`

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

जुम्ला । जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड एन रिर्सच प्रालि र गुठीचौर–५ मा पाँच हेक्टर क्षेत्रफलमा रहेको गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए ।


जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो । चक्लाबन्दी मोडेलमा उच्च घनत्वको स्याउको क्षेत्र विस्तार गरी यन्त्रमैत्री गह्रासुधार, थोपा सिँचाइ तथा घेराबारमा परियोजनाबाट सहयोग गरी थप नौ हेक्टर क्षेत्रफलमा गुठीचौरमा उच्च घनत्वको स्याउ बगैँचा स्थापना भएको शाहीको भनाइ छ ।

जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ । यहाँका आठ वटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ ।

३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन

यहाँका आठ वटा स्थानीय तहमा दुई लाख ५३ हजार एक सय हेक्टरको कूल क्षेत्रफलमध्ये ३८ हजार चार सय ८६ हेक्टर खेतीयोग्य जमिनको क्षेत्रफल रहेको छ । उक्त हेक्टरमध्ये हाल २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा खेती गरिएको शाहीले जानकारी दिए।

सिञ्चित क्षेत्रफल तीन हजार छ सय ५० हेक्टर जमिन छ । असिञ्चित पाखो २२ हजार सात सय ८५ हेक्टर छ । एक लाख चार हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा वजजङ्गलले ढाकेको उनले बताए ।

यहाँको चरन क्षेत्रले ढाकेको ६६ हजार दुई सय १० हेक्टर क्षेत्रफल र ताल, खोला चट्टान अन्य क्षेत्रले ढाकेको क्षेत्रफल ४३ हजार ८३४ हेक्टर रहेको छ ।

तीजको अवसरमा प्रदर्शन हुँदै चलचित्र ‘देवी’

काठमाडौँ । महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ तीजलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ ।

अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन लागेको र चलचित्रले समाजमा महिला हिंसाविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन् ।

“महिला हिंसाविरुद्ध केही गर्नुपर्छ भनेर म यस चलचित्रमा अभिनेत्रीसँगै सह निर्मात्रीका रूपमा जोडिएकी छु । यो चलचित्र हेरेर यस्ता घटना केही कम गर्न सकियो भने नै हाम्रो जित हुनेछ”, उनले भनिन् । अभिनेत्री मास्केले महिलाकै कथा भएकाले तीजलाई लक्षित गर्दै प्रदर्शन गर्न लगिएको जानकारी दिइन् ।

चलचित्रका निर्देशक सञ्जोग राईले फोटो पत्रकार हुँदा नै महिला हिंसासम्बन्धी पढेका खबरलाई चलचित्रको विषय बनाउनुपर्छ भन्ने प्रेरणा मिलेको बताए ।

उनले भने, “हामी महिलालाई देवी भनेर पूजा गर्छौं तर यही समाजमा महिला हिंसाका धेरै घटना सुन्न र पढ्न पाइन्छ । त्यसका लागि हामीले हाम्रो कानुन नै बलियो बनाउनुपर्छ । महिला हिंसाविरुद्धको हाम्रो आवाज हो ‘देवी’ चलचित्र ।”

भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शन हुने चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

ताप्लेजुङ । सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । इन्जुरी समयमा धकेलिएको खेलमा फाइनल प्रवेशका लागि मोरङका मिलन राईले गरेका दुई गोल पर्याप्त बने ।

सुरुवाती अग्रता लिएको मोरङविरुद्ध खेलको ६०औँ मिनेटमा ताप्लेजुङका कप्तान अनुप सेन्दाङले गोल गर्दै बराबरी गरेका थिए । निर्धारित समयमा बराबरी भएपछि खेल इन्जुरी समयतर्पm धकेलिएको थियो । उक्त समयमा मिलनले थप एक गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पुर्याएका हुन् ।

मोरङले भोलि हुने विर्तामोड युनाइटेड फुटबल क्लब र सिराहाको सलहेस युथ क्लबको विजेतासँग उपाधिका लागि भदौ १० गते भिड्ने छ ।

देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या आउँदैनः डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताएका छ ।

शुक्रबार काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ को लोकार्पण समारोहमा भट्टराईले नेपालमा शक्ति राष्ट्रहरुले खेल्ने गरेको स्वीकार गर्दै देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या नहुने बताए ।

उनले नेपाल जटिल भूराजनीतिक देश भएकाले धेरै शक्तिले खेल्ने कोसिस गर्ने भन्दै त्यसलाई दोष दिनुभन्दा राजनीतिमा पढेका मान्छे भित्राउन सके मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताए ।

उनले सादगी, नैतिकवान, मान्छेहरु राजनीतिमा आउनैपर्नेमा जोड दिए । अध्यक्ष डा भट्टराईले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई अघि बढाउनका लागि पनि नैतिक र इमान्दार राजनीतिज्ञको खाँचो रहेको औँल्याए ।

आत्मकथाले डा राउतको जीवन सङ्घर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको डा भट्टराईले बताए । उनले भने, “कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सीकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ । किताबमा सीकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौँदेखि गरेको फेहरिस्त समेटिएको छ ।”

डा भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेषगरी युवापुस्ताले पढ्नुपर्ने पनि बताए ।

कार्यक्रममा लेखक तथा जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले मधेसीहरुलाई नेपाली भन्ने तर मधेसीको पहिचान बन्न नदिने कुरा गलत भएको बताए ।

समारोहमा डा राउतले मधेस आफ्नो पहिचान हो भने किन पहिचान नपाएको भनेर गुनासो पनि गरे । उनले कुनै पनि ठाउँका लागि पहिलो कुरा पहिचान भएको समेत दाबी गरे । उनले मधेसीलाई पहिचान दिन नखोज्नु गलत भएको बताए । 

अध्यक्ष राउतले भने, “पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अङ्क ल्याएर राजाबाट महेन्द्र विद्या भूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ । वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगेँ भन्ने रुचिकर कथा यस पुस्तकमा छन् ।”

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा राउतले बताउनुभयो । समाज उन्नतिका लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उनले बताए । जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका डा राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो । यसको पाठक मूल्य पातलो गाता  पाँच सय ९९ र मोटो गाता  सात सय ९९ रुपैयाँ रहेको छ ।

रोलर स्केटिङ टोली भारत जाने


काठमाडौं । प्रथम इन्डिया नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको पश्चिम बंगालस्थित नाडिया जाने भएको छ ।

अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट रोज बडू, काश्भी भट्टराई, समन पाण्डे, स्लोक सेन थापा, समिरन भुसाल, जून बडू, जियाना अर्याल र स्नेहा पाण्डे तथा विल्सन एकेडेमीबाट स्वराज भारती, प्रान्जल गिरी र समिश्रण थापा रहेका छन् ।

शिव नर्सिङ शिक्षालयबाट आशिया तामाङ, विमस शाही, रेमन गुरुङ र सात्भिक मल्होत्रा रहेका छन् । ट्रिटन इन्टरनेसनल स्कुलबाट आयुश सिटौला र सुमित ठाकुर तथा अन्यबाट इमोन यादव र श्रीवत्स श्रेष्ठ छन् ।

टोली प्रमुखमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा अभिषेक मानन्धर तथा प्रशिक्षकमा अनिल तामाङ र राहुल खत्री क्षेत्री रहेका छन् । टोलीसंगै ज्ञान संस्कारकी प्रिन्सिपल निलम बडू र शिक्षिका सानी महर्जन पनि भारत जाने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।

आबुखैरेनी बस दुर्घटनामा मृतकको संख्या २१ पुग्यो

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा ४३ यात्रु सवार थिए ।

घाइतेलाई लिन नेपाली सेनाको हेलिकप्टर अपराह्न १४ः०५ बजे तनहुँकै ढकालटारस्थित कालीभञ्ज्याङ गणमा अवतरण भएको थियो । दुर्घटनाका घाइते २२ जनालाई उद्धार गरी आबुँखैरेनी अस्पताल लगिएकामा १६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

घटनास्थलबाट डोरीका सहायताले १९ जनाको शव सङ्कलन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गाडी मुनी च्यापिएको अवस्थामा सशस्त्र प्रहरीको गोताखोर टोलीले थप दुई जनाको शव सङ्कलन गरेको थियो ।

पार्टी बैठकमा परराष्ट्रमन्त्री राणाले भनिन्- स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको अनुभव भयो

काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छन् ।


कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा उनले आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी गराएकी हुन् । नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताएकी थिइन् ।


परराष्ट्रमन्त्री डा राणा भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएकी हुन् । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन् ।


उनले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव बैठकमा सुनाएकी थिइन् ।


मन्त्री डा राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको उल्लेख गरेकी थिइन् । 


महिलाको प्रतिनिधित्व बढाऔँ, अनुशासनमा ध्यान दिउँ
बैठकमा फरक प्रसङ्गमा मन्त्री डा राणाले कांग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्ने धारणा राखेकी थिइन् ।


उनले भनिन्, “कतिपय प्रतिनिधिमण्डमा महिलालाई नै सहभागी गराउँ भन्दा पनि त्यो तहमा महिला उपलब्ध छैनन् । त्यसैले यस्ता विषयमा अब हाम्रो पार्टीले अझै ध्यान दिनुपर्छ । कांग्रेसको समावेशिताको नीतिकै कारण उच्च तहमा महिला पुगेका पनि छन् । यसलाई थप बढाउनु जरुरी छ । पार्टी या अन्यत्र पनि पदाधिकारी तहमा महिलाको सहभागिता गराउनु जरुरी छ । यो माग मैले बारम्बार राख्दै आएको छु र आज पनि राख्दछु ।”


 पार्टीभित्र अनुशासन अति जरुरी रहेको पनि उनले बताइन् । पार्टीको प्राण भनेको अनुशासन हो भन्दै उनले गएको संसदीय निर्वाचनमा पनि पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेसका कैयौँ उम्मेदबारले झिनो मतान्तरले निर्वाचन हारेको वास्तविकता बुझेर पार्टीमा अनुशासन कायम गर्नेतर्फ सबैको ध्यान जानुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

साफ यू-२० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल प्रतिद्वन्दी टुङ्गो लागेको हो ।

नेपाल समूह ए मा दुवै खेल जितेर समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । यस्तै समूह बी को विजेता भारतले समूह ए को उपविजेता बंगलादेशसँग सेमिफाइनल खेल्नेछ ।

भुटान भने समूह बी को उपविजेता बन्यो । आज भएको खेलमा भारतले माल्दिभ्सलाई हराउँदै समूह बी को विजेता बन्दा भुटान समूह बी को उपविजेता बनेको हो । भारतले दुई खेल जित्दै ६ अंक जोड्यो । भुटानले एक जित र एक हारबाट ३ अंक जोड्यो । दुवै खेलमा पराजित माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ ।

अब पहिलो सेमिफाइनल नेपाल र भुटानबीच आउने आइतबार हुनेछ भने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल सोमबार हुनेछ । सेमिफाइनलका विजेताबीच बुधबार फाइनल खेल हुनेछ ।

‘आँखा उपचार केन्द्र’को सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन । पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

भरतपुर आँखा अस्पताल बाहेक अन्य दुई सेकेण्डरी अस्पताल, एउटा सिटी क्लनिक र १८ आँखा उपचार केन्द्र संघद्वारा सञ्चालित छ । भरतपुर अस्पतालले चितवनका सातै पालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिकाको चनौली र शिवनगर, माडी, राप्ती, खैरहनी, रत्ननगर, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकामा यस्ता केन्द्र सञ्चालित छन् ।

संघद्वारा भरतपुरको नारायणगढमा ‘सिटी क्लिनिक’ सञ्चालित छ । नवलपरासी (सुस्ता बर्दघाट पूर्व) को हुप्सिकोट, मध्यविन्दु, बौदिकाली, गैंडाकोटमा केन्द्र छन् । कावासोतीमा सेकेण्डरी अस्पताल सञ्चालित छ ।

धादिङको सल्यानटार र बेनिघाट, तनहुँको आँबुखैरहनी र भानु नगरपालिका, सर्लाहीको ईश्वरपुर, सिन्धुलीको दुधौली र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र छन् भने पर्साको ठोरीमा सेकेण्डरी अस्पताल छ ।

संघका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले आवश्यक स्थानमा आँखा उपचार केन्द्र विस्तार गर्दै लगिएको बताए । अधिकांश केन्द्र र अस्पतालका प्रमुख पालिकाका प्रमुख एवं अध्यक्ष रहेको व्यवस्था गरिएका छन् । स्थानीयहरुको आँखा उपचार केन्द्र सहयोग समितिले केन्द्रको रेखदेख गर्दै आएको छ । स्थानीय पालिकाको सहकार्यमा अधिकांश केन्द्र सञ्चालन गरिएको छ ।

सेकेण्डरी अस्पतालमा चिकित्सक हुन्छन् भने केन्द्रहरुमा नेत्र सहायकले सेवा प्रदान गर्दछन् । दुईदेखि तीन जनाको टिमले केन्द्र सञ्चालन गर्दछ । जटिल समस्या आएमा टेलिमिडिसिन मार्फत् विशेषज्ञ चिकित्सकसँग परामर्श लिने व्यवस्था सबै केन्द्रमा छ । यसबाट पनि समाधान नभएमा बिरामीलाई मुख्य अस्पताल पठाउने गरिन्छ । मध्यम अवस्था रहेमा नजिकको अस्पतालमा पठाउने गरिन्छ ।

मुख्य अस्पतालमा विशेषज्ञ चिकित्सकहरु छन् । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक, ८ जना अध्ययनरत आवासीय चिकित्सक, ८ जना अप्टोमेट्रिक्स (दृष्टि विशेषज्ञ), ५९ जना नेत्र सहायक सहितको टिमले उपचार दिंदै आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार यहाँ कार्यरत चिकित्सकहरुले जलविन्दु, मोतियाविन्दु, दृष्टिपर्दा, कर्निया, अकोलोप्लास्टिक (नक्कली आँखा राख्ने) विषयमा फेलोसिप समेत गरेका छन् । अस्पतालले नै दुई जनालाई ‘फेलोसिप’ अध्यापन गराउँदैछ ।

अस्पतालका मेडिकल निर्देशक डा।पुष्पा गिरी श्रेष्ठका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का विद्यार्थीहरु यहाँ आँखामा एमडि तहको अध्ययन गर्दछन् । यसका अतिरिक्त अन्य संस्थाहरुले पनि अध्ययनका लागि यहाँ पठाउने गर्दछन् । हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान मार्फत् शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेका छन् । नेत्र सहायक अध्यापन हुने गर्दछ ।

अस्पतालले चितवन र छिमेकी जिल्लाहरुमा शिविरहरु मार्फत् सेवा दिंदै आएको छ । निर्देशक डा गिरीका अनुसार हरेक वर्ष १२/१३ जिल्लामा शिविर मार्फत् सेवा दिने गरिएको छ । अस्पतालले आँखा बैंक स्थापना गर्ने तयारी गरेको छ । भीराज उषामाया पाठक आँखा बैंक नाम दिइएको छ । अहिले नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ । अहिलेसम्म एक हजार २५३ जनाले आँखा दानका लागि प्रतिबद्धता जनाइसकेका छन् ।

२७ जनाको नानी संकलन गरेर पठाईएको छ भने १३१ जनाको यहाँ नानी मगाएर प्रत्यारोपण गरिएको निर्देशक डा गिरीले जानकारी दिए । उनले भने,“मानव अंगको महत्वपूर्ण अंग आँखा हो । अन्धोपना हुनु जीवनका लागि निकै कठिन हुन्छ । समयमा उपचार पाएमा अन्धोपना हुनबाट जोगाउन सकिन्छ । ”

अन्धोपन हुनबाट जोगाउँदै

अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । विद्यालयमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको उनले बताए ।

आँखा उपचार केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय रहेको थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो ।

सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो संख्या १० हजार चार सय १५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ ।

अस्पतालमा देशका विभिन्न भूभागसँगै भारतबाट समेत बिरामी आउने गर्दछन् । स्वयंसेविहरुको संस्था भएकाले न्यून शुल्कमा उपचार हुने गर्दछ । सरकारी र गैरसरकारी संघ संस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने भएकाले अस्पताल सञ्चालन गर्न कठिनाईका बाबजुद सहज बनेको संघका सचिव केशव अधिकारीले बताए ।

उनले भने, “अस्पताल आउने बिरामी आर्थिक अभावका कारण फर्किनु पर्दैन ।” स्वास्थ्य बीमा कार्यान्वयन भएकाले बिरामीलाई सहज हुने गरेको सचिव अधिकारीको भनाइ छ । अस्पताल विसं। २०४४ चैत्र १८ गते स्थापना भएको हो । 

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् ।

जयतु संस्कृतम् संस्थाले शीतल निवासमा शुक्रबार गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए ।

‘संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आल्हादिन भइरहेको छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार भएको दाबी गरे । ‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ’, राष्ट्रपति पौडेलले भने ।

शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि नेपाल भएको बताए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ ।  सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरु पालना गर्नेगरी हटाउने निर्णय पनि सरकारले गरेको छ । तोकिएका शर्त पूरा भएपछि सरकारको यो निर्णय कार्यान्वयनमा जाने पनि सञ्चारमन्त्री गुरुङले बताए ।

त्यसैगरी, विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालु आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले यही भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तानमा आयोजना हुने ‘मल्टिडाइमेशनल पोभर्टी पियर नेटवर्क’सम्बन्धी बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै आगामी कात्तिक २२ देखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा आयोजना हुने ‘फस्र्ट ग्लोबल मिनिस्टियरियल कन्फेरेन्स अन इन्डिङ भाइलेन्स अगेन्ष्ट चिल्ड्रेन’ मा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

त्यस्तै यही भदौ २७ र २८ गते ब्राजिलमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम, २०२४’ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा रुपन्देहीका डा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

संसदीय विशेष समितिमा बयानका लागि रवि लामिछाने उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीबारे बयान दिन सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा उपस्थित भएका छन् ।

संसदीय समितिले उनीसँग गोरखा मिडिया प्रालिको प्रवन्ध निर्देशक हुँदा विभिन्न सहकारीहरूसँग भएको कारोबारका विषयमा सोधपुछ गर्न बोलाएको हो । लामिछाने प्रवन्ध निर्देशक रहेको बेला सो कम्पनीले अवैध रूपमा सहकारीबाट ऋण लिएको छ भने लामिछाने आफैंले पनि सहकारीबाट ऋण लिएको पाइएको छ ।

लामिछाने नै सहकारी ठगीमा मुछिएपछि संसदले लामो विवादपछि विशेष समिति गठन गरेको थियो । समितिले यसअघि उनीसँग जोडिएका विपिन आचार्य र छविलाल जोशीसँग पनि बयान लिइसकेको छ ।

मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो(भिडियोसहित)

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । 

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले जानकारी दिए । 

‘शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,’ उनले भने, ‘हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ । 

कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा शसस्त्र प्रहरीको टोली पठाएको जानकारी दिए ।

‘ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,’ उनले भने, “बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।’

खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

तस्बिरः देउबहादुर विश्वकर्मा(कुमार अनुरागी)

पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसको मनोनयनमा को को परे ?

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । आगामी भदौ २८ गते हुने अवार्डका लागि क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति बिष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ पिपल्स च्वाइसको मनोनयनमा परेका हुन् । खेलक्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रीति र गुल्सन भने उपस्थित थिएनन् ।

प्रीति एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि उनको क्लब एपिएफसँग मलेसिया पुगेकी छन् । गुल्सन भने भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा छन् । पत्रकार सम्मेलनमा पाँच खेलाडीमध्ये तीनले यो अवार्डको मनोनयनमा पर्नु नै गौरवको क्षण रहेको प्रतिक्रिया दिँदै आ–आफ्ना खेल संघ र टिमको साथले यहाँ आइपुगेको धारणा राखे । रग्बी खेलाडीका श्रीरामले १० वर्ष राष्ट्रिय टोलीबाट खेलेपछि यो सफलता पाएको उल्लेख गर्दै मनोनयनमा आफू एक्लै नभइ नेपालको रग्बी खेल परेको धारणा राखे ।

पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भैसकेको छ । सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

शुक्रबार नै मनोनयन सार्वजनिक हुनुअघि मञ्च र भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग सम्झौता नवीकरण भएको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र ई–सेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमबीच सम्झौता भएको हो । सो अवसरमा गौतमले विगत ६ वर्षदेखि भैरहेको यो सहकार्यप्रति सदैव गौरवपूर्ण रूपमा लिने बताए । ‘हामीले पिपल्स च्वाइस आफ्नो क्यालेन्डरमा नै समावेश गर्न थालिसकेका छौं । राष्ट्रले गर्नुपर्ने काम पत्रकार मञ्चले गर्दै आइरहेको र यसमा हामी पनि सहभागी हुन पाउँदा धेरै खुसी छौं,’उनले भने ।

यस मनोनयनमा पर्ने पाँचै खेलाडीले इसेवा केयर प्रडक्ट पनि पाउने ई–सेवाका प्रमुख बजार व्यवस्थापक गौतमले जानकारी दिए । कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल ९ विधामा अवार्ड प्रदान गरिँदै छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुप हो ।

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदैछ । पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । यो बजाजको नयाँ बाइक हो । अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, केल्मी नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन् ।

मनोनयनमा रहेका खेलाडीको सफलता
गुलशन झा (क्रिकेट)
– राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य । देव्रेहाते ब्याटर एवं दाहिने हाते बलर
– नेपाललाई पहिलो पटक एसिया कप क्रिकेटमा पुर्याउँदा यूएईविरुद्ध प्रिमियर कपको फाइनलमा अविजित ६७ रन बनाउनुका साथै १ विकेट लिन सफल

– आईसीसी एसिया ट्वान्टी–२) विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालबाट सर्वाधिक रन बनाउनेक्रममा २५ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५४ रन बनाउन सफल ।
– १६ वर्षको कलिलो उमेरमै सिनियर राष्ट्रिय टोलीबाट डेब्यू ।
– सर्लाही मलंगवामा जन्मिएका गुलशन नेपाल पुलिस क्लबसँग आवद्ध ।
– ३२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको ।
– दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा खेल्दाका महत्वपूर्ण सदस्य ।

कविता भट्ट (भलिबल)
– राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य
– काभा महिला नेसन्स लिग २०२४, उपविजेता, काभा महिला भलिबल च्यालेन्ज कप २०२३, तेस्रो
– १९ औं एसियाली खेलकुदमा सहभागी
– डडेलधुरामा जन्मेकी कविता नेपाल एपीएफ क्लबस“ग आवद्ध
– एपीएफलाई १६ औं ढोरपाटन डबल लिग भलिबल, २०८० विजेता बनाउन महत्वपूर्ण भूमिका
– चौथो टाइगर कप २०८० विजेता (एपीएफ)
– आठौं आरबीबी–एनभीए कप २०८० उपविजेता (एपीएफ), वेस्ट ब्लकर
– सातौं केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता (एपीएफ) वेस्ट सर्भर

मानमति विष्ट (कबड्डी)
– १९औं एसियाली खेलकुदको कांस्य पदक विजेता (रेड र डिफेन्स दुवैमा उत्कृष्ट खेलाडी )
– १३ औं सागमा कबड्डीबाट रजत पदक ।
– १२ औं सागमा एथलेटिक्समा सहभागी ।
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।
– भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मेकी मानमति नेपाल पुलिस क्लबसँग आबद्ध
– काठमाडौंमा भएको महिला तथा पुरुष कबड्डी सुपर लिगमा पुलिस क्लब टिम प्रथम । मानमति बेस्ट प्लेयर ।
– राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा उनको टिम पुलिस च्याम्पियन । मानमति बेस्ट प्लेयर
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिलेमा स्वर्ण ।

– भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मेकी मानमति नेपाल पुलिस क्लबसँग आबद्ध
– काठमाडौंमा भएको महिला तथा पुरुष कबड्डी सुपर लिगमा पुलिस क्लब टिम प्रथम । मानमति बेस्ट प्लेयर ।
– राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा उनको टिम पुलिस च्याम्पियन । मानमति बेस्ट प्लेयर
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।

प्रीति राई (फुटबल)
– महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य । १६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी खेलाडी ।
– मिडफिल्डमा छिटो छरितो खेल ।
– साउदी अरेबियामा भएको आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता, प्रीतिको उत्कृष्ट प्रदर्शन ।
– लेवनानविरुद्धको सेमिफाइनलमा निर्णायक गोल ।
– एएफसी वुमन्स च्याम्पियनसिप, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा गोल गर्न सफल खेलाडी
– राष्ट्रिय महिला लिगमा सात गोल गर्न सफल
– यु–१५, यु–१८, यु–२० मा नेपाली टोलीकी कप्तान ।
– सोलुखुम्बुमा जन्मेकी प्रीति एपीएफ क्लबबाट घरेलु फुटबल

श्रीराम श्रेष्ठ (रग्बी)
– नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दाका खेलाडी,
– काभ्रेको बनेपा नालामा जन्मेका श्रीराम राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशलाई च्याम्पियन बनाउँदाका कप्तान
– १९ औं हाङझाउ एसियाली खेलकुद खेल्दाका टिमका मुख्य खेलाडी,
– भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागी,
– २०१६ मा चेन्नईमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र २०१८ मा सिंगापुरमा भएको एसियन रग्बी सेभेन्सका प्रतिस्पर्धी
– २०२१ मा नेपालले खेलेको पहिलो आधिकारिक रग्बी फिप्टिन्स प्रतियोगिता बंगबन्धु सिरिजका खेलाडी ।
–सन् २०२२ मा भारतमा भएको वल्र्ड रग्वी फिप्टिन्स डिभिजन ३ का कप्तान । नेपालको डिभिजन ३ मा पहिलो पटक प्रवेश गरेको खेल ।

निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण नगर्न सरकारलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा विस्तारै सुधार देखिँदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट संकेत देखिएको बताएका हुन् ।

बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बीच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे ।

देशभित्र सेयर बजारमा उत्साह देखिएको तथा घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको,विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरु लाइ विश्वासमा लिन सहज हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

थप पर्यटक आकर्षित गर्न पोखरा तथा भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत गर्दै अध्यक्ष ढकालले स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने शुल्कको अन्तर हटाउन तथा हवाई यात्रा सुलभ र सस्तो बनाउन पहल लिने समय आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीको निकट भविष्यमा हुने थाइल्यान्ड भ्रमणका क्रममा नेपाल थाइल्यान्ड बिजनेस फोरम आयोजना गरी विदेशी लगानी भित्राउने पहलमा साथ दिन महासंघले हरतरहले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए ।

यसअघि महासंघले भारतमा दुइपटक र चीन तथा दुबईमा यस्तै चार वटा लगानी पवर्द्धन कार्यक्रम आयोजना गरिसकेको छ । लगानीकर्ताहरुको माग बमोजिम महासंघले स्थापना गरेको विदेशी लगानी सहायता कक्षले लगानीकर्ताहरूलाई सहयोग पुर्याइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सो अवसरमा आर्थिक सुधारका लागि आयोग बनाउने विषयलाई कार्ययोजनामा समेटिएको भन्दै अध्यक्ष ढकालले अर्थमन्त्रीलाई धन्यवाद समेत ज्ञापन गरे । यस्तो आयोगले निजी क्षेत्र सरकारका सरोकारवाला निकायबीच समन्वयको काम गर्ने र समस्या समाधानको पहल गर्ने विश्वासमा महासंघले आर्थिक सुधार आयोगको प्रस्ताव गर्दै आएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

अध्यक्ष ढकालले कम्तीमा दश वर्ष उत्पादनमूलक क्षेत्रका लागि ल्याइएको सहुलियतमा परिवर्तन नगर्न पनि आग्रह गरे । उद्योग व्यवसायले खपत गर्ने विद्युतलाई कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन र ह्वीलिंग चार्ज तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सानो लगानी भएका तर ठाउँ नपाएका साना लगानीकर्ताहरूलाई समेटेर महासंघको पहलमा नेपाल डेभलेपमेन्ट कम्पनी स्थापना भएको जानकारी गराउँदै अध्यक्ष ढकालले यसबाट स्टार्ट अप, जलविद्युत लगायतका पूर्वाधार एवं सार्वजनिक संस्थानहरूको क्षमता विस्तारमा लगानी गर्ने योजना रहेको बताए ।

निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय भएकाले अख्तियारको कार्यक्षेत्र भित्र तान्न पर्ने अवस्था नरहेकाले यसमा निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुने तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।
निजी क्षेत्र मैत्री कानुनी व्यवस्था र नीति निर्माण तहमा निजी क्षेत्रको सहभागिताले नै आर्थिक समृद्धि हासिल हुने भएकाले राजनीतिक तथा सरोकारवालाहरूले यसमा ध्यान दिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा सशस्त्रका एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले एसपी वीरसिंह साहुविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । साहुले सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको वी.ए. तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारको दाबी छ ।

म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु

म्याग्दी (बेनी) । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलुखेतीको विस्तार र व्यावसायिकता बढेसँगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारीखेतीका रुपमा आलुले स्थान लिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन भएको छ । जिल्लामा कूल एक हजार सात सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । हिउँदे आलु अधिकांश जिल्लामै खपत हुने भए पनि बर्खे आलु भने अधिकांश जिल्ला बाहिर निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।

म्याग्दीको जनसङ्ख्याअनुसार, सरदर वार्षिक तीन हजार तीन सय मेट्रिकटन आलु जिल्लामा खपत हुने र अरु सबै आलु जिल्ला बाहिर निर्यात हुने उनको भनाइ छ । जिल्लाबाट निर्यात हुने कृषिउपजमा आलु प्रमुख स्थानमा आएको छ ।

जिल्लाबाट धेरै परिमाणमा निर्यात हुने कृषिउपजमा आलु र सुन्तलाले ठूलो हिस्सा ओगटेको छ । जिल्लाको लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले बर्खे आलुमा जिल्ला बाहिरबाट अत्यधिकमात्रामा माग आउने गरेको कृषक बताउँछन् ।

जिल्लाको छवटै स्थानीय तहमा आलुखेती हुने गर्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा उत्पादन भएको आलु धेरैजसो पोखराका बजारमा पुग्ने गर्छ ।

सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको र पछिल्लो समय पोखराका बजारसम्म आलु पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका– ८ का कृषक खमबहादुर पुनले बताए ।

“कुनै समय आलु बिक्री नभएर कुहिएर जान्थ्यो, आज गाडीबाट गाउँमै आलु खोज्न आउनेहरु पनि छन, बेनी, कुस्मा र पोखरा कृषक आफैँले ढुवानी गरेर बिक्री गर्न पनि लैजाने गर्छौं, उत्पादन भएको आलुको बिक्री नहुने चिन्ता छैन”, उनले भने । आलुखेतीबाट जिल्लाका किसानले नगद आम्दानीसमेत गर्दै आएका छन् ।

आलु अहिले नगदे खेतीका रुपमा विस्तार हुन थालेको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट एक वर्षमा कूल ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन गरिएको हो ।

गण्डकी प्रदेश सरकारले म्याग्दीमा आलुखेतीलाई प्राथमिकतामा राखेर आलुखेतीसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत वर्ष सञ्चालन भएको खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत एक हजार छ सय ८३ दशमलव ९३ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत करिब एक सय हेक्टर क्षेत्रफलको जमिनमा आलुखेती विस्तार गरिएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । जिल्लाको पहाडी भेगमा हिउँदे र माथिल्लो उच्च पहाडी क्षेत्रमा बर्खे आलुखेती हुँदै आएको छ ।

स्थानीयले परम्परागत रुपमा निर्वाहमुखी रुपमा गर्दै आएको आलुखेतीमा स्थानीय र प्रदेश सरकारमार्फत बीउ, मेसिन उपकरण तथा रोगकिरा व्यवस्थापनमा अनुदान र उपचार सेवा पाउन थालेपछि कृषकले आलुखेतीलाई व्यावसायिक बनाउन थालेका छन् ।

अहिले बर्खे आलु बिक्री भइरहेको छ भने आलुको प्रतिकिलो बजार मूल्य ६० देखि ९० रुपैयाँसम्म रहेको छ । जिल्लामा आलुखेतीमा रहेको सम्भावनालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले यस वर्ष खायन आलुखेतीका लागि एक करोड २० लाख बजेट विनियोजन गरेको छ । कृषि ज्ञानकेन्द्र कार्यालयले सञ्चालन गर्ने कार्यक्रममध्ये यो सबैभन्दा ठूलो बजेट हो ।

यस कार्यक्रमलाई समूह, सहकारीमार्फत जिल्लालाई आलुमा आत्मनिर्भर बनाउनेगरी परिचालन र कार्यान्वयन गर्ने कार्यालयले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नम्बर ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । 

चार बुँदे सहमतिपछि पुल निर्माणको माग गर्दै बसेकाको तोडियो आमरण अनशन

जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाएका छन् । उनले अनशनकारीसँग वार्ताबाट चार बुँदै सहमति गर्दै जुस खुवाएर अनशन तोडाएका हुन् ।

हुलाकी सडकमा नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक प्रविणकुमार यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्रीबीच कमला नदीमा नयाँ पुल निर्माण तत्काल सुरु गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नयाँ पुल निर्माणका लागि आव २०८२/०८३ को वार्षिक बजेट सङ्घ सरकारबाट राख्न पहल नगरेमा सम्पूर्ण बजेट मधेस प्रदेश सरकारले व्यहोर्ने, २०८१ मङ्सिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको छ ।

नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिरहा र धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

गत भदौ ४ गतेदेखि सङ्घर्ष समितिको संयोजक यादवको नेतृत्वमा १० जना आमरण अनशनमा बसेका थिए । अनशनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका–६ का अध्यक्ष इन्द्रजीत यादव, ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का वडाअध्यक्ष सुरेन्द्रकुमार यादव, स्थानीय युवा मनिषकुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादव बसेका थिए ।

सङ्घीयता पश्चात हाम्रो अभिभावकत्व प्रदेश सरकारले स्वीकार्नुपर्छ भन्दै उनीहरु जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेट अगाडि टेन्ट बनाएर अनशनमा बसेका थिए ।

थाइल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

थाइल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।

विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् ।

दुई पाइलट तथा सात जना यात्रुसहित नौ जना सवार जहाज बैङ्ककको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको् छ ।

दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए ।

दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरीसकेका छन् ।

खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अङ्ग तथा विमानका टुक्राहरू फेला पारेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ । तर चोन्लेटीले वेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने उल्लेख गरे ।

हसिनाको कूटनीतिक राहदानी खारेज

बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उनको भविष्यको योजनालाई अन्योलमा पार्नसक्छ ।

सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोग गरिएको भन्दै यसको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलनमा सहभागिता बढ्दै जाँदा पूर्व प्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत् नयाँदिल्लीमा शरण लिन पुगेका थिए । आन्दोलनकारी ढाकास्थित उनको सरकारी निवासमा पुगी तोडफोडसमेत गरेका थिए ।

उनको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हसिनाको राहदानी र सरकारका पूर्वमन्त्री तथा पूर्वसांसदको राहदानी रद्द गर्नुपर्ने जनाएको छ ।

यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा खडा गरेको छ । भारतले हसिनालाई शरण दिएपनि प्रधानमन्त्री मोदीले बङ्गलादेशका नयाँ नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई पनि समर्थन गरेका छन् ।

बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्व मन्त्रीमण्डल र विघटित राष्ट्रिय सभाका सबै सदस्य आफ्नो ओहदाका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए ।”

“यदि उनीहरूलाई पदबाट हटाइएको वा अवकाश दिइएको अवस्थामा उनीहरूको र उनीहरूका पति वा पत्नीको कूटनीतिक राहदानी रद्द गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

ढाकाका नयाँ अधिकारीहरूले हसिनाको कार्यकालमा अन्य पूर्व उच्च अधिकारीहरूले विशेष राहदानीका लागि आवेदन दिन सक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहेको बताएका छन् ।

“माथि उल्लेखित व्यक्तिले सामान्य राहदानीका लागि नयाँ आवेदन दिँदा दुई वटा सुरक्षा निकायले राहदानी जारी गर्नका लागि आफ्नो आवेदन स्वीकृत गर्नुपर्नेहुन्छ,” मन्त्रालयले भनेको छ।

हसिनाको सरकारमाथि विपक्षी नेता तथा कार्यकर्ता र सर्वसाधारणमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लागेको छ । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो ।

युनुसले आफ्नो प्रशासनले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताएका छन् ।

प्रर्वप्रधानमन्त्री हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथिको ‘सामूहिक हत्या’ सम्बन्धमा तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

ह्यारिसद्वारा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति शिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गराएकी छन् । यो उनको उम्मेदवारीका लागि पार्टीमा औपचारिक स्वीकृति हो ।

अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन स्वीकार गर्दै डेमोक्र्याट्सको तर्फबाट अमेरिकाको नेतृत्व गर्ने पहिलो अश्वेत महिला उम्मेदवार ह्यारिसले सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।

चुनावसँगै राष्ट्रसँग विगतको वैमन्सयता तथा विभाजनकारी लडाइँहरू पार गर्ने बहुमूल्य, अवसर रहेको भन्दै उनले आफ्नो उम्मेदवारी कुनै एउटा पार्टी वा समूहको रूपमा मात्र नभई अमेरिकाको तर्फबाट भएको बताइन् ।

सम्बोधनमा ह्यारिसले भारतीय र अफ्रिकी मूलको प्रतिनिधिको रुपमा क्यालिफोर्नियाको महान्यायाधिवक्ता भई काम गरेको अनुभवलाईसमेत दर्शाएकी थिइन् ।

सम्बोधनमा ह्यारिसले मध्यम वर्गको निर्माण आफ्नो राष्ट्रपतीय यात्राको प्रमुख लक्ष्य हुने बताउँदै गर्भपतन अधिकार, आप्रवासन नीति र विदेश नीतिलगायत अन्य विषयहरूमा पनि विस्तृत रूपमा व्याख्या गरिन् ।

ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यनीतिमाथि टिप्पणी गर्दै ट्रम्पलाई ह्वाइट हाउसमा फिर्ता राख्ने परिणाम ‘अत्यन्त गम्भीर’ हुने चेतावनीे दिइन्।

सामाजिक सञ्जालमा रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले ह्यारिसको भाषणको आलोचना गर्दै उनी पूराना ‘अक्षमता’ र ‘कमजोरी’लाई लुकाउनका लागि उभिएको बताएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका शिलशिलामा शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका छन् ।

प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार किएभमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहेका छन् ।

मोदीले आफ्नो भ्रमणअघि भनेका थिए, “युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनस्र्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।”

उनी युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । रूसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र किएभबीच कूटनीतिक सफलता पहिलेभन्दा बढी असम्भव देखिएको छ ।

युक्रेनका धेरैले रूसी राष्ट्रपति भ्लामिर पुटिनको निकै नजिकको रूपमा हेरेका मोदी स्वयं एक प्रभावकारी सम्झौताकर्ता हुन सक्नुहसन्छ वा हुँदैन स्पष्ट छैन ।

मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताए ।

युक्रेन प्रस्थान गर्नुअघि उनी बिहीबार पोल्याण्ड पुगेका थिए । “एक मित्र र साझेदारको रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरताको शीघ्र पुनरागमनको आशा गर्दछौं,” मोदीले भ्रमणअघि सामाजिक सञ्जालमा भनेका छन् ।

जेलेन्स्कीले मोदीसँगको भेटमा ‘धेरै दस्तावेजमा पनि हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताए ।

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

म्याग्दी। परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन्।

पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए ।

‘पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन,’ उनले भने, ‘छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु।’

ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेका छन् । ‘छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,’ उनले भने, ‘घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो।’

१५-२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताए । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन् ।

वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताए ।

८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए ।

असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ। अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् ।

पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउँछन् ।

‘दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,’ उनले भने, ‘मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ।’ २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए ।

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

टीका खतिवडा, इलाम । छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छिन्।

त्यसो त सवारी चलाउने महिला अरू पनि नभएका भने हाेइनन्। तर, पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको संख्या नगन्य छ। यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एक मात्र किशोरी हुन् ।

पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जोकोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन्। बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन्। दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् ।

उनको बुबा पहिलेदेखि सवारीचालकको काम गर्थे । घरमा तीन छोरी भएका कारण बुबाकै सहयोगमा चालक बनेको उनी बताउँछिन् । सुरुमा बुबाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले बिस्तारै राम्रोसँग चलाउन थालिन् । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए ।

‘मलाई बुबाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्न सक्ने भएकी छु,’ उनले भनिन्। छेकीले गाडी चलाउँदा केही यात्रुहरूले सुरुमा विश्वास गर्दैनथे । उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरूले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी–खोजी चढ्न थालेका छन् ।

उनले बर्खायाममा पनि खर्च कटाएर मासिक ३० हजारभन्दा बढी कमाउने गरेकी छिन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँदमा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक एक लाखहाराहारी कमाउने गरेको सो क्षेत्रका सवारीचालकहरू बताउँछन् ।

कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छिन् । ‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ,’ उनले भनिन् । रोजगारीको खोजीमा धेरै नेपाली महिला बिदेसिने गरेका छन् । तर, महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छिन् छेकीले ।

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उनको गाडी रोज्ने गरेको बताउँछन् । ‘केही पुरुष चालकले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ,’ स्थानीय यात्रु दावा शेर्पाले भने, ‘तर, उहाँले त मदिरा सेवनसमेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।’

मर्स्याङ्दीमा बस खस्दा १४ जनाको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले १४ जनाको शव बाहिर निकालिएको जानकारी दिएका छन् ।

त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो ।

बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा रहेको छ । बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।

मर्स्याङ्दी बस दुर्घटनामा ठूलो हताहतीको आशंका, उद्दार जारी

दमौली  । पृथ्वीराजमार्गअन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस शुक्रबार मध्यान्ह मस्र्याङ्दी नदीमा खसेको हो । 


पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन । 


अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ ।  पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना ११ जना बेपत्ता, १४ जना अचेत अवस्थामा रहेका बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अहिलेको सत्ता समिकरण मुलुकका लागि निर्विकल्पः गृहमन्त्री लेखक

धनुषा । गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न बर्तमान सत्ता गठबन्धन बनेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको शुक्रबार शिलान्यास गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज भएको बताए ।

दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियो । 

गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने बताए । “बर्तमान समिकरणबाट बनेको सरकारले मुलुकका जटिल समस्या समाधान गर्न सघाएको छ”, उनले भने, “ अहिले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको छ ।”

अठार वर्षदेखि निष्कर्षविहीन रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको गृहमन्त्री लेखकले स्पष्ट पारे । उनले भने,  “समिकरण बन्ने र भत्किने क्रम चलिरहँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले नागरिकको सेवा प्रवाहलाई समेत प्रभावित गर्यो ।”

अहिले निर्माण गरिएको सत्ता समिकरण मुलुकका लागि निर्विकल्प रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले तत्कालै यसको विकल्प खोज्नु उचित नहुने बताए । “यसले जटिल समस्या समाधान मात्रै गरेको छैन, मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको छ”, उनले भने  । 

गृहमन्त्री लेखकले सत्तापक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुरामा सबै सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उनले राजनीतिक अस्थिरताको प्रभावले विगतमा केन्द्र र प्रदेशमा असर परेकाले बाँकी रहेका विकास निर्माणका काम  अब दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकारले पूरा गर्ने बताए ।

तनहुँमा ६ दिनमै थपिए दुईसय ४१ डेंगु संक्रमित

तनहुँ । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

६ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । उनका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । 

शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच/पाँच जनामा डेङ्गी पुष्टि भएको  छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताए । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म सङ्क्रमितको सङ्ख्या शून्य छ । 

सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ ।

पालिका डेङ्गी सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उनले जानकारी दिए । 

डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । आँबुखैरेनी अस्पतालमा लक्षित वर्गका सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी  दिए ।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएका, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता भएका, सहाराविहीन, अशक्त तथा ज्येष्ठ नागरिकलाई औषधि उपचारमा निःशुल्क गरिएको छ । 

बिरामीलाई आवश्यक परेमा अस्पतालमा भर्ना, औषधिलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यर्होर्ने बताउँदै अध्यक्ष चुमानले पालिकाले सिफारिस गरेपछि सोका आधारमा अस्पतालले सेवा उपलब्ध गराउने जानकारी दिए । 

ऑबुखैरेनीको ऐनापहराबाट मर्स्याङ्दीमा बस खस्यो

तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा सडकबाट बस मस्र्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय नम्बर प्लेटको बस मस्र्याङ्दी नदीमा खसेको हो ।

बसमा ४० यात्रु रहेको बताइएको छ । प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले  अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।

ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाईटेडबाट खेल्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।

योसँगै इडब्लुभिएलका लागि दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । ट्युनिसियाकी मिडल ब्लकर योस्राले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा अब मधेश युनाईेटेडबाट खेल्नेछिन् ।

ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १८४ सेन्टिमिटर छ । योस्राले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् ।

उनले भनेकी छन्,’पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेश युनाईटेडबाट खेल्दैछु । लिगमा लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु ।’

मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताइन् । यसअघि नै मधेश युनाईटेडले काजकिस्तानकी हाउटसाइड हिटर कालिनोभा यभजेनियाको नाम घोषणा गरिसकेको छ ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ । मार्कीसहित नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ ।

जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू-२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् । ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

कैलालीका चार सय १७ हेक्टर भन्दाबढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा चार सय १७ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा साना सिँचाइ कार्यक्रम अन्तर्गत गहुँ सुपर जोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ६७ वटा स्यालो ट्युबेल जडान गरेपछि एक सय १७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको हो ।

उक्त कार्यालयका अनुसार आव २०७९/८० मा साना सिँचाइअन्तर्गत गहुँ सुपर जोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय नौ वटा स्यालो ट्युबेल जडान गरिएकामा दुई सय ७२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका सूचना अधिकारी ऋतु धामीले जोन र सुपर जोन कार्यक्रम लागू भएका क्षेत्रमा साना सिँचाइ अन्तर्गत जडान गरिएका स्यालो ट्युबेलले परियोजनामा आबद्ध किसानलाई विभिन्न बालीका खेती गरिने क्षेत्रफल विस्तारसँगै उत्पादकत्वमा वृद्धि हुने बताए।

उक्त कार्यालयले ‘गहुँ सुपर जोन’ कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा रहेको जनाएको छ ।

आव २०८०/८१ मा ‘गहुँ सुपर जोन’ मा रु. ६३ लाख ७५ हजार र ‘धान जोन’ कार्यक्रममा रु ३१ लख ८८ हजार गरी जम्मा रु. ९५ लाख ६३ हजार बजेट विनियोजन गरिएको सूचना अधिकारी धामीले जानकारी दिए। जिल्लामा परियोजनाद्वारा सञ्चालित ‘गहुँ सुपर जोन’, ‘तेलहन जोन’ र ‘धान जोन’ कार्यक्रममा तीनवटै जोनमा चार हजार नौ सय १७ महिला र चार हजार १८ पुरुष गरी आठ हजार नौ सय ३२ जना आबद्ध छन् ।

उनका अनुसार गत आवमा सहकारी, कृषि समूह, कृषि उद्यमी, बीउ उत्पादन कम्पनी र समिति गरी तीन सय ३५ संस्था सूचीकृत भएका थिए । गहुँ सुपर जोन एक हजार पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर हाल तीन हजार हेक्टर, तेलहन जोन पाँच सय हेक्टरबाट एक हजार पाँच सय हेक्टर र वर्षे धान जोन पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर आठ सय हेक्टर पुगेको जनाइएको छ ।

कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव, धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव २७ मेट्रिक टन प्रतिहेक्टर र तोरीको उत्पादकत्व शून्य दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर एक दशमलव पाँच पुगेको छ ।

कृषि उत्पादन वृद्धि गरी आयात घटाउँदै जाने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७३/७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गरेको हो । जोन र सुपर जोन कार्यक्रम कार्यान्वयनसँगै विभिन्न बालीको उत्पादकत्व वृद्धि भए पनि पर्याप्त बजेट अभावका कारण खेती गरिने क्षेत्रफल विस्तार हुन नसकेको सूचना अधिकारी दामीले बताए ।

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका-२ बालचन खोरियाका किसान कृषि कर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् ।

बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किवी, कुखुरा, केरा खेतीमा दत्तचित्त भएर लागेका छन् ।

बालचन खोरियाका किसान केवल राईले सात कठ्ठा जग्गामा अहिले सजिवन, किम्बु, केरा खेती गर्दै आएको बताए। उनले भने, ‘सात कठ्ठा जग्गामा वरपर घेरा हालेर गाउँमै कृषि, पशुपालन तथा पोल्ट्री फार्म सञ्चालन गर्दै आएको छु । यसैबाट घर खर्च पुगेको छ ।’ व्यावसायिक रूपमा सुरु गरिएको कृषि व्यवसाय सन्तोषजनक रहेको उनले बताउँछन् ।

बालचन खोरियाका अर्का किसान नरेश राना मगरले कागती खेतीबाट राम्रो आम्दानी गरिरहेको बताए। उनले अहिले चार कट्ठा जग्गामा कागती खेती गर्दै आएका छन् । 

सुरुमा उनले एक सय ५२ बोटबिरुवा लगाएर सुरु गरेको कागती खेती सिजनमा ३० हजारदेखि ४० हजारसम्म कागती बिक्री गर्दै आएको बताए। कागतीबाहेक उनले धान खेती पनि गर्दै आएको छ । बालचन खोरियामा किसानले बर्सेनि पाँच–छ पटकसम्म विभिन्न संस्थाको सहयोगमा कृषि खेतीको सामूहिक तालिम लिँदै आएको उनले बताए।

किसान राना मगरले भने, ‘कृषिको तालिम त लियौँ, तर अझै बेमौसमी खेतीमा चुनौती छ, तरकारीखेती गर्न स्थायी टनेलको आवश्यकता छ’, उन भने, ‘किसान विपन्न हुँदा लगानी गर्न सक्ने अवस्था भने छैन ।’

यस विषयमा स्थानीय तथा प्रदेश सरकारले किसानलाई आर्थिक अनुदान र प्रोत्साहन गर्नुपर्ने राना मगर बताउँछन् । कम्तीमा नमुनाका लागि मात्रै भए पनि टनेल बनाउने व्यवस्था गरिदिए किसानलाई सहयोग पुग्छ रानाले बताए।

वि.सं २०६९ मा स्थापना गरिएको बालचन खोरिया कृषि सहकारी संस्थामा अहिले ९० घरपरिवार भन्दा धेरै किसान आबद्ध रहेको कृषि सहकारीका अध्यक्ष प्रेम खड्काले बताए।

यहाँ सबै घरपरिवारले केही न केही कृषि उद्यम गर्दै आएका छन् । बेलीचण्डाको घारी रहेको र माछा मारेर जीविकोपार्जन गर्ने दुई–चार घर किसान थिए अहिले उनीहरु पनि व्यावसायिक कृषि क्षेत्रमा लागेका छन् । बालचन खोरियामा हाल अधिकांश किसानले धान, सब्जी, कागती, फलफूल खेती लगाएका छन् । त्यस क्षेत्रमा एकै खालका चिटिक्क परेका घर वरपर खेतबारी र करेसाबारीले ढपक्क ढाकेको गाउँ देखिन्छ । कृषि सहकारीका अध्यक्ष खड्काले भने, ‘कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा छ, बालचन खोरिया ।’

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा प्रदेश सरकारको बजेटमा सिँचाइ र किसानको सहयोगका लागि दुई वटा डिपबोरिङको योजना भएको छ । रु. ३८ लाख लागतमा आएको ‘डिपबोरिङ’को विद्युत् र पाइप लाइन विस्तारको काम भइरहेको कृषि सहकारीका अध्यक्ष खड्काले बताए ।

उनले भने, ‘पूर्वमा चतरा नहर र पश्चिममा सप्तकोसी नदी भए पनि डाँडा र बगर रहेकाले पानी नचढ्ने र सुकेर जाने समस्या छ ।’

प्रदेश सरकारले डिपबोरिङ व्यवस्था गरिदिएको छ, काम भइरहेकाले पानी लाग्न थालेपछि एकीकृत कृषि खेतीको अवधारणामा अघि बढ्ने बताए।

‘भूमिगत डिपबोरिङ सिँचाइ योजनाबाट पानी आउने भएपछि बस्तीवासी खुसी भएका छन् । बस्तीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ । आर्थिक वर्ष २०८१/८२ मा बजेट परेको जानकारी आएको छ, बस्ती विस्तारसँगै कृषि पर्यटकीय क्षेत्र निर्माण गर्ने सम्भावना बढेको छ,’ अध्यक्ष खड्काले भने ।

रविलाई ठग र भ्रष्टाचारी प्रमाणित गर्न सक्छुः मुकुल ढकाल

काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगमा संलग्न रहेको दाबी गरेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले यो विषय आफूले प्रमाणित गर्न सक्ने पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहिको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

उनले रविमाथि सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभएको तर्क पनि गरेका छन् । उनले आफू नभएर रवि चाहिँ पार्टीविपरीत लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्टाचारमा लिप्त हुनुभयो । तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टीविपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नुसरह हुनेछ । पार्टीविपरीत म होइन तपाईं लाग्नुभएको छ ।’

हरिदेवी कोइरालाको तीज गीत ‘बिहान उठी स्वामी राजै’

काठमाडौं । वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् । ‘बिहान उठी स्वामी राजै’ र ‘घर धानेर बस राजै’ बोलका दुई गीत सार्वजनिक भएको छ । हरिदेवी कोइराला युट्युब च्यानलमा सार्वजनिक भएका गीतमा शब्द लय र आवाज कोइरालाको नै रहेको छ ।

गीतमार्फत तीजमा माइत जाँदा घरमा रहेका श्रीमानले गर्नुपर्ने कामको बारेमा मात्र नभएर गर्न नहुने कामको बारेमा बताएकी छिन् भने अर्को गीतमा श्रीमानले घरको काममा गर्ने वेवास्तालाई गीतमा उतारेकी छिन् ।

सेनाले माग्यो ठूलो संख्यामा अधिकृत क्याडेट

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट मागेको छ । सेनाले अधिकृत क्याडेटर्फ २८० जनाका लागि आवेदन माग गरेको हो । रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ । त्यस्तै खुलातर्फ १४७, महिला २४, आदिवासी–जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ ।

आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

तस्बिरमा रुकुमपूर्वको बुकी पाटन

चार हजार ५०० मिटरको उचाईमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा । वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेंडालाई हिमाली भेगमा ल्याइन्छ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस

संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेसँग बयान लिने

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।

सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै संसदमा माग उठेपछि छानबिनका लागि गठित समितिले उनलाई आज बयानका लागि बोलाएको हो ।

लामिछानेमाथि सरकारी निकायले नै गर्ने अनुसन्धान प्रभावकारी नहुने भन्दै तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनको माग गरेको थियो । जसअनुसार सूर्य थापाको नेतृत्वमा समिति गठन भएको हो ।

समितिले लामिछानेलाई आज दिउँसो २ बजे बयानका लागि बोलाएको छ । लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ ।

समितिले आजै बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिने भएको छ ।

प्रधानमन्त्री ओली र चीनका अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षबीच भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले  शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडकखण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चार वटा छुट्टाछुट्टै सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।

शान्तिश्री परियार र उज्वल गिरीको ‘तिम्रै चर्चा छ’

काठमाडौं । । शान्तिश्री परियार र उज्वल गिरीको गीत ‘तिम्रै चर्चा छ’ सार्वजनिक भएको छ । उज्वल गिरीको युट्यूवमार्फत गीत सार्वजनिक भएको हो । गिरीको गीतमा नरेश खातीले संगीत भरेका छन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा करिष्मा ढकाल, विमल अधिकारी, अस्मिता रनपाल र शक्ति खाती फिचर्ड छन् ।

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौँ । सरकराले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यससम्बन्धमा केही दिनदेखि सरोकारवालहरूसँग छलफल गरेको थियो ।

सरकारलाई पटक–पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमै आग्रह गर्दै आएको टिकटकले पनि यसै साता नेपालका सर्तहरू मान्न तयार रहेको व्यहोरासहितको पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो ।