`

परराष्ट्रमन्त्री राणा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । सोमबार साँझ उनीहरुबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’ यसअघि सोमबारै परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

अमेरिकाले नेपाललाई अनुदानमा दुईवटा एम २८ स्काइट्रक उपलब्ध गराउने

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीन वटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार जनाएको छ । दुई देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा उक्त सहयोगको प्रतिबद्धता व्यक्त गरिएको हो ।

सन् २०२१ मा अमेरिकाले सन् २०२५ जनवरीसम्म  तीन करोड ७० लाख डलर बराबरका दुई वटा एम२८ स्काइट्रक उपलब्ध गराउने सहमति भएको दूतावासले जनाएको छ ।

‘छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका स्थिर पखेटा भएका विमान हुन् । यीमध्येको एउटा विमान  हवाई एम्बुलेन्स हो’, दूतावासले भनेको छ । यस अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पाटपुर्जा सहयोग समेत समावेश गरिएको छ ।

सन् २०२२ मा अमेरिकाले नेपाललाई दुई वटा बेल ४१२ हेलिकप्टर उपलब्ध गराउन सहमति जनाएको थियो । ती हेलिकप्टरहरू आगामी केही वर्षमा उपलब्ध हुने अपेक्षा गरिएको छ । चार करोड ४० लाख डलरको उक्त अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै बन्दोबस्ती सहयोग समेत समावेश गरिएको छ ।

व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले गत साता आफ्नो नेपाल भ्रमणका क्रममा अमेरिकाले अतिरिक्त हेलिकप्टर, तालिम र सहायता उपकरणका लागि थप १० करोड डलरको अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । यद्यपि, उक्त सहायता अमेरिकी कंग्रेसबाट सूचना प्राप्त भई आर्थिक स्रोतको उपलब्धता सुनिश्चित भएपछि प्रदान गरिने दूतावासको भनाइ छ ।

ताप्लेजुङ गोल्डकपमा सङ्घर्ष स्पोटिङ युवा क्लबको विजय सुरुवात

फुङ्लिङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणअन्तर्गत सोमबार भएको उद्घाटन खेलमा सङ्घर्ष स्पोटिङ युवा क्लबले विजय सुरुवात गरेको छ । कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत) लाई पराजित गर्दै  क्लबले विजयको सुरुवात गरेको हो । 

सङ्घर्ष स्पोटिङ युवा क्लबले कञ्चनजङ्घा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गरेको हो । यस जीतसँगै सङ्घर्ष स्पोटिङ युवा क्लबले प्रतियोगितामा विजय सुरुवात गरेको छ । यो क्लबले भदौ ५ गते रूपन्देही र मोरङबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

यता, कञ्चनजङ्घा फुटबल क्लब, सिलगुडीको खेलयात्रा भने यसै खेलसँगै समाप्त भएको छ । मङ्गलबारको खेलमा पाँचथर र सलहेश युवा क्लब, सिरहा आमनेसामने हुनेछन् ।

लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले भानु जनमाध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको गोल्डकपको विजेताले नगद पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिगको मिति सार्वजनिक गरिएको छ । क्यानले सोमबार एक कार्यक्रमकाबीच प्रिमियर लिगको लोगोसहित मिति सार्वजनिक गरेको हो ।

प्रिमियर लिग आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने भएको छ।

ढोरपाटनमा थपिँदै होटल, पर्यटक पनि बढ्दै

ढोरपाटन (बागलुङ) । पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहर नै चलेको छ । एक दशक अगाडिसम्म यहाँको ढोरबराहमा जनैपूर्णिमाको अवसर पारेर पूजाआजा गर्न जानेबाहेक अन्य समयमा पर्यटकको सङ्ख्या न्यून हुने गर्थ्यो । बास बस्न होटल सुविधा नहुँदा जनैपूर्णिमामा देशैभरबाट आउनेहरूले पनि सास्ती भोग्नुपथ्र्यो । कसैले गोठमा स्याउला बिच्छाएर त कसैले रातभर जागराम बसेर कष्टपूर्ण समय बिताउनुपथ्र्यो । दशक अगाडिसम्म यहाँ आउनेमध्ये धेरैलाई कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ताले पिरोल्ने गरेको थियो ।

पशुचौपाया र बर्खेखेती गर्नका लागि उपत्यका पुगेका अधिकारीचौर र बोबाङवासीको गोठमा बास पाउँदा पनि निकै राहत महसुस गर्ने अवस्था थियो । अचेल भने त्यो परिस्थिति फेरिएको छ । नेपालको एक मात्र सिकार आरक्ष रहेको यस क्षेत्रमा दर्जनौँ होटल तथा रेष्टुरेण्ट सञ्चालनमा आएका छन् । विगतमा जस्तो खान र बस्न समस्या नभएपछि अचेल धार्मिक तथा अन्य पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको व्यवसायीले बताएका छन् ।

केही वर्षयता बाह्रै महिना पर्यटक पुग्न थालेपछि व्यवसायीहरूले यहाँ धमाधम होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा ल्याउन थालेका ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुन मगरले बताए ।

ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा धेरै होटल तथा घरबास सञ्चालनमा आएका छन् । स्थानीयसँगै जिल्ला बाहिरका व्यवसायीले समेत यहाँ आएर होटल व्यवसाय गर्न थालेका छन् ।

सङ्घका अध्यक्ष पुन मगर विसं २०७५ यता हरेक वर्ष नयाँ होटल थपिँदै गएको बताउँछन् । जनैपूर्णिमामा यहाँ आउने दर्शनार्थीले हाल खुला आकाशमुनि रात बिताउनुपर्ने समस्या अन्त्य भएको उनले बताए । बराह मन्दिर दर्शनमा आएका भक्तजनले स्यालपाखे, नवी, पाखाथर, उत्तरगङ्गा, भूजीलगायतका ठाउँमा गएर बस्न सक्ने अवस्था रहेको अध्यक्ष पुन मगरको भनाइ छ ।

“पहिला जनैपूर्णिमाबाहेक अरू समयमा खासै पर्यटक आउँदैनथे, होटलको सुविधा पनि थिएन । यहाँ आएका भक्तजनमध्ये कोहीले पशुचौपायाको गोठ र खुला आकाशमुनी बस्नुपर्ने बाध्यता थियो । हामी पनि रातभरी काम्लो (भेडाको रौँको कपडा) ओडेर बाहिरै बस्थ्यौँ”,उनले भने,“पहिलेको जस्तो गोठमा बस्ने स्थिति छैन, अहिले सामान्य भए पनि होटल सञ्चालनमा छन् । यस उपत्यकामा हाल ३४/३५ वटा होटल र होमस्टे छन्, यहाँ आउने दर्शनार्थीलाई जसोतसो व्यवस्थापन गरिरहेका छौँ ।”

शनिबारदेखि नै ढोरपाटनमा भक्तजनको घुइँचो लाग्न थालेको छ । होटल व्यवसायी श्यामलाल घिमिरेले आइतबार दिउसोसम्म यहाँ सञ्चालित सबै होटल भरिभराउ हुँदा पाहुनालाई स्थानीयको घरमा समेत व्यवस्थापन गर्न थालिएको बताए । आफूले मात्रै करिब ४० जना पाहुनालाई बास दिएको सुनाउँदै मङ्गलबारसम्म थेगि नसक्नु भीड हुने उनी बताउँछन् ।

अहिले ढोरपाटन पुग्ने कोही पनि पाहुना गोठमा बस्नुपर्ने स्थिति नरहेको घिमिरेको भनाइ छ । “यहाँ होटल व्यवसायीका लागि बढी काम गर्न पाइने समय ठूला चाड नै हुन् किनकी यति बेला ढोरपाटनमा हजारौँ धार्मिक पर्यटकको आगन हुन्छ, अरु बेला यतिको भीड हुँदैन । पूर्णिमा सकियो भने जलजला, छुन्तुङ, बुकीपाटनलगायत ठाउँमा जाने पर्यटक आउँछन्” उनले भने, “पहिलेको तुलनामा अहिले धेरैलाई सहज भएको छ, होटल थपिने क्रममा छन्, होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएका छौँ, पछिल्लो समय ढोरपाटनको प्रचार भएर होला मान्छे आउने क्रम बढ्दो छ ।”

ढोरपाटन नगरपालिका–९ का स्थानीय पदमबहादुर पुनले यहाँ सञ्चालनमा आएका होटलले पर्यटकलाई सहज भएको बताए । “उच्च पहाडी क्षेत्र भएकाले बाह्रै महिना यहाँको हावापानी चिसो र वातावरण रमणीय हुने हुँदा धार्मिक तथा अन्य पर्यटकको आषकर्षण बढ्दो छ । विगतमा बासका लागि राम्रो होटल तथा सुविधा नहुँदा धेरैले दुःख पाउँथे तर पछिल्ला केही वर्षदेखि होटल, घरबास तथा रेष्टुरेण्ट खुलेपछि सहज भएको छ”, उनले भने । अब बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटर सडक स्तरोन्नति गरिएमा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि हुने पुनको विश्वास छ ।

सन्दीप बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।

सम्झौता पछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए ।

‘बृज सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, लामिछानेले भने ।

यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए ।

साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए । ञसन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ,झ गिरीले भने ।

धितोपत्र विधेयक संसदमा दर्ता

काठमाडौँ । धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ संघीय संसद्मा दर्ता भएको छ । प्रचलित धितोपत्र ऐन कार्यान्वयनमा आएको लामो समय भएको र पुँजी बजारमा आएको परिवर्तनसँगै नियामक निकाय एवं नियमन कार्यलाई थप प्रभावकारी बनाइ विद्यमान कानुनी व्यवस्था समयानुकूल संशोधन र परिमार्जन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

धितोपत्र निस्कासन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानुनी व्यवस्थालाई समसामयिक संशोधन गर्न आवश्यक भएकाले सरोकारवाला निकायको सहभागिता तथा परामर्शमा धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारी संसद्मा दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त विधेयक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत शुक्रबार संसद्मा दर्ता गरेका हुन् । यो विधेयकलाई संघीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्बाट गत असार १७ गते स्वीकृति दिइएको थियो ।

पुँजी परिचालन तथा पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षण एवं नियमनलगायतको कार्यका लागि अहिले धितोपत्रसम्बन्धी ऐन, २०६३ कार्यान्वयनमा छ । उक्त ऐन बमोजिम स्थापित नेपाल धितोपत्र बोर्डले सङ्गठित संस्थाको धितोपत्र निस्कासन तथा कारोबारलाई व्यवस्थित र नियमनलगायतको कार्य गर्दै आएको छ ।

धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्तालाई हुनसक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष तोक्न सक्ने सम्बन्धी व्यवस्था विधेयकमा राखिएको छ । त्यस्तै केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न सङ्गठित संस्था स्थापना गर्नुअघि बोर्डको सहमति लिनुपर्ने व्यवस्था राखिएको छ । केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि अनुमति लिनुपर्नेछ ।

केन्द्रीय निक्षेप सेवा भन्नाले विद्युतीय (डिजिटल) माध्यमबाट सङ्गठित संस्थाको धितोपत्रको अभौतिकरण गर्ने र त्यस्तो धितोपत्रको केन्द्रीय अभिलेख राख्ने सेवाका रुपमा परिभाषित गरिएको छ ।

‘डेरिभेटिभ मार्केट’ को व्यवस्था पनि धितोपत्र विधेयकमा राखिएको छ । ‘डेरिभेटिभ भन्नाले धितोपत्र बजारमा क्रेता र बिक्रेताबीच सूचीकृत धितोपत्र वा त्यसको मूल्य वा सुचकाङ्कको आधारमा कम्तीमा ३० दिनपछि खरिद वा बिक्री गर्न गरिएको फर्वार्ड, फ्युचर्स, अप्सन वा स्वापजस्ता धितोपत्र बजारमा कारोबार हुने करारजन्य वित्तीय उपकरण सम्झनुपर्छ,’ विधेयकमा भनिएको छ ।

विशिष्टीकृत लगानी कोष सञ्चालन गर्ने विषय पनि विधेयकमा राखिएको छ । विशिष्टीकृत लगानी कोष भन्नाले बोर्डमा दर्ता भएको प्राईभेट ईक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड वा त्यस्तै प्रकृतिको अन्य कोषलाई जनाउने उल्लेख छ । धितोपत्रको कारोबारमा मार्जिनको सीमा, त्यसमा लाग्ने ब्याज शुल्क तथा मार्जिन कारोबार सम्बन्धी अन्य व्यवस्था तोक्न सकिने विधेयकमा राखिएको छ ।

विद्यमान व्यवस्थाअनुसार नेपाल धितोपत्र बोर्डमा नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधि र एक जना विज्ञ सदस्यको रुपमा रहने व्यवस्था रहेकामा त्यसलाई हटाइएको छ । त्यस्तै, धितोपत्र बोर्डले प्रादेशिक शाखा खोल्न पाउने व्यवस्था पनि विधेयकमा छ ।

धितोपत्र ट्रष्टीको नियुक्ति प्रक्रिया, योग्यता, काम, कर्तव्य तथा अधिकारी र शूल्य तोक्नसक्ने सम्बन्धी नयाँ व्यवस्था ल्याउन लागिएको छ । हाल धितोपत्र सम्बन्धी ऐनमा ट्रष्टीसम्बन्धी व्यवस्था छैन । हितग्राही वा लगानीकर्ताको हित तथा स्वार्थ संरक्षण, पुँजी बजारलाई थप सुरक्षित र व्यवस्थित गर्न ट्रष्टी सम्बन्धी व्यवस्था गरिएको विधेयकमा उल्लेख छ ।

धितोपत्र बोर्डको अध्यक्ष, कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरु अवकाश भइसकेपछि वा पदबाट हटेपछि बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

‘चौपातो नेपाल’द्वारा सोमबार  आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगेको बताए । मुलुकका प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने विश्वास व्यक्त गरे ।

‘राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समीकरण बनेको हो’, उनले भने। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको गृहमन्त्री लेखकको भनाइ थियो ।

‘सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव पर्न थाल्यो । विधिको शासन सुनिश्चित गर्न वर्तमान सरकार गठन गर्न आवश्यक भयो,’ उनले भने।

शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कायम गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट गरे ।

‘सामान्यतया संसद्मा रहेका ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक देखिँदैन । कतिपय अवस्थामा स्वाभाविक मानिँदैन’, गृहमन्त्री लेखकले भने, ‘तर मुलुकमा महत्वपूर्ण ‘एजेन्डा’ अगाडि आउँछन् । त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा देशका ठूला पार्टी एक ठाउँमा उभिएका हाम्रो इतिहास छ ।’

सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न चाँडै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने सरकारको योजना रहेको गृहमन्त्री लेखकले बताए । महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्त्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत तथा चीनसँग जोड्न लागिएको उनको भनाइ थियो ।

‘तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएका छौँ । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ’, उनले भने ।

सो अवसरमा सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिएका आरडी प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, नेपाली शास्त्रीय गीत–सङ्गीतको क्षेत्रका तिलकसिंह पेला, प्रशासन क्षेत्रमा योगदान पु¥याएका डा हरिदत्त पाण्डेय र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो ।

यस्तै सुदूरपश्चिमको भाषामा योगदान दिएका डम्बर शर्मा बडूलाई मरणोपरान्त सम्मान गरिएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय ९० पुग्यो

काठमाडौँ । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा सोमबारसम्म एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ ।

प्रवक्ता कार्कीकानुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् ।

सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

साफ च्याम्पियनसिपमा भारत विजयी

काठमाडौँ । साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । 

उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ । 

पहिरो खसेर सिन्धुपाल्चोकको इन्द्रावती नदी आंशिक थुनियो

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ मा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रूपमा थुनिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार उद्धारका लागि सो स्थानमा नेपाली सेनाका कर्णेलको नेतृत्वमा र सशस्त्र प्रहरीका एसपीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

उनले थुनिएको इन्द्रावती डोजर प्रयोग गरेर खुलाउन सकिने अवस्था नरहेको बताए । प्रमुख जिल्ला अधिकारी थापाले तटीय क्षेत्रमा सचेत रहनका लागि रामेछाप, काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरिएको बताए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी

सिबी अधिकारी, काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।


निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । साउन २८ को मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरुप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ ।

निगमको सञ्चालक समितिको गत ३१ साउनको बैठकले यही १ भदौदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर १ सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत ३१ साउनमा प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो । उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ ।

सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म नलिने जनाएको छ ।

उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

गत साउन १८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका थिए ।

उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका थिए । उनले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका थिए ।

निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा व्यहोर्नुपरेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रूपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरूले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरे ।

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिएका थिए । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरेका थिए । उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राखेका थिए । 

गाजा युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दावी

हमासले दोहामा गत हप्ता प्रस्तुत नयाँ गाजा युद्धविराम प्रस्ताव आलोचना गर्दै प्रस्ताव इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको शर्त र स्थायी युद्धविराममा सहमत हुन अस्वीकार गरेको भनी आलोचना गरेको छ ।

हमासले युद्द विराम प्रस्ताव नेतान्याहुको मागसँग मेल खाने जिकिर गर्दै स्थायी युद्धविरामबारे अस्वीकारोक्ति प्रकट गरेको छ भने रफाह क्रसिङ्ग र फिलाडेल्फी कोरिडोरमा नियन्त्रण कायम राखी कैदी आदानप्रदान सम्झौतामा बाधा पुर्याएको छ ।

हमासले नेतान्याहुलाई मध्यस्थकर्ताको पहलमा भइरहेको वार्ताको असफलताप्रति उनलाई नै पूर्ण जिम्मेवार रहेको दावी गरेको छ भने गाजाविरुद्ध आक्रमण जारी राखेर इजरायली बन्धकहरूलाई खतरामा पारेको आरोप लगाएको छ ।

जुलाई–२ मा भएको सम्झौता प्रतिबद्धता दोहो¥याउँदै हमासले अमेरिकी राष्ट्रपति जो बाईडेनको र राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको आधारमा इजिप्ट र कतारका मध्यस्थकर्तालाई सहमतिका सर्तहरू लागु गर्न आग्रह गरेको छ ।

बिहीबारदेखि शुक्रबारसम्म दोहामा सम्पन्न गाजा युद्धविरामपछि मध्यस्थकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै वार्तामा ‘रचनात्मक’ प्रगति भएको र सम्बन्धित पक्षहरूले आगामी दिनमा सम्झौताको कार्यान्वयनको विवरणका लागि वार्ता प्रयास जारी राख्ने घोषणा गरेका छन् ।

नेतान्याहुको कार्यालयले मध्यस्थकर्ताको प्रयास प्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूले हमासलाई मे को अन्त्यमा गरिएका प्रस्तावको सर्तहरू स्वीकार गर्न मनाउने आशा व्यक्त गरेको छ ।

हमासले इजरायललाई पहिले सहमति भएका प्रस्तावमा नयाँ सर्तहरू थप्ने गरेको आरोप लगाउदै वार्ताको नतिजाबारे शङ्का व्यक्त गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले युक्रेनको भ्रमण गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्न लाग्नुभएको भारतीय विदेश मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनलाई अँगालो हालेको भन्दै युक्रेनले आलोचना गरेको केही हप्तापछि उनको भ्रमण तय भएको हो ।

भारतीय विदेश मन्त्रालयले भ्रमणको मिति भने खुलाएको छैन तर भारतीय सञ्चारमाध्यमका अनुसार पोल्याण्ड र युक्रेनको यो भ्रमण यसै साताको अन्त्यमा हुनेछ ।

मस्कोसँग आफ्नो देशको ऐतिहासिक न्यानो सम्बन्ध कायम राख्ने र क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमा राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारी कायम गर्नेबीचको सन्तुलनलाई कमजोर बनाएको आरोप उनका आलोचकहरूले लगाउने गरेका छन् ।

उनको सरकारले द्वन्द्व सुरु भएको दुई वर्षभन्दा बढी अवधिमा युक्रेनमा रूसले गरेको आक्रमणको स्पष्ट विरोध गरेको छैन तर दुवै पक्षलाई वार्ताका माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

जुलाईमा युक्रेनका विभिन्न शहरमा रूसी आक्रमणका कारण तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र किएभस्थित एक बाल अस्पतालमा ठूलो क्षति भएको केही घण्टापछि मोदीको मस्को भ्रमण भएको थियोे ।

भारत र रूसबीच शीतयुद्धदेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ, जसका कारण क्रेमलिन भारतलाई हतियार उपलब्ध गराउने प्रमुख राष्ट्र बनेको छ ।

युक्रेन द्वन्द्व सुरु भएदेखि रूस मूल्य कटौतीसहितको कच्चा तेलको भारतका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ । यसले पश्चिमी प्रतिबन्धहरू लगाएपछि धेरै आवश्यक निर्यात बजार प्रदान गरेको छ ।

यसले उनीहरूको आर्थिक सम्बन्धलाई नाटकीय रूपमा पुनः संरचना गरेको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन सहयोग गरेको छ भने सहुलियत दरको कच्चा तेलको आयातले भारतको अर्बोँ डलर बचत गरेको छ ।

तर रूसको युक्रेनसँगको लडाइँमा भारतको पनि मानवीय क्षति भएको छ ।

नयाँदिल्लीले रूसी सेनासँग ‘सहयाग रोजगार’ को लागि सम्झौता गरेका तर पछि युक्रेनमा फ्रन्टलाइनमा लड्न पठाइएका व्यक्तिको सुरक्षाका लागि मस्कोलाई आफ्ना धेरै नागरिकहरू फिर्ता गर्न दबाब दिएको छ । यस द्वन्द्वमा कम्तीमा पाँच भारतीयको मृत्यु भएको छ ।

पश्चिमा शक्तिहरूले चीन र एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावविरुद्ध भारतसँग बलियो सम्बन्ध विकास गरेका छन् भने नयाँ दिल्लीलाई रूसबाट टाढा रहन दबाब दिइरहेका छन् ।

भारत अमेरिका, जापान र अष्ट्रेलियासँग क्वाड समूहमा सामेल छ जसले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताको विरुद्धमा आफूलाई उभ्याएको छ ।

मोदीले सन् २०१९ मा पनि रूसको भ्रमण गर्नुभएको थियो र त्यसको दुई वर्षपछि नयाँ दिल्लीमा पुटिनलाई स्वागत गरेका थिए ।

त्यसयता भारत रूसको स्पष्ट निन्दाबाट पछि हटेको छ र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा अनुपस्थित रहेको छ ।

चीनमा एक फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।

चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो ।

उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ ।

सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए ।

लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी साङ्घाईको खेलकुद प्रशासनको प्रमुख थिए ।

राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन् ।

सीले आफ्नो देशले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेलजगत्लाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न चाहन्छन् ।

तर त्यो महत्त्वाकाङ्क्षा पटक–पटकका भ्रष्टाचारका काण्ड र वर्षौंदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा अझ टाढा देखिन्छ ।

गत मार्चमा सीएफएका पूर्व प्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घूस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घूस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकार गरेका थिए ।

गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्व निर्देशक गौ झोङवेनमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो । यसरी हेर्दा, हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारीहरू अनुसन्धानको दायरामा आएका छन्।

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

काठमाडौँ । भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पठाएको १२ वटा जलविद्युत आयोजनाबाट बिजुली लिन भारतले स्वीकृति दिएको हो ।

नेपालले पहिलो पटक मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिहारमा विद्युत् निर्यात गर्ने भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्तरदेशीय व्यापार हेतु भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको छ ।’

अब नेपालको २८ वटा परियोजनाबाट ९४१ मेगावाट बिजुली भारत जानेछ । यसअघि विद्युत बिक्रीका लागि ६९० मेगावाट मात्रै स्वीकृत हुँदा गतवर्ष नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो ।

संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजिएको होइन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् ।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे ।

उनले भने,’संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’

राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए । ‘सात/आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेको छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ ।’

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले   रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम्  रक्षाबन्धन ग्रहण गरेका छन् । 


राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 


राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए । 

नेपालगञ्ज रङ्गशालाको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएपछि..

बाँके । बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रङ्गशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो ।

राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयवासीले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गरे ।

‘निर्माण सम्पन्न भएको एक महिनामै ट्रयाक उप्किनु भनेको एकदमै कम गुणस्तरको सामान प्रयोग भएको भन्ने बुझ्नुपर्दछ’, उनले भने । ठेकेदार कम्पनीले उक्त ट्रयाक राखेपलाई हस्तान्तरण गर्न बाँकी छ ।

‘सेन्थेटिक ट्रयाक’ निर्माणका क्रममा राखेपले केन्द्रबाटै इञ्जिनियर तथा कर्मचारी टोली खटाएको थियो । लुम्बिनी प्रदेश र जिल्लास्थित खेलकुदका पदाधिकारीका अनुसार निर्माण गर्ने छुट्टै अनुगमन समिति नहुँदा ठेकेदार कम्पनीले मनपरी काम गर्दै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाक निर्माणका क्रममा खटिएका प्राविधिक टोली काठमाडौँमा रहेको र आफू यस विषयमा अनविज्ञ रहेको बताए ।

‘कामको प्राविधिक भाग हेर्ने निकाय काठमाडौँमा हुनुहुन्छ । हामीले यहाँ हेर्दा ठेकेदारले काम गरेकै देखिन्थ्यो । कहाँनेर के कुरा नमिलेर ट्रयाक उप्कियो, हामी पनि अनविज्ञ छौँ’, उनले भने, ‘यो खेलप्रेमीका लागि मात्र नभई राखेप लजिज्त हुनुपर्ने विषय बन्न पुग्यो ।’

ट्रयाक उप्किएको विषयमा राखेप केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको चन्दले बताए । उनले भने, ‘मैले यो विषयमा राखेपलाई जानकारी गराई सकेको छु । माथिबाट विज्ञ टोली आएर छानविन गरेपछि वास्तविक पत्ता लाग्ला ।’

जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले खेल क्षेत्रको विकासका लागि राखेप जिम्मेवार नभएकै कारण संरचना नबन्दै भत्कने गरेको बताए ।

‘एक महिनामै ‘सेन्थेटिक ट्रयाक’ उप्कनुले राखेपको गैरजिम्मेवारीपन प्रष्ट दखिएको छ” उनले भने, ‘करोडौंको ठेक्कामा गुणस्तरलाई मध्यनजर गर्न आवश्यक थियो । गुणस्तरमा ध्यान नदिएकै कारण आज नेपालगञ्ज रङ्गशालाको यो दुर्दशा हुन पुगेको हो ।’

राखेपले सन् २०२३ मार्च २३ मा उक्त ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न रु नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ मा ठेक्का सम्झौता गरेको थियो । सो कम्पनीले सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको हो ।

भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको बिहानीका करिब दुुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतित गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको बताए ।

उनले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराए । खेलाडीहरुले त्यसका लागि प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए ।

भलिबल खेलको विकासका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे । ‘सरकारको ढुकुुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौँ । आगामी खेलमा जित्छौँ, जुन तपाईंहरुको मनोबल छ, त्यो साकार होस्’, उनले भने,’हामीले खेल खेल्ने जित्नकै लागि हो, त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’

प्रधानमन्त्री ओलीले गत महिना रुसी महिला भलिबल खेलाडीहरुले आफूूसँगकोे भेटमा नेपाली टोलीको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टोलीको सम्भावना लुकेको बताए ।

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । सोमबार उनीहरुबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

भेटले नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा आफूले गरेको परराष्ट्रमन्त्री राणाले बताएकी छिन् । भेटपछि उनले भनेकी छन्, ‘भारतीय विदेशमन्त्री श्री एस. जयशङ्करसँग आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।’

परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा गएकी हुन् । उनले आजै भारतीय प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताइएको छ ।

लमजुङमा एकवर्षमा ३८ हजार मेट्रिकटन आलु उत्पादन

लमजुङ । लमजुङ जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजयराज पौडेलले अघिल्लो वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल घटे पनि आलु उत्पादन वृद्धि भएको बताए ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई हजार छ हेक्टर क्षेत्रफमा २१ हजार नौ सय ३९ मेट्रिकटन आलु उत्पादन भएको थियो । सूचना अधिकारी पौडेलका अनुसार आव २०७९/८० मा प्रतिहेक्टर ११ टन आलु उत्पादन भएको थियो । आव २०८०/८१ मा प्रतिहेक्टर १६ दशमलव ५७ टन आलु उत्पादन भएको छ ।

आव २०७८/०७९ मा एक सय हजार नौ सय ३६ हेक्टर क्षेत्रफल जमिनमा गरिएको आलु खेतीबाट २१ हजार एक सय मेक्ट्रिकटन उत्पादन भएको थियो । आव २०७७/७८ मा १९ हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेति गरिएकामा २० हजार नौ सय २९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा आलु खेती विस्तार गर्न ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको छ । गत आवदेखि जिल्लाका तीन स्थानीय तहमा खायन जातको आलु खेती विस्तार गरिएको छ । गत आवमा कृषि ज्ञान केन्द्रमार्फत सुन्दरबजार नगरपालिका–१०, राइनास नगरपालिका– ३, ४ र ६ र मध्यनेपाल नगरपालिका–४ र १० का कृषक समूहसँग सम्झौता गर्दै आलु खेती विस्तार गरेको थियो ।

निर्वाहमुखी आलु खेती गर्दै आएका कृषकहरु गत आवदेखि व्यावसायिक हुन थालेका छन् । रैथाने र उन्नत जातको आलु उत्पादन बढी हुने भएकाले प्रदेश सरकारले गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन वृद्धि गर्ने गरी कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ ।

कार्यक्रमअन्तर्गत कृषकलाई उन्नत जातको आलुको बीउ, सिँचाइ सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ । जिल्लामा आलु उत्पादन हुँदै आए पनि उपभोगका लागि बाहिरी जिल्लाबाट समेत ल्याइने गरिएको छ ।

जिल्लाको सुन्दरबजार, राइनास, बेँसीसहर र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । मस्र्याङ्दी, दुधपोखरी र क्व्हेलासोथार गाउँपालिकालाई वर्खे आलुको मुख्य पकेट क्षेत्र मानिएको छ । जिल्लामा कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलु खेती किसालने गर्दै आएको किसानको भनाई छ ।

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा  ३० करोड २३ लाख २६ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो ।

आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए ।

‘साउनमा  ३२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व संकलन भयो, लक्ष्यअनुसार राजस्व संकलन भएन,’उनले भने ।

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत  दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत  ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत रु छ करोड ८९ लाख ३७ हजार राजस्व संकलन गरेको छ ।

गत आव २०८०/८१ को पहिलो महिनामा  २८ करोड ९६ लाख राजश्व संकलन भएको कर अधिकृत आचार्यले बताए ।

महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ । डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा महिला समूहमा आबद्ध ७३ परिवारलाई दुई सय १९ बाख्रा वितरण गरिएको दलित महिला सङ्घ बाँकेकी अध्यक्ष निर्मला सुनारले जानकारी दिइन् ।

“विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई बाख्रापालनको माध्यमबाट आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको हो”, उनले भनिन्, “प्रतिपरिवारलाई तीनका दरले बाख्रा वितरण गरिएको छ ।”

गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र चाँडो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको उनको भनाइ छ । बाँकेको हिरमिनिया र होलिया क्षेत्र कृषि तरकारी तथा पशुपालनको पकेट क्षेत्रका रुपमा रहेको छ । निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानलाई सीप र बजारीकरणमा सहयोग गर्दै व्यावसायिक बनाउन प्रोत्साहनका लागि बाख्रा वितरण गरिएको सुनारको भनाइ छ ।

होलिया र हिरमिनियाका गाउँबस्तीमा गठन भएका महिला समूहमा आबद्ध किसानलाई बाख्रापालन परियोजनाअन्तर्गत बाख्रा सहयोग गरिएको अध्यक्ष सुनारले जानकारी दिइन् । निःशुल्क रुपमा आफ्नै गाउँघरमा तीन बाख्रा पाएपछि स्थानीय खुसी भएका डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्राले बताए । उनले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक उन्नतिमा बाख्रापालन सहयोगी बन्ने अपेक्षा गरे ।

दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत तथा सेवामा पहुँच अभिवृद्धि गर्न समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार संस्थाले सहयोग गर्दै आएको दलित महिला सङ्घकी परियोजना संयोजक दिलासा गौतमले बताइन् ।

उनका अनुसार दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तीकरण गराउँदै वडा एवं गाउँपालिका स्तरका संरचनामा सहभागी बनाउन जिल्लाको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ सदस्य रहेका ५४ महिला समूह गठन गरेर दलित महिला सङ्घ बाँकेले काम गरिरहेको छ ।

खोटाङका धार्मिकस्थलमा धामीझाँक्री मेला

खोटाङ । बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर ११

पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!
सै राजा सै सै, सै रानी सै सै…

यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थलमा ढोलेतालेसहित धामीझाँक्री नाचिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाउनाका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् ।

गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थलमा नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् ।

महिनादिनसम्म गुप्तवास बसेका धामीझाँक्री आज बिहानदेखि जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा भेला भएका छन् । बराहपोखरी, भुलभुले दूधकुण्ड, साप्सुधाप, कान्छी सालपा, भालुखोला, होङ्मा पोखरी, जन्तेढुङ्गालगायत धार्मिक तथा पर्यटकीयस्थलमा बिहानदेखि धामीझाँक्रीको बृहत् मेला लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

धार्मिक तथा पर्यटकीयस्थलमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिएको छ । धार्मिक मेला भर्न आउने सर्वसधारणका लागि होटल तथा पसलसमेत सञ्चालन गरिएका छन् ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नाका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवं पर्यटकीयस्थल भालुखोलामा आइतबारदेखि नै धार्मिक मेला लागेको छ ।

ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बूढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम राईले बताए ।

श्रावण शुल्क पूर्णिमाको अवसरमा बर्सेनि ठूलो मेला लाग्ने धार्मिक एवं पर्यटकीयस्थल भालुखोलामा विभिन्न मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । श्रावण शुल्क पूर्णिमाका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले पनि धार्मिक तथा पर्यटकीयस्थलमा लाग्ने धार्मिक मेला हेर्न तथा पूजाआजा गर्ने दर्शनार्थी एवं भक्तजनको सङ्ख्या वृद्धि भएको हो ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा गएर दिनभर नाचगान गरेका धामीझाँक्री बेलुका घर फर्किएर सामूहिक तथा एकल रुपमा देवीदेवताको पूजाआरधानासहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गर्छन् ।

त्यस अवसरमा छरछिमेकका स्थानीय बासिन्दाले धामीझाँक्रीको शिर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम) समेत गर्ने प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताए ।

पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लास्थित दशवटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्थलको स्तरोन्नति तथा प्रवद्र्धन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दूधकुण्डको स्तरोन्नति गरेको छ ।

सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ ।

पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति तथा संरक्षण एवं प्रवद्र्धनको माग बढिररहेको छ । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आ–आफ्नो ऐतिहासिकस्थल संरक्षणमा जुटेका छन् ।

प्रयोगविहीन हुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो । 

विसं २०७८ वैशाखमा  २८ करोड ८१ लाख लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

उनले भने, “होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन । एक पटक रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भएको थियो । सोबारे भएका छलफल वा निर्णय हालसम्म स्थानीय प्रशासनलाई जानकारी छैन ।”

प्रजिअ मिश्रले नेपाली सेनाद्वारा निर्मित उक्त सेन्टर सञ्चालनको ढाँचा र जिम्मेवारी रक्षा मन्त्रालयबाट आउनुपर्नेमा हालसम्म नआउँदा स्वामित्व हस्तान्तरण हुन नसकेको बताए ।

उनका अनुसार एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ ब्लक, २० क्वारेन्टिन, दुई चिकित्सक कक्ष, २२ शौचालय तथा १५ वटा भान्सा कोठा निर्माण गरिएका छन् । होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको प्रजिअ मिश्रले जानकारी दिए । 

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेशकार्यादेश

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना अभियन्ता केन्द्रीय सदस्यका लागि कार्यादेश तोकेको छ । यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चारमहिने अभियानको उद्घाटन गर्न लागेको जसपाले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्नेगरी केन्द्रीय सदस्यको कार्यादेश तय गरेका हुन् । त्यसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने केन्द्रीय सदस्य बस्नेतले बताए ।

उनले भने, “विभिन्न राजनीतिक दलहरुसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति÷समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेदलगायत विषयको उजागर गर्ने कामसमेत अभियन्ताले गर्नेछन् ।”

पार्टीका चार सय १५ केन्द्रीय अभियन्तालाई पार्टीको आदर्श सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य, समाजवादी लोकतन्त्रको अवधारणाबारे र समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको दृष्टिकोण प्रष्ट्याउने गरी केन्द्रीय नेतालाई अभियानमा खटाइने भएको छ । चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनि निर्धारण गरेको छ ।

जसपा नेपालको गएको साउन ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यलाई अभियन्ताका रुपमा चार महिना पालिकामा सङ्गठन निर्माणका लागि खटाउने निर्णय गरेको केन्द्रीय सदस्य बस्नेतले बताए ।

अमेरिकी विदेशमन्त्री भन्छन्-गाजा वार्ता युद्धविरामका लागि ‘सम्भवतः अन्तिम’ मौका

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन् ।

ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा भने, “यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो ।”

शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालार्ई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको बताएका छन् ।

उनले भने, “यो काम पूरा गर्ने समय हो । कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् भन्ने पनि सुनिश्चित गर्ने समय आएको छ । त्यहाँ कुनै आक्रमणमा वृद्धि नहोस्, उत्तेजना नहोस्,सम्झौता प्राप्त गर्नबाट टाढा सार्न सक्ने कुनै पनि कार्यहरू नहून् भन्ने सुनिश्चित गर्न आवश्यक छ ।”

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

इरान र लेबनानी सशस्त्र समूह हेजबुल्लाहले हालै दुई लडाकू नेताको हत्याको बदला लिने चेतावनी दिएपछि इजरायलमा यो ‘डरलाग्दो क्षण’ भएको र क्षेत्रीय तनाव बढाउने कुनै पनि कदम नचाल्न अमेरिकी विदेशमन्त्री ब्लिङकेनले चेतावनी दिएका छन् ।

गाजामा अक्टोबर ७ मा भएको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरूलाई जतिसक्दो चाँडो फिर्ता गर्नु इजरायली सरकार र नागरिकको चाहना रहेको राष्ट्रपति हर्जोगले बताए ।

हर्जोगले ब्लिन्केनलाई भने, “हाम्रा बन्धकहरूलाई फिर्ता ल्याउनुभन्दा ठूलो मानवीय उद्देश्य र कारण अरू केही छैन ।”

गुल्मीका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित

गुल्मी । गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।

कफीखेतीबाट बाँदर, बँदेलजस्ता वन्यजन्तुको समस्या नहुने भएका कारण किसानको रोजाइ मकै र कोदोभन्दा कफीखेतीमा परेको हो । प्रधानमन्त्री तथा कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइले किसानलाई व्यावसायिक रुपमा कफीखेती गर्न प्रेरित गर्दै आएको छ ।

परियोजनाले किसानलाई कफीको उत्पादन गर्ने तरिका र त्यसको महत्व तथा फाइदाका बारेमा जानकारी गराउँदै कफीखेतीका लागि बिरुवा, मल, नेटजालीलगायत सामग्री उपलब्ध गराउन थालेपछी त्यहाँका किसानलाई कफीखेती गर्न थप सजिलो भएको छ ।

मकै कोदोजस्ता परम्परागत खेती गर्दै आएका किसानका लागि कफीखेतीले थप आशा जगाएको छ । परम्परागत खेतीबाट बाँदर, बँदेल, दुम्सी तथा चराचुङ्गीबाट खेती जोगाउन हैरानी खेप्दै आइरहेको अवस्थामा कफीखेती त्यहाँका किसानका लागि उपयुक्त खेती बनेको हो ।

कफी खेतीका लागि सिर्सेनीमा ३० घरधुरी मिलेर तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन् । चार वर्षअघि गठन भएको उक्त समूहमार्फत सिर्सेनीका प्रत्येक घरधुरीमा व्यावसायिक रुपमा कफीखेती सुरु गरिएको छ ।

त्यहाँका प्रत्येक किसानको बारीमा ५० देखि दुई हजारसम्म कफीका बोट छन् । चार वर्षअघि रोपेका बोटले फल दिन सुरु गरिसकेको सिर्सेनी टोरेटाका किसान मेघलाल अर्यालले बताए ।

अर्याल त्यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने किसान हुन्। अर्यालको बारीमा यतिबेला दुई हजारभन्दा बढी कफीका बोट छन् । लगाएका बोटमध्ये कतिपय कफीका बोटले आम्दानी दिन सुरु गरेको उनले बताए ।

‘विगतमा मकै र कोदो रोप्दै आएका बारी अहिले सबै कफीले ढपक्क ढाकेको छ’, उनले भने, ‘दश रोपनी जग्गामा सबै कफी लगाएको छु, मैले कफी लगाएपछि अरू किसानलाई पनि उत्प्रेरणा जागेको छ ।’

अर्याल जस्तै अर्का कफी कृषक शशिधर अर्यालले पनि अन्य खेतीको तुलनामा कफीखेतीले किसानमा नयाँ आशा जगाएको बताए।

प्रधानमन्त्री तथा कृषि आधुनिकीकारण परियोजनाका प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक रुपमा कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट किसानलाई बिरुवा, मल, सिँचाइ, छहारी व्यवस्थापन, नेटजालीलगायत सामग्रीका लागि अनुदान उपलब्ध गराउँदै आएको बताए । किसानलाई कफी पाठशालामार्फत समय–समयमा प्राविधिक ज्ञान उपलब्ध गराउने गरेको पोख्रेलले जानकारी दिए।

जिल्लामा कफीखेतीमा किसानको आकर्षण बढे पनि समय–समयमा कफीमा देखिने गरेको सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटमा क्षति पुग्ने गरेको किसानको गुनासो छ । कफी उत्पत्तिको जननी जिल्ला भनेर चिनिने गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ ।

जिल्लामा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकारण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र भण्डारीडाँडा, स्थानीय तहलगायत कार्यालयले कफीखेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

मङ्कीपक्स सङ्क्रमण फैलिन नदिन मन्त्रालयले सातवटै प्रदेशमा तोक्यो अस्पताल र चिकित्सक

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन’, उनले भने ।

उनले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ ।

मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालिन् घोषणा गरेको छ ।

सर्ने तरिका

मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

लक्षण

मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ ।

फिल्म ‘देववाणी’ को पहिलो गीत ‘तिमीलाई सधैं भरी’

काठमाडौं । निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । फिल्म यसै वर्षको मंसिर ७ गते रिलिज हुँदैछ ।

गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ । भारतमा खिचिएको गीतमा फिल्मका नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा तेन्जु योञ्जनको कोरियोग्राफी छ । गीतमा भारतका सुन्दर लोकेसन देख्न सकिन्छ ।

कार्यक्रममा फिल्मको टिजर र अर्को एक गीत पनि सार्वजनिक गरिएको थियो । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको अभिनय छ ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, सत्यम रानाको भीएफएक्स, बन्दे प्रसादको टिजर र ट्रेलर, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।

फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

रुसी भूमिको अर्को पुल ध्वस्त पारिदिएको युक्रेनी दाबी

बीबीसी । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रणनीतिक महत्त्व भएको दोस्रो पुल पनि ध्वस्त पारिएको जनाएको छ । उक्त क्षेत्रमा आकस्मिक आक्रमण गरेपछि युक्रेनले त्यहाँ सैन्य कारबाहीलाई निरन्तरता दिएको छ ।

युक्रेनी सेनाले आइतबार ज्भानेस्थित सेम नदीमा रहेको पुलमा गरिएको हमलाको हवाई भिडियो सार्वजनिक गरेको थियो । त्यसको केही घण्टापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलेले कुर्स्क क्षेत्रमाथिको सैन्य आक्रमणको उद्देश्य रुसी हमलालाई रोक्न एउटा ‘मध्यवर्ती क्षेत्र’ स्थापना गर्नु भएको बताए ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि धावा बोलेयता रुसी भूभागमाथि युक्रेनले गरेको सर्वाधिक ठूलो आक्रमण अब दुई साता पुग्न लागेको छ । ‘अर्को एउटा पुल घट्यो,’ युक्रेनी वायुसेनाका कमान्डर लेफ्टिनन्ट जेनरल मिकोला ओलेश्चुकले सामाजिक सञ्जालमा हमलाको फुटेज पोस्ट गर्दै लेखेका छन् । उनले युक्रेनी वायुसेनाका विमानहरूले अचुक निसानासहित हवाई हमला गरेर शत्रुको बन्दोबस्ती क्षमता कमजोर पारिरहेको जनाए ।

उक्त भिडियोमा सो पुलमाथि धुवाँको ठूलो मुस्लो उठेको र पुलको एउटा भागमा क्षति पुगेको देखिन्छ। सो हमला कहिले भएको थियो त्यो स्पष्ट भइसकेको छैन । गत साता युक्रेनले ग्लुस्कोभोनजिकै सेम नदीमा रहेको एउटा पुललाई नष्ट गरिदिएको थियो । क्रेम्लिनले रुसी फौजका लागि सरसामान आपूर्ति गर्न उक्त पुलको प्रयोग गर्दै आएको थियो ।

यसअघि सैन्य विश्लेषकहरूले आफ्ना फौजलाई सामान आपूर्ति गर्न रुसले प्रयोग गरेका तीनवटा पुल त्यस क्षेत्रमा भएको पहिचान गरेका थिए। तीमध्ये दुईटा ध्वस्त भएका छन् वा तिनमा गम्भीर क्षति पुगेको रोएटर्स समाचारसंस्थाले जनाएको छ ।

युक्रेनी सैनिकहरू सीमा नाघेर रुसी भूभागमा प्रवेश गरेको दुई साता पुग्दा उनीहरू त्यहाँ बस्ने योजनामा रहेको स्पष्ट भएको छ । शनिबार राष्ट्रपति जेलेन्स्कीले आफ्ना सैनिकहरूले कुर्स्कमा नियन्त्रण कायम गरेको र उनीहरू रुसी भूमिमा अझ फैलिरहेको बताएका थिए ।

उनले यो युक्रेनका लागि ‘प्रतिरक्षा मात्रै नभएको’ भन्दै आक्रमणको उद्देश्य ‘यथासम्भव युद्ध गर्न सक्ने रुसको सामर्थ्यलाई नष्ट गर्ने र अधिकतम प्रत्याक्रमण’ गर्नु भएको बताए । युक्रेनमाथि थप रुसी हमलाहरू रोक्न ‘आक्रमणकारीको भूभागमै मध्यवर्ती क्षेत्र बनाउने’ उद्देश्य पनि भएको उनले बताए ।

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोलियाकले रुसी भूमिमा कब्जा गर्ने इच्छा युक्रेनको नरहेको भन्दै वार्ताका लागि रुसलाई मनाउन आफूहरूले चाहेको बताए । मस्कोले उक्त आक्रमणलाई उत्तेजनात्मक कदम भन्दै त्यसको ‘उपयुक्त जवाफ’ दिने बताएका छन् ।

पश्चिम रुसको भूभागतर्फ युक्रेन अझ अघि बढिरहँदा युक्रेनको पूर्वी भागमा रुसी सुरक्षाबलले नियन्त्रण कायम गरिरहेका छन् र हालैका साताहरूमा कैयौँ गाउँमाथि दाबी गरेका छन्।

जाजरकोटमा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु

कर्णाली । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।

बझाङको बुङ्गलमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

बैतडी । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उनले बताइन् । उनले भनिन्, “चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।”

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

जनैपूर्णिमाका दिन देवघाटमा श्रावणी स्नान गर्नेको घुइँचो

जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ ।

तस्बिर: सनद अधिकारी/रासस

म्याग्दीमा जग्गा किनबेचको विवादमा महिलाको हत्या

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

२०८३ भदौसम्म पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान हुन्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ ।  नेपाल उद्योग परिसङ्घ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । 


आइतबार सिंहदरबारमा पर्यटनमन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको छ । 


यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिइएको थियो । 


सो अवसरमा पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए । 


उनले विसं २०८३ भदौसम्ममा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान हुनेगरी काम गरिरहेको जानकारी दिए । नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने उनको भनाइ थियो ।


परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि नयाँ नीति ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपायसमेत सुझाए ।


     छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राति १२ बजेसम्म गर्न उनले आग्रह गरे । उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए ।


सो अवसरमा परिसङ्घ पर्यटन समिति सभापति पम्फा धमला, सदस्य हिक्मत सिंह ऐर, तिलक लामा, दीपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

साफ यू–२० मा नेपालको विजयी सुरुवात

काठमाडौं । आइतबारदेखि सुरु भएको साफ यू–२० फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई १–० गोलले पराजित गर्यो ।

नेपालको जितमा निराजन धामीले २४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो नजितासँग दुई पटकको च्याम्पियन नेपाल ३ अंकसहित समूह ए को शर्षि स्थानमा छ ।

पाहुना टोली श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब नेपालले आगामी बिहीबार हुने आफ्नो लिगको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्नेछ । श्रीलंकाले भने मंगलबार बंगलादेशको सामना गर्नेछ । भोलि समूह बी अन्तर्गतको पहिलो खेलमा भुटान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

परराष्ट्रमन्त्री राणा पाँच दिनका लागि भारत प्रस्थान

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी हुन् ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा जेल चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

झामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा नेताहरूसँग कुरा मिलाएको आरोप थियो । यो प्रकरणमा आफ्नो नाममा दुई करोडको चेक दिएका रामशरण केसीसहितलाई पनि उनले नचिन्ने बयान दिएका थिए । यो प्रकरणका अन्य अभियुक्तहरू जेलमा रहे पनि उनी फरार थिए ।

झालाई असार १४ गते कञ्चनपुरबाट पक्राउ गरिएको थियो । झामाथि बिचौलियालाई गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप थियो ।