयमा शुक्रबार भएको एक कार्यक्रममा पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, वरिष्ठ सङ्गीतकार एवं गायक रामेश श्रेष्ठ र अनन्त वाग्लेलगायत बालसाहित्यकारको उपस्थितिमा उक्त भिडियो सार्वजनिक गरिएको हो।

उक्त भिडियोमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेसा विश्वकर्मा र प्रशन्न तामाङको स्वर रहेको छभने यसको निर्माणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गरेको छ।

भिडियोमा बाल नमूना माध्यमिक विद्यालयका बालबालिकाको नृत्य र अभिनय छ। आचार्य गोपालको निर्देशनमा बनेको भिडियोमा कलाकार रामचन्द्र अधिकारीले पनि अभिनय गरेका छन्।

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’

म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फूल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की ।

चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो (घण्टी)को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी ।

बिहानीपख सूर्योदय, साँझमा सूर्यास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्नेदेखि मनास्लु सम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । समुन्द्री सतहदेखि चार हजार १० मिटरको उचाइमा रहेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझैं आभास हुन्छ ।

काठमाडौका आशिष सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जीवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताए । ‘लोप हुदै गएको घुम्ती गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो’, उनले भने, ‘जता फर्केर हेरेपनि देखिने मनमोहक दृष्यले समय बितेको पत्तै भएन ।’

यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमइरहेका भेडा, बाख्रा, घोडा, गाईभैसीका बथानहरु थप आकर्षण हुन् ।

शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताए । बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उनले सुनाए ।

ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिडेपछि पुगिने गर्पाछेडा पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ ।

किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् ।

पाहुनाका लागि ‘गोठ स्टे’

गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ । होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताए ।

‘नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सिप नामाकरण गरिएको हो’, उनले भने, ‘जंगली जनावर, पंक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जीवनशैली र दिनचर्या अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।’

गाईभैंसीको दूध, दही, मोही, घ्यु, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताए । छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ । बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ ।

चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन् । प्रतिव्यक्ति दुई हजार शूल्कमा २ छाक खाना, २ छाक खाजा र एक रात बास पाइन्छ । शुक्रबार, शनिबार र बिदाका दिन १४/१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुदैन । गोठ स्टेमा २० जनाको क्षमता छ ।

ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताए । ढोरपाटन आउने पर्यटकको बसाई लम्बाउने गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उनले बताए ।

गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ ।

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए ।

इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । “अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ”, बस्सलले भने ।

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने,“तीनवटा रकेटहरू सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए ।उनीहरुको के दोष थियो ?”

इजरायल र हमासबिच १० महिना भन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ ।

डब्लुएचओद्वारा एमपक्स खोपको उत्पादन बढाउन आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार मङ्कीपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ ।

डब्लुएचओले कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि मङ्कीपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

डब्लुएचओले मङ्कीपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ । हालैका वर्षहरूमा डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन र जापानको एलसी -१६ गरी दुई प्रकारका मङ्कीपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ ।

ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताए । सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड खोप उत्पादन गर्न सकिने उनले बताए ।

डब्ल्यूएचओले एलसी १६ खोपको वितरणका लागि टोकियोसँग सहकार्य गरिरहेको बताएको छ । ‘द डक्टर्स विदाउट बोर्डर्स च्यारिटी’नामक संस्थाले खोपको भण्डार भएका तर भाइरसको कुनै प्रकोप नभएका देशहरूले अफ्रिकाका प्रभावित देशलाई सकेसम्म धेरै खोप वितरण गर्न आग्रह गरेको छ ।

यसले बवेरियन नर्डिकलाई एमपक्स सङ्क्रमण फैलिएको अधिकांश देशका लागि एमभीए–बीएन खोप पहुँच बाहिर रहेको भन्दै मूल्य घटाउन समेत आग्रह गरेको छ । विश्वको सबैभन्दा ठुलो मानवीय सञ्जाल ’इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटी’ (आइएफआरसी) ले मङ्कीपक्स सङ्क्रामक देशहरुले भाइरससँग जुध्न चुनौती सामना गरिरहेको बताएको छ ।

आइएफआरसीका वरिष्ठ जनस्वास्थ्य आपतकालीन अधिकारी ब्रोन्विन निकोलले अधिकांश खोप धनी देशसँग रहेको र अहिलेसम्म अफ्रिकामा पठाइएका खोपहरू प्रकोप नियन्त्रणका लागि पर्याप्त नभएको बताएका छन् । डब्लुएचओले सन् २०२२ मा पनि ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।

यस वर्ष १० अफ्रिकी राष्ट्रमा मङ्कीपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उनले जोड दिएका हुन् ।

संविधान संशोधनका लागि पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ ।

शनिबार निर्णय सार्वजनिक गर्दै जसपाले संविधान संशोधन तथा परिमार्जनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ ।

साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति बैठकले संविधान पुनरावलोकन आयोग गठन गरी त्यसको राय सुझाव र सिफारिसमा आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन/पुनर्लेखन/परिमार्जन गर्नका लागि संविधान विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा गरिनुपर्ने माग गरेका हुन् ।

त्यस्तै जसपाले राजबन्दी रिहाई र मुद्दा खारेजीको माग गरेको छ । जसपाले आफ्ना चारसय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।

खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन् ।

भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई शनिबार भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गरेकोमा आफ्ना भारतीय समकक्षीको सराहना गरे ।

विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गरेका हुन् । तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् ।

खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा थामे खोलामा बाढी आएको पुष्टि

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ ।

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको पाइएको हो ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको छ । अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ ।

अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले थामे नदी र त्यसक्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताइन् ।

सोलुखुम्बुबाट निर्वाचित मन्त्री राई शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेललाई लिएर निरीक्षणका लागि खुम्बु क्षेत्र पुगेका थिए ।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीका कारण थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ ।

सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको छ । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ ।

बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ ।

बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ ।

उद्योगमन्त्रीद्वारा हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

मकवानपुर। उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन्।

हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा संघीय सरकारलाई अवगत रहेको बताए। उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उहाँले संघीय सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए।

हेसिउली उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिएकाइ लागत न्यूनीकरण गरी प्रतिष्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए।

समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए। अध्यक्ष भण्डारीले हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताए।

उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक संकटका कारण पटकपटक बन्द गर्नुपरिरहेको बताउँदै उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मेशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मेशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष माग गरे।

मन्त्री भण्डारीले आजै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गरेका छन्। कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिंदै मन्त्री उहाँले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए।

हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले आज नै अवलोकन गरेका छन्। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ।

मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिए। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक संगीता कुँवर, हेसिउली व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले मयुरधाप औद्योगिक क्षेत्रको हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए।

आजै मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य सङ्घमा उद्योगी तथा व्यवसायीसँग वर्तमान समसामयिक समस्याका बारेमा छलफल गरेका छन्। उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरपालिकाका विभिन्न शिर्षकका करका दर एक सय ५३ प्रतिशतसम्म बढाएर उद्योगी व्यवसायीलाई दुःख दिएको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्त्री भण्डारीसमक्ष गुनासो व्यक्त गरे।

अलैँची र सुन्तला उत्पादन बढाउनसुपर जोन कार्यक्रम

किमाथांका । कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले ६ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।

उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका ६ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ ६८७ हेक्टरमा कार्यक्रम लागु गरिएको उनले बताए ।

सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैंँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरे ।

परियोजनाका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ रु २० लाख र चालुतर्फ रु चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए ।

सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा रु ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनि चिस्यान केन्दै स्थापना कार्यक्रमका लागि २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा २१ लाख विनियोजन गरिएको उनले जानकारी दिए । चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् ।

अलैँची सुपन जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्याउँदै आएको छ । 

तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

तनहुँ । पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ ।

गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गोका म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिए ।
पछिल्लो आठ वर्षको तथ्याङ्कअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदै छ ।

विसं २०७९ भदौमा व्यास नगरपालिका–११ राति डिल्लीमाया गुरुङ र शङ्कर गुरुङलाई घरको डिढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा छोरा शङ्करको ज्यान गयो ।

सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङलाई घरको आँगनमा खेलिरहेको बेला आत्रलमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिए ।

सोही वर्षको कात्तिक १५ गते व्यास–१२ छिर्कनका चित्रबहादुर कुँवर थापाको नाति सात वर्षीय अभिनव कुँवर, जेठ २९ गते बन्दीपुर–१ का भिमलाल गरौजा पिँढीमा सुतिरहेको अवस्थामा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

घाइते गरौजाको उपचारको क्रममा मृत्यु भएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए । साथै २०७८ असोजमा बन्दीपुर–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।  

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार विसं २०७७ साउनमा शुक्लागण्डकी नगरपालिका–२ का नारन राना, २०७६ माघमा बन्दीपुर–४ का ११ वर्षीय ईसाक परियार, सोही वर्षको पुसमा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–३ का एक वर्ष नौ महिनाका बालक रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०७६ कात्तिकमा भानु नगरपालिका–२ का ऋतिक रोका, असोजमा भानु–१ का कुशल बानियाँ, जेठमा भानु–२ का आठ वर्षीया बालिका पुष्पा अधिकारी, २०७५ मङ्सिरमा भानु–२ का १० वर्षीय अमृत गुरुङ, कात्तिकमा भानु–४ का चार वर्षीया रञ्जिता लम्साल र २०७४ फागुनमा भानु–२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाले ज्यान लिएको थियो । 

विसं २०७९ असारमा बन्दीपुर–१ प्युघरका प्रेमबहादुर बगाले मगरको पाँच वर्षीय छोरा सुप्रिम थापा चिुतवाको आक्रमणबाट घाइते भएका थिए ।

विश्वकर्माले जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्न थालेको बताए । उनले भने, “करिब आठ वर्षयत चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।” 

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०८० जेठ ४ मा व्यास–८ का गोरे विकले भालुलाई धपाउने क्रममा आक्रमणमा परी घाइते भएका थिए ।

भालु, बाँदर र चितुवाको आक्रमणबाट १७ जना घाइते भएका घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ । “कानुनी रुपमा मानवसँगै हरेक प्राणीको बाँच्न पाउने अधिकार हुन्छ । वन्यजन्तुको बासस्थान र आहाराको अभावले मानवमाथिको आक्रमण बढ्दै गएको हो”, उनले भने ।

वन्यजन्तुका लागि वनजङ्गलमा पर्याप्त आहार नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ ।

यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उनले बताए ।

चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ ।

“विगतमा चितुवाको आक्रमण अत्यधिक भएको समयमा क्यामरा ट्रयापिङमार्फत अवलोकन गरिएको थियो । उक्त समयमा भानुका जङ्गलमा चितुवा बाहेक अन्य वन्यजन्तु देखिएका थिएनन् । आहार, बासस्थान र पानीको खोजीमा मानव बस्ती पसेपछि मानवमाथि आक्रमण गर्न थालेका हुन्”, सहायक डिभिजन वन अधिकृत विश्वकर्माले भने । विगतको तुलनामा अहिले मानव वन्यजन्तुको द्वन्द्वमा कमी आएको उनले जानकारी दिए ।

वनजङ्गल नजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए ।

यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उनले जोड दिए । “वन्यजन्तुको आहार, पानी, बासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उप्योग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ”, उनले भने । 

नेपालले एसिया छनोट क्रिकेट  आयोजना गर्ने

काठमाडौँ । नेपालले आइसिसी  १९ वर्षमुनि ९यू–१९० क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्ने भएको छ ।

आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।  

चीनको युवा बेरोजगारी दरमा वृद्धि

चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।

राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो ।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो ।

एनबीएसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ ।

यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई “शीर्ष प्राथमिकता“ राखेर अगाडी बढ्नु पर्ने बताएका छन् ।

जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको हो । चालु आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो ।

एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ ।

त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड छ लाख बराबर खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ । कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख बराबर उठाउने लक्ष्य छ । चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन ।

साउन महिनाको कुल सङ्कलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड छ ।

‘स्टार्टअप’ कर्जा कार्यविधि कार्यान्वयनमा

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन जनाउँदै मन्त्रालयले गत साउन ३० गते कार्यविधि स्वीकृत गरेको हो । 

कार्यविधिअनुसार उद्यम तथा परियोजनालाई धितो मानेर तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन सकिनेछ । कार्यविधिमा स्टार्टअप उद्यमका लागि निश्चित योग्यता तोकिएको छ ।

यसमा उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाँघेको तथा स्थापना भएपछिको कुनैपनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड ननाँघेको हुनुपर्नेछ । त्यस्तै, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाको रुपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएका उद्यम तथा व्यवसाय यस्तो कर्जा पाउनका लागि योग्य हुनेछन् ।

     प्रचलित कानुनबमोजिम उद्योगको रुपमा दर्ता नभएको, वस्तु तथा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको, कालोसूचीमा परेको तथा औद्योगिक व्यवसाय ऐन, २९७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीको रुपमा दर्ता भएको उद्यमलाई स्टार्टउप कर्जाका लागि योग्य मानिनेछैन ।

     कार्यविधिअनुसार स्टार्टअप कर्जा प्रवाह गर्न कुनै एक वा एकभन्दा बढी बैंकलाई तोक्न सकिनेछ भने कर्जा प्रवाहका लागि विनियोजन भएको रकमबाट कर्जा सुरक्षण निगमनलाई भुक्तानी गर्ने रकम खर्च गर्न सकिने व्यवस्था राखिएको छ ।

त्यस्तै, कर्जावापतको रकम बैंकमा छुट्टै खाता खोली जम्मा गर्नुपर्नेछ भने खातामा बाँकीरहेको रकम आर्थिक वर्षको अन्त्यमा सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्नेछ ।

स्टार्टअप कर्जा कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । यस्तो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ भने ढिलोमा कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजवापतको रकम फिर्ता गर्न शुरु गर्नुपर्नेछ । 

यो कर्जाको ब्याजदर वार्षिक तीन प्रतिशत हुने पनि कार्यविधिमा उल्लेख छ । कार्यविधिबमोजिम बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोका रुपमा राख्नुपर्नेछ ।

व्यवसाय वा परियोजनाको बीमा भने उद्यमीले स्वयम् गर्नुपर्नेछ । कर्जा प्रवाह गर्ने बैंकले कर्जा प्रवाह गर्दा प्रशासनीक वा सेवा शूल्कवापत सम्बन्धित उद्यमीबाट कर्जा रकमको अधिकतम शून्य दशमलव एक प्रतिशतसम्म सेवा शूल्क लिन सक्ने कार्यविधिमा उल्लेख छ ।

सोलुका बाढी पीडितलाई आर्थिक सहयोग

काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । स्थानीय निकायबाट ५० हजार र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार प्रदान गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा पुगेका सोलुखुम्बुका सांसद एवं रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीमा रहेका राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम शेर्पाले तत्कालका निम्ति उक्त रकम राहत स्वरुप प्रदान गरिएको जानकारी दिँदै उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले गर्न निर्देशन दिइएको बताए ।

शुक्रबार स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति भएको छ ।

सिङ्गो गाउँ नै बगरमा परिणत भएको तथा भविष्यमा बसोबासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको सांसद शेर्पाले जानकारी दिए ।

बाढीबाट एक सयजना विस्थापित भएका छन् । नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि पीडितको सहयोगमा जुटेका छन् । बाढीले पक्की पुलमा पनि क्षति भएको छ ।

प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बताइएको छ । बाढीका कारण पुल भत्किएको र बाटो अवरुद्ध हुँदा हिँडेर सो क्षेत्रमा जान सकिने अवस्था छैन । आज बिहान बाढी भने रोकिएको सांसद शेर्पाले जानकारी दिए । त्यस क्षेत्रमा रहेका चार वटा हिमतालमध्ये सबैभन्दा सानो ताल फुटेको अनुमान छ ।

सांसद शेर्पाले भविष्यमा पनि जोखिम हुने भएकाले वस्ती स्थानान्तरण गर्नेसम्बन्धमा तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए ।

उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’मनाइँदै

म्याग्दी । उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् । 

बर्खायामलाई बिदाइ गर्ने पर्वका रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो ।

  लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छियुमी विष्टले बर्खा यामको बिदाइ गर्न यार्तुङ पर्व मनाउने गरिएको बताइन् । “यार्तुङ उपल्लो मुस्ताङको सांस्कृतिक पर्व र पहिचान हो,” उनले भनिन्, “बर्खायाम सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक विपद्, रोगब्याधी र अप्रिय घटना नहोस भन्ने कामना सहित यो पर्व मनाउने चलन छ ।”

यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरुले देवी देवताको पुजाआजा गर्छन् । घोडचढी कौशल देखाउने उत्सवको रुपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, साँस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङले यार्तुङ पर्व सामाजिक सद्भाव कायम राख्नका लागि पनि महत्वपूर्ण रहेको बताए ।   

स्थानीयबासीको अनुकुलता र फुर्सद मिलाएर तीन दिन यार्तुङ पर्व मनाउने चलन छ । रानीपौवाको पुराङको जनप्रिय युवा क्लवका अध्यक्ष कैशाङ ठोक्या ठकुरीले मौलिक पर्व यार्तुङको सांस्कृति, संस्कार र मौलिकता संरक्षणसँग खेलकुद र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताए । 

यार्तुङमा गरिने घोडादौड प्रतियोगिता अवलोकनका लागि विदेशी र आन्तरिक पर्यटकहरु मुक्तिनाथ आउने गरेका उनले बताए । तारो (घनुषवाण) र फुटबल लगायतका खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको छ । 

यार्तुङ मनाएपछि खेतीबाली भित्राउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्र्याएपछि चिसो शुरु नहुदै उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौ, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी शुरु भएपछि घर फर्कने उनिहरु सहरमा घुम्ती व्यवसाय गर्छन् । 

भारतले तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ आयोजना गर्दै

भारतले आज ’भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ (भिओजिएसएस) को तेस्रो संस्करण आयोजना गर्नेछ । यो सम्मेलन भारतको ’वसुधैव कुटुम्बकम’ को दर्शनमा आधारित कार्यक्रम हो ।

यो शिखर सम्मेलन प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एकसाथ, सबैको विकास, सबैका विश्वास र सबैका प्रयास’ दृष्टिकोणको विस्तारित रुप रहेको विदेश मन्त्रालयले यस हप्ताको सुरुमा विज्ञप्तिमा जनाएको थियो ।

यस सम्मेलनले विश्वव्यापी मुद्दामा आफ्नो विचार र प्राथमिकता एकअर्कासँग साटासाट गर्न ग्लोबल साउथका सबै राष्ट्रलाई एकसाथ ल्याउने परिकल्पना गरेको छ ।

“दिगो भविष्यका लागि एक सशक्त ग्लोबल साउथ” को नारासहित आयोजना हुन लागेको तेस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनमा विश्वलाई असर गर्ने जटिल चुनौतीहरू जस्तै द्वन्द्व, खाद्य र ऊर्जा सुरक्षा सङ्कट, जलवायु परिवर्तनको विषयमा छलफल हुनेछ ।

विदेश मन्त्रालयले हिजो ग्लोबल साउथका सबै देशलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेको बताएको छ।

शिखर सम्मेलनमा विशेष गरी ग्लोबल साउथको क्षेत्रीय विकासमा चुनौती, प्राथमिकता र समाधानका लागि छलफल जारी राख्नेछन्।

भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनको तेस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख–सरकार तहमा हुनेछ र प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नेछन् ।

भारतले सन् २०२३ को जनवरी १२–१३ मा पहिलो र सन् २०२३ नोभेम्बर १७ मा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन आयोजना गरेको थियो ।

यस सम्मेलनका अघिल्ला दुवै संस्करणहरूमा ग्लोबल साउथका १०० भन्दा बढी देशहरूको सहभागिता रहेको थियो ।

यी दुई शिखर सम्मेलनमा विकासोन्मुख देशका नेताहरूबाट प्राप्त सुझाव र प्रतिक्रिया गत वर्ष भारतको अध्यक्षतामा जी–२० शिखर सम्मेलनको एजेन्डा र छलफलमा प्रतिबिम्बित भएको थियो ।

व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ ।

आमचोक गाउँपालिका-२ मा सात कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन् ।

बसाइँसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिब तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाँइले बताए ।

हालसम्म १८ हजार बिरुवा रोप्ने काम सम्पन्न भएको उनले जानकारी दिए । बगामी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

‘सात जना कृषक मिलेर व्यावसायिक रुपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौं’, उनले भने, ‘हालसम्म १८ हजार विरुवा विस्तार गरिसकेका छौँ । शुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केहि सहयोग पाउँदा खुसी लागेको छ ।’

किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए ।

भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उनको भनाइ छ । ‘भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ’ उनले भने, ‘यहाँको सम्भावनाको पहिचान गरेर लोडसल्ला, सतुवा,चिराईतोको व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएका छौं ।’

आमचोक क्षेत्रमा किसानहरुले उदाहरणीय रुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ ।

किसानले स्वतस्फूर्त थालेको काममा केहि प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा विरुवा खरिदको लागि चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।

यहाँका किसानले थालेको लोठसल्ला खेती नमूनायोग्य रहेको उनको भनाइ छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ ।

जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ ।

लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताए ।

लोठसल्ला खेतीको लागि समुन्द्रि सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उनको भनाइ छ ।

लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए ।

किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उनको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताए ।

देशभर ९८ प्रतिशत रोपाइँ सम्पन

काठमाडौँ । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 
देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालु आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सम्पन्न भएको हो ।

यस वर्ष देशभर राम्रो वर्षा भएकाले पनि रोपाइँ पनि देशभर राम्रोसँग भएको जनाइएको छ । धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । 

उनँका अनुसार सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइँ गरिएको छ भने कोशी प्रदेशमा अन्य प्रदेशभन्दा कम ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांक छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत तथा मधेस प्रदेशमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

आर्थिक वर्ष  २०८०/८१ मा धान र चामल गरी २१ अर्ब ३४ करोडको आयात गरिएकामा आर्थिक वर्ष २०७९÷८० मा रु ३५ अर्व ९० करोडको आयात गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा करिब १३ अर्बले आयात घटेको अभिलेख मन्त्रालयसँग छ । 

यस वर्ष करिब छ प्रतिशतले धानको उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । 

पार्टी फुटाउने आशंका निराधार प्रमाणित भएको छः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन लागेको भन्ने आशङ्का हटेको बताएका छन् ।

शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले जनार्दनले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आह्वान गरे । यस्तै उनले पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने बताए ।

उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तिलाई आह्वान गर्न चाहन्छु । पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ । त्यस्तो आशंका ममा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ । आज बिहान मात्र शर्मासँग मैले छलफल पनि गरेका छु । अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन ।’

माओवादी केन्द्रको साउन २५ देखि २९ सम्म बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १२ पृष्ठको पार्टी निर्माणसम्बन्धी र २ पृष्ठको अध्यक्ष प्रचण्डप्रति लक्षित लिखित प्रस्ताव पेस गरेका थिए । शर्माको प्रस्तावमा अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न आग्रह गरिएको थियो । यसले माओवादीभित्र नयाँ अन्तरसंघर्ष चलेको चर्चा चलेको थियो ।

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको क्षेत्रमा आवातजावत ठप्प

सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ ।

सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनले बताए । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

उनले भने, ‘थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टिभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गाह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्ता लाग्दो छ ।’

बाढीले  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच घरपरिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ ।

बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ ।

यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौँबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो ।

निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।