`

परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

बुधबार भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री डा राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद व्यक्त गरेको  सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

भ्रमणका क्रममा मन्त्री डा राणाले यही भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यस्तै सोही दिन आफ्नाभारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँगसमेत भेटवार्ता गरेकी थिइन् ।

भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी थिइन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा भोलि स्वदेश फर्कनेछिन् ।

प्रेस कार्डको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्छौंः अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा बुधबार आयोजित ‘आमसञ्चार माध्यम’ विषयका विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस कार्डको दुरुपयोग गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचयपत्रको सदुपयोग हुनुपर्नेमा उनले जोड दिए ।

“पछिल्लो समयमा प्रेस पास दुरुपयोग भएको विषयमा धेरै गुनासा आउने गरेका छन् । त्यसलाई ध्यानमा राखी छानबिन भइरहेको छ”, अध्यक्ष बस्नेतले भने । उनले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्योल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षरता आवश्यक भएको बताए ।

पत्रकार र सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्नुपर्ने दायित्व पत्रकारको भएको बताए । “काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर आवश्यक नियमन गर्दै आएको छ”, उनले भने ।

प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, ‘बार्गेनिङ’ गर्नेलगायतलाई काउन्सिलले जारी गरेको पत्रकार परिचयपत्र खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्ने तथा साइवर र अन्य अपराधजन्य अभियोगमा अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको अध्यक्ष बस्नेतले बताए ।

सो अवसरमा काउन्सिलको काम, कर्तव्य, अधिकार तथा संस्थागत संरचनाबारे वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहभागी विद्यार्थीलाई जानकारी दिएका थिए ।

शिक्षामन्त्रीलाई त्रिवि स्ववियुको प्रश्नः कसले, कहाँ र कुन माध्यमबाट धम्की दियो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिवि पदाधिकारीहरूलाई धम्की दिनेको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

बुधबार स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गरी कसले, कहिले, कुन माध्यमबाट सुरक्षा थ्रेट दिएको हो त्यसको प्रमाण सार्वजनिक गर्न माग गरेका हुन् ।

बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीलाई सुरक्षा थ्रेट भएको भन्दै गृहमन्त्रीलाई सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु ।’


स्ववियु सभापति ओझाले विश्वविद्यालय जस्तो एउटा स्वायत्त निकायमा कुनै पनि प्रकारको दवाव, प्रभाव रहन हुँदैन र सबै पदाधिकारी, प्राध्यापक, विद्यार्थी तथा कर्मचारी सुरक्षित रहेर निर्वाध रूपमा शैक्षिक गतिविधिमा लाग्न पाउनुपर्दछ भन्ने मान्यतालाई ध्यानमा राखिएको पनि उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो केही दिन यता विश्वविद्यालयका पदाधिकारीलाई असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित बन्न नसकेको भन्ने समाचार सम्प्रेषण भइरहेको विषयप्रति स्वतन्त्र विद्यार्थी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पदाधिकारीलाई सुरक्षा थ्रेट भएका कारण विश्वविद्यालयमा उपस्थित नभएको र उक्त असुरक्षा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण गरिनुले हामीलाई चकित तुल्याएको छ। कसले? कहाँ? कुन माध्यमबाट? कसलाई? कुन प्रकारको? धम्की दिएको हो त्यो नखुलाई विद्यार्थी राजनीति र आन्दोलनका आजसम्मका उपलब्धिहरुको समेत अबमूल्यन हुनेगरी विश्वविद्यालयका पदाधिकारीको गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति र मिडियाबाजीले हामीलाई लज्जित तुल्याएको छ।’

फेक अडियो उत्पादन गरी सीधा कुरामार्फत प्रकाशन गर्ने राजकुमार तिमल्सिना पक्राउ

काठमाडौँ । सीधा कुरा अनलाइनले प्रशारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

तिमल्सिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्ममी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा उनी फरार थिए ।

तिमल्सिनाले तयार गरेको फेक अडियो ‘स्टिङ अपरेसन’को नाममा सीधा कुरा अनलाइनमार्फत् सार्वजनिक गरिएको थियो ।

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनलाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये तिमल्सिनासहित फेक अडियो सार्वजनिक गर्ने अनलाइन ’सीधाकुरा’का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना फरार छन् ।

बुधबार तिमल्सिना पक्राउ परेपनि कँडेल र ढुंगाना भने अझै फरार रहेका छन् । यस प्रकरणमा सर्वाेच्च अदालतमा पनि तीनै जनाविरुद्ध अदालतको अबहेलनाको मुद्दा समेत विचाराधीन छ ।

उक्त अडियो जाँच गराइएकोमा प्रयोगशाला परीक्षणले सिधाकुरामा प्रसारित अडियो झूटा भएको र यसमा संलग्नविरुद्ध तीनवटा कसुरमा अनुसन्धान गरी कारबाही गर्नुपर्ने राय पेस गरेको थियो ।

तनहुँमा ठूलो पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ । तनहुँको घाँसीकुवामा ठूलो पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्कोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर र विजुलीको खम्बासहित सडकमा आएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पर्यटनमन्त्रीको निर्देशनः कुन फाइल कहाँ अड्किएको छ,२४ घण्टाभित्र छिनोफोनो गर्नुहोला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई चुस्त र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग बुधबार ‘समस्या तथा चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा उनले मातहतलाई निर्देशन दिएका हुन् ।

‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला,’ मन्त्री पाण्डेले भने । उनले असोज महिनाभित्र प्रत्येक निकायले कार्यप्रगति विवरण पेश गर्न पनि निर्देशन दिए ।

‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला,’ पाण्डेले भने, ‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि के–के गर्छौं ? गर्न सक्ने कार्यक्रमहरु के–के हुन् ? गर्न नसक्ने काम के–के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु ।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोहीअनुसार अघि बढ्नसमेत कर्मचारीलाई निर्देशन दिए । उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए ।

एभरेष्ट महिला भलिबल लिग : काजकिस्तानकी कालिनोभाले मधेश युनाईटेडबाट खेल्ने

काठमाडौं । काजकिस्तानकी भलिबल खेलाडी कालिनोभा यभजेनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) मधेश युनाइटेडबाट खेल्ने भएकी छन् ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक नेपालमा महिला भलिबलको फ्रेन्चाईज लिग आयोजना हुँदैछ । त्यसका लागि मधेश युनाइटेडले मंगलबार आफ्नो पहिलो विदेशी खेलाडीको घोषणा गरेको हो ।

‘काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईेटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ ।’ मधेश युनाइटेडले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

३५ वर्षिय स्पाईकर कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ ।
कालिनोभाले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न उत्साहित रहेको बताईन् । ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु । मधेश युनाईटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’

मधेश युनाईटेडकी अपरेसन हेड सांज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाईदा पुग्ने बताईन् ।

मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् ।

यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् । पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको आधिकारिक मिति केही समयपछि घोषणा हुने आयोजकले जनाएको छ ।

पहिरोले अवरुद्ध नागढुङ्गा सडक एकतर्फी खुल्यो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्राउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

“कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौँ उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,” उनले भने ।

नागढुङ्गा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ ।

नागढुङ्गा प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधान ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाडौँ छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।

पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न चीन इच्छुक

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।

चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत सोङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए ।

शान्ति प्रक्रियाका बाँकी कामको रूपमा रहेको टीआरसी विधेयक संसदबाट पारित भएकोमा निकै खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हुने बताए।

जलविद्युत आयोजना निर्माणका क्रममा देखिएका वनका समस्या समाधान गर्न उर्जा मन्त्रालयको सक्रियता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वनका समस्या समाधान गर्न मन्त्रालयले सक्रियता देखाएको छ ।

वनका समस्याका कारण आयोजना समयमा नबन्ने तथा बनेका आयोजनाको लागतसमेत महङ्गो हुने गरेको भन्दै त्यसको समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पहलकदमी लिएका हुन् ।

ऊर्जा मन्त्रालयमा आज आयोजित छलफलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, दुवै मन्त्रालयका सचिव, सहसचिवलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले विकास निर्माणको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले सरकारले राखेको लक्ष्य पुरा गर्ने सिलसिलामा देखिएका कानुनी समस्या समाधानका लागि अन्तर मन्त्रालयस्तरीय छलफल सुरु गरिएको बताए ।

“सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ तर वन र जग्गा प्राप्तीको समस्याले समयमा काम नबन्ने र बनेका आयोजना पनि महङ्गो हुने अवस्था सिर्जना भएको छ, वन र जग्गा प्राप्तिका लागि देखिएका कानुनी अड्चनलाई समाधान गर्दै हाम्रो लक्ष्य हाँसिल गर्नेतर्फ लाग्नुपर्छ,” मन्त्री खड्काले भने ।

पछिल्लो समय विद्युत् माग बढ्दै गएको र नेपालको प्रमुख आयस्रोतको माध्यम ऊर्जा क्षेत्र रहेकाले विद्युत् उत्पादनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए। अनावश्यक रुपमा उत्पादनकर्तालाई दुःख दिन नहुने मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले जलस्रोतको धनी देशमा दूरदराजमा बत्ती नपुग्नु दुःखद कुरा भएको बताए। उनले वातावरणीय संरक्षणसँगै विकाससमेतलाई ध्यान दिनुपर्ने उल्लेख गरे । उनले विकासका क्रममा देखिएका समस्यालाई एक-एक छलफल गरेर समाधानतर्फ लाग्नुपर्ने बताए।

उनले एकै ठाउँबाट सेवा प्रवाह गर्ने वातावरण निर्माणमा लाग्नुपर्ने उल्लेख गरे । विकासका क्रममा देखिएका समस्या समाधानका लागि सरोकारवाला निकाय लाग्नुपर्ने उनको भनाइ थियो । प्रकृयागत ढिलाई र कानुनको झण्झटलाई हटाएर अगाडि बढ्नुपर्ने मन्त्री खड्काले बताए।

वन तथा वातावरणमन्त्री शाहीले जग्गा प्राप्तिका प्रक्रियालाई सहज बनाउन वन मन्त्रालयले काम गरिरहेको उल्लेख गरे । उनले वन जोगाउँदै विकास कसरी गर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बेला आएको बताए । मन्त्री शाहीले वन मन्त्रालयसँग जोडिएका ऊर्जासहित अन्य मन्त्रालयको समस्या समाधानमा आफ्नो मन्त्रालयले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘लगानीकर्तालाई लगानीमैत्री वातावरण निर्माणमा वन मन्त्रालयसँग जोडिएका विषयको समाधानमा मन्त्रालयले काम गर्छ, वन मन्त्रालयले सुधारको लागि कार्ययोजनासमेत बनाउन लागिरहेको छ,’उनले भने । सरकारले राखेको लक्ष्य प्राप्तीका लागि वन मन्त्रालय बाधक नबन्ने उनको भनाइ थियो ।

वनमन्त्री शाहीले केही हुँदैन होइन की केही हुन्छ भन्ने मान्यता स्थापित गर्न सरकार लागिरहेको स्पष्ट पारे । आ–आफ्नो मन्त्रालयमा देखिएका समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले तीन महिनाभित्र वन मन्त्रालयको समस्या समाधान हुनेगरी समिति बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले सरकारको प्रमुख लक्ष्य विकास भएकाले उक्त लक्ष्य पुरा गर्न आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव सुरेश आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय गोपालप्रसाद सिग्देल र सरीता दवाडी, वन तथा वातावरण मन्त्रालयका सहसचिव मेघनाथ काफ्लेलगायतले कानुनमा भएका विद्यमान समस्याका कारण विकास निर्माणमा बाधा उत्पन्न भएकाले यसको समाधानका लागि मन्त्रीस्तरबाट पहल हुनु सकारात्मक कुरा भएको बताएका थिए ।

भ्रष्टाचारका काण्डको छानबिन गर्न हदम्याद कुनै पनि हालतमा स्वीकार्य हुँदैनः नेता केसी

काठमाडौं । सांसदहरुले भ्रष्टाचारका विषयको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा  छलफल विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले एकैस्वरमा भ्रष्टाचारका विषयको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका हुन् ।

सांसद अर्जुननरसिंह केसीले छानबिन र यथार्थलाई झुक्याउने तथा भ्रष्टचारीलाई लुकाउने र जोगाउने गरी पाँच वर्षे हदम्याद राख्न नहुने बताए ।

‘भ्रष्टाचारीलाई जोगाउन सरकार नै लागिपरेको छ भन्ने जनभावना बढिरहेको छ, यस्तो अवस्थामा भ्रष्टाचारका विषयमा छानविन र मुद्धा चलाउन पाँच वर्षे हदम्याद राख्नु लोकतन्त्रप्रतिकै चुनौती हो’, उनले भने,’चर्चित भ्रष्टाचारका काण्डको छानविन गर्न हदम्याद राख्दा भ्रष्टाचारी जोगाउने हुनसक्छ, यसले विद्रोह जन्माउँछ, मुद्धा चलाउने कुनै सीमा हुनुहुँदैन, हदम्याद कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

सांसद रोशन कार्कीले भ्रष्टाचार निवारणका लागि राजनीतिक प्रतिबद्धता र कार्यान्वयन आवश्यक रहेको दाबी गर्दै भ्रष्टाचारका विषयको छानबिन गर्न हदम्याद राख्न नहुनेमा जोड दिइन् ।

‘हदम्याद किन र केका लागि राख्ने ?’, उनले प्रश्न गरिन्, ‘यही हालतमा पारित गर्ने हो भने यो ऐनले भ्रष्टाचार निवारण गर्ने नभइ प्रोत्साहित गर्छ ।’

सांसद प्रेम सुवालले राजनीतिक र प्रशासनिक नेतृत्व तथा ठूला व्यावसायिक घरनाबीच भ्रष्टाचार गर्न विशेष सम्बन्ध हुने गरेको जिकिर गर्दै निजी क्षेत्रलाई पनि अख्तियारको अनुसन्धानको क्षेत्राधिकारमा समेट्नुपर्ने बताए ।

सांसद राजेन्द्र केसीले भ्रष्टाचारमा मुछिएका उच्च पदस्थ कर्मचारीलाई नै अख्तियारको पदाधिकारीमा नियुक्ति गर्दा भ्रष्टाचार निवारणसम्बन्धी काम प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै पूर्वन्यायाधीश मध्येबाट पदाधिकारी बनाउनुपर्ने बताए ।

बैठकमा  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका थिए  ।

उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए । उनले भने, ‘समितिमा छलफलका क्रममा महत्वपूर्ण विषय पहिचान भएका छन्, अब समितिबाट जतिसक्दो छिटो पारित होस्, भ्रष्टाचारसम्बन्धी विषय निकै गम्भीर छ । समितिमा धेरै छलफल भइसकेको छ, पहिचान भएका विषयलाई दफावार छलफलका माध्यमबाट निष्कर्षमा पुग्दा उचित हुन्छ ।’

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको भेट

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले  शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना दिएका थिए । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

तेक्वान्दो खेल्न भिजन तामाङ दक्षिण कोरिया प्रस्थान

काठमाडौँ । अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ बुधबार दक्षिण कोरियाको सोल प्रस्थान गरेका छन् ।

यही भदौ ७ गते हुने उक्त प्रतियोगितामा भिजनले दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनले पुरुष ३८ किलो मुनि र एकल पुम्सेमा सहभागिता जनाउनेछन् ।

आइओएफटिसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक दक्षिण कोरियामा नै छन् । उनले ग्यारोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार भइसक्योः पूर्वराष्ट्रपति ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताएका छन् ।

पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई सम्बोधन गदै उपराष्ट्रपति ह्यारिसले अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको र यसका लागि उहाँप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, “कमला ह्यारिस यस पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहिनहरुको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो ।”

“उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूको लागि काम गर्न तयार हुनुहुन्छ,” ओबामाले ह्यारिसलाई सङ्केत गर्दै भने ।

पूर्वराष्ट्रपति ओबामाले ह्यारिसको उम्मेदवारीको समर्थन गर्दै भने, “उहाँ (ह्यारिस) राष्ट्रपति पदका लागि योग्य व्यक्ति हो र यसको मूल्याङ्कन गरेर डेमोक्र्याटिक पार्टी र यसका नेता तथा कार्यकर्ताले अभियानका लागि साथ दिएका हुन् ।’

उनकी पत्नी मिशेल ओबामाले राष्ट्रपतिका रूपमा ह्यारिसको विजयले सन् २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदाको हर्सोल्लासको माहोल दोहोरिने विश्वास व्यक्त गरिन् ।

गाजा आक्रमणका क्रममा एकसय ७० पत्रकारको मृत्यु

गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ ।

गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको उल्लेख छ ।

विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन र पत्रकारको हत्या र अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ ।

इजरायली कब्जामा रहेको विमानले मङ्लबार गाजामा सयौँ विस्थापितलाई आश्रय दिँदै एक विद्यालयमा बम प्रहार गरेको थियो । जसमा अधिकांश महिला तथा बालबालिकासहित १२ जना प्यालेस्टिनीहरू मारिएका थिए भने दर्जनौं घाइते भएका थिए ।

गाजा आक्रमणको १० महिनाभन्दा बढी समयदेखि जारी छ । युद्धका कारण परिणामस्वरूप दशौँ हजार शहीद, घाइते र बेपत्ता छन् । आक्रमणले पूर्वाधार र महत्त्वपूर्ण सुविधाहरूको विनाश गरेको छ । निरन्तरको आक्रमणले गाजामा खाना, पानी, औषधि र ईन्धनलगायतको आपूर्ति अवरुद्ध भएको कारण गाजापट्टीमा अकल्पनीय मानवीय सङ्कट निम्त्याएको छ ।

चीनको कोइला खानीमा दुर्घटना हुँदा सात जनाको मृत्यु

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधबार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार घटनामा एक जना फसेका छन् ।

सिसिटिभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान सहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेका समय बिहान १० बजे भएको थियो ।

खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एकजना व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी छ ।

दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

भारतका परिवहन मन्त्री गड्करीले भने-नेपालीको सुरक्षाका लागि सबै सहयोग हुनेछ

विष्णु गौतम, मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा केही नेपाली संगठनका पदाधिकारीले केन्द्रीय परिवहन मन्त्री नितिन गड्करीसँग भेटवार्ता गरेका छन् । नेपालका लागि सधैं शान्ति समृद्धिको काममा गर्ने मन्त्री गडकरीलाई नेपाली पदाधिकारीले नेपाली टोपी, दोसल्ला र रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए । त्यसक्रममा मन्त्री गड्करीले नेपालीहरुलाई हर सम्भव सहयोग र सुरक्षा दिने भरोसा दिलाएका थिए ।
भारत नेपाल मैत्री सम्बन्ध सयौंवर्षदेखि रहिआएको र निरन्तर रहेको उल्लेख गर्दै मन्त्री गड्करीले निकट भविष्यमा पनि सम्बन्ध थप घनिष्ठ रहने बताए ।

उनले दिल्ली–पोखरा बस निकै राम्रो र सुरक्षित रहेको भन्दै यसले दुई देशको घनिष्ठता निकै बढेको बताए । उनले केही बस व्यवसायीले निजी बस चलाउने गरेके र ओभर टेक गर्दा कैयौं नेपालीहरु असुरक्षित र ज्यानको समेत खतरा भएको भन्दै गड्करीले त्यसतर्फ सतर्क अपनाउनसमेत आग्रह गरेका थिए ।

भेटमा संयुक्त महासंघ पदाधिकारी टीमबाट विष्णु काफ्ले, भारतीय कामगारका अध्यक्ष राज ठाकुर र अन्य विशिष्ट पाहुनाहरु को उपस्थिति रहेको थियो ।

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५९, विकास बैंक शून्य दशमलव ७२, वित्त चार दशमलव ९९, लगानी शून्य दशमलव १२ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बीमा शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र लघुवित्त शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । त्यसैगरी, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६८ र व्यापार समूह दुई दशमलव ०९ प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार एक सय ३० कित्ता शेयर किनबेच भएको छ ।

बजेटमा परेका निजी क्षेत्रसँग सम्बन्धित २५ प्रतिशत योजना मात्रै पूर्ण कार्यान्वयन

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखिएको छ ।
      
नेपाल उद्योग परिसङ्घ (सीएनआइ)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा तयार पारेर बुधबार सार्वजनिक गरेको ‘बजेट वाच’ प्रतिवेदनअनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका ७३ बुँदाहरुको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको हो ।

बजेटमा परेका २४ दशमलव ६५ प्रतिशत अर्थात् १८ वटा बुँदा पूर्ण कार्यान्वयन भएको, ६९ दशमलव ८६ प्रतिशत अर्थात् ५१ बुँदा आंशिक कार्यान्वयन भएको र पाँच दशमलव ४७ प्रतिशत अर्थात् चार वटा बुँदाको कार्यान्वयन शून्य देखिएको हो ।

‘बजेट वाच’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारको वार्षिक बजेट कार्यान्वयनका लागि सबै विषयगत मन्त्रालय तथा मातहतका निकायहरु जिम्मेवार भएर लाग्नुपर्ने बताइन् । त्यस्तै वर्तमान सरकारले बजेट कार्यान्वयन कार्ययोजनासहित गर्न खोजेका नयाँ कामको सूची तयार भइरहेको पनि नउले बताइन् ।

“वर्तमान सरकारले आफ्नो सय दिनको कार्ययोजना बनाईरहेको छ, प्राथमिकताका क्षेत्र निर्धारण गर्ने र त्यसको कार्यान्वयनमा गति दिनका लागि यो महत्वपूर्ण हुनेछ”, मुख्यसचिव गड्तौलाले भनिन्, “वार्षिक बजेटमा परेका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकाय जिम्मेवार र जवाफदेही भएर लाग्नसके लक्ष्यअनुसार परिणाम आउँछ ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले वार्षिक बजेटमार्फत् गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था हेर्नका लागि ‘बजेट वाच’ सुरु गरिएको उल्लेख गर्दै यो अध्ययनले निकालेको निष्कर्ष नीति निर्माण तह र सरकारलाई समेत उपयोगी हुने बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बजेट कार्यान्वयनमा केही प्रगति देखिए पनि समग्रमा भने कमजोर नै रहेको उनको भनाइ छ ।
      
‘बजेट वाच’ प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ को बजेटमा परेका अधिकांश बुँदा नीति, कानुन निर्माणसँग सम्बन्धित भएकाले प्रगति कमजोर देखिएको छ । ऐन, नियम, विनियम, कार्यविधि निर्देशिकाको अभावमा धेरै योजना तथा कार्यक्रम सहज रुपमा अघि बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ । 

“कानुन बनिसकेका विषयमा पनि संरचनागत र प्रक्रियागत झन्झटका कारण अपेक्षित रुपमा कार्यान्वयन हुन सकेको देखिँदैन, मस्यौदा बनिसकेका कानुन स्वीकृतिमा विलम्ब भएको देखिन्छ, विधेयक लामो समयसम्म संसद्मा तथा नियमावली, कार्यविधि एवम् निर्देशिका मन्त्रिपरिषद्मा अड्निे गरेको देखिएको छ”, प्रतिवेदनमा भनिएको छ ।

कतिपय योजना तथा कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने गरि निर्धारण भएकोमा त्यसको वास्तविक कार्यप्रगति आकलन हुन सकेको उल्लेख छ । त्यस्तै बजेटका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले छलफल चलाए पनि त्यसको ढाँचा यकिन गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्ष अध्ययनले निकालेको छ ।
      
गत आर्थिक वर्षको बजेटमा परेका तर प्रगति नदेखिएका केही योजना तथा कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा पनि अटाएका छन् भने केही योजना तथा कार्यक्रमलाई वार्षिक बजेटबाट हटाइएको छ । 

जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन, लगानी मोडालिटीलगायत पूर्व तयारीका काम नसकिनु, जनशक्ति अभाव हुनु, कर्मचारीको चाँडो–चाँडो सरूवा हुनु, अन्तर मन्त्रालय तथा अन्तरनिकाय समन्वय अभावजस्ता समस्याले बजेटका योजना तथा कार्यक्रमको प्रगति कमजोर देखिएको निष्कर्ष अध्ययनको छ । 

त्यसैगरी बजेट कार्यान्वयनका लागि सम्बन्धित लेखाउत्तरदायी अधिकारी तथा आयोजना प्रमुखलाई जिम्मेवार बनाउन नसकिनु, एकीकृत सूचना प्रणालीको अभाव हुनुलगायतका विषयलाई पनि समस्याका रुपमा पहिचान गरिएको छ । 

‘बजेटमार्फत् घोषणा भएका औद्योगिक पूर्वाधार निर्माण एवं स्तरोन्नती तथा सञ्चालन, कम्पनी प्रशासनमा सुधार, स्टार्टअप उद्यम र साना तथा मझौला उद्यम प्रवद्र्धन, आन्तरिक उत्पादकत्व बढाएर निर्यात प्रवर्द्धन, औद्योगिक वातावरण सुदृढीकरणलगायतका विषय बजेटमा परेको भएपनि त्यसको स्पष्ट कार्ययोजना निर्माणमा मन्त्रालय चुकेका छन्’, बजेट वाचमा भनिएको छ, ‘विषयगत मन्त्रालयले निर्धारण गरेका वार्षिक लक्ष्य तथा ‘माइलस्टोन’ वार्षिक बजेटमा राखिएको लक्ष्यसँग तादम्य मिल्न सकेको देखिँदैन, सार्वजनिक खरिद प्रक्रियामा हुने विलम्बलाई पनि बजेटका योजना तथा कार्यक्रम कार्यान्वयन कमजोर देखिनुको कारण मान्न सकिन्छ ।’

भ्रष्टाचार निवारण ऐनलाई समितिबाट छिट्टै पारित गर्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरूलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

पहिचान भएका विषयमा धेरै छलफल भइसकेको जनाउँदै उनले निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताए । उनले भने, ‘यो प्रस्तावित विधेयकमा सदन र सभामा विस्तृत रूपमा माननीय सदस्यहरूको संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरू पहिचान भइसकेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको छ । उजुरीकर्ताको पहिचान हुनुपर्ने कि नपर्ने ? हदम्यादको सवाल बडो गम्भीरताका साथ उठेको छ । स्वार्थ बाझिने भन्ने विषय के हो भन्नेबारेमा पनि उठेको छ । कुनै निर्णय गरेर अख्तियारको दुरूपयोग हुन्छ भने कामै नगरी बस्दाखेरि त्यसले राज्यलाई नोक्सान भयो भने निर्णय नगर्ने पदाधिकारीमाथि कारबाही गर्ने कि नगर्ने ?’

उनले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरु राखेपनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताए ।

संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं । सरकारले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको हो । यसविषयमा मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् । अस्पतालमा बिग्रेका उपकरण मर्मतका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गरेका थिए ।

अब केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ। त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।

केन्द्रका प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुसी प्रकट गरेका छन्। उनले यसले आफूहरुलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए।

रास्वपाले आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकरी दिए  । स्थानीय तहमा पनि पार्टी बलियो बनाएर संगठनात्मक स्वरूपलाई विस्तार गर्न निर्वाचनमा भाग लिने निर्णय गरेको उनले बताए ।

 रास्वपाले प्रतिनिधिसभा निर्वाचनबाहेक अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागिता जनाएको छैन । निर्वाचन आयोगकाअनुसार देशभरका ३५ पालिकामा विभिन्न पदका जनप्रतिनिधिको पद रिक्त छ । रिक्तस्थानमा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षदेखि वडाअध्यक्षका लािग निर्वाचन हुनेछ । निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गर्न लागेको छ ।

त्यस्तै बैठकले डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि पार्टी विरोधी काम गरेको भन्दै ढकाललाई रास्वपाले महामन्त्री र प्रवक्ताबाट निलम्बन गरेको थियो।

गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते

भरतपुर – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवैजना सोही माइक्रोबसका यात्रु हुन् ।

घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ । माथिबाट ढुङ्गा खसेर माइक्रोबसमा समेत क्षति पुगेको छ । उक्त सडकखण्डमा बर्षातको समयमा पटकपटक पहिरो जाँदा सडक अबरुद्ध हुनुका साथै मानविय क्षति हुँदै आएको छ । दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्यावश्यक वाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गरेको छ ।

खराब मौसमका कारण उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको छ । बिहान १०ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको उक्त विमान खराब मौसमका कारण ‘डाइभर्ट’ भएको हो । अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भएपनि अहिले अवतरण हुन थालेको विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिए।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एयरको विमान आज बिहान नेपालगञ्ज डाइभर्ट भएको थियो । मौसमकै कारण मङ्गलबार पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन – चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउँछौँः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । मुलुकमा औद्योगिक वातावरण सिर्जना, लगानी प्रवद्र्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवद्र्धन, सहजीकरण र नियम, औद्योगिक सम्पत्तिको संरक्षण र औद्योगिक पूर्वाधारको व्यवस्थालगायत मुख्य जिम्मेवारी पूरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय क्रियाशील हुँदै आइरहेको छ । सरकारले उद्योग क्षेत्रको विकासमा लगानी गरेअनुसार राष्ट्रिय अर्थतन्त्रमा प्रतिफल पाउन नसकिरहेको अवस्था छ ।

कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान खुम्चिएर पाँच प्रतिशतमा सीमित भएको छ । यद्यपि, सरकारले उद्योग वाणिज्य क्षेत्रको सुधारका लागि नीति कार्यक्रम र योजना अघि सारेको छ । मुलुकमा आद्योगिक वातावरण निर्माण, लगानी प्रवद्र्धन, व्यापार घाटा सन्तुलन, औद्योगिक पूर्वाधारको सञ्चालनलगायत विषयमा केन्द्रित रहेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः


दोस्रो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, उद्योग वाणिज्य क्षेत्रका मूलभूत समस्या के पाउनुभयो ? ती समस्या समाधान गरी मुलुकमा आद्यौगिक वातावरण बनाउन के गर्दै हुनुहुन्छ ?

उद्योग क्षेत्र अहिलेसम्म राज्यको प्राथमिकतामा जसरी पर्नुपर्ने हो, त्यसअनुसार नभएको अवस्था रहेछ । खासगरी कोरोना महामारीपछिको नेपालको अर्थतन्त्रमा परेको प्रभावबाट सबैभन्दा बढी उद्योग क्षेत्र प्रभावित भयो । कोरोना महामारी, बैङ्कको व्याजदर र अहिलेको आर्थिक तरलताको बढी प्रभाव उद्योग क्षेत्रमा पर्यो । लगानीको सुनिश्चिता, लगानीको प्रवद्र्धन, उद्यमशीलताको विकास र औद्योगिकीकरण प्राथमिकतामा परेन । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान अत्यन्त न्यून रहन पुग्यो । नेपालको इतिहासमा एकपटक जिडिपीमा उद्योग क्षेत्रको योगदान १३ प्रतिशत थियो । अहिले त्यो खुम्चिएर पाँच प्रतिशत आसपासमा सीमित भएको छ । नीतिगत सुधार अहिलेको प्रमुख प्राथमिकता हो । उद्योग र उद्यमशीलताको प्रवद्र्धनमा कतिपय कानुन बाधकका रुपमा रहेका छन् । नेपाल सरकारले लगानी सम्मेलन प्रयोजनका लागि केही लगानी सजीकरणसम्बन्धी ऐन संशोधन गरेको छ । कानुनी सुधारपश्चात उद्योग क्षेत्रमा सकारात्मक सङ्केत देखिन थालेको छ । रुपन्देहीको भैरहवा विशेष आर्थिक क्षेत्रमा पूर्ण क्षमतामा उद्योग सञ्चालनमा आएका छन् भने बाराको सिमरा विशेष आर्थिक क्षेत्रमा पनि पूर्ण क्षमतामा सञ्चालन हुने क्रममा छन् । 


खानी खनिजको सदुपयोग अहिलेको आवश्यकता हो । तर प्राकृतिक स्रोत साधनलाई वन पर्यावरण भनेर खण्डित गरिएको छ । औद्योगिक ग्राम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न खोज्दा त्यहाँ मध्यवर्ती क्षेत्रका साथै वनका थुप्रै जटिलता देखाइएको छ । नेपालमा लगानीको प्रचूर सम्भावना र वातावरण छ भन्यौँ, तर यथोचित वातावरण बन्न सकेन । गत वैशाखमा सम्पन्न लगानी सम्मेलनमा ५० मुलुकको सक्रिय सहभागिता रह्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताको निकै उत्साह रहे पनि अझै उनीहरुले परिपक्व वातावरण अनुभूत गर्न सकेका छैनन् । यसका कारण थुप्रै होलान् तर अहिले नीतिगत जटिलतालाई फुकाएर सरलीकरण गर्ने हो भने यथेष्ठ वातावरण बन्नेछ । सरकार लगानीमैत्री वातावरण बनाउन क्रियाशील छ । 


यहाँले अघि सार्नु भएको मन्त्रालय सुधारको योजना कार्यान्वयनको चरण कहाँ पुगेको छ ?

उद्योग मन्त्रालयले सम्पादन गर्न सक्ने काम के हो ? कहाँ समस्या छ ? समाधानका उपाय के हुन सक्छ ? भनेर अध्ययन थालेका छौँ । निजी क्षेत्रलाई अन्यन्त धेरै समय दिएर उहाँहरुको विषय सुनेका छौँ । सरकार निजी क्षेत्रसँग खुलेर कुरा गर्छांै, सरकारको सीमा पनि छन्, त्यो बारेमा व्यापक छलफल गरिरहेका छौँ । निजी क्षेत्रले आद्योगिक क्षेत्रमा देखेका समस्या र समाधानका उपाय पनि सोधेका छौँ । अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना अघि बढाएका छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयलाई तीन महिनाभित्र गर्न सक्ने कामका योजना प्रस्तुत गर्न निर्देशन दिनुभएको छ । उद्योग मन्त्रालयले तीन महिनाभित्र गर्न सक्ने १५ कामको पहिचान गरी प्रस्तुत गरेका छौँ । नीतिगत सुधारका पक्षलाई बढ्ता जोड दिएका छौँ । गत फागुनको अन्तिममा मैले जिम्मेवारी सम्हाल्दा मन्त्रालयको प्रगति पाँच प्रतिशत मात्रै थियो । अघिल्लो विनियोजित शीर्षकमा समावेश गरिएका विषय कार्यान्वयनमा गएका थिएनन् । अन्तिम चौमासिकसम्म आइपुग्दा पनि कार्यविधि बन्न सकेको रहेनछ । बाँकी कामलाई तीव्र गतिमा सम्पन्न गरेर गत आवको अन्तिममा मन्त्रालयको प्रगति २४ प्रतिशत पुर्यायौँ । अघिल्लो आवमा जम्मा १६ प्रतिशत मात्रै थियो । 


स्टार्टअप सरकारको आकर्षक कार्यक्रमका रुपमा थियो । स्टार्टअपलाई कहिले राष्ट्रिय योजना आयोग र अन्य निकायबाट सञ्चालन गर्ने प्रयत्न गरिएको थियो । पछि उद्योग मन्त्रालयमा पठाइयो । सरकारले रु २५ करोडको फण्डबाट सुरु गरेको स्टार्टअप अहिले रु एक अर्बको भएको छ । चालु वर्षको विनियोजित शीर्षकका कार्यक्रम सञ्चालन गर्ने कार्यविधि नबन्दाका जटिलता अहिले पनि रहे । भदौ महिनाभित्र विनियोजन शीर्षक कार्यान्वयनका लागि आवश्यक कार्यविधि निर्माण गर्छौँ । चालु वर्षका कार्यक्रमलाई सुरु गर्ने र सम्पन्न गर्ने बारेमा सरकार प्रतिबद्ध छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग कार्यविधि, २०८० स्वीकृतका लागि लागिरहेकै छु । मन्त्रालयमा स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहित गरिएको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मात्रै पारित गर्न सक्यौँ भने स्थानीय उत्पादनले बजार पाउँछ । यसलाई अभियानका रुपमा अघि बढाउछौँ । 


स्वदेशी तथा विदेशी लगानी र प्रविधि भित्र्याउन गत वैशाखमा लगानी सम्मेलन सम्पन्न भयो । लगानीकर्ताको उत्साह देखिए पनि सोचेअनुसार लगानी आउन सकेको छैन । मुलुकमा लगानीमैत्री वातावरण बनाउन सरकारले के गर्दैछ ?


लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार आवश्यक छ । लगानीका लागि नेपालमा ‘भर्जिन’ क्षेत्र छन् । तर त्यहाँ कानुनको जटिलता छन् । प्रतिफलको अपेक्षासहित लगानीकर्ताले लगानी गर्ने हुन् । लाभ प्राप्त गर्ने उद्देश्यका साथ लगानी आउने हो । लाभ प्राप्त गर्ने सुनिश्चिता अहिले पनि छैन । नीतिगत सुधार पहिलो प्राथमिकता हो । सरकारले लगानीकर्तालाई पूँजी र प्रविधि ल्याउन आग्रह गरिरहेको छ । ऊर्जा, पर्यटन, कृषि, उद्योग र सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका लागि आह्वान गर्यौं । सम्मेलनमा सहभागी लगानीकर्तासँग सरकार निरन्तर सम्पर्कमा रहनुपर्छ । लगानी सम्मेलनमै प्रतिबद्धता जनाउने अवस्था हिजो पनि रहेन । लगानी र मुनाफाको सुनिश्चिततासँगै प्रतिफल लैजाने सहज व्यवस्था भएका बारेमा सरकार र सरकारी निकायले लागनीकर्तालाई घच्घच्याइरहनुपर्छ । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि कूटनीतिक प्रयास आवश्यक छ । 


निजी क्षेत्रसँग सरकारले सहकार्य गरेर जानुपर्छ । स्वदेशी लगानीकर्तामा देखिएको निराशालाई आशा र विश्वासमा परिणत गर्न सक्नुपर्छ । निजी क्षेत्रलाई उत्साहित बनाउन सरकार प्रतिबद्ध छ । नीतिगत सुधारका साथै राज्यको प्राथमिकता तोकरै जान्छौँ । चालु आवको मौद्रिक नीतिले पनि केही सरलता ल्याएको छ । अबको लगानी उत्पादन र उत्पादकत्व वृद्धिमा हुनुपर्छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा सन्तुलनमा ल्याउनुपर्ने छ । आन्तरिक रोजगारीको पर्याप्त अवसर नहुँदा जनशक्ति पलायन भइरहेको छ । जनशक्ति र पूँजी एकसाथ पलायन भएमा मुलुक आर्थिकरुपमा सबल बन्न सक्दैन । वैदेशिक रोजगारीमा रहेका युवा जनशक्तिलाई स्वदेश फर्काउनुपर्छ र नेपाली पूँजीलाई परिचालित गरेर रोजगारी सिर्जना गर्नुपर्छ । नेपालको स्रोतसाधनमा आधारित उद्योगलाई प्राथमिकतामा राख्नुपर्छ । 


सरकारले ठूलो लगानीमा औद्योगिक पूर्वाधार निर्माण गरेको छ । निर्माण सम्पन्न भएका विशेष आर्थिक क्षेत्रमा उद्योगीको आकर्षण त्यति देखिदैन । केही पूर्वाधार निर्माणमा ढिलाइ पनि भइरहेको छ । औद्योगिक पूर्वाधारको पूर्ण सदुपयोग गर्न कहाँ चुक्यौँ जस्तो लाग्छ ?


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले नेपालमा औद्योगिक वातावरण निर्माण गर्नुपर्छ भनेर एक प्रदेशमा एक हजार विघा क्षेत्रमा औद्योगिक पूर्वाधार तयार गर्ने निर्णय गरेको हो । कोशी प्रदेशमा दमक औद्योगिक पार्क, बागमतीमा मयुधाप र शक्तिखोर, लुम्बिनीको मोतिपुर, लक्ष्मीपुर र नौवस्ता, सुदूरपश्चिममा दैजी छेला औद्योगिक पूर्वाधार निर्माण गर्ने त्यतिबेलाको निर्णय हो । कर्णाली र गण्डकी प्रदेशमा जग्गा प्राप्तिको प्रक्रिया नटुङ्गिँदा पूर्वाधार निर्माणमा ढिलाइ भएको हो । लगानीको पहिचान भएर सम्झौतासमेत भएको दमक औद्योगिक पार्कको नेपाल लगानी बोर्डका कार्यालयबाट परियोजना विकास सम्झौता (पिडिए) स्वीकृत नभएर रोकिएको अवस्था छ । यस्तै मयुरधाप औद्योगिक पूर्वाधार निर्माण प्रक्रिया मध्यवर्ती क्षेत्रका नाममा रोकिएको छ । तर पछिल्लो ऐन संशोधनका क्रममा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्माणमा लैजाने व्यवस्था गरिएको छ । कोशीको दमक औद्योगिक पार्कदेखि सुदूरपश्चिमका दैजी छेलासम्मका पूर्वाधार निर्माण र सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको छ । 


‘एक पालिका, एक औद्योगिक ग्राम’ कार्यक्रम पनि कार्यान्वयनकै क्रममा छ । अहिलेसम्म एक सय दुई वटा ग्राम निर्माण भएका छन् भने केही निर्माणको प्रक्रियामा छन् । कतिपय अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । आर्थिक सङ्कुचनले गर्दा स्थानीय तहको अनुदान पनि घट्ने र प्रदेश सरकारबाट पनि व्यवस्थित कार्यक्रम नहुँदा रोकिएको छ । एउटा पालिकामा एउटा वित्तीय संस्थाले १० वटा उद्योगका लागि कर्जा प्रवाह गर्नुपर्छ भन्ने व्यवस्था गरिएको छ ।


काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने महत्वाकाङ्क्षी योजना सरकारबाट पटकपटक व्यक्त हुँदै आएको छ, अहिले यसको प्रगति के छ ?


राजधानीको प्रदूषण र सौन्दर्यता ध्यानमा राखेर यहाँका उद्योगलाई स्थानान्तरण गर्नुपर्छ भन्ने विषय यसअघि देखि नै उठेको हो । बालाजु र पाटन औद्योगिक क्षेत्रका साथै अन्य उद्योगलाई एकीकृत ढाँचामा राजधानीभन्दा टाढा लैजानुपर्छ भन्ने हो । मयुरधाप र शक्तिखोरलाई हामीले प्राथमिकतामा राखेका छौँ । वन मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत कारणबाट रोकिएको छ । त्यसलाई टुङ्ग्याउने बित्तिकै क्रमशः उपत्यकाका औद्योगिक क्षेत्र स्थानान्तरणको प्रक्रिया अघि बढाउँछौँ । 


रुग्ण उद्योग सञ्चालनको विषय पेचिलो बन्दै आइरहेको छ । सञ्चालनमा रहेका केही सार्वजनिक संस्थानको अवस्था अत्यन्त नाजुक छ । रुग्ण उद्योग पुनःसञ्चालन र बन्द हुने अवस्थामा पुगेको सार्वजनिक संस्थानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नेतर्फ मन्त्रालयको कस्तो योजना छ ?


मन्त्रालय मातहत नौ वटा संस्थानहरु छन् । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल, गोरखकाली रबर उद्योग, ओरियन्ट म्यानेसाइट,  हेटौँडा कपडा उद्योग, बुटवल धागो उद्योग, वीरगन्ज कृषि औजार कारखाना, हेटौँडा र उदयपुर सिमेन्ट उद्योग आज कुन अवस्थामा छन्, दायित्व के हो ? सञ्चालनमा लैजान सकिने अवस्था के हो ? भन्ने बारेमा खोजी गर्दा पूर्ववर्ती सरकारले सञ्चालनमा आउन नसकेका उद्योगलाई निर्णय गरेर निजीकरण इकाइमा पठाएको अवस्था छ । चालु आवको नीति कार्यक्रम र बजेटमा हेटौँडा कपडा उद्योग र गोरखकाली रबर उद्योगलाई सञ्चालनमा ल्याउने उल्लेख छ । हेटौँडा कपडा उद्योगलाई सञ्चालन गर्ने बित्तिकै बुटवल धागो कम्पनी र बाँकेको कपास खेती चल्छ । एउटा उद्योग सञ्चालन गर्दा सँगसँगै अर्का दुई उद्योग पनि सञ्चालनमा आउछन् भने चलाऔँ भन्ने अवधारणा हो । 


कर्मचारी सञ्चय कोष र सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई उपयुक्त ढङ्गले परिचालित गर्ने हो भने पूँजी अभाव पनि हुँदैन । रुग्ण उद्योगका सम्बन्धमा नीति कार्यक्रम र बजेटमा आएका विषय कार्यान्वयन गर्न मन्त्रालयले अवधारणा तयार गरेको छ । उद्योग सञ्चालनको विभिन्न ढाँचा (मोडालिटी)बारे छलफल भइरहेको छ । हिजोका जस्तो निजीकरणको मोडालिटीमा हुँदैन, सम्पत्ति सरकारका नाममा रहने तर करार वा लिजका रुपमा वा सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने भन्ने प्रस्ताव गरेका छौँ । अब चाँडै निजीकरण इकाइले टुङ्गो लगाउँछ । त्यसपछि ढाँचा तयार गरेर उद्योग सञ्चालनको आह्वान गर्छौँ । निजी क्षेत्रका कतिपय उद्योग पनि सञ्चालनमा आउन सकेका छैनन् । निजी तर्फको रुग्ण उद्योगको आजको अवस्था के हो, सञ्चालनमा ल्याउन सकिने, नसकिने तथा सञ्चालनको मोडालिटीका बारेमा अधिकार सम्पन्न आयोग बनाएर अध्ययन गर्ने प्रस्ताव तयार पारेका छौँ ।


नेपालमा उपलब्ध प्राकृतिक स्रोत मुलुककै विकासमा प्रयोग गर्ने नीति अनुसार सरकारले दैलेखमा पेट्रोलियम पदार्थ, नवलपरासीमा फलाम तथा अन्य खानी उत्खनन्को प्रक्रिया सुरु गरेको छ । प्राकृतिक स्रोतको भरपुर उपयोग गर्ने सरकारको योजना कसरी अघि बढिरहेको छ ?


खानी तथा खनिजसम्बन्धी ऐन संशोधनको तयारी भइरहेको छ । खानी विभागबाट अनुमति प्रदान गरिएका दुई दर्जन खानी उद्योगका प्रस्ताव वनमा अड्किरहेको छ । विभागले १२ वटा खानी अनुमति दिने प्रक्रियासमेत अघि बढाएको छ । नेपालको जिडिपीमा खानीको योगदान ०.५१ प्रतिशत मात्रै छ । खानी क्षेत्रमा प्रशस्तै सम्भावना छन् । तर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिरहेका छैनौँ । बर्सेनि पाँच खर्बभन्दा बढी नेपालको ढुङ्गा, गिटी र बालुवा बगेर खेर गइरहेका छन् । त्यसलाई प्रशोधन गरेर बिक्री गरौँ भन्दा हामी तयार भएनौँ । यो जटिलताले गर्दा राष्ट्रिय अर्थतन्त्रमा खानीको योगदान देखिएन । खानी खनिज सञ्चालन गर्न वन, वातावरणले छेक्ने अवस्था देखिएको छ । 


दैलेखमा पेट्रोलियम अन्वेषणको काम भइरहको छ । चार सय मिटर गहिराइसम्म पुग्नुपर्ने अन्वेषणमा संलग्न चिनिया पक्षले जनाएको छ । अहिले दैनिक ५० मिटर ड्रिल गर्ने काम भइरहेको छ । तीन महिनाको आसपासमा पेट्रोलियम भएको ठाउँमा पुग्न सक्छौँ भन्ने उनीहरुको भनाइ छ । चिनियाँ पक्षले बताएअनुसार झण्डै १०० वर्षका लागि नेपालमा पेट्रोलियम पदार्थको उपलब्धता हुनेछ । अहिले मुलुकको व्यापार घाटाको प्रमुख अंश पेट्रोलियम पदार्थ रहेको छ । यसले हामीलाई थप लाभ प्राप्त हुन्छ । 


स्टार्टअप व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले आकर्षक योजना अघि सारे पनि यो व्यवसाय नेपालमा फस्टाउन नसकिरहेको देखिन्छ । कसरी स्टार्टअपलाई प्रवद्र्धन गर्न सकिएला ?


नवप्रवर्तक उद्यमशीलताका लागि स्टार्टअप नै आकर्षकको कार्यक्रम हो । गत वर्ष रु २५ करोड रहेको स्टार्टअप फण्डबाट एक सय ८३ जनाको प्रस्ताव स्वीकृत गरेका छौँ । अत्यन्त आशालाग्दा प्रस्ताव र नयाँ आइडिया आएका छन् । युवाको आकर्षणलाई सम्बोधन गर्ने गरी चालु आवमा पाँच सय युवालाई लक्षित गरेर एक अर्बको फण्ड स्थापना गरेका छौं । स्टार्टअप फण्ड अझ वृद्धि गर्ने छलफल भइरहेको छ । यो वर्ष एक हजारका सङ्ख्यामा स्टार्टअप व्यवसाय सञ्चालन गर्न सक्यौँ भने जनशक्ति पलायनलाई रोक्न सकिने छ । सबैभन्दा बढी सम्भावना सूचना प्रविधिका क्षेत्रमा देखिएको छ । उत्पादित वस्तुलाई ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पुर्याउन सकेका छैनौँ । उद्यमशीलता र नयाँ आइडियाबाट स्टार्टअपलाई नयाँ ढङ्गले विकास गर्न खोजिएको छ । मन्त्रालयले स्टार्टअपलाई उच्च प्राथमिकतामा राखेको छ । 


गत साउनको अन्तिम साता छिमेकी मुलुक भारतको भ्रमण गर्नुभयो । भ्रमणका दौरानमा भारतीय पक्षसँग के विषयमा छलफल भयो ? सो भ्रमणबाट नेपालले के–कस्ता लाभ पाउन सक्छ ?


भारतको उद्योग वाणिज्य मन्त्रालय र त्यहाँको उद्योग वाणिज्य सङ्घले संयुक्त रुपमा विमस्टेक बिजनेस समिट आयोजना गरेका थिए । सो समिटमा बङ्गलादेशबाहेक बिमस्टेक सदस्य राष्ट्रको प्रतिनिधित्व भएको थियो । नेपाल भूपरिवेष्टित मुलुक भएकाले व्यापार तथा पारवहनमा जे सहुलियत पाउनुपर्ने हो त्यो विषय मैले स्पष्टसँग राखेँ । भूपरिवेष्टित मुलुकका रुपमा नेपालले आयात निर्यातमा भोगिरहेका समस्याका बारेमा बिमस्टेक सदस्य राष्ट्रले सोच्नुपर्ने र सहकार्य गर्ने सम्बन्धमा कुरा राखेको छु । 


भारतीय समकक्षीसँगको भेट अर्थपूर्ण रह्यो । व्यापार नीति, सचिवस्तरीय बैठक, दैनिक अत्यावश्यक वस्तुको कोटा प्रणाली, भारतले लगाएको अतिरिक्त निर्यात दर, चिनीको सहज आपूर्ति र सहुलियत, बैतडीको झुलाघाटमा रहेको पक्की पुल निर्माणलगायत बारेमा छलफल भएको छ । द्विपक्षीय भेटवार्तामा सिलगुडी–चारआली (झापा) अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण, मोतिहारी–अमलेखगन्ज पेट्रोलिमय पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सम्पन्न गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि आर्थिक र प्राविधिक सहयोग गर्न अनुरोध गरेँ । भारतले यसलाई अत्यन्तै सकारात्मकरुपमा लिएको छ । 

बुढासुब्बामा भक्तजनको घुइँचो

धरान (सुनसरी) – बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढासुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो ।

विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागे लगत्तै आएको बताए । इलामका अतित तामाङ पनि सुमना जस्तै बुढासुब्बाको भाकल पुरा गर्न आएको बताए ।

बलि चढाउन खुल्ला गरेसँगै बुढासुब्बामा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । बुढासुब्बामा भाले र गौरिनी मातालाई पोथी वा पोथी नभए अण्डा चढाउने परम्परा छ ।

मन्दिर नजिकै फूलमाला बेच्दै आउनुभएका प्रेम पराजुली साउनमा एक महिना बलि चढाउन बन्द गरिएकाले साउन सकिएसँगै भक्तजनको भीड लागेको बताउनुहुन्छ । भक्तजनको भीड बढेपछि फूलमाला व्यापारीको व्यापार वृद्धि भएको उनले बताए । बुढासुब्बा नजिकै ७० भन्दा बढी फूलमाला व्यापारी छन ।

बुढासुब्बाका पुजारी डम्बर आलेमगरका अनुसार बलि चढाउन र भाकल बुझाउन मात्र पाँच हजारभन्दा बढी भक्तजन दैनिक आउने गरेका छन् । उनले भने, “एक महिना बलि चढाउन र काटमार बन्द थियो । भदौ लागेपछि बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।”

साउन महिना, सोह्र श्राद्ध, एकादशी, कृष्णअस्टमी, स्वस्थानीपूर्णिमा, रामनवमीलगायतका बेला बुढासुब्बामा बलि चढाउन बन्द गरिने प्रचलन छ ।

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

धुलिखेल (काभ्रेपलाञ्चोक) – यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन् ।

यहाँ आउने पर्यटकहरुले पोखरी छेवैमा रहेको देवीथानको दर्शन गर्ने गरेका छन् । सो ठाउँमा पुगेर स्नान गरी देवीको दर्शन गर्दा मनोकाङक्षा पूरा हुने जनविश्वास छ । रोशी गाउँपालिका–३ का स्थानीय सुरज लामाका अनुसार गुरु रेन्पोछे ९पद्मसम्भव०ले पाइला टेकेको पवित्र ठाउँ भएकाले महाभारत लेकको टुप्पोमा रहेको पोखरीमा जस्तोसुकै खडेरीमा पनि पानी सुक्दैन । यहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन धामी झाँक्रीहरु सो कुण्डमा पुगेर दर्शन गरेपछि शक्ति आर्जन गर्ने बताउँछन् ।

परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको बताइन्छ । सो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीय बताउँछन् । गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ताराखसे पोखरी रहेकोे रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजित लामाले बताए ।

गुरु रेन्पोछे खोटाङको हलेसीबाट यात्रा गर्दै तेमालस्थित यारीनाग गुफा, महाभारत लेकको हात्ती आहाल, ताराखसे पोखरीमा पुगेर ध्यान गरेको किंवदन्ती छ । धार्मिक र पर्यटकीय दृष्टिले मनमोहक यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण सुरु गरिएको वडाध्यक्ष लामाले जानकारी दिए । हाल पोखरी भएको स्थानमा जान सडक, वनभोज स्थल र शौचालय लगायतका संरचना बनिसकेका छन् ।

रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाईबाले दूई हजार पाँच सय ५० मिटरको उचाइमा अवस्थित ताराखसे लेकको विकास र पर्यटन प्रवर्द्धन गर्न पालिकाले योजनाबद्धरुपमा काम गरिरहेको बताए । महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ । हाल फूलचोकीदेखि ताराखसे पोखरीसम्म सिँढी निर्माण भइसकेको र त्यहाँबाट भूमेचुली जुकेपानी हुँदै सिन्धुलीको घ्याङलेकसम्मको विस्तृत गुरुयोजना तयार पारिएको उनले बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीबारे प्रचार गर्न आग्रह गर्नुभयो । उनले पोखरी व्यवस्थापन र आवश्यक संरचना निर्माण भइरहेको जानकारी दिए । सङ्घीय सरकारको विशेष अनुदानतर्फ आर्थिक वर्ष २०८०र०८१ मा एक करोड बजेटबाट सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्याङ्की, आवासस्थल र सवारी पार्किङस्थल निर्माण गरिएको छ ।

यहाँबाट वरिपरीको हरियाली डाँडाकाँडासँगै सुन्दर हिमालका दृश्य अवलोकन गर्न सकिन्छ । ताराखसे पुग्न बनेपाबाट नमोबुद्ध–दाप्चा–गहते–फलामे साँघु–शिखर आम्बोट–साँझकोट–निङ्गालेहुँदै जानुपर्छ ।

इरानमा बस दुर्घटना, २८ पाकिस्तानीको मृत्यु

इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए ।

मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट सुरक्षा जाँच केन्द्रअगाडि पल्टिएपछि आगलागी भएको इरानको एक राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

“बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” इरानी टेलीभिजनले समाचारमा उल्लेख गरेको छ।

याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भन्दै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताए ।

मालेक–जादेहले भने, “मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ ।”

गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उनका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृतिसभा सहभागिता जनाएका हुन् ।

गण्डकीमा लामखुट्टेको बासस्थान नष्ट अभियान

गण्डकी – समुदायमा डेङ्गी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ । सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो ।

कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गी रोकथाममा जुटेका हुन् । पछिल्लो केही सातायता पोखरामा डेङ्गी सङ्क्रमण तीव्र बनेपछि हरेक शुक्रबार महानगरभित्रका सरकारी कार्यालय र सार्वजनिकस्थलमा उक्त अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महशाखाका सिअहेब अधिकृत अर्जुन क्षेत्रीले जानकारी दिए ।

महानगरबासीलाई पनि घर वरपर पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिन र त्यस्ता स्थल नष्ट गर्न सूचित गरिएको उहाँको भनाइ छ । “लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरिएको छ”, उनले भने, “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ ।” डेङ्गी लागेर गत शनिबार पोखराको एक अस्पतालमा ५२ वर्षीया महिलाको निधन भएको घटनाले सरोकार भएका पक्षलाई डेङ्गी नियन्त्रणमा थप संवेदनशील बनाएको उनले बताए ।

गत साउन तेस्रो साता एकैदिन पोखरा महानगरभिका ४० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि महानगरले डेङ्गी रोकथाम र नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि १० ३० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको सिअहेब अधिकृत क्षेत्रीको भनाइ छ । गत पुसयता पोखरा महानगरभित्र ६ सय ८५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउनुपर्ने उनको सुझाव छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए।

यो रोगको खास औषधी नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको उनको भनाइ छ । “समयमा रोकथाम र नियन्त्रण गर्न नसके डेङ्गी ले जोखिम रुप लिन सक्छ”, उनले भने , “पोखरा महानगरभित्रका सघन बस्ती भएका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको छ ।” उनले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको जनस्वास्थय निरीक्षक रेग्मीले बताए ।

असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढी फैलने गरेको उनले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हिमालपारिको जिल्ला मुस्ताङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा डेङ्गी को सङ्क्रमण पुष्टि भएको छ । तनहुँ देशमै डेङ्गीबाट सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । स्वास्थ्य विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनहुँमा डेङ्गी सङ्क्रमितको संख्या सात सय १५ पुगेको छ । प्रदेशगत रुपमा पनि गण्डकी प्रदेश डेङ्गी बाट सबैभन्दा बढी प्रभावित देखिएको छ ।

गण्डकीमा हालसम्म एक हजार चार सय ४८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बागलुङस्थित धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गीसङ्क्रमण हुँदैमा आत्तिहाल्नु चाहिँ नपर्ने बताए । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ ।

डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रसस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताए । गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उनको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गी ले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उनले भने।

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई देशसँगको सम्बन्ध जीवन्त बनाउन तत्पर रहेको बताएका छन् ।

यसैक्रममा उनले पोल्याण्ड मध्य युरोपको प्रमुख आर्थिक साझेदार रहेको जनाउँदै लोकतन्त्र र बहुलवादप्रति आपसी प्रतिबद्धताले सम्बन्धलाई अझ सुदृढ पार्ने उल्लेख गरे ।

उनले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडालाई भेटवार्ता गरी साझेदारीलाई अगाडि बढाउनका लागि उत्सुक रहेको बताउँदै पोल्यान्डमा भारतीय समुदायसँग पनि साक्षातकार हुने विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा पोल्यान्ड भ्रमणपछि उनी युक्रेन जाने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो युक्रेन भ्रमण हुनेछ ।

युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि द्विपक्षीय सहयोगलाई बलियो बनाउन राष्ट्रपति जेलेन्स्कीसँग पहिलेको सम्झौतालाई अगाडि बढाउने अवसरको प्रतिक्षामा रहेको प्रधानमन्त्री मोदीले बताए ।

प्रधानमन्त्री मादीले भ्रमणले दुई देशसँगको सम्पर्कको निरन्तरताको रूपमा काम गरी आगामी दिनमा जीवन्त सम्बन्धको जग निर्माण गर्न मद्दत गर्ने बताए ।

प्रधानमन्त्री मोदीलाई वार्सामा औपचारिक स्वागत गरिनेछ । पोल्यान्डको भ्रमणपछि, प्रधानमन्त्री मोदी युक्रेनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । युक्रेनमा युक्रेनी नेतृत्वसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानउन्मुख वार्ता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणको उद्देश्यमा नेतृत्वसँग छलफल, भारतीय समुदाय, व्यापारीसँगको अन्तरक्रिया समावेश भएको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् ।

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

दाङ – दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए । बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए । त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो ।

दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए ।

त्रिविमा अब के जनताले राजनैतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो ?

सुमना श्रेष्ठ ।
त्रिविमा पनि दुई तिहाई सरकार छ– एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ । अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठूला दलका आशीर्वाद । त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो–सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन !

दुई तिहाईको सरकारले के दियो ? स्थायित्व कता गयो ? गुण्डाहरुको मनोबल किन बढेको ? विधिको शासन कता गयो ? कसको आडमा ? कसको प्रश्रयमा ? अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग – बहस चलोस् भनेर रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्थासहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ? दशकौंदेखि आफैं विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने ? अब के जनताले राजनैतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो ?

वास्तवमा, काम गर्यो भने सकिन्छ । उदाहरण थुप्रै छन् । अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी ? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो ? यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु । दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस् । देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो ?
No ‘if’ no ‘but’
दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT !

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ –  नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु. एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु. एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु. एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु. आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले बढेको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ३५ निर्धारण भएको छ ।

ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजेः प्रधानमन्त्री  ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । 

‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए ।

उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिए 

यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे । 

‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौं । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री  दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिए ।

यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे ।

“हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।”

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म चल्ले बताइएको छ ।

आरक्षणको विषयलाई लिएर दलित तथा जनजाति संगठनद्वारा भारत बन्द आह्वान

बीबीसी हिन्दी। आरक्षणको विषयलाई लिएर दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आह्वान गरेका छन् । यो बन्दको प्रभाव धेरै राज्यमा देखिएको छ । बिहार र झारखण्डमा धेरै सेवाहरू प्रभावित भएका छन् ।

झारखण्डमा बस सेवा नराम्ररी प्रभावित भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बसहरू बस स्ट्यान्डबाट बाहिर निस्कन सकेका छैनन् । बिहारको जेहानाबादमा बन्दका समर्थकहरू सडकमा नारा लगाइरहेका देखिन्छन् ।

बिहारको आरामा बन्दका समर्थकहरुले रेल लाइनमा बसेर विरोध प्रदर्शन गरिरहेका छन् । राजस्थानका धेरै शहरहरूमा पसलहरू बन्द छन्। बन्दको प्रभाव धेरै राज्यमा प्रष्ट देखिएको छ । दलित संगठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि बन्दको समर्थन गरेका छन् ।

बहुजन समाज पार्टीकी प्रमुख मायावतीले सर्वोच्च अदालतको फैसलामा संविधान संशोधन गर्न सरकारसँग माग गर्दै हिंसाविहीन शान्तिपूर्ण रुपमा भारत बन्द गर्न अपील गरिन् । मायावतीका भतिजा आकाश आनन्दले बसपा कार्यकर्ताहरूलाई भारत बन्दमा पार्टीको झण्डा बोकेर शान्तिपूर्ण रूपमा सहभागी हुन आग्रह गरे ।

यसैबीच बिहारको राष्ट्रिय जनता दलले यो बन्दलाई समर्थन गरेको छ भने केन्द्रीय मन्त्री जीतनराम मांझीले यसलाई ‘विपक्षीको भारत बन्द’ भनेका छन् । अर्कोतर्फ, बन्दलाई ध्यानमा राख्दै प्रशासनले राजस्थानका धेरै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

राज्यका धेरै जिल्लाका शैक्षिक संस्था बन्द गर्न आदेश जारी गरिएको छ । उत्तर प्रदेशको राजधानी लखनउमा निषेधाज्ञा जारी गरिएको छ र प्रशासनलाई बन्दका क्रममा कुनै पनि किसिमको हिंसा नगर्न निर्देशन दिइएको छ । मध्य प्रदेशको प्रशासनले भारत बन्दका बेला विशेष सावधानी अपनाउन निर्देशन दिएको छ ।

भारतको सर्वोच्च अदालतमा सरकारी नोकरीमा आदिवासी जनजाती, पिछडावर्ग र दलित समुदायले पाउने आरक्षण सम्बन्धी एक मुद्दा लामो समयदेखि चल्दै आएको थियो । सो मुद्दामा १ अगष्टमा फैसला सुनाउँदै सर्वोच्चले सन् २००४ को आफ्नो पुरानो फैसला उल्टाएर आरक्षित कोटाभित्र पनि कोटा छुट्याउन मन्जुरी दिएको थियो ।

बौद्धिकको खोजी गर्नुपर्छ, सन्कीको होइन

डा. युवराज संग्रौला ।
संस्कृत भाषामा ‘क्रान्तिको’ अर्थ ‘उन्नयन’ हुन्छ, तर हामीले क्रान्तिको अर्थ ‘विध्वंस’ भन्ने बुझ्यौं । उन्नयन निर्माण हो, जो परिवर्तनले ल्याउँछ । तर ‘हामीले गरेको क्रान्तिले,

१. सत्ता ल्यायो, नवउदारवाद ल्यायो, देशमा एसियायी विकास बैंक र विकास सहयोगका नाममा ८०% ऋृणको चंङ्गुल ल्यायो, शिक्षामा चेतनाको नाश ल्यायो, संचारमा अफवाह ल्यायो, वकालतमा बिचौलिया ल्यायो, चिकित्सामा व्यापार ल्यायो, संस्कारमा रछ्यान ल्यायो, र देशक्तिमा घुन ल्यायो । किन ? किनकी क्रान्ति उन्नयनका लागि होइन एक दरबार होइन अनेक दरबार निर्माण गर्न आयो । अनि आज देश जनताबाट प्रत्येक स्वासमा ऋृण तिर्न बाध्य छ।

२. चेतना ‘मानिसलाई वृत्तिबाट तथ्यमानिहीत सत्यको खोजी गर्दै विज्ञान, र विज्ञानको पछाडि रहेको सत्यमा टेकेर जीवबोधमा पुग्ने’ मार्ग हो, तर आज देशको शिक्षा गाँजा खाने स्वतन्त्रता, यौन अस्लिलता प्रकट गर्ने सामाजिक संजाल, महिलाको सम्मान र सिर्जनाको अधिकार मासेर पोइल जाने गीत, राजनीतिमा विज्ञता होइन चटक र सनक निर्माण गर्ने खेल हुँदै, धर्म मानवता होइन व्यापारी र अपराधीले धन कमाउने अस्त्र बन्दै एउटा रछ्यानको निर्माण हुंदैछ।
त्यसैले चेतनाले निर्देश गर्ने उन्नयनको ‘खेती’ नेपालको भविष्यले गर्ने क्रान्ति हो । मानिस होइन विचारको चाहना हो, क्रान्ति जसले

१. नेपालीको बौद्धिकतालाई पलायनका लागि होइन सिर्जनाका लागि क्रियाशील पारोस् ।

२. एउटै मान्छे जीवनभर मन्त्री हुने नवसामन्तवाद समाप्त पारेर ‘समयको पारखी र राष्ट्र बोक्न सक्ने विज्ञलाई मन्त्री बनाओस् ।’

३. यसो गर्न शिक्षामा क्रान्ति चाहिन्छ। १६ वर्ष पुगेको शिक्षित युवा उद्यमी बनोस्, किसान बनोस्, खेलाडी बनोस्, निर्माता बनोस्, गाँजाको स्वतन्त्रताको खोजी गर्ने र मर्नका लागि विदेशिने नागरिक नबनोस् ।

४. जब एउटा बालक हुर्किन्छ, उसले मानवता शिक्न पाओस्, आमाका भाषामा सोच्न पाओस्, बाबुका औंलाबाट सीप सिक्न पाओस्, देशको इतिहासका कथा सुन्न पाओस्, देशको भुगोल चिन्न पाओस्, कविता लेख्न पाओस्, गीत गाउन पाओस् र हुर्किन पाओस् । उसले आफ्नै भाषामा बोल्दा सजाय नपाओस्, र कुरा नबुबुझ्दा शिक्षकको पिटाइ खाएर अपराध सिक्न नथालोस् । उसले विज्ञान र गणितका सिद्धान्त सिक्दै विज्ञानलाई निर्माणमा लगाउन पाओस् । उसले झोला बोकाएर कालो मोसो दल्ने जत्थाको नाइके बन्नु नपरोस् । विदेशबाट शिक्षा विकासका लागि ल्याएको २५० मिलियन डलर कहाँ गयो ?

५. प्लटिङ्ग र आवासमा हालेको बैंक र वित्त संस्थाको ६० प्रतिशत किन उद्योगमा गएन ? उद्योगको विकास कसरी ०.६ प्रतिशतमा पुग्यो ? किन नेपाल भारतमा ५ खर्बको रेमिटेन्स पठाइरहेको छ विदेशबाट १४ खर्ब ल्याएर ? किन १५ खर्बको आयात गरेको हो ? ६ अर्बको पोष्टदाना र सुपारी किन आयात गर्नुपर्ने हो ? गरीब देशका मन्त्रीले करोडको गाडी किन चढ्नुपर्ने पर्ने हो ? यी प्रश्न समाधान गर्न देशले वित्त पुँजीवाद होइन सामाजिक नागरिकतन्त्र खोज्नु पर्छ, टिकटक र गाँजा होइन । राजनीतिमा सेवकको खोजी गर्नुपर्छ मालिकको होइन । नयाँ दिमागको खोजी गर्नुपर्छ निवृत्त दिमागको होइन । बौद्धिकको खोजी गर्नुपर्छ सन्कीको होइन ।

हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते

हुम्ला । हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बुधबार बिहान जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएका र दुईजनाको अवस्था सामान्य छ ।

दुर्घटनामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।

दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो ।

गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार सक्रिय

धरान (सुनसरी) – वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको छ ।

नगरप्रमुख रमेश कार्कीले सूर्यकुण्ड क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षण पालिकामात्र नभइ समाजका सबै वर्गको दायित्व भएकोे बताउँदै बराहक्षेत्र मन्दिर, साथै बराहक्षेत्र–१ स्थित औलिया मठलगायत संरचनामा सरसफाइ गरिएको जानकारी दिए ।

सम्पदा संरक्षण एवं मठमन्दिरको नियमित रूपमा सरसफाइ गरिने प्रतिबद्धता उनले व्यक्त गरे । सूर्यकुण्ड क्षेत्रको विकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेको छ”, नगरप्रमुख कार्कीले भने ।

नगरप्रमुख कार्कीको संयोजकत्वमा गठित संरक्षण एवं सरसफाइ समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, बराहक्षेत्र–१ का वडाअध्यक्ष किसन मगर, बराहक्षेत्र–७ का वडाअध्यक्ष कपिल आचार्य, वडाका जनप्रतिनिधि, कर्मचारी मिलन केन्द्र, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् ।

तस्बिरमा दामोदरकुण्ड

समुन्द्रि सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड । समुन्द्रि सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो । दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तिर्थस्थल हो ।

तस्बिर : सन्तोष गौतम/ रासस