`

लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य हुदैन : बेदुराम भुसाल

Nepal One HD २ भदौ २०८१ १६:००
अर्थ समाचार

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता एवं राष्ट्रियसभा सदस्य बेदुराम भुसालले लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै भुसालले अहिले संविधान संशोधनको चर्चा चलिरहेको भन्दै त्यसका नाममा लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका हुन् ।

संविधान संशोधनको उदेश्य स्पष्ट हुन नसकेको भन्दै भुसालले दुई दलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने स्पष्ट पारे । उनले दुई दलका बीचमा सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको भन्दै दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा राखे ।

भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानूनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए ।

महत्वपूर्ण विधेयकहरु निर्माणको गति निकै सुस्त भएको उनले बताए । उनले साच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने जिकिर गरे ।


प्रतिक्रिया