`

बेगनासतालमा सरसफाइ अभियान

गण्डकी । पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला बुधबार बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए।

केन्द्रका संरक्षक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै यस किसिमका कार्यक्रमले सरसफाइप्रति सर्वसाधारण जागरुक हुने विश्वास व्यक्त गरे ।

आजको सरसफाइ बेगनासताल अगाडिको उद्यान, बाँध हुँदै तालको किनार र आसपास केन्द्रित गरिएको थियो । सरसफाइमा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका अगुवा, स्थानीय पर्यटन व्यवसायीलगायत सहभागी थिए ।

त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न गृहमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा लागि व्यवस्थित प्रवन्धन गर्न माग गरेकी छन् ।

बुधबार बिहान सामाजिक संजालमार्फत शिक्षामन्त्री भट्टराईले प्राध्यापकहरुलाई धम्की आउने क्रम नरोकिएकाले सुरक्षाको प्रवन्ध गर्न गृहमन्त्रीसँग माग गरेकी हुन् ।

उनले भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाइ छैन यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’

शिक्षामन्त्रीले आवेगमा आएर सार्वजनिकरुपमा यस्तो अपील नगरेको बताएकी छन् । उनले भनेकी छन्, ‘यहाँहरुले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपील गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’

माओवादी सत्ताको खेलमा लाग्दैनः उमहासचिव पुन

दाङ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताएका छन् । प्रेस सेन्टर दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने बताए ।

‘हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ, सधैँ सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ’, उपमहासचिव पुनले भने,’त्यसक्रममा आफ्ना कमजोरी जनतालाई भन्ने छौँ र सुधारको बाटोमा अघि बढ्ने छौँ ।’

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेकाले त्यसबाट जनता खुसी भएको उनको दाबी छ ।

वर्तमान सरकारले संविधान संशोधनको नारा लगाएको र समानुपातिक समावेशीलाई संशोधन गर्न खोजे त्यसको जनस्तरबाटै विरोध हुने भन्दै पुनले सकारात्मक उद्देश्यसहित संशोधन गर्ने कार्यलाई भने स्वीकार गर्न सकिने बताए ।

सङ्खुवासभाको खाँदबारीमा नेवार समुदायले यसरी मनाए गाईजात्रा

पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खांदबारीमा नेवार समुदायले पितृहरुको सम्झनामा निकालिएको गाईजात्रामा सहभागी र लाखेहरु ।

तस्बिरः सुजन बज्राचार्य/रासस

नेपाल एक खेलअगावै साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेलअगावै साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो । श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । नेपालले अब समूह चरणको अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्ने छ। यो खेलको जित्ने टोली नै समूहविजेता हुनेछ, जसले अर्को समूहको उपविजेतासँग खेल्नेछ ।

बाढी, पहिरोमा परी १९० जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी मंगलबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ । 

विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहीले जानकारी दिएको छ । 

मंगलबार नेपाल प्रहरीले जारी गरेको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ३८ जना घाइते भएका छन् । 

साथै  काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी एक  सय १४ जनाको उद्दार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् । 

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय २७ वटा घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

साथै विपद्मा परी आठ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय १९ घर परिवार विस्थापित भएका छन् ।

मध्यरातमा दुई नेताले गरेको हस्ताक्षरले समाधान दिँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा स्वच्छता नभएसम्म जनताका लागि केही गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको द्वितीय स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन् ।

उनले भने, ‘राजनीतिमा निष्ठा र नैतिकताको विषय छ । तर कता कता एउटा विषय छुटे जस्तो लाग्यो । जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, सर्मपण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशको निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौं ।’

अध्यक्ष नेपालले गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताए । उनले मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर देशमा केही नहुने जिकिर गरे ।

उनले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ । सबैभन्दा पहिले आफूले गरेका गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ । मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन ।’

कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले दुई दलको सहमतिमा शंका नगर्न आग्रह गरेका हुन् ।

उनले दुई दलको सहमति अरु पार्टीको खिलाप नभएको भन्दै शंका नगर्न आग्रह गरे । उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ । हामीले संविधान संशोधन भनेका छौँ । यो अरु पार्टीको खिलाप हुँदै होइन ।’

उनले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए । सभापति देउवाले प्रदीप गिरी ज्ञानको भण्डार रहेको बताए ।

गाजाबाट ६ बन्धकको शव बरामद

इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट ६ बन्धकको शव बरामद गरिएको जनाएको छ ।

बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मङ्गलबार बिहान मृत घोषणा गरिएको थियो ।

गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकहरूको परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
मृत बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका परिवारको पर्खाइको समय सकिएको ‘होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले विज्ञप्तिमार्फत जनाएको छ ।

फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत् फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ । यसैक्रममा इजरायली सरकारले मध्यस्थकर्ताहरूको सहयोगमा हालको सम्झौतालाई अन्तिम रूप दिन लागि पर्न समेत सुझाव दिएको छ ।

इजिप्ट, कतार अमेरिकालगायतका मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन् ।

मङ्गलबार बरामद गरिएका छ वटा शवहरूमध्ये मेट्जर, पेरी र डान्सिग पनि गाजा नजिकैको समुदाय निर–ओजका थिए जुन आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो । प्यालेस्टिनी इलमिक कट्टरपन्थी समूहले मुन्दर, उहाँकी श्रीमती, छोरी र नातिसमेतलाई अपहरण गरेका थिए ।

परिवारका अन्य सदस्यहरू नोभेम्बरको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा भएका थिएभने उनका छोरा आक्रमणकै दिन मारिएका थिए ।

इजरायली आधिकारिक तथ्याङ्क अनुसार हमासको आक्रमणमा अधिकांस नागरिक सहित इजरायलमा एक हजार १९९ जनाको मृत्यु भएको थियो ।

त्यसैक्रममा बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजामा बन्धक अवस्थामा रहेको र ती मध्येका ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

इजरायलको जवाफी अभियानले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाएको छ ।

भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित

उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौं बालबालिकाहरू बिद्यालयको पहँुचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ ।

जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तरपश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ । बर्षाका कारण लगभग २९ हजार घरहरू क्षतिग्रस्त हुनुका साथै ९० हजार हेक्टर बाली नष्ट भएको भियतनामको सामान्य तथ्याङ्क कार्यालयले जनाएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार सोन ला प्रान्तमा करिब १.३ मिलियन मानिस प्रभावित भएका छन्, भने बाढीले ग्रामीण इलाकामा पुल र सडकहरू क्षतिग्रस्त भएको जनाएको छ ।

भियतनामका विपद् अधिकारीहरूका अनुसार यस क्षेत्रमा बर्षाका कारण ११ जनाको मृत्यु हुनुका साथै करीव दुई हजार ६७० घर तथा २९ वटा विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन् ।

सेभ द चिल्ड्रेनले सेप्टेम्बरमा विद्यालय फर्किन चार हजार ५०० बालबालिकाले सुरक्षा चुनौति सामना गर्नुपर्ने जनाएको छ ।

परोपकारी संस्थाका अनुसार सोन ला प्रान्तको एक विद्यालयका प्रिन्सिपल हा कङ मिन्हले विद्यालय जाने बाटो तथा पुलहरु बर्षाका कारण क्षति ग्रस्त भएकाले बालबालिका विद्यालय जानका लागि असहज भएको उल्लेख गर्नुभएको छ ।

बाढीका कारण वर्षको पहिलो सात महिनामा करिब आठ करोड ५० लाख डलरको क्षति भएको भियतनामको तथ्याङ्क कार्यालयले जनाएको छ ।

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ ।

वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोेषणा गरिएको हो ।

लिबरल डेमोक्र्याटिक पार्टीको अर्को अध्यक्ष बन्ने अभियान सेप्टेम्बर १२ मा मतदानसहित सुरु हुने आन्तरिक समितिले मङ्गलबार निर्णय गरेको पार्टी अधिकारीले बताएका छन् ।

सन् २०२१ को अक्टोबरदेखि सत्तासिन रहेका किशिदाले बढ्दो मूल्यलगायतका काण्डपछि भएका समीक्षामा उनीप्रतिको विश्वासमा गिरावट आएको देखिएको हो ।

यद्यपि किसिदाले सत्तामा रहँदा विदेशी सहयोगीको विश्वास जितेका थिए । रूसको आक्रमणपछि अमेरिकी प्रोत्साहनका साथ युक्रेनको पक्षमा निर्णायकरूपमा उभिएका थिए भने जापानी रक्षा नीतिलाई अझ बलियो बनाउने र चीनको सामना गर्ने पक्षमा अघि बढेका थिए ।

आगामी प्रतिस्पर्धामा पार्टीका दिग्गजदेखि उदीयमान युवासहित तीन महिला उम्मेदवारको सम्भावना रहेको र उनीहरू पार्टीभित्र समर्थन जुटाउन पहल गरिरहेको बताइएको छ ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा भएको मत विभाजनमा उनको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो । लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ।

गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

लोप हुँदै हरेलो संस्कृति

गण्डकी । कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ ।

यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिने काठको टुक्रा राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा झुण्ड्याएर खेतमा गाडिदिने चलन छ । यसो गरेमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलाग्ने, अन्न राम्रो उत्पादन हुने विश्वास गरिन्छ । यो संस्कृतिलाई धानबाली संरक्षण गर्ने पर्वका रुपमा समेत लिने गरिएको छ ।

विगतमा हरेलोका दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिएको देखिन्थ्यो । अहिले त्यो संस्कृति हराउने क्रममा रहेको पोखरा महानगरपालिका–३३ का अगुवा किसान रमेश आचार्यले जानकारी दिए ।

उनका अनुसार कास्कीका सुरौदी र आसपासका क्षेत्रमा हरेलो गर्ने प्रचलन कायमै रहेपनि अधिकांश स्थानमा हराइसकेको छ । सामान्यतः भदौको पहिलो मङ्गलबारसम्म अधिकांश खेत रोपिसक्ने भए पनि कुनै कारणवश रोप्न बाँकी भएमा हरेलो सार्ने प्रचलनसमेत रहेको आचार्यले बताए । उनले भने, “अहिले उन्नत जातका धान रोप्ने प्रचलनले रोपाइँ चाँडै हुने हुँदा हरेलो सार्नुपर्ने अवस्था छैन ।”

हरेलो संस्कृतिबारे पुरानो पुस्ता जानकार भए पनि पछिल्लो पुस्ताका लागि अनौठो बन्दै गएको उनको भनाइ छ । धान खेतीका साथै घर वरपर लगाइने लहरे तरकारीलाई मुसाले नकाटोस् भन्ने कामना गर्दै अन्नसहितको मकैको खोस्टामा बाँधिएको पोका झुण्ड्याउने प्रचलन थियो । युवा पुस्तामा यो संस्कृतिको जानकारी नहुनाका साथै कृषिप्रतिको बढ्दो अनिच्छा तथा विदेश पलायन लगायतका कारण लोपोन्मुख बनेको बुढापाका बताउँछन् ।

यस संस्कृतिलाई धानको न्वारनका रूपमासमेत लिने गरिएको छ । हरेलो गरेपछि धानको न्वारन कर्म पूरा हुने र त्यसपछि मात्रै यो धान पूजाआजामा प्रयोग हुने प्राचीन जनविश्वासले यस पर्वको सांस्कृतिक महत्व बढाएको पाइन्छ ।

हरेलो गरिसकेपछि परिवारमा खुसीयालीसहित सेलरोटी, फुरौला, माछा मासुसहित दाल, भात, तरकारी, अचार जस्ता विभिन्न परिकार खाने र जोत्ने हलीलाई खुवाउने प्रचलन रहेको स्थानीय किसान रेशम कार्कीले बताए ।

हरेलोका दिन हलीलाई खुवाउने प्रचलन भए पनि पछिल्ला समयमा हलोको प्रयोग छोडेर ट्याक्टरको प्रयोग हुँदा उक्त परम्परा हराएको उनको धारणा छ । कृषिको व्यावसायिकीकरण एवम् आधुनिकीकरणले परम्परागत कृषिमा आधारित संस्कृति लोपहुँदै गएको उनको भनाइ छ ।

यस क्षेत्रमा प्राचीनकालदेखि असार १५ मा रोपाइँ गरी हिलो खेल्ने तथा दही चिउरा खाने, साउन १५ मा खिर खाने, भदौको पहिलो मङ्गलबार हरेलो गर्ने, मङ्सिर १ गते खलो पुज्ने, नयाँ धान भित्र्याएपछि न्वागी खाने जस्ता कृषिमा आधारित संस्कृति कायम छन् ।

अघिल्लो पुस्ताबाट पछिल्ला पुस्तामा प्राचीन संस्कार एवम् संस्कृति हस्तान्तरण हुन नसक्दा यस्ता संस्कृति लोप हुँदै गएका हुन् । पोखरा क्षेत्रमा विगतमा राम्रो धान फल्ने कुँडहर, पटनेरी, शिशुवा, मालमुल, राजाकोचौतारा, गगनगौँडा लगायतस्थानमा बस्ती विकाससँगै धानखेती हुने खेतहरू घडेरीमा परिणत बन्दै गएका छन् ।

पोखरा क्षेत्रमा २० वर्षको अन्तरालमा धेरै खेतीयोग्य जमिन घडेरीमा परिणत भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरभित्र हाल एघार हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ ।

म्याग्दीका किसानलाई नौ करोड अनुदान

म्याग्दी । चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँका किसानलाई अनुदान वितरण गर्न ९ करोड ६ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत ३ करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट २ करोड ५२ लाख २१ हजार र संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट ३ करोड २१ लाख ६८ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् । कुल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीन वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् ।

खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलले बताए ।

खायन आलु उत्पादन तथा प्रर्द्धन कार्यक्रमलाई १ करोड २० लाख ६ हजार, फलफूल बाली विकास र रैथाने बाली प्रवर्द्धन आयोजनाका लागि २१/२१ लाख, तरकारीबाली प्रवर्द्धन आयोजनाका लागि १५ लाख ५० हजार, पोषण सुरक्षण कार्यक्रमका लागि २० लाख, सुन्तला जात फलफूल विकास आयोजनालाई ६७ लाख रुपैयाँ विनियोजन भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मीले मासु, दूध, अण्डा उत्पादन वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम आएको बताए । पशुलाई पूर्ण खोप कार्यक्रमका लागि सबैभन्दा बढी ८० लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

यसैगरी बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रमलाई २० लाख, दूध उत्पादक किसानलाई अनुदानका लागि १० लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडापाडी हुर्काउने किसानका लागि ३ लाख, घुम्ती गोठ संरक्षणका लागि ४ लाख, बाँझो जग्गामा घाँसखेती गर्नेलाई ५ लाख, कृषि ऋणमा ब्याज अनुदान १ लाख, मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि ३ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि ६० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

बङ्गुरपालक किसानका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रिकरण र मासु पसल सुधारका लागि १८ लाख, सुन्तला जोन कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि १६ लाख, कृषि उपज संकलन केन्द्रलाई ८ लाख, बजारीकरणका लागि १५ लाख र यान्त्रिकरणका लागि १० लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रममा अधिकतम ८५ प्रतिशत, यन्त्र उपकरण, पाइप तथा ड्रम, बीउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले बताए ।

कृषिमा लगानी नगरी पाँच लाखलाई रोजगारी दिन्छु भनेर गफ नदिन सांसद थापाको चेतावनी

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले जनताको काम के गरेका छौं भन्दै प्रश्न गरेकी छन् । मंगलबार लुम्बिनी प्रदेशसभाको बैठकमा सांसद थापाले जनता यत्रो समस्या पर्दा पनि प्रदेशसभा बेखबर हुनु दुःखको विषय भएको बताएकी हुन् ।

उनले केन्द्रमा समीकरण बिग्रिदैमा प्रदेशमा पनि समीकरण परिवर्तन गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले यो सरकार पनि कति टिक्ने भन्ने निश्चित नभएको बताइन् । उनले मुख्यमन्त्रीले विश्वासको मत माग्दै गर्दा लुम्बिनी प्रदेशलाई उत्पादनबाट अघि बढाउने आश्वासन दिएको तर कृषिमा बजेट नछुट्याइएको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्,’केन्द्रमा तपाइँहरु यतिधेरै धाइरहनु भएको छ कि तपाइँले कसरी प्रदेशको विकास गर्न सक्नु हुन्छ ? बजेट छुट्याउने बेलामा भौतिक पूर्वाधारमा छुट्याउने अनि भाषण गर्दा चाहिँ उत्पादन बढाउँछौं भन्ने ? उत्पादन बढाउन त कृषिमा बजेट छुट्याउनु पर्यो नि । पाँच लाखलाई रोजगारी दिने भनेर मात्र हुन्छ ? साँचो कुरा मात्र बोल्नु ।’

उनले युवाहरुलाई झुटो आश्वासन दिने काम नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘अहिले दैनिक तीन देखि पाँच हजार युवा विदेश गइरहेका छन् । तपाईंहरु मन्त्री बन्न र कार्यालय सहयोगी राख्नसमेत केन्द्रमा धाइरहनु भएको छ । खै रोजगारी दिने नीति बनाएको ?’

उनले युवालाई विदेश पलायन रोक्ने काम नगरेसम्म सुशासनका कुरा नगर्न चेतावनी दिइन् ।

पाँचसय ३९ स्थानीय तह पूर्णरुपमा विद्युतीकरण

काठमाडौँ । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ ।  देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । 

हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको पाइएको छ ।  

नेपाल विद्युत् प्राधिकरणले मुलुकभरिका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययनगरी तयार पारेको विद्युतीकरण तथ्याङ्क २०८१ अनुसार, कूल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् सेवा पुगेको छ ।

विद्युत्का ग्राहक सङ्ख्या सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । विद्युतको पहुँच पुगेको जनसङ्ख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिरबाट बिजुली उपभोग गरिरहेका छन् ।

सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ९० स्थानीय तहमा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छभने ७२ स्थानीय तहमा ७५ देखि ९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । कूल ३३ प्रतिशत स्थानीय तहमा ५० देखि ७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५ देखि ५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा २५ प्रतिशतसम्म विद्युतीकरण भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षभित्रमा सबैका घरमा  भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने सरकारको घोषणालाई कार्यान्वयन गर्नेतर्फ आफूहरू लागेको बताए ।

‘आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो, अहिले ९९ प्रतिशत पुग्नु यो अवधिमा हासिल भएको महत्वपूर्ण उपलब्धि हो, प्राधिकरण आफैँ विद्युत् नपुगेका घर खोज्दै विकट बस्तीबस्ती पुगिरहेको छ’, उनले भने, ‘विद्युत् पुगेका ठाउँमा भरपर्दो र नपुगेका ठाउँमा यथाशीघ्र  पुर्याउन उच्च प्राथमिकताका साथ काम गरिरहेका छौँ । भौगोलिक रुपमा विकट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका सबैको घरमा एक वर्षभित्रमा विद्युत पुर्याउनेगरी काम भइरहेको छ ।’

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बंैक (इआइबी)बाट  २२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरणका लागि निर्माण व्यवसायी छनोटगरी काम सुरु गरिसकेको छ । साथै, सरकारको लगानी र प्राधिकरणले आफूले आर्जन गरेको मुनाफाको केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युत् पहुुँच विस्तारको प्रयत्न भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

सात प्रदेशमध्ये मधेसमा शतप्रतिशत विद्युतीकरण भएको छ । कोशीमा ९९ दशमलव ३० प्रतिशत, बागमतीमा ९९ दशमलव ९७ प्रतिशत, गण्डकी ९९ दशमलव ४० प्रतिशत र लुम्बिनीमा ९८ दशमलव ४९ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् ७४ दशमलव ३८ प्रतिशत मात्र विद्युतीकरण छ । सुदूरपश्चिम प्रदेशमा ८६ दशमलव ५८ प्रतिशत विद्युतीकरण गरिएको छ ।

कूल ७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन । हुम्लामा लघुजलविद्युत्, सौर्य ऊर्जालगायतका विद्युत् आपूर्ति भइरहेको छ । यस्तै, ७७ जिल्लामध्ये ५६ जिल्लामा ९५ देखि शतप्रतिशत विद्युतीकरण भएको छ । १० जिल्लामा ७५ देखि ९५ प्रतिशतसम्म, पाँच जिल्लामा ५० देखि ७५ प्रतिशतसम्म र छ जिल्लामा २५ देखि ५० प्रतिशतसम्म विद्युतीकरण गरिएको छ ।

कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र सङ्खुवासभाबाहेक अन्य जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । सोलुखुम्बुमा ८९ दशमलव शून्य चार र सङ्खुवासभामा ९३ दशमलव ९९ प्रतिशत विद्युतीकरण भएको छ ।

झापा, मोरङ, सुनसरी र धनकुटामा शतप्रतिशत विद्युतीकरण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लानै पूर्ण विद्युतीकरण भएका छन् । बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट र चितवनमा शतप्रतिशत विद्युतीकरण भएको छ । बाँकी जिल्लामा पनि ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङमा ८७ दशमलव ८१ प्रतिशत विद्युतीकरण भएको छ । तनहुँ, स्याङ्जा, पर्वत र कास्कीमा शतप्रतिशत विद्युतीकरण भएको छ भने बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुकुमपूर्वमा सबैभन्दा कम अर्थात ३२ दशमलव २४ प्रतिशत र रोल्पामा ८५ प्रतिशत मात्र विद्युतीकरण भएको छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बर्दियामा शतप्रतिशत विद्युतीकरण भएको छ । बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा सबैभन्दा बढी अर्थात् ९५ दशमलव शून्य आठ प्रतिशत र मुगुमा सबैभन्दा कम अर्थात् ३१ दशमलव ८० विद्युतीकरण भएको छ । सुर्खेतमा ८६ दशमलव ४८, दैलेखमा ८१ दशमलव शून्य पाँच, सल्यानमा ७९ दशमलव ५०, जाजरकोटमा ४९ दशमलव ८०, कालीकोटमा ७० दशमलव ९६, जुम्लामा ६२ दशमलव ४७, डोल्पामा ४२ दशमलव ७५ र हुम्लामा ३२ दशमलव ५१ प्रतिशत विद्युतीकरण गरिएको छ ।

प्राधिकराण्का अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा शतप्रतिशत विद्युतीकरण भएको छ । बाजुरामा सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ । डडेल्धुरामा ९४ दशमलव शून्य आठ, डोटीमा ८८ दशमलव शून्य चार, अछाममा ६५ दशमलव ९७, बैतडीमा ६१ दशमलव ७३, बझाङमा ६९ दशमलव शून्य तीन र दार्चुलामा ८४ दशमलव शून्य एक प्रतिशत विद्युतीकरण भएको छ ।

कमला सिँचाइ आयोजनाद्वारा २५ हजार हेक्टर क्षेत्रफल सिँचित

जनकपुरधाम ।  धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ ।

उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ । तटबन्धसँगै कमला नदीमा नहर लगायतका संरचना निर्माण गरेपछि उक्त आयोजना किसानका लागि बरदान सावित भएको हो ।

‘कमला सिँचाइ व्यवस्थान कार्यालय पोर्ताहा धनुषा अन्तर्गत यो आयोजनाले बाढीबाट हुने क्षतिबाट हामी सुरक्षित भएका छौँ’, सिरहाका किसान रामलखन महतोले भने, ‘यसको निर्माण नभएको भए अहिलेसम्म कमला क्षेत्रका बासिन्दाको उठिबास भइसकेको हुन्थ्यो, अहिले खेती पनि राम्रो भइरहेको छ ।’

आयोजना कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार कमला सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा पुगेको छ । त्यसबाट ४० हजार घरपरिवार लाभान्वित भएका छन् । सो कार्यालयले आयोजनाको पश्चिमी नहर प्रणालीमार्फत धनुषाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ । धनुषाको छ नगरपालिका र दुई गाउँपालिका गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिकामा सिँचाइ सुविधा पु(याएको छ ।

सो आयोजनामार्फत सिरहाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ । पाँच नगरपालिका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा, सुखिपुर नगरपालिका र दुई गाउँपालिका विष्णुपुर तथा औरही गाउँपालिकामा सिँचाइ सुविधा पु-याएको छ ।

कमला पश्चिमी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्वाई १४ दशमलव ३ किलोमिटर रहेको छ । त्यसका चारवटा शाखा नहर छन् । कमला पूर्वी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्वाइ ३१ दशमलव ६ किमी रहेको छ । जसअन्तर्गत आठवटा शाखा छन् । सो कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कमला सिँचाइ प्रणालीमा मर्मत सम्भार आयोजना तथा बृहत सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरण गरी दुई कार्यक्रम सञ्चालन गरेको छ ।

यसै कार्यक्रम अन्तर्गत कमला सिँचाइ प्रणलीको ‘हेडवक्र्स’, पूर्वी तथा पश्चिमी नहर प्रणालीको मर्मत सम्भार तथा संरचना निर्माण गरेको जनाइएको छ । सोही आवमा आयोजना कार्यालयबाट कमला नदीको बाँध, ‘हेडवर्क्स’को मर्मतसम्भार पूर्वी तथा पश्चिमी नहरको ‘अन्डरस्लुस’ तथा ‘वेयर’को चारमध्ये दुईवटा ‘वेयरपोर्सन’को मर्मतसम्भार गरेको छ ।

त्यसैगरी कमला ‘हेडवर्क्स’को पूर्वी तथा पश्चिमी बाँधलाई बाढीबाट भएको कटानको पश्चिमी तर्फ ‘स्लोप रिभेटमेन्ट’ एक सय ३३ मिटर तथा ‘टोईवाल’ एक सय ३९ मिटर र पूर्वीतर्फ ‘लन्चिङ’ तथा ‘ग्याविन वाल’ एक सय ७५ मिटर, ‘टोईवाल’ ५४ मिटर तथा ‘स्पर’ एउटा र ‘स्टड’ आठ निर्माण गरी मर्मतसम्भार गरिएको प्रमुख यादवले जानकारी दिए ।

कमला सिँचाइको पूर्वी तथा पश्चिमी नहर प्रणाली अन्तर्गत एक हजार १० मिटर नहर ‘लाइनिङ’, तीन दशमवलव १५ किमी ‘सभिर्सरोड’ मर्मत, तीनवटा ‘भीआरबी’, तीनवटा ‘बोक्स कल्भर्ट’, चारवटा ‘रोड क्रसिङ’, तीनवटा ‘डिभिजन बोक्स’, आठवटा ‘ड्रोपस्ट्रक्चर’, एक सय ८९ मिटर ‘रिटेनिङ वाल’, एक सय ९० मी संरचना बचावट (खाली बोरामा माटो)भर्ने काम, एक सय ८० मिटर, नहर संरक्षण, एक गेट जडान सहित मर्मत गरेको छ ।

नेपालका ठूला मध्ये कमला सिँचाइ आयोजना पनि एक हो । विसं २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिहंले शिलान्यास गर्नुभएको सो आयोजनाले विसं २०४० बाट सिँचाइ सुविधा पु-याउन थालेको थियो ।

सिँचाई सुविधा पुगेको दुई जिल्लाको औसत उत्पादकत्व तीन दशमलव २१ मेट्रिकटन प्रति हेक्टर धानबाली रहेकामा गत आर्थिक वर्षमा सिँचाइ आयोजनाको थप व्यवस्थापन पछि चार दशमलव १३ मेट्रिकटन धानबाली उत्पादन वृद्धि भएको आयोजना कार्यालयले जनाएको छ । सिँचाइबाट अहिले वर्षमा दुईरतीन बालीसम्म कृषि उपज उत्पादन भइरहेको छ । सो कार्यालयले आव २०८०/८१ मा जल उपभोक्ता समितिका पदाधिकारी तथा समिति समेत चयन गरेकोे छ ।

भारत र मलेसियाबीच साझेदारीलाई अझ प्रगाढ बढाउने विषयमा छलफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका मलेसियाली समकक्षी अनवर इब्राहिमबीच मङ्गलबार भेटवार्ता भएको छ ।हैदरावाद हाउसमा भएको भेटका क्रममा भारत र मलेसियाबीच साझेदारीका विभिन्न क्षेत्रमा संलग्नतालाई अझ प्रगाढ बनाउन दुई नेताबीच छलफल भएको बताइएको छ ।

“साझेदारी रूपान्तरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँका मलेसियाली समकक्षी अनवर इब्राहिमलाई हैदरावाद हाउसमा न्यानो स्वागत गर्नुभयो,” विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा लेखेका छन् ।

उनले लेखेका छन्, “विभिन्न क्षेत्रमा साझेदारीका संलग्नतालाई अझ प्रगाढ बनाउन र सहकार्यका नयाँ क्षेत्रहरूको खोजी गर्न छलफल अगाडि बढेको छ ।”

यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले अनवर इब्राहिमलाई औपचारिकरूपमा स्वागत गरेका थिए । मलेसियाली प्रधानमन्त्रीका रूपमा पहिलो पटक भारत भ्रमणमा आएका इब्राहिम आजै राजधानी नयाँदिल्ली आइपुगेका हुन् ।

इब्राहिमले राजघाटमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेपछि पत्रकारसँग भने, “मलेसिया र भारतबीचको सम्बन्ध लामो समयदेखि दुवै मित्र राष्ट्र र त्यहाँका जनताका लागि लाभदायक रहँदै आएको छ ।”

उनले भने, “निश्चित रूपमा, हाम्रो छलफलले दुई देशहरूबीचको घनिष्ठ सहयोगको पक्षलाई जोड दिनेछ साथै यस मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन सक्ने अन्य क्षेत्रहरूको खोजी गर्नेछ ।”

मलेसियाका प्रधानमन्त्री इब्राहिमले थपे, “भारत र मलेसियाबीच ऐतिहासिक र सामाजिक–सांस्कृतिक सम्बन्ध प्रगाढ छ । भारतको नयाँदिल्लीस्थित राष्ट्रपति भवन, त्यहाँ आयोजित औपचारिक स्वागत समारोहबाट मलाई सम्मानित गरिएको छ ।”

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई उन्नत रणनीतिक साझेदारीको तहमा पुर्याइएको उनले स्मरण गरे ।

ठमेलमा नील हिरा समाजको गाईजात्रा उत्सव

नील हिरा समाजद्वारा मङ्गलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मनाउँदै । जहाँ नेपालभरबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको सहभागिता रहेको छ ।

तस्बिरः प्रदीपराज वन्त/रासस

कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?

-केपी शर्मा ओली
म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ । बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन् । मैले बारी कस्तो बनाएको थिएँ भने कुुटो कोदालो होइन कि हातका औँला घुुसारेर त्यसको गोडमेल गर्ने गर्थें । अरु साथीहरुले लगाएको चाहिँ त्यति राम्रो नफल्ने । साथीहरुले हामीले पनि उही काम गरिराखेका छौं भन्थे । मैले तपाईंहरुले त्यसलाई माया कम गर्नु भएको छ, उसले बुझ्छ भन्ने जवाफ दिन्थेँ ।


म पोखरा जेलमा हुँदा अलिअलि खेती गर्थें । मैले रोपेको तरकारी, फलफूल राम्रो फल्थ्यो । अनि अरुहरु छक्क पर्थे । खासमा बोटविरुवाले मान्छेले कत्तिको माया गरेको छ भन्ने याद गर्छ । गाई, भैँसीलाई पनि माया गरे नगरेको थाहा हुन्छ । रिसायो भने गाई भैँसीले दूध लुकायो भन्छन् । खुसी भएन, प्रशन्न भएन भने दूध दिँदैन । उसको भकारो सोहोर्ने, मान्छेले सुुम्सुम्याउने मान्छेले दुयो भने बढी नै दूध दिन्छ । दूध जतिबेला पनि आउँदैन, ऊ खुसी छैन, नाखुश छ भने पगारे पनि लुकाइदिन्छ । अहिले त मेसिनले चुसेर, तानेर भएजति तान्ने गरिन्छ । हामीले कृषि बालीको कुरा किसानहरुलाई सिकाउनुुपर्छ कि खुसी हुनुपर्छ, यसलाई माया गरेको हुनुपर्छ, त्यो माया गरेपछि यसले प्रतिफल धेरै दिन्छ भनेर बुुझाउनुुपर्छ । साँच्चै कस्तो वातावरण छ भनेर पशुबालीले हेर्छ । बाजा, सङ्गीत, गीत आदि इत्यादि त्यसलाई मनपर्छ । मन नपर्ने खालको क्रसर राख्दियो भने त्यसले मन पराउँदैन भने कर्कश आवाजले पनि त्यसलाई राम्रो गर्दैन ।


मत्स्यपालनका सन्दर्भमा अहिलेको उत्पादन कति छ ? कति माछापोखरी छन् ? कति खोलाबाट निकालिन्छ ? खोलाबाट निकालिने कुराको धेरै भर नपरौँ । खासमा भन्ने हो भने खोलाबाट धेरै माछा निकाल्ने पनि होइन, त्यहाँ यसलाई खेल्न दिने हो । भरपर्ने त तालका माछामा हो । खोलाका माछा त्यतिकै समाउन पाइँदैन नि । मत्स्यपालनसम्बन्धी लक्ष्य तोक्नुस् । चराको मासु खानुु छ भने पालेको हुनुपर्यो। जङ्गलमा गएर फ्याट्टफ्याट्ट मार्न हुँदैन । खोलामा माछा मार्नु, जङ्गलमा चरा मार्नु ‘इकोसिस्टम’ विरोधी कुरा हो । फलफूल खानु छ भने फलाएको हुनैपर्यो । गाई र भैँसीबाटै दुग्ध उत्पादन हुने हो । गाईको दूधबाहेक मलमूत्र मात्रै काम लाग्ने हो । भैँसीमा जोड दिने तपाईंहरुले जोड दिएको पनि ठीक छ । भोलि गएर कतिपयले गाईको मात्रै दूध खाने, भैँसी, चौँरीको दूध नखाने भन्ने पनि हुनसक्छ । त्यसकारण डेरीको दूध नखाने स्वाभाविक हुन्छ । त्यहाँ गाईको पनि हुन्छ, भैँसीको पनि हुन्छ । त्यसो भएर गाईको दूध मात्रै भोलि कारोबार हुनसक्ने स्थिति नहोला भन्न सकिन्न । दूध खाँदा भैँसीको मीठो हुन्छ तर घ्यू गाईकै मीठो मानिन्छ ।


फलफूल क्षेत्रमा के गर्ने र कहाँ कहाँको के भिन्नता छ ? हाम्रो उपलब्धि के हो ? हाम्रो लक्ष्य के हो ? गत वर्षको भन्दा यो वर्षको लक्ष्य र उपलब्धि अलिक माथि हुनुपर्यो । हामीले सबै क्षेत्रमा विगतका रेकर्ड तोड्नेछौँ । गत वर्षको भन्दा उत्पादन, बिक्री वितरणमा वृद्धिसँगै आम्दानीमा पनि रेकर्ड तोड्छौँ ।


कृषि क्षेत्रमा शिक्षाको ठूलो समस्या छ । यसमा १४ देखि ६५ वर्षको सक्रियता कम भएको छ । बूढाबूढी मात्रै त्यसमा निर्भर छन् । त्यो सक्रिय जनशक्ति होइन । बालबच्चा पनि कृषिमै निर्भर गरेका हुन्छन् । कूल जनशक्तिको ६० प्रतिशत वा त्योभन्दा बढी कति चाहिँ कृषिमा निर्भर छ स्पष्ट छैन । मानिसले व्यवसाय किसान लेखेको हुन्छ तर कृषिमा भर परेको हुँदैन । छोराबुहारी जागिर खाइराखेका हुन्छन्, आम्दानीको मुख्य स्रोत जागिर भइराखेको हुन्छ । त्यो जागिर कृषिले दिँदैन । कृषि त बाँच्ने पेट पाल्ने कुरा हो नी । सबै प्रणाली पेटबाट सुरु हुन्छ । हरेक जीवित चिजलाई प्रकृतिले यस्तो बनाइदिएको छ ।


माटो पनि जीवित हो । माटो मर्यो  भने उर्भरत हुँदैन । प्रकृतिमा यस्तो गुण हुन्छ कि जसले त्यसलाई ग्रहण गर्यो , त्यसैसँग मिल्ने हुन्छ । त्यही चामल बाख्राको पाठोलाई दिनुस्, त्यो त्यही चामल बाख्रो हुन्छ । त्यही चामल खाएर मान्छे हुन्छ, त्यही चामल खाएर गाई हुनसक्छ । यो अनुकूलन प्रकृतिको विशेषता हो । यस अनुकूलनलाई हामीले प्रकृतिको ‘इकोसिस्टम’ भन्छौँ, यो त्यही इकोसिस्टम हो, सर्कल । एउटाको खाना अर्काको मल, अर्काको खाना अर्काको मल । अर्काले परित्याग गर्छ, अर्काले खान्छ । अलिक रुपान्तरित हुन्छ । हामी मल हाल्छौँ, त्यो मलबाट स्याउ फल्छ । त्यो चिज हामी खान्छौँ र त्यो मल फेरि उसैलाई काम लाग्छ । एउटाको मल अर्काले ग्रहण गर्छ, अर्काको अर्कोले ग्रहण गर्छ र रुपान्तरित हुन्छ । हरेक क्षेत्रमा फरक ल्याउनका निम्ति तपाईंहरुले ‘एक्सिलेन्स सेन्टर’हरु खोल्नुस् । अथवा कृषि टेडिङका उपायहरु हुन् । गाउँगाउँमा गएर यसरी बाली लगाइन्छ है, यसरी लगाएपछि आम्दानी बढी हुन्छ र त्यसले बजार पाउँछ भनेर किसानहरुका प्रशिक्षित गराउन आवश्यक छ ।


हिजो परिवार उत्पादनको एउटा एकाइ हुन्थ्यो । आज परिवारमा उत्पादनको एकाइ छैन । मेरो हजुरबाको एउटा खेत, एउटा बारी, एउटा गोठ थियो । आफ्नै खेतमा धान, मकै, आलीमा मास, बारीमा तोरी उत्पादन हुन्थ्यो । पशुपालन आफ्नै गोठमा, आफ्नै चरिचरनमा सबै चिज हुन्थ्यो । एउटा नूनबाहेक केही पनि किन्न पर्दैन्थ्यो । एउटा परिवारको उत्पादन, परिवारको उपभोगमै हुन्थ्यो र अर्थतन्त्र त्यतिमै चल्थ्यो । तर अब सबै कुरा नकिनी नहुने अवस्थामा हामी पुग्यौं । उत्पादनको प्रवृत्ति, ढाँचा र तरिकामा फरक पर्यो । फरक परेको चिजलाई हामीले परिवर्तन गरेनौँ भने बाँझा बारी, बाँझा खेत भनेर हुँदैन । त्यसलाई अब व्यावसायिकतामा लैजानै पर्छ । दुनियाँ कहाँबाट कहाँ पुुग्यो । परिवारलाई उत्पादनको एकाइ बनाउने हो भने एकै प्रकारको खेती उनीहरुले गरुन् । कान्लाभरि रुख, फलफूल लगाऔँ, बारी र खेतभरि अन्न लगाऔँ ।


म सम्झिँन्छु, म सानो हुँदा सुन्तलाको बगैँचा आफ्नै घरमा हुन्थ्यो । दुुई/चार रुख नास्पातीका हुन्थे । असारमा पाक्ने ठूलो नास्पतीदेखि मङ्सिरमा पाक्ने नास्पाती हुन्थ्यो । सानो नास्पातीको स्वाद अनौठो हुन्छ । अम्बा कान्लाभरि जताततै हुन्थ्यो । केराघारी आफ्नैमा हुन्थ्यो । अनार पनि रोपिदिए राम्ररी फल्थ्यो । यी सबै खालका फलहरु आफ्नै बारीमा हुन्थे । अब त्यस हिसाबले चल्दैन । मैले अनार पनि लगाउँछु, अम्बा पनि लगाउँछु भनेर व्यक्तिगत हिसाबमा हिजो जसरी अब चल्दैन । किसानहरुले एउटा एउटा बाली लगाएर हुँदैन । यसरी लगाउँदा बालीको आफ्नोपन पनि बिग्रिन्छ । त्यसकारण यस्तोमा सहकारी भयो भने सहकारी, सहकारी भएन भने सामूहिक खालको खेतीमा जानुपर्छ । त्यसोगर्दा बजार पाउन सजिलो हुन्छ । एकैखालको खेती लगाएपछि ठूलोमात्रामा उत्पादन हुन्छ । त्यसले बजार पाउँछ ।


मैले सुनेको थिएँ–कैलालीमा पोहोर वा परार किसानहरुले घिरौँला खेतबारीमा फ्याँके, किनभने बिकेन । सबैको घरमा घिरौँला, कसले किन्छ ? कसैले किन्दैन । डोकामा बजार लग्यो, घरघरमा घिरौँला छ, कसले किन्छ, कसैले किन्दैनन् । यदि त्यो घिरौँला एक/दुई ट्रक भएको भए काठमाडौँ आउन्थ्यो । बिक्री नभएपछि बारीमा फ्याँक्नुको विकल्प हुँदैन । ठूलो परिमाणमा गोलभेंडा उत्पादन भयो भने त्यसको अचार उद्योग स्थापना गर्न सकिन्छ । गोलभेँडाको स्लाइस, जुस उद्योग, गोलभेँडाको चप उद्योग वा अनेक चिज उत्पादन गर्न सक्छन् । त्यसैले ठूलो परिमाणमा ध्यान दिऔं । नयाँ इनोभेसनमा ध्यान दिऔँ । नवप्रवर्र्तनभन्दा इनोभेसन शब्द ठीक छ, सजिलो छ । हरेक ठाउँमा नयाँ मार्क लगाउनेगरी नयाँ ‘इनोभेटिभ’ विचार लगाउनुस् । चिस्यान केन्द्र कति ठाउँमा खोल्न सकिन्छ, पशु स्वास्थ्य केन्द्र खोल्न सकिन्छ त्यतातिर ध्यान दिऔँ ।


सन् २०२० पछि अमेरिकाले मलेरिया उन्मूलनको काम गर्यो । त्यसबेला उसले इन्स्पेक्टर र स्प्रेहरु राखेको थियो । स्प्रे गरेकाले घर नम्बर लेख्नुु पर्दथ्यो । घरको परिवारको सङ्ख्या उनीहरुको खातामा हुन्थ्यो । घरको एउटा ठाउँमा रङ लगाएर लेखेको हुन्थ्यो र त्यहाँ सही गर्नु पर्दथ्यो । स्प्रेयरले सही गर्दथ्यो । इन्स्पेक्टर आउँन्थ्यो र स्प्रेयरको मुनि उसले पनि सही गर्दथ्यो । कहिले आउँछ इन्स्पेक्टर थाहा छैन तर घरघरमा आउँछ । जाँच गर्दा कसरी गर्यो भन्ने मुख्य कुरा हो । हाम्रो प्रोजेक्ट राम्रो भएको छ कि छैन ? उदाहरणका लागि काठमाडौँबाट हेलिकप्टर लिएर अचानक जनकपुर गयो, एउटा स्कुलको मैदानमा हेलिकप्टर रोकेर वरिपरिका गाउँमा गयो, कुनकुन महिनामा जाँच भएको छ, कुनकुन महिनामा जाँच भएको छैन, कुनकुन घरमा पुुगेको छ, कुनकुन घरमा पुुगेको छैन भनेर नमूनाका रुपमा पाँच/सात घर हेर्यो । अर्को ठाउँमा पुुग्यो, त्यसैगरी हेरेर आयो । त्यहाँ उसले भने अनुसारको हस्ताक्षर गर्ने ठाउँ खम्बा वा भित्तामा हुन्थ्यो र त्यसमा गरेको हुन्थ्यो । त्यसो गरेर पक्का गर्दथ्यो । त्यसो भएपछि गएँ भनेर झुुट बोल्न पाएन । कुन घरमा कुन मितिमा गयो, त्यो घरमा सही गर्नु पर्ने । त्यहाँ भित्तामा ठाउँ बनाएर सही गर्नुपर्ने । हामीले त्यस्तै प्रणालीको किन विकास गर्न नसक्ने ? एक/दुुई ठाउँमा नमुना हेरेपछि थाहा भइहाल्छ । यस्ता कुराहरुमा अप्रत्याशित र अनपेक्षित ठाउँमा गएर गर्ने छड्के नै जाँच गर्नुपर्छ । त्यसो भएपछि उनीहरुले ढाट्ने ठाउँ हुँदैन । यो कुरालाई क्षेत्र क्षेत्रको योजना बनाऔँ ।


कृषिमा परिवर्तन र रुपान्तरण नल्याई हाम्रो देशको विकास सम्भव छैन । सन् १९३० मा अमेरिकामा हरित क्रान्ति आयो, युरोपमा सन् १९४० मा आयो । भारतमा सन् १९६८ मा आयो । सन् १९६८ मा अमेरिकाले हरित क्रान्तिलाई धेरै अगाडि बढायो । त्यसकारण अहिले डेढ अर्ब जनसङ्ख्यालाई खुवाएर पनि बाहिर पठाउँछ, हामीलाई बेच्छ । हाम्रो जनसङ्ख्या तीन करोड मात्रै छ तर हामीले उत्पादन गरेको वस्तुले खान पुग्दैन । पहिलेको जस्तो ढाँचाले होइन, अहिले भारतीय प्याज हेर्नुभयो जापान र चीनको जस्तै भएको छ । जापान र चीनले ठूलो फलाउँछन् । अहिले भारतले पनि त्यही गर्छ । त्यो सन् १९६५ बाट सुरु गरेर १९६८ सम्ममा ग्रिन रिभुुलुसन अगाडि बढायो । उसका भैँसी गुजराती भनेर चिनिने भए । बेलायतबाट ल्याएको गाई भनेर टाटेपाटी गाईलाई भन्ने चलन थियो । अहिले जर्सी गाई भन्छन्, उहिले बेलायती भन्थे । बैठक कक्ष अलिक गतिलो बनायो भने बेलायती हुन्थ्यो । गतिलो भएपछि बेलायती गाई, बेलायती कुकुर । केही अलि सप्रियो भने यो त बेलायती नै रहेछ नि भन्थे । भारतले बेलायतका र अन्यत्रबाट केही ल्यायो ।


अरु देशले प्रगति गरिरहँदा नेपालमा त चकमन्न थियो । पञ्चायतकाल आयो, महेन्द्रले विकास गर्न खोजेको अलिक देखियो । तर, महेन्द्रको विकासको गति २०२० देखि २०२४ सालसम्म रफ्तारमा चल्यो । अहिले पनि धेरै भवनहरु तिनैताका बनेका हुन् । पञ्चायतकालीन भवनमै हामी चलिराखेका छौँ । त्यतिबेला विश्वविद्यालय एउटै मात्र थियो होला तर पर्याप्त नै थियो नि त्यस बेलाको विकासको तहमा । अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा भनेर सुरु गरे । पाँच कक्षासम्म त मान्छेले अनिवार्य तथा निःशुल्क रुपमा पढ्न पाएका थिए । त्यसबेला उत्साह के थियो भने एसएलसी पास गरेका शिक्षकहरु पाइँदैन्थे ।


कोही कोही माविहरुमा त एसएलसी पास नगरेका शिक्षकहरु थिए र प्रधानाध्यापक नै एसएलसी पास गरेका थिए । आइए पास गरेका त यदाकदा थिए हाइस्कुलमा । त्यहीका तेज विद्यार्थीले त्यहीका विद्यार्थीलाई क्लास लिन्थे शिक्षक नभएर । तर नतिजा राम्रो थियो । पूर्वाधार थिएन, ज्ञान सम्प्रेषणको कला अलिक बढी हुन खोज्थ्यो । नजान्ने शिक्षकले इतिहास घोकाइदिन्थे । अब घोकाउने थालेपछि घोक्नै सकेन भने याद त हुने भयो नि । त्यसो भएर त्यो जमानाबाट हामी भर्खरै भर्खरै आयौँ । अब हामीले आमूल परिवर्तन ल्याउनुु छ, कृषिमै ल्याउनुु छ । त्यसकारण म तपाईंहरुसँग क्षेत्रगत रुपमा के के गर्ने योजना बनाउनुस् । सिँचाइका क्षेत्रमा के गर्नु पर्छ ? फलफूलमा के गर्ने ? अन्नबालीमा पनि धान, गहुँ, मकै, फापर, कोदोलगायत विभिन्न बालीमा के गर्न सकिन्छ ? यसका हाम्रो लक्ष्य के हो ? गन्तव्य के हो ? तोकेर त्यसमा नीति बनाऔँ । त्यो नीति कार्यान्वयन गर्न कार्यक्रम बनाऔँ । कार्यक्रम बनाएपछि लक्ष्य तोकेर त्यसलाई हासिल गर्नेगरी अगाडि बढौँ । यसबाट नै सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न सकिन्छ ।


( प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरुलाई दिएको निर्देशनको सम्पादित अंश)

१९९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ पुनर्निर्माण गरी उद्घाटन

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर आठका दुई वटा फल्चाको पुनःनिर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि मंगलबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले फल्चाको उद्घाटन गरेका छन् ।

यी फल्चामध्येकोे ‘ग्वलः दे फल्चा’ वि. सं. १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो ।

शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ पुरानो हो । स्थानीय पाका मानिसहरुका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो । पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ ।

फल्चा पुनरुत्थानका लागि वडाले करिब १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ ।

२५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९ औँ शताव्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ ।
संयोजक संगतका अनुसार रावण पाटी पुनःनिर्माणको काम सुरु भइसकेको छ ।

मेची भन्सारको राजस्व वृद्धि

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ। गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व संकलन भएको थियो।

‘मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ,’ उनले भने, ‘चालु आवको साउनमा रु तीन अर्ब ८९ करोड १० लाख ५८ हजार बराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ।’

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश. ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैंची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्रिसो २१ दशमलव ८८, छुर्पी ७८ दशमलव ७८ प्रतिशतले घटेको छ।

त्यसैगरी, आयाततर्फ पेट्रोल चार दशमलव ५८, डिजेल ११ दशमलव ८८, फलफूल ३८ दशमलव ४७ प्रतिशतले कमी आउँदा जुट १३ दशमलव ४६, एलपी ग्याँस २७ दशमलव ३७, जिप्सम ६७ दशमलव ९५, मेसिनरी तथा पाटपुर्जा ९६ दशमलव ५८, दलहन ६८ दशमलव ४९ र तरकारी एक सय ७७ दशमलव ६३ प्रतिशतले आयात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

घोराही उपमहानगरपालिकाद्वारा एक सय ९४ विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

घोराही (दाङ) । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर एसइईको नतिजामा ल्याएको जिपिएका आधारमा फाराम भर्न आह्वान गरी विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई अध्ययनका लागि कक्षा ११ र १२ मा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

उपमहानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०८० को दफा ६.४ मा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीबाट विद्यालयले भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शिक्षण शुल्क र परीक्षा शुल्क लिन नपाउने तथा दफा ४.१० मा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीबाट विद्यालयले भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क लिइसकेको भए सो शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्नु पर्नेछ ।

घोराहीका ज्ञानसिन्धु, दाङभ्याली, अल्फा, माउन्ट भ्यू, नेपाल पुलिस, जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, दीपशिखा आवासीय मावि, विद्यानीलकण्ठ, गोरखा इन्टरनेशनल, गोदावरी, ग्यालेक्सी, गुरुकूल, मनकामना, मेचीकाली, शान्तिसुधा र हिन्दू विद्यापीठगरी १७ विद्यालयले नियममा भएबमोजिम छात्रवृत्तिमा पढाउनुपर्नेछ ।

तोकिएका सङ्ख्याअनुसार विद्यार्थीको नाम र पढ्न चाहेको विषय उल्लेखगरी छात्रवृत्तिका लागि उपमहानगरको सामाजिक विकास शाखाले ती सबै विद्यालयमा पत्र पठाइसकेको उपमहानगरपालिकाले जनाएको छ । 

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता  एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ। यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन्।

सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो। अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो।

पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो। त्यसवापत अस्पतालले बीमा बोर्डबाट  एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा एक लाख १२ हजार नौ सय ९१ पटक सेवा दिएबापत अस्पतालले १४ करोड ५७ लाख २८ हजार दुई सय २२ प्राप्त गरेको थियो।

इञ्चार्ज पौडेलका अनुसार आव २०७६/७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर रु २३ करोड ८८ लाख चार सय ५० प्राप्त गरेको थियो। आव २०७७/७८ मा कोभिडका कारण सेवा लिनेको सङ्ख्या घटेर ८५ हजार पाँच सय ३६ पटक मात्रै सेवा लिएका छन्। त्यसबापत अस्पतालले रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ प्राप्त गरेको थियो।

आव २०७८/८९ बाट बीमामार्फत उपचार गराउनेको सङ्ख्या पुनः बढेको छ। सो वर्ष एक लाख ७८ हजार पाँच सय ५३ पटक सेवा लिइएको थियो। त्यसबापत अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ प्राप्त गरेको थियो।

आव २०८९/८० मा दुई लाख ५० हजार छ सय १७ पटक सेवा दिएर अस्पतालले रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ प्राप्त गरेको छ। गएको आवमा दुई लाख ६० हजार पटक सेवा दिएर अस्पतालले रु ५६ करोड १६ लाख ८८ हजार सात सय ५९ प्राप्त गरेको छ। अस्पतालले अझै रु १५ करोड हाराहारी दाबी गरेको रकम भुक्तानी पाउन बाँकी रहेको छ।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन्। सोहीअनुरुप अस्पतालमा उठ्ने सेवा शुल्क पनि हुने गर्दछ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा. कृष्णप्रसाद पौडेलका अनुसार स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो छ। करिब १८ भन्दाबढी जिल्लाका बीमाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन्।

चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले भरतपुर अस्पताललाई बीमाको प्रथम बिन्दु बनाएका छन्। नेपालमा विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागू छ।

देशभरका चार सय ७६ स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ। प्रा डा. पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत बीमा नै भएको बताए।

बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजान अस्पताल प्रशासन लागेको उनको भनाइ छ। यद्यपि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट रहेको जनाउँदै पौडेलले अस्वीकृत निकै न्यून रहेको जानकारी दिए। 

पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार जुलाई–१ देखि अगस्ट–१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।

पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताएका छन् । बलुचिस्तानले जुलाई–१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ ।

बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ ।

सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ । सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिए ।

बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताए ।

वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

वीरगञ्ज । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ ।

साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । ‘‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन्,’’ उनले भने, ‘‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व सङ्कलन हुनलाई उत्साहजनक मान्नुपर्छ ।’’

भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा तीन दशमलव ५३ प्रतिशतले कम हो ।

आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ । चालु आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ ।

गत आव २०८०/८१ को साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवको साउन महिनामा सात दशमलव १६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।

मैले सकेसम्म राम्रो गरेँ : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेको बताएका छन् ।

बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो राख्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका थिए ।

‘अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ’, ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उदृत गर्दै भने ।

उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे । सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले बाइडेनलाई तालीको गडगडाहतसहित भब्य स्वागत गरेको थियो ।

बाइडेनले डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएका थिए । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालिन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् ।

बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएकी छन् ।

पाँच दशकलामो राजनीतिक जीवनको आसन्न अन्त्यबारे सोचिरहेका बेला उनले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिए, त्यही गरेको बताए ।

‘मलाई राजनीति मन पर्छ तर म मेरो देशलाई बढी माया गर्छु,’ बाइडेनले राष्ट्रपतीय उम्मेदवारबाट गरेको त्याग अमेरिकाको हितका लागि भएको जोड दिँदै भने । उनले राजीनामा माग्ने डेमोक्र्याट्सको भावनालाई सम्बोधन गर्दै भने, ‘म मेरो पार्टी र देशको चिन्ता गर्ने र नेतृत्व गलत व्यक्तिमा नजाओस भन्ने सबैप्रति रिसाउने होइन आभारी हुनुपर्छ ।’

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्दा आउँदा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो भने प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँसु पुछेका थिए ।

‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शक दिर्घामा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो ।

सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी भन्दै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताएका छन् ।

मंगलबार काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताए ।

उनले भने,’सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु, तर त्यो देखिन समय लाग्छ । संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउने सन्दर्भमा कुनै दुविधा छैन ।’

उनले  काठमाडौँ उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको बताए । 

प्रदीप गिरीले बालेको समाजवादको आलोक

-डा. शोभाकर पराजुली

बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । नेपाली समाज अनि राजनीतिमा एउटा कहिल्यै नभिभ्ने ‘दीप’ हो प्रदीप गिरी । समाजवादी चिन्तकको छवि बनाउनुभएका प्रदीप गिरीले कहिल्यै लालचको जिन्दगी जिउनु भएन । कहिल्यै लाभको पद खोज्नु भएन । राजनीतिलाई कहिल्यै आफ्नो स्वार्थको भर्याङ बनाउनु भएन ।

समाज परिवर्तनको एउटा अभियान वा आन्दोलन र राजनीतिलाई फरकफरक आँखाले हेर्ने अनि त्यही आदर्शलाई जिन्दगीको बाँच्ने शैलीमा ढाल्नसक्ने एउटा अलौलिक क्षमता लिएर जन्मिने यस्ता मान्छे जगतमा बिरलै हुन्छन् । समकालीन नेपाली समाज र राजनीतिमा त्यही एउटा दुर्लभ नाम पनि हो, प्रदीप गिरी । विसं २००४ मा सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रदीप गिरीका पिता मित्रलाल आफैँ नेपाली काँग्रेसका नेता हुनुहुन्थ्यो । बुबाका औँला समाएर उहाँले यो धर्तीमा आफूलाई उभ्याउन र पाइला चाल्न सिक्नुभयो । बुबाकै दीक्षाले उहाँभित्र राजनीतिको चेत पनि उज्यालिइसकेको थियो ।

एउटा राजनीतिक परिवारमै हुर्के बढेका उहाँले सानै उमेरदेखि राजनीतिक शास्त्रका ठेलीहरूदेखि दर्शनशास्त्रका मोटामोटा किताबहरू कण्ठै पारिसक्नुभएको थियो । उहाँ जन्मिदाको समय राणा शासन थियो । एक सय वर्ष जहाँनीया शासन चलाइसकेको राणाका ती अन्तिम दिनहरू थिए । थिचिएका अनि मिचिएका नेपाली समाज भित्रभित्र राणाविरुद्ध विष्फोटक तयारीमा थियो । यसको परिणाम २००७ फागुन ७ गते नेपालका राजनीतिक दल, दरबार र राणाहरूबीच भएको एउटा समझदारीले देशमा प्रजातन्त्र आयो ।

नेपालमा जन्मिए पनि उहाँको शिक्षादीक्षा भने भारतमै भएको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिको सक्रिय बाटोमा आफूलाई हिँडाउन सुरु गरिसक्नु भएका उहाँ त्यसपछि समाजवादका एक साधकका रुपमा स्थापित हुनुभयो । भारतमै बसेर राजनीतिमा पाइला सार्दै गर्दा त्यो बेला नेपालमा राजा महेन्द्रले जनताको प्रजातान्त्रिक अधिकारमाथि ‘कु’ गरिसकेका थिए । २०१७ सालदेखि उहाँले जुन राजनीतिक बाटोमा आफ्ना पाइलाहरू अघि बढाउन खोज्दै हुनुहुन्थ्यो, त्यसपछिका ३० वर्षहरू फेरि दरबारसँग लड्दालड्दै बिते । भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनलाई कलिलो दिमागमै छापिसक्नुभएको उहाँलाई पञ्चायतविरोधी आन्दोलनमा अघि बढ्न झन सजिलो भयो ।

भारतमै पढ्ने बेलामा उहाँले बिपी कोइरालाको नाम धेरैपटक सुनिसक्नुभएको थियो । अरुजस्तै उहाँको मनमा पनि बिपीको एउटा अलग्गै तस्बिर छापिइसकेको थियो । भारतमै भएको एउटा कार्यक्रममा उहाँले बिपीलाई भेट्ने मौका पाउनुभयो । त्यही भेट नै उहाँको राजनीतिक जीवनको एउटा मोड बनिदियो । त्यही कार्यक्रममा उहाँले बिपीलाई प्रतिप्रश्न सोध्नुभयो । हत्तपत्त बिपीलाई प्रतिप्रश्न सोध्ने आँट कसैले पनि गर्दैनथे, यहाँसम्म कि अन्तर्वार्ता लिने पत्रकारहरूले समेत । एउटा कुनाबाट आफूलाई अप्रत्याशित त्यसमा पनि आलोचनात्मक प्रश्न गर्ने त्यो स्कुले ठिटो बिपीको नजरमा परिसकेको थियो । बिपीको त्यही नजर लागेको केटो २०२४ सालमा ‘नेपाल छात्र सङ्घ बनारस’को निर्वाचित उपाध्यक्ष बन्यो । बिपीभन्दा ३० वर्ष कलिला उहाँका राजनीतिक पाइलाहरू त्यसपछि फटाफट अघि बढ्न थाले ।

नेपाली कांग्रेसभित्र बिपीको राजनीतिक, सामाजिक र साहित्यिक दर्शन अनि सिद्धान्तहरूलाई आलोचनात्मक विवेचना गर्ने सायद उहाँ एक्लो प्राणी नै होला । र, पनि उहाँले आफ्नो राजनीतिक जीवनभरि बिपीकै व्यक्तित्व, विचार अनि राजनीतिक सिद्धान्तलाई अपनाइरहनुभयो । खासगरी राष्ट्रवादका सन्दर्भमा उहाँ र बिपीबीच जहिल्यै सैद्धान्तिक र व्यावहारिक मतभेदको खाडल रहिरह्यो । तथापि, बिपीले निर्माण गरेको राजनीतिक सिद्धान्त र क्षितिजबाट प्रदीप कहिल्यै टाढा हुनुभएन तर कहिल्यै प्रश्न गर्न छोड्नुभएन । युगभन्दा अलि चाँडै जन्मिएका बिपीलाई सायदै त्यो बेलाको समाजले चिन्यो । त्यस्तो रिक्तता बिपी आफैँले पनि अनुभव गरेको भनेर आफ्ना आत्मकथाहरूमा कताकता उल्लेख गर्नुभएको छ । उहाँको एउटै चिन्ताको बिषय हुन्थ्यो– शास्त्रीय बहस गर्ने समकालीन नै भएनन् ।

बिपीका अघि सधैंँ छाती तन्काएर उभिने उहाँ एउटा त्यस्तो तातोरातो युवा हुनुहुन्थ्यो, जसले बिपीसँग समाजवादका शास्त्रीय आयामहरूका बारेमा बहस गर्ने हिम्मत राख्थ्यो । अनि राष्ट्रवादका मुद्दामा बिपीसँग सवालजवाफ गर्ने हैसियत राख्थ्यो । बिपीलाई सिधासिधा प्रश्न सोध्न हिम्मत राख्ने उहाँलाई त्यही निहुँमा बिपीका विरोधी आँखाले हेर्नेहरूको कमी त थिएन तर पनि उहाँको अध्ययन अनि विश्लेषण क्षमताका अघि ती आलोचना र विरोधी नजरहरू कहिल्यै माथि उठ्न सकेनन् । उहाँको त्यो क्षमताका अघि ती सबै सधैंँ दबित रहे ।

यो आदत उहाँको आफ्नो निजी जीवनमा उत्तिकै थियो । जसले आफ्नाबारेमा प्रश्न गर्छ वा आलोचना गर्छ उसलाई नै उहाँले सधैँ नजिक राख्नभयो । अर्थात् न उहाँ प्रश्न गर्न डराउनुभयो न आफूमाथि आउने प्रश्नहरूलाई पन्छाएर भाग्नुभयो । त्यही राजनीतिक कुशलता र क्षमताले नै उहाँ आफ्नो राजनीतिक दर्शनको पथमा सधैँ प्रदीप्त भइरहनुभयो । राजनीतिक जीवनका आफ्नै सिद्धान्तहरू हुन्छन् । जिन्दगी बाँच्ने आफ्नै शैली हुन्छ । त्यसलाई जिउने आफ्नै स्वभाव हुन्छ । उहाँ जीवनभरि त्यस्तै रहनुभयो, जस्तो यो समाजले चिनेको प्रदीप थियो ।

एकपटक उहाँले बिपीलाई एउटा आग्रह गर्नुभएको थियो– ‘सान्दाजु अब म आफूलाई समाजवादको अध्ययनमा सक्रिय बनाउँछु । समाजवादीहरूसँग सम्पर्क बढाइदिनुप¥यो ।’ बिपीले भारतीय समाजवादी नेताहरूलाई पत्र लेखेरै उहाँलाई भेट्न र सम्बन्ध बढाउन सहजीकरण गरिदिनुभएको थियो । त्यसबाटै उहाँमा समाजवादको ब्याख्या विश्लेषण मात्रै होइन, त्यसको व्यावहारिकीकरणमा पनि आफूलाई अब्बल सावित गर्नुभयो । यसरी उहाँ एउटा राजनीतिक व्यक्ति मात्रै नभएर सिङ्गो वैश्विक समाजवादी आन्दोलनका एक प्रणेताका रुपमा आफूलाई स्थापित गर्नुभयो ।

उहाँको एउटा खासियत के पनि थियो भने उहाँले आफू बाँचिरहेको सामाजिक संरचनालाई ठाडै चुनौती दिनुभयो । त्यो भनेको उहाँमा एक प्रकारको बिद्रोही स्वभाव पनि जिउँदो र जाग्दो थियो । यसका कारण उहाँ परिवार र समाजबाट अलग हुनु परे पनि आफ्नो सिद्धान्तबाट कहिल्यै डग्मगाउनु भएन । उहाँले सधैँ भन्नुहुन्थ्यो– ‘यो समाज अनि सामाजिक संरचना हामी आफैँले आफ्नो सुविधाका लागि बनाएको हो । र त्यसलाई भत्काउन सक्ने पनि हामी आफँै नै हो ।’ कुनै बेला दलित समुदायका व्यक्तिलाई आफ्नो भान्सेका रुपमा राख्दा उहाँ परिवारबाटै बहिष्कृत हुनुपरेको थियो । तर उहाँ कहिल्यै त्यसबाट विचलित हुनुभएन र बरु आफूलाई सधैंँ त्यस्तै दलित, पिछडिएका अनि सिमान्तकृत वर्गकै बीचमा राख्नुभयो । जीवनको अन्तिमसम्मै उहाँका सहयोगी त्यस्तै समुदायका व्यक्ति थिए । उहाँको त्यही अडिग विचारका कारण नेपाली काँग्रेसले आफ्नो समावेशी नीति नै बनायो ‘कदमजम’ । यो नीति नेपाली काँग्रेसले अबलम्बन गर्नुको पछाडि प्रदीपकै योगदान थियो ।

समाजवादपछि उहाँको अर्को विद्वता भनेको माक्र्सवादको अध्ययन हो । खासगरी कम्युनिष्टहरूले आफ्नो सिद्धान्तको ग्रन्थ नै ठान्ने माक्र्सवादलाई सरलीकृत गर्ने उहाँले कुनै बेला कम्युनिष्ट स्कुलमा कम्युनिष्टहरूलाई माक्र्सवाद पनि पढाउनुभएको थियो । यसकारण उहाँलाई आदर्श मान्ने कम्युनिष्टहरूको पनि कमी छैन । फरक विचारधार भए पनि उहाँले मुद्दा मिल्नेहरूसँग सधैँ सम्बन्ध बढाउँदै लैजानुभयो । चाहे युद्ध गरिरहेको माओवादी होस् वा अधिकारका लागि आन्दोलन गरिरहेको मधेसवादी दलहरू । युद्ध गरिरहेको तत्कालीन माओवादीविरुद्ध सारा रज्यशक्ति र राजनीतिक दलहरूसमेत एकातिर हुँदा प्रदीप एक्लै माओवादीको पक्षमा उभिनुभयो । उहाँले सधैँ माओवादीले उठाएका मुद्दाहरूको सम्बोधन हुनुपर्छ भनिरहनुभयो । माओवादीलाई संसदीय बाटोमा ल्याउन पनि उहाँको धेरथोर भूमिका रह्यो । अनि मधेसमा आन्दोलन गरिरहेका तथा उनीहरूले उठाइरहेका मुद्दा र मागका विषयमा पनि उहाँ आफ्नै पार्टी नेपाली कांग्रेसभन्दा माथि उठेर लड्नुभयो । मधेसको अधिकारका लागि उहाँले त्यहाँ संघर्षरत सबै पक्षसँग सम्बन्ध बलियो बनाउनुभयो ।

विसं २०७२ मा संविधानसभाले संविधान जारी गर्दा त्यसमा हस्ताक्षर नगर्ने एक सांसद उहाँ पनि हुनुहुन्छ । उहाँको यो संविधानप्रति सधैँ एउटै मत रह्यो– यो अपुरो संविधान छ । त्यसको संशोधन जरुरी छ । संविधान अझै संशोधन हुन सकेको त छैन तर अब संविधान संशोधनकै लागि सत्तागठबन्धन बनिरहेको यो बखत भने उहाँ हामीमाझ हुनुहुन्न । उहाँले सधै भन्नुहुन्थ्यो–‘जुनसुकै वाद होस् या सिद्धान्त त्यसले अन्ततः जनताको जीवनमा समृद्धि ल्याउनुपर्छ । जनताले त्यो महसुस गरेको दिन सबै सिद्धान्त र वादहरू बराबर हुन्छन् । त्यसैले कसैलाई वाद र सिद्धान्तका आधारमा हेरिनु हुँदैन । बरु मुद्दाका आधारमा उनीहरूलाई आफ्नो पराई सम्झनुपर्छ ।’ बिपीपछि शक्तिशाली सभापतिका रुपमा रहेका गिरिजाप्रसाद कोइरालासँग उहाँको सधैँभरि मतभेद यही कुरामा रहिरह्यो ।

पार्टीको नीति र सिद्धान्तभन्दा माथि उठेर ‘गणतन्त्र’को अभियान चलाउन प्रेरित गर्ने उहाँ कहिल्यै पनि कसैको नियन्त्रित घेराभित्र रहनुभएन । आफ्नो ब्रह्म, सिद्धान्त र विचारले जे देख्यो उहाँले त्यसै गर्नुभयो । यहाँसम्म कि विचारमा असहमति बढ्दै जाँदा उहाँ मूल पार्टीबाट अलग पनि हुनुभयो तर कहिल्यै आफ्नो आत्मसिद्धान्त विपरीत सम्झौता गर्नुभएन । त्यसैले कतिपयले उहाँलाई अराजक भनेर पनि आलोचना र टिप्पणी गर्छन् । तथापि उहाँ आफ्नै स्वभावमा बाँच्ने रमाउने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँमा कहिल्यै लोभलालच जागेन अर्थात उहाँले अपनाउनु भएको राजनीतिक सिद्धान्तले कहिल्यै पनि लाभको पदमा बस्न सिकाएन । मन्त्री बन्न आएका कतिपय प्रस्तावहरूलाई उहाँले ठाडै अस्वीकार गर्नुभयो । कहिल्यै कुनै राजनीतिक भाग खोज्नुभएन र आफूलाई अनि आफ्नाहरूलाई पनि त्यसका लागि रोज्नुभएन । तर जनताका कामका लागि भने उहाँ सधैंँ अघि लागेर खटिनुभयो । त्यसैको परिणाम हो उहाँले चुनावमा भोट माग्न कहिल्यै जानु भएन । बरु मतदाताहरू उहाँलाई भेट्न आएरै शुभेच्छा दिन्थे, अनि चुनावमा भोट हालेर उहाँलाई जिताउँथे ।

एउटा कुलीन परिवारमा जन्मिए पनि उहाँमा न कहिल्यै धन सम्पत्तिको लोभ रह्यो, न त्यसको रवाफ । उहाँ सधैंँ आफूलाई भूइँमान्छेका रुपमा उभ्यानुभयो । भूइँमान्छेहरूसँग रहनुभयो । समाजवादलाई आफ्नो आदर्श ठान्नेहरूको सबैभन्दा ठूलो गुण यही नै हो र समाजवादको असली अभ्यास नै यही हो । आफूलाई कहिल्यै बिलासी संस्कारमा नढालेका उहाँको यही सन्तपन नै आमनागरिकका लागि अनुराग बन्यो । आफ्ना आदर्श र सिद्धान्तहरूलाई उहाँले कतिसम्म व्यवहारमा उतार्नुहुन्थ्यो भन्ने यो एउटा बलियो उदाहरण हो । आफ्ना सारा सम्पत्तिलाई आफ्नै बस्तीमा आश्रम बनाएर उहाँले बेसहाराहरूलाई साहार दिने कोसिस गर्नुभयो । मृत्यु शैय्यामा जीवन चियाइरहँदा पनि धिपधिपारहेको त्यो उहाँभित्र उत्तिकै प्रदीप्त ज्योति थियो । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । त्यसैले त उहाँले नदीछेउमा आश्रम बनाउनुभयो । असहायहरूलाई पढ्न लेख्न सिकाउनुभयो । जातपातको भाषा कहिल्यै जान्न चाहनुभएन । सबै मान्छे बराबर देख्नुभयो । बरु आफूलाई सधैँ फकीर बनाइराख्नुभयो तर वंश अनि अंशमा कहिल्यै हक खोज्नुभएन । त्यो आफ्नो निजी जीवनमा पनि होइन र राजनीतिक जीवनमा पनि ।

कहिल्यै उहाँ सत्तामा जान चाहनुभएन । कहिल्यै त्यो चाह वा मोह पनि राख्नुभएन । राजनीतिक रुपमा एक नेता अनि शासक बन्ने चाहनाबाट उन्मुक्त उहाँ सधैँ जीवन दर्शनको खोजमै तत्लीन रहनुभयो । वंशका लागि कहिल्यै चिन्ता गर्नुभएन । सम्बन्ध र प्रेमलाई पनि कहिल्यै उहाँले महत्व दिनुभएन । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाउनुभएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । अनि अरूका लागि प्रदीप बन्नुभएको थियो ।

भौतिक संरचनाको निर्माण मात्रै विकास होइन र त्यसले मात्रै समृद्धि ल्याउँदै भन्ने मान्यता राख्ने उहाँले विकासे संरचनाहरूले जनताको जीवनमा के चाहिँ परिवर्तन ल्यायो भनेर मूल्याङ्कन गर्नुपर्ने ठान्नुहुन्थ्यो । उहाँले विकासे अभियानलाई कहिल्यै समाजवादको जग मान्नुभएन । अर्थतन्त्रको उदारीकरणसँगै राज्य नागरिकप्रतिको आफ्नो दायित्वबाट बिमुख हुनु हुँदैन भनेर सधैँ खबरदारी गरिरहनुपर्ने उहाँको मान्यता थियो । यसैलाई लोकतान्त्रिक समाजवादका रुपमा ब्याख्या पनि गर्न सकिन्छ । राजनीतिक, आर्थिक तथा सामाजिक जीवनका दर्शन र सिद्धान्तका ठेलीहरू कन्ठस्थ पार्नुभएका उहाँ कहिल्यै एकाङ्की हुनुभएन । ज्ञानको भारीले उहाँलाई कहिल्यै थिचेन बरु उहाँ चङ्गाजस्तै फुरुङ्ग हुनुहुन्थ्यो, भूइँमान्छेहरूसँग रमाउँदा, उनीहरूसँग संवाद गर्दा र उनीहरूका समस्याको समाधान गरिदिँदा ।

उहाँको जीवनगाथा एउटा सानो आलेखमा अट्ने खालको हुँदै होइन । उहाँले बाँचेको जीवन अनि उहाँले अपनाएको जीवनशैलीका फेहरिस्त लेख्ने हो भने त जीवन दर्शनको एउटा सिङ्गो ठेली नै बन्छ । उहाँ एक नेता मात्रै हुनुहुन्न, राजनीतिज्ञ मात्रै पनि हुनुहुन्न, उहाँ जीवनका साधकमात्रै होइन र त्यसका लागि साधना मात्रै पनि गर्नुभएन । चिन्ता र चिन्तनमात्रै पनि गर्नुभएन । बरु जस्तो हुनुहुन्थ्यो त्यस्तै बाँचीदिनुभयो । जस्तो जीवन बाँच्नुभयो, त्यस्तै विचार निर्माण गरेर जानुभयो । एउटा त्यस्तो विचारको बत्ती जलाएर उहाँ जानुभएको छ, त्यसले नेपाली समाज र राजनीतिलाई जुगौँजुगसम्म आलोकित बनाइरहनेछ ।

(लेखक राजनीतिक विशलेषक हुनुहुन्छ)

विकासोन्मुख मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदैः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले विकासोन्मुख र अल्पविकसित मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘विकासका लागि वित्त’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजश्व परिचालन क्षमता कमजोर तथा सार्वजनिक ऋणको भार बढ्दै गएका कारण विकासका लागि स्रोतको जोहो गर्न चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।

नेपाल जस्ता विकासोन्मुख मुलुकले राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताका कारण सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुँदै गएको पौडेलको भनाइ छ ।

उनले भने, ‘दिगो विकासको लक्ष्य हासिल गर्ने अभियानमा कोही नछुटून् भन्ने मुख्य नाराका साथ संयुक्त राज्य संघले विकासका लागि वित्त परिचालन गर्न जोड दिँदै आएको तथा विकासन्मुख र विकासशील मुलुकमा वित्त परिचालन नै मुख्य चुनौतीका रूपमा देखापरेको अवस्था छ । विकासोन्मुख र अल्पविकसित मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार बढ्दै गएको कारणले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुने देखिएको छ ।’

उनले सरकारले सामाजिक सुरक्षा र विकास निर्माणका काममा लगानी लगाउन नसक्दा दिगो विकासको लक्ष्य पूरा गर्ने संकल्पलाई धेरै टाढा धकेल्ने जोखिम बढ्दै गएको बताए । त्यस्तै, अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावबाट समेत विकासशील मुलुकहरू बढी प्रभावित बनेका बताए ।
उनले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रविधिले विकासन्मुख र अल्पविकसित मुलुकहरू थप समस्यामा परिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

आन्तरिक स्रोतको अभावमा विकास सहायतालगायत सम्भाव्य स्रोतको उपयोग गर्ने गरी विकास वित्तको खाका तयार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

बागलुङमा वर्षे आलु उत्पादनमा पाँच प्रतिशतले कमी

बलेवा । बागलुङको वर्षे आलु उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ । गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताए ।

विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन ।

ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउँछन् । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ । कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्यांक छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताए ।

ताराखोला-२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताए । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उनले बताए ।

घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो ।

‘असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन,’ पुन भने,’व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।’ केन्द्रको तथ्यांकमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ ।

बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो । त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्यांक छैन ।

यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ । जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।

प्रचण्डद्वारा कराते खेलाडीको बिदाइ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् ।

मंगलबार अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उनीहरुको सफलताको कामना गरे ।

कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी थिए ।

यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ ।

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए । “मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उनले भने, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

इरानद्वारा ट्रम्पको चुनावी अभियान ह्याक

बीबीसी । एफबीआई र अन्य सङ्घीय निकायहरूले इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय लिएर ‘वैमनस्य उत्पन्न गराउन र लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वासलाई अवमूल्यन गर्न खोजेको’ बताएका छन् ।

ट्रम्पको अभियानले आफ्नो आन्तरिक सन्देशहरूलाई इरानले ह्याक गरेको आरोप डेढ साताअघि लगाएको थियो। इरानी अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

उक्त अनुसन्धानबारे जानकार स्रोतहरूले बताए अनुसार इरानी ह्याकरहरूले डोमोक्र्याटिक दलकी प्रत्याशी कमला ह्यारिसको अभियानलाई पनि निशाना बनाएको आशङ्का गरिएको छ ।

विज्ञप्तिमा अमेरिकी गुप्तचर अधिकारीहरूले इरानीहरूले भित्रसम्म सामाजिक इन्जिनियरिङ र अन्य प्रयासबाट दुवै राजनीतिक दलको चुनावी अभियानसम्म प्रत्यक्ष पहुँच भएका व्यक्तिसम्म पुग्ने प्रयास गरेको बताएका छन् । ट्रम्प अभियानलाई एउटा सक्कली जस्तो देखिने र क्लिक गर्न भरोसा दिलाउने प्रकारको फिशिङ इमेल आएको विवरणहरूमा जनाइएको छ ।

ह्यारिसको अभियानले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको तर त्यो विफल भएको जनाएको थियो । सोमबार त्यसरी वक्तव्य दिने निकायहरूमध्ये एफबीआई, राष्ट्रिय गुप्तचर निकायको निर्देशकको कार्यालय, साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीले यस्तो रणनीति ‘नयाँ नभएको’ र विगतका चुनावमा रुस तथा इरानले यस्तै उपायहरूको प्रयोग गरेको जनाएका छन् ।

अहिलेसम्म कुन वा के कस्ता सूचना चोरिए भन्ने प्रस्ट भइसकेको छैन। सार्वजनिक रूपमा उपलब्ध जानकारीहरू मात्रै ह्याकरले प्राप्त गरेको ट्रम्पले जनाएका छन् ।

द न्यूयोर्क टाइम्स, पोलिटिको र द वाशिङटन पोस्टले ती गोप्य सूचनाहरू ट्रम्पको चुनावी अभियानभित्र उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई छनोट गर्नेबारे भएको जनाएका छन् । तर उनीहरूले हालसम्म विस्तृतमा जानकारीहरू प्रस्तुत गरिसकेका छैनन्।

काठमाडौँको बसन्तपुरमा ‘गाईजात्रा’(फोटोफिचर)

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको बसन्तपुरमा परिक्रमा गरिँदै । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

तस्बिर : हरिराम भेटुवाल/ रासस

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सङ्घमा सत्तासमीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।

हामीकहाँ तीस–चालीस वर्षका लागि सोचेर नीति बनाउने परम्परा नै छैन

नारायण गाउँले ।
सुन्दा नमिठो लाग्ला, तर हामीकहाँ खाद्यान्नमा अब कृषि–क्रान्ति सम्भव छैन । केही दशकअघिसम्म हामी कृषि उत्पादमा आत्मनिर्भर थियौँ, त्यही अवस्थासम्म फर्किन सके हाम्रा लागि क्रान्ति त्यही हो ! व्यावसायिक कृषिका लागि हामीसँग जग्गा नै छैन । आज लहलह देखिने धानखेत अर्को वर्ष जाँदा सिमेन्टका पोल ठड्याएर उजाड़ प्लटिङमा फेरिएको हुन्छ । अझ दिक्दारी त, हजार वर्षअघि डिजाइन गरिएका युरोपका सड़कमा फुटपाथ छ तर हाम्रा आजका प्लटिङ हेर्नुभयो भने त्यहाँ फुटपाथको कन्सेप्टसम्म पनि छैन । शासक र नीतिनिर्माताको आँखा पनि बन्द छ । ६ मिटरको बाटोमा दोहोरो फुटपाथ राख्नुभो भने एउटा दमकल पनि पास हुँदैन ।

भूमिसुधारको क्षेत्रमा हामी फेल भइसक्यौँ । जग्गा यसरी टुक्राटुक्रा बनिसके कि खेती त छोड्नुहोस्, एउटा उद्योग खोल्नपुग्ने एकीकृत जग्गा छैन । समग्र उद्योग भन्दा जग्गा किन्न महँगो छ । खेतमा खेतीमात्रै गर्न पाइने नियम बनाएको भए यसरी दुर्दशा आउने थिएन ।
आज सिञ्चाइको योजना बन्छ, अर्को वर्ष त्यसलाई बनाउने भनेर ऋण लिइन्छ, ठेक्का र मिति थपिदै जान्छन् अनि त्यो नहर बन्ने बेलासम्म खेत नै बाँकी रहन्न । मलको समस्या हरेक वर्ष दोहोरिन्छ, मल त आउँदैन, तर कारखाना खोल्ने निर्णय हुन्छ । हामी फिजिबिलिटी त हेर्दैनौं भन्ने पोखरा र भैरहवा एअरपोर्टले देखाएकै छन् । कुनै दिन कारखाना खुल्ला पनि, तर त्यतिन्जेल त्यो मल हाल्ने खेती नै रहन्न ! कारखानाको ऋण तिर्न युवालाई मलेशिया बेच्न पर्छ ।

टुक्रा टुक्रा जग्गामा प्रतिष्पर्धी रूपमा कृषि असम्भवजस्तै हुन्छ । घरगाउँलाई त पुग्ला, तर त्यसले खुला बजारमा स्पर्धा गर्न सक्दैन । एक बिगाहा जग्गामा एकै मेलोमा जोत्नसक्ने विशाल ट्याक्टर, हाम्रा जिल्लाभन्दा ठूला खेतहरू र अत्याधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन हुने कृषिउत्पादसँग हाम्रो सानोसानो टुक्रामा अर्मपर्म गरेर गरिने खेतीले कसरी स्पर्धा गर्नु ? सोच्नुस् त, विश्वकै महँगो ढुवानि मध्येको एक नेपालमा भारतको काश्मीर या चीनको तिब्बतबाट हप्तौं लगाएर आउने स्याउभन्दा हाम्रो जुम्ला या मुस्ताङ्को स्याउ किन महँगो हुन्छ ? चर्को ढुवानि तिरेर टाढा भारतबाट आउने गोलभेडा र करेलासँग पनि हाम्रो धादिङ र काभ्रेका उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैनन्, किन ? स्केलका कारण, प्रविधिका कारण । ठूलो रिस्क लिएर, च्यानलपिच्छे घूस खुवाएर र अवैध ढुवानीको खर्च बेहोरेर आउने भारतीय कुखुराका चल्ला त हाम्रो उत्पादनभन्दा महँगो हुनुपर्ने हो नि तर उल्लेख्य सस्तो पर्ने भएकाले यस्तो पैठारी हुँदै आएको छ । धान, मकै, गहुँ, कोदोजस्ता खाद्यान्नमा अप्ठेरो भए पनि सानो स्केलमा पनि उल्लेख्य फाइदा लिन सकिने मसला, फलफूल र तरकारीजस्ता नगदे बालीतिर हामीले काम गर्न सक्नुपर्ने हो ।

माओवादीले क्रान्तिको नाममा, सामन्त र शोषकको नाममा अलिकति नगद भएका, सरसापट चलाउन सक्ने र पढेलेखेका नागरिकहरूलाई गाउँबाट लखेटेपछि गाउँको अर्थतन्त्र र सुरक्षा मर्दै गएर व्यापक रूपमा आन्तरिक बसाइँ सराइ बढेको थियो । त्यसको पहिरो अझै रोकिएको छैन र हाम्रा गाउँघर उजाड़ हुँदै गएका छन् भने तराईको कृषि योग्य जमीन खुम्चिँदै गएको छ । कम्तिमा तिनले परिवारका लागि पुग्ने खाद्यान्न, दलहन र तरकारी आफै उत्पादन गर्ने गर्थे । आज ती सबै आयात गर्नुपर्छ । उत्पादन हुने ठाउँमा तलका जस्ता घर र बाँदर मात्रै भेटिन्छन् ।
हामीकहाँ तीस–चालीस वर्षका लागि सोचेर नीति बनाउने, जुन सरकार आए पनि त्यसको स्वामित्व लिने र समायानुकूल परिमार्जन गर्दै अघि बढाउने परम्परा छैन ।

हाम्रो ध्यान कसलाई मन्त्री बनाउने, कसरी मन्त्रालय फुटाउने र भाग पुर्याउने, कसरी चुनावका लागि पैसा थुपार्ने र कसरी शक्तिको केन्द्रमा झुन्डिरहने भन्नेतिर मात्रै छ । कृषि मन्त्रालयसमेत नितान्त व्यक्ति व्यवस्थापनका लागि टुक्रा पारेर पशुमन्त्री बनाएका ओली अहिले पनि प्रधानमन्त्री छन् ।

भूमिसुधार, सहरी विकास, कृषि र उद्योगका आफ्नै मन्त्रालय, अर्बौंको बजेट, हजारौँ कर्मचारी अनि मन्त्रीहरू छन् । अझ प्रदेशपिच्छे यस्ता भद्दा संरचना र खर्च छ । तर ती किन मन्त्री छन् भन्ने तिनैलाई थाहा छैन । योजना बनाउने राष्ट्रिय योजना आयोग पनि छ । तर हाम्रा आँकडा भने निरन्तर ओरालो लाग्दा छन् । हाम्रो जलविद्युतको सम्भावना ठूलै छ, त्यसै खेर गएको छ । बस्ती र खेती नभएका धेरै पहाडी क्षेत्र पनि कति छन् कति । तर एउटा समाचार पढियो, धनुषामा ८० बिघा जग्गामा आँपखेती फाँडेर सोलार फार्म राख्ने तैयारी हुँदै रहेछ । हाल सिँचाइको कुनै योजना नरहेकाले त्यस्तो अनुमति दिन लागेको बुझियो । बढ्दो गर्मी, सुख्खा र जलवायु परिवर्तनसँग पहिल्यै जुधिरहेको त्यो क्षेत्रमा आँपका त्यति धेरै रूख काटेर सोलार फार्म बनाउँदा त्यसको वातावरणीय असर के होला ? टाउको पनि कतिकति कुरामा दुःखाउनु !

नेवार समुदायमा जात्राको रौनक

गण्डकी। सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ । नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ ।

गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो । नेवाः खलः कचा पृथ्वीचोकले आयोजना गरेको लाखेनाच प्रतियोगितामा २० कलाकार समूहले भाग लिए । तीन समूह अप्रतियोगीका रुपमा मञ्चमा प्रस्तुत भए । पोखरा प्रदर्शनी केन्द्रमा दिनभर लाखेनाचको रौनक चल्यो । कलाप्रेमीले लाखे हेर्दे नेवारी परिकारको स्वाद लिए । दर्शकलाई नेवारी परिकार चखाउन प्रतियोगितास्थलमै ‘झो भ्वयः’ को प्रबन्ध गरिएको थियो ।

प्रतियोगितामा पोखराको मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम, रामकृष्ण टोल ल्याम्ह पुचः दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र ग्रैहापाटन नेवाः समाज सान्त्वना भयो । विजेता समूहले क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र ११ हजार एक सय ११ नगद पुरस्कार जिते । लाखे नाचको संरक्षण र पुस्तान्तरणको ध्येयले प्रतियोगिता आयोजना गरिएको मूल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताए।

लाखेनाच घण्टाकर्ण पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती पाइन्छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् । नेवार समुदाय बसोबास गर्ने ठाउँअनुसार फरक–फरक तरिकाले लाखेनाच नचाउने गरिन्छ । लाखेनाचको प्रचलन र यसको इतिहासबारे पनि विभिन्न तर्क पाइन्छन् ।

लाखेनाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिङ्गारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायको बसोबास रहेको बागलुङ सदरमुकाममा पनि अहिले लाखेलगायत नाच प्रदर्शन भइरहेका छन् । बर्खे नाचलेसमेत चिनिने भदौरे जात्रा आजदेखि सुरु भएको छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए।

भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन हुने उनको भनाइ छ । गाईजात्रा पर्वका अवसर पारेर वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिएको उनले बताए।

बागलुङका नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रुपमा जात्राको परम्परालाई धान्दै आएका छन् । यहाँ नेपाल भाषा मंका खलः र शाक्य कल्याण समाजको अगुवाइमा भदौरे जात्रा र नाचको परम्परा धानिँदै आएको छ । लाखे र जोगीनाच शाक्य कल्याण समाजले निकाल्दै आएको छ । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् । नेवार युवाहरुको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ ।

झण्डै चार सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट बागलुङ आएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताए। “भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमको रुपमा जात्रालाई लिइन्छ”, उनले भने, “जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खेनाच निकाल्न सुरु हुन्छ ।”

भदौरे जात्रामा देखाइने हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् । घोडा नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्क्याउँदै बजार परिक्रमा गराउने चलन रहेको संस्कृतिकर्मी छोटाले बताए। कटुवाल नाचमा पनि युवाहरु विभिन्न रुपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे र खेतालालाई रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।

कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्कहरु महिलाको भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ ।

जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवारभित्रको शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ । जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगीनाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा चुनौती रहेको शाक्य कल्याण समाजका अध्यक्ष राजन शाक्यले बताए ।

जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिने गरेको उनको भनाइ छ । “जात्राले सामाजिक विकृति, विसङ्गतिप्रति व्यङ्ग मात्र गर्दैन”, उनले भने, “मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ ।”

सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने बेग्लाबेग्लै छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेशभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ ।

नेपाल भाषा मंकाः खलःका अध्यक्ष राजभण्डारीले पहिलेपहिले भदौरे नाच हेर्नकै लागि मानिसहरु गाउँगाउँबाट बागलुङ बजार झर्ने गरेको बताउनुभयो । “दिनभर जात्रामा रमाउने र चाडबाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो”, उनले भने, “ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो ।”

पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । बागलुङको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् ।

“पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच सङ्कटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ”, अध्यक्ष राजभण्डारीले भने, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ ।”

म्याग्दी सदरमुकाम बेनी बजारमा पनि साउन शुक्ल चतुर्दशीमा पर्ने घण्टाकर्ण पर्वदेखि बर्खेनाच सुरु भएको नेपाल भाषा मंकाः खलःअन्तर्गतको नेवाः ल्याम्ह पुचःका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बर्खेनाचमा लाखे, नागनागिनी, घोडानाच, श्रीकृष्ण रथयात्रालगायत निकाल्ने गरिएको छ । नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह कम हुँदै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको अध्यक्ष श्रेष्ठको अनुभव छ । बेनीमा तीज पर्वसम्म बर्खेनाच देखाउने चलन छ ।

हिमालपारि मुस्ताङ र मनाङबाहेक नेवार समुदायको सघन बसोबास रहेका पोखरासहित तनहुँको दमौली, बन्दीपुर, पर्वतको कुश्मा गोरखालगायत जिल्लामा यतिबेला सांस्कृतिक नाच र जात्रा चलिरहेका छन् । बसाइँसराइ, युवाको विदेश पलायन, आधुनिकताको प्रभाव, मौलिक संस्कृतिप्रतिको अरुचिजस्ता कारणले पुरानो कला र संस्कृति जोगाउने चुनौती भने नेवार समुदायमा पनि थपिएको छ । समाजमा प्रचलित संस्कृति र परम्परा नास भएर जाने हुन् कि भन्ने चिन्ता नेवार अगुवाहरुलाई छ । नयाँ पुस्तालाई संस्कृति संरक्षणको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्ने संस्कृतिकर्मी छोटाले बताए।

दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु भएको छ । कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए ।

भेरीगंगा नगरपालिकामा भएको दुर्घटना गाडीमा सवार २१ जना घाइते भएका थिए । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन् ।

बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले हसिनाविरुद्धको मुद्दाको अनुसन्धान गर्दै

बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै न्यायाधिकरण गठन गरेका थिए । 

अगस्ट ५ मा प्रधानमन्त्री पद त्यागेर भारत भाग्नुअघि हसिनाले १५ वर्षको आफ्नो शासनविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको एक महिनाको विरोध प्रदर्शनमा चार सय ५० भन्दाबढीको मृत्यु भएको थियो । धेरैजसो प्रहरीको गोलीबाट मारिएका थिए ।

“हामी यस चरणमा प्रारम्भिक प्रमाणहरू सङ्कलन गर्दैछौँ”, ‘सामूहिक हत्या’ सँग सम्बन्धित मुद्दा रहेको उल्लेख गर्दै न्यायाधिकरणको अनुसन्धान सेलका उपनिर्देशक अताउर रहमानले भने, “त्यसपछि हामी अपराध भएका स्थानमा जानेछौँ ।”

उनले सबै तीन वटै मुद्दा निजी व्यक्तिहरूले ल्याएको र हसिनाका धेरै पूर्व शीर्ष सहयोगीहरूको नाम पनि मुद्दामा रहेको बताए । यी मुद्दा राजधानी ढाकाका उपनगरहरू वा नजिकैका जिल्लाहरू मीरपुर, मुन्शीगञ्ज र सावरमा भएका हिंसासँग सम्बन्धित छन् ।

यसबाहेक स्थानीय मिडिया रिपोर्टहरूका अनुसार मुलुकभरमा स्थानीय प्रहरी एकाइहरूले हसिनाविरुद्ध कम्तीमा १५ मुद्दा दायर गरेका छन् । 

केही मुद्दा हालैको अशान्तिअघिका घटनासँग सम्बन्धित छन् र आरोपहरूमा हत्या र ‘मानवताविरुद्धको अपराध’ समावेश छन् ।

पाकिस्तानविरुद्ध मुलुकको मुक्ति सङ्ग्राममा भएका अत्याचारहरूको छानबिन गर्न हसिनाले सन् २०१० मा बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) गठन गरेका थिए ।

हसिनाको नेतृत्वमा आइसिटीले एक सयभन्दा बढी व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो र यसमा धेरैजसो उहाँका राजनीतिक प्रतिद्वन्द्वीहरू थिए ।

अन्तर्राष्ट्रिय महासन्धिहरू पालना नगरेको भन्दै अधिकार समूहहरूले प्रायः अदालतको आलोचना गरेका थिए । हसिनाको सरकारमाथि व्यापक मानवाधिकारको उल्लङ्घन गरेको आरोप लगाइएको थियो । यसमा उहाँका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्या पनि समावेश थिए । 

बङ्गलादेशी सुरक्षा बलले विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहलाई दबाउन अनावश्यकरूपमा बल प्रयोग गरेको बलियो सङ्केत रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार बताएको थियो ।