ताप्लेजुङ गोल्डकपमा सङ्घर्ष स्पोटिङ युवा क्लबको विजय सुरुवात


फुङ्लिङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणअन्तर्गत सोमबार भएको उद्घाटन खेलमा सङ्घर्ष स्पोटिङ युवा क्लबले विजय सुरुवात गरेको छ । कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत) लाई पराजित गर्दै क्लबले विजयको सुरुवात गरेको हो ।
सङ्घर्ष स्पोटिङ युवा क्लबले कञ्चनजङ्घा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गरेको हो । यस जीतसँगै सङ्घर्ष स्पोटिङ युवा क्लबले प्रतियोगितामा विजय सुरुवात गरेको छ । यो क्लबले भदौ ५ गते रूपन्देही र मोरङबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।
यता, कञ्चनजङ्घा फुटबल क्लब, सिलगुडीको खेलयात्रा भने यसै खेलसँगै समाप्त भएको छ । मङ्गलबारको खेलमा पाँचथर र सलहेश युवा क्लब, सिरहा आमनेसामने हुनेछन् ।
लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले भानु जनमाध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको गोल्डकपको विजेताले नगद पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।