`

साफ यू-२० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

Nepal One HD ७ भदौ २०८१ १८:००
खेलकुद

काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल प्रतिद्वन्दी टुङ्गो लागेको हो ।

नेपाल समूह ए मा दुवै खेल जितेर समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । यस्तै समूह बी को विजेता भारतले समूह ए को उपविजेता बंगलादेशसँग सेमिफाइनल खेल्नेछ ।

भुटान भने समूह बी को उपविजेता बन्यो । आज भएको खेलमा भारतले माल्दिभ्सलाई हराउँदै समूह बी को विजेता बन्दा भुटान समूह बी को उपविजेता बनेको हो । भारतले दुई खेल जित्दै ६ अंक जोड्यो । भुटानले एक जित र एक हारबाट ३ अंक जोड्यो । दुवै खेलमा पराजित माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ ।

अब पहिलो सेमिफाइनल नेपाल र भुटानबीच आउने आइतबार हुनेछ भने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल सोमबार हुनेछ । सेमिफाइनलका विजेताबीच बुधबार फाइनल खेल हुनेछ ।


प्रतिक्रिया