`

पोखरा विमानस्थल निर्माणका लागि लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई नेपालको पत्र

काठमाडौँ ।  सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका हुन् ।

पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका  थिए । उनले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उपस्थित थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड ऋण लिने सम्झौता  गरेको थियो ।

विसं २०७२ चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९  पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको आठ दशमलव दुई  किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययनसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो ।

सरकारको तर्फबाट अर्थ सचिव डा घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरे ।

अर्थ मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गरे । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए ।

नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल प्रहरीका एसएसपी ईश्वर श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । सर्वोच्चको अन्तरिम आदेशसँगै अवकाशको पत्र पाएका प्रहरी निरीक्षकदेखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित २१ जनाको जागिर तत्कालका लागि जोगिएको छ ।

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं । बंगलादेशविरुद्ध २–१ गोलको जित हासिल गर्दै नेपाल साफ यु-२० च्याम्पियनसिपको समूह विजेताको रुपमा सेमिफाइनल पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालको जितका लागि समीर तामाङ र निराजन धामीले गोल गरे। यी दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।

नेपालले खेलको १७औं मिनेटमा समीर तामाङको गोलमा अग्रता बनाएको हो। त्यसको एक मिनेटपछि पुनः निराजन धामीले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । तर, खेलको ४२औं मिनेटमा बंगलादेशले पेनाल्टीको मौका पायो। जसमा मिरजुलले गोल गर्दै खेल २–१ को अबस्थामा ल्याए ।

त्यसपछि दोस्रो हाफमा दुबई टिमबाट कुनै पनि गोल हुन सकेन । खेलको अतिरिक्त समयमा नेपालका गोल रक्षकले सुन्दर बचाउ गर्दै नेपालको जित पक्का गरे । जितसँगै समूह ए बाट नेपाल समूह विजेता बन्यो । पराजित बंगलादेश भने उपविजेता बन्यो । नेपालले अब सेमिफाइनल समूह बी को उपविजेतासँग खेल्नेछ।

परराष्ट्रमन्त्रीलाई प्रश्नः मोदीसँग के विषयमा कुराकानी भयो ?

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन् । 

भारतको चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताइन् ।

मन्त्री डा राणाले भने, ‘भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।’

उनले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँदिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताइन् ।

उनले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिइन् ।

भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिइन् ।

साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताइन् ।

सोहीदिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन् ।  भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उनले जानकारी दिइन् ।  यो राणा परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । 

राष्ट्रियसभाबाट संक्रणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट पनि संक्रणकालीन न्याय सम्बन्धी विधेयक पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने राखेको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाले पारित गरेसँगै अब यसको सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक राजपत्रमा प्रकाशित भएसँगै कानुनका रूपमा कार्यान्वयनमा आउनेछ ।

‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उद्योग बन्द गरेर होइन, सञ्चालन नै गरेर उठाइन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” 

उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गरे । उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार अर्थहीन भएको टिप्पणी गरे । 

प्रधानमन्त्री ओलीले भने, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, रोजगारी बन्द हुन्छ, उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”

एसपीपी अहिले कसैले अघि बढाउनुपर्छ भनेको छैनः प्रधानमन्त्री ओली

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)बारे कुनै प्रस्ताव नआएको प्रष्ट पारेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपीबारे कुनै प्रस्ताव नआएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्मासँगको भेटमा दुई देशको बहुआयामिक सम्बन्धबारे चर्चा भएको जानकारी दिए । उनले भेटमा बर्माले नेपाललाई दुईटा हेलिकप्टर दिने बताएको जानकारी दिए ।

उनले भने, ‘एसपीपी पहिले चर्चासम्म चलेको हो । अहिले कसैले बढाउनुपर्छ भनेको छैन, कुनै प्रस्ताव आएको छैन ।’ प्रधानमन्त्रीले यो सरकारले राष्ट्रिय हितको प्रश्नमा कसैसँग सम्झौता नगर्ने बताए ।

यो सरकार गठनपछि निजी क्षेत्रमा लगानी गर्ने मनोबल बढेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखापर्न थालेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाएका हुन् ।

घरजग्गा कारोवार क्रमशःवृद्धि हुँदै गएको र पूँजी बजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको उनले बताए ।

उनले भने, ‘सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानैपर्ने छ । राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौँ ।’

प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकांक्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकुल परिमार्जन गर्न सकिने पनि स्पष्ट पारे ।

संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई बयानका लागि बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार सोधपुछ गर्ने भएको छ ।

लामिछानेलाई शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बोलाइएको उनले बताए । लामिछानेसँग सोधपुछ गर्नुअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई बोलाएको छ ।

जोशीलाई समितिले बिहान ११ बजे बोलाएको छ । समितिले यसअघि समस्याग्रस्त सहकारीका जेलमा रहेका संचालकलगायतसँग सोधपुछ गरिसकेको छ ।

प्रतिफल नदेखिनेगरी काम गर्ने सुविधा आफू नेतृत्वको सरकारलाई छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताका निराशा चिर्न तल्लिन रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताका निराशाहरूलाई चिर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले प्रतिफल नदेखिनेगरी काम गर्ने सुविधा आफू नेतृत्वको सरकारलाई नभएको बताए । उनले भने, ‘जनतामा निराशा नहोस्, आशावादी जागोस् कामना मात्रै गरिरहेको छैन, जनताले या कसैले पनि औंलो ठड्याउने ठाउँ नहोस् हामीलाई कुनै गल्ती गर्ने अथवा कुनै अन्यौल सृजना हुनेगरी काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै सुविधा छैन।’

उनले गरिबीको रेखामुनि रहेका जनतालाई उठाउने अभिभारा आफ्नो काँधमा आएको बताए। उनले भने,’२१ औ शताब्दीमा हामी गरिबीको दुष्चक्रमा छौं। २० प्रतिशतभन्दा माथि जनता गरिबीको रेखामुनि छन्। यसबाट जनतालाई उठाउनुछ।’

प्रधानमन्त्रीले सरकारमा नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेका र ऐतिहासिक भूमिका पूरा गरेर आएका दलहरू रहेकाले यिनीहरूले मुलुकका लागि ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले संविधान संशोधनलाई प्रतिगमन भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘संविधान संशोधन गर्न नसकिने दस्तावेज होइन। वर्तमान संविधान प्रयोग गर्दै जाँदा जनताका आकांक्षालाई राजनीतिक दलको सहमतिमा संविधान संशोधन गर्न सकिन्छ। तर, त्यसलाई गलत प्रचार गरिएको छ। प्रतिगमनतिर लग्यो भनिएको छ। अहिले सरकारमा रहेका दलहरूले नै देशमा डेमोक्रेसी र बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेका छन् ।’

उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई क्षणिक प्रचारबाजी नबनाएको स्पष्ट पारे । उनले भने, ‘भ्रष्टाचारीलाई कानुनसंगत कारबाही गर्नुपर्छ भनेका हौं। भ्रष्टाचारीविरुद्ध कठोररूपमा उत्रिन सम्बन्धित सबै निकायलाई समन्वय गर्न पनि भनेका छौं। यसलाई क्षणिक प्रचारबाजी गरेका छैनौं ।’

नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ उप्किएको विषयमा छानबिन सुरु

बाँके । नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ मा क्र्याक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु गरेको छ । 

निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्रयाक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दले जानकारी दिए ।

उनका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्रयाक उप्कियो सो बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ । 

अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्रयाकको ‘डि एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताए । उनले भने, “हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ । यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौँ ।” 

रङ्गशालामा रहेका निर्माण कम्पनीका प्राविधिक मनिषकुमार शाहले यो नेपालमा यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो ? आफूहरूले पनि खोजी गरिरहेको बताए ।

उनले सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयम आफूहरूले  पनि बुझ्न नसकेको बताए ।

राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ मा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकामा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त (जुन १५) मा मात्र काम सम्पन्न गरेको थियो ।

विश्वका ५५ देशका सरकारद्वारा आलोचकमाथि यात्रा प्रतिबन्ध प्रयोग गरेको फ्रिडम हाउसको दाबी

विश्वका कम्तीमा पनि ५५ वटा सरकारले कथित राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध दमनकारी रणनीतिका रूपमा यात्रा प्रतिबन्धको प्रयोग गरिरहेको बिहीबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।

फ्रिडम हाउसका अनुसार नागरिकता खारेज गर्ने, यात्रा प्रतिबन्ध लगाउने, राहदानी जफत गर्ने र कन्सुलर सेवाबाट बञ्चित गर्नेजस्ता उपायहरु अधिनायकवादी शासनहरूले खतराका रूपमा हेरिएका मानिसहरूको आवागमनको स्वतन्त्रतालाई कुण्ठित गर्न प्रयोग गरेका छन् ।

बेलारुस, भारत, निकारागुआ, रुवान्डा र साउदी अरबका ३१ जनाको अन्तर्वार्ताका आधारमा यो प्रतिवेदन तयार पारिएको फ्रिडम हाउसले जनाएको छ ।

प्रतिवेदनमा उल्लेख गरिएका सरकारहरूले राजनीतिक सक्रियता वा असहमतिको बदलालिन यी चार विधिमध्ये कम्तीमा एउटा विधि प्रयोग गर्ने गरेको अमेरिकी गैरनाफामूलक संस्थाले जनाएको छ ।

फ्रिडम हाउसका अन्तरिम अध्यक्ष निकोल बिबिन्स सेडाकाले भने, “अधिनायकवादीहरूले विरोधीहरूलाई वाक स्वतन्त्रताबाट रोक्न कुनै पनि सम्भावित उपायको खोजी गरिरहेका छन् ।”

उनले थपे, “आन्दोलनका प्रतिबन्ध, राजनीतिक कारावास र अन्तरदेशीय दमनलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको थप जागरुकता र ठोस प्रयासबिना असहमतिलाई दबाउन र मौलिक अधिकारको उल्लङ्घन गर्न यी रणनीतिहरूको प्रयोग बढ्नेछ ।”

सन् २०१८ को अक्टोबरमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा टर्कीकी मङ्गेत्तरसँग विवाहका लागि आवश्यक कागजात लिन गएका साउदी पत्रकार जमाल खशोग्गीको हत्या भएको थियो ।

फ्रिडम हाउसले निकारागुआले सन् २०२३ मा २ जना राजनीतिक बन्दीलाई अमेरिका निर्वासित गरेको उल्लेख गरेको छ ।

निकारागुआमा समाचार वेबसाइट कन्फिडेन्सियलका संस्थापक कार्लोस फर्नान्डो चामोरोले भने, “निकारागुआमा मेरो वैध पहिचान छैन र मेरा बच्चाहरूको बुबा वा आमा छैन किनभने उनीहरूका बुबा र आमा अस्तित्वमा छैनन् ।”

“हाम्रो घर, जग्गा, सेवानिवृत्तिको रूकम (पेन्सन) सहित सबै सम्पत्ति जफत भएको छ,” उनले भने ।

फ्रिडम हाउसका अनुसार गत जुन महिनामा हङकङका छ जना प्रजातन्त्र समर्थक कार्यकर्ताको राहदानी रद्द गरिएको थियो ।

विदेशमा रहेका इरिट्रियालीले कन्सुलर सेवा प्राप्त गर्न ‘अफसोस् वा र पश्चाताप’ फारममा हस्ताक्षर गर्न बाध्य भएका छन् ।

बहराइन, इजिप्ट, कुवेत र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले विगत एक दशकमा सयौं राजनीतिक विद्रोही, मानव अधिकारकर्मी, पत्रकार र अन्यको नागरिकता खोसेको प्रतिवेदनमा उल्लेख छ ।

लगभग ४० वटा सरकारहरूले देशभित्र वा बाहिर आवतजावतमा प्रतिबन्ध लगाएका छन्, र भारत र साउदी अरबलगायत धेरै राज्यहरूमा यसबारे कुनै आधिकारिक सूची छैन ।

पीडितहरूले विमानस्थलमा आइपुग्दा वा अफवाहको माध्यमबाट मात्र उनीहरूलाई लक्षित गरिएको थाहा पाउँछन् ।

प्रतिवेदनअनुसार ३८ देशका सरकारले राहदानीजस्ता महत्वपूर्ण कागजातमा पहुँचलाई नियन्त्रण गरेर आफ्ना नागरिकको आवागमनमा रोक लगाएका छन् भने तीमध्ये १२ वटा देशले राहदानी नवीकरण वा जन्म वा विवाहको प्रमाणपत्र जारी गर्नेजस्ता कन्सुलर सेवाबाट बञ्चित गरेका छन् ।

नेप्सेमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने बढेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७५ अङ्कले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ मा पुगेको छ । 

कूल चार करोड नौ लाख ५१ हजार सात सय २० कित्ता शेयर रु १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एसबिएल डिवेञ्चर १०, एनबिबिएल डिवेञ्चर तीन दशमलव ९५, बोटलर्स नेपाल बालाजु तीन दशमलव ९२, राष्ट्रिय बीमा कम्पनी तीन दशमलव ७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।

त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको माग

काठमाडौँ । सांसदहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले प्राज्ञिक थलोका रुपमा रहेको विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमणको धम्की आउनुले मुलुकको सुरक्षा व्यवस्थाप्रति नै प्रश्न उब्जाएको बताए ।

‘दुई वर्षअघि त्रिविका प्राध्यापकमाथि भौतिक आक्रमण गरेको योगेन्द्र रावल समूहले अहिले त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिएको छ, विश्वविद्यालयजस्तो प्राज्ञिक ठाउँमा साङ्घातिक हमलाको धम्की आउनु चिन्ताजनक छ, तत्काल दोषीमाथि कडा कारबाही गरियोस्’, सांसद विष्टले भने ।

सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग बाढी पहिराका कारण अवरुद्ध भएकाले तत्काल सो राजमार्ग मर्मतसम्भार गरी यातायात सञ्चालनको व्यवस्था मिलाउन माग गरे । सांसद नारायणदत्त मिश्रले तीन दिनदेखिको अविरल वर्षाले कैलालीमा बाढी र डुबानका कारण करिब पाँच सय परिवार प्रभावित भएको जनाउँदै प्रभावितको उद्धारमा ध्यान दिन सरकारसँग माग गरे ।

सांसद मदनकुमारी शाह (गरिमा)ले प्रकृतिमाथि अत्यधिक दोहन गर्दा बाढी, पहिरालगायत घटना बढ्न थालेको उल्लेख गर्दै प्राकृतिक विपत्तिका घटना न्यूनीकरणका लागि रुलिङको माग गरिन्।

सांसद कमला पन्तले देशभर डेङ्गु सङ्क्रमण र हैजा फैलनुको कारण पत्ता लगाएर जवाफ दिन सरकारलाई रुलिङ गर्न माग गरिन् । सांसद राजेन्द्रलक्ष्मी गैरेले महिला हिंसाको घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन माग गरिन् ।

सांसद उर्मिला अर्यालले हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा सडक दुर्घटनामा परेर मृत्यु भएको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणका विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद भुवनबहादुर सुनारले चाडपर्वलाई लक्षित गरेर सडक दुर्घटना न्यूनीकरणका योजना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको कालोबजारी, मिसावट र कृत्रिम अभाव हुन थालेको जनाउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। सांसद महम्मद खालिदले कमला पुल पुनःनिर्माणको माग गर्दै अनशनरत युवाका स्वास्थ्य जटिल बन्दै गइरहेको जनाउँदै तत्काल माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाबाट नेपाल कानुन व्यवसायी परिषद् विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले कानुन व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानुन प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको स्पष्ट पारे । उनले प्रस्तुत विधेयकलाई समृद्ध बनाउने भूमिका खेल्न सबै सांसदसँग आग्रह गरे ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए ।

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न प्राज्ञहरुलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ ।  भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् । 

बिहीबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले संयुक्त रुपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गरेकी हुन् । 

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भनिन्, “जलवायु परिवर्तन अहिले यस क्षेत्रको प्रमुख समस्या भएको छ । दक्षिण एसियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन् । ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ ।”

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरिन्। उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ ।  

नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नाका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।

मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा राणा आज अपराह्न स्वदेश फकँदैछिन् ।

नेपालका २० वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने अवस्थामा

अनिल पोखरेल

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणात गर्यो । अकस्मात आएको बाढीले पर्यटकीय गाउँ थामे बजारका १३ वटा घर पूर्ण रुपमा र १० वटामा आंशिक क्षति भएको छ । एउटा विद्यालय, एउटा स्वास्थ्यचौकी पनि बगायो । उक्त दिन पानी खासै परेको थिएन र पनि लेदोसहितको यति ठूलो बाढी र गेग्रान कसरी आयो भन्ने सबैमा ठूलो प्रश्न थियो ।

शनिबार बिहान रक्षामन्त्री मानवीर राईको नेतृत्वमा हामी थामे बजार पुग्यौँ । त्यहाँ पुगेर प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण गर्नाका साथै स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया गर्यौं । थामे बजारबाट थामे खोलाको मुहानतर्फ लाग्यौँ । त्यहाँ पाँचवटा तालहरु देख्यौँ । त्यो मध्येको सबैभन्दा माथि रहेको ठूलो तालबाट पानी भरिएर बरफसँगै तल्लो तालमा गएर बजारिए छ । त्यसले ठूलो छाल बनाएर निकासतर्फको भाग भत्काएर बाहिर निस्केछ । यस्तो प्रक्रियालाई हिमताल फुटेको भनिन्छ । उक्त पानीले दायाँबायाँका ढुङ्गा, गेग्रानलाई खोतलेर तल लगेर थामे बजारमा थुपार्यौं ।

जल तथा मौसम विज्ञान विभाग, प्राविधिक र विषयविज्ञको सहभागितामा सो घटनाको विस्तृत अनुसन्धान गर्न टोली गठन गरेका छौं । उक्त टोलीले अध्ययन गरिसकेपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । सामान्यतः घटनास्थलको सरसर्ती अवलोकन गर्दा तापक्रम वृद्धिकै कारणले हिमताल विस्फोट भएको अनुमान गर्न सकिन्छ । अहिले कति तापक्रम वृद्धि भयो, विगतको तापक्रमको घटबढको अवस्था के थियो भन्ने पनि अध्ययन गर्छौँ । म आफैँले सो क्षेत्रको स्थलगत अवलोकन गरेँ । त्यहाँ पातला कपडा लगाउँदा पनि सो उचाइमा आश्चर्यजनक गर्मी महसुस भइरहेको थियो । थामे बजारका स्थानीयसँग अन्तरक्रिया गर्दा पनि उहाँहरुले तीन/चार दिनदेखि नै कालानिला बादल मडारिरहेको बताउनुभयो । बौद्ध धर्म परम्पराअनुसार उहाँहरुले तालसम्म पुगेर पूजाआजा गर्ने उद्देश्यका साथ तयारी गर्नुभएको रहेछ । उहाँहरुका अनुसार बाढी आउने दिन बिहान सो क्षेत्रमा पानी परेको थिएन । तर त्यस दिन कालो बादल थियो । उहाँहरुले अहिलेसम्म त्यसखालको कालो बादल नदेखेको बताउनुभयो ।

मसिनो तर लगातार पानी परिरहेको, हप्हपी गर्मी । पानी र तापक्रम दुवैका कारण पहिलो ताल फुट्यो । ताल फुटेको सुनिश्चित गर्न हामीले हेलिकोप्टरबाट दुई राउण्ड नजिकबाट अवलोकन ग¥र्यौँ । ताल फुट्नु पछाडिको कारण भनेकै तापक्रम ह्वात्त बढ्नु हो । त्यो पहिलो पटक फुटेको देखिन्छ । हिमताल पग्लिएपछि माथिल्लो तालबाट हिउँको डल्लासहित तल्लो तालमा बजारिएको अनुमान गर्न सकिन्छ । तल्लो तालको निकासतर्फको भूभाग कमजोर रहेछ । त्यसको भित्र सयौँ वर्षदेखिको हिउँको ढिक्का चट्टान रहेको हुनसक्छ । तापक्रम वृद्धि भएपछि त्यो आफैँ पग्लिन थालेको अवस्थामा माथिल्लो तालबाट पानी र बरफ बगेर आइसकेपछि त्यसको छालले तल्लो तालको मुख फोड्यो । माथिबाट पानी र बरफ बज्रिएपछि दोस्रो ठूलो तालको पहिल्यै कमजोर भइसकेको मुख फुट्यो । माथिल्लो तालको केहीसहित त्यो पानी ह्वात्तै बग्यो ।

माथिल्लो ताल अहिले पनि टिलपिल टिलपिल नै छ । पहिलो तालबाट कति पानी गयो त्यो अहिल्यै भन्न सकिँदैन । रित्तिएको भनेको दोस्रो ताल हो । यसको मुल जड तापक्रम वृद्धि भएर हिमताल पग्लिएर फुटेको हो । सो घटनाको विस्तृत अध्ययन गर्न गठित टोलीले अध्ययन गरेर सो क्षेत्रमा पछिल्ला समय घटबढ भएका तापक्रमको विश्लेषण गरेर निष्कर्ष निकाल्छ । जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा जोखिम बढ्दो छ भन्ने स्पष्ट भएको छ । थामे बाढीले यसको थप पुष्ट्याइँ गर्छ । जलवायु परिवर्तनकै कारण उक्त घटना भएको हो । किनभने सो क्षेत्रमा कुनै पनि मानवीय गतिविधि छैन । हिमताललाई खल्बल्याउने गरी डोजर चलाउने, रुख काट्ने तथा मानवीय संरचना बनाउने कार्यले सो घटना भएको होइन । मुलतः जलवायु परिवर्तनको असरस्वरुप हिमताल फुटेको निष्कर्षमा पुगेका छौँ । यसलाई पुष्ट्याइँ गर्ने आधार, विगतका वातावरणीय प्रवृत्ति, अहिलेसम्म के भए भन्ने वैज्ञानिक प्रमाण जुटाएर घटनाको कारण पत्ता लगाउँछौँ ।

ताल फुट्नु अघिको तालको आकार भूउपग्रह (स्याटेलाइट)को नक्साबाट निकाल्ने प्रयास ग¥र्यौं । तर बादलका कारण निकाल्न सकेनौँ । ताल रित्तिसकेपछिको आकार हेरेर पानीको मात्रा निकाल्न सक्छौँ । त्यसपछि तालबाट कति पानी बाहिर गयो र त्यसको बहाव कति थियो भन्ने निकाल्छौँ । कति पानी कति घन्टासम्म बग्यो भन्ने विषय दूरीका आधारमा पत्ता लाग्छ । पानी नाप्ने विधि छ । त्यो काम बाँकी छ । पानी मात्रै होइन, बाढीसँगै गेग्रान पनि आएको छ । त्यो पनि अध्ययन गर्छौँ । स्याटेलाइटको नक्साअनुसार पहिलेको र अहिलेको अवस्था कस्तो छ, पानी, पानीको बहाव र गेग्रानको मात्रा पत्ता लगाउँछौँ । गेग्रानमा कस्ता चट्टान थिए भनेर पनि अध्ययन गर्छौँ ।

यस घटनाले हामीलाई विशिष्ट पाठ सिकाएको छ । हिमाली क्षेत्रमा रहेका साना ताल पनि उत्तिकै जोखिममा रहेछन् । हिमतालको जोखिम प्राथिमिकीकरण गर्ने तरिका नै पुनरावलोकन गर्नुपर्ने रहेछ । यस कामलाई प्राथमिकता दिन्छौँ । ठूल्ठूला मात्रै होइन, साना तालले पनि मुख्यगरी बस्तीलाई नोक्सानी पुर्याउन सक्दा रहेछन् । बस्ती एक/डेढ सय किलोमिटर तल हुँदाहुन् त त्यति क्षति गर्दैनथ्यो होला । साना ताल विस्फोट हुँदा बस्ती, पुल, जलविद्युत् आयोजना, विद्यालयलगायत संरचना नजिकै छ भने क्षति बढी हुन सक्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा जल तथा मौसम विज्ञान विभाग, खानी विभाग, सिँचाइ विभाग र सरोकार भएका निकायका प्रतिनिधि तथा विषयविज्ञ सहभागी हुनुहुन्छ । सो टोलीले यसको वैज्ञानिक आधार र कारण, किन ताल फुट्यो ? र यससँग जलवायु परिवर्तनको सम्बन्ध लगायत बारेमा अध्ययन गर्छ । अर्को टोलीले सोलुखुम्बुको थामे बजारदेखि ओखलढुङ्गासम्म कुनकुन क्षेत्रमा कति नोक्सानी भए भन्ने अध्ययन गर्छ । टोलीले बाढीबाट बस्ती, स्वास्थ्य चौकी, विद्यालय, सडक, पुल, खानेपानी, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा भएका नोक्सानीको विवरण तयार गर्छ । दुई वटा टोलीको निष्कर्षका आधारमा आगामी दिनमा थामे बजारको पुनःस्थापनाका लागि गर्नुपर्ने तयारी, नफुटेका तीनवटा तालको जोखिमको अवस्था, ती तालको पानी घटाउने सम्भावनालगायत बारेमा निचोडमा पुग्छौँ । त्यसपछि मात्रै थामे बजारको त्यहीँ पुनःनिर्माण गर्ने कि स्थानान्तरण गर्ने निर्णय गर्छौं ।

सो घटना रातिमा भएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । सबैभन्दा पहिला विद्यालयमा खेलिरहेका बालबालिकाले त्यो पहिरो देख्नुभएछ । सो विद्यालय थामे बजारभन्दा थोरै उत्तरमा छ । उहाँहरुले आफ्ना शिक्षकलाई सुनाउनुभएछ । शिक्षकले विद्यार्थीलाई सुरक्षित स्थानमा लैजानुभएछ । थामे उपत्यका धेरै फराकिलो छैन । नदीको खोँच जस्तो छ । केही परिवार दायाँ पट्टी र केही बायाँ पट्टी हुनुहुँदो रहेछ । इन्टरनेटको राम्रो सुविधा भएको ठाउँ र एकताबद्ध समुदाय रहेछ । बाढी देख्नेबित्तिकै उहाँहरुले सामाजिक सञ्जालका समूह (ग्रुप)मा खबर गर्नुभएछ । अहिले पर्यटकीय सिजन नभएको हुँदा त्यहाँ विदेशी पर्यटक हुनुहुँदो रहेनछ । बेलैमा खबर पाएका कारण उहाँहरु सुरक्षित स्थानमा जान भ्याउनुभएछ ।

यो स्तरको घटना अहिलेसम्म व्यहोरिएकै थिएन । २०४२ सालमा डिक्छो हिमताल फुट्यो । त्यतिबेला राज्यको केही तयारी थिएन । सो हिमताल फुटेपछि मात्र नेपालमा मुख्यगरी हिमालय क्षेत्रमा हिमतालको जोखिम बढ्दो छ, यसका प्रभाव बढी हुन सक्छ भनेर नेपाल सरकार, विषयविज्ञ र अन्तर्राष्ट्रिय जगत्को चासो बढ्न थालेको हो । त्यो भन्दा अगाडि पनि थुप्रै पटक हिमताल फुटेका तथ्याङ्क भेटिन्छन् । तर यत्तिको राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो बढ्न थालेको डिक्छो हिमताल फुटेपछि नै हो । यसपछि अनवरतरुपमा हिमतालका बारेमा अध्ययन हुन थाले । नेपालमा तीन हजार छ सय २४ वटा हिमताल रहेको विभिन्न अध्ययनले देखाएका छन् । ४७ वटा जोखिमयुक्त र तीमध्ये २० वटा जुनसुकै बेला फुट्न सक्ने अवस्थाका छन् । अहिले फुटेको ताललाई जोखिमयुक्त मानिएको थिएन । जोखिमयुक्त तालका पानी घटाउनुपर्छ भनेर केही काम भएका छन् ।

नेपालसँग हिमालय पर्वत क्षेत्रमै हिमतालको जोखिम न्यूनीकरणका काम गरेकोे विशिष्ट अनुभव छ । हिमतालको जोखिम न्यूनीकरण गर्ने कार्य आफैँमा जोखिमयुक्त र खर्चिलो पनि छ । यद्यपि, प्राधिकरणले जोखिमयुक्त तालको पानी घटाउने तथा पूर्वसूचना प्रणाली जडान गर्ने काम गरिरहेको छ । जलवायु परिवर्तनको दृष्टिकोणबाट हेर्ने हो भने बर्खाका बेलामा हिमतालको जोखिम बढी हुन्छ । मनसुनको समयमा तापक्रम पनि सरदरभन्दा बढी हुन्छ । पानी पनि परिरहेको हुन्छ । बादलले ढाकेको अवस्थामा साधारण स्याटेलाइटबाट सो क्षेत्रको तस्वीर लिन सकिँदैन । अहिले पनि सो क्षेत्रको स्पष्ट स्याटेलाइटको तस्वीर पाउन सकिएको छैन । यसका लागि विशेषखालको स्याटेलाइट क्यामेराको प्रयोग गर्नुपर्छ । यो अत्यन्त खर्चिलो हुन्छ । हिमालय क्षेत्रभर नै वर्षभर अझ मुख्यगरी मनसुनको समयमा ट्र्याक गरिरहनुपर्ने रहेछ । केही हलचल देखिएको अवस्थामा तत्कालै वैज्ञानिकको टोली पठाएर अध्ययन गर्नुपर्ने रहेछ । एक पटक मात्र जोखिम अध्ययन गरेर हुँदैन रहेछ भन्ने निचोडमा पुगेका छौँ ।

हिमतालहरु सामान्यतः हिउँले पुरिएको अवस्थामा सेता हुन्छन् । कि त पानी पग्लेको अवस्थामा कञ्चन निलो देखिन्छ । हिमताल चलायमान र विचलन हुँदा वा हिमपहिरा झरेका ठाउँमा पानी धमिलो देखिन्छ । त्यहाँ तीन वटा तालमा कञ्चन पानी थिए । एउटा फुटेको र माथिको तालको पानी धमिलो देख्यौँ । जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि भई ग्लेसियर र पर्माफ्रोस्ट पग्लिँदा हिमताल विस्फोट भएर थामे खोलामा बाढी आएको स्पष्टसँग देख्यौँ । जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा एक प्रकारको सङ्कट उत्पन्न भइसकेको छ । यस्ता खालका सङ्कटले ठूलो मात्रामा क्षति तथा नोक्सानी ह्वात्तै बढेको पाउन थालेका छौँ । जोखिमपूर्ण हिमतालको जोखिम अनुगमन तथा पूर्वचेतावनीका प्रणाली जडान गर्ने साथै जोखिम न्यूनीकरणका उपाय कार्यान्वयनको आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा हिमताल फुटेर आएको बाढीको कारण र असरबारे बुधबार साँझ सञ्चारकर्मीलाई दिनुभएको जानकारीको सम्पादित अंश)

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत – जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।

कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिए । गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो ।

गत वैशाख १८ मा कुश्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ । वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताए । “गाउँघरमा रातिको समयमा पशचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ । मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ”, उनले भने ।

मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताए । “अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन”, उनले भने।

चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कंदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ । आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उनले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको सङ्ख्या कमी हुँदै जाँदा खाद्य सङ्कट परेको हुन सक्ने उनले बताए । पर्वतमा आव २०७९- ८० मा नौवटा चितुवा मृतावस्थामा उद्धार गरिएको थियो । उक्त वर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो ।

सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीन पक्राउ

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।”

पक्राउ परेका अनिलकुमारमाथि यसअघि विसं २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ढोरपाटनमा सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’

 ढोरपाटन । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् ।

केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारहरुलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् ।

हिजोआज चाडपर्व र मेला महोत्सवमा रेकर्डेड गीत बज्छन् । दोहोरीगीत आयोजना हुने कार्यक्रममा पनि यानीमाया, सुनिमाया भाका समावेश हुँदैन । सामूहिक रुपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले गाउन जान्दैनन् ।

पाका पुस्ताबाट सिक्नसमेत रुचि राख्दैनन् । धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दीलगायतका जिल्लामा यो भाका निकै लोकप्रिय मानिए पनि संरक्षण हुन सकेको छैन । यानीमाया र सुनिमाया गीत आदिवासी जनजाति समुदायमा बढी प्रचलित मानिन्छ ।

पछिल्लो समय बजारमा आएका आधुनिक, पप, -याप लगायतका गीतले यानीमाया, सुनिमाया ओझेलमा परेको धेरैको बुझाइ छ । यानीमाया गीत एक जनाले उठान गर्ने र समूहका अन्य कलाकारले गाउने गरिन्छ ।

दुई दशक अगाडि मेला महोत्सवमा सबैभन्दा बढी गाइने यानीमाया अहिले गुञ्जिन छोडेको ढोरपाटन नगरपालिका–९ का ७७ वर्षीय गुमानसिंह पुनले बताए । पहिले ठाडोभाका, झ्याउरे र सालैजो भाका बढी प्रचलित रहेको सुनाउँदै अहिले ती भाका कहीँकतै सुन्न नपाइने उनको भनाइ छ ।

अहिलेका युवायुवतीले मौलिक गीत छोडेर हिन्दी र अङ्ग्रेजी सुन्न थालेपछि जनजाति समुदायको पहिचान बोकेको यानीमाया, सुनिमाया भाका लोप भएको उनको गुनासो छ ।

‘अब म चार बीस (८०) पुग्न लागे, अहिले पनि अलिअलि यानीमाया, सुनिमाया गीत गाउन मन लाग्छ, मेरो दौंतरी धेरैले छाडेर गए, यानीमाया, सुनिमाया गीतले जीवन बोल्थे, माटो बोल्थे, प्राण भर्थे, माया प्रेमका भाव बोल्थे, तीन रात, तीन दिन गाएर पनि थाकिँदैनथ्यो, सकिँदैनथ्यो’, उनले भने, ‘अहिले त त्यस्ता गीत कसैले गाउँदैनन्, गाउने मान्छे पनि छैनन्, कहिलेकाहीँ मेरा छोरा नातिलाई सुनाउँदा यस्तो पनि गीत हुन्छ भनेर गिज्याउँछन्।’

गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरीगीत भन्दा फरक हुन्छ। गीतको बीच-बीचमा ‘यानीमाया÷सुनिमाया’ जोडेर गाइने हुँदा यसलाई ‘यानीमाया’ र ‘सुनिमाया’ गीत भनिएको निसीखोला गाउँपालिका–६ की ६६ वर्षीया बिमला बुढा मगरले बताए।

आफ्नो पालामा तरुनी तन्नेरी भेट हुँदा र रोधी बस्दा यानीमाया गीत गाउने गरेको स्मरण गर्दै अहिले रोधी बस्न छोडिएको र त्यस्ता गीत लोप हुँदै गएको उनको भनाइ छ । केही वर्षयता गाउँ–गाउँमा मोबाइल, रेडियो र टेलिभिजनको पहुँच पुगेपछि मौलिक गीत लोप भएको बुढा मगरको अनुभव छ ।

बुढा मगरले भने, ‘हाम्रो बाउ, बाजेले निकै गाउनुहुन्थ्यो, यानीमाया हामीले उनीहरुबाटै सिकेका हौँ, तर हामीपछिका पुस्ताले चासो दिएनन्, यो गीत अरुभन्दा गाउन अलि गाह्रो हुन्छ, तर सिक्ने र गाउने हो भने निकै रसिलो र मार्मिक हुन्छ, पहिले–पहिले रोधी बस्दा यानीमाया गाउने चलन थियो, गाउँदा गाउँदै कतिको त विवाहसमेत हुन्थ्यो।’

त्रिविमा ‘बुद्धि भन्दा बल ठूलो र बल भन्दा दल ठूलो’ भन्ने अवस्था आयोः सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीका कारण त्रिभुवन विश्वविद्यालय लथालिंग बनेको आरोप लगाएकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले विश्वविद्यालयको अहिलेको अवस्था हेर्दा ‘बुद्धि भन्दा बल ठूलो र बल भन्दा दल ठूलो’ भन्ने अवस्था देखिएको बताएकी हुन् ।

उनले भनिन्,‘हामीलाई सानोमा पढाउँदा बल भन्दा बुद्धि ठूलो भनिएको थियो । तर अहिले त्यसको उल्टो भयो । विभागीय प्रमुखको पदका लागि दलीय राजनीतिकरण निम्त्याएको दूरदशा हो ।’

उनले यसमा प्रधानमन्त्री ओलीको कार्यक्षमता माथि प्रश्न उठाइन् । उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ?’

उनले यसमा नियत पनि खराब रहेको बताइन् । दलीय राजनीतिले जडजड बनाएको बेला त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताइन् ।

उनले सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटपिट गरेको तर क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मुकदर्शक बनेको बताइन् ।

उनले भनिन्, ‘साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शन बने । त्यसको माउ पार्टीका प्रमुख को ? अहिलेको प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुपर्यो ।’

‘भ्रष्टाचारको मुद्दामा नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दाको अनुसन्धानमा पाँचवर्षको हदम्याद स्वीकार्य नहुने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले पाँचवर्षको हदम्याद मान्य नहुने बताएका हुन् । उनले भने, ‘आफ्नो दल र आफ्नो तर्फबाट भ्रष्टाचारको मुद्दामा नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट।’ उनले पाँच वर्षे हदम्याद नराख्न भन्दै आफू सयौं टेलिफोन कल आएको बताए ।

उनले कुनै हालतमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने र यसमा सिंगो सदन एकठाउँमा उभिनेमा आफू विश्वस्त रहेको बताए । त्यस्तै उनले नीतिगत भनेर मन्त्रिपरिषद लगेर निर्णय गर्ने कुरालाई पनि गम्भीर रुपमा लिनुपर्ने र त्यसको परिभाषा हुनुपर्ने बताए ।

लोभलाग्दो रुइसेको सुन्दरता

 म्याग्दी। रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान।घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो आभास हुन्छ ।

रुइसेको सौन्दर्यले समय बितेको पत्तै नहुने बेनीबाट त्यहाँ घुमेर आएका व्यवसायी कृष्णराज पौडेलले बताए । ‘गर्मी छल्न, बजारको कोलाहल, व्यावहारिक र व्यावसायिक तनाबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,’ हालै दुई दिन रुइसेमा बिताएका उनले भने, ‘रुइसेको प्राकृतिक सुन्दरता शब्दमा बयान गरिसाध्य छैन ।’

रुइसेको प्रचारप्रसार, पूर्वाधार र खानेबस्ने सुविधा भएसँगै रुइसेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । रुइसे एक दशकअघिसम्म भगवतीका किसानहरुले गाईभैँसी र भेडाबाख्राको गोठ लैजाने थलोका रुपमा मात्र सीमित थियो ।

पछिल्लो समय भगवती, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाट पर्यटकहरु घुम्न आउन थालेका रुइसेकी होटल व्यवसायी कमला शाहीले बताए । ‘दश वर्षअघिसम्म गोठ राख्ने खर्कमा सीमित रुइसे अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ,’ उनले भने, ‘व्यवसायी, कर्मचारी, शिक्षक र जागिरेहरु बिदा मनाउन आउने रुइसेमा अन्य समयमा पनि पर्यटक आउँछन्।’

धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो ।

ऋतुअनुसार रुइसेको पाखामा फुल्ने फूल, वनजङ्गल, ग्रामीण बस्ती, पशुगोठ, जीवनशैली र पहाडी भूगोलको दृश्य अवलोकन गर्न पाइने रुइसे बस्तीदेखि टाढा भएकाले कोलाहलबाट मुक्त छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि गलेश्वर–पिप्ले–भगवती हुँदै करिब एक घण्टा ३० मिनेट सवारी साधनको यात्रा गरेपछि रुइसे पुग्न सकिन्छ ।

कच्ची सडक पुगेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यू टावर, पदमार्ग, वनभोजस्थल र डिभिजन वन कार्यालयले गुराँसको बगैँचा स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

रुइसेमा बास बस्ने पर्यटकहरु एक घण्टा उकालो हिँडेर भेडिओडारसम्म पुग्न सक्छन् । हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ । चरन क्षेत्रका भेडाबाख्राको दृश्य लोभलाग्दो हुन्छ ।

भगवतीको ऐतिहासिक कोतघर र मल्लकालीन रुइसे दरबारका भग्नाअवशेषहरु पनि अवलोकन गर्न सकिन्छ । रुइसेको रेष्टुरेष्टमा च्याउ, टुसा, निउरो, दौडेको अचार, लोकल कुखुरा र खसीबोकाको मासु, कोदोको ढिँडोलगायत परिकारको स्वाद लिन पाइन्छ ।

म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसे–भेडिओडार क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नतिका लागि पहल गरेको हालै त्यस क्षेत्रको भ्रमण गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

प्रदेश सरकारले पिप्लेदेखि भगवती जोड्ने पाँच किलोमिटर सडक कालोपत्र गरिसकेको उनले बताए ।

गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब

मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् ।

वार्ताका लागि गरिएका प्रयास सफल हुन नसकेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणलाई अन्त्य गरेको केही समयपछि बाइडेन र नेतान्याहुबीच टोलिफोनमा कुराकानी भएको हो ।

मध्यपूर्वमा तनाव बढ्दै जाँदा अमेरिकी कुटनीतिज्ञ स्वदेश फिर्ता हुनुले तत्काल थप वार्ताको सम्भावना देखिँदैन ।

यद्यपि, सामाजिक सञ्जाल एक्समार्फत बाइडेनले युद्धविराम र बन्धक मुक्तिको सम्झौता बन्द गर्नुपर्ने जनाउदै बाँकी अवरोध हटाउन आगामी कायरो वार्ताबारे छलफल गरेको जनाएका छन् ।

तेहरानले हमासका शीर्ष नेताको हत्याको बदला लिने धम्की दिएपछि उनले नेतान्याहुसँग इरान र यसको आङ्कवादी समूहबाट हुने खतराविरुद्ध अमेरिकाले इजरायलको रक्षा र समर्थन गर्ने बताए ।

ह्वाइट हाउसले पनि अमेरिकी राष्ट्रपति बाइडेनले सम्झौतामा पुग्न ‘तत्काल जोड दिएको’ जनाएको छ ।

उपराष्ट्रपति कमला ह्यारिसले पनि फोनमा नेतान्याहुसँग कुराकानी गरेको स्रोतले जनाएको छ ।

एक्सियोस समाचारका अनुसार बाइडेनले नेतान्याहुलाई अमेरिका, इजिप्ट र कतारले मध्यस्थता गरिरहेको वार्तामा थप लचिलो हुन दबाब दिएका छन् ।

गत अक्टोबरमा हमासले गरेको आक्रमणपछि बाइडेन प्रशासनले इजरायलको समर्थनका लागि नेतान्याहूलाई सहयोग गर्दै प्यालेस्टिनी लडाकू समूहलाई निष्क्रिय पार्न सैन्य सहायता प्रदान गर्दै आएको छ ।

पर्साका सरकारी कार्यालयको खर्च ५२ प्रतिशत

वीरगञ्ज । मधेश–प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत खर्च गरेका छन् ।

मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रदेश सरकार मातहतका १६ वटा सरकारी कार्यालय र १४ वटा स्थानीय तहका लागि चार अर्ब ५१ करोड ४३ लाख ९५ हजार नौ सय ३८ विनियोजन गरेको थियो ।

तर, सरकारी कार्यालयले कुल विनियोजित बजेटमध्ये दुई अर्ब ३६ करोड २६ लाख २९ हजार तीन सय ७६ मात्र खर्च गरेका छन् । पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको ६३ दशमलव ४३ प्रतिशत अर्थात ७६ करोड ९५ लाख ८२ हजार चार सय दुई चालु खर्च गरेका छन् ।

पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित पुँजीगत खर्चको ४८ दशमलव २६ प्रतिशत अर्थात एक अर्ब ५९ करोड ३० लाख ४६ हजार नौ सय ७४ खर्च गरेका छन् ।

प्रदेश लेखा इकाई कार्यालय वीरगञ्जका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले गत आवमा प्रदेश मातहत पर्साका सरकारी कार्यालयले विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत मात्रै खर्च गरेको बताए ।

‘‘मधेश प्रदेश मातहतका सरकारी कार्यालयले समयमै बजेट खर्च नगर्ने कारण अपेक्षाकृत पुँजीगत खर्च नभएको हो,’’ उनले भने, ‘‘खर्च गर्दा पनि असार महिनामा मात्रै अत्यधिक खर्च गर्ने परिपाटीले समस्या ल्याएको हो । मलेपको फारम नम्बर अनुसारको खर्च नगर्ने प्रवृत्ति छ ।’’

कोष नियन्त्रक ठाकुरले बजेट खर्च गर्न समयमै कार्यादेश र बोलपत्र आह्वान प्रक्रिया अघि नबढाउँदा समयमा खर्च नहुने समस्या देखिएको धारणा राखे । पर्सामा मधेश प्रदेश मातहतका सरकारी कार्यालय १६ वटा र १४ स्थानीय तह छन् ।

मधेश प्रदेश सरकारले गत आवमा पर्सा जिल्ला मातहतका १४ स्थानीय तहलाई २४ करोड ७३ लाख पाँच हजार बजेट विनियोजन गरेको थियो । सबै स्थानीय तहले सो अवधिमा कूल विनियोजित बजेटको ७३ दशमलव ०४ प्रतिशत अर्थात १८ करोड ६ लाख २२ हजार दुई सय ५० खर्च गरेका छन् ।

प्रदेश लेखा इकाइ कार्यालय वीरगञ्जका अनुसार गत आवमा प्रदेश मातहतका सरकारी कार्यालयले एक अर्ब ६५ करोड ६४ लाख ८१ हजार छ सय ४३ राजस्व सङ्कलन गरेको छ । यो राजस्व रकममध्ये यातायात व्यवस्था कार्यालय वीरगञ्जको हिस्सा एक अर्ब ५२ करोड रहेको छ । बाँकी राजस्व अन्य कार्यालयको हो ।

गण्डकीमा सत्ता समीकरणमा सकस, कांग्रेस–एमालेमा अझै जुटेन सहमति

गण्डकी । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् ।

कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेको बताए ।

‘मुख्यमन्त्री र एमाले संसदीय दलका नेताबीच र दुवैतर्फको कार्यदलस्तरमा छलफल भइरहेको छ’, उनले भने, ‘छिट्टै सहमति जुट्ने विश्वास छ, अब पनि ढिलो गरियो भने अनावश्यक आशङ्का पैदा हुन्छ ।’ यहाँ काँग्रेस संसदीय दलका नेता सरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ ।

मुख्यमन्त्री पाण्डेले अहिलेको सरकारमा मन्त्री रहेका नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनर्गठन गर्न चाहेको प्रदेशसभा सदस्य सुवेदीले बताए ।

‘उहाँहरु दुवैलाई सरकारमा साथै लिएर जानुपर्छ भन्नेमा काँग्रेस स्पष्ट छ, संसदीय दलले पनि यही निर्णय गरेको छ’, उनले भने, ‘हिजो अफ्ठेरो घडीमा सरकारलाई साथ दिनुभएका प्रदेशसभा सदस्यलाई काँग्रेसले सरकारबाहिर राख्न सक्दैन ।’

प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले छलफल औचित्य पुष्टि हुने गरी मन्त्रालय थप गर्ने विषयमा एमाले सकारात्मक रहेको बताए ।

‘अहिले भइरहेका मन्त्रालयमार्फत सेवा प्रवाहमा बोझ र समस्या भएको अवस्था हो भने केही मन्त्रालय थप गर्न सकिन्छ’, उनले भने,’संविधान दिएको अधिकार भन्दैमा धेरै मन्त्रालय बनाउनु हुँदैन, नागरिकको पनि त्यसमा विरोध छ ।’

मुख्यमन्त्रीले ल्याएको मन्त्रालय थप गर्ने प्रस्तावमा छलफल चलिरहेको उनको भनाइ छ । अहिले सात मन्त्रालय छन् । यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा १२ बाट घटाएर मन्त्रालय संख्या सातमा पुर्याइएको थियो ।

आफ्नो सरकारका पालामा मन्त्रालय सङ्ख्या घटाएर जनस्तरबाट प्रशंसा बटुलेको एमालेले अहिलेको सरकारले पनि मन्त्रालय नथपोस् भन्ने चाहन्छ । तर साना दललाई पनि सरकारमा समेट्ने काँग्रेसको अडानका कारण त्यो सम्भव हुने देखिएको छैन ।

‘मन्त्रालय थप्ने र भागबण्डाका विषयमा दुई दलबीच सघन ढङ्गले छलफल चलिरहेको छ, छिट्टैमा सहमति जुट्छ’, एमाले प्रमुख सचेतक नेपालीले भने ।

साना दललाई पनि समेटेर जाने विषयमा एमाले सकारात्मक रहेको उनको भनाइ छ । सम्मानजनक हैसियतबिना एमाले सरकारमा नजाने उनले बताए । मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले काँग्रेसका २७, राप्रपाका दुई, नेसपाका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाएका थिए । एमालेका २२ र माओवादी केन्द्रका छ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए ।

त्यसअघि मुख्यमन्त्री बनेका नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

६० सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

चिनियाँ नागरिकमाथि चीनकै लागि जासुसी गरेको आरोपमा अमेरिकामा मुद्दा दायर

बीबीसी । संयुक्त राज्य अमेरिकामा अभियोजनकर्ताहरूले चिनियाँ मूलका एक व्यक्तिविरुद्ध चीनका लागि गुप्तचरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् ।

उनी अङ्गीकृत अमेरिकी नागरिक हुन् । ६७ वर्षीय युआन्जुन ताङलाई बुधवार न्यूयोर्क सिटीमा पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।

युआन्जुनविरुद्ध उनी चिनियाँ जासुसी निकायको गुप्तचर भएको र उनले अमेरिकामा बस्ने चिनियाँ प्रजातान्त्रिक अभियानकर्मी तथा असन्तुष्ट व्यक्तिहरूबारे गुप्त सूचना सङ्कलन गर्ने अभियोग लगाइएको छ ।

उनले अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईलाई झुटो बयान दिएको आरोप पनि लगाएको छ । न्याय मन्त्रालयले ताङलाई ‘संयुक्त राज्य अमेरिकामा जनगणतन्त्र चीन (पीआरसी)का असूचीकृत गुप्तचरका रूपमा काम गरेको र षड्यन्त्र गरेको अनि एफबीआईलाई झुटो बयान दिएकोमा’ फौजदारी मुद्दा चलाइएको जनाएको छ ।

न्याय मन्त्रालयका अनुसार ताङले सन् २०१८ र २०२३ को बीचमा चीनको राज्य सुरक्षासम्बन्धी मन्त्रालय (एमएसएस) को आदेशमा बेइजिङको जासुसको रूपमा काम गरेका थिए । एमएसएस नागरिकहरूको जासुसी गर्ने चीनको मुख्य निकाय हो ।

ताङले उक्त निकायबाट नियमित रूपमा इमेल, ‘इन्क्रिप्टिड च्याट’ र अन्य तरिकाबाट निर्देशन प्राप्त गर्ने गरेको अमेरिकी अधिकारीहरूको दाबी छ। इन्क्रिप्टिड सन्देश पठाउने र पाउने व्यक्तिले मात्र हेर्न मिल्छ ।

अदालतमा प्रस्तुत दस्ताबेजका अनुसार ताङ चीन सरकारको विरोध गरेका कारण चीनमा जेल परेका थिए । सन् १९८९ को तिआन्आनमेन स्क्वायरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गर्दै भएको विरोधप्रदर्शनमा उनी सहभागी भएको सीबीएसले जनाएको छ ।

सन् २००२ तिर उनी चीनबाट भागेर ताइवान पुगे। पछि उनले अमेरिकामा राजनीतिक शरण पाएको न्याय मन्त्रालयले जनाएको छ ।

आन्ध्र प्रदेशस्थित रिएक्टर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।

यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएका बताएका थिए  ।

अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्णनले मृत्यु सङ्ख्या १७ पुगेको पुष्टि गरेका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै व्यक्तिको हताहत भएको उक्त दुर्घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनाकपल्लीको एक कारखानामा भएको दुर्घटनामा परी भएको धेरै व्यक्तिको हताहतले दुःखी बनाएको छ । आफ्ना प्रियजनहरूलाई गुमाएकाहरूप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना !”

विज्ञप्तिमा आगाडि भनिएको छ, “प्रत्येक मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रूपैयाँ राशिको राहत प्रदान गरिनेछ । घाइतेलाई ५० हजार रूपैयाँ दिइने छ ।”

हुम्लाको चंगेलीमा जिप दुर्घटनाका घाइते एकको मृत्यु, तीनजनाको उपचार हुँदै

कर्णाली । बुधबार हुम्लाको चङ्खेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ । 

मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त जीप धनी मल्ल आफैँ थिए ।

मल्लका दाइ नाता पर्ने रोशन शाहीले भने, ‘रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।’

दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ ।

दाङमा सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ

दाङ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताए । उनले भने, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।”

प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । 

यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए । उनका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।

नेपाली सेनाद्वारा बलम्बुमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक बिहीबार बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । 

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रुससँगको युद्धमा एफ–१६ लडाकु विमान प्रयोग गर्दै युक्रेन

बीबीसी । युक्रेनले पश्चिमा देशहरूबाट पहिलो खेपमा पाएको एफ–१६ लडाकु विमानहरू प्रयोग गर्न लागेको छ । रुससँग युद्ध गरिरहेको युक्रेनले सन् २०२५ सम्ममा ६५ वटा त्यस्ता विमान प्राप्त गर्ने बताइएको छ ।

दुई वर्षदेखि युक्रेनी नेताहरूले पश्चिमा देशहरूसमक्ष संयुक्त राज्य अमेरिकामा निर्मित लडाकु विमान उपलब्ध गराउन अनुरोध गर्दै आएका थिए ।

यद्यपि त्यस्ता विमानहरू निकै कम सङ्ख्यामा उपलब्ध गराइएकाले तिनको प्रयोगबाट रुसविरुद्धको लडाइँमा युक्रेनलाई ठूलो फाइदा पुग्न नसक्ने चिन्ता व्यक्त हुने गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा रुसले आक्रमण थाल्नासाथ पश्चिमा राष्ट्रहरूसँग एफ–१६ सूपरसोनिक लडाकु विमान मागेका थिए।

उनी रुसी लडाकु विमानहरूलाई युक्रेनको आकाशमा छिर्न नदिन र आफ्नो सेनाको हवाई प्रभुत्व कायम राख्न चाहन्थे । बेल्जियम, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वे गरी चार देशहरूले आफूले अमेरिकासँग किनेका केही एफ–१६ विमान दिने तत्परता देखाए ।

तर युक्रेनलाई उन्नत र शक्तिशाली अस्त्र उपलब्ध गराउँदा रुस आक्रोशित हुने हो कि भन्ने आशङ्कामा अमेरिकी राष्ट्रपति जो बाइडन हच्किए । सन् २०२३ मा आएर मात्रै अमेरिकाले युरोपेली देशहरूलाई लडाकु विमान पुनः निर्यात गर्न अनुमति दियो ।

ती चार देशले उन्नत एफ–३५ लडाकु ल्याउन थालेकाले आफूसँग भएका पुराना एफ–१६ लडाकु विमान युक्रेनलाई दिएका हुन् । पहिलो चरणमा युक्रेनले सन् २०२४ को जुलाईको अन्त्यमा १० वटा विमान पाएको छ । पश्चिमा देशहरूले युक्रेनलाई कुल ६५ वटा एफ–१६ लडाकु विमान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तीमध्ये केही यसै वर्षको अन्त्यमा र बाँकी सन् २०२५ को अन्त्यसम्ममा पठाइने ठानिएको छ । युक्रेनलाई एफ–१६ उपलब्ध गराउने कार्यमा ढिलाइ भइरहेको विमान उपलब्ध नभएर भने होइन।

लन्डनस्थित थिङ्क ट्याङ्क रोयल यूनाइटिड सर्भिस इन्स्टिट्यूटसँग आबद्ध जस्टिन ब्रोङ्कका अनुसार युक्रेनमा लडाकु विमान चलाउन तालिमप्राप्त विमानचालक नभएका कारण ढिलाइ भइरहेको हो । युक्रेन पश्चिमा देशहरूले एकैचोटि १०० जनालाई त्यस्तो तालिम प्रदान गरिदिऊन् भन्ने चाहन्छ।

तर उनीहरूसँग त्यसो गर्न सक्ने क्षमता नै छैन । एफ–१६ लडाकु विमानलाई सन् १९७८ बाट प्रयोगमा ल्याइएको हो । यसले क्षेप्यास्त्र प्रहार गर्न र शत्रुको लडाकु विमानलाई अवरोध गर्न सक्छ। यसले शत्रुपक्षलाई अवरोध पुर्याएर स्थलयुद्धमा सहभागी आफ्नो पक्षका सैनिकहरूलाई निकटबाट सघाउन पनि सक्छ।

प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छः गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लगिने बताएका छन् ।

बिहीबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा गृहमन्त्री लेखकले २०१२ सालमा बनेको कानुनलाई परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताएका हुन् ।

उक्त मस्यौदालाई सहमतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको उनले बताए । अर्थ मन्त्रालयले सहमति दिएपछि मस्यौदा मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री लेखकले बताए ।

गृह मन्त्रालयले बनाएको उक्त मस्यौदा संसदबाट पारित भएसँगै प्रहरी समायोजन ऐनअनुसार प्रदेश प्रहरी गठन प्रकृया सुरु हुने उनको भनाइ छ ।

गृहमन्त्रीले भने, ‘नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ । नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।’

वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै सम्झौता नहुने र मुलुकमा शान्ति सुुव्यवस्था कायम हुने उनले बताए ।

घाँसीकुवाको पहिरो हटाउन सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ घाँसीकुवाको पहिरो हटाउन सुरु गरिएको छ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरो बिहीबार बिहान डोजरको सहायताले हटाउन थालिएको हो । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ ।

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको छ ।

तस्बिर : कृष्ण न्यौपाने / रासस

मकवानपुरमा गोठमा बाँधेको भैँसीले मार्यो बाघ

मकवानपुर । मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेकोमा भैँसीले प्रतिकार गर्दा बाघ मरेको हो ।

प्रहरीका अनुसार बाघ गोठमै मरेको हो । बिहीबार बिहान मकवानपुरको मनहरी गाउँपालिका– ६ का बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेको थियो ।

त्यसपछि भैँसीले प्रतिकार गर्दा बाघ मरेको हो । बाघ र भैँसी जुधेपछि घरधनीका साथै उनका छिमेकीले थाहा पाएका थिए । उनीहरू गोठमा पुग्दा बाघ मरिसकेको र भैँसी घाइते अवस्थामा भेटिएको बताइएको छ । मरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको छ ।

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ ।

यस्तै धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

थामेको बाढी प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने

काठमाडौँ । सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ ।

बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभावित क्षेत्रको विस्तृत अध्ययनका लागि विज्ञसहितको प्राविधिक टोली पठाउने तयारी भइरहेको जनाइएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अध्ययन टोलीले घटनाको कारणसहित बाढीग्रस्त क्षेत्रमा बस्न मिल्ने हो वा बस्ती अन्तै सार्नु पर्ने हो भन्नेबारे पनि अध्ययन गर्ने जानकारी दिए ।

यही साउन ३२ गते आएको गेग्य्रान र ठूला ढुङ्गासहितको बाढीले थामेमा ठूलो क्षति भएको थियो । थामेका २४ घरसहित स्कुल, क्लिनिकलगायत बस्तीमा क्षति पुगेको थियो । बाढीलगत्तै रक्षामन्त्री मानवीर राई नेतृत्वमा विज्ञसहितको टोलीले मुहान क्षेत्रमा हवाई निरीक्षण गरी प्रारम्भिक जानकारी लिएको थियो ।

प्रारम्भिक निरीक्षणमा सहभागी पोखरेलले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई ग्लेसियर र पर्माफ्रोस्ट पग्लिएर हिमताल फुटेको जानकारी दिए ।

रुस–चीन साझेदारीले परिणाम दिँदैछ : राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग रुसको आर्थिक तथा व्यापारिक सम्बन्धले ‘परिणाम दिइरहेको’ बताएका छन् । क्रेमलिनमा बुधबार चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई स्वागत गर्दै उनले सो कुरा बताएका हुन् ।

युक्रेन द्वन्द्व सुरु भएयता मस्कोले बेइजिङलाई आर्थिक जीवनरेखाका रूपमा हेरेको छ । रुसले पश्चिमी मुलुकहरूबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेको यस अवधिमा दुवै मुलुकबीचको व्यापार उच्च रेकर्डमा पुगेको छ ।

“हाम्रो व्यापारिक सम्बन्ध सफलतापूर्वक विकसित भइरहेको छ, दुवैतिरका सरकारले व्यापार र आर्थिक सम्बन्धमा ध्यान दिइरहेकाले परिणाम प्राप्त भइरहेको छ”, पुटिनले लीसँगको बैठकमा भने, “हाम्रा राज्यहरूले आर्थिक र मानवीय क्षेत्रमा ठूलो मात्रामा संयुक्त आयोजना, परियोजनाहरूमा काम गरिरहेका छन्, हामीले आगामी धेरै वर्षको अपेक्षा गरेका छौँ ।”

मे महिनामा पुटिनले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका थिए । उनले उक्त साझेदारीलाई अराजक विश्वमा ‘स्थिरता गर्ने’ शक्तिका रूपमा प्रस्तुत गरेका थिए ।

चीन र रुसले सम्बन्ध बनाएर विदेशमा आफ्नो विश्वव्यापी प्रभावको प्रयोग गर्न खोजिरहेकाले पश्चिमी मुलुकहरूले विगत दुई वर्षमा दुवै मुलुकलाई बढ्दो चिन्ताका रूपमा हेरेका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभन्दा केही दिनअघि बेइजिङ र मस्कोले ‘कुनै सीमा नभएको’ साझेदारीको घोषणा गरेका थिए ।

यसैबीच चीनले सस्तो रुसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीलगायत विशाल प्राकृतिक स्रोतहरूमा पहुँचबाट लाभ हासिल गरेको छ ।

बलात्कारको आरोपमा इरानमा भविष्यवक्तालाई मृत्युदण्ड

मध्य इरानमा अधिकारीहरूले आफ्ना ग्राहकहरूसँग बलात्कार र यौन उत्पीडन गरेको आरोपमा एक भविष्यवक्तालाई मृत्युदण्ड दिएको न्यायपालिकाले बुधबार बताएको छ ।

“महिला र युवतीहरूलाई आक्रमण गर्ने भविष्यवक्तालाई याज्द जेलमा मृत्युदण्ड दिइएको छ”, इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुसार मध्य प्रान्तका मुख्य न्यायाधीश होसेन तहमासेबीले भने, “याज्दको क्रान्तिकारी अदालतले जारी गरेपछि र सर्वोच्च न्यायिक प्राधिकरणले पुष्टि गरेपछि यी बलात्कारी भविष्यवक्ताको सजाय लागु गरिएको थियो ।”

तहमासेबीका अनुसार ती व्यक्तिले आफ्ना ग्राहकहरूलाई धोका दिन भविष्य बताउने सेवाहरूको प्रयोग गरेर ‘झुटो बहानामा महिला र युवतीहरूमाथि कुटपिट र बलात्कार गरेका थिए ।’

दोषीलाई सन् २०२० मार्च र सन् २०२१ मार्चको बीचमा कुनै समयमा पक्राउ गरिएको थियो र उनीविरुद्ध ‘उजुरीहरूको सङ्ख्या’ का कारण माफीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरिएको थियो ।

इरानमा बलात्कार र यौन उत्पीडनलगायत धेरै अपराधमा मृत्युदण्डको प्रावधान छ ।

नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा प्रलोभनमा पारेर बेहोस हुने औषधिको इन्जेक्सन लगाई महिलाहरूलाई बलात्कार गरेको आरोपमा तीन जनालाई इरानले सन् २०२३ मा मृत्युदण्ड दिएको थियो । उनीहरूलाई सन् २०२१ को अन्त्यमा दक्षिणी प्रान्त होर्मोजगनमा यौन उत्पीडनको १२ घटनामा षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

एमनेस्टीलगायत मानवाधिकार समूहहरूका अनुसार चीनबाहेक इरानले कुनै पनि अन्य मुलुकको तुलनामा हरेक वर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ । इरानले सामान्यतया फाँसी दिएर मृत्युदण्ड दिने गरेको छ ।