`

खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा थामे खोलामा बाढी आएको पुष्टि

Nepal One HD १ भदौ २०८१ १५:०१
प्रमुख खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ ।

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको पाइएको हो ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको छ । अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ ।

अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले थामे नदी र त्यसक्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताइन् ।

सोलुखुम्बुबाट निर्वाचित मन्त्री राई शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेललाई लिएर निरीक्षणका लागि खुम्बु क्षेत्र पुगेका थिए ।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीका कारण थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ ।

सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको छ । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ ।

बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ ।

बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ ।


प्रतिक्रिया